निबन्ध : बोर गर्‍यौ शङ्कर दाइ

~हरीभक्त कटुवाल~Haribhakta Katuwal

एक दिन त जसले पनि मर्नुपर्छ नै। मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क– त्यसमा मलाई विश्वास छैन। तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यसबेला। कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो शङ्कर दाइ ⁄ कत्ति मज्जा हुन्थ्यो।

मेची तरेपछि पोहोर पनि एकपल्ट काठमाडौं आएको थिएँ। नयाँ भाउजूलाई साथमा लिएर तिमी अम्बरजी कहाँ आएका रहेछौ। म पनि संयोगले त्यहाँ पुगेको थिएँ। केही क्षण हामीले दुःख–सुखका कुराकानी साटासाट गर्‍यौं। तिमीले मैले लेखेका गीतहरुको प्रशंसा गर्‍यौ। तिमीले लेखन बन्द गरेका थियौ र नयाँ कुनै तिम्रो कृति पढ्न नपाएको मैले प्रशंसा गर्ने ठाउँ पाइनँ। अल्मलिएको थिएँ। तर चुकिनँ। तिम्रो वचनबद्धताको नै प्रशंसा गरेँ। शङ्कर दाइ ⁄ अब तिम्रो स्मृतिमा विशेषाङ्कहरू निस्कन लागिरहेछन्। तिम्रो गुण–गान खूब होला। माझिएको गद्य लेख्ने शङ्कर लामिछानेको सह्रनी अब होला।

बाँचुञ्जेल तिमीलाई क–कसले के–के भने त्यो मलाई थाहा छ। धेरैपल्ट म तिम्रो ज्यादै नजिक पुगेको थिएँ। अब तिमीलाई महान गद्य लेखक बनाइन्छ। अब तिमी अमर हुन्छौ। स्वर्गैमा होस् वा नर्कमा तिमीलाई भेटन् पाए कति मज्जा हुन्थ्यो।

भूपि बिरामी छन् । नगेन्द्र जागिरे भएछन्। म टाढा छु। तिमी झन् टाढा गयौ नआउने गरी। विचरा अम्बरजी एक्लो परे। स्वर– संगीतको संसारबाट फुत्केर यसो गफगाफ गर्न अथवा बिदाको दिन रमाइलो हुने गरी बिताउन अचेल उनलाई कति गाह्रो पर्दो हो। अम्बरले गाएको होइन, तिमीले गाएको ‘नौलाख तारा उदाए…’ हामीलाई त्यस्ता दिनहरूमा मनपर्थ्यो। म नाच्थेँ, थसुल्ली रत्ना भाउज्यू फूलको थुंगोजस्तो भएर नाच्थिन्, नगेन्द्र र सोफिया भाउजू नाच्थे, अम्बरनी नाच्थिन्, अम्बरजी ताल दिन्थे। अब ती दिन पक्कै नआउलान्। पेङ्ग्री गाउँको पट्टयारलाग्दो वनमा जंगली हात्तीको जगजगी बोकेर गह्रुङ्गा पाइला चाल्दै जब म एक्लै हिँडिरहेको हुन्थेँ, त्यहाँ पनि हाम्रो त्यो रमाइलो भेटघाटले मलाई प्रेरित गरिरहेको हुन्थ्यो। प्रेरित गर्थ्यो तिम्रो मुस्कानले, जसमा आत्मविश्वासको एउटा सजीव छवि हुन्थ्यो– प्रेरित गर्थ्योमलाई तिम्रो हरेस नखाने बानीले। एकचोटि तिमीलाई मकहाँ पुर्‍याउने धोको धोको बनेर नै रह्यो। तर म हरेस खान्नँ। जिन्दगीको बाँकी रहेको यात्राभरी अब त स्मृति मात्र बन्ने भयौ तिमी। टाढा पुगेको मान्छेका लागि स्मृति नै त थियो। अब स्मृति मात्र रह्यौ। तिमीले भनेका धेरै धेरै कुराहरू मसित छन्। तिमीले रोएका आँसुहरु पनि मसित छन्। तिनैबाट म प्रेरणा लिन्छु शङ्कर दाइ।

कवि बन्धु अगम मर्दा मेरा एकजना आत्मीयले भनेका थिए रे– ‘मर्नुपर्ने कटुवाल तर मरेछ अगमसिंह गिरी।’ यसपल्ट मैले आफैँ भनें– ‘मर्नुपर्थ्यो कटुवाल … … ।’ मर्न मलाई पनि रहर लागेको थियो। काठमाडौंमा एक वर्ष मर्ने ठूलो बल गरी हेरेँ। मुटु फुट्ने गरी रक्सी खाएँ। खूब मातेँ। सडकमा सुतेँ। तर, प्रत्येक बिहान ओछ्यानबाट मैले सजीव उठ्नुपर्‍यो। कस्तो काल ⁄ पटक्कै आएन। जुन निगाहले मलाई काठमाडौं ल्यायो– उही निगाहाले बचायो। पीर नमानी फर्केँ। लेख्न अचेल घटेको छ। शिक्षा बिना अल्मलिएका धेरै मान्छेका लागि आफूलाई बिलाइदिएको छु। त्यहाँ मेरो ठूलो खाँचो रहेछ। मलाई पाएर धेरै धेरै साथीहरु धेरै धेरै रमाएका छन्। तिम्रो ओठको आत्मविश्वास मैले आफ्ना ओठभरी लिएको छु। केही गर्न मन लागिरहेछ। तिमी चाँडै गयौ। तिमीले गर्न बाँकी छोडेका कुराहरु पनि गर्नु छ, गराउनु छ। मभित्र बाँच्ने रहर फेरि बलियो भएर उम्रेको छ। तर ‘क्यू’ लाग्दैमा वा ‘क्यू’ छोड्दैमा फुत्किन नदिने कालदेखि को उम्कन सक्छ र?

स्वर्ग र नर्कलाई विश्वास नगर्दा नगर्दै पनि केही क्षण विश्वास गरेर भन्छु– ‘उहीँ भेटुँला ।’ यसपल्ट काठमाडौं आउँदा सबैलाई भेटेँ, मात्र तिमीलाई भेटिनँ। बोर गर्‍यौ शङ्कर दाइ।

(स्रोत : ‘विदेह’ पत्रिकामा २०३३ )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *