अनूदित कथा : जिन्दगी एक फोटो-फ्रेम

~सन्तोष गोयल~
अनुवाद : कुमुद अधिकारी

बेलुकी खाना खाइसकेपछि प्रायजसो शैलेश मलाई बार्दलीमा बोलाउनुहुन्थ्यो र माथि आकाशतिर देखाएर भन्नुहुन्थ्यो- “हेर प्रिय ! आकाश कति सफा छ, तारा चम्किरहेका, मानौँ उनीहरूलाई धोईपखाली गरेर सफा गरेजस्तो। उता अगाडि हेर, जून पूरा छैन तर पनि कति चम्किलो।”kumud Adhikari_1

उहाँ चन्द्रमा देखाउँदादेखाउँदै बार्दलीबाट आधा झुन्डिनुहुन्थ्यो। मलाई चाहिँ सन्तुलन बिग्रन्छ भन्ने डर लागिरहने। म उहाँलाई थाम्न खोज्थेँ। उहाँ मतिर फर्केर मलाई अँगालो मार्नुहुन्थ्यो। उहाँको शैली बालसुलभ उत्सुकता र उत्साहले भरिएको हुन्थ्यो। प्रत्येक दिन त्यस्तै देख्‍ने-सुन्ने भएपछि म पनि त्यसको स्पर्शबाट अछुतो रहन्नथेँ। चाहे पनि, तर म चाहन्थेँ नै कहिले र ?

वास्तवमा हामीले जिन्दगीको धेरै भाग सहरका फ्ल्याट आकारका घरहरूमा बिताएर आएका थियौँ।त्यसैले हामीले उहाँको रिटायरमेन्टपछि गाउँको कोठीमा जाने निश्चय गरेका थियौँ, आफ्नो अन्तिम समय खुला आकाशमुनि ताजा हावामा सास लिँदै बिताउन खोजेका थियौँ। गाउँको पुरानो र जीर्ण पर्खाल भएको कोठीमा थुप्रै ठाउँहरू त खण्डहर भइसकेका थिए भत्केर, तर कहीँकतै सुधारयोग्य ठाउँहरू पनि थिए। अतः तिनैलाई मरम्मत-सम्भार गरिएको थियो।

त्यहाँ बस्दा अचम्मको सन्तुष्टि प्राप्त हुन्थ्यो जसलाई शब्दहरूमा बाँधेर भन्नै सकिँदैन। शैलेश त यति खुसी हुनुहुन्थ्यो कि बितेका चालीस वर्षहरू त बिर्सिसक्नुभएको थियो। जून-ताराबीच हराएर उहाँ गजबको शान्तिको प्रतिमूर्ति बन्नुहुन्थ्यो। म कहिले उहाँलाई हेर्थेँ, कहिले उहाँका औँलाहरूले सङ्केत गरेका ताराहरूतिर। उहाँ अबेरसम्म जून-तारा देखाइरहनुहुन्थ्यो। मेरो गर्दन गलिसक्थ्यो तर उहाँ हेर्न छाड्नुहुन्नथ्यो।

म सोचिरहन्थेँ यी ताराहरूमा उहाँ के देख्‍नुहुँदो हो, तर न मैले कहिल्यै सोधेँ न उहाँले नै बताउनुभयो।

मलाई मेरो बाल्यकालको सम्झना हुन्थ्यो, समय र मृत्युका हातबाट चुँडिएका सम्बन्धहरू याद आउँथे। याद आउँथ्यो तिनका बीचमा बसेको मीठो सुगन्ध जो घटनाहरूका पत्रैपत्रमा दबिएर धूमिल भैसकेका हुन्थे……. म ती बितेका पलहरूमा घुस्थेँ। ती गहिराइहरूमा अपार शान्ति छरिएको भेटिन्थ्यो। लाग्थ्यो, जे सुकै बदलिए पनि आकाशको स्वरूप त त्यही रहन्छ। आमा, बुबा, दाजु, भाउजू, दिदी, साथीहरू, कोही नभेटिए पनि हामी सबैले बाल्यकालमा राती बसेर हेरेका आकाशका रेखाहरू त आज पनि त्यहीँ नै छन्। त्यही ध्रुवतारा, त्यही सप्तऋषि, त्यही पुछ्रेतारा….. केही पनि त बदलिएको छैन, यो पनि खुसीकै कुरा थियो, तर यहाँको आकाश उहाँका मान्छेले पनि हेरिरहेकै होलान्। आहा ! सबैजना मेरा छेउमा आए मन खुसीले छताछुल्ल हुने थियो।
तर त्यस दिन शैलेशले मलाई बोलाउनुभयो। बार्दलीमा राखेको पुरानो रङको त्यो कुर्सीमा बस्नुभएका शैलेश कुनै बितेको समयभन्दा पनि पुरानो देखिनु भएकोथियो।

आज उहाँ जून-ताराहरूले भरिएको आकाशतिर नहेरेर कोठाभित्र चियाउँदै हुनुहुन्थ्यो।

बार्दलीबाट कोठाको भित्री भाग देखिइरहेको थियो। यो कोठा घरकै ठूलो कोठा थियो र अङ्ग्रेजीको अक्षर एल आकारको थियो।

बार्दलीतिर एल-को सानो चाहिँ भाग थियो र त्यहाँ सिसौको काठबाट बनेको डाइनिङ टेबल राखिएको थियो र टेबुलका चारैवटा खुट्टाहरूमा प्रशस्त बुट्टाहरू कुँदिएका थिए। प्रत्येक खुट्टा हात्तीको सुँडझैँ दुईमुखे भएको थियो। माथिको पल्लाको मोटाइ पनि ६ इन्च त थियो नै होला।

चारैतिरको मोल्डिङ बुट्टेदार जालीले बनाइएको थियो। मलाई थाहा थियो यस्ता फर्निचरहरूको सरसफाइ निकै ज्यानमारा हुन्छ तर हजुरबाका जमानाका यी फर्निचर हाम्रा लागि धाक जमाउने र आउने-जानेका लागि ईर्ष्याका कारण थिए।

त्यस दिन शैलेशले मेरो हात पक्रेर आफूसँगै बसाउनुभयो। आफ्ना औँलाको सङ्केत र दृष्टिको डोरी कोठाभित्र लाँदै उहाँले भन्नुभयो, “भित्रको दृश्य हेर त !” झ्यालबाट देखिने त्यो डाइनिङ टेबलअगाडिको टेबलको कुनामा अग्लो स्टुलमा राखिएको त्यो फूलदानी र त्यसमा सजाइएका कमलका फूल, जो आधाउधी त ओइलाएका थिए तर झ्यालका सिसाबाट हेर्दा बडो आकर्षक र कलात्मक देखिएका थिए।

टाढा देखिने बैठक….. बैठकमा ओछ्याइएको फुस्रो, रातो र पहेँलो अनि क्रिम कलरको डिजाइनवाला तन्ना र बैठकको ठीक माथि राखिएको लामो पेन्टिङ जसमा नीलो पानीको तालको दुवैतर्फ हराभरा रूखहरू थिए र पछाडि हिउँले ढाकेका पहाडहरू देखिन्थे…… यति नै देखिएको थियो। मलाई यी दृश्यहरू देखाउँदै भन्न थाल्नुभयो – “हेर, कति राम्रो पेन्टिङजस्तो लाग्दै छ हगि कोठाको यो दृश्य। त्यो गमलाअगाडि….. टाढा लगाएको पेन्टिङको दृश्य …… त्रि-आयामी….. थ्री डाइमेन्सनल ……. आफ्नै घर तस्बिर-जस्तै सुन्दर…. कहिल्यै सोचिएन !” म चुपचाप हेरिरहेकी थिएँ। शैलेशले फेरि भन्नुभयो “अनि यो गमला देखिँदै छ नि….. त्यसले यो पेन्टिङलाई साँच्चै पुरातन तुल्याएको छ। आफ्नो बस्ने कोणमा परिवर्तन ल्याएर फेरि भन्नुभयो “के भन्छ्यौ ? सत्रौँ शताब्दीको कुनै पेन्टरको जस्तो …… !”

शैलेश सही हुनुहुन्थ्यो। थुप्रै कारणहरूले त्यो पेन्टिङजस्तै नै देखिइरहेको थियो। झ्यालका चारवटा चौखटका टुक्राहरूले फ्रेम बनेको थियो। भित्र धमिला छायाहरू बनाउने प्रकाश, गमलाको तोरीजस्तो पहेंलो रङ, जुन परानो मटमैलो भएर सत्रौँ शताब्दीको झैँ भएको थियो र कमलका फूल जसले आफ्ना ताजापन र रङ हराइसकेका थिए। टेबलमा माटाको जग पनि राखेको थियो। सिलिङको बीचबाट झुन्डिइरहेको हजुरबाका जमानाको झुमर…… आफ्ना थुप्रै काँचका झल्लरहरूका साथमा चम्किरहेको थिया। झुमर हजुरबाकै जमानाको थियो र माटाको जगचाहिँ अस्तिका पल्ट जयपुरबाट आएका मित्रले उपहारमा दिएको थियो, त्यसमा इनामेल रङ लगाइएको थियो। त्यसमा मटमैलो-पहेँलो रङको गमला।

गमला देखेर मनमा च्वास्स घोच्यो। त्यो गमलासँग अब कुनै सम्बन्ध बाँकी रहेको त थिएन तर पनि मनमा कहीँ न कहीँ त्यो तेर्सो भएर गाडिन्थ्यो। यो पनि साँच्चै हो, दिनभरि त्यसलाई कैयौँपटक देख्दा केही हुँदैन। त्यस दिन शैलेशले भित्रको दृश्यलाई पेन्टिङ बनाएर देखाइदिँदा त्यो गमला पनि मनमा पेन्टिङ नै भएर छापियो। गमलावालाको याद आउनु त स्वाभाविकै थियो। अगाडिको दृश्य साँच्चै लोभलाग्दो थियो…. यति आकर्षक कि कुनै पत्रिकामा त्यस्तो फोटो देखियो भने काटेरै राख्‍ने खालको, वा फाइलमा राख्‍ने वा फ्रेम गराएर कसैलाई उपहार दिने खालको। यस्तो गर्नु मेरो आदतमै गनिन्थ्यो। केही नभए आफ्नो टेबलको सिसामुनि त अवश्यै बिछ्याएर राख्दथेँ। यति राम्रो पेन्टिङले विश्वमै फैलिएको सुन्दरताको अनुभव गराइरहने थियो। फेरि पनि मनमा यस्ता पेन्टिङ भएका घर कस्ता हुँदा हुन् भन्ने लागिरहन्थ्यो। केके हुन्थ्यो होला ती घरहरूमा – ती सबै कुराको कल्पना गर्थेँ जुन त्यस्ता घरमा राखिएका हुन्थे। कमलका फूलहरू डन्डी बाङ्गिएकाले निहुरेका थिए। त्यो देखेर मेरो कल्पनाले फेरि उडान भर्‍यो। मलाई लाग्यो डन्डी र फूलका बीचमा होड चलेको छ। डन्डीले फूललाई निहुर्‍याउन खोज्दो हो र फूल आफूचाहिँ माथि उठ्ने हठ गर्दा तनक्क हुँदो हो। मैले धेरै पल्ट गमलामा नक्कली फूल हालिदिन चाहेँ पनि- प्रत्येक पल्टको झन्झट नै सकिन्थ्यो, तर मन कहिल्यै मानेन। सधैँ नयाँ फूल ल्याइन्थे र नून र तामाका सिक्कासँग राखिन्थ्यो अनि चार पाँच दिनमा फूल फेर्नै पर्थ्यो।

त्यो तस्बिरजस्तो कोठामा चियाउँदा मेरो दृष्टि गमलामै अडिएको थियो। पार्थको सम्झना आयो। गमला र पार्थ एकाकार भए। “पार्थ कपूर…….. ” यो नाम हृदयमा कतै भासिएर रहेको थियो। …… “के गरूँ उसलाई” म सोचिरहन्थेँ। जसलाई हामी बिर्सन चाहन्छौँ उनैलाई चाहिँ कहिल्यै बिर्सन सक्तैन। पार्थ आज त मेरो जिन्दगीमा हुनुहुन्न फेरि किन म उहाँसँगै जोडिएकी छु – फेरि यो गमला किन तान्यालाई दिन सक्दिनँ। तान्या शैलेशकी छोरी…… त्यसैले – म किन चाहन्छु कि यो गमला पार्थको छोरा सुसीमले नै लैजाओस् !”

कुनै कुराको केही जबाफ थिएन। होस् पनि कसरी। म जबाफ नै किन चाहन्थेँ र ? जहाँ कतिपय कुराको जबाफ हुँदैन त्यहाँ यो पनि सत्य हुन आउँछ कि हामीलाई थाहा हुन्छ…… मनमा लुकेका जबाफहरू जुन त्यस स्थितिमा निश्चित थिए….. तर फेरि सबैथोक थाहा पाउन मानिसको क्षमता कहाँ हुन्छ र ?

टेलिफोनको आवाज थियो। म तस्बिरबाट बाहिर निस्केँ। घण्टी ठूलै बजिरहेको थियो। तस्बिरमा अहिलेसम्म टेलिफोनको रिसिभर देखिएको थिएन। यस्तो लाग्थ्यो मानौँ त्यसले ठूलो स्वरले बजेर आफ्नो उपस्थितिको आभास दिइरहेको थियो। “तर म, म आफू हुनुको आभास दिन किन सकिरहेकी छैन – सबैले मलाई ‘टेकन फर ग्रान्टेड’ लिन्छन्। र म….. उनीहरूको मागमा सही हुनका लागि आफैँ फ्रेममा लागेको तस्बिर भइरहेकी छु। आफ्ना लागि आफूले आफ्नै तरीकाले सोच्न निषेध गरिएको पर्खाल आफ्नै वरिपरि बनाउँदै…… आफ्ना अनुभूतिबाट टाढा……. अवाञ्छित इच्छाहरूबीच।”
म उठेकी थिएँ। टेलिफोनतिर गएकी पनि थिएँ तर मनभित्र जे हुँदै थियो त्यसबाट कसरी बच्न सक्थेँ र – “मन जहिले पनि भरिएको गाग्रोझैँ रहन्छ, पोखिन तयार…… तर बोल्ने बेलामा एक थोपा पनि चुहिँदैन, द्रुतगतिमा घुमिरहेको गाग्रो जस्तै।”

किन सबै वैज्ञानिक नियमहरू जीवनमा सही भएका होलान्। लाख चाहन्थेँ मनको गाग्री अलिकति खाली गरिदिऊँ जसले भावनाहरूलाई छचल्किएर पोखिन सजिलो होस् तर जे चाहन्थेँ त्यो भन्न कहिल्यै सक्दिनथेँ र जे भन्न सक्थेँ त्यसले अगाडिको मान्छे यसरी प्रभावित हुन्थ्यो कि उसैको अनुकूल सोच्न थाल्थ्यो मन….. नचाहेरै भए पनि।

फोन शैलेशकी पुत्री तान्याको थियो। पार्थसँग छुट्टिएपछि यस एक्लो संसारमा सुसीमलाई पाल्न म संसार सागरका तुफानी लहरहरूसँग जुध्दै थिएँ, त्यस बेला मेरो सामना भएको थियो। शैलेश आफ्नी पत्‍नीको मृत्युपश्चात् आफ्ना दुई बच्चाहरूलाई सम्हाल्ने कठिन काम गर्दै हुनुहुन्थ्यो अर्थात् जुध्दै हुनुहुन्थ्यो भन्नै ठीक होला।

आफ्ना आफ्ना दुःख र तकलिफ अनि आफ्ना छोराछोरीका थुप्रै दुःख-सुखमा डुब्दै उत्रँदै गर्दा हामी छोराछोरीका क्याम्पमा ठोक्किन पुग्यौँ। या भनौँ नियतिले हामीलाई मिलाइदियो।

अब त चौबीस वर्ष भयो। यात्राका सबै दुःखद क्षणहरू बिर्सिसक्यौँ। अँ अलिअलि चाहिँ याद छ….. नुनिला चटपटे क्षणहरू। मेरो र शैलेशको छोरो शुभीश र छोरी शुभासा ठूला भएर युनिभर्सिटी गइसके। हामी रिटायर्ड भयौँ र आफ्नो गाउँको ठूलो घरमा छोराछोरीविहीन अस्तित्व समेटेर बसेका छौँ।

टेलिफोनमा कुरा गर्दागर्दै म त्यही गमलाको उप्किँदो र मटमैलो हुँदै गएको रङमा हराएँ। अचम्मै छ ! पैँतीस वर्ष बितिसके तर पनि पार्थको सम्झनाको खाडल भरिएको छैन, न धमिलिएकै छ। सम्बन्धका जगहरू यस्ता दह्रा हुन्छन्। तर प्रायः यस्तो साँचो नहुन पनि सक्छ।

टेलिफोनमा तान्यासँग हालखबर सोध्ने, स्वास्थ्य र पढाइका चिन्ताहरूसम्बन्धी सामान्य कुराकानी भए। शैलेश ढोकामा उभिइरहनुभएको थियो। उहाँलाई देखेर मैले भनेँ “सुन तान्या, तिम्रा बुबा छेउमै हुनुहुन्छ, उहाँसँग कुरा गर।ल ! ओ के बाइ ! टेक केयर !” यति भनेर फोन शैलेशको हातमा दिएँ। फोन लिएर शैलेशले पनि त्यही पुरानै क्रियाकलाप दोहोर्‍याउनुभयो। उहाँ सधैँ भन्नुहुन्थ्यो- टेलिफोनको रिसिभर दिँदा उहाँलाई हाम्रो बिहेपछिको मेरो अनुहार याद आउँछ रे। के थियो कुन्नि अनुहारको त्यो कोणमा जसले उहाँलाई आकर्षित गरेको थियो।

मलाई लाग्यो यो पनि जीवनको कुनै क्षण, अनुहारको कुनै एउटा कोण र त्यसमा देखिने कुनै एउटा भावलाई फ्रेम गर्नुजस्तै त थियो।

फोनको रिसिभर लिँदा पछि हट्दै गरेकी मलाई हल्कासित शैलेशले छुनुभयो र एउटा चुम्बन मेरो निधार छेउबाट गयो। म लजाएँ।

मलाई सम्झना छ पहिलेपहिले म पानीमा पौडिने माछाजस्तै उहाँको हातबाट चिप्लिन्थेँ तर अहिले उहाँलाई हल्का धक्का दिएर उहाँको चौडा छातीमा हात राख्छु, थाम्छु र हिँड्छु।

त्यस दिन शैलेशले फोनको रिसिभर लिँदा मलाई अँगालाको घेरामा लिनुभयो तर मैले उहाँलाई ठेलिनँ। उहाँको छातीमा लताजस्तै टासिइरहेँ। पार्थलाई पनि छेउछाउमै महसुस गर्दै।

आँधी भरिएको मन केही शान्त भएपछि बिस्तारै आफूलाई छुट्याउँदै बार्दलीको अँध्यारो सुरुङमा डुब्न थालेँ। अगाडिको तस्बिर फेरि आँखाको कुनामा आएर बस्यो।

जिन्दगीको कुनै मोडमा सिकेको पेन्टिङ कला फेरि भित्रबाट उठ्न खोज्दै छ। सोच्न थालेँ यो अगाडिको दृश्यलाई क्यानभासमा उतारेँ भने कति मज्जा हुन्थ्यो होला। सोच्दा खुसीका ढोकाहरू अनायास खुल्न लागे। तर….. म यति नै गहिराइ दिन सक्छु र ?

विभिन्न कोणहरूबाट भित्र चिहाउँदै मैले सोचिरहेँ। अचानक मनमा निराशा जन्म्यो। आखिर क्यानभासमा दलेको पेन्टिङमा कसको दृष्टिकोण भरिन्छ – मेरो, वा जसले पेन्टिङ हेर्छ त्यसको ? व्यक्तिगत दृष्टिकोण कति महत्त्वपूर्ण हुन्छ, यसलाई बेवास्ता गर्न सकिन्छ र ?

त्यसैले …… त्यसैले त पार्थसँग छुट्टिँदा, आफ्ना र साथीहरूले यसलाई एउटा मजाक मात्र सम्झेका थिए जसले समयको अन्तरालमा अन्तिम सास फेर्नेछ। तर कहाँ…. ? पार्थले ममा आफूले देख्‍न चाहेको देख्‍नुभएन। तै पनि सुसीमको जन्म भइसकेको थियो। आफ्नो व्यक्तित्व र आफ्नो दृष्टिकोणलाई महत्त्व दिने गुण पार्थले विदेशबाट सिकेर आउनुभएको थियो।

गजबकै हुन्छ यी विदेशीहरूको दृष्टिकोण पनि। उनीहरूका लागि ‘म’ यति प्रिय हुन्छ कि ‘पर’ को कुनै स्थान नै रहँदैन। फेरि उनीहरूमा ‘पर’लाई ‘स्व’ बनाउने गुण पनि हुँदैन। फेरि यिनीहरूले यत्रो समाजसेवा कसरी गर्नसक्छन् ? यी कुराहरूले मलाई सधैँ आश्चर्यचकित पार्ने गर्थे। …… जबजब म विदेश जान्थेँ बस्नका लागि….. अर्को एउटा प्रश्नले मलाई कुतकुत्याउँथ्यो। आफ्ना छोराछोरीहरूका लागि जागिरसमेत छाडेर उनीहरूलाई हुर्काउने आमाबाबु आपसको सानो मतभेदमा पनि उनीहरूलाई भाँचिएका हाँगासरह छाडेर अलग्ग मात्रै हुदैनन् अपितु अर्कै साथी खोजेर अर्कै बाटो घरजम पनि गर्छन्। किन र कसरी ? कसले यो मनोविज्ञानको व्याख्या गर्छ ?

कहिलेकाहीँ त मलाई के लाग्छ भने यी मानिसहरू वास्तविक अर्थमा वैरागी हुन्। जबसम्म यिनीहरू परिस्थिति र वातावरणमा रहन्छन् पूरै भिजेर रहन्छन् र बाहिर निस्कनेबित्तिकै उछिट्टिएर पर पुग्छन्, धेरै पर……. सारा स्थितिबाट प्रभावहीन।

वर्षौँसम्म विदेश बसेका पार्थ पनि यो ‘छुट्टिने’ भावले ग्रसित हुनुहुन्थ्यो र त सायद …… हामी अलग्ग हुनेबित्तिकै आफ्नै अफिसमा काम गर्ने निशा नाम गरेकी शुद्ध रूपले विदेशी रङढङ्गमा सजिएकी केटीसँग बिहे गरेर घरजम गरी त्यसैमा रमाउनुभयो।

शैलेशको अनुहारको मुस्कानबाटै फोनमा अब आखिरी ‘बाइ’ ‘विस यु गुड लक’ आदि वाक्यहरूको आदान प्रदान हुँदै छन् भन्ने कुरा थाहा हुन्थ्यो।

फोन गरिसकेर शैलेश यहीँ आउनेवाला हुनुहुन्थ्यो…… बाहिर बार्दलीमा। कल्पनाको बहँदो पवनसँग म बाहिर निस्केँ। वर्तमानमा फर्केँ। पार्थसँग जोडिएकीले, आफैँलाई उसबाट काट्न-छुट्याउन खोज्दा केही असहज थिएँ। शरीरमा बेचैनी थियो। यस्तो बेलामा शैलेशको उपस्थिति शान्तिदायक हुन्थ्यो।

शैलेश आउनुभयो, मानौँ आँधि थामियो। अचानक लाग्यो आफ्नो मन त यति धेरै सोचको भारले दबिएको छ कि आफ्ना कुरा भन्न शब्द कहाँ खोजूँ र बोलूँ के ? कसैले जानून् म के भन्न चाहन्छु ! तर ……. किन जान्नु र कसैले ! कसैले बुझ्न खोजे म के बताउन सक्छु र ? मसित शब्द नै कहाँ छन् मेरा कल्पनाहरूलाई समेट्ने गरी ! जति शब्द छन् ती त काफी छैनन्। फेरि शब्द खोजी निकाले पनि आफ्नो कुरा भन्न सक्छु र ? आजसम्म भन्न सकिनँ। सोचि मात्रै रहेँ। पार्थ सुन्नु र भन्नु पहिले नै गइसक्नु भएको थियो। त्यसपछि ……. केही भन्ने बानी नै छुट्यो।
शैलेशले प्रश्न सोध्नुभएको थियो र उत्तरको अपेक्षामा हुनुहुन्थ्यो। उहाँलाई मतिरै हेरेको देखेर मैले भनेँ- धत् शैलेश। म कहाँ पेन्टर-सेन्टर हुँ र ! ती त बाल्यकालका कुरा थिए, बालापनसितै बितेर गए। जे बितेर जान्छ त्यसैका लागि हामी बेचैन हुन्छौँ। हेर्नुस् न, राम्रो तस्बिर देखियो भने त्यससँग जीवन तुलना गर्न थाल्दछौँ र जीवनको तुलना पनि राम्रा तस्बिरसँगै गर्छौँ। हैन र ?

शैलेशको नजरमा के थियो भन्न गाह्रो छ। उहाँले मलाई छातीमा टाँसेर मेरो टाउको झ्यालतिर पारिदिनुभयो र त्यतै हेर्दै भन्नुभयो- “ठीक भन्यौ। हेर न कोठाभित्रबाट हेर्दा हामी यो पोजमा फ्रेममा लागेको पोट्रेटजस्तै देखिन्छौँ। साँचो कुरा के हो भने हामी सबै जिन्दगी र फ्रेमको तस्बिर, दुइटै सँगसँगै बाँच्छौँ। समय अगाडि बढ्छ र तस्बिरहरू पछाडि रहन्छन्। जीवन जिउनुको मजै त यसमा छ, र बाँच्ने सबभन्दा असल तरिका पनि यही हो।”

म शैलेशको वक्षमा टाँसिएर छक्क पर्दै उहाँको मुख हेरिरहेकी थिएँ। आखिरी यी सब कुरा म किन भन्न सक्दिनँ ? शैलेशले मैले भन्न खोजेका कुरा कति सजिलै भनिदिनुभयो, म शब्दमात्रै खोजिरहेँ। मैले अहिलेसम्म पार्थसँग बिताएका क्षणहरूलाई फ्रेमजडित तस्बिर बनाउन सकिरहेकी थिइनँ। त्यसैले त त्यसका बेरङका दागहरूले छातीमा जहिलेतहिले घोचिरहन्छन्। मैले सोचेको पनि त्यही थियो तर भनेकी थिएँ “अँ त्यसैले त बितेको समय हामीभित्र त्रिआयामी मात्रै नभएर चतुर्-आयामी तस्बिर बनेर रहेको हुन्छ। अनि त्यसैले बेरङका क्षणहरू पनि तस्बिरजस्तै राम्रा लाग्छन् अथवा हामी ती क्षणहरूलाई बितेको शताब्दीको तस्बिर ठान्छौँ।

शैलेशको छातीमा टाँसिएको मेरो अस्तित्व त्यहीँ रोकियो फोटोफ्रेम बनेर तर जीवन पनि यतै कतै डुल्दै थियो।

यो यात्रा विदेशबाट स्वदेश फर्कने थिएन…..सहरबाट गाउँ फर्कने पनि थिएन, यो यात्रा थियो जिन्दगीभित्र गएर फेरि जिउँदो भएर आउने…… कहिल्यै नसकिने अद्‌भुत अनुभव यात्रा थियो। अनुभवको न रङ हुन्छ, न रूप न गन्ध। ती त जीवनसँग जोडिएका हुन्छन्….. अकाट्य रूपले।

***

(स्रोत : Kumud Adhikari’s Blog) – Original Hindi Version

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *