ऐतिहासिक लोककथा : रानी शैलेश्वरी

~रत्न काफ्ले~

(गर्हौंकोट राज्य र भिरकोट राज्य बिच लडाईंको ऐतिहासिक कथा) !

उनको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । जसरी भर्भराउँदो ज्वालामा पुतलीहरु हामफालेर देहत्याग गर्छन् त्यसरीनै भिरकोटे सैनिकहरु रानीको अनुपम सौन्दर्यको रसपान गर्दै र काटिंदै गए । रानीको सौन्दर्यरुपी अस्त्रले आसपासका सबै सैनिकहरुको शक्ति नै क्षिण गराएजस्तो भान हुन्थ्थो । कसैमा पनि रानीको तरबारको चपेटामा परिएला कि भन्ने होश समेत रहेन । यसैले बैरीतर्फका सैनिकहरु एक पछि अर्को गर्दै उनको आक्रमणको शिकार भई नै राखे ।

बिरंगना रानीले हातमा नाँगो तरबार नचाउँदै वायुबेगले घोडा दौडाईन् र अन्दा धुन्द बैरितर्फका सैनिकहरुलाई मुलाकाटे झैं काट्न थालिन् । युद्द हुनुको मुख्य कारण दुई राज्य बिचको साँध सिमाना र भिरकोटेहरुले गर्हौंकोटतर्फ चलाएको लुटपाट नै थियो । त्यतिबेला भिर्कोट राज्य र गर्हौंकोट राज्यको साँध सिमाना मिर्दीखोला र आँधीखोलाको संगमस्थल देखी पूर्वतर्फ कायम गरिएको थियो । गर्हौंकोट र भिरकोट राज्यको लडाँईंताका गर्हौंकोटको राजधानी घ्याङलिङ थियो भने भिरकोटको राजधानी दभुङकोट थियो । राजाहरुले जहाँ जहाँ आफ्नो कोट, किल्ला र दरबार बनाउँथे त्यहीं नै त्यस राज्यको राजधानी हुने गर्थ्थो ।

Queen Saileswari

गर्हौंतर्फका राजा जसराज खान सानैदेखी नै युद्दकला र शिकार खेल्नमा रुची राख्थे । भिर्कोटेहरुले गर्हौं र भिरकोटको सिमानालाई लिएर पहिले देखिनै बखेडा झिकीराखेका थिए र यो कुरा उनलाई मन परेको थिएन । उनका पिता दशरथ खानको पालामा यि दुई राज्य बिचको सिमाना मिर्दीखोला र आँधीखोलाको संगमस्थल देखि पूर्वतर्फ कायम गरिएको भएतापनि भिर्कोटेहरुको बलमिच्याईंले गर्दा कहिलेकाहिं गर्हौंराज्य अन्तर्गतका जनताहरुले दुख पाईराखेका र अनैतिक तरिकाले तिरो असुल्ने कार्य हुँदै आएको थियो । यो क्रम निरन्तर चली नै रहेकाले गर्हौंकोट तर्फबाट निग्रानीका निम्ती सैनिकहरु खटाउने निधो गरियो । यसरी कहिलेकाहिं तिरो असुल्न र अन्नपात लुट्न आउने भिरकोटेहरुलाई रोक्नका लागि गर्हौंकोटे सैनिकहरु ठाउँ ठाउँमा खटिन थाले । जुन जुन ठाउँमा उनीहरु लुटपाट मच्चाउने हेतुले आउने गर्थे ति सबै ठाउँहरुको बिबरण संकलन गरियो । यसरी निग्रानी गर्न थालेको पनि झण्डै महिना दिन बिती सकेको थियो । निरन्तरको निग्रानी पश्चात, जेठ महिनाको पहिलो हप्ता, आफ्नो राज्यको मुख्य अन्न भण्डार मानिएको डौंवाफाँटमा लगाईएका बालीहरु लुट्नका निम्ती भिर्कोटेहरु बगुवाफाँट हुँदै आँधीखोला तर्दै गरेको सुचना गुप्तचरहरुले राजा कहाँ ल्याई पुर्याए । उत्तरतर्फ निग्रानीका निम्ती खटिएका गर्हौंकोटे सैनिकहरु आफ्नै राज्य अन्तरगतको अमलेको चौतारीमा बस्ने गर्थे । यो सुचना पाउना साथ सुरक्षाका निम्ती खटिएका सैनिकहरुलाई सतर्क गराईयो । यसरी खटिएका सैनिकहरुको संख्या केहि कम देखिएकाले त्यसतर्फ थप शैन्यबल पठाउने निधो गरियो । थप सैनिकहरुका निम्ती घोडाहरु तयार पारिए र हातहतियार सहित डौंवाफाँट तर्फ पठाईयो । केहिबेर मै गर्हौंबाट पठाईएका थप सैनिकहरु अमलेको चौपारी सम्म आईपुगे र पुरानो सुरक्षा बलमा सामेल हुनपुगे । उताबाट आएका भिरकोटे लुटेराहरु आँधीखोला तरेर धेरै नै वरसम्म आईसकेका थिए । उनिहरुलाई गर्हौंकोटे सैनिकहरु निग्रानीका निम्ती लुकेर बसेको कुरा थाहा थिएन । केहिबेर सम्म त गर्हौंकोटे सैनिकहरुले उनिहरुको चर्तिकला हेरेर बसे । तर केहि समय पश्चात घोडाचढी सहितका हतियारधारी गर्हौंकोटे सुरक्षादल एक पछी अर्को गर्दै बाहिर निस्कन थाले । उनिहरुको योजना मुताबिक, चारैतिरबाट भिरकोटेहरु घेरिई सकेका थिए । यसरी एकाएक गर्हौं सैनिकहरुको आगमन देखेर लुटेराहरुको सातो पुत्लो नै गयो र भागाभाग गर्न थाले । तर चारैतिरबाट घेरिईसकेकाले त्यती सजिलै भागी हाल्न सम्भब पनि थिएन । धेरैलाई त गर्हौंकोटेहरुले हताहत नै पारे र केहिलाई बन्दी समेत बनाई घ्याङलीङसम्म ल्याईपुर्याए ।

केहि समय सम्म त दुबै राज्यहरु बिच यस बिषयलाई लिएर आपसी भनाभन र चर्काचर्की चलि नै रह्यो । दुबै राज्य तर्फबाट समय समयमा बिशेष दुतहरु बिभिन्न शर्त र सन्देश लिएर एक अर्काका राज्यहरुमा पठाईए । तापनि समझदारी कायम हुन सकेन । दुबै राज्यका राजाहरु आ-आफ्ना अडानमा टसको मस नभएकाले युद्दको खतरा झनै बढ्न थाल्यो । यसरी दुबै तर्फबाट सम्बाद र सहमतिद्वारा युद्द टार्ने अन्तीम बिकल्पको आशा समेत निकै नै न्युन देखिन्थ्थो । डौंवाफाँटमा आफ्ना राज्यका ब्यक्तिहरु हताहत पारिएको र बन्दी बनाईएकाहरुलाई गर्हौंकोटेहरुले छाड्न नमानेकाले भिर्कोटेहरुले पनि बदला लिने मनशायले गर्हौंराज्य तर्फका ग्रामिण र बिकट गाउँहरुमा लुटपाट र आतंक मच्चाउन थाले । पानीका मुहानहरु बिगारी दिने, बिषादी हालीदिने, खोलाका बाँधहरु भत्काईदिने, आईमाई केटाकेटीहरुलाई तर्साउने र धम्काउने ईत्यादि गर्न थाले ।‘अत्याचारको पनि पराकाष्ठा हुन्छ । कसैगरे पनि लुकिछिपी मार हान्ने र दुख दिनेहरुका अगाडी संगठीत र योजना मुताबिकको युद्दले जित्न सक्दैन’ भन्ने कुराको हेक्का गर्हौंकोटे राजाले बुझेका थिए । स्थाई समाधानका उपायहरु नखोजे सम्म आफ्ना राज्यका जनताहरु यसरी नै भिरकोटेहरुको अत्याचारबाट मुक्त हुन सक्ने स्थिती उनले देखेनन् । यसै बिषयलाई लिएर राजा जसराजले राज्य सभाको आयोजना गरे र समाधानका उपायहरु खोज्न थाले । दिनानुदिन भिरकोटेहरुको अत्याचारका उजुरीहरु थपिंदै जान थालेकाले उनलाई झनै बढि यस विषयले पिरोली राखेको थियो । उजुरी परेका ठाउँहरुमा खान तलासी र प्रतिकारका लागि शैनिकहरु पठाएतापनि भिरकोटेहरु कहिले रातको मौका पारेर त कहिले लुकीछीपी लुटपाट मच्चाउन आउने हुँदा यो पनि प्रभाबकारी हुन सकेन । राज्य सभाको निर्णय मुताबिक भिर्कोटे हरुसंग युद्द नै गर्नु पर्ने देखिन आयो र यो भन्दा अर्को बिकल्प देखिएन । यसैक्रममा गर्हौंकोटको संधियार राज्य गुल्मी चारपाला राज्यलाई “ केहि दिन भित्रै गर्हौंराज्य र भिरकोटराज्य बिचमा युद्द हुँदैछ सहयोगको लागि तुरुन्त सैनिक पठाईदिनु” भनि युद्दहुने दिनको सम्बत राखेर पत्र पठाईयो । चारपालाराज्य गर्हौंराज्यको ससुरालीराज्य अर्थात रानी शैलेश्वरीको माईतीराज्य थियो । यसर्थ त्यहाँबाट सैनिक सहायता पाउने बलीयो सम्भावना देखिन्थ्थो । युद्द हुने प्राय निश्चितै भएकाले दुबै राज्यहरु आ-आफ्ना सैनिक संगठनको बिस्तार र हातहतियारको बन्दोवस्ती तर्फ जुट्न थाले ।

असारको महिना, बर्खायाम भर्खरमात्र सुरु भएको थियो । चारैतिर पानीका मुलफुट्ने क्रम जारी थियो र नदिनालाहरु पूर्ण यौवनका साथ जुर्मुराउन थालेका थिए । यसपाली आँधीखोलामा पोहोर साल भन्दा केहि समय पहिले नै बाढी चली सकेको थियो । यसैले अगल बगलका फाँटहरुमा लगाईएका खेतीपाती पनि बलौटे र पाँगोमाटोले ढाकेर ठुलो नोक्सान गरेको थियो । गर्हौंराज्यको राजधानी रहेको घ्याङलिङ डाँडा भिरकोट राज्यसंगको सिमाना मिर्दीखोला संगै जोडिएकाले युद्दकालागि गर्हौंकोटेहरु खोला तरेर पारी माझमडै तर्फ जानु पर्ने देखियो । युद्दको दिन आउन अब एक दिन मात्र बाँकी थियो । युद्दका सबै तयारीहरु पुरा भैसकेका थिए र राजा रानीको बिशेष निरिक्षण चलिनै राखेको थियो । भोलीपल्टको युद्दका निम्ती बनाईएको योजना मुताबिक, भिर्कोटे सैनिकहरु सेरुङगा सम्म आईपुग्नु पूर्व नै आफ्ना सबै सैनिकहरुलाई मिर्दीखोला पारीसम्म पुर्याई सक्नु पर्ने देखियो । तर युद्दकालागि त्यति परसम्म जानु नपर्ने भएकाले र युद्दको समाप्ती पश्चात आफ्नै राज्यमा फिर्ता आउन सकिने सम्भावना देखिएकाले खाद्यान्न आपूर्तिका लागि भरियाहरु तयारगर्नु परेन । भोलीपल्ट , राजा जसराज खान चारपालाका सैनिकहरुको आगमन हेर्दै आफ्नी मुमा महारानी केशवतीको आशिर्वाद थाप्न खोपीतर्फ लागे । आमाको आशिर्बाद थापीसकेपछी गर्हौंकालिकाको बिधिपूर्बक पूजागरे र सैनिकहरुलाई साईतको टिका लगाईदिए । पुन एकपटक ईष्टदेबी गर्हौंकालिकातर्फ फर्के र प्रणाम गरि आशिर्बाद मागे ।

उता रानी शैलेश्वरीले बालक युवराज उत्तिमलाई डाँडीमा सुताउन लागेकी थिईन । राजा संगको केहिबेरको भलाकुसारी पछि रानीले पनि युद्दमा संगै लड्न जाने मनशाय बनाईन र राजकुमार उत्तिमलाई सुसारेहरुको जिम्मा लगाईन् । माईतमा हुँदा सानै देखिनै नै बडो कुशलताका साथ युद्दकला सिकेकी हुनाले उनको अनुहारमा बिरता र आत्मविस्वासका रेखाहरु प्रष्ट देखिन्थे । युद्दकलामा ठूल्ठूला मै हुँ भन्ने बलबानहरुलाई समेत धुलो चटाएको अनुभब उनमा थियो । “भिर्कोटेहरुलाई सकेमा धुलो चटाउँला’ नसके बिरगति प्राप्त गरुँला” भन्ने अठोटगरि रानी शैलेश्वरी पनि राजासंगै युद्दमा निस्कने तयारी गर्न थालिन् ।

त्यतिबेला गर्हौंकोट राज्यका तर्फबाट माझी, दमै र गाईनेहरुले गुप्तचरीको काम गर्ने गर्थे भने भिरकोटेहरुका तर्फबाट सन्यासी, जोगी, गाईने र जुत्ता सिलाउने सार्कीले गुप्तचरीको काम गर्ने गर्थे । यिनीहरुले छद्दम भेषमा माछा मार्ने, लुगा सिलाउने, गीत गाउने, छालाका जुत्ता बनाउने, जोगीको भेषमा माग्दै हिँड्ने बहाना पारी बैरी राज्यभित्र प्रवेशगरि भित्रीया सुचनाहरु राजा कहाँ ल्याईपुर्याउने गर्थे । यसैक्रममा गर्हौंतर्फ एकाएक टिम्के दमै दौडदै आयो र राजामा बिन्ती चढाउँदै भन्न थाल्यो “महाराज भिर्कोटेहरु बार्ह-बिस (२४० जना ) जति छन्, राजा घोड सबारमा छन् भने रानीलाई पाल्कीमै राखी ल्याईएको छ । यतिबेला भिर्कोटेहरु त्रियासीसम्म आईपुगेका छन् । राजा र सेनापतिले आफ्ना सैनिकहरुलाई युद्दका बारेमा बिशेष र अन्तिम प्रशिक्षण दिंदै छन् ।“ ईत्यादि खबर दिई सकेपछि टिम्के दमै गुप्तचरीका लागि फेरीपनि मिर्दीखोला तरेर माझमडैको घाँच घाँचै लुकीछीपी रामबाच्छा तर्फ हानियो । “रानी पाल्कीमा आएकी छन्” भन्ने सुचना टिम्केको मुखबाट सुन्दा रानी शैलेश्वरीलाई हाँसो उठ्यो र “कायर रानी” भन्ने शब्द मुखबाट निकालिन् । हुनपनि आईमाईहरु भोग र मनोरञ्जनका साधनमात्र भएको उनलाई मन पर्दैनथ्थो । यसैले उनले बिबाह गरेर आईसके पछि पनि आफ्नो राज्यमा महिला स्वतन्त्रता र आत्मनिर्भरताको लागि पहल गरेकि थिईन । राजा जसराज पनि कुशल बुद्दि र बिबेकशिल भएकाले रानीको कुरालाई नकार्दैनथे र राज्यको भलाईका निम्ती रानीबाट सुझाब सल्लाह लिन पछि पर्दैनथे ।

टिम्के दमैले ल्याएको गुप्तचरीको खबर पाएपछी राजाले आफ्ना सैनिकहरुको संख्या, हात हतियार र बन्दोवस्तीका सामग्रिहरुको पुन:निरिक्षण गर्न लगाए । सेनापति काशिराज ठकुरीले सबै निरिक्षण गर्दा आफ्नातर्फ जम्मा जम्मी १८० को हाराहारीमा सैनिकहरु युद्दमा जानलागेको र केहि थप गाउँलेहरु जम्मा भएको विबरण दिए । अव यतिका सैनिकलेमात्र युद्द नजीतिने हुनाले राजा केहिबेर सोचमग्नमा परे र पश्चिमतर्फ नजर डुलाउन थाले । आफूलाई सहायता गर्न आउनुपर्ने गुल्मी चारपालाका सैनिकहरु कहाँसम्म आईपुगे होलान् भन्दै सेनापति काशिराजलाई छिटो भन्दा छिटो खबर ल्याउनलाई आदेश दिए । तर यो खबर केहिबेर अघिमात्र पश्चिमतर्फ पठाईएको गुप्तचर चिलिमे नाम गरेको गाईनेले ल्याएको हुँदा सोही खबर राजा जसराजमा जाहेर गरियो । मोदीखोला सम्म चारपालाका सैनिकहरु आईपुगेको खबर पाएपछि राजामा ठुलो हौसला आयो र अनुहारमा बिजयका रेखाहरु देखिन थाले । रानीको ईच्छा बमोजिम सबै सैनिकहरुलाई तुरुन्तै युद्दका निम्ति तयारहुन आदेश दिए ।

रानी शैलेश्वरीमा अलग्गै उमङग थियो । त्यतीका युद्द कौशलतामा निपूर्ण भएतापनि उनलाई कहिल्यै पनि यसखालको युद्द लड्ने अवसर जुरेको थिएन । माईतमा हुँदा पनि बुवा महाराजलाई आफ्नो माईतीराज्यको सिमाना वढाउनु पर्यो भनेर कचकच गर्ने गर्थिन् रे । यसैले उनका लागि यो युद्द एउटा अवसर जस्तै लागेको थियो र “म एक्लैले सबैलाई काट्छु” भन्ने महाकालीको जस्तो हिम्मत आएको थियो । तहिंमाथि माईती राज्यबाट सैनिकहरुको आगमनले उनमा झनै ठुलो हौसला र खुसी ल्याएको थियो । रानी शैलेश्वरीले पुन एकपटक युबराज उत्तिमलाई हेरिन् । युबराज उत्तिम डाँडीमा मस्तले खेलेर बसिराखेका थिए । काखमा लिईन र म्वाँई खाई फेरी कोर्को मै छाडी बाहिर निस्किईन । समय अब बिल्कुलै थिएन । यसैले राजा रानी आ-आफ्ना घोडाहरुमा हात हतियार सहित सबार भए र अगाडी लागे । लडाईं पर्दा आफ्नो राज्य भित्रका सबै जातजातीहरुले भाग लिनु पर्ने हुन्थ्थो । गाउँका बलिया बाँगाहरुलाई छाँटिन्थ्थो र लडाईका निम्ती तयार पारिन्थ्थो तर लडाईंमा क्षेत्रीय नै अगिल्लो पंक्तिमा लड्नु पर्थ्थो । कहिले काहिं अग्रपंक्तिमा लड्ने क्षेत्री, ठकुरीहरु कम देखिन आएमा पहाडको लेकमा बस्ने गुरुङ ठीटाहरुलाई अग्रपंक्ति मै साथमा लड्न लगाईन्थ्थो । उनीहरु जंगल र खोरिया फँडानीगरी बस्ती बसाउन सिपालु हुन्थे र खुकुरी, खुँडा चलाउनमा माहिर मानिन्थे । मोटाघाटा, रसीला र दर्हा हुनेहुनाले तथा काटमारका हतियारहरु चलाउन सिपालु समेत हुनेहुनाले यिनीहरुलाई छानिन्थ्थो । अन्य जातहरुले खाद्यान्न बोक्ने, हातहतियारहरुमा साँध लगाउने, सुचना आदान प्रदान गर्ने, औषधि मुलोको ब्यवस्था गर्ने, घाईतेलाई स्याहार्ने ईत्यादि लगाएतका कामहरु गर्ने गर्थे । आईमाईहरुले किल्लाहरुको टालटुल गर्ने, लिपपोत गर्ने , अति नै आवश्यक परे हतियारै पनि उठाउने, सैनिकहरुलाई खाना बनाउने ईत्यादि जस्ता कामहरु गर्थे । हुन त गर्हौंकोटेका शैनिकहरु भिर्कोटेको जति संख्यामा थिएनन् तैपनि चारपाला तिरबाट सहयोगका लागि आउँदै गरेकाले यो युद्द पक्का जितिन्छ भन्ने राजा रानी दुबैलाई पुरा विस्वास थियो ।

भिर्कोटे सैनिकहरु पनि हातहतियार सहित युद्दको उन्मादमा थिए । सबै सेनाहरुले अन्तिम अवस्थासम्म पनि लड्नु पर्छ, राज्य र राजाका खातिर पिठ फर्काएर भाग्नु हुदैन भन्ने भावना सबैमा थियो । ब्रामणद्वारा महाकालीको बिधिपूर्वक पूजा गरेर कालो बोको बली दिएपछी क्षेत्रीयहरुले तरवार र खुँडा हातमा लिई आफ्नो गोत्र र बैरीको गोत्र मुड्याई बिजय हासिल गर्न खाँडो जगाउने चलन थियो र यो काम दुबै तर्फबाट गरिएको थियो । युद्दमा राजा रानी र ब्रामणहरु परै बसेर युद्द हेर्ने र युद्दको खबर लिने परम्परा जस्तै थियो । जब आफ्ना सैनिकहरु काटींदै जान्थे र हार्ने अवस्था आईपुग्थ्यो, राजा रानी र ब्रामणहरु यस्तो सूचना पाउनासाथ बैरी सैनिकहरुलाई छल्दै र लुक्दै भाग्न थाल्थे र ज्यान बचाउन तर्फ लाग्थे । यसपाली भने भिरकोटे राजा आफैले युद्दको कमान समालेका थिए र रानी मात्र सेरुङगा कालिका थाननेर बसेर युद्द हेर्ने मनसायमा थिईन । यो ठाउँ उनको लागि उपयुक्त पनि थियो । लडाईमा कथम कथाचित आफ्नो राज्यको हार भैहालेमा पनि सेरुङगाको डाँड डाँडै ढुवानडाँडा, त्रियासी निस्की थुमा – धरमपानी हुँदै दभुङकोट जान सुरक्षित हुन्थ्थो । यसैले भिर्कोटे रानीले यहीं बसेर युद्द हेर्ने निधो गरिन् । भिर्कोटे सैनिकहरुले कोही बगुवा हुँदै सिंगारेठाँटी तिरबाट जाने र कोही त्रियासीबाट ढुवानडाँडा हुँदै सेरुंगा कालिकाबाट तल झर्ने निधो गरे र सोहि अनुसार सैनिकहरु बिभाजन भई अगाडी बढे । गुप्तचरहरुको सुचना अनुसार गर्हौंलाई सहयोग गर्न चारपालाका सैनिकहरु आएको खबरले उनीहरुका मनमा ढ्याङग्रो ठोक्न सुरु गरिसकेको थियो तापनि आफ्नातर्फ युद्दकलामा निपूर्ण सैनिकहरु प्रशस्तै भएकाले र हात हतियारको अवस्था पनि राम्रो रहेकाले राजामा आत्मबल घटेको थिएन । गर्हौंकोटे सैनिकहरु अझैसम्म पनि युद्दका निम्ती फाँटसम्म आई नपुगेकाले केहिबेर राजा पनि रानीसंगै माथि सेरुँगाको थुम्कीमै बसेर पश्चिम ध्याङलिंग तर्फ चियाउन थाले । केहिबेर पश्चात नै गर्हौंकोटे सैनिकहरु जम्मा हुँदै र अगाडी बढ्दै गरेको प्रष्ट देखिन थाल्यो । दुबै तर्फबाट आफ्ना र पराई सैनिकहरुलाई उत्तेजित गराई रगत तताउने खालका चुनौतीपूर्ण बाजाका धुनहरु सुनिन थाले ।

चारपालाबाट सहायता गर्न आएका सैनिकहरु अझैसम्म आईपुगेका थिएनन् तैपनि गर्हौंका सैनिकहरु मिर्दीखोला तरेर अगाडी बढे । लडाँई हुँदा हुँदै सहायता सैनिकहरु आफ्नो सेनामा मिस्सिन आईपुग्छन् भन्ने राजा रानी र सेनापति काशिराजको अड्कलले सैनिकहरुलाई अगाडी बढाए । गर्हौंतर्फबाट पनि भिर्कोटे सैनिकहरु बाजागाजाका साथ पारी सेरुङगासम्म आईपुगेको प्रष्ट देखिन्थ्थो । त्यसताका अर्मादीखोला हाल बगिरहेको स्थानबाट नबगी रामबाच्छा डाँडाको घाँच घाँचै (हालको सिद्दार्थ राजमार्गको किनारै किनार) बगेर मिर्दी माझमडै नेर आई आँधीखोलामा मिस्सिने गर्थ्थो । जुन तथ्थ आज पनि प्रष्ट नै देख्न र बुझ्न सकिन्छ । गर्हौंकोटे सैनिकहरु मिर्दीखोला पारगरि माझमडै सम्म आईपुगेका थिए र अर्मादीखोला पनि तर्ने तर्खरमा देखिन्थे । यतिबेला सम्म बिभिन्न बाटो हुँदै आएका भिरकोटे सैनिकहरु सेरुङगा चौतारी नेर जम्मा भैसकेका थिए ।

दुबै तर्फका सैनिकहरुले एक अर्काका सैनिक जथ्थाहरुलाई अब प्रष्टसंग देख्न सक्थे तैपनि दुबै सैनिकहरु बिचको दुरी अझैपनि बढी नै थियो । दुबैतर्फ युद्दको बिगुल फुकियो । दुबै तर्फका बाजाहरु झन् झन् उत्तेजित र जोड तोडका साथ घन्किन थाले । चुनौती स्वरुप “तिनताल” को धुन ठोक्न थालियो । ‘यो “तिनताल”को धुनमा जोस्सीएर आ-आफ्नै सैनिकहरु बिच काटाकाट हुने त होईन ? भन्नेकुराको आशंका दुबैतर्फका राजाहरुलाई हुन थाल्यो ।’ “तिनताल”को धुन जति जति जोडतोडले ठोकिन्थ्थो त्यती त्यती नै दुबैतर्फका सैनिकहरु एक अर्काका गर्धन काट्न आतुर देखिन्थे । यसै जोशमा ‘हरहर महादेब’ र ‘जयकाली’को चिच्याहट संगै हातमा खुँडा, तर्बार र भाला नचाउँदै दुबैतर्फका सैनिकहरु अगाडी बढे ।

युद्द मैदानको आसपासका गाउँ वस्ती र पाखाहरुबाट युद्द हेर्न र परेमा आफ्नो राज्यका खातिर सहयोगमा जुट्न चारैतिर जनमानसको भिड देखिन्थ्थो । आफ्नै सुरक्षाका निम्ती सबैका हा-हातमा हँसिया, बन्चरो र खुकुरी लगाएत केहि न केहि साना तिना घरेलु हतियारहरु देखिन्थे । यिनीहरुले पनि आफ्ना राज्यतर्फका सैनिकहरुलाई जोस्याउने र युद्दका निम्ती उत्प्रेरित गर्नेखालका ‘हान् हान्’ र ‘मार् मार’ जस्ता शब्दहरु भट्याईएका थिए ।

बर्षामास । दुईदिन अगाडीको ठूलो बर्षाले खेतहरुमा जमेको पानी राम्ररी सुक्न पनि पाएको थिएन । मध्यान्नको घाम, यसैपनि चर्कि राखेकै थियो । आकासमा चिल र गिद्दहरु प्रशस्तै उडिराखेका देखिन्थे । सायद, युद्दको भनक उनिहरुले पनि पाएका थिए । उनीहरुपनि मान्छेको ताजा, नुनिलो र मीठो रगतको स्वाद लिने दाउमा देखिन्थे ! यसैक्रममा दुबैतिरका सैनिकहरुको सित्तलेनेरको फाँटमा जम्काभेट भयो । राजा रानी अग्रपंक्तिमै थिए र उनिहरुका लागि सुरक्षा घेरा बनाईएको थियो । राजा ले राजा संग, सेनापतिले सेनापति संग र सैनिकले सैनिकसंग नै युद्द गर्ने गर्थे । गर्हौंकोटे राजा जसराज खान भिरकोटे राजा मेदिनी खान संग भिडे भने गर्हौं सेनापति ‘काशिराज ठकुरी’ भिर्कोट तर्फका सेनापति ’रणजंग ठकुरी’ संग भिडे । गर्हौंकोटे तर्फ सैनिकको संख्या कम भएकाले कतिपय गर्हौंतर्फका सैनिकहरु, ‘दुई दुईजना’ भिरकोटे सैनिकसंग लड्नु पर्ने बाध्यता थियो । यस अवस्थालाई बुझि रानी शैलेश्वरीले बडो कुशलताका साथ घोडा दौडाउँदै घुमी घुमी बैरी सैनिकमाथि आक्रमण गर्न थालिन् । रणभूमिमा उनी महाकाली रणचण्डीले झैं रौद्ररुप धारण गरेकि जस्तै देखिन्थिन् । उनको लामो र रेशमी केशराशी पिढ्यूँसम्म नै लतमन्न देखिन्थ्थो । देख्नमा, मानौं घना जंगलको शुन्दरतम हरियारी सरह । घोडाको तुफानी बेगसंगै उनका सिल्की बालहरु हावा मै लहराउँथे । रानीको मादक सौन्दर्यताले बैरीतर्फका सैनिकहरुलाई समेत लठ्याई राखेको थियो । मानौं, भर्भराउँदो ज्वालामा पुतलीहरु फसेझैं एक पछी अर्को गर्दै भिरकोटे सैनिकहरु उनको चंगुलमा फसी राखेका देखिन्थे । बिरंगना रानीले हातमा नाँगो तरबार नचाउँदै र बायुबेगमा दौडदै अन्दा धुन्द बैरितर्फका सैनिकहरुलाई मुलाकाटे झैं काट्न थालिन् । उनका अगाडी जस्तै मैं हुँ भन्ने युद्दमा कुशल ठहर्याईएका सैनिकहरु समेत कोहि टिक्न सकेनन् र एक पछी अर्को गर्दै, ढल्दै र काटिंदै गए । माहोल निकै नै गरम देखिन्थ्थो र घोडाको हिनहिनाहटपूर्ण आहट र ‘तिनताल’को ठोकाईले सबैको रगत तताएको थियो । राजा जसराज खान र सेनापति काशिराज पनि के कम, उनिहरु पनि उत्तिकै कौशलतापूर्वक लडी नै राखे । तैपनि आफ्नातर्फका सैनिकहरुको संख्या कम भएकाले भिर्कोटे संगको यस युद्द भारी पर्दै गैराखेको थियो । लडाँईको सुरुवात भएको पनि निकैबेर भैसकेको थियो । कतिपय सैनिकहरु थाकी पनि सकेका देखिन्थे र कतिपयका त अंगभङग भई ओषधिमुलो पनि गर्दै गरेको देखिन्थ्थो ।

गर्हौं राजा जसराजले आफ्नातर्फ धेरै नै सैनिकहरु हताहत भएको देखे र आफुलाई सहयोग गर्न आउँदै गरेका गुल्मी चारपाला राज्यका सैनिकहरु छिट्टै नआई पुगेमा आफ्नो राज्यको हार हुने कुराको उनले अनुमान लगाए । राजा रानी र सेनापतिको गुप्त संकेतले आफ्ना सैनिकहरुलाई लड्दै लड्दै आफ्नै राज्यको सिमाना मिर्दीखोलाको किनारतर्फ पछी हट्नलाई निर्देशन गर्यो । यसो भएमा सहायताका लागि आएका सैनिकहरु संगको भेट छिटो हुन सक्थ्थो र आफ्ना सैनिकतर्फको क्षति कम हुन्थ्थो भन्ने उनिहरुको अनुमान थियो । गर्हौंतर्फका गुप्तचहरुले “लडाँई अगाडि नै सुरु भैसकेको र आफ्नोतर्फ निकै नै ठूलो क्षति भैराखेको” भन्ने खबर चारपालाका सैनिकहरु वालिङ कटौंजेसम्म आईपुग्दा नै दिई सकेका थिए । यस हिसाबले पनि सहायताका लागि आएका सैनिकहरु छिटो छिटो गरि युद्दमैदान तर्फ लम्कँदै थिए । तर बिडम्बना आँधीखोला बढेकाले, आँधीखोला तरेर हिंड्ने स्थिति थिएन र घ्याङलिङको घाँच घाँचै र बनको पाखै पाखो हुँदै अगाडी बढ्नु पर्ने अवस्था थियो । यहि रफ्तारमा अगाडी बढ्दै जाँदा चारपालाका सैनिकहरु पनि केहि समय पश्चात माझमडैसम्म आईपुगेको देखियो । त्यतिन्जेल सम्ममा गर्हौंकोटेहरुले पछाडी पछाडी हट्दै र लड्दै गई भिर्कोटेहरुलाई निकै नै वर सम्म ल्याई पुर्याएका थिए । आफ्ना सैनिक र बैरी तर्फका सैनिकहरु सजिलैसंग चिन्न सकियोस भनेर गर्हौंराज्यले आफ्ना सैनिकहरुलाई एकै किसिमको छिटो र छरितो खालको पोशाकको ब्यवस्था गरेको थियो । केहिबेर पश्वात चारपालाका सैनिक जथ्था एकाएक गर्हौंतर्फ थपिन आईपुगे । उनीहरुको आगमन पश्चात युद्दभूमिमा कोलाहल र भागाभाग मच्चिन थाल्यो । गर्हौं सैनिकको एकै किसिमको पोशाकका कारणले उनीहरुलाई मित्र सैनिक छुट्याउन गार्हौ भएन । चारपालाका सैनिकहरु थपिन आएपछी लड्दै गरेका गर्हौं तर्फका सैनिकहरु केहि मात्रामा पछी हट्न पुग्यो र नयाँ शक्तिलाई लड्नका निम्ति अगाडी सार्यो । अब सैनिक संख्यामा गर्हौंकोटेहरु धेरै भएकाले गर्हौंकोटेको अगाडी भिरकोटे सैनिकको केहि लागेन र भिरकोटेहरु तर्फ ठुलो क्षति हुन थाल्यो ।

रानी शैलेश्वरीको जोश, जाँगर र उमंगमा कत्तिपनि कमि आएको थिएन । उनको हातमा भएको चमकदार तरबार बैरीका रगत र गर्दनको स्पर्शले झनै चम्के जस्तो भान हुन्थ्थो । माईती राज्यका सैनिकहरुको आगमनले त झनै जोश र उमंग थपेको थियो । कतिपय सुरबिरहरु त उनका बालसखा नै थिए र उनीहरुसंग कैयौंपटक माईतमा हुँदा संगसंगै युद्द अभ्यास पनि गरेकि थिईन् । आफ्नी प्रिय राजकुमारीलाई यसरी राज्यका खातीर लड्दै गरेको देख्दा चारपालाका सैनिकहरु आत्मविभोर हुन पुगे र पागलै सरह ज्यानको प्रबाह नगरी बैरीतर्फ खनिन थाले । अरिंगालका गोला झैं भिरकोटे माथि चारपालाका सैनिकहरु खनिएकाले वातावरण झनै डरलाग्दो र रक्तपातपूर्ण देखिन थाल्यो । भिरकोटे राजाले ‘अब युद्द जित्न सकिंदैन’ भन्ने ठहर गरि आफ्ना बचेका सबै सैनिकहरुलाई पछि हट्न लगाए र ज्यान बचाएर भाग्ने संकेत गरे । लडाईंको मैदानबाट एकाएक भाग्न सम्भब नहुने र यसरी भाग्दा झन बढी क्षति हुने सम्भावना बढ्ने हुँदा भिरकोटे सैनिकहरुले युद्द रोक्नका लागि राजालाई अनुरोध गरे । युद्द चलिनै राखेको थियो र गर्हौंकोटेका तर्फबाट रोकिने सम्भावना कमै मात्र थियो । पहिले नै आफ्ना सैनिकहरु धेरै गुमाई सकेकाले र अहिले थप सैन्यबल प्राप्त भएकाले युद्दको उन्माद उनिहरुमा बढेको थियो । त्यति नै बराबरको क्षति नपुर्याएसम्म र भिर्कोटेलाई लघारी लघारी लखेटेर नकाटे सम्म उनिहरु थामिनेवाला देखिन्नथे । तहिंमाथि भिरकोटेहरुले गर्हौंतर्फ चलाएको लुटपाट र धोखाधडीको दृष्य गर्हौंकोटे शैनिकहरुले बिर्सेका थिएनन् । भिरकोटेतर्फ कोहि कोहि भाग्दै गरेको देखिन्थे भने कसै कसैलाई गर्हौंकोटेहरुले लघारी लघारी घायल बनाई रहेको देखिन्थे । कोहि भने समातिने र काटीने डरले बढीरहेको आँधीखोलामा हेलिएर पारीतर्फ जान खोजेका दृष्यहरु पनि देखिन्थे ।

एकाएक रानी शैलेश्वरी र भिरकोट तर्फका सेनापति रणजंग ठकुरीको आमने सामने भेट हुन गयो । दुबै युद्दकलामा एक से एक निपूर्ण थिए । बल्ल रानीलाई आफ्नो योग्यता बराबरको सैनिकसंग लड्दै गरेको महशुस हुन थाल्यो । यिनीहरु बिचमा निकैबेर घम्साघम्सी नै पर्यो । रानी शैलेश्वरीका निम्ती सेनापति रणजंग ठकुरी निकै नै भारी देखिए । तैपनि रानी हिम्मत हार्नेवाला थिईनन् । एउटा कुशल योद्दासंग लड्नुको रंग नै अर्कै लाग्दै थियो उनलाई । यसैविच सेनापति रणजंगको तरबार बिचबाटै टुट्यो र ठुटो तरबारले उनी लड्न सक्ने भएनन् । केहीबेर त ठुटै तरबारले भएपनि प्रतिकार गर्दै राखे तर धेरैबेर यसरी लड्न कहाँ पो सम्भब हुन्थ्थो र ? तुरुन्तै त्यस ठुटो तरबारलाई भुईंमा फाले र आफुसंग भएको दोश्रो तरबार निकाल्न खोजे । तरबार निकाल्नका निम्ती देब्रे तर्फको म्यानमा यसो के हातमात्र राख्न फर्केका थिए, चतुर रानीले तत्कालै मौका छोपीहालीन् र तुफानी बेगमा सेनापति रणजंग ठकुरीको गर्दन उडाईहालिन् । भिरकोट तर्फका सेनापति अचानक काटिएपछि भिरकोटेहरुमा झनै कोलाहल र हाहाकार मच्चिन थाल्यो । भिरकोटे राजालाई उनका सैनिकहरुले घेरामा राखे र गर्हौंकोटे सैनिक संग प्रतिकार गर्दै पछाडी हट्न थाले । भिरकोट तर्फका सैनिकहरु कोहि आँधीखोलामा हेलिए भने कोहि सेरुङगा र रामबाच्छा तर्फ लुक्दै र छिप्दै भाग्न थाले । पछाडी हट्दा हट्दै राजा पनि अब शेरुंगाको खोंच सम्म आईपुगेका थिए । भिरकोटेहरु पछाडी हट्ने र भाग्नेक्रम जारी नै रह्यो । तैपनि ‘कसैले पिछा गर्दै छन् कि !’ भन्ने डर भाग्ने सैनिकहरु सबैमा थिंदै थियो । गर्हौंकोटेतर्फ भने राजा रानीको जय जयकार हुन थाल्यो र युद्द जितेर बैरीलाई लखेट्ने काम पनि जारी नै रह्यो ।

उता सेरुंगाको थाप्लोमा बसेर युद्द हेरी रहेकी भिरकोटे रानीको हौंसले ठाउँ छाड्न थाल्यो र आफूतर्फ सैनिकहरु भाग्दै र आउँदै गरेको दृष्य देखापर्यो । आफ्नो राज्यको हार भएछ भन्नेकुरा सैनिकहरुको दौडादौड र कोलाहलले प्रष्ट बुझिन्थ्थो । राजा पनि पछि हटेर भाग्दै गरेको दृष्य उनले पनि प्रष्ट नै देखिन् । ज्यान जोगाउनका निम्ती भाग्नु शिबाय उनको पनि कुनै उपाए थिएन यसैले छिटो छिटो आफ्ना सुसारे र डोलेहरुलाई तयार हुन लगाईन । तर सोचिन् ‘डोलेलाई बोक्न लगाएर भाग्नु भन्दा पैदल भाग्नु नै छिटो होला’ भन्ठानेर आफ्ना सहयोगी सहित सेरुङगाको डाँड्डाँडै ढुवानडाँडा हुँदै त्रियासी निस्किईन् ।

यता भिर्कोटे राजा र उनका बचेखुचेका सैनिकहरु बगुवा फाँटको चिसापानीसम्म आईसकेका थिए । गर्हौंतर्फका सैनिकहरुले सिंगारे ठाँटीबाट नै लखेट्न छाडीसकेकाले राजाले बल्ल चैनको सास फेरे । राजा चिसापानीको कुवासम्म आईपुगे र बचेखुचेका सैनिकहरुलाई जम्मा गरे । केहिबेर त्यहाँ आरामगरि मलमपट्टी लगाए र त्रियासी धरमपानी हुँदै आफ्नो दरबार दभूङकोट तिर ठडीए । भिरकोटेहरुलाई लघार्दै आएका गर्हौंकोटे सैनिकहरु सिङगारे ठाँटी भन्दा उता गएनन् र त्यहिंबाट फर्कि आफ्ना सैनिकहरुको जथ्थामा सामेल हुनपुगे । युद्दको भयाबह र कहालीलाग्दो दृष्य खेतका गर्हाहरुमा छरिएका लासहरुले प्रष्ट देखाउँथे । राजा रानीको आदेश अनुसार काटिएका लासहरुलाई परिबारको जिम्मा लगाई आँधीखोलाको किनारमा अवस्थित कटहरे र छेउहरे दहका तिरमा जलाउने र अंगभंग भएकाहरुलाई औषधीमूलो गर्ने ब्यवश्था गरियो । युद्दको समाप्ति पश्चात सबै सैनिकहरु बिजय उल्लासका साथ आफ्नो राज्य गर्हौंकोट ध्याङलिङ तर्फ लागे । फर्कने क्रममा, सबै सैनिकहरुले आ-आफ्ना तरबार यबं खुँडामा लागेका रगत, बाटै छेउमा रहेको माझमडै समीफेदको कुवामा धोईपखाली गर्न थाले । यो ऐतिहासिक कुवा “माझमडैको कुवा”को नामले प्रसिद्द छ । “आफ्ना दाजु भाईहरुको रगत पखालिएको कुवा” भनेर आजसम्म पनि भिर्कोटेहरुले यहाँको पानी पिउनु हुँदैन भन्ने विस्वास रहेको छ र हामी सान्सानै हुँदा हामीलाई पनि यसै भन्ने गरिन्थ्थो ।

रानी शैलेश्वरीको बिरताको गाथा गर्हौं, भिरकोट, चारपाला लगाएत आसपासका सबै राज्यहरुमा डढेलो झैं फैलियो । राजा जसराज खान पनि रानीको सौर्यगाथा सबैतिर फैलिएकोमा मख्ख थिए । रानीको युद्द कौशलता र चातुर्याईंले आफ्नो राज्यले युद्द जितेको कुरामा सबैलाई विस्वास थियो । युद्दको समाप्ति र विजय पश्चात चारपालाका सैनिकहरुले केहिदिन गर्हौंकोट मै आराम गरे र त्यहाँ उनीहरुको ठूलो मान सम्मान र स्वागत गरियो । केहि दिन पछि आफ्नी ईष्टदेबी गर्हौंकालिकामा बिशेष पूजाआजा गरियो र देबीबाट राजा रानी र राजकुमार उत्तिमले आशिर्वाद थापे । यस युद्द पश्चात पहिले झैं भिरकोटेहरुले गर्हौंकोटे जनताहरुलाई लुट्ने, सताउने र तर्साउने कार्य गर्न छाडे । राजा जसराज खानले पनि भिरकोट तर्फका मुख्य मुख्य नाकाहरुमा सैनिक सुरक्षाबल राखिदिए र बेलाबेलामा राज्यको सिमाना सुरक्षार्थ आफै पनि निरिक्षणका निम्ती हिँड्न थाले ।

नोट :बिरंगना रानी शैलेश्वरी र उनको बिरतापूर्ण सौर्यगाथाको ऐतिहासिक ( नयाँ तथ्यहरु सहित ) कथाको इतिहासकाल वि.सं.१५३७ देखी वि.सं.१५५९ बिच गर्हौंकोट राज्यका दोश्रो राजा जसराज खान र भिरकोटे राजा मेदीनी खानको पालाको हो । यो ऐतिहासिक कथा त्यसभेकमा सुनिएका केहि जनश्रुतीहरुका आधारमा तयार पारिएको हो ।

(स्रोत : Merosyangja.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पौराणिक कथा, लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.