कथा : स्वास्नीमान्छे

~विद्या सापकोटा~Bidya Sapkota

हजार सपनाहरुको माया लागेर आउँछ’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखि उसलाई यो गीत विशेष मनपथ्र्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको वर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु÷नसम्झनुसँग पनि यही जोडिन्थ्यो । अझ पछिल्लो समयमा त यसले व्यापक अर्थ राख्न लाग्यो । त्यसो त बडो रोमान्टिक पाराकी केटी, हरकुरालाई हेर्ने÷बुझ्ने आफ्नै अन्दाज थिए, उसका ।

‘अरे मलाई कलेज आउन मन छैन, म आउँदिन पनि, किन कराइरहन्छौ हँ ? ‘..सबैलाई भनिदेउँ कि पूर्णिमा गाउँ फर्किसकी, उसलाई बारबार फोन गरेर डिष्ट्रब नगर ।’ मोवाइल भाइब्रेसनलाई प्रेमीको ढुकढुकीसँग तुलना गर्न, एकाएक उही स्वर र उही ढुकढुकसँग कायल देखिई । समय गतिशिल छ । त्यसैले चाहना र भोगाइ सदैव एउटै नरहन सक्छ । तर समय भन्दा पनि छिटो, एकाएक उसको दैनिकी बदलिँदै गयो, व्यवहार अनौठो हुँदै थियो । सधैं समयमै कलेज पुग्ने पूर्णिमा भ्रमणबाट फर्केदेखि कलेज जाँदै गइन, फोन र सन्देशका उत्तर पनि नदिएर बेखबर बसिदिई । स्पष्ट अनुभव गर्न सकिन्थ्यो, अस्वाभाविक थिई ।

कयौंबेर, चिसिएका नजरहरु झ्यालबाहिर फ्याँक्दै कोठाको चारदिवारभित्रै चक्कर लगाउँदैरही । सडक सधैंझैं ब्यस्त थियो, मान्छेको झुण्ड उस्तै । तँछाडमछाड, गाडीको लस्कर, जाम सबै उस्तैउस्तै । जित्ने रफ्तारमा दुनियाँ दौडँदो थियो । कस्तो अचम्म ! यत्रो भीडमा रहेर पनि, एक्ली थिई, बिल्कूल एक्ली । मन बहलाउने बहानामा प्रजातन्त्रको भित्तो काढ्दै आकाशेपुलतर्फ पाइलाहरु मोडिए ।
मायालु जोडी, थाकेका बटुवा, बालबालिकाका झुण्ड रत्नपार्कको भीडभाड हेर्न लायक थियो । एक कुनामा ऊ पनि टुसुक्क बसी तर गुलाफको बोटनेर ओझेल परेका एक जोडीको मातक हाँसो, बेतुकका प्रेम प्रसङ्ग र असहज सामिप्यताले त्यहाँ पनि अडिन दिएन ।

लाज, घृणा र छटपटीमा पिच्च थुक्दै गर्दा पाइलाहरु पुनः जुर्मुराए । आफ्नै सुरमा चप्पल बजार्दै हिडेकी ऊ, सामसुङ्ग कम्पनिको विज्ञापन÷मस्किरहेकी निरुता र चिया÷सम्मोहनकारी मुस्कानमा राजेश र चाउचाउ÷झिमझिम बल्दै निभ्दै गरेको ह्विस्की र चुरोटका होर्डिङबोर्डहरु काट्दै धेरै वर आइपुगी । ठ्वाक्क गोडामा ठेस लाग्दा ज्ञात भएथ्यो, ठमेलको ओरालोमा रगतका थोपाहरु तपतप चुहिँदै थिए । जीवनहीन आँखा बोकेर उस्तै पैतला घिसार्दै ढिलो गरी कोठामा फर्किई ऊ । को–को भेटन आएका, फोनका कुरा, केके–केके कुराको एउटा डोको नै घोप्ट्याइदिइन् निरमाया दिदीले ।
आफ्नो मनोदशा नै बिग्रिएको बेला यस्ता कुराहरुको के मतलब हुन्थ्यो र ? एउटा कुरा भने राम्रै लाग्यो, गाउँमा बाबाआमाले सत्यनारायणको पूजा राख्नुभएकोले घर आउनु भन्नुभएछ । शहर छाडिदिने गहकिलो बाहानामा भोलिपल्ट बिहानै निस्किई ऊ । शान्ति प्रक्रियाले पूर्ण निकास नपाए पनि समय शान्तिउन्मुख हँुदै थियो, छापामार बनेर युद्धमा होमिएको दाजु घर फर्किएको थियो । काफल पाकेको संकेतको काफल पाक्यो, काफल पाक्यो, झरनाका झंकार, खेतबारी करेसामा टुकटुक गरिरहेका गाँउले, बालापनको थोरै चञ्चलता फिर्तामा मिल्यो । घरमा पूजाको रौनक थियो । कमला भाउजु सधैंझैं रौसिएर अचार मथिरहेकी रहेकी रहिछन् ।

वाह ! लब्सीको अचार ? आफ्नै मनले तत्काल नमीठो झापड दियो, पूर्णिमा अचारप्रतिको आशक्ति पक्कै शुभ संकेत हैन । मन अचारभन्दा बेशी अमिलियो, बेचैनीका बेहिसाव आक्रमण सुचारु भए । गाउँ पुगेपिच्छे घरघर डुल्नैपर्ने ऊ, यसपाला चुपचाप दलानमा थन्किरही । मन खुसी भए न परिवेश खुल्ने रहेछ । मनै मडारिइरहेको थियो, हल्लिरहेको थियो । ऊ भित्रै भुइँचालोको केन्द्रबिन्दु थियो कि ? जलिरहेकी थिई ऊ अनौठो पीडामा, भयानक द्वन्द्वमा । सहिनसक्नु उकुसमुकुसले नवप्रभात ब्युँझिन नपाउँदैं शहर फिर्तीयात्रा तय गरिदियो । निस्कँदा निस्कँदै, नजरहरु पहिले परिबेश अनि सेतै कपाल फुलेकी बूढी हजुरआमामा गएर गढे । आमाबाबासँग आँखा जुधाउने हिम्मत बाँकि रहेन, निहुरिँदै बसतर्फ दगुरी ऊ ।
मनभरि सपना, तिक्तता, घृणा र हीनताले सिगौंरी खेलिरहेका थिए । हे भगवान् ! यो बस पल्टिदिए पनि त हुने । रुखमा उक्लनु÷बस चढ्नु÷पुल तर्नु.. भन्दा अगाडि रक्षा गर प्रभु भन्ने आमाकी आज्ञाकारी छोरीले कामना गरी ।

दिदी ! आमाले साथी लगाएर पठाएकी सानी बहिनीको सम्बोधनले उसका नौनाडी गलेर आए । मान्छेले बिकल्पको खोजीमा विसंगति पनि रोज्दो रहेछ, तर्कैतर्कमा बसपार्क आइपुग्यो । सडक किनारका होडिङबोर्डहरु उस्तै चमकधमकमा थिए । नयाँ फिल्मको नयाँ पोष्टर थपिएको थियो ।

बिदेसिन लागेकाहरुको धुइरो बढ्दो थियो । उस्तै थियो शहर, जाँदा जस्तो थियो । हुन पनि उ जाबाको के मूल्य र यहाँ ? लोडसेडिङ्गले निलेको शहर । अन्धकार व्यप्त कोठा । धन्न एक टुक्रो मैन फेला प¥यो । जीवन मैन न रहेछ पग्लेरै सकिने, बलिरहेको मैनसगै पग्लियो मन ।

ऊ बडो ठूलो महत्वकाक्षां लिएर बाँचेकी केटी । हुन पनि दाजु छापामार बनिसकेपछि बाबुआमा मात्र नभएर गाउँ समाजकै आशापुञ्ज भएकी थिई ऊ । स्कुलदेखी विश्वविद्यालयसम्म आफ्नो लगनशिलता र हक्किपनलाई प्रमाणित गर्दै आएकी पनि थिई । अचानक ‘रमण, अर्चित, बिन्दु र नीलहरुको याद उम्लिएर आयो । कति निष्ठुर उत्तर फर्काएकी थिई उसले रमणलाई । माया भन्ने कुरा पनि परिस्थितिपरक हुँदोरहेछ की ? केही सोच्न नसकेर अचेत झैं बिछ्यौनामा मूढ शरीर पदारियो ।

चार दिनअघिको कुरा न हो, कति बिन्दास थिई ऊ । अध्ययन सम्बद्ध सोधकार्यको सिलसिलामा भ्रमणमा निस्केको थियो उसको टोली । अध्ययन सहजता र रमाइलोको लागि भनेर एउटै ठूलो हल लिइएको थियो । लामो यात्राले थाकेकी ऊ, केहीबेरमै निदाइथी ।

‘बाबा !’ घडीले रातको एक बज्न लागेको संकेत दिँदै गर्दा निद्रा टुट्यो । त्रासपूर्ण नजरहरु फनफनी घुमाउँदैं अस्तब्यस्त कपडा मिलाई उसले । सबै निदाइरहेका रहेछन्, ‘उफ कत्ति डरलाग्दो सपना ?’ सपना नै थियो सायद त्यो, तर त्यसो भनेर आफू लुटिन लागेको वीभत्सतालाई भूल्न सहज थिएन, अन्तरहृदय चिच्याउँदै रह्यो । रातको त्यो एक परिदृश्यपछि उसका दृष्टिकोण बदलिए, जीवनप्रति, समाजप्रति र सम्पूर्ण आइमाईहरुप्रति ।

छोरी भएर जन्मेकोमा बडो गर्व गर्ने ऊ, आइमाई शरीरप्रति नै द्वेष हुन लाग्यो । ‘थुइक्क ! आफ्नो शरीरमा नै शत्रु बोकेर हिड्ने जातकी तँ ?’ जीवन मै पहिलोपटक स्वास्नीमान्छे हुनुको पीडाबोध गरी उसले । ऊ जान्दथी, केही भएकै हैन भ्रमपूर्ण सपना देख्नुबाहेक । उल्टो दिमागमा दन्त्यकथाका पात्रहरु, अनाम फिल्मनगरीका कथाहरु, अपराध कथाका दर्दनाक घटनाक्रमहरु सलहझैं सल्बलाउन लागे । निरमाया दिदी र निरमाया दिदीहरुका प्रति असिम श्रद्धा पलाएर आयो जसमा समाजका सेता÷स्वच्छ आँखा कहिल्यै परेनन् ।

कल्पनैकल्पनामा उसले ती सम्पूर्ण मनहरुलाई समेटी जो बास्तवमै लुटिएका थिए प्रेमका नाममा, संस्कारका बलिमा, सहनशील र सुन्दर हुनुको पर्यायमा ।

‘भित्र बिद्रोह जन्मँदैथ्यो, कुमारी आमाहरुको दर्दनाक छायाँप्रति, महिलालाई मात्र दोषी देख्ने प्रवृतिप्रति, इज्जतिला आमाहरुकै पनि उठेका पेटले संसर्गको संकेत गरिदिँदा लजाउनुपर्ने आइमाई नियतिप्रति । उसलाई थाहा थियो, यसमा कसैको दोष छैन, पुरुषकै पनि ।

सृष्टिकर्ताकै दोषयुक्त नियमका विरुद्ध ऊ बबुरी के गर्नसक्थी र ? बिस्तारै लत्याइएको घाउजस्तै मत्थर हुँदै जानेथ्यो होला उसको दुखाइ । तर त्यसो भएन, हुनै नसक्ने कुरा भयो । सधैं महिना नपुग्दै पन्छिने उसको महिना काट्यो । मन जलेकै थियो । अब तनबाट ज्वाला छुट्न लागे ।

त्यो भयानक परिदृश्य सकेसम्म सम्झने यत्नमा लागी ऊ । कुनै कालो छायाँबाट लुटिन आँट्दा नै ऊ आत्तिएर ब्युँझिइथी तर..? परिस्थिति र प्रश्नको जालोले यति जेल्यो कि, सपना सपना थिएन भन्नेमा ऊ विश्वस्त हुँदै गई । विज्ञानका सत्यताभन्दा बढी दन्त्यकथाका कहानीहरुमा मन जान लाग्यो । चलचित्रका दृश्यहरुमा झैं आँखाका पर्दाहरुमा स्वस्थानी कथादेखि फाटफुटे सस्ता पत्रिकाका घटनाक्रमहरु ओहोरदोहर गर्नलागे । हुँदाहुदाँ, आफ्नै शरीरमा परिवर्तनका छनक देख्न लागी ऊ । मान्छे जतिसुकै पढेगुनेको, जान्नेसुन्ने भए पनि संकटको समयमा निस्पष्ट हुँदोरहेछ, सिद्धान्तका ठेलीहरु मिथ्या लाग्ने रहेछन् । चेतनाशून्य बूढी आइमाईमा रुपान्तरित हुन उसलाई दुईदिन पनि लागेन । बाँच्नुको कुनै अर्थबाँकि रहेन, जीवनहीन हुन पुगी ऊ ।

यही लयमा नै गाउँसम्म डोरिइथी ऊ । उसका प्रशस्त साथीहरु थिए, हित्तचित्त मिल्नेहरुको कमि थिएन तर कुन सखीसँग यो पीडा बाँड्न सक्थी र ऊ ? कुन ईश्वरको अदालतमा यो मुद्दा दायर हुन्थ्यो र ? भ्रमैभ्रमको महाहुण्डरीले उडाउँदै लग्यो, ‘छोरीलाई पढाएर के के न गर्छु भन्थिस् नि देखिस् ? ऊ कुमबजाइहरु कानैमा ठोक्किन आइपुगे । आत्महत्या–एक निर्बिकल्प उपाय मनले मनैलाई सुझायो । भविष्यको कालो चित्रमा आफू र आफ्नाहरुको रुग्ण छायाँ कल्पँदाकल्पँदै पागल हुन खोज्थी ऊ । रमण, आमाबाबा, भाइबहिनी प्रेम, दायित्व, चाहना सम्झँदा सम्झँदै औडाहा हुन्थ्यो, जीवनप्रति मोह पलाएर आउँथ्यो ।

त्यसो त, भ्रम दूर गर्न तमाम उपायहरु पनि जान्दथी ऊ तर केही गर्नै सकिन । अझ भनुँ, कुनै किसिमको जोखिम उठाउनै चाहिन जसले गर्दा समाजमा तीखा कानहरु भरिउन्, प्रेम ओकल्ने आँखाले तिरस्कारपूर्ण दृष्टि फ्याँक्न परोस् वा देवतातुल्य बाबुआमाको शंकालु नजर मात्र पनि सामना गर्नपरोस् । आशंकाले जेल्दै जाँदा, ‘आखिर ! एकपल्ट जानु नै छ’, आत्महत्यालाई कायरताको प्रतिक मान्ने संघर्षशील मनले घुँडा टेक्यो । तर कसरी ? आत्महत्याका उत्तम उपायहरुको खोजी अभियान सुरु भयो आफैंभित्र÷ आफैसँग ।

मृत्यु निष्कलंक होला त ? आन्तरिक सुनामी यथावत थियो । जुन मान्छे नै मान्छेको घनाजंगलमा दुख साँट्ने एउटै मान्छे भेटिएको थिएन त्यही थपडि बजाउन आतुर हातहरुको लर्क थियो । बिष खाने, आगो लगाउने, झुण्डेर मर्ने वा नदीमा हाम फाल्ने । सुल्झिएका मृत्युका अनेक उपायहरु, कुनै विवादहीन थिएन ।

‘मर्न त मरी पूर्णिमा तर किन मरी ? ऊ यो प्रश्न नै नउठोस् भन्ने चाहना उसको । आफ्नाहरुको नाम राख्न नसके पनि कससेकम नाक नकाटियोस्, अपशोचबिहीन÷ प्रश्नचिन्हबिहिन मृत्यु चाहिएको थियो उसलाई । स्वाभाविक मृत्यु र मृत्युपछिको सहनुभूति उसको विशेष माग थियो । जो बाँच्न सक्दैन उसलाई मर्न झन् गाह्रो हुँदोरहेछ । आफू हुँदा र नहुँदा, आफ्नाको मात्र नभएर चप्पल सिलाउने काले दाइदेखी कलेजका प्राध्यापकसम्ममा पर्ने प्रभाव पढ्न लागि ऊ ।

‘निष्कलंक जीवन त के मृत्यु पनि रहेनछ’ नमीठो चालमा अल्मलिँदै झट्ट उठी ऊ । तत्काल ढोकाछेउमा लर्बराउँदै एउटा छायाँ ठोकियो ।

‘रमण !’

मुटु ढक्क भयो । आफैं मरे स्वर्ग देखिन्छ’, बूढापाकाहरुले उसै भनेका होइन रहेछन् । सदैव हक अधिकार, प्रेरणा र हौसलाका कुरा गरिहिँड्ने जवान युवतीलाई एक कू–सपनाले पूर्णः हराइदियो । जीवनका अन्तिम प्रहरहरु बिताउँदाको अद्भूत ब्यथामा थिई ऊ, बहिनी मस्त निद्रामा ।

मान्छेको मन विचित्रको हुँदोरहेछ, मृत्युको सामु घुँडा टेकेर पनि लोभ गरि नै रहने । एकपल नै सही बहिनीलाई छातीमा टाँसिरहन मन लाग्यो । ढोकानेर देखेको छायाँ ? उसको बश चल्दो हो त, पोखिएर बलिष्ठ छाती लतपत्याइदिने थिई ‘सपनामै भए पनि कमसेकम उसलाई एकपटक पाउन सकूँ प्रभू !’ आँखा चिम्म भयो ।

‘दिदी ! उठन, के भयो तिम्लाई ?’

बहिनीको अबोध र भिजेको स्वरसँगै ब्युँझिइ पूर्णिमा । ‘किन रोएकी नानू ?’ अज्ञात भयमा झण्डै चिच्याइन ऊ । घामका किरण मीठा चुम्बनमा लिप्त थिए, आँसुले होला सिरानी कक्रयाक्क । मसिना काँपेका औंलाहरु कपडा र बिछ्यौनातिर इसारारत जहाँ रगतका आला टाटाहरु देखिन्थे ।

हाल ः शंकरदेव कलेज, काठमाडौं

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.