कथा : तेस्रो रंग

~उषा शेरचन~Usha_Sherchan

म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुजि्ररहेछु भन्ने आभासबाट बेखवर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिरहेकाछन् र केटीका फोटोहरु हेर्नका लागि कर गरिरहेकाछन् ।

हुन पनि बिवाह योग्य लक्का जवान छोरा त्यसमाथि पनि हामी राजपुतहरु बिवाहलाईसमेत आफ्नो आन वान र शान सम्झिने हाम्रो समुदाय । म हेर्दामा पनि निकै ह्याण्डसम देखिन्छु । त्यसमा पनि धनि बावुको एक्लो छोरा पढाईमा पनि उतिकै तेज । कुनै पनि बावु आमाले आफ्ना छोरीका लागि छान्ने वरको क्राइटेरिया भन्दा धेरै माथि देखिने मेरो व्यक्तित्व । अथवा यसो भनौं कुनै पनि युवतिले प्राय सोच्ने सपनाको राजकुमार । टल, डार्क ह्याण्डसममाथि पनि सम्पन्न घरको एक्लो वारिस । तर अफसोस बाहिरी रुपमा हेर्दा म जे जस्तो देखिन्छु, त्यसको ठिक विपरित छु, म भित्रको व्यक्ति जो संग म वाहेक अरु कोही दोस्रो व्यक्ति परिचित छैन । मलाई जन्म दिने मेरी जननीसमेत अनभिज्ञ हुनुहुन्छ म भित्रको व्यक्ति सँग भने अरुको त झन के कुरा भो र ?

आज घरमा चहलपहल चर्कै छ । मेरा लागि भनेर ल्याईएका बिवाह योग्य कन्याका एक से एक सुन्दर फोटोहरु छान्नमा जुटिरहनुभएका छन् मेरी दिदीहरु । टेबुल भरि विस्कुन सुकाए जस्तै गरी फिँजाइएका तस्वीरहरुलाई चामल केलाए झैं केलाउनमा तल्लीन हुनुहुन्छ दिदीहरु । एक एकको फोटो हेर्दै टिका टिप्पणीका पर्रा छाडेर हाँस्दै पनि हुनुहुन्छ भने मेरा बुवा र आमा गर्वले छाती चौडा पार्दै छोरीहरुले गरेका टिका टिप्पणीमा हो मा हो मिलाउदै हुनुहुन्छ । तर विचराहरुलाई के थाहा मेरो संसार भने नितान्त वेग्लै छ भन्ने कुरा । जति जति उहाँहरु खुसी हुदै कन्या छान्नमा तल्लिन देख्छु उति उति म झन भित्र भित्रै पीडाले आहत भएर छटपटिरहन्छु, दुखको अथाह सागरमा हेलिईरहन्छु । जति प्रयत्न गर्दा पनि उहाँहरुको खुसीमा सामेल हुन असमर्थ पाउँछु आफूलाई । तर उहाँहरुको उत्साह र उमङ्गलाई मत्थर पार्ने सामर्थ्य भने ममा छैन कमसेकम यत्तिखेरलाई भने ।

आखिर ति एक से एक सुन्दर फोटोहरु मध्येवाट मेरा दिदीहरुले हरेक दृष्टिकोणले मेरा लागि मात्र नभई परिवारका लागिसमेत योग्य कन्या म बाहेक सबैको सहमतिबाट छानियो । फोटोमा बायोडाटासमेत संलग्न भएकोले हाम्रो स्तरसंग मिल्ने गरी मेरा दिदीहरुले एउटी कन्यालाई फाइनल छनौट गर्दै उनको फोटो मेरो अगाडि तेस्याईदिनुभयो । दिदीहरुका मन राख्नकै लागि मैले पनि मन लागि नलागि हेरें मात्र केहि प्रतिकि्रया भने जनाइन । मेरो मौनतालाई मेरो सहमति सम्झेर हो वा बुवा आमालाई मेरो बिवाह हेर्न आतुर हुनु भएर हो फोटो र बायोडाटा ल्याइदिएको लमीलाई आफुहरुले छानेको कन्यालाई हेर्न जाने समय मिलाई दिन आग्रह मात्र गर्नु भएन कि मिति नै तोकेर ल्याइदिनसमेत अनुरोध गर्नु भयो ।

रातभर पटक्कै निदाउन सकिन । छटपटिका लहरहरु बार बार उर्लिरह्यो । िसंगो रात आँखा झिमिक्कै नगरिकनै काटें । मानौ रात होईन िसंङ्गो युग नै काटे झैं आभास भयो ।

लमिले कन्या हेर्न जाने मिति र समय तोकि दिनु भएदेखि बुवा आमाको भुँईमै खुट्टा छैन । फुरफुर भएर सिमलको भुवा झैं खुसिले उडिरहनु भएकोछ । आफुहरुले सोचे जस्तै घरान र आफ्नै स्तर सुहाउदो पढेलेखेको सुशील मात्र नभई अति सुन्दर कन्यालाई आफ्नो छोराको लागि हेर्न जाने सपना बुन्दैमा व्यस्त हुनुहुन्छ । अझ बुवा आमा भन्दापनि हजारौ गुणा बढि उत्सुक त मेरा तीन जना दिदीहरु देखिनुहुन्छ, नदेखुन पनि किन ? तिन तिन जना दिदीहरुका एक्लो भाई म जो परें।

म भने रातभर आफैं भित्र मच्चि रहने युद्धले पराजित भएर थकित छु । मेरो शरिरबाट प्राणै फुस्केला झैं गरी गलित छु । घायल मनका पिडाहरु कहाँ गई पोखुँ म ? ठिक त्यो बलि दिन तयार पारेको बोकाको जस्तो मनस्थिति भएको छ मेरो । यी सबै कुराबाट बेखवर मेरा परिवारजनहरु मेरो लागि सोचे जस्तै कन्याँ भेटिएकोले बुहारी भित्रेयाउने कल्पना मात्रले पनि रोमान्चित हुनुहुन्छ ।

आफ्नो छोरालाई देखेर केटी पक्षहरुबाट केहि टिका टिप्पणी गर्ने अवसरनै नपाओस भन्ने सोच राख्नु भएरै होला आमाले दिदीहरुलाई मेरो तयारीमा विषेश ध्यान पुर्याउन निर्देशन दिदै हुनुहुन्छ ।

मेरा दिदीहरु पनि कँहा कम हुनुहुन्छ र ? उहाँहरु पनि एक से एक दामी साडी र गहनाले लादिएर आउनुभएको छ । मानौ उहाँहरु मेरा लागि कन्या हेर्न जानका लागि नभई आफै कन्या भएर प्रस्तुत हुने झैं गरी खुव ठाँटिएर आउनु भएको मात्र नभएर मेरा लागिसमेत हाम्रो हैसियत झल्काउने गरी डिजाइनर सेरवानी र त्यसमा म्याचिङ्ग जुत्तासमेत लिएर आउनु भएको रहेछ । मेरा तिनै जना भेनाजुहरु पनि एक से एक घरानियाँ र सम्पन्न हुँदा कोहीभन्दा कोही कम हुनुहुन्न नै । दिदीहरुको ठाँटबाट र पहिरन हेर्दा आ-आफ्नो हैसियतलाई प्रदर्शन गरिरहनु भए झैं देखिनु भएकोछ । घरको वातावरण हर्ष र उल्लासको फागुने रंगमा रंगिएको छ तर म भने न त त्यो रंगमा नै रंगीन सकेको छु न त उहाँहरुले देखिरहनु भएको मिठो सपनालाई तोड्न नै सक्ने अवस्थामा छु, न त कन्यालाई हेर्न जाने मुडमा नै छु ।

बुवाले ढिलो हुन लागेको सुचना प्रवाह गर्न नपाउदै आमाले मेरो पक्षमा वकालात गर्दै हुनुहुन्छ, ‘केटी हेर्न जाने कुरा हो तयार हुन केही समय त लागि हाल्छ नी । हजुर पनि कस्तो हतारिनु भएको भन्या । सबै दिदीहरु मिलेर भाईलाई तयार पार्दैछन् ।’

म लाचार कठपुतली बनेर दिदीहरुको चाहना अनुरुप आफुलाई सजाइरहेको छु । तर म आफू भने प्राणै नभएको प्लाष्टिकको म्यानीक्वीन जस्तो भएकोछु । शरीरका तापक्रमहरु झन झन तल तल झर्दै चिसिएर हिउँको ढिक्कामा अनुदित भएर गईरहेको छु ।

आमा त मेरी जननी हुन् मलाई साह्रै साह्रै मायाँ गर्नु हुन्छ, नगरुन पनि किन तिन तिनजना छोरी जन्मे पछि बल्ल बल्ल जन्मेको छोरा म । हाम्रो समाजमा छोराको महत्व कति हुन्छ भन्ने कुराको ज्ञान मेरी आमालाईभन्दा बढि अरु कस्लाई होला ? मेरी आमाले छोरी छोरी जन्माउनु भएपछि सुन्न परेका कटाक्षका तीखा वाणहरुले कति कति पटक घायल हुनुभएको र छोरालाई जन्म नदिएसम्म भोग्न परेका अपार पीडाहरुबाट आफू पटक पटक आहत भएको ब्यथाहरु आमाकै मुखारविन्दबाट धेरै धेरै पटक सुन्दै आएको छु । तर छोरीछोरी जन्मे पनि बुवाबाट पाएको मायाँ र सान्त्वनाले गर्दा मात्रै आफूलाई सम्हाल्न सकेको कुरा पनि आमाले बारम्बार भनिरहनु हुन्छ । अझै पनि बुवा र आमा बीच आपसी मायाँ प्रेम, एक अर्का प्रतिको विश्वास र समझदारी कायमै छ । एकले अर्कालाई अतिनै मान सम्मान दिने गर्नु हुन्छ ।

म भने बुवाभन्दा आमाकै नजिक छु । आमाले मलाई प्राणभन्दा प्यारो गर्ने हुदाँ मनको कुनै कुनामा झिनो आशाका किरणहरु प्रस्फुटन भइरहन्छ, विश्वासको मुनाहरु पलाइरहन्छ र फेरि छिनमै पानीका फोकाहरु जस्तै विलाएर पनि जान्छ ।

म के गरौँ ? कसो गरौँ ? कस्लाई भनुँ मेरा मनका कुराहरु ? बुवालाई भन्ने त कल्पनासमेत गर्न सक्दिन म । दिदीहरुलाई भनुँ भने पनि उहाँहरुले म प्रति देखिरहनु भएको सपनालाई ऐना´झैं भुँइमा खसालेर चकनाचुर पारिदिन पनि सकिरहेको छैन । हे ! भगवान मलाई यो कस्तो मोडमा ल्याएर यस्तरी पछारी दियौ उठ्नै नसक्ने गरी ।

सगुनका सामानसहित सवै जाने तरखर गर्दै भर्याङ्ग ओर्लदै हुनुहुन्छ । मेरो मन भने प्रफुल्लित हुनुको साटो झन झन उदासीको खाडलमा जाँदोछ । मन साह्रै साह्रै उदाश उदाश र हतास हतास हुँदोछ । म´धारमा फसेको डुङ्गा ´झैं ढलपल ढलपल गर्दो छ ।

म दिदीहरुको निर्देशनलाई अक्षरस: पालना गर्दै पाइला अघि चाल्दैछु र मन मनै सोच्दैछु कन्या हेर्न जाने कार्यक्रममा त दिदीहरु यति विध्न उत्साहित हुनुहुन्छ भने विवाहको दिन भएकोभए झन के के पो गर्नु हुन्थ्यो होला ?

सानो सानो जन्ती जस्तै देखिने गरी हाम्रो कारहरु लामबद्व रुपमा मेरै छाती चिरे जस्तै गरी सडकको छाती चिर्दै गुड्न थाल्यो । जति जति कन्याको घरको दुरी नजिकिदै छ उति उति मेरो मनको दुरी भने झन झन बढ्दो छ ।

कन्या पक्षको घर के भनौं महलै भने पनि भो दुलहि झैं िसंगारिएको । हाम्रो स्वागतार्थ घरका सबै बुज्रुकहरु ढोकामै लामबद्व भएर उभिरहनु भएका । सबैले दुवै हात जोडेर नमस्कार गर्दै हामीलाई भित्र आशन ग्रहणका लागि लगिदैछ । म आफ्नो गरुङ्गो पाईलालाई सकेसम्म हलुको पार्ने प्रयत्नमा लागिरहेको छु ।

म भित्र उठिरहेको पीडाको शूल कम से कम मेरो अनुहारमा नछल्कियोस भन्ने सोचाइवाट पनि अमुक्त छैन म ।

भव्य महलको भव्य सजावटले आफ्नो भव्यता दर्शाईरहेको छ । त्यसमाथि पाहुनाको स्वागतमा कुनै कसर नछाड्ने प्रण गरे´झैं देखिन्छन् घरका सवै सदस्यहरु । हामीलाई बडो आत्मियतापूर्वक आथित्य सत्कार गर्दै बैठक कोठाको सोफामा बसाउनु भयो । लमीज्यूले एक अर्काका परिवारसँग एक एक गर्दै परिचयको आदान प्रदान गरायो ।

आफूहरुले खोजे जस्तै र सोचे जस्तै वर पाउन सकेकोमा प्रसन्नता व्यक्त गरे कन्या पक्षले । र साथै आफ्नो कन्या पनि कुनै पनि अर्थमा कोहिभन्दा कम नभएको कुरा अवगत गराउन पनि चुकेनन् उहाँहरुले । तर मेरो ध्यान भने जति नै प्रयत्न गर्दा पनि त्यतातिर मोडिनै सकेको छैन । आफ्नै उलझनको माकुरे जालोमा अल्झरै बसेको छु ।

पर क्षितिजबाट पूर्णचन्द्र विस्तार विस्तार धर्तिमा ओर्ले जस्तै गरी आफन्तको सहारा लिएर पर भर्याङ्गवाट एउटी परी ओर्लर्दै छिन् । कुनै दन्त्यकथाको राजकुमारी झैं देखिने उनको रुप लावन्यले मन लोभिनुको साटो झन झन विकर्षणतिर भाग्दो छ । मेरा सवै परिवारहरु फोटोमा देखेको कन्याभन्दा हजार गुणा राम्री साक्षात् अप्सरालाई देखेर आँखा पनि झिमिक्क नपारिकनै हेरिरहनु भएकोछ । धपक्क बलेकी सुन्दर परी विस्तार विस्तार आफू सामु पाइला बढाउदै गरेको देखेर मख्खै परेको भान सवैको अनुहारबाट झल्किरहेको प्रष्टै देखिन्छ ।

म भने कसरि आफ्ना कुरा उनि समक्ष राख्ने होला ? उनले के सोच्ने होली ? भनुँ के भनुँ ? नभनु कसरी नभनु ? उनको सुन्दर मुहार जस्तै उनको सुन्दर भविश्यसँग खेलवाड गरेर अन्धकार कुवा भित्र धकेलिदिनु पनि त महापाप हो भन्दै छ एक मनले । उनको पाइला जसरी बढ्दो छ हामीतिर उति उति निराशाको कालो वादलले मेरो अनुहारलाई ढाक्न खोज्दैछ । जति उज्यालो बनाउछु भनेर सोच्छु उति उति झन तुवाँलाले ढाके जस्तै गरी मेरो अनुहारको रंग मलिन भएर जाँदो छ ।

परिचयको आदन प्रदानको क्रमभरि उनले आफ्नो मृदुमुस्कानको जादु छर्दै वातावरणलाई नै धपक्क बालिरहिन् । मेरो अनुहार भने बल्नुको साटो झन झन निभ्दै गइरहेकोछ चार्ज सकिन लागेको लाइट झैं गरी । उनले मेरो अँध्यारो अनुहारलाई पुलुक्क हेरिन र चुपचाप उभिरहीन ।

हामी दुईले एकअर्कालाई अझै राम्ररी चिनुन् र वुझुन् भन्ने सोच राख्नुभएर होला हामी दुवैका परिवारका सदस्यहरुले हामी दुवैलाई एकान्तमा कुरा गर्ने अबसरदिनुभयो । बल्ल तल्ल जेलवाट मुक्त हुन पाएको कैदी झैं त्यहाबाट उम्केर भाग्न पाएकोमा एकैछिन भएपनि सन्तोषको सास फेरें । छिनभरमै कन्याको कोठामा पुग्नु पर्दा भने एउटा कैद खानाबाट मुक्तहुन नपाउँदै अर्को कैद खानामा पुगे´झैं अनुभूति भईरहेकोछ ।

म चुपचाप जड बनेर उनको कोठा भित्र उभिरहेको छु । बोल्ने कुनै शब्द नै नभेटेर मूर्तिवत बस्नु बाहेक अर्को बिकल्प देखिन पनि मैले ।

धन्न कन्या सुन्दरी मात्र होईन फरासिली पनि रहिछन् र पो त लज्जाको घुम्टोहरु आफैले उघारिन् र भनिन्-

यता बस्नुहोस न सजिलो गरेर !

उनले देखाएको स्थानमा चुपचाप बसिदिएँ ।

‘हजुरको मुहार साह्रै मलिन देख्छु । मलाई देखेर खुसी हुनुको साटो झन बढि दुखी हुनु भए झैं देख्छु ? सन्चो हुनु हुन्न कि कसो ? वा त्यस्तो कुनै खाश कारण छ कि ?’

प्रत्युत्तरमा म के भनौं जस्तो भएर फेरि पनि चुपै बसें ।

‘साँच्चै त्यस्तो केहि खास कारण छ भने मलाई भन्नुहोस अझै पनि केहि बिग्रेको छैन । तपाई मलाई अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ ।’

यति भनेपछि भने वल्ल मुख खोल्ने साहस पलायो म मा । मैले भनें- ‘मेरा परिवारका सवै सदस्यहरु तपाँइलाई देखेर दङ्ग हुनुहुन्छ । साँच्चै पनि तपाँई कुनै परीभन्दा कम सुन्दर हुनुहुन्न, मेरो दुर्भाग्य नै भनौं अव म तपाँइलाई स्वीकार्न असमर्थ छु । तपाँइको सुन्दर भविश्यलाई अन्धकारको टनेल भित्र धकेल्न चाहन्न म । तपाँइ मभन्दा हजार गुणा वढि योग्य बरको लागि योग्य कन्या हुनुहुन्छ । मैले तपाईलाई होइन बरु तपाईले नै मलाई अस्वीकार गरिदिनु भएर यो बन्धन बाँधिनबाट मुक्ति दिनुहोस् ।’

‘यसको कुनै ठोस कारण जान्न सक्छु होला मैल ?’ आश्चर्य मिश्रित स्वरमा उनले प्रश्न पुन: दोहोर्याइन् ।

मैले विनम्रता पुर्वक निवेदन गरें-

‘मेरा एउटा असाध्यै मिल्ने साथी छ । जस्लाई म सर्वाधिक मायाँ गर्छु । उ बिना वाँच्ने कल्पनासमेत गर्न सक्दिन म । मेरा परिवारका सदस्यहरुभने यस कुराबाट अनभिज्ञ हुनुहुन्छ । मैले मेरो परिवारसँग यी कुराहरु राख्न असमर्थ भएर नै तपाँइको साहारा खोजेको । तपाँइ पनि आफ्नो भविश्यलाई अन्धकारतिर नधकेलेर उज्यालोतिर लम्किनुहोस् । तपाईलाई मैले यसो भनेर तपाईको भावना माथि खेलवाड गर्न र तपाईको मनमा चोट पुर्याउन खोजेको भने अवस्य होइन । कृपया यति मात्रै बुझि दिनुहोस कि तँपाई जस्तो बत्तिश लक्षिणले युक्त अप्सरा म जस्ताका लागि भने कदापि वनेको हुदै होईन । तपाईको लागि म हर दृष्टिकोणबाट अयोग्य छु । त्यसैले मलाई अस्वीकार गर्नुहोस् भनेर अनुरोध गर्दैछु ।’

केटी पनि छक्क परेरै सोच्न थालिन् होइन यो कस्तो खालको लोग्ने मान्छे रहेछ ? म जस्तो केटीलाई देखेर मन भित्र खुशीको हजार दियो बाल्नुको साटो उल्टै अस्वीकार गर्दैछ । कलेजतिर मेरो एक झलक पाउनको लागि होडै लागेर मरिहत्ते गर्छन्, कस्ता कस्ता मै हुँ भन्नेहरुसमेत । मैले कुनै केटाहरुलाई भाउ नै नदिए पनि बत्तिमा पुतलि झुम्मिए जस्तै गरि झुम्मिन आँउछन् मेरो वरिपरि मेरो प्रेममा शहिद हुन । तर आज त्यसको ठिक बिपरित मेरो परिवारले पनि चाहेको र मैले पनि सहमति दिएको व्यक्तिको प्रेममा म शहिद हुन चाहेको व्यक्तिले भने मलाई नै अस्वीकार गर्दैछ । यँहा त बिल्कुलै उल्टो गंगा बगिरहेको छ । त्यस्तो कुन चाहि युवतीले यिनको मन हरेको होला त ? म जस्तोलाई पनि अस्विकार गर्न बाध्य बनाउने सायद अन्र्तजातिय भएकोले पो हो कि ? परिवारलाई भन्न नसकेर नै मेरो सहारा लिन चाहेको आदी ईत्यादी कन्याको मनमा प्रश्नको ओईरै लागि रहयो ।

हामी दुई बीच एकान्तको क्षण हाम्रो परिवारले निर्धारण गर्नु भएको समयभन्दा बढि घर्केछ क्यार । मेरी माइली दिदी हाँस्दै कन्याको कोठा भित्र आउनुभएर हामी दुबैलाई तल हाम्रो परिवारले बोलाउनु भएको सुचना मात्र दिनु भएन कि साथै लगेर पनि जानु भयो ।

मैले आफ्नो निर्णय सुनाउने हिम्मत गर्न सकिन । मेरो परिवारले पनि मेरो राय सुझाब लिन आवश्यक ठान्नु भएन, दुवैको परिवारको अनुहार भरि प्रशन्नताको लहरहरु उर्लिरहेको थियो । मैले सबैको आँखा छलेर सुटुक्क कन्यालाई हेर्दै अनुनय गरें अघिको कुरालाई सार्वजनिकरण गरिदिनका लागि तर किन हो कुन्नी उनि जड बनॆर निहुरी रहिन् केहि बोल्दै नबोली ।

हाम्रॊ लागि पुरै खानपानको व्यवस्था मात्र नभएर खुसियालिको यो क्षण मुख मिठो गर्ने भन्दै गनिनसक्नु मिठाइका परिकारहरु हाम्रो सामु ल्याइरहेका छन् र मेरा बुवाआमा, दिदी र भेनाजुहरु पनि हर्षले गदगद हुदै आफुहरुलाई मन पर्ने मिठाईले मुख मिठो पार्दै हुनुहुन्छ । तर मलाई भने मिठाईहरु मिठाई नभएर बिषमा अनुदित भए झैंपो लागि रहेछ । निकै बेरसम्म खानपानको कार्यक्रम जारी रह्यो ।

अव हामी खानपान सकेर बिदावारी भएर जाने क्रममा छौँ । दिदीहरु आ-आफ्नो कारमा श्रीमानको साथमा जानुको साटो मेरो साथमा जाने भन्दै मेरै कार भित्र पस्नु भयो । म जति जति यी सब कुराहरुबाट भाग्न खोज्छु उति उति मेरै फेरो समातेर मेरै पछि पछि लागिरहेको छ । बल्ल बल्ल उम्किएँ भनेर सोच्नसमेत नपाउदै फेरि दिदीहरु मेरै पछि पछि लागिरहनु भएकोछ । दिदीहरुलाई पनि के चाहियो अव मलाई जिस्काउने मात्र गर्नु भएन कि कन्याको रुप रंग आदी ईत्यादी बारे तारिफको पुल नै बाँधीरहनु भएकोछ । अनि बिवाहमा साडीले मात्र नपुग्ने रे ! साडीको रंग म्याँचिङ हुने गहनासमेत चाहिने माग राख्दै हुनुहुन्छ । हुन त मेरो दिदीहरुलाई यी सव कुराको कमी त छैन नै तर भाईको बिवाहमा माईतिबाट पाउने उपहारको मूल्य बेग्लै हुन्छ चेलीहरुलाई । विचरा दिदीहरु खयाली पुलाउ पकाउदै हुनुहुन्छ । मेरो बिवाहको तयारी कसरी गर्ने ? के के गर्ने ? क कस्लाई निम्त्याउने आदि आदि………।

हामी घर पुग्नु अगावै बुवा-आमा र भेनाजुहरु घर पुग्नु भए पनि बिवाहबारे नै चर्चा परिचर्चा गरिहनु भएकोरहेछ । दुलाहालाईबाहेक सवैलाई बिवाहको रंग चढिसकेकोछ । मेरो आमा भनेजस्तै बुहारी भित्रेयाउन पाउने कल्पना मात्रैले पनि त्यसै त्यसै प्रफुल्लीत देखिनु हुन्छ । त्यस्तो रहरमा जन्मिएको एक्लो छोराको विवाहमा कुनै कसर बाँकी नरहोस भनेर मनमनै दृढ संकल्पित जस्तै देखिनु हुन्छ । बुबाको त झन के कुरा आफ्नो साह्रै पि्रय श्रीमतीवाट छोरी छोरी जन्मिएकोले त्यहि निहुँमा आमा बुबा र आफन्त सवै मिलेर कतै दोस्रो विवाह गर्न बाध्य पार्ने त होईन भन्ने आशंकाले घेरिरहेको बेला, भित्र भित्रै पिडाले छटपटिरहेको बेला मलहम भएर जन्मेको छोराको विवाहमा के कमी हुन दिनुहुन्छ होला त ? बुबा त झन अर्थसँग आफ्नो हैसियत साट्ने तरखरमा तम्सीनु भए´झैं देखिनुहुन्छ ।

कठै ! मेरा बुवा-आमा र दिदीहरुको यो सुन्दर सपना सपना मात्रै हुने, उहाँहरुको कल्पना पलभरमै चकनाचुर हुने सोचबाट म भित्र भित्रै धमिराले खाएको खोक्रो रुख समान भईरहेकोछु । ओहो ! म भित्रको घाउ पाकेर फुट्न मात्र बाँकी छ । म के गरु ? आफैसँग विवश छु, लाचार छु । म यस्तो हुनु मेरो रहर पनि त होईन ? सायद बाध्यता या फेरि मेरो नियति । दिग्भ्रमित छु आफै ।

रात रात भर सोचेरै काटें आज पनि । मन वेचैन छ कसरी पोखुँ मनभित्रको यो व्यथा । यसरि सवैलाई कुहिरोको काग बनाएर बस्नुभन्दा खुल्नुमा नै सबैको भलाई देखें । आखिर एक न एक दिन त यो पर्दा उठ्नु नै छ । जति ढिलो गर्यो उति झन झन उल्झन मात्र बढ्ने सोचेर कन्याको घरको फोनमा नम्वर घुमाएँ ।

‘हेल्लो ! कस्लाई खोज्नु भएको होला ?’ उताबाट उहि कन्याको सुमधुर स्वर गुन्जियो ।

‘ए ! मैले पनि तपाईलाई नै खोजेको ?’ म फलाना बोलेको भन्दै आफ्नो परिचय दिएँ । आज पनि मैले तपाईकै बारेमा सोचेर रात विताएँ । तपाईको परिवारको बारेमा मेरो परिवारको बारेमा र हामी दुवै जनाको भविश्यको बारेमा ।

‘हजुर हजुर म सुन्दैछु । भन्नुहोस न त के के सोच्नुभयो ?’

‘मेरो आमासँग म आसाध्यै निकट भएर पनि खुल्नै सकिन । अरुले मेरो समस्या नबुझे पनि आमाले त अवश्य बुझ्नुहुन्छ होला भन्ने बिचारमा हुदाँ हुदैं पनि मैले भन्ने साहस जुटाउन सकिन र तपाईलाई फोन गरेको । मेरो मात्रै जीवनको सवाल भए कुरा बेग्लै हुने थियो तर अब मेरो जीवनसँग तपाईको भविश्य पनि जोडिन लागेपछि तपाईको भविश्यलाई बर्वाद गर्न मेरो आत्माले नदिएकै कारण मैले तपाईको सहारा लिन चाहेको । तपाईलाई मैले त्यसैदिन अस्वीकार गर्न आग्रह गरेको थिएँ तर किन हो कुन्नी तपाई चुपचाप बसिदिनु भयो त्यसदिन ।’

‘के कारणले गर्दा होला ? तपाईले मसँग यो सम्बन्धलाई अस्वीकार गर्न आग्रह गर्नु भएको भन्नुहोस न त म पनि मेरो परिवारलाई सम्झाउने प्रयत्न गरौंला ।’

म असमाजसमा परें कसरी भन्ने होला भनेर ?

उनले के सोचेर हो भन्न थालीन् भन्नुहोस न त कुन केटी हो ? कस्की छोरी हुन् ? कहाँ कि हुन् ? कहाँ बस्छिन् ? जस्ले गर्दा तपाईले हाम्रो सम्वन्ध जोड्न पूर्वनै भत्काउन चाहदै हुनुहुन्छ ? प्रश्नको ओइरो नै बर्षाइन् उनले ममाथि ।

मैले भनें- ‘बडो धैर्य पूर्वक सुन्न सक्नु पर्छ । कुरो अर्कै छ, जुन कुरालाई तपाईले पचाउन नसक्नु भएर मलाई घृणासमेत गर्न सक्नुहुन्छ होला सायद । घृणा गर्दैमा सत्य लुकाएर लुक्ने पनि होईन, एक न एक दिन उदघाटित भइनै हाल्छ । यो धर्तिमा जन्मेर जे जे नियति भोग्न अभिशप्त हुन्छौं हामी त्यो न त हाम्रो हातमा नै हुन्छ । न त जन्म दिने बुवा आमाकै हातमा हुन्छ, हुन सक्छ भने केवल त्यो सृष्टिकर्ताको मात्र ।’

अधैर्य हुँदै भनिन् उनले- ‘ओहो ! भुमिका मात्रै धेरै नबाँधेर खुलस्तै बताईदिनुहोस न कुन केटीको लागी तपाईले मलाई अस्वीकार गर्न खोज्नु भएको ?’

प्रत्युत्तरमा मैले भनें- ‘केटी होइन केटा हो ।’

‘हँ…! अविश्वाश र आश्चर्य मिश्रीत स्वर गुन्जियो के……रे ? केटी नभएर केटा पो हो रे ? मैले गलत सुने कि क्याहो ?’

‘हैन हैन यँहाले सहि नै सुन्नु भएको हो ! हो, मेरो केटी साथी नभएर केटा नै साथी हो जॊ बिना म आफुलाई अपुरो र अधुरो संझन्छु । उ बिना म बाँच्नै सक्दिन ! अथवा यसो भनौं हामी दुवै एक अर्का विना बाँच्ने कल्पनासम्म पनि गर्न सक्दैनौं । त्यसैले त मैले आग्रह गर्दैछु यो विवाहलाई तँपाई अस्वीकार गर्नुहोस भनेर ।’

कन्या पक्षबाट बिवाह अस्वीकार भएको खवरले हाम्रो परिवार भित्र ठूलै भुईचालो जानु स्वाभविकै भयो । भित्रि कारण खोतल्दै जाँदा मेरो परिवार लज्जावोधले पानी पानी हुनु पनि अस्वाभाविक भएन । मेरो परिवारको प्रतिष्ठा मैं आँच नआउने त झन सवालै भएन ।

यो कुराको चाल पाएपछि आफ्नै घरबाट अस्वीकृत भएँ म । बुवाको प्रतिष्ठाको अगाडी आमालेसमेत घुँडा टेकि दिनु भयो र आफ्नो ममताकोसमेत गला रेटिदिनु भयो । चुपचाप बुवाको आदेश पालना गर्नुबाहेक अर्को बिकल्प रहेन मसंग । खुट्टामा बाँधेर राखेको बस्तु झैं लाचार हुदाँसमेत मलाई जन्म दिने मेरी जननी जस्ले मलाई यो उमेरसम्म आफ्ना ममताको आँचल भित्र लुकाई रहिन् मेरो खुसीमा मभन्दा बढि खुसी भईदिने मेरो दुखमा मभन्दा बढि दुखी भइदिने मेरो आमाको मनबाट भने म कदापी अस्विकृत हुने छैन भन्ने मेरो विश्वासको सगरमाथा त्यति बेला गर्लम्मै ढल्यो जुन बेला बुवाले मलाई घरबाट तुरन्तै निस्कने आदेश दिइरहदासमेत मेरी आमा केही नबोली चुपचाप उभिरहनु भयो ।

यसरी मैले गर्दै नगरेको गल्तीको सजाए भोग्न अभिशप्त भएँ म ।

के म यस्तो भएर जन्मनु मेरै भुल हो त ? मेरै गल्ति हो त ? यो मेरो तेस्रो रंग मेरो कमजोरी नभएर मेरो परिचय हो, मेरो पहिचान हो भन्ने कुरालाई स्विकार्नुको साटो उल्टै उहाँहरुको आँखाको नानी म आँखाको नानी नभएर आँखामा बिझाउने कसिङ्गर झैँ भएँ । आफूलाई जन्मदिने बावु-आमाको मायाँ ममतामासमेत भेदभाव सहन बाध्य भएँ म । आफ्नो नैसर्गिक अधिकारबाटसमेत बन्चित भएँ म ।

अहिले म मेरो शहरदेखि टाढा, धेरै टाढा मेरो परिवार मेरो आफन्त र मेरो समाजको मुखै नदेख्ने ठाँउमा गुमनाम जिन्दगीको छाता ओढेर मेरो ब्वाईफ्रेन्ड अर्थात मेरो त्यही केटा साथीसँग जीवन यापन गर्दैछु । हाम्रो छुट्टै संसार भित्र हामी एकदमै खुसी छौँ, सुखी पनि छौँ । र पनि घर परिवार बिषेश गरी आमाको यादले भने कता कता मनभित्र विझाईरहन्छ । अदृश्य काँडाले हो वा केले केले ?

हुन सक्छ, अरुको निम्ति म अँध्यारो टनेलभित्र अनन्त अन्धकारमा रुमल्ली रहेको हुँला तर मेरो अनुभूतिका निजत्वमा असंख्य असंख्य जूनकिरीहरु जगमगाइरहेका छन् । सायद अरुका निम्ति यो अनुभूति प्राप्त गर्नु पनि असम्भव सिवाय केहि नहुन सक्छ ।

समाप्त

(स्रोत : गरिमा, बर्ष-२७, अङ्क-६, पूर्णाङ्क-२१८, जेठ २०६६)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *