पुस्तक समीक्षा : काठमाडौँले चिन्न नसकेको भेगको कथा ‘समृद्ध कर्णालीको दु:ख’

~बसन्त बस्नेत~Basanta Kumar Basnet

कुनै बेलाको समृद्ध कर्णालीसँग आज अभाव, उपेक्षा र बहिष्करणका सुस्केरा मात्रै बाँकी छन् । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, पूर्वीय सभ्यताका चारमध्ये एउटा मुहान कर्णाली हो भन्ने कतिपयलाई थाहा नहुन सक्छ । पूर्वीय सभ्यता र दर्शनको केन्द्र कैलाश क्षेत्रबाट बग्ने चार नदी सिन्धु, सतलज र ब्रह्मपुत्रसँगै कर्णाली पनि एक मुख्य नदी हो । संसारभरिका महान् सभ्यताहरू नदी किनारबाट सुरु र विकास भएको मानिन्छ ।

कर्णालीको सभ्यता कति समृद्ध थियो भनेर सत्यमोहन जोशीलगायत थुप्रै नेपाली र विदेशी विद्वान्ले ठेलीका ठेली शोधग्रन्थ लेखिसकेका छन् । सभ्यता, लिपि, भाषा, संस्कृतिको प्राचीनताका कारण नेपाली सभ्यताको मुहानमध्ये कर्णाली एक हो भन्ने तथ्यमा विवाद हुन सक्दैन । भारत, बर्मा, भुटानलगायत क्षेत्रमा छरिएर बसेका नेपाली जाति आज यही सभ्यताको मुहानबाट नि:सृत छन् । प्राकृतिक स्रोतको धनी कर्णालीसँग मानवीय सभ्यताको ढुकुटी पनि छ भन्ने थाहा पाउन यो पृष्ठभूमि एक मुखौटा मात्रै हो । तर,bookcover - Samridha Karnali dukha - Tiaka bhattarai n Somat Ghimire यहाँ कथा अर्कै छ ।

कर्णालीकै नाम भजाएर विकासे संस्थाहरू कतिवटा खोलिएका होलान्, कति पुस्तक लेखिए होलान् र कति अनुसन्धान भए होलान्, खोजीको विषय हुन सक्छ । सरकारले हरेक वर्षको नीति कार्यक्रम र बजेट भाषणमा कतिपल्ट कर्णाली शब्द दोहोर्‍याउला, चासो राख्न सकिन्छ । प्रतिपक्षीहरूले कर्णालीका लागि लड्ने आश्वासन कतिपल्ट दिए होलान्, यो पनि खोज्न सकिन्छ । संसदीय चुनावदेखि माओवादी सशस्त्र युद्धसम्म, खस सभ्यताको उद्गमदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा कर्णाली सधैँ प्राथमिकतामा पर्छ, अन्तत: बजेटको रातो किताबदेखि विद्रोहीको घोषणापत्रसम्म जहीँतहीँ भेटिने कर्णाली सानो विकास आयोजनाका लागि समेत काठमाडौँ गुहार्दा गुहार्दै थाकिसकेको हुन्छ ।

एक्काइसौँ शताब्दीको यो आँगनमा कर्णाली आफ्नो स्वराज र सभ्यताको पहिचान मागिरहेको छ ।
चरम उपेक्षाले जेलिएको विगतदेखि वर्तमानसम्मको कर्णालीलाई नियाल्न भर्खरै एउटा पुस्तक सार्वजनिक भएको छ, समृद्ध कर्णालीका दु:ख । नाममै ‘अपोजिट आइरोनी’ छ । कर्णालीका अघिल्तिर समृद्ध विगत छ, पछिल्तिर दारुण वर्तमान । एकताकाको सम्पन्न र सुखी कर्णाली कसरी शासकहरूको अहंकार तुष्टिको सिकार बन्न पुग्यो भनी थाहा पाउन चाहने सबैले यो पुस्तक एकपटक पढ्नैपर्छ । तिब्बतसँग जोडिएको यो क्षेत्रमा जनता–जनताको तहमा जोडिएको सम्बन्ध टुटाउन यहाँका राजाहरूले गरेका तिकडमहरूको सारसंग्रह पुस्तकभरि पढ्न पाइन्छ ।

रणबहादुर रम्तेल, छक्कबहादुर लामाको आफ्नै व्यक्तिगत अनुभूति पढ्दा जोकोहीको आँखा रसाउँछ । छक्कबहादुर त कतिसम्म लेख्न पुग्छन् भने ‘प्राचीन कालमा ब्यासीहरूलाई आफ्नो थर फाल्न लगाएर हिन्दुकरण गरियो । उनीहरूले भाषासमेत भुलिसकेका छन् । आधुनिक कालमा भोटेहरूलाई राजा महेन्द्रको कथित राष्ट्रवादले चलाएको स्कुलिङ र प्रशासनबाट हिन्दुकरण भयो । म छेवाङ, मलाई छक्कबहादुर लामा बनाइयो ।… राजा महेन्द्र चलाख राजा रहेछन् । उनले हामीलाई तिब्बती सम्पर्कबाट छुटाउन यस्तो नीति अख्तियार गरे । जनता–जनता स्तरको सम्बन्ध तोडाउने र शासक–शासक तहमा मात्र सम्बन्ध कायम गर्ने काम गरे ।’ (पृ २२७)

सम्पादकद्वय प्राक्कथनमा लेख्छन्, ‘कुनै जमानामा बलियो साम्राज्यको तहमा पुगेको आत्मनिर्भर कर्णाली आज के कारणले कुन प्रक्रिया या कस्तो राजनीतिद्वारा यति कमजोर बनाइयो, अहिलेसम्म चित्तबुझ्दो जवाफ आएको छैन । हिन्दुकरणकै पोयोमा बाटिएको गोर्खाकरणले कर्णालीवासीको पहिचान, अस्तित्व र आत्मसम्मान एकैचोटि संकटमा पार्‍यो ।’

आत्मनिर्भर कर्णालीलाई कसरी मगन्ते संस्कृतिको सिकार बनाइयो भनी जान्न थुप्रै रचनामध्ये सोमत घिमिरेको अनिकालले जेलिएको कर्णाली विशेष पठनीय छ । भर्खरै भूकम्पपछिको राहतका क्रममा चरम विवादित विश्व खाद्य कार्यक्रमका थुप्रै पोल खोलेका छन्, घिमिरेले । कर्णालीको विशिष्ट र मौलिक खाद्य संस्कृतिलाई क्षतविक्षत पार्दै कसरी दातृनिकाय अघि बढेका छन्, पुस्तकमा उदाहरण छन् ।

विकासे कार्यक्रम कर्णालीमा सधैँ पुग्छन् । राणा, पञ्चायत हुँदै गणतन्त्रसम्म आइसक्दा नबदलिएको राज्य संरचनाका कारण कर्णालीलाई हेर्ने चस्मा पुरानै रहेको पुस्तकको दलील छ । प्राध्यापक पीताम्बर शर्माका अनुसार उपेक्षाभन्दा ठूलो अपमान केही हुन सक्दैन, जो अहिले कर्णालीले भोगिरहेको छ । यो पुस्तकले त्यस्ता थुप्रै पछिल्ला सवाल उठाइदिएको छ, जसका जवाफहरूको खोजी नै कर्णालीलाई उपेक्षा र वञ्चितीकरणबाट बाहिर निकाल्ने, राष्ट्रिय समृद्धिको मूलप्रवाहमा समेट्ने अभियानको प्रस्थानविन्दु हुन सक्छ ।

छाउपडीविरुद्ध जनचेतना जगाउने स्वास्थ्यकर्मी र शिक्षिका स्वयं छाउगोठमा बस्नुपरेका कारुणिक घटना, भनेर नसकिने महिला हिंसा र महिलाविरुद्धका कु–प्रथा उद्घाटित गरेकी छन्, लक्ष्मी कार्कीले । रणबहादुर रम्तेलले दलितका रूपमा आफूले भोगेको चरम अमानवीय व्यवहार, गाउँघरका पाशविक चलनहरूलाई भावुकताको तहबाट उठाउँदै वैचारिक आयाम दिएका छन् ।

पुस्तकका कतिपय रचनामा अनुसन्धानको गहिरो छाप भेटिन्छ । केही विशुद्ध निजात्मक अनुभूतिले भरिएका छन् । सबै रचनाको एउटै सार छ, काठमाडौँले कर्णालीका बारेमा वर्षौंदेखि गफ गरिरह्यो, तर आजसम्म कर्णाली के हो भनेर चिन्न सकेन । यो पुस्तकका सबैजसो रचनाले कर्णालीको एकसरो राम्रै चित्र खिच्छन् तर केही लेखकका पाठ भने धेरै मिहिनेत नगरी लेखिएको प्रस्टै अनुभूति हुन्छ ।

समृद्ध कर्णालीको दु:ख

सम्पादक    : सोमत घिमिरे र टीका भट्टराई
प्रकाशक    :    सांग्रिला बुक्स
पृष्ठ    :    २७३
मूल्य    :    ३५० रुपियाँ

प्रकाशित: भाद्र २४, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.