अनूदित कथा : पोस्टमास्टर

~रवीन्द्रनाथ ठाकुर~Rabindranath Tagore
अनुवाद : कुमुद अधिकारी

जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए ।kumud Adhikari_1

हाम्रा पोस्टमास्टर कोलकाताका ठिटा थिए । पानीको माछालाई डाँडामा फ्याँकिदिँदा जस्तो हालत हुन्छ, यो घना बस्तीमा आउँदा पोस्टमास्टरलाई पनि त्यस्तै भएको थियो । एउटा अँध्यारो कटेरामा उनको अफिस थियो, छेवैमा जलकुम्भीले भरिएको पोखरी थियो र पोखरीको वरिपरि जङ्गल थियो । कोठीका कर-असुल्ने जति कर्मचारीहरू थिए उनीहरूको एक त फुर्सत पनि हुँदैनथ्यो र उनीहरूको यी भलाद्मीसँगको मेलमिलाप पनि उपयुक्त थिएन ।

त्यैमाथि कोलकाताका केटाहरू राम्ररी घुलमिल हुन जान्दैनन् । नौलो ठाउँमा गए भने कि त रुखा हुन्छन्, नभए अलमलिइरहन्छन् । त्यसैले स्थानीय मानिसहरूको कोलकत्तेसँग हत्तपत्त मेलमिलाप नै हुँदैन । त्यसैले पोस्टमास्टरको पनि खासै काम छैन । कहिलेकाहीँ एकदुईवटा कविता लेख्‍ने प्रयास गर्छन् । कवितामा यस्ता भाव व्यक्त गर्छन् – दिनभरि रुखका पालुवाका कम्पनहरू र बादल हेरेर जीवन सुखसँग बिताउन सकिन्छ – तर प्रभुलाई थाहा छ, यदि अरबी उपन्यासको कुनै दैत्य आएर एक रातमै सबै रूखहरू काटेर त्यहाँ पक्की बाटो बनाइदियो र लहरका लहर अट्टालिकाहरूले आकाशका बादलहरूलाई दृष्टिपथबाट छेकिदियो भने मात्रै यी अधमरा भद्रमान्छेले पुनः नवजीवन प्राप्त गर्ने थिए ।

पोस्टमास्टरको वेतन अति सामान्य थियो । आफैँ पकाएर खानुपर्ने बाध्यता र गाउँकी एउटी पितामाताविहीन अनाथ बालिकाले उनको काम सघाएवापत साँझविहान अलिकति खान पाउँथिन् । बालिकाको नाम थियो ‘रतन’ र उमेर त्यस्तै बाह्र-तेह्र को । विवाहको खासै सम्भावना थिएन।

जब साँझमा गाउँका गाईगोठहरूबाट धुवाँ लठारिँदै उँभो उड्थ्यो, झाडीझाडीमा फट्याङ्ग्राहरू कराउन थाल्थे । गाउँमा टाढाबाट नशाखोर बहुलाहरूको दल खैँजडी बजाउँदै उच्चस्वरमा गाउँदै हिँड्न थाल्थे । जब अँध्यारो सिकुवामा बसेर वृक्षका पातहरूको तरङ्ग देख्दा कवि हृदयमा अलिअलि कम्पन पैदा हुन्थ्यो तब कोठाका कुनामा पातलो बाती भएको दियो सल्काएर पोस्टमास्टर बोलाउँथे – ‘रतन’ ! रतन यही बोलावटको प्रतीक्षामा ढोका छेउमा हुन्थी तर एउटै बोलावटमा जान्नथी, भन्थी- ‘के भयो बाबू, किन बोलाएको ?’

पोस्टमास्टर- ‘त“ के गर्दै छेस् ?’

रतन – ‘अब चुलो सल्काउन जानु छ भान्सामा।’

पोस्टमास्टर- ‘तेरो भान्साको काम भरे गर्नु, एकपल्ट मलाई तमाखु मिलाई दे त ।’

तुरुन्तै गाला फुलाउँदै हुक्काको बटुकी फुक्दै रतन प्रवेश गर्थी कोठामा । रतनका हातबाट बटुकी लिएर सोधिहाल्थे पोस्टमास्टर- ‘भन् त रतन ! आमा सम्झन्छेस् ?’ यस्ता कुराहरू त धेरै छन् । कतिपय सम्झनामा छन् कतिपय छैनन् रतनलाई । उसलाई आमाले भन्दा धेरै बाबुले माया गर्थे । बाबुलाई अलिअलि सम्झन्छे । दिनभरि परिश्रम गरेर बाबु बेलुका घर फर्किन्थे । तिनै बेलुकीहरू मध्येबाट एकदुईवटा बेलुकीहरू रतनका मानसपटमा स्पस्ट चित्रजस्तै अङ्‌कित छन् । यस्ता कुराहरू गर्दागर्दै रतन पोस्टमास्टरका गोडा नजिकै भुइँमा बस्थी । फेरि ऊ विगत सम्झन्थी- उसको एउटा भाइ थियो । धेरै पहिले बर्षको एक दिन थियो । भाँच्चिएको रूखको हाँगालाई माछा मार्ने डन्डी बनाएर ख्यालख्यालमा माछा मार्ने खेल खेलेका थिए, एउटा पोखरीका किनारमा । अरू महत्त्वपूर्ण घटनाहरू भन्दा पनि बढी उसलाई यही घटना याद आउँथ्यो । यस्तै खालका कुरामा कोहीबेला धेरै राती हुन्थ्यो र अल्छी लागेर पोस्टमास्टरलाई खाना बनाउन जाँगर चल्दैनथ्यो । बिहानको केही खानेकुरा बासी रहन्थ्यो र त्यसमाथि रतनले फटाफट आगो सल्काएर एकै छिनमा दुईचारवटा रोटी सेकेर ल्याउँथी, त्यतिमै बेलुकाको खाना टर्थ्यो ।

प्रत्येक दिन बेलुका त्यो ठूलो कटेराको कुनामा अफिसको काठको कुर्सी बसेर पोस्टमास्टर पनि आफ्ना भाइ, आमा र दिदीको कुरा सोच्दथे । प्रवासमा एक्लै बसेर जसका लागि हृदय व्यथित हुन्छ तिनीहरूलाई सम्झन्थे । यी सब कुरा त सधैँ मनमा आइरहन्छन् तर कुनै हालतमा पनि नीलो कोठीका कर्मचारीलाई त भन्ने कुरा भएन । त्यसैले एउटी सानी अशिक्षिता बालिकालाई सुनाउँदै जान्थे र उसलाई सुनाउँदा केही नराम्रो वा अस्वाभाविक लाग्दैन थियो । अन्त्यमा त यस्तो पनि भयो कि आफ्ना घरका मान्छेलाई पनि बालिकाले दाजु वा दिदी भनेर चिरपरिचितजस्तै उल्लेख गर्न थाली । यतिमात्र हो र ! बालिकाले आफ्नो सानो हृदयमा उनीहरूको काल्पनिक रूपरेखा पनि खिचिसकेकी थिई ।

एक दिन बर्षाकालको आकाश बादलविहीन थियो । न्यानो सुकोमल बतास चलिरहेको थियो । सूर्यका किरणले भिजेका घाँस र पातहरूबाट एकप्रकारको मीठो सुगन्ध उठिरहेको थियो । मनमा लाग्थ्यो- मानौँ क्लान्त धरणीको उष्ण निश्वास आएर जीउमा स्पर्श गर्दै छ एवम् कहीँ कतैको हठी पंक्षी उसको एउटा एकलकाँटे, अत्यन्त करुण स्वरमा दिनभरि प्रकृतिको दरवारमा नालिस गर्दै छ । पोस्टमास्टरको केही काम थिएन र त्यस दिनको बर्षाले पखालिएका सपाट र चिल्ला पालुवाहरूको तरङ्ग अनि पराजित बर्षाको भग्नावशेषका रूपमा सूर्यका किरणहरूले उज्यालिएका बादलका तहहरू वास्तवमै हेर्न लायकका थिए । पोस्टमास्टर यी सबै हेर्दै सोच्दै थिए यस्तो समयमा एकजना नितान्त आफ्नो मान्छे छेउमा भइदिए, एकान्तबासमा हृदयसहित स्नेहपुतली मानवमूर्ति । फेरि मनमा लाग्यो त्यो पंक्षीले यही कुरो बारम्बार दोहोर्याइरहेको छ र यो जनहीन रूखको छायामा मस्त मध्यान्हका पातहरूको सरसराहट पनि यस्तै भन्न खोजिरहेछ । कसैले विश्वास गर्दैनन्, जान्न पनि सक्दैनन् । सानो गाउँको सामान्य वेतनभोगी साहेव पोस्टमास्टरका मनमा लामो छुट्टीको गहिरो निस्तब्ध मध्यान्हमा यस्तो एउटा भावको जन्म हुन्छ भनेर ।

पोस्टमास्टरले लामो सास फ्याँकेर बोलाए ‘रतन’ । रतन त्यस बेला अम्बकको बोटका फेदमा गोडा फैलाएर काँचा अम्बक खाँदै थिइ, मालिकको कण्ठस्वर सुनेर तुरुन्तै आई र स्याँ-स्याँ, फ्याँ-फ्याँ गर्दै भनी- ‘दादाबाबू बोलाउनु भएको -‘ पोस्टमास्टरले भने ‘तँलाई म अलिअलि गर्दै पढ्न सिकाउँछु ।’ त्यसपछि दिनभरि उसलाई लिएर ‘अ’ ‘आ’ रटाउन लागे । एवम् रूपले केही दिनमैं सयुँक्ताक्षर पनि सिकाए ।

साउनको महिना, बर्षा अन्त्य हुने छाँट छैन । खाल्डाखुल्डी, नाला सबै पानीले भरिएका छन् । रातदिन भ्यागुताको हल्ला र वृष्टिको आवाज । गाउँका बाटाहरूमा आवतजावत प्राय बन्द छ । हाट जान पनि नाउमा चढ्नुपर्ने बेला छ ।

एक दिन सवेरैदेखि मेघाछन्न थियो । पोस्टमास्टरकी छात्रा धेरैबेरदेखि दैलामा कुरेर बसिरहेकी थिई तर अरू दिनको जस्तो समयमै बोलावट नआएपछि आफैँ झोलामा किताब लिएर बिस्तारैबिस्तारै कोठाभित्र पसि । पोस्टमास्टरलाई खटियामा सुतेको देखेर विश्राम गरेको जस्तो लाग्यो उसलाई र बाहिर किस्कने उपक्रम गर्न लागी । अचानक सुनी ‘रतन !’ तुरुन्तै फर्केर गएर सोधी ‘दादाबाबू, सुत्‍नुभाथ्यो ?’ पोस्टमास्टरले काँतर स्वरले भने ‘बिसन्च भएजस्तो छ मलाई त- मेरा निधारमा हात राखी हेर् त ।’

यो नितान्त एक्लो प्रवासमा, घनघोर बर्षामा रोगी शरीरले केही सेवाको आस गर्दछ । रन्केको निधारमा साखा लगाएको कोमल हातको स्पर्श अनुभव भयो । यो भयानक प्रवासमा रोग लागेका बेला स्नेहमयी नारीरूपमा जननी वा दिदी छेउमा बस्नुभएको छ भन्ने कल्पना गर्न मन लाग्छ र यो ठाउँमा प्रवासीको अभिलाषा व्यर्थ गएन । बालिका रतन अब बालिका रहिन । तत्क्षण उसले जननीको रूप धारण गरी । वैद्य बोलाएर ल्याई । हरसम्भव चक्कीहरू खुवाई र रातभरि सिरानेछेउमा जागै बसी । आफैँ खाना पकाइदिई र सयौँपल्ट सोधी ‘हजुर दादाबाबू ! केही सन्च भयो कि ?’

धेरै दिनपछि पोस्टमास्टरले झिनो शरीरले नै भए पनि रोग शय्या त्याग गरे र निश्चय गरे- अहँ अब हुन्न, अब यहाँबाट कुनै हालतमा सरुवा नलिई हुन्न । स्थानीय रोगव्याधिको कारण देखाई तुरुन्तै उनले कोलकातामा रहेका हाकिमहरूलाई छिटै सरुवाको निम्ति निवेदन लेखे ।

रोगीको सेवाबाट मुक्त भएर रतनले फेरि दैलो बाहिरको स्वस्थान ग्रहण गरी । तर पहिलेको जस्तो उसलाई बोलावट हुँदैन । बेलाबेलामा ऊ चियाएर हेर्छे र देख्छे पोस्टमास्टर बाबू अत्यन्त अन्यमनस्क भावले कुर्सी बसेका वा खटियामा सुतेका छन्। रतन जसरी बोलावटको आशामा दैलो बाहिर बस्थी, उनी त्यसै गरी अधीर भएर निवेदनको प्रतीक्षा गर्दथे । बालिकाले बाहिर बसेर हजारौँ पल्ट पहिले पढेका पाठहरू पढी । पछि जुन दिन बोलावट हुन्छ त्यसबेला संयुक्त अक्षर सब गडबड हुन्छ भन्ने एउटा आशङ्का थियो उसलाई । अन्त्यमा एकहप्ता जति पछि एक दिन बेलुका बोलावट आयो । उद्वेलित हृदय लिएर रतन कोठाभित्र प्रवेश गरेर भनी – ‘दादाबाबू ! मलाई बोलाउनु भएको हो ?’ पोस्टमास्टरले भने- ‘रतन ! भोलि म जाँदै छु ।’

रतन ‘कहाँ जाने दादाबाबू ?’

पोस्टमास्टर ‘घर जाँदै छु ।’

रतन ‘फेरि कहिले आउने ?’

पोस्टमास्टर ‘फेरि त आउदिनँ ।’

रतनले फेरि कुनै कुरा सोधिन । पोस्टमास्टरले आफैँले आफ्नो सरुवाको लागि निवेदन दिएका र स्वीकृत नभएकाले जागिर छाडेर जान लागेको बताएका थिए । धेरैबेरसम्म कसैले केही कुरा गरेन । कोठाको कुनामा दियो टिमटिमाउन लाग्यो र घरको जीर्ण छतबाट पानी चुहिएर माटाको बिर्कामा तप्तप् झरिरह्यो ।

केहीछिनपछि रतन बिस्तारै उठेर भान्साघरमा रोटी पकाउन हिँडी । अरूदिनको जस्तो उत्साह भएन । बीच-बीचमा दिमागमा नानाथरीका भावहरू उर्लिरहेका छन् । पोस्टमास्टरले आहार सिध्याएपछि बालिकाले प्रश्न गरी – ‘दादाबाबू मलाई तपाईँको घर लिएर जानुहुन्छ ?’

पोस्टमास्टरले हाँस्दै भने ‘यो कसरी हुन्छ र ?’ लिएर जान सम्भव छैन भन्ने कुरो बालिकालाई बुझाउन आवश्यक ठानेनन् ।

रातभरि विपना र सपनामा बालिकाको कानमा पोस्टमास्टरको हास्यध्वनि गुञ्जिरहेको थियो ‘यो कसरी हुन्छ र ?’

बिहानै उठेर पोस्टमास्टरले देखे, उनको नुहाउने पानी ठीक छ, कोलकाताकै बानीअनुसार उनी बासी पानीले नुहाउने गर्थे ।

कति बेला यात्रा गर्नुहुन्छ भनेर बालिकाले सोध्न सकेकी थिइन । बिहानै चाहिन्छ भनेर त्यति राती नदीबाट पानी बोकेर ल्याएकी थिई । नुहाइसकेपछि रतनलाई बोलावट भयो । रतन चुपचाप भित्र पसी र मालिकका मुखतिर आदेशको प्रतीक्षामा हेर्न थाली । मालिकले भने ‘रतन ! मेरो ठाउँमा जो सज्जन आउनुहुन्छ म वहाँलाई भनेर जाउँला, वहाँले मेरै जस्तो हेरचाह गर्नुहुन्छ, म जाँदै छु भनेर तैँले सुर्ता गर्नुपर्दैन ।’ यी कुराहरू स्नेही हृदयबाट उब्जेका हुन् भन्ने कुरामा त सन्देह छैन तर नारीहृदयले के बुझ्छ र ? रतनले मालिकका धरै तिरस्कारहरू चुपचाप सहेकी थिई तर यो स्नेहको नरम कुरो उसले सहन सकिन । उद्वेलित हृदयबाट रुँदै भनी- ‘नाईँ-नाईँ, तपाईँले कसैलाई केही भन्नुपर्दैन म यहाँ बस्न चाहन्नँ ।

पोस्टमास्टरले रतनको यस्तो व्यवहार कहिल्यै देखेका थिएनन्, त्यसैले अवाक भएर हेरिरहे ।

नयाँ पोस्टमास्टरको आगमन भयो । सम्पूर्ण चार्जहरू नयाँ पोस्टमास्टरलाई जिम्मा लगाएर पुराना पोस्टमास्टर हिँड्ने तयारीमा लागे । जाने बेलामा रतनलाई बोलाएर भने- ‘रतन ! तँलाई मैले कहिल्यै केही दिन सकिनँ । आज जाने बेलामा केही दिएर जाँदै छु , यसले तेरो थुप्रै दिन काम चल्छ ।’

बाटोखर्च छाडेर जति रुपैया वेतन पाएका थिए, त्यो गोजीबाट पोस्टमास्टरले झिके । त्यसै बेला उनका धूलमिश्रति गोडा समातेर रतनले भनी- ‘दादाबाबू, तपाईँका दुईपाउ पर्छु मलाई केही दिनुपर्दैन, र मेरा लागि केही सोच्नुपर्दैन ।’ यति भनेर रतन एकै दौडमा त्यहाँबाट भागी ।

भूतपूर्व पोस्टमास्टरले लामो सास फेरे, हातमा कार्पेटको झोला लिएर, काँधमा छाता भिरेर, कुल्लीका टाउकामा नीलो र सेतो रङले रङ्गाएको टिनको बाकस हालिदिएर बिस्तारै नौकातिर बढे ।

जब नौकामा उनी चढे अनि नौका अगाडि बढ्यो । यस्तो लाग्यो- मानौ बर्षाबाट बिस्तारित नदी धरणीका छचल्किएका आँसुका रूपमा चारैतिर छलछल पोखिएकी छन् । उनले हृदयको माझमा ठूलो वेदनाको अनुभव गरे । एउटी सामान्य गाउँकी बालिकाको मुखको चित्रले एउटा विश्वव्यापी अव्यक्त मर्म व्यक्त गर्न लागेको भान भयो । एकपल्ट साहै्र मन लाग्यो ‘फर्केर जाऊँ जगत्की काखविहीन त्यो अनाथलाई सँगै लिएर आऊँ।’ तर त्यस बेला नौकाले बतास भेटिरहेको छ, बर्षाको श्रोत अत्यन्त तेज गतिमा बगेको छ, गाउँ काटिसकेर नदी किनारको घाट देखिएको छ- र नदी प्रवाहमा बग्दै गरेको पथिकका हृदयमा यस्तो भाव पलाएको छ- जीवनमा यस्ता कति विछोड छन्, कति मृत्यु छन्, फर्केर के फाइदा – पृथ्वीमा को कसको हो र ?

तर रतनका मनमा कुनै सत्यको उदय भएन । ऊ त्यही पोस्टअफिसको चारैतिर आँखाभरि आँसुमात्र लिएर घुमिरही । लाग्छ- उसको मनमा झिनो आशा दादाबाबू फर्केर आउँछन् भन्ने पलाएको थियो र ऊ त्यो बन्धनबाट केही गरी बाहिर निस्कन सकिरहेकी थिइन ।

हाय बुद्धिहीन मानव मन ! भ्रान्ति केही गरे पनि हट्दैन । तर्कशास्त्रका विधान धेरै ढिलो मात्र मस्तिष्कमा घुस्छन् । प्रत्यक्ष प्रमाणलाई समेत अविश्वास गरेर झूठो आशालाई दुई हातको अँगालामा बाँधेर छातीभित्र हदयसित टाँसेर राख्छ । अन्त्यमा समस्त धमनी काटिएर हृदयको रगत सुकेर भ्रान्ति पलायन गर्छ र चेतना फिर्छ तर तत्क्षण दोस्रो भ्रान्ति पाल्नलाई त्यही मन व्याकुल हुन्छ ।

मूल बङ्गालीबाट अनुवाद – कुमुद अधिकारी
२०६१ मङ्सिर १५

(स्रोत : Kumud Adhikari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *