अनूदित कथा : सुकेका पातहरू

~शैल अग्रवाल ~Shail Agrawal
अनुवाद : कुमुद अधिकारी

आज पनि ऊ सम्झनाको बटुको लिएर सुनयनाको अगाडि उभिएको थियो। झोली फैलाएर भीख मागिरहेको थियो। ती सब कुरा जुन उनी kumud Adhikari_1र आलोकका लागि असम्भव मात्र थिएनन् असहनीय पनि थिए। विचलित सुनयनाले हारेर आफ्नो पूरै सुख-चैन, यहाँसम्म कि आफैँलाई पनि उसका झोलीमा हालिदिइन्- बग्दै गरेका आँसुसँग नलडीकन। फेरि त सम्झनाहरूले बर्खाको नदीझैँ, राम्रो-नराम्रो सबै आफूमा समेट्दै, उनका चारैतिर बग्दै उनलाई समेत बगाए। अब आँसुमा र सम्झनामा होड थियो कसले जित्ने भनेर।

तर यसरी भत्किएर छरिन उनको इच्छा पटक्कै थिएन। उनी त चपेटामा परेकी थिइन् बाटामा उभिएको रूखझैँ। सुनयना बहँदै थिइन् र अगाडि उभिएको थियो पलाँसको रूख, आफ्ना राता फूलहरूद्वारा लादिएको, बिस्तारै-बिस्तारै हावामा झुमिरहेको। चुपचाप केही गुनगुनाएजस्तो, गाएजस्तो। हावा त्यसका हरेक पातलाई छोएर सररर ….. दौडिरहेको थियो, ठीक उनको पलाँसझैँ- ठ्याक्कै त्यस्तै हातहरू माथि उठाउँदै, सुसेल्दै- “हेर्नोस् आमा, चरो यसरी नै उड्छ हगि ?”- छड्के र सीधा हुँदै, फर्किँदै र बारम्बार उनलाई सोध्दै।

धमिलिएको सिसाबाट ठीक-ठीक स्पष्ट हेर्नलाई सुनयनाले आफ्नो बीस वर्ष पुरानो चस्मालाई कस्सिएर आँचलले पुछिन्। अगाडि उभिएको माली कति बेलादेखि सोधिरहेको थियो – “बीबीजी, यी सुकेका पातहरूलाई काटिदिऊँ ? अलिअलि छँटनी पनि गरिदिऊँ कि ? आघौँ राम्ररी फुल्छ नि !” सुनयनाले कहाँ सुनेकी थिइन् र ! गह्रौँ मनले उनले स्वीकृति दिइन्। आफैँमा डुबेकी उनलाई यति मात्र थाहा थियो कि उनले पर्खिनु मात्र छ- हरेक पल, हरेक त्यस मौसमलाई, जसले यसमा नयाँ पातहरू ल्याउनेछ।

अहँ, यसबाट टाढा जान सक्दिनन् उनी। यसको हरेक पातलाई उनको पलाँसले थुप्रै मायाले सिँचेको छ। आफ्ना कलिला हातहरूले त रोपेको थियो यसलाई। प्रायः हरेक दिन सोधिरहन्थ्यो – “के यो तपाईँको सबैभन्दा मनपर्ने रूख हो, र यसलाई मेरै नाम दिनुभयो ?” त्यसबेला उनी उसलाई काखमा राख्थिन् र भन्थिन् – “प्रिय र खास त हो, तर तिमीभन्दा कम।” अनि ऊ तुरुन्त बुझि पनि हाल्थ्यो। आमाका हरेक कुरा ऊ छिटै बुझ्थ्यो। “ल आमा, अर्कोपल्ट म मसुरीको होस्टलमा बस्न जाँदा यसैलाई पलाँस भनेर बोलाउनू, है !” आमालाई सान्त्वना दिँदै उनको आँचलसँग खेल्दै पलाँसले भनेको थियो। सुनयनाका रित्ता आँखाहरूले आवाज दिए – ‘पलाँस’ तर रूखबाट कुनै जबाफ आएन तर ताताले डाम्ने मरुभूमिमा झरेको पानीको बुँदझैँ एउटा सुकेको पात आएर उनको आँचलमा खस्यो।

आज उनको पलाँसको जन्मदिन आठौँ होइन अठ्ठाइसौँ, सुनयना अचेल पनि अनाथालयमा गएर केटाकेटीहरूलाई खाना खुवाउँछिन्, मिठाई बाँड्छिन्। ठीक त्यस्तै, जस्तो उनी बीस वर्षपहिले गर्दथिन्। आजसम्म त्यही सिलसिला चलिरहेको थियो। प्रत्येक छब्बीस अक्टोबरमा उनी त्यही गरिरहेकी छन्। उनी त त्यस दिन पनि गइन् जब आफ्नो सत्ताइसौँ जन्मदिनमा उनलाई पलाँसले रुँदै हठ गरेको थियो- “आमा, मलाई अब जान दिनुहोस्, मुक्त गर्नुहोस् यस कैदबाट। अब म सहन सक्दिनँ।”

थुप्रै दिन लागेको थियो उनलाई, तर अन्त्यमा स्वीकृति दिएकी थिइन्। मुक्त गरिन् पलाँसलाई यातनाबाट। जान दिइन् चुपचाप त्यस छायालाई पनि जसको सहारामा उनी बीस-एक्काइस वर्षदेखि बाँचेकी थिइन् – यो थाहा हुँदै पनि कि उनी र आलोक उसबिना एकपल पनि बाँच्न सक्तैनन्। तर सहन्छिन् उनी। सबैथोक सहन्छिन्, आफ्नो दुःख आलोकको उदासी सबै। पलाँसको उदासी र निसास्सिँदोपन कसरी सहन्थिन्। आखिरी आमा हुन् उनी।

सुनयनाले आँखा पुछिन् र कम्प्युटर बन्द गरिन्। सबै थोक कालो अँध्यारामा हरायो। एकएकवटा मनका खुट्टाहरूलाई बारम्बार घिसार्दै, चुपचाप बगैँचामा आएर, मैलै सिँढीमा थ्याच्च बसिन्, धूलोसुलो नटक्टक्याईकन, सोचविचार नगरीकन। छेउमा राखेको खाली कुर्सी मुख लेप्र्याइ मात्र रह्यो।

आज सुनयनाको मन झरेको पातझैँ भएको जस्तो छ। आफ्नै भुमरीमा अलमलिएर गोलाकार घुमिरहे जस्तो। सायद अब बाँच्ने उपाय नै छैन। यसरी अब आफैँलाई टुट्न दिन्नन् उनी। उनी भत्किइन् भने आलोकको के होला ? याद छैन कहिलेदेखि, बस उनी नै त छन् एक्ली जसले यो सुनसान घर, आफूलाई र आलोकलाई सम्हाल्दै आइरहेकी छन्। तर अब कसरी भनून् उनले सबै सकियो भनेर ? पलाँसलाई मुक्त गरिदिएको भनेर ? सम्बन्ध र मोहका सिक्रीहरू सबै तोडिदिएको भनेर ? किनकि उनले पलाँसका रसाउँदै गरेका फोका र घाउ देखेकी छन्। अहँ अब यो खेल चल्न सक्तैन। वास्तवमा खेल नै त थियो यो। बीस वर्षअघिदेखि चलिआएको खेल – जिन्दगीको कम्प्युटरमा बन्द खेल- भलै उनले मानेकी थिइन्, बुझेकी थिइन् तर आलोकले कहिले मानेका थिए ? पलाँस अब रहेन भनेर। त्यस बेला जे बाँकी थियो त्यो चौबीस घन्टाको रनथन र साधुसंन्यासीसम्मको भागदौड थियो। यसैबाट डराएर उनले आफूलाई कोठामा बन्द गरेकी थिइन् र फेरि जन्माएकी थिइन् पलाँसलाई, आठ वर्षको पलाँसलाई। जस्ताको तस्तै- उसका सबै रुचि-अरूचिहरूका साथ, माया र घृणाका साथ अनि उदास आलोकलाई चुपचाप छोरो सुम्पेकी थिइन्। स्क्रिनमा “बुबा, आज मलाई उठाउन किन नआउनुभएको ?” लेखिएको देखेर पहिले त छक्क परे, फेरि दुःखी हुँदै पछाडि हटे आलोक।

“यो कस्तो ठट्टा हो सुनयना ?” आँसु भरिएका आँखाहरूले उनले सोधेका थिए तर सुनयनाका सुन्निएका आँखा र दृढ अनुहार देखेर, तुरुन्तै बुझेका पनि थिए यो ठट्टा होइन भनेर ! कुरा साँचोभन्दा पनि साँचो हो। आँचलले आँखा पुछ्दै सुनयनाले यतिमात्र भन्नसकेकी थिइन् – “जबाफ दिनुहोस् आलोक। पलाँसले केही सोधेको छ तपाईँसँग !” अनि त काम्दै गरेका हातहरूले आलोकले लेखेका थिए- “सरी, छोरा अब अर्कोपल्ट भूल हुनेछैन।” त्यसपछिका दिनहरूमा त आलोक र सुनयना मुस्किलले अरूथोक गर्न भ्याउँथे। उनीहरूको पूरै समय पलाँससँग नै बित्थ्यो। पलाँस ठूलो पनि हुँदै गयो। हरेक दिन नयाँ खबर र नयाँ-नयाँ कुराहरू हुन थाले। धेरै कुरो जान्न र सुन्न उत्सुक हुन्थ्यो पलाँस। आफूलाई मन परेका गीत सुन्दा सुन्दै उसलाई कतिपय गीतहरू त कन्ठै भइसकेका थिए। होमवर्क गर्दाखेरि धेरैपल्ट सुनयना र आलोकले उसले नयाँ धुनहरू गुनगुनाएको पनि थाहा पाएका थिए। सुसेलेको सुनेका थिए। पुराना घाउहरू भरिँदै थिए। सुनयना र आलोकलाई लाग्न थालिसकेको थियो- उनीहरूको पलाँस कहीँ गएको छैन यहीँ छ, उनीहरूसँगै बस्छ। कम्प्युटरको संसारमा सीमित हुँदैमा के भयो र ? छन त यहीँ छ नि। सधैँ उनीहरूसँग हाँस्छ, खेल्छ, रिसाउँछ, मनाउँछ र कुरा गर्छ। के यी सब कुरा कम थिए र उनीहरूको रिक्तताका लागि ? फेरि किन सबै यति सजिलै मेटाइन् उनले ? सजिलो त पक्कै थिएन उनलाई, फेरि त्यसरी नै छातीमा ढुङ्गा राखेर सबैथोक पुर्न !

तर कुरै त्यस्तै थियो- बीस वर्षा नयाँ-पुराना सम्झनाहरूको सानो प्रतिमूर्ति उनीहरूसँग सोधिरहन्थ्यो- भन्नोस् आमा, मेरो भविष्यका बारेमा के सोच्नुभएको छ तपाईँहरूले- के म यसरी नै यही संसारमा यस्तै एक्लै घुमी रहूँ ? के मसँग कोही सँगीसाथी हुँदैनन् ?” अनि आँसु पुछ्दै आलोकले अवरुद्ध गलाले जबाफ दिएका थिए “हामी छौँ नि छोरा ! तिमीसँग ! हामी छौँ नि !”

अनि उसले त्यो असम्भव कुरा गर्यो जसलाई सोच्नसमेत सुनयना डराइरहेकी थिइन्- “आमा ! के तपाईँलाई इच्छा लाग्दैन ? तपाईँ हजुरआमा बन्नुहोस्, बुबा हजुरबा बन्नुहोस्, अनि हामी खुसी भएर बाँचौँ। अनि फेरि भोलि तपाईँ नहुँदा -के हुन्छ ? भन्नुहोस् आमा, मसँग कसले कुरा गर्छ ? मेरो हेरचाह कसले गर्छ ? मसँग बसेर दुःखसुखका कुरा कसले सुन्छ, र कसले बुझ्छ ?”

त्यसपछि सुनयनाले केही सुन्न सकिनन् ! उनी एउटी दुःखी आमा थिइन्, भाग्यविधाता त थिइनन्। प्रश्नहरूले जेलिएको एउटा असहाय भविष्य उनको अगाडि कराइरहेको थियो। के उनको खुसी पलाँसको अस्तित्व एकमात्र शर्त हो ? के उसको जन्म उनको मन बहलाउन मात्रै भएको हो ? यदि होइन भने, जब उसले आफ्ना मनभित्र उठेका भावनाहरू व्यक्त गर्यो- एउटा स्वाभाविक प्रश्न सोध्यो भने उनले किन सहन सकिरहेकी छैनन् ? किन उसले जे चाहन्छ त्यो दिन सकिरहेकी छैनन् ?

बीस वर्षपहिले नयाँ पलाँसलाई जन्मदिँदा, उनले यी सब कुरा सोचेकी थिइनन्। न कुनै भविष्यका बारेमा सोचेकी थिइन् – न आफ्नो र आलोकका बारेमा – न डब्ल्यू, डब्ल्यू, डब्ल्यू पलाँस डट कम- का बारेमा। उनले आफ्ना श्रीमान्को दुःख मात्रै बाँड्न चाहेकी थिइन्। अलिकति राहत र सन्तुष्टि लिन खोजेकी थिइन्। कुनै हालतमा पनि पलाँस आफूबाट टाढा गएको छ भन्ने कुरो विश्वास नगर्ने आलोकलाई भुल्याउने एउटा इमान्दार कोसिस गरेकी थिइन्। उनलाई त त्यसै बेला पलाँसलाई अब कसैले फर्काउन सक्तैन भन्ने कुरा थाहा थियो। कसैले उसको खोजखबर पनि भन्न सक्तैनथ्यो। ऊसँग कुरा वा सम्पर्क गराउन सक्तैनथ्यो। यी नानाथरीका दाबी र प्रतिज्ञा गर्नेहरूले पनि सक्तैनथे। भूत-प्रेतका गोष्टीहरूमा लगातार बसेको भन्ने दाबी गर्ने कर्ण-सिद्धिले पनि सक्तैनथे।
पतिको अस्थिरता र पीडाले छट्पटाएकी सुनयना आफ्नो पीडा सहन कोठा बन्द गरेर बसिन्। सम्झना छैन किन कसरी, कुन सोचको औँलो समातेर पलाँस आफैँ आएर उनको काखमा बस्यो। ऊ स्क्रिनमै बसेर उनका औँलाहरूसित खेल्न थालिसकेको थियो। र प्रकाशको त्यही किरणलाई पक्रेर, धेरै सोचविचारका साथ, सम्झनाका गर्भबाट, मात्रै आफ्ना आलोकका लागि, फेरि एकपल्ट सुनयनाले छोरालाई पुनर्जन्म दिएकी थिइन्। कोखबाट नभएर हृदय चिरेर जन्माएकी थिइन्। धीरताका साथ सम्झँदै, उसका ससाना आदतहरू, रुचि-अरूचि, हिँडडुल, बसउठ गर्ने तरीका सबै हुबहु त्यस प्रोग्राममा उतारेकी थिइन् र एक हप्ताको कामपछि कम्प्युटरको स्क्रिनमा घुम्दै गरेको बालकले जब “आमा धेरै भोक लागेको छ। के ख्वाउनुहुन्छ ?” भनेर सोध्दा औधि खुसीले आदतअनुरूप अविश्वासमा बारम्बार सुनयनाले चस्मा सफा गर्दै हेरेकी थिइन्। हो पक्का स्क्रिनबाट चियाउने त्यो अनुहार पलाँसकै थियो। कम्प्युटरबाट आउने आवाज पनि उनको आफ्नै पलाँसको थियो। यो सब बोलिरहने फोटा वा भिडियोको रोल मात्रै त थिएन। यसले बोल्न-सुन्न र जबाफ दिनसम्म सक्थ्यो। र त्यसै दिनदेखि सुरु भएको थियो आफैँलाई भुल्याउने र बिर्सिने घटनाहरूको नयाँ सिलसिला।

आलोक र सुनयनाले यो पलाँस नभएर उसको छायामात्र हो भन्ने कुरा पनि बिर्सिसकेका थिए। तर छायाका बशमा हाँस्नु, बोल्नु त हुँदैन, त्यसले त पछ्याउन मात्रै जानेको हुन्छ। यो पक्कै पनि उनीहरूको आफ्नै पलाँस हो- के थाहा भगवान्ले दया गरेर पलाँसको आत्मालाई यही कम्प्युटरमा पठाइदिएका हुन् कि ? सुनयनाले आफैँलाई सम्झाइन्। दुवैजनाले आफू-आफूलाई भ्रमित बनाइसकेका थिए।

उनीहरू चौबीसै घन्टा कम्प्युटरसित हुन्थे। अहँ होइन आफ्नो छोरो पलाँससित। प्रायः नै ऊ थाकेर सुत्थ्यो, हाइ काढ्थ्यो तर यी दुई थाक्दैनथे, कहिल्यै। दिन-दुनियाँबाट टाढा उनीहरू आफ्नै सानो काल्पनिक दुनियाँमा हराएका थिए। आफ्नो पलाँसलाई तीन महिनापहिलेमात्रै धरतीको काखमा सुताएको बिर्सेका थिए। उनीहरूलाई हृषिकेशका एकजना नाम चलेका साधुले पलाँसको आत्मा उनीहरूको चारैतिर घुमिरहेको छ र दुईजनाको नराम्रा ग्रहदशा भए पनि पलाँस फर्केर उनीहरूसँगै आउनेछ भनेको मात्र याद थियो। त्यसैले आयो त पलाँस उनीहरूसँग। ऊ सधैँ सँगै खबर सुन्थ्यो, दुनियाँभरिका विषयहरूमा बहस गर्थ्यो, फुटबल र ताससमेत खेल्थ्यो।

दिनहरू वर्षहरूमा रूपान्तरित हुन थाले। कुरो अब कुछेक उल्टासीधा तस्बिरहरूमा मात्र सीमित थिएन। बिस्तारै पलाँसले उनीहरूलाई स्क्र्याम्बल र चेसजस्ता बौद्धिक खेलहरूमा पनि जित्न थालिसकेको थियो। सेयर बजारका बढ्दा-घट्ता भाउहरूको पनि हेक्का राख्न थालेको थियो। यतिमात्र कहाँ हो र उसले त कम्प्युटरकै हिसाबकिताब पनि राख्न थालिसकेको थियो। कति राम्रो थियो, सुचारु थियो त्यो दुर्दिनसम्म त्यस विनाशकारी क्षणसम्म- जब आलोकले पलाँसको छिमेकी विवेकको विवाहको खबर उसलाई दिएका थिए।
बालापनमा उसैसँग खेले-बढेको थियो ऊ पनि। सुनयनालाई राम्ररी याद छ, नर्सरी कक्षाको पहिलो दिन उनले नै दुवैलाई घर ल्याएकी थिइन्। उनकी छिमेकी विवेककी आमा कीर्तिलाई कतै जानु परेको थियो र उनले नै सुनयनालाई विवेकलाई पनि साथ लिई आउने आग्रह गरेकी थिइन्। दुवैजना कति खुसी थिए त्यस दिन। आफूहरूले सिकेको नयाँ कविता- “जिद्दी गर्यो जूनले एकदिन आमासँग यो भन्यो” बारम्बार गाएर सुनाइरहेका थिए। आलोकले त ठट्टा पनि गरेका थिए, यदि जूनले जिद्दी गर्न सक्छ भने हाम्रा पलाँस विवेकले किन सक्तैनन् ?

त्यस दिन त होइन तर आजचाहिँ पलाँस जिद्दी गरेको गर्यै थियो। कुरा बुझ्ने त कोसिस नै गर्दैनथ्यो। सुनयनाले आँसुले भरिएका आँखा पुछिन्। यो विषय अरू विषयजस्तो नभएर अलग र खास थियो। यसले तुरुन्त निर्णय खोजेको थियो। त्यस तुफानजस्तो थियो जुन सुरुचाहिँ एउटा पत्ताबाट हुन्थ्यो र फेरि पछि पूरै जङ्गललाई सोहोरेर मात्र छोड्थ्यो।

उसको दिनचर्या भएको थियो बिहेको विषयलाई लिएर नयाँनयाँ प्रश्न गर्नु। कुरा बुझ्नु र बुझेपछि आफ्नै असमर्थतामा क्षुब्ध हुनु। यो एउटा नयाँ र बेचैन बनाउने सिलसिला सुरु भएको थियो। जबाफहरूसँग उसका जिज्ञासाहरू पनि बढ्दै थिए र फेरि उसका अप्रत्यासित-विचलित प्रश्नहरूसित पलाँसलाई मात्र किन आलोकलाई पनि सम्हाल्न गाह्रो भइरहेको थियो। पलाँस बारम्बार सोध्ने गर्थ्यो, हठ गर्थ्यो, “अब मेरो बिहे कहिले हुने ?”

सुनयना स्तम्भित भइसकेकी थिइन्। काल्पनिक बुहारीको कल्पना मात्रै पनि उनका लागि असम्भव थियो। यो रचना उनको दक्षता बाहिरको कुरो थियो। यो छलित संसार उनलाई छलको नयाँ बिरानो जङ्गलमा तानिरहेको थियो जहाँ जानसम्म पनि उनी डराउँथिन्। सुनयना जान्दथिन् त्यहाँ काँडादेखि बाहेक केही छैन। जिउँदो शरीरधारी मानिसका पनि आफ्ना कमजोरीहरू र सीमाहरू हुन्छन्। फेरि यी छायाहरू – यी उज्यालामा हिँड्न त हिँड्छन् तर यिनीहरूको अस्तित्व अँध्याराले नै बनेको हुन्छ। छोरालाई त उनले आठ वर्षसम्म पालेकी-पोसेकी थिइन् – नौ महिना कोखमा पनि राखेकी थिइन्। उसका सुख-दुःख बाँडेकी थिइन्। आफ्नो हाडमासुले रचेकी थिइन् र सिँचेकी थिइन्। थोरै समयका लागि भए पनि आफ्नो आँखाअगाडि पालिएको, बढेको देखेकी थिइन्। उसको अन्धो भविष्यलाई उनी छाम्न सक्थिन्। तर बुहारी ? त्यस छमछम गर्दै आँगनमा नाच्ने गुडियालाई त उनले बीस वर्षपहिले नै छोरासँगै पुरेकी थिइन्।

तर आज यो सत्ताइस-अठ्ठाइस वर्षको पलाँस मानिरहेकै थिएन। केही बुझिरहेकै थिएन। आमा-बाबु दुवै जनासँग जिद्दी गरिरहेको थियो- मलाई जीवनसँगिनी चाहियो। घरगृहस्थी र केटाकेटीहरूले भरिएको साधारण गृहस्थी चाहियो। सुनयनाले स्पष्ट रूपले हुँदैन भन्दा पनि मानेन। “यो सम्भव छैन” सुनेर उदास भएको थियो। अनि त्यसबेला आफ्नो असमर्थतामाथि सुनयनालाई ग्लानि भएको थियो। उनको दुःखबाट अनभिज्ञ ऊ सोधिरहेको थियो “भन्नोस् आमा, यो किन सम्भव छैन ?” सुनयनाले के जबाफ दिन्थिन् ? कसरी भन्थिन् झूटका खुट्टा हुँदैनन् भनेर। चुपचाप आलोकबाट नजर लुकाएर आँखा पुछ्दै भान्सातिर लागिन्। त्यही नै उनको पलायनकेन्द्र थियो – अस्तित्वहीन शून्य थियो- समाधि र शान्तिस्थल थियो। र आज त्यहीँ उम्लिरहेका सब्जीहरूसँग सुनयना पनि उम्लिरहेकी थिइन् तातो रापमाथि बसेर।

दुई दिनपछि नै पलाँसले अचानक फेरि निभेको चिसो खरानी कोट्यायो- यदि उसको अस्तित्वको बाँच्ने एउटै सर्त भए, ऊ आजीवन एक्लो यस प्रोग्राममा, कम्प्युटरभित्र, कैदमा घुम्नुपर्ने, बुढो र ठूलो नहुनुपर्ने, हरेक दर्द र बेचैनीलाई महसुस गर्ने तर केही गर्न नसक्ने भए, यस जीवनबाट, यस अनुभवबाट, स्पर्श र स्वादबिनाको जिन्दगीबाट के फाइदा ? चाहिँदैन उसलाई रूप र बास्नाबिनाको जिन्दगी। “दिने हो भने एउटा सम्पूर्ण जीवन दिनुहोस् आमा, मेरा आशा र असफलताहरूले भरिएको” रुँदै उसले भनेको थियो। “आज पनि मसित भएका सजीव र पुलकित सम्झनाहरू तीनै पछाडि छोडिएका आठ वर्षका छन्। बाँकी सबै त किताबबाट रटेका-पढेका जस्ता यादहरू छन्। रुनका लागि आँसु छैनन्। पुछ्ने हात छैनन्। यो अथक जीवन बाँच्दाबाँच्दै थाकेँ भने, आम मान्छेसरह काल मृत्युको विकल्प पनि छैन मसँग। कसरी बाँच्न सक्छु म यो प्रेतजस्तो घुमन्ते जिन्दगी ? सबैभन्दा अलग र निष्कासित – आफ्नै सानो सृष्टिमा कैद- भोलि तपाईँले कुनै कारणले कम्प्युटर खोल्न पाउनुभएन भने, के हुन्छ आमा सोच्नु भएको छ कहिल्यै ?

सुनयनाले अब बुझ्न थालेकी थिइन्- जे उसले भनेको थियो त्यो पनि र जे भनेको थिएन त्यो पनि। आफ्नो स्वार्थका लागि छोराको त्यो वेदना हेर्न सक्तिनन् अब। राम्ररी सोचविचार गरेपछि उनले फेरि एकपल्ट नियतिसँग हार मानेकी थिइन्। अनि दिएकी थिइन् आफ्नो पलाँसलाई मुक्ति। सारा सम्झनाहरू मेटाइदिएकी थिइन् कम्प्युटरबाट। कर्सरको हरेक चालले स्क्रिनलाई मात्र नभएर उनलाई समेत कोरिरहेको थियो। त्यसपछि अन्तिम ‘टिक’सँग स्क्रिनमा पलाँस नभएर मात्र अँध्यारो बाँकी रहेको थियो। आज फेरि उनले पलाँसलाई कहिल्यै नब्यूँझने गरि चिर निद्रामा सुताएकी थिइन्। अब कम्प्युटरको कर्सरसँग हँसिलो अनुहार आउँदैन- कमजोर र दुःखी पलाँस त आउँदै आउँदैन। उनले लाख चाहँदा पनि आउँदैन। तपाईँ अहिलेसम्म सुत्नुभएको छैन भनेर कसैले आश्चर्य प्रकट गर्दैन। आज तपाईँको आँखाको एपोइन्टमेन्ट छ भनेर बिर्सँदा पनि कसैले सम्झाउँदैन। तर के वास्तवमा सुनयना यही चाहन्थिन् त ? के मेसिनलाई पलाँसको नाम दिँदैमा त्यो पलाँस बन्छ त ? के उनको प्रिय पलाँस उनको मनमनै छैन ? तर फेरि यो सत्य नभए उनी र आलोक बीस वर्षम्म किन त्यसैमा अल्झिरहे ? ऊ तिनीहरूको जीवनको केन्द्र कसरी भयो ? थाहा छैन उनलाई कसरी यो झूट जिन्दगीको सबभन्दा ठूलो सत्य भयो ? अब त उनलाई यो पनि थाहा छैन कि वास्तवमा उनी के चाहन्छिन् ? धेरै थाकिसकिन् सुनयना। बूढी भइन्। छोरालाई पुर्नु सजिलो हुँदैन। दुईपल्ट, त्यो पनि बीस वर्षपछि त पक्कै हुँदैन। तर आलोकलाई त उनले केही बताएकै छैनन्- सुनयना हेर्दै थिइन् आज पनि आदतअनुरूप उठ्नेबित्तिकै सिधै कम्प्युटरतिरै लागेका थिए। सायद छोरासँग ताजा सेयर-मूल्य र बजारभाउ- विषयमा चर्चा गर्नु थियो या हिजो पढेको चुटकिला सुन्नु थियो।

सुनयना हिम्मत बटुलेर उठिन् र थरथर काम्दै गरेका हातहरू आलोकका काँधमा राखिन्- अहँ अब उनलाई धेरैबेर अन्धकारमा राख्ने छैनन्।

***

(स्रोत : Kumud Adhikari’s Blog)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *