पौराणिक कथा : अभिशप्त सौन्दर्य

~केशव अधिकारी~

महाभारत युद्धका नायक पात्र पाँच पाण्डवहरूकी साझा धर्मपत्नी द्रौपदी त्यसभन्दा अगाडि अर्थात् पूर्वजन्ममा अत्य न्तै सुन्दरी नारीको रूपमा दक्षप्रजापतिकी छोरी केतकीको नामले चिनिन्थिन्। उनको आफ्नो अपूर्व सौन्दर्य र सच्चरित्रताका सामु स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफूजत्तिकै सुन्दर र सच्चरित्रवान् पुरुष नपाइएकाले केतकीले जीवनभर अविवाहित रही भगवान् शिवजीको तपस्या गर्दै जीवन बिताउने निर्णय गरिन्। केतकीको त्यस्तो निर्णय सुनेर भगवान् शिवकी धर्मपत्नी पार्वतीको मनमा चिसो पस्यो। तपस्याका प्रभावले केतकी आफूभन्दा अधिक सुन्दरी होलिन् र शिवजीले उनैलाई बढी माया गर्लान् भन्ने सौतेनी डाहले पार्वतीको मन पिरोल्न थाल्यो।

एक दिन केतकी एकान्त स्थलमा बसेर भगवान् शिवजीको ध्यान गर्दै थिइन्। त्यस बेला पार्वती गाईको रूपधारण गरेर केतकीको सामुन्ने पुगिन्। अनि ठूलो स्वरले ड्वाँ–ड्वाँ कराउन थालिन्। ठूलो स्वरले गाई कराउँदा केतकीको ध्यान भङ्ग भयो। ध्यान भङ्ग गरिदिएको रिसले केतकीले गाईलाई हपार्दै दुर्वचनले गाली गरिन्। केतकीको दुर्वचन गाईको रूप धारण गरेकी पार्वतीलाई असह्य भयो। उनले तुरुन्तै श्राप गरिन्– ‘स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा आफू सुहाउँदो वर नपाएकाले अर्काका पतिको ध्यान गरी आफ्नो बनाउने खोज्ने तँ अहङ्कारी आइमाईको एउटा मात्र होइन पाँच वटा पति हऊन्।’ केतकीलाई त्यस बेला मात्र पार्वती रहिछन् भन्ने कुरा थाहा भयो। अनि पार्वतीसमक्ष बिलौना गर्दै क्षमायाचना गरिन्। केतकीको करुण स्वरले केही पग्लन पुगेकी पार्वतीले भनिन्– ‘तिमी पाँच वटा पतिहरूकी पत्नी भए पनि तिम्रो पतिव्रता धर्म कायम रहनुका साथै तिम्रो यश–कीर्ति संसारमा कायम रहनेछ।’ यति भनेर गाईरूपी पार्वतीले श्रापलाई केही मात्रामा परिमार्जन गरिदिइन्।

केतकी दुःखी मन लिएर गंगानदीको किनारामा मन एकाग्र पार्दै तपस्या गर्न लागेकी थिइन्। त्यस समयमा स्वर्गबाट पृथ्वीको अवलोकन गर्न आएका धर्मराज, वायु देवता, राजा इन्द्र र दुई अश्विनीकुमारहरू केतकीको सुन्दर रूप देखेर मुग्ध हुन पुगे। उनीहरूले केतकीसमक्ष आफूहरूलाई पति बनाउन प्रस्ताव राखे तर स्वीकार्य भएन। त्यसपछि उनीहरूले एक्ली केतकीमाथि जबरजस्तीको प्रयास गरे। यता भगवान् शिव तत्काल उपस्थित भई उनीहरू पाँचै जनालाई नागपासले बाँधी बन्दी बनाए। त्यस बेला ती पाँचै जनालाई पृथ्वीमा मानव भई जन्म लिनुपर्ने शिवजीको श्राप पर्यो। शिवजी भन्ने थाहा पाएपछि उनीहरूले स्तूति गरे। उनीहरूको स्तूतिबाट शिव प्रसन्न भएर वरदान पनि दिए– ‘तिमीहरूले चाहेकै केतकीले पनि द्रौपदीको नामबाट पृथ्वीमा जन्म लिनेछन् र उनीसँग तिमीहरू पाँचै जनाको विवाह हुनेछ। पछि पृथ्वीको भूभार हर्न जन्म लिएका कृष्णसँग सम्पर्क भई तिमीहरू पुनः स्वर्गमै आउनेछौ।’

शिवजीकै श्राप र वरदानका कारण द्रौपदी पाँच पाण्डवकी साझा धर्मपत्नी बनेकी हुन्। पाँच पाण्डवमध्ये जेठा युधिष्ठिर धर्मराज, माहिला भीमसेन वायुदेवता, साहिँला अर्जुन इन्द्रदेव अनि नहकुल र सहदेव अश्विनीकुमारका अवतारका रूपमा पृथ्वीमा जन्म लिन आएका हुन्। उनीहरूकै समयमा भगवान् विष्णुले कृष्णरूपमा जन्म लिएर अत्याचारी राजा कंस मार्नुका साथै महाभारतको अठार दिनको युद्ध गराएरै छाडे। त्यस युद्धमा करोडौँ मानिस मरे। त्यति मात्र नभएर कृष्णले अफ्ना ५६ करोड यदुवंशी दाजुभाइको एकै चिहान गराए। आफू पनि एउटा व्याधाको वाँणको तीरले खुट्टाको बूढी औँलामा लागेका कारण मरी स्वर्ग प्रस्थान गरेका थिए ।
प्रसंग द्रौपदीको हो। अर्जुन द्रौपदीलाई लिएर सर्वप्रथम आमा कुन्तीसमक्ष पुगे। आफूले केही महत्वपूर्ण चीज ल्याएको कुरा आमालाई सुनाउँदा कुन्तीले मुख्य विषय थाहा नपाई त्यो चीजलाई पाँचै भाइ मिलेर उपभोग गर्नु भनेकीले आमा कुन्तीको आदेशबमोजिम द्रौपदी पाँचै पाण्डवकी साझा पत्नी बन्न पुगिन्। हुन त यो सब अघिल्लो जन्मको श्रापको कारण भएको थियो। आखिर जे भए पनि द्रौपदी रूप र गुणले ज्यादै राम्री थिइन्। त्यसै कारण उनको सौन्दर्यमा लट्ठ भएका राजा जयद्रथले उनको अपहरण गरेका थिए।

त्यस्तै राज्य हारेर पाँच पाण्डव विभिन्न भेषमा विराटनगरका विराट राजाकहाँ आई बसेका थिए।

द्रौपदी पनि पाञ्चाली नामबाट राजा विराटको पाठपूजामा सहयोग गर्थिन्। विराटको दरबारमा मन्त्री किच्चकको खूब बोलवाला थियो। विनाश्रीमान्की परमसुन्दरी युवती देखेर मन थाम्न नसकी मन्त्री किच्चकले द्रौपदीको अपहरण गर्नेसम्मको प्रयास गरेको थियो। कामुक स्वभावको किच्चकले द्रौपदीलाई बारम्बार दुःख दिन थालेपछि द्रौपदीले पाँच पाण्डवलाई गोप्यरूपमा आफूलाई किच्चकले दुःख दिएको बताइन्। द्रौपदीको दुःखद विलाप सुनेर आगो भीमसेन आगो भएका थिए।

द्रौपदीले भीमसेनको सल्लाहअनुसार किच्चकसँग एक रात कुनै ठाउँमा भेट गरी पे्रमका कुरा गर्ने योजना बनाइन्। किच्चक द्रौपदीलाई एकान्तमा भेट्न जाँदा सो ठाउँमा द्रौपदीको भेष गरी भीमसेन पुगेका थिए। उनले तत्कालै किच्चकको बध गरेका थिए। आफ्नो काम सिध्याएपछि भीम जस्ताको त्यस्तै हुन पुगेकाले किच्चकको बध रहस्यमय नै भयो। आज पनि झापा जिल्लामा उक्त स्थल किच्चकवधका नामले प्रख्यात छ।

द्रौपदीको अपार सौन्दर्य जताततै अभिसप्त बन्न पुगेको पाइन्छ। पूर्वजन्म होस् कि अर्को जन्म होस्, पूर्वजन्ममा सुन्दरी केतकी हुँदा आफ्नै सौन्दर्यको अभिमानले दुःख भोग्नुपरेको थियो भने द्रौपदीका रूपमा जन्मदा पनि सुन्दरताका कारण आफ्नो इच्छा विपरीत राजा जयद्रथबाट अपहृत हुनुपरेको थियो। साथै विराट राजाको कामुक मन्त्री किच्चकले पनि अपहरण गर्ने प्रयास गरी दुःख दिएको थियो। यता द्रौपदीको अनुहारको सुन्दरतामा लट्ठ परेको धृतराष्ट्रको छोरो दुसासनले द्रौपदीको शरीरका सबै सुन्दर अङ्ग हेर्ने लालसाले नै राजाको सभाबीचमा उनको साडी तानेर बेइज्जत गर्न खोजेको थियो तर कृष्णको कृपाले उनी लाजबाट बचेकी थिइन्। यसरी सुन्दरताका कारण उनले धेरै दुःख झेल्नुपरेको थियो। सौन्दर्य नै उनका लागि अभिशाप बन्न पुगेको थियो।

January 3, 2015

(स्रोत : Newsofnepal.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पौराणिक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.