लघुकथा : स्वप्नग्राम

~किशोर पहाडी~Kishor Pahadi

गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बुढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चङ्खे, चाउरे, घैँटे र मनेहरू खेल्न छोडेर एक-अर्कालाई हेर्न थाले । जगत् साहू जुरुक्क उठे । पसलबाहिर आए । मकै भुट्दै गरेकी जगत् साहूकी स्वास्नीले मकै भुट्न छोडेर सोधी, “किन ? के भयो ?”

“ऊ त्यहाँ हेर न ।” “के? ” भन्दै स्वास्नीले हेरी । ऊ पनि हेरेको हेर्यैत भई । गाउँमा दसफुटे चौडा सडक एउटा आइरहेको थियो- सललल… गर्दै, र्सपजस्तै बग्दै । त्यो सडक पहाडको छेउछेउ आइरहेको थियो । त्यो सडक पहाडभित्र पसेर सुरुङहुँदै आइरहेको थियो ।सबै छक्क परे । ट्वाल्ल परिरहे । हेर्दाहेर्दै सडक गाउँमै आयो- गाउँसम्मै । अब त्यो गाउँ गाउँ रहेन । गाउँ नै अर्कै भएको आभास भयो । वीरमान, जगत् साहू, मगर्नी बूढी सबै खुशी भए ।

खुशीहुँदै जगत् साहूले भन्यो- “गाउँमा अब सडकसँगै के-के आउने हो ?”

उसकी स्वास्नीले पीर मान्दै भनी, “भीरपाखामा हिँडिरहेको बानी । सडकमा हिँड्न जानिने हो वा होइन ।” उनीहरूको कुरासँगै बसेर छोरो चाहिनेले सुनिरहेको थियो । उसले भन्यो, “केही पीर नगर्नोस्, आमा सडक त्यसै आएको हो र हाम्रो गाउँमा – अब चुनाव आइरहेछ- त्यसको लागि आएको हो । चुनाव सिद्धिएपछि यो सडक हराउँछ । तपाईंले भीरपाखामै हिँड्नु पर्नेछ ।”

नभन्दै एक छिनपछि त्यही सडकमा एउटा ठूलो मोटर आयो । वीरमानले चिन्यो- मोटरबाट दिगम्बर निस्के । दिगम्बर- त्यो गाउँको प्रतिनिधि । दिगम्बरले वीरमानलाई नमस्ते गरे, मगर्नी बुढीलाई ढोगे । जगत् साहूको हालखवर सोधे । गाउँ नै उज्यालो भएझैँ आभास भयो । दिगम्बरको अनुहार पनि उज्यालो भयो ।

उज्यालिएको उज्यालिएकै अचानक गाउँबाट दिगम्बर हराए । दिगम्बरजस्तै देख्दादेख्दै त्यो सडक पनि सललल… बग्दै भाग्यो । सर्पजस्तै बग्दै गाउँबाट भाग्यो । पहाडको छेउछेउबाट भाग्यो । पहाडभित्र पसेर सुरुङ हुँदै भाग्यो ।

वीरमान, मगर्नी बूढी, चङ्खे, चाउरे, जगत् साहू सबै फेरि टोल्हाएको टोल्हाएकै भए ।”ज्या, सपनाजस्तै पो भयो त ।” गाउँ फेरि एकपल्ट निराश, हताश र दुःखित भयो ।

(स्रोत : NepaliLaghukatha.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.