कथा : म हत्यारा हैन

~सुबिसुधा आचार्य~SubiSudha Acharya

“म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।”
“यी हेर्नुस् के मेरा हातहरू दिन दहाडै कसैको गला रेट्ने जस्तो छ त ? नियालेर हेर्नुस् पैताला, हजारौं सोझा निमुखा गरिबको लासमाथि कुल्चेको जस्तो देखिन्छ र ? छाम्नुस्, विश्वास नभए मेरो ढुकढुकी, के यसमा हत्याराको धड्कन धड्किन्छ कहीँ कतै, के तपाईंले पाउनु हुन्छ ? अँहँ भेटिन्न र पाउनु हुन्न पनि । किनकि म भित्र हत्याराको निसानी छाप सङ्केत केही छैन । बुझ्नु भो तपाईहरूले म हत्यारा हुँदै हैन ।”

झ्यालखाना भित्र, झ्यालको बारमा भुन्डिएर ऊ त्यसै भनेर चिच्याइरहेछ, एकनास पुस माघको चीसोले नीला भएका हातहरू थर्थर कमाउँदै डन्डीमा यसरी समाति रहेछ, मानौं त्यो डन्डी फुत्किन सक्छ, भाग्न सक्छ ऊ बाट टाढा, धेरै टाढा ।
चिप्रा लागेका आँखा खर्लप्प गडेका छन् र राता पनि गोलभेडाझैँ । फुलेको दारी र जुँगाले मुहार ढपक्क छोप्ला जस्तो देखिन्छ, जिङ्रिङ्ग परेका कपालले निधार र कान आफ्नै बनाएको छ छपक्कै छोपेर, खद्दरको कट्टुमा उनिएका छ तिघ्रा एउटा बुख्याँचा जस्तो बनी ।
ऊ झ्यालखाना बाहिर छ या झ्यालखाना भित्र, त्यसमा सजग हुन समेत उसमा चेतना, ज्ञान या शक्ति छैन । ऊ कहिले खान्छ त कहिले दिएको भात लात्ताले हानेर भुईभरि पोखिदिन्छ । कहिलेकाँही जब ऊ जस्तै अपराधी साथीहरू बोल्छन् झगडा गर्छन्, ऊ चुप लाग्न आग्रह गर्छ ।
“चुप ! यहाँ कसैले हल्ला गर्न मिल्दैन, कराउन मिल्दैन र मिल्दैन चिच्याउन । के यो तिम्रो बाबुले बनाएको बंगला हो कि ससुरालीले दिएको दाइजो या मामाको बिर्ता ? यहाँ तिमीहरू जस्ता पापी, अपराधी, हत्यारा, देशद्रोही, बलात्कारी, भ्रष्टाचारी र म जस्तै हत्याराको बिल्ला भिरेका हजारौं आएका छन् । आउँने छन् यो क्रम जारी रहने छ, जब सम्म देशको प्रशासन गतिलो हुँदैन । त्यसैले यो एउटा साझा घरमा किन हल्ला गर्छौ हँ ? चुप ! यहाँ हल्ला पटक्कै चल्दैन ।”
भान्छे, कुचे, ठानेदार, हवल्दार जो उसको कोठाको बाटो हुँदै हिंडे पनि यसै भन्छ साउती मारेर–
“साहेव ! म हत्यारा हैन् तपाईलाई मेरो कसम, अँ ……….. केही सम्झे झैँ मेरो पागल छोरीको कसम, हैन हैन श्रीमतीको कसम र अन्तिम कसम मेरो बेपत्ता भएको छोराको । धरो धर्म सायब आज सम्म यी मेरा हातहरूले (दुवै हात देखाउँदै) जुत्ता, ब्रस र पालिस खेलाउन बाहेक खुकुरी छोएको पनि छैन ।”
“राम ! राम !! मलाई साच्चै भन्ने हो भने यो काटमार गर्नै आउन्न । साच्चै भनूँ (यताउता पल्याकपुलुक हेरेर) मैले नजिकबाट खुकुरी, बन्दुक, मेसिनगन देखेकै छैन । अनि फेरि तपार्ईंंहरू भन्नुहुन्छ हरिहरलार्ई तैंले मारिस् । यो कसरी सम्भव हुनसक्छ, उसको छातीमा पाँच गोली लागेको छ भनेको हैन जब कि मलार्ई पेस्तोल चलाउनै आउन्न ।”
ठाकुरे हनुमानढोका जेलमा परेको आज दोस्रो दिन, ठाकुरे सुन्धाराको आकासे पुलको छिंडी नजिकै बर्षौदेखि जुत्ता पालिस गरेर बस्थ्यो, गए छाडी अस्ति राति पुतलीसडकको एकता मेनपावरको मालिक हरिहर चापागाईंको हत्याको आरोपमा समातिएको थियो, ऊ ।
सुन्धारा चोकको लागि ठाकुरे व्यतीत समयको एक झिल्का झैँ भैसक्यो होला । त्यस्तै कल्पनामा आउने एक आकृति भैसक्यो होला । खालि उसको श्रीमतीको हारेका श्वास–प्रश्वासमा भने स्मृति मात्रै नभएर सजीव प्राण बनी सुस्केरा हालिरहेको होला । जो जति सुन्धाराको बाटो भएर हिड्थे उनीहरूले उसको अनुहार सम्झने कोशिस गर्नसम्म छाडीसके होलान् । कारण आज त्यहाँ अर्को केटाले जुत्ता टल्काउँदैछ । सबै मानिसलार्ई मान्छेसँग के सवाल के चासो जुत्ता टल्के भै गयो । प्रत्येक व्यक्तिलाई कामसँग मात्र सरोकार छ न कि मान्छेसँग ।
मानिस स्वभावैले स्वार्थी प्राणी मै खाऊँ मै लाऊँ सुख सयल या मोज मै गरूँ, आफू तल रहेर अरूलार्ई उठाउने भेटिन्न मान्छे । बिना स्वार्थ कसैले यहाँ केही गर्दैनन् । यतिसम्म कि बिना स्वार्थ बाबु आमाले सन्तान पनि जन्माउन्नन् । यही स्वार्थी परिवेशमा ज्याला मजदुरी गरेर पेट पाल्ने ठाकुरे आज हनुमानढोकामा न्यायको भिक माग्दैछ अञ्जुली पसारेर, के ठाकुरे हत्यारा हैन ?
देशभरी हत्या, हिंसा, लुटपाट, बलात्कारको ज्वाला ह्वार्र ह्वार्र दन्केको बेला, गा.वि.स. सचिव, अध्यक्ष, शिक्षक, पत्रकार, व्यापारी, सांसद छानी छानी हत्या भैरहेछ । त्यसैको भिडमा अर्को हत्या थपियो मेनपावर कम्पनी मालिकको । के ठाकुरेले हरिहरको हत्या गरेको हैन ? हैन भने रातको समय हरिहरको कम्पाउन्ड भित्र हातमा चुपी लिएर ऊ के गर्दै थियो ? फेरि हरिहरको मृत्यु चुपीले रेटेर हैन गोली लागेर भएको हो । घटनाको समय घटनास्थलमा ठाकुरे बाहेक अरू पनि त थिएनन् । कुरा अपत्यारिलो, शंकास्पद र अचम्म लाग्दो छ, घटना जसको हातबाट जुन पक्षले गराए पनि प्रहरीको हिरासतमा छ ठाकुरे ।
कालो मुठा परेको जुघा हातले बटार्दै डि.एस.पि.भन्छ– “रामे ।”
“हजुर साब ।”
“ठाकुरेलार्ई केरकार शाखामा लिएर आइज, साला ! हत्या गरेको पटक्कै स्विकार्दैन । आज त्यसलार्ई बाबुको बिहे नदेखाइ भएन ।”
“हस् साहेव ।,” बुट बजारेर तनक्क तन्कदै जान्छ रामे ठाकुरेलार्ई लिन ।
अझै पनि ठाकुरे त्यसै भनेर बबराइरहेछ –“सायप म हत्यारा हैन मैले कसैलाई मार्न सक्दिन बिन्ती छ मेरो विश्वास गर्नुस् ।”
“चुप लाग ! अहिले साहेबसँग भन्नु, जे भन्नु छ पाखण्डी, पागलको अभिनय गर्छ ।” हातको डन्डी बारमा बजार्दै ठाकुरेलार्ई बाहिर निस्कन आग्रह गर्छ रामेले ।
रूझेको बिरालो झैँ लुसुक्क थर्थर काम्दै ठाकुरे बाहिर निस्किन्छ, उसका पाइला मरेको बिरालो काखी च्यापेर नागार्जुनको उकालो लागेको ज्यापूको झैँ लोसो छ ।
“ल ! हिंड मसँग साबले बोलाउनु भएको छ ।”
अघिअघि प्रहरी जवान रामे पछिपछि ठाकुरे केरकार शाखामा डि.एस.पि. भएको ठाउँमा पुग्छन् । ठाकुरे उसै निलो कालो बन्दै हात जोडेर ठिङ्ग उभिन्छ डि.एस.पि.को सामु ।
“रामे ।”
“एस सर ।”
“जा एक बाल्टिन पानी लेरा यसलार्ई ठीक नपारी भएन ।”
“हस् साव ।” फेरि तनक्क तन्केर अर्को कोठामा गयो ऊ ।
कोठाको एक कुनामा दुवै हात जोडेर लगलग काम्दै टुसुक्क बस्छ ठाकुरे । भरि पानी भएको गाग्रो बिंडमाथि बसाएझैँ भुइँको सहारामा, मोटे भुँडीवाल, जुँगाको मुठो ओठ माथि हातले तह लगाउँदै सिटबाट जुरूक्क उठ्छ डि.एस.पि. र टिठ मानेर हेर्छ ठाकुरेमाथि । मरन्च्याँसे रूझेको बिरालो जस्तो उसले मेनपावर मालिकको हत्या कसरी गर्‍यो होला ? केटाहरूले साँच्चै गलतै मान्छे पो उठाएर ल्याएछन् कि कसो ? एकपटक दिमाग घुमाउँछ डि.एस.पि.ले जुँगालाई ताउमा लगाउँदै ।
“पानी ल्याएँ सर ।”
रातो प्लास्टिकको बाल्टीभरि टिलबिल टिलबिल पानी राख्दै बोल्छ रामे ।
“ल तँ जा, बाँकी काम म गर्छु ।”
ठूला ठूला आँखा पर्लक्क पल्टाएर रामेतिर हेर्छ डि.एस.पि.ले । हल्का शिर निहुराउँदै तनक्क तन्केर बाहिरिन्छ रामे, उता तत्काल डि.एस.पि.को आँखा ठाकुरे माथि पर्छ, झम्टिने झम्टिने शैलीमा सोध्छ उसले –
“एँ तेरो नाम के हो ?”
“ठाकुरप्रसाद घिमिरे हो हजुर ।” ठाकुरेको चिम्र्रा आँखा अलिकति फटिए र निरीह मुखमण्डल उघारिंदा किच्च दाँत देखिन्छन् ।
“कहाँ बस्छस् तँ ?” झम्टेपछि उसले ठाकुरेलार्ई खल्र्याक खुर्लुक्क नङ्ग्याउँछ वचनका तिखा नङ्ग्राले ।
“असन टोलको एउटा सानो कोठामा हजुर ।” ठाकुरे सिमेन्टीको नयाँ घरमा बोल्दाझैँ तरङ्गित आवाजमा बोल्छ ।
“तेरो परिवारमा को को छन् त ?” चिलले नङ्ग्याइसकेको चल्लालाई ठुगेझैँ ठुङ्छ उसले ठाकुरेलार्ई ।
“को हुनु र हजुर पाँच वर्ष पहिल्यै छोरो बिपत्ता भएको आजसम्म मरे बाँचेको ठेगान छैन छोरी…. ।”
एकछिन घोसे मुन्टो लगाएर लामो सास तान्छ । उसका आँखाबाट रगतको आँसु चुल्ठी परेर वर्सिन्छ गालाको बाटो भएर । ऊ केही बोल्न खोज्छ अनायासै उठेका हिक्काको महाप्रलयले आवाज दबिन्छ छातीभित्र कताकता । उसको अवस्थामा विरह सुसाउँछ नराम्रोसँग ।
“छोरी भनेपछि किन रोकिन्छस् के भो छोरीलाई अनि श्रीमती त होली नि ?” वचनको चुच्चोले ठुँगेपछि एउटा चोक्टो झिक्छ ठाकुरेको र निल्छ क्वाप्प, निलाइसँगै लामो सास तान्छ डि.एस.पि. हातको छडी घुमाउँदै ।
“अहिले कोठामा त्यही एउटी बूढी त छ हजुर, ऊ पनि अलाप विलाप गर्दै होली प्रलयले थिचेर । सारै अभागी रहिछ त्यो बूढी पनि, छोरीको बारेमा कसरी भनौंँ अहिले मानसिक अस्पताल लगनखेलमा छे ।”
“मानसिक अस्पतालमा, यसको मतलव पागल ! कसरी भै तेरी छोरी पागल ?” ऊ ठाकुरेको दुर्ईटा साँप्रामा समातेर बेस्सरी फार्छ वचनैबाट ।
ठाकुरे कालो निलो बन्छ काँचको टुक्रामाथि हिड्न बाध्य गराइएको मानिसझैँ, निर्धो, निर्बल लुलो बन्छ । लामो सुस्केरा ओकल्छ उसका ओठ, अलिकति आँखा उठाएर हेर्छ डि.एस.पि.लार्ई तलबाट माथिसम्म ।
तम्तमाइलो मुहार बनाउँदै सुकेको घाँटी तनक्क तान्दै नभएको थुक घुटुक्क निल्दै असफल प्रयास गर्दै बोल्छ ऊ –
“भो सर खाटा बस्न लागेको घाउमा कोतरेर नुन चुक लगाउँदा डाह र औडाह मात्र हुन्छ मलार्ई त्यसको अलावा केही हुन्न । मेरो पारिवारिक कुटुरो खोतलखातल पार्नु भन्दा विषय तर्फ लाग्दा हुन्थ्यो कि ?” डराई डराई हेर्छ डि.एस.पि.को मुखमा ।
साँपले डस्न फणा उठाएझैँ बाटुला आँखा माथि पर्लक्क पल्टाउँदै चिच्याउँछ डि.एस.पि.–
“चुप ! हाम्रो काम नै त्यही हो बढी जान्ने सुन्ने बन्नु पर्दैन, म जे सोध्छु साँचो बता, घटना घट्दाको दिन राति हरिहरको बार्दलीबाट हातमा चुपी बोकेर किन हाम फाल्दै थिइस् ? लौ भन् पेस्तोल कहाँ लुकाइस्, किन मारिस् उसलार्ई । तँ हत्यारा होस् भने तेरो छोरो आतङ्ककारी हैन र ?”
एकै पटक प्रश्नको झटारो छाडेर बगरेले मासुको भाग लगाएझैँ टुक्रा टुक्रा बनाउँछ उसले ठाकुरेलार्ई । बिचरा ठाकुरे पसिनाले निर्थुक्क हुन्छ भर्खर नुहाएझैँ, ओठहरू थर्थर काप्छन्, गाला निलोतुथोझैँ निलो बन्छ । आँखा उठाएर हेर्ने साहस रहेन अब उसमा ।
“सर…….. ।” फेरि सुकेको घाँटी थुक निल्न तनक्क तान्छ जिब्रो रसाए पो थुक आउँनु, प्याक प्याक सुक्छ ओठमुख ।
“तँ त्यसै भन्दैनस् मलार्ई थाहा छ आजसम्म कस्तो कस्तो घटनाको सूत्र प्रयोग गरेर गल्ती स्वीकार्न बाध्य बनाएको छु तँ जाबो भुसुनोलार्ई यति काफी छ ।” बाल्टिनबाट एक जग पानी झिकेर ह्वात्त छ्याप्छ डि.एस.पि.ले ठाकुरेको मुखमा । निधार र नाकको टुप्पोबाट बगेको पानी जिब्रोले चाटेर ओठ मुख रसिलो बनाउँछ ठाकुरेले ।
“अझै भन्दैनस् तँ किन गएको थिइस् हरिहरको घरमा ?” राता आँखाले सिङ्गै निलौला जस्तो गरी हेर्छ डि.एस.पि.ले ठाकुरेलार्ई ।
“हो सर ! त्यो दिन म त्यहाँ त गएको थिएँ मेरो हातमा चुपी पनि थियो, तर…….. तर सर विश्वास गर्नुस् उसलार्ई मैले मारेको हैन् कसम सर ।” उसले आफ्नो थर्थर कापेको हातले रूद्रघण्टी समाउँदै कसम खान्छ ।
डि.एस.पि. हातको लौरोलार्ई हावामा उडाउँदै एकछिन विचार मग्न देखिन्छ, अब यसलार्ई तर्साएर हैन फकाएर कुरा खोतल्दै चुरो पत्ता लगाउनुपर्‍यो । मनमा जुक्ति फुरेपछि टाउको हल्लाउँदै कुर्सीबाट उठ्छ ऊ, ठाकुरे भने अब पिट्छ कि भनेर सिमेन्टको भित्तामा लपक्क टाँसिन्छ ।
“हेर ठाकुर ! यथार्थ कुरा नभनेर तँ किन आफ्नो ज्यानलाई सजाय दिन्छस् बरू सत्य कुरा भन् म तँलाई जेल मुक्त गराइदिन पनि सक्छु । तँ जस्तो असल भद्र मान्छेले कुरा चपाएको पटक्कै सुहाउन्न क्या । ल भन त तैले हरिहरलार्ई किन र कसरी मारिस् । मलार्ई मात्र सुटुक्क भन् न । म अरूलार्ई तँ निर्दोष छस् भनी साबित गराइदिन्छु क्या ।” डि.एस.पि.ले ठाकुरेको मुखैमा कान लगेर थाप्छ उभिउभिकन ।
“हो सर ! म हरिहरलार्ई मार्नैको लागि उसको घरमा गएको थिएँ दुर्ईहजार बैसठ्ठीसाल असार पन्ध्र गते राति । पानी घनघोर दर्किरहेको थियो, जसरी आकाशबाट परेको पानीको थोपा धर्तीमा बज्रिदा फोका उठ्छ मेरो मनमा त्यसरी नै बिरह वेदना, पीडा र जलनको फोका बग्रेल्ती उठ्न थाल्यो जति दबाए पनि जति रोके पनि मनलाई वशमा पटक्कै राख्न सकिंन । कहिले बन्दुकको गोली जस्तो तातो भएर पड्कन खोज्थ्यो मन भने कहिले तरबारको धारझैँ धारिलो, चम्किलो आफैमाथि जाइलाग्न खोज्थ्यो ।
घुम्ने कुर्सीमा फनफनी घुमेर खितिति हाँसेको हरिहरको चेहेराले साँप बनेर डस्यो सोचाइमा, जहर अङ्ग अङ्ग फैलिएर म बेहोशझैँ हुन थालेँ । मेरो रौँ रौँमा उसैको कप्टी हाँसो नगरा बनेर गुन्जिरह्यो आँखाको रेटिनामा त्यही चुस्स दारी पालेको फक्लेटे गहुँको रोटी उक्सेको अनुहार लेप लागेझैँ टाँगियो । म जति पटक आँखा बन्द गर्ने र खोल्ने काम गर्थेँ परेलीमा टेकेर आँखी भौँमा झुन्डिएर जिस्काइरहन्थ्यो, ऊ मलार्ई ।
बूढीले भात पस्केर दिएकी थिई थालभरि तर मैले त्यहाँ भात हैन पापीले चुरोट तानेर फुङ्ग धुवाँ उडाएको देखेँ । आफ्ना ज्ञानेन्द्रियहरूलार्ई जति जति वशमा राख्न खोज्थे उति तातो भुङ्गोमा खलि खान हाम फालेको डाङ्ग्रेझैँ हुन्थ्यो मन । बसेको चकटीमा पटक पटक बुरूक्क बुरूक्क उफ्रन थालेँ । बूढीले समातेर ओच्छ्यानमा लगी पछारिदिएकी पनि हो तर खोलाबाट झिकेको माछा कहाँ नछट्पटाइरहन्छ र, सास छउन्जेल ।
हो सर ! मनमा ज्वाला तीव्र बढ्दै गएपछि मलार्ई हरिहरको तातो रगत तनतन पिउने प्यास अति लाग्यो कसोकसो खाटमुनि चुपी भेटेँ त्यही लिएर लागेँ म पापीको घरतिर ।
वेदनाले, रीसले यति सल्किसकेको थिएँ कि घरबाट उसको कम्पाउन्डभित्र छिरेको होशै रहेन । अर्धचेतनशील अवस्थामै पर्खालबाट झ्याल हुँदै म हरिहरको कोठामा उक्लेँ । सोचेको थिएँ एकै पटक नभै पटक पटक उसको गला रेट्ने छु ऊ ऐयाऐया, आत्था भनी छटपटाउने छ म तमासा हेर्छु तर जब झ्यालबाट कोठामा छिरेँ त्यहाँको अवस्था अर्कै थियो ।”
उत्तेजित भएर मुहानबाट पानीको मूल फुटेझै बहकिएको ठाकुरे ओइलाएको रायो झैँ लत्र्याक लुत्रुक भयो, उसको धडकन नै बन्द भएको हो कि जस्तो भान हुन्थ्यो सरसर्ती हेर्दा । सर्पले भ्यागुतो निले जस्तो गरी रूद्रघण्टी हल्लाएर एक घुड्को थुक निल्छ । कसोकसो उसको हात सर्टको टाँक खोल्न र लगाउनमै तल्लिन देखिन्छ ।
“तँ हरिहरको कोठामा छिर्दा त्यहाँको अवस्था के थियो ?” ठूला ठूला आँखा ठाकुरेतिर पर्लक्क पल्टाउँदै टुक्राइसकेको उसलार्ई खड्कुलामा उसिन्न थाल्छ डि.एस.पि.ले ।
“खै कसरी भनौँ हरिहर गलैंचामा घोप्टो परेर ढलेको थियो, उनको कन्चटबाट रगत बगेर मुहार लपक्कै भिजेको थियो । उक्त दृश्य देखेर म अत्तालिएँ । गल्र्याम्म गरेको आवाज सुनेँ । पश्चिम पट्टिको झ्यालनेर गइहेर्दा पर्खालबाट दुई जना कालो पोसाकका मान्छे हाम फालेर भागे । खम्बाको मधुरो उज्यालोमा मैले अनुहार पैल्याउने कोसिस गरेँ तर तिनीहरू नकावधारी जस्ता मुखमा पनि कालै कपडा बाधेका थिए ।
यही हो सर मैले देखेको, म अति हतास भएँ चिच्याउन पनि सकिन भाग्ने हिम्मत पनि आएन । हरिहरकी श्रीमती हातमा दूधको गिलास लिएर कोठामा छिर्दा म कोठामा फनफनी रिगिंरहेको थिएँ । बल्ल भाग्ने होश आयो र झ्यालबाट फालहालेँ तर गेटभित्रै छोराले च्याप्प समात्यो र ल्याए तपार्ईंंका मान्छेहरूले यहाँ ।”
“ए कुरा त्यसो रहेछ, साँची ठाकुरे तँ किन मार्न चाहन्थिस् हरिहरलार्ई तिमीहरू बीचमा के दुश्मनी थियो त्यस्तो, जसको कारण त मार्न तम्सिस् ?” उसिनेर पाकी सकेको ठाकुरेलार्ई चपाउँदै सोध्छ डि.एस.पि. ।
लामो श्वास तान्यो ठाकुरेले, शिरको टोपी फुकालेर मुखमा हम्कियो, दाहिने हात टुपीमा लगेर लामो टुपी सुमसुम्यायो, उसको मुहार पानी नपाएर ओइलाएको झारझैँ देखिन्थ्यो हेर्दा, केही भन्न ओठ फट्यायो तर आवाज पटक्कै फुटेन, आँखाबाट बरर्र आँसु झा¥यो डि.एस.पि.ले नदेखोस् भन्दै भित्तापट्टि फर्केर टोपीले आँसु फुछ्यो केही बेर कोठामा सन्नाटा छायो ।
आठ दश मिनेटपछि खोल्छ मुख ठाकुरे “मेरो घर नुवाकोटको कुमरी गा.वि.स.मा हो सर । म प्रा.वि. शिक्षक थिएँ । एउटा छोरा, एउटी छोरी सानो सुखी परिवार थियो, मेरो । छोरा दश कक्षामा र छोरी सातमा पढ्दै थिए । उनन्साठी साल असोज महिना उनन्तीस गते जनमुक्ति सेनाहरू हाम्रो घरमा आए । समाज परिवर्तन र चेतनाको कुरा उठाउँदै गाउँका युवाहरू जम्मा बनाए, साँझ पल्लो घरमा बैठक राखे । मेरो छोरा पनि त्यही कार्यक्रम हेर्न गयो । छोरीलाई निमोनियाको ज्वरो आइरहेको कारण हामी बूढाबूढी उक्त कार्यक्रम हेर्न गएनौँ । रातको दश बजे चारैतिर बन्दुक पड्केको आवाज आयो, झ्याल खोलेर हेर्ने साहस पटक्कै भएन हामीमा । छोरालाई खुब सम्झियौँ करिव एक घण्टा पछि बन्दुकको आवाज आउन छाड्यो र ढोका खोलेर छोरा खोज्न निस्कियौँ घरबाट हातमा राँको बालेर ।”
पुनः ठाकुरेले थप्छ “जुन घरमा कार्यक्रम थियो त्यस घरको त गारोसम्म प्वालै प्वाल चाल्नो जस्तो, जनसेनाको कार्यक्रम हुदैछ भन्ने खवर कसैले आर्मीलार्ई दिएछ तब आर्मी आएर दोहोरो भिडन्त भयो । आर्मी तर्फका घाइते मात्र थिए कसैको ज्यान गएन तर जनसेनाकी एक गर्भवती महिला रक्तमुछेल अवस्थामा मृत भेटियो, अरू भने भागेछन् । त्यही बेलादेखि हाम्रो छोरा लगायत गाउँका पाँचजना युवाहरू बेपत्ता भए, मरेको भनौँ भने लास छैन, बाँचेको छ भनौँ भने कहाँ छ ? के गर्दै छ ? थाहा छैन, हाम्रो परिवारका चारवटा थाममध्ये एउटा ढल्यो घरले कोल्टे फेर्दा पानी चुहिन थाल्यो सधै रूवाबासी ।
जसरी तसरी बाचेकै थियौ छोरा हराएको एक वर्ष बित्न नपाउँदै मलार्ई पनि आतङ्ककारीसँग उठबस गर्छ जासुसी भनेर गाउँबाट सेनाले लखेटिदिए । साठी सालमा छोरी र बूढीलाई काखी च्यापेर सहरमा भित्रिएँ ।
विरानो सहर, अन्जान सहर, स्वार्थी र मतलबीहरूको सहर मलार्ई एक प्रहर रात ओत लाग्न र बिहान बेलुका हातमुख जोर्न धौ धौ प¥यो कामको लागि चारैतिर धाएँ । धेरैलार्ई धनुझैँ झुकेर नमस्कार टक्रयाएँ तर निराशा मात्र हात लाग्यो ।
भौतारिने क्रममा पेट पाल्न सुन्धाराको छेउमा जुत्ता पालिस गरेर दिनको सय दुईसय कमाउने जोहो गरेँ । बूढी र छोरी असनमा तरकारी बेचेर बस्थे । जसोतसो एउटा ढुसी गन्हाउने कोठा लिएर बिहान बेलुका हातमुख जोर्न सजिलो पर्दै आयो ।
एकदिन मेनपावर साहू हरिहरसँग बूढी र छोरीको भेट भएछ । भोलिपल्ट हरिहर हाम्रो कोठामा आयो देख्दा भद्र असल जस्तो देखिने हरिहर हाम्रो मित्र बनेर परिवारमा घुलमिल हुन थाल्यो । कहिले भाडा दिन भनेर त कहिले चामल किन्न पैसा पनि दिन्थ्यो यसै सिलसिलामा उसले हाम्रो परिवारको मन जित्यो ।
हरिहर हामीकहाँ आवतजावत गरेको दुई महिनापछि छोरीलाई विदेश पठाउन उक्साउन थाल्यो, पहिला त हामीले मानेनौँ तर राम्रो कमाइ हुने लोभ देखाएर छोरीको मन एकोहोरियाएछ छोरी जिद्दी गर्न थाली । हामीले जति सम्झाए पनि कानमा बतास लागेन ।
घर बारी बैंकमा राखेर असी हजार ऋण निकालेर एकसठ्ठी साल बैशाख एक्काईस गते कतारमा छोरीलाई उडाइयो । छोरा बेपत्ता भए पनि छोरीले कमाउने आशमा हामी बूढाबूढी आशाको दियो बालेर दिन बिताउन थाल्यौँ । सपना देख्ने आँखाहरू भ्रमित पनि हुन्छन् त्यो हामीले भुलेछौँ । छोरी कतार गएपछि जम्मा दुर्ईपटक सम्पर्कमा आएकी थिई, त्यसपछि अत्तोपत्तो भएन ।
‘कोखीको घाउ’ खोजखवर नहुँदा मन त आत्तिएको नै थियो । हरिहरसँग भेटेर कुरा गर्दा कामको व्यस्तताले सम्पर्क गर्न नभ्याएकी होली भन्थ्यो आफू त सोझो मान्छे होला त नि भनेर पत्याएँ ।
दिनहरू बित्दै महिना बित्दै वर्ष पनि बित्यो । छोरीको खवर आएन, बैसठ्ठी साल वैशाख बाईस गते एयरपोर्टबाट पुलिस मलार्ई खोज्दै आएको थियो म उसँगै एयरपोर्ट गएँ । त्यहाँ मेरी छोरी मूर्छित अवस्थामा रहिछ । काँक्राको चिरा जस्तो शरीर कास झैँ सुकेछ, जिउभरि निलडाम, सुन्तलाको केस्रा जस्ता ओठ कागती निचोरेझैँ, स्याउ जस्ता गाला सुकेको पातझैँ एकपटक त छोरी नै हैन कि जस्तो लाग्यो तर नागरिकताको फोटो कपी र पासपोर्ट देखेपछि विश्वास लाग्यो ।
त्यो पल म आफै अर्ध चेतनामा थिएँ । भए भरका एयरपोर्टका विमान मै माथि खसेझैँ भयो, जसोतसो आफूलार्ई सम्हाल्दै छोरीलाई अस्पताल लगियो । त्यहाँका डाक्टरले धेरै जनाले लगातार बलात्कार गर्दा मानसिक अवस्था खलबलिएको बताए ।
काम लगाइदिने बहानामा हरिहरले मेरो छोरी बेचेको पो रैछ । जहाँ एउटा घरमा घरका काम लगायत एक रातमा आठ नौ जनासँग शारीरिक सम्बन्ध राख्नुपर्दो रहेछ, नमान्दा पिटेका निलडाम शरीरभरि कति हो कति ।
एक महिनापछि त्यस अस्पतालबाट छोरीलाई मानसिक अस्पताल लगनखेल सारियो । छिनछिनमा वर्वराउँछे–
“न छो मलार्ई, नछो नाइ नाइ हुँदैन पापी राक्षस ।” भन्छे छिनमै अचेत हुन्छे ।
छोरा त बेपत्ता थियो नै एउटी भएकी छोरी पनि त्यो हालतमा देख्दा कुन बाबुको मन नकुडी रहला र हो सर छोरीको अवस्था सम्झदा अझैँ मरेको हरिहरलार्ई अझ मार्न मन लाग्छ । पापी, निर्दयी, फूल जस्ती मेरी छोरीको जीवन सखाप बनायो ।
आँसुले लपक्क भिजेको आँखा उठाएर डि.एस.पि. तिर हेर्छ ठाकुरे, चुपचाप मूर्तिझैँ मौन देखिन्छ डि.एस.पिले । ठाकुरे त्यस भन्दा अगाडि बोल्न सकेन । सोध्ने प्रश्नको भण्डार रित्तिएर होला डि.एस.पि. पनि चुप रह्यो ।
रामे कोठाभित्र पस्छ र ठाकुरेलार्ई हिंड्न आग्रह गर्छ ।
ठाकुरेले फेरि पनि हात जोडेर भन्छ –“मैले हत्या गरेको हैन सर मलार्ई विश्वास गर्नुस् । म हत्यारा हैन ।”
ऊ चिच्याइरहन्छ । रामेले घिसार्दै अर्को कोठामा लग्यो ठाकुरेलाई, उता डि.एस.पि. हेरिरह्यो एकनास टोलाएर ।
ठाकुरे चिच्याइरह्यो “म हत्यारा हैन । म हत्यारा हैन ।”
डि.एस.पि. भने चपाएर निलेको ठाकुरेलार्ई दाँतको कुना काप्चामा सिन्काले कोतरिरहन्छ र थुक्छ, पिच्च भुईंमा । निअपराधी ठाकुरेलार्ई यातना दिएकोमा भन्दा बढी प्रफुल्ल थियो आफूले बयान लिन सकेकोमा ।

subisudha9841140180@gmail.com
acharyasubisudha@yahoo.com

(स्रोत : INLS Colorado)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.