कथा : चर्किएको घर

~विष्णु भण्डारी~Bishnu Bhandari

ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो। उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्योक। वैशाख महिनाको आकाश धुम्म थियो। सबैतिर सन्नाटा फैलिएको थियो। ‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो!’ उसले मनमनै सोच्दै चुरोट सल्कायो। चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो। उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हेर्योह। हेर्दाहेर्दै हिजोमात्र बिताएका रमाइला क्षणको सम्झना आयो उसलाई। ती क्षण सम्भि्कँदा पनि भित्रभित्रै काउकुति लागेर आयो। तीन दिनपहिले अफिसको काम छ भनेर बाहिरिएको थियो ऊ। अफिसको काम त बहाना थियो। ऊ यसरी नै गर्लफ्रेन्ड च्यापेर रिसोर्टतिर लाग्थ्यो र मस्तरामको जिन्दगी बिताउँथ्यो।

ऊ घर आउँदा स्वास्नीले मुस्कुराउँदै स्वागत गरेकी थिई। खुट्टा भाँचिएर थला परेकी भए पनि हर्षित हुँदै बैसाखीको सहाराले उठी। सकिनसकी कान्छीसँगै मिलेर खाना बनाई। श्रीमान्लाई खुवाई। आफूले खाई। लोग्नेको आगमनमा ऊ चञ्चल र रोमाञ्चित भएकी थिई। तर लोग्नेको अवस्था भने त्यस्तो थिएन। स्वास्नीलाई देख्दै निराश भएको थियो ऊ। उसको नागरिकताको नाम कृष्णहरि थियो। स्वास्नीले भने मायाले कृस भनेर सम्बोधन गर्थी उसलाई। मोटो र थुलथुले शरीर, त्यसमा पनि भाँचिएको खुट्टा। कृष्णहरिले आफ्नी प्रेमिकासँग स्वास्नीलाई दाँज्यो र नाक खुम्चायो। ऊ मोटीमात्र होइन कृष्णहरिभन्दा अग्ली र उमेरले जेठी पनि थिई। ऊ मोटी र जेठी भए पनि नराम्री भन्न मिल्ने खालकी भने थिइन। तर कृष्णहरिलाई लाग्थ्यो ‘काँ परीजस्ती गर्लफ्रेन्ड काँ यो ढेब्बरे?’
कृष्णहरिले सुत्ने बेलामा भनेको थियो, ‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू केही छैन प्रिय!’ उसले यसोभन्दा स्वास्नी मुस्कुराएकी थिई। स्वास्नी केही बेर नबोली बसी। उसले फेरि पनि यस्तै कुरा गरेपछि भने उसले लोग्नेको अनुहारमा हेर्दै भनेकी थिई, ‘भो भो चेपारे घस्नु पर्दैन। लोग्ने मान्छेको के भरोसा?’ हुन त उसले स्वास्नीलाई यसैगरी फुर्काउँथ्यो सधैं। यसैगरी चेपारे घस्थ्यो र प्रेमिकासँग मस्ती मार्थ्यो। तर यसपल्ट भने अलि बढी नै माया गरेको स्वाङ गर्दै थियो।

साँझ खाना खाएर सुत्दा अलि अबेर भएको थियो। बिहान ब्युझँदा स्वास्नी अर्कोतिर फर्किएर सुतेकी थिई। सधैं यतिखेर उठिसक्थी। कान्छीलाई चिया बनाउन लगाउँथी र लोग्नेसँगै नारिएर चिया सुर्काउँथी। मिठामिठा कुरा गर्थी र रमाउँथी। तर आज ऊ उठिन। उठाउँदा पनि उठिन। बरु अझै कुनातिर ढेपिएर सुती। उसले मनमनै सोच्यो— ‘सुत्दा त ठिकै थिई। के भएछ यो ढेब्बरीलाई?’
विवाह गर्दा नै ऊ यस्तै मोटी र अग्ली थिई। उतिखेर यही आइमाई कृष्णहरिलाई परीजस्तै सुन्दर लागेकी थिई। अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान। यो रहस्य थाहा पाएपछि त ऊ पागलजस्तै उसको पछि लागेको थियो। भगवान्लाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो। नभन्दै उसको पूजाबाट भगवान् खुसी भए। स्वास्नीमात्र होइन अकूत दाइजो पनि हात पार्न सफल भयो ऊ। तर, समयक्रममा आज त्यही आइमाई उसलाई ढेब्बरी लाग्न थालेकी थिई।

शनिबारको दिन ब्रेकफास्ट अलि ढिलै हुन्थ्यो। स्वास्नीका कारण आज झनै ढिला भएको थियो। पहिले त ऊ सन्चो छैन भन्दै उठ्न मानिन। तर कान्छीले कर गरेपछि ऊ बिस्तारै उठी र बैसाखीको सहाराले आरामगृह छिरी। उसका आँखाका डिल सुन्निएका थिए। रातभर रोएको जस्तो अनुहार फुङ्ग उडेको थियो। आँखा राता र निन्याउरा थिए। निराश अनुहारमा उदासी छाएको थियो। नास्तामा जुस र कफीबाहेक केही लिइन उसले। कृष्णहरिले नास्ता खाएपछि पत्रिका पढ्न थाल्यो। बीचबीचमा उसलाई पनि पढ्दै थियो। ‘कतै मेरो रामकहानी त थाहा पाइन यसले?’ उसलाई शंकाले गाँज्दै थियो। मनमा अनेक तर्कना आए। अन्तिममा ‘हिजो साँझसम्म थाहा नपाएकीले कसरी नै थाहा पाइहोली र?’ भन्ने सोचेर ढुक्क भयो ऊ।

खाना तयार गर्दै थिई कान्छीले। भान्सामा पाकेको मिष्टान्नको बास्ना बेडरूमसम्म आउँदै थियो। ऊ घरिघरि भान्सामा जान्थ्यो। सहयोग गर्ने निहुँ पार्दै कान्छीको भर्खरै फक्रिँदै गरेको जवानीलाई अंगालोमा कस्थ्यो र फेरि कोठामा आउँथ्यो। स्वास्नी ठुस्सिएर बसेकी थिई। ऊ बोलेकी थिइन।

कृष्णहरि ऊसँगै बसेर उसको घुङ्ग्रिएको कपाल खेलाउँदै भन्यो, ‘किन, के भयो मेरो प्रियालाई? भन न मेरो रानी! सन्चो भएन कि?’ ऊ बोलिन। उसले केही बेर यस्तै अर्थ न बर्थका एकतर्फी संवाद गर्यो्। सुन्तलाका केसराजस्ता ओठमा म्वाइँ खायो र फेरि भन्यो, ‘तिमी नबोल्दा मलाई संसारै नरमाइलो लाग्छ प्रिय। बोलन।’

अब भने उसले आफ्नो टाउको कृष्णहरितिर फर्काई र सिंहिनीले झैं हेर्दै भनी, ‘यो संसारमा मजत्तिको प्यारो वस्तु अरू छैन, होइन? तिमीले भन्न खोजेको यही होइन त?’

‘बाफ रे, कस्ता डरलाग्दा आँखाले हेरेकी। निश्चय पनि मेरो कृष्णलीला थाहा पाई यसले।’ कृष्णहरिले मनमनै सोच्यो। ऊ एकपटक भित्रैदेखि काँप्यो। स्वास्नीको डरलाग्दो हेराइले ऊ यति कमजोर र त्रसित भयो कि पहिले त बोल्नै सकेन। केही समय यसरी नै बित्यो। अन्तिममा उसले डराउँदै बिस्तारै भन्यो, ‘हो प्रिय…।’

वाक्य टुंग्याउन नपाउँदै ऊ हुत्तिएर पर पुग्यो। ‘भूकम्प…!’ भन्दै कान्छी चिच्याउँदै भर्यालङतिर भागी। कृष्णहरि पनि कान्छीलाई पछ्याउँदै एकै झट्कामा बाहिर निस्कियो। अपांग स्वास्नीले ऊ भाग्दै गर्दा चिच्याएर सहयोगको याचना गरी। तर उसको आवाज न लोग्नेले सुन्यो न कान्छीले। केही सेकेन्डमै घरका छाना खस्न लागे। हेर्दाहेर्दै उसको घर माटो–ढुंगाको ढेरमा परिणत भयो।

‘दिदी! खोइ दिदी?’ कान्छी चिच्याई। उसको त्रासदीपूर्ण आवाजले बल्ल उसलाई आफ्नी स्वास्नीको सम्झना भयो। ऊ यतिन्जेल घरको खण्डहरमा पुरिइसकेकी थिई।

सबैतिर हाहाकार मच्चियो। एकैछिनमा ऊ बस्ने टोल खण्डहर बनेको थियो। मान्छेहरू रुँदै र चिच्याउँदै थिए। कसैले राम नाम जप्दै थिए भने कोही आफन्तलाई खोज्दै थिए। भाग्न सक्ने भागे, नसक्ने भित्रै पुरिए। भग्नावशेषमा पुरिएकालाई टोलका युवाहरूले निकाल्दै थिए। कान्छी चिच्याउँदै भत्किएको घरतिर दगुरी। ऊ बारम्बार ‘दिदी…’ भन्दै चिच्याउँदै थिई। तर घर यसरी भत्किएको थियो कि दिदी लापत्ता थिई। कान्छी सँगसँगै कृष्णहरि पनि आयो र भत्किएको घरलाई नियाल्न लाग्यो। केही समय पहिलेका स्वास्नीका डरलाग्दा आँखा सम्भि्कयो। दस वर्षपहिलेको प्रेमकहानी सम्भि्कयो। कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई। ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो। न धन थियो न काठमाडौंमा अडिने ठाम। तर पढ्दापढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो। सम्बन्ध विस्तारै मायामा फेरियो। हेर्दाहेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो।

‘नरो, रोएर आउने होइन क्यारे!’ उसले कान्छीलाई भन्यो र फेरि भग्नावशेषमा हेर्न लाग्यो। स्वास्नीलाई निकाल्न सक्ने सम्भावना कतै थिएन। केही समयमै माइती आए। आफन्त र छिमेकी आए। सबै रोए, चिच्याए। कसैले ढुंगा पन्छाए, कसैले माटो। तर त्यो घरैघरले थिचिएको खण्डहरबाट बिचरीलाई निकाल्न सक्ने कसको औकात! कृष्णहरि भग्नावशेषमा टुक्रुक्क बसेर ताजा स्मृतिमा हराउँदै थियो। एक मिनेटको धक्काले ऊ फेरि एक्लो र असहाय बनेको थियो। विगत सम्भि्कँदा उसका आँखा रसाए। ऊ भग्नावशेषमा घोप्टिएर क्वाँक्वाँ रोयो। त्यही ढेब्बरीले उसलाई राजधानीको बासिन्दा बनाएकी थिई। उसैको प्रयत्नले ऊ नाम चलेको बैंकको अफिसर भएको थियो। उसैको दाइजोमा स्यालको रजाइँ गरेको थियो। र, ब्याचलर पढ्दै गरेकी चनमतेलाई गर्लफ्रेन्ड बनाएको थियो।

उसलाई ससुराली, साथीभाइ र छिमेकीले सान्त्वना दिए। छोरीलाई भग्नावशेषमै छोडेर ज्वाइँनारानलाई साँझ घरमा लगेर राखे। तेस्रो दिन बल्ल उद्धार टोली आयो र भग्नावशेष पन्छाउन लाग्यो। यी तीन दिन कृष्णहरिका लागि तीन वर्षजस्तै भए। बीचबीचमा प्रेमिका आउँथी र नआत्तिन भन्थी। ‘किन निराश हुनु भएको? म छु नि,’ उसले ढाडस दिँदै भनेकी थिई। हुन पनि भूकम्प आएर राम्रै भएको थियो उसलाई। घर भत्किए पनि जग्गा र बैंक ब्यालेन्स छँदै थियो। ससुरालीले दिएको महाराजगन्जको घडेरी सुनजस्तै बहुमूल्य थियो। त्यही घडेरी बेचे पनि भव्य महल ठड्याउन सकिन्थ्यो। प्रेमिकाको मोडलको जस्तो सलक्क परेको शरीर र सम्पत्ति सम्भि्कँदा उसको मन बौरिएर आयो। उसले भूकम्प गएको अर्को दिनबाटै नयाँ सपना देख्न थाल्यो। उसले भत्किएको घरलाई पुनःनिर्माण गर्नेछ।
गर्लफ्रेन्डलाई भिœयाउने छ। आखिर एक दिन स्वास्नीसँग डिभोर्स त गर्नैपर्थ्यो। उसले यस्तै सोच्दै थियो। अकस्मात् आएको हल्लाले उसको तन्द्रा भंग भयो। छिमेकी, आफन्त र उद्धारकर्ताहरू ‘भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ’ भन्दै चिच्याउँदै थिए।

हेर्दाहेर्दै छरछिमेकी र आफन्तहरूको भिड लाग्यो। नभन्दै पाँच घन्टाको प्रयत्नपछि भग्नावशेषबाट उसकी स्वास्नीको जिउँदै उद्धार भयो। यो देखेर सबै खुसीले पागलजस्तै चिच्याए।
कृष्णहरिकी प्रेमिका भने अमिलो मुख लगाउँदै बाहिरिई।

कृष्णहरिकी स्वास्नीलाई अस्पताल भर्ना गरियो। ऊ केही दिनमै पूर्ववत् अवस्थामा आई। उसलाई खासै ठूलो चोट लागेको थिएन। भूकम्पले हुत्याउँदा ऊ भर्यााङतिर लडेकी थिई। तीन दिनसम्मको भोक र प्यासले असमान्य अवस्थामा पुगे पनि ऊ बाँची। धेरैले भगवान्को लीला भने। कसैले लोग्नेको मायाले ऊ बाँच्न सकी भने। तर धेरैजसोले बाउआमाको आँसु पुछ्न ऊ बाँचेकी हो भने।

उसलाई पाँच दिनको उपचारपछि डिस्चार्ज गरिँदै थियो। अस्पतालमा आफन्तको भिड लागेको थियो। अचम्म त यसबीचमा ऊ लोग्नेसँग एकपटक पनि बोलेकी थिइन। ऊ सबैजसो समय टोलाएर बस्थी। ‘यस्तो भवितव्यमा पनि लोग्नेसँग किन नबोलेकी होली?’ आफन्तका बीचमा खासखुस नचलेको होइन। तर यसको रहस्य ऊबाहेक कसैलाई पनि थाहा थिएन।

घर जाने दिन भने ऊ प्रफुल्ल देखिई। ‘सायद आफू जन्मेहुर्केको घरमा जान पाउँदा उसमा खुसी फर्किएको होला।’ सबैले उसको उज्यालो मुख देख्दा यस्तै सोचे। गाडी चढेपछि उसले आफ्नो लोग्नेलाई नजिक डाकी। के हुँदै छ भनेर सबै जना झिरिप्प जम्मा भए। उसले एकपटक सबै जनालाई हेरी र गम्भीर हुँदै लोग्नेलाई भनी, ‘ल बाई! कृष्णहरिजी! म त बाबाको घर जाने भएँ। तपाईं पनि आफ्नो घर जानुहोला।’

‘आफ्नो घर जानुहोला रे!’ कृष्णहरिले स्वास्नीको भनाइ नबुझेर उही वाक्य दोहोर्या यो। अरूहरू पनि उसको भनाइको तात्पर्य बुझ्न नसकेर हैरान भए। ऊ वाल्ल परेर हेरेको हेर्यै् भयो। केही समयको मौनतालाई तोड्दै उसकी स्वास्नीले फेरि भनी, ‘म मान्छेसँग मात्र प्रेम गर्छु कृष्णहरिजी।’

‘अनि! के म अब मान्छे पनि रहिनँ?’

‘तपार्इंभित्र मान्छे होइन सैतानले बास गरेको रहेछ कृष्णहरिजी। जसले मलाई होइन अरू कसैलाई प्रेम गर्छ।’

‘अरू कसैलाई प्रेम गर्छ!’ कृष्णहरि रातोपिरो हुँदै भकभकायो।

‘हो कृष्णहरिजी! भूकम्पको रातको च्याट हेर्नुहोला। तपाईंको मोबाइलमा त्यो संवाद अझै पनि सुरक्षित हुनुपर्छ। अनि तीन दिन रिसोर्टमा बिताउँदाका तस्बिर पनि अझै सुरक्षित होलान्।’

‘भूकम्पको रात म तिमीसँगको विछोडले अर्धचेत थिएँ। कोसँग गरेको संवाद हेरूँ मैले।’

‘मेरो जीवनमा भूकम्प ११ गते राति ११ बजेर ५६ मिनेट जाँदा आएको थियो कृृष्णहरिजी।’

‘११ गते? तिमी होसमा त छौ?’

‘म पूर्ण होसमा छु। मेरो जीवनमा महाभूकम्प १२ गते दिनको ११ बजेर ५६ मिनेट गएको थिएन। त्योभन्दा ठिक १२ घन्टाअघि गएको थियो। जतिखेर म तपाईंकी गर्लफ्रेन्डसँग च्याटमा थिएँ।’

‘च्याटमा थिएँ!’

‘हो कृष्णहरिजी! तपाईंको सेलफोनमा फेसबुक ‘लग इन’ थियो। मलाई थाहा थिएन मान्छे यतिविघ्न नीच र बेइमान पनि हुन सक्छ भन्ने कुरो। उसले तपाईंलाई म्यासेज पठाएकी थिई। तर त्यसको रिप्लाई मैले गरेँ र सारा रहस्य पत्ता लगाएँ। त्यो संवादले मेरो जीवनमा १० रेक्टरको भूकम्प गएको थियो,’ ऊ यसरी बोल्दै गर्दा केही बेर शान्त भई। लामो निश्वास छोडी र फेरि कृष्णहरिको अनुहारमा हेर्दै भनी, ‘भूकम्पले भत्किएको भन्दा चर्किएको घर बढी खतरनाक हुन्छ। चर्किएको घर आखिर छोड्नैपर्छ। होइन र कृष्णहरिजी?’

‘यो संसारमा तिमीजत्तिको प्यारो वस्तु अरू छैन प्रिय! तिमीसँग संवाद गर्ने महिला तिम्रो दुस्मन पनि त हुन सक्छ।’

‘हो, तपाईंले ठिक भन्नुभयो। त्यो मध्यरात मसँग संवाद गर्ने महिला मेरो दुस्मन हो भन्नेमा म पूर्ण सहमत छु। सौताभन्दा ठूलो दुस्मन महिलाका लागि अरू को नै हुन सक्छ र!’ उसले केही बेर निवर्तमान हुँदै गरेको लोग्नेको अनुहारमा घृणापूर्वक हेरी र फेरि भनी, ‘भूकम्पले चर्किएको घर र सौता उस्तैउस्तै हुन् कृष्णहरिजी।’

(स्रोत : NagarikNews.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *