पुस्तक समीक्षा : पर्खालभित्रको घाम — नारी परिवेशका तीखा आवाज

~कुमारी लामा~

कुरो बिलकुलै नयाँ होइन । उही पुरानै । अस्तित्वको, पहिचान र आफ्नो स्थानको । आवाज जो थियो तर थियो धुमिल र मधुरो । तर, आज एकाएक ठूलो गर्जन भएको छ, शब्दहरूको । चुपचाप पुस्तकभित्र च्यापिएर बसेका शब्दहरूको आवाज ।

प्रसंग हो, कवि सामना पहाडको नवीन कृति पर्खालभित्रको घाम । उनका कविता यस्तै चुपचाप शब्दहरूका तीखा आवाज हुन् । पर्खालभित्रै भए पनि घामको उज्यालोलाई छेक्ने साहस कसको ? घरको परिधिभित्र थुनिएर पनि चेतनाको उडानलाई रोक्ने कसले ?

पीडा छ तीन पुस्ताको । हजुरआमा, आमा र छोरीहरूको । उनीहरूले ठूलो पाप गरेका छन् घर सम्हालिदिएर, वंश धानिदिएर, सधैँ चुलोचौकोमा आफ्ना चाहनाको हत्या गरेर अनि अन्तत: आफ्नो अस्तित्वको कुरो bookcover - Parkhal bhitra ko - SAmana Pahadउठाएर । त्यसैले उनीहरू कहिल्यै पखालिसक्दैनन् आफ्ना पाप । कवि निकै व्यंग्यात्मक भावमा पोख्छिन् :

आखिर आमाहरूले किन गरेका यतिका धेरै पापहरू आजीवन पखालेर नसकिने पापहरू । (समाधि)
सामनाका प्राय: कविता नारीकै परिवेश, भोगाइ र अनुभूति वरपर घुमेका छन् ।

उनी आफ्नी आमा र आफ्नो पीडालाई खुलस्त देखाउँछिन् कविता ‘म र मेरी आमा’मार्फत । आमा र उनको प्रसव पीडाको समान दुखाइले एकअर्काको दु:ख साथै भोगाइसँग नजिक पुर्‍याएको छ भने छोरीलाई ढाडस दिँदादिँदै आफ्नै प्रसव बेदनाको चिन्तनमा लीन भएकी आमाको ध्यानातीत अवस्था छ ।
सामनाका कवितामा विसंगत वर्तमान र तीतो यथार्थका कलेवर प्रशस्तै भेटिन्छन् । गरिबी र अनिश्चितताले थलिएको युवा पुस्ता जो हरियो पासपोर्ट हातमा लिएर अरब छिर्ने ढोकामा उभिरहेका छन् । युवा वितृष्णाले ग्रस्त छन् । यसै गरी विदेशिने दाउमा छन् ।

अधिनायकहरू छन् । देशमा मात्र होइन, प्रत्येक घरघरमा । जो सधैँ आदेशको भाषा बोल्छन् । उनीहरू जो सिर्जनासँग हरपल त्रस्त हुन्छन् । नयाँ विचार र परिवर्तन पटक्कै मन पराउँदैनन् । ती ढोँगीहरू न घर न देशलाई अघि बढ्न दिन्छन् । यस्ता पीडा पनि समेट्छन् सामनाका कविताले । उनका कवितामा चेतनाको धरातल र उन्मुक्तिको तीब्र हुटहुटी छ । विद्रोहको झिल्का, आक्रोश र अस्तित्व चिन्तन पनि छ ।

कताकता उनका कतिपय कविताले शिल्पगत सुन्दरतालाई धान्न नसकेको जस्तो लाग्छ । केही कविता रुखो र कडा शब्दको जोडघटाउका कारण बग्नुको साटो कठोरता बेहोर्दै अडिरहेझैँ लाग्छन् । लाग्छ, कविता बग्नुपर्छ । कविता भन्नु शब्दहरूको निरन्तर यात्रा हो । बन्न खोज्दाखोज्दै फेरि सोचेजस्तो बन्न नसकेको पीडा पनि बोकेका छन् केही कविताले ।

पर्खालभित्रको घाम

लेखक    : सामना पहाड
प्रकाशक    : चितवन साहित्य परिषद्
मूल्य    : २०१ रुपियाँ

प्रकाशित: भाद्र १८, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.