कथा : अभिशाप

~सुबिसुधा आचार्य~SubiSudha Acharya

टेकुमा अवस्थित पचली भैरवको मन्दिरमा मेरी संगिनी सुदेश्नाकी दिदी सिर्जनाको विवाहको भब्य तैयारी रै’छ । केराको खम्बा एक-एक बित्तामा काटेर पाँच ठाउँमा राखिएको छ भने त्यसको बीचभागमा पैयूँको स-सानो हाँगा गाडेर साथमा उखुका साना-साना पोथ्रा पनि सँगै बाधिएको छ । पाँचैवटा पैंयूको हाँगालाई मध्यनजर गर्दै बीच भागमा चदुवा टाँगिएको छ भने चदुवामा सेल

कसार र चिउरा राखिएको, त्यसैको ठीक तल चारवटा इट्टा राखेर त्यसमाथि काठका स-साना समिदा होमादीको लागि तयार बनाइएको छ । यसरी सजाइएको विवाहको मण्डपमा सुदेश्नाको बुबा र दाजु यताउता गर्दै हुनुहुन्छ । एकातर्फ यज्ञ-मण्डपको पूर्ण तयारी हुँदैछ भने अर्को पेटिमा ठूलो चुलामा बडे-बडे काठको मुडा बालेर पुलाउ, तरकारी, कुन्नि के-के पाक्दैछ !

म हातमा केही सामान बोकेर बिस्तारै बिरालाको चालमा त्यहाँ पुग्छु, यज्ञमा यताउता गर्दै रहनु भएको सुदेश्नाको बुबाले देख्नुहोला भन्ने डरले मेरो आङ ढक्क फुल्छ र कुखुरा समाउन तम्सेको बिरालाको चालमा म मन्दिरको पूर्वपट्टि रहेको पाटीभित्र छिर्छु । जहाँ सिर्जना दिदीलाई जतिसक्दो राम्रो बनाउने होडबाजी चल्दैछ । म भित्र पस्छु सबै एकहलको मेलो हाँस्दै थिए । मेरो प्रवेशले सबै एकाएक झस्के मानौं म मान्छे होइन, चिडियाखानाको बाघझैं खोर भत्काएर त्यहाँ पुगेको छु । त्यहाँ रहेका सबै मान्छेको सामान्य परिवेश भएपछि सुदेश्ना ठुस्किँदै मलाई भन्छे-“पबित्रा ! तेरो आउने समय यही हो ? झन् हिजो त्यती धेरै सम्झाएको तैले त मलाई कहिल्यै साथी देखिनस् नि हैन ?” सुदेश्नाको सवालको जवाफ दिन नभ्याउँदै सिर्जना दिदी प्रश्नको वाण तेर्साउनु हुन्छ-“ऊ ठूली मान्छे हामी जस्ताको विवाहमा आएर समय के खर्चनु भनेर होला हैन र ?” म नाजवाफ भएर त्यहाँ ठिङ्ग उभिएँ । त्यहाँ उपस्थित सबैले मलाई नै यसरी हेरिरहेका थिए मानौ म मान्छे नभएर एउटा बुख्याँचा हुँ । एकछिनको मौनता पछि एउटीले ब्यङ्यबाण हानी-“पबित्राजी ! हामीलाई त केश मिलाउन खासै आउँदैन, अघिदेखि नै हजुरको चर्चा परिचर्चा यहाँ खुब चलेकै हो त्यसैले स्वागत छ म्याम सा’ब ! केश सज्जाको लागि ।” हुन पनि हो सिर्जना दिदी र सुदेश्नाले महिनौ अगाडि देखि मलाई यो कुरा भन्दै आएका हुन् । म चुपचाप सबैलाई पन्छाउँदै सिर्जना दिदीको पछाडि पुग्छु र आफूले लगेको काँटी झिकेर केश बनाइदिन थाल्छु ।

मेरो आमाको पालामा हो भने दुइटा बच्चा जन्माउन ढिला भइसकेका मस्त तरुनीहरु उपस्थित छन् त्यहाँ, पुङ् न पुच्छरको गफ छाट्छन् अनि अरु हाँसे हासोस् नहाँसे नहाँसोस् आफै एकहलको मेलो हाँस्छन् । मलाई उनीहरुको चर्तिकला पटक्कै मन पर्दैन । “वैंशले मात्तेका मोरीहरु ! कहिले आफ्नो पालो आउला भनेर होला छिल्लिएको’’ मनमनै सोँच्छु मुखले प्याच्च भन्नपनि मन लाग्दैन । मैले भन्दा कम्तीमा पाँच छ वटा भोटा बढी नै फटाएका होलान् । यस अर्थमा पनि मैले उनीहरुलाई आदर त गर्नै पर्छ, त्यसैले केही भन्न पनि मिल्दैन । अरु श्रृङ्गारको मेसो पुगिसकेको रहेछ । मैले कपाल पनि बनाइ सकें, बाफ रे, क्या राम्रोँ सबैले यसै भन्छन् सिर्जना दिदीलाई । कपडा पनि पहिराइ सकेको रहेछ, तर साडी लगाइदिएको मलाई पटक्कै चित्त बुझेन । फेरि फुकालेर साडी लगाइदिन थालेको थिएँ । त्यतीबेला बाहिर कल्याङ-कुलुङ् आवाज आउँछ, सुदेश्नाको कान्छो काकाको छोरा अजीव खुर्रर कुदेर भित्र पस्छ र तोते बोलीमा भन्छ-
“दिज्यू तपाइको दुलाहा आइसक्यो यत्रो माला लाएर ।”
त्यहाँ फेरि हाँसोको भब्य मूल फुट्छ । सिर्जना दिदी जुहारी फूलझैं मन्द मुस्कुराउँदै लजाउँछिन् । उनको आँखा आगोको ज्वालाझैं चम्किलो भएको हुन्छ भने ओठ पाकेको सुन्तलाको केस्रा जस्ता । साँच्चै आज सिर्जना दिदी असाध्यै राम्री भएकी छिन् । हुन पनि दुलही हुँदाको पल नउघ्रिएको रुप कहिले उघ्रियोस्, रमेश दाजुले भन्नु भयो-
“ल ल, भित्र हूल गरेर बस्ने मात्र होइन दुलहीलाई बाहिर यज्ञमा लैजानु पर्‍यो ।”
सिर्जनाकी अर्की साथीले दिदीलाई लिएर जानुभयो । सुदेश्ना र म पनि पछि-पछि लाग्यौं, हाम्रो आँखा एकाएक दुलाहामा गएर ठक्कर लाग्छ । दुलाहा छ्या ! भन्ने खालका पनि थिएनन् र वा भन्ने खालका पनि थिएनन् । सिर्जना दिदीभन्दा भने अली नराम्रो नै हो । हुन त मान्छेको रुपभन्दा गुण राम्रो हुनु पर्छ भन्छन्, के थाहा ? उनी गुणमा कस्ता छन् ? त्यो त सिर्जना दिदीलाई नै थाहा होला, आखिर पाँच-वर्षको प्रेमको अनुभव बटुलेर विवाह गर्दैछन् । त्यो भएर पनि होला उनको शिर कत्ति पनि झुकेको छैन, बेहुली भएको बेलामा अली-अली झुक्नु पर्छ भन्छन्, तर उनी त भर्खर सरेको धानको गावोजस्तो ठाडो देखिन्छिन् । हेर्दा हेर्दै स्वयम्बरको काम समाप्त हुन्छ र गोडाधुने काम शुरु हुन्छ । गुलाबी रङको कुर्था सुरुवालमा गुलावझैं सजिएर सुदेश्ना सिर्जनासँगै हुन्छिन्, आज उनी पनि कम्ती राम्री छैनन् । जे होस् उनलाई त्यो रङ खूव सुहाएको छ । असारको घाम, त्यो पनि मध्यान्हको पुर्पुरो सेक्नु सम्म सेक्दै छ । सबै आ-आफ्नो ध्यानमा विवाह मण्डपको दाँया-बाँया कुडुलो लागेर बसेका छन् मानौ उनीहरुलाई घामको तापले अलिकत्ति पनि छोएको छैन ।

बालीमा नमिलेको डुमझैं म पृथक एक्लै बसेकी छु । रमेश दाजुले कलम र एउटा कापी ल्याएर मलाई दिँदै भन्नुहुन्छ –
“पबित्रा विवाहमा दाइजो दिएका सामानहरुको नाम, लिस्ट, संख्या, बिवरण सबै यहाँ टिप है ।’
यति भन्दै उहाँ भीडमा हराउनु हुन्छ । म भने दाजुले अह्राएको काम, सामग्री टिप्दै हुन्छु, गोडा धुवाइ सकेर अब कन्यादान दिने बेला आएछ । जिन्सी दान, द्रब्य दान, त्यो त ठीकै थियो गाई दान साथमा कन्यादान । दश महिना गर्भमा असह्य पीडा सहेर बोक्यो, आकास धर्ती एक होला झैं प्रसव बेदनामा छट्पट्टिएर जन्मायो, पाल्यो, पोस्यो, खाई नखाई हुर्कायो, शिक्षा दीक्षा दीयो, राम्रो संस्कार सिकायो, लक्का जवान र सक्षम बनायो बस तीन अञ्जुली गोडाको पानी खाएर पराइको हातमा मारे पाप पाले पूण्य भन्दै सुम्पियो ! मानौं दान दियो त्यो पनि दाइजोसहित, कस्तो परम्परा होला हाम्रो ? कसले बनायो होला यो चलन र कस्तो सस्कार होला यो ? म यही सोंचाइको कालो बादलभित्र हराउन पुग्छु । ठीक त्यती नै बेला कसैले मेरो हातबाट कलम फुत्त तान्छ । म झसङ्ग हुँदै पछाडि फर्केर हेर्छु । एउटा युवक दुई हातले मुख छोपेर ठिङ्ग उभिरहेको हुन्छ, म उसँग अमुक भाषामा कलम माग्छु । मुखबाट हात हटाएर खिस्छ हाँस्दै ऊ मेरो हातमा कलम थमाउँछ । त्यती बेलासम्म मैले उसलाई चिनिसकेकी हुन्छु ।
“ओ मोहन ! तिमी कसरी यहाँ ?’
मेरो आश्चर्य मिश्रित प्रश्नको जवाफमा ऊ भन्छ –
“पवी ! आजका दुलाहा मेरा मामा अनि म यहाँ नभएर को हुन्छ त ?’
‘ए त्यसो भए तिमी भिनाजुको भान्जा, यम आइ राइट ? ’
मान्छेको भीडमा मोहन मलाई बिस्तारै पाखुरामा चिमोट्छ ।
‘नो, डोन्ट टच मी !’
मेरो मुखबाट एक्कासी यही बाक्य निस्कन्छ ।
‘पवी कतै बसेर हामी कुरा गरौं न !’
उसले प्रस्ताव राख्छ-
‘एकछिन ल मोहन ?’ भन्दै म कलम र कापी जिम्मा लगाउन रमेश दाजु खोज्न थाल्छु ।
रमेश दाजु विवाह मण्डपको उत्तरपटि्ट दराजमा फुट्ने नफुट्ने दाइजोका सामान थन्काउँदै हुनु हुँदोरहेछ-“दाजु यो…” भन्दै मैले उहाँको अगाडि हात पर्साछु ।
‘ए पबित्रा ! सबै टिपेकी छौ हैन त ?’
जवाफमा म टाउको हल्लाउँछु । मोहन र म त्यो विवाह मण्डप छाडेर टेकु भन्सार हुँदै बसन्तपुरतिर पाइला बढाउँछौ । हाम्रो यो भेट एस.एल.सी. दिएपछिको अथवा तीनवर्ष पछिको पहिलो थियो । त्यसैले पनि महत्वपूर्ण बन्दै थियो हाम्रो मौन यात्रा । उक्त मौनतालाई तोड्दै मोहन सोध्न थाल्छ-
“पवी, तिम्रो इन्टरको परीक्षा कस्तो भयो ?
‘राम्रै भएको छ अनि तिम्रो नि ?’
केहीबेर अन्कनिदै ऊ भन्छ-
‘ठीकै भयो’ ।
मलाई झल्यास्स दुर्गाको याद आयो ।
‘अँ साँच्ची मोहन ज्ञ दुर्गा कहाँ छिन् त ?’
मेरो प्रश्न मुखबाट भुइँमा खस्नेबित्तिकै मोहनको मुहार कालो-नीलो भयो । हिँड्दा हिँड्दै ऊ टक्क रोकियो, उसको मुखबाट कुनै जवाफ आएन । म अलमल्लमा परें ।
‘अरे मोहन दुर्गाको प्रसङ्ग उठाउनेबित्तिकै के भो तिमीलाई ? किन टोलाएको ?’
उसको मसिनो पीपलपाते ओंठहरु काम्दै शब्दको उच्चारण हुन्छ ।
‘प्लिज पवी, थाहा पाएर पनि मेरो खाटा बसेको घाउको पाप्प्रा उप्काउने प्रयास नगर ।’
उसको जवाफले म तीन छक परें ।
‘कसम मोहन, जब हामी एस.एल.सी. दिएर छुट्टियौं त्यसपछिका दिनमा न मैले तिमीलाई भेटें, न त दुर्गालाई नै, जसरी तिमीबिना जानकारी हरायौ, त्यसरी नै दुर्गा पनि मेरो सम्पर्कबाट हराएकी छे । मलाई केही थाहा छैन भन न के भयो ?’
मोहन लामो सुस्केरा तान्दै भन्छ-
‘पवी, दुर्गाले त गाउँकै राजुसँग विवाह गरी । अहिले एक वर्षको त छोरा नै भइसक्यो ।’
‘ओ माइ गड ! यत्रो परिवर्तन, अनि उसको तिमीसँगको सम्बन्ध, तिमीसँगको प्रेम, त्यो सब के थियो मोहन ?’
‘क्षणिक जवानीको आबेग थियो । समय पास गर्ने वहाना थियो । तात्तिएको उन्मुक्तता चिस्याउने पानी थियो । बस अरु म के भनौं ।’
अगाडिको विजुलीको पोललाई हेर्दै जवाफ दिन्छ । चन्द्रमा जस्तो मुहारलाई नीलो तुतोजस्तो बनाउन बेकार दुर्गाको प्रसङ्ग उठाएछु, एक पटक मनै अमिलो भयो । हामी पढाइ र अन्य प्रसङ्गको कुरा गर्दै बसन्तपुर, गणेश स्थान एक फन्को लगायौं र पुनः: विवाह स्थान पचली भैरवको मन्दिरतर्फ लाग्यौं ।

विवाह अन्तिम तयारीमा पुगिसकेछ, सिर्जना दिदीलाई अन्माउने बेला भएछ, सबैको मुहार मलिनो छ । सुदेश्नाको आमा त बिहानदेखि नै रोइरहेकी थिइन्, के गर्ने संसारको रीत यस्तै छ । छोरीलाई सधै आफूसँग राखौं भने पनि बिभिन्न लाल्छनाहरू आइपर्छन्- बिकिन, बूढीकन्या भई, नराम्रो काम गरेको भएर पत्याएनन्, बस यस अर्थमा पनि मुटुमाथि ढुङ्गा राखी छोरीलाई पराइको हातमा सुम्पनै पर्छ । सिर्जना दिदीलाई अन्माएर ट्याक्सीमा लैजान्छन् । म पनि बिदा मागेर डेरातर्फ प्रस्थान गर्छु । बाटामा मोहन मलाई नै पर्खिएर बसेको रै’छ-
‘ल त पवी, साथीहरु गइसके, म पनि जान्छु । धेरै वर्षपछि तिमीलाई भेट्दा खुशी लाग्यो, फोन गर है ।’
मोहनका आँखाहरु रसिला भएका थिए मैले मौन स्वीकृति दिँदै टाउको हल्लाएँ । ऊ सरासर आफ्नो बाटो जान्छ । थाहा छैन, आधा घण्टाको बाटो कति छिट्टै पार गरिसकेछु । घरको गेटमा पुग्दा मोती बेस्करी चिच्याई, उसको आवाजले म झसङ्ग भएँ । मोतीलाई मायाले सुमसुमाएँ, ऊ खुशीले पुलकित र्भइ पुच्छर हल्लाउँदै चोकमा र्गइ, म सरासर आफ्नो कोठातिर लागें । कुन्नी किन, धेरै थाकेको महशुस भयो, ड्रेस फेर्न इच्छा पटक्कै लागेन, हल्का कपाल दुखेर आयो । म एक गिलास पानी पिएर खाटमा पल्टिएँ । मोहन मेरो आँखाका कोनिकाहरूमा, मुटुको ढुकढुकीहरूमा, सम्झनाको तरेलीहरूमा आइरह्यो । आखिर जीवनमा मैले कुनै केटा मन पराएकी थिएँ भने उही मोहनलाई मन पराएकी थिएँ ।

संसारमा आफूले चाहेको, रोजेको, खोजेको कहाँ पाइन्थ्यो र ? यही नै नियतिको निष्ठुरी नियम रहेछ । बिगतको बिद्यार्थी जीवन एक पटक ताजा भएर आँखामा उदायो ।

म र दुर्गा आठ कक्षामा पढथ्यौं, मोहन नयाँ छात्र हाम्रो बिद्यालयमा भर्ना भयो । मैले उसको खासै चासो लिएकी थिइन, कक्षाको प्रथम ब्यक्ति, दाँया-बाँयाभन्दा पढाइमा बिशेष प्राथमिकता दिनु मेरो लागि महत्वपूर्ण थियो । मोहन प्रायः म सँग बोल्न आइरहन्थ्यो । कहिले साइन्सको त कहिले म्याथको नोट माग्न, टिफिन टाइममा ऊ म सँग नै म्याथ सिकेर बस्थ्यो । आफूले जानेको कुरा अरुलाई सिकाउन पाउँदा आफैले बढी सिक्ने मौका हुने हुनाले म पनि जानेसम्म सिकाउथेँ । समय यसरी अगाडि बढिरहेको थियो । मानिसको जीवनको सबैभन्दा सुनौलो पल भन्नु नै उसको बालापन हो । त्यसमाथि पनि बिद्यार्थी जीवन त जीवनको सुन्दर बिहानी नै हो भन्दा अतियुक्ति नहोला । एकदिन म बिद्यालयबाट घर फर्केर माथि कोठामा खाजा खाँदै थिएँ । तल छिंडीमा कोही कराएको आवाज आयो, झ्यालबाट हेर्दा मोहन र उसका साथी रहेछन् । आमासँग पानी मागेर खाए र मसँग अग्रेजीको नोट मागे, मैले दिएर पठाएँ । साँझमा आमाले मलाई धेरै गाली गर्नु भयो मोहन र उसका साथीको बिषयमा । मैले ऊ साथी मात्र हामी बीच कुनै घनिष्ठता नभएको स्पष्टिकरण दिएँ । त्यो रात मलाई मोहनदेखि असाध्यै रिस उठ्यो । कहाँको पाखण्य, नोट त बिद्यालयमा नै मागेको भए भइजान्थ्यो । घरमा नै किन मुन्टिनु परेको होला ? मेरा बाबा र आमा पनि कति साँघुरो बिचारधाराका छन् भने मैले स्पष्टिकरण नै दिनु पर्ने । मेरो त्यो रात यता कोल्टे र उता कोल्टे फेर्दैमा बिहानी भएछ । अघिपछिका दिनहरुमा भन्दा त्यस दिन छिट्टै बिद्यालय गएँ । मोहन आएकै रैँनछ, म मुरमुरीएर भित्र-बाहिर गर्दै थिएँ, बल्ल-बल्ल ऊ परैबाट हाँस्दै र ‘हाइ पवी’ भन्दै आयो । मेरो रिसको पारा तीब्र भैसकेको थियो, हाँडीमा मकै पड्किए जस्तो गरी म मोहनलाई नाना भाँति गाली गर्न थालेँ । ऊ पिलपिलाउँदो मुहारमा सरी ! बस् यति भन्यो, उसका आँखामा आँशु छचल्किएका प्रस्टैसँग देख्न सकिन्थ्यो । मनको मैलो शब्दबाट ओकल्न पाउँदा मलाई भने एकातिर मनमा भब्य शान्ति भयो भने अर्कोतिर महान युद्ध जितेझैं भयो ।

त्यसपछिका दिनहरुमा मोहन मसँग बोल्न कहिल्यै आएन, बाटोको काँडा पन्छिएकोमा म मनमनै खूव आनन्दित थिएँ । त्यसको केही समयपछि दुर्गाको कापीमा मोहनको पत्र पाएँ, जहाँ एक अनुच्छेद मेरो बिषयमा पनि लेखेको रहेछ ।
‘साँच्चै दुर्गा, मैले यो बिद्यालय टेकेको दिनदेखि पबित्रालाई असाध्यै मन पराउँथे, बिभिन्न बहाना बनाएर उसको नजिक जाने प्रयास गरिरहन्थें तर भन्ने अवसर कहिल्यै आएन । मनमा अंकुराएको माया टुसाउन नपाउँदै पबित्रामाथि मेरो नराम्रो सोँचाइ मनमा भरिन गयो जसको कारण ऊ मेरो मुखसम्म नहेर्ने अवस्थामा पुगी । उसले अब त मलाई घृणाको दृष्टिले मात्र हेर्छे, के गर्नु दोष मेरो नै थियो, उक्त दिन पबित्राको घरमा जान नहुने थियो । यस्तै रहेछ संसारमा सबैले देखेको चाहेको कहाँ पाउँछन् र ? म नै अभागी पबित्राको साथ पाउने सौभाग्य मेरो नसिवमा नै लेखेको थिएन होला ।

उक्त पत्रको ती हरफहरु पढिसक्दा मलाई चिटचिट पसिना आयो । पहिले उसलाई नानाभाँति गाली गरेकोमा पश्चाताप लाग्यो । तर मोहनसँग क्षमा माग्ने हिम्मत पनि मसँग भएन । बस चुपचाप भएँ, यसैमा मेरो कल्याण थियो । यसै बीच नव वर्ष आयो । मोहनले दुर्गा र मलाई उस्तै कार्ड दियो जसमा मलाई सच्चा मित्रको सम्बोधन थियो भने दुर्गालाई ढुकढुकी भनेको थियो, कुन्नि किन, त्यो पल दुर्गालाई गरेको सम्बोधन ढुकढुकी अति नै प्रिय लाग्यो । मनमा कता-कता काउकुति लाग्यो भने दुर्गादेखि इर्ष्या पनि लाग्यो । त्यो इर्ष्या-इर्ष्यामा नै सीमित राख्नु पर्ने थियो कारण अब मोहन कुनै हालतमा पनि मेरो बन्न सक्दैन थियो । एक पटकको गल्तीले जुनीभरि पछुताउने कस्तो गल्ती गरें मैले, मनमनै म आमालाई पनि गाली गर्थे, किन मलाई साँघुरो घेरामा कैद गर्ने सोचाइ पाल्नु भयो रु यदि त्यो दिन मसँग स्पष्टिकरण नमागेको भए मैले मोहनलाई गाली गर्ने पनि थिइँन । आज पश्चातापमा म जल्नु पर्ने पनि थिएन । सायद, जे नहुनु पर्ने थियो त्यो भैसक्यो । भन्छन् बगेको खोला, मुखको बोली र बन्दुकको गोली निस्केपछि कहिल्यै फर्केर आउन्न रे । मैले यसैमा चित्त बुझाउन थालेँ ।

समयले एक फन्को मारिसकेको थियो । अब त मलाई मोहनको हरेक आनीबानी मन पर्थ्यो तर के गर्नु ! अरु कसैको मायामा डुबुल्की मार्दै थियो ऊ । यही नै मेरो दुर्भाग्य भन्नु पर्छ । दुर्गा र म अति मिल्ने साथी थियौँ, कुनै दिन दुर्गा म कहाँ आउँथी त कुनै दिन म आफै दुर्गाकहाँ जान्थेँ । मोहनको प्रत्येक पत्र हामीसँगै पढथ्यौं, मलाई थाहा थियो अझै पनि मोहनले मलाई माया गर्थ्यो । यदि मैले उसलाई आफूले पनि चाहेको कुरा गर्ने हो भने ऊ मेरो प्रस्ताव सहर्ष स्वीकार्थ्यो । तर आफ्नो निजी स्वार्थको लागि आत्मीय साथी दुर्गाको चित्त दुखाउन म चाहन्न थिएँ । कहिलेकाहिँ यस्तो लाग्थ्यो, मोरी ! कति भाग्यमानी रहिछ, मोहनजस्तो एक जेहेन्दार असल मिजासिलो केटाको साथ पाई । बिस्तारै-बिस्तारै बिद्यालयमा हामी तीनजना असाध्यै मिल्न थाल्यौं । मोहन पढाइमा नै ट्यालेन्ट भएर अव्सनल म्याथमेथिक लिएको थियो, मेरो ऐच्छिक विषय नै त्यही हो, नलिने सवाल नै आएन । दुर्गाले भने हाम्रो कारण उक्त विषय लिएकी थिई, हामी तीन जनालाई देख्दा बिद्यालयका सबै साथी भाइ इर्ष्या गर्थे तर आगो लगाउने काम भने गर्दैन थे ।

दुबो मौलाएझैं दुर्गा र मोहनको प्रेम दिनानुदिन मौलाउँदै थियो, कहिलेकाँही लाग्थ्यो कवाफमा हड्डि बनेर म किन उनीहरुको साथमा छु जस्तो लागरे उनीहरुबाट टाढिने प्रयास नगरेको पक्कै होइन तर दुवैले मलाई एक छिन पनि छोड्न मान्दैन थे । दुर्गा र मोहन बीचको प्रेमको चर्चा परिचर्चा एकान दुकान सबैले थाहा पाए । यति सम्मकि दुर्गाको बुबाले पनि ती दुईको सम्बन्ध थाहा पाएको दिन दुर्गालाई पिटेर घरबाट निकाली दिएछन् । ऊ रुँदै मेरो घरमा आएकी थिई, बिचरी ! एक महिना त मकहाँ नै बसी र मेरै घरबाट बिद्यालय जान्थी । अचम्मको बिषय, बाबु-छोरीको बाटामा भेट हुन्थ्यो, न ऊ बोल्थी न त बुबाले नै छोरी भनेर बोलाउनु हुन्थ्यो । दुई महिनापछि आमाले गर्दा बाबु-छोरीको सम्झौता भयो र दुर्गा आफ्नै घरमा बस्न थाली, एस.एल.सी.को परीक्षा दिन हामी सदरमुकाम जानु पर्थ्यो । दुर्गा र मसँगै एउटै कोठामा बस्थ्यौं, मोहन प्रायः सधै हामी कहाँ आइरहन्थ्यो । नयाँ नौलो ठाउँमा बिभिन्न अनुभव बटुल्दै परीक्षा सकियो, दुर्गा र मोहन त त्यसै दिन भाग्ने तयारीमा थिए । दुर्गालाई उसको बुबाले मेरो जिम्मामा छाड्नु भएको कारण मैले त्यसो गर्न दिइनँ, घर फर्कदा दुबै मदेखि रुष्ट थिए । एक मन त कस्तो काम जिम्मा लिइछु जस्तो लाग्यो । त्यसपछि लगतै म काठमाडौँ कम्प्यूटर सिक्न गएँ । घरको निर्णय यति हतारमा भयो कि मैले दुर्गा मोहन दुवैसँग बिदा पनि माग्न पाइनँ । त्यसपछिका दिनहरुमा दुर्गा र मोहन दुवैसँग मेरा सामीप्यता हुन सकेन । यिनै तर्कना पछि मैले सोच्न थालेँ, हैन दुर्गाले त मोहनलाई औधी माया गर्थी तर कसरी राजुसँग विवाह गरी रु यस्तो होला भनेर मैले कल्पनासम्म गरेकी थिइनँ । आखिर दुर्गा के चाहन्थी मोहनसँग रु मोहन पनि कोहीभन्दा कम त थिएन, मैले सुनेकी थिएँ, सच्चा प्रेम गर्नेहरु प्रेमकै लागि प्राणको आहुति दिन पछि पर्दैनन्, तर प्रेममा नाफा घाटाको जोखना पनि हेरिँदो रहेछ । सायद, नत्र दुर्गाले मोहनलाई किन धोका दिई ? मेरो मनले मनलाई बुझाउने जवाफ कहिले फेला परेन ।

दुई वर्षपछि दुर्गाकै साथी रुपासँग विशालबजारमा मेरो भेट भयो । रुपाको काखमा पनि घुतमुने छोरा रहेछ, असारको महिना पानी ठूलो वर्षिरहेको थियो, हामी दुबै जना एउटै पसलमा ओत लाग्न आइपुग्यौं । रुपा एक्कासी चिच्याए पछि पो मैले उसलाई चिनें, रुपालाई देख्नेबित्तिकै दुर्गाको याद आयो, कारण दुर्गा मसँग जति मिल्थी रुपासँग पनि कम मिल्दैन थिई । हतपत्त मैले सोधिहालेँ-
रुपा ! विवाह गरिछौ, छोरा पाइसकेर पनि विवाह भोज ख्वाइनौ, ठीकै छ अनि दुर्गाको हालखवर के छ त ?
ऊ अचम्म पर्दै मतिर हेरेर जवाफ दिन्छे-
‘पबित्रा के तिमीले दुर्गाको बिषयमा थाहा पाएकी छैनौ ? ’
‘अँ ह ।’
‘दुर्गाले राजुसँग विवाह गरी एउटा छोरा पाएकी छ, अहिले राजु र दुर्गाको सम्बन्ध-बिच्छेद भै सक्यो ।’

यो शब्दले म नराम्रोसँग झस्किएँ, दुर्गाले किन त्यसो गरी मोहनलाई लत्याउनु र राजुलाई अंगाल्नु नै दुर्गाको लागि अभिशाप हो भने फेरि सम्बन्धबिच्छेद गर्नु अर्को अभिशाप माथिको अभिशाप हो । घरको छानाबाट झरेको पानीका थोपाजस्तो जीवन कति अनिश्चित ? कहिले कहाँ गएर पोखिनु पर्ने त कहिले कता मिसिनु पर्ने ! आखिर जीवन त्यसै सस्तो छ कि मानव आफै जीवनलाई सस्तो बनाउँदै छ ? यो प्रश्नको जवाफ मैले भेटाउन सकिनँ । जीवन आफैमा अभिसशाप हो कि मानिस नै जीवनलाई अभिशाप बनाउँदैछन् ?’

acharyasubisudha@yahoo.com
9779841140180 Kathmandu, Nepal

(स्रोत : MeroUK.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.