कथा : एक तमासको मन !

~सन्जु बजगाईं~Sanju Bajgain

‘नागेन्द्र हाराय त्रिलोचनाय ……. ‘ श्रीमती उपाध्याय बिहान बेलुकी नित्य पाठ गर्छिन् ।

‘ईफ आई वेर अ बोई ……’ छोरीलाई बिओन्से नित्य सुन्नु पर्छ ।

‘यू आर ब्युटीफुल ……. ईट्स ट्रयु ।’ छोरो जेम्स बल्न्टको पछि नै लागेको छ ।

‘वाईन ओपनर …… ?’ श्रीमान् उपाध्यायलाई हरेक साँझ बोर्दो वाइनको बोतल खोल्नु पर्छ ।

देख्दा एउटै ब्रम्हाण्डका चार दिशाहरु ……..

आज पनि श्रीमती उपाध्यायले साँझको पाठ सकिन् । किन हो पहिले जस्तो पूजापाठले मन शान्त हुँदैन उनको । देउतामा विश्वास घटेको पनि कसरी मान्नु ? विश्वासमै संसार अडेको छ । श्रीमती उपाध्याय धमिलिएको मन बोकेर टीभी कोठामा पसिन् ।

शुक्रबार न हो ! आफ्नै कोठाको कुनाको बार उपाध्यायको स्वागतमा खुलिसकेको थियो । उतिखेर छिमेकी ग्याब्रियलाको नक्कल गरेको । के भन्नु ! अहिले त्यही नक्कल गलपासो भएको छ श्रीमती उपाध्यायलाई । त्यतिबेला ग्याब्रियलाको घरको सानो बार कम्ति राम्रो लागेको थिएन उनलाई ! खालखालका ह्वीस्की, रम, ब्राण्डीका महङ्गा बोतलले ¥याक भरिएको देखेर श्रीमती उपाध्याय कस्तो भुतुक्कै भएकी !

तिनै बोतलका लस्करहरु अहिले झल्झलि आँखामा आउँछन् र मुख लोपारिदिएझैं गर्छन् श्रीमती उपाध्यायको । त्यही मुख लोपार्याईको पीडासँगै बारमा बोतल खोलेर ग्लास भर्दै गरेको लोग्नेलाई आँखा तर्काउँदै हेर्छिन् उनी । ग्याब्रियलाको लोग्नेलाई जस्तो कहाँ सुहाउनु ! धोती फेरेर भान्सामा छिर्ने संस्कारको चरम रुपान्तरण पटक्कै चाख लाग्दो लाग्दैन उनलाई ।

“चियर्स……!” रुटिन अनुसार उपाध्यायको वाईन ग्लास उठिसकेको थियो ।

“अब यो चियर्सको ढर्रा छोड्नुस् र भोली नै टिकट बुक गराउनुस् ।” श्रीमती उपाध्याय चियर्सको प्रतिउत्तरमा सर्किदिईन् ।

“देश अनुसारको भेष ! केको चिन्ता लिएकी ? ग्लासमा वाईन उठाएर पनि कसैले पीडाका कुरा गर्छ ?” उपाध्यायले सहज पारामा भने ।

खान नपाएर मर्नुभन्दा खाएरै मर्नु निको । कत्रो हण्डर खपे उपाध्यायले यो जीन्दगी पाउँन । जीन्दगी सुखसँग जीउँने रहरले ढुन्फुन्याएर बेलायत एम्बेसीमा च्याँखे थाप्ने राममान भट्टकहाँ पु¥याएको थियो उनलाई । नभन्दै पासपोर्टमा छाप लाग्यो ! भट्टलाई मोटै रकम बुझाए त्यसबापत अनि छाती फुलाएर निस्किए समुद्रपार ।

बेलायतमा पाईला हाल्ने बेला उपाध्याय बलिष्ठ तन्नेरी थिए । आँखाका मध्यविन्दुहरु झरिला थिए । जोश र जाँगरको खानी थियो तैपनि काठमाण्डौंको एयरपोर्टमा प्लेन ‘टेकअफ’ हुँदा जति गर्वको अनुभुति भयो उति हिथ्रोको ‘रन वे’मा ‘ल्याण्डिङ्ग’ हुँदा भएन । घरभित्र गर्जन बाहिर म्याउँ ! लिन आएका स्याञ्जाली मित्र दखेपछि बल्ल सासको गति सामान्य भएको थियो ।

हण्डर, कष्ट, नियम–कानुन, सभ्यता, हाईपोक्रेसी, डिप्लोमेसी, ईमान्दारीता, समयको महत्व आदी ईत्यादी घरतिर न तिनले सिके न त सिकाईयो । जब लन्डनको एउटा शहरमा कामको मेलो बसाउन लाग्दा ती सबको आवश्यक्ता प¥यो तब पो थाहा पाए ।

‘मिस्टर यू–पाध्याय यू आर सो…ईनोसेन्ट !’ बल्ल हात लागेको काममा पनि ग्राहकसँग ‘डिल’ गर्न नजानेपछि कम्पनिको म्यानेजरले गुड बाई भनेको अहिले जस्तो लाग्छ उनलाई ।

पहिलो कामले केही दिएन । जिन्दगी मज्जाले जीउँछु भन्ने सपनालाई आँशु बनाएर पिउँनु नार्मदी हुन्थ्यो त्यसैले हण्डरहरु सिसिफस भएर खप्न बाध्य भए । हुनत अनिकालमा को राजा को रैती ? अनि बिस्तारै भेटेजति सबैखाले काम गरे उनले । सिटीभरी जेलिएका सव–वेभित्रको ओहोर–दोहोरले पाँच बर्षको अवधिमै धन कमाउने तिर्सना निकै मेटिदियो ।

तर लोभी आँखा पापी मन ! विदेश भनेकै प्लस र माईनसको शिलसिलामा चल्छ जस्तो ! कमाएर कहिल्यै नपुग्ने ! उनी पनि निकै बर्ष पछि मात्र बल्लतल्ल बेहुलो बन्न घरदेश पुगे । मागी बिवाह गरे । त्यसको छ महिनापछि श्रीमतीलाई पनि लण्डन ल्याए । घरजम राम्रै भएको ठान्छन् र सन्तोष गर्छन् हिजोआज । तर केही महिनादेखि भने श्रीमती उपाध्यायको किचकिचले हैरान छन् उनी ।
……………………………….
श्रीमती उपाध्यायले घडी हेरिन् । रातको नौ बज्यो । उपाध्यायको बोतल आधा सिध्यिएको थियो तर छोराछोरी भने अझै घर आईपुगेका थिएनन् । शुक्रबार त नआए पनि हुन्थ्यो जस्तो लाग्छ उनलाई । छोराछोरीको ‘लेट नाईट’, लोग्नेको जाँड पियाई, अरु कति छन् कति चिन्ताका कुरा । घडीको सेकेण्ड सूईसँग प्रतिष्पर्धा गर्दै मन दगुर्छ यता र उता । तर समयलाई कसले जित्ने ? बाहिरको सानो कौसीमा निस्किन्छिन् । उनको मनमा रात छिप्पिए जसरी चिन्ता पनि छिपिन्छ । बाहिरका कसलाई सुनाउनु ? सबै बन्चरोका धार जस्ता छन् । तिनले थाहा पाए मन त छिनेकै छ तन पनि छिनाउन बेर नलाउलान् ।

कतिबेर उभिन सक्नु चिसो सिरेटोमा ! उनी छटपटिदै भित्र पस्छिन् र उपाध्याय छेऊ गई मौन बस्छिन् ।

“पिउँने हो अलिकति ?” जँड्याहालाई जाँड पाए के चाहियो ? धुम्धुम्ती झोक्राएर छेवैमा बसेकी श्रीमतीतिर फर्किदै सोधें उपाध्यायले ।

“छोरी यस बेलासम्म घर आएकी छैन । के आनन्दले रक्सी पिएको हो ?” आगोको भुङ्ग्रो जस्तो जवाफ फर्काईन् श्रीमती उपाध्यायले ।

“तिम्री छोरी……! होईन हाम्री छोरी ! के ऊ भर्खर खुट्टा टेकेर उभिन थालेकी हो र ? पखेटा पलाईसके । पखेटा पलाएको प्राणीलाई उड्न दिनु पर्छ ।” वाईनको घुटसँगै छल्किए उपाध्याय ।

“डाँडाघरेका खलकको यो गति मरेर गएका पितृले माथिबाट हेरिराखेका होलान् । देश त छोड्यौ अब कलिकति भएको धर्म पनि छोड ।” सत्तोसराप गरिन् श्रीमती उपाध्यायले ।

निकैबेर जुहारी चल्यो दुवैको ।

श्रीमान् उपाध्यायको वाईन ग्लास घरिघरी छेवैको बोतलमा ठोकिन्छ र टिङ्–टिङ् आवाज आउँछ । टीभीको ‘स्काई प्लस’ च्यानलमा केन्याको एउटा गाउँमा चेतनामुलक परिवर्तन भएको बिषयबस्तुमाथि बनेको डकुमेन्ट्रीको कत्रो तामझाम ! चाख मानेर हेर्छन् उपाध्याय, मानौ जीन्दगी उनका लागि उत्सव हो ।

“हैन कस्तो माथि हाम्रो ईलामतिर जस्तो पो देखायो त ! चियाका बगान ! लौ माटोको रङ्ग पनि मिल्ला जस्तै । हेर त ! गाडी कुद्ने सडकमा हाम्रैतिर जस्तो बिस्कुन सुकाएका !”

घरदेशै पुगे जसरी रौसिए उपाध्याय । आफ्नो माटोको रङ्ग, बनौट मुटुमै गडेको हुने जहाँ पुगेपनि । अपवाद को पो होला ?

“ईलाम र केन्या उस्तै देखेपछि अब हप्सीको कुरो के ठुलो भो र !” किन छोड्ने शिलशिला ? थपिन् श्रीमती उपाध्यायले ।

लोग्नेको कुरामा चाख छैन उनलाई । के केन्या ? के मलेसिया ? कामकुरो एकातिर कुम्लो बोकि ठीमीतिर लागेका लोग्नेले कहाँ पुर्याउने हुन् ? श्रीमती उपाध्याय लाचार सुँकसुँकाउँछिन् । धेरै अर्थ बोकेको उनको पश्चाताप पुर्ण सुँक्सुकाई, उपाध्यायले त्यसको अर्थ मारे त बुझुन् ! उनले आनन्द बुझेका छन् अर्थात ‘युरोपियन लाईफ’ ।

“आज त त्यो म्याडम ओकराकसँग जम्काभेटै भो ! कस्ती प्रफुल्ल थिई मूर्दा ! कानैछेउ आएर हाम्रो केही लाग्दैन बेकार त्यति लामो मित्रतामा फोहोर नफ्याँक भनेर गई ।” श्रीमती उपाध्यायको पनि किलकिले कहाँ हुनु ! लोग्नेको गाली खाईने थाहा हुँदाहुँदै पनि सुनाएरै छोडिन् ।

“मैले अफ्रिकन स्टोर नजानु भनेकै हो । भिण्डी र खोर्सानी नखाए के मरिन्छ ? गयो अनि समस्या लिएर आयो ।” उपाध्याय खनिए श्रीमतीतिर ।

“नगएर के गर्नु ? चामल दुई पाउण्ड भए पनि त्यही सस्तो छ । भिण्डीको के कुरा ? लौका, करेला, तरुल सबै त्यहीं ताजा पाईन्छ ।” बाध्यता सुनाउन त नम्र हुनै पर्यौ नि ! श्रीमति उपाध्याय पनि नम्र भएर बोलिन् ।

“त्यसो भए म्याडम ओकराकसँग नजर्किनु । उनले पनि तरकारी चामल किन्न त्यहीं जानु पर्छ क्यार ! त्यसमाथि आर्किटेक पढ्दै गरेको छोराकी आमा ऊ !” उपाध्यायको कुरामा खरोपन देखियो ।

हुनत म्याडम ओकराकले के बिगारेकी छ र ? अफ्ठ्यारो पर्दा सहयोग उसैले गरी । आफ्ना देशका चिनेजानेका त कता थिए कता ! अहिले पनि सहयोग गर्नु परे तैयार छ ऊ । आखिर उसको के दोष ? उसले त भनिसकी –‘हामी अरु नजिक भयौ ।’ श्रीमती उपाध्याय आफैं ओकराकसँग बटारिन थालेकी ।

ताना र बानाबिच लोग्नेस्वास्नीको मनभित्रको पारो आ–आफ्नै पारामा चढ्यो । के पो गर्न सक्छन् तत्काल श्रीमान् उपाध्यायले ? वाईन बोतल हातमा लिएर घुमाउँछन् । मिनेट नपुग्दै हातबाट बोतल चिप्लिएर खस्छ । डङ्रङ् आवाजले श्रीमती उपाध्याय झसङ्ग हुन्छिन् ।

“धन्न ……..! हेर फुटेन ।” उपाध्याय बहादुरी ठान्दै बोतल देखाउँछन् ।

“भाग्य फुटिसक्यो बोतलको के कुरा ! जे भए पनि केही त गर्नै पर्छ नि ! बाबु भएर यसरी आनन्दले जाँडपानी पिएर बस्न मिल्छ ।” श्रीमति उपाध्यायको वकालत एक हिसाबले ठीकै थियो ।

“उता देशमा त जातीय विभेद अन्त्य भएर जातीय समानताको कुराले ठाउँ लियो भने हामी पनि यता महादेशीय समानतामा जानुपर्छ । हा…..हा….हा….!” जाँड लागेपछि उपाध्याय बाबु नभएर सस्तो नेता भएर बोल्न थाले ।

“आफूले कति दुःख गरेर हुर्काएकी छोरी उतै नेपालतिर लगेर राम्रो खान्दानी बाहुन केटासँग बिहे गरिदिउँला भन्ने थियो…….!” सुँक्क–सुँक्क सुनिन्छ श्रीमती उपाध्यायको रहरमा ।

“हैन चिन्ता किन ? केटो अफ्रिकन भएर के भो ? हामीभन्दा पढेलेखेका छन् आमाबाबु । तिनको जागिर हेर त ! केटो पनि आर्किटेक पढ्दै छ भनेको होईन ?” उपाध्यायले त जङ्गिएर समर्थन पो गरे ।

“उसो भए छोरी बिग्रको हेरिराख्नु ।” श्रीमती उपाध्याय लाचार हुन्छिन् ।

“मैले जति गर्नु पर्ने दुःख चिन्ता पहिल्यै गरिसके । अब यो रोगी ज्यानले कति नै पो थेग्ला ? चार बर्ष….? पाँच बर्ष……? म्याक्सिमम् दशदेखि बाह्र बर्ष ! छोराछोरी के ठिक के बेठीक जान्ने भैसके । खान नपाएर मर्दैनन् यी । हण्डर खान्छन् र चेत्छन् । यो पश्चिमा संस्कारमा भिजे उनीहरु । हाम्रो हस्तक्षेप मन पराउन्न । धन्न भगवान् ! गाँजा चरेसको लतमा लागेनन् भनेर चित्त बुझाउ । गर्ल फ्रेण्ड र ब्याईफ्रेण्डको कुरामा हामीले टाउको दुखाएर साध्ये हुन्छ भन्या ।” उपाध्यायले औला ठड्याई ठड्याई भने ।

दुई जोईपोईको विचारमै भिन्नता भएपछि कसको के लाग्छ । आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो ! श्रीमती उपाध्याय फेरी बाहिरको कौसीमा निस्किईन् ।

आँगनमा कसैको केही चालचुल छैन । छोरीको फोनको स्वीच अफ छ । छोराकोमा डायल गर्दा ‘यू ह्याभ रिच्ड ईन भ्वाईस मेल बक्स’ भन्छ । कस्तो एक्लोपन ! कहिलेकाहीं त जीन्दगीलाई भकुण्डो खेल्न मन लाग्छ उनलाई । सबैथोक पाएर पनि माथि आकाशका जूनताराले केही आनन्द दिदैनन् अर्काको माटोमा । उनी आकाश हेर्छिन् । आधा चन्द्रमा, लाखौं ताराहरु, परिपरी बहेको उस्तै हावा…..! के फरक छ र ? तरपनि आफ्नो देशको आँगनबाट हेर्दाको जस्तो अनुभुत किन नभएको ? न पुर्ण नेपाली न पुर्ण बिदेशी ! दुई डुङ्गामा खुट्टा राखेर हिडेको मान्छेको गन्तब्य कसले अन्दाज नगर्ला ? मनभित्र कुराहरु छिचिमिरा निस्किए जसरी निस्कन्छन् क्षणभरपछि झर्ने पखेटा लिएर । बाध्यता ! उनले यो ठाउँ छोडेर भन्ने बित्तिकै उडिजान कहाँ मिल्छ ?

उनको ध्यान तान्यो तल आँगनको झिलिक–मिलिकले । सेतो रङ्गको बिएमडब्ल्यु कार रोकियो । कारको ढोका खोलेर छोरी निस्किई । म्याडम ओकराकको छोरो पनि अर्कोतिरको ढोकाबाट निस्कियो । राजेश खन्ना र हेमा मालिनीको पुरानो हिन्दी फिल्म जस्तो ! उनले आफ्नै छोरी आफैसँग नितान्त पराया भएको माथिबाट हेरिरहिन् ।

“मिस यु……..।” केटोको आवाज सुनियो ।

“जस्ट टु मोर मन्थ ! द्यान आई विल वी उईद यू फरएभर…….!” छोरीले घरको मूल ढोकानेर उभिएर बोलेको चर्को आवाज माथि कौसीसम्म पुग्यो ।

अन्तत: म्याडम ओकराकले जिती छाडि । उसले छेवैमा उभिएर बेस्सरी गिज्याएको भान भो श्रीमती उपाध्यायलाई । उनका हातखुट्टा लुला भएर आए । बाहिरको चिसो सिरेटोको के प्रभाव ? श्रीमति उपाध्यायको निधार पसिनाले पुरै भिजिसकेको थियो । भित्र कोठामा टक्…..टक्…..बजेका छोरीका जुत्ताका हिलहरु अब उनका लागि टाढा–टाढा भैसकेका थिए ।

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.