लघुकथा : ईश्वर खोज्न

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

एकैछिन् साथीहरूसँग खेलेर आउँछु भनेर हिंडेको छोरो दिउसोको खाना खाने समय टरेपछि घर फार्कियो । फर्किएर आमाको डरले पिँढीमा चुपचाप बसेको छोरोलाई ढोकाको संघारमा उभिएर आमाले हप्काइ-एकैछिन्मा आउँछु भनेर गा’को मान्छे यसबेला आउने ? कहाँ गएको थिइस् हँ ? मैले सारा गाउँमा खोजें । तर तँलाई फेला पार्न सकिनँ।

बाटो हिँड्ने बटुवाले भन्यो – के भनेको दिदी तिमीले खोज्दा ईश्वर त पाइन्छ ।

रिसले आमाको कन्पारो तातेको थियो,त्यसैले बटुवाका कुरातिर ध्यानै दिइन । ऊ एकहोरो छोरोलाई हप्काउदै थिइ । छोरो भने आमाको गालीलाई वेवास्ता गरेर बटुवाको कुरा मनमनै गम्दै थियो।

भोलिपल्ट स्कुलजान भनेर घरबाट निस्केको छोरो ईश्वर खोज्न हिँड्यो । सहरको भीडभाड छिचोल्दै नदी-नाला, झरना, वनपाखा, संसार चाहर्दा पनि उसले ईश्वरलाई भेटाउन सकेन। एक,दुई तीन गर्दै दिनहरू व्यतित हुँदै गए। उसले मनमनै दृढ-संकल्प गर्‍यो-जसरी हुन्छ म ईश्वर नभेटिकन घर फर्किन्न।

एकदिन नदीको किनारमा बसेर विचारदै थियो-यो ईश्वर पनि कहाँ लुकेर बसेको होला ? उसको पछाडिबाट कोही गुज्रिएको आवाज कानमा परे । उसले मुन्टो घुमायो। एकजना पहेंलो वस्त्रधारी साधु उसैको नजिक उभिएका थिए।

साधुले केटोलाई सोधे-बालक तिमी यो एकान्त ठाउँमा के गर्दै छौ ?

केटोले जवाफ दियो-साधुजी ! म ईश्वर खोज्न हिँडेको ।

साधु अचम्मित हुँदै तिनै कुरा दोहोर्याए- ईश्वर खोज्न ?

हो ईश्वर खोज्न।

कसले भन्यो तिमीलाई ईश्वर वनजंगल,नदीनालामा खोजेर पाइन्छ भनेर ?

बटुवाले।

साधुले स्नेहपूर्वक केटोलाई सम्झाए-हेर बाबु ईश्वर बाहिर खोजेर पाइदैन।

अनि कहाँ पाइन्छ त ?

ईश्वरको निवास हामीभित्र हुन्छ ।

हामी भित्र कहाँ हुन्छ देखाइदिनुस् न?म ईश्वरलाई एकपल्ट हेर्न चाहन्छु ।

ईश्वर हेरेन चाहेर देखिने र किन्न चाहेर किनिने बस्तु होइन। ईश्वर त महसुस गर्ने चिज हो । ईश्वर हाम्रो आत्माको एउटा सुन्दर भाव हो । हामी भित्र रहेको ईश्वरिय भावलाई बचाउनको लागि हामीले हाम्रो आत्मा पवित्र र विचार शुद्ध राख्नुपर्छ । कर्मबाट भागेर होइन । कर्म गरेर,धर्म निभाएर । मेरो भनाइको तात्पर्य यो हो बालक-अहिले तिम्रो ईश्वर खोजेर वनजंगल भौंतारिने समय होइन । यो पढ्ने लेख्ने समय हो । यसरी वनजंगल भौंतारिएर जान्ने, बुझ्ने,केही बन्ने अवसर व्यर्थ नगुमाऊ । घर जाऊ। तिम्री आमा तिम्रो चिन्ताले अन्न, जल,त्यागेर आफ्नो शरीरलाई याताना दिरहेकी छिन् । उनलाई बचाएर छोरो हुनुको कर्तव्य निभाऊ।

केटोले साधुका कुरा बुझ्यो । ऊ श्रद्धापूर्वक साधुको पाउमा आफ्नो शिर राखेर घर फर्कियो र एउटा मानव हुनुको कर्म र कर्तव्य निभाउनमा तनमयातापूर्वक लागिरह्यो।

कथाकार
गीता थापा “दोषी”
हाल ईजरायल

(स्रोत : Palpalimilan.blogspot.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.