अनूदित कथा : वाल्य-स्मृति

~शरत् चन्द्र चट्टोपाध्याय~Sharat Chandra Chattopadhyay
अनुवाद : कुमुद अधिकारी

एक

अन्नप्राशनको बेला जब मेरो नामाकरण भयो, तब म ठीक म नै हुन सक्छु कि सक्दिन भनेर होस् , वाkumud Adhikari_1 हजुरबुबा ज्यूको ज्योंतिष शास्त्रमा विशेष दखल भएरै होस् म ‘सुकुमार’ । धेरै होईन, दुईचार वर्षै हजुरबुवाले बुझ्नुभयो नाम सँग व्यवहार मिल्दैन । अव बाह्र-तेह्र वर्षपछाडिको कुरा भनौ । मेरो आत्मपरिचयको कुरा कसैले राम्ररी बुझ्नु हुन्न होला तरै पनि हेर्नुहोस्, हाम्रो घर गाउँमा । त्यहाँ म बाल्यकाल देखि नै छु । बुवा पश्चिमाञ्चलमा जागिर गर्नुहुन्थ्यो । म प्रायःजसो त्यहाँ जान्न थिएँ । हजुरआमासित गाउँमै वस्थेँ । घरमा मेरो उपद्रोको कुनै सीमा थिएन । एक शब्दमा, म क्षुद्ररावण थिएँ । वृद्ध हजुरबुवाले जव भन्नुहुन्थ्यो- ‘तँ के भईस – कसैको कुरा सुन्दैनस् । यसपालि तेरो बाबुलाई चिठी लेख्छु’, म मुसुक्क हाँसेर भन्थे- ‘हजुरबुवा ती दिन-काल अब छैनन् । बाबुको बाबुसँग पनि म डराउन्न । हजुरआमासँग भएपछि के को डर -‘ हजुरआमा भन्नुहुन्थ्यो- ‘कस्तो उत्तर दियो- अब केही लाग्छ ?’

हजुरबुबा ज्यू धेरै विरक्त भएर जव बुबालाई चिठी लेख्नुहुन्थ्यो, तुरुन्तै म वहाँको अफीमको कोटा लुकाईदिन्थे । पछि पत्र च्यातेर नफ्यालेसम्म म वहाँलाई कोटा दिन्न थिएँ । यी सबै उपद्रो देखि डराएर, विशेषतः नशा नहुँदा गाह्रो हुन्छ भनेर वहाँ मलाई केही भन्नुहुन्न थियो । म पनि खुशी थिएँ । खुशी नै भएर पो के भयो – सवै सुखहरूको एउटा सीमा हुन्छ । मेरो पक्षमा पनि त्यही भयो । हजुरबुबाको काकाको छोरा, भाई गोविन्द बाबू इलाहावादमा जागिर खानु हुन्थ्यो । अहिले वहाँको पेन्सन भएको छ र वहाँ गाउँमा आउनु भएको छ । वहाँको नाती श्रीयुक्त रजनीनाथ बि.ए. पास गरेर आउनु भएको छ । म वहाँलाई माल्दाजु भनि बोलाउँछु । पहिले वहाँसँग मेरो चिनाजाना थिएन । वहाँ यो क्षेत्रमा प्रायः आउनुहुन्न थियो, वहाँको घर पनि अलग्गै भएकाले गाउँ आउँदा खासै मेरो खोजिनीति पनि गर्नुहुन्न थियो । कहिले काहीँ भेट हुदा- ‘कस्तो छ हौ तलाई – के पढ्दैछस् ?’- यति मात्र ।

यो पल्ट वहाँ गाउँमै बसाईँ र्सर्नुभयो । यसकै प्रतिफल मेरो विशेष खोजी भयो । दुईचार दिनको भलाकुसारी मै वहाँले यस्तो वशीभूत गर्नुभयो कि मलाई वहाँ देखिने वित्तिकै डर लाग्थ्यो, मुख सुक्थ्यो , मुटु ढुक ढुक गर्थ्यो – कति नै विगार गरेर शास्ति पाउने जस्तो । फेरि यथार्थ पनि यही हो त्यसबेला प्राय मै दोषी हुन्थेँ । सधैँ एउटा न एउटा अनर्थ गर्न चाहन्थेँ । दुईचार वटा छुल्याइँ र दुईचार पल्ट उपद्रो गर्नु मेरो नित्य कर्ममै पर्दथ्यो । माल्दाईसँग डर लागे पनि म वहाँलाई असाध्यै माया गर्थे । दाजुभाईको यस्तो प्रेम पहिले मलाई थाहा थिएन । वहाँ पनि मलाई असाध्यै माया गर्नुहुन्थ्यो । वहाँकै छेउमा कति पल्ट उपद्रो गर्दा पनि केही भन्नुहुन्नथ्यो र वहाँले केही भनिहाले पनि मलाई लाग्थ्यो- माल्दाजु त हो एकछिन पछि केही पनि सम्झनु हुन्न ।

इच्छा भए त,शायद वहाँले मेरो चरित्र सुधार्नर् सक्नुहुन्थ्यो, तर केही गर्नु भएन । वहाँ गाउँमा आउन अघि जत्तिको स्वतन्त्र त म थिइनँ तर जे थिएँ राम्रै थिएँ । मैले दैनिक हजुरबुबाको एक पैसाको तमाखु खाईदिन्थे। विचरा बुढा मान्छे, मेरो डरले तमाखु खाटको खुट्टाको छेउमा भएको तख्तपोशको सन्दुकमा सानो चाल्नामा लुकाएर राख्नुहुन्थ्यो र म खोजिखोजि सवै निकालेर खाईदिन्थे । खान्थेँ, पिउथेँ, चङ्गा उडाउथेँ, वेशै थियो । कुनै जन्जाल थिएन, लेखपढ छोडिएकै थियो । चरा मार्थे, लोखर्के मारेर पोलेर खान्थे। जङ्गल जङ्गलमा, खाल्डा खुल्डीमा खरायो खोजी हिड्थेँ । कुनै चिन्ता थिएन ।

बुबा बक्सारमा जागिर गर्नुहन्थ्यो । त्यस ठाउँबाट मलाई हर्ेन समेत आउनुहुन्न थियो । हजुरबुबा र हजुरआमाको हाल पहिलेनै भनिहालेँ । तै पनि म एउटा कुरामा भने राम्रो थिएँ ।

एकदिन दिउसो घर आउँदा हजुरआमा वाट सुने मैले माल्दाजु सँगै कोलकातामा वसेर लेखपढ गर्नु अरे । खाना खाई सकेपछि हजुरबुबालाई एक चिलिम तमाखु हातमा दिएर भने ‘मैले कोलकाला जानुपर्छ -‘ हजुरबुबाले भन्नुभयो ‘हो’ । मलाई पहिलेनै लागेको थियो यो सबै हजुरबुवाको चलाखी हो । मैले भने- ‘त्यसो हो भने आजै जान्छु ।’ हजुरबुवाले हाँस्दै भन्नुभयो- ‘त्यसका लागि चिन्ता किन र दादा – रजनी आजै कोलकाता जाँदैछ । डेरा निधो भईसक्यो आजै जानु पर्छ ।’ म त रिसले अग्नि शर्मा भएँ । यो के ?, त्यो दिन हजुरबुबाको तमाखु खोजेर भेटेको थिइनँ- जुन एक चिलिम भेटिएको थियो, त्यस बाट एक सर्को पनि तान्न पाईएन, त्यसमाथि यस्तो कुरा । ठगिएँ म त । आफैँले निम्त्याएको आपत फिर्ता गर्न पनि नमिल्ने । त्यसैले त्यो दिन मलाई कोलकाता जानु पर्यो । जाने बेलामा हजुरबुबालाई ढोग गरेर मन मनै सोचेँ- ‘हरि ! भोलि नै त्रि्रो श्राद्धमा घर आउनु परोस् । अनि हेरौँ कसले मलाई कोलकाता पठाउँदो रहेछ ।’

दुई

यो म पहिलो पटक कोलकाता आएको । यति ठूलो र भव्य शहर मैले पहिले कहिल्यै देखेको थिइनँ । मनमा सोचेँ- यदि यो विशाल गङ्गा माथिको साँगूको बीचैमा, अथवा मस्तूल ठड्याएर वसेका एकराश जहाजहरू वीचमा एक पल्ट हराएँ भने फेरि घर फर्किन कहिल्यै सम्भव छैन । कोलकाता मलाई अलिकति पनि राम्रो लागेन । यस्तो भयभित भएर पनि राम्रो लाग्छ र – अनि कहिल्यै राम्रो लाग्ला भनेर आफैँमा भरोसा गर्न पनि सकिन ।

कहाँ गयो हाम्रो त्यो नदीको किनार, त्यो बाँसको झ्याङ, माठको बीचको बेलको रूख । केही छैनन् । मात्रै छन् ठूल्ठूला भवन, घोडा गाडि, र मानिसहरूको ठेलमठेल, ठूल्ठूला बाटाहरू, घर पछाडि अलिकति पनि बगैँचा छैन जहाँ लुकेर एक चिलिम तमाखु खान सकुँ । मलाई त रुन मन लग्यो । आसूँ पुछेर मन मनै भनेँ- भगवानले जीवन दिनुभएको छ, आहारा पनि वहाँले नै जुटाउनु हुन्छ । कोलकातामा स्कूलमा भर्ना भएँ, राम्रो गरी पढेँ, त्यसैले आजकल म राम्रो केटा भएको छु । गाउँमा पक्कै पनि मेरो नाम जाहेर भै सक्यो होला- होस् यो कुरा ।

हामी मिल्ने साथीहरू मिलेर एउटा मेस चलाएका छौँ । हाम्रो यो मेसमा चारजना छौँ- माल्दाजु, म, रामबाबू र जगन्नाथ बाबू । रामबाबू र जगन्नाथ बाबू चाहिँ माल्दाईका साथीहरू । यी बाहेक एउटा सेवक र एक जना भान्से बाहुन छन् । गदाधर हाम्रो भान्से बाहुन । ऊ म भन्दा तीनचार वर्षमात्रै ठूलो थियो । यति असल मान्छे मैले कहिल्यै देखेको थिईन । टोलका कुनै पनि केटाहरू सँग मेरो वोलचाल थिएन । सम्पूर्णरुपमा वेग्लै प्रकृतिको मानिस भए पनि ऊ मेरो अभिन्न मित्र भयो । ऊ र मेरा कुरा कति हुन्थे भन्ने कुराको सीमा नै थिएन । उसको घर चाहिँ मेदिनीपुर जिल्लाको एउटा गाउँमा पर्थ्यो । त्यहाँको कुरा र उसको वाल्य इतिहास सुन्न मलाई धेरै राम्रो लाग्थ्यो । यी सवै कुरा मैले यति धेरैपल्ट सुनिसकेँ कि, आँखा बाधेर मलाई त्यहाँ छोडीदिने हो भने सबै ठाउँहरूमा स्वच्छन्द रुपले घुमेर आउन सक्थेँ होला । आईतवार म उसँग किल्लाको मैदानमा घुम्न आँउथेँ । बेलुका भान्साघर भित्रबाट वन्द गरेर फलास खेल्थ्यौँ । भात खाएपछि उसैको सानो हुक्कावाट तमाखु खान्थ्यौँ । यसरी सवै काम हामी दुवै मिलेर गर्थ्यौँ । टोलका सकैसँग पनि वातचीत हुँदैन थियो, साथी, सङ्गी, यार, वन्धू, मेरो सवै ऊ नै थियो । उसको मुखबाट मैले कहिल्यै ठूलो स्वर सुनेको थिइन । त्यत्तिकै सबैले उसलाई हेप्थे (तिरस्कार गर्थे), मेरो शरीर जल्थ्यो, तर ऊ कुनै कुराको उत्तर दिँदैन थियो- मानौ वास्तवमै दोष उसैको हो ।

सवैलाई ख्वाई सकेर जव ऊ भान्साघरको एउटा कुनामा सानु थाल लिएर खान वस्थ्यो त्यसवेला म सयौँ काम छाडेर भएपनि उसको सामु हुन्थेँ । विचराको भागमा केही बचेको हुन्न थियो, भात पनि कमै हुन्थ्यो । म कसैले खाँदा अगाडि वसेको थिइनँ खान वसेपछि भात कम भएको,तरकारी र माछा नपुगेको अघि कहिल्यै मैले देखेको थिएन । मलाई कस्तो-कस्तो लाग्यो ।

बाल्यावस्थामा हजुरआमा बीच-बीचमा दुःख मानेर भन्नुहुन्थ्यो -‘केटो आधा पेट खाएरै सुकेर डोरी भै सक्यो- अव बाच्दैन होला ।’ तर म हजुरआमाले भनेजस्तो भरपेट कहिल्यै खान सक्दिन थिएँ । सुकेरै जाउँ, डोरी नै होउँ मलाई आधा पेट नै राम्रो लाग्थ्यो । अहिले कोलकाता आएर बुझेँ,त्यो आधापेट र यो आधापेटमा कति फरक रहेछ । कसैले खान नपाउँदा आँखा रसाउँदा रहेछन् , पहिले कहिल्यै अनुभव गरेको थिइन । पहिले कतिपटक हजुरबुबाको थालमा जुठो पानी हालीदिएर खान दिएको थिइनँ हजुरआमाको शरीरमा कुकुरको छाउरो फ्याँकेर कैयौँ पटक वहाँको नित्यकर्ममा वाधा हालेको थिएँ । त्यस बेला वहाँहरूले खानु भएको थिएन तर मेरा आँखा रसाएका थिएनन् । पितामह, पितामही, आफ्ना मान्छे, गुरूजन सबैले स्नेह गर्नु हुन्थ्यो तर वहाँहरूको लागि कहिल्यै दुःख भएन । स्व-इच्छामा वहाँहरूलाई अर्धाहार वा निराहार राख्‍न पाउँदा, परम सन्तुष्टि हुन्थ्यो । अव यो गदाधर को-कहाँको, त्यसका लागि नचाहेका आसूँ आफैँ झर्छन् ।

कोलकाता आएर यो मलाई के भयो – ठम्याउन सकिनँ । सोच्न सकिन किन यति धेरै आँसू आँखामा आउँछ । मलाई कसैले रोएको देखेको थिएन । बाल्यकालमा जिद्धी गर्दा गुरू महाशयले खजूरको डोरी मेरो पिठ्यूँमा बर्साएर पनि आफ्नो इच्छा पूरा गर्न सक्नुभएन । केटाहरू भन्थे सुकुमारको शरीर ढुङ्गाको जस्तै छ । म मनमनै भन्थे- ‘शरीर ढुङ्गाजस्तो होइन मन ढुङ्गाजस्तो । काँचो केटाको जस्तो रोईहाल्दिन ।’ वास्तवमै रुँदा मलाई लाज लाग्थ्यो, अहिले पनि लाग्छ, तर आफूलाई सम्हाल्न सक्दिन । लुकाएर, कहीँ कसैले नदेख्‍ने गरी, चोरले चोरी गरे जस्तो, दुईपल्ट आँखा पुस्छु । स्कूल गाडीमा जान्थेँ बाटामा मानिसहरू माग्दै हुन्थे, कसैको हात छैन, कसैको खुट्टा, कसैको दुईटै आँखा छैनन् त कसैको केही। कति प्रकारका मान्छे देख्थेँ- अरु भन्न सक्दिन । कोही तिलक लगाएर खैँजडी हातमा लिएर ‘जय राधे’ भनेर भिक्षा माग्छन् , यी कस्ता भिखारी । मनको दुःख मनमै राखेर भन्थे- ‘हे प्रभु यिनीहरूलाई हाम्रो गाउँमा पठाईदिनुहोस् ।’ होस् यी अभागि भिखारीका कुरा- मेरै कुरा भनुँ- आँखा रुन धेरै अभ्यस्त भए पनि म एकैचोटि विद्यासागर हुन सकिन । बीचबीचमा हाम्रो गाउँकी माता सरस्वती कहीँबाट आएर मेरो काँधमा जिम्मेवारी दिनु हुन्थ्यो भन्न सक्दिन । वहाँकै आज्ञाधीन भएर यती धेरै सर्त्कर्म गरेँछु अहिले पनि ती सरस्वती प्रति घृणा भएर आउँछ । डेरामा कस्को के विगारुँ भनेर खोजी हिड्थेँ । रामबाबूले तीनघण्टा लगाएर देशी धोती धार वसोस् भनेर पट्याउनु भयो, बेलुका घुम्न जानुहुन्थ्यो, अवसर पारेर मैले त्यो लुगा फिजाईदिएँ । रामबाबू वेलुका कपडाको त्यो हालत देखेर थचक्क वस्नुभयो । अव मेरो खुशीको ठेगानै छैन । जगन्नाथबाबूको अफिसको समय भयो, वहाँ छिटो छिटो आहार गर्न वस्नभयो, विलम्ब सहनु हुन्न । यही मौकामा वहाँको कर्ुताको टाँक काटिदिएँ । स्कूल जाने बेलामा एकपल्ट चिहाएर हेरे-जगन्नाथ बाबू डाको छोडेर रुने उपक्रम गर्दै हुनुहुन्थ्यो । मनमा आनन्दित हुदै सबै बाटो हाँस्दै-हाँस्दै काटेँ । वेलुका अफिसबाट फर्किएर जगन्नाथ बाबूले भन्नुभयो- मेरो कुरुताको टाँक यो गदाले चोरेर बेचेछ- निकालिदिउँ यसलाई । रामबाबू र माल्दाजु मुखामुख गरेर हाँस्नुभयो । माल्दाजुले भन्नुभयो- ‘कति खालका चोर छन् तर कर्ुताको टाँक चोरेर वेचेको कहिल्यै सुन्याछैन ।’ जगन्नाथ बाबू अझै रिसाएर भन्नुभयो, ‘केटाले टाँक विहान निकालेन, वेलुका निकालेन, राती निकालेन, ठीक अफिस जानु अगाडि नै निकालेछ । आज दर्ूगतिको हदै भयो, फाटेको गाम्छा ओडेर अफिस जानुपर्यो ।’

सवैजना हाँास्नुभयो । जगन्नाथ बाबू पनि हाँस्नुभयो । तर म हाँस्न सकिन । मनमा डर लाग्यो कतै गदाधरलाई निकालिदिने पो हुन् कि । ऊ विचरा निर्वोध, शायद केही भन्दैन, सबै अपराध स्वेच्छाले आफैँ स्वीकार्छ ।

टाँक कसले लग्यो भन्नेकुरा शायद माल्दाईले त बुझ्नु भएको थियो । गरिब गदाधर माथि कुनै कारवाही भएन । त्यतिबेलै मैले पनि प्रतिज्ञा गरेँ, अब कहिले पनि यस्तो काम गरेर अरुलाई कठिनाईमा पार्ने छैन ।

यस्तो प्रतिज्ञा पहिले कहिल्यै गरेको थिइन, कहिल्यै गर्थें गर्दिनथेँ जान्दिन । गदाधरले मात्रै मलाई भुइँमा टेकायो ।

के उपायले कसको चरित्र सुध्रिन्छ भन्न सकिन्न । गुरु महोदय, हजुरबुबा ज्यू, र अरु धेरै सज्जनहरूको प्रयाशमा पनि कहिल्यै मैले त्यस्तो प्रतिज्ञा गरेको थिइन । एउटा गदाधरको मुख हेरेर मैले प्रतिज्ञा गरेँ । यतिका दिन त्यो प्रतिज्ञा भङ्ग भयो कि भएन थाहा छैन तर स्वेच्छाले भङ्ग गरेको जस्तो लाग्दैन ।

अब अर्को एकजनाको कुरा भनौँ । ऊ हाम्रो नोकर रामा । रामा जातमा कायस्थ वा सद्गोप यस्तै केही थियो । घर कहाँ सुनेको थिइन- तर यति चलाख नोकर कहिल्यै भेटिदैन । फेरि कहिल्यै भटिएछ भने, उसको घरवार अवश्य सोध्ने छु ।

सवै काममा रामालाई चक्रजस्तै घुम्दै हिँडेको देख्थेँ । यहाँ रामा लुगा धुदैँ छ, त्यसैवेला माल्दाजु नुहाउन वस्नुभएको छ र देख्छु रामा माल्दाजुका गोडा रगड्दै छ, एकै छिन पछि देख्छु ऊ पान सुपारी ल्याउन महाव्यस्त छ । यस्तै रुपमा ऊ सधैँ घुमिहिँड्थ्यो । माल्दाजुको ऊ प्रिय ‘द फेभराईट (The Favorite) तर म उसलाई भेट्न पाउँदिन थिएँ । त्यस केटाको कारणले म माल्दाजुवाट प्राय हेपिइन्थेँ । विशेषत गदा विचरालाई उसले सधैँ हक्का-बक्का पाथ्र्यो । म ऊ सँग धेरै रिसाउँथे । तर म रिसाएर के हुन्छ र ऊ माल्दाजुको ‘द फेभर्राईट’ । हाम्रो डेरामा बस्ने रामबाबू पनि देखिसहनु हुन्न थियो । भन्नुहुन्थ्यो ‘द रग (The Rogue) त्यसबेला यो कुराको ब्याख्या वँहाले नगरे पनि हामी दुईजना राम्ररी बुझ्दथ्यौँ- ‘रामा द रग’ ! वहाँ रिसाउने अरु पनि कारण थिए । त्यसमध्ये प्रमुख चाहिँ ऊ आफूलाई ‘रामबाबू’ भनेर परिचय दिने गथ्र्यो । माल्दाजु पनि उसलाई बेलाबेलामा रामबाबू भनेर बोलाउनु हुन्थ्यो । हाम्रा रामबाबूलाई यसो गरेको राम्रो लाग्दैन थियो । छोड्दिउँ यस्ता कुरा ।

एकदिन बेलुका माल्दाईले एउटा ल्याम्प किनेर ल्याउनु भयो । जिनिस राम्रो थियो प्रायः पचास-साठी रुपियाँ मूल्यको होला । सवैजना घुम्न गएपछि मैले गदाधरलाई बोलाएर त्यो ल्याम्प देखाएँ । गदाधरले त्यस्तो ल्याम्प कहिल्यै देखेको थिएन । ऊ महा आल्हादित भएर दुईचार पल्ट छामेर हेर्यो र त्यसपछि आफ्नो काममा भान्सामा पस्यो । तर मेरो क्यूरिओसिटी (Curiosity) केही गर्दा पनि थामिएन । के गरेर चिमनी खोलौँ – के गरेर भित्रको पुर्जा हेरौँ – अनेक तरिकाले छामछुम पारेर हेरेँ, धेरै पल्ट घुमाएर हेरेँ, तर केही गर्दा पनि खुलेन । धेरै लामो Observation पछि देखेँ तलतिर पटी एउटा स्क्रू छ । केही उपाय नलागेर त्यसलाई घुमाएँ । एकछिन घुमाएपछि हठात् ल्याम्पको आधाभाग छुट्टियोो । हतार हतारमा राम्ररी समाउन सकिनँ, माथिल्लो भागको काँच टेबलबाट तल झरेर चकनाचूर भयो ।

तीन

त्यो दिन घुमेर राती धेरै ढिलो फर्किएँ । डेरामा आएर देखें- भयङ्कर होहल्ला मच्चिरहेको छ । गदाधरलाई बीचमा राखेर सवै वरिपरि बसेका छन् । माल्दाई रिसाएर आगो हुनुभएको छ । गदाधरको जिरह चल्दैछ ।

गदाधरका आँखाबाट टप-टप आँसू झर्दैछन् । ऊ भन्दैछ बाबू मैले त्यो छोएको त थिएँ तर भत्काएको होइन, सुकुमार बाबूले मलाई देखाउनु भयो- मैले पनि हेरेँ । त्यसपछि वहाँ पनि घुम्न जानुभयो म पनि काममा लागेँ ।

कसैले उसको कुरामा विश्वास गरेर । सबैलाई विश्वास भयो चिमनि उसैले फुटाएको हो । उसको तलब जति बाँकी थियो त्सबाट साडे तीन रुपियाँ कटाएर त्यसबाट नयाँ चिमनि किनेर ल्याईयो । बेलुका जब ल्याम्पबाट प्रकाश प्रज्ज्वलित हुँदा सवैजना प्रफुल्ल देखिए तर मेरा दुईवटा आँखाहरू पोल्न थाले । सम्पूर्ण रुपमा मलाई उसको साडे तीन रुपियाँ मैले चोरे जस्तो लाग्यो । अरु पर्खिन सकिन । रोएर कुनै उपायले माल्दाई फकाएर घर आएँ । सोचेको थिएँ, हजुरआमावाट रुपियां लिएर गदाधरलाई साडे तीनको साटो सात रुपियाँ दिउँला । म आफूसित त्यसवेला पैशा थिएन । सवै पैशा माल्दाजु सँगै हुन्थ्यो । त्यसैले पैशा लिन मलाई गाउँनै आउनु पर्दथ्यो । सोचेको थिएँ एकदिन भन्दा वढी गाउँमा वस्दिन । तर त्यस्तो भएन । सात-आठ दिन त्यत्तिकै काटियो ।

सात आठ दिन पछाडि कोलकाताको डेरामा पसेँ । पसेर वोलाएँ- ‘गदा !’ कुनै उत्तर आएन । फेरि बोलाएँ ‘गदाधर ठाकुर !’ कुनै जवाफ छैन । गदा !

यसपल्ट रामचरण आएर जवाफ दियो ‘सानुबाबू कति बेला आउनु भयो ?’

र्’भर्खर आएको, ठाकुर खोई ?’

‘ठाकुर ! छैन । ‘

‘कहाँ गयो -‘

‘बाबूले त्यसलाई निकालिदिनु भयो ।’

‘निकालिदिनु भयो ! किन ?’

‘चोरी गर्‍यो भनेर ।’

पहिले मैले कुरा राम्ररी बुझिन, त्यसैले एकछिन रामाको अनुहारतिर हेरिरहेँ । रामाले मेरो मनको भाव बुझेर मुसुक्क हाँसेर भन्यो- ‘सानुबाबूलाई आश्चर्य लाग्यो – तर तपाईँहरू उसलाई चिन्नुहुन्न थियो । त्यसैले त्यति धेरै मायाँ गर्नुहन्थ्यो । त्यो त अधम थियो । भिजेको बिरालालाई म चिन्थेँ ।’

ऊ कसको अधम थियो वा किन त्यो भिजेको बिरालालाई चिन्न सकिन, त्यो बुझ्न सकिनँ । सोधेँ ‘कसको पैशा चोर्यो ?’

‘माईला बाबूको ।’

‘कहाँ थियो ?’

‘लुगाको पकेटमा ।’

‘कति रुपियाँ -‘

‘चार रुपियाँ ।’

‘कसले देख्यो ‘

‘आ“खैले कसैले देखेको होइन, तर एक किसिमले स्पष्टै भएको हो ।’

‘कसरी -‘

‘यो कुरा फेरि सोधिरहन पर्छ र – तपाई“ डेरामा हुनुहुन्न थियो, रामबाबूले लिनु भएन, जगन्नाथ बाबूले लिनु भएन , मैले लिइन । अरु कस्ले लग्यो त ? कहाँ गयो ?’

‘तैले त्यसलाई पक्डिस् त ?’

रामाले हाँसेर भन्यो- ‘होईन भने कस्ले त ?’

पटपट बज्ने चप्पल तपाईँहरू आफैँ स्वच्छन्द रुपमा किन्न सक्नुहुन्छ । तर त्यस्तो वलियो मजबूत चप्पल लाग्छ, कहीँ पाईन्न ।

चार

म पाकशालामा गएर रुन थालेँ । त्यो सानो हुक्कामा धुलो जमेको थियो । चारपाँच दिनदेखि त्यसलाई कसैले छोएको थिएन, कसैले पानी फेरेको थिएन । भित्तामा एकठाउँमा कोईलाले लेखेको रहेछ- ‘सुकुमार बाबू, मैले चोरि गरेँ । यो ठाउँबाट गएँ । बाँचे भने फेरि आउँछु ।’

उसबेला केटाकेटी नै थिएँ । नितान्त बाल-वुद्धिमा त्यही हुक्कालाई छातीमा टाँसेर रुन थालेँ । किन त्यसो गरेँ कारण थाहा थिएन ।

त्यसपछि त्यो डेरामा मेरो मन लागेन । साँझमा घुमेर फर्किएपछि एकपल्ट भान्साघरमा जान्थेँ । अरु कसैले पकाएको देखेर मन खल्लो हुन्थ्यो र आफ्नो कोठामा आएर पढ्न वस्थेँ । बेलाबेलामा म माल्दाईलाई पनि देख्तिन थिएँ । भात समेत मलाई तीतो लाग्थ्यो । धेरै दिन पछि एकदिन राती माल्दाजुलाई भनेँ- ‘माल्दाई ! तपाइँले यो के गरेको ?

‘कसलाई के गरेँ ?’ ‘गदाले तपाईँको पैशा चोरेको थिएन ।’

सबैलाई म गदाधरलाई असाध्यै माया गर्छु भन्ने कुरा थाहा थियो । माल्दाजुले भन्नुभयो-मैले राम्रो गरिन सुकुमार ! जे भयो भै गयो । तर तैँले रामलाई किन त्यस्तो कुटेको ?’

‘ठीक गरेँ । मलाई पनि निकाल्नु हुन्छ ?’ माल्दाजुले मेरो मुखबाट कहिल्यै यस्ता कुरा सुन्नु भएको थिएन । मैले फेरि सोधेँ- ‘तपाईँको कति रुपियाँ असूल भयो ?’

माल्दाजुले दुःखी भएर भन्नुभयो- ‘राम्रो गरिन । सबै रुपियाँ उसको कटाएर अढाई रुपियाँ असूल गरेको थिएँ । मलाई त पटक्कै इच्छा थिएन ।’

म बाटामा घुम्न जाँदा, टाडा यदि कसैले मैलो गाम्छा काँधमा हालेर फाटेको चप्पल लगाएर हिडेको देखेँ भने दौडिदैँ गएर हेरेर आउँथे । तर यस्तो आशा प्रत्येक दिन निराशामै बदलिन्थ्यो । के भनुँ र !

लगभग पाँच महिना पछि दाजुको नाममा एउटा मनिअर्डर आयो । डेढ रुपियाँको मनि अर्डर । दाजुलाई मैले त्यसदिन आँसू पुछ्दै गरेको देखें । त्यो कुपन अझै मसितै छ । कैयौं बर्ष बिते । आज पनि त्यो गरिब गदाधर ठाकुर मेरो छातीको आधा भागमा गाँसिएर रहेको छ ।

समाप्त

(स्रोत : Kumud Adhikari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *