निबन्ध : पंचायतको छोरो

~गोविन्दप्रसाद आचार्य~

मैले कतै पत्रिकामा पढेको थिएँ,। विज्ञानको प्रयोगशालामा वंशाणुको अध्ययन गर्ने क्रममा मुसाका वंशहरूको पुच्छर काटिंदै गयो। काट्ने क्रममा बाइसौं पुस्ताको मुसामा पुच्छर पलाएर आयो। यहाँ भन्नुको अर्थ सामन्तवादी संस्कृति संस्कारको जति विरोध गरे पनि आफूलाई साम्यवादको वर्कोले छोपेर सामन्ती संस्कारलाई हुर्काउने साम्यवादी दादाहरूको दादागिरी समय–समयमा देखिंदो रहेछ। पंचायती संविधान हेर्दा राजनीतिक भावनाले प्रेरित भएका दलहरूमाथि मात्र प्रतिबन्ध थियो। अन्य संघसंस्थालाई प्रतिबन्ध थिएन। मुसाको पुच्छर पलाए जस्तै पंचायती अमिलो डकार आज गन्हाइरहेछ। जसले मार्क्स, लेनिन, माओको आदर्श मान्छु भन्दै राज्यसत्ता बन्दुकको नालबाट पल्टिन्छ भन्दै तेह्र/चौध हजारको रगतले धर्ती लछ्प्पै भिजाउनेहरू होनाहार कम्युनिष्टका आंकुरा भाँचेर धर्ती उजाड पार्नेहरू मार्क्स, लेनिनको मुखमा जुत्ता हान्दै व्याभिचारको कुरूपतालाई सुधारको ढाकछोपे नाटकले कस्तो खालको रस पैदा गर्ने हो। त्यो भन्न गाह्रो छ।

मुसाको पुच्छर पलाए जस्तै वर्तमानमा “पंचायत” पलाइरहेछ। मार्क्स, लेनिनको लोप्पा खुवाउँदै साम्यवादी थालमा पूंजीवादी सत्ता माग्ने मगन्तेहरूको शैली राम्ररी प्रकट भएको छ। यस अर्थमा कि तर्कमा, विचारमा, सिद्धान्तमा जित्न नसकेपछि हरूवाको दाउ प्रतिबन्धमा हुन्छ। प्रतिबन्ध लाउनु ठीकै हो। जोसँग सकिन्न त्यसलाई बाँध्नैपर्छ। हुतिहारा डराउने बलियासँगै हो। हाम्रो चलन छ कि बढी मात्तिने वस्तुलाई घाँडो झुन्ड्याइदिने। चौध हजार जनताकोा कुरा नउठाइदिए हुन्थ्यो। तिमीले जे गर्छौ त्यो ठीक भनिदिए हुन्थ्यो। अनि “पंचायतका छोरा” ले प्रतिबन्धको धम्की दिन्नथ्यो होला। मुसाको पुच्छर पलाए जस्तै प्रतिबन्धको धम्की वैचारिक निरिह बनेका “पंचायत”लाई साम्यवाद भित्रका अराजक जत्थाले प्रतिकार गर्ने विचारमा प्रतिबन्ध लगाउने जस्ता निन्दनीय कार्य गर्न पछि पर्दैन। हाम्रो भनाई छ श्राद्ध गर्दा मृतकको अनुहार सम्झेर उसको नाममा छोराले पिन्ड दिनुपर्छ। यहाँ ठीक त्यही कार्य गरिरहेछन्। पंचायतका सच्चा पुत्रहरू साम्यवादी किल्लाबाट वैचारिक गतिविधिमा प्रतिबन्धको माग गरिरहेछन्।

पंचायतको पुनर्स्थापना गर्न खोजिरहेछन्। वैचारिक निरिह बनेका निन्याउरा अनुहारहरू पंचायतको स्मरणमा प्रतिबन्धको आवाज चर्को रूपमा उठाइरहेका छन्। “दाजुलाई सकिन भाउजुलाई टेरिन” जसले विचारसँग लड्न सक्दैन। त्यसले धम्कीको भाषा प्रयोग गर्छ। ठीक प्रतिबन्धको शैली पनि यही हो। आफ्नो परम पिता “पंचायत”को विचारलाई प्रतिबन्ध लगाएर तर्साउने सुत्र छोराले नअपनाएर कसले अपनाउने? सायद पंचायतले बिहानको शुभमुर्हतमा सूर्यतिर फर्केर जल चढाउने असल छोरोजन्माए जस्तो लाग्छ।
मुसाको पुच्छर पलाए जस्तै “पंचायती” आवाज पलाइरहेछ मालेमाको आँखाभरी अश्रुग्याँस हानेर वर्तमानको सन्दर्भमा पंचायतको पवित्र मन्त्र प्रतिबन्ध साम्यवादको जलपमा आएको नयाँ नेपालको झलक हो भन्न किन नसकिने। मैले गरेको कुरा सबै ठीक भन्नेहरू कहाँ पुगेर टुंगिने हुन्। कतै सीमा छैन, कतै दिशा छैन। टुटे फुटेका ल73य बोकेर पंचायतशैलीका प्रतिबन्ध अज्ञानतावश आफ्नै घाँटी कस्ने डोरी बनाउने त होइनन् ! हो, यहाँ पंचायत पलाएको छ। हो, यहाँ पंचायती तुष गन्हाएको छ। चौध हजारको बलिदानमा “पंचायती सिस्नो” मौलाएको छ।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ११ – २०६६ माघ ०६ गते, बुधबार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.