कथा : अन्तर्व्यथा : आजको

~कोमलप्रसाद पोखरेल~Komal Prasad Pokharel

आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आफ्ना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नुनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।

म एति टाढा यो बिरानु देशमा किन आएँ ! असी वर्ख नाघेका मेरा बाको अवस्था ऐले कस्तो होला ! अर्काको भनाइमा विश्वास गरी डलरको लोभमा पर्दा आज मेरो यो गति भो ! लोभले लाभ लाभले बिलाप भन्थे बुढापाकाले । मलाई लोभले लाभ हैन बिलाप मात्तै हात लागो ! अलिकति भा’को पाखो बारी पनि देउताजस्ता बालाई फस्ल्याङ् फुस्लुङ् पारी बेचेर बिदेशतिर टाप कस्ने म भन्दा पापी, दुष्ट छोरा सन्सारमा अर्को को होला ! हे भग्वान् मलाई केका दशाले याँ ल्याइ पु¥यायो नि ! एकछिन् रोएपछि हर्के पुनः बर्बराउन लाग्छ ।

विदेश पठाउने कम्पनीका पापी बज्ज्याले नक्कली भिसा दे’र मरेछ । तेसैले गर्दा तिन तिन बर्खसम्म लुकेर आप्mनु जिउज्यान नभनी अर्काकै कमारो भएँ । पैसा कमाउनु ता परै जाओस् ऐले झेलखानामा दुख् बेहोर्दै छु । एक बर्ख भैसको । था छैन अज्जै कति दिन थुन्ने हो । छोडिद्यो भने नि के गरी घर फिर्नु ! म पापी नि उस्तै छु । झेलखानमा परेछि मात्तै बालाई चिठी पठाएँ । बाले पाउनु भो भएन ! पा’को भा’ ता उताड नि चिठी आउनु पर्ने हो । कि……!
हर्केको कण्ठ एकाएक अवरुद्ध हुन्छ र भक्कानिएर डङ्ङ लड्छ र रुँदारुँदै झकाउँछ । टङ्टङ्… टङ्टङ्… टङ्टङ्…घन्टा घरले छ बजाए पछि ऊ झल्याँस्स हुन्छ, धर्खरिंदै उठ्छ र आप्mनो दुःख बिसाउन छेवैको कोठामा थुनिएको उसको साथी बजरङ्ग गुप्ताकोमा जान्छ ।

बजरङ्ग गुप्ता पनि हर्के जस्तै विदेशी मुद्रा कमाउन तिहाँ गएको जोगबनी बिहारको एउटा गरिब ठिटो हो ।

हर्केलाई देख्नासाथ केही मुस्कुराउँदै हर्केतिर हात बढाउँदै भन्छ, लेलो भैया आपका लेटर । अभि अभि मैने पोष्ट ओपिस से लेके आया हुँ ।

हर्के हर्ष र विस्मतको द्वन्द्वमा चिठी समात्छ । कता कता भित्र चस्स भएझैं हुन्छ उसको नेपाली मुटुमा ।

चिठीलाई तिन पल्ट ढोगेर विस्तारै नच्याती टिकट उक्काउँछ । सहिद धर्मभक्तको फोटो भएको टिकटलाई चुम्मा खाएर गोजीमा हाल्छ । खाम नच्यातिकन चिठी खोलेर उभिई उभिई पढ्छ ।

मिति २ हजार बाउन्न साल
मुंसिर दुइ गते सन्सरबार

पियारो छोरा हर्केकै, तेरो अभागी बाउको संजना र थुप्रै थुप्रै मायाँ । तैंले पठा’को चिठी बेलैमा हात परो । मेरै अभागले होला मैले बेलैमा चिठी लेखेर पठाउन सकिन । अब मात्तै अलेली चिठी लेख्न सक्ने भएँ हात काम्दै काम्दै । गल्ती भो भने सुधारी पड्नू ।
तँ याँबड हिंडेको निकोर्सी पल्टको कुरो हो माथि चुलीमा दुइ घरी कोला किनेर भारमा बोकी सुरुङ्गाको बुधबारे हाटमा बेच्न लाँदै थिएँ, माईको पुल नेर पुगेछि मलाई बसले किचेछ । होसाँ आउँदा म भद्रपुरको अस्पतालाँ सुतिर’को थे । मेरा दोडै खुट्टा भाँचिएछन् । अस्पतालाँ मेरो आफन्त भन्ने कोइ थे’न । मैले नचिन्या गोडा दुएक मान्छे अलिक पर्तिर एसो भन्दै थे — डाग्डर साप यो हर्के भन्ने मान्छेको दोडै गोडा काट्दिनु परो । बरु हजुर्लाइ……..। गाडी चल्ने ठाम्मा कोला बोकेर हिन्ने मोरो …..।… कच्च्याक हुनु पथ्र्यो ! बाँचेर हाम्लाई कम्ती दुख् देन ।

मेरो खुट्टा काट्नु पर्ने अवस्था थेन । खुट्टा नकाटिदिनोस् भनेर डग्डरसँग कति विन्ती भाउ गरेंं, रोएँ चिच्याएँ तर मेरो केइ लागेन । मलाई बिहोस पारेर मेरा दोडै खुट्टा काटेछन् ।

के गर्नु बाउ तँ याँ भएको भए मैले एसरी डुँडो भ’र बस्नु पर्ने थे’न होला । फेरि के भन्छस् र खुट्टा काटेको पर्सी पल्टै मलाई अस्पतालबड निकालो । तेस्तो अबस्थामा म कसरी घराँ आएँ होला तँ आ फैं सम्जी त नानी । तेस्पछि दस मइनासम्म घाउ निको नभ’र धेरै दुख् पाएँ । स्वास्नी लाने जारले’नि एस्तो दुख् नपाओस् ।

धन्न डाँडाघरे बैदाङ काकाले अनेक जरीबुटी गरेर मेरो घाउ निको पारे । मेरा भाबी नै र’छन् । कइल्यै नबिर्सने गुन ला’का छन् उनले । तेसै गरी थुम्की गोठे जोगी साँइँलाले खान दे’र मेरो ज्यान बचाइ र’छ । फेरी लाउँदै दस घर चाहारेर चाँमल ले’र आउँछ । मलाई नि दिन्छ आफु नि खान्छ । अगिल्ला जनमको छोरै र’छ बरा ! उसको आफ्नु भन्ने कोइ छैन । पछि तैंले उस्को हेर्बिचार गर्नू ।

हेर् बाउ ऐले तँ के गर्दै छस्, के खाँदै छस् ! याँबड लग्या पैसा नि पुग्ने बित्तिकै सकिएछ । सात समुन्द्र पारीका मुलुकाँ तँलाई टिठ्याउने को पो होला र ! तेरो कथा बेथा सुनेर मेरो मुटुक ढुक्ढुक् ढुक्ढुक् गर्छ ।

मैले ता तँलाई पैले नै भन्या थें पैसा कमाउन विदेश जाइर’नु पर्दैन, आफ्नै मलुुकाँ नि उद्दिम गरो भने पैसा कमाइन्छ भनेर । तँ जत्ति नै पड्या लप्सीबोटे छ्याङ् कान्छाको छोरो जेठोले चार भन्ज्याङ् नेपालमैं टिपिसन हो कि के पढा’र मनग्गे कमाउँछ अरे । एइ गएको दशैंमा घर आँउँदा बाउलाई भेडी गोठालाले लाउने जस्तो तातो गन्जी, आमालाई ढाकाको चोलो र मुजेत्रो, बुइनीलाई इस्कुले डिरेस र मनग्गे दशै खर्च ले’र आयो अरे ।

गैरीघरे कालेले नि हुटेलमा पाले बसेर दशैंमा सए सातेक रुप्याँ ल्याएछ । सानामा तँसंगै गुच्चा खेल्ने घिम्रे पुरेतको छारो चिम्रे थे’न, हो त्यो पाँच बर्ष अगिसम्म जुँगे हल्दारका पछिपछि हिंडेर स्याइटेका भराँ जिउ पाल्थ्यो । ऐले त कोनि कुन पाटीको भोटाँ उठेर मान्ने भ’को छ अरे । तिस दिनमा तिसै हज्जार कमाउँछ अरे । सर्खारले गाडी नि दे’को छ भन्छन् । हुने बेलाँ गोरु नि ब्याउँछ भन्छन, हो र छ ।

तल्ला गाउँको तालु खुइले मुख्याको काइँली स्वास्नी पटिको छोरो लुइरे नेपाल खाल्डाभित्रैको एउडा दबाइ दोगानाँ नकुर बस्या थ्यो । तिन बर्खपछि डाग्डर भएछ । ऐले नेपालकै कोनि कुन सहराँ पैसा फ्इाउरी ला’र बस्या छ अरे । ऐले उसलाई सप्पैले डाग्डर एल. भन्दारान् । खै के हो एल सेल भन्या म ता बुज्दा नि बुज्दिन ।

चार चोटि म्याटिस फिल भ’र रुँदै हिडेको भुँडे माजनको छोरो बिस्ने अइले अंगे्रजी इस्कुलाँ हाकिम छ अरे । बजाराँ चारतले सिमेन्टीको घर जखेछ तेल्ले नि ।

मैले तँलाई यिनेरु जस्तै हुनुपथ्र्याे भन्न खोज्या होइन । हाम्रै देशाँ नि गर्दा हुन्थ्यो भन्या हो ।

खोइ मलाइ ता एसपालिको दशैं नि आएन । दशैभरि तेरै बाटो हेरेर रोइबसें । अर्थोक् ता परै जाओस् बिरालोले खस्याक् गर्दा नि तेरै झझल्को लाग्छ । तेरो मुख हेर्न पाए नि अलिक बर्ख बाँच्ने थें । एइ गएको असारमा चार कोरी दुइ टेकें । अब कति दिन पो बाँच्छु होला र !

सपनामा जइले नि तेरी आमालाई मात्तै देख्छु । हिजो छाडी अस्ति एउडा सारै पर्तङ्गे सपना देखें । मेरो घुँडाँ मुन्टो राखेर तेरी आमा रोई बस्या थी । दुई हात थापेर भन्दै थी, मैले तिम्लाइ जिम्मा दे’को मेरो मुटुक् काँ छ ? मलाई देऊ ।

म चुपो लागि बसें । केइ जुवाफ लाउन सकिन । एक न दुई भ’र घोसे मुन्टो लाइरएँ । खोइ मरेको मान्छेको हङ्सले नि छोराछोरी नबिर्सिंदो र’छ !

याँको हाल खबर केइ छैन भन्दा नि धेरै छन् । ऐले हाम्रा देसाँ पर्जातन्तर्को सारै जगजगी छ । मान्छेलाइ मात्तै होइन हावाजाज, मटर, भटभटे इत्येदि सप्पै थोक्लाइ पर्जातन्तरको मात लग्या छ । भर्खरै इन्डेबड आकासाँ उडेका दोडा हावाजाज अक्कासमै लाक्पा खेलेर भुइँमा पछारिएछन् र त्याँभित्र भा’को जात्रुहेरु सप्पै भुर्कुट् भ’छन् । तँजस्तै पैसा कमाउन बाइर ग’का धेरै नेपाली ज्वानहेरु मरेछन् ।

तल गोलधापे माइला मगरको छोरो बिर्खे पनि तेइ घटनामा परेछ । एउडा भा’को छोरो नि तेसरी मर्दा बिचरी आमालाइ कस्तो भा’होला ! छोराको पैसा खोइ कोनि कति लाख पाउँछ भनेर बिर्खेको आमालाइ इन्डेको दिल्ली बोलाएछ । तर अरु पैसा ता परै जाओस् फर्किने बाटो खर्च नि मरेर द्यो अरे । दिल्लीका सिल्ली बज्जेहेर्ले पैसा जति आफैं हसुरेर दुख् मात्तै देछन् बबुरीलाइ ।

अर्को कुरा अइले याँ राम्रा मान्छे जति छानी छानी गाडीले किचेर मार्दैछ । उनन्चास साल माग तिन गते हाम्रा कमल सरको जेठो छोरो सुर्जेलाइ दमकको रतुवा पुलको छेवैमा बसले किचेर ठहरै मारो । ऊ सङ्गै उसको साथी कुमारलाइ नि ठहरै पारो । बिचरा सुर्जे छ्यालिस सालको आन्डोलनमा गोली खा’र नि बाँच्या थे । गर्नु गरो बज्याका ठाँडाले । तेरो कुरा गर्दा सर र सर्नी डाँकै छाडेर रुन्छन् । सर्नीले भनेको तँ र उनको सुर्जे एक दिनले मात्तै जेठाकान्छा अरे ।

अस्ति भर्खर मात्तै इटरी ओर्तिर सुकुना पुलैमा पान्जना इस्कुले नानीलाइ ठाँउको ठाउँ गाडीले कच्याक्कै पारेछ । कठैबरी एक्कै घर्का तिनजना पो परेछन् त ! तिँदेर्का बाउआमा अपहत्ते गरी मर्न आँट्या थे रे । तर गाउँलेले बँचाएछन् । च्च…च्च… कठैबरि… अब के गरी बाँच्नु तिनेर्ले ! एस्ता थुप्प्रै घटना भ’र दिनैपिच्छे जस्तो मान्छे मरिरन्छन् । लेखी साद्धै छैन ।

अँ तेताका नि धेरै नराम्रा कुरा सुन्दै छु । अर्काको मुलुक हो । बहुत होस् पु¥याउनू । नेपाल चारभन्ज्याङ् भित्रका एक जना मास्टरको तेतैतिर नकुर गर्दा मिसिनले दोडै हात छिनायो अरे । मेरा खुुट्टा छैनन् तेरो नि हात काट्यो भने पछि हाम्रो के गति होला !
अर्को कुरा रसुवा धुन्चेको रुन्चे भोटेले विदेशबड डलरसँगै एड्स् नि ल्यायो भनेर उल्लाइ सप्पैले गाली ग¥या सुन्छु । तँसँग तेस्तो एड्स्फेड्स् केइ छ भने कुनै हालतमा नि एता नल्याउनू । साँउँसम्म उठ्यो भने तेतै बेच्नू । बिकेन भने बरु तेसै भा’नि कसैलाइ दे’र आउनू । मान्छेले गाली दे’को राम्रो हैन ।

उइ तेरो अभागी बाउ

चिठी पडिसकेर राख्न लाग्दा खामभित्राबाट अर्को एउटा पट्याएको कागजको टुक्रा फुत्रुक्क भुइँमा खस्छ । हर्के निहुरिएर कागज टिप्छ । सेतो धागाले बाँधेको कागज देखेपछि लगलग काम्दै डोरी फुकाएर पढ्न थाल्छ ।

हर्के भतिजकै,

उपरान्त धेरै दिन अगिदेखुन् च्याङ्बा दाइ तँलाइ चिठी पठाउने कुरा गर्दै थे । बल्लतल्ल हिजो मात्र सुरुङ्गा बजार जाने गोरु गाडामा चडेर ढ्वाङ्मा चिठी खसाउन जाँदै थे । माइ किनारनेर पुगेछि उछिन्पाछिन् गर्दै कुद्ने दोडा बसले ठाउँको ठाउँ ठहरै मार्यो । बिचरा ऐया भन्न नि पाएनन्.! खुट्टा भाँच्ने तेइ गाडी ज्यान लिने नि तेइ गाडी ! नेपालमा मान्छे जति गाडीले नै सक्ने भो भतिज ।

च्याङ्बा दाइ तँलाइ चिठी पठाउने घिड्घिडो पुरा नभै यो सन्सारबड बिदा भए । उनको आत्माले शान्ति पाओस् भनी उनका आफ्नै हातले लेख्या चिठी समेत पठाइद्या छु । मलाइ मेरा बाउ, आमा, सिरिमती मर्दा नि एस्तो पिर पर्या थे’न । हुनुहार् दैव नटार् भन्या एइ र’छ । अब जे हुनु भैगो । धेरै सुर्ता गर्दा नि दाइ आउँदैनन् । मलाइ नै आफ्नु बाउ सम्जेर तुरन् घर् फिर्नू । दाइको काज किरिया म गर्दैछु । पछि मेरो काम गर्ने तँ छँदैछस् । चिठी पाम्नासाथ त्याँ भात खा’र याँ चुठ्न आउनू ।

थुम्की गोठे जोगी काका

चिठी पढिसक्नासाथ हर्के थर्र काम्दै रुख ढलेझैं भुइँमा ढङ्ङ ढल्छ र भट्याक् भट्याक् गर्न थाल्छ । आत्तिएको रुन्चे स्वरमा हर्केलाई उठाउन खाज्दै बजरङग चिच्याउँछ हर्के भैया ……! ! !

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.