कथा : कुलतको जाल

~हरिप्रसाद भण्डारी~

आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्‍यो ।

“भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो ।

“यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि वी.पी.को अपमान गर्दै हिडिरहेका छन् ……..।” अस्पष्ट शब्दमा गुनगुनायो र एकैछिन रोकिएर थप्यो— “मलाई यिनले चिनेकै छैनन् । मेरा हातमा यो देशको बागडोर आउने हो भने मैले यो देशलाई स्वर्ग बनाइदिन्थेँ, तर के गर्नु अघि बढ्नै दिदैनन्, सालेहरू….।” यसो भन्दै यसो टाउको उठायो र पुनः माइलीलाई हकार्‍यो— “ऐ माइली ! अब तैले पनि टेर्न छोडिस् होइन । पख साला……..।”

“के को नटेर्ने हो ?” माइली झर्की र अगाडि थपी— “ऊ के त अगाडि, आँखा पनि बन्द भइसके हैन ?” उसले भर्खरको भाव बदलेर एकपटक खितित्त हाँसी ।

उसले हातले छाम्यो, आफ्नो अगाडि भरिबोतल देखेपछि घुटुक्क थुक निल्यो र माइलीलाई धन्यवाद दिँदै गिलासमा हालेर पिउन थाल्यो ।

अर्कोदिन अबेर उठ्यो । टाउको दुखिरहेको थियो, तैपनि पछुतो मानेन । रक्सी पिउन छोडेको सम्झेपछि सन्तोषको लामो सास फेर्दै नित्यकर्ममा लाग्यो ।

बिहानैदेखि गन्हाउन सुरु गर्ने मान्छे नुहाइधुवाइ गरी घाममा बसेर रामायणको किताब पढ्न लागेको देख्दा स्वास्नी दङ्ग परी । ‘के अचम्म भयो यस्तो ?’ मनमनै गमी र पूर्ववत आफ्नो धन्दामा लागिरही ।

दिउस श्रीमती प्रशन्न भएको समयमा उसले श्रीमतीतिर फर्केर मायालु स्वरमा भन्यो— “सन्तु, आजदेखि मैले रक्सी खान छोडेँ क्यारे । यसो भएपछि त माया गरौली नि होइन ?”

“साँच्ची !” स्वास्नी दङ्ग परी । एकैछिन विचार गरी र भनी— “खोइ…., बाह्रमासे जड्याहाको कसरी विश्वास गर्नु र ?”

“त्यसो नभन न सन्तु, कहिलेकाहीँ त विश्वास पनि गर्नुपर्छ । साथीभाइको करबलले मात्र यति बिग्रिएको हुँ, अब त कसैका कुरा सुन्दिन र कसैका बहकाउमा पनि पर्दिन ।” उसले स्वास्नीलाई विश्वास दिलाउन सक्दो प्रयास ग¥यो ।

“छोड्यौ भने विश्वास गरूँला नि, कुरा मात्रै गरेका भरमा कसरी पत्याऊँ खै ?”

“स्वास्नीका शब्दमा रूखोपन थियो, तैपनि ऊ फिसिक्क हाँस्यो । ‘मैले छोडेँ भने दङ्ग पर्लिस् नि मोरी’ मनमनै भन्दै, पुनः किताब पढ्न लाग्यो ।

सधैँ बिहानैदेखि भट्टी चहार्ने मान्छे आज दिनभरि घरैमा बसेर दुई/तीन अध्याय रामायण पनि पढी सिध्यायो । आफ्नो बानी सुधार्न खोजेकोमा ऊ आफै प्रशन्न थियो । आखिर कोसिस गरे के हुँदैन भन्ने भावना पनि जागेको थियो मनमा । दिउस आँगनमा गुन्द्री राखेर एकनिद निदायो पनि ।

स्वास्नीले अचम्म मानेकी थिई । साच्चै लोग्नेले रक्सी खान छोडे कति जाति हुँदो हो भन्ने आशा पनि जागिरहेको थियो मनमा । उसले मनमनै कुरो खेलाई— ‘कोही बिरामी परेर ओखती खोज्यो भने सदरमुकाम पुग्नुपर्छ तर रक्सी खोज्यो भने जहाँ पनि पाइन्छ । यस्तै भएर पनि भाँडिएको होला यो समाज ।’

मनमा कुरा खेलाउँदै दिउसको खाजा बनाई । खुसीले फुरुक्क परेकी थिई । लोग्ने उठ्दासाथ खाजा टकारी ।

आफूले रक्सी खान छोडेको समाचार अरूलाई सुनाउन आतुर थियो, त्यसैले खाजा खाइसकेपछि एकैछिन घुमेर आउने विचारले घरबाट हिँड्यो । ऊ सरासर तल बजारमा गयो र सधैँ आफूले रक्सी खाने गरेका भट्टीहरूमा गएर आफूले रक्सी खान छोडेको समाचार सुनायो । उसको कुरा सुनेपछि कतिपय साहुनीहरू व्यङ्ग्यात्मक हाँसो हाँसे र कतिपयले ओंठ लेप्राए । तैपनि उसले हिम्मत हारेन, मन विगारेन र एक एक भट्टी पार गर्दै अगाडि बढ्यो । जतिवटा भट्टी पार गथ्र्यो उति नै उसको मन खुसीले हल्का हुन्थ्यो ।

माइलीका भट्टीमा उसका साथीहरू जमिसकेका रहेछन् । बरबराउँदै सानेले बोलायो । उसले सुनेको नसुन्यै गरी अगाडि बढ्दै थियो, माइलीले के कुरा सुनाई कुन्नि जगते स्वाठ्ठ उठ्यो र उसका नजिक आएर बेस्सरी समाई उसलाई भट्टीसम्म पुर्‍यायो ।

ऊ त्यहाँबाट भाग्न खोज्दै थियो तर साथीहरूले उठ्न दिएनन् ।

“तँ आफू नखाए पनि तैले रक्सी खान छोडेको खुसीयालीमा हामीलाई त खुवा ।” पाखुरामा समाएर झट्कार्दै सानेले भन्यो । सानेको कुरालाई जगते र घनश्यामले पनि समर्थन गरे । केही बेर वादविबाद चल्यो । त्यहाँको पूरा माहोल उसको विपक्षमा थियो । उसले निकै प्रयास गर्दा पनि फुत्कन नसकेपछि बाध्य भएर माइलीलाई दुई बोतल भर्न आदेश दियो ।

टेवुलमाथि रक्सी आएपछि लामो छलफल भयो । बधाइ र धन्यबादका आदान प्रदान भए । अन्तमा रक्सी खान छोडेको खुशीयालीमा एक पेग खानका लागि उसलाई पनि आग्रह गरियो । उसले मान्दै मानेन, सक्दो प्रतिकार गर्‍यो, तर सकेन ।

अन्तमा उसले साथीहरूको आग्रहलाई लत्याउन सकेन । रक्सी खान छोडेको उपलक्ष्यमा खुसी मनाउँदै एकै सासमा एक गिलास रक्सी घुटुक्क निल्यो अनि गिलास भुईमा राख्दै लामो सास फेर्‍यो ।

उता श्रीमान्ले रक्सी खान छोडेको खुसीयालीमा श्रीमतीले घरमा मीठा मीठा परिकार बनाएर उसको आगमनलाई पर्खेर बसिरहेकी थिइन् ।

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.