कथा : बिछोडका आँशु

~कृष्ण के.सी.~Krishna KC

आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो होला | यस्तै यस्तै सोचिरहेको थिए बिछोडमा खसेका आशुहरुलाई देखेर | हुनत जीवनका लामा-लामा कष्टकर दिनमा कति रोएर आँशु बगाइयो त्यसको लेखाजोखा कहिलै गरिएन र आज अनायासै यसको मूल्यको बारेमा बुझ्न मन लाग्यो | मनै त हो कहिलेकाही नसोच्नु पर्ने कुराहरु पनि सोचिदो रहेछ | प्राकृतिक रुपमा बनेका यी आँशुहरु आफुले चाहदैमा खस्ने र रोकिने नहुदा रहेछन | आँशुलाई आँखाबाट खसिदिन पनि उसका आफ्ना छुट्टै मान्यताहरु हुदा रहेछन | संगालेर राख्दा पनि ताल बनेर नफुट्ने, रित्याएर मरभुमी बनाउन पनि नसकिने |

प्रवासको लामो र पट्यारलाग्दो बसाइमा पारिवारिक बिछोड,मानसिक तनाव र शारीरिक पिडामा धेरै आशुहरु देखियो | स्वएं आफैले पनि खसालियो र बिबसतामा खसेका आँशुहरु लाई स्वाभाविकै मानेर सहजै पचाइयो | आँशु संग रियाल साट्दा जसरि रियालहरु सकिए त्यसै गरि आँखाबाट बगेका आशुहरु पनि सकिदै गए र आँशु संग रियाल साटेर जीवनका उत्तार्दमा सुखी जीवन बिताउने कल्पनाहरु कल्पनामै सिमित भएर रहिरहे | आज फेरी खुसिलाइ लत्याएर जादैछु त्यहि मरभुमिको देसमा | जहा लामा-लामा घाटी हुने उँट र मरंच्यासे खजुरका बोटहरु संग आफ्ना दिनचर्याहरू बिताउनु पर्नेछ | भविष्यका खुसिहरुलाई कल्पेर बर्तमानमा आशु खसालिरहेकी जिबन साथीसंग बिछोडमा आँखा पनि जुधाउन नसकी समयलाई पर्खिरहेको छु | घरका भित्ताहरु,आफु सुतेको पलंग अनि कपडाका दराजहरु पनि म संगको बिछोडमा रोइरहेको अनुभूति गरि रहेको छु |

दुइ बर्षमा दुइ महिना मात्र पाइने छुट्टीहरु आफ्नो धर्तीमा पाइला चाल्दैमा बित्ने गर्दा रहेछन र आफु जन्मेर संगै हुर्केका प्राकृतिक खोलानाला बोटबिरुवा सुम्सुमाउदैमा त्यसै त्यसै बित्दा रहेछन | परिवारसंग सुखदुख बाट्ने ति अमुल्य दिनहरु पनि भागबण्डा लगाउदै सकिन्छन अनि फर्कनु पर्दो रहेछ फेरी आफ्नै कर्म ठाउमा तिनै आशुहरु संग बिदाबारी हुदै |
अपरिचित तर आफ्नै जस्तै लाग्ने भर्खरका युवा युवती र अझै पनि दुइ मुटुलाई समाहित बनाइ नसकेका ति जोडीहरुको बिछोडमा बर्षे भेलझैँ बगेका ति आशुहरुका दृश्यले मलाई अहिलेसम्म पनि चिमोटी रहन्छ र| बिदा सकेर कर्म ठाउ फर्कदा बसेको काठमान्डूको गेस्ट हाउसमा मैले बिहान बिहानै त्यो दृश्य देखेको थिए | जुन दृश्यले म सम्हालिन नसकेर फर्केर घर आउने अनुनय बिनिनय गरेको थिए ति जोडी जस्तै आफ्नो जीवन साथीलाई | भोलि बेलुकाको उडान, सामान्य किनमेल गरेर थाकेको शरीर म निदाए मेरो कोठामा | थाहा पाइन रातभर छिमेकी कोठामा के भयो भएन र बिहान उठेर ढोका खोलेर देख्छु आफु अघाडीको कोठा खुल्ला छ | एउटी युवती भुइमा बसेर घुडामा टाउको राखेर भक्कनिएर रोइरहेकी छिन र शरीरमा लगाएका कपडाहरु पनि बेढंगले लपेटीएका छन् | रुवाइमा एकनासको निरन्तरता छ | केहि पर एकजना युबक झोला कसिरहेको छ आफ्नै सुरमा | एक छिन अक्क न बक्क भए त्यो दृश्य देखेर | मनभरी नकारात्मक सोचहरु घुम्न थाल्यो | सकारात्मक भन्दा नकारात्मक सोचेर जीवनलाई गिजिल्याउन चाहने मानव प्रवृति म मा पनि थियो | त्यसैले होला त्यहि सोचले मेरो मनलाई गिजोलिरह्यो | एकमन त लाग्यो आखा अगाडी रोइरहेकी महिला लाइ बेवास्ता गर्ने पुरुषलाई भकुरेर बाहिर निकालु | सहारा हुदा हुदै पनि बेसहारा बनेकी महिला लाइ अपनत्वले सम्हालु | अह सकिन त्यसो गर्न पनि आँट चाहिदो रहेछ त्योबेला त्यस्तो आँट आउन पनि सकेन | बिचलित मन लिएर फेरी उठेर हेरे कोठामा दृश्य उस्तै थियो | मैले ठाने सायद त्यो युवकले युवतीलाई किनिएकी बस्तु ठानेको होला त्यसैले त वास्ता गरेको छैन | देखेर पनि मैले बुझ्न सकिन,चाहेर पनि मैले केहि गर्न सकिन हेरी मात्रै रहे | त्यसबेला देखेको त्यो कहालीलाग्दो दृश्यले भाबुकतामा म बिचलित हुदै थिए | सकिन हेरिरहन लागे गेस्ट हाउसको रिसेप्सनमा र रिसेप्सनमा बसेर चिया पिउदै गर्दा त्यहि युबक पैसा बुझाउन रिसेप्सनमै आए | यहि मौकामा मैले उनलाई चिया पिउन निम्तो गर्दै संगै बसिरहेको सोफामा बसाले तर कुरा गर्ने हिम्मत आएन | हेरिमात्रै रहे उनको मुहारमा र मुहार हेर्दै मैले बुझे अपनत्व,प्रेम,डर र अनिश्चित जीवनका लामा लामा भावहरु अनुहारभरि छरपष्ट कोरिएका थिए | रंग फेरिएका आँखाका नानीहरूमा कायरताका बादलहरुले धपक्कै ढाकी रहेका थियो|अनभिज्ञ र कलिलो त्यो शरीर अनिश्चित भविष्यको हिसाब किताबमा थरथर कापिरहेका थियो |

चिया पिउदा सम्मको सामिप्यताले मलाइ केहि सहज बनाएको थियो | उ कोठामा जादै गर्दा पछिपछि म पनि गए उ संगै केहि नबोली | फेरी झुलुक्क कोठामा चियाएर हेरे महिलाको दृश्य उस्तै थियो र शुन्यतामा गुम्सिएको कोठाभरी क्रन्दनका आवाजहरु गुन्जी रहेका थिए | अनमोल आँशुहरु बाध्यतामा नारी शरीर भरि लत्पतिएर गुहार मागी रहेका थिए | शरीरमा बेरिएका कपडाहरुले बिछोडमा पोखिएका बेदनाका आंचल फिजाई रहेका थिए | चाहेर पनि मैले केहि गर्न सकिन,गए आफ्नै कोठामा र फोन लगाए मेरी जिबन सगेनिलाई | हेलो नभन्दै उनि सुक्सुकाइन हाम्रो बिछोडमा | स्विच अफ गरेर फोन फालिदिए ओछ्यानमा | बिबसताका आशुहरु मेरा आँखाबाट पनि रसाउन थाले |

” दाजु एकछिन आउनुनू |”
म झसङ्ग भए र उनै युबक मेरो कोठाको ढोकामा उभिएका थिए | मेरा आँखाबाट बगेका आँशुहरु लाजमा आफै रोकिए |
” हेर्नुस न हिजो देखि सम्झाएको सम्झाई छु कत्ति मान्दैनन तपाइले सम्झाई दिनुस न |”
थाकेर बिवस भएका मनका चिन्हहरु अनुहारमा प्रष्टै देखिन्थ्यो | म अक्क न बक्क भए के कारणले किन रोएको अनि को हो कसरि सम्झाई दिने म दोधारमा परे |
” उनि को हुन् र किन रोएकी ” मैले सोधे |
” उनि मेरी श्रीमती | म विदेश जान लागेको | मलाइ छोड्न आएकी | आज मेरो फलाइट छ | छुट्टीन लागेको पिरमा हिजो देखि रोएको रोइ छिन सम्झाउनै सकिन | ”
केहि बुझे केहि बुझिन त्यसैले बुझ्न चाहे अनि सोधे – “कति भयो बिबाह गरेको ? ”
“तिन महिना पुग्दैछ |”
“कहा जान लागेको ?”
” कतार “

दानबिय बिचारले मात्र ठाउ ओगट्न खोज्ने आफ्नो मनमा कहिलेकाही मानविय बिचार पनि आइदिए कति राम्रो हुने थियो होला ! आफैले आफैलाई धिक्कारे | समयमै म भित्रको मानवतामा सुविचार पलाएको भए मेरो अगाडी रोएर अपनत्व,प्रेम र सामिप्यताको भिख मागेर रुदै आंचल फ़िजाएकि एउटी महिला लाइ सम्झाउन त् सक्थे | तर पलायन त्यो मानवता | पाइला पाइलामा कुविचार बोकेर हिड्ने दरिद्र बिचारहरुको घेरा बन्दीमा परेको सुविचार हरु कसरि घेरा तोडेर बाहिर निस्कन सक्थे र ?
आफ्नै छोरी समानकी ति युवतीलाई आफ्नै छोरी संग तुलना गर्दै उनको टाउको सुम्सुमाउदै उठाउदै भने -“नानु यता हेर त्, नरउ यसरि रुनु हुदैन | यस्तो बेला त तिमीले हासेर पो बिदा गर्नु पर्छ त|” मेरा बाक्यहरुमा सायद अपनत्वको गन्ध भेटियो होला त्यसैले मेरो आड लिदै उठिन सुक्सुकाउदै | डोर्याएर पलंगमा बसाले र,कोठामा रहेको कलबेल थिचेर चिया मगाए | त्यतिबेला सम्म उनको सुक्सुकाइ पनि बन्द हुदै थियो | रातभरको रुवाइले घाँटी बाट एकनासले हिक्का छुटी रहेको थियो |

“नानु तिम्रो नाम के रे ” उनि बोलेको सुन्न चाहे |
“शा र दा ” भक्कनिदै बोलिन |

हेर शारदा नानु तिमीले सुन्न सक्छ्यौ र मान्छ्यौ भने म भनिरहन्छु तिमि सुनी रह | जवाफको प्रतीक्षा बिना नै म भन्दै गए – “तिमि रोएर आफ्नो जिन्दगीको साथी संग सामिप्यताको भिख मागी रहदा दिन सक्नेले दिन सक्छ वा सक्दैन त्यसलाई बिचार गर्नु पर्दछ | उसको बाध्यता र बिबसतालाई नबुझीकन प्रेमको आंचल थापिरहदा उसको परिस्थितिले आफुले आफैलाई झोसेको आगोको ज्वालामा उ कति जलिरहेको छ त्यो पनि बुझ्नु पर्दछ | घरबाट बिदा हुदा आँशुको सागरमा पौडी खेल्दै आमाको निश्चल मायाको अगाडी बाध्यतामा उ कसरि हासिरहेको छ त्यसलाई पनि बुझ्न सक्नु पर्दछ | तिम्रो आँखाबाट निरन्तर बगिरहेका अमुल्य आँशु हरुको मूल्य र मान्यतालाई पनि तिमीले मुल्यांकन गर्नु पर्दछ | मलाइ थाहा छ तिमीले खसालेका आँशुहरुमा तिमीले स्वार्थ देखेकी छैनौ | केवल प्रेम र अपनत्वको आभाषमा स्वस्फुर्त रुपमा खसेका आँसुहरु तिमीले बल जफ्ती खसालेर बिनासित्ती खेर फालेका पनि होइनन तर पनि तिमि सम्हालिनु पर्छ | बुझ्नुपर्छ बाध्यताका यी भोगाइहरु लाइ | तिमीले बुझ्नु पर्दछ तिमि संग बिछोड भएर जादा तिम्रो साथी केवल तिमि मात्र होइन सारा अपनत्वहरु लाइ बिबसताको घेराभित्र कैद गर्दै केवल मनभरी मायाहरुलाई साच्दै रित्तो हात लिएर शुन्य आकाशमा सपनाको संसार बुन्दै एक्लै उड्दै छ अनचिनारु मरभूमिको देशमा | तिमि लगाएत परिवारको भविष्यको लागी |

यति भनिरहदा शारदाको मुहारमा केहि चमक देखिएको थियो भने उसको जीवन साथी खुसीले शारदाको मुहारमा हेरर हसाउने कोशिस गरिरहेको थियो | मैले भन्दै गए -“तिम्रो साथी खाडी मुलुकमा गएर बालुवाका हरेक कणहरुमा रियालहरु खोजिरहनेछ | यसरि जम्मा भएका रियालहरु उराठ मरभूमिमा उडेका निष्ठुरी हावाले उडाएर साहुका दलानमा छरपस्ट पारिदिनेछ | महिना महिनाको हिसाब लगाउदै साहुले सावा ब्याज हिसाब गर्दै जानेछ | यो निरन्तरता चलिरहने छ सावा भुक्तानी नहुदा सम्म | कतारको मरभूमिमा बगेका पसिनाका एक-एक थोपामा तिमी प्रतिको मायालाई चुर्लुम्म डुबाउने छ र साच्ने छ तिमी संगको भेटमा तिमीलाई ल्याइदिने कोसेली संगै दिनका लागी | उसले यो सबै बुझेको छ छैन र पनि यो सत्य यथार्थमा उ गुज्रदै छ बिबसताको शिकार बनेर | सक्छौ भने र मान्छौ भने यहा बसेर पनि तिमीले उसलाई संघर्षका अनगिन्ति अत्यासलाग्दा पहाडहरुमा पुर्याउन भर्याङ्ग बनि साथ् दिनु पर्दछ | समाजमा देखिने र घटिरहने स्वार्थका तमाम बिकृतीहरुका विरुध्दमा आफुलाई उदाहरणीय नारी बनाउनु पर्दछ ताकी उ फर्केर आउदा तिमीसंग सहज बाताबरणमा जीवन बिताउन सकोस | नानु आँशु मूल्यमान छ यसरि जहाँ पायो त्यहि आँशुको खर्च गर्नु हुदैन | केहि समयको बिछोडमा खस्ने यी आँशु र सदाको लागी बिछोड हुदा खस्ने आँशु हरु बिचको फरक मूल्य मलाइ थाहा छैन र पनि जसरि हासो र खुसि संगाल्न आबस्यकता छ त्यसै गरि आँशु पनि संगालु पर्दछ |

शारदाले आफ्नो जिबन साथीको हात समातेर मुसारी रहिन अनि जुरुक्क उठेर आफै झोलामा उसका कपडाहरु पट्याएर मिलाउदै राख्न थालिन | यसो गर्दा उनका हातका चुराहरु बाट मिठो संगीतको धुन बजी रहेको थियो | घाँटीमा झुन्डिएर रहेको रातो पोतेको गुच्छामा मंगल सुत्र खुसीमा पिङ्ग खेली रहेको थियो | घडी हेरे दिनको १२ बज्दै थियो | मेरो विदेश यात्रामा बाटो तय गर्ने बेला पनि भैसकेको थियो | कतारमै भेट्ने बाचा गर्दै मेरो फोन न.दिए उसलाई | सानो कागजको चिर्कटोमा मैले मेरो नाम लेखेर रु.५०० थमाइदिए शारदाको हातमा अनि हल्लाए बिदाइका हातहरु अपरिचित तर आफ्नै जस्तै लाग्ने मेरा बाटाका यात्रीहरुलाई |

कतार एयरवेजको झन्डै ५ घन्टाको यात्रामा मेरा आँखाभरी यिनै अपरिचित यात्रीहरुका दिनभरिका दिनचर्याहरू घुमिरहे अनि तिनलाई संगै जोडे आफ्ना अतितका बिछोडका पीडाहरु संगै | समयको गतिलाई आकाशमा एकनासले उडेको जहाजले छोट्याउदै गैरहेको थियो | हातमा रहेको पत्रिका पनि पढ्न भ्याइन रसरसर्ती शिर्षक हरु हेर्दै गए | एक ठाउमा लेखिएको थियो -“बिदेसबाट श्रीमानले दुखले कमाइ पठाएको धन सम्पत्ति सहित महिला बेपत्ता |” यो हेर्दै गर्दा म बसेको जहाज कतारको दोहा एयरपोर्टको ठिक माथिबाट तल तल झर्दै थियो |” म झसङ्ग भए त्यो समाचारले र सम्झिए शारदालाई | पन्ना पल्टाउदै गए अर्को ठाउमा लेखिएको थियो ” घरमा परिवार अलपत्र बिदेशमा श्रीमान् मस्त |” बेरोजगारले भित्राएको यो विसंगति र बिकृति प्रति राज्यले गरेको बेवास्ताले मन कुडिएर आयो र मनैभरि परिवारहरुको तस्बिर झाल्किरह्यो | जहाजले भुइमा टेकेर आफ्नो स्थानमा अडिन गतिलाई रोक्दै थियो | झलमल्ल बत्तीहरुको बिचमा मेरो कम्पनीको गाडी मेरो प्रतिक्षामा प्रतिक्षारत थियो | जहाजबाट बाहिर निस्किए | कालो चिल्लो अनुहारको अफ्रिकन ड्राइभर मलाइ हेरिरहेको थियो |
– दोहा,कतार |

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुस्‘ बाट पठाईएको)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.