अनूदित कथा : टुटी झरेको कित्ली

~सन्तोष गोयल~
अनुवाद : कुमुद अधिकारी

आज बिहान नास्ताको टेबलमा नै उनी कुरा गर्न चाहन्थिन् यद्यपि उनका मनमा रातभरि सैयौँ काँढाहरू बिझिरहे। अनेक लामालामा ठूला क्याक्टसहरू सरसराइरहे। उनले कोल्टे फेरिरहिन्।
वास्तवमा हिजो पूरै दिन साह्रै थकाउने साबित भएको थियो। हिजो नववर्षको पूर्वसन्ध्या थियो। जति कोसिस गर्दा पनि आफ्नो दैनिक रुटिन छाड्ने मोह उनी त्याग्न सक्तिनन् यद्यपि थाकेर चूर भएपछि अर्कोपल्ट घरमा पार्टी नराख्‍ने अठोट गर्थिन्। तर अक्टुबरमा दिल्लीमा दीपावलीको हङ्गामा सकिएपछि दिक्कलाग्दा दिनहरू बिताउँदा-बिताउँदैkumud Adhikari_1 नववर्षमा उनी फेरि कम्मर कसेर तयार हुन्थिन्। तर नतिजा त त्यही हुन्थ्यो …… छोराछोरी आफ्नै संसारमा व्यस्त रहने र भान्सा अनि सजावटका सारा कामहरू उनले एक्लै गर्नुपर्थ्यो। अशोकले अलिकति मद्दत गर्नुहुन्थ्यो, तर जति भनियो त्यति नै ….. तरै पनि उनले हिजोको पार्टी राम्ररी इन्ज्वाय गरिन् किनकि छोराछोरीहरू साह्रै खुसी थिए।

रातभरि उनले कुरा गर्ने योजना बनाएकी थिइन् जसका लागि थुप्रै साहस जुटाउन आवश्यक थियो र जसलाई सबैका समक्ष राख्‍न राम्रो मौका पनि चाहिन्थ्यो र त्यो आजै मात्र सम्भव थियो। जनवरी प्रारम्भ हुँदै थियो। जाडो सकिन पाएको छैन पतझड र दिक्कलाग्दो लामो यात्रा सुरु भइहाल्छ। गर्मीका लामा दिन त काट्नै गाह्रो। अढाई महिने लामा छुट्टी ….. यो लामो समय जहिले पनि उनलाई टाउकामाथि झुन्डिएको तरबारझैँ लाग्थ्यो र मन कतै बाहिर गएर, रुटिनबाट निस्केर केही गर्न लालायित हुन्थ्यो।

उनलाई सम्झना छ, छोराछोरी सानै छँदा, केटाकेटीजस्तै आतुर भएर छुट्टीको पर्खाइमा बस्थिन्। उनीमात्र नभएर सागर, सुषमा र तनुष सम्म त्यस्तै थिए। कति मजा आउँथ्यो ……. ती दिनमा घरको सामान्य दिनचर्या अर्थात् घरको हेरचाह, सरसफाइ, छोराछोरीको माग पुरा गर्ने काम, स्कुल र कलेजका लागि तयार गर्ने काम, होमवर्क, परीक्षाको तयारी ……….. अनि अरू हरेक खालका व्यस्तताबाट बाहिर निस्कन पाउँथिन्। योजना बनेपछि उनी अनेकौँ नयाँ तथा रमाइला व्यस्तताहरूमा जुटि्थन्। पहिलो प्राथमिकता बजारले पाउँथ्यो। हिल-स्टेसन लाने सबै सामग्री एकत्रित हुने गरी लामो सूची बन्थ्यो, उनी एउटी राम्री गृहिणीका साथै राम्री आमा पनि साबित हुन्थिन् किनमेलका मामलामा। छोराछोरीको प्रशंसाले भरिएको दृष्टि नै उनको जीवनको ठूलो उपलब्धि थियो। आरतीका मनका कागजमा यसरी बिताएका कैयौँ छुट्टीहरूका नक्सा अङ्कित थिए। त्यसबेलाका तस्बिरहरू कागजका टुक्रामात्र नभएर, उनका प्रिय क्षणहरूका थुप्रै यादहरू थिए, खुसीहरू थिए, उज्यालाका पुञ्जहरू थिए र बहँदा नदी थिए जसले मनलाई पनि भिजाउँथे।

आज पनि आरतीले बितेको महिनाको गज्याङ-गुजुङ दिनचर्याबाट निस्कने योजना छोराछोरीसमक्ष राख्‍न चाहिरहेकी थिइन्, तर मौका राम्रै भए पनि मनचाहिँ हिच्किचाइरहेको थियो।

गएका तीन वर्षहरू उनका गलामा अड्किरहेका थिए। ‘तर छोराछोरी त मेरै हुन् …. मैले नै जन्माएका हुन्। मैले दिएकै संस्कार छ तिनमा, अलिकति चोट लाग्नेबित्तिकै मसित लहराझैँ टाँसिन्थे, म नै तिनको सुरक्षा कवच थिएँ, फेरि तिनैसँग कुरा गर्न केको हिच्किचाहट, अप्ठ्यारो?’ आरतीले सोचिन् र कुरा थालिन् तर केको कुरा? आउनेवाला गर्मीको, बतासमा सुक्खापनको, झरेका पातहरूको। यस्तै कुरा गर्दै चिया पिइरहेकी थिइन् छोराछोरी पनि चियासँगै हाँ- हुँ गरिरहे। अशोक सधैँको जस्तो अखबारभित्रै घुसिरहे।

चिया सकिइसकेको थियो। अर्को कप चिया खान मन लागिरहेको थियो। आरती त्यत्तिकै त बिहान दोस्रो कप चिया पिउँदिनथिन् तर एक त जाडाको मौसम फेरि कुरा सुरु गर्न घाँटी पनि त भिजाउनैपर्‍यो नि। चियाको दोस्रो कपले सायद हिम्मत देओस्।

अचम्मै थियो र साँचो पनि, आजकल उनलाई आफ्नै छोराछोरीसँग कुरा गर्न पनि साहस जुटाउनुपर्थ्यो, विशेषतः ती कुराका लागि जुन उनी आफ्ना तरिकाले मनाउन चाहन्थिन्।

भान्सातिर लाग्दा आरती आफ्नै विवशतामा उम्लिन थालेकी थिइन्। चियाको पानी बसाउँदासम्म उनीभित्रको उमाल चरमसीमामा थियो।

छोराछोरी ठूला भए, उनी आफैँ पनि आफ्नो उमेरबाट धेरै टाढा गैसकिन्। बितेका पच्चीस वर्षहरू साह्रै आनन्ददायक नभए पनि नराम्रा पनि भन्न मिल्ने खालका थिएनन्। उनी एउटी कुशल गृहिणी र आमा बनेर बाँचिरहिन् तर अब असन्तोषले उनको तन-मनलाई कुकुरडाइनीको लहराले जस्तै जेल्न थालिसकेको थियो।

आखिर छोराछोरी किन बुझ्दैनन्? कुनै पनि फैसला गर्दा मेरो रुचि-अरूचिको त ध्यानै राख्दैनन्। जहिले पनि मलाई र मेरो विचारलाई नजरअन्दाज गर्छन्। अब ती साना पनि त छैनन्। साना हुँदा सोच्थेँ, ठूला हुनेछन्, सोच्ने क्षमता पनि ठूलै हुनेछ, मानसिकता परिपक्व हुनेछ र बुझ्नेछन्। तर …. कहाँ, छोराछोरी ठूला होलान् र आफूसँग आफ्ना लागि समय उब्रिएला भन्ने कुरा पनि कल्पना मै सीमित रह्यो। छोराछोरीको बढ्दो उमेरसँग उनीहरूको माग पनि बढ्यो र उनीहरूको समय जहिले हतारमै कुदिरह्यो। अनि उनी राम्री आमा हुने सर्तमा पूरा उत्रिने कोसिसमै प्रतिपल जुटिरहिन् र बनी रहिन् राम्री-प्यारी आमा।

चियाको पानी उम्लिन थालिसकेको थियो। त्यसमा चियारङ, चिनी र दूध मिसाउँदा आफ्ना उम्लिनलागेका विचारहरूलाई पनि त्यसैमा मिसाउन थालिन्। “कस्तो विडम्बना, छोराछोरी ममा एउटी राम्री आमा खोज्छन्, अशोक कुशल गृहिणी र मायालु पत्‍नी खोज्नुहुन्छ तर म ….. आफ्ना लागि केही क्षण …… छोराछोरीका मायाका दुई शब्द र कहिलेकाहीँ अशोकको त्यो दृष्टि जसमा मेरा विचारलाई सम्मान गरिएको होस् तर खै ?” चियाका कपहरूमा चिया हालेर ट्रेमा राखेर आरती डाइनिङ टेबलतिर बढिन्। आफ्नो कप उठाएर सुरुपसुरुप निल्न थालिन् मानौँ चिया चिया नभएर मनमा उठेका तीता भावनाहरू हुन् जसलाई उनी पिइरहेकी छन्। कसैलाई केही सोध्न मन नै लागेन। वास्तवमा मनमा धेरै कालो बादल लागेको थियो।

अशोकले चियासँग अखबार पनि पिइसक्नुभएको थियो। वहाँ मध्यम व्यक्तित्वका साधारण मान्छेको मानसिकता भएका मानिस हुनुहुन्थ्यो। सामान्य जीवनपद्धति, सामान्य आकाङ्क्षाहरू, साधारण पहिरन, सरल र सादा दिनचर्या अर्थात् सबै सामान्य। न वहाँलाई कहिल्यै सनसनीपूर्ण काम गर्ने इच्छा हुन्थ्यो न कहिल्यै आफ्ना इच्छा व्यक्त गर्नुहुन्थ्यो वा सुझाव नै दिनुहुन्थ्यो। अशोकले अखबार राखिसक्नुभयो। वहाँलाई खाली र रिल्याक्स्ड देखेर उनले भनिन् “सुन्नुहोस्, अशोक ! जनवरीमै हामीले गर्मीको छुट्टीको कार्यक्रम बनाइहाल्नुपर्छ नत्र बुकिङ आदिलाई गाह्रो पर्छ। अन्तिम समयमा भागदौड राम्रो हुँदैन।” अशोकले आफ्नो बाइफोकल चस्मालाई सफा गर्नुभयो, केही सोच्नुभयो र भन्नुभयो “हुँ ……. अँ अँ सोच …… प्लान गर, अनि हेरौँला नि।”

अशोकको उत्तर सधैँ यस्तै वा यही हुन्थ्यो। आरतीको प्रश्न जस्तो भए पनि उत्तरमा त्यही खुकुलोपन। वर्षौँवर्ष कुराकानीको स्तर यही थियो, केही पनि त बदलिएको थिएन। यद्यपि परिवर्तनचाहिँ देखिएकै थियो – पति-पत्‍नीकै शरीर स्थूल भएको थियो र अनुहारमा मुजा देखापरेको थियो। चस्माको नम्बर फेरिएको थियो, चस्मा बाइफोकल भएको थियो आदिआदि। छोराछोरीसँग सम्बन्धको तन्तु पनि फेरिएको थियो, पहिले छोराछोरीहरू उनीहरूका औँला समातेर हिँड्थे अचेल आफ्ना खुट्टाले हिँड्ने मात्र हैन स्वतन्त्र पक्षीसरह पखेटाले उड्छन्। अहिले त छोराछोरीले उनले सोधेका प्रश्नको जवाफ दिन पनि गाह्रो मान्छन्, र नराम्रै मान्छन् भन्दा पनि अतिशयोक्ति नहोला। आफ्ना खुट्टामा उभिएर आफ्ना निर्णय आफैँ गर्ने अधिकार माग्छन् उनीहरू, जसले प्रायः घरमा तनाव रहन्छ। अशोकचाहिँ आरतीले बनाएका योजनाहरूलाई चुपचाप मान्नुहुन्थ्यो तबसम्म जबसम्म ती योजनाहरूले वहाँको दिनचर्या र मानसिकतामा अवरोध गर्दैनथे।

आज बिहान आरतीको दृष्टि अशोकमा पर्दा उनको मनमा सधैँको जस्तो अशोकको साधारण अनुहार र अनाकर्षण खडि्कयो। “हिजो नववर्षको पार्टीमा त हो अशोकका हाकिम भेटिनुभएको। अशोकभन्दा पाँच वर्ष जेठा तर पनि कति स्मार्ट र कति यङ देखिनुभएको, हिँडाइ डुलाइमा तेजी, ताजापन, निधारमा झरेका कपालका लट्टाहरूले वहाँलाई कति आकर्षक र यङ बनाएको। राम्रा मिलेका लुगा लगाएर वहाँले प्रोजेक्टका कुरा राख्दा बोलेका प्रत्येक वाक्यहरूमा ताली बजाउन मन लाग्थ्यो।

आरती नचाहँदानचाहँदै पनि आफ्ना श्रीमान् अशोकको तुलना हाकिमसँग गर्दथिन् र फेरि मनमा उत्पन्न भएको ‘गिल्ट’ का भावनाहरूले दुःखी पनि हुन्थिन्।

अशोक बदलिन पनि निकै बदलिएका थिए। उनका आँखाको नीलोपन जो बिहे हुने बेलामा उनको मुख्य आकर्षण थियो, अब पहेँलोपनमा परिणत भइसकेको थियो। अब उनका आँखाहरू निन्याउरा भैसकेका थिए। तर त्यो नीलोपन सुषमका आँखाहरूमा सरेको थियो। आरती सोझै अशोकका आँखामा हेर्दिनथिन्। हेर्दा जुन निराशा जन्मिन्थ्यो त्यसदेखि डरलाग्थ्यो उनलाई। यी व्यक्ति उनका पति हुन्, जससँग उनले आफ्ना पच्चीस वर्ष बिताएकी छन् र तीनजना राम्रा छोराछोरीका पिता हुन् भन्ने सोचले उनलाई अझ उदासीन बनाउँथ्यो। यतिका वर्षपछि पनि यस सोचले उनका अगाडि थुप्रै प्रश्नहरू तेर्स्याउँथ्यो जसका जबाफहरू कहीँबाट पनि प्राप्त हुनसक्ने खालका थिएनन्।

उनी सोचिरहन्थिन् यस्ता व्यक्तिसँग उनले अन्तरङ्ग क्षणहरू कसरी बिताइन्? अशोक सँगै हुन्थे तर दिलमा दस्तक हुँदैनथ्यो, एउटा पात पनि हल्लिँदैनथ्यो। हृदयको तारमा हल्का धुन पनि बज्दैनथ्यो, तबलामा थाप पर्थ्यो तर आवाज आउँदैनथ्यो। तरै पनि अशोक उनका पति हुन् र उनी उसकी पत्‍नी। एउटा आश्चर्यजनक सत्य के पनि थियो भने जमघटमा उनीहरू नै सफल दाम्पत्य जीवनको उदाहरण बन्दथे।

अशोकको उत्तर त्यही थियो जो पहिले पनि हुने गर्थ्यो, त्यसैले उनी सुषमतिर फर्केर भन्नलागिन्- “अँ सुषम, तिम्रो विचार के छ? यसै बेला सोचविचार गरेर योजना नबनाए, अन्तिम समयसम्म पनि बुकिङ भेटिँदैन।” सुषम सुन्तलाको जुस पिउँदै थिइन्। यही डिसेम्बरमा उनले अठार पूरा गरेकी थिइन्। आफ्नो फिगरका विषयमा खुबै चिन्तित रहन्थिन्। उनको पिउने कुरामा जुस र चिनीबिनाको कालो कफी मात्र थियो। अशोक र सुषमबीच खानपिनको यो तरिकालाई लिएर खुब बहस भैरहन्थ्यो। अखबार र पत्रिकाहरूमा छापिएका लेखहरूमा चर्चा हुन्थे र विचारको आदान-प्रदान हुन्थ्यो। सुषम मोटी त थिइनन् तर अलि बेवास्ता गˆर्‍यो भने स्थिति हातबाट फुत्कनसक्छ भन्ने उनको विचार थियो।

आमाको प्रश्नमा उनले टाउको उठाएर भनिन् “सधैँ पनि कहाँ राम्रो ठाउँमा जान्छौँ र ! जहाँ गए पनि घरकै मान्छे त हुन्, जस्ता यहाँ त्यस्तै त्यहाँ।” आरती छक्क परिन् र केही डराइन् पनि। गएका तीन वर्षदेखि अर्थात् छोराछोरी कलेज जान थालेदेखि आरतीले हिल-स्टेसनप्रतिको उनीहरूको अरूचि महसुस गरिरहेकी थिइन्। यति लामा र पट्यारलाग्दा गर्मीका छुट्टीहरू घरमै बिताउने सोचले नै उनलाई डिप्रेस बनाउँथ्यो। अतः लामो सास फेरेर भनिन् – “कहाँ हो र बिट्टू ! यो त सही स्टेटमेन्ट भएन नि। जहिले पनि तिमीहरूकै सल्लाहबाट प्रोग्राम बन्ने गरेको छ।” अलिकति आक्रोश मिसिएको छ उनको बोलीमा। सागर सुषमभन्दा दुई वर्ष जेठो छ। दुवैमा सायदै मात्र कुनै विषयमा तालमेल हुन्छ। उसले अन्डाको भुजा बनाएर ल्यायो, त्यो ऊ आफ्नै तरिकाले बनाउन मन पराउँछ। एउटा रुखो दृष्टि बहिनीमाथि फ्याँकेर भन्न थाल्यो – “मम्मी ! सुषम एकदम रुड भएकी छ। खाली यसका आँखा नीला छन् र मुस्कान राम्रो छ, नत्र भित्रभित्रै त यो अर्कै छे नि !”

सागर सुषममाथि धाक जमाउने कुनै पनि मौका छोड्न चाहँदैनथ्यो। त्यसै पनि ऊ दुई वर्षले जेठो, त्यसमाथि केटो, धाक नजमाई भयो त ! सुषम दुवै कारणबाट हेपिन चाहन्नथी, परिणाम झगडा हुन्थ्यो जुन बोलचाल बन्द भएपछि मात्र सिद्धिने गर्थ्यो। त्यस दिन पनि सागरले ‘यस्तो राम्रो अनुहारपछाडि के लुकेको छ’ भन्नेबित्तिकै रिसाई सुषम। रिसकै झोँकमा भन्न थाली- “तिमीलाई के मतलब, मेरा कुरा किन जान्नुपर्‍यो तिमीलाई? मैले तिमीसँग त कुरा गर्‍या हैन।” वातावरणमा झोँक मात्र छाइरह्यो।

“आजकल साँच्चै सुषम निकै बदलिएकी छे। चुपचाप रहन्छे, सानो कुरामै झर्किन्छे।” आरती सोच्दै थिइन्, त्यसै बेला तरुष भन्नलाग्यो “मलाई थाहा छ दिदी, बिहान त देखेको, तपाईँ सिरानीमुनि के कागज राख्दै हुनुहुन्थ्यो।” सुषमभन्दा पहिले नै सागरले भन्यो- “ए भेदी ! अर्काको भेद लुकेर पत्ता लगाउँछस्? ठीक भएन। केटाकेटीले यसो गर्नुहुन्न।” त्यस बेला बनेको तरुषको मुखाकृतिले सबै हाँसे। वातावरणले तनाव मानौँ हावामा फैलिएर कम भयो। आरतीलाई थाहा छ छोराछोरीको सम्बन्ध कति घनिष्ट र अटूट छ। लडाइँ-झगडा, मान, धाकले त सम्बन्धका लागि गमको काम गर्छन्। कति राम्रा हुन्छन्, यो उमेर र छोराछोरीसँग बिताएका यी क्षणहरू। तर चिठीको कुराले सुषम किन राती भई? आरती सोच्दै थिइन् र टेबलबाट थालबटुका हटाउँदै पनि थिइन्। दाजुले भनेपछि तरुष तर्सिएको थियो। ऊ आठ कक्षाको छात्र थियो। घरको बेबी, सबैको प्याउलो र पनि गाली उसैले खानुपर्थ्यो। कान्छो भए पनि ऊ चालु थियो। सुषमदिदीबाट ऊ केही रुष्ट नै छ किनकि सुषम जैले पनि हुकुम चलाउँथिन्। घरकै कान्छो भएपछि किन सहनु उसले ?

कुरा छुट्टीमा जाने कार्यक्रम बनाउनेबाट सुरु भयो। आरतीले स्थिति सम्हालेर फेरि प्रोग्रामको रूपरेखा बनाउने चर्चा सुरु गर्दा सागरले नबोली सकेन – “मम्मा, हिल-स्टेसन नै जानुपर्छ र ? साह्रै बोर लाग्छ। त्यही, सधैँ बिहान होटलमा तास खेल र बेलुका यताउती डुल। कस्तो बासी र बोरिङ लाग्छ सबै। “तर प्रोग्राम त सधैँ तिमीहरूकै इच्छाअनुसार बनेको छ……. तिमीहरूले इन्जोए पनि गरेका छौ। सधैँ खुसी जाहेर गरेका छौ। यस्तै भन्दै पनि आएका छौ तिमीहरू।”

अशोक नास्ता सकेर निरपेक्षभावले उठेर जानुभयो। जाँदाजाँदै अखबार पनि लिएर जानुभयो। अशोकको पिठिउँ देखेर आरतीलाई लाग्यो मानौँ त्यो पिठिउँ नभएर दैलो हो र कसैले आरतीकै अनुहारमा बजारेको हो, उनको समस्त व्यक्तित्वलाई नकार्दै।

सुषम उठेर कतिबेला किचनमा गइछ थाहै भएन। आरती त्यसबेला झस्किन् जब उनले कफीको कप हातमा लिएर उसलाई किचनबाट निस्कँदै गरेको देखिन्। कफी लिएर आएपछि लामो सास तान्दै सुषम ड्रइङ रुमको सोफामा बसी। आरतीले खप्न सकिनन् यो खुइ किन सुषम?” सुषम अहिलेसम्म त तातेकी मात्रै थिई अब त उम्लिन लागी “लाग्छ, अब त यहाँ प्रत्येक स्वासका लागि प्रश्नका हूल उठ्नेछन् र म त्यसैमा फँसिरहन बाध्य हुनेछु।”

आरतीले कसलाई आफू कति घायल र रगतपच्छे भएँ भनेर भन्नु ? आज त छोराछोरीहरूले नै उनलाई भत्काइरहेका छन्। अशोकले पतिका रूपमा न कहिले जोड्नुभयो न तोड्नुभयो। वहाँ त यसरी बस्तै हुनुहुन्छ मानौँ घर वहाँको हुँदै होइन, अतिथि हो उहाँ, गेस्टहाउसमा बस्नुहुन्छ या एउटा यात्री मात्र जसलाई सुविधाहरू प्राप्त भइरहोस्, बस्। आरतीले आफ्नै घरमा आफैँलाई पराई महसुस गर्न लागिन्। नयाँ वर्ष यसरी सुरु भयो भने अन्त्य कसरी होला? उनका आँखा भरिएर आए र मनमा लाग्यो अब यस विषयमा कुरा गर्नै बेकार छ।

आरतीको सोचको शृङ्खला एउटा अल्झेको ऊनी धागाको डल्लो जस्तो थियो जसलाई जताबाट फुकाउन खोज्यो त्यति अल्झिँदै जान्थ्यो, छेउ पत्तै नलाग्ने। जसलाई उनी छेउ सम्झन्थिन् त्यो त बीचको भाग पो निस्कन्थ्यो। त्यस बेला सागरको आवाज आयो “मम्मा, भोलि म राजेशसँग होस्टल जान्छु। किताब र नोटहरू लिनु छ।” “छोरा सागर ! तिमी यही हप्ता तेस्रोपटक होस्टल गइसक्यौ। यस खाले बसाइलाई घरबसाइ भन्छन् र?” सागरले चिसो हाँसो फ्याँकेर शब्दहरूलाई चबाउँदै भन्न लाग्यो “मोम, यही त सुषमले भनेकी। हामी कुनै काम प्रश्नहरूको चक्रव्यूहमा नफँसी गर्नै सक्तैन।”

आरती टेबल पुछ्तै थिइन् उनको हातमात्र होइन झन्डै दिल पनि रोकियो, सास पनि रोकियो। भित्र क्रोध र असन्तोषको एउटा लहर उठ्यो जुन पहिले गालामा झल्क्यो र बिस्तारै त्यस कपडामा सर्‍यो जुनले उनी कुर्सी पुछिरहेकी थिइन्। आफूलाई मुस्किलले सम्हालेर भनिन् “छोरा, तिमीलाई के भएको छ? मैले कुरा गर्नु पनि अपराध भयो अब। सोच, मैले सोध्नै छाडेँ भने तिमीलाई लेफ्टआउट भएजस्तो लाग्दैन? यिनै झिना-मसिना कुराले त जिन्दगीका सम्बन्धहरूमा क्विकफिक्सको काम गर्छन्, छोरा।”

आमाको अनुहारमा आएको बिचारीपन लाई देखेर ऊ पग्लियो। उसले आमाको गलामा अँगालो हाल्यो, थपथपायो र भन्यो “अरे मम्मा ! यति धेरै हर्ट नदेखिनुहोस् न। तपाईँ यति राम्री आमा हुनुहुन्छ। हिजो नववर्षको पार्टीको पनि कति राम्रो प्रबन्ध गर्नुभएको थियो। वास्तवमा मम्मा, हामी ठूला हुन चाहन्छौँ, धेरै होइन अलिकति मात्र। स्वतन्त्रताका केही क्षण ठूलठूला जीवनसम्बन्धी नभएर सानातिना निर्णयको अधिकार, बस् साना-तिना, प्लिज मम्मा।”

आरतीको हृदय फेरि मायाले उर्लियो। उनले मायाले थपथपाइन् सागरलाई। सागर हीरा छ। छ फुट अग्लो, आकर्षक नाकनक्सा, आँखा, ती आँखामा चुम्बकीय आकर्षण छ। उनी के भन्थिन् र, उसले उनको ममतालाई यसरी झकझक्याएपछि। “ठीकै छ, जाऊ न त, तर छुट्टीको प्रोग्रामचाहिँ बनाईहालौँ न, कहाँ जाने हो। यति त सोचिराखौँ जसले बुकिङ गराइराख्‍न सजिलो होस्।” सोफामा तेर्सिँदै आरतीले भनिन्। उनी अझै सागरको ममतामा डुबिरहेकी थिइन्। केही सोच्दै सागरले भन्यो- “होइन मम्मा ! यसपल्ट म रोमेशसँग शिमला जान चाहन्छु। त्यहाँ हाम्रो कलेजको रेस्टहाउस छ, बस्न सित्तैँमा, आफ्नो भनेको खाने खर्चमात्रै हो। त्यहाँ हामी ट्रेकिङ पनि गर्छौँ। साँच्चै रमाइलो हुन्छ।” “तर ट्रेकिङ त तिमी …….. ल तिमीले भनेकै ठाउँ रोजौँ न त।” आरतीले सुषमतिर फर्केर हेरिन्। सायद छोरीले नै भए पनि उनको मनको कुरा बुझोस्। अन्कन्याउँदै भन्न लागिन्- “सुषम, तिमीले अघिल्लो पल्ट कहाँ भनेकी थियौ, माउन्ट आबु कि डलहौजी? त्यतैको कार्यक्रम बनाऔँ न त।
सुषम अहिलेसम्म अखबारमै घुसेकी थिई। आमाको प्रश्नमा उसले शिर उठाएर हेरी। उसका अनुहारमा अरूचि स्पष्ट झल्केको थियो जसलाई उसले लुकाइन पनि। एकछिन सोचेर निर्णयात्मक स्वरमा भनी – “मम्मा यसपल्ट म कतै जान चाहन्नँ। म रूपालीसँग ड्रेस डिजाइनको काम गर्छु।”

“कुन रूपाली?”

“उही अस्ति मानसीका घरमा भेटिएकी थिई नि, उसको भतिजाको जन्मदिनमा। उसको दाइ सिद्धार्थ पनि सँगै थियो, उसैले त हो रेडिमेड कपडाको बुटिक खोलेको म त्यहीँ उसैसँग काम गर्छु।”

“पहिले त तिमीले कहिल्यै भनिनौ ?” भन्दै आरती ओठ टोक्न लागिन्। फेरि सोचिन् – फेरि त्यही लम्बा-चौडा भाषण सुन्नुपर्छ। मैले त यससँग मित्रताको सम्बन्ध राखें। सधैँ यसको रुचि-अरूचिको ध्यान राखेँ। कति बेला सम्बन्धका सबै तन्तुहरू चुँडिइसकेछन् थाहै भएन।

एउटा टीठलाग्दो खालीपन र एक्लोपनले भरियो आरतीको मन। मुखमा काई लाग्यो। नववर्षका सारा खुसीहरूमा तुषारापात भयो। सागरका मीठा कुराले लडीबुडी गरिरहेको मनमा कालो बादल छायो। उच्चाट मनलिएर आरती भान्सामा गइन्। गरून् पनि के ? भान्साकै काममा आफूलाई व्यस्त राख्थिन्, मनोचिकित्सक थिइन् र चिकित्सकीय विधिहरू आफैँमा प्रयोग गरिरहन्थिन्।

तरुष कान्छो थियो, अहिलेसम्म आमाको नालसँग जोडिएको थियो। बिहानैदेखि सागर र सुषमका व्यवहारमा लुकेको रुखोपनलाई महसुस गरिरहेको थियो। त्यसमाथि ऊ हिल-स्टेसनमा छुट्टी बिताउन अझै रुचाउँथ्यो। जाने मौका पनि खोजिरहन्थ्यो। ऊ आमापछिपछि भान्सासम्म आयो। आमाको पिठिउँमा टाँसिएर भन्न लाग्यो- “मम्मा यसपल्ट गोवा जाऔँ न। सागरका किनारमा घुमौँ …… यसपल्ट कुनै ठूलो होटलमा बसौँ, शाही ठाँटबाँटले, हुन्न मम्मा ?” आरतीको मन फेरि तरुषको लाडले छताछुल्ल भयो। छोराछोरीका लागि ममताको भेल उर्लियो र त्यसैमा सबै राग-द्वेष बगेर गयो। दनदनाउँदो ज्वाला मानौँ शान्त भयो। नकारात्मक सोचका तारहरू झनझनाउँदै टुक्रेर झरे। सोचिन्- यी बढ्दो उमेरका केटाकेटी हुन्। बढ्दो उमेरको बुद्धि, परिवेश र परिस्थितिका अनेकन् समस्याका, कति गह्रौँ भारी बोकिरहेका होलान्। सायद यसैले आफैँमा हराउँदै आफ्नै बारेमा सोचिरहन्छन्।”

नास्ताका भाँडाकुँडालाई सिन्कमा हाल्दै आरतीले सोचिरहिन् र शान्त हुने कोसिस पनि गरिरहिन् – एउटी म छु जो उनीहरूबाट वयस्कहरूको जस्तो व्यवहार खोज्छु। “हुन्छ छोरा, बुबासँग कुरा गरौँ न।” भन्दै उनले तरुषको पिठिउँमा धाप मारिन्। आरतीले सोचिन् -अब म शान्त भएँ। तर के साँच्चै उनी शान्त थिइन् त? चराका चल्लाजस्तै च्याँच्याँ गर्ने आरतीका गुँडका यी बच्चाहरू पनि ठूला भएपछि आ-आफ्ना बारेमा सोच्दै आकाशमा उडिहाल्नेछन्। कहिलेसम्म उनले त्यस क्षणको प्रतीक्षा गर्ने जब छोराछोरीले उनलाई ममताबाट अलग गरेर अन्य प्राणीको रूपमा हेर्नेछन्। के यस्तो क्षण आउला र ? किन यो मन आगाको ज्वालामा परेको काँचसरह चड्‌किरहन्छ? नयाँ वर्षले किन मेरा लागि नयाँ केही ल्याउँदैन ? के मैले पुरानाहरूसँग पनि नाता तोड्नुपर्ने हो?

के मेरो मन त्यो बोनचाइनाको टुटी झरेको कित्लीजस्तै चड्‌किरहन्छ जसलाई अहिलेसम्म सम्हालेर राखेँ, किनकि त्यो मेरी आमाले दिएको थियो। सोचिरहिन् आरती। आखिरी तर्कवितर्कको कुनै अन्त्य त हुँदैन।

***

(स्रोत : Kumud Adhikari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *