कथा : दाग

~शुषमा मानन्धर~Shushma Manandhar

धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता बादल भने देखिन थालेको थियो । सडकका खाल्डा खाल्डीमा जमेका पानी सुकिसकेका थिएनन् । त्यसैले गुडिरहेका गाडीले बाटो हिँड्ने बटुवाहरुलाई मजैले पानी छ्यापी रहेका थिए ।

अफिसबाट छुटेर घर जांदै थिएं । बाटोमा सानो चिया पसल थियो । हेर्दा साधारण लाग्ने पसल तर चिया मीठो पाइन्थ्यो । चिसोले चियाको तलतल बढेर म त्यहां अडें । भित्र अलि भीडै थियो । पसल अगाडि केही खाली कुर्सीहरु थिए म चैं कुनाको कुर्सी रोजेर बसें । सडकमा हिँडिरहेकी एउटी युवती आफूलाई फोहर पानीका छिटाहरुबाट बचाउन खोज्दै थिई सफल भइन । बाइकले छ्यापेका हिलो उनको सफा पहिरनमा लाग्यो । रोउं कि हांसु भै ती युवती । ‘हरे ! विचरीलाई पर्नु पर्यो’ चिया पसलेले सहानुभूति व्यक्त गर्यो । ‘लुगाको दाग त धोए गैहाल्छ तर… ‘ मैले वाक्य पूरा गरिनं । पसलेले मलाई हेर्यो अनि कत्ति नै कुरा बुझेँ झैँ गरी टाउको हल्लायो । मैलॆ भन्न खोजेको कुरा उसले सांच्चीकै बुझ्यो कि बुझेन ठम्याउन भने सकिनं ।

शशीधर मेरो सानैदेखिको साथी । म भन्दा ऊ दुइ चार वर्ष जेठै थियो र स्कूलमा सिनियर पनि । उमेर र कक्षाको भिन्नताको बावजुद शशीधरसंग मेरो दांतकाटी मित्रता थियो । गाउंमा हामी छिमेकी थियौं र एउटै स्कूलमा पढ्थ्यौं । पछि गाउंको घर जग्गा बेचेर हामी भने काठमाण्डौं बस्न थाल्यौं । शशीधरको परिवार गाउंमै थियो । उसले गाउंमै विहे गर्यो र पछि यता आएर स्कूलमा मास्टरी गर्न थाल्यो । गाउंमै बसी घर खेत हेर्न परिवारले गरेको अनेकौं अनुरोधलाई उसले मानेन । ऊ काठमाण्डौं आएर केही नयां कुरा गरी परिवारमा देखाउन चाहन्थ्यो । त्यसैले परिवार नै नलिई ऊ एक्लै भए पनि शहर आयो । उसको डेरा हाम्रो घरभन्दा त्यति टाढा थिएन जसले गर्दा हामी सजिलै एक अर्का कहां आवत जावत गरिरहन्थ्यौं ।

पढाई सकेर मैले जागिर खाँए र जागिरमा यत्ति रमाएं कि वितेका वर्षहरुमा मलाई विहे गर्नु पर्ने होशै भएन । होश त तब आयो जब साथीहरु प्राय सवै दुइचार जना छोराछोरीका बाउ बनिसकेका थिए । भेट भए पिच्छै उनीहरु मलाई विह गर्न दवाब दिन्थे । यो उमेरसम्म मैले विहे नगर्नुको सांच्चीकै कारण केलाउने हो भने आजसम्म कसैले मलाई आकर्षित गर्नै सकेका थिएनन् र यो पनि हुन सक्छ शायद म पनि कसैको आकर्षणको केन्द्र बन्न सिकंन हुंला ।

शशीधर पनि मलाई विहे गर्न बराबर कर गरिरहन्थ्यो । मैले विहे गरे ऊ गाँउबाट आफ्नो परिवार ल्याउँछु भन्थ्यो । दुवैकी श्रीमतीलाई एक अर्काको साथ हुन्छ र उसकी श्रीमतीलाई गांउ छाडिएको भान हुंदैन भन्ने उसको तर्क हुन्थ्यो । विहे बारे मेरो छुटटै राय थियो । हतारमा विहे गरेर फुर्सदमा पछुताउन म चाहन्न थिएं । उसमाथि मेरो परिवारले मेरो विहे गर्ने निर्णय ममाथि नै छाडेकाले यसतिर म हतारिएको थिइनं । मैले रश्मीलाई नभेटेको भए शायद अझसम्म पनि मेरो मनमा विहेको कुनै अनुराग जन्मिने थिएन । रश्मी निकै राम्री थिई । तर उसका सौन्दर्य सवै बगेर उसका चम्किला र मोहक आंखाहरुभित्र मात्र सीमित रहेका थिए । आफ्नो कामसंग मतलब राख्ने अनि थोरै बोल्ने बानी परिसकेकी रश्मीका पानीदार आंखाहरु भित्र सधैं एउटा गहिरो मौनता हुन्थ्यो । त्यो स्थीर शान्त तलाउ जस्तो आंखा र उसको गम्भिर छविले गर्दा नै म ऊतिर तानिएको थिएं ।

रश्मी शशीधरको डेरासंगै कोठा लिएर बस्थी । उसको एउटा सानो छोरा थियो र ऊ विधवा थिई । शशीधरबाट मैले सुने अनुसार उसको अनमेल विहे भएको थियो । गरिब माइतीको कारण अधबैंसे धनी बुढोसंग उसको विहॆ भए पनि बुढोको मृत्युपछि भने त्यो घर उसको लागि यातनागृह बनेको थियो । सांझैविहान दुख गरेर पनि उसले जस पाउंदिन थिई । अति भएपछि ऊ घर छाडि माइतीमा बस्न आई । माइतीमा परिवार ठूलो थियो । मध्यम स्तरको आर्थिक अवस्था भएको माइतीमा उसको बसाइलाई लिएर प्रायः कचपच भै रहन्थ्यो । विहे भैसकेका छोरीहरु भारका रुपमा सम्झिने समाजभित्र रश्मीको माइती पनि कुनै अपवाद थिएन । दिनहुंको घरमा हुने किचकिचको मानसिक यातनाबाट बच्न ऊ त्यहांबाट पनि निस्केर डेरामा बसेकी थिई । एउटी युवतीले संघर्ष गरेर एक्लै बसेको पनि समाजले देखी नसहने रहेछ । स्वार्थलोलुप धेरै मान्छेहरु उसले एकल महिलाको रुपमा यसरी बस्नुलाई हल्का रुपमा लिन खोज्थे । स्वार्थका लागि बोल्थे र लेनदेनका भाषा बुझाउन खोज्थे । उसले ती सवैबाट आफूलाई बचाउंदै आएकी थिई । शशीधरको मुखबाट रश्मीको वारेमा यस्ता कुरा सुन्दा मलाई हुनसम्मको आश्चर्य र दुख लागेको थियो । त्यति राम्री र सोझी भैकन पनि दुख भोग्नु पर्ने उसको नियतिमा मलाई साह्रै अपशोच लाग्यो ।

उसको बारेमा थाहा पाएदेखि शशीधरको घरमा जाने मेरो क्रम झन् बढ्यो । साथीकहां जाने त एउटा बहाना मात्र थियो मनले सधै रश्मीसंग जम्काभेट भैहालोस् भन्ने चाहन्थ्यो । शशीधरकोमा दुइचार चोटी ऊसंग भेट पनि भएकोथ्यो । मलाई देखेर ऊ संकोचपूर्वक मुस्काउंथी । जब म त्यहां हुन्थें ऊ धेरै बेर बस्दिनथी । शशीधरसंग मैले अप्रत्यक्ष रुपमा रश्मीको वारेमा धेरै चोटि कुरा खोतल्ने प्रयास गरिसकें । मेरो अनवरत जिज्ञासा प्रति मैले शशीधरको आँखामा थुप्रै आश्चर्य देखेको छु र यो स्वाभाविक पनि थियो । किनभने म आकर्षक व्यक्तित्वको कमाउ पुरुष थिएं र मैले रश्मीभन्दा उपयुक्त युवती पाउन सक्थें । मेरो ऊप्रतिको आसक्तिमा उसले कहिल्यै मुख फोरेर आफ्नो प्रतिकि्रया जनाएन । तर जान्दथें कि रश्मी प्रतिको मेरो उत्सुकता ऊबाट लुकेको भने थिएन ।

ऊ शशीधरसंगै एउटै स्कूलमा शिक्षिका थिई । एउटै स्कूल र छिमेकी पनि हुंदा रश्मी शशीधरलाई दाजु झै मान्दथी त्यसैले कुनै समस्या पर्दा ऊ शशीधर कहाँ निसँकोच आइरहन्थी ।

सांझदेखि हल्का पानीका छिटा पर्न थालेको थियो । सात बज्दैथियो बोर लागेर म शशीधरकहां गएं । ऊ खाना पकाउंदै थियो । आफ्नो परिवार ल्याएको भए उसले यो टन्टै गर्नु पर्दैनथ्यो भन्ने मेरो व्यंग्यमा ऊ केवल हांस्यो मात्र । बाहिर हावा हुरी पनि चल्न थालेको थियो । लोडसेडिङको पालो नभए पनि शायद सम्भावित आंधीको कारणले बत्ती पनि निभ्यो । म घर फर्कुं या नफर्कुं भन्ने दोधारमा थिएं ढोका ढक्ढकाएर हठात् रश्मी भित्र पसी । उसले कांधमा छोरा बोकेकी थिई । शशीधर आत्तिए “के भयो बैनी ?” रश्मीले केही बोल्न सकिन । मैनवत्तिको प्रकाशमा उसका चम्किला आंखा भिजेका देखिन्थे । “दाइ छोराले वान्ता पनि गरेको छ विहानसम्म त ठीकै थियो । एक दुइ घण्टा अगाडिदेखि के भयो के भयो ।” आमारुपी उसको मन आत्तियो । शशीधर र मैले बच्चाको निधार छामी हेर्यौं ऊ भुङग्रो झै तातो थियो । बाहिर मेघ गर्जनसंगै आंधीहुरीको ताण्डव नृत्य शुरु भयो । मुसलाधार पानी पनि पर्यो । एकैछिनमा सडक चकमन्न र निस्तब्ध भयॊ । आवाज भन्नु केवल झरीको थियो । साधनको अभावमा तत्कालै बच्चालाई राती डाक्टरकहाँ लाने अर्को कुनै उपाए थिएन । रश्मीले फर्किन चाही । “यस्तो पानीमा…विरामी बच्चालाई कहां लानुहुन्छ ? एकैछिन पर्खनुस् न ।” मेरो कुरा सुनेर अप्ठयारो लागे पनि ऊ छोरालाई च्यापी सोफामा बसी । शशीधरले आफूसंग भएको सिटामोल ख्वाउनुको अलावा हामीले पालोपालो बच्चालाई पानी पट्टी लाइरह्यौं । अलि विसेक भएर होलाबच्चा निदायो । अंध्यारो रात, हावाहुरी र झरी हामी तीनै जना शशीधरको कोठामा थुनियौं । त्यो रात हामी कोही निदाएनौं । रश्मीले बच्चाबाट आँखा हटाइन मैले रश्मीलाई हेरिरहें र शशीधरले हामी दुवैलाई हेरिरह्यो । आधी रातमा पानी थामियो । बच्चाको ज्वरो केही घटिसकेको थियो । शशीधरले बच्चा बोकेर रश्मीलाई उसको डेरा पुर्याउन गयो रिमरिम विहान पनि नहुंदै ।

विहान सवेरै म पनि घर फर्कें । त्यसको केही दिनमै अफिसको कार्य विशेषले डेढ महिनाको लागि विदेश जानुपर्यो मैले । यसपालिको फर्काइमा रश्मीसंग केही गम्भिर कुरा गर्ने मनस्थिति बोकेर म सिधा शशीधर कहाँ पुगें । ऊ घरैमा थियो । मलिन र गम्भिर देखिएको शशीधरसंग विना भूमिका मैले स्पष्ट रुपमा रश्मीको बारेमा आफ्नो निर्णय सुनाएँ र ऊसंग सहयोग मागें । ऊ केही बोलेन । मेरो अनुहारमा प्रतिक्रियालाई तौलि सकेपछि उसले सुस्केरामा भन्यो “अचेल ऊ स्कूल पनि आइरहेकी छैन ।”

महिना दिनको मेरो अनुपस्थितिमा परिदृष्यहरु परिवर्तन भैसकेका थिए । रश्मीकी घरबेटीले निकै छेड हानेर लान्छना लगाएकी रहिछन् उसलाई । आफ्नो एक जना विधुर आफन्तसंग विहेकॊ लागि राखिएको उनको प्रस्ताव रश्मीले नम्रता पूर्वक अस्वीकार गरेकोको सम्भवत त्यो साटो फेराई पनि थियो । किनकी शशीधर भन्दै थियो तिनी जतिबेला पनि त्यॊ रातको कुरालाई मसला लगाई बढाइचढाइ रश्मीले सुन्ने गरी अरुलाई बताइरहन्थिन् रे ।

म रश्मीको पुरानो डेरामा जांदा त्यहां ताला झुण्डिएको थियो । मैले घरबेटीसंग रश्मीको बारेमा सोधें । उनले मलाई तल देखि माथिसम्म शंकाको दृष्टिले हेरीन् र ‘रश्मीको के साइनो पर्ने’ भनी सोधिन् । मैले ‘उसको साथी हुं’ भनेपछि उनले रश्मीले डेरा छाडेर गैसकेकी बताइन् । कोठा कता सरेकी होला भन्ने मेरो प्रश्नमा उनले नाक विगार्दै भनिन् “मलाई के चासो, सवैको ठेक्का लिन सक्छु र ? रात रातभरि बाहिर हराउने अनि मध्यरातमा त्यही मास्टरसंग फर्किने त्यस्तो छाडापन म त सहन सक्दिन । बच्चाको विमारी त बहाना पो हो । विरामी भएको भए हामीलाई भन्नु पर्दैनथ्यो ? त्यति राती मास्टर कहां लुसुक्क जाने ? मैले झन विचरी भनेर कत्रो घर बसाई दिउं भन्ने सोचेकी थिएं । घर गरेर खाने खालकी हैन रहिछ । हेर्दा पो सोझी जस्ती । सधैं मास्टरसंग लागि रहन्थी । ठीकै भो बेलैमा पोल खोलियो । यस्तो कुराले हाम्रा चेलीबेटी विग्रँदैनन् कि क्या हो । एक रातको कुरा भनेर हुन्छ विष एक थोपा नै काफि भै हाल्छ नि… ।” घरबेटीले मनको तीतो ओकलिन् । मैले अर्को केही बोल्न नपाउंदै उनले ढयाम्म ढोका लगाईन् ।

किँकर्तव्यविमूढ मैले शशीधर सम्झें । मेरो सोझो साथीले अपयश कमाएछन् । विचरा, के दोष थियो उनको ? रश्मीको के विराम थियो ? पछि थाहा पाएँ रश्मीले आफ्नो छोराको लागि भए पनि स्थिति सम्झि दिन निकै अनुनय गरेकी थिई घरबेटीसंग । शशीधरले पनि संगै गएर उनीहरुलाई यथास्थिति बुझाउन खोजेको थियो । तर दुधको साक्षी विरालो भनेर घरबेटीले कसैको कुरा सुनिनन् । उल्टै अनेक कुरा सुनाएर आरोप लाउन बांकी राखिनन् । स्कूलवाट आउंदा जांदा टोलमा हरेक दिन सुन्नु पर्ने व्यंग्यवाणहरु र विझाउने दृष्टिहरुले उसलाई पछयाइरहन्थ्यो । ऊ आफ्नो चरित्र माथिको लान्छना सहन नसकेर मात्र हैन दाजु जस्ता शशीधरलाई पनि शंकाको घेरामा राखिएको पीडाले पछि कसैलाई केही नभनी उसले डेरा छाडी । कता गई अहिले सम्म थाहा लागेको छैन न शशीधर जान्दछ । हेर्ने आँखाका सीमाहरु सांघुरा भए पछि कसैको केही लाग्दैन । धेरै भनाइहरु सुनेर पनि सहन सक्ने शशीधर त आखिर पुरुष थियॊ । कर्कलाको पात जस्तोपानी लागेर पनि ओभानो हुन सक्ने । तर रश्मी…।

“हजुर चिया चिसियो” पसलेको आवाजले झस्किन्छु । चिया छचल्केर मेरो सर्टमाथि पोखिन्छ । सफा र सुकिलो कपडामा लागेको दाग सानै भए पनि टड्कारो देखिन्छ । केही छैन यो दाग त धुंदा केही समयमा जाला तर रश्मीको चरीत्रमाथि लगाइएको दाग कसरी र कहिले सम्ममा जाला म आफैलाई प्रश्न गरिरहेछु ।

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.