कथा : कृष्ण सुदामाको कथा

~पूर्ण ओली~Purna Oli

यो कथा कलीयुगकै तीनजना मित्रहरुको हो । नेपाल मुलकको हिमालखण्डतिर एकजना कालीबहादुर नामको केटो बस्ने गर्दथ्यो । ऊ गरीब परिवारमा जन्मेको थियो । त्यसबेला गाउँमा पढ्ने चलन आइसकेकोले उसका बाबुले गाउँकै विद्यालयमा पढ्न हालिदिएका थिए । सायद उसको वर्ण नै कालो भएकोले होला उसका आमाबाले उसलाई काले भनी बोलाउँदा बोलाउँदै विद्यालयमा पनि उसको नाम कालीबहादुर राखिएको थियो । ऊ इमान्दार र लगनशिल थियो र पढाइमा कक्षाका अरु विद्यार्थीको तुलनामा अलि तेज नै थियो । उसको इमान्दारिताको कारण उसलाई मित्र बनाउन अरु विद्यार्थीहरु लालायित हुन्थे ।

त्यसै विद्यालयमा कालीबहादुर संगसंगै दामु र कृष्ण नामका अरु दुईजना केटाहरुले पनि पढ्ने गर्दथे । दामु अलि चतुर खालको केटो थियो भने कृष्ण सोझो केटो थियो । दामु पढ्नमा त्यति ध्यान दिँदैनथ्यो तर कृष्ण भने पढ्नमा लगनशिल थियो । कालीबहादुरलाई कृष्ण र दामु दुवैले मन पराउँथे तर दामुले कृष्णलाई कालीबहादुरको नजिक हुनखोजेको देखिसहँदैनथ्यो । यसैगरी कृष्णलाई पनि कालीबहादुरजस्तो सिधा केटासंग दामुजस्तो फटाहा केटोले संगत गरेको मन पर्दैनथ्यो । जाँचमा यिनै तीनजनाले संधै प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्दथे । यी तीनजना केटाहरुमा को प्रथम हुने भनी होडबाजी चलिरहन्थ्यो । दामु पढाइमा अरु विद्यार्थीहरुको तुलनामा कमजोर हुँदाहुँदै पनि जाँचको रिजल्टमा प्रथम, दोस्रो वा तेस्रो तेस्रो स्थान हासिल गरेको अरु विद्यार्थी त के शिक्षकहरुलाई समेत मन पर्दैनथ्यो । तर लेखेपछि नम्बर दिनै पर्यो, लाचार थिए शिक्षकहरु पनि ।

खासमा कुरा के थियो भने जाँच भयो कि कालीबहादुर संधै दामुसंग परीक्षाहलको एउटै बेन्चमा बस्नुपर्दथ्यो । प्रश्न हल गर्न थालेपछि कालीबहादुरले दामुलाई सबै प्रश्नको उत्तर देखाइदिन्थ्यो र दामुले परीक्षाका निरीक्षकहरुको आँखा छलेर त्यही सार्दथ्यो । कालीबहादुरजस्तो तेज विद्यार्थीको उत्तर सार्न पाएपछी दामु अरु विद्यार्थीभन्दा पछि पर्ने कुरै थिएन ।

यति मात्र होइन दामुले विद्यालयमा कहिले पनि खाजा ल्याउँदैनथ्यो । कालीबहादुरले भने संधै खाजा ल्याउने गर्दथ्यो । कालीबहादुर र दामुले मध्यान्तरको समयमा कालीबहादुरकै खाजा बाँडेर खाने गर्दथे । कालीबहादुरले भोलिपल्ट कुन खाजा ल्याउनुपर्ने दामुले नै सिफारिश गर्दथ्यो ।

एकदिन दामुले कालीबहादुरलाई फकाउँदै भन्यो, “कालीबहादुर, तिम्रो र मेरो मित्रता द्वापरयुगका सुदामा र कृष्णको मित्रतालाई पनि बिर्साउने खालको भयो भनी सबैले तारिफ गर्छन् । हामी पनि कलियुगका कृष्ण सुदामा किन नबन्ने ? अबदेखि मलाई सुदामा भन है ?”

कृष्णले लजाउँदै भन्यो, “कहाँ तिमीजस्तो धनी बाउका छोरालाई त्यति गरीब सुदामाको उपमा दिन सक्छु म ? बरु तिमी नै मलाई नै सुदामा भन न ।”

“यो द्वापर युग होइन, कालीबहादुर, यो कलियुग हो । मेरो नाम ‘दामु’ भएकोले ‘सुदामा’ भन्दा नाम बरु परिस्कृत हुन्छ, कसले मलाई कङ्गाल सुदामा नै ठान्छ र ? अनि तिम्रो नाम पनि ‘कालीबहादुर’ आधुनिक जमानामा त्यति सुहाउँदो भएन । म तिमीलाई अबदेखि ‘कृष्ण’ भन्छु । तिमी मलाई ‘सुदामा’ भन है ?”

कालीबहादुर आफ्नो नाम परिस्कृत गर्न पाउँदा झन् मख्ख पर्यो । उसले एकअर्कालाई बोलचालको नाम फेर्न सहमति दियो । अब एकअर्काले ‘कृष्ण’, ‘सुदामा’ नाम कारेर बोलाउन थाले । यसले गर्दा उनीहरुको सम्बन्ध झनै गाढा हुन पुग्यो ।

अर्को दिन दामुले प्रस्ताव राख्यो, “मेरो प्यारो मित्र कृष्ण, मलाई तिम्रो घरमा बोलाउ है ? मलाई दही, घ्यू, नौनी साह्रै मन पर्छ । तिम्रो आमाबालाई मलाई मन पर्ने कुराको व्यवस्था गर्न लगाऊ । भोलि बिदाको दिन पनि छ । है मेरो कृष्ण ?”

कालीबहादुरले अकमकाउँदै भन्यो, “दही, घ्यू, नौनी त कृष्णलाई मन पर्ने कुरा होइनन् र ? तर तिमी त सुदामा, तिम्रो मन पर्ने चिज त……… ।”

“कृष्णजी, यो त कलियुग हो । द्वापर युगमा कृष्णलाई मन पर्ने सप्पै चिज अहिले सुदामालाई मन पर्छन् क्या ।”

कालीबहादुरले घरमा आफ्ना आमाबालाई भनेर अतिथि सत्कार गर्न तयार भयो । भोलिपल्ट बिहानै दामु कालीबहादुरको घरमा पुग्यो । कालीबहादुरले मित्र सुदामाको हातपाउ राम्रोसंग धोइदियो र भित्र लगेर पिर्कामा राख्यो । त्यसपछि दामुलाई मनग्गे घ्यू, दही र नौनीको साथै खिरको भोजन गरायो । कालीबहादुरका आमाबा पनि दामुजस्तो धनी बाउको छोरासंग कालीबहादुरको मित्रता गाँसिएकोमा धेरै खुशी भए । दामुले उसका आमाबालाई सम्झायो,

“विद्यालयमा मैले कालीबहादुरलाई धेरै सहयोग गरेको छु । उसलाई परेको बखत कापी, कलम, किताब मैले नै दिन्छु । मेरो साथी भएकोले कालीबहादुरलाई विद्यालयमा कसैले हेप्न पाएका छैनन् । जाँचमा पनि मैले जानेकोसम्म उसलाई सिकाइदिन्छु, त्यसैले त ऊ प्राय: प्रथम हुन्छ ।”

पाहुनाको रुपमा त्यसमा पनि कृष्णको आतिथ्य स्वीकार गरेर आएका सुदामाले भनेका त्यस्ता छलकपटपूर्ण कुरा सत्य होइनन् भनी कालीबहादुरले आफ्नो आमाबालाई भन्न सकेन ।

बरु उसका आमाबाले नै आफ्नो छोरालाई सम्झाए, “हेर छोरा, यति राम्रो मान्छेसंग तेरो मित्रता गाँसिन पुगेकोमा हामीले अवर्णनीय आनन्द भइरहेको छ । तिमीहरु अब साथी-साथी मात्रै नभई मित-मित भयौ । तिमीहरुको यो सम्बन्ध कहिले पनि नटुटोस् ।”

बेलुका फर्कँदा सुदामाको लागि कोसेलीपात पनि तयार भयो । त्यो बोकेर खुशी हुँदै दामु आफ्नो घरतिर लाग्यो । पछिपछिसम्म पनि दामु कालीबहादुरको घरमा आइ नै रह्यो र कालीबहादुरले पनि आतिथ्य ग्रहणमा कुनै कमीकमजोरी हुन दिएन । तर बिडम्बनाको कुरा सुदामारुपी दामुले कृष्णरुपी कालीबहादुरलाई कहिले पनि आफ्नो घरमा पाहुन लगेन ।

यसै कारणले नै कृष्णले दामु र कालीबहादुर बीचको सम्बन्धलाई मन पराएको थिएन र अरु विद्यार्थीहरुले पनि यिनीहरुबीच सम्बन्ध बढ्दै गएको मन पराउँदैनथे । तर लाचार थियो, कालीबहादुर । उसको मीत भइसकेको थियो दामु त ! अनि यो ‘कृष्ण-सुदामा’ नाटकमा सकीनसकी कृष्णको भूमिका खेल्न बाध्य थियो ऊ । कृष्णले पटकपटक दामु जस्तो फटाहा केटासंग नजिक नपर्न कालीबहादुरलाई सम्झाइरहन्थ्यो । तर यो कुरा चाल पाएर कहिले पनि दामुले कालीबहादुरलाई कृष्णको नजिक पर्न दिँदैनथ्यो ।

एक दिनको कुरा हो, त्यो विद्यालयमा वैदेशिक छात्रवृत्तिको अवसर आयो । एकजनालाई पूर्ण छात्रवृत्ति र अर्कोजनालाई अर्द्ध छात्रवृत्तिको लागि दुईजना छनौट हुने भएकोले इच्छुक विद्यार्थीलाई फोटो सहितको आवेदन फाराम भर्न भनी सबै विद्यार्थीको लागि सूचना गरियो । सो छात्रवृत्ति छनौट परीक्षाको लागि बाहिरैबाट जाँच लिने जाँचकीहरु पनि आइपुगे ।

त्यसैअनुसार कृष्ण, कालीबहादुर र दामुले पनि फर्म भर्न थाले । दामुले कालीबहादुरको फाराममा आफ्नो फोटो टाँस्यो र आफ्नो फाराममा कालीबहादुरको फोटो टाँस्न लगायो । पहिले त कालीबहादुरले आनाकानी गर्यो । तर दामुको जिद्दीसंग उसको केही जोर चलेन । दामुले यसरी फकायोः

“हे, मेरो कृष्ण कन्हैया, मैले तिम्रै हितको लागि यो गरेको हुँ । यसो नगरेमा तिम्रो कापी मैले सार्दा बाहिरका जाँचकीले थाहा पाए भने हामी दुवैजना रेस्टिगेट पर्छौँ । अहिले त यसो गर्नेलाई लाख रुपैयाँसम्म जरिवाना र वर्षौँ कैदको जरिवाना पो हुन्छ त । मित भएको नाताले तिमीले मलाई कापी सार्न दिनै पर्ने हुन्छ ।”

कालीबहादुर दामुले भनेअनुसार गर्न बाध्य भयो । ती फर्महरु जाँचकीहरुले संकलन गरे । यो कुरा कृष्णले पनि थाहा पाइहाल्यो । अनि कृष्णले मौका पारेर बेलुका कालीबहादुरकै घरमा पुगेर सम्झायो, “यसो नगर, कालीबहादुर, यो भविष्यसम्मलाई प्रभावित हुने निर्णय हो । हामी तीनैजनाले छात्रवृत्ति पाउने भए त केही थिएन । दुईजना मात्र छनौट हुने भएकोले यो गलत कार्यबाट दामुले अनुचित फाइदा लिनेछ र यसको मारमा तिमी र म नै पर्नेछौँ । आखिर तिमीले लेखिदिएपछि पूर्ण छात्रवृत्ति त दामुले नै पाउनेछ । अनि यस अमूल्य अवसरबाट बञ्चित हुने तिमी वा म नै हो ।”

कृष्णको सल्लाहबाट कालीबहादुरका अलिकति चेत खुले । भोलिपल्ट फाराम फिर्ता गर्न कालीबहादुर मन्जुर भयो । तर यसको सुइँको दामुले पाइहालेछ, अनि बिहानै कालीबहादुरको घरमा दामु आइपुग्यो र सबैको अगाडि पुकार गर्न थाल्यो, “हे, कृष्ण भगवान्, तिमी मेरो साँच्चिकै परम्-परमेश्वर होउ । तिमी त आफै सर्वशक्तिमान छौ, प्रभू, । तिमीलाई यस्ता अवसर हज्जारौँ आउनेछन् । म सुदामा जस्तो असहायलाई एकैपटक आएको अवसर हो । जुन गुमेपछि मैले कहिले यो अवसर प्राप्त गर्न सक्नेछैन । कृपा गर प्रभू । मेरो उद्धार गर ।” भन्दै चतुर दामुले कालीबहादुरको गोडा समात्न पुग्यो ।

यो के नाटक भइरहेछ, कालीबहादुरका आमाबाले केही बुझ्न सकेनन् । अनि यति पुकार गरिसकेपछि दामुले बिस्तारै कालीबहादुरलाई घरबाट नदेखिने ठाउँसम्म डोर्याएर लग्यो र घरदेखि ओझेलमा परेपछि आँखा राताराता पार्दै धम्की दियो “हेर् काले, यो फाराम फेरिस् भने त्यो कृष्णे र तेरो दुवैको जिउँदै छाला काढ्न सकिन भने मलाई नामर्द भन्नू ।” यति भनेर ऊ आफ्नो घरतिर लाग्यो ।

दामुको असली रुप देखेर कालीबहादुरको मुटु काँप्यो र लरबराउँदै घर फर्क्यो । त्यस दिनको बिहानको छाकमा उसको बाआमाले जति कर गरे पनि उसलाई खान मन लागेन । ऊ भोकै विद्यालयतिर लाग्यो । बाटोमा कृष्णले उसलाई पर्खिरहेको थियो । कृष्णलाई देख्नेबित्तिकै ऊ कूद्दै उल्टो खुट्टा घर फर्कियो र घरमा आएर क्वाँक्वाँ रुन थाल्यो । आमाबाले ‘के भयो ?’ भनी सोध्दा पनि केही जवाफ दिन सकेन ।

आखिर परीक्षाको दिन आइपुग्यो । जाँचमा दामु र कालीबहादुर एउटै बेन्चमा परेनन् । उत्तरकापी बाँडिएपछि कालीबहादुरले उत्तरकापीमा नाम लेख्यो दामोदर खडका । यसैगरी दामुले आफ्नो उत्तरकापीमा नाम लेख्यो कालीबहादुर खत्री । कालीबहादुरले दामुको धम्की स्मरण गर्दै जानेसम्म बलबुताले कापी भर्यो । दामुलाई भने केही लेख्न आएन र कृष्ण-सुदामाको कथा लेखेर कापी भर्यो ।

त्यस जाँचको रिजल्ट भयो । दामोदर खडकाको नाम एक नम्बरमा निस्कियो धेरै नम्बरको अन्तरले । त्यसपछि दोस्रो नम्बरमा कृष्ण शर्माको नाम आयो । कालीबहादुरको नामभने धेरै पुछारतिर मात्र देखियो । सबै विद्यार्थीले रिजल्टमा तलमाथि परेको गुनासो गरे । कालीबहादुरलाई रिटोटलिङ गर्न सुझाए । कालीबहादुरले रिटोटलिङ गर्न मानेन । यो कुरा कृष्ण कालीबहादुर र दामुलाई मात्र थाहा थियो । कृष्णले उजुरी पनि गर्न सक्थ्यो । तर एक त इमान्दार व्यक्ति झन् दामुको धम्कीको डरले मर्न आँटेको कालीबहादुर विरुद्ध उजुरी गर्नुभन्दा अर्द्ध छात्रवृत्तिमै चित्त बुझाउनु उपयुक्त ठहर्यायो ।

यो घटनापछि दामु र कृष्ण विदेश पढ्न गए । कालीबहादुरको भने पढ्ने जाँगरसाँगर मर्यो । उसले सँधै आफ्नो मित्र सुदामाको रौद्र रुप मात्रै झलझली देखिरह्यो । त्यसपछि कहिले पनि दामुले विदेशबाट कालीबहादुरलाई ‘मेरो कृष्ण भगवान्’ भनी पुकारेन र कालीबहादुरले पनि त्यो छात्रवृत्तिको अवसर गुमाउँदा दुख्ख मान्नुको सट्टा दामुको साथ छुटेकोमा धेरै उछितो मान्यो । पछि जेनतेन एसएलसी कटाएपछि एउटा अफिसमा खरिदारको जागिरी भेट्टायो र त्यसैबाट आफ्नो जिविका चलाइरहेको थियो ।

एकदिनको कुरा हो कालीबहादुर रेडियो सुनेर अफिसको काम गर्दैथियो । रेडियोले नेपाल सरकारले सचिवहरुको पदस्थापन गरेको समाचार प्राथमिकतापूर्वक प्रसार गरिरहेको थियो । रेडियोतिर त्यति ध्यान नभए पनि रेडियोबाट चिरपरिचित नाम आएकोले ऊ ध्यान दिएर सुन्न थाल्यो । रेडियो भन्दै थियो, “श्री दामोदर खडका, सचिव, अर्थ मन्त्रालाय” “श्री कृष्ण शर्मा, सचिव, सामान्य प्रशासन मन्त्रालय ।” पछि रेडियोले यिनीहरुको वतन समेत खुलाएपछि भने कालीबहादुर आफ्नै साथीहरु नेपाल सरकारका विशिष्ट श्रेणीका सचिव भइसकेको विश्वस्त भयो र उसले हातको फाइलसाइल भुइँमा हुत्त्याएर खुशीले बुरुक्क तीन बित्ता उफ्रियो । अनि सबै साथीहरुलाई हल्ला गर्दै सुनाउन थाल्यो, “तिमीहरुले सुन्यो ? खबर सुन्यौ ? तिमीहरु कहिले रेडियो सुन्ने भए पो यति राम्रो खबर सुन्थ्यौ ! सुन्यौ ? मेरा साथीहरु दामे र कृष्णे त सचिव पो भएछन् । कति ठूलो भाग्य लिएर जन्मेका बाब्बै !” अरुले के जवाफ दिए उसले ध्यान दिएन र आफूभने हुँत्तिँदै घरमा आयो ।

अनि कल्पना गर्न थाल्योः ‘अब मेरा दुखका दिन गए । दामुले अवश्य मेरो गुण सम्झनेछ । अब मेरो छिट्टै बढुवा पनि हुनेछ र मालदार ठाउँमा सरुवा पनि हुनेछ ।’ अनि उसले झोलितुम्बा ठीक्क पार्यो र बिना तयारी, बिना सुझबुझ काठमाण्डौतिर हानियो ।

बाटो सोध्दैसोध्दै भोलिपल्ट नै दामुलाई भेट्न कालीबहादुर अर्थ मन्त्रालयतिर लाग्यो । बाहिरबाटै मन्त्रालयको विशालता देखेर उसले जिब्रो टोक्यो, ‘ओहो! कति ठूलो महल ! अनि यति ठूलो महलको राजा बनेको त्यो दामेको कति ठूलो भाग्य ! पख् न दामे तँलाई मैले जानेको छु । तँलाई थाहै नदिई सुटुक्क तेरो कोठामा पस्नेछु अनि ‘ए कलियुगका सुदामा’ भनी झ्याम्म गालामा हान्नेछु, अनि बारम्बार म्वाँइ खानेछु । पख् न ‘यसो नगर्’ त भन्लास्, तर मेरो इच्छा नपुर्याइ कहाँ छाड्छु र ? पख् न पख् ।’

उसले चारतला माथि सचिव ‘दामोदर खडका’ लेखेको नेमप्लेट भेट्टाइछाड्यो । अनि त्यही कोठाभित्र पस्यो । त्यहाँ दर्जनौँ मान्छेहरु पालो कुरेर बसेका थिए । उसले त्यसको मतलब गरेन र ‘सचिवको कोठा यतै हो ?’ भन्दै भित्रको अर्को ढोका धकेल्न पुग्यो । उसको क्रियाकलाप देखेर एकजना सुरक्षाकर्मीले ‘कस्तो पागल मान्छे ?’ भन्दै उसलाई तानेर बाहिर हुत्याइदिए । अनि ऊ फेरि फर्केर आएर फलाक्न थाल्यो, “यो सचिव मेरै बालसखा हो के, बालककालमा उसले मलाई ‘कृष्ण भगवान्’ भन्थ्यो, मैले उसलाई ‘सुदामा’ भन्थेँ । हामी त साँच्चिकै ‘कृष्ण-सुदामा’ पो हौँ त । कृपया जरुरी छ मलाई भेट्न दिनोस्” भन्दै फेरि अगाडि बढ्यो । अनि बाहिर मुख्य कुर्सीमा बस्ने एकजना कर्मचारीले हकारे, ‘भेट्ने भए पालोमा बस्नोस्, यत्रो मान्छेहरु कुरेर बसेको देख्नुभएन ? यी: यो स्लिपमा आफ्नो नाम ठाम र काम लेखेर दिनोस् ।”

अनि कालीबहादुरले त्यस स्लिपमा आफ्नो वास्तविक नाम ठाम लेख्यो । त्यति लेखेर उसलाई चित्त बुझेन । अनि स्लिपको पछाडिपट्टि लेख्यो:

“मेरो प्यारो मित्र सुदामा,

तिमीले यति ठूलो जागिरी भेट्टाएछौ लाखलाख बधाइ छ ! तिम्रो खबर सुन्ने बित्तिकै तिमीलाई भेट्न म हिमालबाट आइपुगेको छु । मलाई कतिखेर भेटूँ भइरहेको छ । छिट्टै मलाई भित्र बोलाऊ ।

तिम्रो मित्र ‘कृष्ण भगवान्’ !

उसले भेट्नको लागि चारपाँच घण्टा कुर्नपर्यो । अनि उसको पालो आएपछि स्लिप लिएर बाहिरका कर्मचारी भित्र छिरे । केहीबेर पछि ती कर्मचारी कालोनिलो अनुहार लगाएर बाहिर निस्किए र कालीबहादुरलाई हपारे, “सचिवजस्तो मान्छेलाई अपमान गर्ने ? ‘यस्तालाई भेट्ने होइन जेलमा कोच्नू’ भन्नुभएको छ ।”

कालीबहादुरको आशामा तुषारापात भयो । यस्तो वचनको उसले कल्पनै गरेको थिएन । उसलाई भाउन्ने भएर आयो र दुवै हातले टाउको थिचेर घोप्टो पर्यो ।

फेरि ती कर्मचारीले हप्काए, “बाहिर जाने हो कि प्रहरी लगाउँ ?” प्रतिक्षामा बसेका सबै मान्छेहरु गललल्ल हाँसे । कालीबहादुर जुरुक्क उठ्यो र आफ्नो गल्ती स्वीकार गर्दै सडकतिर लाग्यो । ऊ धेरै पछुतायो, ‘मैले उसलाई होच्याएर लेख्नै नहुने ! थुक्क! मेरो बुद्धि ! अब भोलि पनि आउँछु । नभेटी त कहाँ छाड्छु र ?’

ऊ त्यसरात गौशाला धर्मशाला बस्न पाइन्छ भन्ने सुनेकोले त्यतै गएर रात कटायो । फेरि भोलिपल्ट बिहानै मन्त्रालय आयो । त्यहाँ निजी सहायकको कोठामा हिजोको सट्टा अर्को कर्मचारी बसेकोले उसले आउने बित्तिकै लखेटिनुपरेन ।

त्यस दिन पनि सचिवलाई भेट्नको लागि स्लिप पाएपछि आफ्नो नाम भर्यो र पछाडिपट्टि लेख्योः

‘मित्र दामोदर खडकाज्यू

तपाइँलाई भेट्ने औधि इरादा राखी धेरै टाढाबाट आएको छु । भेट्ने अवसर मिलोस् ।

‘तिम्रो मित्र कालीबहादुर ।”

स्लिप भित्र पुग्यो तर भेट गर्न त्यस दिन पनि पाएन ।

अर्को दिन फेरि लेख्यो:

‘श्रीमान् सचिवज्यू

हजूरको दर्शनको लागि जिल्लाबाट काम लिएर आएको छु । भेट्न अवसर मिलाइपाऊँ ।

हजूरको दर्शनाभिलाषी खरिदार केबि केसी”

त्यसदिन पनि भेट्न पाएन । अर्को दिन स्लिपमा नाम ठेगाना मात्र लेख्यो । तैपनि भेट्न पाएन ।

अर्को दिन स्लिपमा केही नलेखेर ‘सचिव बाहिर निस्कुन्जेल बस्छु’ भनी निजी सहायककै कोठामा कुरेरै दिन बितायो । बेलुका सबै एकएक गरी बाहिर निस्किए । त्यसपछि अन्तिममा निस्कने कर्मचारीले सचिव पस्ने कोठाको ताल्चा लगाइदियो ।

कालीबहादुरले आश्चर्यचकित हुँदै सोध्यो, “अनि, सचिवज्यू भित्रै होइन र ?”

कर्मचारीले उसलाई गिज्याउँदै भन्यो, “लाटा, सचिवको भित्र पस्ने र बाहिर निस्कने ढोका एउटै हुन्छ त ? अर्को ढोकाबाट निस्किसक्नुभो ।”

भोलिपल्ट कार्यकक्ष जानुको सट्टा कालीबहादुर मन्त्रालयको गेटमै बस्यो । कार्यालय शुरु हुनेबित्तिकै एउटा नीलो गाडी आइपुग्यो । ऊ अब भेट्न पाउने आशाले आतुर देखियो । गाडीबाट सचिवज्यू निस्किए । सचिवको साथै अरु मान्छेहरु पनि गाडीबाट निस्किए ।

त्यसपछि कालीबहादुर सचिवज्यूको नजिक जाँदै अर्द्धचन्द्राकार भइ नमस्कार गर्यो र भन्योः “सचिवज्यू, म… म….. म… कालीबहादुर…. ” भन्न नपाउँदै ऊ अरु मान्छेहरुबाट धकेलिँदै पछाडि आइपुग्यो । ऊ तलै वाल्ल परेर हेरिरह्यो । सचिव सहित अरु मान्छेहरु बुटले सिँढी गरपगरप बजाउँदै माथि चढे । ऊ सचिवज्यू माथि उक्लेको एकोहोरो हेरिरह्यो र मनमनै भन्यो “ओहो ! दामु ! कति सेतो, कति मोटो र कति सुन्दर भइसकेछ । सचिव भइसकेपछि त छाँटै अर्को । म पनि हरुवा कहाँ छु र ? तँलाई नभेटी जाँदैजान्न, बाबै ! यति सोची मूल गेट कुरेर दिनभर त्यहीँ बसिराख्यो ।

बेलुका फेरि त्यस्तै जुत्ताहरुको गरपगरप आवाज सुनेपछि सिँढीतिर ध्यान दियो । नभन्दै सचिव लगायत अरु मान्छेहरु ओर्लिरहेको देख्यो । अनि कालीबहादुर दौड्दै अगाडि गयो अरु मान्छेलाई धकेल्दै सचिवको हात समात्ने कोशिस गर्यो, ‘चिनेनौ मलाई ? म उही के तिम्रै गाउँको कालीबहादुर !” अहिले भने बल्ल सचिवको नजर कालीबहादुरतिर पर्यो । तर सचिवको अनुहार देख्ने बित्तिकै कालीबहादुरको सातोपुत्लो गयो । उसको हंशले ठाउँ नै छाड्यो । दामुले बालक कालमा अन्तिम पटक भेट हुँदा धम्की दिँदाको रौद्र रुप धारण गरेको थियो र उसका राताराता आँखाले बोलिरहेका थिए, “काले, तेरो छाला नकाढी छोड्दिन म ।”

ऊ तर्सेर पछि हट्यो । उसका गोडा लगलगी काँप्न थाले । अनि ऊ उसको थुतुनो आइन्दा नहेर्ने वाचा गर्दै लुरुलुरु धर्मशालातिर लाग्यो । धर्मशाला पुगेपछि थाहा भयो उससंग त अब एक पैंसा पनि बचेको थिएन । धर्मशालामा बसेको थोरै भए पनि पैंसा त तिर्नु नै पर्थ्यो । अब के गर्ने । ऊ त्यहाँबाट फरक्क फर्कियो र गौशालामा रहेका भुस्याहा कुकुरसंगै सुतिदियो । उसलाई निद्रा सितिमिति आएन । उसले अब सामान्य सचिवसंग भेट गर्ने कि भनी कल्पना गर्यो । तर आफैले गुण लगाएकोले त यो व्यवहार देखायो भने अर्कोले त (कृष्णले) धोखा नै पाएको थियो । तसर्थ ऊ कहाँ जाने पनि आँट गर्न सकेन । भोलिपल्ट बिहानै गंगबूतिर लाग्यो र हिमालखण्डतिर चल्ने बसको सबभन्दा पछिल्लो सिटमा गएर घुस्रुक्क लुक्यो ।

यो घटना घटेको धेरै दिन भैसकेको थियो । उसले गरेको वाचा पनि बिर्सिसकेको थियो ।

जिल्लामा अर्को एउटा हल्ला चल्यो, ‘अर्थ सचिवज्यूको सवारी आफ्नै जिल्लामा हुँदैछ रे ।’ नयाँ सचिवज्यूको आगमनको लागि स्वागतद्वारहरु धमाधम बनाउन थालियो । सबैले आआफ्नो कार्यालयलाई रंगरोगन लगाउन थाले । सबै कार्यालयहरुको परिसर सरसफाइ गरियो । कर्मचारीहरुलाई कर्मचारी ड्रेसमा कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन र बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँचबजेसम्म कार्यालयको साथै आफ्नो कुर्सी नछाड्न जिल्ला प्रशासनबाट उर्दी जारी भयो । साथै सुरक्षा व्यवस्था पनि थप मजबुत तुल्याइयो । कार्यालयहरुको पनि निरीक्षण हुनसक्ने लख काटी प्रत्येक कार्यालयमा रंगीबिरंगी दुबो, फूल र घाँसहरु राखी जलघडाहरु राख्न लगाइयो । प्रत्येक कार्यालयले अबिर मालाको पनि व्यवस्था गर्नुपर्नेभयो । उहाँको आफ्नै घर जिल्लामा हुँदाहुँदै पनि भर्खर खुलेको आधुनिक सुविधायुक्त एउटा लजमा बसोबासको व्यवस्था मिलाइयो । बेलुकाको प्रितिभोजको लागि विदेशी मदिराहरुको व्यवस्था पनि गरियो । यसरी उहाँको भव्य स्वागतको लागि सम्पूर्ण व्यवस्था भइरहेको थियो मानौँ जिल्लाभर कुनै भव्य समारोह हुन गइरहेको छ ।

त्यसबेला कार्यालयको हाकिम काम विशेषले विदामा रहेकोले कालीबहादुरले नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको थियो । कार्यालयको बन्दोबस्त पनि अरुले जस्तै मिलायो । कालीबहादुरलाई ती सचिवले देखाएको वैगुणको बदला कसरी गुण लगाउँ भयो । अनि सचिवको बालरुचि अनुसार ठेकीका ठेकी घ्यू, मह, दही, नौनी आदिको व्यवस्था समेत गर्न भ्यायो । अनि उसले मनमनै सोच्योः यो सुदामासंग यो पटक त कसो भेट नहोला र ?

नभन्दै अर्थ सचिव जिल्लामा पाल्नुहुने दिन पनि आइपुग्यो । एरपोर्टमै पञ्चेबाजाको व्यवस्था पनि भयो । सबै कर्मचारीहरु लामवद्ध भएर एरपोर्टदेखि उहाँलाइ बसोबास मिलाइएको लजसम्म अबिर, फूलका गुच्छाहरु तथा माला हातहातमा लिएर उभिने उर्दी भएकोले बिहानै नौबजेदेखि नै सबै खडा भइसकेका थिए ।

तीन घण्टाको लामो पर्खाइपछि प्लेन ओर्ल्यो । प्लेनबाट सचिवज्यू र उच्चपदस्थ कर्मचारीहरु पालैपालो ओर्लिए । जिल्लाका प्रमुख कर्मचारीले सचिवको नजिकै पुगेर फूलमाला र अबिर लगाइदिए । त्यसैबेला पञ्चेबाजाको गडगडाहट र कर्मचारीको तालीको करतल ध्वनीले सदरमुकाम नै गुञ्जायमान भयो ।

अनि सचिवको पैदल सवारी होला भन्ने ठानेको त गाडीमा चढेर सुलुलुलु लजतिर बग्नुभयो । कर्मचारीहरु र सर्वसाधारणले मण्टो तानीतानी हेरे पनि कसैले पनि उहाँको भौतिक शरीरको अवलोकन गर्न पाएनन् । त्यसपछि उहाँको सवारी कताकता भयो भन्ने कसैले पत्तो लगाउन सकेनन् ।

त्यसको दुईदिनपछि थाहा भयो सचिवज्यू छोटो बसाइपछि राजधानी फिर्तिसवारी भएछ । त्यो जानकारीपछि कर्मचारीहरुले आ-आफुले तयार गरेको स्वागत द्वार हटाउन थाले । दलिनमा राखिएका जलघडा पनि हटाए । मिष्ठान्न परिकारहरु केही बाँडेर खाए र केही घरघरमा समेत पुर्याए । दुबो र फूलका मालाहरु सुकेर गए । अबिर पञ्चपालामै बिलाउन गयो ।

यस घटनाले आफ्नै गाउँमा हुर्केका सचिवको दर्शन नपाउँदा जिल्लावासी सबैलाई निराश तुल्याएको थियो ।

त्यसको केही दिनपछि कालीबहादुर निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएकोले त्यही काममा तल्लिन थियो । कसैले उसको ढोकाबाट भित्र पस्ने अनुमति माग्दै थियो । कालीबहादुरले ढोका खुल्लै छ भित्रै आउनू न भनी स्वीकृति दियो । एकजना व्यक्ति मन्दमुस्कान साथ नमस्कार हजूर भन्दै भित्र पसे । उनलाई देख्नेबित्तिकै कालीबहादुर वाल्ल परेर हेरिरह्यो । अनि ऊ साह्रै असमञ्जसमा परेकोजस्तो देखियो । अनि हठात् विश्मय प्रकट गर्दै भन्योः “तपाईँ कृष्ण शर्मा होइन ? मेरो मतलब सामान्य प्रशासन सचिवज्यू ।”

“हो मै हुँ, सामान्य प्रशासन सचिव कृष्ण शर्मा । त्योभन्दा पनि नजिकको साइनो छ हाम्रो । हामी बालककालका एकदमै मिल्ने मित्रहरु पनि हौँ । अनौठो मान्नुपर्ने कुनै कारणै छैन । म तपाईँको अफिसमा तपाईँलाई नै व्यक्तिगत रुपमा भेट्न आएको छु ।”

“अनि खबरै केही पाइएन हजूर । अस्ति अर्थ सचिव आउँदा भव्य स्वागतको तयारी गरिएको थियो । तर तपाईँलाई त स्वागतै गर्ने अवसर पाएनौँ हामीहरुले ।”

“म यही गाउँमा हुर्केको उही कृष्णलाई किन भव्य स्वागत गर्नुपर्यो ? तपाईँहरुको दिलले हार्दिक स्वागत गरे पुगिहाल्यो नि मलाई । बरु बस्न अनुमति पाए बसेरै कुरा गर्न सजिलो हुने थियो !”

कालीबहादुर अलमल्ल परिरहेको थियो । एउटा सानो अफिसमा आएका सचिवलाई कसरी औपचारिकता पूरा गर्नुपर्छ केही ज्ञान थिएन उसलाई । अनि हडबडाउँदै भन्यो बस्नुस् हजुर ।

“अनि, के छ त अरु नयाँ खबर ?” सचिवले मुस्कुराउँदै कुराको शुरुवात गरे ।

कालीबहादुरले आफ्नो विगत सबै झलझली सम्झियो । प्रत्येक जाँचमा कृष्णलाई धोखा दिँदै अर्को दामु भन्ने साथीलाई सधैँ दोस्रो बनाउन मद्दत गरेको थियो उसले । छात्रवृत्तिको लागि कृष्णले सम्झाएको कुरा नमानेर झनै धोका दिएको थियो । अनि त्यसकै पीरले पढ्नसढ्न जाँगर मारेको थियो । पछि बल्लतल्ल एउटा खरिदार पदमा जागिर खाएको थियो । सबै इतिहास बताउनै नपर्ने गरी कृष्ण र कालीबहादुरको बीचमा उदाङ्गो नै थियो ।

कालीबहादुरले ग्लानीले भरिएको करुण स्वर झिक्दै भन्यो, “माफ पाऊँ हजूर । हजूरको सल्लाह लिन सकिन । हजुरलाई मद्दत गर्नुको सट्टा बरु हजुरलाई धोका दिएँ । यसको जति प्रायश्चित गरे पनि थोरै हुन्छ ।”

सचिव गम्भीर हुँदै भने, “मैले तिमीबाट कहिले कहाँ धोखा खाएँ र ? उतिबेला छात्रवृत्तिमा छनौट भएपछि दामु र म दुवै विदेश लाग्यौँ । युनिभरसिटिमा तीन महिनासम्म उसले पूर्ण छात्रवृत्ति पायो भने मैले अर्द्ध छात्रवृत्ति पाएर संगै पढ्दै थियौँ । तीन महिनापछि युनिभरसिटिले जाँच लियो । जाँचमा सायद दामुले तिमीजस्तै मसंग बसेर उत्तरकापी सार्न पाएको भए पास हुन्थ्यो कि ? त्यो अवसर त्यहाँ मिल्ने सम्भावना नै थिएन तसर्थ त्यो परीक्षामा ऊ फेल भयो । म पास भएँ । ऊ फेल भएको कारणले उसलाई दिइएको पूर्णछात्रवृत्ति खोसियो र त्यो अवसर मलाई दिइयो । केही महिनापछि उसको फटाइँले गर्दा युनिभर्सिटिबाटै रेष्टिगेट गरियो । अनि ऊ कहाँ गएर पढ्यो ? कसरी जागिरी खायो ? र कसरी सचिवसम्मको पदमा पुग्यो ? उसैले जानोस् । तर अहिले उसको विरुद्धमा अख्तियारमा मुद्दा परेछ । छानबीन हुँदा उसका सबै सर्टिफिकेटहरु नक्कली भएको प्रमाणित भएछ । तसर्थ अस्ति यहीँ आएको बेला अख्तियारका गुप्तचरहरु पछि लागेका थिए रे । ऊ यहीँ पक्राउ परेछ र आज नै जेल चलान भइसकेको छ ।”

“ओहो, मेरो मित सुदामा जेल पर्यो ?” कालीबहादुर चकित भयो ।

“तिम्रो मित सुदामा होइन, ऊ । उसले विभिन्न जालझेल गरेर बरु तिमीलाई नै यस कलियुगमा पनि सुदामा बनाइछाड्यो । नत्र पढ्दाखेरि कहिले पनि मलाई उछिन्न नदिने त्यति तेजिलो केटा तिमी आजसम्म यो स्तरको जागिरी खाएर बस्नुपर्ने थिएन ।”

“उसोभए के हजूरले मलाई मेरो कुकर्मको लागि क्षमा दिनुहोला त ?” कालीबहादुरले याचना गर्यो ।

“होइन, मैले भनिहालेँ, त्यो कुकर्म थिएन भनेर । तिम्रो सोझोपनाको फाइदा उठाइएको मात्र हो । बरु आजदेखि तिमी र मेरो बीचमा असली मित्रताको शुरुवात हुनेछ । आजदेखि नै म तिम्रो सुदामा भएँ । तिमी मेरो कृष्ण । हुन्न ?”

सचिवजस्तो गरिमामय पद प्राप्त गरिसकेको कृष्णले भनेको कुराले ऊ द्रवीभूत हुन पुग्यो । तसर्थ उसका आँखाबाट खुशीका बलिन्द्रधारा आँशु बहन थाले र ग्वाम्लाङ्ग कृष्णलाई अंगालो मार्न पुग्यो । ऊ धेरै बेरसम्म कृष्णकै जीउमा टाँसिइरह्यो । यतिखेर कालीबहादुरले कृष्ण शर्मालाई साक्षात् कृष्ण भगवान् र आफूलाई सुदासंग तुलना गरिरहेको थियो ।

सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला ।

(स्रोत : Purnaoli)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.