यात्रा संस्मरण : परिचित बाटोको अप्ठ्यारो यात्रा

~सुनील न्यौपाने~

कुरो २०५८ सालको हो । मैले बिराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउन थालेको दुइ बर्ष टेक्दै थियो । त्यतिबेला सम्भवतः क्याम्पसकै सबैभन्दा कान्छो माष्टर थिएँ म । भनिन्छ नी ‘नयाँ जोगीले धेरै खरानी घस्छ ।’ ठ्याक्कै त्यतिबेला आफूमा पनि निक्कै फूर्ति अनुभव हुन्थ्यो । तर ‘फुच्चे’ नै ठानेर होला बुढाहरुले भनें उति साह्रो गन्दैनथे । छालाको ज्याकेट लगाएर पढाउन गयो ‘अव यो सुहाउँदैन छोड्’ भन्छन्, चोकमा उभिएर खाजा खायो ‘तैले अब यसो गर्न मिल्छ -‘ भनेर बुढाहरु पाइला पाइलामा चियोचर्चो गरिरहन्थे र अर्ति उपदेश दिइरहन्थे । बिद्यार्थीसँगको हेलमेल त झन पटक्कै रुचाउँदैनथे बुढाहरु ।

चियोचर्चो र खटनपटन त छँदैथियो बुढाहरुको प्राप्त अवसरमा पनि हामीजस्ता नवप्रवेशीहरुलाई ढिम्किनै नदिने । क्याम्पसमा पढाउनेका लागि परिक्षामा केन्द्राध्यक्ष र निरीक्षक भएर जान पाउनु दशैं आउनु जस्तै हो । त्यसैले त्यसका लागि बुढाहरु बीच नै ठूलो हानाथाप चल्थ्यो । को सबैभन्दा लामो परीक्षामा जान पायो ? कसले सबैभन्दा सुगम ठाउँ हात लायो र कसले घरमा बसी बसी भत्ता पचायो ? परीक्षा हुनु केहि अघि, चलिरहँदा र परीक्षा सकिएपछि हाम्रा गुरुहरु बीच चल्ने खासखुस यसैको सेरोफेरोमा हुन्थे । हामीजस्ताले केन्द्राध्यक्ष त परको कुरा निरीक्षक पनि नताके हुन्थ्यो । बुढाहरुले हामीलाई छेउनै पर्न नदिने, किनकी त्यो भनेको बर्षा एकदुइ पटक आउने कमाउ काम थियो बिश्वबिद्यालयका माष्टरहरुका लागि ।

२०५८ सालको माघ महिना । एउटा रोमाञ्चक खवर लिएर आयो । परीक्षा शाखाका प्रमख हेमराज भण्डारीसँग मेरो अलिक हिमचिम नै थियो । व्यवहारका सरल हेमराज सर युवा माष्टरप्रति अलिक बिशेष नै लगाव पनि राख्थे । क्याम्पसको छतमा दिउँसोको पारिलो घाम ताप्दै चिया खाँदै गर्दा उनले अकस्मात सोधे “हैन सर यसपाली परीक्षामा निरीक्षक भएर जाने हो ?” धेरैले मरिहत्ते गरेर पाउने कुरा मेरा लागि सित्तैमा प्राप्त हुँदै थियो, किन नाइनास्ती गर्थें र ? त्यसैले त्यहि अकस्मात प्राप्त अवसरको फेर समात्दै म एक जना सहयोगी लिएर त्यसको तीन दिनपछि नै प्रश्नपत्र बोकेर हान्निएँ कहिल्यै पाइला नटेकेको खोटाङ जिल्लातिर ।

पहिलो दिनको बास थियो उदयपुरमा । बेलैमा उदयपुर पुगेका हामी बोक्से भन्ने ठाउँमा एउटा सानो होटलमा बास बस्यौं । पहाडी जिल्लाको यात्राको एउटा साह्रै सुन्दर पक्ष हुन्छ, बाटैमा साथी भेटिन्छन्, पर्दा सरसहयोग गर्छन् र जानिएन भनें तिनैले ठगेर हत्तु हैरान बनाउँछन् । नभन्दै मेरा लागि सहयोगीका रुपमा क्याम्पसले पर्ठाईदिएका पिएन दाईकै एकजना मामा भेटिए बास बस्ने ठाउँमा । खोटाङमा एउटा सरकारी बिद्यालयमा पढाउने उनी उदयपुर खोटाङ आउजाउ गरिरहँदा रहेछन् र उनी त्यो बाटोका पात पात जान्दा रहेछन् । त्यसैले पहिलो रातको बासमै ढुक्कले श्वास फेर्न पाइयो ।

भोलीपल्ट भुइँमा उज्यालो खस्नु अघि नै झाँगल झुँगल पारेर उठाए । बाहिर अँध्यारै थियो । टर्च लाइट बालेर मसिना ढिँगा, गिट्टीमा झरप झरप जुत्ता बजाउँदै बाटो लागियो । मनमा कता कता निक्कै रमाइलो पनि लाग्यो, किनकी यसरी एकाबिहानै पहाडी बाटो म जीवनका कहिल्यै हिंडेकै थिइन ।

रिमरिम उज्यालो हुँदा हामी केहि माथी एउटा खोला किनारमा पुग्यौं । ओहो बिहानी चिसोलाई छिचोल्दै मधुरो प्रकाश सहित घामले पनि स्वागत गर्यो, मानौं उ हामीलाई नै पर्खिरहेको थियो । खोला किनारमै टुक्रुक्क बसेर पिएको त्यो तात्तातो चिया कम स्वादिलो लागेन ।

यात्रा न हो, अघिल्लो साँझ एकजना यात्री भेटेर देउता भेटेजस्तै भाथ्यो । आज खोला किनारको त्यो मान्द्रे पसलमा चैं एउटा झ्याउलो आइलाग्यो हामीलाई । एकाबिहानै रक्सीले मातेका एक जना व्यक्ति अपहत्ते गरेर हाम्रै टोलीसँग लिसो झैं टास्सिन आइपुगे । खोटाङको सदरमुकाम दित्तेल बजारकै एक होटलवाला रहेछन तिनी । हामीले आघिल्लो साँझ भेटेका शिक्षकका चिनारु रहेछन् र उनी साथ लागिहाले ।

पहाडको हिंर्डाई त्यो पनि हिंड्न बानी परेकाहरुसँग साह्रै गाह्रो । उनीहरु बाख्राको तालमा उफि्रहाल्ने आफुलाई उकालोले स्याँ स्याँ पार्न थालिहाल्यो । लगातार ३,४ घण्टा एकछिन सुस्ताउन पनि नदिई हिंडाइरहे उनीहरुले ।

हाम्रो नेपाली समाज पनि अचम्मकै छ । बाटोमा हिंड्दै जाँदा जो भटियो, गन्तव्य मिल्यो भनें साथ लागिहाल्ने । हो त्यसरी नै त्यो ३, ४ घण्टाको बीचमा झण्डै ७, ८ जनाको टोली भइसकेको थियो हाम्रो । तल खोला किनारमा किनेको काँक्रो र अम्वा टोक्दै हामीले बाटो छिचोलिरह्यौं ।

आकाशमा मज्जाले घाम लागिरहेको छ । त्यसैले बिहान लाएका बाक्ला लुगा फुकालेर झोलामा कोचकाच पारेर हिंड्दैथ्यौं । घामले मज्जाले सेकिरहेकै थियो । अकस्मात कालो बादल मडारिन थाल्यो । सँगैका साथीहरु ओत लाग्ने ठाउँमा पुग्न हतारिन थाले । आफुलाई आफ्नै जीउ भारी हुन थालिसकेको थियो । मुलसधारे पानीले चुट्यो है बीच बाटोमै । न कतै ओत लाग्ने ठाउँ छ न पानी रोकिने छाँट । आफुलाई ज्यान भिजेकोमा भन्दा धेरै चिन्ता छ प्रश्नपत्रको । धन्न ति मेरा सहयोगीले दुइ-चारवटा प्लाष्टिकका झोला च्यातचुत पारेर झोला छोपछाप पारेर त्यो खड्गो टारे ।

बल्ल तल्ल एउटा सानो गाउँमा पुगियो । केहि लड्नै आँटेका झैं लाग्ने घरहरु बाटोमै घोप्टो परेर लडौंला झैं गर्दै जसोतसो उभिएका थिए । एउटा घरमा सानो चिया पसल रहेछ । त्यंहि चिया खाँदै जीउका लुगा सुकाएर फेरी यात्रा सुरु भयो ।

अव साथीहरुले हाम्रो गति बुझिसकेका थिए । त्यसैले हामीलाई “बिस्तारै आउनु, हामी अगाडी भात पकाउन लाउँदै गर्र्छौ” भन्दै उनीहरुले हिंर्डाईको गति बढाए । हामी तीनजना बिस्तारै उकालो, तेर्सो र ओरालो बाटो काटिरह्यौं ।

झण्डै दुइ घण्टाको हिंर्डाई पछि बल्ल भात खाने ठाउँमा पुगियो । एउटा सानो बस्ती रहेछ । तीन चारवटा घर थिए । केहि भरिया ढाकर बिसाएर बिजुली पानीले इन्जिन तताउँदै थिए भनें हाम्रा साथीहरु भात खाएर हामीलाई नै पर्खिदै रहेछन् । गलेर लखतरान परेको बेलामा मगमग बास्ना आइरहेको गुन्द्रुक र ढुँगा मिसिएको चामलको भात नचवाई खुपुखुपु निल्यौं हामीले पनि ।

अव त केहि बेर सुस्ताउन पाइएला भन्ने आशामा सिधै तुषारापात गरिदिए तिनै शिक्षकले । “यहि ताल हो भनें त भरे बास बस्ने ठाउँमा पुगिन्न, लौ उठिहालौं त” यति भन्न नभ्याउँदै उनी झोला बोकेर बाटो लागिहाले । भनिन्छ ‘भेडाबाख्रा खेद्नु पछि लागेर मान्छे खेद्नु अघि लागेर ।’ हो उनले पनि हामीलाई त्यसरी नै खेदो लाईहाले ।

कहिले दुधकोशी खोलाको किनारै किनार त कहिले भीरको चेपै चेपको बाटो हुँदै, कहिले सिठ्ठ्ी बजाउँदै त कहिले आफुले जानेका दुइचार टुक्रा गीत गाउँदै हामी दिनभरी हिंडिरह्यौं । बाटामा भेटिने धारामा पातको सोली बनाउँदै पानी खाँदै अनी बाटामा आक्कल झुक्कल भेटिने महिलालाई यसो तेर्सोतेर्सो ढंगमा जिस्क्याउँदै हाम्रो टोली झमक्क साँझ पर्दा रवुवाघाट उत्रियो बास माग्दै ।

“लु आज साह्रै थाकिएको छ, भालेको झोल र भात खाने हो” तिनै रक्स्याहा दाइले निर्णय सुनाए । उनीसँग फुट्टो कौडि दाम थिएन । भएको दुइचार रुपैंयाको पनि एक दुइ गिलास बिजुली पानी हाम्रो आँखा छलेर उनले बाटैमा चढाइसकेका थिए । अव बिजुली पानी खाए बाटाको खर्च नतिर्ने भनेर खतिवडा सरले धम्क्याए पछि उनी अलिक डराएका थिए । त्यसैले उनको खर्च हामीले नै दामासाही रुपमा व्यहोर्नुपर्ने थियो । तर उनी बेफिक्री थिए, अर्डर ठोकिहाले तुरन्तै भाले ल्याउने, काट्ने र त्यसलाई पीरो झोलमा परिणत गर्ने काम सम्पन्न भईहाल्यो । भात खाइसकेर माथील्लो तलामा सुत्न चढ्दा रात छिप्पिईसकेको थियो ।

पहाडी बाटोमा हिंड्दाको एउटा नमिठो कुरा बिहान सुत्नै दिन्नन् । उज्यालो हुनै नदिइ फेरी बाटो लाईहाले । हिजो दुधकोशीलाई दाहिने पार्दै आएका हामी अव त्यसलाई देवे्र पार्दै केहि माथी पुगेर पूर्व उत्तर हान्नियौं । बिहानी खानाका लागि हामीलाई पुग्नुथियो रेग्मिटार । बाटामा भेटिएका उखु खाँदै हामी बिहान १० नबज्दै रेग्मिटारको एक गाउँले होटलमा भात खान बसिसकेका थियौं । “अव सुरु हुन्छ है अक्करे बाटो, सर त हिंड्नु हुँदो रैछ, मामाका चैं बोसो यतै छोडे मात्रै माथी पुगिएला” खतिवडा सरले सुरुमै सातो खाए ।

कहिले ‘बर्षौं पहिले गोरु जोत्न जाँदा गोरु लडेर मरेकाहरु’ का कथा हाल्दै त कहिले ‘पानी खान नपाएर बर्साई सरेका बुढाबुढीका दुःखका कुरा’ सुनाउँदै तिनै शिक्षकले बाटो सजिलो बनाइरहे । हो, यात्रामा त्यस्ता मान्छे हुनुको स्वादै बेग्लै । नत्र जता हेरे नी ढुँगा मात्रै देखिने पहाड र जंगलबाट झ्वास्सै तर्सने गरी निस्किने गोठालाले हाम्रो सातो नै खान्थे होला । त्यसैले खतिवडा सर बोक्सेमा भेटिनु हाम्रा लागि ठूलो भरथेग भएको थियो ।

“लौ आयो है ज्यानमारा उकालो अव तीनचार घण्टा पानी पनि खान पाइन्न” अघिल्तीर लम्पसार परेर सुतेको एउटा अजंगको पहाडलाई चोर औलाले देखाउँदै खतिवडा सरले भने । मेरी बास्सै त्यसको टुप्पो त कतै देखिन्न । आँखाले भ्याउञ्जेल सुलुत्त सुतेको पहाड मात्रै पो छ । बल्ल मेरो चेत खुल्यो मलाई किन हेमराज सरले त्यति माया गरेर यहाँ पठाएका रहेछन् भनेर । यस्तो हैरानी खेप्न को आउँथ्यो र त्यो पनि संकटकाल लागेका बेलामा ।

अव कुनै उपाय थिएन । टन्न पेटभरी पानी खाएर एकछिन सुस्तापछि सुरु भयो त्यो ‘घनघस्या’को उकालो । जति उक्लिए पनि कहिल्यै टुप्पो नदेखिने त्यो टाकुरो छिचोल्न हामीलाई मुस्कीलै पर्यो । बल्लतल्ल झण्डै तीन घण्टापछि हामी त्यो ज्यानमारा पहाडको टाकुरोमा बनाएको एउटा फलैंचामा सुस्ताउँदै थियौं । आहा, हामी नेपालीको एउटा साह्रै लोभलाग्दो, सुन्दर पुरानो संस्कार यस्तो ठाउँमा धारो र चौतारो बनाईदिने । धारोबाट पेटभरी चिसो पानी कलकल खाएर एकछिन चौतारोमा सुस्ताउन पाउँदा त्यो धारो र चौतारो बनाउनेको मंगल होस् भनेर मनमनै चिताएँ ।

तर यात्रा अझै कहाँ सकिएको छ र ? अझै दित्तेल पुग्न केहि घण्टा बाँकी नै छ । साँझ पर्नै लागिसक्यो । संकटकालको बेला । “बाटामा सुरक्षाकर्मीसँग जम्काभेट भएमा एकै गाँस पार्न बेर लाउन्नन् लौ छिटो हिडौं है” भन्दै हिंड्न सक्नेहरु फटाफट अघि लागेपछि हामी पनि डरले उनीहरुलाई नछोडी लम्कीरह्यौं । मसँग गएका मेरा सहयोगी अलिक मोटा थिए । हिंड्न नसकेर उनको बिजोग भएको थियो । मेरो झोला र प्रश्नपत्र समेत बोक्न भनेर गएका उनलाई आफ्नै झोला बोक्न समेत धौ धौ परिरहेको थियो । तैपनि मान्छेलाई ज्यानको डर न हो, उनी पनि दौडिरहेकै चालमा थिए ।

खानीडाँडा बिमानस्थल बनाउन छुट्याएको ठाउँबाट केहि अघि पुग्दै साँझले हामीलाई छोपिहाल्यो । साथीहरु आत्तिन थाले अव के गर्ने भनेर । केहि अघि पुगेपछि एउटा प्रहरी चौकी रहेछ । निक्कै वरैबाट साथीहरुले जनाउ दिए । प्रहरीले ‘एकजना आईज’ भनेपछि तिनै खतिवडा सर अघि बढे र उनले बेलिबिस्तार लाए । उनले हामी परिक्षाका लागि आएको भनेपछि प्रहरी केहि नरम भयो र हामीलाई जाने अनुमति दियो । त्यहाँबाट उम्केपछि पनि अझै आधा घण्टाजतिको बाटो बाँकी नै थियो । प्रहरीले हामी अगाडी खवर गरिदिन्छौं नडर्राई जानु भनेपछि बल्ल सास आयो । दित्तेलमा तिनै रक्सी खाने होटलवाला दाईको होटलमा हामी फतक्क गलेको ज्यान बिसाउन पुग्दा रातको १० बजिसकेको थियो ।

काठमाडौं, १ डिसेम्बर

(स्रोत : Nepalipost.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.