अनूदित कथा : हरिचरण

~शरत् चन्द्र चट्टोपाध्याय~Sharat Chandra Chattopadhyay
अनुवाद : कुमुद अधिकारी

यो धेरै दिन पहिलेको कुरा हो । प्रायः दश-बाह्र वर्षघिको कुरा । त्यतिबेला दुर्गादास बाबू वकील हुनुभएको थिएन । दुर्गादास बन्धोपाध्यायलाई सायद तिमी राम्ररी चिन्दिनौ होला, म राम्ररी चिन्छु । आऊ, आज उनको परिचय गराउँछु ।kumud Adhikari_1

बाल्यकालमा कहीँबाट एउटा अनाथ पितृमातृविहीन कायस्थ बालकले रामदास बाबूको घरमा आश्रय लिएको थियो । सबैजनाले भन्थे बालक असाध्यै राम्रो छ । राम्रो, सुन्दर र बुद्धिमान् सेवक, दुर्गादास बाबूको स्नेहको पात्र ।

सबै कामहरू ऊ आफ्नै सम्झेर गर्छ । गाईलाई घाँसपानी दिनेदेखि लिएर बाबूलाई तेल लगाउनेसमेत ऊ आफैँ गर्न चाहन्छ । सधैँ व्यस्त रहन उसलाई मन लाग्छ ।

बालकको नाम हरिचरण । गृहिणी प्रायजसो उसको कामबाट विस्मित हुनुहुन्थ्यो । बेलाबेला हकार्नुहुन्थ्यो, र भन्नुहुन्थ्यो- हरि, अरू पनि त नोकरहरू छन्, यति धेरै किन खट्छस् – हरिको दोषमध्ये एउटा थियो – हाँस्ने । उसलाई हाँस्न साह्रै राम्रो लाग्थ्यो ∕ हाँसेर उत्तर दिन्थ्यो- आमा, हामीहरू गरिब मान्छे, सधैँ खट्नैपर्छ र फेरि बसेर मात्रै पो के हुन्छ र ?

यस्तै खालको व्यवहारमा, सुखमा, स्नेहको काखमा हरिचरणको लगभग एक बर्ष बित्यो ।

सुरो रामदास बाबूकी कान्छी छोरी । सुरोको उमेर अहिले पाँच/छ वर्षहोला । हरिचरणसँग सुरोको निकै आत्मीयता देखिन्थ्यो । दुग्धपानको बेलामा सुरोले गृहिणीसँग द्वन्द्वयुद्ध गर्थी, जब आमाले अनेक अनावश्यक झगडा गरेर पनि यी सानी कन्यालाई आफ्नो पक्षमा ल्याउन सक्नुहुन्नथ्यो र दुग्धपानको विशेष आवश्यकता र त्यसको अभावमा कन्यारत्नको छिट्टै प्राणवियोग हुने शङ्कामा विषम क्रोधमा सुरबालाका दुई गालामा चिमोटेर पनि उसलाई दूध खुवाउन सक्नुहुन्नथ्यो, तब हरिचरणका कुराबाट विशेष लाभ हुन्थ्यो ।

होस्… धेरै कुरा बकेँ । खास कुरा अब भन्छु सुन ।…सुरोले हरिचरणलाई माया गर्थिन् ।

दुर्गादास बाबू जब बीस बर्षको हुनुहुन्थ्यो त्यस बेलाकै कुरा भन्दैछु । त्यस बेला दुर्गादास बाबू कोलकातामा पढ्नुहुन्थ्यो । घर आउनुपर्दा स्टिमरमा दक्षिणतिर गएर, त्यसपछि दस-बाह्र कोस पैदल आउनुपर्थ्यो, त्यसकारण बाटो सहजगम्य थिएन । त्यसैले दुर्गादास बाबू धेरैजसो घर जानुहुन्नथ्यो ।

छोरो बी.ए. पास गरेर घर आएको छ । आमाठकुरानी अति व्यस्त । छोरालाई राम्ररी ख्वाउन-प्याउन, यत्‍न-आत्मीयता गर्नमा नै सम्पूर्ण घर एकैसाथ उत्साहित भएको छ ।

दुर्गादास बाबूले सोध्नुभयो, आमा, यो केटो को हो ?’

आमाले भन्नुभयो, यो एउटा कायस्थको छोरो, आमाबाबु छैनन्, त्यसैले घरमूलीले उसलाई आफैँ राख्‍नुभएको । नोकरका क्रियाकलाप जम्मै गर्दछ, अनि एकदम शान्त छ र कुनै कुरामा पनि रिसाउँदैन । बिचरा आमाबाबु छैनन्, त्यसमाथि केटाकेटी नै, म यसलाई धेरै माया गर्छु।

घर आएर दुर्गादास बाबूले हरिचरणको यो परिचय पाउनुभयो ।

जे होस्, आजकल हरिचरणको धेरै काम बढेको छ । त्यसबाट ऊ असन्तुष्ट छैन, बरु सन्तुष्ट नै छ । साना बाबूलाई (दुर्गादास बाबू) स्नान गराउनु, चाहिएको जति पानी करुवामा राख्‍नु, ठीक समयमा पानको डिब्बा ठीक पार्नु, उपयुक्त अवसरमा हुक्का
इत्यादि जोगाड गर्न हरिचरण एकदम पटु छ । दुर्गादास बाबू प्रायः सोच्नुहुन्छ केटो इन्टेलिजेन्ट नै छ । त्यसैले कपडा पट्याउनु, तमाखु सजाउनुजस्ता काम हरिचरणले नगरे, दुर्गादास बाबू मन पराउनुहुन्न ।

म केही बुझ्दिनँ, कहाँको पानी कहाँ पुग्ने हो, के थाहा – एकपल्ट दुई जना रुँदैरुँदै बसेका थियौँ, ठूलो कठिनाइको समयमा । मलाई लाग्छ, सबै ठाउँमा यही कुरा लागू हुन्छ । देख्छ्यौ ? राम्रोसँग राम्रै बस्छ, नराम्रो कहिल्यै आएर बस्दैन। यदि देखेकी छैनौ भने, हेर, आज तिमीलाई देखाउँछु – ठूलो दुरूह तत्त्व ।

उपर्युक्त कुरा सबैजनालाई बुझ्न सम्भव पनि छैन, दरकार पनि हुन्न र मेरो पनि यो फिलोसफी लिएर डिल गर्ने उद्देश्य छैन । त्यसै पनि आपसमा दुईवटा कुरा गर्दा के नोक्सान छ र ?

आज दुर्गादास बाबूलाई भोजमा निमन्त्रणा छ । घरमा खानुहुन्न, सम्भवतः राति अबेला फिर्नुहुन्छ होला । यिनै सब कारणले हरिचरणलाई नित्यकार्य सम्पन्न गरेर सुत्‍न भन्नुभएको छ ।

दुर्गादास बाबू बाहिर बस्ने कोठामा नै सुत्‍नुहुन्थ्यो । यसको कारण धेरैलाई थाहा छैन । मलाई लाग्छ आफ्नी जहान पिताको घरमा बस्दा, उहाँलाई बाहिरी कोठामा सुत्‍नु नै उचित लाग्छ होला ।

अब हरिचरणको कुरा भनौँ । राति दुर्गादास बाबूको ओछ्यान तयार पार्ने, वहाँ सुतेपछि वहाँको पदसेवा इत्यादि काम हरिचरणको थियो । पछि प्राकृतिक रूपमा निद्रा परेपछि हरिचरण छेउको कोठामा सुत्‍न जान्थ्यो ।

बेलुका छिट्टैदेखि हरिचरणको टाउको टनटन गर्न थाल्यो । हरिचरणले बुझ्यो अब जरो आउन धेरै बेर छैन । बीचबीचमा प्रायः नै उसलाई जरो आइरहन्थ्यो । त्यसैले यी सबै लक्षणहरू उसलाई विशेष थाहा थिए । हरिचरण अरू बस्न सकेन र कोठामा गएर सुत्यो । साना बाबूको ओछ्यान तयार भएन, यो कुरा फेरि उसको मनमा रहेन । राति सबैले खाना खाए तर हरिचरण आएन । गृहिणी हेर्न आउनुभयो । हरिचरण सुतिरहेको थियो । शरीर छामेर हेर्नुभयो, एकदम तातो लाग्यो । बुझ्नुभयो जरो आएको छ, त्यसैले उसलाई दुःख नदिई फर्केर जानुभयो ।

रातको करिब दोस्रो प्रहर । भोज खाएर दुर्गादास बाबूले घर आएर देख्‍नुभयो ओछ्यान तयार छैन । निद्राको नशा, त्यसमाथि समस्त बाटाभरि घर गएर चित भई सुत्‍ने, अनि हरिचरणले थकित गोडाहरूलाई हल्काहल्का मालिस गर्दै मिच्नेछ र यही सुखमा अल्पतन्द्रामा हुक्काको नली मुखमा लगाएर निदाउने र एकैपल्ट प्रभात भएको हेर्ने आदि कल्पना गर्दै आउनुभएको थियो ।

अचानक हतास भएर विषम अग्निमा जल्नुभयो, महाक्रुद्ध भएर दुई चारपल्ट चिच्याउनुभयो “हरिचरण ! हरि ! हरे…!” तर हरि खोई ? ऊ जरोको प्रकोपले संज्ञाहीन भएर सुतेको छ । त्यस बेला दुर्गादास बाबूले सोच्नुभयो- केटो सुतेको होला । कोठामा गएर हेर्नुभयो, राम्ररी बेरिएर सुतेको छ ।

अब सह्य भएन । एकदम जोडले हरिको कपाल समातेर उसलाई बसाउने प्रयास गर्नुभयो, तर हरि फेरि ढलेर ओछ्यानमै सुत्यो । तब विषम क्रुद्ध भएर दुर्गादास बाबूले हित-अहित बिर्सनुभयो । हरिको पिठयूँमा बूटसहित लात बजार्न थाल्नुभयो । यो कठोर प्रहारबाट चेतनालाभ गरी हरि उठेर बस्यो । दुर्गादास बाबूले भन्नुभयो- “के हो केटा ! सुतेको छस् ! ओछ्यान म स्वयंले मिलाउनुपर्ने ?” कुरैकुरामा क्रोध अझै बढ्यो र हातमा भएको बेतको लठ्ठी हरिको पिठ्यूँमा दुई तीनेकपल्ट बर्से।

हरिले राति पदसेवा गर्दा, एक थोपा तातो आँसु सायद दुर्गादास बाबूको छालामा परेको थियो ।

रातभरि दुर्गादास बाबूलाई निद्रा लागेन । एक थोपा आँसु साह्रै तातो लागेको थियो । दुर्गादास बाबू हरिचरणलाई साह्रै माया गर्नुहुन्थ्यो । उसको नम्रताको कारण ऊ दुर्गादास बाबूको मात्र हैन, सबैको प्रियपात्र थियो । विशेष यो करिब एक महिनाजतिमा घनिष्टता अझ बढेको थियो ।

राति दुर्गादास बाबूलाई कतिपल्ट लाग्यो, एकपल्ट हेरेर आऊँ कति लागेछ, कति फुलेछ । तर ऊ त नोकर, यो कुरा राम्रो देखिँदैन । कतिपल्ट मनमा आयो एकपल्ट सोधेर आऊँ, जरो घट्यो कि घटेन । तर यसमा पनि लज्जाबोध हुन्छ, बिहानीपख हरिचरणले मुख धुने पानी ल्याइदियो, तमाखु सजाइदियो । दुर्गादास बाबूले त्यतिबेला पनि- बिचरा, ऊ त बालकमात्र, त्यस बेला तेह्र वर्षपनि नकाटेको । बालक भनेर एकपल्ट छेउमा तानेर हेरेको भए, बेतको आघातबाट कस्तो रगत जमेको छ, र जुत्ताको काठले कस्तो शरीर फुलेको छ हेरेको भए ? बालकसँग केको लाज ?

करिब नौ बजे कहींबाट एउटा टेलग्राम आयो । टेलिग्राको खबरले दुर्गादास बाबूको मन झन् विचलित भयो । खोलेर हेर्नुभयो- जहानलाई बिसन्चो । धडाम्म छाती एक हात तल भासियो । त्यही दिन वहाँलाई कोलकाता आउनुपर्ने भयो । गाडीमा चढेको बेला सोच्नुभयो- हे भगवान्, कसरी प्रायश्चित्त गरूँ ?

एक महिनाजति भयो होला । दुर्गादास बाबूको मन एकदम प्रफुल्ल छ । वहाँकी जहान यसपल्ट बाँच्नुभयो । आज केही खानुभयो ।

घरबाट आज एउटा पत्र आएको छ । पत्र दुर्गादास बाबूका कान्छा भाइको । तल एक ठाउँ पुनश्चः लेखेर भनेको छ- साह्रै दुःखको कुरा, हिजो बिहान दस दिनको जरोपछि हाम्रो हरिचरणको मृत्यु भयो । मर्नुअघि उसले तपाईँलाई धेरैपल्ट हेर्न चाहेको थियो । कठै,मातृपितृहीन अनाथ !

बिस्तारैबिस्तारै दुर्गादास बाबूले पत्रलाई सयौँ टुक्रा पारेर फ्याल्नुभयो ।

(स्रोत : Kumud Adhikari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *