संस्मरण : विद्रोहको पहिलो पाइला!

~उषा शेरचन~Usha_Sherchan

काठमाडौंको रत्नराज्य कलेजबाट आइए सकेर बिए पढ्न फेरि आफ्नै जन्मथलो पोखरा फर्किएँ म।

त्यति बेला पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्ने छात्राहरू खासै हुन्थेनन्। हदै पढे एसएलसीसम्म पढ्थे अनि पछि बिहे बन्धनमा बाँधिन्थे। छिट्टै बिहे गरिदिएर आफ्नो टाउकोमा रहेको छोरीको बोझबाट मुक्त हुन चाहन्थे, सायद अभिभावकहरू पनि। बाँकी रहेका थोरै भाग्यमानीले मात्रै कलेजको हाताभित्र पदार्पण गर्ने सौभाग्य पाउँथे, जसमध्ये म पनि एक थिएँ।

हाम्रो कक्षामा छात्रको तुलनामा नगन्य मात्रामा थिए, छात्रा। झन् बेग्लैबेग्लै संकायमा हेर्योछ भने संख्या पनि एक वा दुईमा झर्ने गर्थ्यो। राजनीति शास्त्रको संकायमा जम्मा दुई जनामात्रै छात्रा थियौं। रुकु कार्की र म। उनी हेमा मालिनीको फ्यान थिइन् र आफूलाई पनि त्यही रूपमा सजाउने गर्थिन्। मचाहिँ रेखा र शवाना आजमी वा राखीको फ्यान थिएँ। उति बेला मनोरन्जनको साधन भनेकै पोखराको एउटैमात्र कल्पना सिनेमा हल थियो। त्यहीँ सिनेमा हेर्नका लागि अनुमति लिन घरमा महाभारतकै युद्ध लड्नुपर्थ्यो। किनभने सिनेमा हेरेमा छोरी–बुहारीहरू खत्तमै हुन्छन् भन्ने मानसिकताले ग्रसित समाज थियो। इच्छा र अनुमति लिएरै सिनेमा हेर्न गएको भए तापनि फर्कंदा एक किसिमको अपराधबोधले ग्रस्त भएझैं हुन्थ्यौं हामी।

कलेज भर्ना हुन पनि अनेक तिकडम अपनाएर र मुमाले राख्नुभएको सबै सर्त पालना गर्छु भन्ने वाचापछि मात्रै अनुमति पाएको थिएँ। तिनै सर्तमध्येको पहिलो बुँदा थियो— सिधै कलेज जाने र कक्षा सकिनासाथ सिधै घर आउने!

त्यति बेला मन मिल्ने साथीहरूसँग त खुलेरै बोल्थेँ म। तर नचिनेकासँग भने अत्यन्तै लजाउथेँ। क्याम्पसका सुरुवाती वर्षमा भने मुमाका सबै सर्तलाई पालन गरेकै थिएँ।

म कविता त लेख्थेँ तर आफैंभित्र सीमित थिए, ती। अर्को मनोरन्जनको साधन भनेको रेडियो थियो। मेरो आफ्नै सानो रेडियो। फुर्सद हुनसाथ सुन्ने गर्थें। एक दिन रेडियोले पोखराका कवि कविता महोत्सवमा पुरस्कृत भएको समाचार फुक्यो। यो खबर सुनेपछि को रहेछ भनेर कवि एवं गीतकार विनोद गौचनलाई सोधेको थिएँ।

यसभन्दा पहिला मैले पुरस्कृत कविलाई कहिल्यै भेट्नु त के नाम पनि सुनेको थिइनँ। बरु गायक एवं संगीतकार सरोज गोपाल र गायिका बाबा राणालाई भने चिन्थेँ। उहाँहरूको र हाम्रो स्कुल एउटै थियो। स्कुलका कार्यक्रममा गाउने गर्नुहुन्थ्यो। मेरी सहपाठी सुुशीलाका दाजु भए पनि हामी बोल्न डराउथ्यौं। अर्का भाइ विनोद शंकर पालिखेलाई पनि चिन्थेँ।

हाम्रो क्याम्पस गेटको विपरीत दिशामा एउटा सानो होटल थियो। खासमा चमेना गृह थियो, हामीलाई होटल भन्नमा स्वाद आउँथ्यो। हामी त्यहाँ चिया पिउन पनि डराइडराई जान्थ्यौं। बेकारमा हामी किन डराउँथ्यौं त्यसरी? अहिले सम्भि्कँदा हाँसो उठ्छ। त्यति बेलाको समाजको संरचना नै अत्यन्तै साँघुरो सोचको भएर पनि होला सायद पाइला–पाइला फुकेर मात्रै राख्नुपर्ने हुन्थ्यो।

होटलकी फुपूूले मलाई अत्यन्तै माया गर्नुहुन्थ्यो। मलाई सफा र मिठो चाहिने हुँदा मोमो होस् वा अन्य परिकार, क्याम्पसको गेटमा देख्नासाथ हातको इसाराले चारऔंला भाँच्दै बोलाउनुहुन्थ्यो। ‘ओइ गाले! आज त तैंले मन पराउनेजस्तै भएको छ मोमो। फ्वाक्क–फ्वाक्क परेको। खाने भए खाइहाल्। नत्र सकेपछि आइस् भने फेरि पाउन्नस् क्या,’ उहाँ भन्नुहुन्थ्यो, ‘ल खा… खा… खाइहाल् त।’ त्यही होटलको पिँडीमा ओछ्याइएको गुन्द्रीमा बसेर खाजा खान्थ्यो हामी।

एक दिन हामी त्यसरी नै मोमो खान बसेका थियौं। आँखामा अनन्त उदासी र कपाल आवश्यकताभन्दा लामो भएको एक युवक आइपुग्यो। खुट्टामा चप्पल लगाएको उक्त युवकले भनेको सुनेँ, ‘आमा मलाई एक गिलास कालो चिया है।’

फुपूले भन्नुभयो, ‘पर्खे पर्खे, तँभन्दा अगाडि आएकाहरूलाई दिन्छु अनि तँलाई दिऊँला।’

विनोद र त्यो युवक बगरकै छिमेकीहरू भएकाले आत्मीय साथीको हिसाबले गफ गर्न थाले। अनि बीचमा विनोदले मतिर फर्केर भन्यो, ‘पुरस्कार पाउने कवि को हो भनेर अस्ति सोधको होइन? यी यही त हो नि भक्तराज श्रेष्ठ।’ त्यति बेलासम्म भक्त सरुभक्त भएकै थिएन।

मैले खुसी भएर बधाई ज्ञापन त गरेँ तर भक्तले रुचिपूर्वक ग्रहण गरेजस्तो लागेन। मानौं पुरस्कार पाउँदाको खुसीभन्दा मनभित्र गढेर रहेको पीडा वा उदासीको मात्रा बढी थियो उसमा।

त्यो होटलमा चाहे नारायणगोपाल दाइको नयाँ गीत पहिलोपटक रेडियोमा बजेको होस् वा दीप श्रेष्ठ वा फत्तेमान दाइको गीत; केटाहरूको मुखमा झुन्डिएकै हुथ्यो।

त्यही होटलमा गीतकार विक्रम गुरुङ जो भक्तको सहपाठी नै भए। अरुण थापा, सरोज गोपाल, वरिष्ठ कलाकार दुर्गा बराल जो क्याम्पसमा ललितकला पढाउनुहुन्थ्यो। सबैसबैको जमघट हुने थलो थियो उक्त होटल। विनोद गौचन राम्रो गिटार बजाउने मात्र नभई उनीसँग सुमधुर गला पनि थियो। त्यही बिन्दुबाट हामी सबैले आफ्नो सही पहिचानको थालनीको शुभारम्भ गरेको भने पनि हुन्छ। म छुपेरुस्तम कवि त थिएँ नै। साहित्य संगीत भनेपछि हुरुक्कै हुन्थेँ म।

म आफ्नो कविताको नोटकपी सधैं साथमै बोकेर हिँड्थेँ। ब्याग वा झोलामा नराखी हातैमा त्यत्तिकै हल्लाउँदै हिँड्दा मजा लाग्थ्यो।

मैले कविता लेख्छु भन्ने कुरा अरू कसैलाई थाहा थियो भने त्यो डिबीजी (फुपूको छोारा) लाई मात्र थियो। हाम्रो समुदायमा फुपू र मामाका छोराछोरीहरू सोल्टा–सोल्टिनी हुन्छन्। उहाँसँगै विवाह हुनुपूर्व नै मेरो नोटकपीका कविता देखेर भन्नुहुन्थ्यो, ‘ओहो सोल्टिनीले त कविता लेख्नुहुँदो रहेछ त! म रूपरेखाका उत्तम कुँवरलाई राम्ररी चिन्छु। खोइ एक–दुई वटा कविता मलाई दिनुस् न!’ तर, छाप्नु त परै जाओस् ती कविता कता हराए कता। न उहाँ आफैंले हराउने गर्नुभयो वा छाप्न दिँदै दिनुभएन वा दिएर पनि छापिएन; केही अत्तोपत्तो भएन। उति बेला कविता लेखेपछि जतनले राख्नुपर्छ भन्ने खासै ज्ञान पनि थिएन। कविता बीच बाटोमै हरायो।

होटलमा बसेर खाजा खाने समयमा एउटा कविता सुटुक्कै सारेर विनोद गौचनले गोरखापत्रमा पठाइदिएको रहेछ। उति बेला पत्रिका भनेकै गोरखापत्र गोरखापत्र भनेकै पत्रिका थियो। पछि गोरखापत्रमा कविता छापिएका सुनेर डरमिश्रित खुसीले म रोमाञ्चित भएको थिएँ। विनोदले पठाइदिएको कविता गोरखापत्रमा छापिएपछि नै मेरो कविरूप यसरी बाहिर निस्किएको थियो।

त्यसपछि बिस्तारै हामी सबै रचनाधर्मीहरू एक–अर्कासँग खुल्न थालेका थियौं। यतिन्जेलम्म पनि मैले तीर्थ श्रेष्ठ र प्रकट पगेनी शिवलाई चिनेको त के देखेको पनि थिइन। विजय बजिमय, कलाकार, फोटोग्राफर एवं व्यंग्य कवि विश्व शाक्य दाइहरूलाई पनि चिन्थेँ। अहिलेका प्रख्यात कार्टुनिष्ट वात्स्यायन पनि वात्स्यायन भइसक्नुभएको थिएन। तर उहाँको आर्ट स्टुडियो मेरै ठूलो मुमाको घरमा भएकाले म उहाँलाई पनि चिन्थेँ।

यसरी चिनेका र नचिनेकाहरूबीच मैले आफ्नो साहित्य यात्राको थालनी गरेको थिएँ।

त्यही हुलमा उमेरले सानो तर आफूभन्दा ठूलोको पछि लाग्न मन पराउने मेरो भाइ चन्द भट्टचनको साथी पनि त्यही फुपूको होटलमा आउने गर्थे। ऊ नै तीर्थ श्रेष्ठ थियो। प्रकटलाई पनि त्यही फुपूकै होटलमा चिनेको थिएँ। पछि फुपूको होटल कला, साहित्य र संगीतको साझा चौतारीजस्तै बनिसकेको थियो। त्यो ऐतिहासिक होटल अहिले अस्तित्वमा छ छैन मलाई थाहा भएन।

भेडाले भेडा खोजेजस्तै हामीले पनि आफ्नै जमात खोज्यौं र रोज्यौं। जब मेरो कविता गोरखापत्रमा छापियो सबैले मेरो कविता लेखनबारे थाहा पाए। एक दिन मैले शीर्षक विनाका थुप्रै कविता देखाए, संकोच मानीमानी। अनि भक्तले सोधेको पनि थियो, ‘कविताको शीर्षकचाहिँ किन नराखेको’ भनेर।

समस्या के थियो भने गण्डकी अञ्चलमा पुरुष स्रष्टाहरूको बाहुल्य रहे तापनि नारी स्रष्टाको संख्या शून्य भने पनि हुन्छ। लेख्नेहरू त पक्कै थिए होलान् तर सबै आफैंभित्र मात्रै सीमित। पृथ्वी नारायण क्यम्पसमा त झन् म एक्लै। त्यति बेला हरिदेवी कोइराला हुनुहुथ्यो तर कलेजमा नभएकाले त्यस्तै कार्यक्रमहरूमा आक्कलझुक्कल देखिनुहुन्थ्यो अनि रस कुमारी गुरुङ दिदी पनि। सधैं हुने त म एक्लै नारी।

शारीरिक समस्याले गर्दा विजय बजिमयलाई अरू ठाउँमा जान अप्ठ्यारो पर्ने भएकाले हामी कलेजको कक्षा सकेपछि उनको घर जान्थ्यौं। हाम्रो गफ सबै कला, साहित्य र संगीतमा मात्रै केन्द्रित रहन्थ्यो। पछिपछि भने हामीले हप्ताको एक दिन कहिले शीर्षकमा त कहिले आफूखुसी नयाँ कविता बोकेर जाने र सुनाउने गर्न थाल्यौं। विजयकहाँ बाहेक कहिलेकाहीँ विश्व शाक्य दाइको घरमा पनि जम्मा भएर कविता सुनाउने कार्यक्रम भइरहन्थ्यो। पछि विश्व दाइले प्राङ्गन साहित्यिक पत्रिका पनि निकाल्न थाल्नुभयो। निकै स्तरीय उक्त पत्रिकासँग म पनि आबद्ध थिएँ। त्यही पत्रिकाले नै जन्माएको हो, आजका प्रख्यात कार्टुनिस्ट वात्स्यायनलाई।

पोखरामा गायक एवं संगीतकार सरोज गोपाल, कवि नवराज कार्की, गीतकार स्वर्गीय विनोद गौचन, विक्रम गुरुङ, स्वर्गीय अरुण थापा, विजय बजिमय अनि राष्ट्रिय खेलकुद परिषद्का सचिवसमेत भइसकेका विनोद शंकर पालिखे र सरुभक्त भएर पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो। पछि कार्यव्यस्तताको कारण संस्था सुस्ताउन थालेको देखेर चिन्तित हुँदै सरुभक्तले वात्स्यायन, तीर्थ श्रेष्ठ, प्रकट पगेनी र मलाई उक्त संस्थासँग आबद्ध भएर काम गर्न आग्रह गरेपछि नयाँ स्वरूपमा पोयुसाप देखापर्यो्। जसको अध्यक्ष वात्स्यायन हुनुभयो र उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने सौभाग्य मलाई प्राप्त भएको थियो। जुन संस्थाले विक्रमाब्द २०३४ देखि अनवरत रूपमा मोफसलमा रहेर पनि आफ्नै गरिमामय इतिहास कायम गर्न सफल भएको छ। नेपालमा नै पहिलोपटक टिकटमा मुक्तकको थालनी गरेर ‘मुक्तक सुन्न पोखरा जानु’ भन्ने सार्थक उखान बोक्न सफल भएको छ।

साहित्यकार वानिरा गिरीले आफू साहित्यिक भ्रमणमा विदेश जाँदा सशुल्क कवि गोष्ठी सफलताका साथ सम्पन्न भएको कुरा कतै उल्लेख गर्नुभएको रहेछ। एक दिन हामी विजय बजिमयकहाँ जाने बेला उनैले उक्त कुरा सुनाएका थिए। त्यसैले उत्साहित पारेको कुरा सुनाएपछि हामीले पनि नेपालमा थालनी गरौं भन्ने सल्लाह गर्यौं र तनमन लगाएर जुटिहाल्यौं। हरिभक्त कटुवालको प्रमुख आतिथ्यमा विक्रमाब्द २०३५ मा भएको टिकटमा मुक्तक कार्यक्रम हाम्रो पहिलो कार्यक्रम थियो। त्यसरी आरम्भ भएको टिकटमा मुक्तक कार्यक्रम एउटा अभिनव आन्दोलन र एउटा अभिनव परम्परा नै बन्यो। अहिले भने त्यस बेलाको माइन्यूट नै हरायो भन्ने सुन्छु। हामी जीवित हुँदै मेटिन लागेको हाम्रो इतिहास हामी मरेपछि झन् के जीवित रहला र खोइ… भन्ने पनि लाग्छ कहिलेकाहीँ!

पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरू मिलेर ‘युवा नाटक परिवार’को पनि स्थापना भएको थियो, त्यस बेला। नाटक लेखन र निर्देशनको सम्पूर्ण जिम्मेवारी सरुभक्तको थियो भने कवि तीर्थ श्रेष्ठ, चन्द्र भट्टचन, मिलन शेरचन, नेपाली फिल्मका नायक अर्जुनजंग शाही र उहाँकी श्रीमती दुर्गा शेरचन शाही, नन्दा गुरुङ, अरुण गुरुङ, लाल गुरुङ, प्रकट पगेनी, कृष्णमोहन श्रेष्ठ आदि सहयोगी थिए। राजेन्द्र बजिमय र शंकरराजा श्रेष्ठजस्ता प्रतिभावान् कलाकारहरू त अहिले हामीसामु हुनुहुन्न।

त्यति बेला हाम्रो समाजमा एउटा सम्भ्रान्त परिवारका छोरीहरूले रंगमञ्चमा अभिनय गर्नु ठूलै चुनौतीको विषय हुन्थ्यो भने समाज र परिवारका लागि साह्रै लज्जास्पद कुरा। मलार्ई भने त्यति बेलादेखि नै लाग्थ्यो— अभिनय कला पनि सिर्जनाका अन्य विधाजस्तै कलात्मक अभिव्यक्ति हो। सम्भ्रान्त परिवारका छोरीहरूले पनि रंगमञ्चमा अभिनय गर्न मिल्छ भन्ने उदाहरण दिन चाहन्थेँ म। त्यसैले समाजमा जुन संकुचित अवधारणाका पर्खालहरू उभिएर बसेका थिए, त्यसलाई भत्काउनकै लागि म त्यस क्षेत्रमा उत्रेकी थिएँ। अन्य सिर्जनात्मक विधालाई जस्तै अभिनय विधालाई पनि समाजले एक दिन राम्रो दृष्टिकोणले हेर्नेछ भन्ने विश्वास पनि भित्रभित्र जागिरहन्थ्यो। यसैका लागि घरपरिवार र समाजसँग मैले ठूलै विद्रोह गर्नुपरेको अहिले पनि सम्झन्छु। मैले नै क्याम्पसका अन्य छात्रालाई जम्मा पारेर प्रोत्साहन गरेर नाटकमा खेल्न राजीसमेत गराएँ।

त्यसैताका हामी पृथ्वीनारायण क्याम्पसका छात्रछात्राहरूले सरुभक्तको लेखन/निर्देशनको नाटक ‘एउटा घरको कथा होइन’मा काम गरेका थियौं। यही नाटकले प्रज्ञा प्रतिष्ठानमा भएको नाटक महोत्सवमा पनि सहभागिता जनाएको थियो। यसमा सबैभन्दा लामो भूमिकामात्रै नभएर सबैभन्दा लामो संवाद पनि आमा पात्रकै थियो। त्यही आमाको भूमिकामा थिएँ म। त्यति लामो संवाद सम्झन मलाई दुई दिन पनि लागेन।

त्यो अभूतपूर्व सफलताको क्षण सम्भि्कँदा अझै पनि रोमाञ्चित हुन्छु म। पोखराजस्तो ठाउँमा त्यसरी नाटक खेल्नु चानचुने चुनौती र कम दुस्साहस थिएन। साहित्य, कला र संगीत त्यसमाथि नाटक; त्यो पनि झन् छोरीमान्छेले खेल्नुलाई त ठूलै ‘अपराध’ ठानिन्थ्यो। आफूप्रतिको दरिलो विश्वासले नै त्यस समाजसँग जुध्ने साहस जुटाइसकेको थिएँ, मैले। त्यो साहसलाई सलाम गर्दै अहिले पनि आफूप्रति गर्व गर्ने गर्छु म।

जीवन बाँच्ने क्रममा जो जता गए पनि, जो जता भए पनि हामीले बिताएका क्याम्पसका ती सुन्दर पल मनमस्तिष्कमा अझै पनि ताजै छ। हाम्रो गफ खालि वाङ्मयको विषयमा मात्रै केन्द्रित रहन्थ्यो।

अचम्मैको संयोग नै भनूँ। जुनजुन संस्थासँग आबद्ध भएँ म, प्रायः सबै संस्था उत्तिकै दिगो र दीर्घ रूपमा वाङ्मयको सेवामा लागि नै रहेका छन् आजपर्यन्त। साहित्य, कला, गीतसंगीतका लागि हामीले रचेको इतिहास पोखराले पनि बिर्सेको छैन होला। सायद कहिल्यै बिर्सने पनि छैन।

(स्रोत : NagarikNews)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *