नेपाली लघु-उपन्यास : पृथ्वी ,राष्ट्रियता र मानिस

~उमापति भुसाल~Umapati Bhusal

प्रमुख पात्रहरू:-
नारद, फूलसरा र हिमलाल तथा सहायक पात्रहरु: चार छोरीहरू

भाग-एक

चार सन्तान पछि जन्मेको हिमलाल नारद र फूलसराको पाचौं सन्तान हो । पाचौं सन्तान जन्माउँदा पनि फूलसरालाई दुख र पीडा भन्दापनि निकै ठुलो उत्साह थियो किनकि उनीहरूको आशाको त्यान्द्रो (छोरा) थियो उ ।परिवारमा ठुलो हर्ष बढाँई नै भयो उ जन्मँदा । ४ दिदीहरुको न्यानो माया सहित गाढा अविभावक वात्सल्य प्राप्त गरेको हिमलाल शारीरिक र मानसिक दुवै रूपमा तन्दुरुस्त बन्दै गयो । परिवार धौ- धौ ले चलेको हुँदा दिदीहरुले दैनिक रूपमा ठुलो कामको जिम्मेवारी वहन गर्नुपर्थ्यो भने हिमलालले पनि स-सानो काममा सघाउनु कर्तव्य बन्न आउंथ्यो ।

नारद र फूलसरा चाँही त बिहान भाले बासेदेखि अबेर साँझसम्म काममा जोतिनुको विकल्प थिएन। हुनपनि आकारले ठुलो परिवारको पालन पोषण निकै गाह्रो थियो उनको परिवारलाई। तरपनि आशाको त्यान्द्रो हिमलालको जन्मले सिङ्गो परिवारमा उत्साहसहितको उज्यालो ल्याएको थियो ।सबैको माया र स्नेहको केन्द्रबिन्दु हिमलाललाई सबैले माया गरेर हेमु भनेर बोलाउथे । यथेष्ठ माया ममता पाएको भएपनि उ बिल्कुल मात्तिएको थिएन ।उमेर बढ्दै जाँदा उसलाई पनि गाउँको आधुनिक सुबिधबिहिन प्राथमिक स्कुलमा भर्ना गरियो जबकि कान्छी बाहेक उसका ३ दिदीहरुले त्यस स्कुलको पढाइ सकाएका थिए भने टाढाको स्कुलमा गएर पढाइलाई निरन्तरता दिने परिस्थिति थिएन । उ कान्छी दिदीसँग स्कुल जान्थ्यो । ३ दिदीहरुले इच्छा हुंदाहुदै आफुहरुले धेरै पढ्न नपाए पनि भाइलाई सबै मिलेर पढाउने अठोट गरेका थिए ।त्यसैले जे छ त्यसैमा सन्तुष्टि गर्न सक्ने परिवारका सदस्यहरुका कारण नारद र फूलसरा पनि खुसी थिए ।

नारदका सबै छोरा-छोरी चलाख थिए । लाग्थ्यो , गरिबीले तिनीहरूलाई प्रशिक्षण गरिरहेको थियो जिउने तरिका सिकाईरहेको थियो ।भोको न भकारीको अवस्था भएपनि उनीहरू स्वस्थ र सुन्दर थिए । हिमलाल पढाइमा राम्रै थियो भने फुटबल खेल्न औधी मन पराउँथ्यो ।सुरु सुरुमा टोल-टोलका समूह बनाएर आफ्नो प्यारो टोललाई जिताउन दिलोज्यान दिएर खेल्थे । पछि बिस्तारै गाउँ – गाउँको खेल हुन थाल्यो ।सुरुमा आफ्नो टोललाई आफ्नो राष्ट्रियता , अनि आफ्नो गाउँलाई गर्दै उसको माया -ममताको क्षेत्र र राष्ट्रियतामा पनि व्यापकता आयो ।

भाग- दुई

समय बित्दै जाँदा परिवारका सदस्यका दबाबका कारण नभएपनि परिस्थितिले गर्दा विपन्न ग्रामीण जीवन नारदको परिवारका लागि झन् -झन् चुनौतिपूर्ण बन्न थाल्यो । बढेका छोरीहरू , हिमलाललाई प्राथमिक पास गरिसकेकोले हाइ स्कुल पठाउनु पर्ने लगायत अन्य विविध कारणले मनोबैज्ञानिक दबाब सिर्जना हुन थाल्यो। बाहिरबाट झ्वाट्ट हेर्दा ठिकै देखिएपनि भविष्यमा हुनसक्ने अप्ठयारालाई मध्यनजर राख्दै नारद र फूलसराले विकल्पहरुको बारेमा सोच्न थाले । परिस्थितिलाई राम्ररी बुझ्न सक्ने फूलसराले बिचरा नाराद्लाई कहिल्यै अप्ठेरोमा पार्ने काम गरिनन् बरु समाधानका विकल्प खोजेर सहयोग गर्दथिन ।

अन्तरिक रूपमा छोरीहरुलाई चाहेजति पढाउन नपाएकोमा निकै दुखी थिए एकातिर भने अर्को तर्फ अत्यन्तै इमान्दार भएपनि उमेर बढ्दै जाँदा तिनीहरूको जवानीको मर्म र आवश्यकता बुझेर समयमा राम्ररी तिनीहरूको बिहे-दान गर्न नसकिने होकी भन्ने ठुलो पिरलोमा थिए ती दम्पत्ति । नारदले पहाडमा भन्दा न्यून आर्थिक अवस्था हुने परिवारलाई तराईमा जीविकोपार्जन गर्न सजिलो हुने कुरा बर्षौं पहिला तराई झरेका आफ्ना अफ़न्तहरुबाट सुनेका थिए । उनी फूलसरासंग राम्रो सर-सल्लाह र छोरा-छोरीहरू सँग सामान्य कुरा गरेर तराईको बारेमा राम्ररी कुरा बुझ्न एकपटक तराई जाने निधो गरे । उनी एकजना आफन्त जो धेरै वर्ष पहिला बसाई सरेर तराई गएका थिए, तिनको घरमा पुगे । पहिले धेरै चोटि भेट्न बोलाउंदा पनि पुग्न नसकेको नारद ती आफन्तकोमा लाज र अप्ठ्यारो मानी मानी गए ।

फराकिलो जमिन र निबेक-धिमेक गरेरै भएपनि पहाडी प्रदेशको तुलना केही प्रगति गर्न सकिने सम्भावना बुझेर आफन्तको राम्रै सहयोग हुनसक्ने आस्वाशन समेत पाएर एक हप्ता मै उनी घर फर्के । आफन्तहरुको राम्रो बन्दोबस्त देखेर पहिल्यै तराई नझरेकोमा हल्का पश्चाताप गर्दै घरमा सारा बेली विस्तार लगाए जसबाट फूलसरा लगायत परिवारका सदस्यहरूबाट सकारात्मक प्रतिक्रिया आयो । छोरीहरू हल्का उत्साहित भए भने हिमलाललाई खासै प्रभाव परेन । उनले आफ्ना आफन्तलाई जग्गा जमिन बेचेर तराई जाने कुरा बताए । ती आफन्तले उनलाई जहाँ गएपनि तेस्तै हो, यहाँ पनि विकासका पूर्वाधार बन्दै छन् भनेर नजाने सल्लाह दिएपनि उनले आफ्नो मन- मष्तिस्कमा बनाएको बलियो निर्णयलाई बदल्न सक्ने कुरा थिएन, फलस्वरूप सामान्य मूल्यमा भएको जग्गा-जमिन बेचेरै छाडे । हिमलालको पहाडी राष्ट्रियता तराईको राष्ट्रियतामा परिणत हुनेकुरा त्यति सजिलो भने थिएन । अन्तत, सदियौं देखिको त्यो परिवारको त्यो पहाडी इलाकसंगको भावनात्मक सम्बन्ध एक प्रकारले अन्त्य हुने भो । उनको यो निर्णय निकै ठुलो छलांग नै हो र ठुलो संक्रमण पनि । छाडेर जाने निर्णय भएपनि सजिलो भने थिएन, व्यबहारिकरुपमा त्यसलाई सही व्यवस्थापन गर्न ।

भाग- तिन

जति जति तराई झर्ने दिन नजिकिन थाल्यो, त्यति त्यति नारद र फूलसरा दुबिधामा भएपनि छोरीहरू र हिमलाल भने खुसी देखिन्थे किनकि कान्छी छोरी र हिमलालले राम्ररी नबुझेर खुसी थिए भने हुर्केका छोरीहरुले चाँही बढेको जवानी र आवश्यकताका कारण नंया अवसर पाउने हचुवा आशामा खुसी थिए । जे जसरि भएपनि उनीहरूले पिर नमानेकोमा नारद र फूलसरालाई राम्रै लागेको थियो । परिवाररुपी ठुलो जहाजका चालकदल(नारद र फूलसरा) भने गहिरो सोचाईमा थिए ।

सुरुमा उत्साहित देखिएका छोरीहरू र हिमलाल केही निराश देखिन थाले र नंया ठाउँको बारेमा अनेक जिज्ञासा गर्न थाले भने सुरुमा दुबिधामा रहेका नारद दम्पत्ति चाँही झन् पछि झन् मन बलियो बनाउनु पर्ने स्थितिमा पुगे ,हुनत तिनीहरूले पनि जान नसक्ने परिस्थिति भो भने फेरी यतै बस्न मिल्ला वा नमिल्ला भनेर आपसमा सल्लाह र छलफल नगरेका होइनन । हिमलाल लगायत सबैमा लाग्न थाल्यो, सबै बसेका छन्, हामी मात्रै किन जानु पर्‍यो ? आखिर मैले मेरो गाउँको लागि पल्लो गाउँसंग किन दुस्मनी गर्न पनि तयार भएँ ?मलाई लाग्थ्यो यो ठाउँ कहिल्यै छाड्दिन ? तर अहिले ? के हो माया , के हो राष्ट्रियता ? यसैलाई सिङ्गो संसार किन मानेका रहेछौं हामीले ? आदि आदि । हुँदा हुँदा साथी-संगी छाडेर जाने कुराले भित्र भित्र पिरोल्न थाल्यो, विशेष गरी छोरा छोरीहरुलाई ।तर धेरै ढिला भैसकेको थियो , सम्पूर्ण तयारी गरेर घर छाड्नुको विकल्प थिएन ।रमाइलो -नरमाइलो , उत्साहित -निरुत्साहित तथा आशाबादी- निराशाबादी हुँदै गर्दा जाने दिन आइसक्यो।जाँदा राम्रो हुने र नजाँदा राम्रो हुने गाउँलेहरूका सुझावहरुले पनि उनीहरू के गरौँ के नगरौं भएका थिए ।त्यसो त नजाँदा राम्रो हुने भन्ने धेरै हुँदा झन् समस्या परेको थियो, गाउँ छाड्न ।

त्यति बेला निर्णय भै हाल्यो केही परिस्थिति सुधारेर हामी यतै फर्किन्छौँ र भेटघाटको लागि त वर्षेनी आइरहन्छौँ भन्दै आफन्त र गाउँलेहरूले प्याक गरेका ब्याग प्याक लिएर बाटो लागे ।तर हिंडे पछि ………!!!!!!! ….. फर्किने भन्ने कुरा ?????…. राष्ट्रियता ?, पहाडको राष्ट्रियता ??, तराईको राष्ट्रियता???…. कुन ठाउँ कसको ??????

भाग- चार

नयाँ ठाउँ, नयाँ परिवेश, आफन्तहरुसंगको भेटघाट, समथर भूभाग , जहाँ गए पनि सेवा -सत्कार ।सुरु सुरुमा लाग्थ्यो कि ठिकै गरिएछ । तर केही दिन पछाडि, सबै आ-आफ्नो काममा लागे । आफ्नो लागि कसले सारा बन्दोबस्त मिलाइदिने ? त्यसको लागि पनि ठुलो अनुनय -विनय गर्नुपर्ने । जे जस्तो भएपनि बर्षौं देखि जोडेका कतिपय कुरा छाडेकै कारण समस्या सुरु भो । अनि सानो पुँजी ,ठुलो परिवार , गर्न सके आम्दानीका स्रोत धेरै हुने भएपनि सुरुमा नौलो अवस्थामा धेरै समस्या आइलाग्यो तिनीहरूलाई । केही समय त जे भएपनि पहाड नै ठिक थियो जस्तो भयो । तर केही समय लगत्तै, जब एउटा सानो जमिनको टुक्रा किनेर सानो घर बनाउन सुरु के गरेका थिए , ठेक्कामा प्रशस्त जमिन लिने मौका समेत मिल्यो । घरमा काम गर्ने मान्छे प्रशस्त भएकोले टन्न खेतीपाती उब्जाए ।

निकै ठुलो परिश्रम गरेकोले पहिलो वर्ष नै केही बचत गर्न सफल भयो नारदको परिवार ।छोरीहरू ठूल-ठुला भई सकेकोले स्कुल जान मानेनन् तर हिमलालले भने पढाइलाई निरन्तरता दिई रह्यो । फुटबलमा राम्रो रुचि भएकोले विभिन्न खेलहरुमा आफ्नो जिल्लालै जिताउन लागिपर्न थाल्यो र करिब करिब तराईको गर्दा पहाडी राष्ट्रियता अलिकति ओझेलमा पर्न सुरु भयो हिमलालको, सम्झना र माया नभएको भने होइन ।

राम्रै आम्दानी र बचत समेत भएकोले परिवारका सबै सदस्यको जीवनस्तरमा केही सुधार हुन थाल्यो ।सौन्दर्य र अनुशासनका धनी छोरीहरुको वर्षेनी बिहे गरदिनु पर्ने हुन थालेको थियो । तराई झरेको २ वर्षपछि ठूली छोरीको विवाह भयो । स्थिति केही सुध्रि सकेको हुनाले राम्रै परिवारसँग सम्बन्ध गाँस्न पाएकोमा सबै खुसी भए । उता हिमलालले हाई स्कुल पास गरेकोले काठमाडौँ पढ्न जाने इच्छा गर्‍यो । काठमाडौँमा खर्च गरेर पढाउन सक्ने स्थिति नभएपनि सामान्य नोकरी गरेर पढ्ने योजना सहित हिमलाल काठमाडौँ हानियो ।होटेलमा बेलुका काम गर्ने र बिहान पढ्ने गर्न थाल्यो ।साथीहरू तथा अरू चिनजान धेरै भएपनि खराब सङ्गतमा चाँही लागेन । सम्पर्क आदिले गर्दा कसरी संसारको अल्लि विकसित मुलुक जान पाए हुन्थ्यो भन्ने मनमा लग्न थाल्यो र संयोगले उसले अमेरिकाका लागि भरेको डि भी चिठ्ठा उसलाई पर्‍यो र उ अमेरिका जान सक्षम भयो।

डि भी चिठ्ठा परेको खबरले सबै घर-परिवार र आफन्त खुसी भए तर नारद र फूलसरामा भने एक्लो छोरा, अब त घरको परिथिति पनि ठिकै भएको छ, कहाँ जाने होला ? कस्तो होला त्यो अमेरिका ? भनेर चिन्ता पनि छायो खुसी सँगै उनीहरूमा ।अमेरिका जान पाएपछि नजाने कुरै भएन, त्यसमाथि जुनसुकै विदेश जान खुट्टा उचालेको मान्छे ।सबै कुराको व्यवस्था मिलाएर साथै तराई र पहाडतिर रहेका आफन्तहरु भेटघाट गरी अमेरिका जान अन्तिम तयारीमा पुग्यो । केही वर्ष काठमाडौँ बस्दा काठमाडौँको राष्ट्रियताले पनि उसलाई गाँजिसकेको थियो। काठमाडौँ छोड्न घर छाड्न जत्तिकै गाह्रो भयो, हिमलाललाई । हुनत, उसका पहाडदेखिका स्मरणहरु उसको मानस पटलमा आईरहन्छन तर पनि जहाँ बस्यो त्यंही सम्बन्ध बन्ने र अर्को राष्ट्रियता सिर्जना हुने कुरा उसको जीवनमा धेरैचोटी देखिन्छ ।

भाग- पाँच

नेपालको पहाडी प्रदेशको सानो गाउँमा जन्मेर तराई प्रदेशमा हुर्के, बढेको र पढेको मौलिक नेपाली ठिटो हिमलाल (हेमु)ले काठमाडौँ हुँदै अहिले अमेरिकाको व्यस्त सहरमा अति विकसित प्रविधि र नंया परिवेशमा उन्नति र प्रगतिको निम्ति नवीनतम सङ्घर्ष गरिरहेको छ ।सुरु सुरुमा पढाइको साथै दिनको १५/१६ घण्टा काम गरेर एउटा राम्रो अवस्था र स्तर बनाएको छ अमेरिकामा उसले । उसले एउटा सानो व्यवसाय सञ्चालन गरेको छ र उसले जीवनमा ठुलो सङ्घर्ष गरेका आफ्ना बाबु-आमा नारद र फूलसरालाई पनि अमेरिका ल्याउन सफल भएको छ र उसले नेपाली मूलकी American केटीसँग विवाह गरेको छ । उता सबै छोरीहरू विहेदान भैसकेकाले आ-आफ्नो घरमा रझाई रहेका छन् , उनीहरूसँग हिमलाल- नारदहरुको जीवन्त सम्पर्क भैरहन्छ। आर्थिक उन्नति सहितको सबै स्तर कायम गरे पनि कुन्नि के के नपुगेको जस्तो , सुख छ तर कता कता सन्तुष्टि नभए जस्तो अनौठो जीवन बिताइरहेका छन् उनीहरू ।

नारदले आफ्नै छोराले सुरु गरेको व्यवसायमा सघाउछन भने फूलसराले घरमा सहयोग गर्छिन।उमेरले पाका भैसकेका नारद, फूलसरा र हिमलाललाई पनि सपना जस्ता भएका छन् यी घटनाक्रमहरू । पहाडी गाउँको त्यो राष्ट्रियता तराईमा झर्यो, तराईको राष्ट्रियता काठमाडौँ सर्यो र अहिले पुराना ती सबै राष्ट्रियताहरु (आत्मीय हिसाबले नभई व्यावहारिक हिसाबले )अमेरिका उडेर आएको छ ।हुनत सबै पुराना याद- स्मरण जीवन्त छंदैछन तर नारदको परिवार अहिले अमेरिकामा बसेको छ (मौलिक थलोमा छैन) । अल्पसंख्यक भएर बसेको छ यहाँ , आफ्नो परिचय बदलेको छ । यसलाई के भन्ने ?? यसको उत्तर नपाएपनि नारदले मन-मनै भनेका छन् “कुन देशको मान्छे कहाँ पुगेको छ , कुन ठाउँको मान्छे कहाँ ? अनि अब त यति मात्र भन्न सकिन्छ मान्छेले पृथ्वी बनाएको होइन , पृथ्वीमा मानिस देखा परेका हुन् । सृष्टिको प्रारम्भमा (सुरुमा) निकै कम जनसङ्ख्या हुँदाका मानिस हामी सबैका साझा पुर्खा उनै थिए । जनसङ्ख्या बढ्दै जाँदा पृथ्वीका विभिन्न ठाउँमा बसाई-सराइ हुँदै गयो अनि त्यहाँको हावापानी र परिवेशले आकार-प्रकार रूप रङ्ग निर्धारण गर्‍यो। विभिन्न प्रचलनहरु सुरु भए ,जुन एक अर्को भन्दा भिन्न हुन पुगे ।

अर्थात् समग्रमा फरक फरक संकृतिको निर्माण भयो । आज ती हिजोका सबै आफन्तहरु समयको अन्तरले पराइ जस्तै मात्र नभई फरक र कतिपय हिंस्रक जन्तु जस्तै पनि बनेका छन् । तर अहिले विश्वव्यापीकरण र विभिन्न सुबिधाहरुले फेरी सबै नजिक बनाउन खोजेको भान हुन्छ ।मानिसहरू अहिले समिश्रित भएर बस्न थाले । यो Dynamic विश्वमा कुनै पनि चिज स्थायी रहेनछ। मौलिक रूपमा जे थियो त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ, त्यो जहाँ गएपनि प्राण भन्दा प्यारो छ । तर पनि पृथ्वी मानिसको ठुलो घर हो भने, मानिसहरू यस बृहत् परिवारका सदस्यहरू हुन्।जहाँ गएपनि मानव हितका निम्ति काम गर्नु र मान्छे भएर सभ्य जीवन बिताउनु नै ठुलो कुरा रहेछ, सारा कुरा परिबर्तनशील रहेछन् ।” र यसरी उनी र उनको परिवार चित्त बुझाउने परिस्थितिमा छ ।

“ईतिश्री”

2015-09-01
“कथा फूल हो भने उपन्यास बगैंचा हो” – यस लघु उपन्यासका पात्रहरु काल्पनिक हुन्, कहीँ कतै मिल्न गएमा संयोगमात्र हुनेछ
(लेखक सिर्जनशील नेपाली समाज  Houston, TX USA का संस्थापक अध्यक्ष हुन् )

(स्रोत : BrtNepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *