एकाङ्की : भुसतिघ्रे छोराहरु

~ईन्द्र अधिकारी~Indra Adhikari

आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ ।

बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब गएर लाप्पा खेलौं? जति भने पनि तेरा छोराको घैटोमा घाम लाग्ने हैन क्यार । मजाले बाबुको सम्पत्तिमा खान, लाउन पाका छन्, के चाहियो ।

आमा: चार चार जना छोराहरु भएर पनि गतिलो चै एउटा पनि नभा किन हो कुन्नि? जतिखेर हेर्योन, करा’छन् करा’छन् । फेरी त्यो पैसा मागे उधुमै मच्चाउछन्  भन्या ।

कवि (छोरो): किन यसरी बाजा बाज गर्छौ मेरा माता अनि पिता । जिन्दगी त दुइ दिनको घाम छाया हो । धारोमा पानी छैन, चीममा बिजुली । मानिसकि चोला हो जीवन, जीउन जान्नु पर्छ अन्तै कतै फुकालेर ।

आमा: देख्नु भो त ! काम न काजको कविता भनेर मेरो दिमागै विगार्ने भो यसले । कतै नबुझिने पनि कविता हुन्छ ।

कवि: माताश्री यो आधुनिक कविता हो । उच्च चिन्तनको कविता । यसलाई त समालोचकले समेत बुझ्न सक्तैन । मेरो कविता त बुझ्न नसकेने अमुर्त कला हो ।

बाबु: तेरो अमुर्त कविता तैसंग राख । बरु मिल्छ भने त चै मुर्त रुपमा आएर घर गृहस्थि गरेर बस ।

कवि: नबाध मलाई गृहस्थिको डोरीले, दु:ख पाउली फेरी पराइकी छोरीले ।

आमा: थुक्क मोरा ! यस्ता पनि कवि हुन्छन् ?

कवि: म कवि यस देशको, कहिल्यै भाग्यमा घाम लागेन, पेटमा मुसा कुद्न थाल्यो, खै आमा भात पाकेन ?

आमा: हेर हेर, लाज पचेको । तैले कति कमाएर राख्न द्‌या’छस् र भनेको बेलामा भात पाक्नु ? यो घरको जेठो बाठो त यस्तो छस् भने अरुको के कुरा गर्नु । उ तिम्रो लायक छोरो पनि आइपुग्यो (गायक छोरोको प्रवेश)

गायक: म मौरी हु राधा, तिमी मेरी मन्जरी हौ..। या……हा….. टीङ् ………टुङ……….

बाबु: जतिखे पनि राम्रा राम्रा गीतको हात खुट्टा भाँचेर गाएर खुब गायक बन्ने भा’को ।

गायक: हैन यो बाउलाई त केही आउदैन भनेको नि हौ, क्या बोर । यो त रिमिक्स गीत हो क्या बाउ….पप । अब अरको गीत छ नी…..देशले रगत मागे… ट्याउ…. ट्याउ…टुङ….टुङ….. मलाई बली चडाउनु टीङ…टीङ…टीङ…टीङ… नेभर क्राइ मेरी आमा ट्याउ… ट्याउ… ट्याउ…. सी इज डटर अफ नेपाली…..।

आमा: यस्को यो उट्पट्याङ गीतले त मेरो टाउको खाइसक्यो । हैन तलाई राम्रो गीत आउदैन र कनी कनी कराउनु पर्छ ?

बाबु: तेरो गीतले त हाम्रो मन कदापी छुदैन मुर्ख ।

कवि: वाह वाह वाह! पिताजी पनि साहित्कार । कति मीठो भाषा, कति मीठो शैली । आकाशको तारा झार्न हानेको साहित्यिक अस्त्र जस्तो छ । (खेलाडी छोराको प्रवेश)

खेलाडी: या…हुस् हुस् ….. आमा भात पाकेन । भोक लाग्यो मलाइ त । या हुस् ।

बाबु: के हो, नारी जाती भनेर हो कि, आमासित के को हास हास र हुस हुस? चुप लागेर बस्न टन्न अघाइ हाल्छस नि ।

खेलाडी: ओ बाउ आमा! म अरु कुरा जान्दिन, मलाई भोक लागेको छ । या हुस् ……

बाबु: अब भोक लाग्यो भने के गर्ने त । बुढा बुढीको मासु पनि चुसेर खाइ सक्यौ । कमाएर राख्न देको हुनु पर्छ भनेको बेला खानलाई ।

गायक: ओ मम ! क्या बोर गर्नु हुन्छ भन्या । धेर भोकै बसेर मेरो स्वर नै विग्रिसक्यो । सा रे ग म ।

आमा: भयो भयो बढी नकरा । अब सरकारी जागिर खोज्नु । बसेर खान पल्केकाहरु । अं अर्को कता गयो, खुब नेता हु भन्छ नि । त्यसले सक्तैन तिमीहरुलाई जागिर खुवाउन?

कवि: आमा, के खानु जागिर तरकारी, जसले खान पुग्दैन गतिलो तरकारी

खेलाडी: यस हुस…… हुस….. (घरको भित्तामा लातले हिर्काउछ)

बाबु: हैन के गरेको यसले । अब हुदा हुदा घर पनि भत्काउने लाग्यो भन्या । घर भत्काएर ईटा चपाउने विचार छ कि क्या हो?

खेलाडी: पर्सी मेरो कम्पीटिसन छ क्या बाउ । त्यसले प्र्याकटीस गरेको ।

कवि: उ हाम्रो नेता दाइको नि सवारी भो । (नेताको प्रवेश)

नेता: आदरणीय जनसमुदायहरु, माता पिता तथा भाइ बहिनी । सबैको अनुहार मलिन मलिन देख्दा लाग्छ हामी सबै मिलरे समयका विरुद्ध क्रान्ति गर्ने बेला आएको छ ।

आमा: हैन के भयो यो घर ? चार चार जना छोरा भएर पनि एउटाको पनि बुद्धि पलाएन । यो जेठोको त अलि बुद्धि छ कि भनेको त घर भित्र पस्दा पनि भाषण छाट्छ । के खान आएका तिमीहरु यहाँ ? यत्रा भएर बाबु आमाको हाड घोट्न लाज लाग्दैन ।

नेता: धाधली ! ठूलो धाधली । म अब यो धाधली छानविनका लागि आयोग गठनको माग गर्छु । चक्का जाम गराउछु, बुझ्नुभो?

आमा: भो भो नेताजी, हामीलाई हड्तालको हैन, खानाको आवश्यकता छ ।

कवि: हो आज भोली जताततै भाषणको जगजगी छ, तर रासनको समस्याले सबैको मन रोएको छ । आमा मेरो महाकाव्य छापिन्छ जहिले, सबै कुरा यहाँ ठीक हुन्छ तहिले । अनि त्यो अभाव आफै दिक्क हुन्छ ।

गायक: सा रे ग म । राम्रो, धेरै राम्रो । जब मेरो नयाँ क्यासेट बजारमा आउँछ, तब सम्पूर्ण श्रोता मेरो स्वरमा झुम्न थाल्छन । अनि पैसा जाबो त…. बरु कुन बैंकमा राख्ने हो, ठिक पार्दै गर्नुस ।

आमा: जुन गोरुको सिङ छैन, उसको नाम तिखे । यिनीहरुका कुरा सुन्दा सुन्दा म त पागल नै हुन लागे ।

बाबु: दे दे मरुञ्जेल कराउन दे । यिनीहरुको अरु के छ काम, कराउँछन बस्छन । बुढेसकालमा छोराले सुख देलान भन्ने आशा छैन अब । नाकमा कालो लाइदिए ।

आमा: तिमीले नै गर्दा हो नी । सानो छउञ्जेल, हिङ नभए नि हिङ बाधेको टालो छ नि भनेर पुल्पुल्यायौ । अब पछुताएर के गर्ने ।

नेता: चिन्ता नगर्नुहोस आमा । जब म चुनाव जितेर सांसद बन्छु, अनि त सबै समस्या हल हुन्छन । मञ्चमा तपाइहरुलाई राखेर यी मेरा माता पिता भन्दा पररररर ताली बज्छ । अनि बा, कस्तो मज्जा हुन्छ, आफै सोच्नुहोस त ।

खेलाडी: त्यती मात्र हो र, जब म यो उसु-हुसुको प्रतियोगिता जितेर उचाल्न नसक्ने पुरस्कार ल्याउछु, अनि त हाम्रो कति इज्जत हुन्छ । अनि कसैले फुर्ती देखाउछ भने म त्यसको दात खोज्नु पर्ने बनाइदिन्छु । यस हुस….

बाबु: तिमीहरुको भाषण, गीत, कविता र पुरस्कारको हैन, हामीलाई रासनको समस्या छ । भुस तिघ्रेहरु हो ।

जुन, १९९६

(स्रोत : IPAJournal.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *