एकाङ्की : दर्द

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरू –

मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध ।
बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको हालखबर बुझ्दै हिँड्ने निःस्वार्थी मान्छे, जसलाई कतिपयले नारदको संज्ञा पनि दिने गरेका छन् । उनलाई श्रीमतीले पनि अर्धपागल भनेर त्यागिदिएकी छिन् ।
प्रमोद ः मञ्जरीको ८ बर्से छोरा ।
प्रमिला ः मञ्जरीकी ११ वर्षकी छोरी ।
प्रकाश ः बबलध्वजका छिमेकी र सहयोगी ।

स्थान ः सामान्य भुइँतले घरको दलान र आँगन(मञ्जरीको सपरिवार त्यहाँ बसाइँ सरेको छ महिनामात्र भएको छ । उनी त्यस नयाँ गाउँका सबै मानिसलाई चिन्दिनन् र उत्तिसाह्रो वास्ता पनि राख्दिनन् । लोग्नेले त्यागेकी आइमाई भनेर कसैकसैले कुरा काट्छन् । त्यस्ता घटनाबाट उनी त्रसित छिन् ।प्रमोद र प्रमिला सामान्य भुइँतले घरको दलानमा पढिरहेका छन् भने उनीहरूकी आमा मञ्जरी आँगनको एक कुनामा गिटी कुटिरहेकी छिन् । नजिकै ठूल्ठूला ढुङ्गा थुपारिएका छन् । उनको पेसा नै गिट्टी कुट्ने हो भन्ने स्पष्ट हुन्छ । एउटै मञ्च दुई भागमा विभक्त छ ।)

मञ्जरी ः (दलानमा पढिरहेका प्रमोद र प्रमिलातर्फ सङ्केत गर्दै) लौ छोराछोरीहरू, राम्ररी पढ है । जसले धेरै पढ्छ, उसले धेरै ज्ञान बटुल्छ । जसले धेरै ज्ञान बटुल्छ, उसले धेरै धन कमाउँछ । जसले धेरै धन कमाउँछ, उसैले सुख पाउँछ । सुख पाउने कि दुःख पाउने ? यो कुरा तिमीहरूकै हातमा छ ।

प्रमोद ः हुन्छ मामू, त्यसमा तपाईंले चिन्तै लिनु पर्दैन । पढ्दापढ्दा किताबै कण्ठ हुन लागिसक्यो ।

प्रमिला ः म पनि पढिरहेकी छु । मैले दिएको पाठ त याद छ नि तपाईंलाई ? तपाईंले मलाई सन्तुष्ट बनाउनुपर्छ ।

मञ्जरी ः हुन्छ बाबा, हुन्छ । म मेरी प्यारी छोरीका हर आज्ञा शिरोधार्य गर्न तयार छु । (सबै आ–आफ्नै काममा मग्न हुन्छन् । कामबाट आँखा हटाउने फुर्सद कसैलाई हुँदैन । त्यसैबेला मञ्जरी बबलध्वज र प्रमोद आउँछन् । मञ्जरी शिर उचालेर उनीहरूलाई पुलुक्क हेर्छिन् र आफ्नो काममा क्रियाशील भइरहन्छिन् । उनीहरूप्रति उत्ति साह्रो वास्ता राख्दिनन् ।)

बबलध्वज ः हजुर मञ्जरीजी, घुम्दैफिर्दै यहाँ आइपुगियो । तपाईंको घर बाटैमा रहेछ । गाइँगुइँ केही कुरा सुनेको थिएँ । वास्तविकता बुझ्न मन लागिरहेछ ।

मञ्जरी ः विनाभूमिका खुलस्त भन्दा हुन्छ । हुनत धेरै कुरा सुनेकी छु । अझै सुन्नुपर्छ भने सुनुँला ।

बबलध्वज ः आजसम्म त तपाईंको र मेरो बोलचाल नै भएको छैन । परको मरिचे माइलोले तपाईंका बारेमा एकाध कुरा भन्यो र वास्तविकता बुझ्न आएको हुँ ।

मञ्जरी ः (आफ्नो लोग्ने नभएकोले आफूलाई जिस्काउन आएको शङ्का गर्छिन् र हेर्दै नहेरी अटेरी भएर)त्यति धेरै कुरा सुन्ने फुर्सद छैन मलाई । मैले जीवनमा धेरै सुनेँ । पहिलेको गाउँमा पनि सुन्नै नसक्ने कुरा सुनेँ र हार खाएर यहाँ आएँ । यहाँ पनि मनग्गे सुनिसकेँ । (झर्को मान्दै) कतिका कस्ता–कस्ता कुरा सुन्न जुरेको छ !

बबलध्वज ःहैन, नराम्रो कुरो सुन्न र सुनाउन म आएको हैन ।

मञ्जरी ः धेरै कुरा सुन्नु पनि छैन र बुझ्नु पनि छैन मलाई । मेरो संसार यही गिट्टी हो । गिट्टीको थुप्रो जति ठूलो भयो, त्यति नै राम्ररी म मेरा दुई सन्तानको हेरचाह गर्न सक्छु । बस्, मलाई यति नै थाहा छ ।

बबलध्वज ः हजुर मञ्जरीजी, म यहाँ सुनाउन हैन सुन्न आएको हुँ । भन्नुस्, तपाईं कसरी यो हालतमा आइपुग्नुभो ? तपाईंका मुखराबिन्दबाट कुरा सुन्न पाए समस्याको निदानमा म पनि सहयोगी हुने थिएँ ।

मञ्जरी ः भो–भो, मसँग यस्ता रसिला र मीठा कुरा नगर्नुस् । अब म कसैको गुलियोको लोभमा फस्दिनँ । जवानी थियो, मगमगाउँदो फूलको थुँगा थिएँ । त्यही बास्नामा लठ्ठ परेर एउटा भमरा बस्यो । मसँग रस छउन्जेल चुस्यो । रस सकिँदै गएपछि अन्यत्रै गयो । त्यस्तै भमराका रूपमा आउनुभएको हो भने चुपचाप यहाँबाट गइहाल्नुस् किनभने अहिले म फूलको ओइलिएकी थुँगा भएकी छु । मसँग न रस छ न मगमगाउँदो बास्ना नै …. ।

बबलध्वज ः (मञ्जरीलाई बीचमै रोकेर) भो अब भो, मैले धेरै सुनेँ, मन अघायो । यहाँभन्दा बढी सुन्ने धैर्य मसँग छैन । म यतिखेर भ्रमको पात्र बनेछु । म कसैलाई भ्रममा राख्न चाहन्नँ । यतिखेर धेरै बोल्नुको अर्थ छैन । समय आएछ भने बोलौँला । अहिलेलाई यतिमात्र बुझिदिनुस्, म कुनै व्यतिmगत स्वार्थ लिएर आएको हैन । (प्रमोद र प्रमिला आफ्नै धुनमा लेखपढ गरिरहेका हुन्छन् । प्रकाश छट्पटिन्छ ।)

प्रकाश ः हैन, अब त जाऔँ । कुराको बिट मरेन ? (मञ्जरी आफ्नै काममा व्यस्त हुिन्छन् ।)

बबलध्वज ः (त्यहाँबाट प्रस्थान हुँदाहुँदै प्रकाशसँग) हिँड भाइ प्रकाश, यिनीसँग अहिले केही कुरा गर्नु हुन्न । यिनले अहिले भदौरे सप्तकोसीको रूप लिएकी छिन् । यिनले भनेका प्रत्येक शब्द वाण बनेर मेरो मुटु छियाछिया पारिरहेछ । म कसरी सहुँ ? मलाई त्यो बोली घाँटीसम्म आएको छ । एउटा पुरुषसँग उठेको रिस अर्को पुरुषमाथि खन्याउनु, के नारी धर्म हो ?

प्रकाश ः(मञ्चबाट निस्किँदै) आखिरमा कुनै पुरुषले त उनीमाथि अत्याचार गरेकै रहेछ नि, हैन र ? (स्विकारोक्तिस्वरूप बबलध्वज शिर हल्लाउँछन् र दुवै बाहिरिन्छन् ।)

प्रमोद ःदिदी, आवाज निकालेर पढ्नुस् न । म सुनेर पनि धेरै कुरा जान्दछु र बुझ्दछु । हामीले हरेक कुरा नजानीकन हुन्न ।

प्रमिला ः तिमी पढ न । म सुन्छु ।

प्रमोद ः मेरो किताब त हजुरले पढिसक्नुभएको छ ।

प्रमिला ः मेरो किताब पढ्ने तिम्रो बेला भएको छैन ।

प्रमोद ः किताब पढ्न, कुरा बुझ्न र ज्ञान बटुल्न पनि समय पर्खनुपर्छ र ?

प्रमिला ः अर्काको किताब पढ्नाले पास भइन्न क्या ।

प्रमोद ः के पढ्नुको अर्थ पास हुनुमात्र हो ?

प्रमिला ः प्रश्नमाथि प्रश्नका खात लगाइरहेका छौ तिमी । म तिम्रा हरेक प्रश्नको जवाफ दिऊँ कि आफ्नो गृहकार्य पनि तयार गरूँ ? विजय आखिरमा तिम्रै भयो ।

प्रमोद ः सधैँ सत्यको जित हुन्छ । म सत्यको पक्षमा थिएँ । आखिरमा सत्यवादी पाण्डवकै जित भएको थियो महाभारतमा । कौरव पक्ष युगौँयुगदेखि हारिरहेछन् । (हाँस्दै, ठट्यौलो पारामा एक्लै एकपक्षीय नारा लगाउँछ ।) यो जित कसको ? प्रमोदको । यो हार कसको ? किताब नपढ्नेको ।

प्रमिला ः भो–भो नारा नलगाऊ । नारा भए पनि तिम्रै जित, नभए पनि तिम्रै जित । अब त भयो ? आवश्यकताभन्दा बढी जो बोल्छ, त्यो हार्छ । ठिक्क खटाएर बोल्ने मान्छे विजयी हुन्छ । जीवनमा सधैँ विजयी हुने कुरा सोच्नुपर्छ र प्रयास गर्नुपर्छ ।

मञ्जरी ः बाबुहरू ! कुराकानीचाहिँ बढी भएजस्तो छ है । अब एकैछिन पढ अनि खाना खानुपर्छ ।

प्रमोद ः शुभकार्यमा किन विलम्ब ? अब ठीक पार्दा भइगयो नि ?

मञ्जरी ः ल, भइगो त । आओ । (प्रमोद जान्छ तर प्रमिला जान्न ।) नानी छोरी, किन नआएकी ? आऊ चाँडो । भान्साको काम सकौँ ।

प्रमिला ः मेरो सर्त पूरा भयो कि भएन ? म हजुरलाई खुसी पार्न खोज्छु । हजुरले मलाई खुसी पार्नुपर्छ । म त्यसबेला खुसी हुन्छु, जब मैले दिएको गृहकार्य लेखेर र घोकेर मलाई देखाउने र सुनाउने गर्नुहुन्छ । हिजो बेलुकी दिएको गृहकार्य मलाई चाहियो अनिमात्र म खाना खान्छु नत्र रिसाएर बस्छु ।

मञ्जरी ः नानी, त्यसो नभन न । पहिले खाना खाऊ । त्यसपछि मेरो गृहकार्य हेरौली । ज्ञानी मान्छेले धेरै जिद्दी गर्दैनन् त ।

प्रमिला ः ठीकै छ । खाना खाएरै हेर्छु र सुन्छु । मामूले भनेको पनि मान्नै प¥यो । (दुवैजना खाना खान थाल्छन् । मञ्जरी पनि खाना खान थाल्छिन् ।)

प्रमोद ः आजको खानेकुरा निकै स्वादिलो रहेछ ।

प्रमिला ः अरू दिन पनि स्वादिलै हुन्थ्यो त ? आजमात्र किन भन्यौ ?

प्रमोद ः खै मलाई थाहा छैन । अरू दिन यति स्वादिलो भएको थाहा छैन ।

मञ्जरी ः यसको कारण परिश्रम हो । आज बिहान सबेरै उठेर तिमीहरूले नुहायौ । त्यसपछि कसरत ग¥यौ । अहिले तिमीहरू मानसिक श्रम गरिरहेका छौ । यसले गर्दा शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्ग चलायमान भए । तिमीहरूका बौद्धिक र शारीरिक कसरत भए तसर्थ आज शरीर फुर्ती भएको महसुस गर्दै छौ होला, हैन ?

प्रमोद ःनिश्चय नै मामू ! तपाईंले भनेजस्तै भएको छ । अब मलाई आज जस्तै गरी सधैँ चाँडै उठाइदिनुहोला । सूर्योदयपूर्व नै म आफ्नो काम सकिसक्छु । दिनदिनै थोरै समय दिँदा बौद्धिक र शारीरिक पक्ष सबल हुन्छ र सुदृढ हुन्छ भने यस्ता कुरामा किन आनाकानी ?

प्रमिला ः भाइसँग म पनि सरिक हुन्छु ।

मञ्जरी ः (खुसी हुँदै) राम्रो सोच मनमा ल्यायौ । म अति नै प्रसन्न छु आज । तिमीहरू हाँसीखुसी रहनु मेरो सौभाग्य हो । उत्पादनमुखी शारीरिक र मानसिक कसरतले व्यतिmव्यतिmमा परिवर्तन ल्याउँछ र पूरै समुदायलाई सपार्छ भन्ने कुराको पुष्टि भइसकेको छ ।

प्रमोद ः हो मामू ! बबलध्वज अङ्कलले पनि यी र यस्ता कुरा धेरै अघि भन्नुभएको थियो ।

प्रमिला ः स्कुलमा कुनै सर अनुपस्थित भएका बेला उहाँ आफैँ आउनुहुन्छ । हाम्रो हेडसरले उहाँलाई नै कक्षा लिन आग्रह गर्नुहुन्छ । उहाँ सारै राम्रा कुरा सुनाउनुहुन्छ । उहाँले भनेका धेरै कुरामध्ये एउटा कुरा सुन्नुहुन्छ मामू ? (बबलध्वजको नाम सुन्नासाथ मञ्जरी तीनछक्क पर्छिन् । उति वास्ता नगरे जस्तो गर्छिन् तर मनमा भने जिज्ञासा उब्जिरहन्छ ।)

प्रमोद ः (हतारिँदै) भन्नुस् न दिदी, हामीलाई त जहिले पनि सकारात्मक चिन्तनका साथ शारीरिक र मानसिक कसरत गर्नू स्मरण शक्ति बढ्छ, अन्य कैयौँ लाभ मिल्छ, कहिल्यै रोगले समात्दैन भन्नुहुन्छ । तपाईंहरूलाई चाहिँ केके भन्नुहुन्छ, दिदी ?

प्रमिला ः सुन, हाम्रो अहिलेको शिक्षाले बुद्धि कम र महत्वाकाङ्क्षा बढी सिकाउँछ रे । आजकल पढेका मान्छे बढी महत्वाकाङ्क्षी हुनु यसको प्रमाण हो रे । एउटा विद्यार्थीले हिँड्डुल गर्दा सामान्य ठक्कर लगाएछ र माफ मागेछ । अर्काले भने माफ नै दिएनछ र उल्टै त्यसलाई पर्खालमा ठोक्काएर रगतपच्छे पारेछ । यस प्रसङ्गमा उहाँले भन्नुभयो– एकपटक बुद्धले शिक्षादीक्षा प्राप्त गरिसकेका एक शिष्यलाई आफूले प्राप्त गरेको ज्ञानको प्रचार गर्न लगाउनुभएछ । शिष्य भारतको विहार राज्यको एक दुर्गम गाउँमा ज्ञानको प्रचार गर्न जान तयार भएछ । यो देखेर बुद्धले जाँच लिनका निम्ति भन्नुभएछ– त्यहाँका मान्छे खराब छन् । तिमीलाई गाली गर्न सक्छन् । उनले उत्तर दिएछन्– त्यहाँका मान्छे कति जाती रहेछन् केवल गाली गर्दा रहेछन् । कुटपिट पनि गर्न सक्थे । बुद्धले अगाडि भन्नुभएछ– उनीहरूले तिमीलाई कुटपिट पनि गर्न सक्छन् । त्यसबेला के हुन्छ ? उनले सहज भावमा जवाफ दिएछन्– मेरो मनमा यही भावना आउँछ कि त्यहाँका मानिस कति असल रहेछन् केवल कुटपिट गर्दा रहेछन्, मार्न पनि सक्थे तर त्यसो गर्दा रहेनछन् । बुद्धले मौका छोप्दै भन्नुभएछ– उनीहरूले तिमीलाई मार्न पनि सक्छन्, मर्ने बेलामा चाहिँ के सोच्छौ ? उनको जवाफ थियो– हजुरबाट प्राप्त ज्ञान प्रेमको नजरले संसारलाई हेर भन्ने हो, यो कुरा महसुस गर्र्दै म कथंकदाचित् बाँचेको भए मबाट कतै भुल हुन सक्थ्यो, त्यस्तो भुल हुन र गर्नबाट म जोगिएँ । मेरो नजर प्रेमको भावनाले भरिएकोले म सर्वत्र प्रेमकै नजरले हेर्छु, मर्नै प¥यो भने पनि मर्ने बेलामा भुल गर्नबाट बचेँ भनेर सोच्छु । हामी यस्तो लचिलो बन्न त नसकौँला तर कोही प्रायश्चितले जलेको छ र गलेको छ भने क्षमाशील बन्न सक्छौँ ।

प्रमोद ः अर्थोक पनि भन्नुस् न दिदी ।

प्रमिला ः अरू थुप्रै कुरा छन् । भनेर साध्य छैन । मात्र सङ्केत गर्न सक्छु । सुन, हामीले जानेको ज्ञान र सीप आफूमा मात्र सीमित राख्नु हुन्न । यसले लोककल्याणको बाटो पक्रिनुपर्छ । जब हाम्रो ज्ञानले समाजलाई उज्यालोपन दिन सक्तैन, तब त्यस खाले ज्ञानको खाँचो यस युगलाई छैन । मुक्ति सङ्ग्राममा हामी लामबद्ध हुन सके शोषितपीडित भएर कसैले रहन पर्दैन रे । श्रमको उचित मूल्याङ्कन जहाँ हुन्न, जहाँको उत्पादन लोककल्याणको साटो विनाशकारी हुन्छ, त्यहाँ श्रम दिनु ठूलो भुल हुन्छ । जसरी भए पनि आफ्नो श्रमले लोकको कल्याण गर्नुपर्छ ।

मञ्जरी ः (मनमनै सम्झेर) यी बबलध्वज भन्ने मान्छे त साह्रै असल पो रहेछन् ! बित्थामा चाहिँदो नचाहिँदो कुरा भनेँ । चित्त दुखाए होलान् । मेरै हितका कुरा पो गरेका रहेछन् । मैले कुरै सुन्न चाहिनँ । कसका कुरा सुन्नु ? कति आइमाईले भनिसके मलाई– ’बबलध्वजकी पत्नी छैन, तिम्रो लोग्ने छैन । ठ्याक्कै जोडा मिलेको छ, विवाह गर ।’ मलाई मन नपरेको कुरा यही थियो । केवल अरूसँग उठेको रिस बबलध्वजमाथि खन्याएर भुल गरेँ ।

प्रमिला ः (मामू झोक्राएको देखेर चकित हुँदै) मामू ! किन झोक्राउनुभएको ? मैले अन्यथा भने र ?

मञ्जरी ः हैन–हैन । तिमीले त्यस्तो केही नराम्रो भनेकी छैनौ । जे सुन्यौ, जे बुझ्यौ; ठीक बुझ्यौ । मेरो चित्त बुझ्यो ।

प्रमिला ः तर मेरोचाहिँ बुझेको छैन ।

मञ्जरी ः किन ?

प्रमिला ः मैले गृहकार्य हेर्न पाइनँ नि ।

मञ्जरी ः ए ! पढाउन त पढाए नानी तर लेख्न हातै चल्दैन । कामले फुर्सद पनि पाउँदिनँ । अहिले यो उमेरमा मरिहत्ते गर्दा पनि नहुँदो रहेछ । उतिखेरको कहिरन अर्कै छ ।

प्रमिला ः कस्तो कहिरन मामू ?

मञ्जरी ः तिम्रो यो बानी मलाई असाध्य मन प¥यो । यसरी जुनसुकै कुराको जरोसम्म पुग्ने बानी राम्रो हो । हेर नानू, तिम्रो यो र मेरो त्यो उमेर, संस्कार एवं चालचलनका बीच आकाश पातालको फरक छ । हामी त्यतिखेर जरुर पढ्थ्यौँ तर तिमीहरूको जस्तो कापीकिताब लिएर हैन । तिमीहरूको जस्तो स्कुल धाएर हैन । घरमा नै सबै कुरा पढ्नुपथ्र्यो । आमा हजुरआमाहरूले सिकाउनुहुन्थ्यो । पढ्ने कुरा यिनै हुन्– (वस्तुलाई देखाउँदै) कुचो, मस्को र पोतो । अरू पनि भन्नुपर्दा खुर्पी, हँसिया, कुटो, कोदालो आदि । अहिले तिमीहरूका लागि किताब, कापी, कलम भएजस्तै यिनै वस्तु औजार हुन्थे हाम्रा लागि । बिहान कुखुरो बासेदेखि रातको एघारबाह्र बजेसम्म काममा जोतिनुपथ्र्यो र पो अहिले चार गाँस खाने एक धरो लगाउने र यही भए पनि मुन्टो लुकाउने झुपडी जोडेका छौँ । धन्दा नमान, तिमीहरूले हामीले जस्तो बिजोग खेप्नु पर्दैन । तिमीहरूलाई राम्ररी हातखुट्टा नलगाई म मर्दिनँ । (आँखाभरि आँसु बनाउँछिन् । मामूको अवस्थाले प्रमिला पनि दुःखित हुन्छिन् र गहभरि आँसु पार्छिन् ।)

प्रमोद ः मामू ! तपाईं दिदीसँगमात्र कुरा गर्नुहुन्छ ? मसँग पनि गर्नुस् न । दिदी जति त म पनि बुझिहाल्छु नि ।

मञ्जरी ः तिमी पनि बुझ्छौ छोरा, म तिमीसँग पनि कुरा गर्छु । फरक यति हो कि म तिमीसँग जीवनभर कुरा गरिरहन्छु, दिदीसँग गर्न पाउँछु कि पाउँदिनँ ! भन्न गाह्रो हुन्छ । यस कुरूप समाजले दिदीलाई ठगेको छ बा । उनी त आज यहाँ छिन्, भोलि कहाँ पुग्छिन्, कसलाई के थाहा ? जोई बन्ने मान्छेले पोइको खटनमा चल्नुपर्छ । सासू–ससुराको बुहार्तन खप्नुपर्छ । तिमीलाई के थाहा ?

प्रमोद ः अहँ मामू, दिदी जहाँ जानुहुन्छ, म पनि त्यहीँ जान्छु । म त दिदीलाई छाड्दै छाड्दिनँ । दिदीसँग भएँ भने कसैले हेप्न पनि पाउँदैन । कसैको पिटाइ पनि खानु पर्दैन । दिदी स्कुल गए म पनि जान्छु, दिदी क्याम्पस गए म पनि सँगै हुन्छु । म त सधैँ दिदीसँगै हुन्छु ।

मञ्जरी ः (मञ्जरी मुस्कुराउँदै) हुन्छौ, खुब हुन्छौ होला नि ! दिदीभिनाजुसँग हुँदा पनि साथमै हुन्छौ त ?

प्रमोद ः जुनसुकै हालतमा पनि म दिदीसँगै हुन्छु ।

मञ्जरी ः (मञ्जरी हाँस्दै) स्याबास् छोरा, स्याबास् ।(सबैजना हाँस्छन् । पर्दा बिस्तारै खस्दै जान्छ ।)

(०६६÷०५÷२९)
तपेश्वरी : १, उदयपुर, मो. नं ९८४२८२९२०६
हालः– लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज–९, सप्तरी ।
JULY 10, 2010

(स्रोत : Nandalal Acharya’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.