यौन-कथा : मेनुका टाउँको निहुँर्याएर सुन्दै थिईन्

~राजेश नतांश~Rajesh Natamsha

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनिहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरु उतार्ने गर्दथी ।

झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे । घर आईपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरु सम्झेर मुस्कुराउने गर्दथी । उसलाई सधैं त्यहि बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन थियो ।

अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी मानेकी छे । प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरुबाट । सायद आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें । प्रत्येक दिन र रातहरु सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै समयले नेटो काटेको पत्तै हुदैन थियो ।

अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ । सायद यहि कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’ नभनेसम्म घरबाट बाहिर निस्किदैनथी ।

रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई ठूला–ठूला पर्खालहरुकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफु सँगैका साथीहरु आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरुलाई जहाँ पनि जान छुट भएको तर आफुलाई कहिँ जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी । यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरु दबाएर राख्ने गर्दथी । क्याम्पस पार्कहरुमा प्रेमीप्रेमिकाहरु अँगालोमा बाँधिएर प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी त्यसबाट उब्जने परिस्थितिहरुसँग ।
०००
रुपाकी आमा मेनुकाका दिनहरु सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनि गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यैं बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरु गर्न अभ्यस्त हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनि आफूलाई सभ्य र अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरुले मनपराउँदैनथे । एक्लो हठ गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरु उनकोको अज्ञनता देखेर मनमनै खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरु पत्ता लगाई चिया पसलमा बसेर गफिएको देख्दा गाउँका महिलाहरुले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका थिए।

रुपालाई निकै कडाई गर्थिन् उनि । उनि छोरीहरु स्वतन्त्र भए बेइज्जती बाहेक केही हुँदैन, । उनिहरुलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरुमा बन्देज लागाउँथिन् । गाउँमा सानै उमेरमा आफु खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै विषयप्रति असान्दर्भिक रुपमा उनि छोरीलाई सजग गराई राख्ने गर्थिन्, “फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले !”
०००
भुँइमा तासहरु असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरुसँग तास खेल्नमा अभ्यस्त थिइन् । साथीहरु चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनि भने घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन, मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त ! ….फेरी त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु केटी देखेन !” उनका कुरामाथि अरुहरुले हो मा हो मिलाउँथे ।

“तिमीहरुलाई थाहा छ आज कान्छी त पोइला गइछ । भर्खर १५ वर्ष के लागेकी थिई ! के हतारो परेको त्यसलाई ! फेरी आफूभन्दा डबल उमेरको आर्मीसँग !”

“के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ ? तालपरे सय वटा बिहे गर्छन यी आर्मी बोकाहरु । ठिक्क पर्यो त्यसलाई ! अस्ती मसँग मुखमुखे लाग्दै थिई वेश्या ! ।”

“जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा मेनुकालाई गर्वको महसुस भयो ।

रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर लागिरहेको थियो आफुबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात खुट्टाहरु मन्द–मन्द गतिमा कापिरहेका थिए, आफु दोषी ठहरिने डरले । मनमा चिसो परिरहेको थियो ।

अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरु तीनछक्क परे । मेनुकालाई शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई ।

“ए ! के भो तलाई”

“केही भा’को छैन मम्मी !”

“केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई । अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ ।

छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई । भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् ।

रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो । सहन सकिनन् । अनायासै रुपामाथि हातहरु बजार्न थालिन् ।
“को हो त्यो ?”
“अरुण”
रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् । सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरुले मौनताको भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनिहरु पनि मौन थिए ।
०००
ब्रेन्चमा तीन पात्रहरुलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि मान्छेहरु जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए । कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी भनिनेहरु अनेक लाञ्छनाहरु लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन् । केही गर्न नसक्ने गरी लाचार बनेर टाउँको निहुँर्याएर सबै सुन्दै थिईन् ।

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *