कथा : डिजिटलको क्यानभासमा

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

कथाकार दिवाकर नेपालीज्यू, समय कति बलवान हुँदोरहेछ भन्ने कुरा कसैले कल्पना गर्न नसक्दोरहेछ । हिजोका ती दिनहरू सपनाजस्तो हुँदो रहेछ । हाम्रा आदिकवि, महाकवि, युगकविहरूले कयौँ दिन लगाएर पुस्तक प्रेसबाट निकाल्ने कुरा आज एकादेशको कथा भएको छ । आजको डिजिटल प्रविधिले मानिसलाई कहाँबाट कहाँसम्म पुर्याइसकेको छ । लेखकले कैयौँ दिन लगाएर प्रकाशित गरिने लेख रचना केही मिनेटमा नै प्रकाशित हुन थालेको छ । यस प्रविधिले कतिपय कुरालाई बढावा दिएको छ भने कतिपय कुराको ह्रास हुँदै गएको छ । आज फेसवुक, ट्वीटर, व्लगले सेलिब्रिटीदेखि साधारण लेखक कलाकारलाई पनि प्रसिद्धिको शिखरमा पुर्याउन सहयोग गरिरहेको छ । आज म त्यही डिजिटल संसारलाई म मेरो क्यानभासमा ट्याग गर्न गइरहेकी छु ।
एकपल्ट मैले फेसबुकमा एउटा कविज्यूको लेख पढ्ने सौभाग्य पाएकी थिएँ । त्यो हास्यात्मक लेख यस प्रकारको थियो –

फेसबुकको महात्म्य
हे मेरा फेसबुकमा पुण्य कमाउन खुँडा जगाएर, घुँडा धसेर लाग्नुहुने अभिन्न र अनगिन्ती मित्रहरू ! आज म फेसबुकको महात्म्य गाउन गइरहेको छु । यहाँहरूले ध्यानपुर्वकले पढिदिनु होला । फेसबुकको शक्ति अपार रहेछ । यसले के गर्न सक्दैन रहेछ – यसले कस्ताकस्ता गर्न नसकेका कुरा चुट्कीको भरमा गरिदिँदो रहेछ । प्रेम गर्नेदेखि लिएर बिहे गर्नेसम्म यसले मिलाइदिन्छ । अहिलेको समयमा केटाले केटी र केटीले केटा पाउन गारो भएको बेलामा दुइ चारवटा प्रेमका गीत फेसबुकतिर छरिदिनोस् अथवा कार्यक्रमतिर गाइदिनोस् अनि तपाईँका फ्यानहरू रोजीरोजी पाउनु हुनेछ । तपाईँको रचना नछापिएर भौतारिएको बेलामा यो फेसबुक तपाईँको साहित्यिक जीवनको संजीवनी साबित हुनसक्छ । त्यति मात्र नभएर तपाईँले पाउने मान सम्मान तक्माको बेग्लै मुल्याङ्कन हुन्छ । अरूले पाएका मानसम्मान, तक्माका कुरा त म जान्दिनँ तर मैले पाउने मानसम्मानको चाहिँ म यहाँ वर्णन गर्छु यो फेसबुकको महात्म्यको भूतले मलाई छोपेपछि के भयो, के भयो – साहित्यकारको उपाधि पाएपछि पत्रिकाले पनि मलाई उत्तिकै ठाउँ दिए नदिउन पनि कसरी – ती पत्रकारहरू सबै मेरा लगौटिया परेपछि, कोहीसँग वीरपानेको साइनो, कोहीसँग जनआन्दोलनमा जेलमा परेको साइनो केही नभए पनि पान खाएको साइनो त छदैछ नि । पत्रपत्रिकामा चर्चा पाउन त मलाई कुनै सालीको बिहे कुर्न परेन । बरु समालोचकहरूसँग चाहिँ फिटिक्क कुरो नमिल्ने, सासू र बुहारीको झगडाजस्तै भइरह्यो । म गर्छु आग्राका कुरा ती गर्छन गाग्राका कुरा । म बिम्बलाई चिम्म गरेर लेख्छु उनीहरू बिम्बलाई ढयाम्मै देख्दैनन् । अनि रह्यो प्रतीकका कुरा । ती प्रतीकहरू त साहित्यकारका सालिक ढलेझैँ मेरा कविताबाट हराइसके । त्यसैले कहाँ हुनु नि प्रतीक – त्यसैले समालोचक र मेरो नाता चाहिँ तेल र पिनाजस्तै भएको छ । तर पनि पत्रपत्रिकाको चर्चाले चाहिँ गाउँघरमा मेरो ठूलै हैसियत रह्यो । फेसबुकको नसाले छुनुअघि साहित्यको संगतले सुर र तालको खोजिमा भट्टीतिर पसाउँथ्यो । साहित्यकार मित्रसँग भट्टीमा गएर सुर मिलाउँदै कविता भन्दा जोश नै अर्कै । ब्रान्डेड नभएपनि लोकलको छायाले छाएपछि त यो संसार नै अर्कै अनि स्वास्नीले पुन्युले हातमा हानेको कुरा, हाकिमले अफिसमा कविता लेख्दा गाली गरेको कुरा सबै बिर्सने । क्या आनन्द ! अर्कै दुनियाँ अर्कै आनन्द ! तिनपाने लागेपछि यो संसार नै जित्ने आँट नेपोलियनको जस्तो । त्यसमा दुइ चारवटा कविता गाएर साथीहरूको वाहवाह पाएपछि त के भन्ने र – दुनियाँ नै अर्को । झ्वाम्म ऐर्श्वर्यलाई अँगालो हालेजस्तो ! क्या आनन्द ! यस्तो पो जिन्दगी अनि खुट्टा लडखडाउँदै घर पुग्दा स्वास्नीलाई ‘ढोका खोल पुन्टेकी आमा’ भन्दा मानिन भने रहर पुगुञ्जेल गाली गर्न क्या मज्जा । अरू बेला त बोल्न पनि सासभित्र हराए जस्तै हुने । त्यति खेर त शेरको जस्तो आवाज ! सवा शेर लगाएपछि यस्तै हुन्छ । त्यतिखेर त खुत्रुक्क पारेर मारिदिउ जस्तो लाग्छ अनि ‘तँलाई खुत्रुक्क पारेर मारिदिउ’ भन्दा त पटक्कै पत्याउदिन बा मेरी स्वास्नी तर ‘तँलाई एक लात्ति दिऊँ’ भन्दा चाहिँ ‘हो यसरी पत्याउने कुरो गर न कवि भएर के नेताको जस्तो कुरो गरेको’ भन्छे बा । मेरी स्वास्नी पनि बिम्ब र प्रतीक चाहिँ अलिअलि बुझ्छे नि यार । नत्र मैले गाली गर्दा चुप लागेर बस्नेवाला ऊ कहाँ छे र । सुरुसुरुमा कविता लेख्न बस्दा गाली गरेर चौपट्ट गर्थी मेरी स्वास्नी । अहिले सबैजना कविज्यू भनेर मान गर्दा उसको भाउ बजार भाउ जस्तै बढेछ क्यारे । त्यसैले कविता लेख्न बस्दा पुन्युले हिर्काउन छाडेकी छे । एकपल्ट भयो के भने मलाई ‘चुल्हामा तरकारी बसाएको छु हेर है !’ भनेर पसलतिर सामान किन्न गएकी थिई । म कविता लेख्नुको धुनमा थिए चुल्हाको यादै भएन । तरकारी डढेर भुसकुट्ट ! अनि पुन्युले हातमा बजार्दा पो झसङ्ग भएछु । त्यतिमात्र कहाँ हो र स्वास्नीले ‘छोराको लागि औषधि किनेर ल्याऊ’ भनेर दिएको पैसा साथीहरूलाई भट्टीमा कविता सुनाउँदा मासेर आउँदा मेरा घरमा कति दिन खानपिन नै बन्द भयो । त्यति मात्र नभएर छोरालाई राति इमरजेन्सीमा कुदाउनु पर्दा छिमेकीले पनि भन्नु नभने पछि मेरो बानीमा चाहिँ निकै सुधार आएको छ । अहिले ती पहिलाका कष्टमय दिन सबै पग्ली सके हिमालमा हिउँ पग्लेजस्तै । अहिले पत्रपत्रिकामा मेरा कुराहरू छापिदा गाउँघरमा चाहिँ केही इज्जतसम्मान हुन थालेको छ । त्यसैले अफिसबाट घर र्फकदा गमक्क परेर र्फकन्छु अनि बाटाका दायाँबायाँ आँखाले भ्याएसम्म हेर्छु आफुलाई चिन्ने र नमस्कार कविज्यू भनीदिने कोही छ कि भनेर ।
मित्रगणहरू, यी हुन् मेरा आफ्नै महात्म्य त्यो पनि फेसबुकको महात्म्यले छोप्नुअघिको कथा । फेसबुकको महात्म्यले छोपेपछि मेरा पहिलाका सबै पीडाहरू पग्लिसकेका छन् । हिजोआज भट्टीपसलको गफ चाहिँ फेसवुकतिर र्छर्ने गरेको छु । यसले मेरो पैसा र शरीर दुवैलाई फाइदा गरेको छ । श्रीमतीसँग पनि राम्रो सम्झौता भएको छ । नत्रभने यतिञ्जेलसम्म मेरो जीवन सातबुँदे सम्झौताजस्तै भएर अलपत्र परिसक्थ्यो होला । धन्न यी फेसबुक महात्म्यको आविष्कार कुनै प्रभुले गरिदिएछन् ।

कथाकार दिवाकर नेपालीज्यू फेसबुकमा यो एउटा हास्यात्मक लेख पढ्दापढ्दै कसैले मलाई च्याटमा मेसेज पठायो । यस्तो बेलामा प्रायः म अफलाइनमा बस्थे तर किन हो लेख पढ्ने धुनमा मलाई अफलाइनमा बस्ने यादै भएनछ । मलाई सम्बोधन गरेर यसरी लेखिएको थियो ।
– ‘कथाकार अनामिकाज्यू नमस्कार !’
-‘नमस्कार !’ मैले अभिवादन फर्काए । उसको नाम अनौठो अङ्गेजी शब्दमा राखिएको थियो जसको कुनै अर्थ लाग्दैनथ्यो । मैले त्यो अङ्गेजी शब्दमा खासै ध्यान दिइनँ । उसको च्याटतिर मेरो ध्यान गयो ।
-‘मलाई चिन्नुहुन्न होला ?’
-‘तपाईँले नचिनाइ म कसरी चिन्न सक्छु र ?’ मैले तीरको झटारो उतैतिर हानेँ ।
-‘म तपार्इँकी पात्र मेरिना !’

‘मेरिना …..!’ मेरो मस्तिष्कलाई पूर्वस्मृतिका घनले हान्न थाल्यो ।
निकै बेरपछि मेरो स्मृति ब्युँझियो ।
-‘ए ˜ विवशताको क्यानभासमाको मेरिना !’
उसले पुनः टाइप गरी -‘हो उही मेरिना जो तपाईँको द्वन्द्वकथाकी सुकन्याबाट चेन्ज भई मेरिना भएकी थिई ।’
-‘ए तिमीले सुरुमै सुकन्या भनेकी भए म चाँडो तिमीलाई चिन्नसक्थे नि !’
मैले आफ्नो बिर्सने कमजोरी लुकाउन सकिनँ ।
उसले फेरि टाइप गरी -‘आखिर जे भए नि म एउटा पात्र त हुँ !’
-‘हो नि !’
यसरी च्याटमा हाम्रो कुराको दोहरी चल्न थाल्यो ।
उसले भनी – ‘म तपाईँसँग असन्तुष्ट छु । कसरी तपार्इँले मलाई जिउँदै रहेको मानिसलाई मृत्यु भयो भनेर कथाको अन्त्यमा पाठकलाई झुक्याउनुभयो । वास्तवमा त्यो होटलमा हत्या हुने केटी म थिइनँ ।
-‘अनि को थिई त तिम्रोजस्तो शरीर – अनि त्यो टाटु ?’ म अचम्मको भुमरीमा रुमलिएँ ।
-‘हो तपाईँले त्यही टाटुको भरमा पाठकको सहनुभुति लिनलाई मेरो हत्या भयो भनी दिनु भयो । तर म जीवितै थिएँ । त्यो टाटु खोप्ने त्यो हत्या हुने युवती मेरी मिल्ने साथी थिई । हामीले सँगै टाटु खोपेका थियौँ ।’
-‘ए हो… ˜’
म निकै गहिरो रहस्यमय खाडलमा पुरिएको महसुस गर्न थालेँ अनि बाहिर निस्कनलाई निसास्दिै बाटो खोज्न थालेँ । मैले सस्मरणको तार अझ बढी तन्ताउँदै विगतमा पर्‍याएर वर्तमानमा पछारेँ ।
यसरी सुकन्या अर्थात मेरिना जीवितै रहेको थाहा पाएर एकप्रकारले मनमा हर्षको तरङ्ग फैलियो । तर कथामा आफू असफल भएकोमा आत्माग्लानिको दहमा डुबायो मलाई । म आफू असफल भएको स्पष्टिकरण उसँग माग्न पुग्छु किनभने भोलि पाठकले यसको स्पष्टिकरण मसँग अवश्य माग्नेछन् । यसको लागि मैले आफूलाई तयारी अवस्थामा राख्नुपर्ने थियो ।
-‘मेरिना तिमी जीवित रहेको कुराले मलाई खुसी तुल्याएको छ । तर तिम्रो हत्या भएको कथा सार्वजनिक हुनुबित्तिकै तिमीले मलाई भन्न सक्थ्यौ Û’
-‘हो अनामिकाज्यू भन्न सक्थेँ तर त्यसैपनि आफ्नो अस्तित्व गुमाएर, लुटाएर, अनि लुकेर बस्नुपर्ने मान्छे मलाई यो मेरो मृत्युले दुखाएन बरु म निकै खुसी बनायो ।’
-‘फेरि अहिले यी सब कुरा मसँग किन गर्दै छौ त -‘
उसले मेरो कुरालाई आफ्ना विचारसँग विनिमय गर्दै भनी-‘अहिले मैले तपाईँलाई दुइटा कुराको अनुरोध गर्न च्याटमा बोलाएकी हुँ ।’
मैले छोटकरीमा लेखे -‘भन न त के हो ?’
-‘एउटा कुरा यदि तपाईँको मेरो कथाको प्रमुख पात्र त्यो सिडियोसँग भेट भएमा इमेल आइडी मागिदिनुहोला अनि… ।’
-हुनु पनि हो आहिले फेसवुकमा वर्षौ अघि बिछोड भएका साथीहरू भेट हुन थालेको बेला यो असम्भव थिएन ।)
‘अनि अर्को कुरा….?’
ऊ टाइप गर्दै थिई ।
-‘मलाई तपाईँको अकाउन्ट नम्बर पठाइदिनुहोला ।’

-‘एकाउन्ट नम्बर..?’
म तर्सिएँ किनभने अहिले यो डिजिटल संसारमा अनेकौँ अनैतिक कार्यहरू भइरहेको छ । यहाँ आफूसँग निकट रहेको व्यक्तिबाहेक अरूसँग विश्वास गर्नु भनेको आफू मूर्ख हुनु हो किनभने फेसवुकमा भर्खर एकाउन्ट खोलेको बेला म धेरैचोटि मूर्ख बनिसकेकी थिएँ । त्यसैले अहिले म र्सतक हुँदै सोधेकी थिएँ ।
उसले पुनः टाइप गरी- ‘नतर्सनुहोस् कथाकारज्यू, आफ्नै पात्रसँग किन यसरी तर्सनुभएको नि ! हेर्नोस म कुन पेशा अपनाउँछु भन्ने कुरा तपाईँलाई थाहा छँदै छ । अझ यो डिजिटलको माध्यमले म मेरो पेशा दिनको दुना र रातको अझ चौगुना गरेर बढाइरहेको छु । डिजिटल मार्फत सेक्सको फाइलहरू पठाउने अनि सुविधाजनक व्यवसाय अपनाउने हुँदा मेरो यो पेशा फस्टाउँदै गएको हो ।’
मैले मनमनै कल्पना गरे ‘हे फेसबुक महात्म्य’ अनि केही समयअगाडि कविको भाउ बढेको कथा सम्झन पुगेँ । बोडिङ्गपास पाएर यात्रुहरू जहाजमा थपथप चढेझैँ उसका फेसबुकमा टाइप गरेका शब्दहरू उफ्दै मेरो ल्यावटपमा बस्दै थिए ।
-‘यस कामका लागि हाम्रो एउटा ठूलो टीम छ । जसले गर्दा हामी ग्राहकलाई सम्पूर्ण सुविधाका साथ सेक्सको आनन्द दिन सक्छौ । यसबाट ग्राहकले पनि सजिलो महसुस गर्छ फेरि बैककमा नेपालको जस्तो पनि होइन । यहाँ धेरै खुलापन छ र सुरक्षा पनि छ ।’
-‘अनि अकाउन्ट नम्बर चाहिँ नि किन चाहियो ?’
मेरो मनमा उम्रेको उत्सुकतालाई च्याटमा रोपेँ ।
-‘सुन्नुहोस्, हाम्रो ग्राहकहरू धनाढ्यहरू छन् । हामीसँग पैसाको कुनै कमी छैन । म मेरो पैसा कुनै सामाजिक सेवामा लगाउन चाहन्छु । नेपालको गिरदो राजनीति अवस्थाले गरीबहरूको जीवन कष्टमय बन्दै गएको छ । नेपालमा गरीब हुनाको कारणले आत्महत्या र सामुहिक हत्या गर्नेको सख्या बढ्दै गएको छ । यो मैले न्युजहरूमा पढ्ने गरेको छु ।’
-‘अनि…. ?’
-‘म गरीव नेपालीको सेवा गर्न चाहन्छु । तर मसँग पैसा भएर पनि गर्नसक्ने अवस्था छैन । म नेपालमा र्सार्वजनिक हुन सक्दिनँ । मेरो नाममा झुटा मुद्दा अदालतमा दर्ता गराइएको छ । मलाई पुलिसले तुरुन्त पक्रने सम्भावाना छ । त्यसैले म तपाईँमार्फत आफ्नो परोपकारी भावनालाई साकाररूप दिन चाहन्छु ।’
-‘तर यो कसरी सम्भव छ ?’
मभित्र असम्भावनाका घन्टीहरू बज्न थाल्छन् । म आफैलाई विश्वास गर्न सकिरहेकी थिइनँ । के साच्चै यो च्याट गर्ने मेरिना नै हो ? एउटा लेखक कसरी असफल हुन सक्छ ? किनभने उसको मृत्यु भएको कुरा पाठकलाई गरिसकेकी छु । तर यो कथामा पाठकहरूले मेरिनाको मृत्यु भएको कुरालाई स्विकार्न नसकेको भावनाहरू पोखेका थिएँ । कतै कुनै चलाख पाठकले मलाई उल्लु बनाउन यो सब गरिरहेको त छैन – म अविश्वासको रोटेपिङ्गमा फनफनी घुम्न थाल्छु ।
म उसको कुरालाई विश्वास गर्न उसको प्रोफाइल खोल्छु । साँच्चै उसको प्रोफाइलमा उत्तेजक फोटाहरू र केही सेक्सका साइटहरू थिए उसले भनेजस्तै । ती साइटहरू अश्लील हुदाँहुँदै पनि निकै व्यवस्थित थिएँ । अनलाइनमा यस्ता फोटाहरू हुनलाई सामान्य मानिन्छ । तर यो हुँदैमा ऊ मेरिना नै हो भन्ने बलियो विश्वासको आधार हुनसक्दैनथ्यो । यो फेसवुकको महात्म्य पनि अपरम्पार रहेछ । यो डिजिटलीय ससारले एउटा पाठकलाई पात्र र लेखक दुवै बनाउन सक्दोरहेछ अनि लेखकलाई पात्र र पाठक । अहिलेसम्म कथामा लेखक र पात्रको मात्र सम्बन्ध रहँदै आएकोमा अब लेखकको सम्बन्ध

पात्रसँगै पाठकसँग पनि गहिरो सम्बन्ध रहने रहेछ । अब यहाँ लेखक, पात्र र पाठकको त्रिकोणात्मक सम्बन्ध देखाउनुपर्ने महसुस मैले यहाँ गरेँ । यो उत्तरआधुनिक युगमा मानिसले कुनै पनि कुराको अस्तित्व अस्विकार्नु भनेको आफूलाई भ्रममा पार्नु हो भन्ने सिद्धान्त मनमा उमारेँ । त्यसो भए के अहिले म मेरिनाको अस्तित्व सजिलै स्विकार्न सक्छु त ? आफैलाई प्रश्न गर्न मन लाग्यो । तर म नस्विकारी आफै विभ्रममा पर्न पनि सक्दिनथेँ । त्यसैले मैले उसलाई जवाफ दिनैपर्छ । किनभने ऊ मेरो प्रतिउत्तरको प्रतीक्षामा अनलाईनमा छे । मैले आफ्नो मनमा सम्भावनाको फोल्डर बनाई उसको अस्तित्वलाई सेभ गरेर राखेँ । तर उसको प्रस्तावलाई मैले मान्नैपर्छ भन्ने पनि थिएन र यो सम्भव हुनेकुरा पनि थिएन । डिजिटलीय संसारमा आफू पनि डिजिटलीय स्वभाव र व्यवहारमा पोख्त हुनुपर्छ भन्ने मैले सिकिसकेकी थिएँ । त्यसैले यहाँ क्लिक गर्नेवित्तिकै सबैकुरा हुन्छ र फेरि क्लिक गर्नबित्तिकै सबै कुरा हराउँछ । यहाँ चाहिने कुरामात्र सेभ गरेर राख्नुपर्छ र अरू सबै डिलिट गर्नुपर्छ नत्र यो जादुमयी संसारको सम्मोहनमा मानिसहरू अनेकौँ विकृतिको भण्डार हुनसक्छन् । त्यसैले म आफू र्सतर्क हुँदै मेरिनालाई जवाफ दिन की चलाउन थाल्छु ।
-‘मेरिना, तिमीप्रति अन्याय भएकोमा म क्षमा चाहन्छु । यो च्याट तिमी हुनुको सम्पूर्ण प्रमाण होइन तर पनि तिमीले नेपाली दाजुभाइ दिदीबहिनीको जुनसेवा गर्ने भावना व्यक्त गर्‍यौ त्यसको लागि म तिमीप्रति ठूलो सम्मान व्यक्त गर्न चाहन्छु । तर तिमीले ममार्फत सेवा गर्ने कुराचाहिँ सम्भव छैन । यसको लागि तिमीले सामाजिक सेवाका लागि खोलिएका धेरै सघसस्था छन् त्यसमार्फत जान सक्छौ । ‘
-‘कथाकार अनामिकाज्यू, यो कुरा त मलाई पनि थाहा छ । तर अन्त्यमा एउटा कुरा भन्न चाहन्छु । तपाई रिसाउनुहुन्न भने.. ?’
-‘के कुरा ?’
-‘म तपाइकी पात्र मेरिना होइन एउटा पाठक हुँ । अझ बढी सिरियस फ्यान । तपाईँसँग मलाई च्याट गर्न औधी इच्छा थियो । मैले तपाईँलाई धेरैचाटि फेसबुक च्याटमा निमन्त्रण गरेँ तर तपाईँले रेस्पोन्स नै गर्नु भएन ।’
मैले आफ्नो गल्ती स्विकारेँ ।
-‘हो अनलाइनमा धेरै पाठकले कुरागर्न चाहनुहुन्छ तर मलाई गारो हुन्छ । अनि भन्नुहोस् ?’
म अलिक उत्तेजित हुँदै प्रश्न तेर्स्याउछु ।
-‘अनि मैले यो पात्रको रोलमा च्याटिङ्ग गरेको हुँ फेरि विवशताको क्यानभासमा मेरिनाको मृत्युले म निकै दुखित बनेको थिएँ । यो कुरा च्याटिङ्गबाट प्रकट गर्दा बढी सरल होला भन्ने सोचेर यो माध्यम रोजेको हुँ । तपाईँ जस्तो चर्चित कथाकारले अहिलेको समयमा आफूलाई कतिको चुस्तफुर्त भनौ अपडेट राख्नुहुन्छ भनेर परीक्षा पनि लिएको हुँ । मबाट कुनै गल्ती भएमा माफ गरिदिनुहोला ।’
उसको अन्तिमको कुराले म विस्मयकारी भूमरीमा रुमलिन्छु । वास्तवमा मैले शंका गरेको कुरा सही निस्केको थियो । म आफूलाई निकै चतुर भएको अनुमान गर्दथे । तर अहिले एउटा पाठकबाट झण्डै ठागिन पुगेकी थिएँ । यो डिजिटलीय संसार पनि अनौठोको हुँदोरहेछ । म आफू चतुर्‍याईमा असफल भएको सवुतप्रमाण मेरोअगाडि थियो । मैले सुरुमा नै उसलाई केही रहस्यमय प्रश्नहरू सोधेर उसको परीक्षा लिनुपर्दथ्यो । जुन कुरा नगरेकोमा अहिले म पछुताइरहेकी थिएँ । त्यो कथामा सिडियो र मेरिनाबीच भएको केही गोप्यावार्ता र घटनाहरू जुन मलाई मात्र थाहा थियो । मैले कथामा र्सार्वजनिक गरेकी थिइनँ, त्यो कुरा उसले बताउनसक्छ कि सक्दैन भनेर मैले परीक्षा लिनुपर्दथ्यो । तर अहिले ढीला भइसकेको थियो । म पाठकलाई औलामा नचाउँछु भनेर जुन गर्वोनुभूति भनौँ घमण्ड गर्दथे त्यो कुरा अहिले गलत सावित भएको प्रमाण चलचित्रझैँ मेरो आँखाअगाडि चित्रित थियो ।
निकै ढिला गरेर उक्त चलाख पाठकले फेरि टाइप गर्न थाल्यो । अब म पक्कै ऊभन्दा निकै चलाख हुनेछु भनेर सोच्दै थिएँ, उसका टाइप गरेका अक्षर ल्यावटपमा यसरी दृश्यवान भए –
‘कथाकार अनामिकाज्यू, अब कथा लेख्ने पालो हाम्रो भनौँ पाठकको किनभने मैले मेरिनाको रोलमा एउटा कथा बनाइसकेको छु, अब तपाईँलाई पात्र बनाएर कथा लेख्नेछु । अनुमति छ ?’
उसले यसो भन्दा म फेसवुक महात्म्यको संसारमा रन्थनिन्छु । साँच्चै यो फेसवुक महात्म्य अपरम्पार रहेछ । कसैलाई चिनेर पनि चिन्न नसकिने ।

कथाकार दिवाकर नेपालीज्यू, ‘ अनुमति छैन’ म कसरी भन्न सक्थे र होइन ? यो लेखन स्वतन्त्रताको युगमा । अहिले म एउटा असाधारण पाठकको इशारामा नाचिरहेकी थिएँ । अब म धेरैबेर च्याटमा बसिरहन सकिनँ किनभने मभित्रको जुन घमण्ड थियो त्यो टुक्रिएर टुक्राटुक्रा भएको थियो । मैले च्याट अफ गरेँ । यो घटनाले मलाई पाश्चतापको भट्टीमा जलाइरहेको थियो । यस घटनाले मलाई भविष्यमा पात्रसँग मात्र नभई पाठकसँग पनि अझ बढी र्सतर्क रहनुपर्ने एउटा राम्रो पाठ पनि सिकाएको थियो । यो घटनाले मलाई मात्र होइन उत्तरआधुनिक विश्लेषकहरूलाई पनि डिजिटलीय कथासंसारलाई विश्लेषणको बेग्लै चश्मा लगाएर हेर्नुपर्ने नयाँ पाठ सिकाएको थियो ।

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.