कथा : थरुनी

~दिल महरा~Dil Mahara

‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् ।

सबभन्दा ठूलो बाटो नहिड्नू । सबभन्दा सानो झन् हिड्दै नहिड्नू । बाँकी दुइटा एकनास छन् । तीमध्ये एउटा शर्मा गाउँ पुग्छ । अर्को थारु गाउँ । फेरि शर्मा गाउँ जाने बाटो जाने हो भने घुमाउरो छ । पन्ध्र मिनेट बढी । थारु गाउँ जाने बाटो । पन्ध्र मिनेट छिटो । जताबाट पनि पुगिन्छ मेरो घर ।

थारु गाउँबाट जाने बाटो हिलै हिलो छ । खाल्डाखुल्डी छ । सुँगुर, भैंसी, गाई, भेडा । हिडेको हिड्यै हुन्छन् । शर्मा गाउँ जाने बाटो सम्मो छ । सफा छ । र सुँगुर, भेडा, गाई, भैँसी । केही पनि हिड्न पाउँदैनन् त्यो बाटो । कहिलेकसो हिडिहाले भने । जसका हुन् त्यही मान्छेले एक दिन गरी दिनुपर्छ काम । जुन शर्माले बोलाउँछन् आफ्नो घर । त्यसैले पनि कोही हिड्दैन आजभोलि त्यो बाटो ।

तपाईं चाहिं । जुन बाटो आए पनि हुन्छ । सोध्दै सोध्दै आउनुहोला । थरुनी चौधरीको घर कहाँ छ ? जसले पनि सिकाउँछ ।’

०००

(यहाँ पछिल्लो हप्ताको कुरा हुँदैछ । जस्तो नक्सा थियो मसँग, त्यही नक्साको पिछामा हिडिरहेछु म । थारु गाउँ । थरुनी चौधरीको घर पुग्ने बाटोको नक्सा । थरुनी चौधरीले दिएकी हो । गएको हप्ता । एउटा चोकको पश्चिमपट्टि । ट्राफिक बिटभन्दा उत्तर पश्चिम । आधुनिक कालोपत्रे एउटा सहरको चोक । बिजुलीको पोल मुनि । मानौं, त्यही पोल हो थरुनी । जुन पोलले सकिनसकी बोकेको छ । बिजुलीका तार, टेलिफोनका तार, अरु–अरु तार र डिजिटल ब्यानरहरु । त्यही एउटा ब्यानरमा लेखेको छ । रातो अक्षर ।
‘तुलसीपुर चोक ।’)

राँगाहरु बाँधिएको खलियान । छेउमा उभिएर हेरिरहेछु चार वटा बाटाहरु । ठूलो साह्रै ठूलो छ । सानो साह्रै सानो छ । दुइटा बराबर । हिड्नुपर्ने दुइटामध्ये एउटा । थरुनीले भनेजस्तो । एउटा अति सफा, समथर । अर्को खाल्डाखुल्डी । सँुगुर, भेडा, गाई, भैंसी हिडिरहने । म अझैं उभिरहेछु । खाल्डाखुल्डी बाटोमा ओहोरदोहोर थे मान्छे । सफा, समथर बाटोमा एक दुई कुकुरभन्दा केही देखिनँ मैले बढी ।

अनि,म पनि खाल्डाखुल्डीकै बाटो हिडें ।

केही पर निलो कालो डे««सको स्कूल जाने बच्चा । बच्चाले थरुनीको घर यसरी सिकायो ।

‘पाँच मिनेट अगाडि जानू सिधै । तीनवटा लस्करी आउँछन् घर । सबभन्दा पूर्वतिरको घरमा सेतो रङ छ । बीचकोमा रातो । जुन घरमा रङ छैन । त्यही घर हो । फेरि अल्मलिनुहोला । रातो रङको घरभित्र जाने बाटो । त्यही घरको भित्रबाट साँघुरो बाटो छ ।’

रातो रङको घरमा पुगें म । खलियानमा कालो सँुगुर । आफ्ना नौवटा बच्चाहरुलाई चुसाइरहेछे दुध । एउटा सेतो रङ, अर्को कालो रङको हाँस । खेलिरहेछन् आँगन वरिपरि । अलि पर बारमा भँगेरा, दुइटा परेवा ।

कालो सुँगुर कराउन थाल्यो । उसका बच्चाहरु दौडिन थाले । रातो रङको घरभित्र कोही बोल्यो । आठ–नौ बर्षजतिको बच्चा देखियो । भरिपूर्ण बालापनको जन्तीको लस्करसँग ।

‘घरभित्रै जाने रे ।’ केटाले एकै सासमा भन्यो ।

म भित्र छिरें । थरुनी चौधरी ‘हेल्का’ बनाउँदै थिइन् । म उसको घरको ढोका पुग्दा ।

(म सब यी कुरा त्यसै दिनको भनिरहेछु । थरुनी नामकी एक युवतीसँग मेरो भेट हुनेछ । थारु परिवारमै जन्मिएकी उसको ‘नामै’ थरुनी कसरी भयो ? म यसैको खोजीमा छु । थरुनी भनिरहेकी हुनेछिन् आफ्नो नामको इतिहास ।)

थरुनीले भनेको नामको कुरा

थारु गाउँबाट चार घण्टा लाग्छ । दाउरा, घाँसपात जे चाहिन्छ । सबै–सबै पाइने वन । त्यही वनमा माघीको लागि पात टिप्न जानुभएछ आमा ।

एक दिन । पात टिप्दाटिप्दै बिरामी हुनुभएछ आमा । फोरिया, चेती, अग्न्या उहाँका साथीहरुले ल्याएछन् घरसम्म बिरामी आमालाई । अनि जन्मिएछु म । त्यसदिन घरमा बा, दिदी, दाजु खुब खुसी भएछन् ।

म जन्मिएको दिन । मङ्लबार भएकाले न्वारानको दिन राखिएछ मेरो नाम । मंगली । अनि बाआमा, दिदी, दाजु– मलाई चिन्ने जतिले मंगली भन्न थालेछन् ।
र, क्रमशः अरुले मेरो नाम मंगली जानेछन् ।

बाले भनेको, हाम्रो घरको कालो सुँगुर पाँच पटक ब्याउने पालो’थ्यो रे । सुँगुर्नीसँग सुँगुर भेट भा’को बीस दिनपछि । कान्छा शर्माको जेठो छोराले मारिदिएछन् ढुङ्गाले हानेर । त्यही सुँगुर्नी मरेको ठीक बीस दिनपछि दाउरो लिन गएकी आमा बगिछिन् बबईमा । अहँ, भेटिएन रे आमाको सुन्दर अनुहार । मलाई त्यति थाहा छैन त्यो दिन । दाजु दिदी खुब रोए रे । बा मुर्छाको मुर्छा रे दुई दिन ।

हाम्रो घरमा आमा नभएपछि । उदास भएछ । चुलोको आगो कम बल्ने भएछ । दिदीलाई कामको भारी थपिएछ । अझ बढी–बढी फुट्न थालेछन् दिदीका हातखुट्टा चरचरी । चियाको रङजस्तै बाको छाला । झनै कालो हुँदै गएछ बढी–बढी । दाजुको कुम । भारी बोकेर भएछ जोत्ने गोरुको काँधजस्तै दुबै ।

दिदीले भनेको सुनेको हुँ मैले । सबभन्दा उदास त थियो रे– बा र आमा सुत्ने खटिया ।

मलाई थाहा भो पहिलोपटक । हाम्रो घर छेउको रिठ्ठा फुल्यो । सुरुमा हरियो रङको फल फल्यो । पछि रातो भयो । त्यसैको फिजमा मैले कपडा धुन जान्ने भएँ ।

अर्को साल पनि त्यस्तै गरी फुल्यो, फल्यो र पाक्यो रिठ्ठा । यस साल अलि ठूली भएछु म । रिठ्ठा टिपेर घरभित्र राख्ने भएँ ।

त्यसपछि त पानी बोक्ने । भाँडा माझ्ने । डाबरभरि गोबर खोजेर गुइँठा बनाउने, सुकाउने, उठाउने । दिदी, दाजु र बा दिनभरि काममा । कहिलेकाहीं त दिदी थाकेको बेला भात पनि पकाउने भएँ । मैले भात पकाएको साँझ बाले काँचो प्याजसँग खाँदै भन्नुहुन्थ्यो– ‘मङ्गलीले पका’को भात मिठो छ । काँचो प्याजभन्दा ।’

दिउँसो कहिले हुन्थेन हाम्रो घरमा । चामल, दाल, नुन, प्याज । तर साँझ कहाँबाट आउँथ्यो कुन्नि ? कहिलै भोकै सुतिनँ म ।

एक दिन हाम्रो घरमा फुर्के घोडा आयो । दिदी पात टिप्न गएकी थिइन् । बाले डो¥याउँदै ल्याउनु भो झ्यापुल–झ्यापुल फुर्के घोडा । कस्तो राम्रो । बाले किला ठोक्नु भो । खलियानमा बाँध्नु भो फुर्के घोडा ।

साँझ–साँझपख । घोडा चढाएर बाले गाउँभरि घुमाउनु भो मलाई । त्यसदिन दिदी पनि खुब खुसी थिइन् । तर, दिदी ठूली भा’छी भनेर बाले चढाउनु भएन घोडा ।

हाम्रो घरमा फुर्के घोडा आएको पाँच दिन पछि दाजुको विवाह भयो । त्यसै दिन देखेकी हुँ मैले धेरै चामल, दाल । पहिलोपल्ट हाम्रो घरमा चार बोरा चामल । एक बोरा दाल । अरु के–के थिए ? मैले हेरिनँ । गाउँबाटै दाजुको विवाह भयो । धेरै भात त्यसै दिन पाक्यो हाम्रो घरमा । गाउँका मान्छेले थपी–थपी खाइरहे दालभात । मैले पनि खाएँ । फुर्के घोडाले पनि खायो दालभात । साँझ भाउजु, दिदी र मैले सबै थालबटुका, कराइ, डेक्ची माझ्यौं ।

बाले साँझ नै सबै भाँडाकुँडा कान्छा शर्माको घर पु¥याउन भन्नु भो । भाउजु, दिदी, मैले लगिदियौं भाँडा ।

भोलिबाट दाजुले घोडा लाद्ने भयो । बा, भाउजु, दिदी काममा जानुहुन्थ्यो । घरको सबै काम मेरो । फुर्के घोडालाई घाँस पनि खोज्नुपथ्र्याे ।

छ बर्ष पुग्दै थिएँ म ।

एक साँझ । बासँग कान्छा शर्मा आए हाम्रो घर । भाउजुले भर्खर बुनेको गुदको चटाइ बिछ्याइदिनु भो । कान्छा शर्मालाई ।

दिदी, दाजुसँगै थिए म पनि छेऊमा । बा र कान्छा शर्माले केही समय के–के कुरा गर्नु भो ? घर जानुपूर्वको कुरो हो । बाको हातमा पैसा दिएर उठे कान्छा शर्मा । पैसा कति थियो कुन्नी ? कान्छा शर्मा सिधा–सिधा घरतिर हिडे । बाले केही भन्नु भएन हामीलाई त्यस दिन । अझ मलाई

भोलिपल्ट राम्ररी उज्यालो भा’कै थिएन । बाले उठाउनु भो मलाई । म दिदीसँग सुतेकी थिएँ । उठेर बा र म चार घण्टा जत्तिकै हिड्यौं । घोराही आयो । मैले कहिलै नदेखेको ठाउँ । छानो नभएका घर । अनि बाले एउटा छानो नभा’को घरको कोठामा छोडेर फर्कनु भो घर । त्यो घर मैले देखेजस्तो थिएन माटोको ।

(यहाँनिर हामी थोरै गफ गर्नेछौं । संसारमा सबभन्दा ठूलो कुरो के हो ? सायद यसको जवाफ अत्यन्त कठीन र उदास लाग्छ मलाई । तर, एउटा कुरा के चाहिं सत्य हो भने प्रेमको बदनाम गरेर म भोकभोकै हिड्न सक्दैन । बरु, त्यो भन्दा सजिलो नाङ्गै हिड्न लाग्छ मलाई । यदि यसो होइन भने अथवा तर्कसंगत लाग्दैन भने हरेक देशको बसपार्क वरिपरि बस्ने बासिन्दाका बच्चाहरुलाई हेर्नुस् वा इट्टाभट्टामा छ महिना काम गरेर वर्षदिन बाँच्नेहरुलाई हेर्नुस् । अझ विश्वास लाग्दैन भने वा गरिबहरु कस्ता हुन्छन् भन्ने चिन्नुहुँदैन भने स्वयम् आफैले अपनाएको धन्दा वा जागीर छोडेर हेर्नुस् ।)

म रुन हुँदो रहेनछ । बा फर्केपछि कोठामा एक दुई घण्टा एक्लै थिएँ म । साह्रो न साह्रो ठूलो घरमा थोरै समयपछि ट्वाक–ट्वाक बज्यो चप्पलको आवाज । चुरा पनि बज्यो । एकपटक घाँटी सफा गरेर फेरि घाँटी सफा गरेको आवाज आयो । म मेरो खाल्डो परेको आँखाभरिको आँसु पुछ्न थालें । खैं किन हो मुटु काँप्यो । म खुब डराएँ । कोही बोल्छ कि भनेर पर्खिरहें । कुहिएको सिन्कीभन्दा नमीठो स्वादको ठूलो आवाज आयो एकछिन पछि ।

‘थरुनी ! काँ मरेकी छस् ? भान्सा कोठामा भाँडा माझेर राख् ।’

(मानवीय संवेदना एकाएक अपहरण गरेर बाँच्ने यो दुनियाँका बेकुफ मान्छेहरु ! आफूलाई महामानव घोषणा गरियोस् भनेर भाषण दिदा मेरो शरीरको रगत किन यसरी तातिन्छ हँ ?)

त्यसपछि मंगली नाम हरायो साह्रो न साह्रो घरका सबै मान्छेले थरुनी नाम राख्देपछि । पछि–पछि घरमा भेटिने साथीहरु सबैले थरुनी भन्न थाले । बिहा भएपछि थरुनीकै नाममा नागरिकता पनि बनाइसकें ।

०००

थरुनीको कुरा सकिएको समय हो यो

सुँगुरका पाठाहरु वरिपरि आइपुगेका छन् । परेवा, भँगेरा ढोकामा खेलिरहेका छन् । थरुनी निकै उदास देखिन्थी । मलाई बोल्न पनि मन थिएन । हाँस्न पनि थिएन मन । तर, पनि भित्री मनमा एउटा खस्रो इच्छा जाग्यो, थरुनीले साह्रो न साह्रो घरमा भोगेको जीवनकथा, फुर्के घोडा । उसका बा, दिदी, दाजु र भाउजु कता छन् होला ? जान्ने इच्छा राखेँ । तर, निकै नरम भएर उठी थरुनी ‘हेल्का’ समाएर । उठिसकेपछि भनी–

‘घर चिन्नु भइहाल्यो फेरि आउनुहोला । साँझ खानुपर्छ– म त गंगटा, माछा मार्न जान्छु । साँझ खानालाई केही छैन तरकारी घरमा ।’

केही माथिसम्म सँगसँगै आई थरुनी मसँग । त्यतिबेला मेरो दिमागमा ताजा कुरा के खेलिरहेको छ भने थरुनीको निकै उदास जीवनकथा कसले देख्यो होला ? त्यो मान्छे कस्तो थियो होला ?

‘साँढेजस्तो ?’

‘गंगटाजस्तो ?’

‘सिंहजस्तो ?’

‘वा समयअनुसार मान्छे बन्न जानेको रंगीन मान्छेजस्तो ?’

त्यसपछि थरुनी कुलोतिर लागी ‘हेल्का’ हल्लाउँदै ।

मैले विचार गरिरहेको छु । फेरि थरुनीले आफ्ना सबै कथा भन्ले वा नभन्ले ? म खाल्डाखुल्डीको बाटोमा गाई, भैंसी, भेडा, सुँगुर छलेर हिडिरहेछु । थारु गाउँको बाटो । थरुनीको बाटो । साँच्ची, थरुनी र जनावरबीचको सम्बन्ध के छ हँ ?

रेडिमेड उत्तर कसले देला मलाई ?

पर्खिरहेछु म ।

(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.