नेपाली उपन्यास : मृत्यु विरुद्ध

~राजनप्रसाद निरौला~Rajan Prasad Niraula

मृत्यु विरुद्ध | नेपाली उपन्यास | राजनप्रसाद निरौला


ब्याग भिरेको, केटै उमेरको एउटा मानिस होटलको मूलद्वारभित्र पस्यो । ढोकामा उभिएको सुरक्षागार्डले खुट्टा बजारेर सलाम ठोक्यो । काउन्टरमा पुगेर अलिकति निहँुरिदै त्यो मानिस अङ्ग्रेजीमा बोल्यो ।

“हेल्लो, मेरो नाम संघर्ष हो ।” ऊ कपटी भावले मुस्कुरायो पनि ।

“हेल्लो ।” केटी आकर्षक ढङ्गले बोली ।

“रात्रिका लागि बास बस्ने प्रबन्ध हुन सक्ला ?”

“पक्का, हाम्रो सौभाग्य हो ।” केटीले व्यापारसुलभ मुस्कानसहितको औपचारिकता देखाई ।

“एउटा कोठा, एउटा ओछ्यान कुनै पनि किसिमको ।”

“हाम्रो प्रबन्ध महोदयका निम्ति आरामदायी हुनेछ ।”

“मलाई साँचो दिनुहोस् ।”

“कृपया पेस्कीस्वरूप केही रकम दिनुपर्छ, कुनै महŒवपूर्ण वस्तु वा सम्पत्ति भए लकरमा राख्नुहोला ।”

उसले केही नोटहरू दियो । काउन्टरकी केटीले रजिष्टर अगाडि सारी । उसले त्यसमा आफ्नो नाम र ठेगाना लेख्यो, राहदानी निकाल्यो । केटीले राहदानीमा खासै रुचि देखाइन । नजिकै उभिएको सेवकले साँचो लिएर सामानको विषयमा सोध्यो ।

उसले भन्यो “मसँग सामान छैन” ।

केटो अगाडि लाग्यो । साँचो घुमाएपछि ढोका खुल्यो । उनीहरू भित्र पसे । भित्र, एउटी मस्त केटी ऐना हेरेर कपाल कोरिरहेकी छ । केटी मुस्काउँदै आगन्तुकतिर हेर्न थाली । संघर्षको निधार खुम्चियो ।

“यो कोठा डबलबेडको छ कृपया मिलेर बस्नु होला ।”

“मलाई कसैको आवश्यकता छैन । आवारा, छाडा केटीहरूसँग मेरो वास्ता रहँदैन । म असल, सभ्य केटीहरूसँग मात्र मतलब राख्छु, आवारा, छाडाहरूसँग होइन, तिमी उसको व्यवस्था गरिदेऊ, हैनभने मैले आफ्नो व्यवस्था गर्नुपर्छ ।

“ओ के सर ।” केटो बोल्यो । केटी रिसाउँदै, निहुरेर बाहिर निस्की ।

“यो बोलाउने घण्टी हो, खानाको के व्यवस्था गरौ सर ?”

“मैले खाना खाइसकेको छु । मलाई व्यवधान नपु-याऊ । ढोकामा व्यस्तको कार्ड झुण्ड्याएर जाऊ ।”

केटो गयो । उसले कोठालाई चारैतिर हे-यो । उल्लेखनीय वस्तु केही पाएन । सामान्य होटलको सामान्य कोठा । ओछ्यानको निरीक्षण ग-यो । पक्केै पनि अघिल्लो रात यो ओछ्यानमा छाडा, अश्लील कार्यकलाप भएको हुनुपर्छ तर ऐले यो सफा छ । ऊ कपडा खोलेर, बत्ती निभाएर ओछ्यानमा सुत्यो । गर्मीको समय ओढ्ने नओढी निदायो ।

ठूलो आवाजले ढोका ठटाइएकोले बिउँóयो । उसलाई सपना जस्तो लाग्यो । आँखा मिच्दै, धरमराउँदै उसले भित्रबाट चुकुल नलाएको ढोका खोल्यो । ढोकामा प्रहरीहरू छन् । एउटा प्रहरीले उसको हात समातेर तान्यो । प्रहरी ठूलो आवाजमा केही भनिरहेको छ । ऊ यहाँको स्थानीय भाषा बुóदैन । प्रहरीहरू उसको भाषा बुóदैनन् ।

“मलाई किन समातेको” ऊ नेपालीमा बोल्यो । तिनीहरूले उसको कुरा बुझे जस्तो लागेन ।

उसले अङ्गे्रजीमा “के भयो ? मलाई किन समातेको ?” भनेर सोध्यो । तिनीहरूले फेरि पनि उसको भाषा बुझेनन् । त्यो प्रहरीले उसलाई हातमा समातेर तान्दै लग्यो । प्रहरीको हाकिम हुनुपर्छ, संघर्षले हाकिमसँग अङ्ग्रेजीमा कुरा गर्ने प्रयास ग¥यो । सायद हाकिम पनि अङ्गे्रजी जान्दैन । हाकिमले के भन्यो को नि ? प्रहरीहरूले उसलाई तान्दै लगभग घिसार्दै प्रहरीभ्यानमा हाले । भ्यानमा केटा र केटीहरू धेरै जना छैनन्, सायद इजाजतपत्रबिनाका वेश्याहरू र तिनीहरूका ग्राहकहरूलाई प्रहरीले समातेको हुनुपर्छ । केही केटीहरूले इजाजतपत्र जस्तो कार्ड देखाए । तिनीहरूलाई प्रहरीले छोड्यो । उसलाई आफ्नो ब्यागको चिन्ता भयो । उसको भाषा कोही बुóदैनन् । संघर्ष स्थानीय भाषा बोल्न जान्दैन । आफूलाई अभिव्यक्त गर्न उसले ती केटा र केटीसँग अङ्ग्रेजी बोल्न खोज्यो तर कसैले बुझेनन् । एउटाले ऊसँग टुटेफुटेको भाषामा अङ्ग्रेजी बोल्यो । ऊ उत्साहित भएर बोल्न थाल्यो ।

“मलाई किन समातिएको हो मलाई थाहा भएन ?”

“वेश्यावृत्तिको आरोपमा तिमीलाई समातिएको हुनुपर्छ ।”

“मसँग कुनै केटी थिएनन् । म एक्लै सुतिरहेको थिएँ ।”

“तब, कुनै तल्लो स्तरको प्रहरीले बढुवा वा तक्मा पाउने आशमा तिमीलाई समातेको हुनसक्छ ।”

“के यो देशमा नागरिकले न्याय पाउँदैनन् ?”

“यो देशमा न्याय पाइन्छ । न्यायको कदर पनि हुन्छ तर एउटा प्रहरीको बदमासीका कारण सिङ्गो देशलाई दोष दिन मिल्दैन ।

“सायद तिमी ठीक भनिरहेका छौ । देशको प्रतिनिधित्व एउटा प्रहरी मात्रले गर्दैन ।”

“यसो भन्नु भूल हुनसक्छ वास्तवमा देशलाई सिपाहीले नै प्रतिनिधित्व गर्छ तर प्रत्येक सिपाहीको महŒवाकाङ्क्षालाई देशले सम्बोधन गर्न सक्दैन ।”

त्यतिखेरै चारपाँचजना सिपाही आएर भ्यानमा बसे । समातिएकाहरू जम्माजम्मी सातजना भए, बस्ने ठाउँ र भुइँमा जताततै बसेका छन् । केटीहरूलाई लाइसेन्सको आधारमा छोडियो भने केटाहरू कसैलाई पनि छोडिएन । संघर्ष अङ्ग्रेजी बोल्न सक्नेसँग बोल्यो ।

“के तिमी मेरो विषयमा प्रहरीसँग केही बोलिदिन सक्छौ ?”

“क्षमा गर, म केही बोल्न चाहन्न कारण उनीहरूले मलाई लठ्ठीले हान्ने छन् ।”

ऊ आफँै अङ्ग्रेजीमा बोल्यो “मैले वेश्यावृत्ति गरेको छुइन । यदि गरेकै भए पनि यो समातिनु पर्ने अपराध हैन ।”

प्रहरीले के के बोल्यो उसले बुझेन तर जब प्रहरीको लठ्ठीले उसको खुट्टामा चोट पु¥यायो, ऊ झसङ्ग भयो । डराएन तर दुःखाइ सहन गा¥हो भयो । ऊ चुप लाग्यो ।

बत्ती बलिरहेको सडकमा आँखा डुलाउँदै ऊ चुपचाप भ्यानमा बसिरह््यो ।  ऊ पहिलो चोटि यो देशमा आएको छ ।

                निकै पैसा खर्च गरेर संघर्ष पैसा कमाउन यो देशमा आएको हो । सकेछ भने पढ्नेछ यहाँ । ऊ किञ्चित् डराएन । डराउनुपर्ने कुनै कारण देखेन । नयाँ देश, नयाँ ठाउँ जे होस उसले कुनै दोष लाग्ने काम गरेको छैन । ऊ मान्छे हो पैसा तिरेर होटलमा सुत्न पाउँछ । उसलाई घरकी बूढी आमा, स्वास्नी, छोरी कसैको याद आएन । दिदीबहिनी कसैको पनि सम्झना आएन । नयाँ ठाउँ, नयाँ शहर पैसैपैसा ऊ यस्तै सोचमा मस्त रह््यो । थुप्रो पैसा कमाएर धनी बन्ने कामनाका निम्ति इस्पात हुनैपर्छ, उसले यी सबै कुरा बुझेको छ ।

                गरिबीविरुद्धको यो लडाइँ, मर्न तयार भएर ऊ विदेश छिरेको हो । बाँच्नका निम्ति आफ्नै देश पर्याप्त छ ।

——————————–0——————————

बन्दुक तेस्र्याएर उनीहरूलाई एउटा हल जस्तो कोठामा हुलियो । प्रहरी कार्यालय एकदम राम्रो हालतमा छ । कार्यालयजस्तै हल पनि राम्रो अवस्थामा छ ।  पङ्खा घुमिरहेको छ, पङ्खा चलाउनु पर्ने मौसम छ । कोठामा बेन्च जस्तो बस्ने वा सुत्ने ठाउँहरू छन् । ओढ्ने, ओच्छ्याउने छैन तर सफा छ ।  उनीहरूको प्रवेशपूर्व नै त्यहाँ पाँच जना छँदैछन् ।

संघर्षसँग अङ्ग्रेजी बोल्ने मान्छे अरुहरूसँग मिल्यो । ऊ एक्लो भयो । उसले पनि कोहीप्रति ध्यान दिएन । बेन्चमा चुपचाप बसिरह््यो । बाँकी एकआपसमा मध्यम स्वरमा कुरा गरिरहे । तिनीहरूको अनुहार तथा हाउभाउ हेर्दा धेरै डराएका जस्ता देखिन्छन् । कोही पनि बाँकी रातभर नै सुतेनन् । बिहानीपख उसलाई निद्रा लाग्यो करिब एक घण्टाजति निदाएछ ऊ । डराएको छैन । धैर्य गुमाएको छैन । आत्तिएको पनि छैन । खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्ता भने लागेकै हो तर यी सबै कुराले ऊ बेहद चिन्तित भने भएन ।

बिहान भयो । फलामको ढोकामा लगाइएकोे ताल्चा खोलियो । ठाउँठाउँमा बन्दुक बोकेर प्रहरी उभिएका छन् । राम्रै उज्यालो भएपछि देखियो, अफिसकोठामा प्रहरीहरू सुतेका रहेछन् । थुनुवाहरूलाई ताजा हुनका लागि शौचालय तथा बाथरुमको मौका दिइयो । कहीँबाट पनि आकाश देख्न पाइदैन । शौचालय तथा बाथरुमको कामपछि उसलाई ताजापन महसुस भयो । यहाँबाट करिब दुई चारघण्टामा छुट्ने छ । त्यसपछि ऊ होटल जाने छ र आफ्नो ब्याग लिनेछ । उसले योजना बनायो ।

करिब नौ बजेपछि एकएकजनालाई पुछताछका निम्ति बोलाउन थालियो । ऊ आफ्नो पालो पर्खेर बसिरह््यो, बसिरह््यो । आफ्नो स्वतन्त्रताप्रति ऊ विश्वस्त छ । करिब दसबजेतिर चिया र पाउरोटी खान दिइयो । गएका मान्छेहरू फर्केर हलमा आएनन् । कार्यालयबाटै आफ्नो सामानसहित बाहिरिए । दिउँसो दुई बजेतिर खाना दिइयो । खाना मध्यमस्तरको थियो । केही रोटी, दाल र तरकारी पनि । पुछताछका निम्ति गएका मध्ये एकजना केटी र दुईजना केटा फर्के । अङ्ग्रेजी जान्ने मान्छे फर्किएन । उसले तिनीहरूसँगबाट केही पनि बुóन सकेन । उसले तिनीहरूसँग प्रश्नहरू सोध्यो तर जबाफमा बोलिएको भाषा बुझेन । करिब चारबजेतिर प्रहरीले उसको अगाडि आएर केही भन्यो तर उसले बुझेन ।  हातको इशारा बुóने प्रयास गर्दा बोलाएको भान भयो । बन्दुकधारीले ठेल्दै उसलाई चारैतिर फलामको बार लगाइएको कोठामा लग्यो र एउटा कुर्सीमा बसायो । टेबलमा उसको ब्याग छ । उसलाई अचम्म लाग्यो । उसले हात बढाएर आफ्नो ब्याग समाउन खोज्यो । अर्को कुर्सीमा विराजमान् प्रहरीले उसको हातमा डन्डाले हिर्कायो । उसलाई लाग्यो ऊ चुक्यो । उसले आफ्नो ब्यागलाई नचिनेको जस्तो गर्नुपथ्र्यो होला ।

“………………..” अगाडिको अफिसरले स्थानीय भाषामा केही भन्यो, उसले बुझेन ।

“म अङ्ग्रेजी बोल्न जान्दछु के तपाईँ पनि ……..?”

त्यो प्रहरीले उसको हातमा हतकडी लगायो । उसले विरोध गर्न चाह््यो तर सकेन । प्रहरीले ब्यागलाई दराजमा राख्यो र बाहिरतिर हिड्यो । फलामको ढोकामा सुरक्षाकर्मीहरू तैनाथ छन् । ऊ त्यतिकै निकैबेर बसिरह््यो । निकै समयपछि त्यो प्रहरी एउटी महिला प्रहरी र कानमा स्टेथीस्कोप झुण्ड्याएकी महिला डाक्टर लिएर आयो । तिनीहरू उसको अगाडि आएर बसे ।

“हेल्लो, म डाक्टर एनी, के म तपाईँको स्वास्थ्य परीक्षण गर्न सक्छु ?” डाक्टर अङ्ग्रेजीमा बोली ।

उसले टाउको हल्लायो । डाक्टरसँग अङ्ग्रेजीमा आफ्नो कुरो राख्न सकिन्छ भन्ने आशामा ऊ भित्रभित्रै खुसी भयो । डाक्टरले नरम स्वरमा सोधी ।

“तपाईँको शुभनाम ?”

“संघर्ष ।”

“तपाईँको देश ?”

“नेपाल ।”

“ठेगाना ?”

“भोजपुर ।”

अग्लाई नाप्ने यन्त्रतिर इशारा गर्दै बोली “त्यसमा उभिनोस त ।”

संघर्ष उठ्यो । प्रहरीले उसको हातको हतकडी खोल्यो । ऊ त्यो यन्त्रमा उभियो । प्रहरीले स्थानीय भाषामा केही भन्यो । डाक्टरले लेखी । ‘उचाइ ५.६ फिट  ।’

प्रहरीले उसकोे छाती नापेर केही भन्यो । डाक्टरले लेखी ‘….. इन्ची ।’ अरु लेखी ‘रङ्ग गहँुगोरो ।’ 

उसलाई फेरि पहिलेकै कुर्सीमा बसाइयो । डाक्टरले ब्लडप्रेसर नापी । बिजुलीको यन्त्रद्वारा सुगर जाँची । बेडमा सुताएर इसीजी लिई । अन्त्यमा डाक्टर बोली “यी परीक्षणका नतिजाहरू ठिकठाक छन् ।”

“के कारण, मलाई किन समातिएको हो म जान्न चाहन्छुु ?” ऊ डाक्टरसँग बोल्यो । डाक्टर सुनेको नसुनै बाहिरिई ।

“हेल्लो, म क्याप्टेन इसाद ।” महिला प्रहरी स्थानीय लाग्थी तर अङ्ग्रेजीमा बोली । अङ्ग्रेजीमा बोल्न सक्ने मान्छे भेटिएकोमा ऊ फेरि खुसी भयो ।

“म संघर्ष ।” ऊ बोल्यो ।

“तपाईँ यहाँ किन आएको ?”

“कामका निम्ति म यहाँ आएको ।”

“कति पढनु भएको छ ?”

“स्नातकोत्तर ।”

“यो ब्याग कसको हो ?”प्रहरीले ब्याग निकालेपछि इसादले सोधी ।

उसले झूटो बोल्न चाह््यो तर सकेन, बोल्यो “यो ब्याग मेरो हो ।”

“यो कसको हो ?” ब्यागबाट पिस्तोल झिक्दै इसाद बोली ।

“यो मेरो हैन ।” ऊ हतारिदै बोल्यो ।

“यो तपाईँको ब्यागमा कसरी आइपुग्यो ? तिम्रो नभए कसरी तिम्रो ब्यागमा भेटियो ?”

“मसँग यसको उत्तर छैन, यकिनन् हतियार मेरो होइन ।”

“तिमीले त्यो मान्छेको हत्या किन ग¥यौ ?”

“को मान्छे ? कसको हत्या ?” ऊ झस्कियो ।

“नबुझे जस्तो नाटक नगर । तिमी हत्यारा हौ ।”

“मैले कसैको हत्या गरेको छुइन । तिमी मलाई कुनै दुर्घटनाको आरोपी बनाएर परिबन्दमा पार्न सक्दिनौ । केही प्रमाण छ भने बताऊ । मैले कसैको हत्या गरेको छुइन ।” उसले चर्को स्वरमा प्रतिवाद ग¥यो ।

“यो ब्याग लाश भएको सोफामा भेटिनु नै प्रमाण हो । तिमीलाई मृत्युदण्ड हुनसक्छ ।”

“मैले कुनै अपराध गरेको छुइन । तिमी निरपराधसँग यस्तो व्यवहार गर्न सक्दिनोै । तिमीले सहयोग गर्नुपर्छ ।” संघर्ष चिच्यायो । प्रहरीहरूले हातमा हतकडी लगाएर उसलाई पुरानै कोठामा लगे । कोठामा ऊसहित चारजना बाँकी भए ।

उसलाई अचम्म लाग्यो । उसले सम्झेको थियो उसलाई वेश्यावृत्तिको आरोपमा समातेर ल्याएका हुन्  तर कुरा फरक निस्क्यो । ऊ अचम्मको आशङ्काले पीडित भयो ।

——————————–0——————————

बेलुकाको खाना उसले डटेर खायो । त्यो खानामा उसलाई केही  मासु पनि दिइएको थियो । खानेकुराको मामलामा यहाँको सरकार उदार रहेको प्रतीत भयो । सामान्यतया ऊ खाना खाएको एक घण्टापछि  निदाउँथ्यो तर आज निदाउन सकेन । ऊ डराउने छैन । उसले छाती तान्यो । उसले कुनै पनि अपराध गरेको छैन । ऊ ढुक्क भयो । यो अस्तित्वको लडाइँ हो, मानवजातिको अस्तित्व । असन्तुलित मस्तिष्क मृत्यु हो । डर मृत्युको छाया हो । मानिस स्वयं मृत्युको प्रतीक हो । त्रिकोणीय सम्बन्धको विषयमा बुóने प्रयास ग¥यो उसले । जन्म–जीवन–मृत्यु । खराव स्वास्थ्य पनि मृत्युको प्रतीक हो । उसलाई लाग्यो यो लडाइँ नै हो । यो लडाइँ ऊ र यो देशको कानुनबीच छैन । यो लडाइँ मृत्युविरुद्ध हो । मृत्युलाई चुनौती दिन सक्नुपर्छ । उसले दाहिने हातको मुठी देबे्रहातको हत्केलोमा बजा¥यो । कोठामा भएका अरु मान्छेतिर हेर्दै बडबडायो ।  “मृत्यु म तेरो चुनौती स्वीकार्छु ।” उसले जानेर वा नजानेर मृत्युलाई सम्बोधन ग¥यो । सामान्य समयभन्दा ज्यादा ढिलो भएको छैन । ऊ निदायो ।

भोलिपल्ट बाँकी रहेका सबै छुटे । ऊ एक्लै प¥यो । यसबाट खासै फरक परेन किनभने तिनीहरूबीच कुनै संवाद, सञ्चार थिएन । उसलाई भ्यानमा राखेर अदालतसामु लगियो । उसलाई बोल्ने मौका दिइएन । त्यो  अफिसरले पुछताछको निम्ती पन्ध्र दिनको समय लिएको जानकारी दिई । अदालतबाट फर्केपछि उसलाई अर्कै ठाउँ लगियो । त्यो ठाउँ जेल हुनुपर्छ । जेलमा उसलाई एउटा सानो ठिक्कको कोठामा राखियो । जहाँ उसको निम्ति ओछ्यान र ओढ्ने पनि छ । बेलुकाको खाना उसले सबैसँग ठूलो चौरमा बसेर खायो । यहाँको खानामा पनि कुनै गुनासो गर्ने ठाउँ छैन । सिनेमामा देखे जस्तो कुनै गुन्डा वा बदमास उसले पहिलो दिन भेटेन  । सबैका निम्ति “को आयो, को गयो ?” पत्तै भएन ।

जेलहाकिमको रूपमा क्याप्टेन इसादलाई भेट्यो । त्यो ५.५ फिटकी कसरती जिउज्यान भएकी मर्दझँै लाग्ने आइमाई हो । त्यसले आफ्नो मुद्दा र समस्यामा छलफल नगर्ने शर्तमा ऊसँगको मित्रता स्वीकारी । कैदीसँग जेलअफिसरको मित्रता उसलाई अचम्म लागेन । सामान्य अवस्था र सोचमा उसले यो स्वीका¥यो । सबैको नजरमा अपराधी भए पनि ऊ आफ्नो नजरमा निरपराध छ । इसादले उसलाई पढ्ने सुविधा दिलाई । जेलमा पुस्तकालयको व्यवस्था छ तर सामान्यतया हत्याको आरोप लागेका अपराधीलाई यो सुविधा उपलब्ध हुँदैन । उसले दिल बहलाउने प्रयास थाल्यो । ऊसँग भएको पैसा सिद्धिसकेको छ । खाने र बस्ने ठाउँ ता भेट्यो । लाउने लुगा पनि भेट्यो । उसलाई लाग्यो यो कम छैन अस्तित्व रक्षाका निम्ति । उसले यसैमा रमाउने प्रयास थाल्यो । उसको सहयोगी कोही छैन । कसैसँगबाट सहयोगको आश गर्नु फायदाजनक छैन । मृत्युदण्ड त नहोला ज्यादा भन्दा ज्यादा जन्मकैद । त्यो पनि नहोला उसले कुनै अपराध गरेको छैन ।

एकदिन बेलुका नयाँ आएका कैदीमाथि पुराना कैदीले अभद्र व्यवहार सुरु गरे । उसलाई नाङ्गै पारेर नाच्न लगाइयो । ऊ नाङ्गै नाच्यो । अपराधीहरूको यो समूहमा नाङ्गै नाच्दा लाजलाग्दो भएन । यहाँ आएपछि इज्जत, लाजगाल कहाँ रहन्छ र ? उसले प्रतिरोध गरेन । सबैले, यहाँसम्म कि नवआगन्तुकहरूले पनि यो दृश्यबाट रमाइलो लिए । जेलभित्र, यो अचम्मको दुनियाँ प्रशंसा गर्न योग्य छ ।  याद राख्नुपर्ने केही छ भने त्यो हो यहाँ कुनै पनि चिन्ताले कोही चिन्तित छैनन् । चिन्तित हुनेहरू यहाँ यो चउरमा छैनन् । सेलमै होलान् या अरु कहीँ ।

संघर्षको काँधमा कसैले धाप मा¥यो । पछाडि फर्केर हेर्दा बहुतै डरलाग्दो अनुहार भएको व्यक्तिलाई देख्यो ।

त्यसले नबुझिने भाषामा केही बोल्यो । संघर्षले बुझेन । नबुझेपछि जबाफ फर्काउन सकेन । डरलाग्दो मान्छेको मजबुत हातले संघर्षको हात समात्यो । त्यसले संघर्षको हात बटार्न थाल्यो । संघर्षले हातलाई बटारिन दियो । हातको बट¥याइँका साथ जिउ पनि घुमायो । त्यसको हात मजबुत भएकाले संघर्षको जिउका साथ त्यसको जिउ पनि बटारियो । संघर्षले अप्रत्याशित रूपले हातमा हलुको झट्का उत्पन्न ग¥यो । त्यो भुइँमा पछारियो ।

त्यो उठ्यो । संघर्षको भावी मृत्यु त्यसको आँखामा देख्न सकिन्थ्यो तर यो डर तिनीहरूलागि मात्र पर्याप्त हुनसक्छ जो डराउँछ । संघर्ष किञ्चित् डराएन । त्यो मान्छेलाई हमला गर्न दियो । त्यो हमलाको जबाफमा उसले यस्तो दाउ मा¥यो कि त्यो मान्छे फेरि जमिनमा तीन चित पछारियो । यो चोटि त्यो मान्छे उठेन, कराएन पनि । सुतिरह््यो, मरेको पनि छैन त्यो । संघर्ष एकातिर हिड्यो ।

कलेज जीवनमा आफ्नो अस्तित्वरक्षाका निम्ति हाँते लडाइँका विशेष तरिकाहरू सिकेको थियो । आज काम लाग्यो । त्यतिखेर यति धेरै प्रयोग गर्नु परेको थिएन । आज केही ज्यादा नै प्रयोग भयो । आज प्रयोग भएजति मात्रै सिकेको हैन । उसले पिस्तोल चलाउन पनि सिकेको छ ।

बेलुका भयो उसले पङ्तिमा उभिएर खानेकुराको आफ्नो भाग लियो । यतिखेर विशेष सुरक्षाव्यवस्था हुँदोरहेछ । कसैले केही बोल्न सकेनन् । उसले पनि केही बोलेन । अरुले बोलेको उसले बुझेन । रात्रि कुनै चिन्ता नलिई केही नसोची निदायो । बिहान छिट्टै उठेर उसले सधैँभन्दा ज्यादा  कसरत ग¥यो र तयार भएर निस्क्यो । बिहान तिनीहरूको ठूलेै समूह चउरमा बसेका छन् ।

जेलको पर्खालभित्र चउर छ । पर्खालभित्र कटेज जस्ता लामालामा टहरा वा घरहरू छन् । त्यसको आधा किलोमिटर खाली छ । त्यहाँ विभिन्न किसिमका अवरोध जस्तै बिजुली सप्लाई, बन्दुकधारी सिपाही आदि छन् । त्यसपछि करिब तीस फिट अग्लो पर्खाल छ । पर्खालमाथि काँटा भएका फलामे तारहरू छन् । ती फलामे तारहरूमा दौडिरहेको बिजुली नाङ्गो आँखाले देख्न सकिदैन ।

तिनीहरू लल्कारेको भावमा हात हल्लाइहल्लाई कराउन थाले । उसले बुझेन तर मल्लयुद्धका निम्ति तयार रह््यो । तिनीहरूको पहिलो आक्रमणलाई उसले स्वागत ग¥यो, प्रतिरोध गरेन । उसले सुरु गरेको प्रतिरक्षात्मक हमलामा कोही पनि टिकेनन् । यो झगडाको सूचना जेलप्रशासन समक्ष पुग्यो । जेलप्रशासनले सुलह गरायो र हात मिलाउन लगायो । पहिलो चोटि आक्रमण गर्ने त्यो मान्छे सन्तुष्ट भएको महसुस भएन । अब पनि यस्तो झगडा भएमा कडाभन्दा कडा कारबाही गरिने सुनेपछि त्यो मान्छे ठण्डा भएको जस्तो आभास भयो । सुरक्षाकर्मीको फैसलाले प्रभाव पारेजस्तो महसुस भयो संघर्षलाई ।

उसले सोच्यो ‘यो निक्र्यौल निकाल्न कठिन छ कि सङ्घर्ष मान्छेभित्र हुन्छ वा सङ्घर्ष मान्छे वरिपरिको घेरा हो वा सङ्घर्षभित्र मान्छे हुन्छ ।’

कसैसँग ऊ बोलेन तर कैदीहरू उसको नजिक आउन थाले । उसले कोही समक्ष वा कसैसँग जानु परेन । ऊसँग आउनेहरू मोटाघाटा, डरलाग्दा  मात्र छैनन्, केैदीहरूमा दुब्ला, पातला, ख्याउटे, डरछेरुवा पनि छन् । अपराधलाई सीप, पेसा वा बानी बनाएर अपराध गर्नेहरू छन् भने बाध्यतावश, अन्जानमा वा नचाहँदा नचाहँदै भएका अपराधका अपराधी पनि छन् यहाँ । 

धेरै जनाले घेरेर नबुझिने भाषामा बोलेपछि उसलाई लाग्यो तिनीहरू ऊसँग सञ्चार चाहन्छन् । ऊ बोल्यो ।

“म अङ्ग्रेजी बोल्न सक्छु ।” उनीहरू मध्ये कोही अङ्ग्रेजी बुóने तर बोल्न नजान्नेले एउटा व्यक्तिलाई लिएर आयो । त्यो डरलाग्दो छ । अग्लो न अग्लो, ओठ काटिएको, गालामा घाउँको लामो डरलाग्दो खत, कैलो कपाल, लामो दारी, कुनै पनि सामान्य मान्छेलाई उचालेर टाढा फ्याल्न सक्ने हृष्टपुष्ट शरीर भएको त्यो ज्यादै सुमुधुर स्वरमा, अगाडिको मान्छे खुसी पार्ने पाराले मुस्कुराएर अङ्ग्रेजीमा संघर्षसँग बोल्यो ।

“हेल्लो अपरिचित ।”

“हेल्लो सायद परिचित हुन चाहने ।” संघर्ष पनि मुस्कुरायो । अलिकति पनि हच्केन । 

“मेरो नाम रागा हो ।” त्यसले हात बढायो ।

“मेरो संघर्ष ।”

“म यहीँ जन्मिएको ।”

“म नेपालमा ।”

“म तिमीलाई मित्र बनाउन चाहन्छु । यहाँ सबै मलाई साधु भन्छन् ।”

“यदि तिमी मृत्युको प्रतिनिधि भएर यहाँ आएका हौ भने म तिमीसँग कुनै वास्ता राख्न चाहन्न होइन भने म सबैको मित्र हुँ ।”

“तिमी सबैमाथि शङ्काको दृष्टिले हेर्छौ भने तिमी प्रहरी वा जासुस हौ, होइन भने यहाँ अधिकांश साथीहरू तिमीलाई मित्र बनाउन चाहन्छन् किनभने तिमी कसैसँग बोल्दैनौ । तिम्रो भाषा उनीहरू बुóदैनन् र उनीहरूको भाषा तिमी बुóदैनोै । तिमी यो कालकोठरीमा कसरी आइपुग्यौ ? यहाँ आउन, जेलको संसारमा आउन कुनै न कुनै अपराध गर्नै पर्छ । सामान्य दिनदुनियाँभन्दा यो संसार अलग छ । यहाँ अलग खालको, भिन्नै किसिमको अनौठो मस्ती छ, बाध्यताहरू पनि छन् ।”

“म यहाँ तिमीले भने जस्तो कुनै अपराध गरेर आएको हुँइन । समाजद्वारा, कानुनद्वारा दोष प्रमाणित हुने कुनेै काम मैले गरेको छुइन । यो देशको संविधान, ऐन, कानुनविरुद्ध मैले कुनै अपराध गरेको छुइन । म निरपराध छु ।”

“ठिकै छ, केही दिन आफ्ना कुरा गोप्य राख्नै पर्छ । त्यसपछि आवश्यक रहँदैन कि कुराहरू गोप्य रहुन् तर पनि यहाँ हामीसँग बोल्दा केही समस्या छैन किनभने अदालतलाई प्रमाण चाहिन्छ । तिमीले बोलेको कुरा प्रमाण बन्न सक्छ तर यहाँ कुनै पनि त्यस्तो यन्त्र छैन जसले तिम्रो आवाजलाई समात्न सकोस् ।”

“जो मैले तिमीलाई भने त्यो ध्रुवसत्य हो मैले कुनै अपराध गरेको छुइन ।”

“तिम्रो मामलामा त्यस्तो होला । मेरो विषयमा सोध्छौ भने मैले थुप्रै अपहरण, हत्या र बैंक डकैतीहरू गरे । वास्तवमा म पैसा कमाउन चाहन्थे । पछि यहाँ आएपछि मलाई ज्ञात भयो कि जति नै पैसा कमाए पनि म सामान्य जीवन बिताउन सक्दिन । मेरो स्वभाव र अनुहार नै त्यस्तै छ । यो अनौठो, असामान्य संयोग हो कि तिमी दुनियाँमा सामान्य जीवन बिताउन सक्छौ ता पनि जेलमा छौ ।” त्यो भावुक भएर बोल्यो ।

‘यो भावुक पनि हुन सक्दोरहेछ’ संघर्षले सोच्यो ।

“तिमी मसँग सहयोगको आशा राख्छौ भने त्यो बेकार हो किनभने यहाँ कसैले कसैलाई सहयोग गर्दैन ।” रागा स्पष्ट हुन चाह्यो ।

“धन्यवाद, म मृत्युविरुद्धको लडाइँमा एक्लै निस्केको हँु । तिमी मृत्युको प्रतिनिधि हौ यसैले मसँग सम्बन्ध बनाइरहेका छौ । यो लडाइँमा कि मृत्युले जित्छ कि म । तिम्रो जितको कुनै स्थान वा गुन्जाइस छैन ।” संघर्ष निकै साहसिलो भयो । कठोर देखियो । 

त्यो मान्छे ठूलो स्वरमा संघर्षसँग भएको कुराकानी अरुलाई सुनाउन थाल्यो । के सुनायो को नि ? यो भेटघाटको फायदा के भयो भने उसले बोल्नका निम्ति एउटा साथी भेट्यो । सबैले उसलाई आदरभावले हेर्न र व्यवहार गर्न थाले । झगडा भएको समूहका सबैले पनि ऊसँग सामान्य ‘हेल्लो हाय’ को सम्बन्ध सुरु गरे ।

——————————–0——————————

पन्ध्र दिनपछि संघर्षलाई प्रहरीले अदालत लग्यो ।  टाउकोमा अनौठो किसिमको टोपी लगाएको त्यो न्यायाधीश उसलाई यमराजको दाहिने हात जस्तो लाग्यो । उसलाई वकिल र न्यायाधीशसामु उभ्याइयो । वकिलहरू बोल्न थाले । कहिले यो वकिल, कहिले ऊ । प्रहरीले प्लाष्टिकभित्र राखिएको उसको ब्याग प्रस्तुत ग¥यो पिस्तोल पनि ।

अनुवादकले संघर्षलाई वकिलहरूको जिकिर अनुवाद गरेर  जानकारी दिँदै रह््यो । सरकारले उपलब्ध गराएको वकिलबाट संघर्षले कति आशा गर्न सक्छ र ? सरकारले नै उपलब्ध गराएको अनुवादक । वादी वकिलले ब्याग र ब्यागमा भएका सामानहरू संघर्षको भएको हुनाले पिस्तोल पनि उसैको हो । पन्जा लागेको हातले प्रयोग गरेको हुनाले औँलाको छाप नआएको भनेर आफ्नो जिकिर, तर्क पेश ग¥यो । हत्यारा यही व्यक्ति हो । यसले क्रूर भएर हत्या गरेको हुनाले यसलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग राख्यो । सरकारले उपलब्ध गराएको ऊ पक्षको वकिलले हत्याको उद्देश्य नभएको र मेरो पक्षले मृतकलाई नचिनेको आदि कुरो गरिरहेको व्यहोरा अनुवादकले उसलाई बतायो । उसले यो पनि बतायो कि प्रतिवादी वकिल कमजोर स्वरमा बोलिरहेको छ । 

“तपाईँँलाई केही भन्नु छ ?”  न्यायाधीशले अङ्ग्रेजीमा संघर्षलाई सोध्यो ।

ज्यादै उत्सुक र संयम स्वरमा उसले भन्यो “मैले यो देशको ऐन, कानुन उल्लङ्घन गरेर कुनै पनि काम गरेको छुइन ।”

“सबै प्रमाणले तपार्इँँलाई हत्यारा प्रमाणित गरिरहेको छ । तपार्इँको ब्याग मृतकको लाश नजिक भेटिनु, ब्यागमा पिस्तोल भेटिनु, त्यही पिस्तोलको गोलीबाट मृतकको हत्या हुनु, मृतकसँग रहेको पैसा तपार्इँँको ब्यागमा भेटिनु आदिले तपार्इँँलाई क्रूर हत्यारा प्रमाणित गर्दछ । तपाईँँ हत्यारा नभएको कुनै प्रमाण तपाईँँसँग छ भने प्रस्तुत गर्नुहोस् ।”

“मसँग कुनै प्रमाण छैन । म यो देशमा नयाँ हुँ र यो देशको कानुन त्यति राम्रो जान्दिन तर मैले कुनै हत्या गरेको छुइन ।”

“आफूलाई निरपराध साबित गर्नका लागि दस दिनको समय दिन्छु । तपाईँँ आफ्नो प्रमाणसहित उपस्थित हुनु होला ।”

त्यसदिनको अदालती कारबाही समाप्त भयोे । उसलाई तान्दै भ्यानमा राखेर जेल लगियो । उसका साथीहरूले यो विषयमा केही कुरा गरेनन् । उसले दूतावाससँग सम्पर्क गर्ने कोसिस ग¥यो तर जेलप्रशासनले उसलाई यो सुविधा दिएन । ऊ यो मजबुत पर्खालभित्र रहेको मात्र होइन । यो देखि बाहिर पनि कुनै घेरा छ जो ऊमाथि कसिएको छ ।

‘को होला यो घेराबन्दीमा पार्ने ? कसल्ो यसो ग¥यो ? को हो जो मलाई परिबन्दमा पारिरहेछ ? एउटा कुरो स्पष्ट छ कि मलाई यो घेराबन्दीमा पार्ने व्यक्ति त्यही हत्याराबाहेक अरु कोही हुनसक्दैन । को हो त्यो हत्यारा ?’ असमञ्जसको स्थिति बन्यो ।

परदेशमा कसैसँग मद्दत माग्नु खतरनाक हुनसक्छ । दूतावाससँग सम्पर्क गर्नाका निम्ति फोन सुविधा छैन । उसको पक्षको वकिल जेलमा भेट्न आउँदैन । यी विषयमा उसले धेरै सोचेन । धेरै सोच्नु कायरता  हुन्छ । बुद्धि पु¥याउनु एउटा प्रक्रिया हो तर बुद्धि पु¥याउनका लागि कुनै साधन भएन ।

हेर्दा डरलाग्दो देखिने त्यो मित्रसँग उसले कुरा ग¥यो ।

“के तिमी मलाई मद्दत गर्न सक्छौ ?” संघर्ष बोल्यो ।

“जेलभित्रको कुरा गर म तिमीलाई प्रत्येक किसिमको सहयोग गर्न तम्तयार छु ।”

“म बाहिरी दुनियाँको कुरा गर्छु । मलाई दूतावाससँग सम्पर्क गर्ने व्यवस्था मिलाइ देऊ । म मेरो दूतावासको सम्पर्कमा आउन चाहन्छु ।”

“यो हुन सक्दैन । यहाँको व्यवस्था ज्यादै कडा छ । म यो मद्दत गर्न सक्दिन । जेलरले चाह््यो भने यो सम्भव छ अन्यथा यसको सम्भावना छैन ।”

“तिमी जेलरसँग मेरो सिफारीस गर्न सक्छौ । ”

“जेलरसँग मेरो राम्रो सम्बन्ध छैन ।”

“तिमी मृत्युभन्दा कम छैनौ ।” संघर्ष अनौठो भावमा बोल्यो ।

“सायद तिनीहरूका लागि म मृत्यु नै हँु जसलाई मैले मारे । तिम्रो लागि म मृत्यु सिद्ध हुने छुइन । सायद तिमी पनि मेरो लागि मृत्यु सिद्ध हुनेछैनौ किनकी मैले मृत्युदण्ड पाउने निश्चित छ ।” रागा ज्यादै ठूलो स्वरले हाँस्यो ।

ऊ सँगसँगै हाँस्न, संघर्षलाई पनि मन लागेको हो तर यो मेरोे हालत हेरेर हाँसेको हुनसक्छ भन्ने सोचेर चुप लाग्यो । ‘के भयो त त्यो मलाई हेरेर हाँसिरहेको छ भने म पनि आफूलाई हेरेर हाँस्न सक्छु ।’ तर उसलाई यसरी हाँस्न मन लागेन फेरि सोच्यो ‘म यसलाई हेरेर हाँस्न सक्छु ।’ ऊ पनि हाँस्यो बेजोडले । उनीहरूकोे हाँसो सुनेर होला जेलर आइपुगी  ।

“तिमीहरू किन हाँसेका ।” जेलरले कडा स्वरमा सोधी ।

“म उसलाई हेरेर हाँसेको ।” संघर्ष रागालाई औल्याउँदै बोल्यो ।

“म उसलाई हेरेर” त्यसले संघर्षलाई औल्यायोे ।

“के तिमीहरूले एकअर्कालाई हेरेर हाँस्नु उचित हो ?” आश्चर्यचकित भएर जेलर बोली ।

“किन ?” दुवैले एकैचोटि सोधे ।

“किनभने निकट भविष्यमा तिमीहरू दुवैजनालाई मृत्युदण्डको फैसला हँुदैछ । मृत्युदण्ड हाँसो उठ्ने विषय हो जस्तो लाग्दैन मलाई ।”

“मलाई तपाईँदेखि पनि हाँसो उठिरहेछ । तपाईँ मृत्युदूत बनेर मेरो सामुन्ने नआउनोस् । मलाई दूतावासमा सम्पर्क गर्ने मोैका दिनुहोस् । म मेरो बेगुनाही प्रमाणित गर्न चाहन्छु ।” संघर्ष चर्को स्वरमा बोल्यो । 

“जागिर धरापमा राखेर म तिमीलाई कुनै अवैधानिक काम गर्ने अनुमति दिन्न ।” ऊ पनि चर्को स्वरमा बोली “ए तिमी यहाँ के गरिहेका छौ ? जाऊ आफ्नो सेलमा ।” जेलर रागालार्ई इसारा गर्दै बोली ।

“म तपाईँको नोकर हुँइन । म स्वतन्त्र नागरिक हुँ । स्वतन्त्रता मेरो अधिकार हो । तपाईँ हस्तक्षेप गर्ने कोसिस नगर्नोस नत्र यसको परिणाम भयानक हुनसक्छ ।” रागा कड्केर बोल्यो । त्यसले पिस्तोल निकाली । रागाको कनपटीमा छुवाएर बोली । “म तिमीलाई पूर्ण स्वतन्त्रता दिन सक्छु । मसँग त्यो अधिकार छ ।”

“फोस्रो धम्की नदेखाऊ किनभने तपाईँ मलाई मेरो पूर्ण स्वतन्त्रता दिन सक्नुहुन्न तर म तपाईँलाई तिम्रो पूर्ण स्वतन्त्रता दिन सक्छु ।” खतरनाक आँखाले हेर्दै रागा कड्क्यो ।

 इसादले अचानक रागाको अण्डकोश रहेको भागमा खुट्टाले हानी । त्यो थुचुक्कै बस्यो । एकछिनसम्म चँु पनि नगरी घोप्टेर बसिरह््यो । केही क्षणपछि त्यो त्यहाँबाट हिँड्यो ।

उसलाई लाग्यो जेलरसँगबाट फोनकल गर्ने सहयोगको आश गर्नु बेवकुफी सिद्ध हुँदैन ।

“म तपाईँलाई विश्वास दिलाउन सक्दिन तर मैले हत्या नगरेको व्यहोरा सदैवका निम्ति पूर्णसत्य हो ।”

“यो कुरा तिमी न्यायधिशलाई विश्वास दिलाऊ, मलाई हैन । म अदालत हैन, म अदालतको आदेश पालन गर्ने मेशिन हँु, जैविक मेशिन ।”

“तपाईँ मृत्युदूत हो । तपाईँ मलाई बारम्बार तर्साउन सक्नुहुन्न । म मृत्युसँग डराउँदिन । म मृत्युलाई चुनौती दिन्छु । मेरो सामुन्ने आओस् । म त्यसको सामना गर्छु । म त्योसँग युद्ध गर्न चाहन्छु । सक्छ भने मलाई जितेर देखाओस् त्यसले । हैनभने म त्यसलाई जितेर देखाइदिन्छु । यो फोस्रो धम्की हैन, चुनौती हो ।”  जिद्दी, घमण्डी, अभिमानी मान्छेको शैलीमा संघर्ष बोल्यो ।

“सायद तिमी पागल भइसकेका छौ या तिमी सजायाबाट बच्नकालागि पागल भएको नाटक गरिरहेका छौ तर यहाँ पागलको सजाया पनि मृत्युदण्ड नै हो । त्यस्ले कुनै पनि अपराध नगरेको किन नहोस् ?” 

——————————–0——————————

चुनौती र सामनाका ती दिनहरू संघर्षले सामान्य हाँसखेलठट्टामा  बितायो । कुनै डर, त्रास र सन्त्रासले उसलाई जकडेन । जेलबाट भाग्ने बिषयमा छलफल गर्न चाहनेहरू भेटिए । यस बिषयमा उसले गहिरो वास्ता राखेन । मृत्युसँग डराएर भाग्ने बिषयमा उसले चासो देखाएन । संघर्षलाई यो विषयवस्तु महŒवपूर्ण हो जस्तो लागेन ।

अर्को पेसी भयो । न्यायाधीश समक्ष संघर्षले आफ्नो पक्ष मजबुतीकासाथ पेश गर्न सकेन । भन्यो “म मेरो दूतावासको सम्पर्कमा आउन चाहन्छु । मेरो देशको दूतावाससँग सम्पर्क गर्ने अनुमति दिइयोस् ।”

न्यायाधीशले उसलाई दूतावासको सम्पर्कमा आउने स्वीकृति दियो । सात दिनको समय पनि दियो । उसलाई लाग्यो मृत्युले मुसाबिरालोको खेल खेलिरहेको छ । सबै पक्षहरू प्रतिकूल अवस्थामा नभएको कुरामा थोरै मात्र भए पनि विश्वस्त भयो ।

जेल फर्किएपछि जेलरले संघर्षलाई दूतावासको फोन नम्बर दियो ।   आज एउटा नयाँ कुरो थाहा भयो । त्यो आइमाई क्याप्टेन त्यहाँको जेलर होइन रहिछे । त्यो त सहायक मात्र रहिछे । जेलरलाई उसले धेरै कडा तथा शुुष्क बानी व्यवहारकोे कानुनप्रति प्रतिबद्ध मान्छे पायो । जेलरले ऊसँग धेरै कुरा गरेन । उसको पालोपहरामा त्यही आइमाई क्याप्टेन अफिसर नै खटिएकी रहिछे । धेरै कडा भावभङ्गीमा लिएर त्यो क्याप्टेन अगाडि बसिरही । उसले फोन ग¥यो ।

“के म महामहिम राजदूतसँग भेट्न सक्छु ?” फोन उठेपछि संघर्षले नेपाली भाषामा कुरा सुरु ग¥यो ।

“तपाईँँ को र कहाँबाट बोल्नु भएको ? सारा विवरण टिपाउनोस् । त्यसपछि म तपाईँलाई महामहिम राजदूतसँग कुरा गराउँला ।” सबै कुराकानी नेपाली भाषामा हुन थाल्यो । उताबाट पनि स्पष्ट नेपाली भाषा बोलियो ।

“मेरो नाम संघर्ष, म अहिले स्थानीय जेलबाट बोलिरहेको छु । मलाई यहाँको प्रहरीले हत्याको आरोप लगाएर समातेको छ । मृत्युदण्ड दिने तयारी गरिरहेको छ । मैले कुनै अपराध गरेको छैन । यो परदेशमा आएर मैले हत्या गर्न सक्ने कुरै हँुदैन । मेरो मुद्दा चलिरहेको छ । दूतावासले सहयोग नगरेको खण्डमा निरपराध हुँदाहुँदै पनि मलाई मृत्युदण्ड वा जन्मकैद हुने कुरा पक्कापक्की भइसकेको छ । म चाहन्छु कि नेपालीको नाताले मेरो देशले मलाई सहयोग गरोस् ।”

“तपार्इँ नआत्तिनोस् अहिले तपार्इँको भेट महामहिम राजदूतसँग हुनसक्दैन । राजदूत अहिले अफिसमा हुनुहुन्न तर तपाईँप्रति मतलब राखिनेछ । हाम्रो वकिल आएर तपार्इँलाई जेलमा भेट्नेछ तपार्इँ आश्वस्त रहनोस ।”

उसले लामो कुरा गर्न चाहदाचाहदै उताबाट फोन बन्द भयो ।

“दूतावासले सहयोग गर्छ भन्नेमा तिमी विश्वस्त छौ ? यहाँको न्याय समक्ष तिम्रो देशको कुनै हस्तक्षेप चल्दैन । हत्याको हतियार र तिम्रा सामानहरूले तिमीलाई मृत्युदण्ड दिलाउने छन् । तिम्रो घाँटीमा पासो हालिनेछ र लिभर तानेपछि तिमी कालकोठरीमा ढल्नेछौ । श्वास रोकिदा तिमीलाई बहुतै मुश्किल हुनेछ, तिम्रो गुदद्वारबाट दिसा र लिङ्गबाट पिसाव निस्कनेछ, बाँच्ने चाहनामा तिमी निकैबेर छटपटाउने छौ र तिम्रो मृत्यु हुनेछ । ग्यासचेम्बर, इन्जेक्सन, इलेक्ट्रिक शक र गोलीद्वारा दिइने मृत्युदण्डको चलन छैन यहाँ ।” संघर्षलाई कठोर आँखाले हेर्दै अविश्वासको भावमा क्याप्टेन बोली ।

“तपाईँहरूले गर्न सक्ने हरेक किसिमको प्रयास गर्नोस् तर म मृत्युसँग डराउँदिन । मृत्युसँग डराएर त्यसका दूतहरूसँग झुक्दिन ।”

भोलिपल्ट दूतावासको मान्छे आएर संघर्षलाई भेट्यो । भेट्ने कक्षमा  टेबलको वरपर बसेर तिनीहरूबीच लामो कुराकानी भयो । संघर्षले प्रत्येक कोणबाट आफूलाई दूतावासको मान्छेसामु प्रस्तुत ग¥यो । भेट्ने मान्छे नेपाली नै हो । नेपाली भाषामा कुराकानी भयो । आगन्तुकले साहसिलो सान्त्वनासहित कुरा सुरु ग¥यो । संघर्षका सबै कुराहरू अल्छी नमानी सुन्यो तर किन किन ? त्यसले दिएको आश्वासन सबै फोस्रो जस्तो लाग्यो । त्यो मान्छे मृत्युको संवाहक वा सहयोगी जस्तो लागेन । त्यो यहाँको प्रहरी र कानुनप्रति आफ्नो असहमति राख्छ जस्तो पनि लागेन । अन्त्यमा त्यसले भन्यो ।

“म यो विषयमा सबै कुराकानी र घटनाहरू बुóनेछु । तपार्इँको कुरा गराइले लाग्छ कि तपाईँँले केही गर्नु भएको छैन तर अदालती कारबाहीमा तपाईँँ धेरै कमजोर हुनुहुन्छ । हाम्रो प्रयास मृत्युदण्ड नभएर जन्मकैद होस् भन्ने हुनेछ । यस हिसाबले तपार्इँलाई छुटाउने प्रयासका लागि समय पाइनेछ । तपार्इँ नआत्तिनुहोस् । हामी तपाईँँलाई मद्दत गर्छौ ।”

यो मान्छेको कुरा सुनेपछि संघर्षलाई भन्न मन लागेको थियो कि ‘जन्मकैद भन्दा मृत्युदण्ड नै ठीक, मृत्युसँग झुकेर म जन्मकैदको माग राख्न चाहन्न । सक्छौ भने मेरो निरपराध सिद्ध गर हैनभने मलाई मेरो हालमा छोडिदेऊ ।’ तर केही पनि बोलेन ।

संघर्ष लथालिङ्ग भएन । अनावश्यक सोचहरू सोचेन । ऊ हरेक कोणबाट व्यवस्थित रह्यो । बेलुका नौ बजेपछि कसैलाई नसम्झी मनमा कुरा नखेलाई निदाउँछ । निद्रा हलुको कहिले भएन । गहिरो निद्रा सुत्छ । राति ब्युँझिदैन । बूढी आमा, घर बन्दकी राखेर लिएको ऋण, मायाप्रेम गरेर बिहे गरेकी स्वास्नी अनि भर्खर जन्मेकी छोरीका सम्बन्धमा उसले केही पनि सोचेन । उसको मृत्युपछि तिनीहरूले पाउने दुःखका विषयमा सोचेर ऊ कदापि विचलित भएन । मनलाई ढुङ्गा बनाउन कसरी सक्यो ? उसलाई नै अनुमान भएन ।

मस्तिष्कमा उत्पन्न भएर व्यवहारमा परिणत हुने माया, मोह, क्रोध, रिस, इष्र्या नै मृत्युप्रतिको डर हो भन्ने लागेपछि उसले ती कुराहरू सोचेन, सम्झेन । एउटा कुरामा उसलाई अचम्म लाग्छ कि मस्तिष्क यति धेरै उसको नियन्त्रणमा कसरी भयो ? ऊ सोच, सम्झना, कल्पना, चिन्ता, डरबाट बाहिर निस्कने प्रयासमा धैर्यताका साथ अगाडि बढिरह्यो ।

बिहान दुई घण्टाको लामो कसरत, स्नान, बिहान आठ र बेलुका चार बजे गिन्ती हाजिरी, पुस्तकालय, केही समय कैदी साथीहरूसँगको भेटघाटमा व्यस्त रह्यो । भेटघाट त्यो डरलाग्दो मान्छे उपस्थित भएमा मात्र सम्भव छ । त्यसले मात्र उसको भाषा बुóदछ । त्यसपछिको समय ऊ भलिबल, टेबलटेनिस खेल्छ । खाना अनि निद्रा यी सबै उसको दैनिकी बने । कहिलेकाहीँ केही अवरोध भएमा मात्र, होइन भने उसले यो दिनचर्या इमान्दार रहेर पालना गरिरहेछ ।

दूतावासको मान्छेसँग फेरि उसको भेट भएन । खुला आकाशलाई चाह र मोहका साथ हेरेन । सबै कुरा बिर्सिएको बखत सोच्दा उसलाई यहाँको जीवन सौहार्दपूर्ण लाग्यो महŒवाकाङ्क्षारहित, गतिरहित, प्रगतिरहित । मृत्युलाई धेरै नजिकबाट भोगेको छ उसले । आफू यात्रा गरिरहेको बस त्रिशुलीमा खस्दा पनि बाँचेकै हो । २०५५ सालमा आतङ्ककारीहरूको बन्दुक खोसेर फायर गर्दा एकजना मारेको र अरु भगाएको घटना आजै जस्तो लाग्छ । त्यो घटना अँध्यारोमा घटेकाले उसलाई कसैले चिनेन तर अर्को घटनामा आतङ्ककारीले कुटेर, काटेर म¥यो भनेर फ्यालेर हिड्दा पनि कसो कसो अस्पताल पुगेपछि बाँचेकै हो । उसको टाउकोमा १२ वटा टाँकाको खत र खुट्टामा स्टिलको सानो पातो छँदैछ । यसरी हेर्दा ऊ धेरै पहिला नै मरिसकेको मान्छे हो । मृत्युसँग के को डर ?

सातदिन छिटै बित्यो । संघर्षलाई अदालत लगियो । अदालतमा दूतावासको मान्छे उपस्थित छ तर त्यसले आश्वासनको आँखाले हेरेन । त्यो मान्छे संघर्षको सम्पर्कमा आएन ।

“तपाईँँले आफ्नो पक्षमा कुनै सबुत वा प्रमाणहरू भेला गर्नुभएको छ ?” न्यायाधीश बोल्यो । संघर्षले दूतावासको मान्छेतिर हे¥यो । त्यो अन्तिम बेन्चमा  बसेको छ । संघर्षले टाउको निहुरायो ।

“केही प्रमाण वा तर्क छ भने प्रस्तुत गर्नुहोस् नभा म आफ्नो फैसला सुनाउँछु । तपाईँँलाई मैले धेरै सुविधा दिइसकेको छु । ”

“……..” संघर्षले आफ्ना गजब लाग्ने आँखाले दुतावासको मान्छेलाई हे¥यो । त्यो छेकिएर बसेको छ मानौ फैसला सुन्नका निम्ति मात्र आएको हो ।

न्यायाधीशले केही लेख्यो । आफ्नो भाषामा केही भन्यो । त्यसपछि अङ्ग्रेजीमा सारांश बोल्यो ।

“संघर्षले हत्या गरेको प्रमाणित हुन्छ । यसकारण संघर्षलाई मार्च २२ का दिन समय बिहान पाँच बजे नमरुन्जेल झुन्ड्याउने फैसला सुनाउछु ।”

संघर्ष उत्तेजित वा निराश भएन । आतङ्कित भएर चिच्याएन । ऊ डरले कामेन । गलेर थुचुक्क बसेन । छाती तन्काएर घमण्डका साथ बोल्यो ।

“मृत्युले आफ्नो दूतको काम गर्नका निम्ति मान्छेहरू तोकेको छ । त्यो मध्ये तपार्इँ पनि एउटा हो रैछ । मेरो द्वन्द्व मृत्युसँग हो । म मृत्युको सामना गर्छु । मेरो युद्ध तपाईँसँग हैन । तपाईँले मृत्युलाई खुसी पार्नुभयो । म बेखुसी छुइन । तपाईँ मृत्यु होइन, प्रतिनिधि पात्र मात्र हो ।” प्रहरीले उसलाई मजबुतीका साथ समाते । न्यायाधीश उठ्यो, सबै उठे ।

——————————–0——————————

मृत्युदण्डको समय एकमहिनापछि छ । संघर्ष अझै एकमहिना बाँच्नेछ । जेलमा उसको सेल सारियो । उसलाई सबैको सम्पर्कबाट हटाइयो । खाना  टेबलमा दिन थालियो । एउटा राम्रो कुरो के भयो भने त्यो अङ्ग्रेजी बोल्ने डरलाग्दो मान्छे पनि यहीँ छ । यी सबै मृत्युदण्ड पाउने मान्छेहरू रहेछन तर यहाँ एउटा झर्को र झन्झटलाग्दो कुरो के भयो भने ती मध्ये चारजना मान्छे मृत्युदेखि त्रस्त, चिन्तित र कामिरहेका स्थितिमा छन् । जम्माजम्मी तिनीहरू पन्ध्र जना छन् । धेरै जसो लागूऔषधको धन्दा गर्नेहरू छन् । एकजना सरकारी कर्मचारी छ जसले भ्रष्टाचार गरेको प्रमाणित भएको छ । सवैभन्दा ज्यादा डराउने मान्छे त्यही हो ।

केही दिन मात्र भए पनि शान्तिका साथ बिताउन पाउने आशले संघर्ष प्रफुल्ल भयो । उसको अनुहारमा हुने गरेको गम्भीरता हरायो । त्योे स्थान हँसिलोपनले लियो । संघर्ष डरलाग्दो मान्छेसँग हँसिलो कुराहरू गर्न थाल्यो । संघर्ष हाँस्छ । तिनीहरू आफैँलाई हेरेर हाँस्छन् सायद । हुनसक्छ एकअर्कालाई हेरेर हाँसेका होलान् । हाँस्न त हाँस्छन् कमसेकम ।

“शक्तिवान् छ यहाँको कानुन र कानुनका पहरेदारहरू । यदि म यिनीहरूभन्दा शक्तिशाली हुँन्थे भने म यिनीहरूलाई मृत्युकोे पासोमा झुण्ड्याउँथे ।” रागा भावुक कुरा गर्र्छ कहिलेकाहीँ ।

“यो कानुनको कुरो हैन । यो मृत्युसँग सम्बन्धित कुरा हो । शक्तिशाली हुँ भन्छौ भने मृत्युभन्दा शक्तिशाली हुनुपर्छ मानवजातिले । मानिसहरूलाई मृत्युले पछारिरहेको छ । मानिसहरू विज्ञान र प्रकृतिको कुरो गर्छन् । विज्ञान र प्रकृतिलाई जित्न खोज्छन् । पृथ्वीमै केही मान्छेहरू मेडिकल विज्ञानमा संलग्न रहेर वा नरहेरै पनि मृत्युलाई जित्नकालागि सङ्घर्षरत छन् । मानवजातिले मृत्युलाई जित्नका निम्ति सङ्घर्ष गर्नुपर्छ । कुनैदिन यस्तो पनि आउने छ जब मानवहरूले मृत्युलाई जित्नेछन् यकिनन् ।” संघर्ष दार्शनिकझैँ देखिन्छ कहिलेकाहीँ ।

——————————–0——————————

एकदिन, मृत्युझैँ लाग्ने कुनै छाया आयो ।

संघर्ष आफ्नो सेलमा निदाउन आँटेको अवस्थामा छ । यी सेलहरूमा रातको दसबजेपछि बत्ती निभाइन्छ । बेलुकाको खाना खाएर डाइनिङ्ग हलमा राखिएको टिभी हेरेपछि ऊ आफ्नो सेलमा निदाउनेै आँटेको थियो ।

                यहाँ मृत्युदण्ड पाउनेहरूलाई मृत्युदण्ड दिने दिनसम्म खुबै हेरचाहका साथ राखिन्छ । मिठामिठा खानेकुरा दिइन्छ । स्वास्थ्य परीक्षण गरिन्छ । खानेकुरामा रक्सी दिइँदैन, मासुहरू दिइन्छ । टिभी, पुस्तक, पत्रिका आदिको सुविधा हुन्छ । सुत्नका लागि बाक्ला कपडा भएको पलङ दिइन्छ ।

सपना हो कि जस्तो पनि लाग्छ । अँध्यारोमा कुनै छाया फलामको ढोकामा चलमलायो । अर्धनिन्द्रित अवस्थामा ऊ पल्टिरह्यो । ताल्चा खोले जस्तो लाग्यो । बिस्तारै ढोका खोलेर त्यो छाया भित्र छि¥यो ।

“तँ आइस्” संघर्ष बडबडायो ।

त्यसले भित्रबाट ताल्चा लगाए जस्तो लाग्यो । छाया उसको नजिक आयोे ।

“तँ आइस् । म तेरो स्वागत गर्छु । मलाई मार्नका निम्ति तँसँग कस्ता कस्ता खालका हतियारहरू छन् ? तैले मलाई मार्ने विधि र मितिसमेत तोकिसकेको छस् । फेरि तँ यति चाँडो किन आइस् । तँैले केही गल्ती गरिस् होला त्यही सच्याउन आएको होस् ।” संघर्ष सानो स्वर, नरम शैली, स्पष्ट आवाजमा बोल्यो ।

यस्तो लाग्न थाल्यो मानौँ त्यो छाया आफूले लगाएको कपडाहरू फुकालिरहेको छ । कपडा भुइँमा खस्दा हुने थप्थपको मसिनो आवाज पनि आयो । 

“आइज्, पहिला तँ आघात गर त्यसपछि म प्रत्याघात गर्छु ।” संघर्ष धैर्यता नगुमाई आरामले बोल्यो ।

त्यो छायाले उसलाई óयाम्मै अँगालो मा¥यो । घाँटीमा झुन्डियो । उसलाई लाग्यो घाँटी थिच्नका लागि त्यसले यसो गरेको हो । संघर्षले हात खुट्टा चलायो । कसोकसो उसको हात जहाँजहाँ प¥यो, उसलाई लाग्यो यो आइमाई हो । एउटा मात्र हातले छायाको सबै शरीर छाम्यो । यो नाङ्गो आइमाई हो ।

“तँ आइमाई भएर आइस् मैले तँसँग डराउनु पर्ने कुनै कारण छैन । मैले कुनै अपराध गरेको छुइन ।” संघर्ष के के बोलिरह््यो । त्यो आइमाईका हातहरू उसको अङ्गप्रत्यङ्गमा चल्न थाले । त्यसले उसको ओठमा ओठ राखी । बिस्तारै त्यो आइमाईले उसका लुगाहरू फुकाल्न थाली । ऊ पनि निर्वस्त्र भयो । निर्वस्त्र मात्र हैन ऊ चुप पनि भयो । त्यो आइमाई ऊसँग बिल्कुलै डराइन । बोल्दा पनि बोलिन । मृत्युदण्ड पाइसकेको अपराधी हो ऊ अर्को हत्या गर्दा के फरक पथ्र्यो तर त्यो डराइन ।

करिब एक घण्टापछि त्यो उठी । त्यसबीच त्यो सेलमा सन्तुष्टिका सीत्कार कहिले लोग्नेमान्छेको आवाजमा कहिले आइमाईका आवाजमा गुन्जिरह््योे । वरिपरि अर्को कुनै सेल छैन । बिलकुलै कुनामा छ यो सेल ।

त्यसले लुगा लगाई । अघि आएकै शैलीमा चाल मारेर त्यो सेलबाट बाहिरिई । ताल्चा मारेर अँध्यारोमा हराई ।

“यहाँबाट भाग्न सकिन्छ र ?” बिहानको भेटमा उसले रागासँग प्रश्न राख्यो ।

“असम्भव, मैले सोचेको मात्र हैन प्रयास पनि गरेको हँु । बिस्तारै बोल, यहाँ ठाउँ ठाउँमा क्यामराहरू छन् । आवाज समात्ने यन्त्रहरू छन् ।” तिनीहरू चुपलागे । क्यामरा नभएको ठाउँमा पुगेर तिनीहरू कानेखुसी गर्न थाले ।

“हामी दुईजना मिलेर भाग्ने प्रयास गर्न सक्छौ । तिमीलाई यहाँको सुरक्षाव्यवस्थाको विषयमा के थाहा छ ? मर्नु त यसै पनि छ ।” संघर्ष बोल्यो ।

“हामी बङ्करमा छाँै । यहाँबाट भाग्न सक्ने एउटा मात्र ठाउँ छ । त्यो मूलद्वार हो । मूलद्वारमा चौबिसैघण्टा करिब दुईदर्जनको कमाण्ड भित्रबाहिर दुवैतर्फ हुन्छ । मूलद्वारमा चौबिसै घण्टा बिजुली दौडिरहन्छ । यहाँका भित्ता र छत ढलाइका छन् । बिना आवाज भित्ता वा छत तोड्नका लागि हामीसँग त्यस्तो कुनै औजार छैन ।”

“रेस्टरुम नि ?” संघर्षले आश मारेन ।

“कम्पाउण्ड भित्रै अण्डरग्राउन्ड छ सबै, त्यो झनै असम्भव ।”

“सिपाहीहरूलाई तोड्न सकिदैन ?”

“तिमीसँग डलर छ ? करिब एक लाख ।”

“छैन ।”

“मैले प्रयास गरेको थिएँ । मसँग पनि यति पैसा छैन । निक्लिए पछि दिन्छु भनेको मानेन ।”

“यहाँ हामीलाई यत्रो सुविधा दिएर राखिएको छ । के कुनै आइमाई भेट्न सकिन्न ? मलाई योैनतुष्टिको चाहना भइरहेको छ ।” रात्रिको घटनालाई सम्झेर अनौठो जिज्ञासा राख्यो संघर्षले ।

“त्यसको सम्भावना पनि मैले यहाँ देखिन । मैले सोधेको थिएँ तर त्यस्तो सुविधा यहाँ छैन ।”   

“कुनै उपाय निक्लेको खण्डमा मसँग छलफल गर है ।” आशको डोरीलाई चुडाउन चाहेन उसले ।

आइमाईको विषयमा केही पत्ता लाग्न सकेन । कसैलाई ठाडै सोध्ने कुरा भएन फेरि भाषाको पनि समस्या छ । त्यो आइमाईको विषयमा कसैसँग कुरा नगर्ने निधो ग¥यो । त्यो घटनाले बाँच्ने चाहना बढाएको महसुस ग¥यो संघर्षले ।

महिला क्याप्टेनसँग फेरि भेट हुन सकेन । जेल नै परिवर्तन भएको हुनुपर्छ । पुरानै जेल होला भन्ने ठानेको थियो तर जेल नै परिवर्तन भएको हुनुपर्छ । भ्यानबाट बाहिर हेर्न मिल्दैन थियो । ठूलो, अग्लो, आधा जेल जस्तो प्रहरीभ्यान कताबाट कहाँ गुड्यो पत्तो भएन । कहाँ छ ऊ ?केही यकिन हुन सकेन ।

अदालतले तोकेको दिन गन्नु बाहेक अरु कुनै विकल्प रहेन । त्यो दिनको प्रतिक्षाका कारण आफूलाई चिन्तित, भयभीत, असन्तुलित बनाएन । आफ्ना दिनहरू सामान्य हिसाबले बिताउन थाल्यो । रातको समयमा त्यो आइमाई आउने क्रम टुटेन । त्यो आइमाई बोल्दै बोल्दिन । त्यत्रो समय बिताउँदा पनि बोलिन । उसको मुखबाट सीत्कारहरू निस्किन्छ तर शब्दहरू निस्किदैनन् । सायद त्यो अङ्गे्रजी भाषा जान्दिन तर स्थानीय भाषा पनि बोल्दिन । त्यो आइमाई भरपुर छे र यौनसन्तुष्टि दिन, लिन जान्दछे । त्यो आइमाईसँगको भेटलाई संघर्षले गोप्य राख्यो । उसले त्यो आइमाईसँग कुनै कुरा गर्न सकेन । त्यो आइमाईबाट कुनै सहयोगको आशा गर्नु बेकार छ । उसले सबै कुरा बुझिसकेको छ । त्यो आइमाईलाई मारेर पनि ऊ भाग्न सक्दैन । गोलीद्वारा हुने मृत्यु सजिलो हुनसक्छ तर उसले बाँकी रहेका दिन बाँच्ने अठोट ग¥यो । स्वागत नगरी मृत्युलाई अकस्मात् भोग्नु,भूल हुनसक्छ । अरुले मृत्युसँग डराएको ठान्न सक्छन् । कुनै गलत आरोप वा कुनै गलत हल्लाको सामना गर्नु नपरोस् मृत्युपछि । भाग्न सक्ने परिस्थिति भए पनि नभाग्ने अठोट ग¥यो । किन भाग्ने ? मृत्युसँग डराएर भाग्ने या जीवनको मोहका कारण भाग्ने ? उसले माया, मोह त्यागिसकेको छ । मृत्युसँग डराउन बाध्य बनाउने मायामोह नै हुन् । कुनै त्यस्ता बाध्यताहरूसँग संघर्ष झुक्ने छैन जसले मृत्युप्रति डर पैदा गरोस् ।

बीचमा कुनै नौलो घटना नभइ त्यो दिन पनि आयो जुन दिनको प्रतिक्षा थियो । ‘प्रतिक्षा भएकै कारण यो दिन छिट्टै आयो’ संघर्षले सोच्यो ।  भोलि अदालतको फैसला तामेल हुने समाचार एउटा प्रहरीले सुनायो । खाना खाइवरी ऊ सुत्न आँटेको छ । यो दिन पनि ऊ आरामले निदायो । कसैलाई सम्झेन बूढी आमा, स्वास्नी, छोरी कसैलाई सम्झेन मात्र यति विचार ग¥यो कि ऊ हाँसी हाँसी मर्नेछ । अनुहार छोप्ने धोक्रो पनि लगाउन दिने छैन । आँखाले मृत्यु हेरेर मर्ने छ । आफ्नैँ आँखाले हेर्नेछ, आफ्नो मृत्यु । मृत्युसँग डर किन ? मृत्युपछि जीवनको दिन पृथ्वीमा छैन भने डर किन ? मृत्युपछि कुनै काम बिग्रिने सम्भावना रहँदैन । कुनै गल्ती हुने छैन । कुनै परिबन्दमा परिने छैन । कसैसँग बोल्नु पर्दैन । कुनै काम बित्छ कि भन्ने सोच हुँदैन । केही पनि त बाँकी रहने छैन फेरि डराउने किन ? मृत्युदण्डको समय झिसमिसेमैे छ । रागाको साढेपाँच बजे । बिहान छ बजेमात्र उज्यालो हुन्छ । अलिअलि चिसो हुन्छ बिहान । चिसोको कारण पसिना पनि आउने छैन । प्रहरीले बिहान लगाउने कपडा दिएर गएको छ पातलो कमिज सुरुवाल । 

सामान्यतया बिहान छ बजे मात्र आफ्नो सेलमा बिजुली दिइएको थाहा छ संघर्षलाई तर त्यसदिन बिहान तीनबजे नै बिजुली बल्यो । कोठामा उज्यालो भयो । घण्टी बज्यो । ऊ उठ्यो र घण्टी बन्द ग¥यो, ट्वाइलेट गयो, दाँत ब्रस ग¥यो, मुख धोयो, कसरत गर्न थाल्यो । उसलाई लाग्यो कुनै लामो यात्राको तयारी गरिरहेछ ऊ । एउटा हतियारधारी प्रहरी आएर फलामे ढोका अगाडि उभियो । नबुझिने भाषामा केही बोल्यो । संघर्षले लुगा लगायो । प्रहरीले ढोका खोल्यो । संघर्षको हातमा हतकडी लगायो । संघर्ष मुस्कुराउँदै त्यो मान्छेसँग हिड्यो । हल जस्तो कोठामा केही बेन्चहरू छन् । बेन्चमा दुईजना पहिलेदेखि बसेका छन् । एकजनाको अनुहार कालोनिलो छ, अर्को गम्भीर । उनीहरू एकआपसमा कुराकानी गरिरहेका छैनन् । प्रहरीले उसलाई तिनीहरू सँगै राख्यो र आफू उभियो । त्यो भ्रष्टाचारी मान्छेलाई प्रहरीहरूले लगभग बोकेर ल्याए । आँखाबाट बलिन्द्र धारा आँसु बगाएर रोइरहेको छ त्यो । आँखा महिनौ नसुतेका जस्ता छन् । कुनैपनि बेला बेहोस हुने अवस्थामा छ त्यो । अरु सबै आए । सबैजना आएपछि  एउटा अफिसरझैँ लाग्ने प्रहरी देखा प¥यो कोठामा । अफिसर अगाडि लाग्यो । कैदीहरूलाई पाखुरामा समातेर तान्न थालियो । तिनीहरूलाई मेडिकल चेकअप गर्ने कोठामा लगियो । त्यहाँ विभिन्न यन्त्रसहित पाँच स्वास्थ्यकर्मी छन् । पालैपालो सबैको ब्लडप्रेशर, स्वचालितयन्त्रद्वारा सुगर, इसिजी हेर्न थालियो । जम्माजम्मी पाँच जना छन् आज मृत्युदण्ड पाउने । रागा पनि छ यो समूहमा ।

चेकअप सिद्धिएपछि मुस्कुराएर संघर्षले डाक्टरसँग सोध्यो ।

“के म पूर्णरूपेण स्वस्थ्य छु, डाक्टर ?”

“पक्कै पनि तिमी अरु सबैभन्दा ज्यादा स्वस्थ्य छौ ।”

“धन्यवाद, मृत्यु सहज वा सरल वस्तु हैन । त्यसको सामना स्वस्थ्य मान्छेले मात्र गर्न सक्छ । आत्मसमर्पण भिन्नै कुरा हो ।”

त्यहाँबाट तिनीहरूलाई सिँढी ओर्लन लगाइयो । एउटा कोठामा पु¥याएर बस्न भनियो ।

“बेहोस भएको अवस्थामा मृत्युदण्ड स्थगित हुन्छ ।” पातलो मान्छे बोल्यो ।

“यो कुनै ठूलो कुरो हैन । बेहोसीको नाटक गर्न जो कोहीले पनि सक्छ ।” रागा बोल्यो ।

“तिमीले सोचे जति सजिलो छैन । डाक्टरहरूले बेहोस भए नभएको परीक्षण गर्दा हुन् ।” संघर्ष बोल्यो ।

त्यो भ्रष्टाचारी रुन, कराउन, छटपटिन थाल्यो । संघर्षले नबुóने भाषामा ऊ केही बोलिरहेको छ । प्रहरीहरूले त्यसलाई हकारे । रुन, कराउन, छटपटाउन कम भयो तर त्यो चुप भएन ।

“मर्न डराउँछ भने यसले घूस किन खाएको । धेरै झर्को भइरहेछ । आरामले मर्न पनि नपाउने भयो ।” संघर्ष दिक्दार आवाजमा बोल्यो । 

“हुनसक्छ यो परिबन्दमा परेको होस् ।” रागा बोल्यो ।

“म जस्तै तर म मर्न डराउँदिन ।” संघर्षले लामो श्वास तानेर छाती तन्कायो ।

“परिबन्दमा परेर घूस खाएको हुनुपर्छ ।” पातलो मान्छे बोल्यो ।

“अपराध गर्नेहरूका निम्ति यो कुनै नौलो ठूलो कुरो हैन । अपराध गर्नेहरूलाई नमरुन्जेल झुन्ड्याइनै पर्छ ।” रागा बोल्यो । त्यो पनि मर्न डराईरहेको छैन । “मृत्युदण्ड दिएकोमा मलाई कुनै गुनासो छैन । मैले सके मैले मारे । उनीहरूले सके उनीहरूले मारे । दुनियाँको नियम हो यो ।”

“मेरो मामलामा भन्ने हो भने म प्रतिनिधि पात्र मात्र हुँ । मानिसका विरोधी मानिस नै हुन् । मानवको अस्तित्व नास्न मानव नै जुटेका छन् । दुनियाँ भयानक छ क्रूर पनि ।” संघर्ष दार्शनिकझँै देखियो ।

“कुनै नौलो कुरो हैन, उसले सक्यो तिमीलाई फसायो । तिमीले सकेको भए तिमी फसाउँथ्यौ ।” पातलो मान्छे खुइय्य ! सुस्केरा हाल्दै थाकेको स्वरमा बोल्यो । यो मान्छे भयभीत छ । धेरै बोल्नुपर्ने भएकाले होला कुराकानीमा संलग्न छ ।

       भ्रष्टाचारीलाई त्यहाँबाट लगियो । त्यसलाई घिच्याउँदै अर्को ठूलो कोठामा लगियो र एउटा फलामको पातो माथि उभ्याइयो । त्यो कहालिएर रोयो, छटपटायो । कालोकोट लगाएको वकिल फायल लिएर एक्लै उभिएको छ ।

“तिम्रो नाम” वकिलले सोध्यो ।

“…………” त्यसले सकिनसकि, कठिन, सानो स्वरमा आफ्नो नाम ठेगाना बतायोे । वकिलले फायल पल्टाएर हे¥यो । फायलमा रहेको फोटो हे¥यो । मान्छे यकिन ग¥यो । फैसलामा लेखिएकोे समय पढ्योे, घडी हे¥यो । त्यहाँ जेलर र प्रहरीका उच्चपदस्थअधिकारीहरू पनि छन् । जल्लाद पनि छ ।

मोटोघाटो, अग्लो, ह्वास्सै रक्सी गनाउने, लामो कपाल भएको जल्लाद डरलाग्दो छैन । सामान्य अनुहार भएको जल्लादले सामान्य सर्टपाइन्ट लगाएको छ । असभ्य जङ्गली जस्तो लाग्छ । सामान्य मान्छे भन्दा फरक छैन जल्लाद ।

ढलानका दुईओटा खम्बाहरू छन् । डोरी झुन्ड्याइएको छ ।  मोटो डोरीलाई सुर्केनी पारेर पासो बनाइएको छ ।

त्यो जल्लादले मृत्युदण्ड पाउने मान्छेको टाउकोबाट धोक्रो छिराएर अनुहार छोप्छ । धोक्रो लगाएपछि आँखा खुलै भए पनि बाहिर केही देखिदैन । त्यसपछि पासोलाई घाँटीमा टन्काउँछ ।

त्यो भ्रष्टाचारीको मुखबाट आवाज आउन छोड्यो । सायद त्यो बेहोस भएको हुनसक्छ । धोक्रोले अनुहार छोपेपछि कैदी बेहोस भए पनि कुनै अर्थ बन्दैन । त्यसको कपडाबाट पिसाब बग्न थाल्यो । दिसा पनि निक्लिएको हुनुपर्छ तर त्यो देखिएन । वकिलले हात उठायो र तुरुन्तै तल झा¥यो । जल्लादले वकिलको हात हेर्दै लिभर तान्यो । मानवीय संवेदनाको सीत्कार झै लाग्ने एउटा अनौठौ मसिनो आवाज सुने सवैले । मान्छे उभिएको फलामको पातो तलतिर खस्यो । डोरी तन्कियो । मान्छे डोरीमा झुन्डियो । घाँटीमा पासो कसिदै गयो । त्यो मान्छेको खुट्टा र शरीर कामेकोे आभास भयो । बाँकी शरीर शान्त भयो । केही समय सबै मौन रहे । तलको आँगनमा अघिदेखि नै दुईजना लोग्नेमान्छे र एउटा आइमाई छन् । डाक्टरहरू पनि छन् । लोग्नेमान्छे र आइमाई अगाडि बढेर त्यो मान्छेलाई डोरीको बन्धनबाट मुक्त गरे । त्यसको लास भुइँमा लड्यो । डाक्टरले परीक्षण गरेर मृत्युको यकिन ग¥यो । आइमाईले कपडा खोलेर उसको शरीरमा भएको दिसापिसाव सफा गरी । ट्रली गुडाउँदै मान्छेहरू आए । लाशलाइ ट्रलीमा राखेर गुडाउँदै बाहिरिए । भ्रष्टाचारीको काम तमाम भयो । यसैगरी बाँकी दुईजनाको काम पनि तमाम भयो । पालो आयो संघर्षको । सुरक्षाप्रहरीले उसलाई इशारा ग¥यो ।

संघर्ष उठ्यो र छाती तन्कायो । ऊ किञ्चित् पनि डराएन । अनुहारमा मुस्कान ल्यायो । प्रहरीसँग मुस्कुराउँदै बोल्यो “मेरो पालो हो ?”  प्रहरीले संघर्षको पाखुरा समातेर तान्यो । संघर्ष मजबुत पाइला हिँड्यो । प्रहरीलाई अचम्म लाग्यो ‘यो कस्तो मान्छे मुस्कुराइरहेको छ । सायद यो आफूले गरेको अपराधको पश्चाताप गरिरहेको होला । यो हत्यारा हो । हत्या गर्दाको बखत नै यसले मृत्युदण्डलाई स्वीकारेको हुँदो हो ।’ 

प्रहरी मुस्कुराउन वा बोल्न सकेन । हतकडी खोलिएको छैन । संघर्ष प्रहरीको अघिअघि कोठाबाहिर आयो । यहाँबाट आकाश देखिदो रहेछ । ऊ आकाशलाई हेरेर बडबडायो ।

“म मृत्युसँग डराउँदिन । त्यसले आघात गर्ला, म प्रत्याघात गर्छु । त्यसले सके मलाई मारोस् नत्र म त्यसलाई मार्छु, मार्छु ।”

तलको आँगनमा हे¥यो । एउटी आइमाई र लोग्नेमान्छेहरू उभिएका छन् । वास्तै नगरी अगाडि बढ्न खोजेको मात्र के थियो संघर्ष झस्क्यो । यहाँ आइमाई । यत्रो लामो बसाइमा स्वस्थ्यकर्मीबाहेक अरु कुनै आइमाई उसले देखेको थिएन । ‘यो आइमाई र त्यो राति आउने आइमाई बीच कुनै कडी हुनुपर्छ । यहाँ यो मात्र आइमाई छे या अरु पनि छन् ? यो मात्रै हुनुपर्छ यहाँ र यो त्यही हुनुपर्छ । मृत्युझँै आएर यौनतुष्टि प्रदान गर्ने आइमाई यही हो त ?’ आइमाईतिर हेरेर संघर्ष मुस्कुरायो । ‘त्यो पनि मुस्कुराई यो त्यही हुनुपर्छ ।’ उसले सोच्यो । प्रहरीले धकेल्यो । ऊ सिँढी चढेर मृत्युमञ्चमा पुग्यो । एकै दृष्टिमा उसले सबै बुóयो । मृत्यु जसलाई यहाँ जल्लाद भनिँदो हो । त्यसले उसलाई समात्यो अनि तान्यो बलिवेदीतर्फ । संघर्ष बलिवेदीतर्फ तानिएकै हो । मार हानेर काटिने खसी पर्सिएझँै अब उसले पर्सिनु छ । उसले वकिल र अफिसरहरूलाई मुस्कुराएर अभिवादन ग¥यो ।

“छिटो गर् । पहिले नै ढिलो भइरहेछ । समय बित्ला, समय बित्यो भने अदालतबाट अर्को आदेश लिनुपर्छ ।”  वकिल स्थानीय भाषामा बोल्यो उसले बुझेन ।

उसलाई फलामको पातोमाथि उभ्याइयो । जल्लाद र उसका आँखा जुधे । उसले कठोर, निर्मम, क्रूर र चिसो आँखाले जल्लादलाई हे¥यो । जल्लादले आँखा निहुरायो । जल्लादलाई मृत्यु ठानेर ऊ खुसी भयो । मृत्युको आँखा झुकाउन सकेकोमा ऊ दङ्ग प¥यो । जल्लादले धोक्रो लगाउन खोज्यो । हातले धोक्रो लगाउन रोक्दै ऊ वकिलतिर फर्केर बोल्यो ।

“म मृत्युलाई आफ्नै आँखाले हेर्न चाहन्छु । यो धोक्रोको आवश्यकता छैन ।” वकिलले टाउको उठाएर स्थानीय भाषामा जल्लादसँग सम्बोधित हुँदै केही बोल्यो । अफिसरहरू छक्क परेर हेरिरहे । धोक्रो लगाउन नपाउँदा, मर्दै गरेको मान्छेको अनुहार पहिलोचोटि हेर्न बाध्य हुनुपर्दा जल्लाद काम्यो । जल्लादले संघर्षको आँखामा हेर्ने प्रयास ग¥यो । संघर्षको क्रूर, शुष्क र कठोर आँखामा जल्लादका आँखाहरू टिक्न सकेनन् । जल्लादको हात कामेको संघर्षले प्रष्टै देख्यो, मुस्कुरायो । संघर्षले सोच्यो ‘मैले मृत्युलाई बाध्य बनाएँ । म मृत्युलाई जित्न चाहन्छु । मेरो इच्छाशक्ति मजबुत हँुदै जादैछ ।’

“छिटो गर् समय ज्यादा छैन । समय बित्यो भने अर्को आदेश लिनुपर्छ ।” वकिलले दोहो¥यायो ।

अग्लो स्थानमा चढेर जल्लादले पासो समात्यो । संघर्षले स्पष्ट देख्यो जल्लादका खुट्टाहरू कामे । यो पटक सधैँको भन्दा सबैको भन्दा अनौठो अनुभव गरिरहेछ, जल्लाद । ‘कस्तो मान्छे हो यो ? सबै डराउँछन् । आजसम्म कोही कसैले मेरो आँखामा एकोहोरो हेरेका छैनन् । यो भूत ता हैन ? मैले मारेका मान्छेहरूको भूत ।’ जल्लादले सोच्यो । 

पासोलाई टाउकोबाट छिराउनु पर्छ, छिरायो । पासो कस्न मात्र के आँटेको थियो । कसो कसो त्यसको आँखा संघर्षको आँखासँग जुध्यो । त्यो धरमरायो, लड्खडायो । जल्लाद संघर्षको खुट्टामा लड्यो । मृत्युलाई खुट्टामा लडाउन सकेकोमा संघर्ष खुसी देखियो । संघर्षले मृत्युलाई जितेको ठान्यो । मृत्यु उसको खुट्टामा लम्पसार छ ।

“ऐ के भयो तँलाई” प्रहरी अफिसर गज्र्यो । 

नजिकै आएर जाँचबुझ गरेपछि अफिसर फेरि गज्र्यो ।

“यसले रक्सी पिएको छ । यो बेहोस भएछ, डाक्टर बोलाऊ ।” एउटा प्रहरी डाक्टर बोलाउन कुद्यो । सबैजना अलमलमा परे । ‘के गर्ने, के नगर्ने’ मृत्युदण्ड दिनु पर्ने मान्छेको घाँटीमा पासो कसिएकोे छैन । कसले कस्ने त्यो पासो ? मृत्युदण्ड पाइसक्नु पर्ने मान्छेको शरीर जीवितै  छ । ‘आँखाले सबै घटना देखिरहेको छु, मनमनैै हाँसिरहेको छु । कसले हिम्मत गर्ने ? हिम्मत गर्ने मृत्यु बेहोस अवस्थामा छ ।’ संघर्ष दङ्ग प¥यो ।

मृत्युदण्ड दिने प्रक्रियाका सबै काम सजिला, सरल छैनन् । सबैभन्दा मुस्किलको काम पासो कस्नु हो । लिभर तान्न धेरै बल चाहिँदैन । धोक्रो लगाउने काम पनि सजिलो छैन ।

“ऐ, तिमी पछाडि हट, तिम्रो समय सकियो । तिम्रो निम्ति अब अर्को आदेश लिनुपर्छ ।” वकिल अङ्ग्रेजीमा करायो । संघर्ष पछाडि हट्यो । वकिल  स्थानीय भाषामा फेरि करायो । “अर्को कैदी ल्याऊ ।”

संघर्ष पछाडि हटेर उभियो । प्रहरीले तुरुन्तै संघर्षको हातमा हतकडी लगायो । प्रहरी ऊ सँगै उभियो ।

डरलाग्दो अनुहार भएको रागा भन्ने मान्छेलाई मृत्युमञ्चमा उभ्याइयो । त्यो डरलाग्दो मान्छेलाई परिस्थितिको ज्ञान छैन ।  ‘अगाडिको कारबाही कसले गर्ने ?’ प्रश्नचिह्नका साथ वकिल र प्रहरीहरू एकले अर्कालाई हेर्न थाले ।

“अफिसर तिमीले यो काम गर्नुपर्छ ।” स्थानीय भाषामा वकिल करायो ।

“यो काम मेरो होइन, म कुनै पनि काम गर्न बाध्य छैन ।” अफिसर झन् ठूलो स्वरमा करायो । “यो काम प्रहरीको हैन ।” वकिलको अनुहारमा के गरोैँ, के नगराँैको भाव देखा प¥यो । कोही पनि अगाडि आएनन् । कसैले पनि तुरुन्तै साहस गरेनन् ।

“म गर्न सक्छु यो काम । मेरो हात खोलिदिनु होस् ।” संघर्ष वकिलतिर हेर्दै अङ्गे्रजीमा बोल्यो । संघर्षले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लियो ।

“यसको हात खोलिदेऊ ।” वकिल संघर्षलाई औल्याउँदै करायो । प्रहरीले अफिसरतिर हे¥यो । अफिसरले आँखा सन्कायो । प्रहरीले हातको हतकडी खोलिदियो । संघर्ष अगाडि आयो । डरलाग्दो अपराधीलाई समातेर तान्दै फलामको पातोमाथि उभ्यायो । नजिकै रहेको धोक्रोले त्यसको अनुहार छोप्यो । अग्लो स्थानमा चढेर घाँटीमा पासो कस्यो । रागालाई सपना जस्तो लाग्यो । संघर्ष बाँचिरहेकोमा त्यो छक्क प¥यो ।

“गुडबाई साथी, म मृत्यु हुँ ।” संघर्ष बोल्यो । त्यो डरलाग्दो मान्छे बोल्न सकेन । जे भइरहेछ चुपचाप हुन दियो । त्यो मान्छे आश्चर्यले यति चकित भयो कि उसलाई मृत्युदण्ड भोग्दैछु भन्ने लागेन किनभने त्यहाँ जल्लाद जस्तो मान्छे छैन । जो छ त्यो पनि मृत्युदण्ड पाएकै मान्छे हो ।

वकिलले हातलाई माथि उठाएर तल झा¥यो । संघर्षले लिभर तान्यो । लिभर तानेपछि मान्छे उभिएको फलामको पातो मुन्तिर खुल्छ । फाँसी हुनुपर्ने मान्छेको पैतालामुनि टेक्ने जमिन रहँदैन, त्यो झुन्डिन्छ ।

——————————–0——————————

संघर्ष मृत्युमञ्चबाट फर्केर सकुशल सेलमा पुग्यो । सेलको साँचो लगाएर प्रहरी फक्र्यो । संघर्षले ठूलो जितको अनुभव गरेन । आज नमरेकोमा दङ्ग परेन । भोलि, पर्सि या कुनै दिन मर्नु नै छ । वकिलले समय तोकेर ल्याउने नै छ । ऊ फर्केर आएकोमा सबै छक्क परे । उसले केही भन्नु परेन किनभने यो समूहमा उसको भाषा बुóने कोही पनि छैनन् ।  दिउँसो पत्रिका र पुस्तकमा मस्त रह्यो । बेलुका टिभी र बाँकी अरु कुरामा अलमलियोे । आफ्नो मृत्यु ट¥यो भनेर ऊ विश्वस्त भएन । मृत्युसँगको द्वन्द्वमा आज उसले जित्यो । भोलिको द्वन्द्वमा मृत्युले जित्न सक्नेछ । यो पनि हो कि अदालतमा अब केही समय लाग्न सक्छ । सायद फेरि उसलाई अदालत लगिनेछ । उसलाई अदालतसामु उभ्याएर मात्र अर्को समय लिइनेछ ।

त्यो रात पनि त्यो आइमाई आई । त्योसँग भाषासञ्चार हुन सकेन तर आज उसले त्यसलाई अति नै माया ग¥यो । उसलाई विश्वास भइसकेको छ कि यो त्यही मृत्युमञ्चको आँगनमा उभिएकी आइमाई हो ।

भोलिपल्ट बिहानै उसलाई पनि उठाइयो । उसले सोच्यो ‘वकिलले कति छिटैसमय लिएछ ?’ हिजोको आजै ऊ छक्क प¥यो । उसले समय लाग्छ भनिठानेको थियो । जेहोस् हिजोको झँै ऊ सबै तरिकाले तयार रह््यो । हिजो दिइएको कपडा आज पनि लगायो । केही समय पछि एउटा प्रहरी र वकिल त्यहाँ आइपुगे ।

वकिलले प्रथमत औपचारिकता निभायो “हेल्लो ।”

“तपाईँले यति छिटै समय लिनुभएछ, मलाई सूचना भएन ।” ऊ मुस्कुरायो ।

“त्यस्तो कुरा हैन, त्यो जल्लाद म¥यो । अदालती आदेशको तामेल हुनैपर्छ, त्यही कामको लागि यहाँ मेरो जागिर छ । तुरुन्तै अर्को जल्लादको व्यवस्था हुन सकेन । के तिमी जल्लादको काम गर्न रुचाउँछौ ? यदि तिम्रो लागि यो प्रस्ताव स्वीकार्य छ भने आऊ मसँग । कपडा फेर, तिम्रा आफ्ना जेल बाहिरका सामान्य कपडा लाऊ । मैले तिम्रा कपडाहरू ल्याएको छु ।”

“त्यो काम जो मैले हिजो गरे आज पनि म त्यो काम गर्न तयार छु । ल्याउनुहोस मेरो कपडा ।” सेलको साँचो खोलेर प्रहरीले कपडा दियो । ऊ कपडा बदल्न थाल्यो ।

“तिमी कहाँका हौ ?” वकिलले वार्तालाप सुरु ग¥यो

“नेपाल ।”

“यहाँ किन आएको ?”

“पैसा कमाउन, काम गर्न ।”

“के तिमी रक्सी पिउँछौ ? रक्सी पिउने मान्छेलाई म बिलकुलै मन पराउँदिन । आफ्नो काम फत्ते गर्नका निम्ति रक्सी खाने मान्छे निकम्मा हुन्छ । म  दिलोदिमागले काम गर्ने पेसागत मान्छेहरू मन पराउँछु ।”

“म मृत्युसँग डराउँदिन । मृत्युलाई हराउन चाहन्छु । त्योसँगको धेरै द्वन्द्वयुद्ध मैले जितेको छु । नपत्याए हिजैको घटनालाई लिनोस ।”

“तिमीले होटलमा त्यो मान्छेलाई किन मा¥यौ ?”

“त्यो मैले नचिनेको नजानेको कहिले पनि भेट नभएको मान्छे हो । त्यो मेरो सामु परेकै छैन, त्यो मेरो हातबाट कसरी मर्न सक्छ । मेरो कुनै उद्देश्य छैन त्यो मान्छे मार्नुमा । तपाईँँ विश्वास गर्नोस मैले त्यो मान्छे मारेकै होइन ।”

“ठिकै छ म तिम्रो दूतावाससँग कुरा गर्छु । म यसै भन्न सक्दिन तिम्रो मृत्युदण्डको समय लिन म केही ढिलाई गराँैला तर यो कुरा तिमीले कसैलाई नभन्नु ।” वकिल ऊप्रति सदाशयी देखियो ।

त्यो दिन उसले दुईजनालाई झुन्ड्यायो । हिजोकी त्यो आइमाईको अनुहार आज चम्किलो  देखिएन ।

केही व्यवस्थाहरू परिवर्तन भए । मृत्युदण्ड पाएकाहरूसँगको उठबसमा बन्देज लगाएर उसलाई अर्को सेलको व्यवस्था भयो जहाँ पत्रिका, पुस्तक, टेलिभिजन छन् । खाना पनि त्यहीँ दिन थालियो । उसले कुनै करारपत्र वा नियुक्तिपत्र पाएन तर जल्लादको काम गर्न थाल्यो । बिस्तारै उसलाई थाहा भयोे कि एउटा मान्छे झुन्ड्याएको पचासहजारको दरले रुपैयाँ पाइन्छ । उसलाई जेलभित्रै बैंकखाता खोल्ने सुविधा दिइयो । उसले मान्छेको गन्ती राख्न थाल्यो । पैसा बैंकमा जम्मा हुन थाल्यो । पैसामा कुनै गडबड नहुने कुरोमा उसलाई विश्वास दिलाइयो ।

दूतावासबाट फोन आयो । भनियो “हामी मृत्युदण्डलाई जन्मकैदमा परिवर्तन गर्ने कोसिस गरिरहेका छौ । तपाईँको मृत्युदण्ड रोकिएछ । विश्वास गर्नाेस् हामी तपाईँको निम्ति केही न केही गरिरहेकै छाँै ।” उसले धन्यवाद भन्यो ।

रातमा यदाकदा आउने त्यो आइमाई आउन छोडी । उसलाई राम्रै लाग्यो । यो आइमाईलाई बेहोर्ने काम मुश्किल हुन थालेको थियो । उसको अनुमानमा त्यो आइमाई मृत्युको मञ्चमा देखिन्छे । त्योसँग बोल्ने अवस्था वा वातावरण नै हँुदैन । केही भन्न सक्ने अवस्था भाषाको कारणले रहँदैन । राति आउने आइमाई त्यही हो भन्ने यकिन पनि हुन सकेको छैन । 

वकिल जसको नाम इहसन हो संघर्षसँग मित्रवत् व्यवहार गर्न थाल्यो । इहसनले मृत्युदण्ड जन्मकैदमा बदलिन सक्ने कुरामा विश्वास दिलायो । भ्रष्टाचार, लागूऔषधको अपराधीलाई मृत्युदण्ड पक्का छ तर नियत नराखी आवेशमा गरिएको हत्या प्रमाणित भएमा मृत्युदण्ड दिनैपर्ने व्यवस्था कानुनमा नभएको व्यहोरा वकिलले सुनायो । ऊ परिवारलाई फोन गर्न चाहन्छ । घरमा केही पैसा पठाउने इच्छा छ तर त्यो सुविधा उसले पाएन । धेरै जोड पनि गरेन । उसको जीवन आरामले बित्न थाल्यो । आफ्नो कामको विषयमा उसले धेरै सोचेन । कुनै न कुनै काम उसले गर्नु नै छ यही सही । उसले जेल परेदेखि नै यहाँको स्थानीय भाषा सिक्न सुरु गरिसकेको थियो । अब त धेरै जान्ने भइसकेको छ । धेरथोर बोल्न पनि थालेको छ । स्थानीयहरूसँग साधारण सञ्चार हुन थालेको छ ।

एकदिन संघर्षलाई अदालत लगियो । त्यहाँ न्यायाधीशले उसको सजायँ मृत्युदण्डबाट जन्मकैदमा परिवर्तन गरेकोे फैसला सुनायो । जेल परिवर्तन हुन्छ कि उसलाई डर लाग्यो तर भएन । जल्लादको काम गर्नका निम्ति कोही पनि भेटिएन । उसले त्यो कामलाई छोडेन ।

 संघर्षले सन्तुष्टिको श्वास फे¥यो । मृत्युलाई जित्नेहरू मध्ये ऊ पनि एक भयो । अस्तित्व यो दौडमा उसले मात्र मृत्युलाई जित्यो । संघर्षलाई यस्तो लाग्दैन । अरुपनि होलान् मृत्युलाई जित्नेहरू ।

संघर्षले घर फोन ग¥यो । अबको स्थितिमा उसलाई यो सुविधा दिइयो । फोनमा काकासँग कुराकानी भयो । काकाले ज्यादै कष्टका साथ संघर्षको आमा मरेको समाचार सुनाए । ऊ यो खबर सुन्दा रुन चाहन्थ्यो तर रोएन । आमा बितेको खबर सुन्दा उसलाई लाग्यो अब ऊ निस्तेज हँुदै जानेछ । मृत्युले उसलाई गाँज्नेछ । कमजोर ठानेर मृत्युले कठोर प्रहार गर्नेछ । एकपलको लागि लाग्यो कि अबको पालि मृत्युले उसलाई जित्नेछ । आमाको मृत्यु, ऊमाथि मृत्युको एउटा कठोर प्रहार हो । समाचारको क्रम यतिमै टुङ्गिएन । पल्लो गाउँको शिक्षकसँग उसकी स्वास्नी छोरीसहित पोइल हिँडेकी खबर पनि काकाले सुनाए । स्वास्नी हिँडेकीमा उसलाई आश्चर्य लागेन । सोच्यो ‘आइमाईको जात धेरै दिन लागेन ।’

 मृत्युशोकमा उसले तीन दिन नुन नभएको खाना खायो । कपाल खौरायो तर पनि ती दिन ज्यानमार्ने काम छोडेन, छोड्न सकेन । त्यो काम चलि नै रह्यो । जेलको बैंक मार्फत उसले दुईलाख रुपैयाँ घर पठायो । 

सजायाको कठोरता न्यून हुनासाथ उसलाई धेरै किसिमका सुविधा र स्वतन्त्रताहरू उपलब्ध भए । जन्मकैदको केैदी भएपनि उसलाई जेलको एउटा कर्मचारीको हैसियतले हेर्न थालियो । उसको बोली व्यवहार तथा अन्य कुनै कुरा सम्बन्धि कुनै गुनासो, सिकायत, उजुरी जेलप्रशासनमा आएन । जन्मकैदको कैदीलाई राख्ने जेल अर्कै छ तर संघर्षलाई त्यहाँ लगिएन । जति नै सुविधा र स्वतन्त्रता पाए पनि यो बन्द चारपर्खालभित्र उसको हैसियत कैदीकै रह्यो । ऊद्वारा सम्पन्न हुन थालेको जल्लादको कामले निरन्तरता पायो । मृत्युदण्डको सजाया पाउनेहरूलाई पासोमा òुन्ड्याउने काम उसको भयो ।

——————————–0——————————

एउटा कैदी जसलाई मृत्युदण्डको सजाया तोकिएको छ तर त्यो मर्न चाहदैन । मृत्युलाई चुनौती दिइरहेको छ । ऊ लगभग पागल भएर मृत्यु, जेलर, जल्लाद, न्यायाधीश, वकिल र प्रहरीहरूलाई तथानाम बकिरहेको छ । त्यसले संघर्षलाई तर्साउने, धम्काउने, कुट्ने, मार्ने प्रयास पनि ग¥यो । त्यो मान्छेले अपराध गरेको होे वा होइन भन्ने विषयमा संघर्षको कुनै वास्ता रहेन । त्यो काम न्यायाधीश र वकिलहरूको हो । आफू जस्ता निरपराध व्यक्तिलाई मृत्युदण्ड नदिइयोस्, ऊ यस्तो चाहँदैन । कारण उसले पनि मृत्युदण्ड पाएको हो । ऊ मृत्युसँग सामना गरेर बाँचेको हो न कि निरपराध सिद्ध भएका कारण । सबैले मृत्युसँग सामना गरुन् भन्ने शुभकामना राख्छ ऊ  ।

त्यो दिन, बिहानको काम सिद्धिसकेपछि संघर्ष उत्साहित भएर वकिलको कोठामा पुग्यो । उत्साहित हुनुको पनि कारण छ । त्यो मान्छेलाई पासोमा òुण्ड्याउन सफल भएपछि ऊ ढुक्क भएको छ । त्यो मान्छे जो मृत्युलाई चुनौती दिइरहेको थियो त्यसले मृत्युलाई जित्न सकेन । त्यो मान्छे जो संघर्षको मृत्यु हुन चाहन्थ्यो त्यसलाई जित्यो संघर्षले । त्यसले संघर्षलाई जित्न सकेन । ‘मृत्युलाई जित्न सक्ने व्यक्ति म मात्र हँु ।’ यस्तो सोच्दा संघर्षको शिर अभिमानले ठाडो हुन्छ । छाती तन्किन्छ ।

यो कार्यालय हो । आरामदायी सोफाहरू छैनन् अफिसमा । कुर्सीहरू छन् । कुसन मेचहरू छन् । टेलिभिजन छ । ठूलो बुक¥याक छ । त्यसभित्र किताबैकिताब छन् । अधिकांश कानुनका पुस्तक, दर्शन तथा इतिहासका  पुस्तकहरू पनि छन् । अफिसकोठाबाट मात्र जान सकिने अर्को कोठामा वकिलको सुत्ने प्रबन्ध छ । त्यो कोठाको भित्तामा केही टाँगिएको छैन । टेबल, कुर्सी, ल्यावटप अनि एउटा लुगास्ट्याण्ड छ । एउटा सुटकेश पनि छ त्यो वकिलको व्याक्तिगत सामान हो । बिहान काम परेको खण्डमा मात्र ऊ अघिल्लो रात यहाँ सुत्छ नत्र यहाँ सुत्दैन । मृत्युदण्ड दिने काम प्रायः बिहान हुन्छ ।

संघर्षले ढोकामा उभिएर आवाज दियो । वकिलको अफिसकोठामा ऊ पहिलोचोटि आएको हो ।

“भित्रै आऊ ।” वकिल पुस्तकको पाना पल्टाउँदै बोल्यो । वकिल पढ्नमा व्यस्त रहेछ । संघर्ष  कोठामा भित्रियो ।

“बस, किन आयौ ।”

“म केही कुरा गर्न चाहन्छु सायद सबैसँग । मेरो कुरा गोप्य भने हैन ।” संघर्ष उत्साहित आवाजमा संयमताका साथ बोल्यो ।

“यहाँ गोप्य कुरा पनि हुनसक्छ, तिमी नआत्तिय नडराऊ ।”

त्यतिखेरै हतारिदै, हुर्रिदै जेलर आइपुग्यो । कुर्सीमा बसिसकेको संघर्षले उठेर जिउ तन्काउदै जेलरलाई अभिवादन ग¥यो । जेलरले अभिवादन फर्काएन । जेलर धरमराउँदै कुर्सीमा बस्यो । कुर्सी चरमरायो । वकिलले पुस्तक बन्द ग¥यो ।

“तिम्रो कोठामा यसको के काम ए कालो कोटधारी ?” संघर्षलाई कठोर आँखाले हेर्दै जेलर बोल्यो ।

“ऊ मसँग केही कुरा गर्न चाहन्छ ।” वकिल आरामले कुर्सीमा ढल्किदै बोल्यो ।  त्यतिखेरै महिला डाक्टर मुस्कुराउँदै कोठामा प्रवेश गरी ।

“म तपाईँँलाई नै खोजिरहेकी थिएँ, जेलरसाहेब ।” डाक्टर एनी बस्दै बोली ।

“किन खोजेकी । तरुनीले तन्दुरुस्तहरूसँग एकान्तमा गर्ने सल्लाह पो छ कि ?” कठोर, क्रूर देखिने जेलर हातले जुँगा मुसार्दै मुस्कुराउँदै बोल्यो ।

“उमेरको ख्याल राख्नुहोस जेलरसाहेब ।” वकिल हाँस्दै बोल्यो ।

“म तपाईँसँग जन्मकैद पाएका केही कैदीहरूको बिरामीका विषयमा कुरा गर्न चाहन्छु । सेल नं ९९ को कैदीलाई सर्जरी गर्नुपर्छ । जुन सुविधा यहाँ उपलब्ध छैन । सेल नं. ६७ को कैदीलाई यहाँको परीक्षणले मात्र पुग्दैन । अरु केही कैदीहरूको स्वास्थ्यका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था छ ।” आफ्नो पातलो शरीर र सुन्दर मुहारका कारण सदैव कोमल, सरल र आकर्षक लाग्ने डाक्टर बोली । डाक्टर यहाँका प्रत्येक कैदीलाई माया गर्छे मानाँै माया गर्नु नै उसको जीवन हो तर यसको ठीक विपरीत जेलर कसैलाई माया गर्दैन । सबैप्रति कठोर छ, सहयोगी कर्मचारीहरूप्रति पनि ।

वकिल कानुनको दाउपेचमा पोख्त छ षडयन्त्रमा पनि । खोजी वा अन्वेषणमा भर गर्छ । शंका गर्न सिपालु छ । कानुनका दफाहरूभित्र न्यायका कमजोरीहरू खोज्ने, खेल्ने र जित्ने दाउमा हुन्छ सदैव । वकिलको यो सरकारी जागिर हो । उसको आफ्नो प्राइभेट ल फर्म पनि छ । वकिल तथा कर्मचारीहरू राखेको छ ।

जेलर जति कुटिल, क्रूर र कठोर छ त्यति नै कपट वकिलमा छ । यी दुई जति कठोर र कपटी छन् त्यो भन्दा धेरै शालिनता डाक्टरमा छ । जेलरलाई विश्वास गर्न सकिदैन । कतिखेर के गर्छ अनुमान गर्न सकिन्न ।  वकिललाई थोरै मात्रामा विश्वास गर्न सकिन्छ । डाक्टर पुरै विश्वासयोग्य छे । डाक्टर सरकारी जागिरे हो । समय आवश्यकता अनुसार उपस्थित हुने गर्छे । मृत्युदण्ड दिइने बिहानका लागि डाक्टर र उसका सहयोगीहरू अघिल्लो रात नै उपस्थित हुन्छन् । वकिलसँग एउटा सहायक कर्मचारी छ । डाक्टरसँग दुई नर्स र एक कम्पाउण्डरसहित तीन सहयोगी छन् । अर्को पनि डाक्टर छ यहाँ तर त्यो कहिलेकाहीँ मात्र देखिन्छ । केही इलेक्ट्रिसियन र सफाइका कर्मचारीहरू पनि छन् । खाना पकाउने र सफा गर्ने काम प्रहरी जवानहरूले गर्छन् । खानामा सुरक्षाको आवश्यकता हुन्छ । कोही आत्महत्या गर्ने कोसिस गर्छन भने यहाँ कसैले कसैलाई मार्ने वा जेल तोड्ने प्रयास जस्ता काण्ड पनि हुनेगर्छ ।

“भन, तिमीलाई के भन्नु छ ? यी कुराहरू पछि गरौँला डाक्टर ।” सबैजनासँगको औपचारिकता सिद्धेपछि वकिल संघर्षलाई हेर्दै बोल्यो । संघर्ष उत्साहित भएर नहिचकिचाई बोल्यो ।

“मलाई मृत्युले आफ्ना सारा षडयन्त्रबाट मुक्त गरेन । मैले कुनै अपराध गरेको छुईन । म मृत्युलाई जित्न चाहन्छु । मैले मृत्युलाई लल्कारेको छु । यहाँ यो बन्द पर्खालभित्र मृत्युले मलाई आक्रमण गर्न पाएन । म मेरो मामलाको अनुसन्धान आफैँ गर्न चाहन्छु । मलाई मौका दिनुहोस त्योसँग म भिड्न चाहन्छु ।” कुनै अदृश्य शक्तिलाई चोर औँला उठाउँदै संघर्ष बोल्योे ।

“यसको दिमाग ता ठिक छ ?” जेलर गज्र्यो । “यो पागल भइसकेछ ।”

“उसको दिमागको विषयमा तिमी के भन्छ््यौ डाक्टर ।” वकिल बोल्यो ।

“संघर्ष पूर्ण हालतमा ठिक छ । उसको मस्तिष्क र मुटुले सामान्य मान्छे सरह नै काम गरिरहेको छ । उसको परीक्षण मैले हिजो मात्र गरेकी हुँ । एकैदिनमा सारा परिवर्तनहरू भएनन् होला । म यतिसम्म भन्न सक्छु कि ऊसँग कोही आइमाई सुती भने त्यसलाई संघर्षले स्वर्गको स्वर्णिम यात्रा गराउन सक्छ ।”

अचानक संघर्षको मस्तिष्कमा बिजुली चम्के जस्तो भयो । राति आउने आइमाई यो डाक्टर हुनसक्छे । यो दुनियाँमा असम्भव के छ र ?

“तिमीले योसँगबाट त्यो सन्तुष्टि लियौ कि के ?” जेलरले इष्र्या प्रकट ग¥यो ।

“आजसम्म अवसर मिलेको छैन तर मौका प¥यो भने गुमाउँदिन ।” डाक्टरको सारा शरीरमा अश्लील लाग्ने प्रतिक्रिया प्रकट भयो ।

‘यसले ढाँटेकी हुनुपर्छ ।’ संघर्षले सोच्यो । उसले  आफ्ना मायालु आँखाहरूले डाक्टरलाई हे¥यो । डाक्टर यौनचाहना भरिएको आँखाले उसलाई हेरिरहेकी छ । उसले हेराइको दिशा परिवर्तन ग¥यो । एनी यौन चाहनारहित छैन । त्यति धेरै आतुर हुने स्वभाव छैन जस्तो पनि देखिन्छ ।

“यो पागल हैनभने यसलाई बिदा गर मलाई तिमीसँग केही गम्भीर कुरा गर्नु छ वकिल ।” जेलर बोल्यो ।

“तिमी चाहन्छौ कि तिमीलाई बाहिर जान दिइयोस ता कि तिमी त्यो मर्डर केसको छानबिन गर्न सकौ ।” वकिलले संघर्षको आशयलाई अर्थ दियो ।

“हो म यही चाहन्छु । म मृत्युलाई जित्न चाहन्छु ।” संघर्ष चम्किलो आँखाले सबैलाई हेर्दै आशान्वित देखियो ।

“तिमीलाई थाहा छ तिमी यहाँ किन छौ ।” जेलर कड्क्यो ।

“मलाई राम्ररी थाहा छ । म हत्यारा ठानिएर जन्मकैदको सजाया भुक्तान गरिहेको छु ।” संघर्ष आँखा नझुकाइ तन्किएर बोल्यो ।

“तिमी अपराधी हैनौे भनेर विश्वास गर्ने आधार के ?” टेबलमा रहेको पुस्तक ¥याकमा राख्दै वकिल बोल्यो ।

“म यकिनका साथ भन्नसक्छु कि तपाईँ मलाई विश्वास गर्नुहुन्छ, म हत्यारा हुँइन तपाईँलाई थाहा छ ।”

“तिमीले आफ्नो विश्वासलाई प्रमाणित गर्न सक्नुपर्छ ।”

“के कुरा गरिरहेछ यो, कैदीलाई कसरी जेल बाहिर पठाउन सकिन्छ । यो सद्दे मान्छे हो भने अब पागल हुनेछ ।” जेलर कडा स्वरमा बोल्यो ।

“एउटा कुरा भने सोच्नै पर्छ । संघर्ष जेलमा छ । उसलाई फसाउने व्यक्ति बाहिर खुलेआम घुमिरहेछ । संघर्ष त्यो  मर्डर केसको छानबिन गर्न चाहन्छ जसमा ऊ आफू फसेको छ । संघर्षलाई सहयोग गर्ने मान्छे कोही छैन । तेमुर तिमीलाई लाग्दैन कि उसले केही सुविधा पाउनै पर्छ । त्यो सुविधामा उसले बाहिर जान पाउनु पनि हुनसक्छ ।

“कसले जमानत लिन्छ ।” जेलर तेमुर बोल्यो ।

“म लिन्छु” वकिल बोल्यो ।

“यो भाग्दैन भन्ने के छ ? यो बाहिर निस्केर मर्दैन या कसैले यसलाई मार्दैन भन्ने के छ ?” तेमुर शोचनीय मुद्रामा बोल्यो । एनी चुपचाप उनीहरूको कुरा सुनेर बसेकी छे ।

“एउटा काम गर तेमुर यसको साथ एउटा अङ्गरक्षक पठाइदेऊ । यो उपाय हुनसक्छ ।” वकिल बोल्यो । “म जमानत लिन्छु ।”

“वकिल तिमी आफू फस्ने काम नगर । मलाई कुनै आदेश, सल्लाह, सुझाउ दिनु भन्दा पहिले अदालतको आदेश लिएर आऊ, यसैमा तिम्रो भलाइ छ ।” जेलर ठूलो स्वरमा वकिललाई सम्झाउने भावमा बोल्यो ।

“तिमीले कुनै न कुनै हल निकाल्नै पर्छ यो समस्याको ।” वकिल बोल्यो ।

                आकर्षक र कामुक शरीर भएकी डाक्टर उठी । “ती बिरामीहरूको विषयमा तपाईँलाई औपचारिक पत्र लेखौला । तपाईँले केही न केही इन्तजाम गर्नै पर्छ ।” डाक्टर गई ।

“तपाईँहरू मेरो विषयमा के भन्नुहुन्छ ।” वकिलले साथ दिएका कारण संघर्ष झनै उत्साहित भयो ।

“म तिमीलाई प्राइभेट जासुसको नम्बर दिन्छु जो धेरै अनुभवी छ, तिमी त्योबाट सहयोग लिन सक्छौ । यहाँबाट बाहिर निस्कने कुरा सोच्दै नसोच । तिमी अहिले जानसक्छौ ।” जेलरले आदेश दियोे । ‘म हिम्मत हार्ने छुइन ।’ एकोहोरो सोच्दै संघर्ष बाहिरियो ।

‘राति आएकी त्यो आइमाई यो डाक्टर हुनसक्छे । यो अङ्ग्रेजी बोल्न जान्दछे । यौन लसपसको त्यत्रो समय मसँग किन बोलिन ?’ संघर्ष सोच्दै अगाडि बढ्यो । कसैले उसलाई बोलाए जस्तो लागेर पछाडि फक्र्योे । त्यो फोहोर सङ्कलक आइमाई रैछे । उसले पर्खियो । त्यो नजिक आई ।

“तिमी कहाँबाट आउँदै छ््यौ ।” त्यसले स्थानीय भाषामा सोधी । संघर्ष स्थानीय भाषा लेख्न र पढ्न जान्दछ । बुóछ, बोल्न पनि जान्दछ ।

“म बिनाकाम घुम्दै हिँड्दैछु ।” संघर्षले झूटो बोल्यो । यसले अनुहारमा  सिँगारपटार गरेकी छे । यो प्रहरी जवान वा अफिसरहरूलाई फसाउँदै हिँड्छे जस्ती छ । सामान्यभन्दा ज्यादा कामुक, अग्ली, सुन्दर छे । नितम्ब र वक्षस्थल आआफ्नो स्थानमा ठाडा ठाडा भएका कारण शरीर कामुक देखिन्छ । अङ्गे्रजीभाषा जान्दिन यो । स्थानीयभाषा मात्र बोल्छे । छोटा छोटा कपडा लाउँछे । ‘सेलको साँचोसम्म यसको पहँुच कसरी भयो होला ।’ संघर्षले सोच्यो ।

“के तिमी पनि मसँग सुत्न चाहन्छ््यौ ?” म सुतिसकेकी छु भन्छे कि भनेर सोध्यो ।

“अरु पनि तिमीसँग सुत्न मन पराउनेहरू छन् र ?”

“छन्, उनीहरू मसँग सुत्ने सौभाग्य पाउन आतुर छन् ।”

“तर म त्यस्तो चाहना राख्दिन । म कैदीहरूसँग सुत्न मन पराउँदिन । तिमी कैदी हौ । तिमीले यहाँ जे जस्तो काम गरे पनि तिमी कैदी नै हौ । म यहाँको सरकारी कर्मचारी हुँ । मेरो परिचय, हैसियत छ यहाँ । कैदीहरूसँग सुत्न थाल्यो भने जेलर साहेबले मलाई जागिरबाट निकाल्छ ।”

“तिमी मलाई किन बोलाइरहेकी थियौ ।”

“म तिमीलाई केही भन्न चाहन्छु । म चाहन्छु कि म पनि जल्लाद बनुँ । म त्यस्तो आइमाई बन्न चाहन्छु जसले जल्लादको काम गरोस । यसका निम्ति म शहरमा निस्केर बिना उद्देश्य मान्छे मार्दै हिड्न सक्दिन । तिम्रो काम ज्यादै कमाउ खालको छ । म पनि पैसा कमाउन चाहन्छु । के तिमी मलाई मद्दत गर्न सक्छौ ?”

“तिमी मेरो काममाथि आक्रमण गरिरहेकी छ्यौ या तिमी मलाई काम छोड्ने सुझाउ दिइरहेकी छ्यौ ।”

“त्यसो होइन, यहाँ दुईओटा जल्लादको दरबन्दी छ । स्थायी जल्लाद मर्दा दोस्रोले भर्खर मात्र जागिर छोडेको थियो । अर्को नियुक्त गरिएको छैन । तिमीले चाह्यौ भने यो जागिर मलाई दिलाउन सक्छौ । त्यो अवस्थामा म तिमीसँग सुत्न तयार छु ।”

“तिमीले त्यतिखेरै कोसिस गरेको भए हुन्थ्यो ।”

“त्यतिखेर हिम्मत थिएन । स्थायी भयो भने यो जागिरमा अहिले तिमीले पाएको भन्दा राम्रो रकम छ । म अहिले काम गरिरहेको ठाउँमा स्थायी छु । मलाई जल्लादको दरबन्दीमा स्थायी हुन सजिलो हुनसक्छ । तिम्रो कारण मलाई हिम्मत र आत्मविश्वास बढेको छ । कृपया मलाई तालिम देऊ ।”

“म स्थायी हैन । म एउटा कैदी मात्र हँु । तिमीले यो ठाउँको लागि प्रयास गर तर के तिमीले यो काम गर्न सक्छ््यौ ?”

“सक्छु तिमी मलाई यो काम सिकाऊ ।”

“जेलप्रशासनले तिमीलाई यो काममा लगायो भने म सिकाइ दिउला ।”

“धन्यवाद ।”   

करिब छ फिटकी छे त्यो । रातमा आउने त्यो आइमाई यत्तिकै उचाइकी हुनुपर्छ । त्यो आइमाईको नितम्ब र वक्षस्थल सबै छामेको छ संघर्षले ।

‘पक्कै पनि यो त्यस्तै छे, हो न हो यसले ढाँटी । यो मसँग सुत्न चाहन्न यो त हुनै सक्दैन । कैदीलाई घृणा गर्ने हँुदि हो त कामको लागि अनुरोध गर्दिनथी । यो आइमाईभित्र कुनै न कुनै रहस्य हुनुपर्छ । मैले पत्ता लगाउनै पर्छ ।’ संघर्षले सोच्यो ।

 वकिलले प्राइभेट जासुसको सेवा शुल्क बतायो । त्यो धेरै महँगो छ जसलाई संघर्ष बेहोर्न सक्दैन ।

वकिलले संघर्षलाई आफ्नो बेडरुममा बोलायो । वकिल अति चतुर, लोभी वा रुपैयाँको लालच भएको मान्छे लाग्दछ उसलाई । वकिल वास्तवमै त्यस्तो छ । स्वार्थी, कसैको भलो गर्दैन, जे गर्छ पैसाको लागि गर्दछ । पैसा भयो भने हत्यारालाई निरपराध र निरपराधलाई हत्यारा बनाउन सक्छ । धेरै बोल्दैन, कामको कुरा मात्र गर्छ । प्रायः मुस्कुराउँछ ।

“तिमीसँग मैले गोप्य कुरा गर्नुछ ।”

“वकिलसाहेब मलाई कृपया बाहिर जाने व्यवस्था मिलाइ दिनुहोस् । म भाग्दिन । विश्वास गर्नुहोस् ।”

“म तिमीलाई अर्केै कुरा भन्न चाहन्छु । म तिमीलाई सधैँका निम्ति यहाँबाट निकाल्न सक्छु । यो विषयमा सोच तिमी । म पत्ता लगाइ दिन्छु तिमीलाई फसाउने मान्छे को हो ? यदि तिमीले हत्याराको आरोपबाट छुटकारा पायौ भने म सरकारसँग हर्जानाको माग राख्छु । तिम्रो लागि मुद्दा पनि लडिदिन्छु । म तिम्रो सबै काम गर्दिन्छु । तिमीलाई यहाँ जल्लादको जागिरमा स्थायी पनि गर्दिन्छु । घर जानको लागि म तिमीलाई छुट्टी पनि दिलाइ दिन्छु । म तिम्रा सबै काम गर्दिन्छु । ”

“कृपया मेरो लागि यो सबै काम गर्दिनोस् । म तपाईँप्रति जिन्दगी भर आभारी रहनेछु ।”

“तिमीले आभारी रहनु पर्दैन र मलाई धन्यवाद पनि दिनु पर्दैन तर तिमीले  मसँग एउटा सम्झौता गर्नुपर्छ ।”

“कस्तो सम्झौता ।”

“तिमीलाई प्राप्त हुने हर्जानाबाट साठी प्रतिशत रकम मलाई दिनुपर्छ ।”

“त्यो रकम कति हुन्छ होला ?”

“नेपाली रुपैयाँ एक करोड, त्यो मध्येको साठी प्रतिशत । मेरो सहयोग र मेहनतबिना तिमीले यो काम गर्नै सक्दैनौ ।

“के तपाईँले भनेको र सोचेको जस्तै सबै काम सम्भव छ ?”

“तिमीले हत्या गरेकै भए पनि म सम्भव गराउन सक्छु ।”

“ठिक छ वकिलसाहेब तर यो प्रतिशतलाई पचासमा टुङ्गो लगाउनोस् ।” उसले दलालीपारा झिक्यो । साठी प्रतिशत पनि कम नाफाको व्यापार होइन ।

“हुन्छ यो सम्झौता भयो तिमीसँग । तिमीले बदमासी ग¥यौं भने कानुनी दाउपेच मेरो बाँया हातको खेल हो ।”

“विश्वास गर्नोस वकिलसाहेव लेखेर दिनुपर्छ भने पनि म दिउँला  ।”

“ओ के तिमीले भन्यौं मैले विश्वास गरे, लेखेर दिनु पर्दैन ।”

“समय कति लाग्ला वकिलसाहेब ।”

“भन्न सकिन्न ।”

उनीहरू बीच सम्झौता भयो । उनीहरूले हात मिलाए ।

——————————–0——————————

‘कसले फसायो’ प्रायः ऊ सोच्ने गर्छ । ‘वकिलले पनि हुनसक्छ । चुइयाँ छ, पैसा निकाल्न जान्दछ । पैसाको लागि यत्रो सबै खेल हो कि ? डाक्टरसँग मलाई फसाउनुको कुनै उद्देश्य छैन । त्यो सफाइ मजदूर त्योे पनि हुनसक्छे । त्यसले मलाई होटलदेखि नै फसाउँदै ल्याई होला । त्यो केटी जसलाई मैले आवारा, छाडा भनेर घृणा गरेको थिएँ । त्यो केटी कहाँ भेटिन सक्छे ? अरु को हुनसक्छ ? यो परदेशमा मेरो ब्याग कसले त्यो मृतकको कोठामा पु¥यायो ? त्यो सेवक जसले मलाई त्यो कोठामा पु¥यायो वा त्यो रिसेप्सनिष्ट जसले मेरो नाम रजिष्टर गरी या अरु कोही जसले आफू बाँच्न मलाई फसायो । आजसम्म ता भाषाको समस्या थियो । यसकारण केही सोचिन अब त भाषाको समस्या पनि छैन ।’

उसले सोच्नैपर्छ पत्ता लगाउनै पर्छ । मृत्युसँगको लडाइँ उसले जित्नै पर्छ ।

संघर्ष सूचनाहरूको प्रतिक्षामा बस्न थाल्यो । वकिलबाट काम सुरु भएकोे सूचना आयो । त्यो फोहोर सङ्कलक मजदूरले करारमा जल्लादको सहयोगीको रूपमा काम गर्न थाली । डाक्टरले संघर्षसँग सुत्ने इच्छा ब्यक्त गरी । डाक्टरसँग यौनसन्तुष्टिका लागि सुत्ने कार्यक्रमको तुरुन्तै कुनै व्यवस्था हुन सकेन । संघर्षले प्रस्ताव स्वीका¥यो र कुनै दिन कार्यान्वयन गर्ने वाचा पनि ग¥यो । 

संघर्षले त्यो सहयोगी आइमाईलाई तालिम दिने निधो ग¥यो । सैद्धान्तिक पक्षका लागि उसले त्यो आइमाईलाई बेलुका चार बजे चौरमा बोलायो । अगाडि राखेर ऊसँग छलफल, कुराकानी सुरू ग¥यो । मानिस के हो ? को हो ? ज्यान के हो ? मृत्यु के हो ? जीवन के हो ? दण्ड के हो ? ज्यानमारा के हो ? हत्यारा के हो ? मस्तिष्क के हो ? दुःख र दुबिधाहरू के हुन् ? जस्ता बँुदाहरूमा उनीहरू बीच गहिरो, गहन छलफल भयो । संघर्षले नयाँ कुरो केही पनि बताएन । त्यो आइमाईको कुरो मात्र सुन्यो । दोस्रो दिन संघर्षले त्यो आइमाईमा रहेको डर निकाल्नका निम्ति केही प्रवचनहरू बोल्यो ।

“मृत्यु के हो ?” संघर्षले प्रश्न ग¥यो ।

“शरीरका सारा अङ्ग निस्क्रिय हुनु मृत्यु हो ।” त्यसले जवाफ दिई ।

“त्यो भौतिक सत्य हो तर ध्रुवसत्य यो हो कि मृत्यु डर हो, भय हो । सही रूपले मस्तिष्क सञ्चालन नहुनु मृत्यु हो । उमेर चढ्दै बढ्दै गएपछि चिन्ता र डरका कारण मान्छेको मृत्यु हुन्छ ।”

“मृत्युको सामना कसरी गर्ने, मृत्युलाई चुनौती कसरी दिने ?”

“डर र भयबाट बाहिर निस्केर, भौतिक तथा जैविक वातावरणमा मिलेर, मस्तिष्कलाई पूर्ण प्रयोग गरेर मृत्युको सामना गर्नुपर्छ । माया, मोह त्यागेर,  मस्तिष्कलाई सही रूपले सञ्चालन गरेर मृत्युसँग गरिने सामना एक किसिमको योग हो । मृत्युसँगको सामनामा डरविरुद्धको योगलाई प्रयोग गर्नुपर्छ । डरविरुद्धको योग जीवन हो । नकारात्मक योग मृत्यु हो । डर, भय, सन्त्रास, दुःख, दुबिधा, माया, मोह नकारात्मक योग हुन् । कर्म सकारात्मक योग हो जसले मृत्युलाई चुनौती दिन्छ । चरित्र र व्यवहार मानव अनुकूल हुनेहरू मात्र बाँच्न लायक हुन्छन् । चरित्र र व्यवहार मानव अनुकूल नहुनेहरू दण्डको भागी हुन्छन् । दण्डका भागीहरू बाँच्न योग्य हँुदैनन् ।” संघर्षले सम्झाउन थाल्यो ।

“बाँच्नेहरू तिनीहरू मात्र हुन् जो बाँच्न जान्दछन् । माया, मोह, रिस, क्रोध, इष्र्यालाई आफ्नो जीवनभित्र बाँच्न नदेऊ । अरुलाई आफूभित्र बाँच्न नदेऊ । मस्तिष्क र सम्पूर्ण अवयवहरूलाई दुरुस्त, सक्रिय राखेर मृत्युलाई चुनौती देऊ र अन्तिम समयसम्म बाँच्नका निम्ति सङ्घर्षशील हौ । अनावश्यक कुरा नसोच आवश्यक कुरा सोच्न नबिर्स । तिमी सामु मृत्यु झुक्नेछ । मृत्युलाई तिमीले झुकाउन सक्नेछौ ।”

सैद्धान्तिक कुराका छलफलपछि संघर्षले बाँकी कुराहरूलाई मृत्युमञ्चमा लगेर सिकाउन थाल्यो ।

वकिललाई सम्झौताको विषयमा सम्झायो । संघर्षले यो भन्दा अर्को विषय सोचेको छैन । दूतावासको मान्छे आएर ‘वकिलमाथि भरोसा, विश्वास राख्नु’ भन्यो । लालची, कमजोर र लाचार मनस्थितीको मान्छे प्रतीत हुन्छ दूतावासको त्यो कर्मचारी । दूतावासले केही आर्थिक सहयोग गर्नेछ भनेर उसले एउटा कागजमा दस्तखत गरायो । अर्कोचोटि आउँदा त्यसले उसलाई पचासहजार रुपैयाँ दियो । ‘त्यो कर्मचारीले दुईलाख रुपैयाँ निकाल्यो होला’ संघर्षले सोच्यो । भ्रष्टाचार कहाँ छैन विश्वमा ।

ज्यानमारा, जल्लादको काम चलि नै रह््यो । धेरै समय लागेन संघर्षको उपस्थितिमा र कहिलेकाहीँ अनुपस्थितिमा पनि जल्लादको काम त्यो फोहोर सङ्कलक आइमाईले गर्न थाली ।

दिनहरू सामान्य हिसाबले बित्न थाले । करिब चार महिनापछिको एउटा दिन वकिलले भन्यो “त्यो दिन भोलि नै आउँला जस्तो छ ।”

“कसरी”

“त्यो भोलि नै थाहा हुन्छ ।”

भोलि नै आएन त्यो दिन तर पाँच दिनको प्रतिक्षा पछि त्यो दिन आयो । उसलाई अदालत लगियो । दुई घण्टाको प्रतिक्षापछि उसलाई अदालतको बयान दिने ठाउँमा उभ्याइयो । वकिलहरूको जिकिर चल्न थाल्यो । संघर्षको वकिल जिकिर गर्दै बोल्यो ‘रवन जो एउटा राजनैतिक कार्यकर्ताको हैसियत राख्छ उसले अदालतमा उभिएर होटलको हत्यासहित तीनवटा हत्या कबोलेको छ फेरि यो मुद्दामा संघर्षलाई जेल सजायँ किन ? संघर्ष निरपराध सिद्ध भइसकेको छ । संघर्षलाई जन्मकैद किन ?” उसको मुद्दा पुरै उल्टियो । रवनले आफूलाई दोषी मान्यो र आफ्नो लागि सजायाको माग राख्यो । अन्त्यमा न्यायाधीशले फैसला सुनाए । संघर्षलाई इज्जतकासाथ छोडियो । रवनलाई मृत्युदण्डको फैसला सुनाइयो । पुलिसहरूले संघर्षलाई छोडे । फर्किदा ऊ वकिलको गाडीमा चढ्यो । उसको जागिर बाँकी नै छ त्यो जेलमा । ऊ खुसी भयो तर त्यति हैन जति हुनुपर्ने थियो । वकिलले त्यही दिन हर्जानाको दरखास्त दर्ता गरायो ।

संघर्ष कैदी हैन कर्मचारीको हैसियतले रहन थाल्यो कर्मचारीको क्वार्टरमा । संघर्षले जल्लादको काम गरिरह््यो । होटलको काण्डमा हत्यारा मानिएको संघर्ष त्यो अभियोगबाट मुक्त भए पनि यो उसको दुर्भाग्य हो कि ऊ न्यायको आदेशमा मान्छेलाई फाँसी दिने ज्यानमारा बन्यो । संघर्ष ज्यानमाराको पेसामा संलग्न भयो । उसले कुनै पनि क्षण सोचेको थिएन कि कुनैदिन ऊ ज्यानमारा बन्नेछ । राज्यको कानुनले उसलाई जल्लाद भने पनि ऊ ज्यानमारा हो उसलाई राम्ररी थाहा छ । जीवनमा यस्तो दिन पनि आउँला उसले सोचेको थिएन ।

मौका छोपेर डाक्टर ऊसँग सुत्न आई । ऊ खुसी भयो । डाक्टर जति देखिन्छे त्यो भन्दा धेरै ज्यादा कामुक छे । बोलाउँदा पनि डाक्टर दोस्रोचोटि आइन । त्यो फोहोर सङ्कलक आइमाई ऊसँग सुत्न आइन । यस्तो लाग्छ मानाँै त्यो केही लुकाइरहेकी छे ।

जीवन सरल, सहज जस्तो देखिन थाल्यो । यो सरलता महसुस गर्न संघर्षलाई समय लाग्यो । मृत्युले ऊमाथि कसेको सारा बन्धनहरू ढिला पा¥यो । उसले मृत्युलाई जित्यो । यो घमण्डमा ऊ ज्यादै मातियो । ठूलो अंहकार पाल्यो । मृत्युलाई जित्न सक्ने मान्छेको रूपमा आफूलाई ठान्यो । चुनौती दिएर, लल्कारेर, बाध्य बनाएर मृत्युलाई जित्नु सानो कुरो होइन । ऊ अति महŒवाकाङ्क्षाको सिकार भयो । वकिलसँग संघर्षको मित्रता चल्यो । शत्रुहरू देख्न छोड्यो सबै मित्रैमित्र । डाक्टर, सुरक्षा जवान सबैसँग उसको मित्रता सुरु भयो । उसले गाउँ फर्कने विचार गरेन । यति सबै हुँदा चारवर्ष बित्यो ।

स्वास्नी पोइल गएको खबर सुनेपछि संघर्षले डाक्टरसँग विवाहको प्रस्ताव राखेकै होे । उसले स्वीकारिन तर इन्कार पनि गरिन । दुवैजना एक अर्कालाई प्रेमपूर्ण नजरले हेर्न थाले । केही दिनपछि डाक्टरले उसको प्रस्ताव स्वीकार्ने कुरामा ऊ ढुक्क भयो ।

जसले होटलमा हत्या ग¥यो जुन अभियोगमा संघर्षले त्यत्रो दुःख र दुबिधा भोग्यो त्यो हत्याराको घाँटीमा पासो कस्ने विचारले त्यसको प्रतिक्षामा छ संघर्ष तर लामो समय बितिसक्दा पनि त्यो आएन । धेरै दिनको प्रतिक्षापछि एकदिन संघर्षले वकिललाई सोध्यो ।

“त्यो हत्यारा यहाँ आइपुगेन त खै ?”

“त्यसको मृत्युदण्ड पाँच वर्षको सजायामा परिणत भयोे । ”

“यस्तो किन ? मलाई मृत्युदण्ड त्यसलाई पाँच वर्ष ?”

“तिमी विदेशी, त्यो यहाँको राजनीतिक कार्यकर्ता यस्तो त हुनु नै थियो । यो देशमा राजनैतिक कार्यकर्ताले गरिने अपराधलाई सामान्य ठानिन्छ । उसको  पार्टी सरकारमा छ ।” संघर्ष छक्क प¥यो ।

धेरै दिन छक्क पर्नु परेन केही दिनपछि संघर्षले नब्बे लाख रुपैयाँ हर्जाना पाएको निर्णय सुन्न पायो । संघर्ष धन्यधन्य भयो । आखिरी आफ्नो देशमा विद्यमान बेरोजगारका कारण ऊ पैसा कमाउनकै लागि विदेशिएको हो । यो पँैतालीस र अर्को तीस गर्दा जम्मा पचहत्तर लाख रुपैयाँ, घाटाको सौदा होइन यो । नब्बेमा पैँतालीस लाख रुपैयाँ उसले इमान्दार रहेर वकिललाई दियो ।

“तिमी भाग्यमानी रैछौ । यो सबै पैसा मेरो होइन । यसमा दसलाख रुपैयाँ त्यो रवनको हो ।”

“किन त्यो हत्यारालाई पैसा किन ?”

“किनभने त्यो सबै हत्या त्यसले गरेको होइन । मसँग दसलाख अरुसँग पनि थुप्रै पैसा लिएर उसले सबै अपराध सकारेको हो । ”

“के यो देशमा पनि बेरोजगारहरू छन् ।”

“प्रशस्त, बेरोजगार कहाँ छैनन् ।”

“त्यसो हो भने त्यो मान्छेलाई कसले मा¥यो ?”

“तिमीले, अरु कसले । तिम्रो ब्याग त्यहाँ भेटिएको छ । अरु कसले मार्न सक्छ त्यसलाई । तिमीसँग त्यो मान्छेबाट लिएको डलर हुनुपर्छ । त्यो डलर कहाँ राखेका छौ तिमीले । त्यो मान्छेको हत्या गर्नै बित्तिकै त्यो पैसा तिमीले घर पठाउन भ्याएनौ । भन बाँकी पैसा कहाँ छ ? पुलिसको अगाडि तिमीले त्यो रात नाटक मात्र गरेका हौं । तिम्रो ब्यागमा केही मात्र डलर भेटिएको थियो त्यो कहाँबाट आयो ? बाँकी कहाँ गयो ?”

उसले लामो श्वास तान्यो । कमसेकम ऊ अब स्वतन्त्र छ । त्यो घटनाको छानबिन गर्न सक्छ । उसलाई लाग्यो मृत्युले सम्पूर्ण बन्धनबाट मुक्त गरेको छैन मात्र खुकुलो पारेको हो । यी सबै बन्धनबाट मुक्त हुन थप प्रयास गर्नै पर्छ । उसले वकिललाई धन्यवाद दियो ।

“तिमी केही दिन भित्रै यो शहर छोडेर जाऊ ।  तिमीले यहाँ बस्नु उचित छैन । तिमी आफ्नै देश फर्क । यहाँ बसेको खण्डमा तिमीलाई समस्याहरू आउन सक्छन् । त्यो मान्छेले आफूले हत्या नगरेको व्यहोरा बोल्न सक्छ ।”

——————————–0——————————

त्यो दिन पनि आयो । डाक्टरले प्रस्ताव स्वीकार गरिन । संघर्षलाई आफ्नो स्थितिको अनुमान भएन । मृत्युले आफ्ना बन्धनहरू ढिला मात्र पारेको स्थितिमा डाक्टरले प्रस्ताव स्वीकारेकी भए पनि ऊ कसैसँग बिहे गर्न चाहँदैन । मायामोहलाई त्याग्नु पर्छ उसले ।

 सबैलाई धन्यवाद दिएर रेलमार्गबाट नजिकैको अर्को शहरतिर हान्नियो संघर्ष ।

मृत्युलाई छकाउन उसले यो शहर छोडेको हो तर मृत्युले उसलाई धेरै टाढा जान दिएन । बाटोमै उसलाई मृत्युले घे¥यो । यो घेराबन्दी आकस्मिक आश्चर्यजनक रह््यो । के भएको हो उसलाई नै थाहा भएन । ट्रेनमा सँगै बसेको एकजना मान्छे संघर्षको कञ्चटमा पिस्तोलको नाल टसाएर दबाब दिँदै चिच्यायो । यो सबै अचानक भयो, अप्रत्याशित ।

“हातमाथि ।” पिस्तोलको नाल कञ्चटमा सटेको छ ।

सबैजना अक्कबक्क भए । के गर्ने भन्ने विषयमा कसैलाई केही सुझेन । पिस्तोलको ट्रेगरमा औँला राखेर त्यो करायो “म तँलाई मार्छु मार्छु यकिनन् तैले हात माथि उठाउनेै पर्छ ।”

उसले केही गरेन, केही बोलेन पनि । मृत्युको आक्रमणलाई कसरी निस्तेज पार्ने भन्ने सोच्दै उसका आँखाहरू ट्रेगरमा फसेको त्यो मान्छेका  औँलामा टिकिरहे ।

“सबैजना हेर, यसले सिनेमाको दृश्य सम्झेको होला । म यो संसारको हरक्युलिस हँु । म पृथ्वी बोकेर हिँड्छु । यो मान्छे मेरा लागि कमिला बराबर पनि छैन ता पनि यसले मेरो आदेशको अपहेलना गरिरहेछ । यसले मलाई चिनेन जस्तो छ । यसलाई म चिनाउँछु, म को हँु भनेर ?”

संघर्षलाई यो मान्छेले गोली हानिहाल्ला जस्तो लागेन तर हाने पनि हानोस् भन्ने ठानेर संघर्ष अङ्ग्रेजीमा बोल्यो । त्यो मान्छे पनि अङ्ग्रेजीमा बोलिरहेछ ।

“ल हान्, ताकेर ठोक् गोली, सक्छस् भने मुटुमा हान् ।”

“यो हरक्युलिससँग जोरी खोजिरहेछ । चिनेर पनि नचिने जस्तो गरिरहेछ । यो संसारमा हरक्युलिससँग जोरी खोज्नेहरू धेरै देखे । कसैको केही लागेन । मुटुमै तैँले भने जस्तै गोली हान्छु ठानेको छस् । म तँलाई ठोक्छु ठोक्छु कहीँ पनि । तँ केही भन्न चाहन्छस् भने भन् ।”

संघर्षलाई लाग्यो यो पागल हो । मृत्यु पागल नै हो । पागल नभए सद्दे मान्छेहरूलाई त्यसले बिनाकारण किन मार्छ ? मृत्युको काम नै मान्छे मार्नु हो । त्यो जल्लाद हो । यसैले मृत्यु पागल हो । मृत्यु आफ्नो वास्तविक रूपमा आयो । यो नै वास्तविक मृत्यु हो । कुनै दुबिधा, शङ्का छैन । यो नै मृत्युको वास्तविक रूप हो ।  मृत्युले मेरो चुनौती स्वीकारेको हो । हतियार लिएर आएछ । योसँग भिड्नु पर्छ । संघर्षलाई यस्तै लाग्यो ।

“मैले तँलाई चिनिसके तँ मृत्यु होस् । मेरोे चुनौती स्वीकारेर आइस् तँ । म तँलाई नै पर्खिरहेको थिएँ । आइज भिडौँ । तँ गोली चला म तेरो सामना गर्छु ।” संघर्ष लगभग पागलझैँ करायो ।

“तँ आफँै पागल होस् । तँ सद्दे मान्छे हँुदै होइनस् । पिस्तोलको अगाडि तँ खेल खेलिरहेको छस् । सबैतिर हेर् सबैजना कस्तो डराइरहेका छन् ।” वरिपरि मान्छे कोही पनि छैनन् । सबैजना अलि पर छन् । “गोली लाग्यो भने तँ म जस्तै हुन्छस् । तैँले सोचेकोे जस्तो हुदैन । यो संसारमा कोही पनि तँ जस्तो पागल छैनन् । सद्दे हुनका लागि म जस्तो हुनुपर्छ पछाडि हट् म तँलाई गोली हान्छु । हेर मेरो पिस्तोल ।  तँ मर्छस् तुरुन्तै । पागल मान्छे पछाडि हट् ।” त्यो मान्छे हावामा पिस्तोल नचाउँदै, ठूलोठूलो स्वरमा चिच्यायो । 

 त्यसले पिस्तोल संघर्षको मुटुतिर सोज्यायो । संघर्षको आँखा ट्रेगरमा कायमै रहे । ट्रेगर थिच्ने औँलामा कुनै गति भएन ।

“तँ धम्की मात्र दिन्छस् गोली चला । म मर्नका निम्ति तयार छु । तँ मृत्यु होस् भने म डराउँदिन । म तँसँग लड्न चाहन्छु । सक्छस् भने लड् हैन भने तँ आफ्नो बाटो, म आफ्नो बाटो ।”

तर त्यसले गोली चलाएन । गोली चलाउन सकेन । त्यो  नजिकै रहेका अरु मान्छेहरूको भीडतिर लाग्यो । मान्छेहरू डराएर कामेका, लुकेका छन् । त्यसले मान्छेहरूको भीडतिर पिस्तोल सोज्यायो ।

“सबैजना हात उठाओ ।” सबै जनाले हात उठाए । तिनीहरूको अनुहारको रङ्ग उड्यो । त्यसले एकजनातिर पिस्तोल सोज्यायो  “तँ अगाडि आइज । म एकपटकमा एकजनालाई मात्र गोली हान्छु ।” त्यसले गोली हाँनुला जस्तो ग¥यो । त्यसले गोली हान्छ भन्ने कुरामा संघर्षलाई विश्वास लागेन । जसलाई पागलले मार्छु भनिरहेको छ त्यो मान्छे डराएर सानो स्वरमा अनुनय, विनय गरेको हावभावमा बोल्यो ।

“कृपया गोली नहान म मर्न चाहन्न । तिमी मलाई किन गोली हान्छौै ?”

“म तिमीहरूलाई यसकारण गोली हान्छु किनकी तिमीहरू डराउँछौ । तिमीहरूको दोष यति नै हो कि तिमीहरूसँग जीवन छ तर मसँग जीवन छैन । ऊ योसँग पनि जीवन छैन ।” त्यसले संघर्षलाई आँैल्यायो ।

“मसँग मृत्यु छ केबल मृत्यु मैले तिमीहरूलाई गोली हान्नै पर्छ ।”

आखिरकार त्यसले गोली चलायो तर त्यसले मजबुत हातले गोली चलाएन । हात कामेर हो वा आफूपट्टिको धक्का सहन नसकेर हो गोली कसैलाई पनि लागेन । संघर्षले उफ्रेर त्यसको हातबाट पिस्तोल छिन्यो ।

पागल करायो । “म हरक्युलिस हुँ । तिमीहरू मलाई समात्न सक्दैनौे । तिमीहरू आ–आफ्नो ज्यान जोगाएर भाग म तिमीहरू सबैलाई सखाप पार्न सक्छु ।”

पिस्तोल हातमा लिएर संघर्ष आकाशतिर हेर्दै, जोडले हाँस्दै बोल्यो ।

“तँ फेरि आइज बारम्बार आइज म तेरो सामना गर्न तयार छु । म लड्छु तँसँग, तैँले मलाई नमारुन्जेल ।”

सबैले मिलेर हरक्युलिसलाई बाँधे । पिस्तोललाई रुमालले समातेर सुरक्षित राखे । अघि सबैजना डराएका थिए तर अहिले त्यही समूहमा रहेको  एउटा प्रहरी अगाडि आयोे । त्यसले स्थिति नियन्त्रणमा लियो  ।

——————————–0——————————

संघर्ष विवादमा आउन चाहेन । संघर्ष यो घटनाबाट फनक्कै फर्किएर हिँड्यो तर अब ऊ सजग र चनाखो रहन थाल्यो । टाढाको शहरमा उत्रियो । तीन दिनको यात्रा पछि ऊ यो शहरमा पुगेको हो । ऊसँग थल, जल, हवाई तीनै मार्गको नक्सा छ ।

ऊ सडकमा हिडिरह्यो । होटलमा पस्न चाहेन । पैसा ऊसँग प्रशस्त छ तर ऊ सडकमै हिडिरह्यो । पार्कमा पसेर सुस्तायो, निदायो पनि । रातमा पार्कको प्रहरीले उसलाई जगायो । “माफ गर साथी । म निदाएँछु थाहै भएन कृपया मलाई भोक लागिरहेछ । हिँड खाना खान जौँ ।” संघर्षले पार्ककै क्यान्टिनमा प्रहरीलाई खाना ख्वायो । आफूले पनि खायो । त्यसपछि पार्कमा सुत्न पायो । उसले अनावश्यक रूपमा मृत्युसँग जोरी खोज्ने विचार राखेन । सस्ता होटलहरूमा मृत्यु सिकार खोजेर हिँड्छ भन्ने कुरामा विश्वास ग¥यो ।

बिहान, हिजो बेलुकाकोे प्रहरीसँग उसको भेट भएन । सोधेपछि थाहा भयो ऊ राति नै फर्केछ अब बेलुका मात्र आउँछ । बिहानको प्रहरीलाई फेरि खाजा ख्वायो । सडकमा निस्क्यो र निरुद्देश्य हिँड्योे । जहाँ पुगिन्छ त्यहीँ पुग्नका लागि हिड्यो । जहाँ हिड्यो त्यो सबै याद राख्यो । सम्झनामा राख्यो । संघर्षलाई यो शहरमा मृत्युले स्वागत गरेन ।

संघर्ष के खोजिरहेछ ? ऊ के चाहन्छ ? उसैलाई थाहा छैन । संघर्षले यो देशमा अहिलेसम्म बिताएको समय, त्यो समयमा घटेका घटनाहरु, त्यो समयलाई साथ दिने पात्र, दृश्य, वार्तालाप कुनै पनि कुरा सम्झन चाहेन । ऊसँग थुप्रै पैसा छ । के ऊ अझै पनि पैसाको निम्ति काम गर्न चाहन्छ ? के ऊ सडकमा मृत्युसँगको जम्काभेट चाहन्छ ? के ऊ मृत्युसँग दोहोरो गोली हानाहान चाहन्छ ? ऊसँग कुनै हतियार छैन । के ऊ सडकमा भुस्याहा कुकुर मरेझँै मृत्युलाई मारेर बेधडक, निस्फिक्री हाँस्न चाहन्छ । बेलाबेला उसलाई यस्तै लाग्छ । फलाना सडकमा मृत्युले दोहोरो गोली चलायो भन्ने खबर दैनिक जसो पत्रिकामा आउँछ । ऊसँग किन सामना गर्दैन मृत्यु ? के उसको मृत्यु पागलखानामा कैद छ ? मृत्युहरू सक्रिय भए पनि उसको मृत्यु पागलाखानामा हुनसक्छ । मृत्यु, सबैको बेग्लाबेग्लै हुन्छ । एउटै मृत्युले सबैलाई लाने होइन । पक्कै होइन । ‘मृत्युको सबैभन्दा ठूलो दुश्मन म हँु तर मसँगै किन बाटो छलेर हिँडिरहेछ त्यो ।’

शहर ठूलो छ । हिँडेरै भ्याउँछु भन्नु मुर्खता हुन्छ । अग्लाअग्ला बिल्डिङ्, चिल्ला सडक, सपिङ् कम्प्लेक्स, रातमा जगमगाउने, दिनमा सुस्ताउने शहर सीमाहीनझैँ लाग्छ । 

हृष्टपुष्ट शरीर भएको बलिष्ठ, यौनको देवझैँ लाग्ने, अद्भुत, इमान्दार संघर्ष हिँड्दै, डुल्दै सडक बनाउँदै गरेको स्थानमा पुग्यो । ठूलठूला बुल्डोजरहरू यताको माटो उता थुपारिरहेका छन् । मानिसहरू विभिन्न खाले काम गरिरहेका छन् । प्राविधिकहरू यन्त्रबाट नाप लिदै गरेका छन् । ऊ छक्क परेर, मजा मानेर यी दृष्यहरू हेरिरह््यो । बुल्डोजर देखेको हो तर यतिसमय लिएर राम्ररी हेरेको थिएन । ऊ अचम्म मानेर हेरिरह््यो । अकस्मात् एउटा बुलडोजर मारुँलाझँै गरेर उसको सामुन्ने आयो ।

उसले मृत्युलाई चुनौती दिन चाह्यो । मृत्युले घेराबन्दीमा पारेको पो हो कि भनेर सतर्क भयो ।

“हेल्लो, के हेरेका हौ ? छेउ लागेर बस ।” चालक स्थानीय भाषामा करायो ।

संघर्ष छेउ लाग्यो । पागलै त कहाँ हो र बेलाबेला मृत्युसँग कुरा गर्छ त्यतिखेर मात्र पागल जस्तो लाग्छ । बेलाबेला मृत्युलाई चुनौती दिन्छ । बेलाबेला मृत्युसँग प्रत्यक्ष भिड्न खोज्छ । त्यतिखेर मात्र पागल जस्तो लाग्छ नभा सामान्य छन् उसका बोली, व्यवहार र चालढाल । 

 “हेल्लो महाशय । तपार्इँ त्यहाँ उभिएर हामीलाई व्यवधान पु¥याइरहनु भएको छ । कृपया पर जानोस् । ”

“माफ गर्नोस ।” उसले स्थान परिवर्तन ग¥यो तर त्यहाँबाट हटेन ।

“तपाईँ के हेरिरहनु भएको छ ?”

“म तपाईँहरू, यो मेशिन इत्यादिलाई हेरिरहेछु कृपया मलाई हेर्ने अनुमति प्रदान गर्नुहोस । तपाईँहरूलाई व्यवधान पु¥याउने विचार हैन मेरो ।”

“यसरी फुर्सदमा रहेर पनि बेफुर्सद नबस आऊ काम गर यो स्ट्याण्ड बोक ।”

——————————–0——————————

दिन सामान्य छ । चिन्ता, पीर तनाव र दुबिधारहित छ परिस्थिति । शकुन छरिएको छ मस्तिष्कमा । आमाको सम्झना विस्मृतिमा परिणत हुने क्रममा छ । छोरी विद्यालय जान थाली होली । धोकेबाज, छिनार स्वास्नीको कुनै खबर छैन ।

यो इन्जिनियरको घर हो । बिहानको काम सिध्याएर संघर्ष साझा कोठामा बसेर पत्रिका पढिरहेको छ । इन्जिनियर र इन्जिनियरकी श्रीमती काममा गइसकेका छन् । इन्जिनियरकी श्रीमती घरेलु स्वभावकी छे । बा¥ह र नौ वर्षका दुईटी छोरी छन् । एउटा छोरो छ सात वर्षको । ठूली छोरी यतिखेर किचनमा छे । आमाले जेठी छोरीलाई आफू जस्तै बनाएकी छे । दुईओटा बच्चाहरू साझा कोठामा बसेर चित्र बनाइरहेका छन् । बेलाबेला चर्को स्वरमा विवाद गर्छन् नभा सामान्य छ वातावरण ।

“इसा मैले हाम्रो निम्ति खाना बनाइसकेको छु । तिमी धेरै चकचक् नगर ।” किचनमा रहेकी छोरीलाई सम्बोधन गर्दै संघर्ष बोल्यो ।

“तिमीले नाक चुच्चो बनायौ ।” केटो चर्को स्वरमा करायो ।

यो परिवार अङ्ग्रेजी भाषी हो ।

“चुच्चो नाक नै सुहाउँछ यो चित्रमा ।” केटी सामान्य हिसाबले बोली ।

“म नाकलाई केही थेप्चो बनाउँछु ।” केटो बोल्यो ।

साझा कोठामा कुनै विशेष सजावट छैन । केही तस्वीरहरू झुन्ड्याइएको छ । इन्जिनियर र उसको श्रीमती, परिवार, केटाकेटीको एक्लाएक्लै तस्वीर, एकजना बूढी आमाको तस्वीर । दुवैजनाको बुबा जीवित हुनुपर्छ यस्तै लाग्छ ।

इसाले कफी लिएर आई । ऊ दूध नलाइकन बनाएको कडा कफी पिउन मन पराउँछे । कफी उसले आफूलाई मात्र ल्याई । सोफामा बसेर पिउन थाली ।

“तिमीहरू कफी पिउँछौ ?” उसले भाईबहिनीहरूलाई सोधी । उनीहरूबाट जबाफ आएन ।

“तिमी कफी पिउँछौ भने आफँै बनाऊ ।” ठूली केटीले संघर्षलाई भनी ।

“नो थ्याङ्स ।” परिवारसँगको यो उठबस संघर्षलाई ज्यादै मन पर्न थालेको छ । ऊ कुनै पनि किसिमको अनावश्यक सोचहरू सोच्न चाहँदैन । यी साना केटीहरूका कारण उसले आफ्नू सानी छोरीलाई बिर्सन सक्नेछ ।

“खाना खाने समय भएपछि मलाई भन म तिमीहरूको निम्ति खाना पस्किन्छु । खाना समयमै खानुपर्छ याद राख ।”

संघर्ष पत्रिका पढिरहेको छ । पत्रिकामा ऊ भ्याकेन्सी खोजिरहेको छ । अनेक किसिमका विज्ञापन छन् । बेरा, मेनेजर, सिक्युरिटी गार्ड, मजदूर तर ऊ एकदम शकुनको शान्तियुक्त जागिर चाहन्छ । उसलाई राम्ररी थाहा छ कि मानिसहरूले बेलाबेला उसलाई पागल भनेर भनेका छन् । मृत्युसँग सामना गर्दा ऊ पागल जस्तो देखिन्छ । यति नभए मृत्युको सामना गर्न सकिदैन । केही दिन ऊ मृत्युको सामना गर्ने छैन । मृत्युको सम्मुख पर्ने छैन । मृत्युलाई छकाउने छ । ऊ मृत्युदेखि टाढा रहेर काम गर्ने छ । ऊ यहाँ आएको सात दिन भइसकेको छ । इन्जिनियरले उसलाई घरको काम गर्ने प्रस्ताव राखेको छ । खाने, बस्ने राम्रो प्रबन्ध छ । तलब खासै छैन । पत्रिका हेर्दा बैंकको सिक्युरिटी गार्डमा थुप्रै पैसा छ । सुविधाहरू पनि छन् । ऊ आफ्नो मनलाई स्थिर र संयमी राख्ने चेष्टा गर्दैछ । मृत्युसँगको उठ्बसमा ऊ पागल कहलिन चाहँदैन । मृत्युलाई जित्न पागलको हद पार गरेर हिम्मत गर्नु पर्ने हुन्छ । ऊ पुराना कुराहरू सबै बिर्सन चाहन्छ । केही घटनाहरूका विषयमा भने दोहो¥याएर, तेह¥याएर फेरि पनि सोच्नु, घोरिनु पर्ने आवश्यकतालाई उसले नकारेको छैन ।

“सि………ट….. ।” बच्चाहरू आश्चर्य मानेको स्वरमा कराए ।

“के भयो ?” इसा बोली ।

“उसले जोकरको चित्र बनायो ।” सानी केटी बोली ।

इसाले हेरी वास्तवमै हाँसोलाग्दोे चित्र बनेको छ ।

“मान्छेको चित्र नबनाएर जोकरको चित्र किन बनाएको ?”सानी केटी फेरि बोली ।

“त्यसको हातमा के हो त्यो ?” चित्रलाई नजिकबाट हेर्दै इसा बोली ।

“बन्दुक बोकेको जोकर यसले मान्छे मार्न सक्छ ।”केटो ठूलो स्वरमा बोल्यो ।

“तिमीले हाँस्यसामाग्रीसहितको जोकर बनाउने पर्ने ।” सानी केटी अझ ठूलो स्वरमा कराई ।

“भैगो, उसले राम्रो चित्र बनाएको छ । चित्रकार हुनका लागि जोकरको चित्र पनि बनाउनै पर्छ । के तिमीहरू खाना खान चाहन्छौ ।” संघर्षले बच्चाहरुको विवाद टुङ्ग्याउन चाह्यो तर बन्दुक बोकेको जोकर देख्दा ऊ सशङ्कित भयो ।

“अहिले हैन, हामीले बिहानको खाना खाएका छौ ।”

“त्यसो हो भने म काममा लाग्छु । तिमीहरू टिभी हेरेर बस तर केबल एक घण्टा मम्मीले भनेको एक घण्टा भन्दा ज्यादा समय टिभी हेर्नु हँुदैन ।”

“ओ के ।” केटाकेटी टिभी सामुन्ने आए । उसले सफाई गर्ने औजार निकाल्यो । ऊ व्यस्त रह््यो । फोनको घण्टी बज्यो । मम्मीको रहेछ । केटाकेटीले फोनमा कुरा गरे । दिउँसो केटाकेटीले खाना खाए । उसले भाँडाकुँडा सफा ग¥यो । केटाकेटीहरू कम्पाउण्ड बाहिर जान्छन् कि भनेर हेरचाह गरिरह्यो । घरका सामानहरू सफा गरिरह्यो । सामानहरू ठिक ठाउँमा राख्ने प्रयास गरिरह्यो । ऊ निर्ढुक्क रहेर काम गर्छ । कुनै खराब सोच या अरु कुनै कारणले व्यथित छैन । कुनै दुुबिधाले दुखित छैन ऊ ।

बेलुका सबैभन्दा पहिले मिसेज मेरिन आई । ऊ इन्जिनियरकी श्रीमती मिसेज मेरिनलाई दिदी भन्छ । एकछिन आराम गरेर मिसेज मेरिन खाना बनाउन थाली । उसले सघायो । इन्जिनियर पनि आइपुग्यो । खानाको टेबलमा सबैजना एकैचोटि बसे ।

“तिमीले के सोच्यौ ?”

“कुन विषयमा ?”

“के तिमी यहाँ यही तरिकाले घरको काम गर्न मन पराउँछौ ?”

“म यहीँ बस्छु ।”

“हामी तिमीलाई तिमीले पाउनु पर्ने जति पैसा दिन सक्दैनौ ।” मिसेज मेरिन बोली ।

“केही छैन ।” संघर्षले यहीँ बस्ने निर्णय ग¥यो ।

एक महिनापछि ठूली छोरी छात्रावास गई । ऊ खुसी भएर हिँडी घरबाट । इसा अब गर्मी बिदामा मात्र घर आउने छे । ऊ नौ कक्षामा पढ्छे । अरु बच्चाहरूलाई पनि छात्रावासमा पठाउने विचार छ मिसेज मेरिनको । बाउ मानिरहेको छैन । एकदिन यिनीहरू पनि छात्रावास जान्छन् ।

संघर्ष मिसेज मेरिनलाई सहयोग गर्छ । घर, कोठा, ट्वाइलेट सफा गर्ने, कपडा धुने, खाना पकाउने इत्यादि काममा सहयोग गर्छ । कहिलेकाहीँ दिदी बिहानै अफिस हिँड्छिन् । त्यतिखेर खाना पकाउँछ, बच्चाहरू हेर्छ, उनीहरूलाई पढाउँछ पनि । सबै काम गर्छ आफ्नै घरजस्तो कसैसँग ठूलो स्वरमा बोल्दैन । कुनै विवाद वा मुखलाग्ने काम गर्दैन । छिमेकीहरूसँग सामान्य सम्बन्ध कायम राखेको छ ।

——————————–0——————————

यता केही दिन देखि संघर्ष बेचैन रहन थालेको छ । किन किन ? कुनै असामान्य घटना घटेको छैन तर एक किसिमको छटपटि हुन्छ । निद्रा कम लाग्छ । के भयो को नि ? मृत्युको कुनै खेल सुरु हुन लागेको हो त ?

उसले आफ्नो वरिपरि कुनैपनि किसिमको जाल वा खेल महसुस गरेको छैन । ऊ विरुद्ध मृत्युको कुनै खेल वा षडयन्त्रको आभास छैन । आफू विरुद्ध केही पनि महसुस गरेको छैन तर केही त छ जो उसलाई चनाखो बनाइरहेको छ ।

“यो मृत्यु नै हो ।” उसले दारा किटेर यकिन ग¥यो ।

संघर्षको वरिपरि मृत्यु महसुस नहुनु त्यसको अनौठो चाल हुनुपर्छ  । टाढैबाट आक्रमण गर्ने योजना हुनसक्छ या हुनसक्छ ज्वालामुखी फुट्नु अगाडिको सन्नाटा हो यो ।  

केटाकेटी, मिस्टर निको र मिसेज मेरिन कसैलाई थाहा नदिई पिस्तोल किन्ने निधो ग¥यो, किन्यो पनि । यो जोखिम उसले उठायो । पिस्तोलको कारण कुनै नयाँ समस्यामा पर्ने कुरोप्रति ऊ सावधान रह्यो ।

धेरै लामो समय प्रतिक्षा गर्नु परेन । लामो अन्यौलमा परेर ऊ टुटेन । मृत्यु अलिकति फरक ढङ्गले प्रस्तुत भयो ।

यो दिन बच्चाहरूको विद्यालयमा अभिभावक दिवस छ । बिहानैदेखि बच्चाहरू उत्सुक छन् । खानाको टेबलमा बच्चाहरूले ममीपापालाई विद्यालय जानै पर्छ भनेर कर गरे । बिदा लिएर मिसेज मेरिन विद्यालय जाने भई । बच्चाहरूले संघर्षलाई पनि लानुपर्छ भनेर अडान लिए । बच्चाहरूले अभिभावकलाई बोलाइएको कार्ड ल्याएका छन् ।

उनीहरू करिब एघार बजे विद्यालय पुगे । आमा, मामा अनि बच्चाहरू । ठूली छोरी अर्कै विद्यालयमा पढ्छे । यो साना बच्चाहरू पढ्ने सानो विद्यालय हो । मूलढोकामा उनीहरूलाई शिक्षकहरूले स्वागत गरे । विद्यार्थीहरूले उनीहरूलाई हलमा  राखे । बच्चा र बच्चाका अभिभावकहरू आउने क्रम जारी छ । अभिभावक बसेका कुर्सीहरू अगाडि पर्दायुक्त मञ्च छ ।

कार्यक्रम सुरु भयो । शिक्षक तथा बच्चाहरुले भाषण गरे अभिभावकहरूले पनि । पुरस्कार वितरण गर्ने कार्यक्रम पनि समाप्त भयो । अब सुरु भयो सांस्कृतिक कार्यक्रम ।

सांस्कृतिक कार्यक्रमको बीचमा दर्शकतिरबाट एउटा मान्छे उठेर मञ्चतिर बढ्यो । त्यो सामान्य उचाइ भएको करिब २५,३० वर्ष उमेरको मान्छे प्रतीत हुन्छ । त्यसले अनुहारमा मखुन्डो लगाएको छ । मखुन्डो हाँस्यकलाकारले लगाउने खालको छ, नाक लामो, बादरको जस्तो अनुहार । मञ्चमा छात्रछात्राहरू एड्सका सम्बन्धमा जनचेतनाको लागि लघुनाटक मञ्चन गरिरहेका छन् । अचानक लघुनाटकका कलाकारहरू हक्कबक्क भए । कहाँबाट आयो यो चरित्र ? नाटक समाप्ति उन्मुख भएकाले तिनीहरू आत्तिएनन् । छात्रछात्राहरू हतार हतार नाटक सिध्याएर पर्दा पछाडि गए । त्यो मान्छे मञ्चमा पुगेर दर्शकतिर फक्र्यो । त्यसले पुच्छर पनि लगाएको छ । पुच्छर हल्लायो । बच्चाहरू त्यसलाई हेरेर हाँस्न र कराउन थाले ।  

अचानक त्यो जोकरको मखुन्डो लगाएको मान्छे पनि ठूलो स्वरले हाँस्न थाल्यो । संघर्षको मस्तिष्कमा अनौठो किसिमको बिजुली चम्क्यो । ‘यो सामान्य मान्छे होइन’ उसले तुरुन्तै सोच्यो । उसको हातले पिस्तोल समात्यो । मम्मीसँग भएका दुईवटै बच्चाहरू उभिएर हाँस्न र कराउन थाले । मिसेज मेरिन मुस्कुराएर बोलिन् । “हेर कस्तो राम्रो छ मखुन्डे ।” संघर्ष मिसेज मेरिनसँग बोलेन । आँखा त्यो मान्छेबाट हटाएन । बच्चाहरूलाई कुर्सीमा थचा¥यो । खतराको सङ्केत संघर्षले पाइसकेको छ । त्यो जोकरले लामो ज्याकेट बेमौेसम लगाएको छ ।

“म मृत्यु हुँ ।” अचानक त्यो ठूलो स्वरमा करायो ।

“यो मृत्यु नै हो ।” संघर्ष बडबडायो । पिस्तोललाई बिस्तारै गोजीबाट बाहिर निकाल्यो ।

मृत्युले ज्याकेटभित्रबाट गोली चलाउने हतियार निकाल्यो सायद स्वचालित । त्यही बेला अगाडिको बच्चा उफ्रियो । संघर्ष र जोकर बीच त्यो बच्चा आयो । संघर्षले मौका पाएन । त्यो जोकरले हतियार चलायो । एक लहर गोलीहरू निस्के । त्यो जोकर हतियार देखाउँदै बेजोडले हाँस्न थाल्यो ।

हल क्षणभरको लागि मात्र सुनसान, मौन भयो । कोही केहीको आवाज आएन । के भयो कसैले केही बुझेनन् ? अचानक एउटा मात्र गोली चलेको आवाज आयो । मञ्चमा जोकर ढल्यो । त्यही क्षण सबै चिच्याए ।

बच्चाहरू रगतमा लतपत, रगतपच्छे छन् । गोली लागेका बच्चाहरू छटपटाइरहेका छन् । श्वास रोकिएका बच्चाहरू, श्वास फेर्न मुश्किलमा परेका बच्चाहरू, लाश तथा घाइतेहरू माथि घोप्टिएर करुण आर्तनादका साथ रोई, कराई तथा छटपटाई रहेका अभिभावकहरू, यो दृश्य, मृत्युको क्रूर, कठोर यो दृष्य, बिचरा अगाडि बसेकाहरू । ती मध्ये पनि गोली लागेकाहरू, रङ्ग उडेका अनुहारहरू, कोही छैन यहाँ ब्यथा, पीडा, शोक र मानवीयसंवेदनारहित अनुहार हुनेहरू । बाँकी सबै बाहिरतिर भाग्न थाले । करुण आर्तनाद गुन्ज्यो हलमा । रुने कराउनेहरूको स्वर गुन्ज्यो । मञ्चमा मान्छेहरू देखा परे । शिक्षकहरू आत्तिएका छन् ।

मिसेज मेरिन र उनका बच्चाहरूलाई केही पनि भएन । त्यो भागदौडमा पेलिदै, ठेलिदै उनीहरू कम्पाउण्ड बाहिर निस्केर ट्याक्सी चढे । बच्चाहरूलाई संघर्षले समातेको छ । उसले पिस्तोललाई गोजीमा राखिसकेको छ । उसलाई अनुमान छ कि जोकरले दोस्रो, तेस्रो खेप पनि फायर गर्ने थियो होला तर एकचोटि मात्र फायर गर्न पायो । संघर्षले पनि जोकरको मृत्यु यकिन गर्न दोस्रो फायर गरेन । संघर्षले मोैका नपाएको होइन तर पहिलो गोलीमै उसलाई मृत्युको मृत्यु यकिन भयो ।

मिसेज मेरिन लामो समयसम्म केही बोलिनन् । संघर्षले बच्चाहरूलाई सँभाल्यो ।

“मेरो जोकर मञ्चमा देखाप¥यो । स्पाइडर म्यान हो त्यो ।” छोरो बोल्यो ।

“तैले थाहा पाइनस् त्यो जोकरले गोली चलायो । बन्दुक बोकेको जोकर बनाउने तैँ होस् । हाम्रा साथीहरू थुप्रै जना मरे ।”

“त्यसो हो भने त्यो स्पाइडरम्यान हैन राक्षस हो ।” छोरो सडक हेर्दै बोल्यो ।

“त्यो चित्र तँैले बनाएको होस् तर सबै जोकर राक्षस हुँदैनन् ।” छोरी गहन भाव प्रकट गर्दै गम्भीरताका साथ बोली ।

“के भयो विद्यालयमा ?” ड्राइभरले सोध्यो ।

“कसैले अभिभावक दिवस भइरहेको बेला गोली चलायो । थुप्रै बच्चाहरू मरेको हुनुपर्छ । हामीलाई केही भएन ।” मेरिन बोलिन् ।

घरको कोठामा पुगेपछि बच्चाहरू सुते । कोठामा कोही नभएको बेला मिसेज मेरिनले संघर्षलाइ सोधिन् ।

“तिम्रो गोली लागेर त्यो जोकर ढल्यो । मैले स्पष्ट देखेकी । तिमीसँग पिस्तोल कहाँबाट आयो ?” संघर्ष चुप लाग्यो ।

“तिमीलाई थाहा छ हतियार राख्नु गैरकानुनी हो ।” फेरि पनि ऊ चुपै लाग्यो ।

“एक किसिमले ठिकै भयो । तिमीले गोली नचलाएको भए अरु थुप्रै मान्छेहरू मर्ने थिए सायद हामी पनि ।” मेरिन ओछ््यानमा पल्टी र आँखा चिम्ली ।

 संघर्ष बाहिर निस्क्यो । उसले टिभी खोल्यो । केहीबेरपछि मेरिन पनि आई । दुई बच्चा र एक अभिभावक ठाउँको ठाउँ मरेको खबर आयो । अरु थुप्रै घाइते भएको खबर पनि आयो । हत्यारा त्यो विद्यालयको भुतपूर्व विद्यार्थी भएको पुष्टि भयो । विद्यालयप्रशासनले उसलाई नोकरी नदिएको कारण गोली चलाएको सम्भावना ब्यक्त गरियो । बेलुकासम्म घाइते मध्ये सबै खतरा मुक्त रहेको खबर पनि आयो । बच्चाहरूलाई यी सबै खबरहरूबाट टाढै राखियो । मिसेज मेरिन र संघर्षले मात्र यो खबर सुने ।

“तिमी नभएको भए हामी सबै मर्ने थियौ । मेरो कान नजिकैबाट गोली गयो । बच्चाहरूलाई तिमीले टाउकोमा समातेर कुर्सीमा थेचारेका थियौ । त्यतिखेर त मलाई रिस उठेको थियो तर …. । तिमीले सुन्यौ उसले दसवटामात्र गोली चलायो । त्यसको बन्दुकमा साठीवटा गोली बाँकी थियो रे ।”  मिसेज मेरिन कृतज्ञ स्वरमा बोलिन् ।

“त्यसले गोली चलाउने मौका पाउने नै थिएन । त्यहीँ बेला अगाडि बसेकी केटी कुर्सीमा उभिई । ऊ उभिएकीले उसलाई गोली लाग्यो । त्यो मेरो ठिक अगाडि थिई । त्यो भुइँमा रगतपच्छे लडी ।  त्यस्तो नभएको भए तीन मध्ये एक हुन्थ्यो कि त गोली चलाउनु अगाडि जोकर ढल्थ्यो या म त्यसको गोली लागेर ढल्थँे । यो पनि हुनसक्थ्यो कि हामी दुवैजना एक अर्काका कारण ढल्थ्यौँ ।”

“त्यसले बन्दुकलाई हातले घुमाएर गोली चलायो । मैले केही क्षणसम्म के भयो, के भयो ? केही पनि बुझिन ।” मेरिन बोली ।

“स्थिति नै त्यस्तै बन्यो सायद तपाईँँ बेहोस हुनुभयो ।”

“म बेहोस भइन तर तिम्रो हातमा पिस्तोल देखेपछि सबै बुझँे । तिमीले तुरुन्तै पिस्तोल लुकायौ ।”

“तपाईँले मेरो हातमा पिस्तोल देखेको हैन होला अरु कसैले पिस्तोल चलाएको हुनसक्छ । थुप्रै मान्छेको उपस्थिति थियो त्यहाँ ।”

“मैले तिम्रो हातमा पिस्तोल स्पष्ट देखेकी थिएँ ।”

“मेरो हातमा पिस्तोल देखिएको हुनसक्छ तर मैले त्यो नचलाएको हुनसक्छ ।”

“त्यो त डैड आएपछि थाहा भइहाल्नेछ तर मलाई विश्वास छ, तिम्रो पिस्तोलबाट चलेको गोलीका कारण त्यो ढल्यो नत्र म र हाम्रा बच्चाहरू यहाँ हुने थिएनौ ।”

“तपार्इँ यो कुरो मिस्टर निकोलाई बताउनु हुन्छ । वहाँले मलाई के भन्नु होला ।” ऊ डराएको जस्तो देखियो ।

“तिमीले डराउनु पर्ने कुनै कारण छैन । तिमीले महान् काम गरेका छौ । बाँकी सबै जनालाई बँचाएका छौ । म सरकारमा भएको भए तिमीलाई पुरस्कार दिने थिएँ । तिमी किन डराउँछौ ।”

“के तपार्इँलाई विश्वास छ कि मैले ठूलो काम गरे ।”

“शतप्रतिशत ।”

“म पनि विश्वस्त छु कि मैले बाँकी मानिसहरूको अकाल मृत्युलाई मारे । मानिसहरू जन्मदै आफ्नो मृत्युकासाथ जन्मन्छन् । मान्छे आफ्नो जन्म जन्मिदैनन्, आफ्नो मृत्युका लागि जन्मिन्छन् । प्रत्येक मान्छेहरूको मृत्यु अलग अलग हुन्छ ।”

“तिमी यो के भनिरहेका छौ ? मलाई बुझाऊ कृपया ।”

“क्षमा पाऊँ सिस्टर तपाईँले सबै कुरा बुझिसक्नु भएको छ ।”

मिस्टर निको हतारिदै भित्रियो । कराउँदै बोल्यो । “के तिमीहरू सबैजना ठिक छौ ? मैले रेडियोमा सुने त्यो समाचार ।”

मिसेज मेरिन अगाडि बढी । “हामी सबै ठिक छौ संघर्षका कारण ।”

“संघर्षले के ग¥यो ?”

“उसले त्यो आक्रमणकारीलाई ढाल्यो । संघर्षको पिस्तोलले त्यसलाई मा¥यो । ऊ बहादुर छ र पिस्तोल चलाउन जान्दछ ।”

“तिमीसँग पिस्तोल कहाँबाट आयो ? मसँग भेट हुँदा तिमीसँग पिस्तोल थिएन । मलाई तिम्रो पिस्तोल देखाऊ ।” निको रिसाउँदै करायो ।

“……………” ऊ निहुरियो मात्र ।

“तिमी अपराधी हौं । तिमीले कानुन मिचेर त्यो मान्छेलाई मा¥यौ ।” निको आवेगमा आएर संघर्षको कठालो समात्न पुग्यो ।

“तिमी यस्तो कुरा किन गर्छौ । ऊ नभएको भए म र हाम्रा बच्चाहरू कोही पनि आज जीवित हुने थिएनौँ ।” श्रीमती चर्को स्वरमा कराई ।

धन्न बच्चाहरू खाना खाएर सुतिसकेका छन् । रातको दस बजिसकेको छ । मिस्टर निको सदा भन्दा निकै ढिलो आयो । उसले दिउँसै फोन गरेर कुशलताको खबर लिइसकेको थियो ।  

“तिमी बोल संघर्ष, केही त बोल । मान्छे मार्ने ज्यानमारासँग म मेरो परिवारसहित बस्न सक्दिन । तिमीले तुरुन्तै यो घर छोड्नुपर्छ र प्रहरीसामु आत्मसमर्पण गर्नुपर्छ । भन तिमी यो गर्छोै कि गर्दैनौ ?” मिस्टर निको जङ्गिएर धम्कीको आवाजमा करायो ।

“संघर्ष किन प्रहरीसामु जान्छ ? उसले आत्मसमर्पण किन गर्छ ? उसले के अपराध गरेको छ ? ऊ प्रहरीसामु जाँदैन । सरकारले संघर्षलाई पुरस्कार दिनुपर्छ । पहिला पुरस्कारको घोषणा होस् अनि मात्र ऊ प्रहरीसामु जान्छ । उसले बाँकी मान्छेहरूलाई अकाल मर्नबाट बँचाएको छ । उसले हत्यारालाई मारेको हो । उसको यसमा के गल्ती छ ?”

“मान्छे मार्ने अधिकार न्यायालयलाई मात्र छ । संघर्ष को हो ? जो कानुन हातमा लिएर हिड्छ ।”

“त्यो गोली मैले जोकरलाई लक्षित गरेर नचलाएको हुनसक्छ । मैले गोली नै नचलाएको पनि हुनसक्छ । अरु केही भएको पनि हुनसक्छ । मैले गोली मृत्युलाई लक्षित गरेर चलाएको हुनसक्छ । म प्रहरीका जानु उचित हो जस्तो लाग्छ भने जान्छु ।”

“तिमी प्रहरीसामु जाने छैनौे किनभने प्रहरीको अत्याचार अनि वकिलको सेवा शुल्क तिमी थेग्न सक्नेछैनौ ।” हुनसक्छ ऊ वकिलको सेवा शुल्क आफूले तिर्नुपर्छ भनेर डराइरहेकी थिई ।

“कानुनको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य हो । तिम्रो, हाम्रो सबैको । तिमीले प्रहरीसामु जानैपर्छ । तिमीले ज्यान मारेका छौ । प्रहरीले तिमीप्रति कस्तो व्यवहार गर्छ यो उसको कुरा हो ।”

“उसले नागरिककोे कर्तव्य निभाइसकेको छ । नागरिक भएका कारण अब उसले निभाउनु पर्ने कुनै कर्तव्य छैन ।” मेरिन निर्णायक स्वरमा बोली ।

“तिमीसँग पिस्तोल कहाँबाट आयो ? के तिमी अपराधी हौ ? जेल तोडेर भागेको अपराधी । वास्तवमा तिमी को हौ ?”

“पिस्तोल मैले चारदिन अगाडि यहीँ आए पछि किनेको हुँ ।”

“किन किन्यौ तिमीले त्यो ? के तिमी हामीलाई मारेर, लुटेर भाग्ने योजना कार्यान्वयन गरिहेका छौ ?” निको आवेसमा चिच्यायो ।

“मेरो विषयमा अनावश्यक कुरा नगर्नोस म त्यस्तो मान्छे हँुइन ।” संघर्ष रिसायो ।

“तब किन किन्यौ पिस्तोल ?” निको बोल्यो ।

“बच्चाहरूले एकदिन आज देखा परेको जोकर जस्तै चित्र बनाए । मलाई लाग्यो म र बच्चाहरूको वरिपरि कोही घुमिरहेको छ । मृत्युले हामीहरू माथि कुनै दुर्घटना घटाउन चाहिरहेछ । कोही हामीहरू माथि षडयन्त्रपूर्ण खेल खेलिरहेछ । मलाई यस्तै लाग्यो कोही हाम्रो पिछा गरिरहेको छ र हामीलाई आक्रमण गर्न चाहन्छ । मलाई लाग्यो बच्चाहरूसहित आफूलाई सुरक्षित राख्नका निम्ति पिस्तोलको आवश्यकता पर्नसक्छ । मलाई यस्तै लाग्यो ।” संघर्षले आफ्नो सफाइ पेस ग¥यो ।

“तिम्रो कुरामा विश्वास गर्ने आधार के छ ?”

“तपाईँहरूलाई अनौठो लाग्नसक्छ तर यो सामान्य सत्य हो । त्यसले मलाई फेरि एकचोटि चुनौती दियो । मेरो सामु त्यो उभियो र बच्चाहरूसहित मलाई मार्ने कोसिस ग¥यो । त्यो अरु कोही नभएर मृत्यु हो । त्यसले मसँग लुकामारी खेलिरहेछ । मैले जसरी भए पनि त्यसको सामना गर्नैपर्छ । त्यो मलाई अकाल मार्न चाहन्छ । धेरैचोटि प्रयास गरिसकेको छ तर मार्न सकेको छैन ।”

“के त्यो मान्छेलाई तिमी चिन्छौ ।” निकोले उत्सुकताका साथ सोध्यो ।

“म त्यसलाई चिन्छु । त्यसले पनि मलाई चिन्छ । त्यो मृत्यु हो । म मृत्युका रूपहरूलाई चिन्दिन र जान्दिन पनि ।” निर्दोष संघर्ष बोल्यो ।

“तिमी पागल जस्तो अनौठो कुरा गरिरहेका छौ । तिमी मानसिक सन्तुलन बिग्रेको मानिस त होइनौ ?” निकोले शङ्का व्यक्त ग¥यो ।

“त्यो यति सक्रिय र चलाख छ कि मैले पागलको तहसम्म पुगेर त्यसको सामना गर्नुपर्छ । म त्यो मान्छेलाई चिन्दिन तर दिदी तपार्इँलाई याद छ हैन त्यसले आफूलाई मृत्यु हुँ भन्दै बेजोड हाँसेको थियो ।” संघर्षले याद दिलायो ।

“मलाई याद छ । त्यसले आफूले आफँैलाई मृत्यु भनेको थियो ।” मिसेज मेरिन  बोलिन् ।

“यदि तिमीले बोलेका सबै कुरा सत्य हुन भने त्यो फेरि पनि तिमीलाई मार्न आउन सक्छ । हामी असुरक्षित छौ ।” मिस्टर निकोले घोषणा गरे ।

“तर त्यो मरिसकेको छ ।”  मिसेज मेरिन निर्ढुक्क बोलिन् ।

“त्यो रूप फेरेर आउँछ । त्यो मरेको छैन । त्यसलाई मार्न सकिदैन । त्यसले पनि मान्छेहरूलाई सदाका निम्ति मार्न सक्दैन । त्यो मार्छ भने मानिसको जन्म पनि छ  । मान्छेहरू जन्मिरहन्छन् । त्यसले मारिरहन्छ । जन्म भएका कारण त्यसले मान्छेहरूको अस्तित्व मेटाउन सकेको छैन । मान्छेहरू मारेर त्यो आफ्नो मात्र राज्य चलाउन चाहन्छ । मान्छेहरू त्यसको योजना पुरा हुन नदिन जन्मिरहन्छन् । यही नै जीवनको सार हो, अर्थ पनि । मृत्युलाई जित्न नदिनका निम्ति हामी जन्मेका हौ । जीवनको अर्थ यही हो ।”

“तिमी दार्शनिक हौै । तिमीले प्रहरीसामु जानु पर्दैन । तिमी जस्तोसुकै कुरा गर । तिमीमाथि मेरो पूरा विश्वास छ । तिमीले हाम्रो संरक्षण गर्न सक्छौ । म तिम्रो तलब बढाउन मन्जुर छु ।” मेरिन बोली ।

“धन्यवाद दिदी ।”

“मेरो विचारमा तिमीले त्यसलाई ढालेका हौ भन्ने कुराको जानकारी प्रहरीलाई ढिलो चाँडो हुने नै छ  ।” निको बोल्यो ।

“यस विषयमा तपाईँँ चिन्ता नलिनुस । दिदी तपाइलाई थाहा छैन कि गोली कसको पिस्तोलबाट चल्यो । तपार्इँहरूलाई मसँग पिस्तोल भएको कुराको जानकारी छैन ।” संघर्ष पत्यारिलो पाराले बोल्यो ।

“होला सायद मैले कुनै भ्रम देखेको हुनुपर्छ । सायद तिमीले गोली चलाएका हैनौ । तिम्रो हातमा पिस्तोल छँदै थिएन । म भ्रमजालमा परेकी हुँ ।”

“तिमीहरूका कुरा अनौठा छन् । तिमीहरू मलाई शब्दजालमा फसाइरहेका छौ । म ज्यादा कुरा जान्दिन । अब तिमी यो घरमा बस्ने छैनौ । कानुन हातमा लिएर हिड्नेलाई म यो घरमा राख्न चाहन्न । म एउटा इमान्दार नागरिक हुँ । मैले भनेको मान्दिनौ भने मेरिन तिमी पनि आफैँ आफ्नो खुसी गर । म मेरो घरमा प्रहरीको फसाद हेर्न चाहन्न ।” निको उठ्यो । बेडरुमतिर लाग्यो । मिसेज मेरिन र संघर्ष भाँडा सफा गर्ने काममा लागे ।

“सिस्टर बच्चाहरूलाई बोर्डर्स गर्ने कुरो के भयो ?”

“तिमी छौ नि घरमा बोडर्स किन गर्ने ?”

“बच्चाहरूलाई बोडर्स गर्नु राम्रो छ । मेरो के भरोसा । आज यहाँ भोलि कहाँ कहाँ ? म मेरो कारण तपाईँँ र भिनाजु बीचको झगडा हेर्न चाहन्न । म जान्छु । ”

“सायद तिमी ठिक भन्दैछौ । तिमी लोग्नेमान्छे हौ । बच्चाहरू हेरेर यो सबै यहाँ गर्नुपर्ने काम गरेर कम तलबमा कति दिन बस्न सक्छौ ?”

“त्यस्तो हैन मैले एकचोटि घर जानै छ । मेरी पनि एउटी सानी छोरी छ ।”

“सायद तिमी आज भएको घटनाबाट हामी सबैलाई जोगाउन मात्र यहाँ आएका हौ । अब हामीप्रतिको तिम्रो कर्तव्य सिद्धिसकेको हुनुपर्छ ।”

——————————–0——————————

बच्चाहरू छात्रछात्रावास गए । त्यसको लगत्तै ऊ हिँडेन । ऊ शहर डुल्न थाल्यो । त्यहाँ काम गर्ने धेरैजसो नेपालीहरूलाई भेट्यो । सबैको कथा, व्यथा सुन्यो । केही बाहेक कसैले पनि राम्रो काम पाएका छैनन् । अधिकांश कामहरू ज्यान तरवारको धारमा राखेर गर्नुपर्ने खालका छन् । पढेकाहरूले पनि राम्रो काम भेटेका छैनन् । सफाइको काम, फैक्ट्रिहरूमा जिउज्यान जोखिमको काम, कुल्ली, मजदूरको काम, नोकरचाकरको काम, सुरक्षागार्डको काम गरेर बसेका छन् नेपालीहरू । सेल्सम्यानको काम सबै भन्दा राम्रो हो । यो काम गर्नेहरू चार पाँचजना छन् । होटलमा बेरा, भान्से  इत्यादि पनि राम्रो काम मानिन्छ । नेपालका दक्ष जनशक्तिहरू यहाँ अलिकति पैसाको लोभमा साना काम गरेर बसेका छन् । यहाँ जे जस्तो काम गर्नु परे पनि उनीहरू मेहनतको कमाइ खान्छन् । मेहनतको कमाइ पुग्दो छ । ठगेर, लुटेर, भ्रष्टाचार गरेर खाँदैनन् ।

बच्चाहरू छात्रावास गएको निकैदिनपछि एकदिन उसले प्रस्ताव राख्यो । “म काठमाण्डौ जान चाहन्छु जहाँ मेरो घर छ । म मेरी छोरीलाई भेट्न चाहन्छु ।”

“तिमी सायद यो घटनाबाट भाग्न चाहन्छौ ?”

“यदि म यो घटनाबाट भाग्न चाहन्थे भने भोलिपल्टै भाग्थे । त्यो घटना घटेको पनि एक महिना बितिसकेको छ । जोकरलाई ढाल्ने पात्रमा कसैको कुनै रुचि, अभिरुचि देखिएन ।”

“म तिमीलाई राम्रो काम लगाइदिन्छु । तिमी यहीँ बस ।” मेरिनले उसलाई माया गरिन् ।

“मलाई थाहा छैन तर मलाई यस्तो लाग्न थालेको छ कि त्यो सुस्ताउन थाल्यो । अब त्यसले मलाई आक्रमण गर्ने छैन । मैले यहाँ बस्नु पछाडि कुनै औचित्य पुष्टि हुँदैन ।”

“तिमी यहीँ बस र केही पैसा कमाएर मात्र घर जाऊ ।” मेरिन्ले सम्झाइन् ।

“मसँग रुपैयाँ, पैसा छ । म सन्तुष्ट छु । म यहाँ बस्न चाहन्न । भिनाजुसँग तपाईँको सम्बन्ध दिन पर दिन बिगिँ्रदैछ । म मेरो शैक्षिक योग्यता थप्न चाहन्छु । मैले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेको छु । डाक्टरेट गर्न चाहन्छु । अब म आफ्नो ध्यान पढाइतिर लगाउन चाहन्छु सायद ।”

“म तिमीलाई राम्रो नोकरी लगाइदिन्छु । तिमी यहाँ नबस, अन्तै बस । त्यो अवस्थामा तिम्रो भिनाजु र मेरो सम्बन्ध सुध्रिनेछ ।”

“हैन सिस्टर मैले एकचोटि घर जानैपर्छ ।” संघर्षले जिद्दी ग¥यो । 

“के तिमीले हामीबाट केही पैसाको आशा राखेका छौ ?”

“त्यस्तो आश छैन । अहिलेसम्म जे जति दिनु भएको छ त्यतिमै सन्तुष्ट छु । म भोलि बिहान जान्छु । बिहानको सात बजे मेरो विमानस्थल समय छ ।”

“म तिमीलाई छोड्न विमानस्थल जान चाहन्छु ।” केही नलागेपछि अन्त्यमा मेरिन संघर्षसँग सहमत भई ।

मिसेज मेरिनले संघर्षलाई किनमेलका लागि लिएर गई । उसलाई हवाईअड्डा छोडी । मिसेज मेरिनले केही डलर संघर्षको गोजीमा हालिदिई । संघर्षको ठेगाना लिई । उसले पनि तिनीहरूको ठेगाना लियो ।

 एयरपोर्टको प्रतीक्षालयमा संघर्षको भेट एउटी नेपाली युवतीसँग भयो ।

“तपाईँ नेपाली हो ?” संघर्षले अङ्ग्रेजीमा सोध्यो ।

“हो, तपाईँ पनि नेपाली हो र ?” युवतीले नेपालीमा जवाफ दिई ।

“तपाईँको शुभनाम ?” युवती ज्यादै खुसी देखिई ।

“संघर्ष, मेरो नाम अनौठो जस्तो लाग्छ ।”

“मेरो नाम आकांक्षा मलाई मेरो नाम सामान्य लाग्छ । तपाईँको घर कहाँ नि मेरो काठमाण्डौ । ”

“स्याङ्गजा ।”    

“यहाँ कहिले आउनुभएको थियो ?”

“पाँचवर्ष पहिले ।”

“थुप्रै कमाउनु भयो होला ? तपाईँलाई कस्तो लाग्यो यो ठाउँ ? मैले ता राम्ररी घुम्नै पाइन । एउटा अन्तराष्ट्रिय सेमिनारमा भाग लिएर आज सातौं दिन फर्किदैछु ।”

“कहाँ काम गर्नु हुन्छ ?”

“म त्रिविविमा काम गर्छु सहायक प्राध्यापक छु ।”

“सरोज बास्तोलालाई चिन्नुहुन्छ ?”

“तपाईँ सरोजसरलाई चिन्नुहुन्छ ?”

“हामीले स्नातकोत्तर सँगसँगै गरेका हौँ ।”

“यत्रो पढेर पनि तपाईँ आफ्नै देशमा नबसेर, विदेशमा काम गर्न आउनु भएको ?” उसले आश्चर्य मानी ।

“यो कुनै आश्चर्य मान्नुपर्ने कुरै हैन । हाम्रो देशमा बेरोजगारको समस्या तपाईँलाई थाहा छदैछ फेरि राजनैतिक उथलपुथल जतिखेर म हिँडे त्यतिखेर गाउँमा डर, त्रास, सन्त्रासको वातावरण थियो । अहिले त सामान्य भयो होला ।” संघर्ष बोल्यो ।

“त्यति सामान्य पनि भएको छैन जति हुनुपर्ने थियो । यतिखेर सम्म त  केही न केही निर्णय भइसक्नु पर्ने थियो तर भएन ।”

“पहिलेको भन्दा धेरै सजिलो छ भन्ने सुनेको छु ।”

“सजिलो त भएको छ तर जति हुनुपर्ने थियो त्यति भएन । हामी सबै मिलेर देश बनाउनु पर्ने हो तर हामीहरू नै केही पैसा वा महँगो जीवनशैलीका निम्ति विदेशिएका छौँ ।”

“बस्नेहरूले देश बनाए त भैहाल्ने हो नि ।” संघर्ष बोल्यो ।

“वातावरण छैन । त्यस्तो वातावरण राजनीति गर्नेहरूले तयार गर्नुपर्छ ।

“सायद त्यसका लागि हामी पनि जिम्मेवार छौँ ।”

“हामी गम्भीर विषयवस्तुमा अल्óयौँ ।” आकांक्षाले कुराकानीलाई छोट्याउन चाही ।

हवाईजहाजको विषयमा जानकारी प्रसारण भयो । प्रतीक्षालयमा हतार मच्चियो । यिनीहरू पनि पालोमा उभिए । जहाजभित्र तिनीहरू सँगै बसे । सहयात्रु नभएको यात्रा अल्छिलाग्दो हुन्छ ।

“के तपाईँलाई जहाजमा डर लाग्छ ?”  गाला राता राता पार्दै आकांक्षा बोली ।

“लाग्दैन ।”

“मलाई जहाजमा डर लाग्छ त्यति पनि होइन कि जहाजमा बस्नै नसकँु ।”

‘त्यसले यहाँ पनि आक्रमण गर्न सक्छ तर यहाँ म एक्लै त्यसको सिकार हुन्न । भए सबै सिकार हुन्छौं नभए कोही पनि हुँदैन । यहाँ सायद त्यसले म एक्लैलाई मार्न नसक्ला’ उसले सोच्यो । ‘यस्तो सोच मैले यो युवतीसामु प्रस्तुत गरे भने यसले के सम्झेली । यसले त पक्कै पनि मलाई पूरै पागल सम्झेली । मैले यस्ता सोचहरूलाई प्रकट हुन दिनु हुँदैन । यो मेरो निम्ति उचित हो । ’ संघर्षले सोच्यो ।

“यदि यो जहाज दुर्घटनामा प¥यो भने हामी सबैजना एकै चिहान हुनेछौ । तपाईँलाई कस्तो लाग्छ ?”  संघर्षले घुमाएर आफ्नो सोच प्रकट ग¥यो ।

“कस्तो पनि लाग्दैन । त्यस्तो नहोला भन्न सकिँदैन ।” आकांक्षाले आफ्नो मुटुको धड्कन बढेको महसुस गरी । “के तपाईँको बुबा, आमा हुनुहुन्छ ?” 

“हुनुहुन्न ।”वार्तालापको प्रसङ्ग पारिवारिक भएकाले संघर्ष सजग भयो ।

“मेरो बुबाआमा हुनुहुन्छ । तपाईँको बच्चाबच्ची, परिवार होलान् नि ।”

“मेरो परिवार छैन, म अविवाहित हुँ ।” ढिलो गरी बोल्दै संघर्षले ढाँट्यो ।

“मेरो पनि विवाह भएको छैन तर म एक्लो छुइन ।”

“कसरी हुन्छ यस्तो ।” संघर्ष बोल्यो ।

“हुन्छ किन हुँदैन मसँग मेरो बुबा, आमा हुनुहुन्छ । दाजु र बैनी छन् ।”

“दिदी, बैनी त मेरा पनि छन् ।”

सेविकाले व्यवधान पु¥याएपछि उनीहरू चुप लागे । जहाज रनवेमा दौेडिन थाल्योे । त्यो कालीनिली भई । मुखबाट मन्त्र जपेको जस्तो बडबडाहट आयो । एउटा हातले सिट र अर्को हातले संघर्षको पाखुरा समाती । छटपटाई, ज्यादै बेचैन भई आकांक्षा । जहाजले जब भुइँ छोड्यो ऊ शान्त भई । जब जहाज उकालो हान्नियो उसले संघर्षको हात छोडी तर आँखा चिम्लेको चिम्लै रही । एकछिनपछि आकांक्षा सामान्य भई र आँखा खोली ।

“के तपाईँलाई जहाजमा बस्दा सधै यस्तै हुन्छ ?”

“हवाईजहाज चढ्न मैले अलिकति हिम्मत गर्नै पर्छ । मैले जहाजमा त्यति धेरै यात्रा गरेकी छुइन । प्रायः म एयरहोस्टेसलाई भनेर महिलाहरूसँग मात्र बस्छु । यसपालि अन्जानमै म तपाईँसँग बसे । तपाईँ डिस्टर्ब हुनुभयो होला तर अहिले म सामान्य छु ।”

आकांक्षा ब्यागबाट पुस्तक निकालेर पढ्न थाली । संघर्ष ज्यादै थाकेको छ । मस्तिष्कमा उथलपुथल मच्चाइरहेका अनगिन्ती दुबिधालाई पन्छ्याएर शान्ति वा आरामलाई महसुस गर्ने प्रयास गर्दै संघर्षले आँखा चिम्ल्यो, लामो श्वास फे¥यो । यस्तो लाग्यो मानौ काठमाण्डौबाट विदेशको निम्ति जहाज चढे पश्चात् आज मात्र बल्ल संघर्षले ढुक्कको लामो श्वास फेर्ने अवसर पायो ।

युवती बेलाबेला निदाउँथी । संघर्षको कुममा युवतीको टाउको आइपुग्थ्यो । ऊ झस्किन्थी र सीधा हुन्थी । सेविकाहरूले खाना ल्याए उसले शाकाहारी भोजन लिई, संघर्षले मासांहारी ।

“म मासु खान्छु ।” आकांक्षा स्पष्टिकरण दिन थाली “तर यो विदेशी जहाजमा के को मासु हुन्छ, हुन्छ ? मासु खान्छु भनेर जथाभावी खान्न म । खसीको मासु मिठो हुन्छ । अरु कुनै जनावर वा चराको मासु चाखेकै छैन मैले ।”

“शुद्ध ब्राह्मणको परिवारमा हुर्केको होला तपाईँ ।”

“त्यस्तो पनि हैन, दाजुभाईहरू मजाले रक्सी धोकेर घर आउँछन् । बुबा पनि पार्टीहरूमा रक्सी पिउनुहुुन्छ । मासुको सम्बन्धमा म अनौठो निस्किएँ । घरमा कुखुराको मासु पाक्छ तर म खान्न  ।”

“सिनेमाघरमा सिनेमा हेर्नुहुन्छ ।”

“कहिलेकाहीँ साथी मिलेको खण्डमा ।”

“तपाईँको उमेरका केटीहरूको केटो साथी हुनुपर्ने हैन र ?”

“हुनुपर्ने त हो सबैले त्यसै भन्छन् तर मेरो छैन । मेरो महŒवाकाङ्क्षाको अगाडि कुनै पनि केटो साथी टिक्न सकेनन् । मैले प्रयास नगरेको त कहाँ हो र ? जो पनि आउने विवाह गर्न चाहने तर पिएचडी नगरी कसरी विवाह गर्ने ?”

“पिएचडी गर्दा सम्म ता उमेर पनि खस्केला नि ।”

“अहिले त्यो आभास भइरहेछ तर त्यो पनि त्यसै कहाँ खस्केला र ?  खस्किहाले रोक्न कहाँ सकिन्छ र ?”

जहाजमा उपलब्ध खाना खाएपछि त्यो निदाएकी जस्ती भई । संघर्षले कुरो गर्न चाहेन । ब्यागबाट एउटा पुस्तक झिकेर पढ्न थाल्यो । सहयात्रीका कारण यात्रा पट्यारलाग्दो भएन । सहयात्री धेरै वाचाल थिइनन् र धेरै कम बोल्ने गम्भीर पनि थिइनन् ।

त्रिभुवन विमानस्थल आइपुग्यो । उनीहरू जहाजबाट उत्रे ।

“कस्तो शीतल छ यहाँ फ्रिज जस्तो ।” पौष महिनाको घाम, नेपालको चिसो हावा अनि उत्तरतर्फका सेताम्मे हिमाल संघर्षलाई लाग्यो यो उसको पुनर्जन्म हो । सामान लिने लाइनसम्म संघर्षले युवतीलाई देख्योे । सामान लिसकेपछि युवती हराई । संघर्षले युवतीलाई भेट्न पाएन । जहाजमा रहुन्जेल फोन नम्बर लिने सुद्धी आएन । जब सुद्धी आयो आकांक्षा हराई ।

——————————–0——————————

काठमाण्डौ आएर संघर्ष अलमलमा प¥यो । के गर्ने के नगर्ने ? गाउँ जाने कि नजाने ? गाउँ जान मन लागेन । पोइल गएकी स्वास्नीलाई भेट्न के जाने ? आमा संघर्षलाई दुनियाँमा छोडेर जानुभयो । आमा भएको भए  आमासँग भेट्ने इच्छा बन्थ्यो होला । छोरी, काका, बहिनी, दिदीलाई बिस्तारै भेटौँला । त्यो विवाह नगरेकी युवतीमा चासो जाग्यो । ठरठेगाना केही थाहा छैन । कसरी भेट्ने ? त्यो नभेटिए अरु भेटिएलान् । जीवनसाथीको जरुरत पर्छ नै । केही दिनको होटल बसाइपछि कोैशलटारमा डेरा लिएर बस्न थाल्यो । बेडरुमलाई राम्ररी सजायो अर्को कोठा भान्छा । बिहानै उठेर कसरत गर्नु, किनमेलको लागि बाहिर निस्किनु, खाना बनाउनु, दिउँसो घुमफिरका लागि निस्किनु, बेलुका खाना पकाउनु, खानु अनि सुत्नु आदि संघर्षको दिनचर्या बन्यो ।

                कलेज पढ्दाका साथी भेटिए । कोही सरकारी कर्मचारी, कोही प्राइभेट जागिरे, कोही बेरोजगार, कोही नेता आदि ।

देशको स्थिति सामान्य छ । कुनै रक्तपात छैन, कुनै आतङ्क छैन । सत्ताको अशान्ति छ । त्यो अशान्तिले नागरिकहरूको दैनिक जीवनमा खासै असर पारेको छैन । खानेपानीको अभाव, लोडसेडिङ्, धुवाँ, धूलो, ट्राफिक जाम, महँगी आदि काठमाण्डौको विशेषता नै हो । कोकोहोलो मच्चाउन मृत्युले ताण्डव नाँचेको छैन । एक किसिमको शान्ति व्याप्त छ जहाँ कहीँ ।

संघर्षले कुनै नयाँ साथी बनाएन । पुराना साथीलाई खोज्दै हिडेन । मृत्युसँगको लुकामारी कता हरायो कता ? जीवन सामान्य गतिमा, सामान्य थितीमा अगाडि बढ्न थाल्यो । यो बीच ऊ गाउँ पुगेर आयो । छोरीको दोष केही छैन, चाहेर पनि छोरीलाई भेट्न सकेन । पोइल गएकी स्वास्नी विद्यालयको शिक्षिका भएको थाहा पायो । पोइल हिँड्नुमा सायद शिक्षिका हुन पाउने लोभ नै प्रमुख होला । त्योसँग उसको भेट हुन सकेन । बाँकी सबैसँगको भेटघाटपछि ऊ फक्र्यो र घडेरी खोज्ने काममा दत्तचित्त भएर लाग्यो । काठमाण्डौका जग्गादलालहरूलाई बुóन उसलाई धेरै गाह्रो भयो । घडेरीको मूल्य त्यति नै जटिल । संघर्षले ज्यान माया मारेर कमाएको रुपैयाँ  घरघडेरीमा लगानी गर्ने विचार ग¥यो ।  

फुर्सदमा रत्नपार्क, न्युरोड घुम्नु, विद्युतीय सामान किन्नु, पुस्तक किनेर पढ्नु संघर्षको अति नै रुचिकर क्रियाकलाप बनेका छन् । टेलिभिजन त्यति ज्यादा हेर्दैन । समाचारका लागि रेडियोभन्दा टेलिभिजन नै मन पराउँछ । रक्सी खान्छ, ज्यादा खाँदैन । कहिलेकाहीँ डान्स रेष्टुरेण्ट जान्छ ।

एकदिन एउटा डान्स रेष्टुरेण्टमा कलेज पढ्दाको साथीसँग भेट भयो ।

“के गर्दैछौ यार ?” संघर्षले सोध्यो ।

“जागिर खान्छु । सरकारी जागिरे छु ।” साथी गजक्क परेर घमण्डका साथ बोल्यो । “तिमी यतिका दिन कहाँ थियौ ? के गर्दैछौ, गाउँको हालखबर के छ ? म त आजकल गाउँ जानै भ्याउँदिन ।”

“म विदेशमा थिएँ । भर्खरै आएको हिजोआज यहीँ छु ।”

“विदेशमा ज्यादा दुःख पाइन्छ । इज्जत हुँदैन, ज्यानको माया मार्नुपर्छ भन्छन् । विदेश जान मलाई मन लागेन । यहीँ बसेर कमाए भइहाल्छ नि विदेश किन जाने ? मैले घर बनाइसके । तिमी कुनै दिन मेरो घर आऊ । म तिमीलाई मेरो घर देखाउँछु ।” उसले पिएको छ । पिउन ता संघर्षले पनि पिएको छ ।

“कुनै दिन आउँला तिम्रो घर हेर्न । कहाँ छ तिम्रो घर ?”

“बानेश्वर ।”

“जागिर खाएर काठमाण्डौमा घर बनाउन सकिन्छ भन्ने भएको भए म पनि विदेश जान्न थिएँ । इमानको पैसा कमाउन म विदेश गएको, यहाँ पैसा कमाउनका लागि इमान बेच्नु पर्छ होला हैन र ?”

“आआफ्नो विचार हो ।”

“कुन पदमा काम गर्छोै तिमी ?”

“पढ्न कहाँ सक्नु, त्यही खरिदार त हो नी तर मैले चारतले ठूलो घर बनाएको छु । तिमी छक्क पर्छौे । एक रोपनी घडेरी छ ।”

“तलब नौ, दस हजार मात्र हैन र ? तिमीलाई कसरी पुग्छ यसरी मोजमस्ती गर्न ?”

“यसरी ठाँटका साथ बस्न के पुग्नु तलबले ? मेरो बाहिरी आयस्रोत छ ।”

“व्यापार गर्छौ कि क्या हो ?”

“अरु काम गर्न कसरी भ्याउनु ? अफिसको काम नै भ्याइ न भ्याइ छ । बाहिरी स्रोत अफिसको कामबाटै निकाल्नु पर्छ ।”

“सायद तिम्रो आशय भ्रष्टाचारसँग सम्बन्धित होला ।”

“त्यस्लाई भ्रष्टाचार नभन त्यो त पक्का कमाइ हो । कर्मचारीले नियम र पालो मिचेर काम गर्नु पर्ने वातावरण छ । त्यसरी काम गर्दा सेवाग्राहीले केही सेवा शुल्क ता दिनै पर्छ नि । सेवा शुल्क दिदैनन् भने नियम अनुसार नै काम हुन्छ ।”

“नियम अनुसारका काममा पनि पैसा लाग्छ । सरकारले राजश्व लिन्छ । स्थानीय अफिसले पनि त्यही कामका लागि पैसा उठाउँछ । त्यही कामका लागि कर्मचारीलाई घूस पनि ख्वाउनु पर्छ । यसरी एउटै कामका लागि सेवाग्राहीले तीनचोटि कर तिर्नुपर्छ । यो अन्याय हो ।”

“भैगो छोड यी कुरा, यो राज्यको व्यवस्था हो । तलबले मात्र कसरी बाँच्ने कर्मचारीले । तिमी नै भन, तिमीले विदेश गएर कति कमायौ होला र ? बीस, पच्चिस लाख त्यो पनि छैन होला । तिमीलाई मोजमस्ती गर्न पैसा पुग्छ र ? यी हेर यो सबै मोजमस्तीका लागि मैले पैसा तिरेको छैन यहाँ प्रायोजकहरू छन् ।”

एउटा युवती आएर “हेल्लो सर” भनी ।

“ओ हो मैँया कहाँ हराएकी । तिमीसँग काम छ मेरो ।” उनीहरू हातमा हात समातेर हिँडे । लडखडाइ रहेको त्यो साथीलाई सहारा दिँदै युवती अगाडि बढी ।

संघर्षसँग मोजमस्ती गर्नका निम्ति अलग पैसा छैन । प्रायोजक छैनन् । ऊ उठ्यो पैसा ति¥यो र बाहिर निस्क्यो ।

——————————–0——————————

संघर्ष नरदेवी हस्पिटलबाट बिस्तारै हिँड्दै असन आइपुग्यो । अन्नपूर्णाको मन्दिर घुम्दै गरेकी एउटी युवतीलाई देख्दा कहीँ देखेको जस्तो लाग्यो तर यकिन गर्न सकेन । कहीँ न कहीँ त देखेकै हो । उसलाई सम्झनै भएन । ज्यादै अलमलमा परेपछि संघर्ष त्यो युवतीको पछि पछि लाग्यो । युवतीले पछाडि फर्केर बारम्बार हेरी । छिटो छिटो हिड्न थाली । युवती एक्लै छ भन्ने थाहा पाएपछि ऊ ज्यादै उत्साहित भयो । संघर्ष युवती पिछा गर्दै हिड्ने मान्छे होइन । कहिल्यै हिँडेको छैन यसरी तर किन किन आज लाज लागेन, डर पनि लागेन । भोटाहिटीको आकाशेपुल नाघेपछि पार्क अगाडि मान्छेको भीडभाड भएको ठाउँमा युवती उभिई । संघर्ष सरासर गएर युवतीको ठिक अगाडि उभियो ।

“मैले तपाईँलाई कहीँ भेटेको छु । के तपाईँ मलाई चिन्नुहुन्छ ।” संघर्ष नडराइ बोल्यो ।

“मलाई लाग्दैन कि तपाईँलाई मैले कहीँ भेटेको छु । यो केटीहरूसँग बोल्ने पुरानो तरिका हो । कुनै नयाँ तरिका सोच्नुहोस ।”

“हैन त्यस्तो हैन । यदि त्यस्तो प्रमाणित भए  म अग्रिम माफ माग्छु ।”

“यदि तपाईँ तुरुन्तै यहाँबाट जानु भएन भने म ठूलो स्वरले चिच्याउन पनि सक्छु ।”

“कृपया त्यसो नगर्नु होला । मलाई सोच्न दिनोस यदि त्यस्तो भएमा म तपाईँलाई कुनै हानि नोक्सानी पु¥याउने छुइन । म फेरि तपाइसँग बोल्ने पनि छुइन ।”

“तपाईँ के चाहनु हुन्छ ।” चर्को स्वरमा बोली युवती ।

“मैले तपाईँलाई नेपालमा भेटेको होइन । पक्कै पनि विदेशमा कहीँ भेटेको हुनुपर्छ । के तपाईँ हालै विदेश जानु भएको थियो ? हाम्रो भेट त्यति लामो नहुन सक्छ ।”

“मलाई याद आए जस्तो छ सायद हाम्रो भेट हवाईजहाजमा भएको थियो  तर हैन होला ।”

“हो ल हाम्रो भेट जहाजमै भएको हो । मलाई याद भयो ।”  

“तपाईँको नाम संघर्ष हुनुपर्छ ।”

“अनि तपाईँ आकांक्षा ।”

“ल हामी त पहिले पनि भेट भएका साथी रहेछौ । आउनोस् कहीँ बसेर कुरा गरौं ।” उनीहरू रेष्टुराभित्र छिरे । कफी पिए । मोबाइल नम्बर, ठेगाना साटासाट गरेर एक अर्कालाई “फोन गर्नोस है” भनेर छुट्टिए ।

——————————–0——————————

आकांक्षा र संघर्ष पार्कमा बसेर कुरा गरिरहेका छन् । चैत्रको महिना हाँगाबाट पात झर्ने समय छ । सुकेका पातहरू झरेका छन् यत्रतत्र । हावा चलिरहेको छ ।

“भविष्यको योजना के छ, आकांक्षा ?” संघर्षले सोध्यो ।

“म अक्सफोर्ड विश्वविद्यालयबाट पिएचडी गर्छु गर्छु र उतै बस्छु । अक्सफोर्ड विश्वविद्यालयमा पढाउँछु । काठमाण्डौ बस्ने विचार छैन मेरो । तिम्रो नि ?”

“म पनि पढ्ने विचार गर्दैछु । म पनि पिएचडी गर्छु तर त्यो भन्दा पहिले म काठमाण्डौमा घर बनाउन चाहन्छु । विदेश जानु पनि पैसाको लागि हो । यहीँ घरघडेरी किनेर, बेचेर पैसा कमाउन सकिन्छ ।”

“मेरो दाजु पनि घरघडेरी किन्ने बेच्ने काम गर्छ । तिमी भोलि बिहान मेरो घर आउनु । ऊसँग तिम्रो भेट गराउँला ।”

भोलिपल्ट ऊ फोन गरेर आकांक्षाको घर पुग्यो । आकांक्षाको दाईसँग घडेरीका बिषयमा कुरा भयो ।

छ महिना लाग्यो । दुई रोपनी घडेरी बैना ग¥यो । आठ आना आफूले राखेर, बाँकी बेच्यो । यसरी आकांक्षाको दाईले पनि पैसा कमायो । संघर्षले तीनतले आधुनिक, सुविधासहितको घर बनायो । बैंकमा पैसा राख्यो । यसबीच संघर्षले आकांक्षाको आमासँग आकांक्षा र आफ्नू विवाहको कुरो चलायो ।

अकांक्षाले पाँच वर्षसम्म बच्चा नजन्माउने सर्त राखी । आकांक्षाको आमाले विवाहपछि सबै ठिक हुन्छ भने पछि संघर्षले आकांक्षासँग विवाह गर्ने निधो ग¥यो । संघर्ष र आकांक्षाको विवाह हिन्दु रीतिरिवाज अनुसार भयो ।

शान्त, व्यवस्थित, रमाइलो जीवनचक्र घुम्न थाल्यो । मृत्युको भय कता पुग्यो कता ? मृत्युसँग टाढाटाढासम्म कुनै सम्बन्ध छैन । कुनै चुनौती र सामना छैन मृत्युसँग । बिर्सियो संघर्षले विदेशको दुःखभोग । बिर्सियो पोइल गएकी स्वास्नी । बिर्सियो उसले आफ्नी छोरी । आकांक्षाले पनि आफ्नू  महŒवाकाङ्क्षा बिर्सी होली ।         

क्षितिजमा लुक्न सूर्यलाइ हतार भए जस्तो लाग्दैन । क्षितिजमा लुकेर सधैका निम्ति गायव हुनु सूर्यको नियती हुँदै हैन । संघर्षले पनि कुनै हतार गरेन । क्षितिजमा लुक्नु पर्ने बाध्यताको विषयमा संघर्षलाई कुनै ज्ञान छैन ।

मृत्युले आफ्ना समाचारहरू पत्रिका, टेलिभिजन मार्फत प्रसारित गरिरह््यो । दुर्घटना भएर सडकहरूमा रम्यो । मृत्यु झाडावान्ताको रूपमा पश्चिमी नेपालमा घुम्यो । घरघरमा निर्ढुक्क बास बस्यो । संघर्षको नजिक परेन मृत्यु । बाटो काट्दा बीच सडकमा किचे पनि किचोस् भनेर संघर्षले ढिङ्ग उभिनु परेन । संघर्षले पनि कुनै वास्ता राखेन । प्रत्यक्ष, अप्रत्यक्ष वार्तालापहरू बोलेन मृत्युसँग । उसले आफूले आफैँलाई आश्वस्त पा¥यो कि ऊ पागल होइन । अवस्था र समय अनुसार मृत्युलाई महसुस गर्न सक्छ र यही कारण मृत्युसँग एकोहोरो कुरा गर्छ भन्ने कुरामा संघर्ष विश्वस्त भयो ।

पुराना सबै कुराहरू उसका निम्ति बिर्सना भए । सम्झन चाहेर पनि सम्झेन । उसको सम्झनामा केवल आकांक्षा रही । पातलो शरीर, आकर्षक नितम्ब र वक्षस्थल, उज्यालो अनुहार, मुस्कुराउँदा गजब लाग्ने उनको अनुहार मोहिनीमोह भई संघर्षका निम्ति आकांक्षा । आकांक्षा सखारै उठ्छे, खाना बनाउँछे, समयमै कलेज जान्छे । उपहारस्वरूप संघर्षले कार किनिदिएको छ । संघर्षले आकांक्षालाई कार हाँक्न पनि सिकायो । कार हाँकेर कलेज जान्छे आकांक्षा । यतिमात्र कहाँ हो र उपहार स्वरूप संघर्षले आफू बसेको घर पनि आकांक्षाको नाममा गरिदिएको छ । संघर्षको नाममा धेरै पैसा छैन । आकांक्षाको नाममा धेरै पैसा राखिदिएको छ संघर्षले । उसलाई पोइल जाने स्वास्नीको मेख मार्नु छ । यो सबै त्यसको लागि सोचेको हो । प्राप्त गर्ने बेलामा आकांक्षा भई । उसलाई लाग्दैन कि ऊ गल्ती गरिरहेको छ ।

                ऊ सधैँ पत्रिका हेर्छ । नजानिदो तरिकाले त्यो कर्मचारीे साथीको विषयमा केही खबर पत्रिकामा पाउने आशा गर्छ । यति मात्र कारणले पत्रिका हेर्छ त्यस्तो हुँदै होइन । अरु धेरै खाले समाचारका लागि पत्रिका हेर्छ । फुर्सदको समय, पत्रिका हेर्नु एउटा राम्रो बानी हो । एकदिन बिहान, चियाको समय, पत्रिका दिदै आकांक्षा बोली ।

“यो विज्ञापन हेर त एकचोटि ।”

उसले पत्रिका लिएर हे¥यो । बेलायत पठाउन सक्ने एजेन्सीको विज्ञापन थियो त्यो ।

“मैले हेरँे ।”

“तिमी चाहदैनौ कि हामी पिएचडी गरांँै, बेलायत तिरै बसोबास गरौंँ । बेलायत बसोबास नगरे पनि पिएचडी गराँैं ।”

संघर्ष झुक्किएर पनि विदेश जान चाहँदैन तर प्रत्यक्षतः बोल्यो ।

“तिम्रा कुरा सकारात्मक छन् ।”

“कुटनीतिक पाराले नबोल, तिमीले पनि स्नातकोत्तर गरेका छौ । हामी दुवैजना जांैँ । अहिलेसम्म बच्चा पनि छैनन् । पिएचडी त गर्नैपर्छ ।”

“सन्तानका विषयमा सोचे पनि हुन्छ नि ।”

“के हतार, जिन्दगी लामो छ । डाँडाकाँडा ढाक्ने गरि सन्तान उत्पादन गर्ने हैन । एउटा वा दुइटा त्यो अलि पछि पनि हुन्छ नि ।”

“कुरा ता राम्रै हो तर सन्तानको इच्छा सबैलाई हुन्छ । तिमीमा त्यो चाहना किन नभएको ?”

“सन्तानको इच्छा सबैलाई हुन्छ । मलाई पनि छ तर हतार नगरौं भन्ने मेरो भनाइ हो । म भोलि नै यो एजेन्सीमा जान्छु  ।”

“तिमी एक्लै जानु बेलायत । तिम्रो विश्वविद्यालयले छात्रवृत्तिमा पठाउँछ भनेको हैन ।”

“विश्वविद्यालयको छात्रवृत्ति पाइन्छ जस्तो छैन । मन्त्रीको सोर्स भएकाहरूले उछिन्छन् । बुóदै के हुन्छ ? म बेलुका त्यता निस्केर आउँछु ।”

“हुन्छ, म खाना पकाउँदै गरौँला ।”

“म आफैँ पकाउँछु । तिमीले खाना पकाउनु पर्दैन तर दिउँसोको खाजा अलि धेरै खानु ।”

आकांक्षा कार लिएर विश्वविद्यालय हिँडी । संघर्ष दसबजेतिर मात्र खाना खान्छ । खाना खाएर जुठो भाँडा पखाल्छ पनि ।

बेलुका सातबजेतिर आकांक्षा आइपुगी, हाँस्दै बोली ।

“मैले हामी दुवैको फाराम भरे है । कागजातहरू मलाई दिनु, म त्यस्लाई दिउँला ।”

इच्छा नभइ नभइ उसले कागजातहरू खोज्यो । संघर्ष विदेश जान चाहँदैन ।

यतिका दिनसम्म मृत्युप्रति नराखेको वास्ता आजको घटनापछि सुरु भयो । ऊ मृत्युको खोजीमा हिड्न थाल्यो । बाटो काट्दा तीब्रगतिमा आएका वाहनहरूले मारे पनि मारुन भनेर बीच सडकमा ठिङ्ग उभियो । मानिसहरूको भीडमा पस्यो । कारलाई तीब्र गतिमा हाँक्यो ।

——————————–0——————————

संघर्ष बहाना बनाएर छोरीसँग भेट्न गाउँ गयो । विद्यालय जाँदै गरेकी भूतपूर्व स्वास्नीलाई चौतारामा भेट्यो ।

“के छ तिम्रो खबर ?”

“राम्रै हो । तिम्रो नि ?”

“छोरी कहाँ छे ?”

“विद्यालय पुगिसकी होली । मैले पढाउने विद्यालय मै पढ्छे । तिमीले उसलाई नभेटेकै राम्रो ।” 

 “किन ? ऊ मेरी छोरी हो । ऊप्रति मेरो पनि जिम्मेवारी छ । म त्यो जिम्मेवारी निभाउन चाहन्छु ।”

“सक्छौ त्यो जिम्मेवारी निभाउन ।”

संघर्षले लामो सीत्कार छोड्यो ।

“सक्छौ भने लग हैनभने उसले एकजनालाई बाबा भनेर चिनेकी छ । दुईजनालाई बाबा भन्नु प¥यो भने ऊ अलमलमा पर्न सक्छे ।”

“तिमीले मप्रति गरेको फरेब, धोका र बेइमानीको परिणाम हो यो । तँलाई अपसोच हुँदैन । काठमाण्डौमा मैले चारतले ठूलो घर बनाएको छु । यस्तो नभएको भए आज त्यो घरमा तँ हुनेथिस ।

“भैगो, कुरा नगर जे भयो, त्यो हुनु नै थियो । हामी यहाँ सुखी छौँ, खुसी छौँ । मैले त्यतिखेर पनि विदेश नजाऊ यहीँ दुःख गरौला भनेकै थिएँ । दुःखले आर्जेको जीवनमा सार्थकता हुन्छ । सुखले आर्जेको जीवन भ्रमजाल हो ।”

“यो दुःखमा बाँच्नका लागि म मेरी छोरीलाई तँसँग छोड्दिन ।”

“लिएर जाऊ, म पनि चाहन्छु छोरीले सुख पाओस् ।”

“म छोरीलाई लिएर जान पनि सक्दिन । विवाह गरेको छुइन भनी ढाँटेर अर्को विवाह गरेको छु, तँैले छोडिहालिस । छोरीको पालनपोषणका निम्ति केही पैसा दिन चाहन्छु ।”

 “म त्यो पैसा लिन्न । मैले चाहेर सन्तान जन्माएकी हुँ । आज सम्म अर्को बच्चा जन्माएको छुइन । छोरीलाई मेरो कर्मले पाल्छ, त्यो पालिन्छे । तिमी चिन्ता नगर ।”

“तँइले छोरीको बुबाको नाममा कसको नाम लेखेकी छस् ।”

“तिम्रै नाम लेखेकी छु । अहिले सानै छे बुóिदन । अलिपछि उसलाई बुझाउने छु ।”

“एउटा विचार गर् । तँ पनि छोरीलाई लिएर मसँगै हिड् । कसैले थाहा पाउने छैनन्, काठमाण्डौमा राखौला ।”

“म मेरो जागिर छोडेर कहीँ जान सक्दिन । अस्थायी जागिर छ मेरो जागिर सरुवा हुन सक्दैन । आजकल म माध्यमिक कक्षामा अङ्ग्रेजी पढाइरहेकी छु । मलाई मेरो जागिर प्यारो छ । मेरो घर व्यवहारप्रति म सन्तुष्ट छु । मेरो लोग्नेसँग पनि सन्तुष्ट छु । मैले भनेका ठिक कुराहरू मान्छ ऊ । ऊसँग धेरै पैसाको चाहना छैन । तिमीले विवाह पनि गरिसकेका रैछौ ।”

“उनको विषयमा केही सोध राम्री नराम्री । ऊ विश्वविद्यालयमा पढाउँछे ।”

“विश्वविद्यालयमा पढाउने हुँदाहँुदै मसँग भेट्न किन आएको ?”

“म छोरीसँग भेट्न चाहन्छु । भेटाइ दे मलाई मेरी छोरीसँग ।”

केही सोचेर उसले शर्त राखी । “तिमीले उसलाई केही पनि दिने छैनौ चकलेट पनि । आफ्नो परिचय बुबाको रूपमा दिने छैनौे, काका भन्नेछौ । मेरो उपस्थितीमा ऊसँग तिमीले भेट्नु पर्नेछ ।”

“हुन्छ, सबै शर्तहरू मलाई स्वीकार छ । म हेर्न चाहन्छु छोरीलाई जसलाई मैले पाँच महिनाको छोडेर गएको थिएँ ।”

“ऊ सात वर्षकी भइसकी । तिमी यहीँ बस । म लिएर आउँछु उसलाई ।”

ऊ डिलमा लगभग झोक्रिएर बसिरह्यो । एकछिनपछि हात समातेर, डो¥याउँदै एउटी सानी केटी लिएर आइपुगी त्यो ।

तन्दुरुस्त, गोरी, आमा जस्तै अनुहार भएकी, फ्रक लगाएकी राम्री  छे छोरी । उसको आँखामा आँसु आयो । आँसु पुछ्दै उसले छोरी बोक्यो ।

आँखामा आँसु टिलपिल पार्दै उसले सोध्यो “नानु तिम्रो नाम के हो ?”

“संघर्शीला” उसले सुरिलो आवाजमा जवाफ दिई । संघर्षले मुन्टो बटारेर आँसु पुछ्यो । “म तिम्रो बुबा हुँ” भन्न आँटेको थियो । त्यहीबखत आमाले छोरीलाई जवर्जस्ती तानी, बोकी र फनक्क फर्केर हिँडी । बोली “मेरी छोरी मसँग खुसी छ । स्वस्थ्य छे । मैले पढेको छु । उसलाई पनि म राम्रो पढाउँछु । तिमीले चिन्ता लिनु पर्दैन ।”

उनीहरू बिस्तारै बिस्तारै टाढिदै गए । संघर्ष लुटिएको, ठगिएको, चोरिएको महसुस गर्दै एक्लै उभिरह््यो । निकैबेरसम्म उभियो । फर्केर हिँड्नका लागि उसका पाइलाहरू अगाडि बढेनन् । संघर्ष डिलमा बसेर निकैबेरसम्म रोयो । सोच्यो ‘विदेश गएर थुप्रो पैसा कमाउने महŒवाकाङ्क्षा नपालेको भए आजको यो दिन देख्नु पर्दैनथ्यो होला ।’ राधिका संघर्ष विदेश जाने कुराको विरोधी थिइ ।  ‘यहीँ केही काम गरौँ । हामी दुवैजनाले पढेका छौँ । आफ्नै देशमा गरिएको मेहनत राम्रो हुन्छ’ भन्थी । ‘विदेश गएर विदेशीको दास भएर कमाएको पैसाभन्दा स्वाभिमानले कमाएको राम्रो’ भन्थी ।

——————————–0——————————

आकांक्षाले विदेश जाने फारम भर्दा उसले कुनै विरोध गरेन । आफू विदेश जाँदा राधिकाले राखेको सोच आज संघर्षसँग छ तर प्रस्तुत भएन । आकांक्षाको महŒवाकाङ्क्षा उसको पनि महŒवाकाङ्क्षा हुनैपर्छ । उसलाई आभास भइरहेछ । आकांक्षा आधुनिक प्रेमिका, राधिका  लोग्नेलाई  मान्ने स्वास्नी । प्रेमिकाको सबै इच्छा प्रेमीले पु¥याउनु पर्छ । त्यस्तै लोग्नेको सबै इच्छा स्वास्नीले पु¥याउनु पर्छ ।

राधिकासँगको भेटपछि संघर्षको मस्तिष्कमा विभिन्न विचारहरू आउन थाले । थोरै रकमबाहेक सबै उसले आकांक्षाको नाममा राखेको छ  वा उसलाई दिएको छ । फिर्ता माग्न सक्दैन । आकांक्षासँग कामकुरा मिलाएन भने संघर्ष फुटपाथमा आउन सक्छ । राधिका जस्तै आकांक्षा पोइल जान्न भन्ने के छ ?  उसले गल्ती पो ग¥यो कि ? सबै पैसा लिएर बेलायत गई भने । संघर्षले त्योसँग बेलायत जानै पर्छ । राधिकासँगको भेटपछि मात्र आयो यो सोच पहिले किन आएन ?

‘मृत्युको घेराबन्दी हुनसक्छ या मृत्युले एम्बुस थापेको हुनसक्छ । आक्रमण गर्न सक्छ मृत्युले ।’

 

किन हो को नि ? निद्रा कम हुनथाल्योे । नौ बजे सुतेर बिहान सखारै उठ्ने बानी भएको संघर्ष १०, ११ बजे रात्रि निदाउन थाल्यो । यत्रो समय अनावश्यक कुरा सोचेर बस्न थाल्यो । के भयो, के भयो ?

“के भएको हो तिमीलाई सधैँझैँ निदाउँदैनौ त ?”

“मलाई केही भएको छैन । तिमीलाई व्यवधान पुग्यो कि कसो ?”

“ठिकै छ, समयमै निदाउनु राम्रो, अनावश्यक कुराहरू मेरो दिमागमा आउँदैनन्, म थाकेको पनि हुन्छु । दिउँसोभरि उभिएर कराउनु अनि बिहान बेलुका खाना पकाउनु, म नौ बजे तुरुन्तै निदाउँछु । तिमी पनि बिहान बेलुकै कसरत गर्ने गर ।”

“राम्रो सुझाउ ।” भोलिपल्टदेखि उसले यसै गर्न थाल्यो तर कसो कसो पहिलेपहिले जस्तो आराम सुविस्ता भएन । के भयो के भयो ? बिस्तारैबिस्तारै श्वास फेर्न पनि अप्ठ्यारो हुन थाल्यो । कहिलेकाहीँ रातै भर निद्रा नपर्ने भयो । खोक्न थाल्यो, हुरुक्कै हुनै खोकी । डाक्टरलाई देखायो, डाक्टरले औषधी दियो । निको भएन । खोकीले छाडेन ।

“तिमी रातभर नै खोक्न थाल्यौ । हुरुक्कै हुन्छौ तिमी । रातभरको व्यवधान, दिउँसोभरको कक्षा, कस्तो गा¥हो कि तिमी अर्को कोठामा सुत्छौ ?” आकांक्षाले गरेको कुरा एकदमै वास्तविक हो ।

“म तेरो सामना गर्छु आइज आइज ।” संघर्ष सानो स्वरमा बडबडायो ।

“के भन्यौ तिमीले ?” आकांक्षा चर्को स्वरमा बोली ।

“तिमीलाई भनेको हैन । ठिकै छ, म पल्लो कोठामा सुत्छु ।” तिनीहरू अलग्गिए । यो सुरुवात मात्र हो ।

छुट्टीका दिनहरू आए । उनीहरू राम्रो डाक्टरको खोजमा हिँड्न थाले । एउटा डाक्टरले भक्तपुरको क्यान्सर अस्पतालमा जँचाउने सल्लाह दिएपछि उनीहरू हँसिलो अनुहार र कुटिल मुस्कानकासाथ भक्तपुर अस्पताल पुगे ।

                उनीहरू दुवैजनाको कुटिल मुस्कानमा आ–आफ्नै फरकफरक अर्थ र कारण छन् । आकांक्षा संघर्ष मर्ने भयो भनेर मुस्कुराइरहेकी हुनसक्छे । संघर्ष मृत्युसँगको सामनाका लागि तयार हँुदैछ ।

विभिन्न परीक्षणपछि फोक्सोमा बिमिरोहरू भएको थाहा भयो । क्यान्सर भनेर किटान नगरे पनि यहाँ ओैषधी हुन नसक्ने कुरो प्रष्ट भयो । उनीहरूले सल्लाह गरे । पेैसा बोकेर बूढाबूढी भारतको मुम्बइ गए । त्यहाँ क्यान्सरको किटान भयो ।

होटलको कोठामा निदाएको बेला संघर्ष बडबडायो । “म तँसँग डराउँदिन आइज म तेरो सामना गर्छु, चुनौती दिन्छु । मलाई घेराबन्दीमा पार्, मलाई एम्बुसमा मार् । तलवारले मेरो घाँटी छिना । म तेरो डरले सेरिएर मर्दिन । आत्महत्या गर्दिन । तँलाई देखाएर म बाँच्छु, बाँच्छु ।”

आकांक्षाले घचघचाए पछि ऊ बिउँóयो ।

“तिमीलाई के भयो हँ के बोलिरहेका छौ ?”

“के भने मैले ?”

“कसैलाई चुनोैती दिइरहेका थियौ । क्यान्सर भएपछि बौलायौ कि क्या हो ? काठमाण्डौमा पनि यसरी बरबराएको सुनेकी थिएँ मैले ।”

“त्यस्तो केही हैन त्यसले मलाई फेरि घे¥यो तर म त्योसँग डराउँदिन ।”

“त्यो भनेको को हो ?”

“मृत्यु ।”

“यस्तो कुरा किन गर्छौ । औषधी हुन्छ भनेका छन तर क्यान्सर जस्तो रोग निको नहुन पनि सक्छ ।”

“त्यसले मलाई यो समय पछार्न सक्दैन । त्यसको बललाई म मेरो बुद्धिले पछार्छु ।”

“ल भैगो सुत, भोलि अस्पतालमा भर्ना हुनुपर्छ ।”

अस्पतालमा भर्ना रहेर केमोथेरापी चल्यो आठ दिनसम्म । आकांक्षाले सम्पूर्ण सहयोग निष्ठाका साथ गरी । आकांक्षामा संघर्षप्रति नकारात्मक सोच रहेको कदापि किञ्चित् पनि देखिएन ।

तीन महिनापछि आउनु भनेर अस्पतालले मँहगा ओैषधी दिएर छाड्यो । डाक्टरहरूले तीन महिनापछि मात्र केही भन्न सकिने कुरो बताए ।

उनीहरू काठमाण्डौ फर्किए । सधैँको दिनचर्या फेरि सुरु भयो । खोकी केही कम भएपछि आश जाग्यो । आकांक्षाको कलेज जान थाली । दिउँसो संघर्ष घरमा एक्लै हुन थाल्यो । छतमा निस्केर औँला र मुठी उठाउँदै मृत्युलाई चुनौती दिँदै ऊ कराउन पनि थाल्यो । छिमेकीहरूले सुनेको बेला बोैलाएछ भनेर वास्ता गरेनन् । छिमेकमा एकदम नजिक अर्को घर छैन यसकारण धेरैजना समक्ष यो कुरो पुगेन ।

 बेलायत जाने कुरा गर्न आकांक्षाले छोडिन ।

“म त्योसँग हार्दिन । त्यसलाई जितेरै छाड्छु । म पनि तिमीसँगै बेलायत जान्छु र पिएचडी गर्छु ।”

“मैले पनि आश राखेको छु ।”

छोरी भेट्ने इच्छा तीब्र भयोे तर प्रकट गर्न सकेन । महँगा औषधीले धेरै पैसा खर्च गरायो । भारतमा रहदा,बस्दा निकै पैसा खर्च भयोे ।

तीन महिना बित्यो । उनीहरू फेरि भारतको मुम्बइ पुगे । फेरि केमोथेरापि चल्यो । बिमिरोहरू थपिएर आए भन्यो । ओैषधी महँगा, निको हुने आशा न्यून भएको कुरो भयो । उनीहरू फर्किए तर संघर्ष निरास भएन । आकांक्षा निरास भई ।

संघर्ष उज्यालो अनुहार लिएर घुमिरह्यो । अनुहार निन्याउरो पारेन । मृत्युको चिन्ताले सताएन उसलाई । आकांक्षा कम बोल्न थाली । छुट्टै कोठामा सुतेदेखि नै उनीहरू बीच लामो अन्तरसम्बन्ध भएको छैन  ।

श्वास फेर्न धेरै अप्ठ्यारो भएपछि भक्तपुर क्यान्सर अस्पतालले भर्ना लियो । भर्ना गरेर, खाना लिएर आउँछु भनेर हिडेकी आकांक्षा फर्किन । संघर्ष मन मारेर बस्यो । आकांक्षासँग डाक्टरहरूले ‘केही दिन मात्र’ भनेर भनिसकेका छन् । बिरामीलाई केही भनिएको छैन । मर्नका निम्ति मान्छेसँग  आँट हुनुपर्छ । आकांक्षाको मोबाइल लाग्न छोड्यो । आकांक्षासँग कुनै पनि माध्यमद्वारा सञ्चार हुनसकेन । त्यो रात बित्यो भोलिपल्टको रात पनि । चौंथो दिन डाक्टरले यस्तो कुरा ग¥यो ।

“तपाईँको आफ्नो मान्छे को छ ?”

“मेरो आफ्नो मान्छे कोही छैन । मसँगै कुरा गर्नोस ।”

“तपाईँलाई आफ्नो रोगको विषयमा थाहा छ ?”

“मलाई आफ्नो विषयमा सबै थाहा छ । त्यसले मलाई जित्न सक्तैन ।

“तपाईँ कसको कुरो गरिरहनु भएको छ ?”

“म मृत्युको कुरो गरिरहेको छु ।”

“माफ गर्नोस् तपाईँलाई क्यान्सरले जितिसक्यो । तपाईँ धेरै दिन बाँच्नु हुन्न ज्यादा भन्दा ज्यादा एक महिना ।”

“धन्यवाद डाक्टर तपाईँ त्यस्को दूत होला ।”

“त्यसो ता मेरो काम बिरामीलाई जीवन दिनु हो, मृत्यु हैन ।”

“त्यसो हो भने जीवनका कुरा गर्नोस ।”

“म जीवनकै कुरा गर्छु । केही औषधीहरू लेखेर दिन्छु ।  औषधी खानोस घर गएर आराम गर्नुहोस् ।”

“म तयार छु । अस्पताल त्यसको वासस्थान हो । त्यसको वासस्थानमा बस्न चाहन्न म ।” अस्पतालबाट निस्केपछि संघर्षले पर्स हे¥यो । ऊसँग पाँचसय रुपैयाँ रैछ । संघर्ष दिउँसो घर पुग्यो । घण्टी बजायो । निकैबेर पछि ढोका खुल्यो । कुनै अपरिचित लोग्नेमान्छेले ढोका खोल्यो ।

“कसलाई खोज्नु भएको ?”

के भनोै के नभनौ भयो ? ‘के सोध्ने ? या ठाडैभित्र छिर्ने आफ्नै घर हो । को हो यो मान्छे ? मलाई नै कसलाई खोज्नु भएको भनेर सोध्छ । कस्तो अप्ठ्यारो स्थिति सृजना भयो यहाँ ।’

“आकांक्षा” उसको ओठहरू अकस्मात् कामे । ओठहरू काम्दा आवाजहरू फुत्किए ।

“उहाँ त एक घण्टा अगाडिको जहाजबाट बेलायत उड्नु भयो ।” कुनै नौलो कुरो हो जस्तो लागेन । खबर गरेकी भए राम्रो हुन्थ्यो जस्तो लाग्यो । ‘मैले रोक्छु भनेर खबर नगरेकी होली ।’

“यो मेरो घर हो । तपाईँहरू को हो ?” ऊ ठूलै स्वरमा बोल्यो ।

“यो घर आकांक्षाबैनीबाट मैले किनेका हुँ । म तपाईँलाई स्वागत गर्न सक्दिन, म तपाईँलाई चिन्दिन ।”

संघर्षका खुट्टा लरबराएनन् । ज्यादा बोल्न चाहेन । ‘यो हुनु नै थियो’ सोच्यो, तुरुन्तै फर्कियो । उसले अनौठो मानेन । यो सबै घटनाको अनुमान संघर्षलाई धेरै पहिला देखि नै थियो ।

“यो त्यसको घेराबन्दी हो । त्यसको घेराबन्दी तोड्नै पर्छ ।” भक्तपुरै फर्किदै जाँदा बाटाभरि ज्यादा तापमानको बिरामी जस्तो बरबराइरह्यो । त्यो रात एउटा सत्तलमा भोकै बितायो ।

आकांक्षाको घरमा फोन ग¥यो । आमालाई भेटिएन । आमा तीर्थ घुम्न गएकी रहेछिन् । आमा भएकी भए यस्तो हुन सक्तैनथ्यो । दाजुले बाङ्गो कुरो ग¥यो । आकांक्षासँग मिलेको हँुदो हो ।

“अब तपाईँले मुद्दामामिला खेप्न सक्नुहुन्न । तपाईँसँग मुस्किलले २५ दिन बाँकी होला । मलाई पनि थाहै भएन । आकांक्षाले घर बेचिछ । उसलाई मैले जहाज चढाएँ । उनीहरू दुईजना छन् । उनीहरूको चिन्ता नगर्नु भए हुन्छ ।”

“आकांक्षा अर्कैसँग हिँडेकी हो, पोइल गएकी हो ?”

“मलाई त त्यस्तै लाग्यो । नहुन पनि सक्छ ।”

आकांक्षाको कुरा सकियो । संघर्षको नाममा रहेको पैसा समाप्त भइसकेको छ । आकांक्षाको बैंक खाताका विषयमा केही थाहा भएन । ‘कार के गरी उसले ? घर बेचेको पैसा बोकेर बेलायत उडेका होलान् ।’

संघर्ष फुटपाथमा आयो । नातासम्बन्धीसँग सम्पर्क गर्न मनले मानेन । दरबार क्षेत्रमा मागेर हिड्न थाल्यो, बोल्दैन, हात पसार्छ । कसैकसैले हातमा पैसा हाल्दिन्छन् । एउटा झोला बोकेको छ । त्यसमा आफ्ना भएभरका मेडिकल रिपोर्टहरू राख्न बिर्सेको छैन ।

भक्तपुर दरबारक्षेत्रमा सुरुका दिन सजिला भएनन् । दरबारक्षेत्रभित्र माग्ने काम गरेर बसिरहेकाहरूको डाँटडपेट, धम्की र गाली सहनु, सुन्नु प¥यो । तिनीहरू अरुसँग पैसा, खानेकुरा वा लुगाफाटा माग्नुलाई काम नै ठान्छन् । एक किसिमको पेसा जसको माध्यम उनीहरूको जीविकोपार्जन हुन्छ । तिनीहरूले संघर्षलाई कुटे तर पनि ऊ टिकिरह्यो । ऊ टिकिरहनु पछाडिको मुख्य आधार यो पनि हो कि ऊ विदेशीहरूसँग अङ्ग्रेजीमा कुरा गर्न सक्छ । संघर्ष विदेशीहरूसँग अङ्ग्रेजीमा दोहोरो वार्तालाप गर्छ । अरु माग्नेहरू पनि अङ्ग्रेजीका शव्दहरू बोल्छन् तर दोहोरो वार्तालाप गर्न सक्दैनन्् । हात पसारेर माग्ने कामका साथ मौका परेको बेलाबखत गाइडको काम पनि गर्छ, संघर्ष ।  दुत्कार सह्या,े गालीगलौज पनि तर भाषाका कारण धेरै विदेशीले उसलाई माया पनि गरे । २५, ३० रुपैयाँ भएको दिन ऊ ज्यादै खुसी हुन्छ । कहिलेकाहीँ त दुईतीनसय रुपैयाँ पनि हुन्छ । होटलमा मासुभात खान्छ त्यो दिन । सत्तलमा सुत्नु सुरक्षित छैन । रक्सी खाएर मातेकाहरूले राति आएर ‘बौला’ भन्दै तथानाम भन्छन्, कुट्छन् पनि । उसले कसैलाई धम्काएन, कुटेन पनि । मान्छेहरुको कुरै नगराँै मृत्युसँग नडराउने संघर्ष आज विवश, बाध्य र मजबुर छ ।

पागल जस्तो बोल्न छोडेन । जति नै कमजोर अवस्था भए पनि एउटा अदृश्य शक्तिलाई चुनौेती दिन र त्यसलाई धम्काउन छोडेन । मृत्युसँग उसको द्वन्द्व कायमै रह््यो । यति कमजोर र जर्जर भइसकेको छ कि अब ता मृत्युलाई चुनौती दिँदा निधारमा चिटचिट पसिना आउँछ ।

रातभर खोक्दा श्वास फेर्न असजिलो भएको भयै छ । ओैषधीहरू खान छोड्यो । बिहान, बेलुका खान पनि मुस्किल परेको बेला ओैषधी कहाँबाट किनोस् । कुनै चिन्ता र सोच नलिने मान्छे हो ऊ तर हिजोआज धेरै सोच्छ । पिर चिन्ता छैन । ‘मरे पनि मरु ।’ छोरीको पनि चिन्ता लिदैन । ठूली भएपछि एकचोटि मात्र देखेकी छोरीको के चिन्ता । उसका सोचहरू विदेश सम्बन्धमा नै छन् । ऊ आफ्नो जीवनको अनौठो भ्रमजाल फुकाउन चाहन्छ ।

                जीवनको अन्तिम समयमा कुनै पनि कोणबाट संघर्षले जीवनको अर्थ जान्न चाहेन । जीवनको उत्कृष्ट समय होस् वा ज्यादै दुर्भाग्यपूर्ण कदापि उसले दार्शनिक बन्ने चाहना राखेन । साँझ बिहानका सामान्य सोचहरुलाई कसैले दर्शन ठान्छ भने उसँग यसको जवाफ छैन । मलेशियाको होटलमा भएको त्यो हत्याकाण्ड कसले घटाएको हुनसक्छ भनेर सोच्छ प्रायः । उसको निम्ति कौतूहलको विषय हो यो । राति सेलमा आउने त्यो आइमाई को हो ? ती समयले लुकाएका धेरै रहस्यहरू जान्न चाहन्छ ऊ । ‘अचेतन मस्तिष्कमा रहेका यी भ्रम र जीवनजालकै कारण मलाई क्यान्सर भएको हुनुपर्छ ।’ यो बेइमान सोच हो । सोचका कारण क्यान्सर हँुदैन । उसले जान्न चाहेको कुरा यो हो कि उसको ब्याग मृतकको कोठामा कसरी पुग्यो ? कसले फसायो उसलाई ?

आकांक्षाको विषयमा सोच्दैन ऊ । आकांक्षाले दिएको धोकाका कारण कुनै सोच उत्पन्न भएका छैनन् । आकांक्षाको महŒवाकाङ्क्षासामु दुनियाँका कुनै पनि विषयवस्तुले कुनै महŒव राखेनन् भनेर बुóन उसलाई धेरै समय लागेन् । आफ्नैँ महŒवाकाङ्क्षालाई त्यागेर, मर्न लागेको लोग्ने रुँगेर के बस्थी त्यो ? त्यस्तो लोग्ने जसबाट छोराछोरी जन्माउन चाहिन, छोराछोरी जन्माइन । एउटै गुनासो के रह्यो भने घर नबेचेको वा सल्लाह गरेर गएको भए राम्रो हुन्थ्यो । अर्को लोग्नेमान्छेसँग बेलायत गई भन्ने पनि कुनै गुनासो रहेन । संघर्षसँग विवाह हुनु अगावै आकांक्षाको कुनै लाग्नेमान्छे थियो होला वा विदेशमा त्यसले लोग्नेमान्छेको साथ चाहेकी होला ।

——————————–0——————————

हिजो, अस्ति बितिगए । समय बितिरह्यो । जीवनका निराश, नीरस र भविष्यविहीन अवस्थामा पनि संघर्षले मृत्युविरुद्धको लडाइँमा आत्मसमर्पण गरेन । 

एकदिन अचानक संघर्षको अगाडि छोरी र राधिका परे । उसले हात पसारेको मात्र के थियो राधिकालाई चिन्यो, हात तान्यो । राधिका र संघर्षका आँखाहरू जुधे । राधिकाको अनुहारबाट आँखा हटाएर छोरीतिर हे¥यो । छोरी नै हो, अरु कुनै केटी हैन । जिन्सको पाइन्ट भेष्ट लगाएर घरेलु केटीको सिगाँरपटारमा सजेकी छे ऊ । बोक्ने उमेरकी पनि रहिन, कसरी माया गर्ने ? संघर्षले अगाडि बढेर छोरीको हात समात्यो । डरले कहालिई केटी, नचिनेको पागल जस्तो माग्नेले हात समात्नु डरलाग्दो कुरो हो । सबैले ऊतिर हेरे । एउटा केटो मुठी कस्दै बोल्यो ।

“यो पागलले यो बैनीको हात समात्यो । यसलाई कुट्नु पर्छ ।”

“हैन हैन, केही पनि भएको छैन तपाईँहरू आआफ्नो बाटो जानोस् ।” राधिका केही हुन्छ कि भन्ने आशंकाले हतारिदै बोली ।

“यो बौलाहाले मेरो हात समात्यो मम्मी ।”

“छोरी जस्तो लागेर माया गरेको होला तपाईँहरू जानोस यो मान्छेलाई चिन्छु म ।”

“तपाईँ यसलाई चिन्नुहुन्छ भने ठिकै छ नत्र … … ।” त्यो केटो संघर्षलाई धम्काउँदै आफ्नो बाटो लाग्यो । सबैजना आआफ्नो बाटो लागे ।

“छोरी तिमीले डराउनु पर्दैन अगाडि हिँड ।” छोरीलाई अगाडि लगाएर राधिका र संघर्ष सँगसँगै हिड्न लागे ।

“कहाँ हिँडेकी तिमी ?” संघर्ष बोल्यो ।

“हाम्रो डेरा हिँड ।”

“तिम्रो डेरा जान्न म ।”

“किन ?”

“मसँग जवाफ छैन ।”

उनीहरू दरबारक्षेत्रबाट बाहिर निस्के । पोखरीको छेउमा रहेको एउटा चोैतारा जस्तो ठाउँमा बसे ।

“यस्तो पागल, बौलाहासँग कुरा गर्न डर लाग्दैन मम्मी ।”

“तिमी चिन्ता नलिय, नआत्तिय । यिनले तिमीलाई मलाई केही गर्ने छैनन् ।”

“हलक्क बढी छ छोरी ।” सानो स्वरमा बोल्यो संघर्ष ।

“अँ, राम्रो पढ्छे । कक्षामा पहिला हुन्छे । म काठमाण्डौ सरुवा गराएर काठमाण्डौमा बस्न थालेकी छु । म स्थायी भइसके । सुरेसले अधिकृतमा लोक सेवा पास ग¥यो । पहाडको सम्पत्ति बेचेर अनि जम्मा गरेको पैसा मिलाएर हामीले काठमाण्डौमा घडेरी किनिसकेका छौ । बिस्तारै घर बनाउनु पर्ला । यस्तै हुन यी कुरा, तिम्रो हालत यस्तो कसरी भयो ?”

“मलाई क्यान्सर भयो ।”

“तिम्री स्वास्नी ?”

“त्यो बेलायत गई, पिएचडी गर्न ।”

“थुप्रै सम्पत्ति कमाए भन्थ्योै, सबै कुरा मात्र हुन त ?”

“मैले तिमीसँग गरेका कुरा हावा थिएनन् । बैंकमा भएको केही पैसा यो रोगको उपचारमा सकियोे । मलाई बेवारिसे छोडेर, थाहै नदिइ सबै जायजेथा कुम्ल्याएर, धोका दिएर त्यो बेलायत गई । म फुटपाथमा आएँ । माग्ने भए ।”

“के गर्छोै अब ?”

“के गर्नु, मर्छु अब ।”

“मैले छोरीलाई बुबा चिनाउँछु भनेकी थिएँ । के म अब छोरीलाई तिम्रो परिचय दिऊँ ?”

“यो अवस्थाको बाउलाई देखेर उसले के सोच्ली । छोरीसँग परिचय गर्नका निम्ति अरु कुनै मौका मिल्छ जस्तो छैन । के गर्ने ? तिमी नै भन ।”

“म पनि असमञ्जसमा परे के गरौँ, के नगरांैँ ? जे सुकै होस् तिम्रो विषयमा सबै कुरा म पछि उसलाई सबिस्तार बताउँला ।”

अलि पर बसेर बदाम र सुन्तला खाइरहेकी छोरीलाई राधिकाले नजिक बोलाई । राधिका छोरीसँग बिस्तारै बोली ।

“उहाँले तिम्रो हात किन समातेको तिमीलाई थाहा छ ?”

“पागल भएर होला, मम्मी तपाईँ एउटा पागल मान्छेसँग यति लामो कुराकानी गर्न कसरी सक्नुहुन्छ ?”

“तिमी विश्वास गर उहाँ पागल हैन । वहाँ बिरामी हुनुहुन्छ । तिमी डर नमान वहाँले तिमीलाई केही पनि गर्नुहुन्न ।”

“के बिरामी, मानसिक बिरामी ।” छोरी अलिकती नरम भई ।

“त्यो होइन । मानसिक बिरामी होइन । वहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । वहाँलाई आफ्ना सबैले धोका दिए । रोगको उपचारमा सबै पैसा सिद्धियो । वहाँ धेरै धनी हुनुहुन्थ्यो ।”

“तपाईँ वहाँको विषयमा यति धेरै कसरी जान्नुहुन्छ ।”

“म वहाँलाई १२, १३ वर्ष पहिलेदेखि नै चिन्छु । असल मान्छे हुनुहुन्छ वहाँ । असल मान्छेसँग तिमीले पनि असल व्यवहार गर्नुपर्छ ।”

“मेरो हात किन समातेको त ?”

“तिमी वहाँकी छोरी हौ ।” संघर्षको आँखामा आँसुहरू देखा परे । आफूलाई थाम्न उसलाई गा¥हो प¥यो । आफूूलाई थाम्ने प्रयासमा घुक्कको आवाज फुत्क्यो । उसका सजल नेत्रले छोरीलाई हेरिरह्यो । माया, ममताका भावहरू अनुहारमा छरपष्टिएका छन् । यदि कुनै भावको अभाव छ भने त्यो कर्तव्य हो अरु सबै खाले भावहरू छन् अनुहारमा ।

केटी छक्क परी । यी सबै कुरा उसको निम्ति अप्रत्याशित रह्यो । के बोल्ने ? के नबोल्ने वा के गर्ने ? भन्ने अलमलमा परेर आँखा निहु¥याई, भुइँ हेर्न थाली ।

“वहाँको जीवन, अब धेरै दिन बाँकी छैन छोरी । तिमीले आफूलाई जन्म दिने बाउलाई चिन्नु पर्छ । वहाँ तिमीलाई भेट्न चार वर्ष अघि पनि आउनु भएको थियो । तिमीलाई सम्झना छ कि छैन ?”

“म तिम्रो बुबा हँु ।” संघर्ष बोल्यो ।

केटी केही पनि बोलिन । बाउको अनुहार हेरिरहन पनि सकिन । ज्यादै थोरै समय, थोरै पटक उसले बाउको अनुहार हेरी । संघर्षले छोरीको निधारमा म्वाइँ खायो । संघर्षको आँखाबाट आँसु झरिरहे । उसलाई आँसु थाम्न गा¥हो भयो । मर्नुपर्दाको ठूलो चोट संघर्षलाई यतिखेर दुख्यो ।  छोरीसँगको बिछोड उसलाई यतिखेर पोल्यो । यो भन्दा अगाडि उसलाई छोरीप्रतिको माया, ममताले कहिल्यै दुखेको थिएन । कहिल्यै पोलेको थिएन । यो बिछोड सहन उसलाई अति नै गा¥हो लाग्यो । हैनभने सजिलै मरिदिन्थ्यो संघर्ष ।

तिनीहरू बीचको वातावरण करुणामय बन्यो । छोरी पनि रुन सक्ने सम्भावना देखे पछि राधिका उठी ।

“अब हामीले जानुपर्छ । तिमी संघर्शीला, तिम्रो बुबाको नाम संघर्ष ।”

केटी उठिन । संघर्षले छोरीलाई नजिक तानेर आफूसँगै राख्यो । यस्तो लाग्यो मानौँ ऊ छोरीलाई आफूसँग राख्न चाहन्छ । केटी पनि बुबासँग बस्न चाहेको जस्तो छ ।

“हिँड ।” राधिकाले हात समातेर तानी ।

“कुनै उपाय भए राम्रो हुन्थ्यो कि तिम्रो मृत्युको सूचना शीलासम्म आइपुगोस । तिमीप्रति उसको केही उत्तरदायित्व बन्छ ।”

“मैले ऊप्रतिको कुनै उत्तरदायित्व निभाइन ।

“म तिमीलाई उसको मोबाइल नम्बर दिन्छु । म केही सहयोग गर्न सक्छु भने भन मसँग ज्यादा पैसा छैन । ल यो पैसा लिइराख ।” राधिकाले हजारको दुई ओटा नोट दिई । संघर्षले इन्कार गर्न सकेन, लियो । संघर्ष माग्ने हो, राधिका सामु संघर्षले हात पसारेर भीख मागेकै हो । संघर्षले स्वीका¥यो आफ्नो अवस्था, आफ्नो वर्तमान । 

झोलाबाट सानो कागज निकालेर छोरीलाई दियो । छोरीको सानो कोमल हातले राम्रा अक्षरमा मोवाइल नम्बर र नाम लेख्यो ।

“तपाईँ हामीसँग जाने हैन र ?” छोरी बोली ।

“तिमी जाऊ, म यहीँ बस्छु ।” बाउ छोरीको बोलचाल भयो ।

अलिकति रिसाउँदै राधिकाले छोरीलाई तानी । मोडले नछेकुन्जेल बारबार फर्केर केटीले संघर्षलाई हेरिरही । संघर्षका आँखाबाट बलिन्द्र धारा आँसु झरे । ऊ आवाजसहित रोयो । बेलुकासम्म रोएरै बस्यो । देख्नेले ‘यो पागल रुन पनि जान्दो रहेछ’ भने । त्यो रात संघर्षलाई राम्ररी निद्रा परेन ।

——————————–0——————————

बिस्केट जात्राको अन्तिम दिन स्थानीय बासिन्दाहरूले पागल जस्तो देखिने मान्छेलाई सत्तलमा बेहोस भेटे । सत्तल अगाडि तरकारी बेच्न बस्ने न्हुछेरत्नले एम्बुलेन्स बोलायोे । एम्बुलेन्सले बेहोस माग्नेलाई क्यान्सर अस्पताल पु¥यायो ।

इमर्जेन्सीमा आज विदेशी डाक्टरहरू पनि छन् । नर्सले झोलाबाट कागजपत्र निकालेर डाक्टरलाई दिई । मुम्बइ अस्पतालको कागजहरू पनि छन् । विदेशी डाक्टरहरूले ती कागजहरू राम्ररी अध्ययन गरे । विदेशी महिला डाक्टरले सोधी ।

“यो बिरामीको आफ्नो मान्छे कोही छैन ?”

“छैन, पहिले पनि यो बिरामी यहाँ भर्ना भएको थियो । त्यतिखेर एउटा आइमाई मान्छे आउँथी तर पछि त्यो पनि आउन छोडी ।” नर्स बोली ।

“म यो बिरामीलाई चिन्छु ।”

“कसरी ?” अर्को डाक्टरले सोध्यो ।

“केही वर्ष अगाडि संघर्ष मलेशियामा थियो । मैले धेरैचोटि उसको स्वास्थ्य परीक्षण गरेकी छु । त्यतिखेर, कहिल्यै पनि बिरामी नहुने खालको हृष्टपुष्ट, निरोगी थियो संघर्ष । आज ऊ बेहोस छ, क्यान्सरको अन्तिम चरण जस्तो छ । क्यान्सरकै कारण ऊ बेहोस भएको हुनुपर्छ । लाग्छ, धेरै दिन छैन ऊसँग । यो बिरामीका निम्ति केही निर्णय लिने हो भने तुरुन्तै लिइनुपर्छ ।”

क्यान्सर सम्बन्धि सबै खाले परीक्षण सुरु भयो । बेलुकासम्म अस्पतालमा उपलब्ध सबै खाले परीक्षणको रिर्पाेट आयो । महिला डाक्टर जो वास्तवमा जेलकी डाक्टर एनी हो । विदेशी डाक्टरहरु बसेर तीनजना क्यान्सरका बिरामीका निम्ति विशेष निर्णय लिए । एनीले सबै व्यवस्थाहरू मिलाई ।

——————————–0——————————

अस्पतालको कोठा, उक्केको प्लाष्टर, उडेको रङ्ग, पुरानो बेड, मैलो तन्ना, मैलो कम्बल, औषधी र फिनेलको गन्ध, संघर्ष रहेको कोठामा तीनओटा बेड खाली छन् । ऊ एउटा बेडमा सुतेको छ । ख्याउटे, दारी र जुँगा बढेका, लगभग हड्डी मात्र बाँकी रहेको शरीर, पुराना झुत्रे कपडा, एउटा झोला, मृत्युको मुखमा पुगेको क्यान्सरको एउटा बिरामी, अन्तिम श्वासको प्रतिक्षामा मूच्र्छित मान्छे, संघर्ष ।

एनी संघर्ष भएको कोठा अगाडि आई, ढोकामा उभिई । ऊ संघर्षसँग कुरा गर्न चाहन्छे । भित्र जौँ कि नजौँ ? भन्ने अन्यौलपूर्ण सोच सौच्दै  ढोकामै उभिई । 

“ऐ भित्र आउने हैन त्यहीँ उभियेस् ।” मुच्र्छाकै अवस्थामा संघर्षलाई लाग्यो कोही ढोकामा आएर उभियो । औंला उठाएर सस्वर करायो ।

दिउँसोको समय सबै सामान्य र शान्त छ ।

“तँ किन आएको यहाँ ?” संघर्ष मध्यम आवाजमा बोल्योे ।

“… … … … ” एनी बोलिन, ऊ अलमलिई, यो सम्बोधन उसलाई गरिएको हो वा होइन । उसलाई लागेन कि संघर्ष दोहोरो कुरा गर्न सक्न्ो अवस्थामा छ ।

“तैँले मलाई लान सक्दैनस् । मलाई लानका निम्ति तैँले मेरो सामना गर्नुपर्छ । तँ मृत्यु नै होस् भन्ने के प्रमाण छ ।” संघर्ष बौलाह जस्तो करायो ।

“… … ” संघर्ष चेतन अवस्थामा नभएका कारण एनीले भित्र पसेर कुरा गर्ने विचार त्यागी । ऊ चुपचाप त्यहीँ उभिरही ।

“यसरी नहासेस् तँ । मेरो खिल्ली नउडायेस् । म तँसँग हारिसकेको अवस्था हैन । तेरो हाँसोको जवाफमा म पनि हाँस्न सक्छु ।” संघर्ष खित्का छोडेर हाँस्यो ।

“… … ” भित्र जानुपर्ला भन्ने सोचेर एनीले खुट्टा उठाई ।

“ऐ कोठाभित्र खुट्टा नराखेस् । तेरो स्थान त्यहीँ हो ढोका बाहिर त्यो भन्दा अगाडि नबढेस् ।” 

“… … … …” उठेको खुट्टा यथास्थानमै फर्कियो ।

“म तेरो मृत्यु हुँ याद राखेस् । मैले तेरो अनेक रूपहरूलाई जितेको छु । मारेको छु तँलाई ।” संघर्षले हात हल्लायो ।

“… … … …” ढोकामा उभिएकी विदेशी महिलाले चारैतिर हेरी । नजिकै कोही पनि छैन ।

“म तँलाई राम्ररी चिन्छु । म जन्मेदेखि, त्यो पनि हैन म गर्भमा हुँदा देखि नै तँ मेरो पिछा गरिरहेको छस् ।”

“… … … …” त्यो महिला बोल्न चाही तर सकिन ।

“के अरे के भनिस् तँैले । तँ त्यो होटलमा भेटिएकी मद्वारा आवारा, छाडा भनिएकी केटी होस् ।”

“… … … …” ढोकामा उभिएकी विदेशी महिला कुटिल भावले मुस्कुराई ।

“तँलाई याद छ भने के गर्छस् । आज पनि म तँलाई जित्छु जित्छु ।”

“… … … …” तुरुन्तै एनीको अनुहार कालो  भयो ।

“तँ मसँग सुतेको छस् अरे ।”

“… …” अचानक त्यही अनुहार उज्यालो भयो । त्यो मुस्कुराई ।

“सेलमा राति आउने आइमाई तैँ होस् । हैन तँ हुदै होइनस् तँैले गफ गरिस् ।”

“… … … …” एनीको आँखामा अश्लील सन्तुष्टि देखाप¥यो ।

“तँ फोहोर सङ्कलन गर्ने आइमाई होस् जसलाई मैले ज्यानमाराको तालिम दिएको थिएँ ।”

“… … … …” ढुक्क भएर त्यसले लामो श्वास तानी ।

“मलाई पछि मात्र अनुमान भयो । मैले मेरै मृत्युलाई, मैलाई मार्न तालिम दिएछु तर म तेरो गुरु हुँ । अझै पनि तैँले मलाई जित्न सक्दैनस् ।”

“… … ” कोठाभित्र हेरिरहेकी त्यो महिलाका खुट्टाहरू कामे ।

“तँ ढोकामै उभियेस् ।”

“… … ” त्यसलाई त्यहाँ उभिरहन गा¥हो महसुस भयो । एनी केही बडबडाउन थाली ।

“म तँलाई केही पनि मद्दत गर्न सक्दिन ।”

“… … … …” त्यसले मद्दत माग्नुपर्लाझैँ गरी ।

“होटेलमा त्यो मान्छेको हत्या कसले ग¥यो ?”

“… … … …”

“तैँले गरिस् त्यो हत्या ।”

“… … … …”

“तैँले फसाएको होस् मलाई ।”

“… … … …” त्यसका ओठहरू एकआपसमा टाँसिए ।

“मृत्युमञ्चमा त्यो जल्लादलाई मारे जस्तै म तँलाई पनि मार्न सक्छु । तँलाई थाहा छ मलाई कसले फसायो ? म विरुद्ध सारा षडयन्त्र तेरो । अब भन् तेरो प्रतिनिधि पात्र को ? ”

“… ..” एनी हतारमा देखिई । ऊ डराएकी जस्तो पनि भान भयो ।

“म तेरो कुरो पत्याउँछु भन्ठानेको ।”

“… … … …”

“तँ भित्र नआयेस् । एकदिन म तँलाई झुन्ड्याउनेछु पासोमा । म तँलाई मृत्युदण्ड दिन चाहन्छु । तँ हत्यारा होस्, ज्यानमारा ।”

“… … … …” ऊ अत्तालिएर फनक्क फर्की ।

“ज्यादा बढ्ता कुरा नगर मलाई निद्रा लागिरहेछ ।”

                एनीले सबै कुरा सुनी । उसको अनुहारमा गम्भीर भावहरू आए, गए । वार्तालापको मध्यभागमा चिन्तित देखिएको एनीको अनुहार चिन्ताविहीन उज्यालो भयो । मान्छेहरूको आवत जावत सुरु भएपछि एनी बिस्तारै टहल्दै अफिसकोठातिर हिँडी ।

संघर्ष निकैबेर केही बोलेन । ऊ निदायो । सारा वार्तालाप मूच्र्छित अवस्थामा आवाजका साथ सम्पन्न भयो । मनभित्र गडेर बसेका सोचहरू मुच्र्छा अवस्थामा बाहिर निस्के । अर्धचेतन अवस्थामा उसले एउटा मात्र भए पनि भ्रमजाल फुकायो तर के यो सत्य हो ? पुष्टि हुन बाँकी नै रह्यो । ढोकामा मृत्यु आएर उभिएकै हो र ? मानिसले मृत्यु देख्न सक्छ र ? माथि उल्लेखित एकतर्फी वार्ता सत्य हो र ? मृत्युसामु नझुक्ने संघर्षको व्यवहारमा कहीँ कतै झूट वा धोका ता छैन ? तर जीवनप्रति सकारात्मक छ संघर्ष । यो आत्मबलले उसलाई बँचाउन सक्छ ।

एनीसहित डाक्टरको समूह आएर उसको स्वास्थ्य परीक्षण गरे । कम भएको ब्लडप्रेसर एकदमै ठिक रहेको पाए । पिसाव, मुटुको धड्कन सबै ठिक एकदम स्वस्थ्य तर श्वासप्रश्वासमा समस्या छ । होस पनि फिरेको पाइयो । ग्लुकोज दिइयो, भिटामिन पनि हालियो स्लाइनमा । उनीहरूले बिरामी केही दिन बाँच्न सक्ने सम्भावना निक्लेको अठोट गरे । डाक्टरहरू गएको एकछिनपछि संघर्ष फेरि चिच्यायो ।

“तँ किन गइनस् यहाँबाट ।”

… … … …

“मलाई लिन फेरि कुनैदिन आइज, आज हैन ।”

… … … …

“तेरो संसारमा मेरो यकिन छैन । म मेरै संसारको जीवनजालमा रम्न चाहन्छु । भित्र नआयेस्, तँ मलाई छुन सक्दैनस् । तैँले छुन खोजिस् भने म तेरा आंँैला काटिदिन्छु । यस्तो अवस्थामा पनि म तँलाई देखिरहेको छु । म यो अवस्थामा नहुने हो भने तँ मेरो ढोकामा आएर उभिन सक्दैन थिस् । आँखा चिम्लेर पनि म तँलाई देखिरहेको छु । मेरो श्वास, रगत, मुटु, आवाज, कान, मृगौेला सबै साबुत, दुरुस्त छन् । तँैले बेकारमा मलाई दुःख दिइरहेको छस् । ब्रम्हाण्डमा कुनै त्यस्तो क्षण आउने छैन जतिखेर तैँले यो धरती, पृथ्वीमा जीवनको सम्पूर्णता विनास गर्नेछस् । त्यो दिन कुनै पात्रोमा उल्लेख छैन । अनावश्यक किसिमले तँ यत्रतत्र घुमिरहेको छस् ।”

… … … …

“बेअर्थको प्रयास छोड्दे यसैमा तेरो भलाइ छ ।”

संघर्ष बोल्न छोड्यो । अनुहारमा चमक देखाप¥यो । आँखा खुल्यो । आफूलाई अस्पतालको ओछ््यानमा पाउँदा उसलाई अघिल्लो रात खोक्दा खोक्दै सत्तलमा बेहोस भएको सम्झना आयो । अहिले भर्खर भएको कुराकानी केही पनि याद छैन संघर्षलाई । बेहोस अवस्थामा कराएको हुनुपर्छ । होस आएको थाहा भएपछि नर्सहरूले उसलाई फलफुल दिए ।

“तपाईँलाई विदेशी डाक्टरहरूले हेर्दै हुनुहुन्छ । तपाईँले चिनेको हुनुपर्छ त्यो विदेशी महिला डाक्टरलाई ।”

विदेशी डाक्टरले चिनेको बिरामी भएपछि विशेष सेवा, सुबिधा, ख्याल दिन थालियो । उसलाई अचम्म लाग्यो “को विदेशी डाक्टर ?” एकछिनपछि डाक्टरहरू आइपुगे । उसले महिला डाक्टरलाई राम्ररी नियालेर हे¥यो ।

“मलाई चिन्यौ ।” एनीले सोधी ।

“चिने” संघर्ष बोल्यो । उसले चिन्यो पनि । उनीहरू एकरात सँगै सुतेका थिए । लगभग तीन वर्ष एकै ठाउँमा काम गरेका थिए । अङ्ग्रेजीमा उनीहरूको वार्तालाप सुरु भयो ।

“कुनै दिन अति तन्दुरुस्त मान्छे भनेकी थियौ तिमीले । आज हेर मेरो अवस्था । सायद म जीवनको अन्तिम अवस्थामा छु ।”

“तिमी नआत्तिय, सबै ठिक हुन्छ । हामी अन्तिम अवस्थासम्म कोसिस छोड्दैनौे । तिमी प्रशस्त आत्मबल भएको मान्छे हौ, मलाई राम्ररी थाहा छ । तिम्रो आत्मबल र हाम्रो प्रयासले तिमीलाई बँचाउने छ ।”

“म अन्तिम समयसम्म हार्दिन, हारेपछि अर्कै कुरा । नहारुञ्जेल म जित्ने प्रयासमा हुन्छु ।”

“तिम्रो आफ्नो मान्छे कोही छैन ?”

“किन ?”

“केही कागजहरूमा दस्तखत गर्नुछ ।”

उसले छोरीलाई सम्óयो । राधिका र छोरीलाई दुःख दिन चाहेन उसले ।

“मेरो कोही पनि छैन । सबैका लागि म मरिसकेको मान्छे हँु । को आउँछ मेरो निम्ति ? खै, तिमी कसरी आइपुग्यौ ।”

“मैले दस्तखत गर्न मिल्दैन । दस्तखत गरेको खण्डमा मैले सर्जरीमा भाग लिन पाउँदिन ।”

“के हुनसक्ला र ? सबैले केही दिनको पाहुना भनेका छन् ।”

“त्यसो नभन हामीले बिहानैदेखि औषधी सुरु गरिसकेका छाँै । अब तिमीलाई खोकीले बेहोस बनाउँदैन । श्वास फेर्न पनि तिमीलाई पहिलोको भन्दा केही सजिलो महसुस भएकै होला । हामी औषधी गर्छोै ।”

“औषधी महँगा होलान् म किन्न सक्दिन ।”

“त्यसको चिन्ता नगर । सबै खर्च रिसर्च सेन्टरले गर्छ । हाम्रो सल्लाह भइसकेको छ । तिम्रा काम नलाग्ने अङ्गहरू ट्रान्सल्पान्ट गर्छौ हामी । विश्वास गर, आफैँलाई विश्वास गर । तिमी बाँच्न पनि सक्छौ । हामी तिमीसहित बेलुकाको जहाजबाट अमेरिका जाँदैछौ । पुग्ने बित्तिकै त्यहाँ तिम्रो सर्जरी सुरु हुन्छ ।”

“तिमी भगवान् भएर आइपुग्यौ ।”

“हामी क्यान्सरको अनुसन्धान गरिरहेका छौँ । त्यही सिलसिलामा यहाँ आइपुगेका, मेरो यहाँ लामो कार्यक्रम थियो तर म तिमीसहित तीनजना लिएर फर्किदै छु अर्को डाक्टर यहीँ बस्नुहुन्छ ।”

“तिमी सुरुदेखि नै क्यान्सरको डाक्टर हौ र ?”

“हो । मैले एम. डी. पनि सकिसकेको छु । म अनुसन्धानकर्ताको समूहमा छु आजभोलि ।”

“अब म बाँच्छु होला सायद, तिमीसँग भेट जो भयो ।”

“कोही छ भने भन एकजना तिम्रो आफन्तलाई पनि हामी निःशुल्क लैजान्छौ ।”

“मेरो कोही छैन । को छ र ?” राधिका र शीला बाहेक अरु कसैलाई सम्झन सकेन । राधिकालाई भन्नु बेकार, शीला सानै छ । दिदीबहिनीको कुरै भएन । काकाका छोराहरूलाई भन्ने कुरा भएन ।

“हामी बेलुका सात बजेको जहाजबाट अमेरिका जाँदै छाँै । तिमी तयार होऊ कसैलाइ फोन गर्नु छ भने गर । मैले तयारी गर्नु छ । म जान्छु अहिले ।” डाक्टर गई ।

“अब म तँलाई जित्छु जित्छु ।”  हावामा मुठी हिर्काउँदै संघर्ष बोल्यो ।

बेलुका सात बजेको जहाजमा तीनजना बिरामी लिएर एनी अमेरिका उडी ।

——————————–0——————————

एयरपोर्टबाट उनीहरूलाई एम्बुलेन्सले अस्पताल पु¥यायो । उसलाई केही घण्टा आराम गर्न दिएर परीक्षण कोठा, त्यसपछि अपरेशन थिएटरमा लगियो ।

काठमाण्डौदेखि साथ रहेकी डाक्टर अहिले सम्म पनि ऊसँगै छे । एकछिन पनि छोडेकी छैन । डाक्टरहरूको हिसाबले अप्रेशन सफल भएको छ तैपनि तीनचार दिनसम्म केही भन्न सकिदैन । चारदिन कट्यो भने सम्भावना बढ्छ ।

बिहान, संघर्ष बिउóयो । सामान्य कुराकानी पछि फेरि निद्रा लाग्ने सुइ दिइयो । चोैबिस घण्टा आरामको स्थितिपछि उसलाई निद्रा लाग्ने औषधीको सुइ दिइएन । अरु औषधीहरू चलिरह्यो । एनीले यो बिरामीमा विशेष दिलचस्पी लिई । चार दिन बित्यो । पाँच दिन पनि बित्यो । डाक्टर फूलको गुच्छा लिएर कोठाभित्र पसी ।

“बधाई बाँच्यौ तिमी आजका मितिमा तिमीसँग कुनै रोग छैन ।”

“साँच्चै, बाँचे म ? निरोगी भएँ ?”

“हो तर तिमीले करिब तीनमहिना आराम गर्नुपर्छ ।”

“केही छैन ।”

“अस्पतालबाट फिर्ता भए पछि तिमीले प्रत्येक महिना परीक्षण गराउनु पर्छ । करिब दुई वर्ष तिमीले यहीँ बसेर परीक्षण गराइ रहनुपर्छ । आजको मितिमा हामीले ज्यादै कठिन क्यान्सरलाई चिकित्साविज्ञानद्वारा सफलताका साथ निको पा¥यौ । तिमीमा गरिएको परीक्षण सफल भयो । अब हामी यो सर्जरीलाई सरल र सर्वसुलभ बनाउँछाँै । तिम्रो शरीरका केही अङ्गहरू कृत्रिम छन् तर तिनीहरूले प्राकृतिक सरह नै काम गर्छन् । तिनीहरूले पूर्ण रूपले काम गरे नगरेको निश्चित गर्न हामीलाई करिब दुई बर्ष लाग्नेछ ।”

“थुप्रै खर्च लाग्यो होला ?”

“खर्चको कुरा नगर म सबै व्यवस्था गर्छु । तिमी तन्दुरुस्त भएपछि अघिल्लो रात जस्तै कुनै रात बिताउँला ।”

“अनौठो आश देखाइरहेकी छ्यौ ।”

——————————–0——————————

तीन महिनापछि संघर्ष डिस्चार्ज भयो । एनी कहाँ गइ होली ? अर्को कुनै बिरामीको हेरचाहमा होली । सबै व्यवस्था मिलाएर गई एनी । संघर्षले अनुसन्धान एकाइमा सहयोगीको काम पायो । उसले विज्ञान विषयमा प्रमाणपत्र तह पढेको बल्ल काम आयो । रसायनशास्त्रको प्रयोगशालामा सहयोगी भएर काम गर्न थाल्यो । तलब एकदमै राम्रो पायो । फुर्सदको समयमा उसले पिएचडीमा भर्ना लियो । एकवर्षपछि उसलाई लाग्यो ऊ पहिलेको जस्तै तन्दुरुस्त भयो तर कडा खालको कसरतका लागि डाक्टरले मनाही ग¥यो । सामान्य कसरतमा चित्त बुझाउन थाल्यो । एनीले देखाएकी आश कुरो मात्र रह्यो । एनी अरु केही र कसैसँग चासो राख्दिन । विवाह पनि गरेकी छैन । एनी मेडिकल साइन्समा घाँटीघाँटीसम्म डुबेकी छे ।

संघर्षले छोरीसँग सम्पर्क गर्न चाह्यो । उसले छोरीलाई साथी बनाएर फेसबुकमा च्याट ग¥यो ।

“तिम्रो हालखबर के छ ?”

“को हौ तिमी ?”

“म तिम्रो ड्याडी जसलाई तिमीले भक्तपुरमा पागल वा बौलाहाको रूपमा भेटेकी थियौ ।”

“मलाई आराम छ । तपाईँलाई क्यान्सर थियो हैन र ?”

“हो तर त्यो रोग निको भैसकेको छ । म एकदम ठिक छु ।”

“मलाई विश्वास लागेन । मम्मीले भनेको तपाईँ जीवनको अन्तिम अवस्थामा हुनुहुन्थ्यो । त्यसकारण तपाईँ पागल जस्तो भएको रे ।”

“विश्वास गर म ठिक भइसकेको छु । अमेरिकामा छु । काम गरिरहेको छु, पैसा कमाइरहेको छु र पिएचडीमा भर्ना लिएको छु ।”

“म मम्मीसँग सोध्छु । त्यसपछि भोलिपर्सितिर तपाईँसँग कुरा गर्छु ।”

“हुन्छ । मम्मीसँग कुरा गर, भक्तपुर अस्पतालमा गएर बुझ, सबै थाहा हुनेछ ।”

संघर्ष ज्यादै खुसी भयो । आज उसले छोरीसँग कुरा ग¥यो । आफू बाँचेको खबर छोरीले राधिकालाई दिनेछे । आकांक्षालाई पनि खबर पठाउन पाए हुन्थ्यो । त्यसको होस उड्थ्यो होला ।

त्यही दिन एनीसँग पनि भेट भयो । खुसीको ठेगान रहेन ।

“तिमी भगवान् हौ । तिमीले मलाई बचायौ ।”

“छोड यो कुरा, मेरो पेसा बिरामीलाई बँचाउनु र मरेर जाने बिरामीहरूलाई टुलुटुलु हेर्नु हो ।”

“तिमीलाई थाहा छ, आज मैले छोरीसँग कुरा गरे ।”

“तिम्रो छोरी पनि छ । तिमी कोही पनि छैन भन्थ्यौ ।”

“मेरा दुईटी स्वास्नी थिए । दुवै मलाई छोडेर गए । सुरुमा तिमीसँग भेट हँुदा एउटी श्रीमती थिई अनि एउटी छोरी पनि । पहिलो श्रीमती मलाई छोडेर अर्कैसँग हिँडी । छोरी पनि ऊसँगै गई । म विदेश उड्दा ऊ सहमत थिइन तर अरु पनि कारण हुनसक्छन्, मलाई थाहा छैन । ऊसँग मेरो गम्भीर कुरा भएको छैन । ऊ आफ्नै देशमा बसौँ, यहीँ दुःख गरौँ भन्थी । म पैसा कमाउन विदेशिएको थिए । अहिले छोरी १४ वर्षकी भइसकी ।”

“अर्की श्रीमती ?”

“मलेशियाबाट फर्किदा मेरो भेट एकजना युवतीसँग भयो । कलेजमा पढाउथी र पिएचडी गर्न चाहन्थी । हाम्रो विवाह भयो । बच्चा जन्माउन उसले मानिन । राम्रै थियो । हामी दुवैजना बेलायत जाने तयारीमा थियौँ । मलाई क्यान्सर भएको पत्ता लाग्यो । सुरु सुरुमा राम्रो थियो जब म मर्छु भन्ने थाहा पाई । घर बेचेर, कङ्गाल पारेर मलाई अस्पतालमा छोडेर  थाहै नदिइ अर्कैसँग बेलायत गई । ऊसँग फेरि भेट भएको छैन ।”

“तिमी बाँचेको खबर उसलाई पनि देऊ ।”

“खै कसरी पठाउने, फेसबुकमा उसलाई भेटिन मैले ।”

“ठिकै छ कुनै दिन भेटिएला । तिमीलाई राम्रो छ हैन । अघिल्लो परीक्षणले के भन्छ ?”

“सबै राम्रो छ भन्नुहुन्छ डाक्टरसाहेबहरू आजभोलि तिमी कहाँ छ्यौ भेटै हुँदैन । तिमी मैले काम गरेकै एकाइमा काम गर्ने हैन र ?”

“हैन तिमी केन्द्रिय अनुसन्धान केन्द्रमा काम गर्छौ । म क्यान्सर अनुसन्धान केन्द्रमा काम गर्छु । अहिले दक्षिण अफ्रिकामा काम गर्दैछु । तिमीलाई कुनै  समस्या भयो भने मलाई भन्नु । इमेल गर्नु ।”

“तिमी मेरो भगवान् हौं । म तिम्रो ऋण कहिले पनि चुक्ता गर्न सक्दिन ।”

“कुनै पनि डाक्टरसँग यस्तो कुरा नगर मैले धेरैलाई निको पारेको छु । सबैसँग मेरो भेटघाट छैन ।” डाक्टर हिँडी ।

भोलिपल्ट, छोरी सम्पर्कमा आई ।

“हेल्लो ड्याड ।” 

“हेल्लो छोरी ।”

“म ज्यादै खुसी छु कि तपाईँ बाँच्नु भयो । हाम्रो भेटघाट हुन्छ नै होला । तपाईँ कहिले यतातिर फर्कनु हुन्छ ?”

“तिमीले यकिन ग¥यौ ?”

“मम्मी र म अस्पताल गएका थियौँ । अस्पतालको डाइरेक्टरले तीनजना लगेकोमा दुईजना मरेको र तपाईँ बाँचेको खबर दियो ।”

“म हालसाल त्यता आउँदिन । तिम्रो पढाइ कस्तो छ ? रुपैयाँ पैसाको अभाव भए भन ?”

“पैसा पठाउने कुरा नगर्नोस है ड्याड, बाबा, मम्मी रिसाउनुहुन्छ ।”

“तिमीले मेहनत गर्नु । डाक्टर पढ्नु । मलाई डाक्टरहरूले बचाए । उसलाई मैले पाँच सात वर्ष अगाडि भेटेको थिएँ । डाक्टर भगवान् हुन्छन् । डाक्टर एनीले मलाई नभेटेकी भए म बाँच्दिनथे हुँला ।”

“पढ्छु, अझै पनि पहिला छु, कक्षामा ।”

“मम्मी, बाबालाई दुःख नदिनु । बाबा, मम्मीले भनेको मान्नु, नरिसाउनु, काम गर्नु पढ्नु पनि । म आउँछु आउँदा म तिमीलाई भेट्छु । हप्तामा एकचोटि यसरी नै कुरा गर्नु है ।”

“तपाईँ पनि आफ्नो ख्याल राख्नु ।”

“तिमीले पनि आफ्नो ख्याल राख्नु अनि फूपूहरूसँग भेट्नु है कहिलेकाहीँ । तिमीलाई थाहा छ तिम्रा दुईओटा फूपूहरू छन् ।”

“मलाई थाहा छैन म मम्मीलाई भन्छु । अब त भेटाउनु हुन्छ होला ।”

“तिम्रा र मेरा सबै कुरा बाबा मम्मीलाई नभन्नु है । उनीहरू रिसाउलान् ।”

“बाबा रिसाउनु हुन्छ ।”

“बाबाले तिमीलाई कुट्नु, कराउनु हुन्छ ।”

“त्यस्तो केही गर्नु हुन्न माया गर्नुहुन्छ धेरै । भाईलाई भन्दा मलाई ज्यादा माया गर्नुहुन्छ । भाईलाई कहिलेकाहीँ कुट्नु पनि हुन्छ । म वहाँकी प्यारी छोरी हुँ ।”

       समयले साथ दिई रह्यो । कुनै ठूलो व्यवधान, समस्या र चुनौतीहरूको सामना गर्नु परेन । स्वास्थ्यले पनि साथ दिई रह्यो । डाक्टरसँगको भेटघाट टुटेन ।

समयका क्रमहरू व्यस्तताभित्र क्रमश.. हुनथाले । विकासको बीसलाख वर्ष पुरानो क्रम जो यो पृथ्वीमा मानवजातिका निम्ति मानवहरू स्वयं सक्रिय रहेर जोडिरहेका छन्् त्यसैको कडी भएर समय बितिरह्यो ।

लामो फुर्सदको समयमा एनी र संघर्ष बेलायतिर बरालिन निस्के । गल्लीहरूमा स्याम्पेन फोड्दै हिँडे । समुन्द्रकिनारमा अर्धनग्न कुदे । गल्लीहरूमा निस्केर जात्राहरूमा सामेल भए । क्लबहरूमा नथाकुञ्जेल नाँचे ।  संसार, पेसा, काम र आफैँलाई बिर्सेर हिँडे । एनीको यो रूप उसले देखेको थिएन । एउटी युवतीमा हुनुपर्ने सबै विशेषताहरू उसले एनीमा पायो । गम्भीर र गहिरो सोच भएकी एनीलाई फस्र्याइली, शौकीन, चञ्चल तथा लापरवाह युवतीको रूपमा पाउँदा उसलाई अनौठो लाग्यो । जात्रा, रमाइलो तथा नाँचमा सामेल हुनका निम्ति उनीहरूले लामोलामो यात्रा गरे । त्यो दिन, जब उनीहरू फर्किने समय भयो तब उनीहरू बीच गम्भीर प्रकृतिको वार्तालाप सुरु भयो ।

“तिम्रो स्वास्थ्य राम्रो छ, करिब एक महिना बिताएँ मैले तिमीसँग, त्यो बीच मैले तिम्रो स्वास्थ्यको विषयमा राम्रो अध्ययन गरे ।”

“मलाई पनि त्यस्तै लाग्छ तर कहाँ कहाँ मेरो मन, मनस्थिति ठिक छैन । छोरीबाट टाढा रहनु पर्ने वाध्यतालाई मैले झेल्नु परिरहेको छ ।”

“छोरीलाई यहीँ बोलाऊ । तिमी यहाँ छोरीलाई राम्ररी हेरचाह गर्न सक्छौ ।”

“ऊ पढिरहेकी छ । उसको पढाइमा म कुनै व्यवधान पु¥याउन चाहन्न ।”

“तब यो विषयलाई केही वर्ष स्थगित गर । पढाइ सिद्धेपछि उसलाई यहीँ बोलाउनु या केही वर्षपछि आफू उता जानु ।”

“बारम्बार तिमी उता जाने कुरा गरिरहकी छौ । किन ?”

“सायद तिमीले उता जानै पर्ला । बूढेसकाल तिमीले आफ्नो परिवार र आफ्नाहरूसँग बिताउनु पर्ला ।”

“यी देखि बाहेक मलाई मलेशियाको कुराले  धेरै पिरोल्छ । मेरो मानसिक अवस्थाको परिणाम नै त्यो क्यान्सर होला ।”

“मानसिक अवस्थाका कारण क्यान्सर हुदैन । यो त्यो हुँदै होइन । मलेशियाको सबै कुराबाट तिमी आजाद छौ किन फेरि त्यो कुरा उठाइरहेका हौ ? तिमी निर्दोष छौ भनेर अदालतले भनिसकेको छ । बाँकी के रह्यो र ?”

“त्यसो हैन । मलाई फसाउने को होला जस्तो लाग्छ ?”

“तिमीलाई कसैले फसाएको हैन । तिमी परिबन्दमा परेका हौ ।”

“त्यो होटलमा भेटिएकी केटी को होली ? सेलमा आउने आइमाई को होली ? अनि मलाई फसाउने को होला ? जस्ता कुराहरूले मेरो मथिङ्गल तातिने गर्छ ।”

“आजसम्म तिमी त्यही कुरामा अलमलिरहेका छौ । छोड ती कुराहरू पुराना भइसकेका छन् । त्यो टुङ्गो लागिसकेको विषय हो ।”

“मैले पत्ता लगाउन सकेको छुइन । होटलमा भेट भएकी युवती, मलाई हत्यामा फसाउने, रातमा लसपसिन आउने र त्यो सरसफाइ गर्ने युवती एउटै हुन जस्तो लाग्छ मलाई । थाहा छैन मेरो मस्तिष्क कति ठिक छ  । ” संघर्षको मस्तिष्क जहाँको तहीँ छ किनभने फोहोर सङ्कलक आइमाई जल्लादको काम गर्छे हिजोआज ।

“यस्ता अनावश्यक कुरा मनमा खेलाएर तिमी आफ्नो जीवनलाई खेरा नफाल । यो कुनै पनि हालतमा ठिक कुरो हैन । थाहा पाएर नै तिमी के गर्न सक्छौ ? तिनीहरू त्यहाँ तिमी यहाँ ।”

“तिमी ठिकै भन्दैछ्यौ । यो कुनै पनि हालतमा ठिक कुरो हैन । सायद यही नै सही उपाय हो ।”

“म भोलि यहाँबाट सिधै भारतको लागि उड्दैछु । मैले जानैपर्छ । भारतमा पाइने क्यान्सरहरूको प्रकारका विषयमा अनुसन्धान गर्नु छ ।”

“म यहाँबाट रिसर्च युनिट फर्किन्छु । मेरो बिदा सिद्धिसकेको छ ।”

“घर जान चाहन्छौ भने जाऊ । म सिफारिस गरौँला । केही दिन काठमाण्डौ बसेर फर्किनु ।”

“म त्यस्तो चाहन्न सिधै फर्किन्छु ।”

“यो भ्रमणलाई म जिन्दगीभर बिर्सने छुइन । तिमी र म, हामी दुई । एउटा पृथ्वी अनि मानवचक्र ।” एनी भावुक हुन खोजी ।

“मानवप्रतिको कर्तव्य निभाइरहेकी छ््यौ । तिम्रो जीवन सार्थक छ ।” संघर्षले सार्थकतालाई नै जीवनजाल ठान्यो ।

“भैगो, तिमी सारै गम्भीर हुन्छौ ।”

उनीहरू अलग्गिए ।

चिकित्साशास्त्रको एउटा प्रभावशाली पुरस्कारबाट एनीलाई सम्मानित गरियो  । चिकित्साशास्त्रको अनुन्धानकर्ताको रूपमा एनी स्थापित भई । संघर्षको सङ्घर्ष चलि नै रह्यो । रुपैयाँ पैसा प्रशस्त कमायो । मृत्युविरुद्धको सङ्घर्ष जीवनको लक्ष्य हो वा पैसा कमाउनु जीवनको लक्ष्य हो अथवा यी दुवै जीवनका लक्ष्य हुन् । संघर्षले यकिन गर्न चाहेन ।

——————————–0——————————

दस वर्ष बित्यो । छोरीसँगको उसको सञ्चार टुटेन । संघर्षलाई हातहरू चलाउन गा¥हो भएको महसुस हुन थाल्यो । खुट्टाहरूको मामलामा पनि यस्तै महसुस भयो । जोर्नीहरूमा उत्पन्न हुन थालेको अप्ठ्यारोपन सामुन्ने आयो । धेरै अप्ठ्यारो भएको अवस्था भने हैन । सुरुवाती लक्षणहरू देखा परे । उसले डाक्टरसँग सम्पर्क ग¥यो । एनीलाई फोन ग¥यो । एनीले हलुको व्यायाम गर्ने र चिसो ठाउँमा बस्ने सल्लाह दिई । कुनै पनि डाक्टरले कुनै औषधी दिन रुचाएनन् । औषधीको साइडइफेक्ट हो भने । यी सबैखाले दुखाइको परिणाम पक्षघात हो भन्ने कुराहरू सामुन्ने आए । धेरै सोचविचार गरेपछि संघर्षले नेपाल फर्किने निधो ग¥यो ।

संघर्ष फर्कियो । छोरीलाई काठमाण्डौ आइपुगेको र होटलमा बसेको जानकारी दियो । छोरीले भेट्न चाहेको कुरा व्यक्त गरी । उसले छोरीसँग भेट्यो । शरीरको दुखाइ जस्ताको तस्तै छ । कसैलाई भनेन । संघर्शीलाको बाबा संघर्षका निम्ति घर खोज्ने काममा संलग्न रह्यो । थुप्रै दलालहरू भेट भए तर संघर्षले शीलाको बाबाले खोजेको घर किन्यो । पैसा केही ज्यादा परे पनि संघर्षले सोचे, खोजे जस्तो घर पायो । बहिनीले खोजेकी एउटा अधबैंशे मान्छे र उसको श्रीमतीलाई घरको काम गर्नका निम्ति राख्यो । तलब राम्रो दियो ।

एकदिन छोरीलाई फर्किन ढिलो भयो । ऊ संघर्षको घरमा सुत्ने भई ।

“डैडी म यहीँ सुत्छु ।”

“तिमी आफ्नू कोठामा सुत । तिम्रो कोठा पनि छ यहाँ ।”

शीलाले कोठा खोली । ऊ खुसीले उफ्रिन चाहिन, अचम्ममा परी । कोठामा कम्प्युटर, टेलिभिजन, राम्रा राम्रा शो पिस, एक्युरियम, फोन, राम्रो बेड, ठूलठूला दराजहरू छन् । दराज खोलेर हेरी । दराजमा उसलाई नहुने साना छोटा लुगाहरू, बच्चामा खेलिने खेलौनाहरू यसरी सजाएर राखिएको छ मानौँ शीला बच्ची नै छ ।

“कार तपाईँको लागि किनेको अरे । तपाईँ कार चलाउन जान्नुहुन्छ ।” काम गर्ने महिला शुभद्राले बिस्तारै  भनी ।

“सिक्न सक्छु ।” फोन गरेर शीलाले यहीँ बस्ने अनुमति मागी । शीलाका बाबाले अनुमति दिएनन् । राधिकाले ‘तेरो विचार’ भनी । बाबालाई म सम्झाउँछु पनि भनी । बिस्तारै संघर्शीला संघर्षको घरमा बस्न थाली  । कार सिक्न थाली । अब ऊ एम. बि. बि. एस. को पढाइ गर्न कार लिएर जान्छे । शीलाका सोच र शैलीहरूमा परिवर्तनहरू देखिन थाले ।

संघर्षलाई रोगले च्याप्दै लग्यो । संघर्षले ठाउँमा सपिङ् कम्प्लेक्स किनेको छ । त्यहाँबाट उठ्ने रुपैयाँ नै उसको जीवनयापनका लागि प्रशस्त छ । राधिका यहाँ आएकी छैन । संघर्ष उनीहरूको घर गएको छैन । शीला राधिका र बाबालाई भेट्न जान्छे । बाबाले उसलाई केही भनेका छैनन् । संघर्ष बिस्तारै बिस्तारै हिँडडुल गर्छ । शीलाले क्यान्सरमै एमबिबिएस पढिरहेकी छ । उसको रुचिको विषय पनि हो ।

संघर्षको शरीरका हड्डिहरू, जोर्नीहरूमा कडा भन्दा कडा पीडा हुन थाल्यो । निद्रा लाग्न छोड्यो । हातले लेख्न गा¥हो हुन थाल्यो । हात कामेर चिया पिउन, सामान समात्न अप्ठ्यारो भयो । टाढा वा लामो यात्राको कुरै नगरौ ।  कार हाँक्न पनि छाड्योे ।

अस्पताल र डाक्टरहरूका गयो । खासै कुनै नयाँ कुरो आएन । एनीको कुरालाई कसैले नकार्न सकेनन् । केही सम्पत्तिको राजीनामा छोरीको नाममा गरिदियो । संघर्षले राधिकालाई बोलायो, बोलाउनै प¥यो । शीला राधिकालाई लिएर आई । उनीहरू तीनजना गम्भीर रहेर कुरा गर्न बसे ।

“भाई खै त ?” संघर्षले शीलालाई सोध्यो ।

“भाई स्कुलबाट पोखरा घुम्न गएको छ ।”

“तिमीले मलाई किन नभनेकी, यति सानैमा उसलाई यसरी  पठाउनु ठिक हुन्छ ।” मायामय भावमा संघर्ष बोल्यो । राधिका केही बोलिन ।

“बाबाले पठाउनु भयो ।” शीला बोली ।

“तिमी भाईलाई माया गछ््र्यौ ।”

“गर्छु तर त्यसले मलाई धेरै सताउँछ ।”

“मलाई किन बोलाएको ।” राधिका बोली ।

“मैले मेरो केही सम्पत्ति शीलालाई दिएँ । अरु सम्पत्ति म तिमीलाई दिन  चाहन्छु ।”

“किन, छोरीलाई किन दिनु प¥यो ।”

“मेरो को छ र अरु, तिमीहरू दुईजना बाहेक ।”

“आकांक्षा ।”

“त्यो मरेर गई मेरा निम्ति, मेरो कुनै ठेगान छैन । मैले बाँच्ने कति दिन हो को नी ? मेरो सारा शरीर दुख्न थालेको छ । अन्त्यमा पक्षघात हुन्छ अरे । धेरै डाक्टरहरूसँग सोधे । कसैले पनि औषधी छ भनेनन् ।”

“म तिम्रो सम्पत्ति अलिकति पनि लिन्न ।”

“किन ।”

“मेरो र तिम्रो के नाता छ ?”

“शीला को हो त ?”

“त्यो पुरानो कुरा हो म तिम्रो स्वास्नी रहिन ।”

“तपाईँको कुनै गल्ती छैन मम्मी । सबै कुरा मैले बुझेको छु । डैडीलाई मृत्युदण्ड दिइएको भ्रमपूर्ण खबर पत्रिकामा आएपछि मात्र तपाईँले अर्को विवाह गर्नु भएको हो ।”

“तिमीलाई कसले भन्यो यो कुरा ?” राधिकाले आश्चर्य मान्दै सोधी ।

“बाबाले ।”

“तिमीहरूलाई यो कुरा थाहा छ ? के के थाहा छ ?” संघर्षले सोध्यो ।

“सायद यो कुरो अब मैले सबैलाइ बताउनैे पर्छ । शीलालाई त मैले बताउनै पर्छ ।”

“भन,  म पनि सुन्न चाहन्छु ।” संघर्ष बोल्यो ।

“मैले विरोध गर्दागर्दै तिमी विदेसियांै । त्यो पनि साहूकाँबाट ऋण लिएर । बूढी आमा र पाँच महिने छोरी जिम्मा लगाएर तिमी विदेश उड्यौं । त्यसपछिका दिनहरू मेरो निम्ति सजिला भएनन् । आमा बिरामी हुन थाल्नु भयो । साहू ऋण उठाउन मेरो शरीरको सौदा गर्न थाल्यो । त्योबाट बँच्न मलाई सारै गाह्रो भयो । यो बीच ओैषधी गर्न नसकेर आमा बित्नु भयो । सुरेशले तिम्रो मृत्युदण्डकोे खबर छापेको पत्रिका ल्यायो । म केही पैसा जुटाएर काठमाण्डौ आएँ । परराष्ट्र मन्त्रालयले मृत्युदण्ड दिई सकिएको र मृतशरीर परिवारले पाउँदैनन् भन्यो । त्यसपछि म अन्यौलमा परे । म जीवनजालमा जेलिए । त्यतिखेर तिम्रो बाबा माध्यमिक विद्यालयमा पढाउनु हुन्थ्यो । मलाई पनि शिक्षकको काम दिलाउनु भयो । मैले वहाँसँग विवाह गरे । पछि वहाँले अधिकृतमा लोकसेवा पास गर्नु भयो । त्यसपछि उपसचिव, अहिले सहसचिव हुनुहुन्छ । मैले मेहनत गरे । प्रधानाध्यापक भएर विद्यालयलाई उच्चमाविसम्म लगे । विद्यालयलाई अङ्ग्रेजी माध्यमको विद्यालय बनाएँ ।”

“तिमीलाई यो सबै कुरा थाहा छ ।” संघर्षलाई आश्चर्य लाग्यो । आँखाबाट आँसु समेत झरे ।

“मम्मीको केही गल्ती छैन । म भए पनि त्यही गर्थे ।”

“त्यो सबै घटना म माथि घटेको हो । मैले मृत्युदण्ड पाएर झुन्ड्याउनका निम्ति लगिएको पनि थियो तर त्यही बेला त्यो मोरो जल्लाद मरेर म बाँचे । पछि मेरो मृत्युदण्ड जन्मकैदमा परिवर्तन भयो । अलि पछि मैले सफाइ पाएँ ।”

“तिमीले त्यो हत्या गरेकै हो ?”

“होइन, कहाँबाट गर्नु । मलाई कसैले फसायो । मलाई कसले फसायो, कसले ? आजसम्म पनि बुóन सकेको छुइन । अब मेरो समय ज्यादा छैन । सारा शरीर दुख्छ । अलिपछि सहनै नसक्ने होला । डाक्टरले भनेका छन् यो रोग पछि पक्षघातमा परिणत हुन्छ रे । मैले मर्नु, बाँच्नु कसरी ? यो सबै सम्पत्ति तिमीहरूको हो, तिमीहरू नै सँभाल ।”

“म तिम्रो केही पनि लिन्न ।”

“ठिकै छ तिमी केही पनि नलिनु तर शीलालाई ध्यान राख्नु उसले नजान्ली । शीलाको सम्पत्ति तिम्रो पनि हो । शीलालाई सिकाउनु । शीलाको सम्पत्ति उसको भाईको पनि हो, उसको बाबाको पनि ।”

——————————–0——————————

त्यसको केही दिन पछि आकांक्षाले कोठामा पाइला राखी ।

“म खोज्दै आएकी मलाई चिन्नुभयो ?” आकांक्षा धेरै बदलिएकी छ । विदेशी महिलाझैँ लाग्छे । पहिरन पनि विदेशी महिलाको झँै छ ।

“मैले चिनिन ।” चिने पनि संघर्षले नाटक ग¥यो ।

“म आकांक्षा ।” 

संघर्ष धेरै संयम धैर्य र शान्त मनले काम लिइरहेको छ । कुनै  क्रोध वा आवेगमा आएर कुरो बिग्रन दिने छैन भन्ने उसले ठानेको छ ।

“म तपाईँलाई चिन्दिन तर के कति कामले पाल्नु भयो ?”

“आकांक्षालाई चिन्नु भएन तपाईँले ।” ऊ केही पातली तर सुन्निएकी जस्ती देखिन्छे ।

“मैले यो नाम सुनेकै छुइन । मेरो भेट कहाँ भयो र तपाईँसँग ?”

“मलेशियाबाट फर्किदा हाम्रो भेट भएको थियो ।”

“म मलेशिया गएकै छुइन ।”

“तपाईँलाई क्यान्सर भएको थियो ।” छिनार आइमाई क्यान्सर भएपछि घर बेचेर हिड्ने तँै होस भनेर चिच्याउन मन लागेको थियो तर प्रत्यक्षतः बोल्यो ।

“मलाई क्यान्सर भएकै छैन ।”

“मसँग तपाईँ रिसाउनु स्वभाविकै हो । मलाई चिन्न गाह्रो मान्नु पनि स्वभाविकै हो । मैले तपाईँलाई क्यान्सरको त्यो अवस्थामा छोडेर हिँडेकी थिएँ । महŒवाकाङ्क्षाहरूसँग बाँच्न कति कठिन हुन्छ । महŒवाकाङ्क्षा त्यस्तो जीवनजाल हो जो पुरा हुन्छ या हँुदैन भन्ने अन्योलमा मानिस दिनरात मेहनत गर्छ । महŒवाकाङ्क्षा पुरा हुँदैन भन्ने निश्चित हुँदाहँुदै पनि मानिस आशावादी रहेर मेहनत गरिरहन्छ । पैसाले प्राप्त गर्ने महŒवाकाङ्क्षाको कुरो अलग, पैसा प्राप्त गर्ने कुरो अलग । बुद्धि वा उत्कृष्टताले प्राप्त गर्ने महŒवाकाङ्क्षाको कुरो भिन्न तर अभिन्न ।”

“मसँग असम्बन्धित कुरा गरिरहनु भएको छ तपाईँ ।” संघर्ष ठूलो स्वरले करायो ।

“के गर्ने मैले मेरो महŒवाकाङ्क्षालाई छोड्न सकिन । महŒवाकाङ्क्षाहरूसँग बाँच्नु अति धेरै गाह्रो काम हो । मलाई अनुभव भयो, भइरहेछ पनि । मेरो उड्ने समय पनि त्यतिखेरै आयो । मसँग पैसा थिएन । सबैजसो पैसा तिम्रो औषधीमा खर्च भयो । त्यसैले घर पनि बेच्नु प¥यो । हिँड्ने बेलामा तिमीसँग भेट्न पनि सकिन ।”

“यो सबै कुरा मलाई किन बताइरहनु भएको छ । म तपाईँलाई चिन्दिन ।”

“म एउटा सानो काम लिएर आएकी । मैले बेलायतमा पिएचडी ता गरे तर त्यहाँ नोकरी पाइन ।  सानोतिनो काममा अल्झेर बस्न मन लागेन । मसँंग भएको साथीले मलाई सहयोग गरेन । त्यो आजकल अक्सफोर्ड विश्वविद्यालयमा पढाइरहेछ । म बिरामी छु । अप्रेशन गर्न पाचलाख खर्च बताउँछ डाक्टर ।”

“म के गरु, नचिनेकी आइमाईलाई कसरी सहयोग गरौ । अनाथाश्रम हैन मेरो घर । तपाईँ जानोस् । तपाईँ कुनै भ्रममा पर्नु भयो । तपाईँ गलत मान्छेकाँ आइपुग्नुभयो ।”

“तपाईँलाई म प्रहरी ठाना घसिट्न सक्छु  ।” त्यो रिसाई ।

“म अपरिचितहरूसँग डराउँदिन, प्रहरीसँग झनै डराउँदिन तिनीहरू पैसाको भोका हुन्छन् ।”

“अदालतमा उभ्याउन सक्छु ।” त्यो आवेशमा आई ।

“वकिलहरूलाई ता झनै राम्ररी जान्दछु । तिनीहरू पनि प्रहरी भन्दा कम हँुदैनन् ।”

“म बेइज्जत गर्दिन्छु ।” त्यो रुन खोजी ।

“ए नचिनेकी आइमाई तपाईँलाई गलहत्याएर निकालु या आफैँ जानुहुन्छ ।”

त्यो रुँदै निस्की ।

यो घटनाका सम्बन्धमा संघर्षले धेरै ठूलो चिन्ता लिएन । छोरीलाई सम्पत्ति जिम्मा लगाएर धेरै राम्रो गरेको उसले महसुस ग¥यो । कानुनी हिसाबले ऊसँग कुनै सम्पत्ति छैन ।

——————————–0——————————

हात चलाउँदा र हिँड्दा हड्डिहरू दुख्न छोडेनन् । निद्रा नलाग्ने बिरामीले पनि छोडेन । पेनकिलर र निद्रा लाग्ने औषधी उसको दैनिकी बन्यो । उसको मनमा मर्ने विचारहरू आउन थाल्यो । मर्न पाएँ सजिलो हुन्थ्यो होला । बाँच्न अति कठिन भयो । कसलाई भन्ने आफ्ना दुःखहरू । राधिका ऊसँग आउँदै आउँदिन । छोरीसामु कसरी पोख्ने आफ्ना पीडाहरू । ऊ डिस्टर्व होली । एम.बि.बि.एस.को फाइनल बर्षमा पढ्दै छे । कहिलेकाहीँ रामबहादुरलाई भन्छ अनि भन्छ एनीलाई । इमेलद्वारा एनीले ओैषधी सुझाउ गर्छे । स्थानीय डाक्टरहरू कहाँँ पनि जान्छ । सामान्य हिँडडुल गर्न मात्र सक्छ । हात चल्छ, खुट्टा पनि चल्छ तर पीडा हुन्छ असहनीय । उसको कोठामा आउने अनुमति रामबहादुरलाई मात्र छ अरु कोही आउन पाउँदैनन् कोठामा । शीलालाई पनि स्वीकृति छ । शीला धेरैजसो बैठकमै डैडीलाई भेट्छे ।

“तिमीले पढाइमा ध्यान लगाउनु । मेरो चिन्ता गर्नु पर्दैन ।” ऊ डैडीको चिन्ता गर्दिन । कति नै नजिक छे र ऊ डैडीसँग ?

संघर्षका निम्ति दिनहरू असामान्य भएर बितिरहेका छन् । असहनीय पीडाले एक्लै छटपटाउँछ, चिच्याउँछ, रुन्छ, कराउँछ । औषधी भेटेपछि बेहोसीको अवस्थामा पल्टिन्छ । शरीरका प्रायः सबै भाग दुख्छन् मसलहरू, हड्डिहरू । घाँटीमुनिका भागहरू ज्यादा दुख्छन् । जतिखेर पनि दुखिरहेको हुन्छ । खाना रुच्छ खान्छ पनि तर पीडाले छुट्कारा दिँदैन ।

संघर्षले मर्ने विचार ग¥यो । विचारहरू यति गम्भीर भए कि उसले मर्ने फैसला लियो । आत्महत्या रोज्यो । एउटा मान्छेसँगको सम्पर्कबाट उसले चाइनिज पिस्तोल किन्यो । रातको बा¥हबजे उसले आफूले आफूलाई गोली हान्ने भयो । पिस्तोल प्राप्त गरेको सातौं दिन उसले यो काम फत्ते गर्ने निधो ग¥यो । सधैँझँै त्यो रात पनि उसलाई निद्रा परेन । छटपटि, बेचैनी र पीडाले ज्यादै सताएपछि ऊ केही पनि नसोचि उठ्यो र आरामकुर्सीमा बस्यो । पिस्तोललाई हातले मुसा¥यो । केही नसोची जस्ताको तस्तै हातले पिस्तोल समात्यो । पिस्तोलको नाललाई कनपटीमा छुवायो र ट्रेगर दबायो । कुनै पनि गोली चलेन । कुनै ठूलो आवाज आएन । उसले पिस्तोल हे¥यो । गोली छैन । उसले तुरुन्तै पिस्तोल बेच्ने मान्छेलाई फोन ग¥यो । उसको फोन स्विचअफ आयो । उसले सोच्यो ‘अब यो मान्छेसँग फोनमा सम्पर्क हुनेछैन । हतियार बेच्ने मान्छे हो यति सतर्कता ता अपनाउँदो हो’ ।

“आऊ मलाई लैजाऊ मेरो कुनै विरोध छैन । मेरो सामना गर्नुपर्दैन तिमीले । म मित्रताको हात बडाउँछु । मलाई लैजाऊ मेरो मित्र ।” संघर्ष बडबडाउन थाल्यो ।

“प्रिय मित्र मृत्यु मलाई माफ गर, सारा जीवन मैले तिमीलाई शत्रुझैँको व्यवहार गरे । अब म तिमीलाई साथी बनाउँछु । मेरो मित्र आऊ र मलाई लैजाऊ ।” ऊ रुँदै कराउँदै बोल्छ । उसका धम्की र चुनौतीपूर्ण हातहरू अनुनय विनयमा परिणत भएका छन् । बिहान बेलुका भगवान्को पूजा गरेझैँ ऊ आजकल बिहान बेलुकै अनुनय विनय गर्छ । मृत्युको पूजा गर्छ ।

 —

संघर्शीलाले आफ्ना प्रोफेसरहरूसँग सल्लाह गरी । केही अत्तोपत्तो लागेन । ‘मर्नु र बाँच्नु अवस्थाका बिरामीहरूले आत्महत्या गर्न पाउनु पर्छ’ भनेर सर्वोच्च अदालतमा उजुरी हाली । सर्वोच्चले ‘मान्छे मर्ने, मार्ने काम गरिनु हुन्न’ भनेर निवेदन खारेज ग¥यो ।’

कठोर, निर्मम जीवन बितिरहेको एकदिन संघर्षले एनीलाई इमेल ग¥यो । ‘कृपया मलाई मृत्यु देऊ । मलाई त्यस्तो औषधी यहाँका औषधी पसलले बेच्ने छैनन् । तिमी आफँै आएर, दिएर जाऊ । म मर्न चाहन्छु । मेरो कुनै चुनौती मृत्युप्रति छैन । मृत्युले मेरो सामना गर्नुपर्दैन । म मृत्युलाई प्रेम गर्छु । मैले मृत्युलाई चुनौती दिएको तिमीले पनि सुनेकी हौली । कृपया आऊ र मलाई मुक्ति देऊ । ’

राधिका आई । आकांक्षा फर्केर आइन । शीलाको बाबाले भेट्ने इच्छा गरेनन् । दिदीबहिनी दुवैजना आए ।

“यति हो मसँगको भेट ।” उसले भन्यो ।

“धेरै वर्ष पहिले तिमी मरेको खबर आएको थियो तर तिमी मरेका रैनछौ पछि थाहा भयो । तिमी मर्न आँटेको बेला भेटे तर पनि तिमी मरेका छैनौ । तिमी मृत्युञ्जय हौ हाम्रा निम्ति । अब पनि बाँच्छौ तिमी ।”राधिका बोली ।

“यस्तो कुरा नगर श्वास रहुञ्जेल आश हुन्छ । विदेशबाट तिम्रो डाक्टर आउँछे भनेको हैन ।” दिदीबहिनीले सान्त्वना दिए ।

सबैले आफ्ना आफ्ना कुरा गरे  । सबैको अगाडि छोरीलाई भन्यो ।

“रीतिरिवाज निभाउनै पर्छ । दागबत्ती तिमीले दिनु । मृत्युले मलाई ज्यादा दुःख दिन पाउँदैन । ते¥ह दिनको काजक्रिया गर्नु पर्दैन । एक वर्षको पनि पर्दैन । आमा खस्दा मैले पनि केही गर्न पाइन । सक्छ्यौ भने ते¥ह दिन नुन नखानु । कलेज नछोड्नु ।”

——————————–0——————————

एनी आई, संघर्षको निमन्त्रणामा होइन, अस्पतालको भ्रमणमा आई । विदेशी डाक्टरहरूसँग समय लिएर शीलाले डैडीको विषयमा विचारविमर्श सुरु गरी । उनीहरू बीच संघर्षलाई भेट्ने निर्णय भयो । संघर्षलाई भेट्ने जिम्मेवारी डाक्टर एनीलाई दिइयो ।  आफूले संघर्षलाई चिनेको कुरो बताइन एनीले ।  एनीलाई कोठाको ढोका अगाडि पु¥याएर शीला फर्की । उनीहरुबीच यस्तै सल्लाह भएको थियो ।

एनी ढोकाभित्र पस्न हिचकिचाई । ऊ चुपचाप ढोकामा उभिरही । डाक्टर मात्रै एनीको व्यक्तित्व हैन । ऊ सामान्य मानव पनि हो ।

संघर्ष आरामकुर्सीमा लगभग अर्धचेतन अवस्थामा छ । तीन दिन देखि ऊ राम्ररी निदाएको छैन । आरामकुर्सीमा ढल्केको संघर्ष पूर्णरूपले निदाएको छैन । अर्धचेतन अवस्थामा सपना देखिरहेको छ । गहिरो निद्रामा नभएको कारण सपनालाई वास्तविकता ठानिरहेको छ । सपना भएपनि ऊ सस्वर बोलिरहेछ । उसले बोलेको स्वरमात्र सुनिन्छ । यस्तो लाग्छ मानौँ ऊ आफैँसँग कुरा गरिरहेछ । 

संघर्षको अर्धचेतन मस्तिष्कले ढोकामा मृत्यु उभिएको देख्यो । 

“आऊ भित्रै आऊ ।” संघर्षले माया गरेर बोलायो ।

“म भित्र आउन सक्दिन ।” संघर्षले देखेको मृत्यु मुस्कुरायो ।

मृत्युको अनुहार फोहोर सङ्कलक आइमाईको जस्तो छ । संघर्षले त्यो अनुहार बिर्सेको छैन ।

संघर्षको स्वर सुनेर एनी चुपचाप उभिरही । एनीलाई लाग्यो संघर्ष दोहोरो वार्तालाप गरिरहेछ तर ऊ संघर्षलाई मात्र सुन्न सक्छे ।

“म जहिले पनि नजिक आउने कोसिसमा हुन्छु तिमी दुत्कार छौ । आज म किन आउने तिमीसँग ।” कुटिल मुस्कानका साथ मृत्यु बोल्यो ।

“मैले सायद गल्ती गरेको हुँला । यदि तिमी मृत्यु नै हौ भने आज स्वागत गर्छु । आऊ मलाई अङ्कमालमा लिऊ ।” संघर्ष आवाजका साथ बोलिरहेको छ । आवाज सानो छ । ढोका खुला छ । ढोकामा एनी चुपचाप उभिएकी छे ।

“तिम्रो नजिक आउन मलाई डर भइरहेको छ ।” संघर्षले देखेको मृत्यु बोल्यो ।

“नडराऊ म केही पनि गर्दिन, म चुनोैती दिएर तिमीलाई लल्कारदिन । म तिमीलाई मित्र बनाउन चाहन्छु । आजै मलाई नलगे पनि मसँग मित्रता गर ।” संघर्ष नरम कोमल स्वरमा बोल्यो ।

“तिमीले मलेशियाको घटना जान्नका लागि यो सबै गरेका हौेला ?”

“तिमी जान्दछ्यौ त्यो सबै घटना ।”

“ म यो दुनियाँमा घटेका सबै घटनाको खबर राख्छु ।”

“होटलमा भेट भएकी केटी तिमी नै हौ त ? तिमीलाई चिनेजाने जस्तो  लाग्छ ।”

“तिमी माथि ठूलै षडयन्त्र भयो तर तिमीले पत्ता लगाउन सकेनौ ।”

“मलाई मलेशियामै मारिदिएको भए हुन्थ्यो । यो पीडा, यो असहनीय स्थिति भोग्नु पर्दैनथ्यो मैले ।”

“त्यतिखेर तिमी आफैँ मर्न चाहेनौ । मलाई धम्क्याएर बाँच्यौ । आज के नि, आज पनि धम्काऊ । मलाई तर्साऊ । के भयो तिमीलाई ? ढोकाभित्र पस्न खोज्दा मार्ने धम्की दिन्थ्यौ । तिमी मलाई मार्न सक्छौ र ? मलेशियामा जल्लाद मर्दा मलाई मारे भनेर खुसी भयौ । त्यस्तो मान्छे आज यस्तो भयौ । मलाई मार्न सक्यौ तिमीले ?”

“कृपया ढोकामा नउभिय । भित्रै आएस् । नचिनेको जस्तो कति टाढा–टाढा बसेको । मलाई आफ्नै सम्झ । तिम्रो र मेरो भेट धेरै चोटि  भएको छ । यसरी किन माया मार्छोै, कृपया ।”

“तिम्रो वाध्यताको फायदा उठाउन चाहन्न म । तिम्रो सामना गर्छु । तिम्रो चुनौती मलाई स्वीकार छ । आऊ ढोका बाहिर निस्क र मसँग लड ।”

“मेरो सामना गर्नु पर्दैन । मैले तिमीलाई दिएका चुनौतीहरू सबै झूटा हुन । म फिर्ता लिन्छु ती चुनौतीहरू । आऊ, कृपया मेरो नजिक आऊ, नजिक मात्र हैन म भित्रै आऊ । मेरो शरीरलाई ग्रहण गर । मलाई प्राप्त गर ।”

“तिम्रा अनुनय, विनयका कारण म पग्लिन्न । तिम्रो समय भएको छैन ।”

ऊ उठ्न खोज्यो । सकेन, बिउँóयो । सारा शरीर दुखिरहेको छ । पीडा केबल मात्र पीडा, असहनीय पीडा । मस्तिष्क क्षतविक्षत छ ।

“मलाई त्यो रहस्य चाहिएन । मेरो अनुरोध स्वीकार, मेरो मृत्यु मेरो नजिक आऊ ।”  आवाजका साथ चेतन अवस्थामा ऊ बडबडायो ।

        एनी ढोकाबाटै फर्की ।

——————————–0——————————

अस्पतालबाट फोन आयो । शीलाले संघर्षलाई अस्पताल लगी । एनीले संघर्षको स्वास्थ्य परीक्षणहरू गरी, गराई । शीलासँग सल्लाहविमर्श भयो । एनी र संघर्षबीचको कुराकानी यस्तो रह्यो ।

“तिमी के चाहन्छौ ।”

“म मर्न चाहन्छु । अब अरु पीडा सहन सक्दिन ।”

“तिमी बाँच्नका निम्ति मृत्युसँग जुँóदै बाँóदै हिँड्थ्यौ ।”

“होला तर आज म मृत्युसँग मित्रता गर्न चाहन्छु । मलाई बाँच्न अति कठिन भएको छ । असहनीय पीडा दुख्छ । निद्रा लाग्दैन । मेरो मृत्युलाई आधार प्रदान गर । मलाई मेरो मृत्यु देऊ ।”

“म डाक्टर हुँ । तिमीलाई कसरी मार्न सक्छु  ? मेरो काम जीवन बँचाउनु हो । बँचाउने प्रयासमा कोही मर्छ भने त्यो अर्कै कुरो हो । मैले तिम्रो सबै परीक्षण गरे तुरुन्तै मर्ने खाले कुनै रोग छैन । तिमी अझै पाँचवर्ष बाँच्न सक्छौ ।”

“कृपया डाक्टर म बाँच्न चाहन्न ।”

“तिमीले अरु बाँच्नु छ । तिम्रो मानसिक अवस्था एकदमै कमजोर छ । तिम्रो मानसिक अवस्थाका कारण तिमी मर्ने इच्छा व्यक्त गरिरहेका छौ ।  मैले औषधी लेखिदिएको छु । तिमीले त्यो खानु । त्यो औेषधीले तिमी बाँच्छौ यकिनन् ।”

“म मलेशियाको घटनाको विषयमा जान्न चाहन्छु तर त्यो सम्भव छ जस्तो लागेन ।”

“त्यो सम्भव हुनसक्छ ।”

“कसरी ? तिमी के जान्दछ््यौ डाक्टर त्यो घटनाका सम्बन्धमा मलाई भन ।  तिमीलाई थाहा छ सारा रहस्य ?” संघर्षले आश्चर्य मान्यो ।

“तिमी सुन्न तयार छौ ।”

“तयार छु ।” उत्सुकताका कारण संघर्ष सक्रिय भयो ।

संघर्ष आरामले बेडमा सुत्यो । उसले आँखा चिम्ल्यो । संघर्ष दुब्लो, पातलो कमजोर अवस्थामा छ । अचानक, अप्रत्याशित ऊ अर्धचेतन अवस्थामा जाकियो । सायद कुनै औषधीको असर होला ।

——————————–0——————————

सूर्य क्षितिजमा लुकिसकेको छ । वातावरणमा गर्मी छ । बिहानको व्यस्तताले थाकेर अस्पतालका सबै सुस्ताएका जस्तो लाग्छन् । चौरका रुखहरू पात सुकेर सुस्ताएका छन् । प्रतीक्षालयमा रहेका बेञ्च, कुर्सीहरूले फुर्सद पाएका छन् ।

                अस्पतालको बेडमा संघर्ष निदाएको जस्तो देखिन्छ वास्तवमा ऊ अर्धचेतन अवस्थामा छ ।

बिरामी रुङ्ने कुर्सीमा एनी बसेकी छ । 

अर्धचेतन अवस्थाको संघर्षलाई लाग्यो त्यो फोहोर फाल्ने आइमाई कुर्सीमा बसेकी छ ।

“तिमी आयौ । मलाई खुसी लाग्यो म तिमीसँगको मित्रता प्रगाढ बनाउन चाहन्छु ।” संघर्षको अनुहारमा खुसी चम्क्यो र लुप्त भयो ।

“तिमीलाई ज्ञान छ ।  म तिम्रो मृत्यु हँु ।” भ्रमजालमा जेलिएकोे संघर्षले मात्र यो आवाज सुन्यो ।

“यो जानेर नै मैले तिम्रो स्वागत गरेको । मसँग मित्रता कायम गर कृपया । मेरो नजिक आऊ । मलाई अङ्कमालमा लिऊ । मप्रति तिमीले गरेका हरेक षडयन्त्र र दुव्र्यवहारलाइ स्वीकार्छु । तिमी मित्र रैछौ । तिमी सधैँ मसँगै हिड्थ्यौ । मैले तिमीप्रति शत्रुझैँको व्यवहार गरे, तथानाम भने । मैले गल्ती गरेको रैछु । म माफ माग्छु । कृपया मलाई माफ गर्नुु । जीवनछायालाई नै मैले नराम्रो गरे, म अज्ञानी थिएँ । आज मात्र ज्ञान भयो । तिमी मेरो जीवनछाया हौ जसले मलाई बाँच्ने आधार दियो । आज तिमी ढोकाबाटभित्र आयौ । मेरो नजिक आऊ । म तिमीलाई प्राप्त गर्न सक्दिन कृपया तिमी मलाई प्राप्त गर ।” संघर्ष सस्वर दोहोरो वार्तालापमा संलग्न भएको जस्तो देखियो ।

“तिमी जान्न चाहदैनौ मलेशियामा के भएको थियो ।” फोहोर सङ्कलक आइमाई जसलाई उसले जल्लादको तालिम दिएको थियो त्यसले कुटिल मुस्कान मुस्काएको देख्यो संघर्षको अर्धचेतन मस्तिष्कले ।

“म त्यो जीवनजाल फुकाउन चाहन्छु कृपया ।” आत्माबाट प्रस्फुटन भएझैँको स्वर सुनियो ।

“वास्तवमा त्यो मान्छेलाई मैले मारेको थिएँ । तिम्रो र मेरो ब्याग साटिएछ । तिमी ढोका नलाइकन सुतेका रैछौ । म तिमीलाई नियन्त्रणमा लिन चाहन्थे । मलाई लाग्यो यसरी तिमी मेरो नियन्त्रणमा रहने छौ ।”

“अगाडि भन, किस्तामा नसुनाऊ मेरो काहानी मैलाई ।” संघर्ष बोल्यो ।

“त्यतिखेर मेरो नोकरी त्यहीँ जेलमा फोहोर मजदूरको रूपमै थियो । केटो साथीसँग रात्रिको मोजमस्तीका लागि मात्र म त्यो रात त्यो होटलमा पुगेकी थिएँ । साथीकेटोसँग यौनक्रियापूर्वको रोमान्स चलिरहेको बेला एउटा फोन कलले त्यो साथीलाई बोलायो । ‘अति जरुरी छ’ भनेर त्यो निस्क्यो । त्यसपछि मैले शारीरिक तिर्खा मेटाउनका निम्ति काउन्टरमा फोन गरेर कोही युवक आए ‘मकाँँ पठाइदिनु’ भने । तिनीहरूले तिमीलाई म कहाँ पठाए तर तिमीले मलाई ‘आवारा र छाडा’ भन्यौ । मलाई नराम्रो लाग्यो । रिसाएर निस्किदा मैले तिम्रो ब्याग लिएर निस्केछु । मैले पिएको पनि थिएँ । सोफामा रहेका तिम्रो र मेरो ब्याग उस्तै उस्तै रहेछन् । मैले भर्खर त्यही दिन मात्र ब्याग किनेकी थिएँ । मैले तिम्रो ब्याग उठाएर हिँडेछु । मलाई पत्तै भएन । तिमीले पनि ख्याल गरेनौ । कोठाबाहिर प्यासेजमा एउटा मान्छे उभिरहेको थियो । मैले त्यसैसँग जाने विचार गरे । त्यसले मलाई स्वागत ग¥यो र आफ्नो कोठामा लग्यो । त्यसले कोठामा लगेर यौनअभिसारको कुनै उपक्रम गरेन । आफ्नो कुरो सुनाउन थाल्यो । त्यो कुनै राजनैतिक पार्टीको नेता थियो र आफ्नो हारको बदला लिन चाहन्थ्यो । त्यसले आफ्नो ब्यागबाट पिस्तोल निकाल्यो । रुमाल राखेर उसले पिस्तोल समात्यो । मलाई डर लाग्यो । त्यो रक्सी पनि पिइरहेको थियो । पिस्तोल कहिले मतिर अनि कहिले आफैँतिर सोóयाइरहेको थियो । यस्तो लाग्थ्यो जस्तो कि त्यो पहिलोचोटि पिस्तोल समातिरहेको छ । अचानक त्यो आवेशमा आयो । ठूलठूलो स्वरमा कसैलाई गाली गर्दै त्यसले पिस्तोल मतिर सोज्यायो । त्यो सन्तुलनमा थिएन । मैले आफ्नो सुरक्षाका लागि त्यसको पिस्तोल खोसे । त्यतिखेरै मैले त्यसको कोटमा थुप्रै डलर भएको चाल पाएँ । मैले गोली चलाएँ, त्यो ढल्यो । म धेरै डराएँ । मैले त्यसको कोटबाट डलरहरु झिके । केही डलर तिम्रो ब्यागमा राखेँ । बाँकी सबै हातमा लिएर कुद्दै तिम्रो कोठामा गएँ । संयोग नै हो, तिमी ढोका नलगाइ निदाएका रैछौ । मेरो ब्याग लिएर म बाहिर कुदेँ । प्रहरीले तिमीलाई समात्यो । मलाई कसैले चिन्दैनथ्यो । के भयो को नि ? त्यो घटनामा तिमी फस्यौ । म तिमीलाई जोगाएर आफैँ फस्न चाहन्नथे । मैले त्यो घटनालाई त्यतिकै बिर्से । मलाई त्यो घटनाकोे सम्झना त्यतिखेर मात्र आयो जब तिमी त्यो जेलमा आयौ । म तिमीसँग सुत्न चाहन्थे । मलाई आवारा भनेको बदला लिन चाहन्थे । सेलमा म तिमीसँग सुते ।”

“त्यो जल्लादलाई कसले मा¥यो ?” संघर्षको अर्धचेतन अनुहारमा जिज्ञासा देखियो ।

“त्यो जल्लाद डरले म¥यो । तिम्रो मृत्युलाई तिमीले नै मारेका हौ । वास्तवमा तिमीले त्यतिखेर आफ्नो मृत्युलाई जितेका हौ । तिम्रो प्रशंसा गर्नैपर्छ । त्यो जल्लाद र त्यो जोकरलाई नमारेको भए तिमीले मृत्युलाई जित्ने थिएनौ । तिमीले मलाई जितेका हौ ।”

“त्यतिखेर म मर्न चाहन्नथे त्यसलाई के भन्ने ।” संघर्ष हलुको तर चर्को स्वरमा बोल्यो ।

“त्यो तिम्रो जित हो अधिकांश मान्छे जित्नकै लागि बाँच्छन् । जित्नेहरू सफल हुन्छन् । यो यसकारण तिम्रो जित हो कि तिम्रो मित्रता स्वीकारेर म आज तिमीलाई प्राप्त गर्ने प्रयास गरिरहेछ । तिम्रो स्वेच्छाले, इच्छाले म तिमीलाई प्राप्त गर्न गइरहेको छु । मेरो मनोमानी चल्न सकेन । मेरो छलकपट चल्न सकेन तिमी माथि ।”

“के यो सत्य तथ्य हो ?” संघर्ष गर्व गर्न चाहेझँै देखियो ।

“यो उचित हो, तिमी महान् हौ । तिमीले मृत्युलाई जित्यौ । मृत्युलाई जित्नेहरू कोही पनि छैनन्, यो दिनदुनियाँ, लोकमा । तिमी नै एउटा महान् मानव हौ जसले मृत्युलाई जित्यो । मृत्युलाई जित्नेहरू मानवकै योनिमा पुनर्जन्म लिने गर्छन् ।”

“धन्यवाद ।” उसले कमजोर छाती फुलायो । घमण्डले टाउको ठाडो पा¥यो ।

“तिमी जस्तो महान् पुरुष जन्मन शताब्दी लाग्ने गर्छ । शताब्दीमा जन्मने त्यो एउटा महान् पुरुषले मृत्युलाई जित्छ  ।”

“एउटा कुरा भनौं तिमीलाई ?” कोमल र अनुरोधपूर्ण स्वर संघर्षकोे ।

“भन, अब हामी मित्र भइसकेका छौ ।”

“गर्वले छाती तानेर बाँच्न चाहन्छु, म सदा सदा ।” अनौठो स्वरमा बोल्यो संघर्ष ।

“मैले तिमीलाई प्राप्त गर्ने प्रक्रिया तिम्रै अनुरोधमा सुरु गरिसकेको छु । त्यो रोक्न सकिदैन । म तिम्रै अनुरोधमा तिमीलाई प्राप्त गर्न कटिबद्ध छु । गर्वले छाती तानेर मलाई प्राप्त गर ।”

संघर्ष अर्धचेतनबाट चेतन अवस्थामा फर्कन थाल्यो । बिस्तारै बिस्तारै उसका आँखाहरू खुले । मस्तिष्कले समय, वातावरण सबैको आभास पायो ।

एनी कुर्सीबाट उठी । ढोकातिर हिड्दै ऊ बोली ।

“म बेलुकाको हवाईजहाजबाट फर्किदै छु । तिम्रो जीवन तिमीलाई शुभकामना ।  मेरा कुराहरू सुनेर तिमीले कुनै प्रतिक्रिया जनाएनौ । मलाई खुसी लाग्यो ।  गुडबाई ।”

                संघर्षले ढोकातिर जादै गरेकी आइमाई देख्यो । त्यो आइमाईको अनुहार देख्न सकेन । उसले सोच्यो ‘फोहोर सङ्कलक आइमाई गईरहेकी छे ।’ उसले रोक्न चाहेन । क्रोध प्रकट गर्न सक्ने अवस्थामा छैन संघर्ष । उसलाई यो पनि लाग्यो कि अन्त्यमा फोहोर सङ्कलक आइमाईले उसलाई मुक्ति दिई । ‘अब मभित्र मानसिक तनाव रहेन’ सीत्कार निकाल्दै संघर्षले सोच्यो ।

0——————————–0——————————0

सूर्य क्षितिजमा लुकिसकेको छ । वातावरणमा गर्मी छ । बिहानको व्यस्तताले थाकेर अस्पतालका सबै सुस्ताएका जस्तो लाग्छन् । चौरका रुखहरू पात सुकेर सुस्ताएका छन् । प्रतीक्षालयमा रहेका बेञ्च, कुर्सीहरूले फुर्सद पाएका छन् ।

अस्पतालको बेडमा संघर्ष निदाएको जस्तो देखिन्छ वास्तवमा ऊ अर्धचेतन अवस्थामा छ ।

बिरामी रुँग्ने कुर्सीमा एनी बसेकी छ । 

“तिमी आयांै । मलाई खुसी लाग्यो म तिमीसँगको मित्रता प्रगाढ बनाउन चाहन्छु ।”

“तिमीलाई ज्ञान छ ।  म तिमीद्वारा आवारा, छाडा भनिएकी केटी हुँ ।” एनी सानो स्वरमा डराउँदै बोली ।

“यो जानेर नै मैले तिम्रो स्वागत गरेको । मसँग मित्रता कायम गर कृपया । मसँग नजिक आऊ । मलाई अङ्कमालमा लिऊ । मप्रति तिमीले गरेका हरेक षडयन्त्र र दुव्र्यवहारलाई स्वीकार्छु । तिमी मित्र रैछौ । तिमी सधैँ मसँगै हिड्थ्यौ । मैले तिमीप्रति शत्रुझैँको व्यवहार गरे, तथानाम भने । मैले गल्ती गरेको रैछु । म माफ माग्छु । कृपया मलाई माफ गर्नु । जीवनछायालाई नै मैले नराम्रो गरे । म अज्ञानी थिएँ । आज मात्र ज्ञान भयो । तिमी मेरो जीवनछाया हौ जसले मलाई बाँच्ने आधार दियो । आज तिमी ढोकाबाटभित्र आयौं । मेरो नजिक आऊ । म तिमीलाई प्राप्त गर्न सक्दिन कृपया तिमी मलाई प्राप्त गर ।”

“तिमी जान्न चाहँदैनौ मलेशियामा के भएको थियो ।” एनी कुटिल मुस्कान मुस्काई ।

“म त्यो जीवनजाल फुकाउन चाहन्छु कृपया ।”

“म कुनै वेश्या, छाडा वा फोहोरी केटी थिइन र छुइन पनि । म त्यसदिन एउटा ब्वायफ्रेण्डसँग रात बिताउनका लागि त्यहाँ पुगेकी थिएँ । म वेश्या थिइन, डाक्टर नै थिएँ ।” एनी रोकिई । उसले आफ्नो बसाइ थोरै परिवर्तन गरी ।

“अगाडि भन किस्तामा नसुनाऊ मेरो काहानी मैलाई ।” संघर्ष बोल्यो

“त्यतिखेर म जेलमा डाक्टर थिएँ । केटोसाथीसँग रात्रिको मोजमस्तीका लागि मात्र म त्यो रात त्यो होटलमा पुगेकी थिएँ । त्यो केटोसँग कोठामा यौनक्रियापूर्वको रोमान्स चलिरहेको बखत एउटा फोन कलले साथीलाई बोलायो । ‘अति जरुरी छ’ भन्दै ऊ निस्क्यो । त्यसपछि मैले शारीरिक तिर्खा मेटाउनका निम्ति काउन्टरमा फोन गरेर ‘कोही युवक आए मकाँँ पठाइदिनु’ भने । तिनीहरूले तिमीलाई म कहाँ पठाए तर तिमीले मलाई आवारा र छाडा भन्यौ । मलाई नराम्रो लाग्यो, रिसाएर निस्किदा मैले तिम्रो ब्याग लिएर निस्केछु । मैले पिएको पनि थिएँ । सोफामा रहेका तिम्रो र मेरो ब्याग उस्तै उस्तै रहेछन् । मैले भर्खर त्यही दिन मात्र ब्याग किनेकी थिएँ । मैले तिम्रो ब्याग उठाएर हिँडेछु । मलाई पत्तै भएन । तिमीले पनि ख्याल गरेनौ । कोठाबाहिर प्यासेजमा एउटा मान्छे उभिरहेको थियो । मैले त्यसैसँग जाने विचार गरे । त्यसले मलाई स्वागत ग¥यो र आफ्नो कोठामा लग्यो । कोठामा लगेर यौनअभिसारको कुनै उपक्रम गरेन । आफ्नो कुरो सुनाउन थाल्यो । त्यो कुनै राजनैतिक पार्टीको नेता थियो र आफ्नो हारको बदला लिन चाहन्थ्यो । त्यसले आफ्नो ब्यागबाट पिस्तोल निकाल्यो । रुमाल राखेर त्यसले पिस्तोल समात्यो, मलाई डर लाग्यो । त्यो रक्सी पनि पिइरहेको थियो । पिस्तोल कहिले मतिर अनि कहिले आफैँतिर सोज्याइरहेको थियो । यस्तो लाग्थ्यो जस्तो कि त्यो पहिलोचोटि पिस्तोल समातिरहेको छ । अचानक त्यो आवेशमा आयो । ठूलठूलो स्वरमा कसैलाई गाली गर्दै त्यसले पिस्तोल óयालतिर सोज्यायो । óयालबाहिरको हावामा पिस्तोल चलायो । त्यसको दुर्भाग्य, पिस्तोल समात्न नजानेर हो वा रक्सी पिएको कारणले हो गोली त्यसको छातीमै लाग्यो । त्यो ढल्यो । म धेरै डराएँ । कुद्दै म तिम्रो कोठामा गएँ । संयोग नै हो, तिमी ढोका नलगाइ निदाएका रैंछौ । ब्याग लिएर म बाहिर कुदेँ । प्रहरीले तिमीलाई समात्यो । मलाई कसैले चिन्दैनथे । के भयो को नि ? त्यो घटनामा तिमी फस्यौ । म तिमीलाई जोगाएर आफैँ फस्न चाहन्नथे । मैले त्यो घटनालाई त्यतिकै बिर्से । मलाई त्यो घटनाकोे सम्झना त्यतिखेर मात्र आयो जब तिमी त्यो जेलमा आयौ । म तिमीसँग सुत्न चाहन्थे । मलाई आवारा भनेको बदला चाहन्थे । सेलमा म तिमीसँग सुते ।” एनीले सारा कुरा नअट्की, नअलमलिइ सन्तुलित स्वरमा बोली । उनीहरु बीच अङ्ग्रेजी भाषामा कुराकानी भइरहेछ ।

“त्यो जल्लादलाई कसले मा¥यो ?”

“त्यो फोहोर सङ्कलक आइमाई जल्लादलाई मारेर आफैँ जल्लाद बन्न चाहन्थी । त्यो दिन, त्यसैले हुनुपर्छ, म विश्वस्त छुइन तर त्यसैले हुनुपर्छ । त्यसो त तिमीले मृत्युलाई जितेको पनि हुनसक्छ । म विश्वासका साथ केही भन्न सक्दिन । तिमीले सोचे जस्तो त्यो मृत्यु हो भने तिमीले त्यसलाई जितेकै हौ ।” दोधारका भावहरु एनीका अनुहारमा देखिए । यो बोलौ कि त्यो बोलौ भएको जस्ती देखिई ।

“त्यतिखेर म मर्न चाहन्नथे त्यसलाई के भन्ने ।”

“यो तिम्रो सौभाग्य हो । तिम्रो अन्तिम समयमा त्यो म¥यो । अरु सबै कुरा स्पष्ट छ । बाँकी कुराहरू त्यही नै हो जो घट्यो, कुनै षडयन्त्र छैन । मृत्युसँगको लडाइँमा तिमीलाई जिताउने, महान् बनाउने, मृत्युदण्डबाट बचाउने त्यो फोहोर सङ्कलक आइमाई हुनुपर्छ । अघिल्लो चोटि तिमीले त्यसलाई आफ्नू मृत्युको रूपमा स्वीकारेको देख्दा छक्क लाग्यो ।” एनीको अनुहार, आखामा आश्चर्यका भावहरु स्पष्ट देखापरे । 

“के यो सत्य तथ्य हो ?”

एनीले कुर्सीबाट उठ्ने जमर्को गरी । उठ्न चै उठिन । “एउटा अन्तिम कुरा पनि म तिमीलाई सुनाइ हालौ । तिम्रो पिस्तोलको गोली झिकेकोे कुरा मलाई शीलाले हिजो मात्र बताई । तिमीले मृत्युलाई कहीँ कुनै पनि अवस्थामा जितेनौ । तिमीले मृत्युलाई जितेको कुरा सबै भ्रम हुन् । तिम्रोे घमण्ड, तिम्रो अभिमान तर मानिसजातले मृत्युलाई जितेको कुरो सत्य हो, मानवजातिको महानता ।” एनी चर्को स्वरमा बोली ।

“धन्यवाद ।”

“तिमी जस्तो महान् पुरुष जन्मन शताब्दी लाग्ने गर्छ तर शताब्दीमा जन्मने त्यो एउटा महान् पुरुषले पनि मृत्युलाई जित्न सक्दैन ।” एनीले आश्चर्यलाग्दो स्वरमा गहन कुरा बोली ।

“एउटा कुरा भनौ तिमीलाई ।”

“भन, अब हामी मित्र भइसकेका छौ ।” एनी मुस्कुराउँदै बोली ।

“गर्वले छाती तानेर बाँच्न चाहन्छु, म सदा सदा ।”

“तिम्रो यो पीडा, कठोर रोगका सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर एउटा औषधी पत्ता लगाएका छाँै । म तिमीलाई त्यो औषधी दिएर जाँदैछु । अब तिमी आफ्नो स्वाभाविक मृत्यु मर्नेछौ ।” 

संघर्ष अर्धचेतनबाट चेतन अवस्थामा फर्कन थाल्यो । बिस्तारै बिस्तारै उसको आँखाहरू खुले । मस्तिष्कले समय, वातावरण सबैको आभास पायो ।

एनी कुर्सीबाट उठी । ढोकातिर हिड्दै ऊ बोली ।

“म बेलुकाको हवाईजहाजबाट फर्किरहेको छु । तिम्रो जीवन तिमीलाई शुभकामना,  मेरा कुराहरू सुनेर तिमीले कुनै प्रतिक्रिया जनाएनौ । मलाई खुसी लाग्यो । गुडबाई ।”

एनी कोठाबाट निस्केर हिँडी । आधा घण्टापछि शीलाले सबै कागजात लिएर आई । संघर्ष र शीला घरतर्फ लागे ।

——————————–0——————————

सात वर्ष अरु बाँच्यो संघर्ष । पीडा, कष्ट, यातनारहित जीवन बाँच्यो । मृत्युलाई बारम्बार जितेको भ्रममा बाँच्यो । शीला क्यान्सर अस्पतालमा काम गर्न थाली । आफूसँग काम गर्ने डाक्टरसँग विवाह गरी ।

चक्र घुम्यो । चक्रलाई घुम्नु नै छ ।

सामाजिक परिवर्तनका कारण होला, शीलाको श्रीमान् अमेरिकामा स्थापित भयो । शीलालाई पनि बोलायो तर शीला गइन । जाने विचार पनि छैन । ऊ यहीँका बिरामीहरूको सेवा गर्न चाहन्छे । कहिले तालिम र कहिले घुम्न शीला अमेरिका गइरहन्छे । उनीहरूबाट एउटा बच्चा पनि जन्मिसकेको छ । 

संघर्षबाट सुनेकी निम्न वाक्यहरुलाई शीलाले मृत्युविरुद्धको पाठ मानेर सदैव याद राखी । 

‘जीवनजालबाट उम्किन सफल हुनेहरू मृत्युलाई जितेको घमण्डी भ्रम पाल्छन् । घमण्डको रूपमा, भ्रम, डर, दुबिधा र शङ्काको रूपमा मृत्यु छाया हो जीवनको । उज्यालो होस् या अँध्यारो मृत्यु छाया सरह हिँड्छ मानिससँग । जीवनसँग मृत्यु छ सदैव । मृत्युसँग घमण्ड छैन, अभिमान छैन, भ्रम छैन । मौन छ, शान्त छ, स्थिर छ सदा ।’

संघर्ष एकासी वर्षको उमेरमा स्वाभाविक मृत्यु म¥यो । सर्वप्रथम शीलाले थाहा पाई । ऊ रोई, छटपटाइ क्षणभरका लागि उसलाई लाग्यो जीवन जीवन रहेन ता पनि आफ्नो कर्तव्य पालन गर्न अग्रसर रही । सबै रोए, गम्भीर रहे । एकअर्कालाई सान्त्वना दिए । सबैले आआफनो कर्तव्य पालन गरे । संघर्ष ज्यादा आत्मीय तथा नजिक कसैसँग थिएन तरै पनि सबै रोए । आकांक्षा आइन जो संघर्षको ज्यादै नजिक मानिन्थी । एनीलाई खबर भयो ।

संघर्ष जीवनभर मृत्युविरुद्ध लड्यो । शीला पनि मृत्युविरुद्धको लडाइँमा संलग्न रहन थाली । शीला क्यान्सर सर्जनका रूपमा प्रसिद्ध भई । एनीसँगको सम्बन्ध टुटेन शीलाको । संघर्षको मृत्युपश्चात् शीला र एनीले थुप्रै काम सँगै गरे । एनीबाट क्यान्सरका थुप्रै पाठहरु सिक्ने अवसर पाई शीलाले । मृत्युका थुप्रै रूपहरू देख्ने मौका पाई ।  एनीबाट सिकेका  पाठहरू शीलाले सदैव याद राखी, एनीको मृत्युपश्चात् पनि ।

                                                समाप्त 

राजनप्रसाद निरौला २०१८

पिताः स्व श्री पुण्यप्रसाद निरौला

माताः स्व श्री दुर्गादेवि निरौला

पाक्तिन, खाम्लालुङ, तेह्रथुम

का म न पा ११, काठमाण्डौ ।

फोन नं ४२४३८९२,९७४११३७२३५

शिक्षामा स्नातकोत्तर

निजामती शिक्षा सेवा अन्तर्गत

रा प द्धि प्रा शिक्षा मन्त्रालयमा कार्यरत

प्रकाशित कृतिहरु

१ सीत्कृती, कविता सङग्रह, २०५३

२ खुला आकाश, उपन्यास, साझा प्रकाशन २०६५

३ सङ्घर्ष र शान्ति, उपन्यास २०६६

४ अद्भुत प्रेम, परीजातसँग, उपन्यास २०६७

५ मृत्युविरुद्ध, उपन्यास २०६८

६ प्रकाशोन्मुख

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

One Response to नेपाली उपन्यास : मृत्यु विरुद्ध

  1. anju adhikari says:

    एक दमै मन छुने …..म त यो उपन्यास किन्न चाहन्छु । कहाँ पाई न्छ होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *