कथा : साउनको व्रत

~उषा शेरचन~Usha_Sherchan

कस्तो हुस्सु म ? कार्यक्रम पर्सी रहेछ आजै सम्झेर आइपुगेछु। यसो वरिपरि आँखा डुलाएँ। म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ। शंका लागेर त्यहाँको स्टाफलाई सोधेको त—‘आज होइन नि म्याडम पर्सी पो हो त ।’

आफ्नो हुस्सु पन देखेर आफैँ प्रति मज्जाले हाँस्न मन लाग्यो ।

एकजना ड्राइभर बुबा बितेको हुनाले घर गएको थियो । अर्को ड्राइभर श्रीमानजीले लैजानु भएको थियो। जाममा परेकोले समय मै आइपुग्न नसक्ने भनेर श्रीमानजीको फोन आएपछि यसो घरको बरण्डाबाट बाहिर हेरेको त ठ्याक्कै एउटा ट्याक्सी आइरहेको देखेर बरण्डैबाट चिच्याएर रोकेँ । हतार हतार ओर्लेर ट्याक्सी चढेर गएको त झन् कार्यक्रम त पर्सी पो रहेछ । बेकारमा हेर त ? आफ्नो सुद्धि देखेर आफैँलाई रिस उठ्यो।
उसै पनि असार साउन महिना पानी नपर्ने त सवालै भएन। तर कसो? हिजो अस्तिजस्तो पानी झमझम परेको भने थिएन।

यत्तिकै फर्कौँ भने पनि एकजना साथीलाई आफैँले फोन गरेर कार्यक्रम आजै हो भनेर बोलाएको थिएँ, नैतिक दायित्व वोधले साथीलाई पर्खनै पर्‍यो। त्यसैले रेस्टुरेन्टतिर लागेँ म। र, साथीलाई फोन गरेको त उनि पनि जाममै फँसेको जानकारी पाएकोले एउटा कोल्ड कफी अर्डर गरेँ। कसो वाइफाइ रहेछ र धन्न समय कटाउन सजिलो भयो। नत्र प्रतीक्षाजस्तो लामो र झर्का लाग्दो काम अरु केही लाग्दैन मलाई।

देब्रे पट्टिको कर्नर टेबुलमा तिनचार जना युवती र एकजना मात्रै युवक बसेर गफ गर्दै थिए। र, ती मध्ये एकजनाको भने त्यस्तै पाँच सात वर्षको छोरा पनि रहेछ। बच्चा भएसी अलिअलि चकचक गर्ने त स्वभाविकै कुरो भयो। सबै युवतीहरुका हात मेहन्दीले रङ्गीएका, टन्न हरियो काँचका चुराले सजिएका र गलामा हरियो पोते लटकाएर गफमा मस्त रहे तापनि घरीघरी बच्चाको चकचक र बालसुलभ प्रश्नले उनीहरुको गफमा ब्रेक लागिरहेको थियो। र, बच्चाको आमाले यसो नगर उसो नगर बाबुभन्दै आफ्नो छोरालाई मायाले निर्देशन दिइरहेको थियो।

उनीहरुको टेबलमा वेटरले पेय पदार्थ राखेर गएपछि अचानक तिनीहरुको गफको विषय फेरियो — ‘यो साउन महिनाभरि म त माछा मासु नै खान्नँ। आज त साउनको सोमबार माथि पनि हरिशयनी एकादशी हो। म त व्रत बसेकी छु। जुस र फ्रुट बाहेक आजको दिन अरु केही खान्नँ। अब घर गएर कि त पानी रोटी खान्छु कि त दुध र रोटी। तिमीहरु केही केही खाउ न? मलाई यही जुसभए पुग्छ।’

अर्कीले भनिन्— ‘म व्रत बसेको त छैन। तर यो महिनाभरि माछा मासु त खान्नँ नि मैले पनि।’

अनि फेरि अर्कीले भनिन् —‘हो त ! मैले त लसुन प्याज पनि खान्नँ।’

‘हो नि! श्रीमानको लागि यत्ति त गर्नु पर्‍यो नि होइन?’ अर्कीले थपिन्।

यतिञ्जेलसम्म चुपो लागेर उनीहरुको कुरा सुनेर मात्रै बसिरहेको युवकले बोलेको सुनियो—‘ए हो? गोलभेँडा पनि खानहुन्न र?’

‘हुन्छ लसुन प्याज माछा मासु मात्रै हो नखाने।’

‘ए हो !’ युवकले भन्यो ।

‘साउन महिनाको व्रत हो नि त। यो व्रत त हामीले हाम्रा श्रीमानज्यू को दीर्धायूको लागि बस्ने हो।’ दाम्पत्य जीवनमा सधैँ हरियाली छावोस् भनेर हरियो चुरा पोते टीका र कपडा लाउने हो। अचेल त मेहेन्दी लाउने चलन पनि खुब बढ्या छ।‘

—‘ए हो !’ युवकले भन्यो।

उमेरका हिसाबले छोरीहरुजस्ता कुरा र बिचारले चैँ हजुरआमाजस्ता। एक्काईसौँ शताब्दीका गृहणी युवतीहरुका कुरा सुन्दा अचम्मै लाग्यो मलाई। उनीहरुका गफका विषयहरु मेहन्दी,चुरा, धागो, पोते खाना र व्रतका कुराहरुभन्दा निम्न विषयहरुमा हुनुपर्थ्यो होइन र? भन्ने लाग्यो मलाइ भने—

— आमाको नाउँमा नागरिता पाउनु पर्ने बारेमा।

— लैङ्गीक विभेद र यौनिक हिंसाको बारेमा।

—महिला बेचखिनको बारेमा।

—समान अधिकार र अवसरको बारेमा।

—दाइजो प्रथाको उन्मुलन र आर्थिकरुपमा सशक्तिकरणको बारेमा।

—जरो गाडेर बसेको कुसंस्कारलाई उखेलेर फ्याक्ने बारेमा।

तर तिनीहरुले त्यस्ता केही पनि विषयमा गफ गरेको सुनिएन।

यत्तिकैमा गेटबाट साथी आइरहेको देखेपछि म पनि मेरो टेबलबाट उठेँ र ती युवतीहरु छेउ पुगेर भने —‘नानीहरुले श्रीमानको लागि यत्ति धेरै पुजाआजा र व्रत बस्नुहुँदो रहेछ अत्यन्तै राम्रो कुरा हो। तर कहिलेकाँहि नानीहरुका लागि पनि नानीहरुका श्रीमानहरु व्रत बस्ने गर्नुहुन्छ कि हुन्न त?’

एकाएक यस्तो प्रश्न सुनेर अक्क न बक्क हुँदै मुखामुख गरे सबैले।

उनीहरुको उत्तरको प्रतीक्षा बिनै सरासर अगाडि बढेँ म ।

पछाडिबाट आएको स्वर भने कानैमा ठोक्कियो —‘कस्ती पागलजस्तै बुढी रै‘छे …..!’

(स्रोत : Pahilopost)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *