लघुकथा : निष्ठाको भगवान

~आयुष चौधरी ‘सम्मोहन’~Ayush Chaudhari 'Sammohan'_1

एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो खुसीको रङ्ग महशुष गर्न पाइन । त्यसैले पनि होला उ मन्दिर धाउथी र आफ्ना सारा पिडाका महासागर बगाउथी । पानी पंधेरो गर्दै निष्ठा तरुणी भई , उ सुन्दर थिई जसका कारण जो कोही पनि उसलाई पाउनको लागी मरिमेट्थे । तरुणी निष्ठा यौवनको उन्मादमा स्वतन्त्र भइ विचरण गर्न चाहन्थी । यस्तैमा गाँउकी सोझी निष्ठाले एकजना परदेशी पाई जसले निष्ठालाई धेरै माया गथ्र्यो । पत्येक पल्ट गाँउ आउदा चुरा धागो टिका गाजल जस्ता सज्जाका सामान ल्याइदिन्थ्यो । विस्तारै परदेशी उसको सजिव भगवान बन्छ अनि निष्ठा मन्दिर धाउन छाड्छे । आज त्यही परदेशीसंग लगनगाँठोमा बाँधिएर उ काठमाण्डौ जान लागेकी हो ।

काठमाण्डौ जाने तयारी पुरा हुन्छ । गाँउका केही तरुणीहरु निष्ठाको भाग्य देखेर डाहा गर्छन् । काठमाण्डौ पुगेपछि उसको भगवानले उसलाई एक कोठीमा बेचीदिन्छ । उसलाई विश्वास लाग्दैन तर उ विवस हुन्छे । उसको मनको सजिव
भगवानको धरोहर भत्किन्छ । उ जेनतेन गरेर कोठीबाट भाग्न सफल हुन्छे । काठमाण्डौ , भिडभाड र कोलाहालको अपरिचित निर्दयी शहर उसलाई कहाँ जाउ के गरौं हुन्छ । काम कसैले दिन मान्दैन अनि सिथिल शरिर , भोको पेट लिएर उ मन्दिर धाउछे भगवानको शरणमा । मन्दिरको पेटीमा बसेर माग्न थाल्छे तर धर्म गर्ने कसैले पनि सुकी दिदैन उल्टै शब्दबाण प्रहार गर्छन “पाप पखाल्न आइहोली नी मन्दिरमा… ।” रात पर्छ , चारैतिर सन्नाटाले गाँजेको रातमा अब भगवानकै समिपमा उसलाई डर लाग्न थाल्छ । कतै नजिक केही रक्सि खाएर मातिएको आवाज सुनिन्छ । उसले चाल नपाउदै उसलाई एउटा बलियो हातले समात्छ । उ भगवानकै अगाडी बलात्कृत हुन्छे ।

सदाझै भोलीपल्ट पनि दिनभरजसो मन्दिरमा श्रद्धालु भक्तजनको घुइचो लागीरहन्छ । उ त्यसरीनै दिनभर भोको पेट लिएर मागीरहन्छे । दुइदिनको भोको पेटले सहि नसक्नु भएपछि उ मन्दिर परिसरबाट निस्कन्छे । बाटोमा उसलाई एकअपरिचित हातले समातेर बारमा पसाल्छ । जताततै भद्दा संगितमा बेहोसी पारामा मानिसहरु रक्सिको बोतलसंगै नाचीरहेका हुन्छन् । सुन्दरीहरु ठालुहरुका अंगालोको सोभा बढाइरहेका हुन्छन् । उसलाई कता कता सरम लाग्छ । त्यो मान्छेले निष्ठालाई भान्सा खण्डमा पु¥याउछ । एक प्लेट सेकुवा, भुजा भटमास र गिलासमा रम ल्याउछ र निष्ठाको अगाडी राखिदिन्छ “खाउ निष्ठा” । दुइदिन देखि भोकाएकी निष्ठा केहि नसोसी खान थाल्छे । केही खाइसकेपछि भलाद्मी मान्छेले थप सेकुवा, भुजाभटमास र रम थपिदिदै भन्छ “लौ यो कपडा थाइल्याण्डको हो , लगाएर अगाडी बारमा आउनु ” । खाइसकेपछि निष्ठा दिइएको कपडा लगाएर नसाको तालमा लरखराउदै बारमा पुप्छे । बारमा के छिरेकी थिई अर्को बलियो हातले उसलाई समात्दै पैसा दिन्छ अनि अंगालेमा बेर्छ । निष्ठा सोच्छे भगवान मन्दिरमा होइन बारमा हुदो रहेछ ।

आयुष “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके

(स्रोत : Sahitya Batika)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.