कथा : आत्महत्याका श्रृङ्खला

~सन्जु बजगाईं~Sanju Bajgain

आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग गरेको । अतिशोध पनि एक सरकारी उच्च ओहदामा कार्यरत व्यक्ति थिए । दुइ महिना अगाडि मात्र हो सरुकै मामाकी बुहारीले झुण्डिन पासो लगाउँदै गर्दा भेट्टाएर बचाएको । अझैपनि उनलाई एक्लै घरमा छोड्नु हुन्न मामा-माईजुले ।

कुमारी सरुका घरमा विवाहको कुरा चलिरहेका बेलामा यसरी एक पछि अर्को गर्दै सभ्य र शिक्षित परिवारका महिलाहरूका आत्महत्याका बीभत्स दृश्य अनि अखबारमा छापिएका आत्महत्याका खबरले उसलाई कता -कता शंका पैदा गरायो । शायद बबिता दिदीको घटनाले पनि उसलाई अझैसम्म झस्काइरहेको होस् ।

सरुलाई अझै ताजै जस्तो लाग्छ केटा पट्टिबाट बबिता दिदीलाई हेर्न आएका दिन बेलुकी ठूलोबुवाले केटाको वर्णन गरेर सुनाउनु भएको ।

“क्यानडाबाट भर्खरै इन्जिनियर पढेर आएका । परिवारमा सबैभन्दा असल । खान्दान पनि नाम चलेको । बिवाह पछि दुलहीलाई पनि क्यानडा नै लिएर जाने अरे । यत्तिका घरमा छोरी नदिए के पर्खेर बस्ने -” साँच्चै ! त्यो साँझ ठूलोबुबा असाध्यै खुशी हुनुहुन्थ्यो ।

अन्ततः तिनै केटासँग धुमधाम गरेर आफ्नी एक्ली छोरीको कन्यादान गर्नु भएको थियो । बिवाहको दिन बेहुलाको जुत्ता लुकाएर हजार रूपैयाँ हात पारेको अहिले जस्तो लाग्छ उसलाई । तर बिवाहको डेढ बर्षपनि पुग्न नपाउँदै बबिता दिदीले सुतेकै ठाउँमा बिष खाएर आत्महत्या गरेको खबर आयो जुन खबरले ठूलोबुवाको मानसिक स्थिति अझै सन्तुलित भएको छैन । आजकल सरुलाई मृत्युसँग भन्दा पनि आत्महत्यासँग बढी शंका लाग्न थालेको छ ।

“यदि मृत्यु ढोल बजाएर आईदिए ……. -” लामो श्वाससँगै उसको आवाज बाहिरियो ।

ऊ अखवार छोडेर जुरुक्क उठी । यी शिक्षित र सुशील नारीहरू किन यसरी आफैंले आफैंलाई मार्ने गर्छन् < उसलाई जान्ने तीब्र इच्छा जाग्यो ।

शंकाले उसलाई पछ्याउन थाल्यो । आखिर आत्महत्या नै किन < प्रश्नको उत्तर पाउन वायुपंखी घोडा झैं उसभित्रका जिज्ञासाहरू दौडिरहेका छन् ।

“अतिशोधले त बाहिरै एउटी राखेको थियो अरे नि त ! त्यही कुरामा लोग्नेस्वास्नीमा झगडा भैरहन्थ्यो अरे ।” दुइ -चार दिन अगाडि सरुकी आमा भन्दै हुनुहुन्थ्यो ।

“के थाहा उनले लोग्नेको तिरस्कार सहन नसकेर आत्महत्या गरेकी हुन् कि !” सरु शंका गर्छे ऊ कत्ति पटक अर्चना भाउजुसँग एउटै बाटो भएर क्याम्पस गएकी थिई । उनको अफिस सरुको क्याम्पस भन्दा पाँच मिनेट मात्र टाढा थियो । जीवनलाई जहिले पनि संघर्षको पर्यायवाची भन्न रुचाउने उनी सरुलाई नारी जातिले समुद्र जस्तै हुनु पर्छ भन्ने गर्थिन् । उनले भनेका कत्ति कुराहरूले सरूलाई हिम्मत नहार्न उत्साहित गर्थ्यो । यी सबै अब सरुका संझनामा मात्र जीवित छन् ।

हिजोआज उसलाई अतिशोधप्रति सहानुभूतिको सट्टा घृणा लागेर आउँछ । श्रीमतीले आत्महत्या गरेको तीन दिन नपुग्दै ऊ सामान्य भैसकेको देखिन्थ्यो मानौ यत्तिका बर्ष श्रीमतीसँग बिताएका दुःख-सुखको कुनै मूल्य छैन । टुहुरा छोराछोरी आमा गुमाउनुको पीडाले आँखामा आँशु छचल्काइरहेका बेला उसका ओठहरूले भने सुकुमार मुस्कान छोडेको सरुले पटक – पटक देखेकी थिई ।

” यो देख्दा देख्दै म कसरी मानौं अर्चना भाउजुले आत्महत्या गरेको हो भनेर < ” ऊ भित्र असन्तोष मडारिँदो छ । उसलाई थाहा छ यो असन्तोष कसैसँग बाँड्न सक्ने खालको छैन ।

ऊ कल्पिन्छे – “उसको पनि लोग्ने हुनेछ एक दिन, यो निश्चित छ । ऊ भद्र हुनेछ केवल भद्रताको खोल ओढेको । ऊ शिक्षित हुनेछ तर अव्यावहारिक ! उसका स्नेहका मूल फुट्ने छन्- मात्र विवाहको दुइ-चार हप्तासम्म । हर प्रभातमा झुकाउने शिरलाई लत्याउने सत्पुरुष हुनेछ ।” कल्पनामा उसको लोग्ने एउटा ढोङ्गी आकृतिको पुरुषमात्र देख्छे । ऊ पुनः कल्पिन्छे , कल्पिरहन्छे तर हरेक पटक त्यही ढोङ्गी आकृति ।

“म विवाह नै गर्दिन ।” ऊ आफ्नो निर्णयमा भित्रभित्रै दङ्ग पर्छे

“उफ् ! फेरि आमाले …… , छोरीको कन्यादान गरेर मर्ने आमाको घिडघिडोलाई कहिलेसम्म लम्याउन सकुँला म । अब त पढाई पनि सकिन लाग्यो । बहाना नै सकिन लागे । बिहे गरे पछि बबिता दिदी मर्नु भो, म पनि मरें भने…… , धत् मलाई के भन्लान् यस्तो कुरा सुनाएँ भने ।” उसको मनोवादको कुनै निष्कर्ष निस्कदैन ।

“आफ्नै घरमा त्यत्रो घटना घट्दा पनि छोरीलाई बिहे गरेर अर्काको जिम्मा लगाउन हाम्रो खान्दानलाई अलिकति पनि डर छैन । छोरी मरेर के हुन्छ र <” मनमनै बोल्दै आक्रोशमा कोठाको ढोका ढप्काउँछे उ ।

“सरू , साँच्चै बबिताका दुलाहा त अर्को विवाहका लागि पल्लो घरका रमेशकी भतिजीसँग पो कुरा चलाउँदै छन् रे !” ढोका बाहिरबाट सरुले आमा बोलेको सुनी ।

घरमा सरु बाहेक दिनभर को नै हुन्थ्यो र यस्ता खबर सुनाइहाल्न पाइने । त्यसैले केही नयाँ कुरा सुनिन् कि सरुकी आमा दौडिदै उसलाई सुनाउन आईपुग्थिन् ।

“के भयो < किन यसरी मुख बिगार्नु भएको <” बन्द ढोका उघार्दै सरूले सोधी ।

“के हुनु म मन्दिरबाट फर्किदा रमेशकी श्रीमतीले सुनाएकी हाम्रा बबिताका दुलाहा अर्को विवाहका लागि उनीहरूकै भतिजीसँग पो कुरो चलाउँदै छन् अरे । कस्ता मान्छे रहेछन् , पहिलो पटक बेहुलो भएर आएको आँगनकै चार घर पर्तिर कसरी दोस्रो बिहेको कुरा चलाउन सकेका !” सरुकी आमाले प्रतिक्रिया जनाईहालिन् ।

“लाज नभएकाहरू , समाजको मर्यादा कसरी राख्ने भन्ने सामान्यज्ञान नभएकाहरूसँग कसको के लाग्छ र !” सरु बोली ।

“कुरो मात्र चलाएर के भो र ,कसले देला छोरी तिनीहरूलाई । बबिताले आत्महत्या गरेको केटीका सारा खान्दानलाई थाहा छ । त्यस्तो थाहा पाउँदा पाउँदै कसरी दिन्थे <” सरुकी आमाले छोरी दिदैनन् भन्ने ठहर गरिन् ।

विवाह प्रसङ्गले एकै दिनमा सारा टोल ढाक्यो । छरछिमेकमा त्यसैबारे चर्चा चले । आखिर बिहे गर्ने निष्कर्षमा पुगे केटी पट्टीका । इन्जिनियर त्यसमा पनि विदेशमा बस्ने । उनीहरू पनि बबिताकै बुवा जस्तै लोभिएको अन्दाज गरिन् सरुकी आमाले । आफ्नै घरको मूलबाटोबाट आफ्नै छिमेकीकी छोरीलाई आफ्नै ज्वाईंले दुलही बनाएर लगेको सरुका ठूलोबुवाले अश्रुधारा पिएर स्वीकारे । त्यो घाउ बनेर बस्यो उनको मुटुमा । सरुलाई पनि त्यस दिनभरी बबिता दिदीको मात्र याद आइरह्यो ।

उसलाई थाहा छ यो साल जसरी पनि उसको विवाह हुनेछ । तर किन -किन विवाहप्रति उसको वितृष्णा बढ्दो छ । ऊ व्यक्त गर्न सक्दिन । घृणा चुलिदो छ पुरुषप्रति । यस्तो अवस्थामा ऊ कसरी आफूलाई कसैसामु सुम्पिन सक्छे < यो प्रश्नको जवाफ ऊ कसैबाट पाउन सक्दिन ।

“केटा पट्टीबाट केटी मनपराए अब टीकाटालोको दिन जुराउनु अरे भनेर पण्डित खबर दिएर गए ।” आमाले निकै सतर्कतासाथ सरुलाई सुनाइन् ।

बिचरीले घर भाडामा खोज्दै आएको बहानामा उसले आफूलाई नियालेर गएको पत्तै पाएकी थिइन । पछि घरमा कुरा चल्दा पो उसका हातखुट्टा लुला भएका थिए । बुवा कट्टर परम्परावादी भएकाले केटा मन पर्यो परेन भनि प्रतिवाद गर्ने प्रश्नै उठ्दैनथ्यो त्यहाँ । त्यसैले केटा देख्नु र नदेख्नु एकै थियो उसका लागि ।

तैपनि आमाको खबरले खै किन ऊ निस्सासिए झैं भएकी छ । उसलाई सास फेर्न असजिलो महशुस भैरहेछ ।

“वातावरण प्रदूषित भएछ ।”आफ्नो तर्क प्रति आफैं विश्वस्त हुन्छे ।

“सबै स्वार्थी छन् कसलाई के पर्वाह !” मन उदाश भएको छ उसको

“कतै मलाई ऐठन भएको त होइन < ऐठन हुँदा पनि सास फेर्न अफ्ठ्यारो हुन्छ भन्छन् । पहिले त कहिल्यै यस्तो भएको थिएन ।” उसको मानसपटलमा तुरुन्त अर्को शंका पैदा हुन्छ ।

“यसरी मनले शंका मात्र पैदा गराउनु त मानसिक रोगको संकेत भन्छन् शायद त्यस्तै त होइन <“

एक पछि अर्को गर्दै मनभित्र अर्न्तद्वन्द्वको सृजना हुनु स्वाभाविक नै त थियो । असन्तुष्टिहरू खुलेर कसैसँग राख्ने ठाउँ नपाउँदा उसका विचारमा नकारात्मक रेखाहरू मात्र खिचिनुलाई ऊ सामान्य ठान्छे ।

घरमा बिहानैदेखि चहलपहल देखिन्थ्यो । सरुलाई सिङ्गारिएको थियो । पाहुनाको स्वागतका लागि रङ्गीचङ्गी पालले मञ्च सजाइएको थियो । निम्त्याएका आफन्तहरूको ठूलै जमघट थियो । सबैजना कसैको पर्खाईमा मूलबाटोमा आँखा लगाइरहेका थिए । मध्यान्न भएको थियो आँगनमा गाडी रोकिएको आवाज सरुले सुनी । घरमा जति-जति चहलपहल बढ्थ्यो उसको मन भने उति नै निराश थियो ।

“लौ टीकाटालोको बेला भयो केटीलाई बाहिर ल्याउनु पर्यो ।” तुरुन्तै बाहिरबाट कसैले बोलेको सुनियो ।

उसलाई एक अपरिचित पुरुषको छेवैको कुर्सीमा लगेर राखियो जो उसको हुनेवाला जीवनसाथी थियो । उसका आँखाहरू आफैं झुकेका थिए शायद एक असल नारी हुनुको परिचय हो त्यो । जिन्दगी सुम्पनु पर्ने त्यस पुरुषलाई एक झलक अझै हेर्न सकेकी थिइन उसले । सरुलाई यति थाहा भएको छ कि ऊ ठुलो अस्पतालको डाक्टर हो अरे । आफ्नो उपस्थितिलाई झुम्राको पुतलीसँग दाँज्दा-दाँज्दै उसलाई पत्तै भएन उसका औंला कसैले दिएको औंठीले सजिइसकेछन् । ऊ भित्रको शून्यताले कसैलाई केही फरक परेन । अन्ततः टीकाटालो धुमधामले सकियो ।

विवाहको मिति पनि तोकियो । कार्ड छापिए । निम्ता बाँडिए । बेहुला र बेहुलीका कपडा , गरगहना भित्रिए । दाइजोका सामानहरूले घर भरियो । सम्पूर्ण तयारी सकियो । केही दिन मात्र बाँकी थियो उसलाई अन्माउन ।

“अब के गर्ने हो …… – दुलहाकी भाउजुले हिजो राति आत्महत्या गरिन् अरे दुलहाका मामाले फोन गरेका ।” सरुका बुवा आत्तिदै कोठा बाहिर निस्किए ।

सरु जडवत् भई । टीकाटालोको दिन उसको कोठामै आएर बिदा मागेर गएकी शिक्षित सुन्दर नारीले आत्महत्या गरिन् भन्दा उसलाई विश्वाश गर्न असाध्यै गाह्रो भयो । अनेकौं नारीहरूका आत्महत्याका अज्ञात भूतहरूले लामो समयदेखि घर बनाएको मानसपटलमा अर्को एक घर थपिन गयो । बलियो जग हालेका ती घरहरू संत्रास पूर्ण भए ।

दुर्घटनाको कुराले घरका सबैमा अन्योल छायो । आखिर दुलहाका तर्फबाट अर्को खबर नआउन्जेल केही काम अघि नबढाउने निधो भयो ।

“अब बिवाहको साइत पन्ध्र दिन पछाडि सरेको छ ।” घटनाको चार दिन पछि साँझ घर आएका पण्डितले अर्को साइत पन्ध्र दिन लम्बिएको बताउँदा सरु भने कोठाको भ्यालबाट देखिएको सूर्यास्त हेर्दै आफ्नो जिन्दगीका आउने दिनहरू गन्दै थिई ।

(स्रोत : समकालीन साहित्य)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.