नेपाली उपन्यास : आदिवासी

~देश सुब्बा~Desh Subba

– आदिवासी –


भयको प्रकट / क्षेत्र / समस्या


अपरान्हको समय । दिनको चकमन्नता सहरभरि छायाँजस्तै छाएको थियो । साँझबिहान चिरबिर कराउने चरा हराएका थिए । यस घडीमा मान्छेलाई आङमा न्यास्रो आएर बसेको जस्तो अनुभूति हुन्थ्यो । टन्टलापुर घाम मात्र सहरमा पखेटा फैलाएर उडिरहेको थियो । बादलका टुक्राटुक्री

पाहुनाजस्तै बीच-बीचमा आउँथे र बिलाउँथे । दिवा नीरवता, टण्टलापुर घाम, सुनसान सडक मलाई पटक्क मन पर्दैन । यस्तो समयमा धेरै अनावश्यक कुराहरूले मनमा खेल्ने मौका पाउँछन् । यसबेला मन कताकता अलमलिन्थ्यो मेरो । डर, त्रास, अल्सीजस्ता नेपथ्य कुराहरू पनि आउँथे । महाविद्यालयको समयमा यस्ता कुराहरूको सम्झना हुँदैनथ्यो, book cover_Aadibashi - Desh Subbaरमाइलै हुन्थ्यो । कताकता अलमल भएको बेला समयलाई सदुपयोग गर्ने कुराहरू सोच्थेँ । समय बगेर गएको कुराहरू सोच्थेँ । घरमा बस्दा दिमाग सधैँ क्रियाशील हुन्थ्यो मेरो । मलाई केही न केही गरिरहन मन पथ्र्यो । कहिले एक्लै बसेर पढ्थेँ, कहिले मनमा उकुसमुकुसिएका कुराहरू कापीको छेउभित्तामा लेख्ने गर्थेँ । समय पाएको बेला बाबाले टेबलभरि ल्याएर असरल्ल राखेका पत्रपत्रिका हेर्थेँ । घरमा आदिवासीका मुखपत्र, साप्ताहिक पत्रिका, पुस्तकहरू, सीडी, अडियो क्यासेट हुन्थे । ती वस्तुहरूमा आदिवासीका आवाज बजेको सुन्थेँ । बाबा धेरै क्रियाशील हुनुभएको कुरा सम्झिन्थेँ। रमाइलो लाग्थ्यो । यस्तो उमेरमा पनि उहाँ सक्रिय भएको देख्दा प्रेरणा लागेर आउँथ्यो । पहिला त उहाँ त्यति सक्रिय, क्रियाशील हुनुहुन्थेन तर अहिले सक्रिय र क्रियाशील हुनुभएको छ । खोइ कसको किताब पढेर हो ठूलो प्रभाव परेको कुरा गर्नुहुन्छ । बाबाका गतिविधिहरू भइरहन्थे, त्यसलाई नजिकबाट देखे पनि त्यति वास्ता गरिनँ मैले । बाबाले पनि यस बारेमा बताउनुभएन । सायद विद्यार्थी मान्छेलाई यस्तो कुराहरू भन्नु हुँदैन भन्ने ठान्नुहुन्छ उहाँ ! खोइ कुन नेता आउँदा हो बाबाले भन्नुभएको कुरा सुनेको थिएँ । भन्नुहुन्थ्यो, “निसाम् लाई यी सबै कुरा बताउने बेला भएको छैन । फेरि उसको इच्छाको कुरा हो । उसलाई मन पर्दैन भने विवश पार्नु ठीक हुँदैन ।” विषयवस्तु राम्ररी बुझिनँ र कुराको सिलसिला के हो त्यो पनि थाहा पाइनँ मैले । त्यसलाई खोतल्न पनि आवश्यक ठानिनँ । फुर्सतको समयमा घरभरि छरिएका पत्रपत्रिका पल्टाएर हेर्थेँ । मेरा समकालिन युवायुवतीहरूका गीत, कविता, कथा, विचार ती पत्रिकाहरूमा हुन्थे । ती पत्रपत्रिकाका पानाहरूमा भाषण गरिरहेका जोसिला युवायुवती देख्थेँ । वैचारिक, आदिवासी कुराहरू भन्दा उनीहरूका क्रियाशीलता प्रिय लाग्थ्यो मलाई । अनि, ध्यान दिएर हेर्थेँ कस्ता बोलेका छन्, कस्ता लेखेका छन् भनेर । अरू कुरामा सहमति नभए पनि उनीहरूका जोसिला कुराहरू अनुकरणीय लाग्थ्यो । ती सबै कुराहरूले समय पाउँथ्यो अल्सी लागेको बेला । तर यी गतिविधिहरू यति धेरै बढे कि सबैतिर छ्याप्पछ्याप्ती भयो । बाबाका उमेरका मान्छेहरूमा एक्कासी आएको उत्साह, जाँगरलाई सल्युट नगरी रहन सक्ने स्थिति नै भएन । सहरको गर्मी बटुलिएर कोठामा आएको बेला दिमागभित्र पनि तताउँथ्यो । गाउँदेखि सहरसम्म मान्छेदेखि मान्छेसम्म तातिएको आदिवासी कुराहरूले त स्वात्तै देश तताएको कुरा सम्झिन्थेँ । मान्छेको दिमाग बम भएर पड्किन्दैथ्यो ठाउँ-ठाउँमा । यस्तो बेलामा स्वाभाविक रूपमै मान्छेको खून हल्लिन थाल्थ्यो । हल्लिएको खून शरीरका विभिन्न इन्द्रियहरूमा पुगेर सक्रिय हुन्थ्यो । विद्यालय, महाविद्यालयका विद्यार्थीहरूलाई बिस्तारै यसले गाँज्दै लग्यो । मैले हेरिरहेँ मात्र । कतिपय मिल्ने मेरा साथीहरू यही बाटोबाट हिँड्न थालिसकेका थिए । तर रतिभर छुएको थिएन मलाई । म विद्यार्थीकालमा राजनीति गर्नु हुँदैन भन्ने मान्यता राख्थेँ । आदिवासीको यो चम्किलो कुरा राजनीति लाग्थ्यो मलाई ।

आज त्यसै निराश भएको थियो मन । घरभरि छरिएका पत्रिका उठाएर हेरेँ । ती पत्रिकाहरू एकै आवाजमा कराइरहेका थिए र त्यसमा आएका लेख, रचना, साहित्य, विचार सबैले समयसित न्याय मागिरहेका थिए । तर ती लेख, रचना, साहित्य, विचारसित मेरो सहमति बन्न सकिरहेको थिएन । पत्रिकाहरूमा आदर्श बढी थियो, व्यवहारमा त्यस्तो थिएन । आफूलाई आदिवासी भनेर दाबी गर्ने जातिहरूमा शमन हुँदैगएको भाषा, लिपि, धर्म, संस्कार देख्थेँ । दुःख लागेर आउँथ्यो । आदिवासीका स्वर भने ठूल्ठूलो भइरहेको थियो देश थर्काउने गरी । कुनै आदिवासीहरूले भाषा, लिपि, धर्म, संस्कृति, इतिहास धमाधम नयाँ लेख्दै थिए । कुनैले लेख् ने योजना बनाउँदै थिए । भइरहेको ऐतिहासिक, जातीय महत्त्वका कुराहरूलाई शमन गरेर नयाँ बनाउने कुरा मेरो मनले मानेन । म चाहन्थेँ भैरहेको ऐर्श्वर्यलाई राम्रो बनाउने कुरा ।

म महाविद्यालयमा मेधावी छात्र थिएँ । मेधावी भएकोमा आमा-बाबा, गुरुजन, साथीभाइ, इष्टमित्र सबैले मबाट निकै आशा गरेका थिए । मेरो व्यवहार, ज्ञान, शिक्षा र क्रियाकलाप हेर्दा जीवनमा केही बन्ने प्रशस्तै सम्भावना थियो ममा । मेरा तार्किक शक्ति, वाक् चातुर्यता, अनुशासन, विनम्र व्यवहारले पनि भविष्य देखाउँथ्यो । गुरुजनहरू कतिपय विषयको तर्कवितर्कमा पराजित हुन्थे र अनावश्यक तर्क लिएर आउँदैनथे मेरासामु । ममा भएको गम्भीरता, शालीनता, प्रतिभाको साथीभाइहरू खूबै प्रशंसा गर्दथे । मलाई आदरभाव व्यक्त गर्नु मेरो प्रतिभाले मात्र भूमिका खेलेको थिएन, प्रत्येक मान्छेसित तुरुन्तै हिमचिम गर्ने बानी, शिष्ट, विनम्र व्यवहार पनि उत्तिकै सहयोगी थियो । कति पनि घमण्ड ममा थियो जस्तो लाग्दैन । अरूलाई कस्तो लाग्थ्यो कुन्नी म घमण्डलाई शत्रु ठान्थेँ । कहिलेकाहीँ मानवीय स्वभाव स्वरूप यसले रङ्ग देखाए पनि म तुरुन्तै थाहा पाउँथे र रोकिहाल्थे । यी सद् गुणले मलाई कलिलै उमेरमा ठूलो मान्छे बनायो । कलिलै उमेरमा समाजको कुसंस्कार, कुरीति र रूढिवादी हटाउन केही गर्नुपर्छ भन्ने सोच्थेँ । जताततै रूढिवादी, अशिक्षाले छाएको अन्धकार थियो समाजमा । गाउँ, सहर, पहरा र भित्तामा पनि त्यो रूढि देखिरहेको थिएँ । ठूलो विस्फोटक पदार्थ बोकेर देश गुम्सिरहेको लाग्थ्यो मलाई । मान्छेहरू गुम्सिरहेको देख्थेँ । घरघरमा लैङ्गीक भेदभाव, जातीय दमन, जातीय भेदभाव, अन्याय, अत्याचार, शोषण, भ्रष्टचारको कुरा गरिरहेको सुन्थेँ । घरघरमा बोलिएका यी कुराहरू अज्ञात ठाउँमा थुप्रिएर पहाड बन्दै थिए । यसलाई निको मानिनँ । मलाई दुख्थ्यो कताकता यी कुराहरूले । ठानेँ, पृथ्वीमाथिबाट पनि भूकम्प आउने रहेछ । तर पृथ्वीमाथि आउने भूकम्प कतिको विनाशकारी हुन्छ योचाहिँ थाहा थिएन मलाई । मान्छेहरूलाई पनि थाहा थिएन जस्तो लाग्थ्यो । मान्छेले थाहा नपाए पनि पशु र पन्छीहरूले भूकम्पको गन्ध सुँघ्न थालेको मलाई आभास भैरहेको थियो । विध्वँसात्मक गतिविधिको कहिले पनि पक्ष लिइनँ मैले । म यसको घोर विरोधी । तर देश त्यस बाटोबाट हिँडेको देखेर अज्ञात भय हुन्थ्यो । देश गलत बाटोबाट हिँडेर कुनै दुर्घटना नघटोस् भन्ने म चाहन्थेँ । यो गूढ कुरा बन्दैथ्यो देशको लागि र मान्छेको लागि । कसैले यसलाई मनन गरेका थिएनन् । स्वयं म पनि यसबाट पन्छिन खोजिरहेको थिएँ । यो मेरो शीर्षकको विषय पनि थिएन । ध्यानै दिए पनि ऊषर बन्दै गएको मान्छेको मन सिञ्चित हुनै गाह्रो । तर देश आत्मघाती बमको अवस्थामा पुगेको देखिरहेको थिएँ । डरलाग्थ्यो सम्झेर ल्याउँदा । यो बाटोबाट हिँड्ने मान्छेहरूलाई बाटोमा रातो बत्ती बलेको छ भन्न चाहन्थेँ तर सकिरहेको थिइनँ ।

नभन्दै आज सावधानीको रातो बत्ती बलेको देखेँ । एउटा जातीय समूहले अचानक सहर बन्दको आयोजना गरेर झिल्का बाल्यो । सहर बन्दको असर कस्तो पर्यो त्यो महत्त्वको विषय भएन मेरो लागि । सफल भयो या भएन त्यसले माने राख्दैनथ्यो मेरो जीवनमा । त्यसलाई कुनै महत्त्व दिइनँ मैले । तर यसलाई ठूलो दुर्घटनाको सङ्केत मानिरहेको थिएँ । देखिरहेको थिएँ पृथ्वीमाथिको भूकम्प हल्लिन थालेको । एकजना चिनेको सोझो मान्छे आज सडकबीचमा उभेर भाषण गरिरहेको थियो । उसको भाषणको कस्तो प्रभाव पर्यो मान्छेमा कुन्नी ! मैले त्यसलाई पनि नदेखेकोझैँ गरिदिएँ । तर सोझो मान्छेले सोझो भाषामा सोझा कुरा गरेको सोझा मान्छेले सोझो बुझे कि बुझेनन् अर्कै कुरा थियो त्यो । मैले उसको भाषणसँगै पृथ्वीमाथि आउन लागेको भूकम्पको रातो बत्ती देखेँ । ठानेँ, भयानक आँधीबेरी आउँदैछ कतैबाट ।

आदिवासी कसैले रहर गरेर हुने कुरा होइन, यसलाई पुष्टि गर्ने प्रयाप्त आधार हुनुपर्छ भन्ने मेरो ठहर थियो । एकपटक बाबासित पनि के सुर चलेर हो भनिदिएँ, “बाबा, तपाईंहरू आदिवासी भनेर जोडले कराउँदै हुनुहुन्छ, तर तपाईंहरूको आवाजलाई भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, पुरातत्त्वले मद्दत गरेको देखेको छुइनँ । वर्षौंदेखि मान्दै आएको धर्म, संस्कारलाई हाम्रो हो र होइन भनेर कराइरहनुभएको छ । सबै नयाँ-नयाँ बनाउँदै हुनुहुन्छ । सबै नयाँ बनाएर ठूल्ठूलो स्वरले कराउँदैमा जातीय रूपमा बलियो भइँदैन, झन् कमजोर भइन्छ । कमजोरीको युद्ध गरेर तपाईंहरूले के सिद्ध गर्न खोज्नुभएको हो – आदिवासी हुनलाई बलियो आधार चाहिन्छ । बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । आफू बलियो भएपछि कसैले राजनीति गरेर दमन गर्न सक्दैन । आदिकालदेखि मान्दै र गर्दै आएको कुराहरूलाई गोलमटोल गरेर नयाँ बनाउने होइन, यसलाई जर्गेना गर्न सक्नुपर्छ सम्भव भएसम्म । आफ्नो सम्पत्तिको संरक्षण गर्न नसक्ने जातिले अरू के नै गर्न सक्छ !”
बाबाले रिसाउँदै भन्नुभएको थियो, “थाहा नभएको विषयमा नबोल्नू । संरक्षण भएको छ कि छैन तिमीलाई कसरी थाहा हुन्छ ! देशभरि संरक्षणको लहर उठिरहेको देखेको खोइ ?”
“मुखले मात्र संरक्षण गरेर केही पनि हुँदैन बुझनुभो !” भनिदिएँ मैले आवेशमा ।
“नजाने बाटो नसोध्नू !” उहाँ पनि झोँकिनुभयो । त्यसपछि मैले केही भनिनँ । सोचेँ आवेशमा आउनु हुन्थेन भनेर । मेरो रमिता हेर्ने क्रम बढ्यो देशको । हेरिरहेँ पर बसेर । मान्छेहरू देशदेश भन्दै हिँडिरहेको, कुदिरहेको देख्थेँ । आदिवासीहरू, गैरआदिवासीहरू सबै देश भन्दै कराइरहेका थिए । आदिवासी जातिभित्र दिनदिनै हुर्किरहेको विकृति, विसङ्गति परबाट पनि देखिन्थ्यो । देखेँ मैलेपनि । विकृतिमा रिस मिसाउँदा निस्केको फोहरमैलाको दुर्गन्ध । आदिवासीको कीर्तिमा रिसले बनाएको कुरूप अनुहार । रिसले आगो बाल्छ र आगोले संसार डढाउँछ भन्ने कुरा बुझेको थिएँ । रिस समस्याको समाधान होइन बरु समस्याको स्रोत हो भन्ने बुझेको थिएँ । मञ्चमा चढेर रिस पोख् ने मान्छेहरूलाई कसरी नेता मान्ने- ती मान्छेहरूलाई नेता मान्न सकिनँ । उनीहरूको भनाइलाई भाषण पनि मान्न सकिनँ । दुख्थ्यो कताकता ती भनाइहरूले । कमीकमजोरी त आदिवासीहरूले गरिरहेको राजनीति, संस्कार, भाषा, लिपिमा देखिरहेको थिएँ । रिसको भारीले थिचेर होला, उनीहरूले आफूभित्रको विकृति, विसङ्गति, रूढिवादी, अन्धविश्वास देख् न छोडिसकेका थिए । कहिलेकाहीँ आफूले देखेको कुरा भन्न मन लाग्थ्यो, तर बाबाको झपार खाने डरले भन्दिनथेँ । हेरिमात्र रहेँ रमिता । यसलाई सफा खेल मान्न सकिनँ । यसलाई विस्मरण गर्न चाहान्थेँ । यो खेलबाट टाढा बसेर आफ्नै अध्ययनमा लाग्न चाहन्थेँ, लागिरहेँ पनि । अध्ययनमै लागिरहे पनि घरमा मान्छे आउने-जाने गरिरहन्थे, देश सुनाउन, जाति सुनाउन ।

एकदिन बाबाको एकजना साथी बाबाको कोठामा पसेर बाबालाई भन्दै गरेको सुनेँ । भन्दै हुनुहुन्थ्यो, “देशको रूप नाङ्गो पहाडजस्तै भइसकेको छ । हिउँ भइञ्जेल मात्र हिमाल सुन्दर देखिन्छ । सुन्दर हिमालमा अंशुमाली सुन्दर देखिन्छ । हिउँ पग्लिनेबित्तिकै हिमाल लुते कुकुर देखिन्छ । हिजोको चिल्लो मुलायम देश आज सबैलाई घिन लाग्ने भैसकेको छ । हेर्दाहेदै यसका सुन्दर भुत्ला झरिसकेका छन् ।”
“देश लुते कुकुर भएको हो त !” बाबाले अचम्म मानेर सोध्नुभएको सुनेँ ।
“आदिवासीलाई वेवास्ता गरिनुभनेको त्यस्तै हो भन्ने मलाई लाग्छ ।”
“लुते कुकुर मलाई घिन लाग्छ ।”
“घिन लागेर के गर्नु आफ्नै देश हो ।”
“देश भन्दैमा जे पनि सहनुभन्ने छैन ।”
“सहने कुरा होइन । बनाउने कुरा पो हो त ।”
“त्यो त हो । हामी त्यसैलाई त बनाउने कुरा गरिरहेका छौं ।”
“हेरौं देशले कसरी हाम्रो कुरा सुन्छ ।”
“सुन्नुपर्छ । यो सुन्ने बेला हो ।”
“सुनेन भने नि !”
“दुर्भाग्य हो । देश र मान्छेहरूको ।”
“सुन्नु मै सबैको भलो छ । पशुपन्छी, बोटबिरुवा, हावापानी सबैको मौसम हुन्छ । यो सुन्ने मौसम हो ।”
“मौसममा अन्नबाली लगाइएन भने बाली सप्रिदैन ।”
“तपाईंले लुते कुकुर भन्नु भएको चाहिँ मलाई घत लाग्यो । लुते कुकुर ।”
“लुते कुकुर !” भनेर उहाँहरू हाँसेको सुनेँ।
“देश लुते कुकुरजस्तो भएको छ ।” कुरा सुनेर एक्लै गुन्गुनाएँ । कतै कुवाबाट आएको जस्तो विचित्रको आवाज सुनेँ आफ्नै आवाज त्यसबेला ।

एकदिन अचानक बिरामी भएँ विचित्रको लक्षणसहित । क्षणक्षणमा अचेत हुने । व्यथाले चेपेपछि विभिन्न आवाज निकालेर कराउने र बर्बराउने गर्न थालेछु । कहिले रुने, कहिले कराउने, कहिले उप्रिmने, कहिले कुद् ने, कहिले थर्रथरी काम्ने हुन थालेछ । व्यथाले समाइन्जेल होस नहुने, केके क्रियाकलाप गरेँ भनेर अरूले बताउनुपर्ने । एकपटक त कैयौँदिनसम्म होसै खुलेन भन्थे आमा-बाबा । आमा-बाबा साह्रै चिन्तित हुनुभएछ । साथीभाइ, इष्टमित्र, गुरुजनहरू पनि चिन्तित । औषधि उपचार, घर देवता, आदिवासी देवता, कुल देवता र डाक्टर देखाउनुभएछ । केही पारा लागेन छ । आमा-बाबा चिन्ताले सिद्रा हुनुभएको कुरा पछि मैले थाहा पाएँ । दुःख लाग्यो । गुरुजन, साथीभाइ, इष्टमित्र हेर्न आइरहन्थे मेरो दुर्दशा । हेर्दाहेर्दै यति कमजोर भएछु सबैले माया मार्न थालेछन् । बाँच्छु भनेर झिनो मात्र आशा थियो रे त्यसबेला । दिनदिनै मर्ने सम्भावना बढिरहेको थियो रे । झण्डै हप्ता दिनपछि होस आयो । घटेर सिट्ठा भएको थिएँ होस आउँदा । सबै कुरा पछि आमाले भन्नुभयो र थाहा पाएँ । तर मर्छ भन्दाभन्दै महिना दिनपछि व्यथा अलिक कम भएछ । समय-समयमा काम्ने, बर्बराउने, कुद् ने, उप्रिने लक्षण भने साथै थियो । धेरै कोशिश गरेपछि, विभिन्न ठाउँमा देखाएपछि बिस्तारै शारीरिक रूपमा केही सञ्चो भएको ठानेँ । कहिलेकाहीँ काम्ने, बर्बराउने त छँदै थियो । अरूले देख्दा तन्दुरुस्त भैसकेको थिएँ, हिँड्डुल गर्थेँ । खाना राम्रै खान्थेँ । शारीरिक रूपमा सञ्चो भए पनि मानसिक रूपमा कमजोर थिएँ । एक किसिमको मनोरोगी भएँ । सुरुमा सञ्चो भएको लाग्नु मेरो भ्रम थियो । म मनोरोगी भएको कुरा बिस्तारै चाल पाएँ । लाग्यो तन्दुरुस्ती भ्रम रहेछ, मान्छेहरूको भ्रम रहेछ ।

शरीरको कुन भागबाट हो एकदिन खोइ के हो निस्केर गएको देखेँ । आकार राम्रो ठम्याउन सकिनँ, कीराजस्तो, छायाँजस्तो, मान्छेजस्तो थियो त्यो । “हंस” निस्केर गएको जस्तो लाग्यो र डराएँ । डरले निकैबेर कामिरहेँ । मर्छु जस्तो लाग्यो । शरीरको श्री नै निस्केर हिँडेपछि मान्छे कसरी बाँच्छ र ! यसपटक किन हो बर्बराइनँ । त्यो छायाँ धेरै टाढा गएन, घुमिरहृयो मेरै वरिपरि । त्यसले एक किसिमको मण्डल बनायो । हेर्दाहेर्दै विभिन्न रूपमा परिवर्तन भयो । त्यो छायाँलाई सोचेर मेरो मनले आकार बनायो । कहिले अर्धमान्छेको रूपमा, कहिले कीराको रूपमा, कहिले भूतप्रेतको रूपमा, कहिले इश्वरको रूपमा, कहिले शैतानको रूपमा, कहिले दुर्घटना र घटनाको रूपमा । यसले मेरो आँखा र दिमागमा नरक भर्न चाहन्छ जस्तो लाग्यो । व्यथाले चेपेको बेला “छायाँ, छायाँ, मेरो छायाँ मेरो छायाँ” भन्दै कराउने, उप्रिने र जोडले काम्ने गर्थेँ भन्नु हुन्थ्यो आमा । म चाल पाउँदिनथेँ । काम्न छोडेपछि छायाँ पनि हराउँथ्यो । म पनि शान्त हुन्थेँ । छायाँ हराए पनि त्यसको भय भने भइरहन्थ्यो । साँच्चै छायाँले दिमागमा नरक भरेर गएको भान हुन थाल्यो मलाई । जे सोचेँपनि छायाँ देख् न थालेँ । छायाँ निस्केर गएको दिनदेखि सधैँ लाग्ने भयभन्दा कैयौँ गुणा बढी भय हुन थाल्यो । कमिला, झिँगा, पुतली, मौरी, कुकुर, बिरालो, काग, मूसा आदिइत्यादि देख्दा पनि भय हुन थाल्यो । घरभित्र होस या बाहिर यो अवस्था उस्तै । मान्छे कराएको, रोएको सुन्दा पनि भय छँदैथियो । अँध्यारोबाट आउँदै गरेको दुर्घटना, उज्यालोबाट आउँदै गरेको भविष्य देखेर पनि भय हुन्थ्यो । झिसमिसे उज्यालो, गोधुलिसाँझ, तुँवालो, झरीबादल, आँधीहुरीबाट आउँदै गरेको मान्छेको साँझबिहान, दिनरात देखेर भय हुन्थ्यो । सबैभन्दा बढी भय मलाई शरीरबाट निस्किन्दै गरेको चिन्ता, समस्या, रोग र मुत्युबाट हुन थाल्यो ।

सुरुमा त त्यति भय भएन, तर निरन्तर रूपमा देखापरेपछि मानसिक तनाव बढ्यो । तनाव यति बढी बढ्यो कि त्यसका अनेकौँ प्रभाव देखिन थाल्यो । छायाँको प्रभावले गर्दा कराउने, चिच्याउने, उप्रिने, कुद् ने, बर्बराउने गर्न थालेँ । कालो, अँध्यारो छायाँ देख् नासाथ भाग्न खोज्थेँ । कहिले एकोहोरिने, कहिले डराउने हुन्थ्यो । यो छायाँको निष्ठूरीपनले चैनसित बस्नै दिएन । नियन्त्रण गर्न खोज्थेँ । सकिनँ । व्यथाले चेपेको बेला मात्र देख् ने छायाँ पछि सामान्य अवस्थामा पनि देख् न थालेँ । यसबाट छुटकारा पाउन रुने, कराउने, उप्रिने, कुद् ने, काम्ने, बर्बराउने गर्थेँ । ती सहजताका बाटा थिए मेरा । तर कुनै पारा लागेन । कतिपय अवस्थामा होस हुन्थ्यो कतिपय अवस्थामा बेहोस । मेरो मानसिक सन्तुलन साह्रै निफर भयो, खस्राकखुस्रुकको आवाज आउँदा पनि झस्किने । प्रायः एकान्त र रातमा बढी व्यथाले चेप्ने गर्दथ्यो । व्यथाले चेपेपछि चिच्याएर, कराएर निस्किन्थेँ । कहिले सपनामा उठेर हिँड्थेँ । कहिले मध्यरातमै रुन थाल्थेँ । व्यथाले छोडेपछि सारा शरीर दुःखेको, थाकेको, गलेकोजस्तो हुन्थ्यो । व्यथाले चेपेपछि समाउन, खुवाउन, सुताउन आमा-बाबा हैरान हुन्थे, दिक्क हुन्थे र थकित हुन्थे । कतिपटक त आमालाई एकान्तमा रुँदै गर्नुभएकी देखेको थिएँ । आमाले चिन्तित भएर बाबासित कुरा गर्नुभएकी सुनेको थिएँ । बाबाले आमालाई सम्झाउनु हुन्थ्यो । तर बाबा आफैँ पनि हतोत्साहित भएको मैले महसुस गरिरहेको थिएँ । आमा-बाबाको यो कारुणिक अवस्था हेर्न ज्यादै कठिन हुन्थ्यो । मेरो अवस्था हेर्नलाई उहाँहरूलाई गाह्रो हुन्थ्यो र कहिले हेर्न नसकेर आमा बाहिर निस्किनु हुन्थ्यो । भक्कानो उठेर आउँथ्यो त्यसैत्यसै । तर म केही गर्न सक्दिनथेँ । सहरकै बासिन्दा भए पनि उहाँहरू धामी, झाँक्री, बिजुवामा विश्वास गर्नुहुन्थ्यो । डाक्टरलाई त्यति विश्वास गर्नुहुन्थेन । देखाउनको लागि त डाक्टरलाई पनि देखाउनु हुन्थ्यो । डाक्टरले उहाँहरूको मनोविज्ञान बुझेर हो या किन हो घर देवतालाई पनि देखाउनु भन्थे । डाक्टरले दिएको औषधि विश्वास नलागेर पूरा खुराक मलाई खुवाउनु हुन्थेन । म हेरिरहन्थेँ । म उहाँहरूको विश्वासको हत्या गर्नु उचित ठान्दिनथेँ ।

म बिरामी भैरहेँ । निरन्तर भैरहेँ । कहिले निकै साह्रो हुन्थेँ । कहिले निको भएको जस्तो हुन्थ्यो । छायाँ मेरो वरिपरिबाट टाढा गएन । कहिलेकाहीँ देख्दिनथेँ त्यसलाई । त्यसलाई नदेखेको बेला त हायसञ्चो हुन्थ्यो । खासगरी सुतेको बेला, साथीभाइसँग खेलेको, बोलेको बेला त्यसको सम्झना हुँदैनथ्यो, सम्झना नआएपछि देख्दिनथेँ पनि । एकान्त भएको बेला मनलाई भयको कुहिरीमण्डलभित्र पुर्याइदिन्थ्यो । त्यसैले म त्यसलाई विस्मृत गर्न चाहन्थेँ र आनन्द मान्थेँ । तर त्यस्तो आनन्द विरलै हुन थालेको थियो । म जान्दथेँ यसले त्यति हानी गर्दैन भनेर । तर यसको सम्झना आउनु नै आफैमा हानी थियो । सम्झना आउनासाथ दिमागमा भय भरिदिन्थ्यो । दिमागमा भरिएको भय तातिनेबित्तिकै बौलाउन थाल्थेँ । मृत्युको रूपमा घुमिरहेको बेला बढी तर्साउँथ्यो । अहिले मरिजान्छु कि जस्तो हुन्थ्यो । मृत्युको सम्झना नआएको चाहन्थेँ । बिरामी हुनुभन्दा अगाडि मृत्युको सम्झना आएको त्यति स्मरण छैन । अहिले त मृत्यु मेरो वरिपरि पखेटा फैलाएर घुमिरहेकोजस्तो लाग्न थालेको छ । मृत्यु गहिराइ लाग्थ्यो र डराउँथेँ । यो छायाँले जालीदार घर बनाउँदै लग्यो, दिमागभित्र र बाहिर । यसको असर मेरो चाल, व्यवहार सबैमा पर्दै गयो ।

यसले गर्दा आमा-बाबा शोकमा डुब्न थाल्नुभयो, म आफैँलाई पनि कस्तोकस्तो लागेर आउन थाल्यो । भन्थेँ, “यो के भएको होला ! बरु मरिजानु नि !”
टोलछिमेकमा विभिन्न किसिमका अफवाह फैलिन थाल्यो । कसैले निसाम् बौलायो भन्न थाले, कसैले धामी निस्किन्छ भन्न थाले, कसैले सङ्क्रमक रोगको लक्षण हो भन्न थाले । यस्तो उन्मादी कुराले मेरो मस्तिष्कमा नराम्रो असर पार्दै गयो । सम्भव भएसम्म आफूलाई बचाइराखेँ । छायाँको जिकिर गर्दा कतिले बौलाएको ठाने भने कतिले भूतप्रेत, पिशाचले सताएको ठाने । ती सबै अफवाह थिए । अफवाह भनेर जान्दाजान्दै पनि मान्छेको नजरमा सत्य बन्न लागिरहेको थियो । त्यसैले मान्छेसित छायाँको जिकिर गर्न छोडिदिएँ । तर यसलाई मस्तिष्कबाट निकाल्न सकिनँ, यो मस्तिष्कमै कुहिएर बसिरहृयो ।
मेरो विवेकमा छायाँको समाधान थिएन । असम्भव । घरका मान्छे, साथीभाइ आएको बखत दुःखसुखका कुरा हुन्थे, ज्ञान, दर्शन, साहित्यको कुरा हुन्थ्यो । रमाइलो लाग्थ्यो । मान्छेहरूसित कुरा गरिन्जेल संसार नै घमाइलो लाग्थ्यो छायाँलाई बिर्सिन्थेँ । मान्छे, साथीभाइ, आमा-बाबा कोही नभएको मौका छोपेर यसले आकार बढाउँथ्यो । कहिले त आकाशजत्रो भएको भान पथ्र्यो र चिच्याउने, रुने, काम्ने गर्थेँ । यस बेला साह्रै डर लाग्थ्यो । डरले पातजस्तै भरैसम्म कामिरहन्थेँ । मेरो यस्तो विकराल रूप देखेर मान्छेहरू डराउँथे । यसलाई उनीहरू धामी निस्किने लक्षण ठान्थे । आमा-बाबा भने म पागल हुन आँटेको देखेर आत्तिनुहुन्थ्यो । उहाँहरू अरू बिरामी भए पनि पागल नभइदिए हुन्थ्यो भनेर कामना गर्नुहुन्थ्यो । कहिलेकाहीँ त उहाँहरू पनि छोरा धामी निस्किन आँटेको कुरामा विश्वास गर्नुहुन्थ्यो ।
मलाई निको बनाउन उहाँहरूले उपलब्ध भएसम्मका सबै उपचार गर्नुभयो । तर मेरो रोगको सन्तोषजनक प्रगति हुन सकेन । अनेकौँ उपाय गर्दा पनि प्रगति हुन नसकेपछि उहाँहरू हताश हुँदै जानुभयो । म आफैँलाई पनि ठूलो भार लाग्न थाल्यो । आमा-बाबालाई दिएको कष्टले मलाई झन् गाह्रो भयो सास फेर्न । म उकुसमुकुसिएको थिएँ । भित्रभित्रै बलिरहेको थिएँ । आफूलाई घेरा हाल्ने समस्याबाट बाहिर निस्किन त्यति सजिलो देखिनँ । वरिपरि अदृश्य घेरा थिए, घेराभित्र मेरो उकुसमुकुस । बाटाहरू पनि खुलेको देखिनँ, आकाश पनि धुम्म देखेँ । साथीभाइ, इष्टमित्र सबैबाट सहयोगको प्रयास भएको थियो तर सबै बेकार । कल्कलाउँदो बैँसको मेरो शरीर हेर्दाहेर्दै शिथिल हुँदै गयो । यसरी ओइलाउँदै जानुलाई निको मानिनँ मैले । मजस्तो मेधावी मान्छेले कष्टबाट भागेर हिँड्नु पनि उचित ठानिनँ । कष्ट निवारण गर्ने उपाय पनि परपर हुँदै गइरहेको थियो हातबाट । चारैतिरका बाटाहरू बन्द हुँदै थिए । विकराल बन्दै गएको मनोरोग घाँटी न्याँक्न आइरहेको थियो । अब के गर्ने भन्ने प्रश्नले मलाई हुटहुटी लगायो । कष्टको तरुल भएर बाँच्न झन् असहृय भयो । विकल्पका थुप्रै-थुप्रै प्रकटहरू आउँदैजाँदै थिए । आफूलाई समाप्त गर्नु या सिर्द्धार्थजस्तो गृह त्याग गर्नु प्रमुख प्रकट बन्दैथियो । कमजोर सोचले बोकेर ल्याउने विषसँग सहमत हुन मनले मानेन । सङ्कटको बेलामा यस्ता अनाहक सोचले पखेटा फैलाउनु पनि स्वाभाविकै थियो ।

यी माथिका विकल्पहरूलाई यथावत राखेर स्वअध्ययन बढाउने विचार गरेँ । छायाँ प्रकृतिसँग सम्बन्धित पुस्तक, मनोवैज्ञानिक पुस्तकहरू पढ्न थालेँ । पढाइमा डुबेको देखेर मान्छेहरू फेरि विभिन्न अड्कलबाजी गर्न थाले । कसैले ऊ विद्वान् हुनेछ भने । कसैले ऊ बाबाजस्तै नेता हुनेछ भने । कसैले ऊ जोगी हुनेछसम्म भने । ती मान्छेका अड्कललाई वास्तै नगरी म आफ्नो खोज, अनुसन्धान, छलफलमा लागिरहेँ । कतिपय पुस्तकमा छायाँसँग मिल्दोजुल्दो व्याख्या भएको पाएँ । त्यस्तो पुस्तकलाई दोहर्याइ, तेहर्याइ पढेँ । ती पुस्तकमा शैतान र शैतानको वास नरक खोजिरहेको थिएँ । ती पुस्तकमा न शैतान भेटेँ न नरक नै । केवल शब्दको रङ्ग र आकार हार मिलाएर छापिएका थिए । हार मिलेर बसेका शब्दको रङ्ग र आकारले पीडा कम गर्ने कुरै भएन । मेरो पीडा त्यो शब्दको हारमा मिल्न सकेन । पीडालाई सहज गर्न निरन्तर अध्ययन गरिरहेँ ।

आफू स्पष्ट नभएको विषयमा मु लुकीलाई सोध्ने गर्थेँ । उनी मेरी कक्षाकी सहपाठी थिई । हामीहरू विमर्श गर्थ्योँ घण्टौंसम्म । विभिन्न विषयमा गम्भीर छलफल हुन्थ्यो । कुनै बिन्दूमा उनी अड्न खोजे पनि म अड्दिन थिएँ । जब उनी आफ्नो विचारलाई विराम लगाउन खोज्थी, विराम लगाएको विकट बिन्दूबाट उठाएर हिँड्थेँ म । मैले हिँड भनेपछि उनी विवाद नगरी हिँड्थी । उनको यो बानी मलाई अति नै मन पथ्र्यो ।
“तिमीसित तर्क गर्नु गाह्रो छ । लरतरो तर्क तिमीलाई खेलाँची मात्र हुन्छ ।” भन्थी । कहिलेकाहीँ घण्टौं तर्कवितर्क, विमर्श हुन्थ्यो । हामीले यसलाई अध्ययन मानेका थियौँ । प्रत्यक्ष रूपमा यस्तो तर्कले ज्ञान नदिए पनि अप्रत्यक्ष रूपमा दिइरहेको हुन्थ्यो । छलफल गरिरहेको बेला हाम्रो स्वर चर्किएर ढोकाबाहिर निस्किन्थ्यो । ढोकाबाहिर निस्किएका आवाजलाई समेट्दै आमा कोठासम्म आएर चियाउनु हुन्थ्यो । आमा यस्तो छलफल औधी मन पराउनुहुन्थ्यो, यस्ता छलफलले छोराको कष्ट अलिकम हुन्छ भनेर जान्नु हुन्थ्यो । म पनि मूल विषय छायाँ हो भन्ने बिर्सेर बोलिरहन्थेँ । यो कुराको ज्ञान मु लुकीलाई पनि हुने गथ्र्यो । यो अवस्थामा उनले मलाई धेरै गुण लगाएकी थिइन् ।
एकदिन हामी “मन के हो” भन्ने विषयमा छलफल गरिरहेका थियौँ । निकैबेरसम्म गरिरहृयौँ त्यो दिन ।
मैले भनेँ, “मन शरीरको र्सूय हो । यो टाढा-टाढासम्म किरण फैलाएर उडिरहन्छ । जसरी र्सूयको किरण वायुमण्डल टेकेर धर्तीमा आउँछ त्यसरी नै मन, बोलीले पनि सतह टेकेर हिँड्छ । मेरो आवाज तिम्ररो कानसम्म जसरी उडेर आइपुगेको छ, त्यसरी नै मन पनि उडेर टाढा-टाढासम्म पुग्छ ।”
प्रतिवाद गरिन् उनले । भनिन्, “बोली मेरो कानसम्म आउने कुरा मान्न सक्छु । तर मन उड्ने कुरा कसरी मान्नु”
“एकपटक सोची हेर ! मन नउडी आकाशमा कसरी पुग्छ” भनेँ मैले । उनी चुप बसेको देखेर फेरि भनेँ, “संसार युद्धमा छ । धर्तीमा पैतालाले युद्ध गरेपछि पाइला र्सछ ।

बिरुवाले जमिनसँग युद्ध गरेपछि टुसा बाहिर निस्किन्छ । हावा, बादल, प्रकाश सबै युद्धमा छन् । मन पनि युद्धबाट नै आकाशमा पुग्छ ।”
उनले कतिपय कुरा बुझिन्, कतिपय बुझिनन् । यस्ता छलफल म बिरामी भइन्जेल भैरहृयो । उनी आएर बोलेको बेला म सबै कुरा बिर्सिन्थेँ । रमाइलो लाग्थ्यो मलाई उनको सामिप्य । उनी सधैँ मेरो सामिप्य भैरहुन् जस्तो लाग्थ्यो ।

मेरो अध्ययनको रुचि झन् बढेर गयो । म अध्ययनमा खेल्न थालेँ । यसरी बढ्नुको कारण छायाँ नै थियो । यो छायाँले निरन्तर दुःख दिएपछि योबारे जान्नु आवश्यक ठानेँ । कोठामा भएको पुस्तक र बाबाको आल्मारीमा भएको पुस्तकले मेरो रुचि कम गर्न सकेन । सहरमा भएका विद्वान् र विदुषीले शान्त पार्न सकेनन् । रुचि झन्-झन् बढिरहेको थियो, भनौं छायाँले झन्-झन् दुःख दिइरहेको थियो । केही मान्छेहरूले रूढि र कुसंस्कारले समाज चलाउन खोजेकोमा मलाई क्रोध हुन्थ्यो । यस्तो रूढि र कुसंस्कार बासी लाग्थ्यो र गन्हाउँथ्यो । बासी विचार, दर्शन अर्जापेर कष्ट दूर हुने कुरामा मलाई रतिभर विश्वास थिएन । त्यसैले शास्त्रीय विचारबाट दिक्क भएर नयाँ संसार खोज्न थालेको थिएँ । मु लुकीसँगको छलफलमा सधैँ नयाँ कुराको प्रस्फुटन हुन्थ्यो । यी प्रस्फुटनहरू कापीमा भेला गर्थेँ । धेरैभन्दा धेरै प्रस्फुटन बटुल्न छलफलमा समय दिन्थेँ । मेरो उद्देश्यमा तिनी सधैँ सहयोगी सिद्ध भई ।
एकदिन सधैँझैँ हामी “चेतना” को विषयमा बहस गरिरहेका थियौँ । कसले प्रतिपादन गरेको हो यो मलाई राम्रो थाहा थिएन । पत्रिकामा पढेको आधारबाट यसमा जिज्ञासा उत्पन्न भएको थियो । मेरो मात्र होइन मु लुकीलाई पनि जिज्ञासा उत्पन्न भएको रहेछ । त्यसैले हामीले यस विषयमा बहस गर्यौँ । आमा-बाबा अर्को कोठामा बसेर टि.भी. हेरिरहनुभएको थियो । मु लुकी आफ्नो तर्क जोडदारसँग राख्दै थिइन् । म पनि राख्दै थिएँ ।
भन्दैथिएँ, “चेतनाको बारेमा धेरै व्याख्या भएका छन् । पmाइड र उनका विद्यालयका मनोविश्लेषकहरूले चेतनालाई नजिकबाट हेरेका छन् । उनीहरूमा पनि खास गरी पmाइडले अवचेतनाका कुरा गरेका छन् । प्रश्न उठ्छ अवचेतनाको स्रोत के हो-अवचेतना बनिसकेपछि चेतना बन्ने कुरा मान्न सकिन्छ । तर मेरो दिमागमा घुमिरहेको प्रश्न चाहिँ चेतना चक्र हो ।”
मेरो कुरा सुनेर उनी एकछिन सोचाइमा परिन् । मैले हेरिरहेँ ।
भनिन् “के हो चेतनाचक्र-म त पहिलोपल्ट सुन्दैछु ।”
भनेँ, “मान्छेका शरीरका लवण, आवाज मान्छेको मृत्युपछि पनि यसै पृथ्वीको वरिपरि छरिएर बसेको हुन्छ । यही लवण अरू लवणहरूसँग मिलेर नयाँ वस्तु बन्दछ । मान्छेका सोचाइ, स्मरण मान्छे मरेपछि के हुन्छ-प्रश्न बन्छ । मलाई लाग्छ स्मरण, सोचाइ पनि यहीँ कतै छरिएर रहेको हुन्छ ।

जब मान्छेले गर्भमा आकार लिन थाल्छ र मस्तिष्कको विकास हुन थाल्छ । यी स्मरण, सोचाइ त्यही मस्तिष्कमा जम्मा हुन थाल्छ र आकार ग्रहण गर्दछ । नानीहरू जन्मिनेबित्तिकै हाँस्ने भनेको नै चेतनाको आकार हो । मस्तिष्कमा आएर आकार लिनुअगाडि र मृत्युपछि तिनीहरूको अवस्था अवचेतना हुन्छ । मान्छेको मृत्युपछि चेतना टुक्रिएर पृथ्वीमा तैरिन थाल्छ । गर्भमा मान्छेको विकास हुन थालेपछि फेरि मान्छेको मस्तिष्कमा भेला हुन थाल्छ । यही अवचेतनाका टुक्राहरू पछि अवचेतनामा जान्छन् र चेतनामा । मान्छेले आकार ग्रहण गरेपछि स्मरण, सोचाइहरूले पनि आकार लिन थाल्छन् । चेतनाका पनि अवस्थाहरू हुन्छन् । एउटा अवस्थाबाट अर्को अवस्थामा पुग्न धेरै लामो दुरी तय गर्नुपर्छ । मृत्युपछि चेतनाहरू टुक्रिएर अवचेतनाका टुक्राहरूमा टुक्रिन्छन् । यसको एउटा चक्र हुन्छ । यही नै चेतना चक्र हो ।”
“मलाई त तिम्ररो कुराले बौलाहा बनाउँला जस्तो छ ।”
“कुनै पनि कुरा भौतिक होस या अभौतिक सबै युद्धमा हुन्छन् । ती सबै एक अर्कामा भर मात्र परेका हुँदैनन्, युद्ध पनि गरिरहेका हुन्छन् । त्यसैले सबै यौद्धिक हुन्छन् ।”
“तिम्ररो कुरा सुन्दा त संसार युद्धमय छ ।”
“संसार युद्धमा छ एक अर्थमा । युद्धको अर्थ मैले हतियारधारी युद्धलाई मात्र भनिरहेको छुइनँ। उडिरहेको चरा, बगिरहेको पानी सबै युद्धमा छन् भनिरहेको छु ।”
“तिमीले भन्न खोजेको संघर्ष, घर्षण सबै युद्ध हुन् ।”
“हो युद्ध हुन् । के एउटा फूलको बिरुवाले फुल्न युद्ध गर्नुपर्दैन”
“पर्छ । तिम्ररो विचारमा विचार, कल्पना, स्मरण, आवाज झण्डै उस्तै हुन् ।”
“हो । चेतनाको कारणले नै सबै वादहरू आबाद भएका छन् ।”
“निर्जीव वस्तुमा चेतना कहाँ हुन्छ” उनले भनी ।
“गएर हेर एउटा पहाडलाई, एउटा ढुङ्गालाई ! यो कसरी खिइन्छ ।”
“ढुङ्गा खिइनु र पहाड खिइनु चेतनाभित्र पर्दैन ।”
“ढुङ्गालाई खिइन्दैछु भन्ने ज्ञान हुँदैन । ढुङ्गा खिइन्दै छ भन्ने ज्ञान त मान्छेलाई पो हुन्छ ।”
“मान्छेलाई भएको ज्ञानसँग ढुङ्गालाई हिसाब लिनु छ र !” उनी भन्दै थिइन् । छलफल पूरा हुन पाएको थिएन । विषय जटिल बन्दै गइरहेकोथ्यो । उनको आँखा घुम्दै मेरो अनुहारमा गएर अडियो । उनी बोल्दै थिइन् । म हेर्दै थिएँ । छायाँ मात्र के भन्न लागेकी थिइन् । मेरो आँखा पल्टिन थालेछ । गाला हल्लिन थालेछ । एकैछिनमा बेहोसजस्तै भएछु । उनको एकछिन वाक्य नै फुटेनछ । उनी आत्तिइन् । उनी बेस्सरी आत्तिइन् रे त्यसबेला । तत्कालै उनलाई केही गर्ने होस नै आएनछ । उनले आफूलाई सम्हालेर पल्लो कोठाबाट आमा-बाबालाई बोलाएर ल्याइछिन् । त्यति त उनको विवेकले काम गरेछ । बाबाले “सेँ” लागेको भन्ठानेर उनलाई फेदाङ् मा बोलाउन पठाउनु भएछ । उनले हस्याङ र फस्याङ गर्दै फेदाङ् मा बोलाएर ल्याइछिन् । मेरो अवस्था झन्-झन् नाजुक बन्दै गइरहेको थियो रे ।

फेदाङ् माले झारफुक गरेछ । निकैबेरको झारफुकपछि उसले “सेँ” लागेको कुरा सुनायो रे । यस निष्कर्ष ई आमा-बाबाले पनि विश्वास गर्नु भएछ । मलाई “सेँ” लागेको ठहरियो त्यसबेला । फेदाङ्माले केही झारफुक गरेपछि म निदाएछु । म ब्यूँझिन्दा उनी मेरो छेउमा बसिरहेकी थिइन् । रुँला-रुँलाजस्तो थियो उनको अनुहार । यी सबै घटनाको बेलिबिस्तार म ब्यूँझिएपछि उनले लगाएकी थिइन् । अनि मात्र मलाई थाहा भयो । समय-समयमा मलाई यस्तो हुने गरिरहेको थियो । मलाई व्यथाले चेपेपछि केही पनि चाल पाउँदिनथेँ कसैले भन्नुपथ्र्यो । उनी गएपछि आफूलाई ज्यादै नातागत भएको ठान्न थालेँ । छायाँले पिशाचको रूप धारण गरेर झम्टिन आएको कुरा सम्झिएँ । पिशाचको सम्झना आउनासाथ शरीर एकपटक पूरै काम्यो । शरीरभरि काँडा उम्रिए । चिटचिट पसिना आयो । सबैको सामू भए पनि त्यसैत्यसै आफूलाई निःसहाय ठान्न थालेँ । यो सोचाइ आउनेबित्तिकै हत्तोत्साहित हुन्थेँ । किन हो साह्रै नै निराश लाग्न थाल्यो । यस्तो भयभीत भएर के बाँच्नुझैँ भयो । शरीर, हातखुट्टा चिसिएर लास भएका थिए इष्र्या लाग्न थाल्यो संसार हाँसिरहेको देखेर । अनुहारको कान्ति निभ्ननिभ्न आँटेको थियो । आफन्त, इष्टमित्र आउँथे, जान्थे, सान्त्वना दिन्थे, ती सान्त्वनाहरूले बिछ्यौनाबाट निस्केर घोच्न थालेको जस्तो लाग्न थालेको थियो ।

छायाँको रूप प्रायः कालो हुने गर्दथ्यो । कालो छायाँ विभिन्न आकारमा नाच्दै मेरो अघि आउँथ्यो र तर्साएर जान्थ्यो । प्रष्टसँग ठम्याउन खोज्दा पनि सकेको थिइनँ । ज्ञानको ज्योतिले पनि देख्दिनथेँ त्यसलाई । छायाँलाई कहिले कीराजस्तो कहिले अर्धदृश्य मान्छेजस्तो देख्थेँ । यसले मलाई सोचाइको गहिराइमा डुबाउँदै लग्यो, यस गहिराइबाट कसरी बाहिर निस्किने होला सोच्थेँ । यही अन्धकारमा सोचिरहन्थेँ । एकान्त हुनासाथ चिन्ताका कीराहरू गुटमुटिएर दिमागमा पस्थे र दिमाग कोट्याएर खान्थे । घरपरिवार, आफन्त, इष्टमित्र सबै मसित आजित भैसकेका थिए । लाग्थ्यो म दिनदिनै बोझ बन्दै गइरहेको छु ।
म आफूलाई छायाँबाट लुकाउन खोज्थेँ । हराउन चाहन्थेँ । मानसिक तनावबाट स्वतन्त्र हुन चाहन्थेँ । कैयौँ दिनदेखि म मानसिक तनावमा थिएँ । शैलहरूमा, तालहरूमा, हरियालीहरूमा लुकाएर भए पनि तनावबाट भाग्न चाहन्थेँ । किताबको शब्दले कष्टलाई हलुका बनाउन मद्दत गरेजस्तो पनि लागेन । स्वअध्ययनको गहिराइबाट मोती टिप्न चाहन्थेँ । कताबाट सम्भव छ मोती त्यता भौँतारिन्थेँ । घरको वातावरण, समाजको बनावट मेरो उद्देश्यको वाधक लाग्न थाल्यो । समाज, घरपरिवारलाई यथास्थितिबाट हल्लाउन सक्ने सामार्थ्यवान गल पनि थिएन मसँग । समाजमा भएका विद्यमान वस्तुहरूको अध्ययनले भोक शान्त हुने सम्भावना पनि देखिनँ । परिवार, इष्टमित्र, समाजको मायाले बाँधिएको मान्छे मायाको बन्धन चुँडाउन पनि त्यति सजिलो भएन । मायाको बन्धन भनेको नेलकडीभन्दा उता केही होइन भन्ने नलागेको होइन । यसले मान्छेलाई बाँधेर राख्न सक्थ्यो, फल दिन सक्दैनथ्यो । मलाई बाँधिएर बस्न मन लागेन । जति बाँधिएर बस्यो उति छायाँको साङ्ली मजबुत हुँदै जाने सम्भावना थियो । विस्फोटन र प्रकट चाहिरहेको थिएँ यस अवस्थामा ।

बगेर जान चाहन्थेँ, आफ्नो स्थानबाट, आफ्नो धरातलबाट, आफ्नो विचारबाट, आफ्नो संस्कारबाट, आफ्नो चेतनाबाट, खोलाजस्तै, हावाजस्तै, बादलजस्तै, र्सूयजस्तै । आफूसँगै समयलाई लान चाहन्थेँ । विचारलाई लान चाहन्थेँ । कुनै पनि विषयलाई सत्य बनाएर एकै ठाउँमा राख्न खोज्ने यथास्थितिवादी मान्छेहरू देखेर झोंक चल्थ्यो । सोच्थेँ, पृथ्वी, र्सूय र ग्रहलाई हल्लिन नदिनु सम्भव छ-यिनीहरू हल्लिरहन्छन् । हल्लिरहनुपर्छ । मान्छेको मन, विचार, व्यवहार, संस्कार सबै हल्लिनुपर्छ, नदीजस्तै, बादलजस्तै । यस्ता कुरा सोचिरहेको बेला यस सोचाइलाई, यस अवस्थालाई मान्छेहरू धामी निस्किन आँटेको ठान्थे । बिरुवाको प्रकट, मान्छेको प्रकट देखिसकेको थिएँ । कसरी एउटा ढुङ्गाको चेपबाट बिरुवा निस्किन्छ, गर्भमा रहेको बच्चा कसरी संसारमा पाइला टेक्छ, हुर्किन्छ र बढ्छ । तहमाथि तह थिचिराख्ने तत्त्व हुँदाहुँदै कसरी नयाँ प्रकट लिएर कुनै बिरुवा संसारमा आउँछ, म यी कुराहरू सोच्ने गर्दथेँ बिस्ताराबाटै । सोचेँ, वाधाबन्धन कसलाई मात्र छैन । के भीरमा अडेको ढुङ्गालाई छैन र ! के जीउभरि हिउँ बोकेर बसिरहेको हिमाललाई छैन र ! हिमालको सम्झना आउँदा आफूलाई एउटा हिमाल ठान्थेँ । जीउभरि हिउँ बोकेर बसिरहेको हिमाल । हिमालबाट हिउँ पग्लेपछि हिमाल हिमाल रहँदैनथ्यो मात्र एउटा ढुङ्गा । त्यो ढुङ्गा नै भए पनि बोझबाट मुक्त भएको हुन्थ्यो । हिमालजस्तै बिरुवालाई ठान्थेँ, मान्छेलाई ठान्थेँ । सबै सबैलाई ठान्दै जान थालेँ । हेरेँ घरको छेउमा ढुङ्गाको चेपबाट निस्किन्दै गरेको बिरुवा । ढुङ्गाको चेपबाट बाहिर निस्किने बिरुवाजस्तै मलाई बाहिर निस्किन मन लाग्यो । बाहिर निस्किने उपयुक्त समयको प्रतिक्षा गर्न थालेँ । यो विचारले मस्तिष्कमा पाइला चाल्न थालेपछि रगत हल्लिन थालेको महसुस भयो । हल्लिएको रगत बिस्तारै बग्न थाल्यो ।


भयको खोज / बाटा / छटपटयाहट


आकाशमा टीकाजस्तो पूणिर्माको जून उडिरहेको देखेँ । उडिरहेको जूनको प्रकाशमा सहर निदाएको थियो गहिरो न्रि्रामा । निशाचरहरू आफ्ना पखेटा फैलाएर मनपरी खेलिरहेका थिए । घरका मान्छेहरू मस्त निद्रामा थिए । उठेँ । मसँगै उठ्यो छायाँ । झयाल खोलेर टाढा-टाढासम्म हेरेँ । उडिरहेको जूनको प्रकाश ओढेर घरहरू, रूखहरू, थुम्काथुम्की पहाड निदाएका थिए । सिरेटोले झयालबाट छिरेर अलिकति सुम्सुमायो । नयाँ प्रकट, नयाँ विद्रोह गर्न सोचिरहेको थिएँ । यो सोचाइ केहीदिनदेखि आइरहेको थियो । निरन्तर आइरहेको थियो । सोचाइले गति लिन खोजिरहेको थियो । आज यो सोच तीव्र बन्दै गइरहेको थियो । केहीबेर सोचेर हातखुट्टा चलाएँ । तयार भैसकेका थिएनन् खुट्टाहरू । खुट्टा उचालेँ, खुट्टामा कसैको बन्धन थिएन, खुला थियो, आकाशजस्तै सजिलै उचालियो । अलिकति खुट्टा सारिहेरेँ, सुरुमा गह्रुँगो भयो । हात चलाइहेरेँ, हातहरू चले हावाजस्तै स्वतन्त्र । हातखुट्टा र शरीरलाई एकछिनसम्म चलाइरहेँ । सबै स्वतन्त्र थिए । मनले जता चलाउन चाहन्थ्यो हातखुट्टा, टाउको र शरीरका अङ्गहरू उतै जान्थे, जता डोर्याउन मन लाग्यो, उतै कुद्थे । कुनै वाधाबन्धन थिएन । कतै टाढा पहाडी गाउँमा कुकुर भुकेको आवाज आइरहेको थियो । एकलास रातमा कुकुरको आवाज सुनिरहँदा अनेकौँ आवाजहरू मिसिएको चाल पाएँ । निरन्तर आइरहने आवाज, निरन्तर बगिरहने नदी र जीवनमा थुप्रै कुरा मिसिने र मिसिएको निस्किने गर्दोरहेछ, सोचेँ । ढोका खोलेँ, बाहिर गएँ र घरलाई हेरेँ । घर तुरुन्तै बिरानो लाग्यो । यो घर संसारको कुनै भित्तामा टाँसिएको सानो टालो लाग्यो ।

घरबाट सँगै निस्कियो छायाँ । झवाट्टै आँखाको नानीमा प्रकाश पर्दा नानी खुम्चेर सानो भएजस्तै छायाँको आकार घरभित्रभन्दा बाहिर सानो भएको महसुस भयो । घरबाट बाहिर निस्किनासाथ एक प्रकारको फूर्ति आयो । लर्किदो बिरुवाले बाहिर निस्केर ठूलो सास फेरेजस्तै भयो । ठूलो सास फेरेँ र गन्हाउने सासलाई बाहिर निकाली पठाएँ । केही समय अगाडिसम्म तयार नभएको हातखुट्टा तयार भएर उभे र हिँड्न थाले ।

मैले चलाएँझैँ हातखुट्टा, शरीर स्वतन्त्र ढङ्गले चले, सल्बलाए र बिस्तारै अगाडि बढे । अहिले प्रत्येक कदम नयाँ प्रकटको निमित्त तयार भैसकेका थिए । मानसिक रूपमा टाक्सिएको एउटा बिरुवा ढुङ्गाको चेपबाट बाहिर निस्किरहेको थियो । स्वच्छ हावापानी र वातावरणको प्रभावले पहेंलिएका पातहरू हरित हुन लागेका थिए । मलाई पनि त्यस्तै महसुस भयो । देखेँ खुला आकाशमा खुल्दै गरेका अध्ययनका ढोकाहरू, खुल्दै गरेका बाटाहरू । मन हल्लिएको महसुस भयो । हल्लिएको मनलाई बलियो समाएँ । अलिकति खुकुलो हुनासाथ आँखाबाट खस्ने सम्भावना थियो । यो घडी ज्यादै कठोर बन्दै थियो । घर, आमा-बाबालाई छोडेर जानु मामुली आँटले हुने कुरा थिएन । आफू जन्मेर हुर्केको घरसँग नाता तोड्ने कुरा, छोडेर जाने कुरा खेलाँची हुन सक्दैनथ्यो । भक्कानो उठेर आयो छातीमा । शरीरको चेपचेपबाट रसिएर आएको आँसु चालै नपाई आँखामा भरिन थाल्यो । हात, खुट्टा, मन समाउन आउने थुप्रै तत्त्वहरू थिए, लहराहरू थिए । एउटालाई पन्छायो, अर्को उभिन आउँथ्यो । अर्कोलाई समायो झन् अर्को अन्धकारबाट निस्केर आउँथ्यो । मान्छेले जति नै सांसारिक बन्धनहरू, लहराहरू भए पनि एकदिन आफन्त, इष्टमित्र सबैसित छुट्टिनु पर्ने रहेछ, नछुट्टी धरै पाइँदैन । यही सोचेर ती बन्धनहरूलाई घरैमा छोडिदिएँ । निस्केँ घरबाट बाहिर । तर हरप्रयास गरे पनि मृत्युको छायाँलाई भने आफूबाट छुट्टयाउन सकिनँ ।

घर छोडेर बाहिर निस्केपछि मेरो मन घरभित्र र बाहिर टुक्रियो । घर छोडेर जाने विचार बन्दै गयो । घर छोडेर जाने निश्चय गरेँ । जाने कहाँ ? खुला आकाशमा । फैलिएको धर्तीमा । घर छोडेर जाँदा पो केही राहत पाइन्छ कि भन्ने थियो । घरको चार पर्खालभित्र साम्राज्य गर्ने नरकले बाहिर गर्न सक्दैन कि भन्ने भयो । घर छोडेर हिँडे दिशाहीन । अलिपर पुगेपछि घरबाहिरको खुला वातावरणले निकै आनन्द दियो । स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको महसुस भयो । घरबाट ल्याएर आएको छायाँ पनि क्रमिक लघु हुन थालेको बोध भयो ।

पहिलोपल्ट एक किसिमको आनन्द महसुस भयो । हात फैलाएर उभिरहेको देखेँ क्षितिज । सुन्दर लाग्यो । आजको प्रकृति देखेर नौलो अनुभूति भयो । मन पग्लिन खोजिरहेको थियो । मन पग्लेर निस्किने नौलो अनुभूति कतै राख्न चाहन्थेँ । घर छोड्दा अज्ञात भय लागेको थियो । तर यो बिस्तारै हटेर गयो धूवाँजस्तै । मनभित्रको धूवाँ हट्दा मन सङ्लिएको लाग्न थाल्यो । सङ्लो मन सजिलै उड्दोरहेछ सोचेँ । जून अस्ताउन अगाडि नै डाँडामाथिबाट उज्यालो देखिन थाल्यो । त्यो मिरमिरे उज्यालोमा हिँड्न मलाई अति रमाइलो लाग्यो । हिँडे । हिँडिरहेँ । हिँडिरहेँ दिनभरि त्यो दिन ।

मेटिन खोजेको गोरेटो बाटोको वरपर फाटफुट घर भेटिन्थ्यो । घर देख्दा भोक र तिर्खा लागेर आयो । भोक र तिर्खाको सम्झना आउँदा हातखुट्टा थाकेको महसुस भयो । विपत परिरहेको थियो, पैसा थिएन मसित । मागेर खाने भेषभूषा पनि थिएन । इज्जत, लाजसरमले मात्र पेटको आगो निभ्दैनथ्यो । तुरुन्तै जोगीको रूप धारण गर्नुपनि सम्भव भएन । भित्रभित्रबाट निस्किरहेको भोकको बुलबुललाई आफ्नो अन्तरविरोधले नियन्त्रण गर्नु पनि सम्भव भएन । मभित्र भोक बलिरहेको थियो ।

साँझपख लाज मान्दै भए पनि बाटो छेउको घरमा गएँ । त्यो घरको सिकुवामा गएर बसेँ । म लखतरान थिएँ हिँडाइले । घरमा कोही मान्छे आएको थाहा पाएर एकजना बूढो मान्छे घरभित्रबाट निस्किए । उसले मलाई नियालेर हेरे । मबाट डर मान्नु पर्ने केही थिएन उसलाई । ऊ ढुक्क भयो । पानी पिउन मागेँ । उसले पानी दियो । मनको कुरा खोलुँ कि नखोलुँ भइरहेको थियो मलाई । उसलाई पनि त्यस्तै भइरहेको रहेछ । उसलाई त्यस्तो हुनुको कारण घरमा राम्रो खानेकुरा थिएन । तर उनी खुशी नै थिए किनभने साँझमा उसको घरमा पाहुना पुगेको थिएँ म । हामीबीच सामान्य कुराकानी भयो, चिनाजानी भयो । मैले ऊ कतै टाढाबाट यहाँ बस्न आएको कुरा बुझेँ ।
उसले भन्यो, “साँझमा पाहुना आएका छौ । तिमीलाई हेर्दा सहरबाट कतै टाढा हिँडेकोजस्तो देख्छु । यस हिँडाइमा मेरो घरमा बास बस्यौ हे तीर्थ यात्री ! म तिमीलाई त्यस्तो धेरै खानेकुरा दिन सक्दिनँ । मसित जे छ आजको रात त्यही खानेकुरा दिन चाहन्छु ।” मेरो आत्मामा वृद्ध इश्वर भएर उभिरहृयो । विनीत भएर भनेँ, “तपाईंलाई दुःख दिने नियत होइन । तर आज म वाध्य भएको छु । तपाईंको आतिथ्य प्रेमको लागि तपाईंलाई प्रणाम गर्दछु ।”
“मेरो बिन्ति छ । आतिथ्य सत्कारलाई अन्यथा नठानिदिनू नानी ।”
“त्यसो भए म तपाईंको ऋणी भएँ बाजे !”
“मानवीय कर्तव्यमा हिसाब हुन्छ र बाबु !” भनेपछि मलाई केही बोल्नु सुझेनँ । मैले केही भनिनँ ।
भोक र तिर्खाले निचोरेको मेरो रुग्ण अनुहार । हेर्दै टीठ लाग्ने । त्यो अनुहारमा बस्दै गएको अँध्यारोको वास । उसले दयाले दिएको फूल तरुल, सिमल तरुल, घर तरुल खाएँ । सबै खाएँ भोकले । जीवनमा यति स्वादिष्ट मानेर तरुल खाएको यो पहिलोपल्ट । त्यस घरमा मैले पहिलोपल्ट तरुलको परिकार खाएँ । संसारकै स्वादिष्ट भोजन लाग्यो मलाई । पहिलोपल्टमै मलाई तरुलबारे केही ज्ञान प्राप्त भयो । खुशी लाग्यो ।
सुत्नको लागि सिकुवामा एउटा गुन्द्री दिइयो । जाडो थिएन, त्यसैले ओढ्नेको जरुरत परेन । जरुरत नभएको महसुस गरेर हो या नभएर हो ओढ्ने दिइएन । यसलाई नै लाख मानेँ । धेरै कुरा सोच्न मन पराइनँ । आजको स्वर्गीय रात वृद्धको घरमा काट्न पाएकोमा सन्तोष लाग्यो । थकित भएकोले झयाम्म एक निद्रा निदाएँ । निद्रा पनि मीठो आयो । ब्यूँझिएपछि छायाँलाई देखेँ अनि भोलि कुन बाटो जाने भनेर आकाशमा हेरेर बाटो बनाइरहेँ ।

वृद्ध उठ्न अगाडि उठेँ र बाटो लागेँ । हिँड्दै गएँ । हतार थिएन । मलाई कहीँ पुग्नु पनि थिएन, कहीँ रोकिनु पनि थिएन । तर मलाई त्यहाँ अडिरहन मन लागेन । सुरुमा एकान्तमा हिँड्दा निकै डर लाग्यो । बिस्तारै डर कम हुँदै गयो । तिर्खा लागेको बेलामा वनमा फलेको फलको रस पिएँ । ढुङ्गा, टोड्कामा जमेको पानी पिउँदै हिँडिरहेँ । ढुङ्गा, टोड्कामा जमेको पानी पिउँदा कहिलेकाहीँ आमाले भन्नुहुने तिङ्गेजङ्नाको कथा याद आयो । एकरात जङ्गलमै वास बसेँ । अर्को रात खोलाको किनारमा । आफूलाई माया मारेर हिँड्दै गएपछि आफूभित्रको डर कम हुँदै गएको महसुस भयो ।

तेस्रो दिन एउटा सानो गाउँमा पुगेँ । त्यो गाउँमा विभिन्न जातिका मान्छेहरूको बसोवास थियो । निकैपर गाउँको बीचमा एउटा बडेमाको रूख देखेँ । त्यो रूखको एकातिरको हाँगा माथिदेखि तलसम्म सोरिएर झरेको जस्तै देखिन्थ्यो । सृष्टिको कुनै जीव माथिदेखि सोरिएर तल झर्दा यस्तो हुन गएको हुन सक्थ्यो । आदिम रूखका हाँगा चारैतिर फर्किएका र पात ठूल्ठूला थिए । झयाम्म परेको पातभित्रका हाँगा विभिन्न आकारका देखिन्थे । फेद सानो माटोको ढिस्कोजस्तै मोटो थियो । फेदभन्दा अलिमाथिको हाँगाबाट काने जरा र फेदबाट हाडे जरा निस्केका थिए । सरर्सर्ती हेर्दा आदिम रूख भूस्पर्श मुद्रामा बसेको बुद्ध देखिन्थ्यो । रूखको वरिपरि सफा धर्ती थियो । धर्तीमा हरियो दूबो मौलाइरहेको थियो । गोदावरी, चमेली, सयपत्री, लालुपाते, सेःक्मुरि बीच-बीचमा फुलेका थिए । रूखको अगाडि खुला मैदान । रूखभन्दा अलिपर बगिरहेको दूधजस्तो सेतो नदीले गाउँको शोभा नै बढाएको थियो । यो मूलनदीमा माथि वनको छेउबाट अरू सानासाना दुइ नदी मिसिएका थिए । नदीमा मान्छेहरू नुहाइरहेका थिए, पौडिरहेका थिए । त्यो गाउँभन्दामाथि उचाइमा एउटा सानो गाउँ थियो । त्यहाँ मुस्किलले पन्ध्रबीस घर देखिन्थे । घरभन्दा परपर तलबाट देखिन्थे चरिरहेका गाईवस्तुहरू । त्यो गाउँभन्दामाथि थिए अग्लाअग्ला पहाड । त्यो पहाडभन्दामाथि देखिन्थ्यो हिमालको अलिकति टुप्पा । मौसम सफा भएकोले त्यो हिमाल स्पष्ट देखिन्थ्यो । आकाश खुला थियो । त्यो हिमालको टाउको त्यहाँबाट देखिए पनि हिमाल निकै टाढा छ भन्ने अनुमान लगाएँ । पहाडको माथिबाट चरा उडिरहेका थिए । मलाई यो वातावरण निकै रमाइलो लाग्यो । म विभोर भएँ । यस्तो वातावरणको कल्पना पनि सहरमा गर्न पाएको थिइनँ । सहरमा टि.भी., पत्रपत्रिका, देशविदेश, पढाइ, विभिन्न प्रविधिको बारेमा कुराकानी, खेलको बारेमा कुराकानी गर्नैमा फुर्सत हुँदैनथ्यो । आमा-बाबाले पनि प्राकृतिक सौन्दर्यको बारेमा कुरा गर्नुभएको सुनेको थिइनँ । बरु मलेसियाको जङ्गलमा मारेको बनेलको कथा बाबाबाट धेरैपटक सुनेको थिएँ ।
त्यो गाउँमा भएको सानो गाउँले बजार रमाइलै लाग्यो । गाउँलेहरू आफूले उत्पादन गरेको वस्तु बजारमा बेच्न ल्याउँथे र बेचेर आएको पैसाले नुनतेल, कपडा किनेर गाउँमा लैजान्थे ।

मान्छेहरू सहरिया सम्मानले हेर्थे मलाई । किनभने मेरो पोशाक सुकिलो र सहरिया ढाँचाको थियो । कतिपय मान्छेहरू सरकारी काममा गाउँ आएको पनि ठान्थे । त्यो गाउँमा सहरका मान्छे विशेष गरी सरकारी काम, पर्व र उत्सवमा मात्रै आउँथे ।
मलाई भोक लाग्थ्यो, प्यास लाग्थ्यो । कुनै न कुनै उपायले आफूलाई चाहिने सामलतुमलको जोरजाम गर्थेँ । घरबाट हिँड्दा साँवल नबोकेकोमा भने ठूलो आत्मग्लानी भैरहेको थियो । तर आत्मग्लानीले पेट भर्दैनथ्यो । यति हुँदा पनि खुला आकाशजस्तो वातावरणमा घरमाजस्तो हताश हुनु परेको थिएन । आफूभित्रको अन्तरिक्ष मान्छेहरूको संर्सगले भरिएको ठान्थेँ । मलाई हरियो दूबो लाग्थ्यो त्यो । मान्छेहरूसित कुराकानी गरेँ । कुराकानीको सिलसिलामा थाहा भयो, त्यो माथिको गाउँ “आदिवासी गाउँ” रहेछ । गाउँको बीचमा देखेको बडेमाको रूख “आदिम रूख” रहेछ । आदिम रूखको छेउमा बग्ने खोला “सावाला खोला” रहेछ । यो खोला पखेटा फैलाएर उडिरहेको चराजस्तो देखिन्थ्यो । खोलाको शिरतिर पहाडको फेदमा “तुम्सिङ् वन” थियो । यो वन साप्सिङ्, चिराइतो, ओखर, कटुस, रुद्राक्षको लागि प्रख्यात मानिन्थ्यो । यस वनमा हिमालदेखि तर्राईसम्मका पशुपन्छीहरू खेल्न, चर्न आउँथे । यसले सावालाको शोभा बढाएको थियो । आदिवासी गाउँका मान्छेहरू नुहाउन, पानी लिन र माछा मार्न वनभित्रको यस खोलामा आइरहन्थे । खोलाको पानी सङ्लो भएको हुनाले माछा, पानी हाँस, पाहा खेलेको स्पष्ट देखिन्थ्यो ।
सावाला खोलाको किनार र तुम्सिङ् वनको फेदीमा बसेको यस गाउँलाई “सुम्दो गाउँ” भन्दथे । यस गाउँमा र्सवजातका मान्छेहरू मिसिएर बसेका थिए । सुरुमा यहाँ आदिवासीहरू मात्र बस्दथे । तर पछि विभिन्न जातिका मान्छेहरू बसाइँ सर्दै आएर बस्न थाले । यहाँका केही आदिवासीहरू बसाइँ सरिसकेका थिए अन्यत्रै । यति हुँदाहुँदै पनि रैथाने आदिवासीहरूको बाहुल्य थियो । बसाइँ सरेका वा यायावर भएका आदिवासीहरू चाडपर्वमा भने कसैगरी यस गाउँमा आउने गर्दथे । मान्छेसँगको कुराकानीमा यी सबै कुरा थाहा पाएको थिएँ ।
म हिँडिरहेको बाटोको परतिर “आदिवासी आदिवासी” भनेर मान्छेहरू झुमेको देखेँ । उत्सुक भएर म मान्छे झुम्मिएको ठाउँमा गएँ । रमाइलो थियो । मान्छे झुमेकोतिर जाँदा त्यहाँ ढ्याङग्रो, झयाम्टा, मादल, डम्फु, तुङ्ना बोक्ने मान्छेको एक समूह बजारमा आएको देखेँ । ती आदिवासीहरू यायावर आदिवासी थिए । माथि डाँडाका आदिवासीजस्तै देखिन्थे उनीहरूलाई । यी यायावरको पोशाक,बोलीचाली गाउँले आदिवासीकै हुबहु थियो । ती मान्छेको हल्लाले त्यस टुकडी बजारको आकर्षाण तान्यो । मान्छेहरू उनीहरू भएतिर झुम्मिए । गाउँलेको हर्ष स्वागत, उल्लासले भने मेरो ध्यान खिचिरह्यो । अचम्म लाग्यो । सोचेँ, “यी आदिवासीमा त्यस्तो के गुण छ र यी मान्छेहरू आकषिर्त भएका होलान् । यस्ता आदिवासी सहरमा पनि छन् त्यहाँ ती आदिवासीहरूको विशेष कुनै महत्त्व नै छैन । सबै सामान्य मान्छेजस्तै सराबरा नै छन् ।”
यायावर हेर्न हतारिँदै गरेका एकजना वृद्धलाई सोधेँ । उसले हिँड्दा-हिँड्दै बतायो, “यो समय रूख उत्सवको समय हो । यस उत्सवमा आदिम रूखको पूजा गर्न यायावर आदिवासीहरू घुम्दै-घुम्दै सुम्दो गाउँ आउँछन् ।

रूख उत्सवमा मात्र होइन, रूख पर्व, नयाँ वर्षामा पनि उनीहरू यहाँ आउँछन् । रूख उत्सवमा पूजा गरेपछि हरसाल पानी पर्दै आएको छ । पानी परेपछि खेतीपातीको मौसम सुरु हुन्छ । त्यसपछि गाउँलेहरू खेती-किसानको लागि जोरजाम गर्न थाल्छन् । यी यायावरहरूलाई खुशी पार्न सकिएन भने अन्नबाली राम्रो नहुने गाउँलेहरूको विश्वास छ ।”
विश्रामको एकैछिनपछि यायावरहरू नाचगान गर्न थाले । किताबमा पढेको लोक कथाजस्तो लाग्ने नाचगान भैरहेको थियो । उनीहरूको नाचगानमा जनावर र पन्छीको अनुकरणीय आवाज र नाच थिए । आदिवासीहरूले दुरुस्त नाचगान गर्छन् भनेर मैले विद्यालयको पुस्तकमा पढेको थिएँ । ध्यान दिएर हेरेँ । मान्छेहरू पशु, पन्छी भएर नाचिरहेका थिए । छेउको एकजना सज्जन गाउँले भन्दै थियो, “आदिवासीहरूले जाँडरक्सी, धुम्रपान निकै छोडेछन् ।” त्यो समूहमा नाच्ने एउटी बालाले मेरो ध्यान तानिरहेकी थिइन् । ती बालाले मेरो मात्र होइन सबै दर्शकको ध्यान तानिरहेकी थिइन् । ती बाला अलौकिक भएर नाचिरहेकी थिइन् । उनको नाचमा गजबको फूर्ति थियो । हातहरू पन्छीको पखेटाजस्तै उडिरहेका थिए ।
नाचगान सकिएपछि आदिवासी विधि अनुसार गाउँलेहरूले उनीहरूलाई दक्षिणा, चामल दिए अनि सबै गाउँलेले तयार पारेको खानपिनमा लागे । वरिपरि भेला भएका गाउँलेहरूसित उनीहरूले कुरा गरे । कुराको सिलसिलामा मौसमको कुरा गरे, अन्नबालीको कुरा गरे, जङ्गली पशुहरूको कुरा गरे । उनीहरू गाउँलेहरूसित कुरा गर्दा राष्ट्र भाषामा कुरा गर्थे । त्यसैले उनीहरूको जिब्रोले भाषा पल्टाइरहेको थिएन । सहरबाट आएको मान्छेलाई त अनौठो नै लाग्थ्यो । मातृभाषामा बोल्दा भने साह्रै राम्रो सुहाएको हुन्थ्यो । उनीहरूको भाषिक कुरालाई मैले विशेष ध्यान दिइरहेको थिएँ । बातचितको क्रममा नाचगानको उद्देश्य पानी पार्नु र सह बोलाउनु रहेछ भन्ने बुझेँ ।
खानपिन समाप्त भएपछि छेउको विशाल आदिम रूखको अगाडि फैलिएको मैदानमा सबै भेला भए । म पनि गएँ । यो रूखमा “रूख देवता” बस्छ भन्ने उनीहरूको विश्वास थियो । रूख देवतालाई खुशी पार्न सकिएन भने अनिष्ट हुने अन्धविश्वास रहेछ । आदिम रूखको पूर्वबाट सावाला बगेको थियो । यो नदी अन्नको लागि दूधजतिकै पोसिलो थियो साथै सुन्दर पनि । यद्यपि आदिम रूखलाई पूजा गरिएन भने अन्नबाली, दिनदशा राम्रो हुँदैन भन्ने उनीहरूको पुर्खौली विश्वास रहेछ ।
आदिवासी तुत्तुले पूजा थाल्न अगाडि आदिम रूखको पृष्ठभूमि बतायो । भन्यो, “धेरैवर्षगाडि यो रूख भएको स्थानमा आदिवासीको दरबार थियो । यो रूख सातौं आदिवासी शासकको दरबारको गमलामा रोपिएको बिरुवा हो । गमलामा रोपिएको बिरुवा हुर्किन्दै, बढ्दै, दीर्घयु र विशाल रूख भएको हो । यही दरबारबाट आदिवासीहरूले धेरैवर्षशासन गरेका थिए । आदिवासी शासन कालमा चौतर्फी विकास भएको थियो । त्यसकाललाई शासनको इतिहासमा “स्वर्ण् युग” भनिन्थ्यो । कृषि युगबाट पुजिदै आएको न्वागीलाई “न्वागी राष्ट्रिय पर्व” घोषणा गरिएको थियो र त्रिकोणात्मक झण्डालाई आदिवासी जनपदको “राष्ट्रिय झण्डा” ।

यस समयमा शासक र शासित सबै आनन्दले बसेका थिए । सहयोगको वातावरण थियो । सबैले जनपद निर्माणलाई महत्त्वपूण् ठानेका थिए । व्यक्ति सम्पन्न हुनुभन्दा जनपद सम्पन्न हुनुपर्छ भन्ने सामूहिक आदर्श थियो । यो रूखको आयुले आदिवासी जातिको इतिहास थाहा हुन्छ । हामी यसको उमेर झण्डै चारहजार वर्षपुरानो मान्दछौं । यस रूखको जरा यस गाउँमा मात्र होइन, यस गाउँभन्दा परपरसम्म फैलिएको छ । हिजोका ती शासकका सन्तानहरू अहिले टाढा-टाढा गएर बसोबास गरिरहेका छन् भने कति हामीजस्तै यायावर भएका छन् ।” तुत्तुको भनाइबाट यो रूख आदिवासीहरूको श्रद्धेय रहेछ भन्ने बुझेँ । राम्रै लाग्यो । आदिम रूखमा पूजा लगाउनु अगाडि तुत्तुले आदिवासीका सबै देवतालाई पूजा गरे । यी आदिवासीहरूले पूजा गर्दा घरभित्रको र घरबाहिरको सबै देवता पूजा गर्दथे । घरबाहिरको देउताहरूमा वन देउता, जल देउता, अग्नि देउता, रूख देउता, बाँदर देउता, सर्प देउता, सिकारी देउता इत्यादि हुन्थ्यो । घरभित्रको देउतामा मुख्य गरी कुल देउता हुने गथ्र्यो । कुल देउताको आदिवासीहरूले विभिन्न नामाकरण गरेका थिए । उनीहरूको पूजाको सामग्रीमा साप्सिङ्, अम्लिसो, घुङरिङ, तीतेपाती, केराको पात, कुखुराको फुल, जाँडरक्सी, अदुवा, अछेतापाती इत्यादि हुन्थ्यो । यी सबैको पूजा सकेपछि उसले आदिम रूखको पूजा लगाए । अरू बेला आआफ्नो इष्ट देवको पूजा गरे पनि आदिवासी आएको बेला सबै गाउँले मिलेर आदिम रूखको पूजा गर्दथे पालैपालो ।
यी आदिवासी यायावरहरू यायावर जीवन व्यतीत गर्नु परे पनि राजसी शानमै थिए । यायावर नै भए पनि सम्मानजनक ढङ्गले व्यवहार गर्दथे गाउँलेहरू । वर्षोनी गरिने रूख पूजामा “रूख पर्व” पर्दथ्यो, रूख पर्वमै “रूख उत्सव” पर्दथ्यो । रूख पर्वमा, रूख उत्सवलाई गाउँलेहरूले एउटा उत्सवको रूपमा मान्दथे । रूख उत्सवमा गाउँले, आदिवासी सबै मिलीजुली नाचगान गर्दथे र खानपिन गर्दथे । यसरी रूख उत्सव मनाउनुको कारण आदिम रूखले सबैलाई संरक्षण प्रदान गरेको छ भन्ने थियो र रूख उत्सव मनाएर रूखलाई हषिर्त बनाउनु थियो । मलाई यी सम्पूण् दृश्य रमाइलो लाग्यो । रूख पर्व र रूख उत्सवमा उत्साहपूवर्क सहभागी जनाएर रमाइलो मानेँ ।

मलाई यायावर समूहमा मिसिन मन लाग्यो । यस समूहमा अनुशासित र ज्ञानीहरू थिए । यस समूहमा मिसिन पाउँदा मलाई फाइदै हुन्थ्यो । समूहको तुत्तुसित कुरा गरेँ । समूहको नाइकेलाई समूहमा “तुत्तु” भन्दारहेछन् । उसको कपाल फुलेर सेतै भइसकेको थियो, अनुहार रगत चुहिएलाजस्तो रातो । उसले टाउकोमा फेटा बाँधेर फेटामा केही दुम्सीको काँडा र केही पन्छीका प्वाँख सिउरेका थिए । उसले तागाको लुगा लगाएको थियो । सहरतिर यस्ता मान्छेलाई धामी, झाँक्री, बिजुवा भनेको सम्झना आयो । उसलाई अभिवादन गरेँ । सामान्य कुराकानी भयो हामीबीच । कुराकानी गरेपछि समूहमा राख्न आग्रह गरेँ । समूहको मान्छेले मलाई हेरेर कसैले प्रेममा धोका पाएको ठाने, कसैले वैराग्य चलेर हिँडेको ठाने । भन्थे यस्तो भद्र केटो कसरी यायावर हुन्छ – सुरुमा त कसैले पत्याएनन् । मैले मन छुने गरी आफ्नो
समस्या बताएपछि भने उनीहरूको कमलो मन पग्लियो र मलाई विश्वास गरे ।

रूख पर्व, रूख उत्सवको अलावा आदिवासीहरूले नयाँ वर्षपनि मनाउँथे । उनीहरू प्रत्येक बाह्र वर्षा एकपटक आउने नयाँ वर्षधुमधामले मान्दथे । यो पर्व जहिले पनि आदिम रूखमा भेला भएर मनाउँथे । यस पर्वमा विभिन्न ठाउँमा छरिएको आदिवासीहरू, गाउँलेहरू र सहरका मान्छेहरू पनि आउँथे । प्रत्येक वर्षमनाइने नयाँ वर्षभन्दा बाह्र वर्षा मनाइने नयाँ वर्षभव्य हुन्थ्यो । यस पर्वमा घरलाई सिँगार्ने काम हुन्थ्यो । घर सफा गर्ने, लिपपोत गर्ने र घरको भित्तामा चित्रहरू कोर्ने काम हुन्थ्यो । गाउँका मान्छेहरू रातो, सेतो कमेरो ल्याएर घरलाई सिँगार्थे । खानेकुराको जोरजाम अगाडि नै गरिएको हुन्थ्यो । नयाँ वर्षपर्वमा टाढा-टाढा भएका आफन्तहरूसित भेट्ने अवसर हुन्थ्यो । यस पर्वमा उनीहरू नाताकुटुम्ब, चेलीबेटी, आफन्तसित भेटघाट गर्दथे । कोसेलीको आदानप्रदान हुन्थ्यो । आदिवासीहरू मेलापात, दसकाम छोडेर पनि नयाँ वर्षा सुम्दो गाउँ आउँथे । बाह्रवर्षामा आउने नयाँ वर्षउत्सवमा त प्रायः धेरै आदिवासीहरू आउँथे यस गाउँमा । कारणवस आउन नसक्नेहरूले आ-आफ्नो गाउँमा पर्व मनाउँथे, तर आफ्नो शुभकामना सुम्दो गाउँ पठाउन बिर्सिन्दैन थिए । उनीहरू यस पर्वमा जाँतेपीङ, लिङ्गेपीङ मच्चीमच्ची खेल्थे । साह्रै रमाइलो हुन्थ्यो । यो पर्वको महत्त्व भनेको नै विविध संस्कृति र धर्म भएका मान्छेहरूको फूलबारी बनाउनुहुन्थ्यो ।

रूख उत्सव समाप्त भएपछि आदिवासीहरू हिँड्न लागे त्यहाँबाट । उनीहरू सामान पोकापुन्तुरो, फुर्लुङ्, पेरेःङ्गो, ढाकर मिलाउन लागे । गाउँलेहरूलाई न्यास्रो लाग्नु स्वाभाविकै हो । न्यास्रो लाग्यो । अघिल्लो दिन गुल्जार भएको गाउँ भोलिपल्ट उजाड भयो । अघिल्लो दिन पूजा अर्चना गरेको ठाउँमा केही पूजाको सामग्री लडिरहेका थिए । हरियो दूबोको बीच-बीचमा खेलिरहेका थिए फूलहरू । यायावरहरूले पूजाको सामग्री सबै उठाए । पूजाको सामग्री उठाउन मैले पनि मद्दत गरेँ । आदिम रूख भएको मैदानलाई “पवित्र स्थल” मान्थे उनीहरू र यसलाई पवित्र राख्न चाहन्थे । मैले पनि अलिअलि गरेर उनीहरूको सिको गर्न थालेँ । एक किसिमले यायावर भैसकेको थिएँ । यो बाटोबाट पनि ज्ञान खोज्नु थियो । शरीरबाट निस्केको कालो छायाँ के हो पत्ता लगाउनु थियो । त्यसैले मैले उनीहरूसँग सङ्गत गर्न चाहेँ । मेरो अनुरोधलाई सहजै स्वीकारेकोमा म प्रसन्न थिएँ ।

बाटो हिँड्ने दिनमा सिमसिम पानी पर्यो । त्यसपछि ठूलै पानी पर्यो । पानीमा आदिम रूख नुहायो । आदिम रूखमा पूजा लगाएपछि वर्षौँदेखि पानी पर्दै आएको थियो । यसपटक पानी नपर्ने कुरै भएन, पानी पर्यो । गाउँलेहरूले यसलाई शुभ माने । पानी परेपछि प्रकृति स्निग्ध भइन् । दूबो र फूल सुन्दर खिलखिलाए । रूखबिरुवाका पात, फूल सुन्दर देखिए । पहाड र आकाश सुन्दर देखिए । प्रकृतिको विनोदले गाउँलेको मन भरियो । उनीहरूले यायावरहरूलाई लाख धन्यवाद दिए । यायावरहरूले पनि सहयोग र सत्कारको निमित्त गाउँलेहरूलाई कृतज्ञता व्यक्त गरे ।

मेरो यायावर जीवन सुरु भयो । म रोमाञ्चित थिएँ । रूखबिरुवा, पोथ्रापोथ्री, फूल, बादल, गुफा, नदी जताततै समस्याको समाधान खोजिरहेको थिएँ । यायावर जीवनलाई खोजअनुसन्धानको एउटा हिस्सा ठानेको थिएँ । छायाँले साथ छोडेको थिएन । छायाँसित सम्झौता नगरी नहुने भएपछि मूक सम्झौता गरिदिएँ । ऊ मेरो वरिपरि हिँडिरहेको हुन्थ्यो । म उसैको वरिपरि ।
हामीहरू खोलानाला, डाँडापाखा, कन्दमूल खोज्दै, सिकार खेल्दै हिँड्थ्यौँ । कहिलेकाहीँ कन्दमूल खोज्न आदिवासी बालासित सँगै जान्थेँ । दिनभर कन्दमूल, सिकार खोज्थ्यौँ हामी । कन्दमूल, च्याउ, सिकार, फलफूल खोज्न टाढा-टाढा जान्थ्यौँ । दिनभरि खोजेको खानेकुरा ल्याएर साँझपख समूहमा आउँथ्यौँ । समूहमा भेला भएर खान्थ्यौँ, पिउँथ्यौँ र गीत गाउँथ्यौँ । साह्रै रमाइलो लाग्थ्यो मलाई । सिस्नु फुल्ने मौसममा हामी सिस्नुको फूल लिएर आउँथ्यौँ । सिस्नु मीठो हुन्थ्यो । सिस्नुमा सानो पात भएको पातले सिस्नु र ठूलो पात भएको भालु सिस्नु हुने गथ्र्यो । आदिवासीहरूमा सिस्नुको बेग्लै महत्त्व हुने गथ्र्यो । आदिवासी नर्तकी बालालाई पन्छीको नृत्य साह्रै राम्रो लाग्थ्यो । उनी लुकीलुकी नृत्य हेर्दथी । प्रकृतिमा खेल्न उनलाई रमाइलो लाग्थ्यो ।
यायावर समूहबाट चरा कसरी गीत गाउँछन्, कसरी प्रीत लाउँछन्, आफ्ना बचेराबचेरीहरूलाई बाहिरी आक्रमणबाट कसरी सुरक्षित राख्छन् आदिइत्यादि सिकेँ । यायावर समूहमा एक किसिमको सुख थियो । सहरका मान्छेहरू जस्तो साँझबिहान टाउकोमा बोझ बोकेर हिँड्नु पर्दैनथ्यो । निद्रामा उठेर आँखामा निद्रामा माड्दै हिँड्नु पर्दैनथ्यो । खाँदाखाँदैको गाँस छोडेर हिँड्नु पर्दैनथ्यो । उठ्ने बित्तिकै प्रदुषित हावा र इन्धनको धूवाँ हृवास्स सुँघ्नु पर्दैनथ्यो । यायावर जीवनमा चराको चिरबिरसँगै साँझ पथ्र्यो र जङ्गली कुखुरा बास्नुसँगै बिहान हुन्थ्यो । आँखामा प्रकृतिका फूल आएर थपक्क बस्थे । पोथ्रापोथ्रीबाट निस्केको सुवासले मनै चङ्गा बनाउँथ्यो । प्रकृतिको काखमा लाडिन जानेँ मैले । प्रकृतिको काखमा छुनुमुनु गर्दै मेरो दिनको उठबस सुरु हुन्थ्यो र अन्त्य । जतिजति यायावरको सामिप्य हुँदैथिएँ, उतिउति प्रकृति प्रेमी हुँदै गएँ । तुत्तुसँग प्रकृतिको बारेमा छलफल गरेँ । सोधेँ प्रकृतिको बारेमा । तुत्तुले कुराकानीको सिलसिलामा प्रकृतिलाई सृष्टि बतायो र मुन्धुम्अनुसार मान्छेको सृष्टि भएको कुरा बतायो । प्रकृतिको बारेमा आदिवासी बालालाई धेरै ज्ञान भएको कुरा पनि बतायो । मैले योभन्दा अगाडि बालाको ज्ञान बारेमा ध्यानै दिएको थिइनँ । केवल नर्तकीको रूपमा हेरेको थिएँ । अहिले बाला फगत नर्तकी होइन, विदुषी पनि लाग्न थालेको छ र आदरभाव व्यक्त गर्न थालेको छु ।

एकदिन कन्दमूल खोज्न गएको बेला मौका पारेर विदुषीलाई सोधेँ संसारको बारेमा । मेरो अप्रत्यासित प्रश्न सुनेर एकछिन जिल्ल परिन् उनी । उनले मलाई हेरिन् र मुस्कुराइन् । बालाको अनुहारमा दिव्य प्रकाश देखेँ । यो चमत्कार विश्वास गर्न गाह्रो भयो मलाई ।

यो चमत्कार मेरै अगाडि भएको थियो । म बडो बिलखबन्दमा परेँ । तत्कालै एक किसिमको उत्साह, एक किसिमको भक्ति, एक किसिमको श्रद्धा जागेर आयो । उनी सुनको खुर्पाले कन्दमूल, तरुल, च्याउ कोट्याइरहेकी थिइन् ।
उनको क्रियाकलाप खुला हुँदैनथे, कतै लुकेका हुन्थे । उनको चाल, व्यवहार, तान बुनाइ, कन्दमूल खोजाइ आदरणीय हुन्थ्यो । मसितको संर्सगमा पनि उनी कतै लुकेकी हुन्थिन् । उनको शीलताले मान्छे मात्र होइन, पशुपन्छी समेत आकषिर्त भएको कैंयौँपटक देखेको थिएँ । कतिपटक त उनको दिव्य क्रियाकलाप देखेर अचम्मित भएको थिएँ । त्यस्तो अदृश्य शक्ति उनमा के छ भनेर सोध्न मन नलागेको पनि होइन तर मेरो अन्तर्मुखी स्वभावले त्यसो गर्न दिएन । म केवल मूकदर्शक भएर उनीसित कन्दमूल खोज्ने गर्थेँ । उनी फूलहरूसँग खेलेको रमाइलो मानेर हेरिरहन्थेँ । उनी कहिलेकाहीँ पानीमा खुट्टा डुबाएर घण्टौं बस्थिन् । उनलाई झरीसित खेल्न खूब मन पर्दोरहेछ भनेर बुझेँ । पशुहरूसित खेलेकी, कमिलासित खेलेकी कैयौँपटक देखेको थिएँ । कहिलेकाहीँ उनी कोपिलाबाट फक्रिन लागेको फूल हेरिरहन्थी । पहाडमा चढ्दै गरेको घाम हेर्न पनि उनलाई औधी रमाइलो लाग्थ्यो । उनले एकपटक देउरालीबाट परपर हेरेर भनेकी थिइन्, “मान्छेलाई जताततै पीरमर्का, समस्या, अहम्ता छ । यी समस्या, चिन्ता र अहम्ता मिलेर उनीहरूको भय बनिरहेको छ होइन !” उनको दार्शनिक बोलीको निकैबेरसम्म अर्थ खोजिरहेँ । राम्रो बुझिनँ ।
त्यसै सिलसिलामा सोधेँ, “आदिवासी के हुन् ?”
उनले शान्तसँग भनिन्, “आदिवासी धर्तीका सुन्दर फूलहरू हुन् । धर्तीका यी फूलहरू भीर, पहरामा पनि फुलिरहेका छन् ।”
“भीरपहरा धर्ती होइन र ?”
“धर्ती नै हो । चट्टानलाई पनि भीरपहराको भर हुन्छ । चट्टान एक्लै भीरपहरामा मात्र होइन कहीँ अड्न सक्दैन । त्यसलाई अड्न कुनै धर्ती चाहिन्छ ।” उनले भनिन् ।
फेरि भनेँ, “गाउँका आदिवासी सावालाजस्तै लाग्छन् । सहरमा त आदिवासी ठूलो राजनीति भएको छ ।”
“सहरमा सेःक्मुरि पनि राजनीति हुन्छ भन्छन् । सहरिया मान्छेको कुरा बुझन मलाई गाह्रो पर्छ । म सावाला र आदिम रूखको भाषा मात्र बुझछु ।”
“सहरमा आदिवासी ठूलो हल्ला भैसकेको छ । मान्छेहरू गुटउपगुटमा बाँडिएका छन् ।” भनेँ ।
“हेर निसाम् ! हामी आदिवासीहरू सावालाजस्तै शान्त र पवित्र हुनुपर्छ । तिम्रो मन मलाई सावालामा मिसिन आउने तुम्वा खोलाजस्तै लाग्छ । हामीले मान्छेलाई मात्र होइन फूललाई हानी पुर्याउने कुरा पनि सोच्नु हुँदैन ।”
म निकैबेर घोरिएर बसेँ र फेरि भनेँ, “मान्छेको हल्ला सुनेर पनि दिक्क लाग्छ । मान्छेहरू मूल कुरालाई छोडेर किन अरू नै कुरामा भौँतारिएका होलान् ।”

“फूलमा रङ्ग पोतेर सुहाउँछ र ! रङ्ग पोतेर फूल सुहाउँछ भन्नु भ्रम मात्र हो । हेर यी वन, पहाड, हिमालका प्रसन्न अनुहार ! सहरमा त चराको अनुहार पनि कालो हुन्छ भन्छन् ।”
धेरैबेर कुरा गरिबस्यौँ । आदिवासी बालासितको कुराकानीमा मैले धेरै कुरा जानेँ। निम्लोचन हुन थालेपछि हामी त्यहाँबाट हिँड्यौँ ।
आदिवासी बाला मेरी मात्र श्रद्धेय थिइन, यायावर समूहका तुत्तु र यायावर परिवार सबैको श्रद्धेय थिइन् । सबैजना उनको आदेश मान्दथे । जीवन र जगतबारे उनलाई धेरै थाहा थियो । तुत्तुलाई भन्दा उनलाई धेरै थाहा थियो संसारको बारेमा, जीवनको बारेमा । उनमा भएको अद्वितिय ज्ञान कुन नदीबाट बग्दै आएको हो कसैलाई थाहा थिएन । तुत्तुलाई पनि थाहा थिएन । उनको चाल, पाइला आदर्शका हुने गर्दथे । उनले गर्ने नृत्यको आदिवासी समूहका अन्य नर्तकीहरूले अनुकरण गर्दथे । उनको मृदु बोली विरलै सुन्न पाइन्थ्यो । रूख उत्सवमा जतिको खुलेर बाला नाचेको फेरि देख्न पाएको थिइनँ । हेर्ने रहर थियो । त्यस उत्सवमा उनी पशु र पन्छीका नयाँ-नयाँ नृत्य देखाउँथिन् । प्रत्येक वर्ष तानले बुनेकी कोसेली बाँड्थिन् । कोसेली बाँड्दा हर्ष लाग्थ्यो उनलाई । यो कुरा मैले देखेको थिएँ रूख उत्सवमा । कोसेली बाँडिरहँदा उनको अनुहारमा खेलेको प्रसन्नता । गाउँलेहरू, यायावरहरू, आदिवासीहरू उनको कोसेली प्रसाद मानेर ग्रहण गर्दथे । छायाँको बारेमा सोध्दा भनेकी थिइन्, “आदिम रूखलाई हेरिरहनु यसैबाट उत्तर आउँछ ।”
भनेपछि थपेर सोध्न अनुचित लाग्यो र सोधिनँ ।
केही समय यायावरको संर्सगमा समय बिताएँ । ती यायावरमध्ये कतिले विभिन्न ठाउँमा वन फाँडेर भस्मे लगाए । भस्मे लगाएको जमिनलाई खनेरखोस्रेर खेती योग्य जमिन बनाए । ती जमिनमा भस्मे लगाएको सुगन्ध आइरहेको हुन्थ्यो । डढेर ठुटा भएको झाडीको डाँठमा कमिला, कीराफटयाङग्रा खेलिरहेका हुन्थे । भस्मे लगाएको कति ठाउँमा उनीहरूले बस्ती बसाए । बस्तीका यायावरहरूले मलिलो माटोमा खेतीपाती गर्न थाले, गाईवस्तु पाल्न थाले । नयाँ जीवनको आकाङ्क्षा बोकेका यायावरहरू बस्तीमा रमाउन थाले भने बस्तीमा रमाउन नचाहनेहरू यायावर जीवनमै रमाउन थाले । बस्तीमा रमाउनेहरूको ठाउँ-ठाउँमा नयाँ-नयाँ गाउँ बन्दैगयो । नरमाउनेहरू कन्दमूल खोज्दै वनपाखा घुमिरहे । यायावरहरूसँगको यस फिरन्ते जीवनमा मैले धेरै स्थानहरू देख्न पाएँ । वनभित्र फुलिरहेका सुन्दर बगैँचा, पशु र पन्छीहरूको खेल्ने मैदान, पन्छीहरू तैरिँदै गरेको जलकुण्ड, ढकमक्क फुलेका सुनाखरी, चाँप र गुराँस, अग्लो भिरालो भीरबाट रसिएर झरिरहेको पानी, अग्लो पहाडबाट हाम्फाल्दै झर्ने झरना इत्यादि ।
घर छोडेर हिँडेपछि रोगले च्यापेको थिएन मलाई । तर एकदिन चेपेरै छोड्यो । आदिवासी बाला र म फलफूल टिप्न र कन्दमूल खोज्न घना जङ्गलतिर गएका थियौँ ।

एक्कासी व्यथाले चेप्यो मलाई । कराउन थालेँ, उप्रिmन थालेँ, एकछिन त बाला छक्क परिन् । एकलास वनमा यो विपतले घेरेको बेला के गर्ने, के नगर्ने सोच्नै सकिनन् । मलाई समाइन् उनले र तीतेपातीको रस बनाएर खुवाइन् । तीतेपातीको रस पिएपछि जादूको छडीले छुएकोजस्तो च्वाट्टै निको भएँ । मलाई अचम्म पनि लाग्यो । उनको अघि सरम पनि लाग्यो । फेरि हामी कन्दमूल खोज्न थाल्यौँ । त्यसपछि फेरिफेरि पनि रोगले च्यापिरहृयो । कहिले बालाले उपचार गर्थिन्, कहिले तुत्तुले र उनीहरू नभएको बेला म आफैले पनि जानेबुझेको जडिबुटीहरूले उपचार गर्न थालेँ ।
बाला स्वयं कसरी यस आदिवासी समूहमा मिसिन आइपुगिन् ज्ञान थिएन उनलाई ! उनका आमा-बाबा कता गए भन्ने पनि ज्ञान भएन । उनको ज्ञान अनुसार तुत्तुले सानो छँदा नै उनलाई समूहमा ल्याएका थिए । उनलाई आफू धेरै टाढाबाट आएकी भन्नेसम्म थाहा थियो । घरको छेउमा भएको ठूलो तलाउको सम्झना थियो । त्यो तलाउको छेउमा तलाउको निर्मल पानी हेर्दै घण्टौं बसेको सम्झना थियो । यहाँभन्दा उता केही थाहा छैन । हिजोआज पनि उनी तलाउ देखे भने समय बितेको थाहा नपाउने गरी बस्थी । अड्कल काँटे, यी बालाकी पुर्खा कुनै तलाउको छेउमा बसेको हुनुपर्छ । अहिले यी बालालाई यही यायावर समूह नै प्रिय लाग्न थालेको छ । उनी यही समूहमा नाच्दैगाउँदै रमाइरहेकी छिन् ।
तुत्तुले आफ्नो बारेमा बतायो, “हाम्रो पुर्खाको चारैतिर पहाडले घेरिएको एउटा सुन्दर राज्य थियो । यस राज्यको बीचमा नदी बगेर राज्यलाई नै उर्बर बनाएको थियो । यहाँको सभ्यतालाई मान्छेले आदिसभ्यता मान्दथे । एकदिन अचानक हातहतियारले सुसज्जित आक्रमणकारीको जत्थाले आदिसभ्यतामा आक्रमण गरे । त्यहाँ चालिस वर्षम्म घमासान युद्ध भयो । यस लामो युद्धमा धेरै जनधनको क्षति भयो । सभ्यता र संस्कृतिको क्षति भयो । हामी आदिसभ्य जातिहरूसित सुसज्जित हतियार थिएन । हामी पराजित भयौँ, हाम्रो जय हुने कुरा पनि भएन । आक्रमणपछि हामीहरूले आफ्नो प्यारो राज्यलाई छोडेर हिँड्यौँ । आदिम रूख भएको उँभोतिरको पहाडी गाउँमा बसोबास गर्ने आदिवासीहरू हाम्रै कुलका दाजुभाइ हुन् त्यसै युद्धबाट घुम्दैफिर्दै यहाँ आएर बसेका । उनीहरू आफ्नो राज्य गुमाएपछि यहाँ आएर बसोबास गर्न थालेका हुन् ।”

आदिवासी बाला कम बोल्थी, बरु मुस्कुराउँथी । सुनको खन्ती, सुनकै खुर्पा बोक्थी र वनजङ्गल गरिरहन्थी । उनको क्रियाकलाप बोधगम्य हुन्थ्यो । सबैलाई आदर गर्थी । उनी समय-समयमा मलाई हेर्थी र मुस्कुराउँथी । उनलाई धेरैपटक मिरमिरे बिहान शीतको थोपाहरूमा पैताला भिजाउँदै गरेकी देखेको छु । कतिपटक बिहानबिहान आदिम रूखको फेदमा गएर प्रार्थना गरेकी देखेको छु । यस बारेमा जिज्ञासा राख्दा भन्थी, “यो हाम्रो दरबारको चिनो हो । यसलाई प्रणाम गर्दा किन हो शान्ति मिल्छ । मलाई सबैभन्दा शान्ति यही आदिम रूखबाट हुन्छ । म यसलाई सधैँ सम्झिरहन्छु । यो ठाउँबाट विचरण गर्दै अर्कै ठाउँमा पुग्दा पनि मसित यो रूखको फूल साथैमा हुन्छ । म फूललाई सधैँ पानीमा डुबाएर राख्छु, । जबसम्म फूल ओइलाउँदैन तबसम्म रूख सुस्वास्थ्य छ भनेर आनन्द लिन्छु ।

फूल ओइलायो भने रूखलाई सङ्कट परेको बुझछु । त्यसो त आदिम रूखको फूल पानीमा राख्दा अहिलेसम्म ओइलाएको पाएको छुइनँ । सम्भव अहिलेसम्म सुस्वास्थ्य भएकोले नै त्यस्तो भएको होला । रूखको सुस्वास्थ्यले सारा जीवन र जगतलाई शान्ति मिल्छ ।” सुरुमा त्यस्तो अध्यात्मिक कुरामा विश्वासै गरिनँ । विश्वास त अहिले पनि छैन, तर यही अध्यात्मिक कुरामा आनन्द पाउन थालेको छु । त्यसमा पनि बालाको मृदु बोलीले छुने नै भयो ।
बालासित कन्दमूल खोज्न जानु मलाई रमाइलो लाग्थ्यो । उनीसित जङ्गल गएको बेला विभिन्न किसिमका नौला पशु र पन्छीहरू उनको नजिक आउँथे । ती पशुपन्छीलाई हेरेर म आनन्द मान्थेँ ।
एकपटक कुरैकुरामा उनले तरुल उत्सवको कुरा झिकी । कहिले नसुनेको उत्सव सुनेर मलाई जिज्ञासा लाग्यो । सोधेँ, “के हो तरुल उत्सव भनेको ?”
उनले भनी, “हामी आदिवासी जातिहरू हौँ । प्राचीनकालदेखि नै तरुललाई हामीले आदिवासी फलाहारको रूपमा लिँदै आएका छौं । हाम्रा खुर्पाले खेती गर्न जान्नु अगाडिदेखि नै तरुल हाम्रो खानेकुरा बन्दै आएको छ । वर्षको एकदिन हामी तरुलको विभिन्न परिकार बनाएर खान्छौँ । यस उत्सवमा इष्टमित्र, नाता-कुटुम्बा सबै भेला भएर आदिपशु सुँगुरको मासुको परिकार बनाएर खान्छौँ । यसरी भेला भएर खाने दिनलाई हामी “तरुल उत्सव” भन्दछौँ । तरुल उत्सवमा हाम्रो नयाँ वर्ष पर्छ । यस उत्सवमा सबै भेला भएर नाच्ने, गाउने, पीङ खेल्ने गर्र्छौँ । बुझयौ निसाम् यो उत्सव साह्रै रमाइलो हुन्छ । यो उत्सवभन्दा एक महिना अगाडि जन्मेका नानीहरूको यो उत्सवमा घरका बुज्रुकले नाम राख्ने गर्छन् । यसपटक तिमी पनि साथैमा छौ रमाइलो हुन्छ ।”
आदिवासी यायावरहरूबाट धेरै कुरा जानेँ मैले । उनीहरूबाट प्राप्त गर्नुपर्ने ज्ञान प्राप्त गरिसकेको थिएँ । अब यही समूहमा अडेर बस्नु थिएन । लामो समय बसिसकेको थिएँ । छटपटावट हुन थाल्यो । उकुसमुकुस हुन थाल्यो । नयाँ प्रकट गर्न मन लाग्यो । बालाबाट जीवन र जगतको बारेमा धेरै कुरा जानिसकेको थिएँ । तर मैले प्राप्त गर्नु खोजेको ज्ञान थिएन त्यस ज्ञानमा । जुन ज्ञान प्राप्त गर्न घरबाट हिँडेको थिएँ त्यो त्यो समूहसित थिएन । उनीहरूको रोहबरमा भोको रहन सिकेँ । कन्दमूल, फलफूल खोजेर खान जानेँ । तुत्तुसँग धेरै ज्ञान थिएन । ऊ र उसको व्यवहारलाई ठूलो ज्ञान मानेँ मैले । त्यही ज्ञानले उनीहरू प्रसन्न थिए । त्यहीबाट अलिकति प्रसन्नता बाँडेको थिएँ । मैले धेरै कुरा नपाए पनि शान्ति पाएको थिएँ त्यस समूहमा । प्रसन्नतालाई पनि मैले ज्ञानको रूपमा लिएँ ।
“निसाम् अब यस समूहमा अडेर बस्दैन !” भनेर बालालाई थाहा भयो ।
“मैले नयाँ प्रकट खोजिरहेको छु !” भनेर उनले बुझेकी थिइन् । म पनि फैलिन चाहन्थेँ, उड्न चाहन्थेँ । उनलाई मेरो फैलावट रोकेर किचिमिची पार्न मन लागेन । मेरो उद्देश्य उनलाई थाहा थियो । मेरो यात्रा उनलाई थाहा थियो । यति हुँदाहुँदै पनि म यायावर समूहमै बसेको हेर्ने उनको अभीष्ट चाहना बुझेको थिएँ । मैले हिँड्न खोजेको बाटो र खोजेर ल्याएको नयाँ बाटोमा पनि उनको मन थियो । मभित्रको खोलाको गडगडावट उनले सुनेकी थिइन् ।

प्रचण्ड वेग थियो त्यसमा । त्यसैले उनले रोक्ने प्रयास गरिनन् । मैले छोड्ने विचार गरेँ उनीहरूलाई । म रोकिन आएको थिइन त्यहाँ, म हिँड्न आएको थिएँ । हिँड्नु थियो, एउटा बाटोसम्म । छुटिटनु अघिल्लो दिन बाला र म समूहको जेठापाका भएतिर घुमीघुमी हिँड्यौँ । मन कस्तोकस्तो भयो । उनी पनि नरमाइलो मानिरहेकी थिइन् । हामी तुत्तुलाई भेट्न गयौँ । सहयोगको लागि आभार व्यक्त गर्न चाहन्थेँ म ।
बिदाइको भेटघाटमा तुत्तुले बतायो, “मान्छे हुनु आफैमा एउटा ज्ञान हो । मान्छेले ज्ञानको घमण्ड लिएर हिँड्छन्, तर प्रकृतिका प्रत्येक वस्तुहरू मान्छेभन्दा ज्ञानी हुन्छ । ती वस्तुहरूलाई हेर्यौँ भने त्यहाँ ज्ञानैज्ञान देखिन्छ । आदिवासी दरबारमा हुर्केको आदिम रूखलाई वर्षौँदेखि मैले हेर्दै आएको छु । त्यो रूखमा जहिले पनि नयाँ कुरा देख्छु । यसको अर्थ यसमा थुप्रै ज्ञान छ । आदिम रूखमा मात्र होइन ढुङ्गा, माटो, हावापानी सबैमा ज्ञानैज्ञान हुन्छ । कोही मान्छेले पनि अहिलेसम्म यी ढुङ्गा, माटो, हावापानीको साँच्चैको रङ्ग, गुण, आकार बताउन सकेका छैनन् । संसारमा कुनै कुरा यस्तै हुन्छ भनेर कसैले निश्चितसाथ भन्न सकेका छैनन् । सबै आकाशजस्तै खुला हुन्छन्, पानीजस्तै बगिरहेका हुन्छन् । केही समय अगाडि बगेर गएको सावालाको खाली ठाउँमा युद्ध गर्दै नयाँ पानी आउँछ र स्थान भर्दछ । प्रत्येक पटक यस्ता प्रकट भैरहन्छन् । बीउबाट बिरुवा निस्किन्छ, बिरुवाबाट जरा निस्किन्छ र बिरुवाले माटोबाहिर टुसा निकाल्छ । माटोबाहिर पनि देखिने, नदेखिने थुप्रै कुराहरू हुन्छन् जस्तै हावापानी, घाम । यो हावापानी, घामले बिरुवालाई थिचिराखेको हुन्छ, हुर्काइरहेको हुन्छ । बिरुवालाई हुर्किन, बढ्नमा केही न केहीले छेकेको हुन्छ, थिचेको हुन्छ, सहयोग गरिरहेको हुन्छ नै । यो बिरुवा थुप्रै वस्तुहरूसँग जुद्धै, ठोकिन्दै हुर्किन्छ, बढ्छ र एकदिन मर्छ । मान्छेको जीवनमा पनि छेक्ने, रोक्ने, वाधा, समस्या थुप्रै हुन्छन् । यसरी जीवनले पनि सबैसित जुद्धै जित्दै जानुपर्छ । यसलाई हामी आदिवासीहरू “प्रकट” भन्छौँ । जीवन र संसारमा प्रकटै प्रकट मात्र त हुन्छ । यसैको माध्यममा संसार चलेको हुन्छ, हिँडेको हुन्छ । जीवनलाई सहज बनाउन हामी यही माध्यमबाट हिँडिरहेका हुन्छौँ । प्रकटको माध्यमबाट हिँडेर नै नयाँ प्रकटमा पुग्छौँ । आदिम रूखलाई पूजा गरेर हामी त्यही बाटो हिँडिरहेका छौँ ।”
सोझो तुत्तुले सोझो भाषामा सोझो कुरा गरेको मैले सोझो बुझेँ ।
उसको कुरालाई मनन गरेँ र सबैसित बिदा भएर बाटो लागेँ । बाला मलाई परैसम्म हेर्दै थिइन् । आकाश धेरै दिनको झरीपछि नाङ्गो देखिएको थियो ।

जतिजति पर गएँ, घुमाउने झारजस्तै तुत्तुको भनाइ याद आयो । आदिम रूख मात्र होइन प्रकृतिका सबै वस्तुमा अनन्त ज्ञान छ । सोचेँ, आदिम रूखको रङ्ग मात्र कुन विद्वान्ले पक्कापक्की भन्न सकेको छ । कुनै एउटा हरियो रङ्गलाई गाढा हरियो, फिका हरियो, पहेंलो हरियो, हरियो पहेंलो रङ्ग देखिन्छ ।

त्यस्तै फूल, बोक्रा, जरा, उमेर, आदिइत्यादि के कुनै विद्वान्ले किटानको साथ बताउन सक्छन् कस्तो हो, के हो – सक्दैनन् । त्यस्तै खोला, नाला, आकाश, धर्ती, जीवन, सृष्टिका बारेमा सबैले अन्दाज मात्र लगाएका छन् । कसैले किटानीसाथ व्याख्या गरेको मैले पाएको छुइनँ । आदिवासी तुत्तुको कुरा प्रकृतिजतिकै गहिरो भएको ठहर गरेँ ।

समूहबाट हिँडेपछि शून्यशून्य महसुस भयो । कताकता डर लाग्यो । छायाँको आकार ठूलो भएझैँ लाग्यो । तर यो अवस्था धेरैबेर रहेन । जति हिँड्दै जान्थेँ त्यति नै बाटो खुल्दै जान्थ्यो मेरो अगाडि । हिँड्नुको बेग्लै मजा लाग्न थाल्यो । सारा संसार नै उज्यालो लाग्न थाल्यो मलाई । वनजङ्गल, नदी, फूल, रूख, भीर, ओडार, बिरुवा, आकाश, धर्ती सबै उज्यालो र सुन्दर देख्न थालेँ । वनमा जताततै फूल फुलेका थिए, पोथ्रापोथ्रीमा रङ्गीचङ्गी फूल भरिएका थिए । ठूल्ठूला चट्टानको चेपबाट सुन, चाँदी रसिएर निस्किरहेको देखेँ । फलफूलको जङ्गलबीच हिँड्दा भोक लाग्ने कुरै भएन, ऐंसेलु, बयर लगायतका फलफूलले बाटै ढाकेका थिए । सबैभन्दा आर्श्चर्यको कुरा रात परेको थाहा भएन, दिन नै दिन मात्र देखेँ त्यसबेला । दिन तन्किएर लामो भएझैँ रात पर्न छोडेको देखेँ । कति दिनसम्म निद्रा लागेन । मलाई पछ्याउँदै हिँड्ने छायाँ पनि यस पलामा लघु भएको थियो । आपैमा रोमाञ्चित हुन्थेँ, खुशीले उप्रिmन्थेँ, नाच्थेँ, गीत गाउँथेँ । पन्छीहरू छेउमा आएर हेर्थे । म पन्छी भइदिन्थेँ एकछिनलाई । फूलको वनमा गएर फूल । बाटोमा ठूला-ठूला चट्टान भेटेँ । ती चट्टान थुप्रिएर मान्छे बनेको देखेँ । चट्टानमा चढेर बस्न आनन्द लाग्यो मलाई । ती चट्टानमा बसेँ केहीबेर । ती चट्टानमा लिपिहरू थिए, चित्रहरू थिए । ती चित्रहरू शिक्षाप्रद थिए, कतिपय लिपि मेटिन थालेका थिए, कतिपय किरिङमिरिङ । लिपि पढ्न खोजेँ । सकिनँ । ठूलो कठिनाइ भयो । ती अक्षरलाई नियालेर हेदा आदिवासी लिपिको “ङ” स्पष्ट चिन्न सकेँ । “ङ” चिनेकोमा म रोमाञ्चित भएँ । “ङ” उच्चारण गरेर हेरेँ । निर्जन वनमा थर्किएको “ङ” सुनँे । झन् ठूलो स्वरले “ङ” भनँे । “ङ” लाई मन्त्रको रूपमा उच्चारण गर्दा शरीरबाट के हो निस्केर हिँडेजस्तो भयो । आनन्द लाग्यो । लामो “ङ” तानेर छोड्दा वन नै सलल बगेझैँ लाग्यो । यो एउटा वनको झन्कार थियो, यो एउटा मनको झन्कार थियो ।

नयाँ-नयाँ ज्ञान प्राप्त गर्ने क्रम जारी नै थियो । अझै रात परेको देखेको थिइनँ । समथर मैदानी भागबाट अलिकति उठेको सानो पहाडी थुम्कोमा बाँसघारी छेउमा एउटा चिहान भेट्टाएँ । यो चिहान हो भनेर सजिलै चिनेँ । यो चिहानमा चोःत्लुङ् अझै थियो, बढेर ठूलो भएको थियो मिक्जिरि फूल । रक्सी राखेको माटोको भाँडा, जाँड हालेको माटोका भड्कुँडा अझै थिए । ती भाँडाकुँडा छुँदा पनि फुस्स जाने गरी मक्किएका थिए । यो चिहानको वरिपरि अरू पनि चिहान हुनुपर्छ भन्ने सोचेर वरपर हेरेँ । त्यहाँ अरू पनि चिहान भेट्टाएँ । कतिपय चिहानमाथि सयपत्री, बाबरी, सेःक्मुरि, मिक्जिरी फुलिरहेका थिए । दुइटा चिहान अलि बेग्लै किसिमका थिए । माटोले पुरेको भाग निकैमाथिसम्म उठेका थिए त्यस चिहानमा ।

एउटा अलि अग्लो र अर्को अलि होचो दुइ ढिस्का थिए त्यहाँ । सरर्सर्ती हेर्दा यो चिहान नभएर सानो ढिस्को देखिन्थ्यो । यो चिहान सम्भव त आदिवासीहरूले श्रद्धा गरेर पूजा गर्ने गरेको चिहान हुनुपर्छ भन्ने लाग्यो मलाई । यो चिहान सजिलै चिन्न सकिने किसिमको थिएन । माटोको ढिस्कोमाथि झार उम्रेको र अलिपरतिर टुप्पा नभएको ठुटेबाँस उम्रेर जङ्गल भएको थियो । यो चिहान धर्तीसित करिब मिलिसकेको प्रतीत हुन्थ्यो । कतिपय चिहानको माथि चिप्लेकीरा, शङ्खेकीराका खोलजस्ता गहना लडिरहेका थिए । चिहानघारीमा उभेर “ङ” उच्चारण गरेँ । “ङ” को ध्वनि कुनै घण्टीको ध्वनिजस्तै वनमा घन्किरहृयो ।
जब मैले आदिवासी गाउँलेहरूको चिहान भेट्टाएँ । त्यो चिहानको अलिपर ढुङ्गा खोपेर बनाइएको अर्धकदको मूर्ति देखेँ । अर्धकद मूर्तिको वरिपरि अरू पनि सानाठूला मूर्तिहरू थिए । तर अर्धकदको मूर्ति नै विशेष लाग्यो । किनभने त्यो मर्ूर्ति आदिवासी अनुहारको थियो र त्यहाँ भएका मूर्तिहरूमध्ये सुन्दर । त्यो मूर्तिलाई सुरक्षित राख्न अर्धकद मात्र बनाइएको रहेछ । यस अर्धकद मूर्तिको नकुँदिएको भाग जमिनमा गाँडेर वरिपरि ढुङ्गाले सिंगारिएको थियो । त्यो त्यति सुन्दर मूर्ति भैकन पनि कसैको आँखा परेको थिएन । दुःख लाग्यो । दुःख लाग्नु पनि अस्वाभाविक थिएन मान्छेको मनलाई । यो कलाकृति देखेर सहरका मन्दिरमा भएको मूर्तिमा कुनै कला नै देखिनँ । निकैबेरसम्म कुँदिएको त्यो मूर्ति हेरिरहेँ । त्यो मूर्तिले जनावरको हाडखोरबाट बनाइएका र ढुङ्गाबाट बनाइएका गहना लगाएको थियो । रूखको बोक्राको लुगा । ती हाडखोर र ढुङ्गाबाट बनाइएका गहना बाटुलो अनुहारमा सुहाएको पाएँ । केश लामो र बाटेको थियो । त्यो मूर्तिको छेउमा सानो खोल्सो बगिरहेको थियो । त्यो खोल्सोमा हातमुख धुएँ र पानी पिएँ । सोचेँ त्यो मूर्ति सहर लान पाए यसको ठूलो महत्त्व हुनेछ । यो ठाउँको उत्खनन गर्न पाए बाबाहरूको आन्दोलनमा ठूलो शक्ति थपिने कुरा पनि सोचेँ । यस्ता पुरातात्विक महत्त्वका वस्तुहरू देशभरिमा कति होलान् सोचेँ । ती पुरातात्विक महत्त्वका वस्तुहरूलाई कसैले वास्ता गरेका थिएनन् । त्यसै “आदिवासी हुँ” भनेर कराएका थिए । आदिवासी भन्दै त्यसै कराइ हिँड्ने बाबा र बाबाका साथीभाइ देखेर पनि झोँक चल्थ्यो ।
ती आदिवासी गाउँको वरिपरि ऐँसेंलु, बयर, केरा पाकिरहेका थिए । ऐंँसेलु खान मन लाग्यो, टिपेर खाएँ । ऐँसेंलुको बुट्टाघारी परतिर चिराइतो र सिस्नुको बोट देखेँ । चिराइतोको फूल फुलेर बगैँचा बनेको थियो । सिस्नुले चिल्ला भनेर होशियारीपूर्वक पाइला चाल्दै गएँ । कटुसका रूख, निङ्गालो बाँसको झयाङ्ग भित्रभित्र जङ्गली कुखुरा बासेको सुनेँ। भित्र कताकता साना-साना चराचुरुङ्गीको आवाज आइरहेको थियो । घरीघरी भुइँको पात, रूखको पात घस्रेको आवाज पनि आइरहेको थियो । एकपटक त मेरो छेउबाट तर्साउने आवाज सलल बगेको सुनेँ । म तर्से। अलिपरतिर थुप्रै ओडारहरू थिए, ती ओडारहरूलाई टाढैबाट हेरेँ । ओडारहरूको बाहिरको भित्तामा थुप्रै रेखा कोरिएका थिए । समयले निलेर ती भित्तामा कोरिएका रेखाहरू मेटिन लागेका थिए ।

छेउको ढुङ्गाको चेपबाट निस्किरहेको मूलपानी पिएँ र एउटा सफा ढुङ्गामा पल्टिएँ । जङ्गलको छातीमा पल्टिन आनन्द लाग्यो मलाई । आनन्द मानेर धेरैबेर पल्टिरहेँ । यसरी पल्टिन्दा मनमा विभिन्न कुराहरू खेलिरहेका थिए ।
ती सबै प्रकृतिलाई मौनधारण गरेर श्रद्धा अर्पण गरेँ । यसरी एकलास वनमा मौनधारण गरेर मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्नु बडो आनन्द लाग्यो । यो मेरो आदिमान्छेको लागि श्रद्धान्जली थियो । आदिमान्छेलाई श्रद्धान्जली गर्न पाएकोमा मलाई शान्ति मिल्यो । यो चिहानघारीको नजिक कतै गाउँ हुनुपर्छ भन्ने लाग्यो । गाउँ खोज्दै गएँ । खोज्दै गएँ । समय-समयमा “ङ” मन्त्र उच्चारण गर्थेँ । जमिन छ्याप्पै छोपेको थियो घाँसेझाडीले । घाँसेझाडी, बुट्टा पन्छाउँदै गाउँ खोजिरहेँ । ठाउँ-ठाउँमा रूखमा लहरा झुण्डिरहेका थिए । ती लहरामध्ये कति वन तरुलका लहरा थिए । कुनै लहराको त पात निकै ठूला-ठूला थिए । निकैबेरको कडा परिश्रमपछि केही घरहरूको भग्नावशेष भेट्टाएँ । ती भग्नावशेष भएका घरमध्ये एउटा घर दरबार लाग्यो मलाई । त्यो दरबार अन्य घरजस्तै भताबुङ्ग भएर भग्नावशेष मात्र देखिन्थ्यो । भग्नावशेष भएको भताबुङ्गे दरबारको ढुङ्गाहरूमा काई लागेकोथ्यो, लेउ उम्रेको थियो । ढुङ्गाको कुनाकुनाबाट सानासाना झार उम्रेका थिए । केही समयको खोजपछि पहाडको अर्को छेउमा पनि भताबुङ्गे अवस्थामा रहेको माटोको घर भेट्टाएँ । माटोको विशेषता हेरेँ । माटोको विशेषता हेर्दा कुनै समयमा यो घर दरबार हुनुपर्छ भन्ने लख् काटेँ । त्यहाँ दरबारको त्यस्तो स्पष्ट देखिने चिन्ह केही थिएन । काठ भत्किसकेका थिए, ढुङ्गा थुप्रिएर ढुङ्गासार भैसकेका थिए । ढुङ्गासारमा काई, लेउ उम्रेका थिए, काठहरूमा च्याउ । त्यहाँ केवल आदिम रूखको खलकका रूखहरू बढेर तन्नेरी भएका थिए । ती तन्नेरी रूखहरू छाती खुला गरेर भत्किएको दरबारको निगरानी गरिरहेका थिए । त्यो दरबारको वरिपरि भत्किएका पर्खालको ढुङ्गाहरू थुप्रिरहेका थिए । भत्किएको पर्खालको ढुङ्गाहरूमा काई, लेउ उम्रेको थियो । भत्किएको पर्खालको भित्र र बाहिर पुरातात्विक महत्त्वका थुप्रै वस्तुहरू हुन सक्ने अनुमान लगाएँ ।
भत्किएको घरको छेउमा केराबारी, बाँसघारी, अम्लिसो घारी, घुङरिङ, खोर्सानीको जङ्गल भेट्टाएँ । घर तरुल, स्कुस, करेला, तोर्याङ वनै ढाकुलाजस्तो मौलाएका थिए । फूल तरुल शिर हल्लाइरहेको थियो । यी बिरुवाहरू एक आपसमा नजिक हुनुले यहाँ गाउँ थियो भन्ने कुरा बुझेँ । यो गाउँको एउटा छेउमा मैदान र मैदानको माथितिर ठूलो भित्ता थियो । भित्ताको आडमा ठूलो ढुङ्गा राखेर दर्शक बस्ने ठाउँ बनाइएको थियो । दौड प्रतियोगिता हेर्ने ठाउँ जस्तो थियो यो । दौड, राजा र दर्शक झल्काउने यथेष्ट पुरातात्विक वस्तु अझै पनि थिए त्यहाँ । दर्शक बस्ने ढुङ्गा सोरिएर तल झरेको र सोरिएको ढुङ्गामा झार उम्रेको थियो । कतिपय ठाउँमा त रूख उम्रेर मरिसकेको ठुटा मात्र । भित्ता भत्किएर सानो पहिरो गएको देखिन्थ्यो । यो गाउँको उठिबास भएको करिब तीन सय वर्षभएको र गाउँको पतन दैवी प्रकोप, महामारी रोग वा शत्रु राज्यको आक्रमणमध्ये कुनै एक कारणले हुन गएको अनुमान भयो मेरो । यही कारणले यहाँका मानिसहरू बसाइँ सरेका हुन सक्थे । त्यहाँ एउटा ठूलो मूलढोकाजस्तो ढुङ्गा खोपेर “ङ” बनाइएको थियो र “ङ” को छेउमा ढुङ्गा कै पाःत्त्रो जस्तो एउटा पाता झुण्डिरहेको थियो । पाःत्त्रोमा केही आदिवासी अङ्कहरू लेखिएका थिए ।

यो “ङ” ढोका नै गाउँमा पस्ने मूल ढोका भएको निश्चित गरेँ । आदिवासीहरूले पूजा गरेको रूखजस्तै ठूलो रूख यहाँ पनि थियो । सम्भवतः यहाँ भएका आदिवासीहरूले यही रूखमा थान बनाएर पूजा गर्थे होलान् भन्ने अनुमान गरेँ । रूखको छेउबाट खोला बगेको थियो । यो खोलाले अघिल्लो गाउँलाई सिञ्चाइ गर्न मद्दत गथ्र्यो । यो सानो गाउँ पहाडको काखमा सयौं वर्षेखि मस्त सुतेको देखिन्थ्यो । कुनै समयमा गाउँ उर्वरभूमि हुनुपर्ने अड्कल भयो । पानी तलतलसम्म बग्दै गइरहेको थियो । यस उचाइबाट देखिन्थ्यो तलतिरको मैदानी भाग । माथिल्लो भागलाई ठूल्ठूला रूखका टाउकोले छेकिदिएका थिए । अनकन्टार जङ्गलमा तुम्सिङ् वनको पशु र पन्छीको जस्तै आवाज ज्यादै नजिक सुनेँ । पन्छीहरू गीत गाइरहेका थिए, खेलिरहेका थिए, प्रेमालाप गरिरहेका थिए । कति रमाइलोसित उनीहरू नाच्थे, कहिले भुरुरु उडेर जान्थे । अगाडि गएको पन्छीलाई अर्को पन्छीले लखेट्दै लान्थ्यो । केही पन्छीहरू पन्छीको खेल हेरेर उभिरहन्थे । मन मुग्ध भयो ।
घुम्दाघुम्दै एउटा सुन्दर ओडारमा पुगेँ । ओडार बढारेर सफा पारिएको थियो । ओडारबाहिर केही फूलहरू रोपिएका थिए । ती फूलहरूमा कोपिला भरिन थालेका थिए । ओडार नै भए पनि रातो माटो, कमेरो माटोले लिपेर सुन्दर बनाइएको थियो । भित्तामा मान्छेका, चराचुरुङ्गीका चित्र खोपिएका थिए । बाघको छाला, भालुको छाला टाँगिएका थिए । ढुङ्गाको हतियार, बाँसको हतियार, धनुषकाँड राखिएका थिए । त्यहाँ मान्छे देखिनँ, ओडारभित्र पस्दै गएँ । ओडारबाहिरबाट हेर्दा सानो देखिए पनि भित्र फाँटिलो थियो । भित्रको सजावट, वस्तुहरू, ढुङ्गाहरू अति नै मोहक लाग्यो । एक किसिमले यो पुरातात्विक वस्तुहरूको सङ्ग्राहालय लाग्यो । उत्सुकतापूर्वक अवलोकन गरेँ । यहाँ देखिएका कतिपय वस्तुहरू बाजेले हालेका कथाका हतियारसँग मिल्दाजुल्दा थिए । लाग्दैथ्यो, चित्रमा कोरिएका कतिपय आकृति पहिला कतै देखेको छु ।

मलाई एक किसिमको आफ्नोपनको हर्क लाग्यो । हतियारहरूको निरीक्षण गरिरहँदा एकजना लामो कपाल भएको ध्यानी प्रकट भएको थाहै पाइनँ । त्यो मान्छे कताकता देखेंझैँ लाग्यो । उसले बोल्ने भाषा झण्डै बाजेले बोल्ने किसिमका थिए । त्यो जट्टावाल मान्छेले निकै केरकार गर्यो मलाई । खोइ के ठानेर केरकार गरेका हुन् मलाई मन परेन तर पनि मैले प्रतिवाद गरिनँ । उसका कतिपय भाषा बुझिने किसिमका थिए, कतिपय नबुझिने । एक आपसमा चिनापर्ची भएपछि भने राम्रै लाग्यो । उसले मलाई खूबै माया गर्यो । उसले जङ्गली जनावरको मासु खान दियो । कन्दमूल र फलफूल खान दियो । कतिपय खानेकुरा घिन लाग्ने किसिमका थिए । घिन लाग्ने खानेकुरा दिगमिग मान्दै खाएँ । उसले ऊसित भएको जडिबुटि, पत्थर, ढुङ्गा, कालो ढुङ्गाबाट बनेका पाषण युगको बञ्चरो, शिलालेखहरू देखायो । कतिपय ढुङ्गाको हतियार यही ओडारमा भेट्टाएको कुरा पनि बतायो । बिस्तारै हामी घनिष्ट हुँदै गयौँ ।

एक अर्काको सबै भाषा बुझन थाल्यौँ । यसै क्रममा ऊबाट मैले जनावर, चरा, रूखबिरुवाको बारेमा धेरै ज्ञान पाएँ । उनीहरूको घर बनाउने तरीका, सन्तान पैदा गर्ने मौसम र यौन क्रिडाको बारेमा ज्ञान पाएँ । उसले ओडार बस्नु परेको कारण पनि बतायो । सुनेँ उसको कथा । विस्वाद लाग्यो ।
उसले बतायो, “मेरा पुर्खा यस ओडारभन्दा परको गाउँमा बस्थे । उनीहरूको जीवन राम्रोसँग बितेको थियो । उनीहरूले धेरै वर्षअगाडि यो ठाउँको वरिपरिको गाउँमा शासन गरेका थिए । कुनै क्षत्रिय राजाले यस राज्यमा आक्रमण गरेपछि घमासान युद्ध भयो । पटकपटक भएको युद्धमा पनि विजय हासिल गर्न नसकेपछि विभिन्न प्रलोभन देखाएर सम्झौता गर्न वाध्य पारे उनीहरूलाई । हामी सोझा आदिवासीहरू उनीहरूको महबोलीमा फँसियौँ । महबोलीको भरमा हाम्रो राज्य हड्पिए । राज्य हड्पिए पनि भाषालिपिमा हस्तक्षेप हुन पाएको थिएन । पछि बिस्तारै सम्झौता उलङ्घन गर्दै थिचोमिचो गर्न थाले, भाषालिपिमा हस्तक्षेप गर्न थाले । त्यसपछि क्रमिक रूपमा भाषा, लिपि, धर्मसंस्कारमा आक्रमण भयो । उनीहरू आदिवासीका जरा उखेल्न चाहन्थे । हामी राज्य बचाउन नपाए पनि भाषालिपि, धर्मसंस्कार बचाउन चाहन्थ्यौँ । तर मौका दिइएन । भाषालिपिमा काम गर्ने मान्छेलाई छानीछानी मारियो । यसरी हाम्रो शासन ध्वस्त भयो । भाषालिपि, धर्मसंस्कार ध्वस्त भयो । कतिलाई मारिए, कतिलाई देश निकाला गरिए । भाषालिपिमा काम गर्ने मान्छेलाई पछिसम्म नै देशद्रोहीको आरोप लगाउँदै देश निकाला गरिए । आफ्नै भूमिमा अन्याय, अत्याचार सहनु परेपछि कतिपय आदिवासीहरू पलायन भए, कतिपय यायावर । मेरो पुर्खा चाहिँ देशद्रोहीको सिकार भएका थिए । बाजेबाट यस्ता कुरा सुनेपछि खील गाडियो मनमा । खील गाडिएको भाग दुख्न थाल्यो । यसको पीडाले म छटपटिन्थेँ । मन बिसाउने ठाउँ थिएन, त्यसबेला कतै । पीडा बोकेर नै हिँडिरहन्थेँ । सानो छँदा गाडिएको खील उखेल्न गाह्रो हुँदोरहेछ । मेरो खील पनि गडिरह्यो । दुख्थ्यो समय-समयमा ।

सानो छँदा मैले त्यति ख्याल गरिनँ । वयस्क हुँदै गएपछि आफ्नो समाज हेरेँ, समाज अँध्यारो खाल्टोमा डुब्दै गएको देखेँ । रूढिवाद, अन्धविश्वास मात्र समाजमा व्याप्त । धर्म र संस्कार एकातिर धमाधम अतिक्रमणमा पर्दै थिए अर्कोतिर विकृतिको दलदलमा । यस कुराले मलाई रुवायो, विरक्त बनायो । विरक्तिएर घुम्दै-घुम्दै हिँड्दा यहाँ आइपुगेँ । ओडारको वरिपरि खोपिएका चित्रहरू, लेखिएका अक्षरहरूले मेरो आँखा खोल्यो । यस ओडारभित्र म आउँदा ढुङ्गा खोपेर अक्षरहरू लेखिएका थिए, चित्रहरू कोरिएका थिए । धेरै वर्षअगाडि कुनै आदिवासी विद्वान् आएर यस ओडारमा बसेको हुन सक्थ्यो । मलाई आदिवासी लिपि, भाषाको ज्ञान भएको हुनाले पढ्न, बुझनलाई कठिनाइ भएन । जब त्यो अक्षर पढेँ, आदिवासी सम्बन्धी गूढ ज्ञान प्राप्त हुँदैगयो । यही ओडार मलाई आदिवासीको घर लाग्न थाल्यो, संसार लाग्न थाल्यो । यहाँ आदिवासीको उत्पतिको कथा, भाषा, लिपि, धर्म, संस्कार आदिइत्यादि खुल्ने अक्षरहरू, चित्रहरू थिए ।

तर धेरै पुरानो भएकोले शिलामा, भोजपत्रमा र छालामा लेखिएका अक्षरहरू कति मेटिएका थिए, कति मेटिने क्रममा । बडो मुस्किलले पढ्नु पर्ने हुन्थ्यो । कति शब्दहरू अपूरा थिए । सुरुमा अक्षरहरूलाई पूरा गर्ने, शब्द बनाउने र वाक्य बनाउने काममा समय बिताएँ । जब ती वाक्यहरू पूरा भए, त्यसले अर्थ दिन थाल्यो । ती अर्थहरू ओडारमा मसित बोल्न थाले, खेल्न थाले । जतिजति म भाषा, लिपि, धर्म, संस्कृतिको अध्ययनमा डुब्दै गएँ, उतिउति मलाई चाख बढेर आयो । दिनदिनै भाषा, लिपिको गहिराइमा डुब्दै गएँ । यही ओडारमा बसेर प्रशस्त अध्ययन गरेँ मैले । अध्ययन गरेको कुरा अरूलाई पनि दिन थालेँ । मेरो अध्ययनमा सैद्धान्तिक र व्यवहारिक दुवै थियो । अध्ययन गरेको सैद्धान्तिक पक्षलाई व्यवहार बनाउँदा नयाँ-नयाँ प्रकट हुन थाल्यो । अहिले म यसैको अध्ययन र अध्यापनमा छु । यसले मलाई आनन्द र शान्ति दिएको छ । यसले मेरो आत्मालाई जीवित बनाएको छ ।” आफूबारे बताइसकेपछि उसले सन्तोष मानेको ध्यान दिएर हेरेँ ।

ऊ यही ओडारमा बसेर आदिवासी जातिको लागि नयाँ ढङ्गबाट भाषा, लिपि, इतिहास, साहित्य लेखिरहेको थियो । एक किसिमले ऊ भाषा, लिपि, इतिहास, साहित्य लेखेर आदिवासीहरूलाई आफ्नो इतिहास, साहित्य बताउन चाहन्थ्यो । जागृत बनाउन चाहन्थ्यो । यस सम्बन्धमा कतिपय उसका पुस्तकहरू प्रकाशित भएका थिए, कतिपय प्रकाशोन्मुख । सिमानापारिको आदिवासीहरूले उसैको पुस्तक पढेर आफ्नो भाषा, लिपि, धर्मसंस्कृतिलाई अगाडि बढाइरहेका थिए । तर यता सिमानाभित्र भने त्यस्तो थिएन । पाठ्यपुस्तकको अभाव थियो । ओडारवासीको पुस्तक पाएपछि बल्ल उनीहरूको आँखा खुल्न थाल्यो । आँखा खोलेर हेर्दा उनीहरूले आफूलाई सम्पन्न भएको पाए ।
उसले बतायो, “हामी आदिवासी जातिहरू हौँ । हामीसित भाषा, लिपि, धर्म, संस्कृति ज्यादै मजबूत छ । यसलाई हामीले पढ्नुपर्छ र अरूलाई पढाउनुपर्छ । यसले नै हामीलाई बचाउँछ र संसारमा चिनाउँछ । मरुभूमिलाई हेर क्याक्टसको फूलले कति सुहाउँछ । घामको छायाँ हुन्छ तर त्यो घामलाई छायाँ भन्ने थाहा हुँदैन । त्यो छायाँ घामले देख्दैन पनि । छायाँ त मान्छेले मात्र देख्छ ।”
“घाम मात्र होइन विश्व नै मान्छेमा सापेक्षित छ ।” मैले भनेँ ।
“मान्छे छ र नै विश्व छ । त्यसैले भाषा, लिपि, धर्म, संस्कार, साहित्य घाम देख्ने मान्छेलाई जीवित राख्न चाहिन्छ ।”
उसको कुरा मनासिब लाग्यो । केही भनिनँ ।
उसले फेरि भन्यो, “यी पुस्तकको काम सकिएपछि म गाउँगाउँमा जान्छु र प्रचारप्रसार गर्छु” उसले मलाई किताब पढ्न दियो तर मैले पढ्न सकिनँ । सहरमा बसेको मान्छे सहरको उज्यालोमा मातृभाषा, लिपि छायाँ भएका थिए ।
सहरमा हुँदा त्यति चाख नदिएको भाषा, लिपि यायावर जीवनमा मेरो अध्ययनको विषय बन्यो । जब मैले ओडारवासीबाट केही आदिवासी भाषा सिकेँ, आदिवासी भाषाको गहिराइ भेट्दै गएँ । भाषाभित्रको रूप झनै सुन्दर लाग्यो ।

यसले आदिवासी भाषाप्रति झन् कौतुहल जगाइदियो । मीठास र भावको त कल्पना नै गरेको थिइनँ । कतिपय शब्दको अर्थ ऊ आफैले बताइदिँदा रहस्यको गुफा खुल्दै गएको जस्तो लाग्दैगयो । घरमा हुँदा बाबाले भाषा, लिपिको कुरा गर्नुभएको सुनेको थिएँ तर त्यति ध्यान दिएको थिइनँ । ध्यान नपुर्याउनुको कारण बाबाले बताउने तरीका मलाई शास्त्रीय लाग्थ्यो । शास्त्रीय ढङ्गबाट म कुरा बुझन सक्दिन थिएँ । ओडारवासीको प्रस्तुति कला मलाई वैज्ञानिक लाग्यो । यसले रुचि जगायो मलाई । वनजङ्गल, भीर, पहरामा आदिवासीहरूले बिताएको जीवन र उनीहरूको भाषा, लिपि, धर्मसंस्कृति प्यारो लाग्दै गयो मलाई ।

आदिवासीको बारेमा लेखिएको जस्तो मैले अध्ययन गर्न चाहेको छायाँको, कीराको बारेमा कहीँ कतै केही लेखिएको भेटिनँ । सामग्री पनि उपलब्ध थिएन । यो केवल मेरो खोज थियो । छायाँ विकृत सोचाइको उपज हो भनेर जानेको थिइनँ । जेहोस मेरो निम्ति यो नौलो विषय । यो मेरो निम्ति मात्र होइन संसारको लागि नौलो लागिरहेको थियो । नौलो विषयमा अध्ययन गर्नु मेरो विवशता । मसित दुइटा विकल्प थिए, एउटा छायाँसित भागेर हिँड्नु अर्को सामना गर्नू । भागेर जति हिँडे पनि सुख थिएन मलाई । त्यसैले छायाँसित सामना गर्नु मेरो अन्तिम विकल्प बन्यो ।
ओडारवासी इष्टको हावभाव ध्यानी लाग्थ्यो मलाई । उनी आदिवासी जातिमा बढ्दै गएको विकृति देखेर चिन्ता व्यक्त गर्थे । उसले आफ्नो निमित्त एक किसिमको अनुशासन बनाएका थिए । बिहान उठ्ने, वन विहार गर्ने, अल्प भोजन गर्ने, पूजापाठ गर्ने, ध्यान गर्ने र दिउँसो फेरि वन विहारमा निस्किने उसको नित्य कर्म थियो । उनी कहिलेकहिले गाउँ डुल्न पनि निस्किन्थे । गाउँ डुल्न निस्किन्दा ठाउँ-ठाउँमा पूजापाठ, ज्ञानगुणका कुरा गर्दै हिँड्थे । खासगरी उनी आदिवासीहरूसित ज्ञानगुणका कुरा गर्न रुचाउँथे । ऊ निकै विद्वान् आदिवासी लाग्न थाल्यो । उसको आदर्श व्यवहारले मलाई प्रभाव पार्यो । ऊ एक किसिमको तपस्वी, ध्यानी थियो । बाटोमा हिँड्दा उसलाई गाउँलेहरू प्रायः जोखना, दशाग्रहा हेर्न लगाउँथे ।
ऊसित रहँदाबस्दा, धनुषवाण, गुलेली, घुँयत्रो चलाउन सिकेँ । सिकारलाई कसरी पासोमा पार्ने र पासोमा पार्न कुन समय उपयुक्त हुन्छ जानेँ । पशुहरूले शत्रु आएको सङ्केत साथीहरूलाई कसरी दिंदारहेछन् र बचाउका उपायहरू कसरी गर्दारहेछन् यो पनि बुझेँ । पशुपन्छीहरूले भूकम्प आउने सङ्केत कसरी प्राप्त गर्छन् आदिइत्यादि थुपै्र कुरा सिकेँ ।

हामीबीच धेरै घनिष्टता भैसकेको थियो । तथापि मलाई त्यहाँ निरन्तर बस्न मन लागेन । मलाई सताउने छायाँ पनि ठूलो भएझैँ लाग्यो । यो अँध्यारो छायाँबाट निकास पाउन सकेको थिइनँ । यतिका दिनसम्म बस्दा पनि ओडारवासीलाई बताइनँ आफ्नो समस्या । एक दिन सखारै ऊसित बिदा मागेर बाटो लागेँ । ओडारवासी मित्रले सिकाएको सिकारको तरीका र फलफूलबाट आत्मनिर्भर थिएँ म । पहिलाभन्दा धेरै आत्मबल, आत्मविश्वास प्राप्त भएझैँ लागिरहेको थियो मलाई ।

म जाँदाजाँदा तङ्वादेन् गाउँ पुगेँ । यो एउटा आदिवासी गाउँ । यो गाउँमा प्रशस्तै अन्न फल्ने गथ्र्यो । पहिलापहिला आदिवासीहरूमा ज्यादा विकृति थियो रे यहाँ । गाउँलेहरू अन्धविश्वासी थिए रे । उनीहरू बढी मद्यपान, माछामासु खान्थे र फौदारी गर्थे रे । उत्सव, चार्डपर्व त आउनै हुँदैनथ्यो रे, उनीहरू पहिलासँगै बसेर खान्थे, पिउँथे र खाइसकेपछि कुश्ती, फौदारी खेल्न थाल्थे रे । उनीहरूको उब्जनीको धेरै अन्न जाँडरक्सीमा खर्च हुन्थ्यो रे । वर्षो अन्त्यमा कतिको घरमा अन्न हुँदैनथ्यो भने कतिको घरमा सकिन लागेको हुन्थ्यो रे । भाषा, लिपि र शिक्षाप्रति त्यति सचेतता थिएन त्यसबेला ।
म घुम्दै तङ्वादेन् पुग्दा गाउँलेहरूमा सामाजिक सुधार भएको पाएँ । गाउँलेहरूले करिबकरिब जाँडरक्सी छोडिसकेका थिए त्यहाँ । जाँडरक्सीको कम प्रयोग हुन थालेको थियो । जाँडरक्सीको कम प्रयोग हुन थालेपछि उनीहरूसित वर्षभरिलाई पुग्ने अन्न हुन थाल्यो । त्यो उब्रेको अन्न आदिवासी नयाँ वर्ष आदिवासी उत्सवमा खर्च गर्दथे उनीहरू । ओडारवासीले मलाई यो कुरा बताएको थिएन । सामाजिक सुधार ओडारवासीले गरेको कुरा पछि गाउँलेहरूबाट थाहा पाएँ । खुशी लाग्यो । उसले यस गाउँमा धुम्रपान, मद्यपानमा मात्र सुधार गरेका रहेनछन्, शिक्षाको ज्योति नै बालिदिएका रहेछन् । गाउँलेहरूमा रहेको भाषा, लिपिको सुषुप्त अवस्थालाई जागृत गरिदिएका रहेछन् । गाउँलेहरूले बिस्तारैबिस्तारै भाषा, लिपिको महत्त्वबारे बुझन थालेका रहेछन् । मातृभाषा, लिपिमा गाउँको ढुङ्गामाटो, बोटबिरुवा बोल्दा रहेछन्, रुँदा रहेछन् भन्ने कुरा थाहा पाएका रहेछन् । उनीहरूले अरू भाषाले गाउँको ढुङ्गामाटो, बोटबिरुवासित कुरा गर्न, हाँस्न, रुन नसक्ने कुरा पनि बुझन थालेका रहेछन् ।
ओडारवासी कहिलेकाहीँ भाषा, लिपि प्रचारप्रसार गर्न गाउँतिर निस्किन्थे । उनी गाउँगाउँ डुल्दै हिँड्थे । उसलाई मैले तङ्वादेन् गाउँमा भेट्टाएँ एकपटक । त्यसबेला घुम्दै त्यहाँ पुगेको थिएँ म पनि । ओडारवासी पनि घुम्दै त्यहाँ आएका रहेछन् । हाम्रो भेट भयो । हामीले मिलनको हर्क मनायौँ । यस मिलनमा गाउँको, आदिवासीको, रूख पर्वको, रूख उत्सवको, तुत्तुको, बालाको र सुम्दो गाउँको चर्चा गर्यौँ । गाउँगाउँमा हुँदै गएको सामाजिक सुधार र तङ्वादेन् गाउँको प्रगति देखेर दुवैले सन्तोष व्यक्त गर्यौँ । यसरी नै गाउँको सुधार गर्दै जाने विचार ओडारवासीले मलाई बतायो । त्यो विचार मलाई राम्रै लाग्यो । उसको भनाइअनुसार उसले प्रचारप्रसार गरेको भाषा, लिपि सयौं वर्षअगाडिको हो । भाषा, लिपि बीचमा अलप भएपछि आदिवासीहरू वर्षौँ अँध्यारो युगमा बस्नु परेको थियो । उनीहरूको संसार कुपी नभएको अँध्यारो कोठाजस्तै भएको थियो त्यसबेला । अहिले उनीहरूको कोठामा कुपी बल्न थालेको छ । कोठा उज्यालो देखिन थालेको छ । उसले लोप भएको भाषा, लिपि खोज्न गरेको कष्ट पनि बतायो । गाउँलेहरूलाई बुझाउन कति गाह्रो हुन्छ भन्ने कुरा पनि बतायो । भाषा, लिपि, इतिहास खोजअनुसन्धान गरेकोमा उसलाई मैले हार्दिक धन्यवाद दिएँ । उसको खोजअनुसन्धानबाट गाउँलेहरू खुशी भएकोमा ऊ आफैँ पनि प्रसन्न भएको पाएँ । हामी मनभरि प्रसन्नता लिएर छुिट्टयौँ त्यहाँबाट । फेरि भेट भएन हाम्रो । म घुम्दैघुम्दै हिँड्न थालेँ । तङ्वादेन जस्तै अरू गाउँहरूमा पनि क्रमिक सुधार हुँदै गएको समाचार सुनेर मलाई त्यसैत्यसै खुशी लाग्यो ।

हिँड्दै जाँदा बीच जङ्गलमा धूवाँ उठिरहेको देखेँ । त्यो धूवाँको बारेमा जान्ने उत्सुकता भयो । जतिजति धूवाँको नजिक गएँ मासु पोलेको गन्ध आउन थाल्यो । मलाई झन् उत्सुकता लागेर आयो । बिस्तारै मान्छेको आवाज सुन्न थालेँ । यी मान्छे को हुन् ? किन यस्तो बिन्द्रावनमा हल्ला गरेका होलान् – सोचेँ । केही छिनपछि नै उनीहरूले महायज्ञ गरेको रहेछन् भन्ने थाहा पाएँ । आर्श्चर्य लाग्यो । त्यो सामूहिक आवाज महायज्ञमा भेला भएका मान्छेको रहेछ । उनीहरू “ऊँ” को सामूहिक उच्चारण गरिरहेका रहेछन् । तर मेरो कानले “ऊँ” सुनिरहेको थिएन । “ऊँ” भित्रको “ङ” मात्र सुनिरहेको थियो । फेरि सुनेँ “ङ” नै सुनेँ । एक किसिमले हर्षलाग्यो र म पनि “ङ” उच्चारण गर्दै आवाज आएतिर बढेँ ।
यो समूह आदिवासी यायावरको समूह हुनुपर्छ भन्ने सोचेँ । मलाई तुत्तु, बालाको याद आयो । यायावर जातिले महायज्ञ त नगर्नु पर्ने हो सोचेँ । आफैँलाई आर्श्चर्य लाग्यो । म महायज्ञ भइरहेको स्थानमा पुग्दा त्यहाँ आदिवासी यायावर थिएनन् । धुनी लगाइरहेको मान्छेको समूह थियो । उनीहरू जोडजोडले “ऊँ” उच्चारण गरिरहेका थिए, शास्त्र पढिरहेका थिए, महायज्ञ उत्सव मनाइरहेका थिए । सबै डुबेका थिए महायज्ञमा । महायज्ञको भरपूर आनन्द लिइरहेका थिए । मलाई रमाइलो लाग्यो । होहल्लाभन्दा धेरैपर भएको संसारले मलाई शान्ति दियो । देखेँ मूल ढोकामा तुल टाँगेको र तुलमा “विश्व शान्ति” लेखिएको थियो । विश्रामको समयमा उनीहरू विमर्श गर्थे । विमर्शको विषय हुन्थ्यो विश्व शान्ति र व्यक्तिगत समस्याहरू । त्यहाँ प्रश्न-उत्तर पनि हुन्थ्यो । विमर्श, तर्क, छलफल, वादविवाद हुन्थ्यो । मलाई यस कार्यक्रममा ज्ञानैज्ञान लाग्यो । सौहार्दपूण् वातावरणमा ज्ञानको खेल चलिरहेको थियो । कोही प्रश्न गर्थे, कोही जवाफ फर्काउँथे । सवाल जवाफ भैरहेको थियो । प्रश्न उत्कृष्ट किसिमका हुन्थे । मलाई पनि आफ्नो समस्या राख्न मन लागेर आयो । सबैको सामू मैले आफ्नो समस्या बताएँ ।
कक्ष शून्य भयो ।
भनेँ, “महामुनिम, सिद्धपुरुषहरू मैले मेरो कायाबाट कीराजस्तो, छायाँजस्तो निस्केर गएको देखें । त्यो के हो-त्यसको बारेमा मलाई ज्ञान भएन । म त्यही ज्ञान खोज्दै यहाँसम्म आइपुगेको छु । मलाई यहाँहरूले बताइदिनुपर्यो त्यो के हो भनेर । किन निस्किन्छ मान्छेको शरीरबाट छायाँ” शून्य कक्ष निकैबेरसम्म शून्य रह्यो ।
मेरो प्रश्नले उनीहरूको सोचाइको केन्द्र भत्काइदिएको थियो ।
पहिला त मेरो प्रश्न सुनेर उनीहरू एकाग्र भए । एकाग्र हुनुको कारण उनीहरूको शास्त्रमा यस्तो कुराको उल्लेख थिएन । शास्त्रमा विश्वास गर्ने मान्छेहरूले शास्त्रभन्दा बाहिरको संसार देख्ने कुरै भएन । उनीहरूले आफ्नै ढङ्गले छायाँको बारेमा व्याख्या गर्ने विचार गरे ।

एकजना सिद्धपुरुषले भन्यो, “त्यसलाई हामी अध्यात्मिकहरू आत्मा भन्छौं ।”
अर्को सिद्धपुरुषले कुरा थप्यो, “आत्मालाई हामी शास्त्रीय भाषामा सत्य भन्छौं ।”
एकछिन गमेर बसेँ र भनेँ, “आत्मा कसरी सत्य हुन्छ महामुनिम ?”
पहिलो सिद्धपुरुषले भन्यो, “यो मात्र अमर छ संसारमा ।”
तेस्रो सिद्धपुरुषले थप्यो, “मान्छेको आत्मा मात्र अमर छ । शरीर पार्थिव । हाम्रो शरीरबाट निस्किने आत्मा मृत्युपछि अर्को शरीरमा प्रवेश गर्छ र अमर बन्छ । आत्माले शरीर फेरिरहन्छ ।”
“आत्मा अमर हुन्छ भन्ने विमर्श हुन सक्छ तर आत्माले किन मान्छेलाई भय दिन्छ !”
एकछिन सबै मौन भए । हावा शान्ति छायो त्यहाँ ।
“मान्छेलाई आत्माले भय दिएको होइन । भय मान्छेमा लुप्त एक किसिमको महसुस, अनुभूति हो । यसलाई देख्दैनन् मान्छेले सजिलै । यो मान्छेभित्र खेलिरहेको हुन्छ सधैँ । यो कर्म हुँदैन कर्ता हुन्छ जहिलेपनि ।” चौथो सिद्धपुरुषले भन्यो ।
“छायाँलाई छायाँ नठान्न सकिन्छ र ?” मैले भनेँ ।
“छायाँलाई मानसिक विकृतिको उपज ठानेर वेवास्ता गर्न सकिन्छ । तर जति नै वेवास्ता गरिए पनि यो कुनै न कुनै रूपमा शरीरमा खेलिरहेको हुन्छ ।” पहिलो सिद्धपुरुषले भन्यो ।
मैले उनीहरूको जवाफको प्रत्येक शब्दशब्द केलाएर हेरेँ । सन्तुष्ट लागेन । सोचेँ, आत्मा एउटै हो, शरीर मात्र फरक कसरी हुन्छ-विश्वास लागेन । जसरी शरीर फरकफरक हुन्छ त्यसरी नै एउटै आत्मा पनि फरक-फरक हुन्छ भन्ने मेरो विश्वास थियो । पार्थिव शरीर विभिन्न रूपमा परिवर्तन भैरहेको देखिसकेको थिएँ मैले । आत्मा एक ठाउँबाट अर्को ठाउँमा पुग्दा रूप फेरिएर पुग्छ भन्ने मलाई लागिरहेको थियो । धेरैबेरसम्म छायाँको, कीराको बारेमा बहस भयो । बहसको क्रममा उनीहरू यस निष्कर्षा पुगे, “यस्तो छायाँ सबै मान्छेसँग हुन्छ । सबैलाई यसले आन्तरिक र बाहृय भय दिइरहेको हुन्छ । यसैको निर्देशनमा मान्छे सञ्चालित हुन्छ । यो अज्ञात र बेआकारको हुन्छ । कसैले एउटा रूपको व्याख्या गर्छन्, कसैले अर्को रूपको । तर जीवनमा चारैतिर यसको ठूलो मण्डल हुन्छ भय मण्डल ।”
बहस निकै महत्त्वपूण् थियो तर सबै अधुरा-अधुरा जस्ता । उनीहरू ज्ञान पिनेर ज्ञान निकालिरहेका थिए । सबैले आ-आफ्नो मत बताए । उनीहरूको मतमतान्तरले मलाई सन्तुष्ट बनाएन । महायज्ञको समय भयो । उनीहरू “ऊँ” उच्चारण गर्दै महायज्ञमा सामेल भए ।
मलाई सुरुमा महायज्ञप्रति निकै विश्वास थियो । विद्वान् हरूप्रति विश्वास थियो । छलफलपछि मेरो विश्वास अलिकति भत्कियो । लाग्यो महायज्ञ पनि फुस्रो, आडम्बर, ढोंग र गफले बनेको हुँदारहेछ । निकैबेर सोचिरहेँ । उपलब्धि भयो जस्तो लागेन मलाई ।

मेरो जिज्ञासाको निवारण पनि भएन त्यहाँ । आफूलाई बूढो रूखमा बेरिन आउने निम्सरो लहरा मानेँ । लाज लाग्यो । आफ्नो शास्त्रलाई ब्राहृमण्ड देखिरहेका थिए उनीहरू । सीमित घेराभन्दा उताको फराकिलो मैदानलाई हेर्ने आँखा थिएन त्यहाँ । त्यसलाई एक अर्थमा ठीक ठानेँ, पूण्ता मान्न सकिनँ ।

महायज्ञको रौनक बेग्लै । चहलपहल बेग्लै । अनेकौँ नरनारीहरू तीर्थमा हिँडेका जस्ता देखिन्थे । कुमारी बालिकाहरू हातमा पुष्पगुच्छा लिएर हरहमेसा अतिथिको प्रतिक्षामा प्रतिक्षारत । उनीहरूको अनुहारमा खेलिरहने मुस्कान मलाई गुलाब लाग्यो । त्यहाँका मान्छेहरूले गरिरहेको महायज्ञ पर्व लाग्यो । ती सबै कार्यक्रमहरूमा खुला हृदयले उपस्थिति जनाएँ । मान्छेहरूले दुःखकष्ट, पीडा, भय सबै बिर्सेका हुँदारहेछन् महायज्ञमा । उनीहरू इश्वरको आराधना, स्तुतिमा लीन भएका हुँदारहेछन् । उनीहरूलाई क्षणिक सुखशान्ति प्राप्त भएको हुँदारहेछ त्यहाँ । यति हुँदाहुँदै पनि इश्वरको आराधनामा मैले आफूलाई विलय गराउन सकिनँ ! इश्वर मलाई एउटा भावनाको खोल लाग्थ्यो । लाग्थ्यो यसले संसार छोप्न खोजेको जस्तो । कतै टाढा ध्रुवताराजस्तै आफ्नो “खोज” चम्किरहेको देखेँ मैले । कहिलेकाहीँ त अज्ञान बाटोमा हिँडिरहेको छु जस्तो लाग्थ्यो । यज्ञका सबै विद्वान् विदुषी र गुलाब बोक्ने कलिला फूलहरूलाई आतिथ्य सत्कारको निमित्त धन्यवाद दिएँ र बिदा मागेँ ।

अगाडि बढ्दै गएँ । जति अगाडि बढ्थेँ, त्यति नै बाटो खुलेको जस्तो लाग्थ्यो । यी नयाँ-नयाँ बाटोहरूमा हिँडिरहेँ, कैयौँदिन बितिसकेकोथ्यो । सुतेको थिइनँ । शरीरले सुत्ने आवश्यकता पनि महसुस गरेको थिएन । यायावर समूहसँग छुिट्टएर हिँडेपछि रात परेको थिएन आँखामा । झन्-झन् स्फूर्ति लागेकोथ्यो । यस्तो शक्ति शरीरको कुन अनकन्टार स्रोतबाट प्राप्त भैरहेको थियो, बुझन सकिरहेको थिइनँ । हिँड्न रमाइलो लागिरहेको थियो । हिँडिरहेँ । कतै भत्भताउँथे, कतै गीत गाउँथेँ, कतै “ङ” मन्त्र उच्चारण गर्थेँ । म हिँडेको बाटोमा उत्तीस, सल्ला, धुप्पी, पात्लेका ठूला-ठूला रूख, कुकुरदाहिनाको घारी, तीखातीखा काँडा भएको चुत्रोको जङ्गल थियो । ठाउँ-ठाउँमा पहाडी तलाउ । पहाडी तलाउको वरिपरि पहाडी वनफूल ढुक्कसित फुलेका थिए । तलाउको छेउको रूखमा बसेर चराहरू प्रेमालाप गरिरहेको देख्थेँ । रमाइलो लाग्थ्यो । घुम्दै जाँदा एउटा यस्तो तलाउ भेट्टाएँ, त्यो तलाउमा कुनै पातपतिङ्गगर थिएन । अति नै सफा, सुन्दर र निर्मल थियो । किनारमा बसेर निकैबेर त्यस सुन्दर तलाउ हेरिरहेँ । तलाउमा पानीको कुनै जीव पनि देखिनँ । तलाउ हेरेर आमाको कुरा याद आयो । आमाले भन्नुभएको थियो, “हाम्रो पहाडमा एउटा तलाउ छ । त्यो तलाउमा पातपतिङ्गर केही पनि हुँदैन । सफा हुन्छ । तलाउको माथिबाट केही उड्यो भने पानी उठेर त्यसलाई तल खसाल्छ ।” हेर्दाहेर्दै मलाई त्यो तलाउ भयानक लाग्यो ।

त्यो तलाउको पानीबाट अनेकौँ आकारका जीव बनिरहेका थिए । ती जीवहरू भयानक लाग्यो मलाई । ती जीवहरू सिङ उम्रेका, दाह्रा पलाएका, नङग्रा पलाएका आकार बन्दै थिए । त्यहाँ धेरैबेर बस्न उचित लागेन र हिँडे ।

बाटोमा त्यो तलाउभन्दा सुन्दर-सुन्दर तलाउ देखेँ । कति तलाउमा पहाडी माछाहरू खेलिरहेका थिए । कति तलाउको वरिपरि हिउँको मैदान । हिउँको मैदान हिँड्दैहिँड्दै तलाउमा खुट्टा डुबाएर बसेको पनि देखेँ । यस्तो प्राकृतिक सौन्दर्यले मेरो मन भरियो । मलाई एक किसिमको अलौकिक तृप्ति भयो । हिँड्दाहिँड्दै एउटा पहाडको टुप्पामा पुगेँ । त्यहाँबाट वरिपरिको पहाडी थुम्का र खोचका गाउँहरू हेरेँ । खोचका गाउँ नाम मात्रका थिए, त्यहाँ मुस्किलले दुइ-चार घर हुन्थ्यो । घरको सङ्ख्याभन्दा गाईवस्तुको सङ्ख्या बढी देखेँ त्यहाँ । त्यसै थुम्काबाट अग्लाअग्ला हिमाल हेरेँ । हिमालहरू कुनै उत्तर फर्केका थिए, कुनै पश्चिम । म उभेको थुम्कोबाट कुनैकुनै हिमालको मोहडा कालो देखिन्थ्यो । ती हिमालहरूमा एउटा आदिवासी मान्छेजस्तो हिमाल देखेँ । चिसो हावामा उभेर त्यो हिमाललाई निकैबेर हेरेँ, हेर्दाहेर्दै मेरो आँखामा हिमाल बूढो भयो । बूढो हिमाल आदिवासी तुत्तु पछाडि फर्केर बसेकोजस्तो देखेँ । थकाइले उसको एउटा काँध तल झरेको थियो । तल झरेको काँध हेरेर मलाई बाजेले भन्ने गरेको चीलको कथा याद आयो । सम्झिरहेँ काँध हेरेर । किन हो आँखामा पानी भरिन खोज्दै थियो ।

यस पहाडी यात्रामा लेक, खर्क, नागीमा गाईवस्तु, भेडाबाख्रा लिएर जाने गोठालाहरूको गोठमा, याक्सामा वास बसेँ । गुफामा, ओडारमा पनि वास बसेँ । ती गोठालालाई जहिले पनि आफ्नो गाईवस्तु बाघ, स्यालले खान्छ कि भन्ने डर हुन्थ्यो । उनीहरू आदिवासी र गैरआदिवासी बारेमा अनभिज्ञ थिए । उनीहरूले बाँचेको दुःखमा मैले सुखको गन्ध पाएँ । उनीहरूले आफ्नो भाषा, लिपि र धर्मसंस्कृतिलाई परापूर्व कालदेखि जोगाएर ल्याएका थिए । ती गोठालाहरूले आफूले जानेको, बुझेको भाषा, लिपिमा पहाडका ढुङ्गा, ठूला-ठूला रूख, भालु बाँसहरूमा चित्र कोर्दथे, अक्षर लेख्दथे । यस्तै चित्र, अक्षर मैले कतिपय ओडार, गुफा, पहाडका ठूला-ठूला ढुङ्गामा पनि देखेको थिएँ । ती अक्षर, चित्र कति मेटिन लागेका थिए, कति मेटिसकेका थिए ।

यायावर जीवनको सिलसिलामा थुप्रै स-साना गाउँहरू डुलेँ । ती गाउँहरूमा ओडारवासीले पूजा लगाएको रूखहरू भेट्टाएँ । ओडारवासीले पूजा गर्न प्रारम्भ गरेको रूखमा गाउँलेहरूले थान बनाएर पूजा गर्न थालेको देखेँ । यी गाउँहरूका आदिवासीहरूले पनि नयाँ वर्ष रूख उत्सव, आदिम रूख उत्सवको समय पारेर मनाउँथे ।
यी आदिवासीहरू यायावर जीवनबाट गाउँले जीवनमा प्रवेश गरेका र यिनीहरूको मूल थलो सुम्दो गाउँ भएको हिसाब लगाएँ ।
यी गाउँहरूमा ओडारवासीको खूबै मानमानितो हुन्थ्यो । कतिपय गाउँमा त उसको पूजा पनि गर्न थालेका थिए । गाउँलेहरू उसको आगमनको हरहमेसा प्रतिक्षा गर्दथे । ओडारवासी गाउँमा आएको बेला दिनदशा हेर्न लगाउने, बिरामी देखाउन ल्याउनेको भीड लाग्थ्यो । सामान्य अवस्थामा पनि केही न केही गर्न लगाउने गर्दथे उनीहरू । गाउँलेहरूले उसको ठूलो गुण मानेको कुरा थाहा पाएँ ।

ओडारमा भेट्दा त्यस्तो अद्भूत कुरा केही देखेको थिइनँ उसमा । साधारण ढङ्गबाट बसेकोथ्यो । कहिले ध्यान गथ्र्यो । बढी समय भाषा, लिपिको अध्ययनमा बिताउँथ्यो । भाषा, लिपि बोधगम्य कसरी हुन्छ र कसरी वैज्ञानिक बनाउन सकिन्छ, उसको ध्यान यसैमा केन्द्रित हुन्थ्यो । गाउँगाउँमा, भाषा, लिपिप्रति उठिरहेको जागरुकता उसैको देन लाग्यो मलाई । भाषा, लिपि र शिक्षाको उज्यालोले गाउँलेहरू उज्यालोतिर जाँदैथिए । घरपरिवार उज्यालो हुँदैथ्यो, गाउँघर उज्यालो हुँदैथ्यो । यो कुरा आदिवासीहरूको लागि सुखद थियो । यी प्रत्येक कुराहरूको टिपोट गरिरहेको थिएँ । देखेका, भोगेका यी कुराहरू बाबालाई सुनाउने विचार गरिरहेको थिएँ ।
सहरका आदिवासीहरूमा मैले धेरै कमजोरी देखेको थिएँ । उनीहरूले आदिवासी शब्द, रीतिरिवाजलाई हीन भावनाले हेरेको पाएको थिएँ । कतिपय पढेलेखेका मान्छेहरू आफूलाई आदिवासी भन्दा असभ्य पो भइन्छ कि भनी अप्ठयारो मानेको पनि पाएको थिएँ । सहरमा हुँदा त मलाई पनि कताकता त्यस्तो असजिलो नभएको होइन । तर अहिले त आदिवासी भएकोमा मलाई गर्व लाग्न थालेको छ । कृत्रिमताले भरिएको सहरमा प्राकृतिक कुरा कति प्रिय हुँदोरहेछ बल्ल देख्न थालेँ । आदिवासी जातिमा छोपिएको सौन्दर्य देख्न थालेँ । उनीहरूमा भएको निष्कलङ्क नदीमय भावना देख्न थालेँ । यसले मलाई नूतन तृप्ति दियो । आदिवासी तथा आदिवासी बालाको प्रकृति प्रेम आदरणीय लाग्यो मलाई । यसरी यायावर हुनु परे पनि उनीहरूले कसैलाई कलङ्क लगाएको मैले सुनिनँ । सबैप्रति उनीहरूको सद्भाव भएको पाएँ । उनीहरू आफू र आफ्नो जातिलाई प्रेम गर्न मन पराउँथे । उनीहरू आफू र आफ्नो प्रकृतिलाई प्रेम गर्न मन पराउँथे । यो झरनाजतिकै सुन्दर कुरा लाग्यो मलाई । उनीहरूले सहरका मान्छेले जस्तो धेरै कुरा नजाने पनि “आफूले आफूलाई चिन्नुपर्छ” भन्ने जानेका थिए । उनीहरूले “जसले आफूले आफूलाई चिन्छ उसले मात्र अरूलाई चिन्न सक्छ” भन्ने जानेका थिए । यसलाई उनीहरूले “ङ” मन्त्र बनाएका थिए । नभन्दै यी आदिवासीहरूको प्रत्येक गतिविधि यसै मन्त्रभित्र फुलिरहेको सुन्दर फूल थियो । तरुलको परिकार बनाएर खानु, पशु र पन्छीको नृत्यलाई प्राथमिकता दिनु यसैको उपलब्धि थियो । यो कुरा मलाई सानो कुराभित्रको फाँटिलो मैदान लाग्यो ।

घुम्दैफिर्दै आदिम रूख भएको सुम्दो गाउँमा फेरि आइपुगेँ । यायावर तुत्तुले भनेको आदिवासी दरबार हेरेँ, त्यहाँ दरबारको कुनै अवशेष थिएन । दरबारको कौशीमा रोपेको रूखले पोल्टोमा लुकाएको थियो दरबारलाई । यसलाई पुरातात्विक महत्त्वको दरबार मानेर उत्खनन गर्नुपर्ने महसुस गरेँ । त्यसो त आदिम रूख आफैँ पुरातात्विक वस्तु भएर उभेको थियो । त्यस ठाउँको पहाड हेरेँ र फाँटिलो मैदान । मलिलो जमिनमा विभिन्न जातजातिका मान्छेहरू बसाइँ सर्दै आएर जमिन भरिएको थियो । भरिएको जमिनमा बजार उठ्न थालिसकेको थियो, सहर बन्न खोजिरहेको थियो । जनसङ्ख्याको चाप निरन्तर बढिरहेको थियो ।

एकसाँझ मलाई आदिम रूख हेर्न मन लाग्यो । म आदिम रूखको छेउमा गएँ ।

आदिम रूखको वरिपरि पूजा लगाएको ठाउँमा पूजाको सामग्री केही थिएन । सफा थियो । साँझपख फूलको वासना फैलिएर सबैतिर मगमग भएको थियो । म अग्लो ढुङ्गा रोजेर बसेँ र रूखलाई हेरिरहेँ । हेरिरहेँ । रूखलाई हेरेको केही समयपछि मलाई शरीरमा हल्का कम्पन पैदा भएझैँ भयो । शरीरका रोमरोम कम्पित भए । त्यसै समयमा रूखमा केही चलमलाएको देखेँ । पहिला अँध्यारो देखेँ, अँध्यारोमा टिलपिलाउँदै आएको प्रकाश । प्रकाशको पछाडि बटारिन्दै गरेको र्सप । अनि समुद्र, धर्ती, पशुपन्छी, रूखबिरुवा, मान्छे देखेँ । धामी, झाँक्री, पञ्चभलादमी, पण्डित, बुद्ध, कुलदेवता, घर देवता र आदिवासी बाला देखेँ । झगडा गरिरहेका मान्छे, प्रेम गरिरहेका मान्छे, खेलिरहेका पशुपन्छी, पुतली, चरा देखेँ त्यहाँ । भुनभुनाउँदै उडेको मौरीको समूह, नानी खेलाइरहेका आइमाई, चर्खा काटिरहेका स्वास्नी मान्छे, तान बुनिरहेकी स्वास्नी मान्छे देखेँ । एउटी स्वास्नी मान्छे सुनको खुर्पा पटुकीमा सिउरेर तान बुनिरहेकी थिइन् । फूल, पात, हाँगा र फल हल्लिएको देखेँ । फूल, पात, हाँगा र फलले हल्लाएको आकाशमा संसार देखेँ । भूत, प्रेत, पिशाच देखेँ । त्यस रूखको ठूल्ठूलो पल्टिन्दै झरेको पातमा लेखिएको सुनौलो अक्षर देखेँ । ती सुनौलो अक्षरमा उपदेशहरू लेखिएका थिए । ज्ञान, दर्शन लेखिएका थिए । कति पढ्न भ्याएँ, कति पढ्न नपाउँदै खोलामा विलय हुँदै गए । ती पातहरू धर्तीमा झरेको देखिनँ । ती पातहरूमा लेखिएका अक्षर बटुल्न पाए शास्त्र बन्थ्यो भन्ने सोचेँ । निकैबेर आदिम रूखलाई हेरिरहेँ । त्यहाँ ठूला-ठूला पात अझै झर्दै थिए । सबै पातमा अक्षर लेखिएका थिएनन् । अक्षर लेखिएको पातको रूप अलि बेग्लै हुन्थ्यो । पात झर्ने क्रम रोकिएपछि निकैबेरसम्म त्यहाँ केही देखिनँ । केही क्षणपछि चम्किरहेको बाक्लो अँध्यारो देखेँ, अँध्यारोपछि उज्यालो । उज्यालोमा मुस्कुराउँदै एउटी सुन्दरी निस्की । वास्तवमा ती सुन्दरी उही युवती थिई जो केहीबेर अगाडि पटुकीमा खुर्पा सिउरेर तान बुनिरहेकी थिइन् । मलाई त्यसैत्यसै सुन्दरीलाई प्रणाम गर्न मन लाग्यो । मैले उनलाई प्रकृति ठानेर प्रणाम गरेँ । मन हलुका भयो । उनी हाँस्दै सावाला नदीमा अलप भइन् । रात निकै बितिसकेको थियो । मेरो शरीर निकैबेरसम्म कामिरहृयो । त्यसपछि केही देखिनँ । मलाई छायाँ त्यसै फुलिएर आएको जस्तो लाग्यो ।
आदिवासीहरूले रूखलाई पूजा गर्नुको रहस्य खुल्दै गयो मनमा । यो रूखको विश्व रूप देखेर आर्श्चर्यचकित थिएँ । यो रूख सामान्य रूख नभएर दिव्य रूख लाग्यो । यो आदिम रूखमा धेरैबेरसम्म हेरिरहेँ । यसरी हेरिरहँदा शान्ति मिल्यो । यतिका शान्ति योभन्दा अगाडि कहिले मिलेको थिएन । मलाई एकपटक “ङ” उच्चारण गरेर रूखलाई प्रणाम गर्न मन लाग्यो । रूख मलाई हेरेर मुस्कुराएको देखेँ । म विकल भएँ । मलाई आफ्नो इन्द्रियहरूबाट खुशी पलाएझैँ लाग्यो । यो खुशी हो कि होइन भनेर केहीबेर सोचेँ । खुशी नै हो भन्ने निष्कर्षा पुगेँ । त्यही खुशीमा मन तरङ्गति भैरहृयो । यस खुशीलाई कता प्रकट गरौं भयो । आदिम रूखसित बिदा भएर हिँडे । म अज्ञात भयबाट कामिरहेको थिएँ । अब के हुने होला सोच्नै सकिनँ ।

पक्कै बिरामी हुन्छु भन्ने लागिरहेकोथ्यो । तर बिरामी भने भइनँ । मलाई कता जाउ कसो गरुँ भयो । जङ्गलको बाटो हिँड्दा यो प्रकट रूखहरूलाई सुनाएँ । खोलाको बाटो हिँड्दा खोलालाई । खोला, रूख सबै खुशी देखेँ । खुशीको प्रकाशले सारा जङ्गल, सारा पहाड उज्यालो भयो । बाटोको चराहरूले के हो – के हो – भनेको सुनेँ ।
यसपटक प्रकृतिसित खुला रूपमा संवाद भयो मेरो । ओडारवासीसँग भेट्न मन लाग्यो । यायावर बालासित भेट्न मन लाग्यो । यो सम्भव भएन । एक त धेरै टाढा । अर्को गुमनाम बाटो । यो समयमा खुशीको उज्यालोले वरिपरिबाट अँध्यारो हराएको थियो । भनौँ खुशीको उज्यालोले अँध्यारोलाई कतै लुकाएको थियो ।

मलाई मान्छेको तलतल लाग्यो, यायावरको तलतल लाग्यो । मान्छे कता भेटिन्छ सोचेँ । मलाई घरको सम्झना आयो, आमा-बाबाको सम्झना आयो, मु लुकीको सम्झना आयो । साथीभाइ, इष्टमित्रको सम्झना आयो । त्यसमा पनि विशेष गरी बिरामी भएको बेलामा भेट्न आउने इष्टमित्रको सम्झना आयो । यतिका सम्झना आउँदा पनि मलाई घर फर्किन मन लागेन किनभने तपस्या पूरा भएको थिएन मेरो । मैले जसरी भए पनि आफ्नो तपस्या पूरा गर्नु थियो । मैले जसरी पनि छायाँले दिने पीडालाई ज्ञानको ज्योतिले फुटाउनु थियो । तर त्यो ज्ञान भेटेकै थिइनँ, कसरी फुटाउने ! समस्या बन्दैथ्यो मलाई । अहिलेसम्म मान्छेले प्राप्त गरेको ज्ञान कि दायाँबाट बगेकोथ्यो कि बायाँबाट । मैले मात्र होइन, धेरै धर्म, दर्शन, साहित्य, कलाले जीवनको नजिक हिँडेको दाबी गरे पनि त्यस्तो अनुभूति गर्न पाएको थिइनँ । ती सिद्धान्तहरू भन्दा जीवन पर गइरहेको थियो । सिद्धान्तले जीवनलाई भेट्न सकेको थिएन । जीवन नभेटेसम्म जीवनको पछाडिपछाडि हिँड्ने छायाँलाई भेट्ने कुरै भएन । मलाई छायाँतर्फ बहने ज्ञान चाहिएको थियो । छायाँले छोपेको संसारलाई उज्यालोतर्फ नलगी धरै थिएन । संसारलाई उज्यालोतर्फ लाने यो नै मूल “ङ” मन्त्र बन्दैथ्यो । म संसारलाई उज्यालोतर्फ लान खोजिरहेको थिएँ ।

आफूले देखेको कुरा कसलाई बताऊ भनेर मलाई खसखस भैरहृयो । एकातिर मैले देखेको कुरा राम्रो हो कि नराम्रो हो त्यो पनि खुट्टयाउन सकेको थिइनँ । यो घटनाले भाउन्न भैरहेको थियो मलाई । यसपटकको खोजमा यायावर समूहलाई भेटिनँ, ओडारवासीलाई पनि भेटिनँ । एकदिन सुम्दो गाउँकै एउटा वृद्ध आदिवासीलाई भेटेँ र घटनाको वृत्तान्त सुनाएँ । वृद्ध आदिवासीले “यो राम्रो सङ्केत हो । तिमीले कुल देवताको दर्शन पाएका छौ नानी, यो आदिम रूखमा जो कोहीले दर्शन पाउँदैनन्, जसको आत्मा सफा छ उसले मात्र पाउँछ ।” भनेपछि विश्वास नलागे पनि मनको बोझ हल्का भएको ठानेँ र म केही ढुक्क भएँ ।

मलाई अहिले आएर मान्छेको सिद्धान्त खोक्रो लाग्न थालेको छ । मान्छेको सिद्धान्तभित्र पत्करको थुप्रो देख्न थालेको छु । मान्छेहरूले आफ्नो आदर्शलाई सिद्धान्तमा बेरेर ल्याएको देख्न थालेको छु । मान्छेको सिद्धान्तमा सीङ उम्रेको, काँडा पलाएको, लेउ पलाएको देख्न थालेको छु । त्यो सीङ, काँडाले मान्छेलाई नरम भागमा घोचेको छ । म सिद्धान्तमा निदान चाहन्थेँ, उपचार चाहन्थेँ, जीवन चाहन्थेँ ।

यी सबै गर्नको लागि सबैलाई यथास्थितिबाट हिँडाउनुपर्ने ठानेँ । आदिम रूखजस्तो जरा गाँडेर बसेको सिद्धान्त, विचारलाई हल्लाउनु, हिँडाउनु त्यति सजिलो थिएन । यी सबै मान्छेको दिमागका आदिम रूख थिए । यसलाई नहल्लाई समाज, मान्छे यथास्थितिबाट हिँड्नेवाला थिएन । मलाई किन हो आदिम रूखलाई प्रेम गर्न मन लाग्यो । किन हो यही रूखको सामिप्य प्यारो लाग्न थाल्यो । यो बडेमाको रूखलाई जति हेर्यो उति हिँडेको, उडेको देख्थेँ । जति सोच्थेँ उति मौलाइरहेको देख्थेँ । सबै समस्याको समाधान हुँदैन भन्ने ज्ञान यहीँबाट पाएँ । समाधान नहुने समस्या नै हुँदैन भन्ने तर्कको अगाडि मुत्युलाई राखेर हेर्न सिकेँ । यस्ता धेरै ज्ञान यसै रूखलाई हेरेर प्राप्त गरेको थिएँ । मलाई रूख एउटा ज्ञान लाग्यो । रूख एउटा ब्राहृमण्ड लाग्यो । आदिम रूख सम्झेको बेला केही ज्ञान प्राप्त भएको, केही शक्ति प्राप्त भएको र केही सुख प्राप्त भएको महसुस हुन थाल्यो ।

यायावर जीवनमा घुम्दैघुम्दै धेरैपटक आदिम रूखमा आइपुगेको थिएँ । यो रूख मेरो मियो, म यही मियोको वरिपरिको परिक्रमी । यसै परिक्रमाबाट म ज्ञान पिनेर टिपिरहेको थिएँ । मैले जङ्गलको यात्रामा पशुपन्छी, वनस्पति, जडिबुटी, पर्वतहरूको नाम जानेँ । मलाई एक ढङ्गले सन्तुष्टि लाग्यो । मैले प्राप्त गरेको यो ज्ञान पुस्तकहरूमा थिएन । पुस्तकमा लेखिने ज्ञानको स्रोत पनि यही हावापानी, वनजङ्गल, ढुङ्गा, माटो रहेछ भन्ने लाग्यो । हुँदा-हुँदा आदिम रूख रोप्ने मान्छेहरू कस्ता थिए होलान्, कस्ता खान्थे, लाउँथे होलान् भन्ने सम्म सोच्न थालेँ । आदिवासी तुत्तुले सम्झाएको कुरा पनि सम्झिएँ । सम्झिएँ, “आदिवासीहरूको पुर्खाले कौशीमा लगाएको बिरुवाले कत्रो विशालता पाएको होला । मुलुकमा शासन गर्ने शासकको अवश्य बडागुरु हुनुपर्छ । सम्भव यी आदिवासीको वंशजले चलाएको रीतिस्थिति, चार्डपर्व, संस्कार नै देशमा चलेको हुनुपर्छ । आदिवासीको चार्डपर्व, रीतिरिवाज, संस्कारमा आप्रवासीहरूको चार्डपर्व, रीतिरिवाज, संस्कार मिसिएको हुनुपर्छ । यथास्थितिमा मान्छेको विचार नबसेझैँ यी सबै समयको नदीमा बग्दै यहाँसम्म आएको हुनुपर्छ ।” प्राचीनकालबाट बग्दै आएको चार्डपर्व, रीतिरिवाज, संस्कार, भाषा, लिपि, धर्म सबैलाई मैले फर्काएर हेरिपठाएँ । त्यहाँ कति धमिलो बग्दै थियो, कति पातपतिङ्गगर । यही धमिलोमा खोल्साखोल्सी र खहरे मिसिन्दै आएको देखेँ ।

मलाई घरको सम्झना आउन थाल्यो । आमा-बाबाको सम्झना आउन थाल्यो । साथीभाइ, इष्टमित्रको सम्झना आउन थाल्यो । बाटोघाटो, प्यारो सहर, गीत, सङ्गीत थुप्रै-थुप्रै कुराहरूको सम्झना आउन थाल्यो । जति सम्झना आउँदै जान्थ्यो, उति नै मलाई जाऊँजाऊँ हुन्थ्यो । सम्झना कै क्रममा रोगभोक, युद्ध, गृहयुद्ध, आतङ्क, हिंसा, हत्या, मृत्युको त्रासले चपाएर पहेँलो बनाएको मान्छेको अनुहार पनि सम्झना आयो । यी सबैले निचोरेर पहेँलो बनाएको अनुहारको सम्झनाले मलाई व्याकुल बनायो । म भित्रभित्रै छटपटिन्थेँ ।

छायाँबाट पीडित भएर घरबाट हिँडेको मान्छे भन्ने सम्झिन्थेँ ! खोइ त्यसको समाधान ! यतिकै घरमा गयो भने त्यो छायाँले मलाई सजिलै बाँच्न दिने छैन । यो मेरो समस्या मात्र होइन “ऊँ” उच्चारण गर्ने महामुनिमहरूले भनेझैँ आम मान्छेको समस्या हो । तर मान्छेहरू विभिन्न संज्ञा दिँदै यस समस्याबाट भाग्न खोजिरहेका थिए । त्यसैले आम मान्छेको निमित्त पनि मैले निराकरण खोज्नु जरुरी थियो । अहिलेसम्म यसलाई कति सहज बनाउन सकेँ, सोचेँ । यस विषयमा कुनै प्रगति भएको पाइनँ । जहाँबाट हिँडेको थिएँ, त्यही काँडामा नै अल्झेर उभिरहेको थिएँ । जब मलाई अवनतिको अनुभूति भयो, मभित्र काँडा बिज्यो । यतिका दिनसम्म समय बिताएकोमा पछुताएँ । तर यसलाई पनि मैले पीडा
बिर्साउने उपयुक्त बाटो ठानेँ र मन थामेँ । यसले समस्यालाई सहज बनाउन केही मद्दत गरेकोमा म प्रसन्न भएँ ।

तुम्बाङ्फे । यो एउटा गाउँको नाम । यस गाउँमा एक समयमा पूरै आदिवासीको बसोबास थियो । यस गाउँका मान्छेहरूको आफ्नै भाषालिपि, धर्मसंस्कार थियो । गाउँ भरिपूण् थियो प्राकृतिक सम्पदाले । तल बगिरहेको तुम्वा खोला, वारिपारि पहाडहरू, माथि आकाशमा हिमालका टाकुराहरू, तलतल तरेली परेका खेतहरूले भरिएको यो गाउँ सुन्दर थियो । यस गाउँको सौर्न्दर्यको बयान टाढा-टाढासम्म पनि सुनिन्थ्यो । कालान्तरमा यो गाउँको मान्छेहरू देशविदेश जान थाले । टाढा-टाढाका मान्छेहरू यहाँ आएर बस्न थाले । भाषालिपि, धर्मसंस्कृति सबै मिसिन थाल्यो । रैथाने गाउँलेहरूलाई अन्य मान्छेहरूको भाषालिपि, धर्मसंस्कृतिले प्रभाव पार्न थाल्यो । गाउँलेहरू यति प्रभावित हुन थाले कि बिस्तारै उनीहरूले आफ्नै भाषालिपि, धर्मसंस्कृति बिर्सिन्दै जान थाले । यो समस्या गाउँको लागि ठूलो सङ्कट बन्दै गइरहेको थियो । केही पुराना मान्छेहरू भने फैलिन्दै गएको विकृति देखेर चिन्तित हुन थाले । वर्ण्र् वस्थाको पदार्पण सबैभन्दा विकराल बन्न थाल्यो । मान्छेहरू आदिवासी र गैरआदिवासीमा छुिट्टए। आदिवासी र गैरआदिवासीको सौहार्दता स्वागतयोग्य नै थियो । तथापि वर्ण्र्ावस्थाको बढ्दो प्रभाव सबैको लागि हानिकारक बन्दैथ्यो । हुँदाहुँदा मान्छेहरू वर्ण्र्ावस्थाले समाज चलाउनेसम्म भए । सामाजिक व्यवस्था सीमित मान्छेको हातमा जान थाल्यो । उनीहरू आफू खुशी समाज चलाउन थाले । यसको प्रभाव बिस्तारै छिमेकी गाउँहरूमा पर्न थाल्यो । समान जातहरू उच्चनीच बन्न थाले । समान लिङ्ग असमान हुन थाल्यो । उच्च जातले अन्य जात र लि•का मान्छेलाई सानो ठान्न थाले । गाउँमा ठूलो समस्या भित्रियो । मान्छेहरू पनि वर्ण्र्ावस्थाको ढाँचामा ढालिन थाले । नारीहरूमाथिको भेदभाव बाक्लिन थाल्यो । नारीको सामान्य महिनावारीलाई पनि अछुत भनी परिभाषित गर्न थाले । धर्मसंस्कार, रीतिरिवाज सबैको नयाँ परिभाषा हुन थाल्यो । यसले गाउँमा हाहाकार मच्चायो । मन्द विषभन्दा पनि सहज ढङ्गबाट यो विष समाजमा फैलिन थाल्यो । धर्मसंस्कारको नाममा मान्छे मारिन थाल्यो, मान्छे मर्न थाले । रूढिवाद, अन्धविश्वास बढ्दै गयो । थोरै मान्छेलाई यसले फाइदा पुर्यायो, धेरै मान्छेलाई बेफाइदा । गाउँको यो महासङ्कट ओडारवासीले पनि कसोकसो थाहा पाए । उसले मान्छेहरूको कहालीलाग्दो
गम्भीरतापूर्वक सोचेँ । लाग्यो, माया, मोह, काम, क्रोध सबै जीवनका आवरण मात्र हुन् । जीवन यसैभित्र खेलिरहने माछा हो । मलाई ढुङ्गामा पल्टिन मन लाग्यो, पल्टिएँ । आनन्द लाग्यो । भरखरै सोचेँको कुरा नयाँ प्रकट लाग्न थाल्यो । सोचाइलाई यस किनाराबाट पनि हेर्नुपर्छ भन्ने सोचेँ र ढुक्क भएँ । निम्लोचन भएको थिएन । पोहोर यसै समयमा सुम्दो गाउँमा आदिवासी यायावर आएर पर्व मनाएको कुरा सम्भिmएँ । मन फुरुङ्ग भयो । मलाई त्यहाँ उडेर जान मन लाग्यो ।

म गाउँमा पुग्दा पूरै गाउँ उल्लासमय भैरहेको थियो । मान्छेहरू प्रफुल्ल थिए । त्यहाँका जात, जातिहरू फूलबारीका फूलहरू जस्तै मिलेर फुलेका थिए । उनीहरूलाई थाहा थियो, जति नै सुन्दर फूल फुले पनि एकै जात र रङ्गको फूलले फूलबारी सुहाउँदैन । सबै जात र रङ्गको फूलले मात्र फूलबारी सुहाउँछ । यायावर आदिवासीहरू आइपुगिसकेका थिए । मलाई बालाको याद आयो, यायावर बसेको समूहमा गएर तुत्तुलाई अभिवादन गरेँ । बाला तुत्तुको छेउमा बसेकी थिइन् । मलाई देखेर तुत्तु, बालाले हर्क माने । गतवर्षउनी कोपिला लागेकोथ्यो, यसपटक फक्रेको पाएँ । कोपिला फक्रिन्दा सुन्दर देखिन्दोरहेछ सोचेँ । बालालाई हर्ेन मन लाग्यो, फगत हेरिरहेँ । उनी एउटी साथीसित कुरा गर्न लागेकी थिइन् । उनमा आदिवासी सुलभ गहना थिए । मेखली पनि उनलाई गहना भैरहेको थियो । मैले निकैबेरसम्म हेरिरहेँ, हेरिरहेँ उनलाई । बाला र आदिम रूखको विश्व रूपमा देखेको बालामा केही समानता पाएँ । र्सवजात गाउँलेहरू र यायावरहरू रूख पर्व, रूख उत्सव मनाउने तयारी गरिरहेका थिए । सधैँझैँ यस वर्ष पनि तुत्तुले सहको निमित्त आदिम रूखमा पूजा लगाउन अगाडि नाचगान भयो । नाचगानमा गाउँलेहरू र यायावरहरू सामेल भए । सबै मिलेर खूब जोडसँग नाचगान गरे । यहाँ प्रस्तुत हुने प्राकृतिक नृत्य, लोक नृत्यमा सबैलाई सहभागी भएर नाच्न रमाइलै लाग्यो । उनीहरूको नाच समाप्त भएपछि बालाको नाच्ने पालो आयो । उनी नाचिन् । उनको नाचले सबैलाई लोभ्यायो । सबैले प्रशंसा गरे उनको नाचलाई । कतिले त सहरका आदिवासीहरूले उनकै नाचको केही अंश नाच्ने गरेको कुरा पनि बताए । नाच्ने कार्यक्रम समाप्त भएपछि गाउँलेहरूले उनीहरूलाई चामल, दक्षिणा दिए । अनि सबै भेला भएर गाउँलेले तयार पारेको खानपिनमा लागे ।

खानपिन समाप्त भएपछि सबैजना आदिम रूखको अगाडिको मैदानमा भेला भए । तुत्तुले पूजा लगायो । गाउँ र गाउँ वरपरका मान्छेहरूले फलफूल चढाए । पशु बलि दिए । गतवर्षभरखरै घर छोडेकोले घरको सम्झना सेलाउन पाएको थिएन । बाहिरी वातावरणमा नभिजेको मान्छे, दुर्गम स्थानमा जीवन बिताउनु पर्दा कष्टकर हुने नै भयो । कष्टले गर्दा उत्सव खल्लो हुनु स्वाभाविकै थियो अघिल्लो वर्ष। यी तमाम कुराहरू थिएनन् यसपटक । यसपटक मैले भरपूर आनन्द लिएँ उत्सवको । जङ्गलैजङ्गल भौँतारिन्दै आदिवासी उत्सवमा सामेल हुन पाउनु मेरो निमित्त सुखानुभूति थियो । यसलाई मैले रमाइलो नै मानेँ । मलाई यो उत्सव गतवर्षो भन्दा रमाइलो लाग्यो ।


भयको प्राप्ति  / ज्ञान प्राप्ति / सहजता


जाडो अन्तिम बिन्दुमा पुगेर न्यानोतिर फर्किन लागेको मक्कर सङ्क्रान्ति । यस भूगोलका प्राणीहरूले जाडोबाट कठाङ्ग्रिएको शरीरलाई न्यानो ओढ्ने मौसमका सुरुवात । यसपटकको मकर सङ्क्रान्तिमा आदिवासीहरूको बाह्रवर्षो नयाँ वर्षो सुअवसर थियो । उनीहरू प्रत्येक बाह्र वर्षा एकपटक धुमधामसित नयाँ वर्षमनाउँथे । प्रत्येक वर्षनआउने यायावर समूह पनि यस वर्षअनिवार्य सुम्दो गाउँ आउँथे । यो उत्सव भेटघाटको ठूलो उत्सव थियो । यस उत्सवमा वर्षौँ नभेटिएका आफन्त, इष्टमित्रसित भेट हुन्थ्यो । विशेष गरी विवाह भएर गएका चेलीबेटी, टाढा-टाढा भएका नाताकुटुम्ब र परदेश गएका परदेशीहरू गाउँघर सम्झेर फर्किने गर्दथे । सुम्दो गाउँ आउन नसक्नेहरू आ-आफ्नो औकात अनुसार आ-आफ्नो गाउँठाउँमा नयाँ वर्षमनाउँथे । यायावरहरू बाह्र वर्षा सँगालेको यायावर अनुभव बाँड्ने गर्दथे । सहरतिर बसोबास गरिरहेका आदिवासीहरू सहरिया उपहार र गाउँले आदिवासीहरू गाउँमा उत्पादन भएको नयाँ उत्पादन, आविष्कार लिएर उत्सवमा आउँथे । गाउँलेहरूले बनाएका बाँस, वेद, काठका वस्तु, खानेकुराको परिकार, प्राकृतिक नृत्य लिएर सहरियाहरू फर्किन्थे । यस उत्सवको निकै ठूलो महत्त्व थियो । सहरतिर बाह्य अतिक्रमणमा परेर संस्कृति लोप भैसकेको भए तापनि गाउँमा पसेको थिएन, त्यसमा पनि आदिवासीहरूमा प्रवेश गर्नै पाएको थिएन । आदिवासीहरूले आ-आफ्नो जातीय संस्कार, जातीय संस्कृति मान्थे र ढोल, झयाम्टा, च्याबु्रङ, डम्फु, मादल, तुङ्ना बजाउँथे । उनीहरू जातीय भेषभूषा र गहनामा आउँदा संसार नै आदिवासीमय देखिन्थ्यो । यी जातिहरूलाई आ-आफ्नो भेषभूषा, गहनाले सुहाएको देख्दा मलाई रमाइलो लाग्यो । टा-टाढाबाट मान्छेहरू आदिवासी नयाँ वर्षउत्सव हेर्न आउँथे । ती मान्छेहरू तारो हान्ने, छेलो हान्नेजस्ता खेलमा भाग पनि लिन्थे । कति कलाकारहरूले त यस पर्वमा आएर लोकगीत, लोक भाका, नाच सङ्कलन गरेर सहर लान्थे र प्रसिद्धि कमाउँथे । त्यसैले आदिवासी नयाँ वर्षा सहरिया मान्छेहरूको पनि उल्लेखनीय उपस्थिति हुन्थ्यो । सानातिना टुकुरे व्यापारीदेखि ठूला-ठूला व्यापारी पनि भेला हुन्थे यहाँ । यहाँ आउने मान्छेहरू प्रायः सबै खुशी हुन्थे, कति स्वादिष्ट परिकारलेे, कति सांस्कृतिक कार्यक्रमले, कति भेषभूषाले । यहाँ कला र संस्कृतिको बेजोड सङ्गम हुन्थ्यो । आतिथ्य सत्कारमा आदिवासीहरूलाई सहरियाहरूले विशिष्ट मान्दै आएका थिए ।

आदिम रूखको छेउमा बग्ने पवित्र “सावाला नदी” को विशेषता थियो वर्षमा पनि सङ्लो बग्नु । यस नदीको पानी ग्रीष्म र हिउँद दुवै ऋतुमा न्यानो हुन्थ्यो । यस नदीको उद्गम आदिवासीहरूले हिमाल मान्थे । हिमालको पानी ठण्डा हुनुपर्नेमा भौगोलिक बनावटले हो या अरू कुनै कारणले हो सधैँ न्यानो बग्थ्यो । आदिवासी उत्सवमा भेला भएका यायावरहरू सावाला नदीमा नुहाउँथे । मान्छेहरू यस नदीमा नुहाएर स्वास्थ्य लाभ गर्न मन पराउँथे । यस नदीको पानीले धेरै जमिनमा सिञ्चाइ भएको थियो र यस पानीबाट खेतीपाती पनि सप्रिन्थ्यो । नयाँ वर्षा तरुल खान र नुहाउन सहरको धेरै मानिसहरू सुम्दो गाउँ आउँथे । यस वर्षो नयाँ वर्ष बाह्र वर्षा आउने नयाँ वर्षभएकोले यसको विशेष महत्त्व थियो । नयाँ वर्षो यस पुनित अवसरमा सावाला नदीको पानी झन् सङ्गालेको थियो । तिर्थालुहरू एकदिन दुइदिन अगाडि नै आदिम रूखको वरिपरि भेला हुन थाले । उनीहरूले एकले अर्कोलाई नयाँ वर्षो शुभ कामना दिन्थे, सुस्वास्थ्यको कामना गर्दथे । यहाँ आउने अतिथिहरूले आ-आफ्नो सुविधाको लागि कटेरो, झुप्रा, याक्सा बनाउन थाले । सबैले आ-आफ्नो बासको बन्दोबस्त मिलाउन थाले । नदीको पर्ूवपट्ट िआदिवासी यायावरहरूले वर्षौँदेखि याक्सा बनाउँदै आएका थिए । कति याक्सा अलि टिकाउ किसिमले बनाइएको हुन्थ्यो । टिकाउ किसिमको याक्सा धर्मशालाजस्तै हुन्थ्यो । बास नपाउने मान्छेहरूलाई धर्मशालामा बस्ने प्रबन्ध मिलाइन्थ्यो । फेरि वर्षोनी आउने भएपछि अलि टिकाउ किसिमको बनाऔँ भन्ने सोच हुन्थ्यो उनीहरूको । नदी पखेटा फैलाएर फैलिएको हुनाले सजिलै वारपार गर्न सकिने किसिमको थियो । अतिथिहरूलाई सजिलो होस् भनेर काठेपुल बनाइएको थियो । काठेपुलमा बालबालिकाहरू मनोरञ्जन गरिरहेका हुन्थे । खेलिरहेका हुन्थे । दौडिरहेका हुन्थे । ठूलो मान्छेलाई रमाइलो लाग्ने उत्सवमा केटाकेटीलाई झनै रमाइलो हुन्थ्यो । केटाकेटीहरू बिहानै उठ्थे र आमा-बाबाले वाचन गर्ने “ङ” वाचन गर्थे । यो गाउँ र वरपरको गाउँलाई यस उत्सवले छुएको थियो । आदिवासीहरूको उत्सव मनाउने तरीका मलाई विशिष्ट लाग्यो ।

साँझपख उनीहरूले रोदी नाचे, मारुनी नाचे, ढोल नाचे, धान नाचे, भोटेसेलो नाचे, झाँघर नाचे, हुरा नाचे । थुप्रै-थुप्रो नाचहरू नाचिरहे । कति त रातभर सुतेनन् । बाल्यकालका साथीसित भेट भएका मान्छेहरू रातभर कुरा गरिबसे । अतीतलाई वर्तमानमा मिसाएर कुरा गर्दा अति नै रमाइलो लाग्यो उनीहरूलाई । नयाँ-नयाँ मान्छेहरू नयाँ-नयाँ कुरा गरिरहेका हुन्थे । उनीहरू ती कुराकानीमा पेट मिचिमिची हाँस्थे, भावुक हुन्थे र रमाइलो मान्थे । कतिले यसलाई उल्लासमय र अविस्मरणीय क्षण माने । म समूहसमूहमा छरिएको मान्छेतिर जान्थेँ र मान्छेका कुराकानी सुन्थेँ । ती मान्छेहरू ज्ञानगुणका कुरा गरिरहेका हुन्थे । सुखदुःखका कुरा गरिरहेका हुन्थे । आदिवासीमा आइरहेको सुधारलाई उनीहरूले सकारात्मक मानिरहेको भेटेँ । आदिवासीमा जीवितै भएको रूढिवादी, अन्धविश्वास, धुम्रपान, मद्यपानको खुलेर विरोध गरिरहेका थिए उनीहरूले । त्यसलाई मैले सुधारको राम्रो लक्षण मानेँ ।

यसरी घुमिहिँड्दा मैले एकजना चिनेको जस्तो मान्छे देखेँ । मैले उसलाई ठम्याएर हेरेँ । चिनेका मान्छे रहेछन् । यस वनबासमा चिनेको मान्छे भेट्दा खुशी लाग्यो मलाई । उहाँ महाविद्यालय पढ्दाको शिक्षक हुनुहुन्थ्यो । मलाई देखेर उहाँ पनि झस्किनुभयो । “निसाम् तिमी यहाँ !”
म मुस्कुराएँ, “सर नि !”
“ऊ त्यो माथिको आदिवासी गाउँमा मेरो घर छ, त्यहाँ आमाबाबु छन् । नयाँ वर्षा आमाबाबु भेट्न आएको ।”
“मेरो कथा बेग्लै छ । म बिरामी भएको त सरलाई थाहा होला नि !”
“थाहा छ ।”
“घरमा आउनुभएको थियो होइन !”
“आएको थिएँ । त्रि्रो बिरामीको हालत देख्दा त मरुँमरुँ लाग्थ्यो कस्तो कष्टदायक थियो ।”
“त्यो बिरामीपछि घर छोडेर हिँडे । जति घरमा बस्यो उति गुम्सेको जस्तो लाग्ने । सास नै निसासिने । सधैँ एक किसिमको तनाव । एउटा छायाँ सधैँ घुमिरहने । सहनेको पनि सीमा हुँदोरहेछ, सीमा नाघेपछि भत्किँदो रहेछ त्यो । मैले पनि घर छोडेर हिँडिदिएँ, आनन्दैसँग ।”
“कतिदिन भयो घर छोडेको ?”
“वर्षदिन भयो ।”
“वर्षदिनदेखि यतै छौ ?”
“यतै छु ।”
अचम्म मानेर हेर्नुभयो मलाई, “कता ?”
“यी वनहरूमा, पहाडहरूमा, हिमालहरूमा ।”
“अनि केको लहड यो जुकाघारीमा ?”
“खोजिरहेको छु, बुद्ध, महावीर, नित्चे, मार्क्स, पाइड, सात्रे र डेरिडाहरू ।”
“तिमी पनि महाविद्यालयको जस्तै कुरा गर्दारहेछौ । अनि किन खोज्नु यो एकलास वनमा यी चिहानहरू ?”
उहाँको उत्सुकता देखिरहेको थिएँ ।
“जीवित हुनुको अर्थ ।”
“तिम्र कुरा पनि लहराजस्तो हुन्छ, बुझनै नसकिने ।”
म हाँसे । निकैबेर हाँसे । अनि दुवै हाँस्यौँ ।
बताएँ, “बिरामी भएपछि त्यसैत्यसै निराश लागेर आउने भयो । मन खिन्न हुने । एक किसिमको तनाव भैरहने । मलाई नै कसैले नियन्त्रण गरेको छ कि जस्तो । आफ्नो वरिपरि कालो छायाँमात्र । अनेक गर्दा पनि मनले चैन पाएन । आगोले भत्भती पोलेको अवस्था थियो । कतै लगेर शमन गर्नुथ्यो मनको सङ्ग्रालोलाई । छटपटावटले यता ल्याएर आयो । अझै ठण्डा भएको छैन पीडा ।”
उहाँले मेरो कुरा ध्यान दिएर सुन्नुभयो । अनि, उहाँ गम्भीर हुनुभयो । दुवै मौन भयौँ ।
“हेर्नुहोस सर सहरका मान्छेको लागि यी आदिवासीहरू कस्तोकस्तो लाग्दैनन् । उनीहरूले मनाइरहेको चार्डपर्व, लगाइरहेको भेषभूषा अनौठो लाग्दैनन् ?” प्रसङ्ग बदलेँ ।
“लाग्छन् । प्रत्येक मान्छेलाई एउटाको अर्कोलाई त्यस्तो लाग्न सक्छ । के आदिवासीले सहरको जस्तो अत्याधुनिक सभ्यता ग्रहण गर्दा शोभनीय देखिन्छ र ! हेर अहिले उनीहरूलाई वनमा ढकमक्क फुलेको गुराँस देखिएको छ । बग्दै गएको सावाला देखिएको छ । मनै शीतल हुन्छ उनीहरूलाई हेरेर । हामीले देखिरहेको आदिम रूख, नयाँ वर्ष आदिवासी यायावरहरू भ्रम होइनन्, मिथ्या होइनन्, यथार्थ हुन् । यस्तो यथार्थ संसारभरि नै छन् । आँखालाई भ्रम लाग्न सक्छ यो यथार्थ । हामीलाई लाग्न सक्छ । हामीलाई लाग्नुसँग उनीहरूको जीवन सापेक्ष छैन । हामीलाई लागेको जस्तै उनीहरूलाई पनि लाग्न सक्छ । प्रकट भनेको यही त हो ।”
“म अनकन्टार जङ्गलमा आएँ, गाउँ डुलेँ । सहरको आँखाले नदेखेको सुन्दरता देखेँ यहाँ । यहाँको सुन्दरता हर्ेन त जङ्गलभित्र नै छिरेर आउनुपर्ने रहेछ । यहाँको सौर्न्दर्यलाई पातहरूले, रूखहरूले, फूलहरूले लुकाएको हुँदोरहेछ । यहाँको सौर्न्दर्य सहरको सौर्न्दर्यसँग तुलना गर्न सकिनँ मैले । मलाई त किन हो यतै पो सुन्दर लाग्यो । मान्छेका बोली कति सुन्दर छन्, व्यवहार कति सुन्दर छन् । चार्डपर्व, रितीरिवाज, संस्कार, प्रकृति कति सुन्दर छन् । आकाश नै सुन्दर लाग्छ मलाई किन हो ।”
“आकाशको आफ्नो आकार, रूप हुँदैन निसाम् । गिलासको पानी जस्तै हुन्छ यसको आकार । यहाँको गिलास भनेको नै यहाँको धर्ती, हावापानी, रूख, बिरुवा, मान्छे, चराचुरुङ्गी, प्रकृति हुन् । तिनीहरू जस्तो छन्, आकाश त्यस्तै देखिन्छ । आदिवासी भनेका रूख, बिरुवा, हिमाल, फूल, आकाश जस्तै धर्तीका सौर्न्दर्य हुन् । के फूल नभएको धर्ती सुन्दर देखिन्छ ?”
मलाई छुयो उहाँको कुराले । म भावुक भएँ । कति मीठो थियो हाम्रा संवाद । हामीहरू निकैबेर कुरा गर्यौँ । उहाँले अध्ययनको लागि सहर बाहिर गएको कुरा बताउनुभयो । उहाँलाई सहरको बारेमा सोधेँ । उहाँले त्यति थाहा नभएको बताउनुभयो । साथीहरूको बारेमा सोधेँ । साथीहरूलाई नभेटेको बताउनुभयो । हामीहरू भोलि बिहान भेट्ने निधो गरेर छुट्टयिौ । उहाँ जानुभएपछि म एक्लै घुमिहिँडे । उहाँसितको भेटलाई मैले सेतु मानेँ ।

नयाँ वर्षो अघिल्लो रात मान्छेहरू रातभर नै जाग्राम बसे । नाच्ने नाचिरहे । कुरा गर्ने कुरा गरिरहे । सुत्ने सुतिरहे । टहटह जून लागेको थियो आकाशमा । म मान्छेको समूह छोडेर एकान्तमा गएँ । एकान्तबाट आदिम रूख हेर्न मन लाग्यो । हेरेँ । निकैबेर हेरिरहेँ । सुरुमा त केही देखिनँ, पछि बिस्तारै माथिदेखि तलसम्म हाँगा सोरिएर झरेको भागमा केही चल्मलाएको देख्न थालेँ । रूखका ठूला-ठूला पात देख्न थालेँ । रूखको पातमा लेखिएको स्वर्ण्र् अक्षर । ती पातमा ठूला-ठूला अक्षरमा “ङ” मन्त्र लेखिएका थिए । अनि क्रमशः झन् रुचि लिएर हेर्न थालेँ । सृष्टिको कथा देख्न थालेँ । दर्शन, साहित्य, कला देख्न थालेँ । मलाई झन्-झन् उत्सुक लागेर आयो । पहिला त झिमझिम अँध्यारो चम्केको मात्र देखेँ । केहीबेरपछि आफ्नो छायाँलाई पनि विभिन्न रूपमा रूखमा देख्न थालेँ । त्यो चम्केको अँध्यारोमा अस्पष्ट आकार देखेँ । सपनाको आकारजस्तो थियो त्यो । आँखालाई तीर पारेर हेरेपछि छायाँ देखेँ । विभिन्न दिसामा फर्केको रूखको हाँगाले पानीजस्तै, बादलजस्तै, कीराजस्तै, मान्छेजस्तै, अर्धदृश्य मान्छेजस्तै आकार बनाउँदै, बिगार्दै गरिरहेको थियो । मलाई भय लाग्यो अन्तिमपटक । शरीरका रौँ दुम्सी भएर खडा भए । एकछिनपछि शरीर काम्न थाल्यो र खलखलती पसिना निस्किन थाल्यो । पसिनाको खोलासँगै मलाई पीडा निस्केको अनुभूति भयो । रूखमा भने हाँगा र पातले विभिन्न आकार बनाउँदै, बिगार्दै गरिरहेका थिए । केहीबेरपछि त्यो किरिङमिरिङ हाँगाहरूको आकार अर्धदृश्य मान्छेजस्तै बन्यो । विश्वास लागेन । आँखा मिचेर हेरेँ । किरिङमिरिङ अर्धदृश्य मान्छे बोल्न थालेको देखेँ । ऊ बोल्न थाल्यो । मलाई अचम्म लाग्यो । अचेत जस्तो भएँ म । कताकता बेहोसीको अवस्थामा आवाज सुनेजस्तो भयो । ऊ बोलिरहेको थियो, “तिमीभित्र भयको वास छ । तिमीभित्र मात्र होइन सारा चेतनशील प्राणीभित्र भय बेरिएर बसेको हुन्छ । सुषुप्त, सुप्त र जागृत चेतनामा यसको आकार निर्भर गर्दछ । संसारमा आउने मान्छेजस्तै त्यो कताबाट आउँछ र कता जान्छ थाहा हुँदैन । यो स्पष्ट देखिँदैन । स्पष्ट बुझिँदैन । होकिहोकिको भरमा शङ्का गरिन्छ । तिमीले देखिरहेको कीराजस्तो, छायाँजस्तो, त्रि्रो छायाँजस्तो भय हो । यसको अनेकौँ रूप हुन्छ । जब यो सक्रिय हुन्छ, चेतनशील प्राणीहरू डराउने, काम्ने, लुक्ने, भाग्ने गर्छन् । तर यसबाट भागेर, लुकेर जित्ने कुरा भ्रम मात्र हो । यसलाई मान्छेले यसै हो भन्न नसके पनि रोग, मृत्यु, सम्पत्ति, दर्ुघटना, र्स्वर्ग, नरकर्,र् इश्वर, शैतान सबै-सबै भन्छन् । मान्छे यसैको दास हो जस्तो गर्छन् । यसको रूप छिनछिनमा बदलिरहन्छ । एकछिनअगाडि भएको भय एकछिनपछि नहुन सक्छ । सानातिना समस्या, चिन्ता, अहम्ताजस्ता कुरा मिलेर यो ठूलो बन्न सक्छ । यो चेतनाको कुरा हो । यो दिमागको बाटो भएर शरीरभरि घुमिरहन्छ । शरीर यसको अधिनमा हुन्छ । शरीर भएर ब्राह्मण्डमा घुम्छ । यही जीवनमा बाहिरको संसार सापेक्षित छ । चेतनाको आधारबाट जीवन चल्छ र जीवनको आधारबाट संसार । जीवन र जगत प्रकटको नटुट्ने शृङ्खला हो । यो अविरल हुन्छ । समयको विपलमा नयाँ-नयाँ प्रकट हुन्छन् । तिमीले देखिरहेको छायाँ छायाँ मात्र नभएर भय सङ्ग्रहित एउटा ग्रह हो । जङ्गल-जङ्गल भौँतारिँदैमा यो सानो हुँदैन । यसलाई सानो बनाउन यसको रूप चिन्नुपर्छ र नयाँ प्रकटमा लैजानर्ुपर्छ । भय जति कम हुन्छ, उति नै जीवन सहज हुन्छ । मान्छेहरू सिद्धान्त, दर्शन, कला, साहित्यजस्ता कुरा ल्याएर सहजता खोजिरहेका छन् । मान्छे सहजताको खोजाहा हो । सहजताको खोजमा सबै लागिपरेका छन् । थाहा छैन कसले, कसरी र कहिले जीवनलाई “सहज जीवन” बनाउने हो । जबसम्म शरीरबाट भय निस्किँदैन तबसम्म जीवन सहज बन्न सक्दैन ।” बेहोसीकै अवस्थामा पनि मैले उसका शब्द स्पष्ट बुझेँ । होसमा आउँदा शरीर पसिनामा डुबिरहेको थियो र काम्दै थिएँ । शरीरभन्दा धेरै मुटु कामिरहेको थियो । आँखाबाट एउटा कालो पर्दा उघारिए समान भयो । म सङ्गे भएँ ।
म छयाङ्ग भएँ । शरीर पूरै खुल्यो, आकाश खुलेको जस्तो भयो । आदिम रूखबाट निस्केको मान्छे उज्यालो भएर मेरै अगाडिबाट उडेको देखेँ । शरीरबाट बिरामीको काँडा निस्केजतिकै आनन्द भयो । शरीर हलुङ्गा भयो । एक्कासी सङ्गे हुँदा हर्षलागेको हो कि विस्मात मैले चालै पाइनँ । आदिम रूखबाट निस्केको अर्धदृश्य मान्छेले बताएको ज्ञान मलाई ठूलो प्रकट लाग्यो । रूखमा भएको ज्ञान बुझदै गएँ । रूख मात्र होइन, ढुङ्गा, माटो, हावापानीमा भएको ज्ञान बुझदै गएँ । यिनीहरूमा ज्ञानको अनन्त गहिराइ रहेछ । मान्छेले ढुङ्गा, माटोका एउटा आयाम बुझेका हुँदारहेछन् । यही आयामलाई हेरेर पूजा गर्न थालेका हुँदारहेछन् । तर ढुङ्गा, माटोको आयाम मान्छेले बुझेकोभन्दा धेरै गहिरो हुँदोरहेछ । मैले आदिम रूखबाट यही ज्ञान प्राप्त गरेको थिएँ । मु लुकीसँग गरेको बहस, सिद्धपुरुषहरूको सल्लाह र सुझावमा भएको अपूराअपूरा कुराहरू आदिम रूखले पूरा गरेजस्तो लाग्यो । आदिम रूख अपूराहरूको पूरा लाग्यो । म भरिएँ । अपूराअपूरा भएको भयको ज्ञान पूरा भएको ठानेँ । ज्ञान प्राप्त भएकोमा आदिम रूख र आदिवासी यायावर समूहलाई धन्यवाद दिएँ । ज्ञान प्राप्त भएपछि मान्छेलाई भयले थिचिएको देखेँ । भयले थिचेका मान्छेहरू वामन भएको देखेँ । यो ज्ञान मान्छेलाई बाँड्न मलाई औडाहा हुन थाल्यो । भैरहृयो । ज्ञानको प्रसारणले जीवन अलि सहज हुन्छ भन्ने सोचेँ । आफूले देखेको प्रकट बालालाई सुनाएँ । बालाले मुस्कुराएर भनिन् “मैले एकदिन तिमीलाई भनेकी थिएँ, त्रि्रो प्रश्नको उत्तर यहाँ छ ।” हो बालाले कन्दमूल खोज्न जाँदा पहिला नै बताएकी कुरा मलाई याद आयो ।

मैले यो कुरा तुत्तुलाई पनि बताएँ । उसले भन्यो “तिमीले खोजेको ज्ञान प्राप्त भएको छ । आदिम रूखले त्रि्रो बाटो खोलिदिएको छ । यहाँ आउने जो कोही मान्छेको मनको कुरा पूरा हुन्छ । तिमीले देवीको पनि दर्शन पायौ । देवीको दर्शन पाउने यो दुनियाँमा तिमी र ओडारवासी मात्र हौ । मैले अहिलेसम्म पनि पाएको छुइनँ । ओडारवासीले देवीको आज्ञा पाएर ध्यान गर्न थालेको छ, धर्मको प्रचारप्रसार गर्न थालेको छ । यसले समाजलाई फाइदा नै पुर्याएको छ । धेरै वर्षेखि जरा गाँडेर बसेको समाजको अन्धविश्वास यसले गर्दा हल्लिन थालेको छ । आदिवासीहरू दिनदिनै सुध्रिन थालेका छन् । तिमीले पाएको ज्ञान के गर्दा हुन्छ कुन्नी म पनि जान्दिनँ ।” तुत्तुले यसो भनेर अप्ठयारोमा पारिदियो मलाई ।

नयाँ वर्षो बिहान चाँडैदेखि मान्छेहरू खलबल गर्न थाले । संसारमा मिरमिरे हुन लागेको थियो । मिरमिरे भएपछि संसार उज्यालो हुन्छ । त्यो उज्यालो हेर्न मैले डाँडा माथिमाथि हेरेँ । डाँडामुनिबाट उज्यालो निस्किन लागेको थियो । सोचेँ, “यो उज्यालोले सारा संसार उज्यालो बनाउँछ । जीवनलाई उज्यालो बनाउँछ ।” उज्यालोको ज्योति धर्तीको एकछेउबाट आएर अर्को छेउमा बिलाएको देखेँ । उज्यालोको केही ज्योति कताबाट आएर हो मभित्र खुरुरु पसिरहेको हेरिरहेँ ।

कुनाकुनाबाट मान्छेहरू चाँडैदेखि उठेर सावाला खोलामा नुहाउन थालेको देखेँ । नयाँ वर्षो बिहानै मानिसहरूले सावाला नदीमा स्नान गर्न थाले । घाम उदाएपछि आदिम रूखमा पूजाको अनुष्ठान गर्नुपर्ने । त्यसैले पनि उनीहरू बिहानै नुहाउने गर्दथे । गैरआदिवासीहरूलाई भन्दा पनि आदिवासी यायावरहरूलाई नुहाउनु अनिवार्य थियो । ती नुहाउने समूहमा नरनारी, केटाकेटी सबै हुन्थे । उनीहरू स्नानपछि आदिम रूखतिर जान्थे । यो रूखको अगाडि फैलिएको मैदानमा भेला हुन्थे । म पनि सावाला नदीमा नुहाएर मान्छे भेला भएको मैदानमा गएँ । यो विशाल रूखले टाउको उठाएर हेरिरहेको हुन्थ्यो मैदानमा भेला भएकाहरूलाई । मन्द गतिको हावाले सुम्सुमाउँदा चलमलाएका हाँगा, पात समुद्रका छाल जस्तै देखिन्थ्यो । आदिवासी र गैरआदिवासी छुट्टाछुट्टै समूहमा भेला भएका थिए । उनीहरू फूलका दुइ लहरजस्तै देखिन्थे । आदिम रूखको वरिपरि भेला हुनासाथ मान्छे शालीन हुन थाल्थे । अनुशासित हुन थाल्थे । अगाडिका मान्छेहरू क्रमैसँग बस्दै गए । मैले पनि एकछेउमा गएर बस्ने विचार गरेँ । बस्न अगाडि शिक्षकलाई हेरेँ चारैतिर । देखिनँ । मान्छेको फूलबारीमा मान्छे भेट्न त्यति सजिलो थिएन । पछि भेटौँला भनेर उहाँलाई खोज्न छोडिदिएँ । बसेँ । घाम झुल्किनभन्दा केही अगाडि थानमा आदिवासी बडा तुत्तु बसे । बडा तुत्तुसँगै अन्य समूहका तुत्तुहरू मर्यादाक्रममा बसे । तुत्तुहरूमा आदिवासी बाला भएको समूहको तुत्तु “बडा तुत्तु” मानिन्थे । अन्य बेला बडा तुत्तु नभने पनि यस बेला उसलाई भन्नै पथ्र्यो होइन भने तुत्तुहरूको मर्यादाक्रम मिलाउन गाह्रो पथ्र्यो । फेरि उनी नै आदिम रूखको मुख्य पूजारी थिए । आदिम रूखलाई रङ्गीचङ्गी कपडाका तुल टाँगेर सजाइएको थियो । हाँगाहरू पनि कपडाले सजाइएका थिए । कपडा फर्फाउँदा विभिन्न आकार बन्थे । कपडाको तुलमा आदिम रूख सुहाएको देखिन्थ्यो । विभिन्न जीवजन्तुको आकारप्रकार बनाइएको थियो रूखको वरिपरि । पहिलो घाम देख्नेबित्तिकै आदिवासी बडा तुत्तुले “ङ” मन्त्र जप्न थाले । बडा तुत्तुपछि तुत्तुहरूले “ङ” उच्चारण गरे । उनीहरूसँगै सबै मानिसहरूले “ङ” उच्चारण गर्दा त्यो बिहान ङमय भयो । मैले पनि मनैबाट “ङ” को उच्चारण गरेँ । “ङ” मन्त्रको समापनपछि आदिम रूखको पूजा प्रारम्भ भयो । पूजा अनुष्ठानको कार्यक्रम समापन भएपछि तुत्तुले काँचो वन तरुल बाँडे प्रसादको रूपमा । मान्छेहरूले वन तरुलको टीका लगाए र खाए । आदिवासी चलन अनुसार नयाँ वर्षा काँचो वन तरुल नखाइ अन्य खानेकुरा खानु हुँदैनथ्यो ।

काँचो वन तरुल खाएपछि पन्छी नाच प्रारम्भ भयो । गाउँलेहरू पनि नाचे । यायावरहरू पनि उत्साहप्रद रूपमा नाचगानमा सहभागी भए । गाउँलेहरू खासगरी बालाका नयाँ-नयाँ पशुपन्छी नृत्य हर्ेन लोभिन्थे । यसपटक बालाबाट के आउने हो भन्ने कौतुहल सधैँ हुन्थ्यो उनीहरूलाई । बाला पनि गाउँलेहरूलाई मनोरञ्जन दिन सधैँ नौलो नृत्य लिएर आउँथी । म कहिले रूखको पात हर्ेर्थेँ, कहिले मान्छेको फूलहरू । विभिन्न रङ्गको मान्छेको फूलले फूलबारी सुन्दर देखिएको थियो । म मान्छेको फूल हेरेर मुग्ध भएको थिएँ । मान्छेहरूको टाउको मेरो कल्पनामा विभिन्न आकारका बन्थे र भत्किन्थे । त्यस्तै रूखका पातहरूले विभिन्न आकार बनाउँथे र बिगार्थे ।

त्यसपछि क्रमशः कृषि नाच, फलफूल नाच नाचियो । कृषि नाचमा अन्नबाली लगाउँदादेखि अन्नबाली थन्काउँदासम्मको क्रियाकलाप झल्काउने नाच हुन्थ्यो भने फलफूल नाचमा एकबाली फल लागेर अर्कोबाली फल लाग्दासम्मको फल चक्र झल्काउने नाच हुन्थ्यो । उत्सवमा प्रायः सबै नाचे । त्यो उत्सवमा बालाको नृत्यले सबैलाई मोहित बनायो । उनको नृत्य हेरेर मोहित नहुने मान्छे विरलै थिए । भन्थे, “कति राम्रो नाच ।” हुन पनि उनको नृत्यमा पशु र पन्छीहरू सबै नाचेका हुन्थे । रूखको हाँगा र पात नाचेको हुन्थ्यो । फूलहरू नाचेका हुन्थे । ती बाला तुङ्नाको तालमा मुग्ध भएर नाचिरहँदा सबै मान्छे शान्त भएर हेरिरहेका हुन्थे । उनको खुट्टाको चाल, हातको चाल निकै आकर्ष हुन्थ्यो ।
यायावर समूहहरूमा थुप्रै बालाहरू थिए । ती बालाहरू विशेष गरी यस्ता उत्सवमा नाचगानको लागि राखिएका हुन्थे र बालाहरूले गरेको नाचगान प्रशंसनीय हुने गथ्र्यो । नाचगान गर्ने बालाहरूको यायावर समूहमा ठूलो सम्मान हुने गथ्र्यो । ती सबै बालाहरूले राम्राराम्रा नाच नाचे । ती बालाहरूमा मलाई आफूसित कन्दमूल खोज्ने बाला श्रद्धेय लाग्थ्यो । किन हो कुन्नी मलाई उनका गतिविधि मन पर्न थालेको थियो ।

नाच सकिएपछि सधैँको वर्षझैँ यस वर्षपनि बडा तुत्तुले प्रवचन गर्यो । देशमा अशान्ति भए पनि सबैलाई शुभलाभ हुने कुरा बतायो । वर्षोनी आदिम रूखमा पूजा गर्न आउने मान्छेको सङ्ख्या बढेकोमा खुशी व्यक्त गर्यो र उपस्थित आदिवासी, गैरआदिवासी सबैलाई नयाँ वर्षो हार्दिक मङ्गलमय शुभकामना दियो । उसले शुभकामना दिएपछि त्यहाँ उपस्थित भएका मान्छेहरूले एक अर्कालाई शुभकामना दिन थाले । मैले पनि भेटेका मान्छेहरूलाई खुशीसाथ शुभकामना दिएँ । उनीहरूले पनि मलाई दिए । एकछिन वातावरण शुभमय भयो । शुभकामनाको आदानप्रदान सकेपछि बडा तुत्तुले भने, “हामी आदिवासीहरूको संस्कार राम्रो हुँदाहुँदै पनि बढी जाँडरक्सी र माछामासु खाएर बिग्रिएका छौ । जाँडरक्सी, माछामासु र सर्ुर्तीबिँडीले हामी बिग्रिएका मात्र छैनौँ, हाम्रो आयु छोटिन्दै गएको छ । हामी कालगतिले भनेर दोष लगाउँछौँ, तर जाँडरक्सी, माछामासु र सर्ुर्तीबिँडीको बढी अमल नै हाम्रो काल बनिरहेको छ । एकातिर यी अमल कालको कारण भैरहेको छ अर्कोतिर र्सवनाशको । जहान बच्चाहरू भोकभोकै हुँदा पनि हामी जाँडरक्सी खान छोड्दैनौँ । यसले घरमा अशान्ति मच्चाउँछ, परिवारमा अशान्ति मच्चाउँछ । हामीमा अर्को कमजोरी तासजुवाको पनि छ । हामी परापर्ूवकालदेखि खाँदै, खेल्दै आएका आदिवासी जातिहरू हाँै । माछामासु, जाँडरक्सी खानु हुँदैन, तासजुवा खेल्नु हुँदैन म भन्दिनँ । खानुपर्छ, पिउनुपर्छ र खेल्नुपर्छ । तर आफ्नो आम्दानी र शरीरले थाम्नेसम्म खाँदा राम्रो हुन्छ । जाँडरक्सी खाएर बदमासी गर्नुहुँदैन । आदिवासीहरूमा पहिलाभन्दा धेरै सुधार आएको छ । यो खुशीको कुरा हो । दिनदिनै सुध्रिने क्रम छ । हामीले आफूले आफूलाई चिन्न थालेका छौं । भाषा, लिपि, धर्म, संस्कृति, इतिहास पढ्न थालेका छौं, लेख्न थालेका छौं । यो राम्रो लक्षण हो । मान्छेले जसले आफूलाई चिन्दैन, उसले कसैलाई पनि चिन्दैन । यो कुरा हामीले ख्याल गर्नुपर्छ ।” उसको प्रवचन, उपदेश सैद्धान्तिक, दार्शनिकभन्दा व्यवहारिक थियो जीवनमा नभइ नहुने । प्रवचन समाप्त भएपछि एक महिनाअगाडि जन्मेका नानीहरूको घरका बुज्रुकबाट नाम राख्ने काम भयो । नाम राख्ने बेलामा आदिवासी बाला, बडा तुत्तु, अन्य तुत्तुहरूको उपस्थिति थियो । भरखरै नाम राखेका नानीहरूका आमाबाबुले नयाँ नामबाट बोलाउँदै नानीहरू त्यहाँबाट लगेर जान्थे । मैले एकछेउमा उभेर हेरिरहेँ । रमाइलो लाग्यो ।

मैदानको कुनातिर थियो पाकशाला । पाकशालामा केही मान्छेहरू भोजन तयार गर्दै थिए । भोजनमा आदिवासी खानेकुराको परिकार बन्दैथ्यो । प्रसादको रूपमा ल्याएको पशुपन्छीहरूको मासुको विभिन्न परिकार बन्दैथ्यो । उनीहरूले तरुलका विभिन्न परिकार बनाए । तरुलको फल र जराको विभिन्न परिकार बन्यो । पोलेको परिकार बन्यो, उसिनेको परिकार बन्यो, पकाएको परिकार बन्यो, पिउने झोलको परिकार बन्यो । काँचो खान मिल्ने काँचो तयार भयो ।

आदिवासीहरूले कृषि युगभन्दा अगाडि र आगोको आविष्कार गर्न अगाडि पकाएर खान जानेका थिएनन्, काँचो खान्थे । त्यसैको विधि थियो तरुल उत्सव । यस उत्सवमा उनीहरू तरुलको परिकार बनाएर उत्सव मनाउने गर्दथे । तरुलहरूमा विशेष गरी घर तरुलभन्दा वन तरुल नै प्रयोग हुन्थ्यो । यहाँका आदिवासी जातिहरूले मनाउने यस दिन विभिन्न प्रकारका आदिवासी परिकार किनीमा, सार्ग्याङ्मा, याङ्बेन्, फाँदोको अचार, जाँडको विभिन्न परिकार, फलफूलको रक्सी, सुङगुरको मासुको परिकार, खसी, भेडा, राँगो, कुखुरा, हाँसको मासुको परिकार पकाएर तयार पार्ने गर्दथे । सेल रोटी र फिलिङ्गे अचार जहिले पनि प्रशंसनीय हुँदै आएको थियो । मद्यपान, धुम्रपानमा एक किसिमको नियन्त्रण थियो । लापरवाही थिएन । सबैजसो आदिवासी र गैरआदिवासीहरूले त्यहाँ पाकेको भोजन गर्थे । कोही मान्छेहरू “बाजे बराजूको पालादेखि खाँदै आएको खानेकुरा छोड्नु हुन्न ।” भन्दै थिए भने कोही “जाँडरक्सी, माछामासु धेरै खाने चीज होइन ।” भन्दै थिए । यसपटक यस पर्वमा ओडारवासीको उपस्थित भएन । प्रायः उसको अनिवार्य उपस्थित हुने गर्दथ्यो यो उत्सवमा । केही आदिवासीहरू “यस्तो संस्कार छोड्दै जानुपर्छ ।” भन्ने मत राख्थे । अधिकांश आदिवासीहरू आफ्नो संस्कार, भाषा, लिपि, धर्म छोड्यो भने आफ्नो पहिचान हराउने मत राख्थे । केही आदिवासीहरूलाई भने केही थाहा हुँदैनथ्यो । “पितापुर्खा ले गरी ल्याएको रीतिरिवाज मान्नुपर्छ ।” भन्थे । मैले उनीहरूको कुरा सुनेर मान्छे अतिवादी, रूढिवादी हुनुहुँदैन, बादलजस्तै तरल हुनुपर्छ भन्ने निचोड निकालेँ । मान्छेहरू आफूलाई लागेको मत व्यक्त गर्दै थिए स्वतन्त्र ढङ्गबाट । एकजना बूढो केश फुलेको मान्छे बोलेको सुनेँ । भन्दैथ्यो “आदिवासीहरूमा धेरै सुधार आएछ । पहिलापहिला यस चाडमा फौदारी नभएको दिनै हुँदैनथ्यो । अहिले त सबै ज्ञानगुणका कुरा गर्दारहेछन् । अर्तिबुद्धिका कुरा गर्दारहेछन् ।”
सानोतिनो मतभेद भए पनि “आफ्नो पहिचानलाई छोड्नु हुँदैन ।” भन्ने पक्ष बलियो हुन्थ्यो र यो पक्षलाई सबैले मान्यता दिन्थे ।
यस्ता किसिमको संस्कार, भाषा, लिपि, धर्मको विवाद सहरमै हुँदा पनि सुनेको थिएँ । मराउपराउ, विवाहको संस्कारमा ठूला-ठूला विवाद भएको पनि देखेको थिएँ । पुरानो र नयाँ चलनको कुरा गरेर झगडा परेको देखेको थिएँ । मांसाहारी र शाकाहारीको विवाद देखेको थिएँ, हिंसा र अहिंसाको विवाद देखेको थिएँ । सहरका मान्छेहरूमा यायावर आदिवासीहरू जस्तो भाषा, लिपि, धर्म, संस्कृत्रि्रति प्रतिबद्ध देखिनँ । उनीहरूले आफूलाई आदिवासी भनेको, राजनीति गरेको सुनेको थिएँ । तर तरुललाई आदर गरेर “आदिवासी परिकार” भनी सम्बोधन गरेको सुनेको थिइनँ । उनीहरूले आदिवासी परिकार, भाषा, लिपि, धर्म सबै बिर्सिन्दै गएका थिए । तर आदिवासी राजनीति भने बिर्से थिएनन् । यो कुराको भेद सहरमा बसेर देखेको थिइनँ । सहरमा बसिन्जेल उनीहरूको महत्त्व पनि बुझेको थिइनँ । उनीहरूको भाषा, लिपि, धर्मसंस्कृति थाहा नपाइन्जेल यो कुनै वनफूलको नाम हो कि जस्तो लागेकोथ्यो । तर जब आदिवासीबारे बुझेँ, उनीहरूको धर्म, संस्कृति, भाषा, लिपि बुझेँ, तब मलाई उनीहरू प्रकृतिको फूलझैँ लाग्यो । यी जातिहरूप्रति ममता, सहानुभूति जागेर आयो एकैसाथ । बाबाले गरिरहेको आदिवासीको कुरा पनि मलाई अहिले बेठीक लागेन । यायावरको जस्तो आत्मीय बन्न नसक्नुलाई भने सहरियाहरूको कमजोरी ठानेँ ।

समूहमा एकजना तुत्तु हुँदोरहेछ । त्यस गाउँमा एकापट्टकिो हाँगामाथिदेखि तलसम्म सोरिएर झरेको सिमलको रूखजस्तो बडेमाको एउटा आदिम रूख छ । त्यो रूखको छेउमा अविरल बगिरहने सावाला नदी । यही नदीको किनारमा आदिवासीहरूले सभ्यताको सुरुवात भएको मान्दारहेछन् । आदिम रूख आदिवासीहरूको शासन कालमा गमलामा रोपेको बिरुवा रहेछ । यी जातिहरूसित आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कृति, भेषभूषा र खानेकुरा छ । उनीहरूको भाषा, लिपि निकै फष्टाएको छ । उनीहरूको भाषा, लिपि, धर्मसंस्कृति सबै अहिले पनि उस्ताको उस्तै छ । उनीहरूले विभिन्न उत्सव मान्ने गर्छन् । प्रत्येक उत्सव आदिम रूखमा आएर मान्छन् । ती उत्सवमा खानेकुराको विभिन्न परिकार र नाचगान प्रमुख हुने गर्छ । आदिवासी बालाहरूले वनजङ्गलमा गएर पशुपन्छीका नृत्य सङ्गालेर ल्याउने गर्छन् । ती सङ्कलित नृत्य उत्सवमा प्रदर्शन गर्दछन् । एकजना बाला पन्छी नृत्यमा पारङ्गत छिन् । एकपटक पन्छीले नाचेको देखेपछि उनलाई त्यो नृत्य याद हुने गर्दछ । उनको शालीन व्यक्तित्वले मलाई बढी प्रभाव पारेको छ । यी यायावर आदिवासीहरू तरुल पाकेको समयमा नयाँ वर्षमनाउने गर्छन् । बाह्र वर्षा एकपटक धुमधामसित नयाँ वर्षमनाउँदारहेछन् । बाह्र वर्षो नयाँ वर्षमनाउन आदिवासी, गैरआदिवासी, गाउँले, सहरका मान्छे, नाता-कुटुम्ब, इष्टमित्र, छोरीचेली, परदेशी सबै सुम्दो गाउँमा भेला हुन्छन् । यस उत्सवमा विभिन्न जातिका आदिवासीहरूले आ-आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गर्ने गर्छन् । उनीहरूको झाँकी प्रस्तुति कुनै महाराजाको जन्मजयन्तीभन्दा भव्य हुन्छ । यी आदिवासीहरूले राज्य गुमाए पनि भाषा, लिपि र धर्मसंस्कृतिलाई अहिलेसम्म पनि जगेर्ना गरिरहेका छन् । यसैमा उनीहरू गर्व मान्छन् । यसैले उनीहरूलाई नयाँ जीवन दिएको ठान्छन् । आदिम रूखलाई उनीहरू इश्वर मान्ने गर्छन् र हरेक सुखदुःखमा पूजा गर्छन् । त्यो रूख मलाई बडो शालीन, भद्र र गम्भीर लाग्यो । उनीहरू त्यो रूखको जरा गाउँभन्दा परपरसम्म फैलिएको मान्छन् र त्यो रूखले समस्या समाधान गर्न मद्दत गर्छ भन्ने उनीहरूको अन्धविश्वास छ । मैले यायावर जीवनमा अनेकौँ कुरा देखें । आदिवासीको भत्केको दरबार देखें, ओडारमा बसेर भाषा, लिपिमा लागिपरेको मान्छे देखें , सुनचाँदी पहराबाट पग्लिन्दै गरेको देखें । ती दिनहरूमा दिनै मात्र देखें रात देखिनँ । अनि विद्वान्हरूको एक समूह जङ्गलमा बसेर विश्व शान्तिको महायज्ञ गरिरहेको देखें । ती मान्छेहरूसित मैले मेरो समस्याको बारेमा कुरा गरें । उनीहरूले मेरो समस्यालाई शास्त्रमा खोजे, भेट्टाएनन् । उनीहरूले मेरो समस्यालाई सम्बोधन नै गर्न सकेनन् । उनीहरूको शास्त्रमा सबै विषय लेखिएको रहेछ तर छायाँको बारेमा लेखिएको रहेनछ । मेरो समस्याको समाधान मैले आदिम रूखमा भेटें । मेरो शरीरबाट निस्केको छायाँ-छायाँ नभएर मान्छेको भय रहेछ । मान्छेको प्रत्येक गतिविधि यसैमा आधारित हुँदोरहेछ । मैले घर छोडेर जानुको कारण पनि भय रहेछ । मान्छेले गर्ने प्रत्येक गतिविधि भयद्वारा सञ्चालित हुँदोरहेछ । युद्ध, हिंसा, आतङ्क, पलायन, चिन्ता, हत्या, त्रास, अहम्, र्स्वर्ग, नरक, म र मेरोसँग सम्बन्धित देश, जाति, सम्पत्ति, दुःख, सुख, नातासम्बन्ध आदिइत्यादि सबै प्रत्यक्ष वा अप्रत्यक्ष भयमा आधारित भएको हुँदोरहेछन् । म साह्रै बिरामी भएर निको भएपछि मेरो आँखामा एउटा छायाँ घुमिरहेको थियो । त्यो छायाँ आँखामा देखिएको प्रकट रहेछ । वास्तवमा म भयले पीडित भएको रहेछु । प्रत्येक मान्छे भयले पिरोलिएको हुँदोरहेछ । भयको कारणले मान्छे जताततै भौँतारिन्छ र छटपटिन्छ । तर भय भनेर स्पष्ट पार्न सकिएको हुँदैन रहेछ । भय मान्छेमा हुने एक किसिमको मानसिक कमजोरी रहेछ । मान्छेमा मानसिक कमजोरी देखापरेपछि त्यसमा विकृति देखापर्दोरहेछ । भय ठूलो हुनु र सानो हुनु चेतना र सहनशीलतामा निर्भर गर्दोरहेछ । कसैलाई त्यही घटना ठूलो लाग्छ, कसैलाई सानो । कुनै घटना घटनेसम्मको दुरीमा मान्छेलाई जहिले पनि एक किसिमको भय हुँदोरहेछ । एउटा घटना घटिसकेपछि अर्को घटना उभिरहेको हुँदोरहेछ अर्कोतिर । जीवन भनेको नै एक अर्थमा घटनाहरूको शृङ्खला रहेछ । घटनाहरूबाट नै प्रकटहरू जन्मिँदारहेछन् । मैले यायावर जीवनमा आदिम रूखबाट पाएको भयको ज्ञानलाई उपलब्धिमुलक ठानेको छु । म बिस्तारै लेख, साहित्य, पुस्तक लेखेर यसको व्याख्या गर्दै जानेछु । यसले मान्छेलाई सहज बन्ने वातावरण तयार गर्नमा मद्दत गर्नेछ । भयबाट मान्छे बाहिर निस्केपछि निश्चितै जीवन सहज हुनेछ । भयबाट निस्किने आ-आफ्नै बाटा हुन्छन् । भयको अवस्था र प्रकार हेरेर मान्छेले आफ्नो क्षमताको सदुपयोग गर्न सक्नेछन् । प्रधान कुरा कुन भय हो चिन्नुपर्छ ।”

उपस्थित भएका अतिथिहरू गम्भीर भएर मेरो कुरा सुनिरहेका थिए । कतिले मन पराएर टाउको हल्लाइरहेका थिए । बीच-बीचमा प्रश्नउत्तर हुन्थ्यो । प्रश्नमाथि उपप्रश्न पनि हुन्थ्यो । अतिथिहरूले जिज्ञासा राखेको मलाई पनि मन परिरहेको थियो । म झन् उत्साहित भैरहेको थिएँ । आफ्ना कुरा भन्न मलाई आनन्द लागिरहेको थियो । मेरो कुरा सुनेर आमा-बाबा प्रसन्न हुनुभएको मैले देखिरहेको थिएँ ।
पर कुनामा बसेका दुइजना अधबैँसे आफन्तहरू साउती गर्दै थिए र एउटाले अर्कोलाई भन्दै थियो, “उसलाई वनझाँक्रीले लगेको हो थाहा छ तिमीलाई ! अब ऊ धामी निस्किन्छ ।”

(स्रोत : अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *