नेपाली उपन्यास : भाँचिएको लौरो

~रमेश गौतम “पाल्पाली”~Ramesh Gautam Palpali

भाँचिएको लौरो (उपन्यास) | नेपाली उपन्यास | रमेश गौतम “पाल्पाली”

भाग १

“बिरे तँ कहाँ गएको थिइस् ?”

“स्कुलमा गएको प्रार्थनाको बेला भएको रहेछ, हेरेर आएको”

“हेरेर के गर्छस् पढ्न नपाएपछि । बाख्रालाई बारीका कान्लामा डोर्दे भनेको त्यति पनि गरेन । अघि नै डोर्देको भए केही खान्थे, अहिलेसम्म भोकै छन् ।”

“गोरे, भुन्टे सबैले पढिराछन्, मैले नि पढ्न पाए हुन्थ्यो ।”

“गोरे, भुन्टेको त बाउले कमाउँछन्, साउको रिन पनि छैन र पो पढ्छन्, तेरा बाउले त बाजेले लाको रिन तिर्न नसकेर सकि–नसकि साउको हलो जोत्न भ्याछ । यही भएको एक हलको पाखो पनि कुन दिन साउले गजल्ट्याउने हो, कसरी पढ्छस् बाबै तैँले छोड्दे, भाग्यमा नभएको कुरा संझेर किन टाउको दुखाउनु !”

“पढ्न पनि भाग्यमा हुनुपर्छ र केही नहुने, कोही नहुनेले पनि पढ्छन् रे ! माड्साबले त भनेको । मलाई त जसरी भए पनि पढ्न मन लागेको छ । पढेपछि ठूलो मान्छे भइन्छ रे, पैसा पनि आफैं आउँछ रे ! मैले पढ्न पाको भए पैसा कमाइहाल्थेँ । बालाई जोत्न पनि पर्ने थिएन ।”

“होला खै ! तेरो भाग्यमा पढ्न लेखेको छ छैन मलाई त थाहा छैन । तैँले कहिले पढ्ने, कसरी पढ्ने र कहिले पैसा कमाएर साउको रिन तिर्लास् र तेरा बाको हलो छुट्ला  खै ? मलाई त पत्यार लाग्दैन ।”

बिरे, अर्थात् वीरबहादुर । उसको न्वारनमा पुरेतबाजेले “वीरबहादुर पुलामी मगर” भन्ने नामाकरण गरेका थिए । साथै “वीरबहादुर त ठूलो मान्छे होलाजस्तो पो छ है !” भनेर संकेत पनि गरेका थिए । तर ऊ बढ्दै गयो, पुरेतका कुरा पनि बिर्सिँदै गए र बोलाउन सजिलो हुने भएकोले अहिले ऊ बिरे भएको छ । बाबु–आमा, वर–पर सबैले उसलाई बिरे नै भनेर बोलाउने गर्छन् ।

बिरे पाल्पा जिल्लाको बिकट गाउँ ढुकुरखोलामा जन्मेको थियो । यातायात नाउँमा त्यसबेला उसको गाउँमा मात्र होइन, तानसेनमा समेत मोटर पुगेको थिएन । शिक्षाको नाउँमा जेनतेन उसको घर नजिकै एउटा प्राथमिक स्कुल सम्म थियो । गाउँका ४०, ५० जना बिरेकै दौँतरी केटा–केटीहरू त्यही स्कुलमा घोर मिलाएर चिच्याइ चिच्याइ पढेको सुन्दा बिरेलाई औधी मजा लाग्थ्यो आफुले पढ्न नपाएकोमा भने ऊ भित्र–भित्रै कुँडिन्थ्यो ।

राती सुतेको बेला सपनामा पनि बिरेले आफु स्कुलमा गएर पढेको देख्थ्यो । कहिले कहीँ त उसले आफुलाई ठूलो मान्छे (शिक्षा निरीक्षक एर हेड सरलाई पनि गाली गर्न लागेको हुन्थ्यो । झल्याँस्स जाग्दा भने आपूmले पढ्नै नपाएको, साथीहरूले पढेको संझेर रुन्थ्यो । आमाले सुनेर गाली गर्थिन्–

“किन रुन्छ है यो बिरे यति बेला, थपक्क नसुतेर ?”

“म सपनामा पढ्न गएको, ठूलो मान्छे भएको रे ! तर म त पढ्नै जान पाएको छैन । कसरी ठूलो मान्छे हुने ?” बालहृदय खोल्छ बिरेले ।

बिरेको कुरा सुनेर उसकी आमाको मातृहृदय त्यसै छिया छिया हुन्छ । “अरूका छोरा–छोरीलाई ‘पढ्न जा’ भन्दा नमानेर पिटेर पठाउनु पर्छ । मेरो छोराले यति रहर गर्दा पनि पढाउन सकिएन । कस्तो भाग्य मेरो ?” बिरेकी आमा सुन्तली भित्र–भित्रै कुडिन्थी, मनैभरी रुन्थी र प्रकटमा भनेकी थिई–

“के गर्छस् त बाबै, तेरो हाम्रो भाग्यै नभएर त होला नि तैँले पढ्न नपाको । सुत् रोएर के गर्छस् ? भाग्यमा रहिछ भने पढ्लास् के रे, सुत् ।”

बिरे बाहिर निस्केको मात्र थियो । भुण्टे तलतिरबाट आएकोरहेछ । “कता जाने ? ” भनेर सोध्यो

“ माथि दलबहादुर दाइ लाहुरबाट आछन् रे ? हेर्न जाने । तँ पनि हिड्न ।” भनेर बिरेलाई पनि लग्यो । दुई वर्ष कलकत्तामा बसेर आएको लाहुरेको फूर्ती गज्जबकै थियो । ऊ भन्दै थियो

“साला पहाडमा के छ र ? जे छ उतै छ । झिलिमिली बिजुली बत्ति बलेका छन् । रात हो कि दिन हो छुट्याउनै सकिन्न । रेल, मोटर, रेक्सा, टाँगा के के हो के के,  हिड्नै पर्दैन । जहाँ गए पनि सबारी पाइहाल्छ । देश भनेको देशै हो । साला पहाड त हड्डी नै हो ।”

सबै गाउँले वरी–परी झुम्मिएका छन्, उसले सिग्रेट बाँड्दै मार्चिस् कोरेर सल्काइदिँदै गरेको छ ।

यो देखेर बिरेलाई लाहुरेले निकै पढेजस्तो लाग्यो र सोध्यो “दाइ, त्यो लाहुरमा पढ्न पनि पाइन्छ ?

“कति पढ्छस् ? त्यहाँ त नपढेको मान्छे नै हुन्न । जे पढे पनि जति पढे पनि हुन्छ त्यहाँ ।”

“त्यहाँ कसरी जाने नि दाइ ?”

“यहाँबाट तानसेन, त्यहाँबाट बटौली झरेसी त्यहाँबाट गाडी चडेर भैरवा, सुनौली हुँदै नौतन्ना गएर छोटी लाइनको रेल चड्ने । गोरखपुर गएर बडीलाइन चढेपछि ठ्याक्क कलकत्ता लगेर छोड्छ । हेर् बिरे ! लाहुरको मजा त्यसपछि हुन्छ । त्यसको बात अलग छ हेर् ।” बिरेले सबै त बुझेन तर लाहुर गएपछि पढ्न पाइन्छ र तानसेनपछि बटौली गइन्छ भन्नेसम्म बुझ्यो । उसलाई लाहुर जान पाए पक्कै पढ्न पाइन्छ भन्ने पनि लाग्यो, लागिरह्यो ।

तर सोचे जस्तो कहाँ हुन्छ र ? बिरेको बाबु हर्केले आफ्ना बाबुका पालाको ऋण सकारेर साहुको हलो थामेको थियो । साहुकोमा जोत्ने काम नहुँदा आफ्नो कुटो–कोदालो गरेर जसोतसो बाँच्ने निर्वाह गरेको थियो । तर दैव उल्टो भएपछि कसको के लाग्दो रहेछ र ?

असारको बेला, झमझम पानी परिरहेको थियो । साहुको खेत रोप्न गोरु घँस्याउन दब्दबेको रूखमा चढेर हर्केले घाँस झार्दै थियो । परको हाँगो काट्छु भनेर तानिएको बेला टेकेको हाँगो भाँचिएर ऊ तल खँगारियो । पानी परेको र अलि अलि कुहिरो लागेको हुनाले वरपरका कसैले पनि देखेनन् । धेरै बेरपछि ‘हर्के घाँस लिन गएको किन आएन ?’ भनेर साहुले हेर्दै जाँदा पो हर्के त इन्तु न चिन्तु भूइँमा लडेको देखियो । साहुले नगिच गएर यता उता पल्टाए, बोलाए तर हर्केले धर्ती छोडिसकेको थियो, किन बोल्थ्यो ? समयमै थाहा पाएर दबाइ–दारु हुन पाएको भए सायद बाँच्थ्यो पनि कि ? त्यो हुन सकेन । आखिर बिरेको पढ्ने सपनामा झन् सारो पानी पर्‍यो ।

भाग २

हर्केले धर्ती त छोड्यो तर उसको शरीर थन्क्याउने सुन्तलीसित साधन थिएन । त्यसैले यस कामको लागि पनि उही साहुको शरण नपरी सुख थिएन । साहुले कति खर्च गरेर उसको लास थन्क्याउन लगाए कुन्नि ! सुन्तलीले त्यस बेला केही थाहा पाइन र थाहा पाउने हालतमा पनि थिइन ऊ । तर उसको खातामा ऋणको रूपमा भने उनिहरूले गरिखाने गरेको पाखो बारीले नधान्ने भएको रहेछ ।

तेरह दिनको काम सकेको दोस्रो दिनमै साहु सुन्तलीको घरमा आयो र घोप्ट्याएको डोको माथि बसेर मनको आसय खोल्यो उसलेः

“सुन्तली, हर्के गैहाल्यो । उसले दुःखै लुकायो भने पनि भयो । कति राम्रो हलुङ्गो मान्छे थियो । उसले मेरो हलो थामिदिएको थियो । मैले पनि चित्त बुझाएकै थिएँ । अब मेरो हलो पनि बस्यो । तिमीहरूको सहयोग पनि गयो । यसले तिमीहरूलाई दुःख लाग्ने नै भयो । मलाई पनि कम दुःख लागेको छैन । के गर्नु ? सधै दुःख मानेर पनि हुने रहेनछ । जाने गए पनि बाँच्नेले व्यवहार चलाउनै पप्यो । तेरो यो पाखोले खानपुग्ने पनि होइन । के झन्झट् गर्छेस् । यो पाखो बारी छोड्दे । त्यो भैसीको पाडी, भएका गाई, बाख्रा–कुखुरा मेरो थारोमा लगेर बाँधिदे । हुन त यसबाट मेरो लगानीको एक छेउँ पनि उठ्ने होइन । तै पनि के गर्ने र ? अब तँ र बिरे दुवै जना मेरो गोठमा गएर बस । तिमीहरूलाई पनि ढुक्क कहाँ जाउँ, के खाउँ, के लाउँ भन्नु परेन । मेरो पनि काम चल्ने कसो ? के भन्छेस् त ?”

“के भन्नु र हजूर ? रिन खाएपछि तिर्दिन भन्नु भएन । हजुर्ले जे भन्नुहुन्छ त्यही गर्छु ।”

अर्कै दिन सुन्तली र बिरे साहुको घरमा नोकर बस्न गए । उनीहरूको जायजेथा, हाँडो–भाँडो सबै साहुका हातमा गए । विहान झिस्मिसेदेखि साँझ आँखाले भ्याएसम्म आमा–छोरा साहुको काममा व्यस्त हुन थाले । घरको नगिचै स्कुल भएको हुनाले फाट्ट फुट्ट स्कुलमा जाने गरेको थियो बिरे । अब त पूरै विमुख हुने भयो । गोरे, भुन्टेजस्ता साथीबाट केही जान्ने सिक्ने मौकाबाट पनि पूरै वञ्चित भयो । समस्तमा भन्नुपर्दा बिरेको पढ्ने इच्छामा अर्को तगारो थपियो ।

साहुको घरमा सुन्तली र बिरे गएपछि पहिले काम गर्न राखेको मान्छेलाई साहुले बिदा गरिदिए । घरको बडार–कुडार, जुठो–चुलो, भाँडा माझ्ने, पानी बोक्नेदेखि गाई, भैँसी, बाख्राहरूको रेख–देख, घाँस–पात, चरन–परन आदि सबै काम यिनै आमा–छोराको जिम्मामा पप्यो । अनि त यिनीहरूका हाडछालाले रातको चार घडी मात्र आराम पाउँथे, त्यो पनि डर र त्रासमा । यिनीहरूले जतिसुकै हाडछाला घोटे पनि जस कहिल्यै पाएनन् । पेट भरी मीठो–मसिनो खाने कुरा त नसीबमै थिएन । रूखो–सुखो आधापेट खान पनि साहुनीबाट दुई चार कुरा नसुनी कहिल्यै खान परेन ।

भर्खर आठबाट नौ वर्षमा टेकेको बिरेले जबान मान्छेजस्तै भएर काम गरेको देख्दा वर–परका मान्छे पनि छक्क पर्थे । त्यति गर्दा पनि उसले साउनीको मुखबाट गालीको वर्षामात्र होइन थप्पड पनि पाउँथ्यो । गरिब भए पनि उनीहरूमा पनि आत्मा छ, उनीहरूलाई पनि खान मन लाग्छ भन्ने साहुनीले कहिल्यै सोचिन । उनीहरूले दाल तर्कारी, दूध, दहीसित मङ्ग बसाउने धानको सेतो भात खान्थे । बिरे र सुन्तलीलाई मकैको आटो, कोदाको रोटी, ढिडो त्यो पनि सिन्की र पानी थपेको महीसित दिन्थी ।

साहुले बाउको श्राद्ध गर्थे, त्यस बेला आधा आटो आधा सेतो भात पाएको थियो बिरेले । थालको छेउँमा अलिकति तर्कारी, केरौको दाल मुलाको अचार पनि बिरेले खान पायो । यसतो मीठो खान पाइनेरहेछ र पो मान्छेले भन्दा हुन् :

“सरात् खाए झैं खाइयो ” भनेर । ‘यो साहुकहाँ सधै सरात् परे पनि हुन्थ्यो नि ? हो कि आमै !’ भनेर बिरेले सुन्तलीसित खुसी जतायो ।

“उसको बाउ मरेको दिन भएर पो सरात् गरेको त सधै कहाँ सरात् गर्छ साहुले ।” सुन्तलीले भने पनि बिरेलाई भने सधै सरात् परेहुन्थ्यो जस्तो लागिरह्यो ।

फलामको मसिनलाई त आराम र इन्धनको आवश्यकता पर्दछ भने मानिसको शरीरले विना आराम र पेटभर खान पनि नपाउने भएपछि कति दिन धान्न सक्छ र ? सुन्तलीको शरीरले पनि ढील छोड्यो, ऊ थलिई । उसको टाउको फुट्लाजस्तो गरेर दुख्न थाल्यो भने शरीरमा आगो बलेजस्तै भयो । ऊ ढली । यस अवस्थामा औषधिमुलोको आवश्यकता हुन्थ्यो तर उसले त काम गर्न अल्छी लागेर ठगेको आरोप साहुनीले लगाई औषधि–मुलोको त कुरै भएन । दुई दिनको ज्वरोले उसले पनि दुःख लुकाई । बाबु मरेपछि अर्ध टुहुरो भएको बिरे अब भने पूरै टुहुरो भयो ।
आमासित दिन–खान सक्ने क्षमता नभए पनि सहानुभूतिका दुई शब्द त बोल्थी, ममताको आँचलमा बेरेर उसको टाउको त मसार्दिन्थी । बिरेले त्यो पनि गुमायो । त्यो कलिलो उमेरमा बाबु–आमा दुबै गुमाउनु, साहु, साउनीको त्यो टोकसो सहनु योभन्दा ठूलो बज्रपात मान्छेको जीवनमा के पर्दो होला र ? कठै ! बिरेले कसरी सहेको होला ?

आमा मरेको तेरह दिन पनि बिरेले एकान्तमा बसेर रुन पाएन । आमा मरेको भोलिपल्टैदेखि उसको थाप्लोमा आमाको भागको काम पनि आइपप्यो । भर्खर दश पुगेर एघारमा टेकेको केटाले झन् कति गर्न सक्थ्यो र ? तै पनि सकेसम्म गाडा तान्दैरह्यो उसले । यही साहुको सेवा गर्दा गर्दै बाबुले छोडेर गए, आमाले एक गोली औषधि पनि खान नपाएर उल्टै गाली र धम्की खाएर मरी । भएको जायजेथा पनि हडपिसक्यो । अब कसका लागि साहुको यो गाडा निरन्तर चलाइरहने बिरेले ? त्यसैले अब ऊ त्यहाँबाट लुसुक्क भाग्ने सुरमा थियो । किन कि उसलाई बाबु र आमा दुवैले बाटो छोडिदिइसकेका थिए । साहुको बुहार्तन गरेर यहीँ बसिरहनुपर्ने बाध्यता थिएन । बिरे एक दिन उज्यालो नहुँदै झिसमिसेमै जिल्ला सदरमुकाम तानसेनको बाटो लाग्यो ।

कहिले सदरमुकाम नगएको सानो केटो, त्यो पनि खालिपेट, तै पनि हिम्मत हारेन उसले । बल्ल–तल्ल दुई दिन लाएर ढुकुरखोलाबाट तानसेन पुग्यो । त्यहाँ पनि उसलाई सजिलो थिएन । वर–पर, साथी–भाइ, इष्टमित्र सबै चिने–जानेको सानो गाउँमा बसेको बिरे तानसेन सहरमा पुग्दा कुहिराभित्रको कागजस्तै भयो । कहाँ जाने ?, के गर्ने ?, कसलाई भन्ने ? जता हे्यो उतै नचिनेका मान्छेको मात्र भेल ! ऊ सीत्तलपाटीमा गयो । यहाँ झन् धेरै मान्छे । दर्बार भित्र पस्ने ढोका देख्यो । आम्मामै कति ठूलो ढोका ? उसले चार, पाँच फिटे ढोका मात्र देखेको थियो तानसेन दरबारको ढोका देख्दा उसलाई अचम्मै लाग्यो । केही मान्छे त्यहीबाट भित्र गएका थिए ऊ पनि गयो । आम्मै कति ठूलो घर ! यसको छेउटुप्पो कता होला ? बन्दुक बोकेको मान्छे ढोकामा उँभिएको देखेर उसको सातो जालाजस्तो भयो । भगवतीस्थानतिर जानलागेका मान्छेको पछि लागेर बाहिर आयो । अब त ज्यान जोगिएजस्तो भयो उसलाई ।

भगवतीस्थानबाट फेरि शीतलपाटी आयो । त्यहाँबाट आरालो लागेर (असनटोल) नारायणस्थान पुग्यो । आम्मामै नि ! रूखभरी के फलेको होला ? उसले नगिचैको मान्छेलाई सोध्यो-
“चमेरा हो” भनेर त्यो मान्छे आफ्नो बाटो लाग्यो । चमेराको नाम उसले पहिले पनि सुनेको थियो तर देखेको थिएन । आम्मै चमेरा त यस्तरी पो फल्दोरहेछ, भन्ने बुझेर ऊ अगाडि बड्यो । तेर्सो गल्ली हुँदै ऊ टुँडिखेल पुग्यो । रङ्गी–चङ्गी, सामानले भरिएको यति ठूलो बजारबाट टुँडिखेल पुग्दा हलुङ्गो भयो । यति ठूलो चौर ! सहरमा सबै चिज ठूलै हुन्छन् कि क्याहो ? उसलाई ठम्याउन गाह्रो पप्यो ।

धेरै बेर त्यसै टोलाएर बसिरह्यो । हिजोदेखि पेटमा खास केही परेको छैन । बाटोमा एकजना ढाक्रेले एक मुठी मकै दिएको थियो हिजो । आज त त्यही पनि पेटमा परेको छैन । त्यसै बसेर पो के गर्ने ? हिम्मत झिक्यो उसले । पहिलो काम त खानकै जरूरी थियो । धेरै होटल र साहुका घर चाहा्र्‍यो । अघाएका मान्छेलाई त्यस बालकको भोकको अनुभव भएन । कसैले एक मुठी केही दिएन । अन्त्यमा एउटा होटलमा गएर अनुनय ग्यो ।

“के काम गर्नसक्छस् ?”
“जे पनि गर्नसक्छु साहुजी ।”
“ल, भाँडा पनि माझ्नुपर्छ आइज भित्र ।” भनेर साहुले बोलायो ।
बिरेले त्यहाँ पेटभर खान त पायो तर उसको पढ्ने चाहना भने त्यहाँबाट पनि पूरा भएन । त्यो ठाउँ छोडेर पनि कहाँ जाने ? आखिर खान त पर्छ नै । कमसेकम यहाँ खान र बस्न पाएको छ । गाउँको साहुको जस्तो गाली र पिटाइ खान त परेको छैन । यही सम्झेर बिरेले त्यहीँ काम गर्दै रह्यो ।

बिरेको उद्देश्य पढ्ने थियो, त्यो त्यहाँ पूरा भएन । दले लाहुरेले तानसेनपछि बटौली झरिन्छ भनेको उसले बिर्सेको थिएन । साथै तानसेनको साहुले तलब भनेर तीस रुपियाँ पनि दिएको थियो । त्यही पैसा लिएर बिरे बर्तुङतिर लाग्यो । बर्तुङमा उसले बटौली जाने तीन, चार जना ढाक्रे भेटायो । ऊ तिनैसित प्रभास, नयाँपाटी हुँदै मसेमको उकालो लाग्यो । पहाडमा हिड्ने ढाक्रेसित तुम्लेट हुँदैन । खोला–खोल्सामा भेटेको पानी खाँदै हिँड्ने हो । उकालोमा एउटा खोल्सामा पानी त भेटियो तर कसरी खाने ? एउटा ढाक्रेले बिरेलाई भन्यो-

“ओ बिरे भाइ, पानी खाने एउटा धारो बनाउन हो !” बिरेले नजिकैको जलुकाको पात टिपेर धारो बनायो । सबैले टन्न पानी खाएर मसेमतिर लागे । त्यहाँ पुग्दा घाम डुब्न लागेका थिए । मसेम दुइवटा बाटो मिसिने ठाउँ हो । खस्यौली जोर्तेबाट आउने र तानसेनतिरबाट जाने त्यहीँ भेटिन्छन् । बुटवलतिरबाट आउनेको पनि त्यहाँ बास बस्ने बेला हुन्छ । यहाँबाट तानसेन, खस्यौली (कन्टीपोखरा– लगुवा हुँदै रिडी जाने बाटो) र बुटवल बराबरैजस्तो हुन्छ । त्यसैले साँझको बेलामा ढाक्रेलाई भट्टीमा बास पाउन गाह्रो पथ्र्यो । अझ लाहुरे पाएसम्म त ढाक्रेको के कुरा साहु–महाजनले पनि बास पाउन्नथे । बिरेको टोली सिस्ने खोलामा गएर बास बस्यो र अर्को दिन दोभान झरेर दिउँसो बटौली पुग्यो ।

त्यस बेला खस्यौली बजार अहिलेजस्तो रमझम थिएन । पन्ध्र÷बीस वटा भट्टी पसल थिए । पारी पट्टि बटौलीमा मात्र दुकानहरू थिए । (त्यसैबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी आदि ठाउँको लागि चाहिने नुन, तेल, साबुन, तमाखु, लत्ता–कपडा आदि सबै सामान मानिस र खच्चरबाट ढुवानी गरिन्थ्यो ।)

अर्को दिन ढाक्रेहरू आ–आफ्नो भारी हालेर फर्के । बिरे के गरोस् ? भोक पनि लाग्यो होटेलमा गएर एक मोहरको चिउरा र चना खायो । उसको भाग्यले तानेको हो कि के हो ? काठमाडौँबाट जिल्ला निरीक्षणमा आएका सहसचिव विष्ट त्यसै होटलमा चिया खान आएका थिए । केही छिनको बसाइमा उनका आँखा बिरेमा परे । उनको घरमा काम गर्ने मान्छे थिएन । यो ठिटो जान्थ्यो कि भनेर बिरेलाई नजिक बोलाएर सोधे –

“तेरो नाम के हो बाबु ?”
“ बिरे ”
“तेरो घर कहाँ हो ?”
“ढुकुरखोला ”
“कहाँ पर्छ ढुकुरखोला ?”
“तानसेनबाट डेड दिन लाग्छ ।”
“घरमा को को छन् त ?”
“बा आमा थे मरे, कोही छैन ।”
“यहाँ कसरी आइस्त ?”
“साहुकहाँ काम गरेर बसेको थिएँ, भागेर तानसेन आएँ त्यहाँ पढ्न पाइन । अनि हिजो यहाँ आएको”

“तँलाई पढ्न मन लाग्छ ?”
“किन नलाग्ने ? पढ्न पाइन्छ कि भनेर त म गाउँबाट आएको तर तानसेनमा भाँडा माज्दा र टेविल पुच्दा फुर्सतै भएन । अनि लाहुर गए पढ्न पाइन्छ कि भनेर यहाँ आएको ।
“धत् लाटा, लाहुर पनि पढ्न जाने हो र ? त्यहाँ त पढेर ठूलो भएपछि पैसा कमाउन पो जाने हो ।”

वीरेको कुराले विष्टको हृदय छोयो । उनी शिक्षालाई सरस्वती, मातापिता र गुरुलाई द्यौता मान्ने संस्कारमा हुर्केका मान्छे । उनलाई केटाको पढ्ने चाहना र उत्साह देखेर दया पनि लाग्यो । उनले भने-

“मसित काठमाडौँ जान्छस् ? साँझ विहान मलाई सगाउलास् दिउँसो स्कुलमा गएर पढ्लास् ।
जान्छस् त काठमाडौँ ?”

“हुन्छ । पढ्न पाइने भए जहाँ पनि जान्छु तर त्यहाँ गएर पनि पढ्न पाइन्न कि ?”
“पढ्न पाइन्छ । साँझ विहान मलाई सगाउलास् । दिउँसो स्कुलमा भर्ना भएर पढ्ने । त्यसो गरे हुन्न ?”

“हुन्छ, दिउँसो पढ्न पाइने भए साँझ विहानको काम त गरिहाल्छु नि । ”
“ल, त्यसो भए भोली सात बजे पारी चोकमा आउनु सँगै जाउँला ।” उनले भने ।
“मेरो बस्ने ठाउँ छैन । चोक पनि देखेको छैन ।”
“अहिले नै जान्छस्त मसँग ?”
“जान्छु ।” भनेर वीरे पछि लाग्यो ।
त्यस बेलासम्म पूर्वपश्चिम राजमार्ग चलेको थिएन । नौतनवा, गोरखपुर, मुजफ्फरपुर, सुगौली, रक्सौल हुँदै वीरगञ्ज भएर काठमाडौं आउनुपर्थ्यो ।

भाग ३

बिरेको मन आनन्दले नाच्न थाल्यो । पढ्न स्कुलमा राखिदिन्छु भन्ने मान्छे भेट्दा उसलाई देउता भेटेजस्तै भयो । कति बेला भोली होला र काठमाडौं जाउँला भन्ने मात्र उसले सोच्यो । रातभर पनि खुसीले निद लागेन । विहानीपख यस्सो झकाएको थियो । स्कुलमा धेरै विद्यार्थीहरूसित बसेर पढेको सपना देखेछ । झल्याँस्स भएर जाग्यो । बाहिरतिर आँखा लगायो उज्यालो त भइसकेको रहेछ । सात बजे जाने भनेका थिए, अहिले कति बज्यो होला ! उसित घडी थिएन । थाहा भएन । नचिनेको ठाउँ । नचिनेका मान्छे । ऊ कुच्रुक्क परेर बसिरह्यो

तिनताक बुटवलबाट विहान सात बजे एउटा र बाह्र बजेतिर अर्को बस सुनौली जान्थे भने उताबाट पनि त्यसै गरी आउँने भनिन्थ्यो । तर यात्रुले बस नभरिएसम्म त्यो बस नौ, दश बजेसम्म पनि हिँड्दैनथ्यो । आज पनि नौ बजेतिर बल्ल बसले गुड्ने प्रयास गर्‍यो । बस नहिँड्दासम्म त बिरेलाई घरमा बसेजस्तै लागेको थियो । तर जब बस हिँड्यो उसको आश्चर्यको सीमा रहेन । मेरी बास्सै ! यस्तो घर पनि हिँड्दोरहेछ ! यस्तो अनौठो चिज देखेको मात्र होइन, त्यसैमा बसेर हिँडिरहेको पनि छ ऊ । यस्तो कुरा उसले काले, भुण्टे, गोरे कसैलाई पनि भन्न पाएन । अझ त्यो रेल भन्ने कस्तो होला ? बिरे यस्तै कल्पनामा डुबिराख्यो । बस भने जोगिकुटीको जङ्गलनिर गएर घचक्क बस्यो । ड्राइभर उत्रेर भन्योः

“लौ, लौ, गाडी तातेर बन्द भयो यसमा अतिकति पानी हाल्छु । सबै उत्रेर घुचेट्नुपप्यो ।” यात्रुहरूले केही बेर घुचेटेपछि फेरि गाडीले घरर्र घर्, गरेर गति लियो । यात्रुहरू दौडेर आआफ्ना सिटमा बसे ।

द्वितीय विश्वयुद्धताक काम नलाग्ने भनेर पन्छाएको बसले बल्ल बल्ल मणिग्रामको जङ्गल काटेको मात्र थियो । फेरि बस्यो । कच्ची बाटो जङ्गलको बीच । तातेको बेलामा पानी नहाली नहुने पानी खोज्न कहाँ जाने ? कण्डक्टरलाई पनि हैरानै थियो । भर्खर बस देख्न पाएका यात्रीलाई भने घुचेट्न पाउँदा पनि रमाइलै लाग्थ्यो । कहिले घुचेट्ने कहिले चड्ने गरेर साँझ चारबजेतिर बस सुनौली पुग्यो । त्यहाँबाट रेक्सा लिएर विष्ट र बिरे नौतनवा पुगेर भट्टिमा बास बसे । अर्को दिन विहान पाँच बजेमात्र गोरखपुरलाई रेल जाने हुनाले नौतनवामा बास नबसी सुखै थिएन ।

तानसेनको साहुजीको कोठाभन्दा ठूलो बस चढेर सुनौली पुगेको बिरेले नौतनवामा कोठै कोठा भएको रेलमा बसेर दौडँता गाउँको दले लाहुरेले भनेको कुरा संझेर आफूलाई भाग्यमानी ठान्यो । अझ गोरखपुरमा त रेलका ताँती नै । बाफरे ! कत्रा हुन् रेल पनि ! बिरेका आँखा तानिएका तानियै भए ।

गोरपुरमा साँझ चढेको रेलले मुजफ्फरपुर हुँदै अर्को दिन विहान सुगौली पुर्‍यायो । त्यहाँबाट अर्को छोटी लाइनको रेल चढेर रक्सौल र त्यहाँबाट टाँगा चडेर साँझ वीरगञ्ज बास भयो ।

वीरगञ्जबाट एउटा बस दैनिक काठमाडौँ जाने गर्थ्यो । तर यो बस भने बुटवलको जस्तो थोत्रो नभएर नयाँ थियो । त्यो बस हेटौँडा, भैँसे हुँदै उकालो लाग्यो । बिरेलाई हरेक घटना नयाँ लागेका थिए । यस्तो भीरमा पनि बस गुडेको देखेर उसलाई अर्को आश्चर्य भएको थियो । सिंमभञ्ज्याङसम्म उक्लेर पालुङ्टार हुँदै नौबीसे खोलामा झरेको बस फेरि उकालो लागेर थानकोट आउँदासम्म झमक्क साँझ भएको थियो । काठमाडौँमा बिजुली बलेर झलमल्ल भएको देखियो ।

“ल बिरु, हामी आइपुग्यौँ । यही हो काठमाडौँ । झिलिमिली देखिस् ?”

“देखेँ साप्, कति रमाइलो हो कि साप् ?”

“साप् होइन, साहब भन्ने गर्नु है ।”

“हुन्छ, अब साहेब भन्छु ।”

बिरेले काठमाडौँ खाल्टोलाई बिस्फारित आँखाले चारैतिर हेर्‍यो । अनि मनमनै भन्यो-

“बाफरे ! काठमाडौँ कति ठूलो ! कति मान्छे बस्दा होलान् यहाँ ? मोटर पनि कति होलान् ?”

एउटा दुर्गम गाउँको मान्छे एकाएक काठमाडौँ आउँदा उसलाई कस्तो कस्तो लाग्यो । पाल्पाको दुर्गम गाउँ ढुकुरखोलामा बसेको बिरे तानसेनको बजार देख्दा त उसलाई त्यहाँको चहल–पहल र सुन्दरताले लठ्याइसकेको थियो । अझ काठमाडौँको झिलिमिलि देख्दा त स्वर्गमा पुगेजस्तै लाग्यो उसलाई । काठमाडौँ आएको अर्को दिन विष्टले भने –

“बिरु, यो के महिना हो थाहा छ तँलाई ?”

“यो माघ महिना होइन र साहेब ?”

“हो तँलाई थाहा रहेछ । स्कुल भर्ना हुने कहिले हो ? त्यो थाहा छ छैन नि ?”

“खै साहेब, त्यो भने थाहा छैन । यही फागुनतिर हो कि ?”

“भर्ना हुने त त्यस्तै होला तर खास पढाइ हुन भने चैत लाग्न खोज्छ होला !”

“त्यसो भए चैतबाट पढ्न पाइन्छ ।”

“तँलाई पढ्न खुब मन लागेको छ ?”

“हो नि साहेब, त्यसै भएर त काठमाडौँ आएको ।”

“तैँले पढेको छस् छैनस्, कति पढेको छस् ?”

“म स्कुलमा गएकै छैन । गोरे र भुण्टेसित क, ख र ए। वि। सि। डि। मात्र सिकेको छु ।”

“त्यसो भए स्कुलमा नजाँदासम्म घरमा पढेर तयारी गर्नुपर्छ ।”

“हुन्छ साहेब, मैले आजैदेखि पढ्न सुरु गर्छु ।”

विष्टले वीरेलाई “वीरे” भनेर होच्याएनन् । उनले “बिरु” भनेर सम्बोधन गरेपछि सबैले उसलाई “बिरु” भन्न थालेका थिए । त्यसै हुनाले “वीरेले” काठमाडौँ आएपछि “बिरु” मा चोला फेर्‍यो ।

काठमाडौँ आएको तेस्रो दिनमै विष्टजीका छोराले स्कुलमा पढाउने किताब किनेर ल्याइदिए ।

बिरुले स्कुलमा पढ्न नपाए पनि गोरे, भुण्टेहरूको संगतले गर्दा नेपाली र अंग्रेजीका सामा अक्षर र अङ्कहरूसम्म चिनेको थियो । उमेर पनि बढी भइसकेको, पढ्न रूचि लिएको र उत्साही केटो देखेर हेड मिसले उसलाई दुई कक्षामा भर्ना लिइन् । बिरुको लागि जिन्दगीमा आजजस्तो खुसीको दिन कहिल्यै आएको थिएन ।

सहसचिव विष्टले जसरी बिरुको सपना पूरा गर्न जग हालिदिएका थिए त्यसै गरी उसले पनि विष्टको सेवा गर्नमा कुनै कसूर बाँकी राखेन । ऊ विहान चारै बजे उठी उनीहरू उठ्नुभन्दा पहिले नै घरको सबै काम सकेर पढ्न लागेको हुन्थ्यो । विष्टजीका घरमा जम्मा चार जना थिए । उनी स्वयम्, उनकी श्रीमती शारदा, छोरा उमेश र छोरी रिता । विरुको मिहनत र लगन देखेर सानोतिनो कामको लागि विष्टका कुनै पनि सदस्यले पढ्न लागेको देखे भने उसलाई उठाउँदैनथे बरु आफ्नै काम गर्थे । यो कुरा बिरुले राम्रै बुझेको थियो । त्यसैले  सकभर उनीहरूले काम गर्न नपर्ने गरी काम सकेको हुन्थ्यो । यसले गर्दा ऊ त्यस घरको अभिन्न सदस्य भयो ।

बिरु पढ्न लागेदेखि फेल भएन, बरू कक्षामा पहिला दोस्रा हुन्थ्यो र एस एल सीमा पनि राम्रै अङ्क ल्याएर पास गर्‍यो उसले । पास भएकोमा उसलाई खुसी लाग्नु त स्वाभाविकै हो । त्यसबाट विष्टजीका सबै सदस्यहरू पनि खुसी भए । यस कुराले त्यस घरका सदस्यप्रति बिरु यति आभारी भयो कि त्यो वर्णनातीत छ ।

भाग ४

बिरुले एस। एल। सी। पास गर्दासम्म विष्टजी पनि बढुवा भएर सचिव भइसकेका थिए र उनका छोरा–छोरीले पनि पढाइ सकेर योग्यता अनुसारको काम समालिसकेका थिए । समाजमा उनको बोली सजिलै बिक्ने भएको थियो । त्यसै हुनाले एउटा बैँकको कार्यालय सहयोगीमा बिरुलाई लगाइदिए । बिरुले पनि नुनको गुन कहिल्यै बिर्सेन । विष्टजीको घरको कामलाई उसले झन् लगशील भएर हेर्न–गर्न थाल्यो भने बैँकको काम पनि इमानदारी पूर्वक पूरा गर्दै आफ्नो पढाइ पनि चालु राख्यो ।

इमानदारी र लगनशीलता नै प्रगतिको बाटो हो भन्ने कुरा बिरुले बुझेको थियो । विष्टको घरबाट सिकेको सबैभन्दा ठूलो उपलब्धि यही थियो बिरुको । बेइमान, कामचोर र आलसी व्यक्तिले कहिल्यै प्रगति गर्न सक्दैन । बिरुमा यी कुराको एकदमै अभाव थियो । त्यसैले जहाँ गए पनि जे काम गरे पनि उसले सबैलाई आत्मीय बनाउन सफल भयो र उसको प्रगतिको मूल कारण पनि यही रह्यो ।

बिरुले सुत्नको लागि केवल रातको १२ बजेदेखि ४ बजेसम्मको चार घण्टा छुट्यायो । विहान दुई घण्टा साँझ तीन घण्टा पढ्नको लागि र कार्यालय समय बाहेकको समय घरको कामको लागि भनेर समय तालिका मिलाएर काम ग्यो । यसरी काम गर्दा न त पढाइलाई बाधा क्प्यो न त कार्यालय वा घरको काममा । दुई वर्षमा आइ। कम। पास भयो भने तेस्रो वर्षमा त कार्यालय सहयोगीबाट एकै पटक हेड असिष्टेण्टमा ऊ पुग्यो ।

अब भने ऊ ढुकुरखोलाको हेलाको पात्र वीरे रहेन । उसलाई वीरे र बिरुको ठाउँमा वीरबहादुर भनेर सबैले सम्बोधन गर्न थालेका थिए भने विष्टको घरमा उसलाई दयाले होइन मायाले बिरु भन्थे । प्रगति गर्न चाहनेको लागि उसको लगनशीलता र इमानदारी उदाहरणीय भएको थियो । उसले आफ्नो पढाइ एवं घर र कार्यालयको काम यथाबत् गर्दैगयो । चार वर्ष लगाएर बी। कम। पनि पास ग्यो ।

वीरबहादुर शील–स्वभाव र व्यवहारले जति राम्रो थियो रूप र जवानीले पनि त्यत्तिकै लोभलाग्दो भएको थियो । त्यसैले उसलाई आफ्नो बनाउन चाहने केटीहरूको पनि सूची लामै भएको थियो । त्यस मध्ये उसकै बैँकको कार्यालय सहयोगी पदमा काम गर्ने सरिता नकर्मी भने उसको लागि जिउ–ज्यान फालेर लागेकी थिई । वीरबहादुर पनि सरितालाई मन पार्दथ्यो र यस कुराको चर्चा गाइँगुइँ सुनिन थालेको थियो तर आफ्ना अविभावक विष्ट परिवारमा भने उसले मनको कुरा खोल्न सकेको थिएन । वीरबहादुर विष्टपरिवारबाट ज्यादै अनुगृहीत भएकोले अहिले पनि उसले आपूम्लाई विष्टपरिवारको नोकरकै रूपमा हेथ्र्यो । त्यसैले आपूम्ले कुनै केटीलाई माया गर्ने र उसित बिहे गर्छु भनेर कुरा राख्नसक्ने हिम्मत जुटाउन सकेको थिएन, तर उसमा पहिलेको भन्दा केही परिवर्तन भने देखिएका थिए । ऊ यदाकदा कहिले टोलाउने र कहिले एकान्तमा घोरिएर बस्ने गर्नथालेको थियो । उसको यस्तो व्यवहारले उसमा केही भएकोछ भन्ने अनुमान भने विष्टपरिवारले गरेको थियो । बतास चलेको नदेखिए पनि पात हल्लेको भने देखिन्छ । वीरबहादुरका हितैषी साथीहरू धेरै थिए, उनीहरू मार्पम्त केहि दिनपछि विष्टजीका कानमा त्यो कुरा पुग्यो पनि ।

यता सचिव विष्ट, जागिरबाट मात्र होइन छोरा–छोरीको बिहेबारी समेत सकेर रिटायर्ड जीवन बिताइरहेका थिए । अब उनले गर्नुपर्ने बाँकी काम भनेको वीरबहादुरको घरजम बसाउनु थियो । ऊ विष्टको आफ्नै छोरो वा धर्मपुत्र नभए पनि उसलाई उनले कर्मपुत्रको रूपमा स्वीकार गरेका थिए । बिरुले पनि विष्टलाई बुबा र उनकी श्रीमतीलाई आमा तथा छोरा छोरीलाई दादा, दिदी एवं उमेशकी श्रीमतीलाई भाउजू भन्थ्यो र त्यस्तै सम्मान पनि गथ्र्यो । त्यसैले विष्टजीले बिरुको घरजम बसाइदिनु आफ्नो कर्तव्य संझेका थिए । सरितासित उसले प्रेम गर्छ भन्ने सुनेर उनी खुसी भएका थिए । सरिताले पनि उनकै सिफारिसमा त्यस बैँकमा कार्यालय सहयोगीको रूपमा काम पाएकी हुनाले उनले शरितालाई चिनेका पनि थिए ।

सरिताको बाबु जगतबहादुरले डकर्मी काम गथ्र्यो भने अरूले लगनखेलमा तर्कारी खेती गर्थे । विष्टको घर बनाउने बेलामा जगतले धेरै दिन काम गरेकोले उसको परिवार विष्टपरिवारसित राम्रै घुलमिल भएको थियो । त्यही नाताले विष्टले सरितालाई जागिर खान मद्दत गरेका थिए र अहिले पनि विष्टजीको घरमा कुनै काम गर्नुपरेमा जगतले नै गर्नेगरेको छ ।
एक दिन विहानै विष्टजी जगतको घरमा पुगे । अचानक विष्टलाई आफ्नो घरमा देखेर आश्चर्य भएर जगतले भन्यो ः
“होइन, आज हजूर अचानक कसरी मेरो झुपडीमा ?”
“म त तपाइँको घरमा केही माग्न आएको ।”

“मेरो घरमा भएको कुरा माग्नलाई हजूरले दुःख पाउनुपथ्र्यो र ? कसैबाट खबर पाएको भए त मै लिएर हाजिर हुने थिएँ नि ।”
“तपाइँले लिएर आउन सक्नुहुन्न कि भनेर म आपैम् आएको ।”
“हजूरले लैजान सक्ने मैले पु्याउन नसक्ने त्यस्तो कुरा के भयो ?”
“छ, त्यही भएर त म आएको नि ।”

“आज्ञा होस् न त त्यस्तो कुरा के रहेछ ? म टक््रयाइहाल्छु ।”
“पक्का दिने भए भन्छु, नत्र भन्दिन । म यसै फर्केर जान्छु ।”
“म नै हजूरको भएपछि मसित भएको कुरा हजूरलाई नदिने कुरै भएन ।”
“त्यसो भए भनौँ त ?”

“यस्तो खुल्दुली नगराएर चाँडो आज्ञा होस्न ।”
“म सरिताको बिहेको कुरा गर्न आएको । दिनुहुन्छ त ?”
“सरितालाई मैले त जन्ममात्र दिएको हो । त्यसको राम्रो नराम्रोको हेरचाह त हजूरबाटै भएको छ । हजूरले उसको नराम्रो हुने गरी कुनै ठाउँमा दिनुहुन्न म ढुक्क छु । त्यस्तो मान्छे को रहेछ ? जान्नेसम्म इच्छा भयो मलाई । मैले हुन्न भन्दिन ।”
“मैले त केटोलाई राम्रै देखेको छु । वि।कम। पास गरेको छ, बैकमा सुब्बा सरहको जागिर खाँदैछ । सरितालाई सजिलै पाल्छ भन्ने ठानेको छु ।”
“होइन, यस्तो मान्छे त यहाँ वरिपरि कोही छैन । को होला खै ! हजूरले बिरुको कुरा गर्नुभएको त होइन ?”
“हो, ठीक अनुमान गर्नुभयो । त्यो केटा बिरु नै हो । के बिरुलाई ज्वाइँ बनाउन सक्नुहुन्छ ?”

“बिरुलाई छोरी दिन नमिल्ने त कुनै कारण छैन । खाली हाम्रो समाजले जात नमिलेकालाई छोरी दियो, भन्छ कि भन्ने मात्र हो ।”
“अब तपाइँ हामीले त्यो सोच्ने होइन । खाली केटाकेटीको मन मिल्छ मिल्दैन, भन्ने हेर्ने हो । उनीहरूको मन मिल्छ भने जात भनेको त त्यसै मिल्छ ।”
“त्यसो भए एक पटक सरितालाई सोधिहालौँ हैत ?”

विष्टजीले मनमन भनेः ’यो सोझो नेवारलाई आफ्नी छोरीको बारेमा केही थाहा रहेन छ ।’ अनि उसलाई भनेः
“हुन्छ सरितालाई त सोध्नै पर्छ नि, केटाकेटीले मन नपराइकन त कहाँ बिहे गरिदिन हुन्छ र ?”
जगतले सरितालाई “छोरी सरिता ! यहाँ बाहिर आउ त” भनेर बोलायो । सरिता बाहिर आएर विष्टलाई नमस्ते गरी । जगतले सोध्योः
“छोरी ! सचिवज्यू त तिम्रो बिहे गर्नुप्यो भनेर आउनुभएको रहेछ । तिम्रो के विचार छ ?”
“अहिले के हतार छ र ?”

“छोरी ! पढ्यौ लेख्यौ जागिर खायौ, आफ्नो खुट्टामा अडिन सक्ने भयौ । अब तिम्रो बिहे गरेर ठेगान लगाइदिन पाए मेरो मन ढुक्क हुने थियो । छोरी ! अब तिमीले बिहे गर्नुपर्छ । सचिबज्यूले ल्याएको घर राम्रै छ ।”
“हजुरको त्यस्तो विचार छ भने मैले नाइँनास्ति गर्नमिल्दैन । तर केटा को हो कुन्नी ? कहाँको हो ? हजुरलाई छोडेर म टाडा जान सक्दिन ।”
“तिमीले देखेजानेको र मन पराएको केटा हो बिरु ।” विष्टले भने ।
“हजूरहरूले भनेको कुरामा मैले किन नाइँ भन्छु र ?”
“होइन, सचिवज्यू मन पराएको केटा भनेको त मैले बुझिन ।”
“तपाइँकी छोरी र बिरुको हिमचिम छ । यिनीहरू एकआपसमा माया गर्छन् । त्यसै भएर त म यहाँ आएको सम्धीज्यू ।”
“मलाई त यो कुरा थाहै थिएन ।”

आजकालका केटाकेटीको माया–प्रीति दिन बार साइत हेरेर हुन्छ र ? रहँदा बस्दा मन मिल्छ कुरा मिल्छन् र माया–प्रिती बसिहाल्छ । हाम्रा उमेरकालाई यो कुरा थाहा हुँदैन ।
“ल जे भयो राम्रै भयो । अब सम्धी सम्धी हुने भइयो ।”
“केको सम्धी ? म त हजूरको डकर्मी नि !”
“अब पनि केको डकर्मी नि ? अब त सम्धी भन्न परिहाल्यो ।”
“सम्धी भने पनि म हजूरको काम गर्न छोड्दिन क्यारे ।”
“काम गरे पनि नाता सम्धी हुने भइहाल्यो ।”
“नाता त हुने भयो ।”

जगत उनलाई अलिपरसम्म कुरागर्दै पु्याउन गए । विदा हुने बेलामा जगतलाईः
“तपाइँ केही चिन्ता नलिनुस् । बिहेको साइत हेरेर मैले तपाइँलाई खबर गर्छु ।” भनेर विष्टजी हिँडे ।

भाग ५

आज सरिताको मन चङ्गा भएको छ । उसको दिलले चाहेको मायालुलाई आफूले कसैलाई भन्नै नपरी सचिव र बाबाले जुटाइदिने भएपछि यो भन्दा राम्रो कुरा के हुन सक्थ्यो र ? सधै एउटै कार्यालयमा काम गर्ने हुनाले बिरु र सरितालाई भेट गर्न मुस्किल थिएन । सधैजसो भेट भइरहन्थ्यो र मौका पर्दा कुरा–कानी पनि हुन्थ्यो । तर कार्यालय सम्बन्धी धेरै र मायाँ–प्रीतिका कम । उनीहरू दुवैले एक अर्कालाई मन पार्छन् भन्ने कुरा कार्यालयका धेरै कर्मचारीलाई भित्री रूपमा थाहा पनि थियो । तर प्रकट रूपमा एकअर्कालाई यिनीहरू आफैंले विवाहबन्धनमा नै बाँधिने भनेर खुलेर भन्न सकेका थिएनन् ।

बिरु र सरिताको भेट र सामान्य बोलचाल त यिनीहरूले बैँकमा काम गर्नु अघि नै भएको थियो । विष्टकहाँ जगत काम गर्दा कहिले उसका सामान ल्याइदिने, कहिले बोलाउन आउने, र कहिले के कहिले के गर्ने भनेर सरिता त्यहाँ आउँती भने बिरु पनि जगतलाई बोलाउन तथा अन्य केही काम पर्दा सरिताको घरमा धेरै पटक पुगेको थियो । त्यसै बेलादेखि यिनीहरूले एकअर्कालाई मन पार्न थालेका थिए । अझ एउटै कार्यालयमा काम गर्न थालेपछि त झन् दैवले नै मिलन गराएजस्तो भयो । कुनै दिन कोही कार्यालय आएन वा कुनै कारणले भेट भएन भने उनीहरूका मनमा बादल लाएजस्तो हुन्थ्यो । अर्को दिन भेट हुनासाथ ‘के भयो कसो भयो ?’ भनेर एक अर्काले स्पष्टीकरण दिनुपर्थ्यो । यसरी एकले अर्कालाई चाहेर पनि विवाह नै गरौँ भनेर खुलेर कुरा भने भएको थिएन । आजको कुरा सुनेर सरिताको मन यति हलुङ्गो भएको थियो कि गोडाले भूइँमा पनि टेकेका छैनन् कि जस्तो लाग्थ्यो उसलाई ।

यता सरिताको मनस्थिति यस्तो भएको थियो भने उता बिरुलाई थाहै थिएन । विष्टजी घर फर्कँदा बिरु अफिस गैसकेको थियो । त्यसैले विष्ट र जगतका बीचमा भएको कुरा उसलाई थाहै भएन । सदा झैं यथास्थितिमा ऊ अफिस गयो । सरिता अघिपछि भन्दा केही पहिले नै अफिस पुगेकी थिई । बिरुले हाजिर गरेर ढोका बाहिर आउनै लागेको बेलामा जिसक्याउँदै “मेरो त बिहे हुने भयो, तपाइँले नगर्ने ?” भनेर हाँस्दै फुत्त तल काउण्टर भित्र पसी । कोसित हुने, कहाँ हुने, कहिले हुने ? केही भनिन । बिरु माथि पुगेर आफ्नो कुर्सीमा बस्यो । तर उसलाई रिङ्गटा लाग्लाजस्तो भयो । अनि आँखा चिम्लेर टेविलमा टाउको राखेर बस्यो । संगै बस्ने हरिविनोदले सोध्योः
“तपाइँ त सदैको फुर्तिलो मान्छे हो आज के भयो तपाइँलाई ?”
बिरुले टाउकै नउठाएरै भन्योः

“हरिजी ! आज के भयो के टाउको दुखेर आँखाले हेर्नै भएको छैन ।”
झुठो बोल्यो बिरुले । एकछिन पछि केहि सम्हालियो । तर उसमा काम गर्ने खास जाँगर आएन । टेविलमा भएका कामहरू जसतसो सक्यो । अरू काममा हात बढाएन । निन्याउरो मुख लिएर साँझ घर पुग्यो । ऊ घर पुग्दा विष्ट बाहिर गएका थिए । एकछिन् पछि उनी आए । बाहिरबाट आउनासाथ चिया खाने उनको बानी थियो । बिरुले चिया ल्याएर उनको अगाडि राख्यो । फर्किन लागेको बेलामा हातको ईशाराले रोकेर विष्टले भने :

“अब तँ ठूलो भइस् । बि। कम। पनि पूरा भयो । मौका परे अब अफिसर हुन पनि सक्छस् । तेरो बिहे गरिदिउँ भनेर सोचिरहेको थिएँ । तैंले सरितालाई माया गर्छस् भन्ने थाहा पाएर आज जगतसित गएर बिहेको कुरा मिलाएर आएँ । तँलाई बिहानै भनुला भनेको थिएँ । तँ गइसकेको रहिछस् । भेट भएन । कस्तो लाग्यो त ? मैले गरेको निर्णय ठीक छ कि छैन ?”
“हजूरले गरेको काम कहिले वेठीक भएको छ र ? हजूरको इच्छा पूरा गर्ने मेरो कर्तव्य मात्र हो ।” यति भनेर ऊ बाहिर गयो ।

दिनभर टोलाएजस्तो भएको बिरुको शरीर एकाएक चङ्गा भयो । वर्षौँदेखिको चाहना यति सजिलै पूरा हुन लागेकोमा उसलाई खुसी रोक्न मुस्किल परेकोले ऊ आफ्नो कोठामा पुग्यो । सरिताले स्पष्ट नबताएकोमा उसलाई पनि भोली बदला लिने भनेर योजना बनायो । आफ्नो मनस्थिति र मुड ठीक भएपछि बल्ल ऊ भान्सामा गयो ।

बिरुले बैँकमा जागिर खान लागेको सात वर्ष भइसक्यो । यस बीचमा बि।कम पनि पास गरिसक्यो तर घरको कामबाट ऊ कहिल्यै अलग भएको छैन । मामु, अर्थात् श्रीमती विष्ट, दिदी वा भाउजू कसैलाई पनि उसले काम गर्न पारेको छैन । पहिले काठमाडौँ आएर समालेका काम आजम्म पनि छोडेको छैन । न त कुनै दिन मान्यजनहरू प्रति गर्नुपर्ने व्यवहारबाट अनुशासनहीनता देखाएको छ । यही कारणले गर्दा विष्टपरिबारबाट सधै माया–ममता र आदर सम्मान पाएको हो उसले । काम गर्न राखेको मान्छे भन्ने भावना यस पबिारले कहिले पनि राखेन र बिरुले पनि आपूम्लाई त्यसै परिबारको एक सदस्य संझेको थियो । सबैभन्दा सानो भएकोले ठूला व्यक्तिप्रति सानाले आदर सम्मान राखेर उनीहरूको सेवा गर्नुपर्छ भन्ने भावनाले काम गर्ने गरेको छ उसले । त्यसैले खाना बनाउने लगायतका काम गर्न अरूलाई दिँदैन । कामचोर र वेइमान मान्छेले कहीँ सम्मान पनि पाउँदैनन् र त्यस्ता व्यक्तिले प्रगति गर्न पनि सक्दैनन् । यही गुणले गर्दा ऊ विष्टपरिबारको अभिन्न सदस्य भएको हो ।

आज बिरुलाई कति बेला अफिस पुगौँ, भन्ने भएको छ । उसले छिटो छिटो खाना बनायो । बाबा मामुको सधै अबेला खाना खाने बानी थियो । दिदी बिहेपछि भिनाजुका साथ बिदेशतिर गइसकेकी थिइन् । भाउजू माइत गएकीले दादालाई खाना खुवाएर आफूले खायो र साइकिल टिपेर अफिसतिर लाग्यो । अफिस पुग्दा सरिताले हाजिर गर्न रजिष्टर पल्टाउँदै थिई अरू कोही आएका थिएनन् । बिरुले सरितालाई रल्याउने हिसाबले भन्यो :
“सरिता तिमीले बिहे गर्ने भइछौ बधाइ छ । तिमीले बिहे गर्ने निधो गरेको सुन्दा मलाई पनि बिहे गर्न मन लाग्यो । अब त मैले पनि गर्ने भएँ ।”
“त्यस्तो भाग्यमानी केटी को रहिछ त ? हाम्ले पनि सुनौ न”

“मेरो नगिचै डेरामा बस्ने धेरै पहिलेदेखि चिनेजानेकी हो । उसको घर पहाडतिर हो । यहाँ बसेर पढ्ने मात्र हो । हामीले धेरै पहिलेदेखि एक अर्कालाई मन पराउँथ्यौँ ।”
“घरका मान्छेलाई पनि थाहा थियो ? तपाइँहरूको लभ छ भन्ने ?”
“अरूलाई थिएन ममीलाई थियो ।”
“ममीले पहिले बिहे गर्न भन्नुभएको थिएन ?”
“धेरै पटक भन्नुभएको थियो तर मैले टारिरहेको थिएँ । किन किन तिमीले बिहे गर्ने भनेको सुनेपछि भने मलाई पनि मन लाग्यो । अनि हिँजो अफिसबाट फर्केर गएपछि ममीलाई लिएर उसको दाजुकहाँ गयौँ र निधो गरेर आयौँ ।”
“केटीतिरकालाई पनि थाहा थियो तपाइँहरूको प्रेम छ भन्ने बारेमा ?”

“केटीको दाजुलाई थाहा थियो । यहाँ दाजु बहिनी मात्र बस्छन् । उसका बाबु आमा छैनन्, दाजुसितै कुरा छिनिएको हो ।”
यी बनावटी कुरा भए पनि बिरुले यस्तो भावभङ्गी बनाएको थियो कि सुन्ने जो सुकैले पनि पत्याउनैपर्ने थियो । बिचरी सरिताले झन् नपत्याउनै कुरै भएन । त्यसै बेला अरू कर्मचारी पनि हाजिर गर्न कोठामा पसे । बिरु लुसुक्क कलम खेलाउँदै बाहिर निस्क्यो । सरिता पनि काउण्टरतिर लागि तर उसको मुडअफ भयो दिनभर राम्रोसंग काम गर्न सकिन । एउटा काम गर्न भन्यो भने अर्को काम गर्छे । एउटालाई दिनुपर्ने चिया अर्काको अगाडि लगेर राख्छे । कसै कसैले उसलाई भने पनि “आज मैयाँको सातो गएजस्तो छ । धामी बोलाएर सातो फर्काउनुपप्यो ।” भनेर गिल्ला पनि गरे । उसले रुन्चे हाँसो हाँसेर गल्ती सच्याउने गरेर दिन बिताई । उसलाई कति बेला घर पुगेर आमासित दुख पोखुँजस्तो भइरह्यो । सरिताले पूरा दिन बिताउन पनि सकिन । “आज मलाई ज्यादै टाउको दुख्यो” भनेर आधा घण्टा बाँकी छँदै हाकिमसित बिदा लिएर घर गई । घर पुग्दा आमा पिडीमा बसिरहेकी थिइन् उनको काखमा टाउको राखेर क्वाँ क्वाँ त रोई । यो देखेर आमा अलमल्ल परिन् भने तरकारी छिमलीरहेको बाबु पनि आश्चर्यमा परेर “के भयो यसलाई” भन्दै नजिक आए ।
“विहान सद्दे अफिस गएकी मान्छे के भयो तँलाई ?” बाबु र आमा दुवैले एकै पटक सोधे ।

“बिरुले अर्कै केटीसँग बिहे गर्न लाग्यो रे ।” उसले सुक्सुकाउँदै भनी ।
“के भन्छे नाइँ यसले ? हिजोमात्र सचिवज्यू आफैं आएर तँलाई मागेर जानुभएको छ । आज के भयो ?”
“बिरुले आपैम् भनेको । उसको घर नजिकै बस्ने केटीसित उसको लभ थियो रे उसैसित बिहे हुने भयो रे ।”
जगतलाई विश्वास लागेन । उनले इष्टकोटको खोल्तीबाट मोबाइल झिकेर विष्टलाई फोन लगाएर भने :
“सचिवज्यू, बिरुको त अर्कै केटीसित बिहे गरिदिन लाग्नुभयो रे !”
“कसले भन्यो तपाइँलाई ?”

“मेरो अर्कै केटीसित प्रेम थियो । उसैसित बिहे गर्ने भएँ, भनेर बिरुले सरितालाई भनेको रे । त्यसै भएर यहाँ सरिता रोएर बसेको छ ।”
“होइन होला, सरितासित बिहे हुने कुरा सुनेर ऊ कति खुसी भएको थियो । के भएको रहेछ, ऊ आएपछि मैले सोध्छु ।”
त्यसै बेला बिरु पनि अफिसबाट आएर भित्र पस्न लागेको थियो । विष्टले टिपी हाले ।
“क्या हो ? सरितासित अर्कै केटीसित बिहे गर्ने भएँ भनेको हो ? ऊ रोइरहेकी छ रे !”
“हिजो उसले ‘मैले त बिहे गर्ने भएँ, तिमीले गर्दैनौ ?’ भनेर मेरो मुडअफ गराइदिई क्यारे, मैले आज त्यही बदला लिएको ।” भनेर हाँस्दै भित्र पस्यो । विष्टले फोन लिएर हाँस्दै जगतलाई फोन गरे :

“ओ सम्धीज्यू, के छ छोरीको हालखवर ? छोरीले पनि त अन्तै बिहे गर्न आँटेकी रहिछन् नि त । बिरुको मात्रै दोष देख्ने ? हिजो तपाइँकी छोरीले बिरुलाई के भनेकी थिइन् सोध्नुस् त”

“ए ! सरिता तैँले हिजो बिरुलाई के भनेकी थिइस् ?”
“मैले के भनेर ? ख्यालठट्टा गरेर मैले बिहे गर्न लागेँ, तिमीले गर्दैनौ ? मात्र भनेको हो ।”
“ए ! कुरो यस्तो पो रहेछ । कोसित बिहे गर्ने भनेको तैँले ? मैले त गर्न लागेँ तिमीले गर्दैनौँ ?, भनेको के नि ? तैँले नै उसलाई विच्काएकी रहिछस् ।” जगतले विष्टलाई फोनमा भने :

“सचिवज्यू यो अल्लारे केटीले हिजो ख्याल ठट्टा गरेर मैले त बिहे गर्न लाएँ भनिछ । त्यसै भएर बिरु बाबु विच्केको होला । लौ अब के गर्ने सचिवज्यू ? हजूरले नै मिलाउनु पप्यो । नत्र म त बर्बाद भएँ ।”
“उसले पनि ठट्टा गरेको रहेछ भने म मिलाउने कोसिस गर्छु । भोली अफिसमा भेट्नु, भनेर सरितालाई भनिदिनु ।” भनेर फोन राखे विष्टले । अनि बिरुलाई बोलाएर भने :

“सरिता रोएर बिहाल छ रे ! फोन गरेर संझाइदे ।”
“भोली अफिसमै भेटिहाल्छु नि ।” भनेर ऊ भित्र पस्यो ।
अर्को दिन सरिता कोही नआउँदै पहिले गएर हाजिर गर्न लागेकी थिई । बिरु पनि लुसुक्क हाजिर गर्ने कोठामा पुगेर पछाडिबाट सरिताका आँखा छोप्यो । सरिताले छामेर थाहापाइहाली र भनी :
“कस्तो निष्ठुरी, मान्छेलाई यस्तरी रुवाएर, मायाँ पनि नलाग्ने ।”
“आफूलाई कसले भनोस् नि ! दिनभर मान्छेलाई भोक न प्यास पारेको कसले नि !”
“मैले त ठट्टा गरेको मात्रै हो ।”
“आफूले ठट्टा गर्न हुने मैले गर्न नहुने ?” त्यसै बेला अरू कर्मचारी आए, उनीहरू आ–अफ्ना कोठातिर लागे ।

भाग ६

अफिस समय पछि बिरु घर आयो । बाबालाई चिया लिएर बैठकमा पस्यो । उसलाई बस्ने संकेत गरेर भनेः

“ल, विवाह त हुने भयो तर कुन तरिकाले कसरी गर्ने र कहिले गर्ने, यी सबै कुराको टुङ्गो लाउनुप्यो नि ।”

“बाबा, बिहे गर्दा धरे तडक–भडक मलाई राम्रो लाग्दैन । दुई–चार जना साथि–भाइ, इष्ट–मित्रलाई बोलाउने । खाने बस्ने भन्ने कुरा आफ्नो औकात अनुसार जहिले गरे पनि हुन्छ । आफ्नो हैसियत भन्दा बढी गर्नु राम्रो हुन्न कि जस्तो लाग्छ ।”

“ठीक भनिस् बाबु तैँले । म पनि फजुलखर्ची हुन चाहन्नथेँ । दादा दिदीको विवाहमा घरपरिवार, इष्ट–मित्रको दवाबमा गर्नुपरेको थियो । अब म उम्केको छु । तेरो मामु र उता जगतको के सोचाइ छ । बुझेर सक्भर छोटकरीमा गर्ने हो ।”

“मामुलाई हजूरले भनेपछि मान्नुहुन्छ । उतातिर पनि मैले सरिता मार्पम्त त्यसै गर्न दवाब दिन्छु ।”

“ठीक छ, तैँले भने अनुसार गर्ने । अब कहिले गर्ने ? त्यो मिलाउनुप्यो ।”

“हुन्छ बाबा, म त कुनै मन्दिरमा गएर माला साट्ने, अझ बढी गर्नुपरे एउटा एउटा औंठी साट्ने काममात्र गर्ने पक्षमा छु । सरितालाई पनि मैले मनाउँछु ।”

यति भनेर बिरु तल भान्सामा गयो, विष्ट चिया खान लागे ।

अर्को दिन बिरु खाना खाएर अफिस गयो, अफिस पुग्दा अरू कोही आएका थिएनन् । सरिता हाजिर गरेर बाहिर बरण्डामा उँभिएकी थिई ।

“सरिता, आज तिमीसित केही कुरा गर्नुछ । साँझ सङ्गै निक्लौँला है ।” भनेर बिरु हाजिर गरेपछि आफ्नो कोठामा गयो । बिरुले फेरि के कुरा गर्न लाग्यो भनेर सरिता दिनभर तर्कना गरेर बसी । अफिस छुट्दा सबैजसो कर्मचारी गइसकेका थिए । नगएका जाने तर्खरमा थिए । बिरुले जानिबुझी केही ढिलै गरेको थियो । ऊ निस्कँदा सरिता गेटनिर उँभिएकी थिई । गेटनिर पुगेर बिरुले सरितालाई “आउ” भनेर अँघि लाग्यो सरिता पछि पछि लागी । केही पर पुगेपछि बिरु रेष्टुरेण्टमा पस्यो । ऊ पनि पसी । भित्र गएर कुनाको टेविलमा बसे ।

“के खाने ?”

“जे खाने हो तपाइँ नै मगाउने । म त तपाइँको इच्छामा चल्नुप्यो नि ।”

“ए ! यस्तो भन्न पनि सिकिसक्नुभयो तपाइँले ।”

“परिस्थितिले सिकायो ।”

“साँच्ची ! मैले तिमीलाई एउटा कुरा भन्नै बाँकी छ । तिमीले त विवाह भइसके जस्तै कुरा गर्न लाग्यौ ।”

“अब पनि रुवाउन बाँकी छ र ?”

“होइन, रुवाउन खोजेको होइन, बास्तविक कुरा भन्न खोजेको ।”

“इच्छा भए जे भने पनि सुन्न तयार छु ।”

“सरिता, म एउटा दुर्गम पहाडी गाउँको मान्छे । तिमी शहरमा हुर्के बढेकी चेली । हाम्रो सङ्गमले तिमीलाई दुःख त हुन्न ?”

“यो कुरा पहिले नै सोच्नुपथ्र्यो । मैले सोच्नुपर्ने आवश्यकता पहिले पनि देखिन । अब त झन् सोच्ने कुरै भएन ।”

“के तिमी त्यो दुर्गम पहाडमा गएर बस्न सक्छ्यौ ?”

“त्यो पहाड भनेको नेपालभित्र पर्दैन ?”

“नेपाल त नेपालै हो । पाल्पाको दुर्गम पहाड । जहाँ सबै ठाउँ मोटर पुगेको छैन, झण्डै दुई दिनको पैदल हिडाइपछि मात्र पुग्न सकिन्छ ।”

“आखिर नेपालै हो भने एउटा नेपाली नेपालको जुनसुकै कुनामा पनि त बस्न सक्छ । त्यहाँ पनि त मान्छे बसेकै होलान् । हामी मात्र बस्ने त पक्कै होइन । हो, म एक्लै बस्नुपर्ने भए केही सोच्नुपर्ने हुन्थ्यो । तर तपाइँसित बस्न पाएपछि नेपालको कुनै कुनामा पनि बस्न म तयार छु ।”

“सरिता, तिमीभित्र यति विशाल हृदय छ र मप्रति यति विश्वास राख्छ्यौ भन्ने थाहा पाएर मैले आफूलाई भाग्यमानी संझेँ ।”

“तपाइँले भन्दा मैले आफूलाई बढी भाग्यमानी संझेकी छु । अफिसरको लाइनमा बसेको सिनियर असिष्टेण्टले आफ्नै अफिसकी पियनलाई अँगाल्न लाग्नुभएको छ । म कति भाग्यमानी हुँ त ?”

“सरिता, प्रेमलाई दर्जासित नदाँज ।”

“म पनि यही संझेर अगाडि बढेकी हुँ ।”

“अँ, मेरो कुरामा तिमी सहमत हुनसक्छ्यौ भने एउटा कुरा भन्नु छ ।”

“तपाइँका जायज हरेक कुरामा सहमत हुनसक्छु, भनेर हेर्नुस् ।”

“तिमीले हाम्रो विवाह भव्यसाथ होस् भन्ने चाहन्छ्यौ कि मितव्ययी होस् र घरका सदस्यलाई कुनै पनि अप्ठारो नपरोस् भन्ने चाहन्छ्यौ ?”

“तपाइँको दोस्रो वाक्यसित सहमत छु ।”

“मैले घरमा कुनै मन्दिरमा गएर माला साटा साट गरेर विवाह सम्पन्न गर्ने प्रस्ताव राखेको छु । बाबाले स्वीकृति दिइसक्नुभएको छ । तिमीले आफ्नो परिवारलाई मनाउन सक्छ्यौ ?”

“यस्तो प्रस्ताव नमान्ने कुरै छैन । म अहिले घर गएर बासित कुरा गरेर तपाइँलाई फोन गर्छु ।”

“त्यसो भए अहिले उठौँ ।”

एक एक कप चिया र केही नास्ता खाएर उनीहरू आ–आफ्ना घरतिर लागे ।

भाग ७

सरिता घर पुग्दा उसका बा–आमाले उसैका बारेमा कुरा गरिरहेका थिए । “छोरीको बिहे गर्नु हाम्रो समाजमा सजिलो कुरो छैन ।” जगतले श्रीमतीलाई भन्दैथिए :

“हेर बूढी ! बिहे त आँटियो तर फस्र्याउने पो कसरी हो । हुन त बिरु सचिवज्यूको काम गर्ने मान्छे हुन् । तर उनी त्यस घरमा नोकरजस्ता छैनन् । एक त सचिवज्यूले उनलाई छोरा सरह नै गरेर राख्नुभएको छ । अर्को कुरा उनी आफैं त्यति ठूलो कर्मचारी भइसके । आफैंपनि कमाउन सक्छन् । उनीहरूसित काँध जोड्न आँटियो थाम्न सकिने हो होइन म त अलमल्ल परेको छु ।”

“के कुरा गरिराख्नुभएको बा–आमाले ?”
“तेरै कुरा गरिरहेको नि छोरी ! तेरो जिन्दगी बनोस् भनेर त्यत्रो ठाउँको कुरा स्वीकार गरियो । पार्लाउन सकिने हो होइन, भन्ने भएको छ ।”

“ठीक छ बा, तपाइँले बिरुलाई स्वीकार गरिदिएर आफ्नो कर्तव्य पूरा गर्नुभयो । अब चिन्ता गर्नुपर्दैन । मैले भनेको कुरामा सहमति दिनुपर्छ । मान्नुहुन्छ ?”

“भन छोरी मैले मान्नै पर्ने हुन्छ । मेरो औकातले सक्ने भए तेरा हरेक कुरा स्वीकार गर्छु ।”
“बिरुको प्रस्ताव उहाँका बाबाले स्वीकार गरिसक्नुभयो । मेरो प्रस्ताव तपाइँहरूले स्वीकार गर्नुभयो भने तपाइँहरूले कुनै टाउको दुखाउनु पनि पर्दैन । बिरुसित मैले गरेको मेरो बाचा पनि पूरा हुन्छ ।”
“पहिले भन् त छोरी के हो तेरो प्रस्ताव, त्यसपछि बल्ल हामीलाई थाहा हुन्छ ।”
“मसँग नयाँ धोती र व्लाउज छँदै छ । एउटा माला किन्ने । हामीले किनेको माला बिरुलाई लाइदिने, बिरुले ल्याएको माला मलाई लाइदिन्छन् । हाम्रो बिहे सकिन्छ । हामीहरूले यही प्रस्ताव गरेका छौँ । उता सचिवज्यूले यो प्रस्ताव स्वीकार गरिसक्नुभएको छ । अब तपाइँको पालो, के भन्नुहुन्छ ?”

“यति सजिलो बिहे होला र छोरी ! इष्ट–मित्र, दाजु–भाइ, छर्छिमेकले के भन्लान् ?”
“कसले के भन्छ ? भन्ने होइन । हामीले यस्तै सजिलो विधि अपनाउनुपर्छ ।”
“छोरी, तेरो इच्छा विरुद्ध जाने कल्पना पनि गर्दिन । तैँले जे भन्छेस् त्यही गर्छु । मैले तेरो भलाई र इच्छाको लागि इष्ट–मित्र, दाजु–भइ पनि भन्दिन ।”
“मेरो बाबा कति असल” भनेर सरिता हाँस्दै कोठामा गई र बिरुलाई सबै कुरा बताई । बिरुले सरिताले भनेको कुरा आफ्नो घरपरिवारमा सुनायो । विष्टको परिवारमा यस्तो प्रस्ताव जगतलाई मान्न मुस्किल पर्छ कि भन्ने लागेको थियो । किनकि उनीहरूको समाजमा भोजभतेर विनाको बिहे स्वीकार गर्नुभनेको ठूलै कुरा थियो । तैपनि स्वीकार गरेकोमा सबैले खुसी व्यक्त गरे ।

अनि विष्टजीले जगतलाई फोन गरेर माघ १५ गते ९ बजे महालक्ष्मी स्थानमा दुलही सहित चारपाँच जना आउने भनेर खवर दिए । तोकिएको दिनमा दुवै तर्फबाट जम्मा भए । माला साटासाट् भयो सिँदुर हाल्यो । सबैले ताली पड्काए, सरिता जगतको घरबाट विष्टको घरमा आई, बिहे सकियो ।

भाग ८

विष्ट गुल्मी जिल्ला अन्तरगत अमरभूमि गाउँको मध्यम परिबारमा जन्मेका मान्छे हुन् । उनको प्रारम्भिक अध्ययन त्यसै गाउको दलाने विद्यालयमा भएको थियो । त्यहाँ संस्कृतका दुर्गा कवच, अमरकोष तथा नीति सिलोक घोकेका भए पनि पछि अंग्रेजी पढेर जागिरतिर लागेका हुन् ।

खरिदारको जागिरबाट निजामती सेवामा प्रवेश गरेका उनले त्यस बेला एस एल सी मात्र पास गरेका थिए । जागिरमा लागेपछि नै पढ्दै जागिर खाँदै गरेर सचिवसम्म पुगेर सेवानिवृत्त भएका हुन् उनी । आई। ए। पास गरे, ना. सु. भए । बिए पास गरे शाखा अधिकृत भए । एम ए पास गरेको दुई वर्षपछि खुलाबाट उपसचिव भए । उनी कुनै पनि पदमा परीक्षा दिने र नियुक्ति हुन लाग्ने समयभन्दा बढि बसेनन् । उपसचिवबाट सहसचिवमा जान मात्र उनलाई केही समय कुर्नुपरेको थियो । सचिव पनि समयमै भएका हुन् । यो सबै हुनुमा उनको मेहनत र इमानदारीको फल हो । गाउँघरको तत्कालीन चलन अनुसार शारदासित बिहे हुँदा उनले एस। एल। सी। पनि पास गरेका थिएनन् । उनी ना. सु. भएपछि शारदाले उमेशलाई जन्म दिएकी हुन् । त्यसपछि लगत्तैजसो छोराको रेखदेखको लागि शारदाललाई पनि साथै राख्न थालेका हुन् ।

शारदा दोजिया हुँदा राम्रो हेरविचार हुन नसकेकोले उमेश जन्मँदा ज्यादै कमजोर थियो । उसलाई बँचाउन पनि उनीहरूलाई निकै लगानी र मेहनत गर्नुपरेको थियो । ना. सु.को जागिर, काठमाडौँको महँगी, डेराको बसाइ, तीन प्राणीको भरणपोषण, त्यसमाथि भर्खर जन्मेको बच्चाको विग्रँदो स्वास्थ्य, यी सबै कुरा संझँदा विष्टका आँखा अहिले पनि रसाएर आउँछन् । मान्छेले जे पनि सहँदोरहेछ । विष्टदम्पतिले कम कष्ट सहेका होइनन् त्यो छोरो हुर्काउन । उनीहरूले झण्डै दुई वर्ष त विहान एक छाक मात्र पूरा पेट खाए होलान्, त्यो पनि मोटोचामल र एउटा तर्कारीको झोलसित । उसमाथि शारदाले त आफ्नो आर्थिक अवस्था हेरेर नै एकादशी, सोमबारजस्ता दिनमा ब्रत बस्ने बहानाले उपबास बस्ने गर्थिन् । साँझमा सधैजसो चिउरा वा पाउरोटीजस्ता चिजबाट छाकटार्ने गर्थे उनीहरू । शाखा अधिकृत भएपछि बल्ल उनीहरूका दिन सप्रिँदै आएका हुन् । किन कि त्यसपछि त तलब पनि बढ्यो, घरमा विरामी पनि भएनन् । मानसिक सन्तुष्टि पनि हुँदैगयो ।

छोरी रिता यही शाखा अधिकृत भएपछि जन्मेकी थिई । त्यस बेला विष्ट तराईको जिल्लामा हाकिम भएर गएका थिए । हाकिम भएपछि बस्ने क्वाटर लगायतका धेरै सुविधा उनले पाएको हुनाले छोरीलाई हुर्काउँदा त्यति दुःख भएन । छोराछोरी पढाउने काममा उनले कहिल्यै कन्जुसी गरेनन् । त्यसै भएर सचिव हुने बेलामा बल्ल काठमाडौँमा एक टुक्रा घडेरी जोड्न सकेका थिए । यो घर त सचिवबाट रिटायर्ड भएपछि सञ्चयकोष, विदा र औषधि–उपचारको पैसा र आइ।एन।जि।ओ।मा काम गरेको पैसाले मात्र बनाएका हुन् ।

अब भने छोराछोरीको बिहेबारी सकेर आफ्नो दायित्वबाट समेत उम्केकोले बिष्टदम्पती प्रफुल्ल थिए । विष्टले श्रीमतीलाई भने :

“हेर बूढी, अब जाडो पनि सकिँदैजान्छ । हामीहरू निष्फिक्रि भएर तीर्थ घुम्ने हो ।”

“हो, कहिले जागिरको कामले, कहिले छोराछोरीको पढाइ र कहिले उनीहरूको हेरचाह गर्नुपरेकोले कतै घुम्न पाइएन । अब त कुनै बन्धन छैन मजाले घुम्नुपर्छ ।” त्यही बेला बिरुले थप्यो :

“हो, बाबा मौका आउँछ पर्खँदैन । मन लागेको घुमे हुन्छ, बेला यही हो । उता दिदी भिनाजु क्यानडामा सेटल हुनुभयो । यता दादाको प्रमोशन भएको खुसियाली पनि छ । यति चाँडो द्वितीय श्रेणीमा पुग्नुभयो । उहाँले त गभर्नरको पद पनि भेटाउन बेर छैन ।”

“त्यो पदमा पुग्ने पनि हामी जस्तै त हो नि, राम्रो काम गर्दै गयो भने त्यो पनि टाडा हुन्न ।” विष्टले पुष्टि गरे । त्यही बेला उमेश भित्र पसेर भन्यो :

“बाबा, आज खुसीको खवर छ । मैले अनलाइन जब खोजिरहेको थिएँ । अमेरिकाको एउटा बैँकले हप्ताको दुई हजार डलर, क्वाटर र गाडीसुविधा दिने गरी फेमिलीसहितको टिकट नै पठायो । मैले त राष्ट्र बैँकबाट राजिनामा दिएर क्लियरेन्स समेत लिएँ ।”

यो खुसीको कुरा सुनेर बाबु दङ्दास पर्लान् भन्ने लागेको थियो उमेशलाई तर त्यसो भएन । विष्टजी त अमेरिकाको नाम सुन्ने बित्तिकै ओइलाएको पूम्लजस्तै झिम्रिक्कै भए । उनले छोरालाई  भने :

“बहिनीले त हामीलाई माया मारेर विदेश गई गई । ज्वाइँ गएपछि जानुपर्ने बाध्यता थियो ऊ गई । तँलाई के नपुग्दो थियो र हामीलाई एक्लो बनाएर विदेशिन लागिस् त छोरा ?”

“यहाँ द्वितीय श्रेणी भएर के गर्ने ? यहाँ एक वर्षमा नपाउने तलब त्यहाँ दुई हप्तामा आउँछ । यस्तो ठाउँमा बसेर कहिले प्रगति गर्ने ?”

“तर बाबु, पैसामात्र सबथोक होइन । आफ्नो देश भनेको आफ्नै हो । यहाँ जे जति गरिन्छ आफ्नो देश, आफ्नै दाजुभाइ र यहीँका जनताको लागि गरिन्छ । त्यहाँ गएर गर्ने भनेको विदेशीको नोकर बनेर त्यहाँका जनता र देशलाई गर्ने हो ।”

“के गर्ने देश भनेर मात्र भएन क्यारे ? आफ्नो लागि पनि त केही हुनुप्यो नि । भोली बालबच्चा होलान् तिनको लागि पनि त केही त गर्नुप्यो ।”

“तिमीहरूलाई के नुपग्दो छ ? मैले पनि त यसै देशको सेवा गरेर तिमीहरूलाई यत्तिको बनाउन सकेँ भने तिमीहरूलाई त कम से कम बस्ने बास त बनाइदिएको छु । मैले त बास पनि आफैं जोडेको हो नि, बिर्सियौ र !”

“जमाना अनुसार पनि त चल्नुपर्‍यो बाबा !”

“जमानाले बाबु आमालाई बिर्सिनुपर्छ, धर्म, संस्कृति र कर्तव्यलाई मान्नुपर्दैन भनेको छ र ? हामीलाई माया मारेर जान लाग्यौ भने हामीले के पो भन्न सक्छौँ र ।”

“मायाँ मारेर कहाँ जान लागेको हो र बाबा ! उता सेटल भएपछि त हजूरलाई पनि उतै लगिहाल्छु नि ।”

“ए ! तिमीहरू त जाने भयौ नै हामीलाई पनि उतै तान्ने विचार गरेका छौ ?”

“हो बाबा, बुढेश कालमा त्यहाँ गएपछि खानेबस्ने दुःख त हुँदैन नि !”

“राम्रो सोचेछौ छोरा, आफू त जाने नै भयौ मर्ने बेलामा हामीलाई पनि विदेशी माटो चटाउने विचार ग्यौ ?”

“यस्तो सोच्न हुन्न बाबा । आज दुई तारिख हो पन्ध्र तारिखको टिकट छ । कुरा गर्दै गरौँला नि ।” भनेर उमेश आफ्नो कोठामा गयो । प्रफुल्लित भएका विष्टदम्पतिका मुहारमा एकाएक कालोबादलले ढाक्यो । बिरु अलमल्ल प्यो बोल्न सकेन, अमीलो मन लिएर ऊ भान्सातिर लाग्यो । शारदाले खिन्न भएर भनिन्–

“उमेशले त साँच्चै नै जाने अठोट ग्यो लौ ! पहिले पहिले त जानुपर्छ कि भन्ने मात्र कुरा गरेको थियो । अहिले एका एक जाने निर्णय गरेछ । हामीलाई एक आखर पनि सोधेन । एक्लै निर्णय ग्यो ।

बाबु आमाको मन छोराछोरी माथि छोरोछोरीको मन ढुङ्गामुडा माथि भनेको यही रहेछ ।”

“के गर्छ्यौ त शारदा ! बाहिर जाने विचार नगर, भनेर हामीले पटक पटक भनेकै थियौँ । त्यसैले हामीलाई सोधेनन् । दुई जनाको कुरा मिल्यो निर्णय गरे हालान् ।”

“सहारा चाहिने बेलामा हामी त झन् एक्लो हुने भयौँ । मलाई जताततै अँध्यारो भएजस्तो लाग्यो ।”

“त्यस्तो नसोच, मन बलियो बनाऊ । जे भए पनि नभोगी सुख छैन ।”

“कसरी चित्त बुझाउने ? छोराछोरीको सहयोग चाहिने भनेकै बुढेसकालको लागि हो । यही बेलामा नहुने भयो । हामीले पूर्वजन्ममा कुनै पाप गरेका थियौँ कि ?”

“पूर्वजन्मको पाप होइन शारदा ! यही जन्ममा बढी आधुनिक बनेको भएर यो स्थिति आएको हो । हामीले आफ्नो होइन छोराछोरीको भविष्य हे्यौँ । छोराछोरीले आधुनिक समाजको कुनै पनि क्षेत्रमा संघर्ष गर्न सकुन् भनेर उनीहरूलाई हाम्रो सभ्यता, संस्कृति, परम्परा र कर्तव्यलाई भन्दा आधुनिक शिक्षा र संस्कृतिमा बढी जोड दियौँ । यो हाम्रो पनि कम्जोरी हो ।”

यसै बेला बिरुले खाना तयार भएको खबर ग्यो । विष्ट र शारदा डाइनिङमा गए । छोरा बुहारी पहिले नै आइसकेका थिए । सबैको अगाडि खाना त आयो तर अघिपछिको जस्तो स्थिति आज देखिएन । खानबसेपछि हँसी–मजाकमा मस्त रहने विष्टपरिवार आज कसैले एक शब्द पनि निकालेन । उमेश बोल्न खोजे पनि कसैले ध्यान दिएनन्, अनि ऊ पनि चूप नै रह्यो । विष्टदम्पतिबाट त एक शब्द पनि निस्केन । दुई–चार गास खाएर विष्ट उठिहाले । त्यसपछि एक एक गरेर सबै उठे । भागमा लिएको खाना पनि कसैले सकेनन् । सरिता भर्खर आएकी र यहाँको परिपाटी त्यति नबुझेको हुनाले उसले केही खाई ।  बिरुले सरितालई साथ त दियो तर पनि पूरा खाना खान उसले पनि सकेन । उसलाई झन् नरमाइलो लाग्यो । आजसम्म सबैलाई आदर र सम्मान गर्दै आएको उसले आज कसको पक्ष लिएर बोल्ने ? ऊ बोलेन ।

अर्को दिनदेखि उमेश र उसकी श्रीमती अमेरिका जाने तयारीमा लागे । कहिले इष्टमित्र भेट्न जान्थे त कहिले बजार गएर आवश्यक सामान ल्याउँथे । शारदाले भने उनीहरूको जति चहलपहल हुन्छ उती आपूम् निरीह भएको अनुभव गर्न थालिन् । उमेशले कहिले के किने कहिले के किने भनेर देखाउँथ्यो तर शारदाको कुनै प्रतिक्रिया हुँदैनथ्यो बरु प्रत्येक चिजले छातीमा मुड्की हानेको अनुभव हुन्थ्यो उनलाई ।

बिरु र सरिता बिहानको खाना खाएपछि  अफिसतिर लाग्थे । विष्ट दम्पति भने घरबाट बाहिरै निस्केनन् । श्रीमती विष्टले धेरै पीर लिएकी थिइन् । रुँदा रुँदा उनका त आँखा पनि सुनिएका थिए । एक दिन दुई दिन गर्दा गर्दै पन्ध्र तारिख आयो र उमेश दम्पतिको जाने बेला भयो । जाने बेलामा उमेश र उसकी श्रीमती बाबा–मामुको कोठामा गएर भनेः

“बाबा, मामु ! हजुरहरूले अनाहकमा धेरै पीर गरेजस्तो लाग्यो । हामी सधैको लागि जाने त होइन नि ! हामी बीच बीचमा आइहाल्छौँ । हजुरहरू पनि सधैको लागि बस्न जान मन नलागे पनि केही दिन उता बस्ने केही दिन यता बस्ने गरे भैहाल्छ । यसो गर्दा मन बहलाउन सकिन्छ । वातावरण पनि फेरिन्छ । आज दुई बजेको फ्लाइट छ हामी जान्छौँ । जानासाथ फोन गरिहाल्छु । बीचबीचमा फोनमा कुरा पनि भइहाल्छ ।” भनेर उनीहरू निस्के । त्यसपछि त श्रीमती विष्ट डाकै छोडेर रोइन् । विष्टले संझाउने प्रयास गर्दै भने :

“यस्तै हो, सबैलाई सबैले कहाँ साथ दिएका छन् र, हामीले पनि आमा बुबालाई पहाडमा छोडेर यहाँ बस्यौँ । हुन त हामी विदेश पसेका थिएनौँ र हामीले हाम्रो पूरै अंश भाइको नाममा लेखिदिएर आमाबुबाको सेवा गर् भनेर छोडेका थियौँ । सालको एक दुई पटक आपैम् गएर उहाँहरूको सन्चोविसन्चो र आवश्यक औषधिउपचारको ख्याल गर्न पनि भ्याएका थियौँ । यिनीहरूले पनि त्यस्तै सोचेका होलान्” भन्दा भन्दै उनको पनि मुटु भरिएर आयो अरू बोल्न सकेनन् ।

“झरि–बादल, भोक–तीर्खा, आफ्नो सन्चो–विसन्चो केही नभनेर खाइ नखाइ बुढेशकालमा सहारा होला भनेर यिनको गूहु–मुत सोरेँ, दशधारा दूध ख्वाएँ, यिनलाई हुर्काइयो, बढाइयो, पढाइयो तर छोराछोरीले सबै बिर्सँदा रहेछन् । कमाउने–धमाउने भएपछि अहिले आएर आफूले केही गर्न नसक्ने अवस्थामा चट्ट छोडेर हिडे । छोरी त अर्कालाई दिएको । ज्वाइँ गएपछि ऊ पनि गई भनेर चित्त बुझाएँ तर आज छोराले पनि छोडेर गयो । यो बुढेशकालको एउटा भएको सहयोगी लौरो पटक्क भाँचिएर टेक्ने–समाउने सहारा हराएपछि यो मन कसरी बुझाउने, के देखेर बाँच्ने ? कसको लागि बाँच्ने ? आफ्ना छोराछोरीले त आफ्नो कर्तव्य बिर्सेर यसरी छोडेर हिँडेपछि अरूले गर्लान् भन्ने के आशा गर्ने ?” भन्दा भन्दै श्रीमती विष्ट ढलिन् । घरमा कोही थिएनन्, विष्टले पानी छम्केर व्युँताए तर उनले आँखा खोले पनि उठ्ने साहस गरिनन् । एक्ला बूढाले पलङमा लग्न सकेनन् भूइँमै तकिया तानेर सुताए ।

यस घटनाले विष्टलाई सोच्न बाध्य गरायो । उमेर ढल्केर कमजोर भएको एक्लोपनको महसूस उनले भर्खर गरे । कुनै दिन थिए, श्रीमतीलाई जुरुक्क उचालेर फनफनी घुमाउँथे । तर आज उठाएर पलङसम्म पनि लान सकेनन् ।

मान्छेलाई सहारा चाहिने यस्तै बेला रहेछ ।

‘मान्छेले छोरा–छोरीको इच्छा त्यसै राखेको होइन । आफ्नो बल–वर्गत र हैसियत भन्दा पनि बढी लगानी गरेर तिनलाई हुर्काउनु, बढाउनु, पढाउनुको कारण यस्तै बेलामा सहयोग गर्लान् भन्ने हो । जुन बेलामा तिनको आवश्यकता हुन्छ त्यसै बेलामा चट्ट छोडेर जानेहो भने ती छोरा–छोरीको के काम ? विष्टले आफ्नो अतित संझेः

यी छोराछोरी हुर्काउन– बडाउन र पढाएर सक्षम बनाउन कति दुःखकष्ट सहनुप्यो, कति लगानी गर्नुप्यो । त्यसको केही लेखा छैन ।

जिन्दगीभरमा विष्टदम्पतिका सुखका दिन अब आउलान् जस्ता भएका थिए तर उमेशको विदेशमोहले त्यो पनि चकनाचूर भयो । सन्तानको लागि उनीहरूले के गरेनन् ? कुन कष्ट भोगेनन् ? कतिजनासित चिरौरी गरेर टाउको निहुराएनन् ? जायज–नाजायज जे गरे त्यो सबै छोराछोरीकै लागि त गरेका थिए । तर आज उनका साथमा नछोरा छ न छोरी । बरु काम गर्न राखेको अर्काको छोरो बिरु उनीहरू प्रति बफादार देखिएको छ ।

भाग ९

“मान्छेले बनाएको खाल्टो समयले पुर्छ ।” भन्छन् । छोराबुहारी अमेरिका गएको छ महिना पुग्न लाग्यो । सधैभरी संझेर रोएर बसेर पनि साध्य भएन । जिउन पनि खानुपप्यो, देखाउन पनि सामाजिक रीतिरिवाज गर्नैपप्यो । विष्टदम्पतिको मनमा लागेको बिछोडको घाउमा पनि खाटा बस्दै गयो । परिस्थिति अनुसार शारदाले पनि चित्त बुझाउँदै गइन् । बिरु र सरिताले उमेशको अभावलार्ई त्यतिसारो खड्किन दिएनन् । विष्ट र शारदाको दैनिकी करीब करीब साबिकजस्तै चल्न थालेको छ ।

बिरु र सरिताको एउटै अफिस भएकोले उनीहरू आउने जाने समय पनि एउटै थियो । दाइ–भाउजू अमेरिका गएपछि जनसंख्या कम भएकोले काम पनि कम भएको थियो भने सरिता थपिएपछि एकजनाले गर्दै अएको काम दुई जनामा बाँडिदा बिरुको काम आधै घटेको थियो । अझै पनि छोराबुहारी चट्ट उठेर अमेरिकातिर लागेकोमा शारदामा कहिले कहीँ उदासीपन देखिने गरकोछ ।

घरमा पहिलेजस्तै त्यति रमाइलो भने थिएन । तैपनि सरिता र बिरुलाई त्यति फरक परेको थिएन । बिरु पहिले जसरी बसेको थियो उसरी नै बस्न पाएका छन् । जे काम गर्थ्यो त्यो पनि समालेकै छन् । बरु उसले एक्लै गनुपर्ने काममा बँटवारा भएको छ । सरिताले भित्रतिर समालेकी छ भने बिरुले बाहिरतिर हेर्ने गर्छ । शारदालाई पनि आफ्नी बुहारी घरमा छँदाभन्दा त सरिता आएपछि धेरै सहयोग र सजिलो भएको छ । छोराबुहारी छँदासम्म शारदाले आफ्ना लुगा आफैं धुन्थिन् । तर सरिताले त उनलाई लुगा धुनै दिन्न । अरू काममा पनि उसले धेरै मद्दत गर्नेगरेकी छ ।

नवविवाहिता भएपनि सरिता यस घरको लागि त्यति अपरिचित होइन । विवाह अघि पनि धेरै पटक आएको र काम गरेको घर हो यो । त्यसो भएर उसलाई यस घरमा आएर कुनै असहज अनुभव भएन ।

नवदाम्पत्य जीवनमा प्रवेश गरेका बिरु र सरिताका दिनहरू भने हाँसी–खुसी चलेका थिए । उनीहरूको टाउकोमा नयाँ व्यवहार केही पनि आएको थिएन । बिरुले पनि अहिलेसम्म पढ्ने र जागिर खाने बाहेक अरू कुनै कुरा सोचेको थिएन । अब भने आफ्नो व्यवस्थाका बारेमा पनि  सोच्नुपर्ने हो कि ! भनेर एक दिन साँझ बिस्तारामा गएपछि बिरुले सरितासित कुरा उठायो ।

“यत्रो घरबार, सम्पत्ति, त्यति राम्रो जागिर भएर पनि नपुगेर दादा अमेरिका जानुभयो । हाम्रो त आफ्नै भन्ने बास पनि छैन । यो घर बढीमा बाबा मामु रहेसम्मलाई हो । त्यसपछि हामीले अर्को बाटो खोज्नै पर्छ । किन कि दादाको चाला देखिहालियो । आफ्ना बाबा मामुको त ख्याल नराख्नेले हामीलाई दया गर्नुहोला भन्ने कुरा आउँदैन र त्यसमा हामीले आशा राखेर बस्नु पनि हुँदैन ।”

“तिम्रो के विचार छ सरु ? केही सोचेकी छौ ? पहिले म एक्लो थिएँ । त्यसमाथि आफ्नो पढाइ पूरा गर्ने र जागिर बलियो गराउने मेरो धेय थियो । अब त हामी दुई जना भयौँ । त्यसमाथि तिम्रो दुई महिनादेखि मासिक धर्म पनि रोकिएको छ । अब तीन जना हुने निश्चित छ । अझै बढिएला, त्यो पनि असम्भव छैन । फ्याक्ट्रि तिमी छँदै छौ कसो ?”

“अँ, फ्याक्ट्रि त्यसै चल्छ नि ! फ्याक्ट्रि चलाउने म छँदैछु भने त भइहाल्यो नि ।”

“त्यो त मैले सोचेकै थिइन ।” दुवै हाँसे । अनि सरिताले भनी :

“लोग्ने मान्छेले त्यस्तो सोचिदिने भए त व्यवहार सजिलै चल्थ्यो नि ।”

“अब भने पक्का सोच्ने भएँ ।”

“त्यसो भए तपाइँले भन्न खोजेको के कुरा हो ? भन्नुस् ।”

“मैले भन्न खोजेको कुरा के हो भने अब हामीले पनि दुई चार आनाको भए पनि एउटा घडेरीको जोहो गरिराख्ने हो कि ? भनेर तिम्रो राय लिन खोजेको हो ।”

“यो त मलाई पनि लागेको थियो । आफूसित त्यसको उपाय नभएर भन्न नसकेको हो ।”

“मैले बैँकमा जागिर खाएको दश वर्ष जति भयो । त्यहाँबाट आएको तलबको पैसा मैले खर्च गरेको छैन । आठ नौ लाख भए होला । सन्चय कोष पनि एकाध लाख हुनुपर्छ । अब त घरघडेरीको लागि बैँकबाट ऋण पनि पाउन सकिन्छ । यी सबै गरेर चारपाँच आनाको भए पनि एउटा घडेरी किन्ने हो कि ?”

“मेरो जागिर पनि सात वर्ष जति भयो । अलि अलि त आवश्यक परे घरघडेरीको लागि मैले पनि ऋण पाउन सक्छु ।”

“ठीक छ, मैले मेरो बाबालाई भन्छु । तिमीले तिम्रो बाबालाई भनेर सस्तो सस्तो घडेरी खोजिदन भनौँ, जताबाट खोजेको ठीक होला उतै लिउँला ।”

“हुन्छ ।” भनेर उनीहरू सुते । सरिता अफिसबाटै आफ्नो बाबालाई भन्छु भनेर माइत गई, बिरु घर आयो । साँझको खाना खाइसकेपछि बिरुले बाबालाई “एउटा घडेरी लिनपाए हुन्थ्यो” भन्यो ।

“बिरु ! उमेश अमेरिका गइदिनाले मेरो एउटा लौरो भाँचियो । अर्को लौरो तैँ होस् । त्यसैले म बाँचेसम्म तैले यो घर छोड्नुपर्दैन । जहाँ सम्म घडेरी लिने कुरा छ । तेरो चोसाइ राम्रो छ । एउटा घडेरी लिइराख्यो भने पछि गारोसाँगुरो परेको बेलामा काम लाग्छ । त्यसो हुनाले लिनुपर्छ । तँ पनि याद गर्दै राख् म पनि एक÷दुई जनालाई लगाउँला पाइहाल्छ ।”

जन्मदिने बाबु र आमा मात्र संसारमा खोजेर वा पैसा तिरेर पाइँदैनन् । अरू चिज भने ढिलोचाँडो हो,  खोजेपछि नपाइने कुरै हुँदैन । बिरुको अवस्था र हैसियत अनुसारको उपयुक्त घडेरी पाइयो । बिरुसित भएको पैसा र सरिताको नाममा पाउने ऋण लिएर ६ आना जग्गा लिन पुग्यो । बिरुको नाममा पाइने ऋण लिनै परेन । आफ्नो एक हलको मेलो भएको पाखो बारी साहुलाई सुम्पिएर आएको बिरु आज काठमाडौंमा घडेरी किनेर जग्गाधनी बन्यो । यस खुसीयालीमा उसले प्याकेटभरी मिठाइ किनेर विष्टको अँगाडि राख्यो ।

“केको खुसियाली हो ? जग्गा पास गरियो ?”

“हो बाबा, यो सबै हजुरको देन हो । मजस्तो असहाय टुहुरो केटालाई ल्याएर मान्छेमात्र बनाउनु भएन योग्य र धनीसमेत बनाउनुभयो । यो सबै हजुरकै कारण भएको हो । अन्यथा म कुन होटेलको भाँडा माझेर बस्ने थिएँ ।”

“हेर बाबु म त एउटा निमित्त मात्र हुँ । तेरो भाग्यले तान्दै तान्दै यहाँसम्म ल्याएको हो । त्यसमा मेरो मार्गदर्शन सम्म छ ।”

“बाबा, हजुरको विना सहयोग र विना मार्गदर्शन म यो स्थितिमा पुग्न सक्थेँ ? आज जुन स्थितिमा म छु यसको कारणी हजुर होइन ?”

“हो, तर सर्वे सर्वा म मात्र होइन । ममा पनि स्वार्थ लुकेको थियो । तँलाई पढाउने मात्र भनेर यहाँ ल्याएको थिइन । तैले पढ्नुको साथै मलाई पनि सहयोग गर्लास् भन्ने मभित्र स्वार्थ लुकेको थियो । त्यही मेरो स्वार्थलाई तैँले मेरो सहयोग संझिस् र आजसम्म पनि मेरो सेवा गरिरहेको छस् । हो, यसबाट तैँले केही मौकासम्म पाइस् त्यो अर्कै कुरा हो । त्यसमा तेरो भाग्य, लगनशीलता र इमानदारी मिसिएकोछ ।”

“तेरा बाबु–आमाले जन्म दिए, त्यो पहिलो खुड्किलो थियो । दोस्रो, तेरा बाबु–आमाले बाटो छोडिदिनु थियो । उनीहरू जीवित भएको भए तँ बुटवल आउने थिइनस् । म त तेस्रोमा मात्र पर्छु । तँ बुटवल आउनु, म त्यहाँ जानु र तेरो मेरो भेट हुनु, यी सबै परिबन्द बन्दै जानुमा तेरो भाग्यले डो्याएको हो ।”

“भाग्यले मात्र हुँदैन र सबै मान्छे हजुर्जस्ता हुँदैनन् । मैले तानसेनमा भोकले छटपटिएको बेलामा धेरैसित संपर्क गरेँ र अनुरोध पनि गरेँ । तर कसैबाट एक दाना अन्नको सहयोग भएन । त्यो होटलवाला साहुले काम लगाए पनि भोकाएको बेलामा पेटभर खान दिए, आश्रय दिए र केही पैसा समेत दिएर मेरो उद्धार गरेका थिए । एक पटक तानसेन गएर मेरा बा–आमा बितेको ठाउँमा फूल चढाउन र ती साहुप्रति कृतज्ञता जनाउन मन लागेको छ ।”

“ज्यादै राम्रो विचार गरिस् छोरा तैँले । मान्छे कृतघ्न हुनुहुँदैन । कृतज्ञ हुनुपर्छ । तँमा यही गुण भएकोले नै तँ आजको स्थितिमा पुगेको होस् । मैले आफ्नै छोरालाई त्यस्तो कृतज्ञ बनाउन सकिन कर्मले बनाएको छोरो तँमा त्यस्तो गुण पाएर म आज कृतार्थ भएँ छोरा । मैले तँमा गर्व गर्छु ।”

“बाबा, यो सबै हुनुमा हजुरको देन हो । त्यसैले मैले मेरा जन्म दिने बाबु–आमालाई बिर्सन सक्छु । तर हजुर्हरूलाई बिर्सन सक्दिन । दादाले हजुरहरुलाई छोडेर गए पनि मैले हजुरहरुलाई छोड्ने छैन, यो मेरो प्रतिज्ञा हो बाबा, विश्वास गर्नुस् ।”

बिरुको प्रतिज्ञा सुनेर विष्टले खुसीका आँसु बगाए र कृतार्थ भावले आशीर्वाद दिए । उता यिनीहरूका कुरा सुनेर बसेकी शारदाले त एकाएक आएर बिरुलाई गम्लग्न अँगालो हालेर धरधरी रोइन् ।

भाग १०

विरु तानसेनको बसपार्क पुग्दा चार बजिसकेको थियो । ऊ सरासर त्यही होटलमा गयो जहाँबाट ऊ भागेर बुटवल हुँदै काठमाडौँ गएको थियो । त्यहाँ गएर काउण्टरमा हे्यो त्यहाँ पुरानो साहु थिएन । अर्कै नयाँ युवक थियो । उसित पुरानो साहु धर्मदासको बारेमा सोध्यो । काउण्टरमा बस्ने उसको छोरा रहेछ । धर्मदास त ज्वरो आएर माथि सुतिरहेको थाहा भयो । एक जना काम गर्ने केटालाई लिएर ऊ धर्मदास सुतेको ठाउँमा गयो । साहुलाई नमस्ते गरेर बिरु गोडारीमा बस्यो ।

“मैले त बाबुलाई चिनिन । को हुनुहुन्छ कुन्नि ?”

“साहुजी, पश्चिम पाल्पाको ढुकुरखोला गाउँको एउटा बिरे भन्ने दश/बाह्र वर्षको केटा तपाइँकहाँ आएर ‘मलाई केही खानदिनुस्न साहुजी ! मलाई आसाध्य भोक लागेको छ । मैले तपाइँको जे काम पनि गर्छु’ भनेको थियो । ‘तपाइँले उसलाई खान दिनुभयो र तँ यहीँ बसेर होटलको काम गर्छस् ?’ भनेर सोध्नुभयो । उसले ‘गर्छु’ भनेर तपाइँकोमा तीन महिना जति बसेर राम्रोसंग काम पनि गरेको थियो । तर एक दिन ऊ लुसुक्क निस्केर भाग्यो । तपाइँलाई संझना छ ?“

“मलाई संझना छ बाबु, संझना छ । त्यो केटा यहाँ बस्दा सम्म बडो इमानदारी साथ काम गरेको थियो । मैले त्यसलाई गालि गर्ने पिट्ने पनि गरेको थिइन । त्यसलाई केही पैसा पनि दिएको थिएँ, तर त्यो एकाएक किन भाग्यो ? आउला कि भनेर धेरै दिनसम्म पनि बाटो हेरेँ तर आएन ।”

“आयो साहुजी आयो, त्यो केटा आयो ।”

“आएन बाबु, आएन । त्यो केटा फेरि फर्केर आएन ।”

“आयो साहुजी, बिरे भन्ने त्यो केटा मै हुँ ।”

“हँ ! के भनेको बाबुले ?”

“त्यो बेला तपाइँले कम गुन लाउनुभएको हो र ? दुई दिनदेखि मैले केही खाएको थिइन । तपाइँले काम गर्नुभन्दा पहिले पेटभरी खान दिएको, आश्रय दिएको र अझ पैसा समेत दिएको कुरा मैले बिर्सेको छैन । त्यसै भएर आज म तपाइँप्रति कृतज्ञता जनाउन आएको छु साहुजी । तपाइँजस्तो मान्छेलाई केही नभनी भागेकोमा मलाई क्षमा गर्नुस् है ।”

“बाबु, क्षमादिनुपर्ने कारणै छैन । तपाइँप्रति मेरो कुनै गुनासो छैन । तपाइँले मेरो के विगार्नुभएको थियो र ? गुनासो रहनु । मैले त भनिसकेँ इमानदार केटा थियो भनेर । बरु तपाइँ किन जानुभएको थियो र गएर के के गर्नुभयो ? भन्नुस् न ।”

“साहुजी, म पढ्न पाइन्छ भनेर गाउँबाट आएको थिएँ तर यहाँ बसेर पढ्न पाइने छाँट देखिन । अनि बटौली जान हिँडेका ढाक्रेसित पछि लागेर बटौली पुगेँ । त्यहाँ एक जना काठमाडौँबाट आएका मान्छेसित भेट भयो । उहाँले ‘मसँग जान्छस् भने पढ्न स्कुलमा राखिदिन्छु । मलाई पनि सगाउलास्’ भन्नुभयो ।

“हुन्छ” भनेर उहाँसँग काठमाडौँ गएँ ।

तपाइँलाई सोधौँ भने नजा भन्नुहुन्छ कि भनेर नसोधी लुसुक्क गएँ । त्यसै भएर तपाइँसंग क्षमा माग्न आएको ।”

“क्षमा माग्नुपर्ने त केही छैन, तर त्यहाँ गएर तपाइँले के गर्नुभयो ? भन्नुस् न ।”

“यहाँबाट गएपछि स्कुलमा भर्ना भएँ । एस. एल. सी., आइ. ए. र वि.ए. सम्म पढेँ । बिहे गरेँ, जागिर खान्छु । काठमाडौँमा घडेरी किने । अहिले पनि सचिवज्यूकोमा बसी रहेको छु । उहाँ त मान्छे होइन द्यौता हो । उहाँसित गएर मेरो त जिन्दगी नै सुधार्‍यो ।”

“बाबु, ज्यादै खुसी लाग्यो ।”

“लौ त साहुजी, म अहिले जान्छु ।”

“बाबु, रात परिसक्यो, यति बेला कहाँ जाने ? मलाई संझेर आउनुभयो । आज यहीँ बस्नुस् भोली जानुहोला ।”

अर्को दिन उठेर बिरु ढुकुरखोलातिर जान्छु भनेर बाहिर निस्क्यो । उसले “पाल्पा र पाल्पाका गौरब”, “तपाइँ रिडी जानुभयो ?” जस्ता लेख पढेको थियो । यहाँ आएको बेलामा यहाँका दर्शनीय स्थलहरू हेर्ने विचारले टुँडिखेलबाट नारायणस्थानतिर लाग्यो । पहिले चमेरामात्र देखेको ठाउँमै यस्तो विशाल तीनतले मन्दिर, टुँडाल, पोखरीहरू रहेछन् । वि.सं १८६३ मा अमरसिंह थापाले बनाएकोले अमरनायण मन्दिर पनि भन्दा रहेछन् । अलिमाथि धवलपुस्तकालय, नजिकै संस्कृत विद्यालय रहेछन् । तर विहानै खुलिनसकेको हुँदा भित्र पस्न नपाए पनि बाहिरफेर हेर्दै भगवतीस्थान पुग्यो ।

ओहो ! यो पनि तीनतले झन् पुरानो विसं १८१५ मै बनेको रहेछ । अँग्रेजसितको लडाइँ जितेको उपलक्षमा उजिरसिंह थापाले बनाएको भएर रणउज्जेश्वरी भगवती मन्दिर पनि भन्दा रहेछन् यसलाई । बिरु त्यसपछि गणेशस्थान हुँदै श्रीनगर पुग्यो । आहा ! चिउरा पोखेको हो कि म्यालका फूल हुन् यी चौर भरी छरिएका ? माछापुछे «, अन्नपूर्ण हिमाल पोखारामा छन् भन्थे यहीँनिर जस्तो पो देखिन्छन् त ? धौलागिरी पनि नजिकै रहेछ । यति ठूलो टावर पनि बनेको रहेछ । यहाँबाट त सबैतिर देखिने रहेछ । दूरबिन लगाएर हेर्न पाए त पूरै तराई र गोरखपुर सम्म पनि देखिन्छ होला । माण्डव्य ऋषिको तपस्थल माडीफाँट तानसेनको काखमा सुतेको कति विशाल । साँच्चै पाल्पाका गौरवनै हुन् यी त ।

यहाँ आएपछि एसियाको ठूलो त्रिशूल भएको भैर वनै स्थान नहेरी के जानु ? बिरु तेर्छै लाग्यो । करीब ११ किलोमिटर पर माथि डाँडामा रहेको मन्दिर १४६५ मै बनेको भन्दा रहेछन् तर सोह्रौँ शदीमा सेन राजाले बनाएको भन्दा बढी प्रमाण भेटिँदो रहेनछ । त्यहाँबाट उत्तरपश्चिमतिर मणिमुकुन्द सेनको दरबार रहेको ठाउँ सिलङ्गीथोक हेर्दै हाडथोकबाट ओरालो लाग्यो रिडीको लागि । अर्गली पुगेर जुद्धसंशेरले बनाएको विशाल दर्बार हेर्दै मानवनिर्मित सत्यौदी ताल हेरेर हृषीकेश मन्दिर पुग्यो । अहा ! यो दिव्यमूर्ति, काली र रिडीको सङ्गम, शालिग्रामको उद्गमस्थल यस रुरुक्षेत्रको राम्रो प्रचाप्रसार हुनसके कति पर्यटक आउँथे होला । यस्तै सोचेर बिरु रिडीखोलाको तिरैतिर ढुकुरखोलाको लागि हिँड्यो ।

बिरु अर्को दिन सर्देवा, अर्चले हुँदै दिउँसो ढुकुरखोला पुग्यो । ऊ सरासर आफ्नो घर भएको ठाउँमा पुग्यो । त्यहाँ खाली भग्नावशेष मात्र थियो । त्यसपछि उसको बाबा लडेको रूखमुनी गएर नजिकैको बन फूल लिएर ‘आमा–बाबाको आत्माले चिरशान्ति पाओस्’ भनेर कामना गर्‍यो । त्यहाँबाट आफूलाई सधै पिट्ने र गाली गर्ने साउनीको घरमा गएर आपूm पहिलेको बिरे भएको र अहिलेको अवस्था बतायो ।

साहु बितिसकेका रहेछन् । साउनी चाउरी परेर एक्लै बसेकी । उनका दुई छोरा मध्ये एउटा उहिल्यै मरेको र अर्काे विदेशतिर बस्ने गरेको रहेछ । बिरुलाई देखेर साउनीले उसबेला हेला गरेको, बेला–बेलामा पिट्ने समेत गरेको संझेर ठूलो पश्चाताप गर्दै भनिन्

“बिरे ! मलाई माफ गर् है बाबु ! मैले तिमीहरूलाई निकै दुःख दिएँ । त्यही पापले होला अहिले यो अवस्थामा एक्लो जीवन जिउनुपरेको छ । मेरा दुइटा सहयोगी लौरा थिए दुवै भाँचिए । अहिले बेसहारा भएकी छु ।”

“त्यस्तै हो बज्यै, हाम्रो सामाजिक व्यवस्था नै दोषीछ । हुनेले नहुनेलाई हेप्ने परम्परा अहिले पनि कहाँ हटेको छ र ?

“बाबु ! हाम्रो सोचाइ नराम्रो रहेछ । यो सोचाई बदलिनु पर्छ ।”

“बज्यै ! तपाइँको सोच बदलिएकोमा खुसी लाग्यो । अब तपाइँप्रति मेरो कुनै गुनासो छैन । यदि तपाइँले हाम्रो पुरानो घर भएको ठाउँ किन्न दिनुभए त्यसमा आमाबुबाको नाममा बरपिपल रोपेर चौतारो बनाउने थिएँ ।”

“बिरु किन्ने कुरा नगर् बाबै ! तँलाई चाहिएजति जग्गा लिएर चौतारो बना । अब मलाई यो जमीन के काम । जग्गा–जमिन, धन–सम्पत्ति भनेर मरिमेट्नु बेकार रहेछ । उस बेला बुद्धि पुगेन । अहिले हात–खुट्टा गलेपछि होश आएर काम लागेन । अब त पछुताउनु बाहेक मेरो अरू उपाय रहेन । त्यसो हुनाले तँलाई जति जग्गा चाहिन्छ ले बाबु । तैँले चौपारी बनाइस् भने मर्ने बेलामा मेरो आत्माले पनि शान्ति पाउने थियो ।”

“हुन्छ बज्यै ! छिमेकीहरूसित कुरा गरेर काम गर्छु ।” भनेर गोरेको घरतिर गयो । उसका पुराना दौँतरीहरू चार/पाँच जना भेटिए । उनीहरूको सहयोग लिएर बिरुले चौपारी (चौतारी) बनाएर वल्लो–पल्लो छेउँमा बर र पिपल लगायो । अनि साथीहरूलाई “यो सार्वजनिक स्थल हो, यसको संरक्षण गर्ने जिम्मेवारी तिमीहरूको हो है साथी हो ।” भनेर ऊ काठमाडौँतिर लाग्यो ।

बिरु घर आउँदा साँझको छ बजिसकेको थियो । घरमा कोही पनि थिएनन् । बाबालाई फोन गर्‍यो ।  सरितालाई सन्चो नभएर विष्टहरू बिहानैदेखि अस्पताल गएका थिए । विष्टले पाटन अस्पतालमा आउन भने बिरु सरासर अस्पताल पुग्यो । ऊ त्यहाँ पुग्दा सरिताले छोरालाई जन्मदिइसकेकी थिई । घरौँले, ससुराली सबै त्यहीँ थिए, गर्नुपर्ने काम अरूले गरिसकेका थिए । ऊ त बधाइ खाने मात्र भयो ।

विष्टको घरमा नौलो सदस्य आयो चार जनाबाट पाँच जना भए । आफ्नै नतिनातिना नभए पनि कर्मको नाति जन्मेकोमा विष्ट दम्पति आज ज्यादै खुसी भएका थिए । छोरा बुहारी गएपछि आज जत्तिको खुसी पहिले भएका थिएनन् । सुत्केरीको हेर्विचार शारदा स्वयम्ले गर्न लागिन् ।

भाग ११

मान्छेको परिचयको लागि पनि नाम राख्ने चलन छ । एघारौँ दिनमा न्वारन गरेर चोखिने र नवजात शिशुको नामाकरण गर्ने चलनलाई विष्ट परिवारले पालना गर्न चुकेनन् । बाहुनले त बिरुको छोराको नाम अर्कै के राखेका थिए कुन्नी ! यो छोरो अरूजस्तो नहोस्, बाबु आमाको आज्ञापालक बनोस् भनेर शारदाले उसको नाम श्रवणकुमार राखिन् । उनको कुरा कसले काट्ने ! उनले भनेपछि भयो भयो । त्यो नाम नराम्रो पनि थिएन । सबैलाई स्वीकार्य भयो ।

दुई, तीन महिना सरिता अफिस नजाँदासम्म त छोराको धरालो उसैले गरी तर सधै अफिसबाट बिदा पाउने कुरा भएन । अब के गर्ने ?

“मैले हेरिहाल्छु नि मेरो के काम छ र ? मेरो नातिलाई किन बढ्ता गराउँछौ ?” भनेर शारदा आफैं तर्सि ईन । तर विचरा उनी आफैं विरामी परेपछि भने उपाय नै भएन । अनि बिरुले एक जना महिलालाई दश–पाँचको लागि संझौता गरेर राख्यो । त्यति भएपछि बच्चाको हेरविचार पनि भयो शारदालाई सहयोग पनि भयो । शारदाको संरक्षकत्वमा रहने हुनाले बच्चाले राम्रै स्यहार–सुसार पायो आमाको अभाव खड्केन ।

मान्छे जन्मनुपर्छ समयले उसलाई आफैं बढाउँछ । दिन, बार, हप्ता, महिना, वर्ष गर्दा गर्दै पत्तो नै नपाउँदै मान्छे बढीरहेको हुन्छ । आफ्नो दिन ढल्केको मान्छेले थाहै पाउँदैन । बास्तवमा भन्ने हो भने उसले आफ्नो आयु घटाइरहेको हुन्छ । श्रवण पनि तीन वर्ष पुगेर चारमा लाग्यो । बिरुको पनि बढुवा भएर अधिकृत भयो । सरतिा कार्यालय सहयोगीबाट असिष्टेण्ट भई । खुसियालीमै दिन–रात बिते । अब त श्रवणलाई स्कुल पठाउने बेला पनि भयो भनेर शिशुकक्षामा भर्ना गरे ।

छोराले मायाँ मारेर गए पनि शारदाले उसको विछोड बिर्सन सकिरहेकी थिइनन् । बूढेसकालको सहारा आफू अशक्त हुँदै जानु, कसरी बिर्सुन् ! त्यही पीरले होला ! उनलाई रोगले छोडेन । झन्भन्दा झन् दाब्दै गयो । डाक्टर, वैद्य, झारफुक केही गरेर पनि सन्चो भएको होइन । उनलाइ नै एउटा सहयोगी चाहिने भयो ।

बिरुको छोरालाई स्कुल लाने, ल्याउने र घरको कामसमेत हेर्नुपर्ने हुनाले काम गर्ने महिलालाई छुटाउने कुरा थिएन । उसले राम्रै काम गरेकी थिई । अरू सबै व्यवस्था राम्रै चलेको भए पनि शारदाको स्वास्थ्य विग्रँदै गएकोले घरमा त्यति उत्साह थिएन ।

बिरुले एक दिन अमेरिका फोन गरेर उमेशलाई घरको अवस्था सबै बताएको थियो ।

“अलि राम्रो डाक्टर हेरेर देखाए हुन्छ । बिरु ! तँ छँदैछस् के रे ! हेरविचार गर् । मलाई अहिले आउन अनुकूल भएन ।” भनेर फोन राखिदिएको थियो । यस्तो कुरा बाबा, आमालाई सुनायो भने उहाँहरूलाई अरू चोट पर्छ भनेर उसले सुनाएको थिएन । शारदाको स्वास्थ्य झन् झन् विग्रँदै गएपछि एक दिन विष्टले बिरुलाई भनेः

“हामीले उमेशलाई खबर गरेनौँ । आमा यस्तो बिरामी हुँदा पनि मलाई खबर गर्नुभएन भनेर चित्त दुखाउने होकि ?”

“बाबा, दादासित चित्तै छैन । उहाँको चित्त भए पो दुख्छ । मैले अस्ति नै फोन गरेको थिएँ ।

‘मलाई अनुकुल छैन । तँ छँदैछस्, राम्रो डाक्टर हेरेर देखाए हुन्छ ।’ भन्नुभयो ।

“यस्तो कुरा सुनाएर मामुलाई झन् चोट पर्ला भनेर मैले नभनेको मात्र हो ।”

बिरुको कुरा सुनेर विष्टले लामो सास फेरे केही बोलेनन् ।

मान्छेले जन्मदा नै आफ्नो आयु लिएर आएको हुन्छ भन्छन् । सांसारिक अवस्था हेर्दा यसलाई अस्वाभाविक मान्न मिल्दैन । यस्तो नभए पहिले जन्मने पहिले र पछि जन्मने पछि मर्नुपर्ने । बूढो बाँचेर तरुनो मात्र होइन केटाकेटी पनि मर्नेगरेका छन्, यो सबैले देखेजानेकै हो  ।

रोलक्रमलाई हेर्ने हो भने विष्टको घरमा विष्ट पहिले जानुपर्ने हो तर त्यसो भएन । विष्टभन्दा पहिले शारदाले संसार छोडिन् । त्यस्तो सुखी सम्पन्न परिवारमा एकाएक बज्रपात प्यो । घरभरी रुवाबासी भयो ।

यस कुराको जानकारी एकमात्र छोरा उमेशलाई अमेरिकामा गराइयो र भनियोः

“तिमीलाई कस्तो अनुकूल छ चाँडो आउन सक्नेभए आमाको लास नजलाइ राख्छौँ । दुई, तीन दिन भित्र आउन नसक्ने भए क्रिया गर्न आऊ, दागबत्ति दिने कामसम्म गरेर राख्छौँ ।”

“म अहिले एकदम अर्जेण्ट काममा फँसेको छु । तीनदिन भित्र होइन, दश दिनसम्म पनि आउन सक्दिन । मैले यहीँ क्रिया गर्छु त्यहाँबाट गर्ने काम त्यहीँ सके हुन्छ ।”

उमेशको उत्तर सुनेर घरका मात्र होइन इष्टमित्र पनि दङ्ग परे ।

“आजको मान्छे कतिसम्म तल झरेछ ! आफ्नो स्वार्थको लागि धर्म–कर्म, रीति–रिबाज, परम्पराको त कुरै भएन, आफ्नो कर्तव्य र दायित्व समेत ख्याल गर्न छोडे ।” विष्टका इष्ट–मित्र, टोल–छिमेकले यही सोच्यो ।

शारदाको विछोडले पहिलेदेखि बिग्रँदै गएको विष्टको स्वास्थ्य छोराको यो कुरा सुनेपछि त उनी सिथिल नै भए । बिरुले नै दागबत्ति दिएर उही नै क्रिया बस्यो । तेह्र दिनसम्मको क्रियाकर्म विधिपूर्वक सकियो । यस बीचमा उमेशको एक कल फोन पनि आएन । यस घटनाले विष्टले चित्त बुझाउन सकेनन् उनले पनि विस्तरा चाँपे ।

बिरुले जन्म दिने आफ्ना बाबु–आमाको काजक्रिया गर्न पाएको थिएन । कर्मआमाको क्रिया गर्न पाएकोमा आफूलाई भाग्यमानी संझ्यो । उसले वर्ष दिनसम्म नै दुःख बार्ने भनेर लुगासम्म पनि फुकाएन । विष्टले बिरुको यो मातृभक्ती देखेर सुतिसुती आँसु चुहाए । उमेशका बारेमा के सोचे कुन्नि उनले प्रकटमा केही भनेनन् ।

उमेशको त्यो व्यवहार र बिरुको बाबु–आमाप्रतिको भक्ति देखेर विष्टले आफ्नो संपत्ति उमेशले नभएर बिरुले पाए हुन्थ्यो भन्ने सोचेका थिए तर दैवले उनलाई त्यो अवसर दिएन । थलापरेपछि उनी फेरि उठ्नै सकेनन् । एक महिनाको ज्वरो र ग्यास्टिकले उनलाई लग्यो । बिरु अब त साँच्चैको टुहुरो भयो । विष्टको एकमात्र वारिस उमेशलाई खबर भयो ।

“एक त अर्काको देश, त्यसमा पनि कामको जिम्मा लिएर बसेको हुनाले यहाँको व्यवस्था नमिलाइ आउनसक्ने स्थितिमा छैन । लास जलाए हुन्छ । म सक्भर चाँडो मिलाएर आउँछु ।” भनेर खबर दियो उमेशले । यता बिरुले दागबत्ति दिएर क्रिया बस्यो । आठौँ दिनमा उमेश आयो तर बुहारी भने आइन । आएपछि पनि ऊ क्रिया बसेन ।

“बिरु तँ क्रिया बसेकै रैछस् क्यारे, म चोखोनितो भएर बस्छु । काम तँले नै गर ।” भन्यो । पिण्डपानी उसले केही गरेन । दान गर्ने बेलामा भने उसैले अड्कले अनुसार भयो । बिरुले केही बोलेन उमेशले जे जे भन्यो त्यही गर्‍यो ।

तेह्र दिन भित्रै वकिल बोलाएर कागजपत्र मिलाउन लाएको थियो । क्रिया सकेपछि कार्यालयहरूमा गएर विष्टका नामको संपत्ति उमेशले आफ्नो नाममा बनायो । सायद ससुरालीले ग्राहक खोजिराखेका थिए क्यार ! जायजेथा बिक्री गर्न पनि बेर लागेन । बिरुले प्रयोग गरेका लुगा–फाटा र एकसरो खाने–पकाउने भाँडा छोडेर भित्र भएका सबै सामान ससुरालीमा लगेर थन्क्यायो । त्यो दिन ससुरालीमै बसेर अर्को दिन अमेरिकातिर उड्यो ।

उमेश उडेको तेस्रो दिन घर किन्ने मानिस आएर बिरुलाई घर छोडिदिन भन्यो । बिरुले पनि उमेशको चालामाला देखेर क्रियाभित्र छँदै ससुरालाई डेरा खोज्न पठाएको थियो । विवाद गर्ने कुरा पनि थिएन र ढिला गर्नुपर्ने कारण पनि थिएन । घरमालिकले भन्नासथै उसले पनि घर खालि गरिदियो । उन्नीस वर्षदेखि बसेको घरलाई सलाम गरेर बिरुको परिवार डेरामा सर्‍यो ।

सचिव विष्टको त्यो चकचकी देखेका इष्टमित्र र हितचिन्तकहरू दङ्ग परे । मान्छेले सन्तान भनेर मरिमेट्नु के रहेछ र खै ! आफूलाई बाँच्न पुग्ने भन्दा बढी धनार्जन गर्नु पनि पापै रहेछ । ‘बाबु–आमाको मन छोरा–छोरी माथी छोरा–छोरीको मन धनमाथि’ भनेको यही रहेछ । छोरी पनि आउनुपर्ने, ऊ पनि आमा बित्दा समेत आइन र बाबु बित्दा पनि आइन । ऊ त लौ, अर्काको घर गएकी छोरी आइन, आइन । ठाडो क्रिया गर्ने छोरी जहाँ बसे पनि भयो । ऊ नआए पनि छोरो त आउनुपर्थ्यो, आएन । अहिले बाबु मर्दा पनि आउने थिएन खाली संपति स्याहार्न आएको हो । सबै संपति बेचविखन गर्‍यो हिँड्यो । संपत्ति नभएको भए बाबु मर्दा पनि आउने रहेनछ । बिरामी भएको खबर पाएर पनि फर्केर नआएको मान्छे मरेको आठौं दिनमा आयो तर टुकुरो गुथेर क्रिया बसेन । यसको मतलव संपतिकै लागि आएको हो भन्ने स्पष्टै छ । सबैले यही सोचे, बास्तविकता पनि त्यही नै हो ।

उमेशको व्यवहार र विष्टको स्थितिसित परिचित कतिपय मान्छेले त आफूसित भएको संपति कुनै वृद्धाश्रम वा अनाथालयलाई चन्दा दिन्छु भनेको पनि सुनियो ।

जे भए पनि विष्टले आफ्ना छोराछोरीको लागि जेजति दुःख–कष्ट गरे त्यसको एक छेउँ पनि प्रतिफल पाउन सकेनन् । बरु काम गर्न राखेको अनाथ केटाले जेजति सेवा गरेर सन्तुष्टि दियो त्यो नै उनले पाएको सन्तानसुख हो । तर के गर्नु ! सबैका सन्तान विष्टकै जस्ता हुन्छन् भन्ने पनि त छैन । राम, श्रवणकुमार जस्ता छोरा पनि त यसै धर्तीमा जन्मेका थिए । यस्तै सोचेर पनि चित्त बुझाउनु पर्छ र व्यवहार चलाउनु पर्छ । अन्यथा यो सृष्टि पनि कसरी चल्दो हो र ?

आफ्ना छोराछोरी, नाति–नातिनीमा मायाँमोह  नराख्ने वा उनीहरूको हेरविचार नगरी बस्न को पो सक्छ र ? चरामुसाले त आफ्ना सन्तानलाई मायाँ गर्छन् भने मान्छेले नगर्ने त कुरै आउँदैन । यस्तै सोचेर पनि संसार चलेको छ र चल्दै रहनेछ ।

भाग १२

बिरु र सरिता नयाँ डेरामा सरेपछि दुई,चार दिन निकै अप्ठारो महसुस् भयो । तर सुस्त सुस्त बानीपर्दै गएपछि त्यो पनि सहज हुँदै गयो । सबैभन्दा अप्ठारो श्रवणलाई भयो । उसले धेरै दिनसम्म पनि डेराको बसाइ पचाउन सकेको थिएन । त्यो पनि कहिले संझाएर कहिले हप्काएर पनि उसलाई मनाए । अथवा बाध्यताबस ऊ पनि यसैमा भिज्न थाल्यो ।

एउटा असजिलो के भयो भने विष्टकहाँ बस्दा श्रवणलाई हेर्न र काम गर्न भनेर मान्छे राखेका थिए भने अब कामको अनुपात र बसाईको अप्ठारोपनले गर्दा काम गर्नेलाई छुटाउनुप्यो । त्यो अप्ठारोलाई पनि श्रवणको स्कुल अफिसको नगिचै सारेर समाधान गरे । उनीहरूको डेरा अफिसबाट अलि टाडा थियो । त्यो पनि अफिसकै नजिक पारेर सारे । घर हुनेले अफिसको पायक पार्छु भनेर सक्दैन तर अरू कुराको असुविधा भए पनि डेरावालाले यो सुविधा लिनसक्छन् बिरुहरूले पनि लिए ।

यति भएर पनि एउटा बास्तविकता के छ भने घरमा बस्नु र डेरामा बस्नुमा आकास जमिनको फरक छ । हाम्रो बिरु परिवारले अहिलेसम्म विष्टको घरमा बसेर कुनै अभावको सामना गर्नुपरेको थिएन । न कहिले पानीको अभाव, न बत्तिको । पानी नपुगे जमिनको पानी तानेर फिल्टर गरे हुन्थ्यो भने बत्ति गए सोलारको बत्ति बाले पुग्थ्यो । न कसैको कच्कच न कसैको झक्झक् । आफैंमा व्यवस्थापक आफैंमा मालिक, कसैले के भन्ला ? भन्ने थिएन । तर डेराको कुरा अर्कै हुन्छ । यहाँ त एक बाल्टी पानी बढी पोखे घरभेटीले आँखा तर्छन् । आधा घण्टा बत्ति बढी बाले बिजुलीको बिल तेर्स्याउँछन् । यत्तिमात्र कहाँ हो र ? केही बोले डेरा छोडेर जानुस् यस्ता डेरावालाको कमी छैन, कालो गए गोरो आउँछ ।’ भन्छन् ।

काठमाडौँ हाम्रो राजधानी, सबै सुविधाको खानी । पढ्न परे काठमाडौँ, जागिर खानपरे काठमाडौँ । भएन राहदानी लिन र औषधिमुलो गर्न परेपनि काठमाडौँ नआइ सुख छैन । गाउँ नगरतिर समाजसेवा गरेर बस्नेले वा राजनीति गर्नेले कुनै सानोतिनो काम गर्न गराउनुपरे पनि काठमाडौँ आउनै पर्छ । अर्को कुरा राजनीति गरेर वा कालोधनले नवधनाड्य बनेका महामहिमहरूको लागि सोखसुविधा पनि काठमाडौंमै केन्द्रित हुने भएपछि तर्कारी फल्ने काठमाडौँमा सिमेण्टका घर नफलेर के फलुन् ? सबैलाई काठमाडौँ चाहिने भएपछि बूढाबूढी दुवैले काठमाडौंमा जागिर खाने भएका बिरुपरिवारले पनि कतिदिन डेरामा बसेर निर्वाहा गरोस् ? अझ यिनीहरूको त काठमाडौँमा घडेरी पनि छँदैछ । त्यस कारण उनीहरूले घर बनाउने बारेमा सोच्नु पनि ठूलो कुरा भएन ।

जग्गा किन्दा सरिताको नाममा लिएको ऋण फर्छिएको थियो । विष्टजीको घरमा बस्दासम्म खास खर्च भएको थिएन । अहिलेसम्म केही पैसा पनि जम्मा भएको थियो, नपुग केही रकम ऋणउधार गरेर चारकोठे सानो घर बनाएर आफ्नै घरमा सरे । अब त उनीहरू पनि घरधनी भए । डेरामा बस्दा सानोतिनो कुरामा पनि बारम्बार खानुपरेको घरधनीको खप्की अब छुट्यो । डेरामा बस्दा पराधीनताबाट हुने मानसिक पीडा त छुट्यो तर दुवै जनाले जागिर खाने भएकोले घरको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता फेरि थपियो । दुवै जनाले घर छोडेर जागिर खान जाउँ भने घरमा भएका भाँडाकुँडा, लुगाफाटो पनि साँझ आउँदा नरहने हो कि ! भन्ने चिन्ता, नजाउँ जागिर छोडेर खाने के ? डेरामा बस्दा पो घरभेटी हुन्थे र घर कुर्थे । आफ्नो कोठामा ढोका लायो हिँड्यो, चिन्ता न सुर्ता । अब त जिम्मेवारी आफ्नै । घरमा बस्दा पनि त्यति सजिलो कहाँ छ र ?

देशभरकै सुरक्षा व्यवस्था नाजुक छ भने काठमाडौँको सुरक्षा कसले गर्ने ? ज्यानको सुरक्षा त हुन नसक्ने ठाउँमा घरको वा धनमालको सुरक्षा खोजेर साध्य पनि छैन । विहान घरबाट निस्केको व्यक्ति साँझ सकुशल घर फर्कने हो होइन भनेर चिन्ता लिनुपर्ने देशमा बसेर जिउधनको सुरक्षा खोज्नु आफैंलाई मूर्ख बनाउनु हो । सबैलाई शहरमा बस्नुपरेको छ त्यो पनि राजधानीमै ।

राजधानीमा बसेपछि मिठो खानुप्यो राम्रो लाउनुपर्‍यो । कामधन्दा, रोजगारी केही छैन । कहाँबाट आउँछ राम्रो लाउने र मिठो खाने पैसा ? कामधन्दा पाए पनि हाडछाला र मथिङ्गल किन खियाउने ? मौका हे्यो कुनै घरको झ्यालढोका उक्कायो भित्र पस्यो । बस्, उस्तै मालदार रहेछ भने दुई चार महिनालाई पुग्छ, नभए केही दिनलाई मोजमजा गर्न त पुगिहाल्छ । वर्षा याममा च्याउ उम्रेजस्ता राजनैतिक पार्टी छँदैछन् एउटा पार्टीको विल्ला भिरेपछि राजनैतिक कार्यकर्ता भइहालिन्छ । पार्टीलाई यस्ता डनहरूको खाँचो भइहाल्छ । एउटा पार्टी खोलेपछि दुई चारसय यस्ता डनहरू नपाले पार्टी खोलेको के मजा भयो र ? आफ्नो सुरक्षालाई होस् वा पार्टीलाई चन्दा उठाउन होस् डन नपाले कसरी राजनीति चल्छ ?

अदालतले हत्यारा करार गरेको व्यक्तिलाई प्रधानमन्त्रीले काखीच्याँपेर हिँड्ने र शान्ति सुरक्षाको नाममा करोडौँ रूपियाँ गजल्ट्याउने गृहमन्त्रीले ‘सबैले डन पाल्न हुन्छ भने मैले पाल्न किन नहुने ?’ भनेर पत्रकारलाई उल्टो प्रश्न गर्ने देशमा जनताको जिउधनको सुरक्षा कसले गर्ने ? त्यसमाथि चार पाँच हजार पुलिस भएका ठाउँमा पचासौँ हजार यस्ता लुच्चा–लफङ्गा, चोर–डाँका र डनहरूको नियन्त्रण कसरी हुन्छ ? यदि कोही समातियो भने पनि राजनैतिक तुरुपको पत्ता फालेपछि पुलिसका बाबुको के लाग्छ ? त्यसो हुनाले सके आफ्नो सुरक्षा आपैम् गर नभए डनको कृपामा छोडिद्यौ । यस्तै छ नेपालीको जिन्दगी । यही भनेर बिरुदम्पति पनि ढोका लाएर हिडे । कसैको आँखा नपरेसम्म उनीहफ्रूको घर पनि सुरक्षित हुन्छ । धन्दामान्नु पर्दैन ।

सरिता र बिरुको एकमात्र छोरो श्रवणकुमार लाखमा एक होइन कि करोडमा एक भएर निस्क्यो । यो उनीहरूको आँखाको नानी, बुढेसकालको एकमात्र सहयोगी लौरो, साँच्चैको होनहार भएर आयो । पूर्वस्कुल पढ्दादेखि पाँच कक्षासम्म त उसलाई कहिल्यै पढ् भन्नु पनि परेन र कहिल्यै अतिरिक्त ट्यूशन पढाउन पनि परेन । सधै कक्षामा प्रथम भएर पास भयो । अनुशासन, आज्ञाकारितामा र उत्साहमा सधै अब्बल रह्यो । बच्चाहरूमा हुनुपर्ने गुण मध्ये उसमा कुनै कमी थिएन । यो देखेर वरपरका अविभावकहरू सधै लोभिन्थे । कसैलाई उदाहरण दिनुपरेमा श्रवणको उदाहरण दिन्थे । हुन पनि शील–स्वभाव, रूप–रङ्ग र व्यवहार–आचरण कुनैमा पनि उसलाई खोट लगाउन सकिने ठाउँ थिएन ।

छ कक्षा पढ्ने बेलामा श्रवण बिरामी भयो । एकाएक उसलाई निमोनियाँले समातेछ । बिरु र सरिताको सातो नै गयो । उनीहरूले छोराको उपचारमा लाखौँ रूपियाँ बगाए । पैसा जति खर्च भए पनि छोरो बाँच्यो, यसैलाई उनीहरूले ठूलो ठाने । श्रवण धेरै दिन थलिएर उठेकोले नातागतले ज्यादै सिथिल भएको थियो । छोराको हेर्विचारको लागि दुवैजनाले करीब बीस दिन जति बेतलवी विदा लिएका थिए भने अस्पतालबाट घरल्याएपछि उसको स्यहार सुसार गर्न भनेर अरू एक महिना सरिताले बेतलवी विदा लिई, बिरु अफिस गयो ।

श्रवणलाई उनीहरूले राम्रै स्कुलमा पढाएकाले दुई जनाको तलब आउने भएपनि उनीहरूले तलबबाट खास केही बचाउन सकेका थिएनन् । ऊ बिरामी भएपछि झण्डै डेडलाख जति ऋण लाग्यो । छोरो बिरामी पर्नाले उसको एक वर्षको पढाइ त विगार्‍यो बिगार्‍यो साथै ऋण समेत लागेकोले उनीहरुलाई केही मानसिक धक्का पनि लाग्यो । तर छोराको जीवनको अगाडि पैसाले कुनै महत्व पाएन ।

सन्चो भएपछि पनि श्रवणको त्यतिराम्रो स्वास्थ्यस्थिति त थिएन तर ऊ ढिपी गरेर पढ्न गयो । त्यति राम्रो पढाइ भएको बच्चालाई छ कक्षा पास गर्न पनि झण्डै तीन महिना जति ट्युशन लिनुपर्‍यो । बल्ल तल्ल सातौँ कक्षामा त गयो तर पहिलेको जस्तो स्वास्थ्य बनाउन उसलाई सात, आठ महिना लाग्यो ।

मान्छेलाई दशा लागेपछि दश थरी हुन्छ, भन्छन् र कसैलाई आपत्ति आउने भएपछि एक्लै आउँदैन रे ! त्यति राम्रो पढाइ चलिरहेको श्रवण बिरामी भएपछि उसलाई कक्षा चढ्न पनि अतिरिक्त समयमा ट्युशन पढ्नुपर्ने भयो । घर बनाउँदा लागेको ऋण तिर्न भ्याइएको छैन, छोरो बिरामी परेर अरू थपियो । छोरो, छोराको पढाइ, छोराको स्वास्थ्य भन्दाभन्दै सरिताले आफ्नो स्वास्थ्यको ख्याल गरिन । उसलाई टीबी लागेको रहेछ । उसले पहिले बिरुलाई पनि बताइन र आफूले पनि वास्ता गरिन, आखिर अहिले आएर जँचाउँदा त अन्तिमजस्तै भएको रहेछ । उसलाई बचाउँन ज्यादै मुस्किल छ भनेर डाक्टरले जवाफ दिए ।

सास रहेसम्म आश मार्न भएन सरितालाई बचाउँन बिरुले नेपालका अस्पताल मात्र होइन भारतका ठूला ठूला अस्पतालमा पनि लग्यो । तर उसको भाग्यमा ऋणमाथि ऋण थपियो । सरितालाई बँचाउन कसैले सकेनन् उसले सदाको लागि बिरुलाई एक्लो र श्रवणलाई टुहुरो पारेर गई ।

सरिता आफू त गई । तर आफ्नो परिवारलाई भताभुङ्ग पारेर गई । श्रवण विचरो बल्ल बार पुगेर तेरमा लागेको छ । भर्खर बिरामी भएर जिउ लिन लागेको उसलाई यो बेला आमाको सक्त जरुरत थियो । उता बिरु यसरी एक्लो भयो कि उसले वास्तवमै आधा अङ्ग गुमायो । यसले गर्दा खास गरेर छोराको लागि दोहोरो भूमिका खेल्नुपर्ने भयो अब । दुई जनाको मायाँले त नपुगेको श्रवणलाई एक्लै कसरी दुई जनाको मायाँ ममता र ओत दिनसक्ला उसले ?

बिरुले समय तालिका निर्धारण गर्‍यो आफ्नो र श्रवणको समेत । छोराको स्कुलबस बिहान साँढे आठ बजे आउँथ्यो भने साँझ साँढे चार बजे । त्यसैले श्रवणलाई साँझ नौ बजे सुत्ने र बिहान पाँच बजे उठ्ने नियम बनाइदियो तर आफू भने बिहान चारै बजे उठ्ने र साँझ सबै काम सकेर दश, साँढे दशमा सुत्ने गर्थ्यो । छोरालाई उठेपछि हातमुख धुन लगाएर एक गिलास दूध ख्वाएर पढ्न बसाउँथ्यो । अनि हल्का नास्ता बनाएर आठ बजे ख्वाएर स्कुल पठाउँथ्यो । बिहानको खाना श्रवणले स्कुलमै खान्थ्यो । स्कुलबाट आएर खानलाई नास्ता बनाएर राखिदिन्थ्यो र आफू जाँगर लागे खाना बनाएर खान्थ्यो भने कहिले त्यसै अफिस जान्थ्यो । श्रवण स्कुलबाट आएर राखिदिएको नास्ता झिकेर खान्थ्यो ।  साँझको खाना भने बाबु छोराले संगै खान्थे । यो बिरुको रुटिङ्ग हो ।

बिरु कामधन्दा सकेर विछौनामा त जान्थ्यो तर एक दुई बजेमात्र केही बेरको लागि निदाउँथ्यो । उसलाई छोराको भविष्य र सरिताको मृत्युले सधै सताइरह्यो । श्रीमतीलाई संझेर रुन पनि उसलाई एकान्त चाहिन्थ्यो । त्यस्तो एकान्त विस्तरामा मात्र पाउँथ्यो ।

भाग १३

सरिताको देहावसान बिरुको लागि असैह्य नै थियो । त्यति व्यवस्थित जिन्दगी उसको अवसानले एकाएक छिन्न–भिन्न हुँदा बिरुको छाती विदीर्ण भएको थियो तर छोराको भविष्य संझेर आफ्नो बेदना कसै सङ्ग साट्न पनि सक्दैनथ्यो । यो एक्लो जीवन लिएर कति दिन बाँच्ने ? उसलाई सबै साथिभाइले अर्को बिहे गर्नैपर्छ भनेर सल्लाह दिन्थे । भर्खर सैतीस अठ्तीस वर्षको मान्छेले एक्लो जीवन कसरी बिताउन सक्छौ ? आफ्नो भविष्य पनि त हेर्नुपर्छ । यो संगीसाथिहरू र हितैषीहरूले दिनेगरेको सल्लाह हो । साथिहरूका अगाडि हो, सोच्दै छु भन्ने गथ्र्यो तर घर आएर छोरालाई देखेपछि फेरि बिरुको मन फेरिन्थ्यो ।

मैले बिहे गरेँ भने यसको भविष्य के हुन्छ ? अब आउने मेरी श्रीमतीले सरिताले जस्तै श्रवणलाई मायाँ गर्ली ? के उसले जस्तै ममता पोख्न सक्छे ? अहँ ! आफ्नी आमाले जस्तै सौतेनी आमाले सौताका छोराछोरीलाई कहाँ मायाँ गर्न सक्छन् । “सौताको छोरोजस्तो” भन्ने त चलनै छ भने बिहे गरेर अब आउनेले यसलाई मायाँ गर्ने सम्भवै छैन । उसका पनि छोराछोरी होलान् । आफ्ना छोराछोरीलाई मायाँ नगरेर सौताको छोरालाई किन मायाँ गर्ने ? कसका घरमा यस्तो भएको छ र ?

उसले आफ्नै साथी जीवनलाई संझ्यो । जीवनले पच्चीस वर्षको उमेरमा बिहे गरेको थियो । बिहे गरेको दोस्रो वर्षमै छोरो जन्म्यो । चौथो वर्षमा छोरी जन्मी । उनीहरूको दाम्पत्यजीवन कति राम्रो थियो । परेवाका जोडीजस्ता आफूहरु थिए भने बाँसका मुनाजस्ता छोराछोरी थिए । दुवै बाबु–आमाले प्राणभन्दा प्यारो गरेर छोराछारीको लालनपालन गरेका थिए । दैवको लीला, अचानक एक दिन जीवनले श्रीमती गुमाएको थियो भने छोराछोरीले ममतामयी आमा गुमाएका थिए ।

भएको के थियो भने बैँककै असिस्टेण्ट म्यानेजरको छोराको पास्नी थियो । त्यसमा बैँकका सबै अफिसरलाई सपरिवार बोलाइएको थियो । जीवन पनि श्रीमती छोराछोरी सहित मोटर साइकल लिएर हाकिमको घर कोटेश्वर गएको थियो ।

पार्टी छ बजेदेखि नौ बजेसम्म चलेको थियो तर जीवनले रक्सी नखाने हुनाले उनीहरू आठै बजे फर्केका थिए । माइतीघर मोडमा आउने बेलामा बेसाइडबाट आएको ट्रकले उसको मोटर साइकलमा हान्यो । उनीहरू उछिट्टिएर यता र उता परे जीवनकी श्रीमती ट्रकको पाँग्रा मुनी पर्न गई जसका कारण उसको जीवनलीला सदाका लागि अस्तायो र जीवन एक्लो भएको थियो भने उसका छोराछोरी टुहुरा भएका थिए । त्यस बेला जीवनको उमेर त्यस्तै तीस वर्ष जति थियो ।

तीस वर्षको उमेर भनेको लोग्ने मान्छेको भर्खर बिहे गर्ने उमेर हो भने पनि हुन्छ । दुई दुई वटा छोराछोरी छन् ऊ एक्लो छ, घरव्यवहार कसरी चल्ने ? उसका इष्टमित्र, साथिभाइ र ससुरालीले समेत बिहे गर्न दबाव दिए । तै पनि ऊ बिहे नगर्नेमै थियो । त्यसपछि उसलाई जेठानले संझाए ।

तपाइँलाई अन्यत्र बिहे गर्दा छोराछोरीलाई हेला गरिदेली कि ? भन्ने डर छ भने मेरी छोरी बिहे गर्नुस् । मेरी छोरीले कति मायाँ गर्छे ती केटाकेटीलाई ! तपाइँले देख्नुभएकै छ । भनेपछि जीवनले दोस्रो विवाह गरेको हो । बिहे भएको एक÷दुई वर्षसम्म त फुपुका छोराछोरी भए पनि राम्रै व्यवहार गरेकी थिई । तर पहिलो छोरो जन्मेपछि सुस्त सुस्त उसको व्यवहार बदलिँदै गयो ।

केटाकेटीको खाने कुरामा हेल्चत्र्mयाइँ गर्ने, सानोतिनो गल्तीमा पनि गाली गर्ने, च्याँठ्ठिएर बोल्ने गर्न थाली । केही दिनपछि त उनीहरूलाई पढाइमा भन्दा काममा बढी जोड्दिने र सानो सानो कुराको पनि श्रीमान्सित पोल लाउने गर्न थाली । यस्तो देखेपछि जीवनले श्रीमतीलाई यसो नगर्न भन्यो भने झगडा समेत हुनथाल्यो । जतिपछि भयो उती उती छोराछोरीप्रति सौतेनी व्यवहार स्पष्टै भयो । यो देखेर जीवन कुँडिएर बस्न थाल्यो । बोलोस् भने झगडा हुन्छ । कहिले कहीँ केही भन्यो भने “तिम्रा छोराछोरीलाई मैले गरेको भएन भने तिमी आपैm गरन ।” भनेर झर्कन्थी । त्यसैले बोल्नै छोडेको थियो जीवन ।

बिरुले कसैले विवाहको कुरा गरे भने जीवनको अवस्था र श्रवणलाई सम्झेर झस्कन्थ्यो । त्यसो भएर केही दिन सम्म त ऊ विवाहको कुरा आउना साथ या त उठेर अन्यत्र जान्थ्यो या त यस बारेमा अहिले कुरा नगरौँ भनेर तर्कने गथ्र्यो । यसरी कति दिन टार्ने ? उसले निधो ग्यो कि ‘अब मैले बिहे गर्दै गर्दिन । श्रवणलाई मान्छे बनाएरै छोड्छु र यसलाई मानसिक चोटपर्ने खाले कुनै पनि काम गर्दिन’ भन्ने अठोट लियो । त्यसपछि कुनै इष्टमित्र वा  भाइसाथिले कुरा उठाए भने उसले स्पष्टै भनिदिने गथ्र्यो :

“अब मैले बिहे गर्दै गर्दिन । श्रवणको लागि त्यसै बस्ने निर्णय गरिसकेको छु । मसित अब बिहेको बारेमा कुरा नगर्नुहोस्” ।

उसको निर्णय सुनेपछि त साथिभाइहरू समेत बिहेको बारेमा बोल्न छोडेका थिए । बिरुलाई पनि बिहे गरौँ कि नगरौँ भनेर दोमन हुनुपरेन । ऊ अब तालिका मुताबिक श्रवणको नास्ता, खाना र पढ्ने व्यवस्था मिलाइदिने आपूm दिउँसो अफिस जाने गर्नलाग्यो । यसो गर्दा उसलाई अरू चिन्ता लिनुपरेन । उसको दैनिकी सरल रूपमा चल्न थाल्यो ।

श्रवण पाँचौँ कक्षासम्म जति तगडा थियो छैठौँ कक्षामा विरामी भएपछि केही कम्जोर भएको हो । त्यसपछि केही प्रगति गरिसकेको थियो तर आमाको देहावसानले उसलाई झन् ठूलो झड्का लाग्यो । आठ र नौ कक्षा पढ्दासम्म पनि उसले आमाको अभाव सहन सकेको थिएन । छोराछोरीलाई आमा बराबर अरू कोही हुँदैन । बिरुले छोराको लागि आफ्नो सुखसुविधा र भविष्य पनि नभनेर बस्यो । त्यति गरे पनि सरिताले जस्तो ममता उसले दिनसकेन । त्यसैले त मान्छेहरू भन्दाहोलान् :

“अरूले चाटेको र आमाले पिटेको”

हुन पनि बच्चाहरूलाई आमाको माया–ममता बराबर अरू केही हुँदैन । सरिताले तालिका बनाएर कहिले पनि काम गरिन । जतिबेला जे प्यो त्यही गरी । श्रवणले कहिले बेसरी खान्थ्यो भने कहिले कहीँ एक गिलास दूध पनि नखाइकन स्कुल जान्थ्यो । बिरुले बिहान दूध र आठ बजे नास्ता ख्वाएर स्कुल पठाउँछ । स्कुलबाट फर्केपछि खानलाई नियमित नास्ता बनाएर राखिदिने गरेको छ । सरिता हुँदा बरु कहिले कहीँ स्कुलबाट आएर खानपाउँदैथ्यो । यति हुँदा पनि श्रवणले आमाको अभाव बिर्सन सकेको छैन । त्यसको असर नवौँ कक्षामा पढ्दासम्म पनि परेको थियो ।

“मनको घाउ र जमिनको खाल्टो समय पुगेपछि पुरिन्छ रे !” त्यसैले होला दशौँ कक्षासम्म पुग्दा श्रवणले पनि आमालाई बिर्सँदै गयो र पढ्नमा केही प्रगति पनि ग्यो । तै पनि ट्युशन भने बिरुले चालु नै राखिदियो । एस.एस.सी. जसोतसो प्रथम श्रेणीमा त पास भयो तर त्यति राम्रो अङ्क आएन ।

परीक्षामा अङ्क कम आए पनि उसले फिजिक्स केमेष्ट्री लिएर आइ. एस्सी. पढ्ने इच्छा व्यक्त गरेकोले बढी पैसा तिरेर भए पनि राम्रै क्याम्पसमा भर्ना गरिदियो । श्रवण अब बढी खर्चालु हुँदैगएको थियो । बिरुले उसको इच्छा अकाँक्षामा कहिले पनि नाइँ भनेन । ऋणउधार गरेर पनि चाहना पूरा गर्दै गयो । आइ. एस्सी.मा पनि राम्रो अङ्क ल्याउन सकेन ।  जसो तसो प्रथम श्रेणी टेक्यो मात्र ।

श्रवण सानो छँदै  “ठूलो भएर के बन्ने बाबु !” भनेर कसैले सोध्यो भने “म त डाक्टर बन्ने ।” भन्थ्यो । सरिताले पनि सधै यसलाई डाक्टर बनाउने हो भन्ने गर्थी । आइ. एस्सी. पास भएपछि उसले पनि डाक्टर पढ्ने इच्छा ग्यो तर राम्रो अङ्क नभएकोले एम. बी. बी. एस. पढ्न त्यति सहज थिएन । उसको भर्नाको लागि बिरु धेरै ठाउँमा धायो । बल्लतल्ल वार्षिक साडे दुई लाख फीस बाहेक पच्चीस लाख कलेजलाई सहयोग गरेमा एम. बी. बी. एस. कक्षामा भर्ना गरिदिने एउटा कलेज निस्क्यो । छोराको आकाँक्षा र सरिताको इच्छाको अगाडि ऊ झुक्यो । कलेजको सर्त स्वीकारेर बिरु फक्र्यो ।

घर आएर ऊ घोरियो, अब पैतीस लाख रुपियाँ कहाँबाट निकाल्ने ? उसको लागि यो ज्यादे ठूलो सर्त थियो । यही एउटा घरमात्र बाँकी छ त्यो पनि यसले छ÷सात लाख ऋण बोकेको छ । छोरो बिरामी हुँदा, सरिता बिरामी हुँदा र छोराले आइ. एस्सी. गर्दासम्म भएको खर्च यसै घरमाथि परेको छ ।

बिरुको जागिर छँदासम्म त कम से कम खानबस्न त पुग्थ्यो तर अब त ऊ रिटायर्ड भएको पनि दुइवर्ष भइसकेको छ । अब बाँकी जे छ यही घर छ । आखिर हालसम्मको ऋण तिर्न पनि यही घर बेच्नुपर्छ भने अहिले नै बेचिदिए त छोरो डाक्टर हुन पाउने छ र ऋण पनि तिरिने छ । श्रवण डाक्टर भएपछि त यस्ता घर जति पनि बनाउन सकिन्छ । अब छोरो ठूलो भइसकेको हुनाले उसित पनि सल्लाह गर्न उचित संझेर प्रस्ताव राख्यो । अरू उपाय नभएपछि बाबुको यस प्रस्तावमा छोराको पनि समर्थन रह्यो । दुवै बाबुछोरा लाएर घर बेचियो । छोरो कलेजको होस्टलमा गयो भने बाबुले अमिलो मुख लाएर पुनः डेरामै फक्र्यो ।

मान्छेलाई आपूmले पालेको बाख्रो बेच्नुपर्दा त मनमा कस्तो कस्तो हुन्छ भने रगत पसिना बगाएर बनाएको घर बेचेर डेरामा सर्नुपर्दा बिरुको मन अमिलिनु स्वाभाविकै हो । त्यो घर बनाउन सरिता र बिरुले कम पापड बेलेका थिएनन् । एक त उनीहरूसित घरबनाउन पुग्ने पैसा थिएन । ऋणउधार गरेर, अपूmले लिनुपर्ने सेवासुविधा कटाएर पनि त्यही घरमा लगाए । आपूmहरू दुवै जना जागिरे, घरबनाउन खटिनुपर्ने समय कसरी निकाल्ने ? सिमेण्ट, छड, इँटा, गैँटी, साबेल, बाँस, डोरीजस्ता सामानको जोहो गर्दा गर्दै कहिले कहिँ त खान पनि पाउन्नथे । कम मेहनत, कम धपडी र कम मानसिक चिन्ता झेल्नुपरेको थिएन त्यो घर बनाउन । त्यसरी बनाएको घर बेचेर डेरामा बस्नुपर्दा मनमा चोट पर्नु स्वाभाविक थियो । अर्को कुरा के थियो भने सरिताको साथ छुटे पनि अहिलेसम्म राती त बाबु छोरा सँगै बस्थे, सँगै खान्थे र सँगै सुत्थे । आफ्ना सुखदुखका कुरा हुन्थे तर अब त छोरो होष्टलमा गएपछि बिरु विल्कुल एक्लो भयो त्यो पनि डेरामा ।

भाग १४

घर बेचेर डेरामा बस्नुपर्दा पनि बिरुलाई एक कुराको सन्तोष के थियो भने उसको प्यारो छोराले चाहेको विषय पढ्न पायो र सरिताको इच्छा पनि पूरा हुने भयो । छोराको चाहना र श्रीमतीको इच्छा पूरा गर्न पाएकोमा ऊ एक्लै बसेर पनि मनमनै खुसी हुन्थ्यो । दुई, चार दिन त उसले यसै गरी दिन बितायो तर छोरासित बिछोडिएकोमा एक दिन त उसलाई छट्पटी भयो ।

छोरालाई कुनै चिजको जरुरत थियो कि ? उसलाई खानापिना कस्तो छ ? कसरी ख्वाएका छन् ? सन्चो भएन कि ? बिरु यस्तै चिन्ताले रातभर सुत्न सकेन । बिहानै उठेर ऊ छोरालाई भेट्न भनेर कलेज गयो । कलेज पुग्दा श्रवण कक्षामा प्रवेश गरिसकेको रहेछ, भेट्न पाएन । यहाँ आइसकेँ नभेटी कसरी जाउँ ? भनेर बिरुले कलेज बाहिर समय बिताउन थाल्यो । पहिलो र दोस्रो कक्षा लगातार परेकोले झण्डै एघार बजे मात्र कक्षा सकियो । पालेले उसको बाबु आएको कुरा सुनायो । श्रवण पनि बाबुसित छुट्टिएको पहिलो पटक भएकोले अस्सिएको थियो, हतारिँदै गेट बाहिर आएर बाबुसित टाँसियो । बाबु छोरामा यस्तो प्रेम देखेर पाले पनि दङ्ग पप्यो । एकछिन भलाकुसारी गरेर छोरो भित्र पस्यो बाबु फर्क्यो । डाक्टर पढ्ने छोरालाई भेटेर आएकोमा बिरुलाई आनन्दानुभूति भयो ।
पहिले पहिले चार दिन पाँच दिनमा बिरु श्रवणलाई भेट्न जान्थ्यो र आवश्यक सर्सामान लगिदिन्थ्यो । एक डेड वर्षपछि यसरी बाबु आइरहनुलाई छोराले पढाइमा बाधा पर्ने अभिनय गर्नथाल्यो । उसले अनावश्यक बाबु आइरहँदा झर्को मानेजस्तो गरेर भन्यो :
“यसरी सधै हजुर आइरहनुभन्दा मोबाइलमा कुरा गरे हुन्छ बाबा, म पनि प्रायः कक्षामा हुन्छु । हजुरलाई दुःख हुन्छ । मलाई केही चाहिएको बेलामा समय मिलाएर मैले भनिहाल्छु ।”
भनेर संपर्कको क्रम छोट्यायो । छोराको चाहना र आवश्यकता नै आफ्नो उद्देश्य र भविष्य संझेको सोझो बिरुले छोराको प्रस्ताव राम्रै ठान्यो । छोराको फोन आउला र भेट्न जाउँला भनेर बिरु पर्खेर बस्न लाग्यो ।
कलेजको चार वर्षकै फिस उसले अग्रिम जम्मा गरिदिएको थियो । छोरालाई कापि, किताब आदिको लागि भनेर उसैको खातामा केही पैसा राखिदिएको थियो । बिरुले आफ्नो नाममा केही रकम राखेको थियो । तर त्यो पैसाले श्रवणले पढेर कमाउने बेलासम्म धान्नसक्ने स्थिति थिएन । त्यसैले उसले सस्तो खाले डेरा लियो र खानामा पनि कमभन्दा कममा निर्बाह गर्न थाल्यो । एक दिन उसले छोरालाई भेट्न गएको बेलामा भनेको थियोः
“बाबु तिम्रो खाताबाट पैसा अलि विचार गरेर झिक्नु है ! घर बेचेको पैसा पनि सकियो । मैले पुरानो डेरा छोडेर सस्तोमा एउटा कोठा लिएर बसेको छु । कलेजको पूरै फिस जम्मा गरिदिएको छु । खाली पाकेट खर्चमा विचार गरे भनेको हो । मेरो त के ठेगान छ र ? बाँचुन्जेल जसरी पनि निर्बाह गर्छु । तिमीलाई दुःख हुन्छ कि भन्ने लागेको छ ।”
विरुको कारुणिक वचनले श्रवणको मन पनि पग्लेछ । उसले भन्योः
“होइन बाबा, त्यस्तो कुरा नगर्नुस् । मेरो पढाइ तीन वर्ष सकिइसकेको छ । अब त एक वर्षमात्र बाँकी छ । त्यसपछि त मैले केही काम पाइहाल्छु । हजुरलाई त्यसपछि केही दुख हुने छैन । सबै काम मै गर्छु र हजुरलाई राम्रो डेरामा राख्नेछु ।”
बिरुले यस्तो अभाव र दुःखको कुरा कहिल्यै छोराका साथ गर्दैनथ्यो । आजको कुरा सुनेर श्रवण पनि छक्क पप्यो । बाबुछोराका आपसी कुराले दुवैका आँखा डब्डबाए । त्यसपछि दुवै केही बोल्न सकेनन् । श्रवण उठेर कलेज भित्र गयो, बिरु डेरातिर फर्क्यो ।
श्रवण सरासर होस्टलको सुत्ने कोठामा पस्यो । अरू कोही साथिहरू पनि आएका थिएनन् । उसले घरको अवस्था संझन लाग्यो ।
‘ऊ पाँचौँ कक्षामा पढ्दासम्म घरमा कति रमाइलो थियो । बाबा, मामु दुवै जना जागिरे । उसले जे इच्छा गरे पनि तुरुन्तै पाउँथ्यो । कहिल्यै कसैले नाइँ भनेनन् । त्यसरी हुर्केको बेलामा ऊ बिरामी पप्यो बाबा र मामुले कति स्यहार गरे । औषधि, फलफुल र अन्य खाने कुरामा उनीहरूले कति खर्च गरेका थिए । कुनै बेलामा पैसा छैन भन्नुभएन, कम खर्च गरौँ भन्नुभएन ।
त्यसपछि मामु विरामी हुनुभयो । त्यस बेला बाबाले कति मेहनत र खर्च गर्नुभयो । त्यो बेलामा बाबाको मात्र जागिर थियो । मामुले मेरै स्यहार सुसारको लागि भनेर जागिर छोड्नुभएको थियो । एक्लो बाबाको जागिरले पनि कहिल्यै अभावको अनुभव हुन दिनुभएन । मलाई सधै चाहिएको कुरा पु्याउनुभएको थियो । अहिले पक्का पनि बाबालाई अप्ठारो परेको छ । ऊ मनमनै कुँडियो ।
विरुलाई छोरासित छुट्टिएपछि डेरामा जान मन लागेन । ऊ घुम्दै घुम्दै बैँकमा पुग्यो । पुराना साथिभाइहरू थिए । एकछिन् कुराकानी गरेपछि उसको मन केही हल्का भयो । अनि आफ्नो खाता चेक गर्‍यो । खातामा जम्मा दश हजार बाँकी रहेछ ।
‘छोराको पढाइ नै एक वर्ष बाँकी छ । एक वर्षपछि बल्ल उसले परीक्षा दिन्छ, त्यसको नतिजा निस्कने कहिले ? जागिर खाने कहिले ? र उसको आम्दानी सुरु हुने कहिले ? त्यसको लागि त झण्डै दुई वर्ष पर्खनुपर्छ । त्यतिका समयसम्म के खाने ? कसरी डेराभाडा तिर्ने ? दश हजारले त छोप पनि लाग्दैन ।’ मनमा यस्तै गण्टेउना गर्दा गर्दै ऊ डेरामा पुग्यो ।
घडी हे्यो, एक बज्न लागिसकेको रहेछ । संझ्यो, उसले त आज यति बेलासम्म केही पनि खाएको छैन । अहिलेसम्म त उसलाई भोक पनि लागेको थिएन, अहिले संझेपछि बल्ल उसले भोक लागेको थाहा पायो । अनि खाना बनाएर खायो । दुई बजिसके छ । सधै एक पटकजस्तो खानेगरेको विरुलाई आज त झन् दुई बजे खाएपछि साँझ खानुपर्ने कुरै भएन । ढुक्क भएर विछौनामा पल्टेर चारैतिर हे्र्‍यो र मनमनै विचार गर्‍यो :
‘टी।भी।, क्यासेट, रेडियो, वासिङमेसिन, अझ यी सोफासेटहरू मलाई के काम ? यिनलाई बेच्यो भने पनि दुई चार महिनालाई पुग्छ । तर बेचेर पनि के गर्ने ? यी सामान श्रवण आएपछि त काम लाग्नसक्छन् । उसले कमाएर यी सामान किन्ने कहिले ? फेरि अहिले कवाडिको भाउमा बेचेर पछि नयाँ किन्न पनि मुस्किल छ । त्यसो हुनाले अहिले यी सामान नबेचेर अरू नै केही उपाय गर्नुपर्ला ।’ यस्तै सोचेर ऊ बाहिर निस्क्यो ।
पैसा आउने काम के गर्ने ? अफिसर भइसकेको मान्छे जे पायो त्यही काम गर्न पनि अप्ठारो । राम्रो र इज्जतदार काम के हुन्छ ? कुनै व्यापारिकहाँ काम खोज्न जान पनि अप्ठारो छ । ऊ बैँकमा लोन अफिसर भएर काम गरेको थियो । त्यो बेला ठूला ठूला व्यापारिहरूसित उसले काम गरेको थियो । व्यापारीहरू आएर उसलाई नमस्ते गर्थे । अब के त उसले तिनै व्यापारीलाई नमस्ते गर्दै उनीहरूसित काम माग्न जाओस् ? यो पनि उसको अहंले स्वीकारेन । हो, उसले कुनै स्कुलमा पढाउने काम गर्न सक्छ । त्यसैले ऊ आफूले चिनेको एक जना विमल भन्ने साथि एउटा प्राइभेट स्कुलमा हेडमास्टर थियो । बिरु उसैकहाँ गयो । केही बेरको भलाकुसारीपछि उसले भन्यो :
“विमलजी आजकाल म एक्लै छु, छोरो होस्टलमा बस्छ मलाई समय बिताउन पनि समस्या भयो । मलाई तपाइँकहाँ केही काम दिनुपर्‍यो ।”
“बिरुजी तपाइँ बैँक अफिसर भएर काम गरेको मान्छे, तपाइँलाई सुहाउने काम के दिउँ खै ? चार,पाँच हजारको काम गर्ने मान्छेलाई सम्म त हुन्थ्यो । तपाइँलाई त्यो काम गर्नुस् कसरी भनौँ ?”
“के काम हो त्यो भन्नुस्न त्यसपछि मैले विचार गर्छु नि !”
“मकहाँ के काम हुन्छ ? उही भुराहरूलाई पढाउने सिकाउने त हो नि ।”
“विमलजी, म यही आशाले आएको हुँ तपाइँकहाँ । पढाउने काममा पैसा सोधिन्न, इज्जत हेरिन्छ । तलब धेरै थोरै भन्दा पनि समय बिताउन पनि हुने र पाकेटखर्च पनि हुने । पाँचै हजार भए पनि स्वीकार छ । भन्नुस् म कहिलेदेखि आउँ ।”
“ठिकै छ, त्यसो हो भने भोलीदेखि नै आए पनि हुन्छ ।”
अब बिरुलाई बाँच्नको लागि अप्ठारो नहुने भयो । साथै वर्षौँसम्म दश–पाँचको जागिर खाएर साथिभाइ, इष्ट–मित्रका साथमा समय विताउँदै गरेको मान्छेलाई विनाकाममा एक्लो जीवन बिताउनुपर्दा उकुसमकुस पनि भएको थियो । त्यसबाट पनि केही राहत भयो । उसको समय अब रुटिङ्ग अनुसार चल्ने भयो । सबैभन्दा ठूलो कुरा त सबैलाई भनिरहन नसकिने आर्थिक सङ्कटबाट केही हदमा भए पनि राहत मिल्ने भयो । उसले चाहेको यही थियो त्यो भयो । यसैमा ऊ ढुक्क भयो ।

भाग १५

श्रबणको अन्तिम परीक्षा सकिएर होस्टलबाट डेरामा आयो । एउटा सानो बेन्चजस्तो खाटमा बिरु सुत्नेगरेको विछौना, एउटा कुनामा एउटा स्टोभ, कुकर, एउटा ताप्के, एक सेट थाल, कचौरा र गिलास, बट्टामा चामल, अरू बाँकी ठाउँमा टेविल, दराज, सोफा र तिनैमाथि सबै सामान खात लाएर राखिएको र त्यसलाई एउटा प्लाष्टिकले ढाकिएको थियो । डेराको छानो जस्ताको थियो । ती जस्ता पनि ठाउँ ठाउँमा प्वाल परेका र कतै उचालिएर बाहिरबाट उज्यालो भित्र पसेको थियो । डेराको यो हालत देखेर ऊ एकछिन जिल्ल पप्यो । अमिलो मन पारेर सोध्यो :

“बाबा, यो हाम्रो डेरा कि कुनै माग्ने मान्छेको ? के तपाइँ यहीँ बस्नुभएको थियो ?”

“बाबु छोरा, म एक्लो मान्छेलाई त्यत्रो चारपाँच हजार तिरेर किन बस्नुप्यो ? त्यति पैसाले त मलाई बस्न र खानसमेत पुग्छ । अनावश्यक खर्च गरेर को ठूलो भएको छ र ? मान्छेलाई बस्न र खान पुगे त भइहाल्यो नि ।”

“तै पनि बाबा, तपाइँ अफिसरजस्तो मान्छे । आफ्नो घरमा त्यो सानसित बस्नुभएको थियो । मेरो पढाइको लागि भनेर घर बेचेर डेरामा बस्नुभएको थियो । कम से कम दुई कोठे डेरा भए पनि ठीकै थियो । तर यो त एकदम भिखारीको डेराजस्तो छ ।”

“बाबु, अब म कहाँ अफिसर रहेँ र ? त्यही अफिरी नै अभिशाप भयो । त्यसले गर्दा जुनसुकै काम गर्न पनि अप्ठारो भयो । अहिले मैले पाँच हजारको जागिर खाएर निर्बाह गरिरहेको छु । यो अवस्थामा डेरामा धेरै खर्च गर्नुभन्दा यसैमा बसेर आरामले काम चलाएको हो ।”

“घर बेचेको पैसा सबै मेरो पढाइमा खर्च भएको हो बाबा ?”

“होइन, तँ बिरामी हुँदा र मामु बिरामी भएको बेलामा करीब छ लाख ऋण लागेको थियो । घरबाट आएको ४५ लाखमा तेरो पढाइलाई डोनेशन २५ लाख, चार वर्षको फिस १० लाख र तेरो पाकेटखर्चलाई २ लाख मात्र लागेको हो । पुरानो ऋण तिरेर मसँग करीब एक लाख बचेको थियो । त्यसले यतिका दिन कसरी पुग्ने ? अब तेरो पढाइ सकियो, तैँले प्राक्टिस गर्न पाइस् भने हाम्रो अवस्था सुध्रिहाल्छ नि । किन पीर गर्नुपप्यो ?”

श्रवण केही बोलेन, किन कि उसलाई थाहा छ । एम। बी। बी। एस।को परीक्षा सकिँदैमा कहाँ प्राक्टिस गर्न पाइन्छ । मेडिकल बोर्डबाट स्वीकृति लिनुपर्ने, त्यो बाँकी नै छ । त्यसको लागि समय लाग्छ । यो कुरा बाबालाई पनि थाहा नभएको त होइन होला । तैँले प्राक्टिस गर्छस् र पैसा आउँछ भन्नुको मतलब तैँले पनि केही काम गर भनेको हुनुपर्छ । यही सोचेर उसले खाना खाएपछि बाहिर निस्केर एउटा अस्पतालमा गयो । त्यहाँ उसलाई पढाउने डाक्टर श्रेष्ठलाई देखेर श्रवणको हौसला आयो । किन कि डाक्टर श्रेष्ठले श्रवणको सधै प्रशंसा गर्थे । उनलाई नमस्ते गरेर सामुन्नेमा उँभिइरह्यो ।

“के छ श्रवण, किन आयौ ?”

“सर, म त्यसै बस्न सक्दिन । मलाई सानोतिनो जे भए पनि काम चाहियो ।”

“तिम्ले मेडिकल बोर्डबाट स्वीकृति लिन बाँकी छ । त्यसैले डाक्टरको पूरा जिम्मेवारी दिन मिल्दैन । के गरौँ ?”

“सहयोगीको रूपमा काम गराउन त मिल्ला नि सर ? मलाई जे भए पनि हुन्छ तर काम त नदिइ भएन ।”

“मेडिकल बोर्डबाट पास भएपछि डाक्टरको पदमा भर्ना गरौँला । अहिले सहयोगीको रूपमा मैसँग बसेर काम गर न त । अहिले पाकेट खर्चको लागि पन्ध्र हजार रुपियाँ दिउँला । ल आजैदेखि नाइट ड्युटीबाट काम सुरु गरे हुन्छ ?”

“हुन्छ सर म साँझ सात बजे आउँछु ।” भनेर ऊ डेरामा फक्र्यो र आफूले जागिर पाएको खुसीको खवर बाबालाई सुनायो । अनि उसलाई भन्यो :

“बाबा, अब एउटा डेरा खोजौँ । यो डेरामा यतिका सामानसित दुई जना सुत्नपनि मिल्दैन । साथै मैले पनि पन्ध्र हजारको जागिर पाइहालेँ । यति भएपछि अब त ठीकैको डेरा खोजेर बस्न सक्छौँ ।”

“हुन्छ, पहिले त म एक्लो थिएँ र पो यसले पुगेको थियो  । अब दुईजना भएपछि अप्ठारो हुन्छ जाऔँ” भनेर दुवै बाबु–छोरा डेरा खोज्न गए । डेरा खोजेर अर्को दिनदेखि नै सरेर नयाँ डेरामा बस्न सुरु गरिहाले ।

अबको डेरा भने पूर्व अधिकृत र डाक्टरको लागि नसुहाउने थिएन । दुई वटा कोठा र ठीकै साइजको एउटा भान्सा भएकोले उनीहरूका सामान पनि अटे र एउटा बैठक जस्तो पनि भयो । छोरो आउना साथै यो व्यवस्था हुनसकेकोमा बिरुलाई छोराप्रति गर्व लाग्यो । हुन पनि छोराको लागि उसले के गरेन ? उमेर छँदै विधुर भएको र साथि–भाइ, इष्ट–मित्रहरूले दोस्रो विवाह गर्नुपर्छ भनेर कर गर्दा पनि उसले विवाह गरेन छोराकै लागि । छोराले डाक्टरी पढ्ने इच्छा गरेकोले भएको एउटा घर पनि बेचेर सबै पैसा छोराको लागि नै खर्च गरेर पढायो । बरु आफूले त्यस्तो छाप्रोमा बसेर एक छाक खाएर दुःख गग्यो, छोरालाई दुःख दिएन । आज छोराले छाप्रे डेराबाट यो डेरामा सारेकोमा छोराको व्ववहारमा सन्तोष मान्यो ।

श्रवणले दिन प्रति दिन प्रगति गरिरहेको छ । मेडिकल बोर्डको परीक्षा पनि पास गग्यो । अब त पूरा डाक्टर भएर विरामी हेर्ने, अस्पतालमा काम गर्ने गरेर महिनामा ६०,७० हजार कमाउन थाल्यो । बाबुलाई प्राइमरी विद्यालयको जागिरबाट राजिनामा दिन लगायो । बाबुका पुराना लुगा फाल्न लगाएर नयाँ नयाँ लुगाहरू बनाइदियो । छोराको प्रगति र आफूप्रति छोराले देखाएको सद्व्यवहारबाट बिरु सारै खुसी भयो । अरू सबै राम्रो भइसक्यो अब छोराको बिहे गरिदिन पाए मलाई ढुक्क हुन्छ भनेर एक दिन बिरुले प्रस्ताव राख्यो :

“बाबु, अब पढाइ पनि भयो, जागिर पनि भयो । यत्तिको व्यवस्थित भएपछि तेरो बिहे गर्ने मेरो धोको छ । तैले रुचाएकी कुनै केटी छ भने भन्, होइन भने एउटी केटी खोजेर बिहे गरौँ ।” श्रवणले लाज मानेजस्तो गरेर भन्यो :

‘बाबा, पढ्दा नै एउटी केटीसित कुरा भएको थियो । त्यस बेला पढाइ सकेर जागिरमा लागेपछि गर्ने, भन्ने पनि भएको थियो । त्यसपछि कुरा भएको छैन । अब त उसले पनि जागिर खान थालेकी छ । एक पटक उसलाई सोधौँ के भन्छे । त्यसपछि म भन्छु ।”

“ठीक छ तैँले जोसित मन मिल्छ उसैसित गर्, मलाई आपत्ति छैन । तर अब बिहे भने गर्नुपप्यो ।”

केही दिनपछि श्रवणले मुख खोल्यो :

“बाबा, उसले हुन्छ भनेकी छ, हजुरले हेर्ने कि ?”

“बाबु, तँलाई विश्वास छैन भने मात्र हेरौँ । होइन भने तँलाई मन परेपछि मैले हेनुपर्ने केही छैन । बरु उसको नाम के हो ? कहाँ बस्छे ? काम त डाक्टरी नै होला ।”

“हो बाबा, सँगै पढेको । उसको नाम लिना हो । मलाई त हुन्छ जस्तो लागेको छ । उसले पनि हुन्छ गरौँ भनेकी छ ।”

“हुन्छ, भनेकी छ भने हामीलाई पनि हुन्छ । त्यसो भए बिहे गर्ने । तर उसका आफन्त को को छन्, अरू कसैलाई पनि सोध्नुपर्ने छ कि के छ ? बिहे कसरी गर्ने ? बाजा बजाएर जन्ती लगेर राम्रैसंग गर्ने कि ?, दुई, चार जना मन्दिरमा जम्मा भएर विधि विधान अनुसार गर्ने कि ? साधारण रूपमा माला साटेर गर्ने कि ? एक पटक सबै सोध । मैले अहिले हेर्नुपर्दैन । बिहे भएपछि एकै पटक हेरुँला । हुन्न छोरा ?”

“हुन्छ बाबा, मैले भोली नै सोधेर सबै निधो गर्छु । हुन त मेरा त बाबा हजुर हुनुहुन्छ । उसको त बाबा, मामु, दाजु–भाइ कोही छैनन् । बालमन्दिरमा बसेर पढेकी हो । उसले पो त्यस्तो फर्मायसी गर्ने प्रस्ताव के राख्ली र ?”

“त्यही पनि एक पटक सोध्नु राम्रो । तँलाई अप्ठारो लाग्छ भने चिया खान भनेर यहाँ बोला । मैले मिलाएर सोध्छु ।”

“हुन्छ बाबा, मेरो भोली नाइट ड्युटी छैन । उसलाई भनेर भोली अस्पतालबाट आउँदा लिएर आउँछु ।”

अर्को दिन बिरुले श्रवण आउनुभन्दा पूर्व नै चिया नास्ता बनाएर ठिक्क पारेको थियो । उनीहरू आएपछि बिरु र लिना कुरा गर्न लागे । श्रवण भित्र गएर चिया नास्ता लिएर आयो । श्रवणले चिया ल्याएको देखेर लिनाले भनी :

“ल, चिया तपाइँले ल्याएको ?”

“म तिमीलाई हेर्न गएको भए तिमीले ल्याउने थियौ । मलाई हेर्न तिमी म कहाँ आएपछि मैले चिया लिएर आउनु परेन ?”

श्रवणको कुराले सबै हाँसे र चिया नास्ता गरे । एक छिनपछि बिरुले सोध्यो :

“लिना, तिम्रो घरमा को को छन् केही भन्न मिल्छ भने भन ।”

“भन्न नमिल्ने त केही छैन बाबा, तर मेरो घरमा कोही पनि छैनन् । अनि के भनुँ र ?”

“नभए त भन्ने कुरै भएन । एउटा कुरा सोधौँ है ? के तिमी र श्रवणले आपसमा सँगै बस्ने कुरा गरेका छौ ?”

“हुन त हो बाबा, तर ।।”

“तर के ?”

“मेरो घर, बाबु आमा कोही छैनन् । अनि हजुर्बाट स्वीकृति मिल्छ र ?”

“म त्यस्तो पुरानो विचारधारा राख्ने मानिस होइन । मलाई जातपातमा विश्वास छैन । तिमी चाहे जुनसुकै परिवारको होउ, मलाई आपत्ति छैन । तिमीहरूको भविष्य राम्रो होस् मलाई त्यति भए पुग्छ ।”

“बाबा, मलाई यत्ति भए पुग्छ । हजुरजस्तो बाबा पाएर म आफूलाई भाग्यमानी संझने छु ।”

“ठीक छ तिम्रो भावनाको कदर गर्छु । एउटा कुरा भन त– विवाह कसरी गर्ने विचार छ तिम्रो ? एउटा मन्दिरमा गएर माला साटासाट गर्ने कि ? धुमधामसंग गर्ने कि के गर्ने ?”

“जसको कोही छैन त्यसले के धुमधामको बिहे गर्ने ? म त माला साटासाट गरे खुसी हुन्छु ।”

“तिमी कहाँ बसेकी छौ ?”

“म चाबेलमा एउटा डेरा लिएर बसेकी छु ।”

“त्यसो भए डेरा छोड्ने व्यवस्था गर । भोली मङ्गल बार भयो । पर्सी बुधबारका दिन साडी चोलो लाएर भद्रकाली मन्दिरमा आउ । तिमीले केही ल्याउनु पर्दैन । चाहिने सामान हामीले ल्याउँछौँ । त्यहीँ सबै काम सकेर पर्सीदेखि तिमी यहीँ आएर बस्ने ।”

“हुन्छ ।” भनेर लिना उठी । श्रवण उसलाई बसपार्कसम्म गएर विदा गरेर आयो ।

भाग १६

लिना आएपछि यो डेरा साघुँरो हुँदै गयो । दुवै जना डाक्टर भएपछि बिरामीहरू सोध–पुछको लागि पनि आक्कल–झुक्कल घरमा आउन लागे । बेडरूममा बिरामी लैजान पनि भएन । बाहिर राखेर कुरा गर्नु पनि नराम्रो । त्यसो हुनाले एउटा ठूलै कम्पाउण्ड सहितको घर भाडामा लिए । यसमा भने बेडरूम तीन वटा, किचन, बैठक र एउटा बिरामी हेर्ने कोठा समेतको सुविधा थियो । बाहिर गाडी राख्ने ठाउँ पनि थियो । अब भने साँच्चै डाक्टर बस्नेजस्तो घर भयो उनीहरूको ।

उनीहरूको बसाइ त राम्रो भयो तर काम गर्ने भने कसले ? दुवैजना डाक्टर भएपछि समय पाउन मुस्किल पर्छ । कहिले नाइट ड्युटी त कहिले इमर्जेन्सी कल । आफ्नो प्राइभेट क्लिनिकमा साँझ विहान जानै प्यो । अझ भएन घरमा बसेको बेलामा पनि बिरामी आउने । बिरामीको सेवा गर्नु एक त डाक्टरको कर्तव्य हो भने अर्को उनीहरूको आम्दानीको स्रोत पनि हो । यतिविधि काम गनुपर्ने डाक्टरले घरको काम कसरी गर्न भ्याउने ?

घरमा बस्ने बिरु हो, उनीहरूको व्यस्तता देखिसकेपछि ऊ कसरी बस्न सक्थ्यो । ऊ काम साँचेर बस्नसक्ने मान्छे पनि होइन । आफैं काम गर्न तम्सिन्छ । विहान उनीहरू क्लिनिकमा जान्छन् भात खाने बेलामा आउँछन् । बिरुले नपकाउने हो भने के खाँदा हुन् ? स्थिरले खान त फुर्सत छैन, हतार हतार एक गास खाएर जान्छन् । आएर पकाएर खालान् भनेर बसेर पनि भएन । खाना त बनायो लौ, भाँडा पनि त माझ्नुप्यो । यो काम पनि बिरुकै थाप्लोमा छ । यत्ति मात्र होइन सिङ्गो कम्पाउण्ड सहितको घर बडार–कुडार, किन–मेल, लुगा–लत्ता धोउ, सुकाउ, उठाउ इत्यादि काम पनि सबै उसकै टाउकोमा पर्नगयो ।

बिरु एक्लो थियो आफ्नो मात्र काम हुन्थ्यो हल्का थियो । छोरो होस्टलबाट आयो त्यसका लुगा–फाटा, स्यहार–संभार दोब्बर काम भयो । अब बुहारी आई काम तेब्बरमात्र होइन, चौबर भयो । किन कि एक जनामात्र हुँदा फोहोरो कम हुन्छ, खानाको पदार्थ कम हुन्छ र पाउनापाछो कम हुन्छन् । मान्छे बड्दै गएपछि कामको बोझ डबलिँदै जान्छ । त्यसमाथि पनि बुहारीले सुरु सुरुमा त आफ्ना लुगा आपैम् धुन्थी, आपूम्ले खाएका भाँडा आपैम् माझ्थी अब त नभ्याएको निहुँमा सुस्त सुस्त भाँडा लुगा पनि त्यसै रहन थाले । पहिले पहिले त बिरुले भाँडासम्म माझे पनि बुहारीका लुगा धोएन, तर साँझ आएर बुहारीले भनीः

“आज मैले नुहाएका लुगा धुन नभ्याएर त्यसै छोडेर गएकी थिएँ बाबाले पखालेर सुकाइदिनुहुन्छ कि भनेको त्यसै रहेछन् ।” भनेर श्रवणसित दुखेसो पोख्न थाली । बिरुले सुनिहाल्यो । हो त नि, छोराका लुगा धोइन्छ भने बुहारी पनि त छोरी सरह त हो नि । भनेर कुर्ता–सुर्बाल, पाइण्ट–कमेज, र ज्याकेट स्वेटर धोइदिन थाल्यो । यसरी काम गर्दा बिरुलाई कतिबेलै पनि फुर्सत हुन छाड्यो । विहानदेखि साँझसम्म नै भ्याइ–नभ्याइ उसलाई भयो ।

मान्छे सधै एकै नास कहाँ हुन्छ र ? बिरु दिन प्रतिदिन बूढो हुँदै गएको थियो । पहिलेजस्तो काम गर्न कहाँ सकिन्छ र ? उसको स्वास्थ्यले पनि काम गर्न अप्ठारो पार्न थालेको छ । कहिले रुघाखोकी त कहिले दमले उसलाई सताउन थालेको छ आजकाल । पहिलेदेखि काम गर्ने बानी परेको हुनाले लत्रिपत्री अहिलेसम्म धानिराखेको छ । ज्यान अशक्त हुँदै जाने काम बढ्दै जाने । बुहारीले अब त झन् ब्रा, प्याण्टी, मोजाजस्ता नुहाएका भित्री लुगा पनि धुन छोडी । त्यो पनि बिरुकै कामभित्र पर्न थाल्यो ।

बिरुलाई श्रीमतीले छोडेर गए पनि छोरो थियो । छोरालाई श्रीमतीले चाहे अनुसार डाक्टर बनायो । बुहारी पनि डाक्टर नै पायो । हो, उसको मर्यादा त बढ्यो छोरा बुहारी दुवै डाक्टर छन् । यो पनि कम खुसीको कुरा होइन । घर बेचेर छोरालाई पढाउनुपरे पनि पढेर सकेपछि छोराले झुपुडीबाट उठाएर अहिले बङ्गलामा राखेको छ । यत्रो काम गर्नुपर्दा पनि उसले हरेस खाएन । अब हेर्न बाँकी एउटा नाति थियो । आज ईश्वरले त्यो इच्छा पनि पूरा गरिदिए ।

बुहारीले अस्पतालमा नाति जन्माई । यति भएपछि बिरुको वंशमा एउटा हाँगो पलायो । छोराको जायजन्म देख्न पाइएन भन्ने उसलाई भएन । सरिता भइदिएको भए आज कति खुसियाली मनाउने थिई । के गर्नु ! दैवलाई त्यो सह्य भएन । ऊ असमयमै गई । सुख–दुःख, हर्ष–विष्मात जे भए पनि बिरु एक्लैले व्यहोर्नुपरेको छ । नाति जन्मे वापत् आजको खुसियाली उसले एक्लै मनायो । उसलाई साथ दिने सहयोगी कोही भएन ।

आज विहानैदेखि श्रवणलाई अस्पतालको कामले पूम्र्सत मिलेन । लिनाको डिस्चार्जको काम जसो–तासो मिलाएर ऊ अस्पतालकै काममा लाग्यो । बिरुले लिनालाई टेक्सीमा राखेर जतनसाथ घर (डेरा)मा ल्यायो । गाडीबाट उत्रेपछि पहिले बच्चालाई भित्र राख्यो र बाहिर आएर बुहारीलाई सहारा दिएर भित्र लगेर सुतायो ।

नाति जन्मेको खुसियालीमा बिरुले काम बढेको पत्तो नै पाएन । अस्पतालमा राम्रोसङ्ग खान नपाएकी सुत्केरी बुहारीलाई उसले खाजा र ज्वानोको झोल बनाएर खान दियो । अनि बच्चालाई आमाको दूधले नपुगेजस्तो लागेर बट्टाको दूध बनाएर आपैम् ख्वायो । बनाएर दूध बोतलबाट बच्चालाई ख्वाएको देखेर लिनाले सोधी :

“बाबा, घरमा ज्वानो, दूध, यो बोतल केही थिएन । कहाँबाट ल्याउनुभयो नि ?”

“लिना, तिम्री सासू छैनन्, उनी भएको भए आज कति खुसी हुने थिइन् र यी चीजहरू अस्पतालमै पुगिसकेका हुन्थे । के गर्नु ! मैले अस्पतालमा पु्याउन सकिन । उनी छैननन् भनेर त्यसै बस्न भएन क्यारे । उनी नभए पनि उनको समेत काम मैले गरेको देखेकी छौ । यो सबै उनकै सङ्गतले गर्दा म पनि सुत्केरी र बच्चाको हेर्चाह गर्नसक्ने भएको छु ।

“घर व्यवहारमा त हजुर्लाई कसले भेटाउन सक्छ र ?” प्रकटमा भनी । अनि मनमन भनी :

‘काम गर्ने मान्छे त पक्का पाएकी छु ।’

बिरुले घरको सबै काम गरे पनि बुहारीलाई तेल लगाउने काम गर्ने कुरा भएन । त्यसैले बुहारीलाई भन्यो :

“नाति सुतेको छ, तिमी अब एक्छिन् आराम गर । मैले बजारबाट ल्याउनुपर्ने सामान पनि ल्याउँछु । साथै तिमीलाई तेल लाउने, लुगा धुने मान्छे कोही पाइन्छ कि बुझेर पनि आउँछु ।” भनेर ऊ बाहिर गयो । यसै बीचमा श्रवण पनि आयो । उसले आउनासाथ आफ्नो कोठामा लिनाको र उसको बिछौना अलग अलग मिलाएर लगाइएको देखेर बाबाको प्रशंसा गर्‍यो :

“ल हेर, बाबाले त हाम्रो बिस्तरा पनि मिलाइदिनुभएको रहेछ । यो सानो पलङ कहाँबाट ल्याउनुभएछ । घरमा त थिएन ।”

“त्यत्तिमात्र कहाँ हो र, मेरो लागि खाने कुराको व्यवस्था, हाम्रो छोराको लागि दूध, दूधखाने बोतल आदि सबै व्यवस्था गरिसक्नुभएको रहेछ ।”

“अहिले कता जानुभयो त ?”

“घरलाई चाहिने सामान पनि ल्याउँछु, तेल घस्ने मान्छे पाइन्छ कि बुझेर पनि आउँछु भनेर जानुभएको छ ।”

“बाबाले कति काम गर्नुहुन्छ हो कि ?”

“हामी त भाग्मानी नै रहेछौँ श्रवण, विना पैसामा यस्तो काम गर्ने र विश्वासिलो मान्छे पायौँ ।”

“धत् लाटी बाबालाई पनि त्यस्तो भन्ने हो ।”

“भने पनि नभने पनि आखिर काम बाबाले गर्नुभएकै छ ।”

“बाबाले यसरी काम गरिदिएकोले हामीलाई सजिलो भएको छ । त्यस कारण बाबाप्रति कृतज्ञ बन्नु पर्छ ।”

“कृतज्ञ त हामी भएकै छौँ  नि । यही काम गरे बापत् घरको मालिक बनाएर खाने–बस्ने व्यवस्था गरेकै छौँ । योभन्दा बढी कृतज्ञ के बन्ने हो ?”

“खाने–बस्ने व्यवस्था त बाबाले काम नगरेको भए पनि गर्नै पर्ने थियो नि ।”

“पथ्र्यो होला ।” भनेर लिनाले मुख विगारी । उसको आसय बुझेर श्रवणले कुरा अन्तै घुमायो ।

 भाग १७

मान्छे जन्मेपछि उसलाई पहिलो त खाने कुराको नै आवश्यकता हुन्छ । बच्चालाई उसकी आमाको दूधले पेट भरिएन भने अन्य उपाय गरेर भए पनि उसलाई खुवाउनै पर्छ । आजकाल बजारमा पौष्टिक आहारहरू भनेर विविध खाद्य पदार्थ प्रशस्तै पाइन्छन् । तर बच्चालाई आमाको दूधमा पाइने खाद्य पदार्थ बराबर अरू हुँदैन । लिनालाई आफू स्वयम् डाक्टर भएकोमा अहम् त थियो । ऊ आफैं डाक्टर पनि हो, तर पहिलो पटक बच्चा पाएकीले उसलाई व्यावहारिक कुराको ज्ञान थिएन । ज्वानोले दूध बढाउँछ भन्ने त सुनेकी थिई । तर दूध बढाउने अरू घरायसी चिज पनि हुन्छन् भन्ने उसलाई थाहा थिएन ।

बिरु धेरै हण्डर खाएको विभिन्न समय र परिस्थतिमा बसेर काम गरेको मानिस हो । उसलाई व्यावहारिक ज्ञान छ । उसले लिनालाई ज्वानोको अतिरिक्त मुङ्रिलो, तिल, गुणजस्ता चिजहरू कर लाएर पटक पटक खुवाउन थाल्यो । एक दुई छाक खाएपछि नै असर देखियो । तेस्रो दिनदेखि त बच्चाले खान नसक्ने गरी दूध आउन थाल्यो ।

तेल लगाउन आउनेलाई बच्चा र सुत्केरीका लुगा धुनुका साथै घरका अन्य काम पनि गर्नेगरी लगाएकोले बिरु अब आवश्यक सर्सामान जुटाउने र पकाउने खुवाउने काममा लाग्यो । घरमा सुत्केरी भएपछि एकजनालाई कामबाट फुर्सत पाउन मुस्किल पर्छ । तर बिरु काम गर्न जान्नेमात्र होइन, कामबाट पछि नहट्ने मानिस । उसले सुत्केरीको राम्रो स्याहार गर्‍यो ।

लिना दुई महिनासम्म अस्पताल र क्लिनिक गइन । सुत्केरी भएको पन्ध्र दिनपछि घरमा आएका बिरामीलाई सम्म जाँच गर्ने गरी । यसो हुँदा बच्चाको स्यहार सुसारमा ऊ आफैं लागि । नोकरी गर्ने मान्छेले सुत्केरी छु भनेर कति दिन बिदा पाउने ? दुई महिनापछि त उसलाई अस्पताल नगइ भएन जानथाली । निजी क्लिनिक भने घरमै बनाई । घरमा मात्र बिरामी जाँच्ने गर्दा केही दिन बिरामी घटे पनि सुस्त सुस्त सबैलाई थाहा हुँदै गयो बिरामी आउन थाले ।

लिना अस्पतालको ड्युटीमा गए पनि अघिपछि त घरमै हुन्थी घरमा आउने बिरामीलाई छमर्को पारेर हेर्थी । बँचेको समयमा छोरो “कुलीन” लाई त हेर्ने गरेकी थिई । क्लिनिकमा बिरामीको चाप बढ्न थालेपछि बिरुलाई घरको कामधामका साथै दिनको करीब १६, १७ घण्टा नाति हेर्ने काम पनि एक्लो उसमा आयो । बच्चा जबसम्म बिछौनामा सुतिरहन्छ तबसम्म उसलाई समाल्न सजिलो हुन्छ । चार–हात खुट्टाले हिड्नथाले पछि बच्चा समाल्ने काम अप्ठारो बन्दैजान्छ । अझ टुकुर–टुकुर हिड्नथालेपछि त झन् गाहारो हुन्छ । बिरुको काम दिन प्रतिदिन कडा हुँदै जानथाल्यो ।

बिरुले छोरा श्रवणको धरालो गर्नुपरेको थिएन । काम गर्ने मान्छे थियो । सामान्य रेखदेख श्रीमती विष्टले गरेकी थिइन् । मौका परे सचिव विष्टले समेत हेरिदिन्थे । साँझ विहानको हेर्विचार सरिताले आफैं गर्थी । उसले धरालो गर्ने भनेको त मनोरञ्जनको लागि छोरासित खेल्ने काम मात्र हुन्थ्यो ।

अहिले ऊ नातिको पूरा धराले मात्र होइन घरको कामदार पनि भएको छ । समय र बर्कतले नभ्याउने काम तोकिएर मात्र भएन सक्नु र भ्याउनु पनि पर्‍यो । घरमा बसेर गर्ने काम जसोतसो गर्दै थियो तर घरबाहिर गएर किनमेल गर्न नातिसित नमिल्ने भयो ।

एक दिन घरमा तर्कारी थिएन, नातिलाई लिनासित छोडेर किन्न जान पनि बिरामीको भिड् देखेकोले भन्न मन लागेन उसलाई । घरमा जे थियो त्यही बनायो । साँझ छोरो फर्किने र बुहारी क्लिनिकबाट निस्कने सँगै भयो । बिरुले कुलीनलाई सुताउँदै थियो । भान्सामा आउँदा सबै एकै पटक आए । त्यहाँ आएपछि बिरुले भन्यो :

“आज कुलीन दिउँसो धेरैबेर सुतेन, अहिले बल्ल सुत्यो । घरमा तर्कारी थिएन लिन जान पनि पाइएन । आज त दाल र भात मात्र पकाएको छु । यसैमा निर्बाह गर्नुपर्ने भएको छ ।”

“हुन्छ नि बाबा, हामीले नभ्याएका बेला पहिले पनि यसैगरी निर्बाह गरेका थियौँ । आज एक छाकलाई पनि निर्बाह भइहाल्छ ।” श्रवणले भन्यो । तर लिनाले नाक चेप्र्याएर भनी :

“मैले त यसरी खाएकी छैन । दालसित मात्र यस्तो खाना कसरी खाने ?”

“तिमीकहाँ बिरामीको भिड भइरह्यो, नातिलाई त्यसै छोड्न सकिन । तर्कारी किन्ने मौकै मिलेन । भोली केही गर्न सकिन्छ कि ? हेरौँला ।”

“केही न केही तर्कारी नजिकै पनि पाइन्थ्यो होला, बाबुलाई लिएर गएको भए पनि विग्रने थिएन ।”

“बाहिर धूलो, धुवाँमा यो सानो बच्चालाई लिएर जान पनि मन लागेन । यसलाई बोकेर कहाँ कहाँ जाने ? काखमा राखेर हिड्न पनि सकिन्न । लडिन्छ कि भन्ने डर लाग्छ ।”

“हजुर्लाई कुलीन बढी भयो ।”

“लिना ! के भनेको तिमीले ? एक दिन तर्कारी नभएर के विग्रेको छ र ?”

श्रवणले ससुरा बुहारीको बीचमा पसेर कुरा मिलाउने प्रयास गर्‍यो । तर लिनाले मुख विच्काएर बसी । ऊ आधा भात खाएर उठी । अरू दिन जुठोभाँडो गर्न बिरुलाई सघाउँथी, तर आज आफूले खाएका भाँडामात्र माझेर कोठामा पसी । लिनाले बाबाप्रति गरेको व्यवहारले श्रवणले कुरा बुझ्यो ऊ बाबासित सन्तुष्ट छैन । उसले बाबालाई नोकर सरह व्यवहार गरी भन्ने पनि बुझ्यो । लिनाले एक दिन भनेकी पनि थिई “हामी भाग्यमानी रहेछौँ इमानदार नोकर पाएका छौँ” भनेर । तर बाबाको पक्ष लिएर बढी बोल्न भने सकेन । किन कि भोली आफ्नो जीवन उसैसित बिताउनुपर्ने छ भन्ने संझेर ऊ चुप रह्यो ।

यस घटनाले बिरु मर्माहत भयो । उसले खाना त खायो तर खाएको स्वाद पाएन । उठेर भान्सा सफा गर्‍यो, भाँडाकुडा सफा गरेर थन्क्यायो र कोठामा पस्यो । तर आज उसलाई सुत्न मन लागेन, धेरै बेर टोलाएर बस्यो ।

बिरुको मन आज अतिततिर फर्क्यो । उसले आफ्ना स्वर्गबासी बाबु आमालाई संझ्यो । त्यहाँको अवस्था, उनीहरूको अवसान, तानसेनको बसाइ, बुटवल आएको र विष्टजीसित काठमाडौं आएकोले नै आजको स्थितिमा आइपुगेको हो ऊ । नभए कहाँ भाँडा माझेर बस्ने थियो होला । न त उसले पढ्न पाउँथ्यो, न सरितासित बिहे हुनेथियो,  न श्रवणले नै जन्म पाउँथ्यो । जे भए पनि छोरो त आफ्नै हो । उसले अप्ठारो परेको बेलामा त कसो नहेर्ला ? उसको मनमा आशा पलायो । यो सबै हुनुमा उसले विष्टजीलाई नै कारक मान्यो । त्यसैले उनीप्रति मनैमन कृतज्ञता जाहेर गर्‍यो । यसबाट उसलाई सान्त्वना मिल्यो र ऊ सुत्ने प्रयासमा लाग्यो ।

आज बिस्तराले नै घोँचेजस्तो भयो । कोल्टे फेर्‍यो । यता फर्क्यो उत फर्क्यो तै पनि उसलाई निदै लागेन । बिहानीपख निद आउलाजस्तो भएको थियो तर अब त उठ्ने बेला भइसकेको छ के सुत्नु ? उठेर बाहिर आयो ।

भाग १८

कोठामा गएपछि श्रवणले भन्यो :

“बाबालाई काम बढी भयो । एउटा काम गर्ने मान्छे खोज्नुपर्ने भयो ।”

“अर्काको घरमा नोकर बनेर सारा काम सकेर अफिस समेत भ्याएका मान्छेलाई यति काम के बढी हुन्छ ? बसेर खानपाए कसले काम गर्छ ?”

“मान्छेले सधैभरी उत्तिकै काम गर्न कहाँ सक्छन् र ? रिटायर्ड भएकै छ/सात वर्ष भइसक्यो ।”

“गरौँ भने यति काम गर्न सकिन्छ ।” भन्दै लिना गएर सुती । यसले बाबालाई बढी देख्न लागी भन्ने श्रवणले अनुमान लगायो तर केही बोलेन ऊ पनि सुत्यो ।

हिँजो चाँडै नै सुतेकी लिना आज उठेर कुलीनलाई दूध खुवाएर फेरि सुती । त्यो देखेर श्रवणले सोध्यो :

“आज क्लिनिक खोल्ने होइन र ?” ।

“आज सन्चो भएन । टाउको गह्रौँ भएको छ । म आज क्लिनिकमा बस्दिन ।” भनेर ऊ सुतिराखी । बिरुले चिया ल्याएर टेविलमा राखेर बाहिर गयो । श्रवण चिया खाएर बाहिर गयो । लिना चिया खाएर फेरि सुती ।

बिरुले तर्कारी ल्याएर खाना तयार गर्‍यो । श्रवणले आज म पनि घरै खान आउँछु भनेकोले बाहिर आएर बस्यो । त्यसै बेला श्रवणले एक जना काम गर्ने मान्छे लिएर भित्र पस्यो ।

“बाबा, तपाइँलाई काम बढी भयो । अब काम गर्न सक्नुहुन्न । घरको सबै काम यी मायाँ दिदीले गर्नुहुन्छ । तपाइँले किनमेल गर्ने, उहाँलाई सिकाउने र बेला बेलामा कुलीनलाई हेर्ने काम गरे हुन्छ । अब तपाइँको आराम गर्ने बेला भयो ।”

लिनाले श्रवणले भनेका कुरा सुनी, तर यसमा प्रतिक्रिया केही जनाइन । सबै जनाले खाना खाए । लिना र श्रवण अस्पतालतिर लागे । बिरुले मायाँलाई गर्नुपर्ने काम र व्यवस्था बताएर आपूmले कुलीनलाई खुवाउन थाल्यो ।

कहिले कहीँ बुहारीले देखाउने हर्कतले गर्दा मन खिन्न हुने भए पनि मायाँ आएपछि बिरुको काम हल्का भयो । घर खर्चलाई पैसा श्रवणले दिने गरेकोले बुहारीसित माग्नुपर्दैन । तै पनि ऊ बिरुसित तरक तरक गर्छे । लिनाको व्यवहार बिरु र श्रवण दुवैले  बुझे पनि नबुझे झैँ गर्छन्, तर तैँ चुप् मै चुप् कोही बोल्दैनन् । एक दिन लिनाले श्रवणलाई भनी :

“हामीलाई क्वाटरमा नै बस्नु भनेर अस्पताल प्रशासनले भनेको धेरै दिन भयो । अब हामी क्वाटरमा बस्न जाउँ । क्वाटर पाउँदा पाउँदै घर भाडामा लिएर किन बस्ने ? घर भाडामा लिने पैसाले बाबुलाई हेर्चाह गर्ने मान्छे राख्न पुग्छ ।”

“अनि हामी क्वाटरमा बसेर बाबालाई के गर्ने ?”

“बाबालाई एउटा कोठा खोजेर राख्ने । एक जनालाई धेरै कोठा चाहिन्न । ठिक्कको एउटा कोठा भए बाबालाई भइहाल्छ । अहिले जस्तो धेरै पैसा त तिर्नुपर्दैन ।”

“बाबालाई एक्लै छोडेर हामी क्वाटरमा बस्दा राम्रो हुन्छ ?”

“त्यसमा के आपत्ति छ र ? हामीसित बस्दा बाबालाई बढी काम गर्नुपरेको छ । एक्लै बसे पछि काम पनि कम हुन्छ । बाबालाई पनि आराम हुन्छ हामीलाई पनि डेरा र अस्पताल गरिरहन पर्दैन । बाबालाई चाहिने पैसा दिए त भयो । क्वाटरमा बस्दैमा भेटै नहुने होइन, बेला बेलामा भेट गरे भैहाल्छ ।”

“बाबाले मेरो लागि धेरै दुःख गर्नुभएको छ । अहिले उहाँलाई छोडेर जाँदा राम्रो हुन्न । लोकलाज बचाउन पनि उहाँलाई एक्लै पारेर जान हुन्न । उहाँले पनि चित्त दुखाउनुहुन्छ । मेरो लागि पनि यसमा जिद्दी नगर ।”

श्रवणको अप्ठारो बुझेर हो कि के हो ? त्यसपछि लिनाले क्वाटरमा जाने कुरा त गर्न छोडी तर बिरुप्रति उसको नकारात्मक रबैया भने झन् बढ्दै गयो । बिरुले कुलीनलाई ख्वाएको, स्यहार–सम्भार गरेको कुरामा पनि उसले विश्वास गर्न छोडी । बिरुले जतिसुकै राम्रो काम गरे पनि केही न केही खोट लगाउन थाली । श्रवण लिनाको व्यवहार थाहा पाएर पनि उसको विरोधमा बोल्न सकेन । यसबाट बिरु निराश हुँदै गयो । उसलाई सरिताको अभाव अहिले आएर खड्किन थाल्यो ।

विरुले बिस्तरामा पल्टेपछि विष्ट परिवारलाई संझन थाल्यो ।

‘मान्छेले खाली पैसा हेर्दोरहेछ । पैसा, आफ्ना छोरा–छोरी, र लोग्ने–स्वास्नी भएपछि बाबु–आमा, इष्ट–मित्र कोही चाहिँदो रहेन छ । त्यत्रो घरबार, गाडी बैँक–व्यालेन्स भएको परिवारमा त पैसाका लागि आमाबाबुलाई छोडेर छोराबुहारी अमेरिकातिर लागे । आमा मर्दा क्रिया गर्नसम्म अएनन् । बाबु मर्दा संपत्तिको लागि आठौँ दिनमा छोरो मात्र आयो । त्यै पनि क्रिया नगरेर मेरो जिम्मा लगायो भने मेरो के कुरा गर्ने ? म त नङ्गा । एउटा भएको घर पनि त्यही छोरालाई पढाउनमा बेच्नु पप्यो । बुहारीले त घर थियो थिएन त्यो पनि देखिन । उसको लागि मेरो के लेखा ? न मैले कमाएको उसले देखी, न मेरो घरबार । अहिले त उनीहरूले कमाएर मलाई पाल्नुपर्ने । अनि बुहारीको आँखामा म एउटा नोकर सरह नभएर के हुने । संसार यस्तै रहेछ । सबै बलेको आगो न ताप्छन् । निभेको आगो कसले ताप्ने र त्यसबाट के पाउने ?’

यस्तै चिन्तन गर्दा गर्दै विरुको आँखा रसाएर आए । आँसु पुछेर आफूलाई सान्त्वना दिने असफल प्रयास गर्‍यो ।

अर्को दिन बिहान बिरु उठ्न खोज्दा दायाँ गोडा लुलो भएर टेकिएन । हातले सिरक उठाउन खोज्यो, हात पनि लुलो भएजस्तो भयो । बायाँ हातले सिरक पन्छाएर बल्ल बल्ल उठेर बस्यो । तर गोडाले टेकेर उँभिन सकेन । रिँगाएजस्तो भयो, आँखा चिम्लेर फेरि बिस्तरामा पल्ट्यो । त्यसै बेला मायाँले चिया लिएर आई । उसले बिरुलाई दाइ भन्ने गरेकी थिई ‘दाइ ! दाइ !!’ भनेर बोलाई । बिरुले आँखा नखोलीकन ‘हुँ !’ मात्र गर्‍यो अरू हलचल केही गरेन । मायाँ श्रवणको कोठामा गएर भनी :

“दाइ हिँजो अस्ती चाँडै नै उठ्नुहुन्थ्यो । आज उठ्नुभएको छैन । बोलाउँदा एक पटक ‘हुँ !’ मात्र गर्नुभयो । उठ्नुभएन ।”

मायाँको कुरा सुनेर लिनाले मुख बँग्याई श्रवण उठेर बिरुको कोठामा गएर ‘बाबा !’ भनेर  बोलायो तर ऊ बोलेन । नाडी छाम्यो धड्कन बेसुरको देखियो ।

“बाबालाई हृदयाघात भएजस्तो छ तुरुन्तै अस्पताल लानु पप्यो ” भनेर लिनालाई बोलायो । तीन जना मिलेर गाडीमा राखेर अस्पताल लगे । तीन दिन पछि होस् आयो । पन्ध्र दिन अस्पताल राखेर घर ल्याए । तर दायाँ हातले खास काम गरेन, गोडालेसम्म अलिकति काम गर्‍यो पहिलेजस्तो भएन । बिरु अपाहिज भएर अरूको सहारामा बाँच्नुपर्ने भयो ।

मान्छे अप्ठारोमा परेपछि ईश्वर र आफन्त सम्झन्छ । बिरुका आफन्तमा पहिलो त उसका बाबु–आमा थिए, तिनीहरू पहिले नै गएका थिए । दोस्रोमा उसका आफन्त विष्टदम्पति थिए तिनीहरू पनि गइहाले । बाँकी एउटा छोरो श्रवण छ । सहारा भने पनि आश्रय भने पनि उही हो । त्यो पनि लिनाको सामुन्नेमा परेपछि बोल्न सक्दैन । जे भए पनि अहिलेसम्मको आधार त्यही हो । त्यस बाहेक त ईश्वर मात्रै हो बिरुको पुकार्ने आधार ।

भाग १९

घरभेटीले घर छोडिदिए तला थप्ने थिएँ भनेर भनिसकेको थियो । श्रवणले डेरा खोजौँ भनेको पनि हो । लिनालाई अस्पतालको क्वाटरमा सर्न पाइहालिन्छ कि भन्ने अलिकति आशा थियो । क्वाटरमा सर्न पाइयो भने डेरा खोज्ने झन्झट हुने थिएन भन्ने उसलाई थियो । तर बिरु अपाहिज भएपछि त त्यो पनि हरायो । किन कि श्रवणले पहिले त बाबुलाई छोड्न मानेन अब त झन् मान्ने कुरा पनि भएन । अब त लाजकाजले पनि बिरुको यस्तो अवस्थामा उसलाई एक्लै छोडेर क्वाटरमा जाउँ भन्न सक्ने स्थिति उसमा पनि रहेन । एक त घरभेटीले छोड भनिसक्यो, अर्को मायाँ आएपछि कोठा पनि नपुग्ने भयो । डेरा नखोजी भएन तर डेरा खोज्न जाने को ?

काठमाडौँमा डेरा नपाइने त होइन, तर सस्तो र ठिक्कको डेरा पाउन निकै पापड बेल्नुपर्छ । अहिलेसम्म यस्ता काम बिरुले गरिरहेको थियो । ऊ गर्न नसक्ने भएपछि आपैम्ले नगरे कस्ले गर्ने ? बिदाको दिन पारेर लिना र श्रवण डेरा खोज्न गए तर दिनभरको मेहनतमा पनि भनेजस्तो डेरा पाउन सकेनन् त्यसै पर्केर आए । डेरा कसरी खोज्नसकिन्छ ? भन्ने बारेमा साँझ बिरुसित श्रवणले सल्लाह माग्यो । बिरुले पत्रिका हेरेर दलाललाई फोन गर्न भन्यो । श्रवणले त्यसै गर्‍यो । दलाल मार्फत् अर्को दिनमै डेराको समस्या त टर्‍यो । तर डेडी महङ्गो । त्यसमा पनि पानी बिजुली र सर्सफाइ त अलग्गै तिर्न परिहाल्छ । यो डेरावालाको नियति नै हो ।

बिरुले काम गरेर अरूलाई सहयोग र्ने त कुरै भएन, आफूलाई खान पनि अर्काको मुख ताक्नुपर्ने भएको छ । अल्लि गोडा दरिएपछि चिया पकाउन सम्म त सक्थ्यो होला । अहिले त भर्खर थला परेर उठेकोले त्यो पनि सम्भव छैन । छोराबुहारीले पकाएको खाना नास्ताको त कुरै भएन एक कप चिया पनि उनीहरूले बनाएको बिरुले आजसम्म खाएको छैन । घरको काम गर्ने भनेको मायाँ हो । बिरुले चिया खान मन लागेको बेलामा उसैलाई भन्ने गर्छ । उसले कति बेला समय पाउँछे र चियाखान दिन्छे भनेर पर्खनु उसको नियति हो । कहिले त अरू काम गर्दा गर्दै बिर्सन्छे र ज्या ! मैले त बिर्सेँछु भन्छे । कहिले कहीँ त काम गर्दा गर्दा हैरान हुन्छे । त्यसमाथि कुलीनले दुःख दिएको हुन्छ । त्यस्तो बेला प्यो भने नबिर्से पनि बिर्सेँ भनिदिए भयो, के ठेगान !

लिनाको कोठामा गयो भने कुलीनले कोठाका सामान चलाउने फाल्ने बिगार्ने हुनाले उसले आपूम्सित राख्नै चाहन्न । मायाँलाई बोलाएर लैजान भन्छे । एक दिन बिरुलाई चिया दिन लागेकोले ढिला भयो । भनेको बेलामा मायाँ लिन गइन । उसले सोधी :

“बाबु लिन बोलाएको बेलामा किन नआएको ?”

“दाइलाई चिया पकाइदिन लागेकी थिएँ, उम्लिन लागेकोले ढिला भयो ।”

“जतिबेला पनि चिया घिचाइरहनु पर्छ ? बिहान एक कप दिउँसो एक कप दिए पुग्छ । हामीले पनि त त्यत्ति खाने हो नि ?” भनेर लिनाले मायाँलाई गाली गरेको बिरुले सुन्यो ।

उसलाई यस घटनाले ज्यादै चोट पर्‍यो । तर पर निर्भरतामा बाँचेको मान्छे उसले के गर्न नै सक्थ्यो र ? यो कुरा छोरालाई भनेर पनि काम छैन । लिनाको अगाडि श्रवणले केही बोल्न सक्दैन । बिरु भित्र भित्र उकुस मुकुस भएर बस्यो । बिरुलाई त्यस दिन खाना खान पनि मन लागेन । सञ्चो छैन, भनेर खाना खाएन । श्रवण राती आयो ।

“खाना सबैले खाइसकेको हो ?” भनेर मायाँसित सोध्यो ।

“दाइले सञ्चो छैन भनेर खानु भएन । मेमसाहले खाएर सुत्नुभएको हो । मायाँले भनी तर श्रवणले त्यसमा कुनै चासो दिएन । आफूले खाना खाएर कोठामा गयो र लिनालाई “बाबाले सञ्चो छैन भनेर खाना पनि खानुभएन छ” भनेर सुनायो । लिनाले झर्केर भनी

“दश पटक चिया खाएपछि खाना खान मन लाग्छ त ?”

श्रवणले श्रीमतीको कुरा सुनेपछि समर्थन पनि गरेन र प्रतिबाद पनि गरेन, आफ्नो बिस्तरामा गएर सुत्यो । अर्को दन पनि श्रवण बाबाको कोठामा गएन । चिया खाएर क्लिनिकमा गयो । उसले बिदाको दिन बाहेक अरू दिन बिहानको खाना घरमा खान्न । क्लिनिकबाट सोभैझै अस्पताल जानछ, त्यहीँ केही खान्छ र साँझ क्लिनिकको काम सकेपछि एकै पटक घर आउँछ । त्यसो भएर दिनभर घरमा के हुन्छ कसो हुन्छ उसलाई थाहा हुँदैन । घरको व्यवस्थापन लिनाको निर्देशनमा चल्छ ।

एक कप चिया खान खोज्दा पनि लिनाले यस्तो वचन लगाई । बिरु त्यस दिन रातभर निदाउन सकेन । उसले आफ्नो अतित सोचेर रात बितायो ।

“संसार कति मतलबी रहेछ । सरिताले छोडेर गएपछि अर्को बिहे गर्नुपर्छ भनेर साथि–भाइ, इष्ट–मित्रहरूले त्यसरी कर गर्दा पनि छोराको लागि भनेर मैले अर्को बिहे गरिन । त्यो छोरो बिरामी हुँदा सरिता र म कति रात जागाराम बस्यौँ । जन्मेदेखि आजसम्म के के गरिन ? त्यसको गुहू–मुत स्यहारिएन कि थाङ्ग्रा धोइएन कि ? अहिलेसम्म पनि मैले त्यसले लगाएको कट्टुसम्म धोएँ । छोराको खुसीको लागि भनेर बुहारी बनाएर यसलाई भित्र्याएँ । कुल–घरान, जात–पात केही खोजिन । मैले सक्दासम्म त्यसका पेण्टी र ब्रा समेत धोएँ । आज एक कप चिया खाँदा पनि मायाँलाई गालि गरेजस्तो गरेर ’जतिबेला पनि चिया घिचाइरहनु पर्छ ?’ भनेर मलाई सुनाई । यसले मलाई भार संझेको त होला ।

’के छोराले पनि मप्रति त्यस्तै व्यवहार गरेको हो ? नभए त मायाँले सञ्चो भएन भनेर खानुभएन भनेपछि “के भयो, किन खाना खानुभएन ?” भनेर एक आखर सोध्न आउनुपर्ने । आएन त खै ? बुहारीको अगाडि लुरुक्क पर्छ । त्यसले मलाई हेपेर बोल्दा यसो नभनसम्म भन्नुपर्ने । केही बोल्दैन  । यसको मतलब ऊ पनि मप्रति सकारात्मक छैनजस्तो छ । छोरो भनेर तन, मन र धन समेत लगाएर हुर्काएँ, बढाएँ, पढाएँ । आमाको मायाँ समेत उसलाई दिएर स्यहारेको कति चाँडो बिर्सेको श्रवणले । बुहारी त झन् अर्काकी छोरी उसलाई मेरो मायाँ किन लाग्थ्यो ?’ यस्तै गण्टेउना गरेर बिरुले रात छर्लङ्ग पा्यो ।

बिहानको पाँच बजेको सङ्केत घडीले दियो । ऊ उठ्न खोज्यो । हात गोडाले जबाफ दिए उठ्न सकेन । सम्झ्यो, ऊ त अपाङ्ग पो हो भन्ने ।

ऊ सद्दे हुँदा बिहान पाँच बजे नै उठेर छोरा बुहारीलाई चियो समेत खुवाइसक्थ्यो । घरको बडार–कुँडार, सरसफाइ गरेर खाना बनाउने काम पनि उसले एक्लै गर्थ्यो । अहिले ऊ बिरामी छ, अझ अपाङ्ग भएर अरूको सहायतामा बाँच्नुपर्ने भयो । त्यसै भएर त एक कप चिया खानखोज्दा पनि’

’जति बेला पनि चिया घिचाइरहनु पर्छ ?’ भन्ने भनाइ खानुपरेको छ उसलाई । उसले विचार गर्‍यो ।

’अब मलाई किन पाँचै बजे उठ्नुपर्‍यो, के गर्न उठ्ने, कसको लागि उठ्ने ? काम गर्न नसक्ने लङ्गडोलाई जति बेला उठे पनि भयो । जति बेला सुते पनि भयो । एक प्रकारले म अब फुक्का पनि भएँ ।’

यसरी चित्त बुझाएर बिरु सुत्यो । साँच्चै उसलाई आनन्द आयो क्यारे ! रातभर सुत्न नसकेको ऊ अलिे मस्तसङ्ग निदायो । आजकाल सपना नदेखेको धेरै भएको थियो आज बल्ल उसले सपना देख्यो, त्यो पनि उसले जिन्दगीमा नसोचेको सपना :

’ऊ एकदम धनी मानिस रहेछ । उसको ठूलो कम्पाउण्डवाल सहितको चार तले लिफ्ट राखेको घर रहेछ । दश, बाह्र वटा बस रहेछन् । ठूलो व्यापार पनि रहेछ । सयौँ कामदार उसका अगाडि पछाडि हिँड्दा रहेछन् । उसको चक्चकी देखेर  उसका साथि–भाइ, इष्ट–मित्रहरू सबैले उसको हाइ–हाइ मनाउने गर्दारहेछन् । उसकी प्यारी श्रीमती सरिता पनि साथै रहिछ । छोरो श्रवण, बुहारी, नाति सबै उसको आज्ञापालक भएका रे !

फेरि सपनाको दोस्रो रिल घुम्यो– उसका कामदारहरूले बेइमानी गरेछन् । उसको व्यापारमा करोडौँ घाटा परेछ । उसले आफू बसेको घरकम्पाउण्ड धितो राखेर बैँकबाट ऋण लिएको रहेछ । व्याजसमेत चल्न नसकेको हुनाले घर लिलामीमा चढेछ । घरले पनि बैँकको ऋण नउठेर बस पनि लिलामीमा परेछन् । यही बेला कर्मचारीको तलब समेत रोकिएर कर्मचारीले घेराउ गरेका रहेछन् बल्ल बल्ल कर्मचारीको घेरा तोडेर बिरु एउटा गुफामा गएर लुकेको रहेछ । त्यस गुफामा पनि भालु रहेछ रे ! त्यो भालु मान्छेजस्तै बोलेर उसलाई भनेछ :

“बिरे ! तेरा दिन गए अब । तैँले जे जति खानुपर्ने थियो खाइसकिस् । अब त तँलाई खाने पालो हाम्रो हो ।” भनेर उसतिर आउन लागेछ । भालुले आफूलाई आक्रमण गर्न आँटेको देखेर ऊ आत्तिएर जाग्यो । जाग्दा पसिनाले लतपत भएको थियो । भित्तामा टाँगेको घडी हेर्‍योयो, विहानको नौ बजिसकेको रहेछ ।

’के हो यस्तो सपना । कहिले कहीँ त समनामा देखेको कुरा साँचो हुन्छ भन्छन् । तर म त करोडौँको मालिक कहिले पनि भइन । हो, चालीस पचास लाखको मालिकसम्म म पनि भएको थिएँ । अहिले म साँच्चै ओडारमा बस्ने लायक भएको छु । छोरा बुहारीले हेरेनन् भने भिखमङ्गा भएर पाटीको बास भइहाल्छ मेरो । बुहारीको रबैया हेर्दा उसले मलाई कति दिन हेर्ली र ? बुहारी नभए छोरालेसम्म त हेर्नेथियो कि । बुहारीका कारणले ऊ अहिले पनि बोल्न सक्दैन । भोली बुहारीले भनी भने मलाई खान–बस्न पनि नदिने हुन् कि ! त्यस बेला मेरो बास ओडार नभएर के हुन्छ ?”

बिरुले यस्तै तर्कना गर्दै थियो मायाँले चिया ल्याएर राखी । उसले सधै जस्तो आज पनि चिया राखेर टेबिल उसको नजिक सर्काएर गई । चिया खाँदा खाँदै पशुपतिमा देखेको घटना सम्झ्यो । त्यस दिन छोरालाई कलेजमा भेटेर पशुपतितिर घुम्न गएको थियो । पशुपति मन्दिरको ढोका अगाडि हुँदै बृद्धाश्रम अगाडिबाट वनकालीतिर जाँदै थियो । त्यहाँ बृद्धबृद्धाहरूले घाम तापिरहेका थिए ।

उसले उँभिएर तिनीहरूलाई हेर्‍योयो । छोराले हेरेन भने मेरो हालत पनि भोली यस्तै हुने हो कि ? शङ्का गर्‍यो । त्यहाँबाट ऊ तल घाटमा गयो । त्यहाँ एउटा बेवारिसे लास मुखमात्र छोपेको देख्यो । अलि वर बसेका दुई जनाले कुरा गरेको सुन्यो । पहिलो व्यक्तिले दोस्रोलाई सोधेको थियो :

“यो लास कसको रहेछ ? वरिपरी कोही पनि छैनन् ।”

दोस्रोः “यो यहीँ यतै पागलजस्तो भएर हिड्ने मान्छेको लास हो । उसका छोराहरू पनि छन् तर उनीहरू कोही पनि लास बुझ्न नआएकोले पशुपति विकास कोषले बेवारिसी रूपमा उठाएर ल्याएको हो ।”

“यसका छोराले के गर्छन् नि ?”

“कोही विदेशमा छन् रे,  एउटा त यहीँ ठेक्कापट्टाको काम गरेर हिँड्छ भन्छन् ।”

“यहाँ भएको छोराले जिउँदो छँदासम्म त हेरेन, के मरेपछि बाबुको लास बुझ्न पनि आएन ?”

“आजको मान्छेलाई पैसा भए पुग्छ । मायाँ, दया, धर्म, संस्कृति, कर्तव्य र नैतिकता, इमानदारिता जस्ता कुरा बिर्सेजस्तो छ ।” मान्छेले छोराछोरीका लागि जिउधन लगाएर हुर्काउनु बढाउनु पनि बेकार रहेछ ।”

यिनीहरूको कुरा सुनेर बिरुलाई आफैंमा घटेजस्तो लाग्यो । उसको मन विचलित भयो । त्यसपछि ऊ आफैं सम्हालिएर अनावश्यक चिन्ता लिएर भौँतारिएकोमा आफैंलाई दोषी ठानेर डेरामा फर्केको थियो । उसले आफ्नो छोरालाई दोषी ठहर्‍याउन सकेको थिएन । अहिले पनि छोरामा भरोसा गर्दैछ । अपाहिज बिरुको लागि बाध्यता पनि त छ ।

भाग २०

अर्को दिन साँझ क्लिनिकबाट फर्केपछि श्रवणले भन्यो :

“बाबा, हिँजो म क्लिनिकबाट फर्किँदा अलि अबेला भएको थियो । तपार्इँ निदाएजस्तो लागेर उठाइन । बिहान पनि अलि हतार थियो चाँडै गएँ । तपाइँले सञ्चो छैन भनेर हिँजो नखाइकन सुत्नुभएको रहेछ । आज कस्तो छ ? हिँजो के भएको थियो ?”

“खास केही होइन बाबु, टाउको गरौँजस्तो भएको थियो । दिउँसो एक कप चिया घिचेको थिएँ त्यसै भएर खान मन लागेन ।”

लिनासित बाबाले खाना खानुभएको रहेनछ, भनेर श्रवणले भन्दा उसले “दश पटक चिया घिचेपछि खाना खान मन लाग्छ त ?” भनेकी थिई । बाबाले नखानुको कारण उसले बुझ्यो । तर के गर्ने ? बाबाको पक्ष लिएर श्रीमतीसित झगडा गर्न पनि ऊ सक्दैनथ्यो । त्यसैले बाबालाई भन्यो :

“यस्ता सानातिना कुरा लिएर टेन्सन लिन हुन्न । मैले लिनालाई सम्झाउँछु ।” भनेर ऊ आफ्नो कोठामा गयो ।

श्रवणको कुरा पत्याउने कि नपत्याउने बिरु असमञ्जसमा पर्‍यो । नपत्याउने हो भने छोरो हो, उसैको सहारामा बस्नुपरेको छ । के छ, कसो छ भनेर सोध्ने यो घरमा अरू कोही छैन उही एउटा हो । पत्याउँ भने लिनाको ज्यादतीमा खुलेर बोलेको आजसम्म थाहा छैन । श्रवणको दोधारे व्यवहार देखेर उसले खुट्याउनै सकेन । तैपनि ’लिनालाई संझाउँछु’ भनेर गएकोमा उसलाई छोराप्रति भरोसा नगरी भएन । लिनाले चियाका बारेमा गरेको व्यवहार पछि अरू दुर्वाच्य बोलेकी थिइन । त्यसैले उसले त्यो कुरा बिर्सँदै गयो र उसका दिन भित्र, बाहिर र बरण्डा यही चारदिवारी भित्र बित्तै गए ।

बिरुले आफू स्वस्थ हुँदै एक, दुइ वटा पत्रिका लिने गरेको थियो । तिनै पत्रिकामा अल्झेर उसले धेरै समय बिताउने गरेको छ । बिहानको पत्रिका तानेर सुतिसुति पत्रिका पढ्न थाल्यो । हेर्दै जाँदा उसका आँखा एउटा शीर्षकमा गएर रोकिए । त्यसको शीर्षक थियो “करोडपति छोराकी आमा बृद्धाश्रममा रुँदै ।”

उसले त्यस शीर्षकको विषयबस्तु पढ्न थाल्यो । त्यसमा लेखिएको थियो :

“पढ्दा झट्ट कसैलाई पत्यार लाग्दैन । तर कुरा यथार्थ हो । यो संबाददाता पशुपति बृद्धाश्रममा पुग्दा एक जना अशक्त बृद्धा र पशुपति बृद्धाश्रमका कर्मचारीका बीचमा यस्ता कुरा भइरहेका थिए :

“बाबु अब म कति दिन बाँचुला र, केही दिनको लागि मलाई यहीँ आश्रय दिनुस् ।”

“तपाइँको घर कहाँ हो आमा ?”

“अब मेरो घर कहाँ हो भनौँ बाबु ! मेरो पुरानो घर वीरगञ्ज थियो । अब कहीँ छैन ।”

“जग्गा जमिन पनि हुँदो हो । अनि त्यो घर जग्गजमिन के भयो त ?”

“थियो बाबु थियो । छ बिगाहा खेत थियो । शहरमा घर थियो । श्रीमान्ले राम्रो व्यवस्था गरेर छोड्नुभएको हो । दिन लागेपछि के गर्ने बाबु, अहिले म मागेर खाने भएँ ।”

“कसरी दिन लागे आमा ? त्यत्रो सम्पत्ति त्यत्तिकै त हराएन होला नि ? त्यो पनि नगद भए त हराउन पनि सक्थ्यो, तर जग्गाजमिन, घरबार त त्यसै हराउँदैन नि । को भयो भन्नुस् न । भनेपछि पो थाहा हुन्छ त ।”

“के भनौँ बाबु , छारछोरी अलच्छिना र आफू सोझो भएपछि आफूले दुःख पाइँदोरहेछ ।”

“तपाइँका छोराछोरी कति छन्, कहाँ छन् ? के गर्छन् , सबै भन्नुस्न ।”

“एउटी छोरी थिई, दुइटा छोरा थिए । तिनैले गर्दा म बूढीलाई मागेर खाने गराए ।”

“किन ? के के भएको थियो भन्नुस्त ।”

“जग्गा जमिन, घर सबै मेरै नाममा थियो । छोराछोरी सबैको व्यादान भएर सबैतिर नाति नातिना छन् । छोरीको पनि राम्रो व्यवस्था छ । ज्वाइँले जागिर खान्छन् । तर जति भए पनि मान्छेलाई धनको लालच हुँदोरहेछ । छोरीले तपाइँसित भएको जमिनबाट मलाई पनि दुई बिगाहा दिनुपर्छ । नदिए म अदालत गएर पनि लडेर लिन्छु, भन्दै दिनदिनै आएर धम्काउन थाली । ’लौ त मोर् तँ पनि आफ्नै छोरी होस्’ भनेर त्यसको नाममा र दुई भाइ छोरहरूको नाममा दुई,दुई बिगाहा खेत बाँडिदिएँ । मेरो नाममा वीरगञ्जको घर राखेँ ।”

“वीरगञ्जको घरबाट तपाइँको निर्बाह भएन त ?”

“कहाँ नि बाबु, त्यो घर छँदासम्म दुवै छोरा बुहारी र नाति नातिना सबै सँगै थिए । एक दिन साँझको खाना खाएर बसेको बेलामा दुवै छोराले भने :”

“आमा, हामीले एउटा ठूलो व्यापार गर्न आँटेका छौँ । त्यो सफल भयो भने करोडौँ फइदा हुन्छ । अहिले हामीसित पैसा भएन । आखिर हजुरलाई पछि पनि हामीले नै पाल्ने हो । यो घर हाम्रै हुने हो क्यारे, अहिले हामीलाई अप्ठेरो परेको छ । यो घर बैँकमा धितो राखेर अलिकति पैसा झिक्नुपप्यो” भने । बुहारीहरूले पनि–

“हो त नि आखिर हजुरलाई हामीहरूले नै पाल्नुपर्छ । अहिले उहाँहरूलाई अप्ठेरो परेको बेलामा धितो राखेर के नै बिग्रन्छ र ? बेचिहाल्ने होइन क्यारे ।” भने ।

“म सोझी बूढी । ‘हुन्छ त’ भनेर सही गरिदिएँ । आखिर त्यो पैसा लिएर उनीहरूले आ–आफ्ना घर बनाएछन् । बैँकले घर लिलाम गरेर मलाई बाहिर धपायो ।”

“छोराहरूले पालेनन् त ?”

“त्यस पछि म जेठो छोराकहाँ गएँ । छोराले बस्नुस् आमा, सकेको गर्नुस्, बस्नुस् खानुस् केको चिन्ता छ र ?” भन्यो । राम्रै भन्यो भनेर बसेँ । तर बुहारीले मलाई आफ्नै दाइजोमा आएकी नोकर्नीलाई झैं दल्न थाली । आफूले सिन्को नभाँच्ने घरको सबै काम मैले गर्नुपर्ने । समयमा काम नसके मलाई जगल्ट्याउन समेत थाली । त्यसको दिनदिनैको पिटाइखाएर म कसरी बसुँ बाबु, कसरी बसुँ ?” ती बृद्ध आमा रोएको देखेर त्यहाँ उँभिएका सबैले आँसु थाम्न सकेका थिएनन् । अनि कर्मचारीले फेरी सोधेः

“त्यसो भएपछि सरासर यहाँ आउनुभएको हो ?”

“होइन बाबु, त्यसपछि कान्छो छोराकहाँ गएँ । कान्छो छोरो विदेश गएको रहेछ । बुहारीले भित्रै पस्न दिइन ।”

“अनि अंश लिने छोरीकहाँ जनुभएन त आमा ?”

“गएँ बाबु, छोरीकहाँ पनि गएँ । छोरीले के गर्ने र आमा ! मैले त तपाइँलाई राख्ने थिएँ । ज्वाइका बाउआमा पनि यहीँ थेँचिएका छन् । तिनैका टेन्सनले ज्वाइँ आफैं दिक्क भएका छन् । एक, दुई दिन बस्नुस्, धेरै दिन त कसरी राखुँ र आमा !” भनेर छोरीले पनि पन्छाउन खोजी ।”

“छोराहरूले पालेनन् त ।

मेरै अंश खाइदिने छोराले त पालेनन् भने त्यसरी पन्छाउन खोजेपछि छोरीकहाँ कसरी टाँसिएर बसुँ ? यो संसारमा मेरो कोही रहेनछ, मलाई बास दिनुस् बाबु । यहाँ आएपछि बस्न पाइन्छ भनेर आएको हो । यहाँ पनि बस्न पाइन्न भने अब मर्नु बाहेक अर्को उपाय मसित छैन । तपाइँ जे भन्नुहुन्छ त्यही गर्छु ।” भनेर करोडपति छोराकी आमाले रोएर गरेको कारुणिक कथाले ढुङ्गो पनि पग्लेला जस्तो लाग्थ्यो ।

पत्रिकाको समाचार पढेर फेरि एकपटक बिरु बिचलित भयो । “कस्तो दारुण कथा, मान्छे कतिसम्म तल झर्न सक्दोरहेछ । आफूलाई जन्मदिने आमालाई पनि मान्छेले यसरी पर्गेल्न सक्दोरहेछ । केही नभएको गरिब परिवार भए पनि अर्को कुरा, अंशबण्डा गरेर आफ्नो हक लिनु, फेरि फस्लाङ्फुस्लुङ् पारेर करोडौँको घरबास पनि हत्याउनु अनि बूढी आमालाई त्यस्तो बिचल्लीमा पार्नसक्ने मान्छेरूपी जनाबरै रहेछन् ।”

त्यस कथाले बिरुका आँखा रसाए, उसले अरू केही पढ्न सकेन । पत्रिका फालेर बाहिर बरण्डामा निस्क्यो । बरण्डामा पनि मन स्थिर भएन । अनि धुपीको फेद मुनी गएर बस्यो । त्यहाँ एक्छिन् बसेर नयाँ हावा पेटमा घुचेटो । यसबाट केही राहत मिलेजस्तो भयो । भित्र गएर बिस्तरामा पल्ट्यो ।

भाग २१

बिरु थलिएको वर्षौँ भइसक्यो । ऊ बिरामी भएर सुतेपछि लिनाको आदेशमा मायाँले जे दिन्छे त्यही खाएर बाँचेको छ आजसम्म । ऊ स्वस्थ हुँदा विभिन्न परिकार बनाएर छोराबुहारीलाई खुवाउँथ्यो र आपूम्ले पनि खान्थ्यो । उनीहरूले पनि बूढाले बनाएर दिएको खाने कुरा आनन्द मानेर खान्थे बस्थे । कसरी ख्वायो भनेर सोध्ने कुरा थिएन । अहिले बिरु एक त अपाहिज बिरामी भएर बसेको छ । नयाँ नयाँ  परिकारको त कुरै भएन । ऊ सुतेदेखि कुहे–सडेका फलफुल कहिले कहीँ पाएको भए पाए होला नत्र ताजा फलफुल उसले देख्न पाएको छैन ।

मायाँले घरको सबै काम सम्हालेकी छ । त्यसैले ऊ घरकी अभिन्न सदस्य भएकी छ । उसलाई विश्वास र आदर नगरे उनीहरूको घरव्यवहार नै चल्दैन । ऊ छ र कुलीनलाई समालेकी छ, घरको सारा कामधन्दा हेरेकी छ । किन–मेलदेखि खाना बनाउने सबै काम उसैमा निर्भर छ । ऊ नभएको भए यी काम उनीहरू आफाइंले सम्हाल्नुपर्ने थियो । अरू काम जसोतसो चले पनि कुलीनलाई काखि च्यापेर क्लिनिक र अस्पतालको काम त चल्ने नै थिएन । अब त झन् ऊ स्कुल जान थालेको छ । उसलाई खाना खुवाउने, ड्रेस मिलाउने, छोड्न जाने, लिन जाने काम गर्न डाक्टरलाई फुर्सत कहाँ मिल्थ्यो र मायाँ नभए । त्यसै भएर ऊ प्यारी भै ।

घरमा बनेका र बाहिरबाट आएका खानेकुरा, फलफुलहरू उसलाई उपलब्ध हुन्छन्, केही काम नगर्ने बिरुको के काम ? उसलाई किन दिने ? सबैले बलेको आगो न ताप्छन् । पहिलेको गुन र कर्तव्य कसले संझन्छ र ? थुक निलेर बस्नु नै बिरुको नियति बनेको छ अब ।

धेरैजसो शनिबार वा विदाका दिनमा श्रवण क्लिनिक सकेर घरमै आउँथ्यो । श्रवण घरमा हुने दिन सबै जना मिलेर कहिले बिरियानी, कहिले चाउमिन, थुप्पा, कहिले मिट मःमः त कहिले दाल, भात र मासुका विशेष प्रकारका खाने कुरा बनाएर खाने चलन थियो । अघिपछिको भन्दा बिदाका दिनको रौनक नै भिन्न हुन्थ्यो त्यहाँ । खान नपाए पनि विभिन्न थरी खानेकुराको थरी थरी बास्ना बिरुसम्म पनि पुग्थ्यो ।

विशेष चहलपहल पनि हुने । भान्सामा जाने आउने र परिकारहरूका स्वादको वर्णन पनि भैरहेको थियो । सुती सुती पनि यी कुराको जानकारी बिरुले पाउँथ्यो । तर खाने बेलामा भने उसलाई त्यस्ता परिकारहरू दिइँदैनथ्यो । उसको भागमा भने दालको झोल वा तरकारीको झोल मात्र हुन्थ्यो ।

खानाको स्वाद थाहा पाएका मान्छेलाई बास्नाले सताउँछ । बिरुलाई पनि खानेकुराले कल्पाउँथे । तर मुख फोरेर माग्दैनथ्यो । एक दिन त उसलाई असैह्य भयो र मायाँसित मलाई पनि दुई टुक्रा मासु देउ न मायाँ ” भनेर मुख खोल्यो । मायाँले लिनाको आज्ञा विना दिनसक्ने कुरा थिएन । उसले बिरुको माग लिना समक्ष राखिदिई । लिना रन्किीहाली “यही लोभी बानीले दायाँ हात चल्नै छोड्यो । खुट्टो पनि लङ्गडो भएको छ । अब अर्को हर पनि बसालेर बिछौनामा हग्ने मुत्ने विचार छ कि क्या हो मासु घिचेर ।”

“कुखुराको मासु दुई, चार टुक्रा दिएर के बिग्रेला र” श्रवणले भन्यो ।

“विना काममा दिनभर सुतिरहनेलाई केको मासु खानु प्यो,  आफ्नै मासु खाए भयो नि ”

“ल, तिम्रो मर्जी  डाक्टरले भनेपछि मैले के भन्ने”

“आफ्ना बाबुलाई घिचाउन मनलागे घिचाए भयो नि, मलाई किन छेड हान्नुपप्यो”

लिनाको यस भनाइको उत्तर श्रवणले दिएन । त्यस दिनको उनीहरूको रमझम पनि खल्लो भयो । उता श्रवण र लिनाको बादविबाद सुनेको बिरु अग्लो छाँगोबाट खसेजस्तो भएर भूइँमा पल्ट्यो । सधै त मायाँले खाना खाएर सके होलान् भन्ने भएपछि जुठा भाँडा लिन जान्थी, तर आज मालिक मालिक्नीको विबाद र बिरुको अवस्था सम्झँदा ऊ पनि त्यसै हताश भई कि क्याहो भाँडा लिन गइन ।

बिरु करीब चार घण्टा पछि बिहोशीबाट व्युँझ्यो तर आँखाले राम्ररी देखिएन । चिम्म गर्‍यो । घाँटी सुकेर सास फेर्न अप्ठारो भएको रहेछ । पानीको संझना भयो । पानीको बोतल त्यति पर छ कसरी खाने ? फेरि आँखा चिम्लो । सास फेर्न धेरै अप्ठारो भयो । पानी त खानै प्यो । आँखा चिम्लेर लत्री लत्री पानीको बोतलसम्म पुग्यो । बोतलै मुखमा राखेर पानी खायो । पानी खाएपछि केही हल्का भएजस्तो भयो तर उठ्ने साहस भएन फेरि पल्ट्यो ।

करीब आधा घण्टापछि जाग्यो । जिउ चिसो भएको रहेछ, त्यसैले होला अहिले पूरै आँखा खोलिए । वरिपरी हे्यो, ऊ भूइँमै सुतेको रहेछ । बल्ल थाहा पायो । कोठामा चारैतिर हे्यो उठ्न खाज्यो, शरीले साथ दिएन । बल्लबल्ल टाउको खाटमा अड्याएर बस्यो ।

“हरे, म कति अभागी रहेँछु । ईह्वरले मलाई यी नाक र कान किन दिए होलान् ? नाक नभए खाने कुराको बास्ना त थाहा पाउने थिइन । बास्ना थाहा नपाएपछि खानलाई माग्नु नै पर्ने थिएन । लौ, नाक त भयो रे,  यी कान फुटेका भए पनि त बुहारीले यसरी निच्याएर गाली गरेको सुन्नुपर्ने थिएन । हे विधाता मलाई किन बहिरो बनाएनौ प्रभु !”

मानिसले मिहनत गरेर पनि भाग्यलाई परिवर्तन गर्न नसक्ने नै रहेछ । त्यसैले होला मान्छेहरू भाग्यबादी बन्ने गरेको । भाग्यलाई धिक्कार्नुभन्दा कर्म गरेर देखाउनुपर्छ, भन्ने मेरो सिद्धान्त काम लागेन । मैले जति गरे पनि आखिर आएर भाग्यमै भर पर्नुपप्यो । मेरा बाबु–आमाले कहिल्यै सुखको अनुभव गर्न पाएनन् । मैले पढेर भाग्य नै बदल्छु भन्ने लाग्थ्यो । त्यत्रो मिहनत गरेँ के काम लाग्यो खै, मैले पढ्छु भन्दा आमाले त भन्थिन् :

“कसरी पढ्छस् बाबै तैले ? छोड्दे भाग्यमा नभएको कुरा संझेर किन टाउको दुखाउनु ?” भनेर । आमाले भाग्यको कुरा गर्दा मैले भनेको थिएँ :

पढ्न पनि भाग्यमा हुनुपर्छ र ? केही नहुने, कोही नहुनेले पनि पढ्छन् रे,  माड्साबले त भनेको । मलाई त जसरी भए पनि पढ्न मन लागेको छ । पढेपछि ठूलो मान्छे भइन्छ रे ! मैले पढ्न पाको भए पैसा कमाइहाल्थेँ । बालाई जोत्न पनि पर्ने थिएन ।”

आमाले भने विश्वास नलागेर भनेकी थिइन्ः

“होला, खै तेरो भाग्यमा पढ्न लेखेको छ छैन मलाई त थाहा छैन । तैँले कहिले पढ्ने, कसरी पढ्ने र कहिले पैसा कमाएर साउको ऋण तिर्छस् र तेरा बाको हलो छुट्ला ? मलाई त पत्यार लाग्दैन ।”

“मेरी आमा अनपढ् भाग्यवादी भए पनि उनलाई परिस्थिति थाहा रहेछ क्यारे ? मैले बाबाको रिन तिरेर उनलाई हलो जोत्न नपर्ने बनाउन नपाउँदै उनी गए । उनलाई ऋणमुक्त बनाउन पाइन ।

मैले पढ्न त पढेँ । पैसा पनि कमाएकै हो । त्यसको उपभोग भने मैले राम्रो गर्न पाइन । बरु त्यसको उपभोग त्यही छोराले गर्‍यो । मैले अर्काको भाँडा माझेर पढेँ त्यसले होस्टलमा बसेर आराम साथ पढ्यो । के यो पनि भाग्यले नै पारेको हो त ? म गरिब, अभागी बाबु–आमाबाट जन्मेको भएर अभागी भएको हो कि ? हुन त श्रवण पनि मेरै कुलमा मेरै छोरो भएर जन्मेको हो । अहिलेसम्म मभन्दा ऊ धेरै माग्यमानी छ । उसलाई आजसम्म कुनै दुःख परेको छैन । सायद अब के हुने हो ? रोग त्यसलाई पनि लाग्न सक्छ । स्वास्नी त्यस्ती स्वार्थी छ । त्यसलाई पनि रोग लाग्यो भने उसले मलाई जस्तै गराउन सक्छे । पछिको कुरा कसले भन्न सक्छ ?” यस्तै सोच्दा सोच्दै ऊ कति बेला निदायो थाहा भएन । जाग्दा अँधेरो भइसकेको थियो । त्यसै बेला मायाँ भित्र पसेर बत्ति बाली ।

“दाइ त अँध्यारोमा भूइँमै बस्नुभएको रहेछ । भात पनि खानुभएको रहेनछ ।” भन्दै थाल कचौरा लिएर बाहिर निस्कन लागेकी मायाँलाई बिरुले भन्यो :

“मलाई अहिलेपनि खान मन छैन । खाना नल्याए है ।”

“अलि अलि खाना पनि नखाए त झन् गलिन्छ नि दाइ !”

“अब के नगल्नु छ र ? मन लागे भोली खाउँला । आज नल्याए ।” ऊ मुख ढाकेर सुत्यो । मायाँ बाहिर निस्की ।

भाग २२

श्रवण क्लिनिकबाट आउँदा लिना र कुलीन सुतिसकेका थिए । लुगा फेरेर ऊ भान्सामा गयो । मायाँले खाना ठीक पारेकी थिई । खाँदैतस उसले सोध्योः

“खाना सबैले खाइसकेको हो ?”

“दाइले खानुभएन अरूले खाएको हो ।”

“नखानेलाई के गर्ने त ? कोचाइदिन  भएन केरे ?” भन्दै श्रवण खाना खाएर कोठामा गयो । मायाँ पनि बत्ति निभाएर सुती । बिरुलाई । श्रवणको अलिकति आशा थियो तर अहिलेको कुरा सुन्दा श्रवण पनि उसित अघाइसकेको छ भन्ने बुझ्यो उसले । अब यस संसारमा मेरो कोही रहेन छ जस्तो लाग्यो र ऊ घोप्टो परेर धेरै बेर रोयो ।

बिरुको टेक्ने र समाउने हाँगो भनेका यिनै छोरा र बुहारी थिए । यिनीहरूकै व्यवहार यस्तो भएपछि अब के बाँकी रह्यो र ?

उसले बिचार गर्‍यो “आफ्ना बाबु आमाले छोडेर गए, जन्मस्थान छोडेँ, बाबु आमाले भन्दा बढी मायाँ गर्ने बिष्ट दम्पतिबाट बिछोड हुनुपप्यो । अहिले अपाहिज भएको बेलामा सहारा चाहिने छोरा बुहारीको हो । यिनैले हेला गरेपछि यो अर्धमृत शरीर लिएर बाँच्नुको के अर्थ रह्यो ? यिनीहरूबाट घृणित भएर बाँच्नुभन्दा मर्नु धेरै जाती । सके सडकमा मागेर खाउँला नभए अन्तिम त मर्ने नै हो । अब यस ज्यानको के मायाँ गर्ने ? यो जेलबाट आजै निस्केर जानुपर्छ ।” भन्ने उसले अठोट गर्‍यो ।

सबै सुतेपछि हिम्मत झिकेर उठ्यो । एकजोर लुगा लगाएकै थियो एउटा ओड्नेले आफूलाई बेर्‍यो । बाहिर अँधेरो थियो, सानो लाइट पाकेटमा राखेर लुसुक्क निस्क्यो । सडकमा आयो, कसैले देखेन । ऊ ढुक्क भयो र लुरु लरु बसपार्कतिर लाग्यो । एउटा बस गेट बाहिर आएर यात्रु पर्खिरहेको रहेछ । त्यसैमा चढ्यो । ड्राइभरको बगलको सिट खाली रहेछ । त्यसैमा बस्यो र ड्राइभरलाई सोध्योः

“यो बस कहाँ जाने हो ?”

“विराटनगर जान्छ । तपाइँ कहाँ जाने ?”

बिरुले त्यसै भनिदियोः

“म पनि विराटनगर जाने । तर भाइ मसँग अहिले पैसा छैन । यही एउटा मोबाइल बँचेको छ । यही बेचेर जानु छ, तपाइँ किनिदिनुहुन्छ ?”

“के भयो र, चोरी भयो ?”

“चोरी मात्र होइन बाबु ! म त पूरै लुटिएको हो ।”

कसरी कसले लुटेको होला ? केही थाहा भएन ?”

“भएन बाबु भएन । म बिहोस् थिएँ त्यसैको फाइदा उठाएर लुटे ।”

बास्तवमा बिरु लुटिएकै त हो । पहिले त्यो अवस्थाबाट मेहनत गरेर पढ्यो, जागिर खाएर अफिसरसम्म भयो । बिहे गर्‍यो, जग्गा किनेर घर बनायो । छोरो जन्म्यो र घरबार बेचेर पनि उसको स्याहार–संभार र पढाइ–लेखाइ गराएर डाक्टर बनायो । अहिले आफू अशक्त भएको बेलामा घर छोडेर सडकमा आउनु परेपछि लुटिएको नभनेर के भन्ने ?

“बुबालाई अप्ठेरो परेको रहेछ । भन्न त मेरी बूढीले मोबाइल किनिद्यौ भनेकी थिई । तर कस्तो मोबाइल हो, कति पर्ने हो ?”

“यो राम्रो मोबाइल हो बाबु । यसमा धेरै फङ्सन छन् । मैले एघार हजारमा किनेको हो । तपाइँले दया गरेर जति दिने हो दिनुस् मैले के भनौँ ?” मोबाइल हेरेर ड्राइभरले भन्यो :

“मसित पनि पैसा छैन बुबा, ताइँलाई खाना ख्वाउँदे विराटनर पु्याउँछु र दुई हजार दिन्छु हुन्छ ?”

“हुन्छ बाबु हुन्छ । म उँधो लागेको मान्छेलाई धेरै किन चाहियो ?”

“मोबाइल चोरीको त होइन ?”

“म चोरजस्तो लाग्छु र बाबु ? तपाइँलाई शङ्का लागे त्यसैमा हेर्नुस् मेरो नाम, फोटो र मेरी श्रीमती सरिताको फोटो समेत छ ।”

बाटोमा केहीबेर जाम भयो, केहिबेर गाडी बिग्रेर विराटनगर पुग्दा रातको बाह्र बज्न लागेको थियो । एक त बिरु विराटनगर गएको पहिलो पटक थियो, दोस्रो लोडसेडिङले जताततै अन्धकार भएकोले गाडीबाट बाहिर निस्केर उसले केही भिउ पाउन सकेन । फेरि गाडीमै फर्केर ड्राइभरलाई भन्योः

“ड्राइभर बाबु, तपाइँले गाडी कहाँ राख्नुहुन्छ ?”

“गाडी त यहीँ रहन्छ ।”

“आज राती भयो, मलाई यही गाडि भित्रै बस्न दिनुस् है । भोली उज्यालो भएपछि म गइहाल्छु ।” “हुन्छ बुबा, मजाले सुत्नुस् गाडीमा । ऊ हाम्रो त्यो भाइ पनि यही सुत्छन् । म भने घर जान्छु ।”

बिरु एक बोतल पानी लिएर गाडीमा पस्यो । कति वर्षपछि ड्राइभरको स्टाफ बनेर आज दिउँसो उसले हेटौँडामा टन्न मासु र भात खाएको थियो । अहिले उसलाई खास भोक पनि थिएन । दुई जनाको सिटलाई एक्लौटी बनाएर ढल्क्यो गाडी भित्र । ’भोलिदेखि कस्तोमा परिने हो आजलाई ईश्वरले राम्रै व्यवस्था थरिदिए ।’ भन्दै आँखा चिम्ल्यो ।

गएको रात डेरामा बिताएको भए पनि मनमा चलेका अनेक तरङ्गले निदाउन सकेको थिएन । दिनभर पनि गाडीको घर्घर र मान्छेको बक्बक्ले सुत्न सक्ने कुरा भएन । गाडीमा ढल्केपछि ऊ बिहान छ बजेसम्म मस्त निदाएछ । यो निद उसको धेरै दिन पछिको हो भने पनि हुन्छ । काठमाडौँ छोडेपछि एक छाक भए पनि भरपेट् खान पनि पायो र ५ घण्टा जति मस्तसँग सुत्न पनि सक्यो ।

उता घरमा बिहान चिया लिएर मायाँ बिरुको कोठामा जाँदा ऊ थिएन । बाथरुमतिर गएका होलान् भनेर चिया टेबिलमा राखेर ऊ फर्की । खाना तयार भएपछि खाना लिएर जाँदा पनि बिरु थिएन, चिया टेबिलमा त्यसै थियो । मायाँले आएर लिनालाई भनी ।

“सुति सुति खान पाइएको छ । यहाँ छोडेर कहाँ जान्छन् बूढा । यतै कतै होलान् अहिले आइहाल्छन्, भनी । लिनाले आपूम्ले खाएर अस्पताल गई । साँझ आउँदा बिरामी आएर लाइनमा बसिसकेका थिए । ऊ सोझै क्लिनिकमा पसी । श्रवण बिहानै उठेर क्लिनिक गएको रातीमात्र आयो । लिना क्लिनिकबाट निस्कनु र श्रवण आउनु सँगै भयो । खाने बेलामा बिरु नआएको कुरा मायाँले भनी । खाना खाएर श्रववणले चिनेजानेको ठाउँमा फोन गर्‍यो पत्तो लागेन ।

“भन्दै नभनी बाबा कहाँ जानुभएछ त ?”

“छोडिद्यौ, कुचाले गर्ने बतासले लग्यो, ठिकै भयो ।” भन्दै लिना बिस्तरामा गई श्रवणले पनि त्यसभन्दा बढी चासो राखेन ।

उज्यालो भइसकेपछि पनि बसलाई घरजस्तो बनाएर बस्ने कुरा थिएन । बिरु बसबाट निस्केर बाहिर आयो । संगैको ट्वाइलेटमा पसेर नित्यकर्म सकेपछि चिया पसलमा गएर एक कप चिया खायो ।

बिरु विराटनगरमा पहिलो पटक आएकोले उसलाई चिनेजानेको र इष्ट–मित्र कोही थिएन । त्यसैले कसैसित भेट होला र बेलिबिस्तार गर्नुपर्ला भन्ने पनि थिएन । आजसम्म जे जस्तो भए पनि इज्जत गुमाएर सडकमा हात फैलाउन परेको थिएन । मोबाइल बेचेको दुई हजार छँदासम्म त हात फैलाउन नपर्ला । तर साँझदेखि टाउको लुकाउने ठाउँ भने कहाँ पाइने हो ? यसैको लागि ऊ बजार र गल्लीमा कुनै पाटी–पौवा वा मन्दिर छन् कि भनेर खोज्दै हिड्यो ।

नथाक्दासम्म घुम्यो तर थात्थलोको व्यवस्था भने हुन सकेन । साँझ फेरि बसपार्कै गयो । संयोगले उही बस पालो नआएकोले त्यहीँ रहेछ । कण्डक्टरसित भन्योः

“म त आज पनि यही बसमा बास बस्न आएँ भाइ ।”

“बस्नुस् बुबा, म पनि एक्लै छु सँगै बसौँला ।” भनेर कण्ढक्टर ट्वाइलेट गयो । बिरु बस भित्र पस्यो । कण्डक्टर आएपछि उसले सोध्योः

“यो बस यहाँ कतिसम्म बस्छ भाइ ?”

“पालो नआएर नगएको हो । भोलि साँझ नाइट भएर काठमाडौँतिर लागिन्छ ।”

“भोलिदेखि त बसको बास पनि नहुने भयो ।” निराशाको सास फे्यो उसले ।

अर्को दिन बिहान उठोर ऊ फेरि बासको खोजीमा हिँड्यो । हेर्दै जाँदा उसका आँखा एउटा मन्दिरको कुनामा परे । त्यहाँ दुई जना बृद्ध मैलो च्यादर ओडेर बसेका थिए । बिरु त्यहाँ गएर सोध्योः

“यहाँहरूको घर कहाँ होला ?”

त्यस मध्ये ’क’ ले भन्यो :

“हाम्रो घर यही हो । दिउँसो सडकमा बस्छौँ साँझ आएर झरीबादलबाट टाउको लुकाउँछौँ ।”

“तपाइँहरू दुई जना हुनुहुँदो रहेछ । के मलाई पनि साँझको साथि बनाउन सक्नुहुन्छ ?”

“साथि बनाउन त सक्थ्यौँ तर तपाइँ घरानियाँ जस्तो देखिनुहुन्छु । हाम्रो साथि कसरी बन्नुहोला ?”

“तपाइँहरूले मेरा सुकिला लुगा देखेर होला, दुई,चार दिनमा मैला भएपछि म पनि तपाइँ जस्तै देखिन्छु ।”

“त्यसो भए बस्नुस्, दुई जना थियौँ तीन जना हुन्छौँ ।” साथि ’ख’ ले भन्यो ।

बिरुले हिँजो केही नखाइ बसमा सुतेको थियो । बिहान पनि केही खाएको थिएन ।  अहिले उसलाई भोक लागेजस्तो भयो । उसले साथिहरूलाई सोध्यो :

“मैले त हिँजोदेखि केही खाएको छैन । भोक लागेको छ । तपाइँहरूले केही खानुभएको हो होइन ?”

“हामीले बिहान अलिकति चना र चिउरा खाएका थियौँ । हिँजो दाता मिलेनन् ।” ’क’ले भन्यो ।

“मसित केही पैसा छ । जाउँ केही खाउँला ।” ’क’ र ’ख’ दुवै साथि बिरुको पछि लागे । बाहिर गएर चना, चिउरा र समोसा गरेर पेटभरी जस्तै खाए । बिरुले पैसा दियो । तीनै जना फर्केर मन्दिरमा आए पछि ’क’ले भन्यो :

“साथी ! हामी बिहान बेलुका यही मन्दिरमा बसेर भक्तजनसित हात थाप्छौँ र दिउँसो आ–आफ्ना अड्डामा जने गरेका छौँ । तपाइ के गर्नुहुन्छ ?”

“मैले पनि एउटा अड्डा त बनाउनै पर्ला । म अड्डा खोज्न जान्छु । तपाइँहरू पनि आ–आफ्ना अड्डामा जानुस् । साँझ यही पाटीमा भेटौँला ।” भनेर बिरु हिँड्यो ।

भाग २३

पाल्पाको दुर्गम गाउँमा जन्मेको, काठमाडौँको ठण्डा ठाउँमा हुर्के– बढेर अधिकांश जिन्दगी बिताएको मान्छे विराटनगरको गर्मी त्यो पनि असारको महिना, त्यसमाथि पाटीको बास र मागेको गास, बिरुको बृद्ध शरीरले धानोस् कसरी ? ऊ थलियो ।

बिरु दिन प्रतिदिन थलिँदे गयो सडकमा जान सकेन । उसंग भएको पैसापनि केही दिनमै सकियो । अब उसको सहारा भनेको मन्दिरमा आउने कसैले दया गरेर दिएको एक, दुई रुपियाँ नै भयो । अब ऊ लगाएका पैला लुगा र च्यादरमा देखिन  थाल्यो । यस्तै अवस्थामा एक  दिन उसको सहयोगी उदित यादवले मन्दिर आएको बेलामा देखेर आश्चर्यचकित भयो र भन्योः

“वीरबहादुर माड्साहब तपाइँ यो हालतमा यहाँ ?”

“तपाइँ को हुनुहुन्छ , मलाई कसरी चिन्नुभयो ?”

“म त्याही हेड असिस्टेण्ट उदित, जसलाई बढुवा गर्न तपाइँले ठूलो सहयोग गर्नुभएको थियो । चिन्नुभएन ?”

“उदितजी, अब त तपाइँलाई चिने तर अब चिनेको कुरा गरेर मेरो अतित नकोट्याम । मलाई यही हालतमा रहन दिनुस् है !”

“ठीक छ मैले केही सोद्धिन तर तपाइँले मलाई गरेको उपकारको बदलामा मैले केही गर्नुपर्छ । तपाईँ मसंग हिड्नुस् माड्साहब ।”

“मलाई अब माड्साहब नभन्नुस् र यसै हालतमा छोडिदिनुस् ।”

“ठीक छ अब माड्साहब भन्दिन । यहाँ बस्नुभयो भने मजस्तै अरूपनि कोही आउन सक्छ । त्यसै भएर यहाँ बस्न हुन्न मसँग आउनुस् ।”

उदितका कुरा ठीकै लाग्यो र ऊ उसको पछि लाग्यो । उसको घर नजिकै रहेछ । बिरुलाई लगेर बरण्डामा राखेर ऊ भित्र पस्यो । उदितले नयाँ कट्टु–बण्डी र आफ्ना अर्धाना कुर्ता सुरुवाल लिएर बाहिर आएर भन्योः

“ल त्यो बाथरुम हो, नुहाएर यी लुगा फेर्नुस् ।”

बिरु अबोध बालकजस्तै लुरुक्क उठेर बाथरुममा गएर नुहायो र आफ्ना लुगा धोएर बाहिर निस्क्यो । अब ऊ सडकको माग्ने नभएर एउटा भलाद्मी देखियो । उदितले चिया र बिस्कुट ठिक्क पारेर राखेको थियो, दुवैले खाए । अनि उदितले भन्योः

“तपाइँका छोराबुहारीले हेरेनन् तपाइँलाई ?”

“दुनियाँ स्वार्थी हुने रहेछ, म एक्लो भएको छु ।”

“ठीकै छ, मैले बुभेम्ँ । तपाइँको पुरानो घाउ कोट्याउन्न । तपाइँलाई यहाँ पुरानो समाजसेवीका रूपमा परिचय गराउँछु । यहाँ एउटा बृद्धाश्रम छ । त्यहाँको संस्थापकसित मेरो राम्रो सम्बन्ध छ । तपाइँले त्यहाँ सकेको काम गर्नुस् खान बस्न मिल्छ, त्यहाँ बस्नुहुन्छ ?”

“मागेर खानुभन्दा त्यहाँ बस्न पाए राम्रै होला ।”

तपाइँले मलाई जति ऋण लाउनुभएको छ त्यसको केही अंश भए पनि तिर्न पाउनेछु । ल हिड्नुस् ।” भनेर उदितले बिरुलाई बृद्धाश्रममा लिएर गयो । त्यहाँ पुगेर व्यवस्थापक धर्मवीर सित बिरुको परिचय गराउँदै उसले भन्योः

“यहाँको नाम ’वीरबहादुर मगर’ यहाँको घर पाल्पा, कार्यस्थल काठमाडौँ । पेशा समाजसेवा । तर आज उहाँ आश्रय विहीन हुनुहुन्छ । कारण उहाँको उमेर र उहाँसँग भएको पैसा सकिनु । उहाँसित भएको पचासौँ लाखको सारा संपत्ति समाज सेवामा बगाउनुभयो । अहिले उहाँसित केही छैन । पहिले जस्तो दौडधूप पनि गर्न सक्नुहुन्न । सत्समाथि प्यारालाइसेस भएर एउटा हात चल्दैन  भने गोडा पनि कम्जोर छ ।

समाजले उहाँको पहिलेको उपकार बिस्र्यो । अहिले उहाँ एक्लो हुनुहुन्छ तर कामचोर र बेइमान हुनुहुन्न । सकेको काम इमानदारी साथ गर्नुहुन्छ । उहाँ हाल केही बिरामी र कमजोर हुनुहुन्छ । उहाँलाई तङ्ग्रिन केही दिन लाग्छ । उहाँलाई हजुर्ले आश्रय दिनुपर्‍यो ।”

“उदितजी तपाइँले उहाँको यत्रो प्रशंसा सहितको सिफारिस गरेपछि उहाँले आश्रय पाउनुभयो ढुक्क हुनुहोस् ।”

“धन्यबाद” भनेर उदित फर्क्यो बिरु त्यहीँ बस्यो ।

उता मन्दिरको साथी क–ले भन्योः

“बाहिर पानी पर्लाजस्तो छ । राती भइसक्यो बिरु आउनु भएन । बिरामी हुनुहुन्थ्यो केही भयो कि ?”

“भलाद्मी हुनुहुन्थ्यो, हुरी बनेर आउनुभायो बतास बनेर जानुभयो ।”ख–ले भन्यो र दुवै सुते ।

बिरु घाँस काट्ने, गोबर फाल्ने, भाँडा माझ्ने, भात पकाउनेदेखि कार्यालयका कामहरूमा समेत अनुभवी थियो । त्यस कारण कुनै पनि काम उसका लागि दुरुह थिएन तर उसको शरीरले साथ नदिएकोले पहिलेजस्तो काम गर्न सक्ने स्थिति थिएन । तैपनि जे सक्यो त्यो काम गर्‍यो ।

बृद्धाश्रममा पाँच÷सातवटा गाई पालिएका थिए । तिनको रेख–देख, हुहुन–बान र सर्सफाइको काम गर्ने मान्छे थियो । खाना पकाउने पनि अलग्गै मान्छे तोकिएको थियो । तिनीहरूको व्यवस्थापन र सञ्चालनमा बिरुको सल्लाह–सुझाबले राम्रो असर प्यो । आय–व्यय सम्बन्धी हिसाब–किताबमा पनि धर्मवीरलाई धेरै मद्दत पुग्यो । आएको १५÷२० दिनमै उसको व्यवहार र शीप देखेर उसलाई मन नपराउने कोही भएन । यस्तो अलराउण्ड च्याम्पियन पाएर धर्मवीर त झन् बढी खुसी भए । उनले एक दिन उसलाई कार्यालयमा बोलाएर भने :

“वीरबहादुरजी, तपाइँ अब यस बृद्धाश्रमको सहायक मैनेजर । आवश्यक परेको बेलामा त अरू काम पनि हेर्न परिहाल्छ । तर मुख्य काम व्यवस्थापन हेर्ने ।”

“मलाई दर्जा किन चाहियो र सर ! यो अपाङ्गले के काम गर्न सक्छ र उही मुखैको भर त हो नि ।”

“त्यही मुखले व्यवस्था गर्न सक्ने भएर त सहायक व्यवस्थापक भनेको हो । हुन त तपाइँमा मुख्य व्यवस्थापक हुने योग्यता रहेछ । तर तपाइँलाई यो पद दिउँ भने म कहाँ जाने ? मेरो पनि अब जाने ठाउँ छैन । त्यसैले सहायक व्यवस्थपक भएर लेखा र व्यवस्थपन तपाइँले हेर्ने । मैले बारितर खटन–पटन र जनसम्पर्क हेर्छु ।”

“हुन्छ, सरले भन्नहुन्छ भने तयारै छु । एउटा कुरा के भने मलाई ’वीरबहादुर’ भनेर छवटा अक्षर उच्चरण गर्न अप्ठारो हुन्छ । मलाई कसैले ’बिरे’ र कसैले ’बिरु’ भन्ने गर्थे । सरले पनि त्यही दुई अक्षरको नाम मध्ये जे सजिलो हुन्छ त्यही भन्नुभए हुन्छ ।”

“बिरे, त कसरी भनौँ र ? अब बिरु भनेर संबोधन गर्नेगर्छु ।”

बिरुले व्यवस्थापन समालेको केही वर्षमै बृद्ध–बृद्धाको संख्या झण्डै दोब्बर भएको थियो भने आर्थिक सुधार र संस्थाको प्रगति पनि त्यस्तै किसिमले बढेको थियो । गौशालामा गाईको संख्या त तेब्बर भएको थियो । बृद्धाश्रमलाई चाहिने भन्दा बढी भएको दुग्धपदार्थबाट मासिक लाखौँ रुपियाँ वचत हुन थाल्यो । यसले गर्दा बृद्धाश्रममा त बिरुको हाइ–हाइ हुने नै भयो साथै यस आश्रमलाई सहयोग गर्ने र यसको हितैषीका मुखबाट पनि बिरुको नाम र प्रशंसाका शब्द उच्चारण हुनथालेका थिए ।

धेरै चलेपछि फलामका मेशिन त कहिले कहीँ बिगे्रर मर्मत गर्नुपर्ने हुन्छ । झन् मन्छेको जिउ न हो सधै एकनासले चलिरहन सकदैन । बिरु एक पटक निकै बिरामी पर्‍यो । ज्वरो, दम, खोकी सबैले एकै पटक गाँज्यो, कत्ति गरे पनि सञ्चो भएन ।

एक दिन उदित घुम्दै बृद्धाश्रममा आएको थियो बिरुको अवस्था चिन्ताजनक देखेर धर्मलाई भन्योः

“अहिले राम्रो डाक्टर सरकारी अस्पतालमा आएका छन्रे । उहाँलाई एक पटक त्यहीँ लैजाउँ न ।”

सरुवा भएर आएको डाक्टर बिरुकै छोरो श्रवण थियो तर यो डाक्टर उसको छोरो हो भन्ने उदित र धर्म दुवैलाई थाहा थिएन ।

“हुन्छ त लैजाउँ” भनेर धर्म र उदित भएर अस्पताल लगे । अस्पताल पुग्दा बिरु बिहोस् भयो ।

भित्र श्रवण र अर्को एक सहायक डाक्टरले बिरामी जाँच्दै पठाउँदै गरेका थिए । बाहिर आएका बिरामी मध्ये एक जना बिहोस् भयो भन्ने भएपछि श्रवण बाहिर आएर हेर्दा ऊ छाँगाबाट खसेजस्तो भयो । उसले तत्काल शैयामा लगेर स्लाइन र अक्सिजन दियो तर बेकार भयो । अन्तिम अवस्थामा भेटाएको बाबुलाई बँचाउन सकेन । उसका आखामा आँसु देखिए तर ऊ चुपचाप उँभियो । धर्म र उदितले एकै पटक सोधेः

“उहाँलाई कस्तो छ अब डाक्टर साहब ?”

“म असफल भए । उहाँको अन्तिम संस्कार गरौँ दागबत्ति मैले दिन्छु” भन्यो । त्यसभन्दा अरू परिचय दिएन । दाहसंस्कार पछि अस्पतालमा आएर जागिरबाट राजिनामा लेखेर सहायक डाक्टरलाई दियो र आफू काठमाडौँ फक्र्यो ।  काठमाडौ आएर तेह्र दिनसम्म शोक मनाएर बस्यो तर लिनालाई यो घटनाबारे केही भनेन ।

भाग २४, अन्तिम

सरकारी जागिरबाट अलग भए पनि सिनियर भइससकेको डाक्टरलाई काम र पैसामा फरक पर्दैन । पैसाको दृष्टिले  अझ बढी कमाउन सक्छ । उसको क्लिनिक नै राम्रो चलिसकेको थियो । त्यस माथि आजकाल यसरी खुलेका प्राइभेट अस्पतालमा उसले चाहने हो भने कामको कमी हुँदैन । तर श्रवणले काम प्रति त्यति रूची दिएको थिएन । उसको मिजास र व्यवहार पनि एकतमासको भएको थियो । लिनाले एक, दुई पटक सोधी पनि तर उसले ’केही भएको छैन’भनेर टारिदिन्थ्यो ।

यता बिरु आफूम् साधारण अधिकृत भएर त छोरालाई डाक्टर बनाएको थियो भने श्रवण र लिना दुवै डाक्टर हुनेले छोरालाई डाक्टर बनाउनु ठूलो कुरा थिएन । तर कुलीनले डाक्टर नबनेर केमिष्ट बन्ने इच्छा राखेको थियो । उसले बाहिर जानलाई काम सहितको छात्रवृत्ति खोजिरहेको थियो । ’बहिनी गएर नफर्कने भई । तँ पनि बाहिर गएपछि आउन्नस् नजा ।’भनेर लिनाले कति पटक संझाइसकी तर उसको भनाइ थियोः

“के गर्ने मामु ! कलेज युनिभर्सिटीमा आधाजसो हड्ताल र तालाबन्दी हुन्छ । परीक्षा भएको दुई, तीन वर्ष नतिजा निस्कन्न, कहिले पढाइ पूरा हुने ? फेरि पढेर पनि के गर्ने ? रोजगारी त यहाँ पाउन सकिन्न ।”

कुलीनकी बहिनी रोजीले पनि त्यसै भन्थी । “म त यहाँ पढ्दिन, साथिहरू अस्ट्रेलिया गए म पनि त्यहीँ पढ्न जान्छु ।”भनेर जिद्दि गरेर गएकी हो । उनीहरूलाई नपुग्दो केही थिएन श्रवण र लिनाले रोजीको इच्छ पूरा गरिदिएका थिए । उसले पी।आर। पाएको नेपाली केटो रोजी । ऊ यता आउँदिन उतै बसी । कुलीनले पनि अनलाइनमा जब खोजिरहेको छ कुन दिन हिँड्छ ।

अर्कोतिर बिरु छँदै श्रवणले घडेरिको जोहो गरिसकेको थियो । अहिले घर बनाउन थालेका छन् । घरको खास रेखदेख लिनाले गर्नेगरेकी थिई । हालसम्म घरको दोस्रो तला ढलान भएको थियो । उसलाई नपुग्दो पनि केही थिएन । आफूले चाहे अनुसारको सुविधा सम्पन्न घर बनाउँछु भन्ने उसको सोचाइ थियो ।

“फुलेजस्तो फल्दैन, सोचेजस्तो पुग्दैन ।“भन्ने उखान छ । डाक्टर लिनाको बारेमा पनि त्यस्तै भयो । दोस्रो तलाको छतमा आजै गारो उठाउन सुरु भएको थियो । कम्मरसम्मको गारो भर्खर उठाएर डकर्मीले अर्को तर्फ सुरु गर्नलाई नापजाँच गर्दै थियो । लिनाले लगाइसकेको गारेमा अडेस लाएर डकर्मीको काम हेर्दै थिई । भर्खर लगाएको चार इन्चको गारो सेट भएको थिएन उसको भार थाम्न सकेन घरक्क गयो । गारो जानु के थियो, गारोसित लिना पनि गई । तल इँटाको थुप्रो थियो लिनाको टाउको त्यही इँटामा बज्र्यो र छिया छिया भयो । डकर्मीले तुरुन्तै टेक्सीमा राखेर अस्पताल त लग्यो तर उसको इहलीला भने बाटोमै सकिएको थियो कसले बचाउने ?

यस घटनाले कुलीनलाई भन्दा पनि श्रववणलाई बढी चोट प्यो । जसको लागि त्यस्तो द्यौता समानको बाबुलाई त्याग्यो आज त्यसैले यस्तो मझधारमा लगेर छोडी । उसको लागि न लिना रही न बाबु रह्यो । बाबुप्रति मायाँ–मोह हुँदा हुँदै पनि स्वास्नीकै कारणले बाबुलाई पर्गेल्यो । दैवले अन्तिम अवस्थामा भेट त गरायो तर आफै डाक्टर भएर पनि बँचाएर बाबासित क्षमा माग्नेसम्म मौका मिलेन । आखिर के काम लाग्यो बाबुको त्यो दुर्गति पारेर ? श्रवणले जब यी कुरा संझन्छ अनि होस् गुमाउँछ । दिनमा दुई पटक तीन पटक समम ऊ बिहोस् हुनथाल्यो । श्रवणको यस्तो अवस्था देखेर मायाँले भनीः

“डाक्टर साहब ! लिना डाक्टर साहबले असमयमै छोडेर जानुभयो । दुःख लाग्ने नै भयो तर समालिनु पर्छ । यसरी हरेस् खाएर कसरी काम चल्छ ? जाने गए पनि बाँच्नेले व्यवहार छोड्न पनि त मिल्दैन नि !”

“मायाँ ! मलाई लिनाले बीचधारमा ल्याएर छोडिदिई । त्यसले गर्दा बाबाले घर छोड्नुप्यो र त्यही नै उहाँको काल बन्यो । उहाँसित क्षमा माग्न पनि पाइन ।”

“दाइलाई त लिना डाक्टर साहबले कुकुरलाई भन्दा पनि बढी हेला गर्नुभयो । यसमा मेरो पनि सारै चित्त दुखेको छ । तपाइँले पनि उहाँलाई साथ दिनुभयो ।”

“मायाँ ! मलाई लिना मरेको भन्दा पनि बाबाप्रति गरेको अपराधबोधले सताएको छ । म अपराधी हुँ । घरव्यवहार बिग्रला भनेर खुलेर बाबाको समर्थन गरिन । यही मेरो गल्ती भयो र यसैले मलाई पोलेको छ ।”

“त्यसै भएर पनि तपाइँले यसरी हरेस् खाएर हुन्न । तपाइँसङ्ग सम्पत्ति छ । सक्नुहुन्छ भने बाबाको निम्ति केही गर्नुस् ।”मायाँको कुराले श्रवण केही सचेत भयो ।

कुलीनले अमेरिकाको एउटा कलेजमा कामको साथै पढ्नको लागि आवेदन दिएको थियो । उताबाट स्वीकृतिपत्र समेत आएको थियो । तर बाबुको यस्तो हालत देखेर ऊ जानसकेको थिएन । स्वीकृति आइसकेको छ भन्ने श्रवणलाई पनि थाहा थियो । आफ्नो मानसिक तनाबका कारणले जा, भन्न सकेको थिएन । उसको पनि भविष्यको कुरा थियो । आफ्नो लागि रोकेर पनि के गर्ने ? अन्त्यमा ’हुन्छ जा’भनेर कुलीनलाई स्वीकृति दियो ।

“बाबा ! मैले त अमेरिकाको टिकट लिएर आएँ ।”

“मलाई यस्तो अवस्थामा छोडेर जान लागिस्, सम्पर्क गर्दै गरेस् है ।”

“के गर्ने र बाबा ! पढाइ सुरु हुनलाग्यो । हजुर्ले आफ्नो स्वास्थ्यको ख्याल गरेर बस्नुहोला । मैले बेला–बेलामा सम्पर्क गर्छु ।”भनेर ऊ हिँड्यो । कुलीन हिडेपछि श्रवण क्लिनिक जान पनि छोड्यो । अर्धपागल जस्तो भएर हिड्न थाल्यो । उसलाई देख्ने मध्ये एक जनाले भने :

“पाप धुरीबाट कराउँछ भन्छन् साँच्चै रहेछ । स्वास्नीको कुरामा लागेर त्यस्तो द्यौता जस्तो बाबुलाई गरेको अत्याचार अहिले आफैंमा आइलाग्यो ।”अर्काले थपेः

“बिचरो बिरु, सहारा चाहिने बेलामा बेसहारा भएर हिँडे, मरे–बाँचेको पनि थाहा भएन । संसार यस्तै रहेछ, भोली हाम्रा सन्तान पनि यस्तै कुपुत भएर निस्कने हुन् कि कसले जानेको छ र ?”

२०६९ मघ १३ गते

ॐ          ॐ          ॐ

(स्रोत : NEPALPLUS.COM)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *