कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम के कस्तोरूपले राजनीतिमा देखा पर्नसक्छ भन्ने बिषयमा दरबार र उसका रणनीतिक योजनाकारहरूबीच दुविधा र फरक मतहरू थिए । अघिल्लैपटकको चुनावमा समेत ‘बाम’ जनपक्षीय उम्मेद्वारहरूले ‘उल्लेख्य’ सङ्ख्यामा जीत हात पारेपछि राजनीतिक वृत्तमा यस परिणामले निकै चर्चा पाइरहेको थियो । मानिसहरू अनेक अड्कलबाजी गर्दै रेडियोका नजिक बसिरहेका भेटिन्थे । बुद्धिजीवी, शिक्षक, कर्मचारी सबै जना आ्आफ्नै गच्छेअनुसार राजनीतिमा चासो राखिरहेका हुन्थे ।

बिना सेन्सर पत्रिकाहरू बजारमा आउन्नथे । तर पनि ती पत्रिकाहरूबाट केही खुकुलोपन महसुश गर्न सकिन्थ्यो । यही राजनीतिक सेरोफेरोका दिनहरूमा पुरानो बानेश्वर र डिल्लीबजारबीचको एउटा कुनामा रहेको हाकुचाको ममः पसल (भट्टी)मा गहिरो साँझ पर्दा तीनजना भद्र मानिसहरू छिरे । तीमध्ये गोरो, अग्लो र झल्लरी कपाल भएको सफासुग्घर र उज्यालो देखिने व्यक्ति अंग्रेजीको फ्रोफेसर थियो । उसको नाम रवि थियो र राम्रै चर्चा पाएको प्राध्यापक थियो । अर्को व्यक्ति, सुकेको दाउरोजस्तो ख्याउटे, चुच्चे थियो र ऊ बाम बुद्धिजीवी भनेर चिनिन्थ्यो साथै कडाखाले बाम विचारधाराको अग्रणी प्रसारकहरूमध्ये एक थियो । अर्को व्यक्ति अग्लो पातलो र कुर्ता पाइजामा लगाएको थियो । ऊ नेपाली कांग्रेसको सदस्य हो भन्ने हल्ला थियो र निजले हैन भनेर कहिल्यै प्रतिकार गरेको कसैले पनि देखेको थिएन । ऊ समाजशास्त्री पनि थियो र पेशाले प्राध्यापक पनि । ऊ हमेसा बीबीसी सुन्थ्यो र पुरानो समयदेखि बीबीसीको निरवच्छिन्न स्रोता भएकोले उसलाई सबैले उत्तम कोटीको सूचनाको स्रोत पनि मान्थे । उसको खास नाम हरिदत्त ढकाल भए पनि विद्वत्वर्गले उसलाई ‘बीबीसी बाजे’ भनेर चिन्दथे ।

हो । यी तीनजना हाकुचाको भट्टीमा छिर्नेबित्तिकै हाकुचाकी श्रीमती मुसुक्क हाँसी । यी र यस्तै खालका पाँचसात जना मान्छहरूको आगमनको कारणले हाकुचाको भट्टीमा वसन्त छाएको हुन्थ्यो । यी बुद्धिजीवीहरू हाँसो, ठट्टा, विचार विमर्श, व्यंग्य र रमाइलो गर्दै मीठो मानेर ‘बिजुली पानी’ तन्काउँथे । र झगडा गरूँला झैँ गरी कुरा गर्थे । तर पनि झगडा गरिहाल्दैनथे र धेरै दिन उधारो राख्दैनथे ।

अंग्रेजीको प्राध्यापक रवि एकापट्टि र बीबीसी बाजे तथा च्याँसे बुद्धिजीवी नगेन्द्र अर्काकापट्टि बसे । नगेन्द्रले चुरोट सल्कायो ।

‘आजभोलि के हुँदैछ देशमा ?’ प्रा. रविले हँसिलो मुहार बनाएर कुरा शुरू ग¥यो ।

‘यो कुरा त बीबीसी बाजेलाई नै थाहा हुन्छ….’ नगेन्द्रले पनि मुसुक्क हाँसेर बीबीसी बाजेतिर जिम्मेवारी पन्छाइदियो ।

‘हेर्नोस्…..के भएछ भने ….’ बीबीसी बाजेले उत्साहपूर्वक भागवत्कै कथा भन्न खोजेझैँ गरी शुरू ग¥यो ‘उता राजधानी मस्कोमा हिउँ पर्न थालेछ …त्यसपछि त्यहाँ धेरै जाडो भयो… बुझ्नु भएन के ? अब धेरै जाडो भएपछि त पक्कै पनि भुवादार ओभरकोट, लगाउँनै प¥यो, ह्याट पनि लगाउँनै प¥यो,…….तब कमरेड बशिष्ठ यस्तो चैतको गर्मीमा पनि काठमाण्डौँमै मोटो ओभरकोट, गलबन्दी, टोपी बुद्धि बिनाको टाउकोमा खाँदेर हिँडे….। एकदिन उता पेकिंगमा पानी परेछ, बुझ्नु भएन के ? त्यसपछि क. मुक्तिनाथ यता माघको घमाइलो दिनमा पनि छाता ओडेर हिँडे ।’

प्राध्यापक रवि प्रसस्त आनन्दित भएर करोडको मुस्कान छर्दै हाँस्यो । तर च्याँसे नगेन्द्रले चुरोटको अन्तिम सर्को बेस्करी तानेर धुवाँ बीबीसी बाजेपट्टि जाने गरी उडाएर उही लवजमा प्रत्युत्तर दियो ‘एकपटक के भएछ भने… बुझ्नु भएन के बाजे ? दिल्लीमा बाढी आएछ….यता बानेश्वर र चाक्सीबारीमा तारजाली भेला पार्न थालिएछ …’

सबैजना हाँसे । त्यहाँ एकअर्कामा प्रहार, व्यंग्य, विमर्श हुँदा झगडा नहुनु राम्रो पक्ष थियो । यिनै कुराकानी र छेडखानीका बीचमा भटमास, छोइला, बजी, गोलभेडाको अचार, अदुवा, लसुन, तथा बिर्को बिनाको वियरको बोतलमा एक बोतल ‘कत्था’ हालेको ‘ओरिजिनल’ ‘लोकल माल’ आइपुगेको थियो । साथमा तीनवटा ग्लास पनि । अनि हाकुचाकी स्वास्नी, अर्थात् साहुनीले ग्लासमा रक्सी हालिदिएर हिँडी ।

गिलासहरू उठे । आपसमा ठोक्किए । अनि आआफ्ना ओठसम्म पुगे । तब धैर्यतापूर्वक खानपिन अघिबढिरह्यो ।

‘हेर्नोस्…..’ बीबीसी बाजेले अलि तन्किएर भन्यो ‘नेपाल नरेशले हिन्दुस्तानी ‘प्राइमिनिस्टर’लाई सोमत नपु¥याई व्यवहार गरेको आरोप लागेको छ । र उताको दिल्ली दरबार आजभोलि यताको हाम्रो दरबारमार्गसँग च्याँठिएको छ…. कुनै पनि बेला यहाँ जुनसुकै उपद्रो हुनसक्छ….’

बुद्धिजीवी नगेन्द्रले कान ठाडा पारेर सोध्यो ‘बाजे यो सूचनाको स्रोत के हो ? त्यै बीबीसी ?’

‘स्रोत खुलाउँन नमिल्ने पनि हुनसक्छ….’ प्रा. रविले बाजेतिर हेरेर थप्यो ।

‘हाम्रो कांग्रेसमा त्यस्तो गोप्य केही हुँदैन । जत्ति पनि मिल्छ भन्न । बामपन्थीहरूले जस्तो ढाँट्दै छल्दै हिँड्नु पर्ने भए पो गोप्य कानेखशी गर्नु …..मिथ्या गोप्यतामा म त विश्वास पनि गर्दिनँ….अँ जहाँसम्म समाचार स्रोतको कुरा छ, यो कुरा मैले बानेश्वरको पान पसलमा सुनेको हुँ । तर सूचना भरपर्दो छ ….स्थिति निकै गम्भीर छ….’ यसो भन्दै गर्दा बीबीसी बाजे कतै पनि गम्भीर थिएनन् र छिप्पिएको बोकाले मकै चपाएजस्तै मजाले भटमास चपाइरहेका थिए । र उनको दाहिने हात छोयलातिर तन्किँदै थियो । बाजेले गिलास उठाए र सिरिप्प पारे अनि एकपटक मुख बिगारेर बाहुलले मुख पुछिसकेपछि आँखा खुम्च्याएर भने ‘कुरो गम्भीर छ….दिल्लीमा नेपाल मामला हेर्ने विज्ञ एस..डी. सन्त सहित कांग्रेस आई, भाकपा(माले)सहितका प्रतिनिधिहरू भेला भएर चियापान गरे…..’

‘के भो त ? गरिरहन्छन्…..के ठूलो कुरो भयो त त्यो….’ उक्त विषय नयाँमात्र थिएन अपितु वजनदार पनि थियो र कुरालाई गहिराईसम्म पु¥याउँने उद्धेश्यले बीबीसी बाजेलाई उत्तेजित (प्रोभोक) गर्ने शैलीमा नगेन्द्रले त्यति भन्यो ।

बीबीसी बाजेको शायद कन्पारो तात्यो । उसले गिलास च्याप्प समात्योे र झण्डै दुईपटकसम्म घुट्क्याउँन पुग्ने माल एकैपटकमा सिनित्त पारेर बोतलबाट ग्लासमा फेरि खन्याएर भन्यो ‘तपाई कस्तो कुरा गर्नुहुन्छ यार ? त्यो ठट्टाको कुरा हो ? तपाई बामपन्थीहरू गम्भीर हुनुपर्ने विषयमा ख्यालख्याल गर्नु हुन्छ अनि ख्यालख्यालको कुरामा चैँ बडो गम्भीर बन्नुहुन्छ….तपाईहरूको मलाई यही बालसुलभ चरित्र मन पर्दैन क्या….’

‘सही कुरा हो….’ प्रा. रवि प्रायः खुल्दैनथ्यो । ऊ बाम वा प्रजातान्त्रिक जो भए पनि दुबैतिर ठिक्क हुन सक्थ्यो । तर बढी चैँ बामहरूसँगै लहसिन्थ्यो ।

‘यो बामदोषदृष्टि हो ….दिल्लीमा नेपाल विज्ञहरूको बैठक बस्नु भनेको ठट्टा हो र….?’

‘भन्नोस् न त अनि यत्रो दोषारोपणसहितको दर्शन किन छाँट्नु प¥यो त ? भने भै हाल्यो नि त… के भएको हो ।’ नगेन्द्रले चुरोट सल्काएर भन्यो ।

‘सुन्नोस्……त्यो बैठक आग्रहपूर्ण थियो रे ….नेपाली कांग्रेस र नरम बामपन्थी दलहरूलाई एकै स्थानमा ल्याउँन त्यहाँ दुतहरू तयार गरिए ….र नेपाल नरेशलाई घुँडा टेकाउँन आर्थिक नाकाबन्दी लगाउँन पनि पछि नपर्ने सम्मका कुरा भएका छन् रे ….’

‘यो त निकै गम्भीर कुरा पो आयो त….’ प्रा. रविले गिलास उठाएर भन्यो । ‘हुनसक्छ….’ नगेन्द्रले गिलास उठाएर एकपटक चुस्की लियो र भन्यो ‘संसदवादी बामहरू नेपाली कांग्रेसलाई मिलाएर पञ्चायतविरूद्ध भिडाउँने कुरा …..अनि सत्ता परिवर्तन गर्ने स्वरहरू आजभोलि ‘साउथ ब्लक’का एजेन्टहरूबाट प्रचारित हुँदैछ ।’

‘ह्या…..तपाईहरूको यही ताल मलाई मन पर्दैन क्या…..को एजेन्ट ? किन एजेन्ट ? तपाईहरू यो कानेखुशीवादमै रमाइरहनुहुन्छ, के भनौँ….’ बीबीसी बाजेले जंगिएर भन्यो ‘यो कुरा उता ‘हिन्दुस्तान टाइम्स’ मै आइसक्यो ….तपाई बुद्धिजीवीहरू कुन दुनियाँमा हुनुहुन्छ….? दरबारमार्ग आजभोलि त्यसै तातेको हो र ? काला छाला हुनेहरूमाथि गहिरो निगरानी शुरू भै सकेको छ ….र नेका र बाम गठबन्धन बनाउँने दिल्लीको योजना गर्भमै तुहाउँन बालुवाटार सक्रियतापूर्वक लागेको छ । कुरो बुझनुहोस् ।’

यहीबेला त्यहाँ एकजना व्यक्ति छि¥यो । उसले सानो र मैलोमैले झोला झुण्डाएको थियो । लुगाफाटामा कुनै ताजापन नभए पनि यो मान्छेको अनुहार भने निकै उज्यालो थियो

‘नमस्कार….’ आगन्तुकले तीनै जनालाई भन्यो ।

‘अहो कविजी……कति ढीलो….. ! हाम्रो त दोस्रो चरणमा प्रवेश गरिसक्यो ….’ यो एउटा वाक्य तीन जनाले पूरा गरेका थिए । अगन्तुक व्यक्तिको खास नाम प्रेमहरि शर्मा थियो तर टाइटल नाम भने थियो – ‘स्वच्छ प्रबाह’ । साथमा कविता पनि लेख्ने स्वच्छ प्रबाह प्रा. रविपट्टि बस्न पुग्यो र अर्को बोतल, गिलास र थप सितन पुनः टेबुलमा आइपुग्यो ।

‘नाम चैँ स्वच्छ प्रबाह….’ बीबीसी बाजेले भन्यो ‘लुगाफाटा चैँ किन मैला र आइरन नलगाएका नि ?’

सबै हाँसे र कवि पनि हाँसिरहेको थियो । कवि स्वच्छ प्रबाह बोतलबाट गिलासमा रक्सी खन्याउँन थाल्यो । लोकल रक्सीको अनौठो गन्धलाई ऊ गुलाब फूलकै बासनाजस्तै प्यारो हो कि भनेझैँ नाकको टुप्पामा प्रस्टसँग महसुश गरिरहेको थियो ।

‘अलि सफा सुग्घर भएर, दा¥ही, केश अलि राम्ररी कटाएर, लुगाफाटा राम्ररी सफा गरेर, पालिस गरिएका जुत्ता लाएर हिँड्ने अनि बेलुका चट्ट बियर, हुस्की पिए पो अलि बान्की परेका कविता पनि फुर्थे होला ….लोकल ठर्रा, लोकल कविता…..लोकल कवि…. ’ बीबीसी बाजेले हाँसेर भन्यो ।

‘लोकल भाले….?’ प्रा. रविले थप्यो ।

‘वास्तवमा नेपाली साहित्य माथि उठ्नुपर्छ….’ चुर्से नगेन्द्रले चुरोटको धुवाँ उडाउँदै गम्भीर भएर भन्यो ।

‘कवि जति लोकल ठर्रा पिएर भुइँमा लढेका छन्……के को नेपाली साहित्य माथि उठ्नु ?’ बीबीसी बाजेले चुरोट सल्काउँदै भन्यो ‘लौ …जे होस्…एउटा कविता सुनाऊ कविजी….’

‘एक छिन मूडमा आउँन देऊ न बाजे…..आज कविता होइन मुक्तक आउँछ…..’ कवि स्वच्छ प्रबाहले ङिँच्च दाँत देखाएर भन्यो । ऊ कतै पनि रिसाएको थिएन ।

‘खासमा कविता पनि गहिरै कुरो हो…..अनि रवि सर् यो नेपाली कविता र अंग्रेजी कविताबीचको दूरी चैँ के हो ?’ बीबीसी बाजेले प्रा. रविलाई हेरेर गम्भीर भावभंगिमासहित सोध्यो । उसको अनुहारमा एकप्रकारको उत्सुकता र लोकल रक्सीको प्रभाव छर्लंगै देखिएको थियो ।

‘भावको गहिराइ, कल्पनाशीलता, अतुलनीय नयाँ शैली, साधारण विषय बस्…..अंगे्रजीको खूबी यत्ति हो । ’ प्रा रविले चुरोट सल्काएर भन्यो । ऊ अरू बेला चुरोट पिउदैनथ्यो । तर मदिरा पिएको बेलामा एकआध चुरोट तानिहाल्थ्यो ।

‘लौ प्रबाहजी जाओस्….यौटा कविता……के ढीलासुस्ती तालले तानेको…. स्वाट्ट पार्नोस् न….’ नगेन्द्रले भन्यो ।

‘हो त ?’ कवि स्वच्छ प्रबाहले दुई घुट्की रक्सी एकैपटकमा स्वाट्ट पा¥यो र भटमास उठाउँदा उसको मुखाकृति थोरै विकृत भएर तन्किएको थियो । अनि कविले भन्नथाल्यो ‘सुन्नोस् यो कविता…’

कवि प्रबाहले आन्तरिक तयारी गरेझैँ गरी हात हल्लायो र गला सफा ग¥यो । मानौँ ऊ कुनै महान् गायक हो र कुनै विशाल समारोहमा प्रत्यक्ष गीत गाउँने तयारी गर्दैछ । अनि नाटकीय शैलीमा आँखा, हात र टाउको पनि केही फरक तरिकाले हल्लाउँदै कविता वाचन गर्न थाल्योः

‘खोला यहाँ दक्षिणतर्फ बग्छ

सत्ता सधैँ दक्षिणबाट चल्छ

त्यो बाघ नै हो रिस झिक्छ झिक्छ

नेपाल खै यो कति टिक्न सक्छ ?’

‘थिम एकदम ठीक छ ….तर छन्दमा भयो …’ प्रा. रविले छन्दप्रति नाक खुम्च्यायो ।

‘तगण, मगण को यो रगड…..सबै गडबड…’ बीबीसी बाजेले भने ‘कवितामा रिमाल बोलाऊ क्या कविजी…….सीधा भन न….यार्….कसको डर लाग्या हो …? यो लेघ्रो तानेर रुन्चे श्लोक नबनाऊ क्या….यसरी भनन बरू ः दक्षिणमा पहाड छ…त्यहाँ एउटा भीमकाय राक्षस बस्छ….ऊ मेरो छाप्रोतिर ढुंगा हान्छ…प्रत्येक वर्ष म घाइते भएको छु….हुनसक्छ यो वर्ष मेरो जीवनकै अन्तिम वर्ष बनाइदिन सक्छ….अहो, दक्षिणको त्यस भीमकाय राक्षसले….’ बबिीसी बाजेले पनि हात हल्लाएर कविता बाचन ग¥यो ।

‘वाह…वाह….’ सबै जना रमाए ।

‘तपाईभित्र त जिउँदो कवि छ बाजे….’ प्रा. रविले भन्यो ।

‘पहिले पहिले त लेखेकै हो नि कविताहरू ‘रूपरेखा’मै छापिएका छन् मेरा कविताहरू ….’भानु’मा पनि छन्….’ बाजेले पनि तात्तिएर भने ।

‘अगि हामीले दक्षिणकै कुरा गर्दै थियौँ । अहिले कवितामा पनि एकाएक दक्षिणकै कुरा कताबाट आयो ? कविजीले सबै कुरो चाल पाइसकेको हो कि क्या हो ?’

‘जहाँ नपहुँचे कवि, त्यहाँ पहुँचे रवि…’ नगेन्द्रले भन्यो ।

‘उल्टा भयो । लागिसक्यो कि क्या हो ? जहाँ नपहुँचे रवि, उहाँ पहुँचे कवि….’ बीबीसी बाजेले नगेन्द्रलाई सच्याएर भन्यो ।

‘ठीक ठीक…’ नगेन्द्रले स्वीका¥यो र एकपटक हाँस्यो ।

‘ए अँ….’ बीबीसी बाजे एकाएक सक्रिय भैहाले र भने ‘यो प्रजातान्त्रिक र बाम तालमेलका लागि दिल्लीमा दौडधूप चलेको सत्य हो….बामघटक धेरै भए, त्यसैले तार जोड्न भाकपा (माले) र कांग्रेस (आई) लगौँटी कसेर लागेका छन्….पञ्चायत अब चल्न कठिन छ….’

‘अब के हुन्छ त ?’

‘प्रजातन्त्र आउँछ…संवैधानिक राजतन्त्र हुन्छ….हुनुपर्छ….स्वतन्त्रता …यसरी डरले कुनामा बसेर सानो स्वरले साउती गरेर बोल्नु पर्दैन….मल्टीपार्टी सिस्टम हुन्छ….नयाँ संविधान बन्छ र सबै समान हुनेछन्…लेख्ने, बोल्ने, पार्टी खोल्ने, मानव अधिकार, आवधिक निर्वाचन…आहा….’ बीबीसी बाजेले एकैस्वरमा वाक्य टुंग्यायो र गिलासतिर हे¥यो । गिलास रित्तो थियो र उसले प्लेटमा नजर लगायो र प्लेटलाई नै सोधेझैँ भन्यो ‘छोइला छैन…?’

‘मगाए भैगयो नि….’ नगेन्द्रले त्यति भन्यो । तर कविले अगाडि थप्यो ‘तपाईको प्रजातन्त्र उही दक्षिणको जस्तै त होला नि….के काम ? केही दम छैन, त्यो बिहारी प्रजातन्त्रमा….’

‘के कुरा गर्नु हुन्छ यार्…..राजा महेन्द्रले तपाई बामपन्थीहरूलाई जे सिकाइदियो त्यो भन्दा पर गएर सोच्नसक्ने मति नै छैन क्या तपाईहरूमा….’ बीबीसी बाजेले कडा स्वरमा भन्यो ‘तपाई गोरु भएर जोतिन मन्जुर गर्नुहोस्….मलाई त्यो मन्जूर छैन…..मलाई बिहारी नै सही प्रजातन्त्त चाहिन्छ….तपाईहरूलाई त मान्छे होइन, गोरु हुन पनि मन्जूर छ….क्यारे… ’

‘वास्तवमा कस्तो गजब छ है ? दक्षिणतिर खान नपाइने भुक्न पाइने । उत्तरतिर खान पाइने भुक्न नपाइने । काठमाण्डौँमा भुक्न पनि भट्टी चाहिने ।’ रविले भन्यो ।

‘त्यो पनि अँध्यारो कुनामा…..’ कविले थप्यो । सबैजना हाँसे ।

‘हैन… हैन, हाम्रो देशमा त भुक्न पनि नपाइने, खान पनि नपाइने….’

‘भूमिगत गिरोह सक्रिय छ दक्षिणको योजना सफल हुन देला र ?’ रविले बीचैबाट कुरा थप्यो ।

‘यो भूमिगत गिरोहको नाइकेलाई केटी लिएर हिँड्दै र मूर्ति सोहोर्दैमा फुर्सद छैन । यस्ता फोस्राले के गर्न सक्छन्….जब दिल्ली नै तातिसक्यो भने ।’
बीबीसी बाजेले भन्यो ‘हगिसकेपछि दैलो देख्ने अभूतपूर्व दूरदर्शी हुन् यी भूमिगत गिरोहका नाइकेहरू ….’

‘मैले त अर्को कुरा पनि सुनेँ है ? राजाले पोखरा भ्रमणबाट अर्को साल हिउँदमा बहुदलीय पञ्चायती व्यवस्था घोषणा गर्ने रे ….त्यसपछि नेपाली कांग्रेसलगायत सबैलाई देशको अवस्था हेरेर समयानुकूल अगाडि बढ्न र प्रजातान्त्रिक अभ्यास गर्न सार्वजनिक अनुरोध गर्ने रे …’ कवि स्वच्छ प्रबाहले भन्यो ।

‘कविजीले पनि कुरा त अब्बल दर्जाकै गर्न था’ल्या छन् आजकल….होला के त्यस्तो ? बाघले सिकार बाँढेर खाँदैन भन्ने सुन्या हो मैले त….’ प्रा. रविले भन्यो ।

‘पारिको योजना तुहाउँन यो कुरा आएको हुनसक्छ….तर दरबारकै अनुदार पक्ष कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्छ….’ बीबीसी बाजेले खाली गिलासमा हेरेपछि कवि स्वच्छ प्रबाहले बोतलबाट गिलासमा रक्सी खन्याइदियो र एक घुट्को तानेपछि बीबीसी बाजेले भने ‘वर्तमान नरेश प्रजातान्त्रिक देशमा शिक्षादीक्षा पाएका र भलाद्मी स्वभावका पनि भएकोले त्यस्तो अड्कल काटेका पनि हुनसक्छन्….शायद त्यस्तो हुनसक्छ….’

‘साँच्चै, पुर्वेली विद्रोहीहरूको के ताल हो यो ? पूरै पञ्चायती संसदमै हाम्फालेर चुर्लुम्मै भास्सिन उत्ताउलिएको जस्तो लाग्छ…. ए रवि जी, के हो यी पूर्वेलीहरूको रणनीति…?’

‘मलाई सोध्नुहोस् कविजी यस्तो कुरा….कता रविजीलाई सोधेको यस्तो प्रश्न ?’ बीबीसी बाजे अगाडि सरिहाल्यो ‘नेकपा विद्रोहीेको यो रणनैतिक चाल हो । हुन त बामपन्थीहरूको चाहना के हो ? रणनीति के हो खूद उनीहरू आफैँलाई थाहा हुन्न त…अब रविजी वा हामीलाई कसरी थाहा हुने, हैन ? फेरि उहाँ रविजीले सक्रिय बाम जीवन छोडेको कति भयो रे हजुर ? तीनवर्ष ? अँ झण्डै तीनचार वर्ष…..चालिस नाघेपछि त तपाई गलिहाल्नु भो नि….’

‘पूर्वेलीहरूले माओविचारधारा परित्याग गरिसकेपछि…’ नगेन्द्रले चुरोट सल्काएर सलाईको काटी टेबुलको पानीमा चोप्दै भन्यो ‘उनीहरूले यो पञ्चायती संसदको उपयोगको नीति लिएर फण्डाफोर अभियान त चलाए….. वर्तमानमा त राम्रै भएको होला….तर दीर्घकालीनरूपमा यसको नाफाघाटाको दृष्टिकोणबाट चीजको अन्तर्य बुझ्दा पूर्वेली क्रान्तिकारीधार समाप्त प्रायः हुनेछ….र उनीहरू संसदवादको दलदलमा कहिल्यै नउठ्ने गरी फस्ने छन्…..यो कुरामा ढुक्क हुनुहोस्….’

‘यो युग नै संसदको युग हो, नगेन्द्रजी….बामपन्थीहरू पनि संसदमा आए भने तिनको पनि विचार सुरक्षित हुन्छ अन्यथा ….छोड्नुहोस् यस्ता कुरा….तिनलाई कतै म्युजियमतिर खोज्न निस्कनुपर्छ….’ बीबीसी बाजेले बाहुला माथि सारेर भन्यो ‘संसदमा बाम आएर काम गरे त भइगयो नि….हामीलाई मन्जुर छ….तर यहाँ काला अरिंगालहरू प्रकट हुन थालेका छन् ।’

‘हेर्नोस् बाजे…’ कविले प्रतिकार गर्दै भन्यो ‘संसदवादले मुक्ति दिने भए….संसारको दुई तिहाई भूभागमा साम्यवादी सत्ता स्थापना हुने नै थिएन । यो त धरातलीय यथार्थ हैन र भन्या ? कराउँन पाएर मात्र मान्छेको आधारभूत आवश्यकता पूरा हुने हो र ? उन्नति हुनु परेन ?’ कविले गिलास उठायो ।

‘न्याय र समानता विधिले दिने हो कविजी, कुनै महान् नेताको कृपाले दिने चीज होइन र दिँदैन पनि ….यो भ्रममा नपर्नु होला कि कुनै दिन बडो ठूलो नेता जन्मिन्छ र उसले क्रान्ति गरिदिएर सबै कुराको हल गरिदिनेछ र सबैलाई स्वतन्त्र र समान बनाउँने छ…..यस्तो ‘उटोपिया’मा नबाँच्नू होला….न्याय, मुक्ति र समानता भनेको विधिले दिने हो, व्यक्तिले दिने होइन । अनि त्योमात्र टिकाउ हुन्छ….कोरा भावनामा बगेर कवि त हुनसकिएला, तर यथार्थ बुझ्न सकिन्न….न्याय र समानता बन्दूकले दिन्छ भन्ने कुरामा तपाईहरू के कति कारणले ‘कन्विन्स्ड’ हुनुहुन्छ म त छक्क पर्छु यार्… ’

‘नकारको नकार सिद्धान्तले नै समाजलाई त्यता लैजान्छ नि….दास युग, कृषि युग, सामन्ती युग र औद्योगिक पूँजीवादी युग र समाजवादी युग हुँदै साम्यवादमा पुगिन्छ….द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक समाजवादबारे अध्ययन गर्नु प¥यो नि बाजे….’ नगेन्द्रले एक घुट्को लगाएर भन्यो ‘तिमी रूप पक्षमात्र हेर्छौ बाजे….बस्तुको सारपक्षलाई वास्ता गर्दैनौ….पहिले मात्राको विकास हुन्छ अनि गुणात्मक विकास र फड्को….यो त प्रस्ट छँदैछ नि…वर्गसंघर्ष र वर्गहरूको बीचको टकराव …त्यसपछि सरकारी दमन, जनताबाट त्यसको प्रतिरोध, त्यसपछि विस्फोट, त्यसपछि विद्रोह र त्यसपछि सत्ता कब्जा….’

‘सर्वहारावर्गको अधिनाकत्व….रक्सी खाएजस्तो कुरा गर्नु न यार्….गाँजा तानेजस्तो कुरा गरेर हुन्छ….?’ बीबीसी बाजेले मुसुक्क हाँसेर भन्यो ‘तपाईले भनेका यी सबै किताबी कुरा चियापसलमा गर्न त हुने खालका छन् तर यथार्थ जीवनमा कहीँ पनि काम नलाग्ने भइसके ।’

उनीहरूको स्वर अलि चर्को हुँदै आउँन थालेको थियो । लोकल मदिराको असरले मनभित्रैबाट आफ्नो खूबी देखाउँन थालेको थियो । त्यस मदिरालयमा शहरका यी प्रतिष्ठित बुद्धिजीवीहरू राँगाको मासु, रक्सी र चुरोटको धुवाँको अमूर्त दुनियाँमा निस्फीक्री थिए । संयोग कस्तो थियो भने ती चारैजना बुद्धिजीवीहरू ब्राह्मण थिए ।

‘कविजी, ए कविजी कविता जाओस्….’ रविले कविलाई बीचमा ल्याएर भट्टीय वातावरणको रूख बदलिदिने विचारले भन्यो ।

‘झगडा नगर्नोस्….सुन्नोस्…..जनताको शासन आउँने कुरामा शङ्का नगर्नोस्…..कविता सुन्नोस्….

घाम त झुल्किएर नै छोड्छ,

फूल त फक्रिएर नै छोड्छ,

कोठामा थुनिएर रामधुलाई पाएपछि

बिरालोले आफ्नो असली रूप देखाएरै छोड्छ……!’

‘वाह वाह…..’ बीबीसी बाजेले हाँसेर भन्यो ‘यस्तो पो कविता….यसरी लेख क्या कविता….खै मलाई देऊ धर्तीपुत्र पत्रिकामा छपाइदिउँला….के रे ? कविता ? अँ, घाम त झुल्किएरै छोड्छ….अनि बिरालो ….राम्रो छ…’

तर कवि स्वच्छप्रबाहले सो कविता धर्तीपुत्र पत्रिकामा छाप्न दिएन । किनभने त्यो कांग्रेस समर्थित पत्रिका थियो ।

‘राम्रो …’ प्रा. रविले र नगेन्द्रले पनि प्रशंसा गरेपछि कविले आफ्नो गिलास फेरि भ¥यो ।

नौ बज्न लागेको थियो । उनीहरूले अन्तिम घुट्को तान्ने अन्तिम सल्लाह गरिसकेपछि पनि थप एक बोतल रित्तिएको थियो र कविको अनुरोधमा अन्तिम बोतल आइपुगेको थियो । टेबुलमा ग्लासहरू फेरि एकपटक टिलपिल टिलपिल भए ।

‘सत्ता ढाल्नुपर्छ…..’ कवि स्वच्छ प्रबाहले आँखा राताराता पार्दै सानो स्वरमा भन्यो । तर अरूले बुझेनन् ।

‘प्रजातन्त्रको रित्तो ढ्वाङले नेपाली जनताको मुक्तिको चाहनाको स्वरलाई समेट्न सक्दैन ।’ मदिराले अलि तातेपछि नगेन्द्रले भन्यो ‘त्यो बुर्जुवा प्रजातन्त्रको समाजवादले नेपालीलाई न त एउटा लैनो गाई दिन्छ, न त एउटा छाप्रो….. ’

‘ठीक भन्नु भो…..’ कविले अगि सरेर भन्यो ‘भएको गाई पनि चोर्छ….देख्नु हुन्न पूर्वी तराईमा गाईगोरू, भँैसी कसले चोर्छ ? सबैलाई थाहा छ….किसानको हातमा गोरूको दाम्लो त हुन्छ, बिहान उठ्दा गोरू हुन्नन्….पारि पुगिसकेका हुन्छन् ….आफ्नै गोरू किसानहरूले आफै किनेर ल्याउँछन्…..त्यो पैसो कहाँ जान्छ थाहा छ ? छैन । दरभंगा जान्छ…..दरभंगामा बसेर नेपालमा राजनीति गर्नेहरू को को हुन् सबैलाई थाहै छ । प्लेन लुटेको पैसो सिद्धिएपछि बानी बिग्रिएका राजनीतिज्ञ ‘बाबु’हरूले गोरू चोरीमा पनि हात बाँडेका छन्…..त कसले दिन्छ गाई जनतालाई ?’

‘समाजवादले…’ बीबीसी बाजेले भने ।

‘तिम्रो समाजवादले जनतालाई लैनो गाई दिनु, गोरू ब्याउँनु, गधाको सिङ पलाउँनु सबै उस्तै तीन न ते¥हका कुरा हुन् बाजे ….बोकाले दाइँ गर्ने भए गोरू किन चाहिन्थ्यो र… ?’ नगेन्द्रले अन्तिम घुट्को रक्सी तानेर चुरोट सल्काएर भन्यो ‘तिम्रो समाजवादले पन्द्र सालमै हावा खाइसक्यो…हामीले नदेखेका हौँ र ?’

‘तपाई बामपन्थीहरूमा माथिदेखि तलसम्मै एउटा ‘क्रोनिक डिजिज’ छ क्या….छुच्चो गाली गर्ने …भाषाशब्द अलि मिठासपूर्ण बनाउँन सकिन्न भन्या ?’ बीबीसी बाजेले भने ।

‘गर्ने गाली अनि सालीसँग कुरा गरेजस्तो किन मिठास भरेर बोल्ने नि ? हैन त ?’ प्रा. रविले आगोमा थोरै घिउ हालिदियो ।

‘हो भन्या….मीठो भाषाशैलीले आचीलाई अमृत भन्न सकिन्न क्या रे…. ’ कवि स्वच्छ प्रबाहले हाँसेर भन्यो । उसलाई रक्सीले राम्रै स्थानतिर लान थालिसकेको थियो ‘सशस्त्र संघर्षको विकल्प छैन …ठोक्नुपर्छ…..’

‘तपाईहरू सशस्त्र संघर्षका कुरामात्र गर्ने मान्छे हो….हामीले राजा महेन्द्रलाई बम हानेकै हो नि….ठाउँ ठाउँमा राजालाई कालो झण्डा देखाएको हैन ? तपाई बामपन्थीहरू त राजा महेन्द्रको पिछलग्गु हो….राजा महेन्द्रले बीपी बाबुलाई गाली गरेर भाडामा तयार गरेका गीत गाउँदै थप्पडी बजाउँदै हिँड्ने तपाईहरू नै हैन ?’ बीबीसी बाजेले अन्तिम घुट्को तानेर थोरै तात्तिएर भन्यो ।

प्रा. रविले बिस्तारै भन्यो ‘लौ सकौँ…. लौ सकौँ…..अब जानुपर्छ….’

‘हो हो सकियो….लौ लास्ट घुट्को….’ कविले टुंग्यायो । र गिलास टेबुलमा राख्यो । ठ्याक् गरेको आवाज आयो । बाहिर निस्कन खोज्दा उसको देब्रे गोडा टेबुलको खुट्टामा अल्झियो र एकपटक कवि राम्ररी नै लडखडायो । अनि लडखडाउँदै उठ्यो र लटपटिएको स्वरमा भन्यो

‘लागेछ कि क्या हो ?’

‘कहाँ लाग्नु ? फोटोको गणेश अझै पनि सिंगल नै छ…..’ प्रा. रविले भन्यो ।

‘हो भन्या….के लाग्नु पाजी तीन ग्लास रक्सीले…..त्यै खुट्टा अल्झेको के थियो तिमीले दोष दिने निहँु पायौ नि बाजे….’ कविले भन्यो । बीबीसी बाजे उठ्दा पनि खै कताबाट हो बोतलमा हातले ठोक्किएछ । सो रित्तो बोतल टेबुलमा लढ्यो र टेबुलबाट भुइँमा खस्यो । सौभाग्य त्यो फुटेन । एकै छिन के कसो हो भन्ने प¥यो तर छिटै स्थिति बुझियो, खासै केही भएको थिएन ।

‘मलाई पनि लाग्यो कि क्या हो ?’ बाजेले क्षणभर अलमलिएर भन्यो ।

‘के लाग्नु त्यत्तिले…..झुक्किएर ठोकियो नाइँ…’ प्रा. रविले भन्यो ।

अनि उनीहरूले जम्मा जम्मी एकसय पचास रूपैयाँ तिरे र आआफ्नो बाटोतिर लागे । सबैका अनुहारमा अपूर्व आनन्द झल्किएको थियो र त्यस दिनको बसाइ निकै परिणाममुखी भएको सबैले महसुश गरिरहेका थिए ।

नरेन्द्र पराशर
मोरङ्ग
May 15, 2012

(स्रोत : Narendra Parasar’s Blog )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *