समालोचना : बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले…..

~पूर्ण इन्फादा~Purna Infada

समकालीन नेपाली कविता साहित्यको श्रीवृद्धिमा हङकङले आफ्नो छुट्टै पहिचान बनाएको छ । सिर्जनशील साहित्य समाज, हङकङको गठनसागै यसले तीव्र गति लिन थालेको छ । विश्व कविता साहित्यमा देखा परेका नयाँ चिन्तन, नयाँ प्रयोग र नयाँ बान्कीलाई पनि यहाँका स्रष्टाहरूले आत्मसात् गरेका छन् । हङकङेली नेपाली कविताका स्रष्टाहरूले विशेषतः उत्तरआधुनिक चिन्तनसागै सैद्धान्तिक रूपमा आफूलाई एकाकार बनाउने जमर्को पनि गरिरहेका छन् । प्रवासमा बसेर उनीहरूले नेपाली रीतिरिवाज, नेपाली भूगोल र नेपाली भाषा-साहित्यलाई औधि माया गरिरहेका छन् । हङकङमा बस्ने यी स्रष्टाहरूको स्मृतिमा जतिखेर नेपाली भूगोलको चित्रले विद्युतीय झड्का दिइरहेको हुन्छ । आफ्नो भूगोलबाट जतिसुकै टाढा भए पनि र प्रवासमा यान्त्रिक जीवनले बिर्सन नसक्ने प्रमाणको नमुना हो यो ।

समकालीन नेपाली कविता लेखन परम्परामा भिन्नै नवीन प्रयोग, शैली शिल्प र विचारका साथ कवि नरेश सुनवार जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले …’ -कवितासङ्ग्रह-२०६४) लिएर देखा परेका कवि हुन् । भावसघनता र बौद्धिक सघनतालाई रूचाउने कवि नरेश सुनुवारको यस कविताकृतिभित्र बाह्रवटा कविता सङ्ग्रहीत छन् । सबै कवितामा वैचारिक सशक्तता उम्लिएको छ । अस्तित्ववादी चेतना मडारिएको छ । जातीय मुक्ति र अस्तित्व पहिचान खोजिएको छ । चित्रात्मक र अमूर्त कलाको संयोजन गरेर लेखिएका यी कविताहरूले बौद्धिक पाठकको पहुाच मात्रै खोज्छन् । इतिहासमा आफू हेपिनु परेको, ठगिनु परेको र विभेदकारी राज्यको नीति विरूद्ध सबै कविता पहाड जसरी ठिङ्ग उभिएका छन् । आक्रोश, क्रन्दन, चीत्कार र पीडाहरू कविताभरि उकुसमुकुस भएर छरपस्ट छन् । गयास्पोरिक पीडा र नोस्टाल्जिक मोह जताततै रूमल्लिएको भेटिन्छ । पुरातनपन्थीहरूको क्रमको अन्त्य र नवीनताको प्रारम्भ हुनुपर्ने कुरालाई आगोको लप्काजस्तै उकेलिएको भेटिन्छ । अर्को उद्घोष घाम पड्किनु पर्छ, राँकुदेलेको अनुष्ठान र जिन्दगी लिखुजस्तो र सेक्सेलेले…तीन कवितामा अत्याधिक मात्रामा जातीय साँस्कृतिक बिम्व, प्रतीक र मिथकको प्रयोग गरेका छन् । यिनै बिम्व, प्रतीक र मिथकका माध्यमबाट जातीय साँस्कृतिक अधिकारको पक्षमा आवाज मुखरित भएको छ । नयाँ चेतनाको खोजी भएको छ । नयाँ विचार र नश्लीय बोधको हुँकारलाई अक्षरमा सुन्दर ढङ्गले कोर्ने काम गरेका छन् कविले यहाँ ।

कवि नरेश सुनवार विगतको इतिहाससाग असहमत छन् । यो इतिहासमा खिया लागेको छ र बाङ्गिएको छ । यो बाङ्गगिएको इतिहासका क्रम भङ्ग गरेर अर्को सम्पूर्णतासहितको सोझो र सरल इतिहास लेखिनुपर्छ भन्ने उदेघोष यसरी गरेका छन् ।
सिधा उभिएको सोझो मान्छे
च्याप्टिएको माटो टेकेर
किचिएको आकाश हेरेर
कति घोक्नु बाङ्गो इतिहास
र, त्यसैको समर्थनमा
कति पड्काउनु ताली ?
सेसेन झ् सोंईसेन झ् ए वार्चैपुकी -अर्को उद्घोष घाम पड्किनु पर्छ, जिन्दगीको पहाड र अस्तित्वको राकुदेले, पृ.२८)

यहाँनेर कवि नेरश सुनुवारले नेपाली समाजका सोझा मान्छेहरूलाई अहिलेसम्म इतिहासकारले टेडोमेडो इतिहास लेखेर ठगेको र यही घोक्नलाई अभ्यस्त बनाएको तथ्यलाई अघि सारेका छन् । जातीय मिथकका माध्यमबाट यसको तेजोबध गर्नुपर्ने र यो च्याप्टिन लागेको राष्ट्रियतालाई सोझो र समतल बनाउनुपर्ने अवस्थाको नग्न चित्रण गरेका छन् ।

कवि नरेश सुनवार यथास्थितिलाई कायापलट गर्न हरेक मान्छेले चेतनाको भ्रुण मस्तिष्कमा बोक्नु पर्छ भन्ने आग्रह गर्दछन् । विचारसहितको सङ्गठनमा सङ्गठित भएर मात्र हरेक किसिमका उत्पीडनबाट मुक्ति मिल्छ भन्ने कुरालाई उनले सारेका छन् ।

अब सधै सधै
निलेर होसको मदिरा
दिमागजस्तो धारिलो हतियार
चम्काएर साँद लगाइराख्नुपर्छ
टल्काइराख्नुपर्छ चेतना
जो होमिनुका निम्ति तम्तयार
विचारको युद्ध मैदानमा
(राँकुदेलेको अनुष्ठान र जिन्दगी लेखुजस्तो, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.३५)

कविले यहाँ अभिव्यक्त गरेको वा इङ्गित गरेको कुरा मनमस्तिष्कलाई चेतनाको धारले उद्याउनुपर्छ भन्ने नै हो । होस पुर्याएर यसो गरेका खण्डमा मात्रै वैचारिक युद्ध होस वा बख्तरबन्द युद्ध दुवै सजिलैसाग जित्न सकिन्छ । जोसाग वैचारिक चेतनाको भ्रुण बोक्न सक्ने क्षमता छैन त्यसले कुनै किसिमको पनि बिजयको छेक्खुए गर्न सक्तैन ।

कवि नरेश सुनुवारमा तीब्र रूपमा नश्लीय बोधको चेतना मडारिएको छ । उनले नश्लीय विम्व, प्रतीक र मिथकको पनि बोधगम्यताका साथ अधिक प्रयोग गरेका छन् । यति मात्र होइन उनका सेक्सेलेलेले …जस्ता कतिपय कविता पढ्दा त अमूर्त चित्र पढेको अनुभूति हुन्छ । यही अमूर्तताभित्र गम्भीर किसिमको आक्रोश, पीडा र व्यङ्ग्यको अनुभूति पाठकले गर्दछ र हजार भोल्टको विद्युतीय झड्काको अनुभूति पनि ।

याब्रेगुब्रे पुकारेर
ष्यारा उठाउनु पर्छ
अब हरेक साँझ
बजाएर ज्ञानका झ्याम्टा
निलेर आगोका नाचहरू
अचेतलाई ढ्याङ्ग्रो ठोकेर सीमा कटाउनू
छर्केर निक्अवाकु प्रतेकको चेतमा
सेक् सेलेले … …
(सेक्सेले ले ले…, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले …पृ.४०)

यस कवितांशमा कवि नरेश सुनुवारले जातीय उत्पीडनका विरूद्धमा विद्रोहको शङ्खघोष गर्नुपर्ने वैचारिक आगो उकेलेका छन् । परम्परागत विसङ्गति र रूढिलाई वा अचेतनलाई निक्अवाकुको चेतना ब्यूझाउनुपर्ने बोध गरेका छन् । यहाँ कविको यति मात्रै आग्रह नभई नश्लीय स्वत्वको पनि गम्भीर खोजी हो भन्ने बुझ्नुपर्छ पाठकले । ष्यारा, ढ्याङ्ग्रो र याब्रेगुब्रेजस्ता नश्लीय र ग्रामीण बिम्बका माध्यमबाट कविले अधिकारविहीन मान्छेको स्वरलाई उरालेका छन् ।
नेपालीहरूको उर्बर बैँस शक्ति राष्ट्र र शक्ति केन्द्रको अस्तित्व रक्षाका लागि अहिलेसम्म निरन्तर बगिरहेकोमा एकदमै चिन्तित् र आक्रोशित देखिन्छन् । अर्काको भूगोलको निम्ति अनाहकमा ज्यान गुमाउनुपर्ने जुन किसिमको विवशताको पराकाष्ठा नेपालीहरूले भोग्नु परिरहेको छ, यो अवश्य नै सुखद् कुरा होइन ।
पड्के म पहिलो युद्धमा
पड्के म दोस्रो युद्धमा
पड्के म कार्गिल र कोसोभोमा
पड्के म इराक अनि अफगानिस्तानमा
र अझै पनि तैनाथ छु
पड्किनुको निम्ति
विष्फोट हुनुको निम्ति
तेश्रो युद्धमा
चौथो.. पाँचौ.. छैठौ.. ईत्यादि /हरूमा
दोकानमा झुण्डिएको अस्तित्वको तक्मा र मेरो नामको आतङ्क, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले …, पृ. ५५ ।

आफ्नो अकबरी सुनजस्तो यौवनलाई पित्तलको भाउमा बेचिनुपर्ने र पित्तलका नक्कली तक्माहरू जो दोकानमा बेच्नका लागि सजाएर झुण्डाइएका छन् तिनैमा र्याल चुहाउनुपर्ने नेपालीहरूको निर्मम विवशताप्रति इङ्गित गरिएको छ यहाँ । अहिलेसम्म विश्वमा जुन प्रकारका युद्धहरू भए ती सबैमा नेपालीहरूले सहभागिता त जनाए तर ती सबै आफ्नो जाति र देशको लागि नभई अरूकै स्वार्थका लागि । पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन कार्गिल, कोसोभो, इराक र अफगानिस्तानसम्म युद्धमा नेपाली रगत बग्यो तर उनीहरूले के पाए ? नेपालले के पायो ? नेपालले शून्यताबाहेक केही पाएन र आफ्नो देशजस्तै गरिब जनताको छातिमा बुर्कुसी मार्नुबाहेक । अब यस्तो कार्यको अन्त्य यथाशीध्र हुनुपर्ने हुँकार अभिव्यक्त गर्दछन् कवि नरेश सुनवार ।
उनको कविताले डायास्पोरामा नेपाली जीवनले भोग्नु परेका पीडाहरू प्रशस्तै पोखिएका छन् । यन्त्रवत् जीवन भोगाइका छटपटीहरू मडारिएका छन् । दोस्रो दर्जाको नागरिक हुनुपर्ने पीडाहरू लहलहाएका छन् ।

महलका नेपथ्यहरूमा
टेकिने सङ्गमरमरका भर्याङहरूमा
जीवनका खुड्किलाहरू
उक्लनु छ
��”र्लनु छ
ठोक्किनु छ
चिप्लिनु छ
(महल बाहिर म, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ. ५७)
जीवनको उर्वर बैँस खन्याएर भीमकाय महलहरू बनाउँछन् । अर्काकै देशको उद्योग व्यवसाय फस्टाउने काम गर्छन् । महत्त्वपूर्ण उपलब्धी कहिल्यै हात पार्दैनन् । तिनै अभागी नेपालीहरूको डायास्पोरिक पीडा कविले आफ्ना कवितामा मुखरित गरेका छन् ।
म त्यो महलको फेदमा उभिएको छु
मेट्रो सिटीको बीचमा उभिएको छु
टाइम स्क्वायरको आँगनमा उभिएको छु
कजवे बेमा उभिएको छु
हङकङमा उभिएको छु
एसियामा उभिएको छु
र, भूगोल टेकेर
म सिङ्गो नेपाल उभिएको छु
(समयले घिसारेर जिन्दगी झुत्रो छ -तर छ, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.६३)

विकसित मुलुकको सुविधा सम्पन्न स्थानमा पुगेर पनि कविलाई नोस्टाल्जिक प्रेमले सताउन छोडेको छैन । उनले सिङ्गो नेपाल भूगोलले त्यसलाई किचेको अनुभुति गरेका छन् र आफू नेपाली भएर बाँचेको गर्व गरेका छन् । ती कुनै पनि वैभवले नेपाली हुनबाट बञ्चित गर्न सकेको छैन कविलाई । जस्तोसुकै झुत्रो र कमजोर भए पनि आफ्नो राष्ट्रको स्वत्वलाई बिर्सन नसक्ने अभिव्यक्ति दिएका छन् कविले ।
डायास्पोरामा नेपाली अस्तित्वलाई कतिसम्म खिसि गरिन्छ भन्ने कुरा उनले आफ्ना कवितामा सटिक ढङ्गले प्रस्तुत गरेका छन् ।

आफ्नोपन भुलेर लघुमान्छे
लघुचिता वरिपरि
जो डङ्का पिट्दछ
जङ्की विचार
नक्कली स्वरहरूले
हाँस्छन् गगनचुम्बी महलहरू
(हङकङमा मौसम, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.६८)
विदेशीका अगाडि नेपालीहरूको मस्तिष्कको कदर नहुने, ऊसाग जतिसुकै बुद्धि, विवेक र सीप भए पनि त्यसको कदर नहुने र सधै लघुमानवजस्तो भएर आत्मग्लानि बोकेर बस्नुपर्ने क्रूर विवशतालाई कविले यस कवितांशमा प्रस्तुत गरेका छन् । नेपालीहरू विदेशीको उपहासको पात्र बन्नु परेको नग्न यथार्थलाई देखाएका छन् ।
…..र ढल्छन् भोका मान्छेहरू
आतङ्कको नाममा
फेरि ढल्छन् मान्छेहरू
शान्तिको नाममा
र ढल्छन् प्रजातन्त्रको नाममा
(यौटा मान्छेको स्वरूपभित्र ड्राकुलाको विचार, जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले, पृ.७१)

यहाँ कविले एउटाएउटा बहानामा मानवीय अस्तित्वमाथि हिंस्रक र रक्तपिपासु साम्राज्यवादीले धावा बोलेको कुरालाई नग्न सत्यका रूपमा अघि सारेका छन् । भोकाहरूको रक्षक भएको भन्दै भोकाहरूलाई नै, आतङ्क नियन्त्रणका नाममा निर्दोषहरूलाई शान्तिको नाममा शान्तिप्रेमीलाई र प्रजातन्त्रका नाममा स्वतन्त्रताप्रेमीलाई नै चिहान बनाएर आफ्नो शक्तिको दम्भ देखाउँनेहरूप्रतिको कटु व्यङ्ग्य प्रहार गरेका छन् कविले । विभिन्न बहानामा जनतामाथि दमन गरेर आफू शक्तिशाली बन्ने र अस्तित्व र अधिकार खोस्ने परम्पराको अन्त्यको लागि आवाज उठाइएको छ यहाँ ।

कवि नरेश सुनुवार नेपाली कविता साहित्यमा बौद्धिक र प्रयोगवादी कविका रूपमा आएका सशक्त हस्ताक्षर हुन् । उनका कवितामा नवीन विचार, शब्दशिल्प र बिम्ब, प्रतीक र मिथकको प्रयोग पाइन्छ । उनका कविताले मान्छेलाई वैचारिक रूपमा मजबुत हुन हार्दिक आग्रह गरेको भेटिन्छ । नश्लीय बोधबाट ��”तप्रोत कवि नरेश सुनवार विनिर्माणवादी उत्तरआधुनिक चिन्तनतिर ढल्किएका हुन् कि भन्ने शङ्का गर्न सकिन्छ । उनका कविताले सामान्यभन्दा बौद्धिक पाठकहरूलाई बढी खोज्छन् । मानवीय संवेदना मन पराउने, डायास्पोराको पीडालाई बुझ्न खोज्ने पाठक र समालोचकको खोजी गरेका हुन्छन् उनका कविताले । यति मात्र होइन, नेपाली भूगोल, नश्लीय साँस्कृतिक रूचाउने र दमित आदिवासी चेतनाको पक्षमा बोल्न सक्नेहरूको खोजी गरेका छन् कवि नरेश सुनुवारका कविताले । मै हुँ भनेर नेपाली कविता साहित्यमा दादागिरी गर्नेहरूको मुन्टो झुकाइदिएका छन् कवि नरेश सुनुवारका कविताले ।

(स्रोत : Bagaicha)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.