लघुकथा : नेपाल नर्क

~विदुर दर्नाल~Bidur Darnal

एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश गर्न छुट दिईएको छ ।”

एकछिन छेवैको प्रतिक्षालय मा बस्यो अनि कुन देशको नर्कालय मा प्रवेश गरौ त भन्ने सोचमा डुब्यो । अन्त्यमा उसले अमेरिका को नर्कमा जाने सोच बनायो अनि सिधै अमेरिकाको नर्क तिर लाग्यो । जब उ अमेरिकी नर्कको बडेमानको गेटमा पुग्यो त्यहाँ एउटा जिउभरि काडेदार टाटु भएको अनि हातमा विधुतिय लाठी बोकेको पहरेदार लाई भेट्यो । पहरेदार अमेरिकी नै भएकाले उसले टुट-फुट अंग्रेजीमा भित्रको नर्कको बारेमा सोध्यो-“सर कृपया मलाई अमेरिकी नर्कको सजायको बारेमा बताइदिनु हुन्छ कि?” जब उसले उत्तर पायो उसको मनमा एउटा भयानक प्रलय नै गयो ।

पहरेदारले जवाफ यसरी दियो “खासै त्यस्तो नया प्रविधि त छैन , सबै भन्दा पहिला तपाईलाई स्नान गराईन्छ त्यसपछि इलेक्ट्रिक चेयरमा एक घण्टा राखेर करेन्ट दिइन्छ,अनि लगत्तै तातो रोडा बालुवामा सुताइन्छ । करिब १ घण्टा पछि एउटा दैत्य आएर पीठमा पचास कोर्रा बर्साउछ ।” यति सुनेपछि उसलाई त्यहाँ प्रवेश गर्नु उचित लागेन । त्यत्रो सजाए थाम्ने आट उसले गर्न सकेन र तत्काल त्यहाँ बाट निस्किएर रुसको नर्कतिर हान्नियो । रुसको पहरेदार संग पनी सोही जानकारी खोज्यो ।

अफसोस, रुसी पहरेदारले पनि लगभग त्यस्तै सजाएको बारेमा जानकारी दियो, जुन पहिले अमेरिकी पहरेदारले उसलाई सुनाएको थियो । यसरि नै उ सबै देशको नर्कको गेट अगाडी पुग्यो । तर कुनै देशको नर्कमा पनि उसले सजायमा छुट पाएन । अन्त्यमा उसको यात्रा यस्तो नर्कालयको गेट अगाडी रोकियो जुन गेटको माथि ठुलो अक्षर मा लेखिएको थियो “नेपाली नर्कालयमा यहाँलाइ स्वागत छ।” गेटको अगाडी नेपाली नर्कमा जानेहरुको लामो लाइन थियो । अनि पहरेदारले एक-एक गर्दै मानिसहरू लाई गेट बाट भित्र पठाउदै थियो ।

मानिसहरू नर्कमा जान तछाडमछाड गरिरहेका देखिन्थे । नेपालको नर्कमा जाने यस्तो भिड देखेपछी उसलाई लाग्यो यहाँ पक्कैपनि सजाय कम होला । त्यसैले यहाँ धेरै भिड छ। यहि सोचले उ तत्काल सिधै पहरेदारलाई यहाको सजायको बारेमा सोध्यो पहरेदारको जवाफ त्यस्तै नै आयो जुन पहिले अरु राष्ट्रका पहरेदारहरुले उसलाई सुनाएका थिए । “सबैभन्दा पहिला तपाइलाई स्नान गराईन्छ त्यसपछि इलेक्ट्रिक चेयरमा एक घण्टा राखेर करेन्ट दिइन्छ अनि लगत्तै तातो रोडा बालुवामा सुताइन्छ ।

करिब १ घण्टा पछि एउटा दैत्य आएर पीठमा पचास कोर्रा बर्साउछ।” उ थकित भयो तर सवाल गर्न छाडेन । “यो सजाय त सबै देशको नर्कमा छ नी ! तरपनि किन यहाँ चाहिँ यस्तो भिड ? ” उस्ले प्रश्न तेर्सायो । अनि पहरेदारको जवाफ चाही यस्तो थियो “हामीसंग इलेक्ट्रिक चेयर त्यस्तै छ । जुन अरु देशको नर्कमा पनि प्रयोग हुन्छ तर यहाँ लोडसेडिङ्गको कारणले बिना इलेक्ट्रिक चेयरमा बसाइन्छ ।
करेन्ट चाही लोडसेडिङ्ग घटेपछि लगाइने भनि औठा छाप गराईन्छ। कोर्रा हान्ने दैत्य सरकारी कर्मचारी भएकोले आउछ दस्तखत गर्छ,चिया नास्ता गर्न जान्छ अनि फर्किदैन । यदि गल्तीले फर्किहाल्यो भनेपनि एक ,दुई कोर्रा हान्छ अनि खातामा पचास कोर्रा लेखेर जान्छ…….!!!”

होक्लाबारी मोरङ (हाल मलेसिया )
December 28, 2014

(स्रोत : Samyantra.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.