सामाजिक कथा : बाबा ! भाई त मर्यो !

~कृष्ण के.सी.~Krishna KC

“ल काली छानी छानी लगा l ” पटपट पड्किने प्लाष्टिकको खोल सहितका तीन थान साडी आफ्नो काखमा देखेपछि आमा झन् बेस्सरी रुन थाल्नुभयो l म हेरेको हेरै भए l भाइ र बहिनी ओछ्यानमा निदाइसकेका थिए l बाबाले बजारबाट ल्याएको सामान एक एक गरी निकाल्दै थनकाउदै गर्नुभएको थियो l बिगतका बुधबारे बजारबाट पनि यसरी नै बाबाले सामान ल्याउदा सधै यो किन नल्याएको त्यो किन बढी ल्याएको भनेर किचकिच गर्ने आमा आज भने एकनासले रोइरहनु भएको थियो l पोल्टाभरि कैयौ वर्ष देखिका रहरहरू पकछ्याल्ल भएर पोखिदा पनि आमाले आफ्नो पीडालाई भुल्न सक्नुभएको थिएन l सायद पीडाहरू जमेर नफुट्ने गरी डल्लो बनिसकेका थिए l जमेर डल्लो परेका पीडाहरू पगाल्न उत्सुक खुसीहरूआफू निकम्मा साबित भएको लज्जाबोधमा भुइभरि असरल्ल परिरहेका थिए l बालसुलभताका मेरो मन बाबाले निकालेका सामानहरूमा फन्को लगाउदै आमाका आँखाबाट बगेका आँशुहरूमा गएर टक्क रोकिन्थे l

” बाबा ! बाबा !! भाइ त मर्यो ! ” अव्यक्त मेरी आमाका आँशुको भाव मैले शब्दबाट व्यक्त गर्दापश्चातापले कालोनिलो भएको अनुहार लगाउदै बाबाले भन्नुभयो – कुन भाइ ?

बाबासँग बोल्दा पनि आमाको आँखाको स्वीकृति लिएर मात्र बोल्न सक्ने मेरो मनले कसरी ती बाक्यहरू ओकल्यो थाहा भएन l एकनासले आँशु खसालेर बसिरहेकी आमाको कोखमा लुटपुटिदै बहादुरिताको लामो सास फेरे l

” ए काली यहा आइज त ” बाहिर पिढीमा गएर थ्याच्च बस्दै चुरोट सल्काउदै बाबाले आमालाई बोलाउनु भयो l दिउस देखि रुदा रुदै सक्किसकेको शरीर लतार्दै बाबाको छेउमा गएर आमा झन् बेस्सरी रुन थाल्नुभयो l
” हिजोको मेरो व्यवहारले म लज्जित भएको छु काली l ल भन के साच्चिनै हाम्रो सन्तान खेर गएको हो l ” आफ्नो कर्तुतले उत्पन्न गराएको परिस्थितिले बाबा आफ्नै मनको घेराबन्दीमा परि सक्नुभएको थियो l आमाको टाउको आफ्नो कोखिला राखेर रुदा रुदै सुन्निएका आँखा मुसार्दै याचनाका थुप्रा शब्दहरू खर्चेर माफी मागिरहनु भयो l
” मलाई मेरो छोरो फिर्ता चाहियो l के गरेको थियो र तपाईंलाई त्यसले जन्मिन पनि नदिएर मार्नुभयो l ” आमा झन् भक्कानिएर रुन थाल्नुभयो l
” बाबा बाबा सानो भाइको नि टाउकोमा कपाल पनि उम्रेको थियो ” आमाको आड र भरोसा लिएर मैले पनि थपिदिए l

आमाको खुसी लुट्ने हिजोको त्यो रातले बाबाको बहादुरीमा अट्टहस हासो हास्दै साथ दिइरहेको थियो l उज्यालोको प्रतिक्षामा रातभर गोठको छेउमा पीडाले चहराइरहेका नीलडामहरू मुसार्दै हामी आमा छोराले रात बिताएका थियौ l रक्सीको सहारामा बर्सिएका क्रोधका घमण्ड एकनास हामी माथि प्राहार भै रहदा रातले पनि बाबाकै बहादुरीको भजन गाइरहेको थियो l पीडा र अत्याचारबाट थकित र गलित दुई अनुहारहरू उदाउदो सूर्यको प्रतिक्षामा ब्याकुल्तामा छटपटाइरहेका थिए l घमण्डताको साथ दिदै त्यो कालो रातले आफ्नो गतिलाई लम्बाएर हाम्रा चहराइरहेको घाउहरूमा नून चुक छर्किरहेको थियो l घमण्डका मुक्काहरू अनि बहादुरीका लातहरू सहदै गर्दा आकासमा मडारिने बादलका झुण्डहरू एक आपसमा साउती गर्दै हामी माथिको अत्याचार सुनाउन बेजोडले दौडिरहेका थिए l डर र मातृत्व प्रेमले घायल एउटा नाबालक छोरा आमाको गुन्यू समातेर विवशतामा झरेका आँशु खसाल्दै आमासँग गुहार गरिरहेको थियो l

आफ्नो आत्मा सन्तुष्टिले भरिएपछि २/४ थोपा रगत दान दिएर गर्वको छाती फुलाउने बाबालाई थाहा थिएन महिनौ लगाएर त्यही रगतको थोपालाई मानव आकृतिमा परिणत गर्ने मेरी आमाको महानतालाई l सन्तानको रहर पुरा भै सक्दा पनि आफ्नो सन्तुष्टिको लागि मेरी आमाको जीवनसँग खेलबाड गर्दै वर्षे पिच्छे बाध्यता बोकाउन जान्ने बाबालाई के थाहा त्यही बाध्यताको थिचाइ सहदा सहदै रगतका अंसहरू सकिएर पुरै शरीर झुम्रोमा परिणत भैसकेको छ भनेर lपश्चाताप गरेर आमाको आँखाबाट निस्किएका आँशु पुछिरहदा बिना कारण अन्यायमा परेर समय नपुग्दै यो संसार देख्न नपाएका सन्तानहरू क्रमस यही आफू बस्ने घरको करेसामा लस्करै गाडिएको छन भनेर l फूलबारीहरू चहारेर मन परेको फूलको रस चुसेर फूलको अस्तित्वनै नरहने गरी च्यातचुत पारेर सपनाको फूल सजाउने बाबालाई के थाहा सुगन्ध लिउन फूलको सम्भार पनि गर्न सक्नु पर्छ भनेर l

अनाथ म बालक आमाको दुखेको पेटको मर्म के बुझ्न सक्थे र l आमाको पेटमा हात राख्दै भन्थे – “आमा बाबाले पेटमा पनि हान्नुभयो ? ” करुणा भावले अत्तालिएका मेरा आँखामा हेर्दै आमाले आफ्नो टाउको झुकाउदै भन्नु हुन्थ्यो – “अँ छोरा “

रातले हामीसँग पक्षपात गरे पनि दिनसँग गर्न सकेन l ऊ भाग्दै गयो अनुहारभरि कालो नकाव लगाएर l उज्यालोले बिस्तारै आफ्नो साम्राज्य बिस्तार गर्दै थियो l पर्खाइहरू क्रमस हामीसँग नजिकिदै थिए l आशाका किरणहरू केही उज्याला मनहरू लिएर हाम्रो एकान्त बासको सामिप्यतामा आउदै थिए l

” ठुलोकेटा जा कान्छीलाई बोलाएर आइज मलाई सारै दुख्यो ” दुखेको पिट मिच्दै आमा झन् अत्तालिनी भयो l भुकभुके उज्यालोमा सकी नसकी म सानिआमालाई बोलाउन गए l सायद मेरो अवस्थालाई सहजै बुझेर होला कुनै प्रश्न बिनानै सानिआमा फ़त्फ़ताउदै बाबालाई गाली गर्दै हिडी हाल्नुभयो l
” दिदी काँ छे छोरा ? ”
” गोठमा ”
” के गरेकी छे ?
” रोइरहनुभएको छ “

हिड्दा हिड्दैको छोटो सम्बादमा हामी पुग्दा आमा भुइमा पछारिदै रोइरहनु भएको थियो l रगतले भिजेको साडीमा बेरिएको आफ्नो मृत सन्तानको ब्याकुल्तामा हार गुहार गरिरहनु भएको थियो l भर्खरै निद्राबाट ब्यूझिएका चरा चुरुङ्गिहरू सन्तान प्रति एउटी आमाको मातृत्वप्रेम देखेर रोइरहेका थिए l

एउटा आत्मा जोआमाको न्यानो कोखमा हुर्किदै थियो l छोरोको रुप लिएर हास्दै आफ्नी आमाको गर्भमा खेल्दै गर्दा आफ्नै बाबाको प्रहारको चोट सहन नसकेर यो धर्ती देख्न र भोग्न नपाइ आमाको साडीमा लुटपुटिएको थियो l बन्दै गरेका उसका शरीरका अंगहरू मुसार्दै हुर्काउन र बचाउन नसकेकोपश्चातापमा आमा आत्मग्लानिका आँशुहरू त्यो नाङ्गो शरीरमा खसालिरहनु भएको थियो l मैले हेरे उसको रुपरंग धित मरुन्जेलसम्म l ऊ अँझै पूर्ण भैसकेको थिएन l केवल लिङ्ग छुट्टिसकेको त्यो मानव आकृतिको कपालका रौहरूले भने मलाई अचम्मित बनाइरहेको थियो l

आमाको साडीमा न्यानो महसुस गरिरहेको त्यो आत्माको सानो पोको मेरी आमाको कोखबाट खोसेर सानिआमा सिधै मेरो बाबासँग जानु भयो l रिस घमण्ड र अहंकारले दिएको त्यो उपहार सानी आमाले आफ्नो भिनाजुको कोखिलामा बुझाउन चाहनु हुन्थ्यो l कौतुहुल्ताको भारी मन लिएर म पनि सानिआमाको पछि पछि लागे l माया प्रेम र जिम्मेवारीबोधको कुनै अर्थ नबुझ्ने मेरो बाबा भने घरबाट बाहिर निस्की सक्नुभएको थियो l
आमाको रगतले भिजेको साडीमा बेरिएको मेरो भाइ अन्तत आफ्नै घरको करेसामा गाडियो l उसलाई माटो दिने न त्यहा मेरो बाबा नै भए न मेरी आमा l टुक्रुक्क बसेर मैले सबै गतिबिधि हेरिरहे l अघिसम्म आमाको कोखिलामा देखिने मेरो भाइ क्षणभरमै माटोमा बिलिन भैसकेको थियो l छोरो गाडिएको समाचार आफ्नै दिदीलाई सुनाउन नसकेर बहिनी त्यो घर र दिदीबाट टाढा भै सक्नुभएको थियो l

” ठुलाकेटा भाइलाई कहा राख्यौ l ” सानिआमा गैसकेपछि आमाले मलाई सोध्नुभयो l मैले देखेको छु भन्दै आमालाई मेरो पछि लगाउदै भाइको अन्तिम सस्कार भएको ठाउमा लगेर देखाई दिए l भाइ गाडिएको त्यो आलो माटो कोट्याउदै आमा बेस्सरी रुदै गर्दा जब म पनि चिच्चाई चिचाई रुन थाले तव मेरी आमाले आफूलाई सम्हाल्दै मलाई कोखिलामा राखेर भाइको त्यो समाधि स्थलबाट अलग हुनु भयो l एउटा छोरो भर्खर कोखबाट खोसिएर माटो मुनि गएको थियो भने अर्को छोरो त्यही आमाको भाचिएर टुटेको मनलाई उठाउन मरेको भाइको प्रतिविम्ब भएर न्यानो कोखमा लुटपुटिएको थियो l

सयौ गल्ती गर्दै कायरतामा गोहीका आँशु तुरुक्क खसालेर माफी माग्ने बाबाले आज पनि आमाको सामु आत्मग्लानिकाआँशु चुहाइरहनु भएको थियो l बाबाको आदेशमा आमाको भाचिएको मन खुसी बनाउन असरल्ल परेर भुइमा फ़िजिएका तीन थान साडीहरू देखाउदै आमाले भन्नुभयो -” सम्हालेर राख्नुस तपाईंका साडीहरू फेरि यस्तै भयो भने कुनै बेला काम लाग्ने छन् l “

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.