नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरूः-
बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी
बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी
बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी
बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति
बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो गर्ने गर्छिन् । मन परेको बेला बर्दिधारीहरू उनलाई संगीता भनेर बोलाउँछन् । अधिकांस समय उनलाई पागल्नी भनेर बोलाइन्छ ।तेश्रो दृश्यमा बेलाबेलामा नेपथ्यबाट आवाज आउँछ ।

दृश्यः-१

पुलिस क्लवको भीआइपी कोठा । डोरीले पछाडि दुबै हात बाँधेर बन्दी-१ लाई लडाइएको छ तर पनि उनी आत्तिएजस्ता देखिदैनन् । उनमा ढुक्क भएजस्तो मानसिकता देखिन्छ । उनी वरपर चार जना बर्दिधारीहरू उभिएका छन् ।

बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । कलम यताउती घुमाउँछिन् । केही लेख्न खोज्छिन् तर उनीसँग कागज हुन्न ।

बन्दी-१ यातना सहन नसकेर पानी मागिरहेका छन् । पानीको सट्टामा उनलाई अझ यातना दिइन्छ । बन्दीको चित्कार सुनेर बर्दिधारीहरू हाँसोको फोहोरा छुटाइरहेका छन् । हातखुट्टा सुनिएर बन्दी-१ विरुप देखिन्छन् । यी दृश्यहरू क्रमशः क्रमशः आइरहन्छन् आइरहन्छन् ।

बन्दी-२ – आँखा ठूल्ठूला पार्दै कुट अझै कुट । तेरो महाराजलाई बेस्कन कुट तिमीजस्तो पाखण्डी छोरो जन्माउने आफ्ना बाउ र आमालाई बेस्कन कुट । इच्छुकको “सिम्ठारो धानू” शीर्षकको कविता वाचन गर्दछिन् ।

म रक्तवर्णको अश्वेत जाति गोराहरू राज गर्छ
न्दास ठानेर ममाथि म दीन हीन मलिन र उदास सिम्ठारो धान
म सधैं आकाशे पानीको भरमा रुखो खेतमा
उपेक्षाले फालिन्छु विना मल तैपनि उम्रन्छु बढ्छु
हुर्कन्छु फल्छु कष्टकर जीवनपथमा अथक र अविचल
म खस्रो र जर्रो कुरुप र वेस्वाद सिम्ठारो धान
विलासी महलहरूका चौरासी ब्याजनहरूमा म कहिल्यै परिनँ
कुलिन जिब्राहरूका राजसी परिकारहरूभित्र म कहिल्यै परिन
कसले खिच्यो यो रङ्गभेदको कालोरेखा
म जन्मजात नै वर्णभेदको सिकार सिम्ठारो धान
धान भएर पनि सधैं अपहेलित म हिन्दु भएर पनि
मानौं अछुत जात हुँ धर्म लेख्ने अधर्मी हातहरू बताऊ
तिम्रो विभेदको कर्मशास्त्रमा कुन निच कुलको म कुजात हुँ

एक क्षणपछि तर याद गर । कलम मसी र कागजमार्फत् नेपाली जनजनको मस्तिष्क र हृदयमा बाँचेका मान्छे सेनजीलाई चाहिँ बन्दै नकुट ।

बर्दिधारी-१ – बहुलाही भएर पनि सद्देको जस्तो कुरा गर्छे । बोलाउँदै ए जवानहरू हो एक क्षण कुट्न बन्द गर । सेनसँग कुरा गरौँ । कुट्न बन्द गरिन्छ ए सेन भन त यो देशको माया कसलाई छ ?बन्दी-१ – पीडाले छटपटाउँदै यो देशको माया सबै नेपालीहरूलाई छ ।

बर्दिधारी-१ -बन्दीमाथि खनिदै यो देशको माया तेरो बाउ प्रचण्ड बाबुराम र वादललाई पनि छैन । शेरबहादुर तत्कालीन प्रधानमन्त्री र गिरिजाप्रसादलाई पनि छैन । यो देशको माया त राजा ज्ञानेन्द्र सरकारलाई मात्र छ । बुझिराख् यो देश ठकुरीहरूले बनाएको हो । साला म पनि ठकुरी हुँ तँ पनि ठकुरी होस् ज्ञानेन्द्र सरकार पनि ठकुरी होइबक्सन्छ । एक क्षण सन्नाटा छाउँछ । तेरो दिमाखमा प्रचण्ड बाबुराम र वादलले गोबर भरिदिएका छन् गोबर । गोबर भरिएको दिमाखले गोबरैगोबर मात्र सोच्छ न कहिल्यै सुन सोच्छ न कहिल्यै सुन बन्छ ।

बन्दी-१ -पुलुक्क बर्दिधारी-१ तर्फ हेर्छन् । बोल्न खोज्छन् तर शरीरमा असाध्यै पीडा हुन्छ । उनको मनमा आक्रोस पैदा हुन्छ तर मुख खोल्न सक्दैनन् । हो ज्ञानेन्द्रको तर्फबाट तिमीहरूजस्ताको दिमाखमा गोबर भरिएको छ र पो जनताको रक्षक भएर पनि भक्षकको काममा ज्यूज्यान छाडेर लागेका छौ । जनताको पक्षमा आफ्नो दिमाखका अक्षरहरू समर्पित गर्ने प्रेरणा प्रचण्ड बाबुराम र वादलहरूले मलाई दिएका छन् । म अक्षरहरूसँग खेल्छु अक्षरहरूसँग रमाउँछु । म मात्र अक्षर र शब्दहरूको वाण चलाउँछु । म जनताको अक्षर र शब्दहरूको नायक भएर तिमीहरूजस्ता वर्गिय दुस्मनको विरुद्ध शब्द प्रहार गर्छु । म अक्षर र शब्दहरूको भरमा बाँचेको मान्छे हुँ । आजसम्म मेरा अक्षर र शब्दहरूले मलाई धोका दिएका छैनन् । बरु तिमीहरूजस्ता जनताका वैरीको मनमा ठ्याङ्ग्रो बजाइरहेका छन् । मेरो यस महान् अभियानप्रति मलाई गर्व छ । यी कुराहरू सोचिरहेकै अवस्थामा बर्दिधारी-१ ले भकुरेको लातले उनको ध्यान खुल्छ । पीडा बढ्दै जान्छ । उनी रगत छाद्न थाल्छन् । केही क्षणपछि जमिनतिर हेरेर घोरिई रहन्छन् ।

बन्दी-२ – उनी सेनजीको “तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध” शीर्षकको कविता भन्दै यताउति गर्छिन् ।

तिमी मलाई उग्रवादी सावित गर
यतिखेर मेरा पीडाका निरीह आवाजहरू नै
तिम्रो दृष्टताका विरुद्ध पड्कने बमहरू बनिरहेछन् ।
तिमी मलाई आतङ्कवादी प्रचारित गर
म त युग-युगदेखि निरन्तर जारी
केवल तिम्रा बन्दुक र बर्बर युद्धका विरुद्ध
यत्तिखेर उठाउँन विवस छु बन्दुक
तिमी मलाई युद्ध अपराधी सावित गर
म त मुक्ति र स्वतन्त्रता चाहन्छु
म त केवल न्यायपूर्ण युद्ध चाहन्छु
मेरो विरुद्ध युग-युगदेखि निरन्तर जारी
तिम्रो अन्यायपूर्ण युद्धको अन्त्यका लागि ।

बर्दिधारी-१ – भन् मनमा आए जति भन् । सारा पागलहरूलाई भन्न छुट छ । रिसले मुर्मुरिदै र बन्दी-१ को जुल्फी उखल्दै एई सेन यो देशमा सेना परिचालन हुँदै छ । अमेरिकी सेना नेपाल आउँदै छ । त्यत्तिवेला तँ कहाँ हुन्छस् थाहा छ

बन्दी-१ – सकिनसकी मुख खोल्छन् छ म जहाँ पुगे पनि नेपालमै हुन्छु । नेपालीकै निम्ति हुन्छु ।

बर्दिधारी-१ -आँखा तर्दै र दाह्रा किट्दै साला तँ माटो मुनि हुन्छस् । म श्री ५ को वफादार सिपाही हुँ । एई सेन बुझिराख् । त्यत्तिबेला तेरा प्रचण्ड बाबुराम र वादलहरू पनि माटो मुनि हुन्छन् । गिरिजा र शेरबहादुर पनि जेलमा हुन्छन् । बन्दी चुप नै रहन्छन् । उनीसँग राक्षस जस्ताहरूसँग बोलिरहने शारीरिक क्षमता हुन्न ।

बन्दी-२ – तिमीहरू जे भन । भन्न छुट पाएकै छौ । याद राख सर्वहारावादी क्रान्तिकारीहरूले ठूलो गल्ती गरेनन् भने प्रतिकि्रयावादीहरूसँग साधन र स्रोत जतिसुकै भए पनि क्रान्तिकारीहरूको विजयलाई कसैले पनि रोक्न सक्दैन । ए हुकुमी सत्ताका सच्चा पहरेदारहरू हो सुन सुन र मनमा गुन ।

बर्दिधारी-२ – तँ बहुलाहीले भनेका कुरा के सुन्नु र सुनो भने हामी नै पागल हुन्छौँ । वाक्क हुँदै ए संगीता हामीलाई पनि पागल नपार त । बन्दुकको खेती गर्दागर्दा बहुलाएकी न परिस् ।

बन्दी-२ -हाँस्दै िहं… िहं…म पागल …म पागल…। फनक्क फर्केर के भनिस् पागल त तँ होस् तँ ।इच्छुकको तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध शीर्षकको कवितांश भन्दछिन् ।

म त किसान हुँ हलो जोत्छु
कहाँ जोतें मैले खेतबारीहरूमा हलोको सट्टा बन्दुक
म त किसान हुँ बाली रोप्छु
कहाँ रोपें मैले यस धरतीमा बालीको सट्टा बन्दुक
म त किसान हुँ अन्न फलाउँछु
कहाँ फलाएँ मैले बस्तीहरूमा अन्नको सट्टा बन्दुक
म त मजदुर हुँ पसिना बगाउँछु
मेरै पसिनाको जोडबलले
फलाम पनि गलाएर इस्पात बनाउँछु
किन चाहियो मलाई
मेरै पसिनाका आर्जनहरूको सट्टा बन्दुक ।

केही क्षण रुकेर पागल त तेरो महाराज हो । पागल त तेरो पाखण्डी सरकार हो । हिजो पाचायतीकालमा जस्तै आज फासिवादी सत्ताले पनि सेनजी जस्ता सपुतलाई झ्यालखानामा थुनेर उनका सिर्जनामाथि धावा बोल्ने असफल प्रयास गरिरहेको छ । त्यही फासिवादी सत्ताका पहरेदार तिमीहरू रहेछौ । सद्देलाई पागल र पागललाई सद्दे ठान्ने तिमीहरूको दिमाखमा पो भूस भरिएको रहेछ ।

बर्दिधारी-२ – धेर नबोल एई पागल केटी । आकाशतिर नथुक् । तँ पागल्नी केटीको कुरामा हामी ध्यान दिँदैनौं ।

बर्दिधारी-१ – यो के टेथ्र्यो बोल्न सक्ने हुँदो त आगोका फिलुङ्गाहरू नै ओकल्थ्यो होला । बन्दुकका नायकहरूभन्दा यी अक्षर र शब्दका नायकहरू खतरनाक हुन्छन् भनेको सुनेको थिएँ हो रहेछ । बडो पत्रिकाको सम्पादक भइखाको । हामीलाई मारेको समाचार लेख्दालेख्दै तेरो कलम मरिसक्यो । अब आफू मरेको समाचार पनि लेख् ।

बर्दिधारी-२ – बडो हाम्रो कर्तुत सार्वजनिक गर्ने महान् पत्रकार भई खाुको । हामी प्रतिकि्रयावादी रे । यो र यसका मतियारहरू चाहिँ अग्रगमनकारी रे । अब बुझिरहेको होलास् नि ।

बर्दिधारी-१ – जहाँ शक्ति छ त्यसको भक्ति सबैले गर्नुपर्छ । राजा ज्ञानेन्द्रसँग शक्ति छ बुद्धि पुर्याएर काम गर् । अझै केही भाुको छैन । शक्तिको पूजा गर् । तेरो कल्याण हुन्छ । तेरो जीवन बन्छ । कुरा बुझिस् सेन ।

बन्दी-१ – आँखा खोल्दै बुझेँ राम्ररी बुझेँ । बुझेर नै कलम चलाएको हुँ । म साराका लागि गद्दार बन्न सक्छु तर अढाई करोड नेपाली जनताको गद्दार बन्न सक्तिन ।

बर्दिधारी-१ – ललितपुरको भट्टेडाँडास्थित इलाका चौकीमा ०५६ साल फागुन महिनामा माओवादीले आक्रमण गरेको समाचार फोटो सहित जनादेशमा छाप्ने यो सेन आफूलाई िसंह नै स्ाम्झन्छ । यो त्यहाँ उपस्थ्ाित नहुँदो हो त कसरी फोटो लियो

बन्दी-१ – मलाई तपाईँहरूले पिटेर केही पनि सूचना प्राप्त गर्न सक्नुहुन्न । यद्यपि म माओवादी पार्टीको जिम्मेवार तहको मान्छे हुँ । त्यसैले त्यहीअनुसारको व्यवहार गर्नुस् ।

बन्दी-२ – सेनको “बर्मझिया” शीर्षकको कविता भट्याउने सोच गर्दै

हेर पुलिस दाइहरू कुरा बुझ र सेनजीलाई सम्मान गर । उनी भन्दै छन्-
एउटै रगतको साइनो रहेछ आखिर
मेची र महाकालीका साँधहरूमा
एउटै नाताको नातो रहेछ आखिर
कमला र भेरीका छालहरूमा
एउटै धर्मको उपासना रहेछ आखिर
झापा र धनुषाका बलिदानीहरूमा
एउटै कर्मको आराधना रहेछ आखिर
गोर्खा र रोल्पाका अनुष्ठानहरूमा
निरन्तर चलेको रक्तिम युद्धमा
मिसिसिप्पीदेखि भोल्गासम्म एउटै रंग छ ।

एक क्षण रोकिन्छिन् र ईश्वरचन्द्र ज्ञवालीको इच्छुक स्मृति ग्रन्थमा भएको लेखसँग मिल्दोजुल्दो एकाध अंश भन्न थाल्छिन् ।यी सेन समकालीन प्रगतिवादी स्रष्टा हुन् । क्रान्तिका गायक र कवि हुन् । युगचेतनाको साचार कविताबाट गर्न चाहने विचार निष्ठा र आन्दोलनका कवि हुन् । वर्गचेतना वर्गप्रेम वर्गघृणा र वर्गमुक्तिको शाश्वत अभिव्यक्ति यिनका कविताको विशिष्टता हो । त्यसैले यिनका कविताहरूको मूल्य नैतिक सन्देश हो । यिनले समाजवादी यथार्थवादी नैतिक मूल्य र संवेदनालाई कवितामा अभिभूत गरेका छन् । त्यसैले बुझ पुलिस दाइहरू म फेरि भन्छु । कुरा बुझ र सेनजीलाई सम्मान गर सम्मान गर ।

बर्दिधारी-२ – तँ झन् महासेन होस् । हामीलाई नफका । तेरो पागल कुराको पछि लाग्ने हो भने हामीलाई हाम्रै श्रीमतीले पनि पागल नै घोषणा गर्छन् ।

बर्दिधारी-१ – यो पागल केटी के के बक्छे बक्छे । त्यसका कुरा सुन्नुहुन्न । यो सेन मान्नेवाला छैन । आफूलाई बडो जननायक ठान्छ । पिट्न थाल्छ । अब बचाउन तेरा जनता आऊन् त । अनि म बुझ्छु । बर्दिधारीहरू मुखामुख गर्छन् ।

बर्दिधारी-१ पिट्दापिट्दै थाक्छन् र अरुलाई पिट्न संकेत गर्छन् ।

बन्दी-१ – सकिनसकी आफूले नै लेखेको कविता भन्दछन् ।

म मरे पनि
देशका जम्मै सन्ततीहरू
तपाईंकै प्रिय पुत्र हुन् आमा
तपाईंकै सपनामा
ती आज सुनबुट्टे विपना कुद्दै छन्…॥ ।

बर्दिधारी-१ – मर्दा पनि यो कविता नै खाएर कविता नै पिएर मर्ने रहेछ । जति कुट्दा पनि देशकै आमाको नाम लिन्छ । लौ खा । बेस्कन पिट्छन् । पिट्दापिट्दै बन्दी मुर्छित हुन्छन् ।

बन्दी-२ – पिट्न रोक्न खोज्दै बुझेनौ पुलिस दाइहरू कुरा बुझेनौ र सेनजीलाई सम्मान गर भनेको झन अपमान गर भनेको पो बुझेछौ ॥ तिमीहरूलाई पनि धिक्कार छ मलाई पनि धिक्कार छ । गर अब मोज गर । देशलाई लुछ्दै जाओ खाँदै जाओ । सेनको मुर्छित शरीर हेर्दै उनको ूहात लाग्यो शुन्यू शीर्षकको कविता भट्याउँछिन् ।

मर्नु पनि गाह्रो
बाँच्न पनि अफ्ठ्यारो
जीवन सुखको मालसिरी गीत हो
या दुःखको करुण चित्कार
म असिम वेदनामा अथाह डुबिरहेछु ।
चारैतिर हेर्छु हात लाग्यो शून्य
मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ
यो नूतन परिवर्तन हो य या पाखण्डीहरूको नर्तन
म छली इतिहाससँग बारम्बार सोधिरहेछु ।
म छली इतिहाससँग बारम्बार सोधिरहेछु ।

एक क्षण चुप रहन्छिन् । डा जगदिशचन्द्र भण्डारीको इच्छुक स्मृती ग्रन्थमा रहेको लेखमा आधारित एकाध अंश कोट्याउँदै यी इच्छुकका कविता जनयुद्ध वर्गसंघर्ष तथा उच्च लक्ष्यका बीच रहेको एकात्मकताको विशिष्ट अभिव्यक्ति हुन् । यिनका कविता आफ्ना समयका सशक्त लयात्मक दस्तावेज हुन् र तिनले पाठकलाई आफूतिर आकर्षित गर्दछन् । मुक्त जीवनको सतत् कामना र प्राप्तिका निम्ति गरिने महत्तम संघर्षसँग गाँसिई संघर्षकै बिशिष्ट रुप कि्रया र त्यसलाई बुझाउने शब्द र भाव संकेतका माध्यमबाट सर्वहारावर्गीय चेतना र तत्जन्य संघर्षलाई अभिव्यक्ति दिनु यिनका रचनाको ध्येय हो ।त्यसैले यस्ता मान्छेलाई नमार नपिट । बन्दै नपिट ।उनलाई पनि गलहत्याइन्छ । उनी पछारिन्छिन् । उठ्न खोज्छिन् सक्तिनन् । पर्दा विस्तारै खस्छ ।

दृश्यः-२

पर्दा विस्तारै उघ्रन्छ । पुलिस क्लवको भीआइपी कोठा ।

बन्दी-२ नजिकै उभिएर यताउती हेर्छिन् । मानौं उनलाई त्यही काममा खटाइएको छ । कलम यताउती घुमाउँछिन् लेखे जस्तो पनि गर्छिन् । पागलपनका झल्काहरू दिन्छिन् । डोरीले पछाडि दुबै हात बाँधेर

बन्दी-१लाई खडा गरिएको छ । उनी वरपर अरु सबजना बर्दिधारीहरूलाई हटाइएको छ ।

बन्दी-१ लाई चरम यातना दिइसकेको स्पष्ट झलक देखिन्छ किनकि उनका शरीर हातखुट्टा सुनिएर विरुप देखिन्छन् । बन्दी विना अडेस खडा भइरहने अवस्थामा छैनन् । घोर यातनाले उनको शरीर भित्रैबाट जलन हुन्छ । त्यही जलन मेट्न उनी पानी मागिरहेका छन् ।

बन्दी-२ – यताउती पानी खोज्छिन् । पाउँदिनन् । इच्छुकको ूरोगी देशू कविता भन्ने तरखर गर्दै चारैतिर हेर्छिन् । महाशय सुन्नुस् एउटा कवितांश ।

यो पीडा मेरो होइन देशको पीडा हो ।
यो पीडा तिम्रो होइन युगको पीडा हो ।
विदा भएर गएको वूढो शताब्दी जस्तो अस्पतालको शैप्याबाट
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
बाढी आइरहेको बेला छालहरू उर्लिरहे जस्तै
मनभित्र चिन्ताका हिमतालहरू फुटिरहेछन् ।
र यस्तो लाग्छ आज मलमपट्टि होइन
यो देशले पूर्ण रोगको जड नै निर्मूल पार्ने
एउटा ठूलो चिरफार खोजिरहेको छ ।

एक क्षण रुकेर डा नन्दीश अधिकारीको इच्छुक स्मृित ग्रन्थमा भएकॊ लेखको अंशसँग मिल्ने अभिव्यक्ति दिँदै यी कृष्ण सेन’इच्छुक’ नेपाली साहित्यमा प्रगतिवादी कविका रुपमा अत्यन्त सुपरिचित व्यक्तित्व हुन् । नेपालको साहित्यिक साँस्कृतिक र पत्रकारिताको जगत्मा पनि सुविख्यात व्यक्ति हुन् । यिनको सपना आदर्श मूल्य र मान्यताको अनुसरण गर्ने र गर्न खोज्ने व्यक्ति व्यक्तित्व आजको नेपाली समाजमा भेटिन्छन् भेटिएका छन् । बुझेदेखि तिमीहरूले नै अनुसरण गर्दिए कस्तो हुन्थ्यो ! एकक्षण पछि बुझेनौ पुलिस दाइहरू कुरा बुझेनौ सेनजीलाई सम्मान गर भनेको अपमान गर भनेको पो बुझेछौ । तिमीहरूलाई पनि धिक्कार छ मलाई पनि धिक्कार छ । गर अब मोज गर । देशलाई लुछ्दै जाओ खाँदै जाओ । बन्दी-१ लाई पानी खुवाएझै अभिनय गर्छिन् तर त्यहाँ पानी नै हुँदैन ।

बर्दिधारी-१ – आँखा तर्दै पानी तँलाई पनि पानी चाहिन्छ र यो देशको पानी खानु थियो भने त त्यस्तै काम गर्थिस् । पानी हैन माटो खाने पनि काम गरेको छैनस् । मात्र माटोमा मिल्ने काम गरेको छस् । एक क्षणपश्चात् एई सेन भन त यो देश कसको हो

बन्दी-१ – देश नेपाली जनताको हो ।

बर्दिधारी-१ – रिसले आक्रामक हुँदै अझै जनताको भन्छस् बुझ यो राजाको देश हो । यो ठकुरीको देश हो । तसर्थ राजाको भन् राजाको ॥ बन्दीको शिरमा मुक्का हान्दै साला म पनि ठकुरी तँ पनि ठकुरी राजा ज्ञानेन्द्र पनि ठकुरी । ठकुरी भएर देश बनाउने ठकुरीहरूकै विरुद्धमा लाग्छस् तँ किन ठकुरीको वंशमा कलङ्क बन्छस् के तँलाई ठकुरी बन्नुमा कहिलेकाहीं गर्व हुन्न

बन्दी-१ -मुख खोल्दैनन् । तर मनमा भने गुन्छन् । ठकुरी वंशको हुनुभन्दा नेपाली हुनुमा मलाई गर्व छ । तिमीहरू जस्ता मुीभरका केही जनताका दुश्मनले ठकुरी वंशमै कालो दाग लगायौ । ठकुरीको देन यो देशमा रत्तिभर छैन । देन त नेपालीको छ । त्यो नेपाली ठकुरी पनि हुन सक्छ अरुहरू पनि हुनसक्छन् । उनको मनको यो आवाज मनमा नै रह्यो । बाहिर निकालिदिने कोही भएन । अर्थात् मनका अनगिन्ती कुराहरू सुनिदिने त्यहाँ कुनै मानव थिएन् । मानवको नाममा दानवहरूको ठूलो जत्था उनलाई यातना दिन मात्र आतुर थियो । असहाय बन्दी-२ को कुनै भाउ थिएन ।

बन्दी-२ – इच्छुकको काठमाण्डौं मेरो देशको राजधानी शीर्षककॊ कवितांश भन्दै

यो राजधानी जहाँ ठूलाठूला साहुजीहरू छ
न्बडेबडे लालाजीहरू छन् दिनरात गुप्त मन्त्रणामा व्यस्त
सफेदपोस बाबुजीहरू छन् प्रत्येक दिन साँझ विहान यहाँ
िसंगो नेपालको मोलतोल हुन्छ राष्ट्रघाती गद्दारहरूका मुखमा
जहाँ केवल नेपाली खोल हुन्छ विदेशका महङ्गा दामहरूमा
स्वदेशको सस्तो गरिवी बेच्न प्रत्येक दिन साँझविहान जहाँ
राष्ट्रको स्वाभिमान लिलाम हुन्छ काठमाण्डौंं मेरो देशको आखाँको नानी
यस्तो लाग्छ यो कुनै दृष्टिभ्रमहरूको नगर हो
जहाँ अभाव भन्नु पनि छैन दवाव भन्नु पनि छैन ।

खुइय सुस्केरा हाल्छिन् । केही वेर पछि इच्छुक स्मृति ग्रन्थमा समाविष्ट रमेशप्रसाद भट्टराईको लेखको एकाध अंशसँग मिल्ने कुरा अघि सार्छिन् । यी इच्छुक निडर र शत्रुका सामु कहिल्यै नझुक्ने क्रान्तिकारी योद्धा हुन् । तिमीहरूको जस्तो कायरता र कुरुपता यिनको शब्दकोषमा पाइन्न । महान् जनयुद्धले जन्माएका असल स्रष्टा यी इच्छुकले युद्धको विजय र सुन्दर भविष्यको सपनालाई नजिकैबाट ठम्याएका छन् । जनताको विजयलाई देख्न सक्ने इच्छुक लेनिनले भनेझैँ स्रष्टाहरूले सपना देख्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्ने कवि हुन् । तसर्थ मान्छेको मन बनाएर यिनीसँग व्यवहार गर्देओ । म तिमीहरूकी पागल्नीको यत्ति कुरा मान्देओ ।

बर्दिधारी-२ – तँ खासमा पागल्नी होइन रछेस् । तेरा कुराले त तँ साँचो इतिहास लेख्ने सामथ्र्य राख्छेस् जस्तो लागिसक्यो । तापनि तँ नारी होस् । ठीक ठाउँमा बस् । अहिले यत्ति नै ।

बर्दिधारी-१ – एई सत्य बता नत्र…।दाह्रा किट्छन् । तेरो वादलको कोठा कहाँ छ अहिले त्यो कहाँ के गर्दो हो

बन्दी-१ -सकसका साथ मुख खोल्छन् वादलसँग सम्पर्क छैन । माओवादी नेताहरू मुमाराम खनाल र कृष्णध्वज खड्का मार्फत् मेरो सम्पर्क हुन्थ्यो ॥ उहाँहरू समातिए पछि अब मेरो कसैसँग पनि सम्पर्क हुन्न ।

बर्दिधारी-१ – फेरि अर्को झुटको खेती गरिस् हैन । यस्ता आतङ्कवादीलाई दया देखाउनु पनि अपराध गर्नु हो । तसर्थ दया देखाउँनु पर्दैन । उनी बर्दिधारी-२ तर्फ संकेत गर्दै पिट्न भन्छन् ।

बर्दिधारी-२ -रिसले आक्रामक हुँदै लौ खा ली बन्दी-१ का शिरमा बजार्दै आतङ्कवुारीका निम्ति शब्द चढाउँने तँ जस्तो अर्को आतङ्कवादीले पाउने पुरस्कार यही हो । जथाभावी फर्काइफर्काई पिट्ने क्रम तीव्र हुन्छ । उनी अचेत भएर जमिनमा ढल्छन् । पिट्न बन्द गरिन्छ । बर्दिधारी-१ र बर्दिधारी-२ बाहिरिन्छन् । केही बेरपछि उनको चेत खुल्छ । हत्तनपत्त बर्दिधारी-३ ले उनलाई पेनकिलर खुवाउँछन् । त्यसै बेला उनलाई अघाउँज्ोली पानी पनि पिउँन दिइन्छ । उनलाई केही विसेक हुन्छ । बर्दिधारी-२ को मात्र प्रवेश हुन्छ ।

बर्दिधारी-२ -केही नम्र हुँदै एई सेन तँलाई समातेपछि ज्ञानेन्द्र सरकार पनि खुशी होइबक्सेको छ । अब तेरो ज्यान लिए पछि मौसूफ अझ खुशी होइबक्सनेछ । मेरो पनि प्रमोशन हुनेछ । भरसक पुरस्कार पनि पाइएला जस्तो छ । यो अनुपम मौका मेरो काँधमा आउनु कम गौरवको विषय हैन । लौ त सेन मर्न िहंड् ।

बन्दी-१ – उनका आँखा बन्द नै छन् । ओठ मात्र खोल्न सक्ने अवस्थामा छन् । म िहंड्न सक्तिन तानेर लानुस् । बर्दिधारी-३ नजिक आउँछ ।

बर्दिधारी-३ -छक्क पर्दै हैन यो कस्तो ज्याद्रो मान्छे हो ॥ मर्न िहंड् भन्दा पनि तान्नुस् पो भन्छ बा । त्यसपछि बन्दीलाई तानेर नै अन्यत्र सार्न खोजिन्छ । केही पर लगेपछि पुनः त्यहीं छाडिन्छ । केही बेरमा नै खाना खान दिइन्छ । उनी हात उठाउँन खोज्छन् हात उठ्दैनन् । दुबै हात भाँचिएका हुन्छन् । बन्दी-२ सहयोग गर्न खोज्छिन् तर बर्दिधारी-३ को रोकावट हुन्छ । थालको भात खुट्टाले सार्छन् । थाल घोप्टिन्छ । जमिनमा छरिएको भात मुख जोतेरै खान्छन् । दुई गाँस भात खाई नसक्दै उनी उल्टी गर्छन् । उनमा असह्य पीडा हुन्छ ।

बर्दिधारी-२ – यसलाई पाँच दिनसम्म लगातार जस्तो एक्लै राखेर करेन्ट लगाउने पानीमा डुवाउने र खाल्टोमा हाल्नेसम्मका यातना िदंदा पनि खासै केही भएको थिएन । अहिले के भो यसलाई

बर्दिधारी-३ – चोट धेर भो क्यार । यसको टाउकाको मूल्य नै २५ लाख भनेर सरकारले तोकेको छ । मूल्यवान् टाउको लिएर जन्मेको रहेछ बा ।

बन्दी-१ – तातो पानी दिनुस् न ।

बर्दिधारी-३ – खालास् तातो पानी । पानी उम्लदै छ । त्यसैमा हालेपछि पानी खान्छस् एक क्षणपछि । बन्दीको शरीरमा जताततै कोर्रा बसा्रइन्छ । बन्दीको क्रन्दन टाढासम्म पुग्छ । त्यो सुनिदिने त्यहाँ मान्छे कोही रहदैन ।

बन्दी-२ -बन्दी-१ लाई कुटेको देखेर हातले छेक्छिन् । पानी पियाएको जस्तो गर्छिन् । इच्छुककॊ ूझुल्केघामका राता किरणहरू शीर्षककॊ कविता भन्दै

ए ! सानासाना नानी ए ! प्रिय भाइबहिनीहरू
मिरमिरे पछिका ए ! सुनौला विहानीहरू
नरोऊ तिमी मुस्कुराउँदै उठनरोऊ तिमी जुर्मुराउँदै उठ
पीडाका आरनहरूमा पाइन चढेर
तिमी तेजिलो धार बन्दै उठ
दुः खका आगो ओकल्ने भट्टीहरूमा
तिमी इस्पाती तरबार बन्दै उठ
उठ गरिवीका विरुद्ध लड्ने योद्धा बनेर उठ
उठ विषमताको विरुद्ध लड्ने मोर्चा कसेर उठ
हुर्क तिमी यिनै अभावहरूमा हुर्क
हुर्क तिमी यिनै दबाबहरूमा हुर्क
शिरमाथि सिङ्गो आकाश उचाल्न सक्ने तिमीहरू बच्चाहरू
बाहुलीमा सम्पूर्ण संसार थाम्न सक्ने तिमीहरू बच्चाहरू ।

आँखाको आँसु पुछि्र्छन् । डा गोपिन्द्र पौडेलद्वारा लिखित इच्छुक स्मृति ग्रन्थको लेखमा मिल्न खोज्ने कुराहरू कोट्याउँछिन् । यी कृष्ण सेन’इच्छुक’ नेपाली क्रान्तिकारी आन्दोलनको योद्धा सांस्कृतिक आन्दोलनको शिखरपुरुष अर्थात् आस्थाको धरोहर व्याक्तित्व हुन् । हेर हेर यिनको पातलो शरीर ठीक्क अग्लो कद गोरो वर्ण हिस्सी परेको अनुहार माया लाग्दो बोलीवचन लोभ लाग्दो व्यवहारलाई हेर । अनि उच्च उदात्त ओजस्वी विचारले युक्त संस्कृतिकर्मी हुन् भनेर चिन । विचार र व्यवहारको सम्यक मिलन खोज्दै सुन्दर भविष्यको सुन्दर जीवनलाई पछ्याउन उद्दत सौन्दर्यप्रेमी व्यक्तित्व हुन् यिनी । कार्यक्रशलता शिष्टता मर्यादा एवम् आस्थाको धरोहर शालिन व्यक्तित्व छ यिनको । व्यवहारमा लचकता विचारमा दृढता बोलाइमा शिष्टता प्रस्तुतिमा नम्रत्ाा र चिन्तनमा वस्तुनिष्ठताले ओतप्रोत अनुकरणीय व्यक्तित्व छ यिनको । अझ निचोड निकालेर भन्नुपर्दा प्रतिभावान् कवि क्षमतावान् पत्रकार निष्ठावान् राजनीतिज्ञ अनि सबैका प्यारा मित्र आदरणीय अभिभावक हुन् यिनी । यस्ता व्यक्तिले आज पानी पानी भनिरहनुपरेको छ । धिक्कार छ तिमीहरूलाई । बरु मलाई पिट । शक्ति छ भने आओ विचार लिएर आओ । विचारको युद्ध गरौं ।

बर्दिधारी-२ – पिटाई रोक्दै भो भो । अब कैदीहरू कसैलाई नपिट्ने है यहाँ । यो सेन यहाँ पिट्दापिट्दै मर्यो भने देख्नेहरू बाहिर भुक्छन् । त्यो भुकाइले हामीलाई ठूलो असर पार्छ । अझ यो सेन त झन् शक्तिशाली मान्छे हो । यसलाई जहाँ जेल चलान गर्दा पनि पत्रकारहरू मानवअधिकारवादीहरू पछि लागिहाल्छन् । यो पत्रकारहरू मानवअधिकारवादीहरूको जात पनि अचम्भकै हुँदो रहेछ । साथीहरू भन्थे- यसलाई राजविराजबाट जेल सरुवा गर्ने बहानामा बेपत्ता पार्ने योजना थियो । पत्रकार महासंघ सप्तरीले थाहा पाइहालेछ । त्यहाँबाट सिराहा ल्याउन भनेर हिँड्दा तत्कालिन पत्रकार महासंघका अध्यक्ष वैद्यनाथ झा साथ लागिहाले रे । सन्त पत्रकारका रुपमा चिनिएका दारी पाल्ने ती पत्रकार आँटी रहेछन् । फर्कभन्दा जहाँ लान्छौ सेनलाई म पनि त्यही जान्छु भन्थे रे । जेल सरुवा गरेकै हो भने र सिराहा लाने नै हो भने जेलभित्र सेनजीलाई पठाउनुस् अनि म पनि दुईचारवटा कुरा त्यहाँका जेलरसँग गरेर सप्तरी फर्कन्छु भन्थे रे ।

बर्दिधारी-३ – यसले लेखेको जेल सम्बन्धी कविता चािहं मलाई पनि कण्ठै छ । सुनाऊँ त । ऊ इच्छुकको जेल शीर्षकको कविता भन्न थाल्छ ।

जहाँ जीवन बन्धनहरू भित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकांक्षाहरू बन्देज हुन्छ
न्जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ ।
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिवन्ध हुन्छ
बन्दुकको पहरा होस् अथवा त्यो कानुनको घेरा हो
स्के फरक पर् यो र मित्र भयभित परिवेशमा
त्रासित जिन्दगी जहाँ बाँच्नु परेपनि त्यो जेल हुन्छ ।
कविता त यसले राम्रो लेख्छ । अनि कसरी यसलाई यहाँ ल्याइयो त साहब

बर्दिधारी-२ – सबै कुरा त मलाई पनि थाहा छैन । ती पत्रकार महासंघका अध्यक्ष वैद्यनाथ झाले नछाडेपछि सेनलाई बोकेर हिँडेको गाडी सिराहाको विष्णुपुरबाटै राजविराज फर्काइएछ । पुनः राजविराज जेलमा नै पठाएपछि झा फर्किएछन् । त्यही राती नै यो सेनलाई राजविराज जेलबाट महोत्तरीको जलेश्वर जेल चलान गरिएछ । पछि यो विशिष्ठ वर्गको व्यक्ति भएकाले दवाव सिर्जना भएछ । अदालतले रिहाई गरिहाल्यो । जनदिशा दैनिक पत्रिकाको सम्पादन गर्नु पनि यसको अपराध हो । चटक्कै लेख्न छाडेको भए त हुन्थ्यो नि । भुस भरिएको दिमाखमा यी कुराहरू कहाँ आउँछन् ! मर् अब मर् । कुकुरको मरण भोग् ।

बन्दी-२ -सुधा त्रिपाठीको इच्छुक स्मृति ग्रन्थमा लेखिएको लेखको अंशसँग मेल खाने कुरा गर्छिन् ।अभिव्यक्तिको जोखिम मोल्ने कवि हुन् इच्छुक । भन्न मन लागेको कुरा कवितामा भन्दै नभन्ने गरी लेख्ने कवि मध्येमा पर्दैनन् यिनी । निरर्थक बाँच्नु भन्दा सार्थक मर्नु उचित सम्झन्छन् यिनी । यिनी मृत्युलाई पहिले स्वीकारेर क्रान्तिमा होमिएका हुन् । त्यसैले यिनले आफ्नो अभिव्यक्तिको जोखिम पनि उठाएका छन् । आखिरमा तिमीहरू पनि तड्पिई तड्पिई मर्छौ । यिनलाई मारेर तिमीहरू इतिहासमा ठूलो भुल गर्दै छौ । कहिल्यै नसुध्रने भूल……॥ सेनको नाजुक अवस्था देखेर रुन थाल्छिन् ।

बन्दी-१ – दर्दले छटपटाउँदै हुँ…मरे…मरे॥नि आमा । अब मैले तिम्रो सेवा गर्ने मौका नपाउँने भएँ । केही क्षणमा नै बर्दिधारी-१ को प्रवेश भीआईपी कोठामा हुन्छ । त्यहाँ बर्दिधारी-१ को मुक्कासँगै बुट र लाठी बजि्ररहँदा बन्दीको प्राणपखेरु उड्छ । बन्दीको मृतक शरीरलाई बोरामा पोको पारेर एक कुनामा थुपारिन्छ । सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो बनाइएको बा१च६०७ नम्बरको सेतो रङ्गको हाइलक्सपिकअफ भ्यानमा हालेर क्लव बाहिर निकालिन्ो तरखर हुन्छ । अन्य तल्ला दर्जाका बर्दिधारीहरू सम्मिलित टोलीले राती लासलाई आर्यघाट लग्ने कार्यक्रम बन्छ । घटनालाई गोप्य राख्न उच्च सतर्कता अपनाइन्छ । कुनै कैदीलाई त्यहाँ राखिन्न । नयाँ बर्दिधारीहरूलाई समेत अन्यत्रै खटाइन्छ ।

दृश्यः-३

रातको समय छ । आर्यघाटको स्थानमा बर्दिधारीहरू उभिएका छन् । शहरका मान्छेहरूको चालचुल छैन । निम्न तहका बर्दिधारीहरूको मुहारमा निराशाका वादलहरू मडारिएको प्रष्ट आभाष हुन्छ । उच्च तहका बर्दिधारीहरू भने मनमा त्रास लिएर पनि ओठमा हाँसो ल्याउँने असफल प्रयास गरिरहेका हुन्छन् । सर्वत्र अनिष्टै अनिष्ट निम्तेला जस्तो वातावरण हुन्छ ।नेपथ्यबाट आवाज आउँछ – दण्डको पनि सीमा हुन्छ । युद्धको पनि नीति हुन्छ । यी विचारा सेनको के गल्ती कलमका भरमा बाँच्नेहरूको यो दुर्दशा । यो त सरासर अत्याचारको पराकाष्टा हो । यो कालको इतिहासले हामी बर्दिधारीहरूलाई सक्तो सराप्दछ । केही मलिन स्वरमा हामी सबैले विराएका छैनौँ सेन । हामीलाई माफ गर । ठूला ओहोदाका केही मच्छडहरूबाट तिम्रो यो हविगत हुन गयो । यो कालो इतिहासलाई जस्ताको तस्तै लेख्न हामी सहयोग गर्नेछौँ । तिम्रो यो कायरतापूर्ण हत्यामा हाम्रो भौतिक उपस्थिति नभए पनि दोषी छौँ । किनकि हामी रमिते भयौँ । रमिते तमासे भएर हामीले ठूलो भुल गर्यौँ । हामीलाई माफ गर ।

बर्दिधारी-२ – छक्क पर्दै साहब यो कसको आवाज हो

बर्दिधारी-१ – आवाज जसको होस् । कर्तव्य पूरा गर्दा गर्दै सेन खलास भइगयो । मेरो पनि चाहना हैन यसलाई मारिहाल्ने । यो भवितव्यमा पर्यो । यसलाई हामीले यही रुपमा लिनुपर्छ ।नेपथ्यबाट चर्को आवाज आउँछ – ए अफिसरहरू तिमीहरूको यो खेलले धेरै सपुतहरू मरे । जो मरे पनि गरिब बाउआमाका सन्तान मरे । तिमीहरू जस्ता जल्लादहरूको यो खेलले हामी बदनाम भयौ । यस्तै अत्याचारले पि_िल्सएकाहरू यहाँ अनगिन्ती छन् । यत्तिखेर हामी इतिहासको संगीन घडीमा यात्रा गरिरहेका छौँ भन्ने नविस्र । विगतको जस्तो कालो इतिहास सधैँ रचिन्न । यी कृष्ण सेन इच्छुकको बारेमा जे जति भनिएपनि त्यसले यिनको समग्र मूल्यांकन हुन सक्तैन । यिनको दिव्य महान्ताको वयान गर्न शब्दको अर्थ लगाउने सामथ्र्य गुमेको क्षणमा छौँ हामी ॥ कायरतापूर्ण दमन गर्ने यो यात्रा गद्दारहरूको यात्रा हो । जे नहुनु थियो भइगयो । अब यिनले हिँडेको बाटोका सक्कली पथगामी बनौँ । यिनले देखाएको बाटोमा लागौं । हैन लाग्न सक्तैनौं भने पनि लागेकाहरूलाई समर्थन गरौँ । जबसम्म हामी यी सेनलॆ उमारेका बेर्नाका सुसारे हुँदैैनौँ तबसम्म यिनले आफ्नो जीवनमा जोडेजस्तै शब्द र कर्मको सन्तुलन आ-आफ्नो जीवनमा जोड्न सक्तैनौँ । होसियार ! होसियार !! होसियार !!! होसमा आऊ होसमा ल्याऊ ।

बर्दिधारी-१ -चारैतिर नजर लगाउँदै जताततै अन्धकार छ । आवाज कहाँबाट आइरहेछ । आवाज त हाम्रै ग्रुपको हो भन्ने प्रष्ट छ ।

बर्दिधारी-२ – घोर आश्चर्य । नगर्नुपर्ने काम भयो ।ब

बर्दिधारी-३ – अझ पत्रकार मानवअधिकारवादीहरूले थाहा पाए भने अर्को आपत् आइपर्ला ।

बर्दिधारी-१ – ठीक भनिस् । दोहोरो भिडन्तको क्रममा यस्तो यस्तो हुलियाको एक अज्ञात आतंकवादीको लास फेला पर्यो भनेर रिपोर्ट तयार पार्नुपर्ला ।

नेपथ्यबाट पुनः चर्को आवाज आउँछ – खबरदार गल्ती माथि अर्को गल्ती गर्नु मुर्खता हो । सेनको मूल्यांकनको सार यी गद्दार शब्दमा उनेर मृत आत्मामाथि अर्को आक्षेप नतेसा्रऔँ । वास्तविकताको निष्कर्षलाई समात्न नसक्ने हामी घोर पापी कहलाउँछौँ । हाम्रो डिपार्टमेण्ट नै अत्याचारले सीमा नाघेको डिपार्टमेण्टको रुपमा इतिहासमा दर्ज हुनेछ । तसर्थ सही सूचना प्रकाशन गरेर मृत आत्माको शान्तिको लागि प्रार्थना गरौँ । इच्छुकको प्यारो मधेशप्रति शीर्षकको कविता सुनिन्छ ।

यति निकटबाट पहिले कहिल्यै भएको थिएन
तिम्रो गहन सम्वेदनाको आशा म पहाड हुँ तिमी मधेश
म हिमाल हुँ तिमी मैदान ढुङ्गाको भर माटो तिमी हौ
माटाको भर ढुङ्गा म हुँ म लाली गुराँस तिमी रातो गुलाफ
म लालुपाते तिमी लाल गुलमोहर म शितल बतास तिमी न्यानो हावा
तिमी ग्रीष्म हौ म बर्षात हुँ तिमी शरद् हौ म बसन्त हुँ
भिन्न-भिन्न पंछीहरूको भिन्न भिन्न गान जस्तै
हाम्रो भाषा हाम्रो वेशभुषा भिन्नाभिन्नै भएपनि
सप्तरङ्गी इन्द्रेणीको सप्तरङ्गी माला जस्तै
हाम्रो रुपरङ्ग हाम्रो मुखमुद्रा भिन्नाभिन्नै भए पनि
ए मेरो प्यारो मधेस ए सुन्दर शश्यश्यामल प्रदेश ।

बर्दिधारी-१ – यो नाटक देखाउँने को हो चिनेर पाता कस त ॥

बर्दिधारी-३ – कसलाई कस्ने यो नाटक त पक्कै होइन । कुरा त सत्य नै हो । धेरै जानकारले बोलेको कुरा हो यो ।

बर्दिधारी-२ – तर सत्य-असत्य छुट्याउँने बेला होइन यो ।ब

बर्दिधारी-३ – प्रलय आउला जस्तो छ साहब ।

बर्दिधारी-१ – तँ लाटै छस् । कुन बेला के गर्नुपर्छ । तँलाई के थाहा तँलाई थाहा हुँदो हो त म झैँ ठूलो पदमा पुगिहाल्थिस् नि ।

बर्दिधारी-३ – त्यो त हो ।

बर्दिधारी-१ – शब जल्दाजल्दै उपस्थित सहपाठीहरूसँग ख्यालख्यालमै स्विट एण्ड सावर गुलियो र अमिलो गर्दागर्दै कृष्ण सेन त माथि पुग्यो । जसलाई जे लेखेको हुन्छ त्यही भोग्नुपर्छ । अब मेरो पनि प्रमोशन तिमीहरूको पनि प्रमोशन भएन त मज्जा आहासको हाँसो छाउँछ ।नेपथ्यबाट पुनः भिन्न किसिमको कडा आवाज आउँछ – जीवनभर जनताका हितमा शब्द समर्पण गर्दै आएका आस्था र विश्वासका एक सतिसाल प्रगतिवादी कवि एवं वरिष्ठ पत्रकार यी कृष्ण सेन’इच्छुक’ को भौतिक जीवन लीला यही समाप्त भइरहेको छ । यिनका शब्दहरूको पहाड सगरमाथाझैं उच्च छ । त्यस पहाडले तिमीहरू जस्ता बर्दिधारी-१ बर्दिधारी-२ बर्दिधारी-३ हरू र जनताको भक्षक गर्ने अन्य सारा बर्दिधारीहरूलाई बाँकी छाड्ने छैन । यी इच्छुकको महान्ता र वलिदानीले जनता पिरोल्ने पिराहाहरूलाई थिचिइरहनेछ थिचिरहनेछ । बदलामा जनताहरू भने उ_िक्सरहनेछन् उ_िक्सरहनेछन् । इच्छुक हरेक कलमजीविहरूलाई कलमबाटै राष्ट्र सेवा गर्न प्रेरित गरिरहनेछन् गरिरहनेछन् । धन्य धन्य जनताका प्यारा मान्छे सेन ! तिम्रो कलमलाई यो सच्चा नेपालीको सलाम !! तिमीलाई पौने तीन करोड नेपालीको श्रद्धासुमन !!!लास जलिरहन्छ जलिरहन्छ । प्रतिबन्धू शीर्षकको कृष्ण सेन’इच्छुक’ को चर्चित गीत कविता बजिरहन्छ बजिरहन्छ । नेपथ्यबाट पनि सोही गीत गुनगुनाएको आवाज प्रष्ट सुनिन्छ-

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै
तिमी भन्छौ-गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातमा हतकडी पहि-याउँदै
तिमी भन्छौ-लेख्न त लेख
तर यो गीन नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।
हाम्रा आस्थाहरूमा प्रतिन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल गिराउँदैतिमी भन्छौ-हिँड्न त हिँड
तर यो बाटो निहंडहामी भने त्यही बाटो हिँडिरहन्छौँ ।
ओ शासक ! प्रशासकहरू !
अस्वीकार्य त हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै जुलुम र
उत्पीडनहरू शुरु गर
सक्छौ भने हाम्रा चेतनामा प्रतिवन्ध लगाऊ
र सत्यलाई कैद गर
तर ओ तानशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौ
उठाइरहन्छौ हामी तिम्रा विरुद्ध विद्रोहका मुटठीहरू
ओ अत्याचारका पहरेदारहरू !जित हाम्रै हो
तिम्रो हार माथि विजयको झण्डा गाड्दै
हामी भने अथक र अविचलसंघर्ष गरिरहन्छौँ ।
संघर्ष गरिरहन्छौँ ।
गरिरहन्छौँ ।

नोटः- यो नाटकको पहिलो दृश्यको घटना कृष्ण सेन’इच्छुक’ को जीवनमा जेठ ७ गते २०५९ मा महेन्द्र पुलिस क्लवमा घटेको घटनामा आधारित छ । दोश्रो दृश्यको घटना भने उनको जीवनमा विहानको ११ बजे जेठ १३ गते २०५९ मा सोही क्लवमा घटेको घटनामा आधारित छ । तेश्रो दृश्य भने आर्यघाटमा घटेको घटनामा आधारित छ । यो नाटकका अधिकांश कुराहरू जनदिशा दैनिकका तत्कालिन पत्रकार भरत सिग्देल र अर्की जनादेशकी तत्कालिन पत्रकार संगीताका अनुसार छन् । युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान शीर्षकको यो नाटक अशोक सुवेदीद्वारा सम्पादित तथा प्रकाशित आस्था र निष्ठाका सतिसाल कृष्ण सेन’इच्छुक’ शीर्षकको पुस्तकमा समाविष्ट पर्शुराम काफ्लेको लेख लगायतका सोही पुस्तकका अन्य लेखहरू तत्कालिन पत्रकार महासंघ सप्तरीका अध्यक्ष वैद्यनाथ झासँगको बातचित इच्छुक स्मृति ग्रन्थका लेखहरू र आफ्नै अनुभवमा आधारित छ । पर्शुराम काफ्लेको लेखको शीर्षक छ- यसरी भएको थियो कृष्ण सेनको हत्या । उक्त लेखमा उल्लेख भएअनुसार नाटकमा पात्र सिर्जना गरिएको हो । जस अनुसार बर्दिधारी-१ प्रहरी उपत्यका हेर्ने तत्कालिन डीआईजी अमरिसंह शाह हुन् भनेबर्दिधारी-२ प्रहरी उपत्यका हेर्ने तत्कालिन डीएसपी विक्रम थापा हुन् । अर्का बर्दिधारी-३ भने सामान्य दर्जाका प्रहरी हुन् । यी बर्दिधारी-३ र बन्दी-२ मात्र काल्पनिक पात्र हुन् । बन्दी-२ नामाकरण गरिएकी पात्र काल्पनिक भए पनि उनले नेपालका धेरै विद्वान्हरूको प्रतिनिधित्व गरेकी छिन् । उनी पागलजस्ती देखिए पनि सच्चा नागरिकको भूमिकामा छिन् । त्यस्तै बन्दी-१ नामाकरण गरिएका पात्र भने कृष्ण सेन’इच्छुक’ स्वयम् हुन् । २०१३ सालमा भारतको देहरादुनमा जन्मेका सेन जनादेश साप्ताहिक कलम त्रैमासिक साहित्यिक पत्रिका र जनदिशा दैनिक पत्रिकाको सम्पादन गर्थे । उनका शोकााजली इतिहासको यस घडीमा बन्दी र चन्द्रागिरी कविता संग्रह प्रकाशित छन् । उनी सफल कवि समीक्षक भूमिका लेखक, गद्यकर्मी, संस्मरण लेखक पत्रसाहित्य लेखक थिए । उनकी श्रीमती तक्मा केसी र छोरी समीक्षा छन् । तक्मा श्रीमान्को हत्यारालाई पत्ता लगाई उचित दण्ड देऊ भनेर पुकारा गरिरहेकी छिन् । सेनको योगदानको कदर गर्दै कृष्णसेन अनलाइन खोलिएको छ । मरणोपरान्त उनलाई सहासिक पत्रकारिता पुरस्कारले समेत सम्मानित गरिएको छ । उनको योगदानका वारेमा यस पिढी र आउँदा पिढीलाईयथेष्ठ जानकारी दिन विभिन्न संघसंस्थाले स्मृति ग्रन्थ निकाल्दै आएका छन् ।

तपेश्वरी : १, उदयपुर, मो. नं ९८४२८२९२०६
हालः– लिटिल फ्लावर सेकेण्डरी स्कूल, राजविराज–९, सप्तरी ।
JULY 20, 2010

(स्रोत : Nandalal Acharya’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *