कविता : अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा

~दिपा एवाई राई~Deepa Yewai Rai

न्यायधीस (प्रवेश) !
ठक ! ठक ! ठक !
सम्पुर्ण महानुभावलाई
यस अन्तराष्ट्रिय अदालतमा
बैठक ग्रहणसँगै
‘आदर्श पुरुष राम’ को सुनवाइ
अगाडि बढाउन अनुरोध छ

वादी-
‘श्रीमान् !’
आज युग बदलिएर
आकाश उज्यालो भएको बेला
म ‘सीता’
धर्तीबाट निक्लेर
यस अन्तराष्ट्रिय अदालतमा
न्याय मागिरहेकी छु

म पटकपटकको
अग्नि परिक्षाले अन्यायमा परेँ श्रीमान्,

प्रथम म प्रश्न र्गन चहन्छु
यो राम राज्य के हो
खोइ मेरो ‘राम राज्य’का
न्यायिक राम
मेरो अस्तित्व खोइ
मेरो सामाजिक प्रतिष्ठा खोइ
खोइ मेरो लवकुशको माता
कीन म रामकी सीतालाई
अन्यायमा पारे श्रीमान्
पौराणिक कालदेखि अहिलेसम्मको
मलाई मेरा दुःखको न्याय चाहिन्छ श्रीमान्
ती सबै अन्यायको न्याय चाहिन्छ,

म आजको उत्तराधुनिक युगमा
न्यायको माग गर्दै
उभिरहेकी छु
सामाजिक अधिकार
राजनैतिक अधिकार
आर्थिक अधिकार
सबैभन्दा ठूलो
समानताको अधिकार
विरोध गर्दै
सामान्ती व्यवस्था
समान्ती सँस्कार
पुरातन धर्म
रुढिवादी
अन्धविश्वास
शोषण
दमन
अन्याय जस्ता
ढोँगहरूको मर्यादाले
मेरो स्वाभिमान
मेरो मातृत्व प्रेम
मेरो पति भक्ति सबै
अग्निमा राखेर खरानी बनाउने
‘आदर्श पुरुष राम’ले
कसको भनाई र आदेशमा
म माथी अग्नी परिक्षा लिइएको हो
यो रामराज्यमा ममाथि यत्रो अन्याय हुँदा किन चुप छन् सबैसबै
म प्रश्न गर्न चाहन्छु
कसले रामलाई मर्यादा पुरुष भन्यो
के यहि हो राम राज्यको न्याय ?
आखिर चौध बर्षे बनबास नै किन
मेरो सर्बस्व अस्तित्व माथीको
अन्यायको ब्रजपात भयो
म जन्न चाहन्छु श्रीमान्
त्यसैले आज
म ति रावण बाली सुग्रिव वानर बादर
सबैलाई न्याय कोठरिमा उभ्याएर
मेरो जीवनको दु:ख र सत्याताको
भत्सर्ना र्गन चाहन्छू
किन म. यसरी सबैबाट अपमानित भएँ
के म सिता मैया माता हुनु
मेरो यो जीवनको दिनदशा हो
किनभने ममाथि घोर अन्याय भएको छ
मेरो रौं रौँबाट अन्यायको रगत बगेकोछ संसारलाई थाहा छ
मेरो दुःखको अविरल नदी
के म यो आकाश स्वच्छ भएको बिहानीमा पनि अन्यायमा बस्नु पर्ने हो
जमिनमा धस्सिएर मर्नु पर्ने हो
वा ढोँगको आगोमा जलेर मर्नु पर्ने हो,

मलाई मेरो कष्टको न्याय चाहिन्छ श्रीमान्
मलाई मेरो छोराहरूको न्याय चाहिन्छ
मलाई मेरो श्रीमानको न्याय चाहिन्छ श्रीमान्
मलाई मेरो समयको न्याय चाहिन्छ
हे !
न्याय र्कता न्यायधिस श्रीमान ज्यु
योराम ‘मर्यादा पुरुष श्रीराम’ हुनै सक्दैन
त्यसैले आज
यस अन्तराष्ट्रिय अदालतमा
मान्छेको थाक माथि राखेर
राम राज्यको राम’ को
अग्नि परिक्षाको माग गर्दछु

प्रतिवादी (मौन)
ठक ! ठक ! ठक !
आदेश
वादीको माग अनुसार
प्रतिवादी मौन भएकोले
यो अन्तराष्ट्रिय अदालतमा
रामको अग्नि परिक्षाको आदेश दिइन्छ
हे ! राम
तिम्रो अहम र आडम्बरी ढोँगले
आजसम्म गरिएको सम्पूर्ण
अमानवीय क्रियाकलापको
सजाय स्वरुप
अग्नि परिक्षा दिन आदेश छ ।
ठक !

(स्रोत : Bagaicha)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.