नेपाली उपन्यास : हिन्दु नारी

~युवराज बराल~

हिन्दु नारी | नेपाली उपन्यास | युवराज बराल


भाग

मातातीर्थ औंसीका दिन गङ्गाले जसरी भए पनि माइत जान पाउनुपथ्र्यो । मैले ऊसँग विवाह गरेको पाँच वर्ष बितिसक्यो । अहिलेसम्म मैले उसलाई हिन्दूहरूको एउटा उल्लेख्य पर्व मातातीर्थ औंसीका दिन माइत जानबाट रोकेको छुइनँ । उसलाई पठाउन केही कोसेली किन्न बजार निस्किएको थिएँ । त्यहाँ उर्मिलासँग भेट भयो । म उनलाई देख्दा जसरी झस्केँ त्योभन्दा बढी झस्किइन् उनी ।

” तिमी ! यहाँ -” उनको मुखबाट यिनै शब्द निस्के । “अनि तिमीचाहिँ ……. ?” मैले पनि उनको प्रश्नको जवाफ नदिएर प्रति प्रश्न गरेँ ।

“………” । हामी दुबै चुपचाप एकअर्कालाई हेराहेर गरिरहृयौं धेरै बेरसम्म । मौनता भङ्ग उनैले गरिन्, “तिमी कहिलेदेखि र किन यहाँ बस्दै छौ ?”

“तीन-चार महिना भयो यहाँ आएको । मोरङ्गबाट सरुवा भएर म पाँचथर गएको थिएँ । त्यहाँ झन्डै पाँच वर्षबसेपछि बल्ल यता सरुवा भयो । अनि तिमीचाहिँ कहाँबाट, कसरी र किन यहाँ आएकी -” मैले भनेँ । उनी मुसुक्क हाँसिन् र सुस्तरी बोलिन्, “मलाई राम्ररी नियालेर तिमीले हेरेकै रहेनछौ । एकपल्ट नियाल त ….. ।”

उनले भनेझैं मैले उनलाई नियालेर हेरेँ तर केही नयाँ र नौलोपन देखिनँ जसले गर्दा उनी विराटनगरबाट यो व्यस्त महानगरी आउन बाध्य भइन् । उनी त त्यस्तै थिइन् ठीक पाँच वर्षअगाडिकी जस्तै राम्री, हँसिली, गोरी र चिटिक्क परेकी, उन्मुक्त एउटी परी झैं ।
मेरो अन्योलतालाई उनले बुझिछन् अनि सलले छोपेको रातो पोतेको त्यान्द्रो औंलाले उचालेर देखाउँदै भनिन्, “अब त बुझयौ ?”

“कहिले ?” अनायास मेरो मुखबाट निस्किएको शब्द हो यो ।

“दुई वर्ष पुग्न लाग्यो ?”

“अनि घर यतै हो कि……. ?” मैले सोधेँ ।

“घर त मोरङ्गतिरै हो ।”

“अनि यहाँ …… ?”

“केही दिनका लागि आएकी । सायद भोलि, पर्सितिरै र्फकन्छौं होला ।”

“मतलब धेरै जना छौ हो ?”

“श्रीमान् पनि आएका छन् ।”

“हेर न तिमीसँग पाँच वर्षछि आज भेट भयो । धेरै कुरा गर्न मन लागिरहेको छ । तिमीसँग समय छ भने केही क्षणको लागि रेस्टुरेन्टमा बसौं हुन्न ?”

“हुन्छ जाउँ न त ।दुई घण्टा फुर्सद छ मलाई ।”

उनको स्वीकृति पश्चात् हामी नजिकैको सानो तर चिटिक्कको एउटा रेस्टुरेन्टमा छिर्यौं । केही खानेकुराको अर्डर दिइसकेपछि मैले भनेँ, “उर्मी ! तिमीले आफ्नो कर्मघर सजाउन थालेको दुई वर्ष भइसकेछ । विवाहमा निम्तो गर्न तिमीले आवश्यक ठानिनौ, त्यसमा मेरो गुनासो पनि छैन । बरु भन न त्रि्रो गृहस्थ जीवन कस्तो चल्दै छ – श्रीमान् के काम गर्छन् – घरमा को को छन् – बच्चा कत्रो भयो -” मैले यसरी नै प्रश्नको वर्षा गरेँ उनीमाथि ।

“खै, के भनूँ … तिमीलाई ढाँट्ने सामर्थ्य मसँग छैन । नढाँटी भन्दा तिमी पत्याउँदैनौ पनि होला । मेरो यो विवाह मेरो इच्छा विरुद्ध भएको हुनाले मैले आफ्ना कुनै साथीहरूलाई बोलाइनँ । जबरजस्ती गरिदिएको विवाहमा मन रमाउन सकेन । आफैं रमाउन नसकेको कार्यबाट साथीहरू के रमाउन सक्लान् र भन्ने सोचेर नै नबोलाएको । रहृयो कुरो मेरो घरको, श्रीमान् एउटा प्राइभेट र्फममा काम गर्छन् । घरमा सासू-ससुरा र एउटी नन्द छन् । बच्चा चाहिँ छैन ।”

“अनि के कामले काठमाडौं आएकी त अहिले र ? फेरि श्रीमान् पनि आएका छन् भन्थ्यौ, यहाँ एक्लै छ्यौ ।”
“ससुरा बिरामी छन् । त्यसैले औषधि गर्न लिएर आएका हौं । श्रीमान् अहिले अस्पतालमा बाबुलाई रुँगेर बसेका छन् ।”

“बिराम घट्दै होला नि ?”

“छैन, खै अब घर नै फर्काउँछौं होला ।”

“…………….. ।”

“हैन, तिमी आफूमात्र प्रश्न सोधिरहन्छौ कि मलाई पनि सोध्ने मौका दिन्छौ ?” उनले मुस्कुराउँदै भनिन् ।

“सोध न ।” मैले पनि सहजरूपले नै अनुमति दिएँ ।

“तिमी यहाँ जागिर खाँदै छौ भन्ने त थाहा पाएँ । अनि छोराछोरी कति भए, कत्रा भए, श्रीमतीलाई कहाँ राखेका छौ ?”

“खै उर्मी के भनौं तिमीलाई – सन्तानको मुख हेर्ने मेरो भाग्य रहेनछ । भाग्यमै नभएको चीज खोजेर पनि भएन । श्रीमतीलाई यहीँ ल्याएको छु । भोलि मातातीर्थ औंसी त्यसैले माइत जाने इच्छा व्यक्त गरेकीले केही सामान किन्न अहिले निस्किएको ।”

मेरो आँखा रसाएछ यति बोल्दा । उनका आँखामा पनि आँसु टल्किएको मैले देखेँ ।
“उर्मी……” मैले सोध्न सकिनँ ।

“तिम्रो भाग्य अधुरो छ भन्ने कुरामा म विश्वस्त छुइनँ । तिमीले के कारणले सन्तानको मुख हेर्न पाएनौ भन न ।”

“उर्मी ! म मेरी पत्नीलाई असाध्यै प्रेम गर्छु उनको खुसीको लागि म जस्तोसुकै त्याग गर्नसक्छु । त्यसैले मैले सन्तानको मोह त्यागिसकेको छु । मलाई सन्तान चाहिएको छैन ।”

“तिमीले भन्न खोजेको मैले बुझिनँ ।”

“मेरी पत्नी आमा बन्न सक्दिनन् । मैले आफूमा बाबु बन्ने क्षमता पर्याप्त मात्रामा हुँदाहुँदै पनि सन्तानको मुख हेर्न पाइनँ । गङ्गाले पनि यो सब कुरा बुझेकी छन् । त्यसैले उनी बारम्बार मलाई आग्रह गरिरहन्छिन्, दास्रो विवाह गर्नुहोस् भनेर ……. तर म सक्दिन उर्मी …….ती मेरी पत्नी गङ्गालाई उनैको घरमा सौता हाल्न म सक्दिन । त्यसैले त मैले दोस्रो विवाह नगर्ने निर्णय गरेर सन्तानको मोह नै त्यागिदिएँ ।” मेरो कुरा सुनेपछि उनी केही बोलिनन्, चुपचाप आँखा चिम्लिएर केही सोचिरहिन् । त्यसै बेला बेयराले कफी ल्याएर राखिदियो ।

“उर्मी ! के सोचेकी ?”

मेरो प्रश्नले उनी झस्किइन् र हत्तपत्त बोलिन्, “केही हैन -”

“तिमी झुटो बोलिरहेकी छौ । तिम्रो मनमा कुन कुरा खेल्दै छ मलाई भन्नु हुँदैन ? हुँदैन भने म कर गर्दिनँ, भइगयो नभन, मेरो विवशता मैले त्रि्रो सामु एउटी आत्मीय साथी सम्झेर भनेको हुँ । गलत नसोच ल ……… ।”

“तिमीलाई कसरी गलत सोच्न सक्छु म ? तिम्रो कुरा सुन्दा मलाई ………… म मेरो पति र तिमीबीच तुलना गर्न पुगेँछु ।”

“त्यो त मेरो भाग्य हो उर्मी । तिम्रो पति समानको दर्जा …….. ।”

उनले मेरो मुख थुनिन् र बोलिन्, “अहँ ! तिमी मेरो पतिसँग तुलना हुनै सक्दैनौ ।”

मैले गल्ती बोलेको आभास भयो मलाई । मेरो कुराले उनको चित्त नदुःखोस् भनेर माफ माग्दै भनेँ, “उर्मी ! मलाई माफ गरिदेऊ है, मनमा लागेको कुरा बोलिहालेँ ।”

“त्यसो नभन, मलाई त्यति ठूली नसोच । मेरो पतिभन्दा तिमी धेरै माथि छौ । मेरो पति जो सन्तानको लालचले पहिली पत्नीलाई लत्याएर दोस्री पत्नी भित्र्याउन पाउँदा गर्वले छाती फुलाउँछन् । तिमी सन्तानको आसमा आफ्नी पत्नीमाथि सौता हालेर उसको अपमान गर्न चाहँदैनौ । बरु त्यो आस नै त्याग गर्न अघि सर्यौ भने कसरी तुलना हुनसक्छ – त्यसैले तिमी त मेरो पतिभन्दा महान् छौ ।” यति भन्दा उनका दुबै आँखा आँसुले टप्प भरिएका थिए । एक-दुइ थोपा आँखाका डिलबाट झरेर गालामा गुड्दै थिए । मैले उनको दुःखेको घाउमा नुन-चुक र्छन चाहेको हैन तर मुखबाट अनायासै प्रश्न फुस्किइहाल्यो, “उर्मी ! तिमीमाथि सौता हालेर तिमीलाई ………….. -”

“हैन । मेरी जेठी सौता छ । म नै सौतामथि ……………. ।”

” तिम्रा बुबाआमाले के हेरेर तिम्रो विवाह गरिदिएका त सौतामाथि – कि थाहा पाएनछन् ?”

“यसको लामो कथा छ । तिमी र म अलग्गिएको पाँच वर्षे मेरो जीवनमा कति उथलपुथल ल्यायो त्यो सबै भन्न सक्दिन म ।”

“मलाई पर्राई सम्झन थालेकी अब ? मलाई भन्न नसक्ने घटनाहरू छन् भने म कर गर्दिनँ । तर उर्मी पीर बाँड्दा घट्छ भन्छन्, त्यसैले भन्नु हुने छ भने सुनाऊ । मेरो यही बिन्ती छ तिमीलाई ।”

उनले घडी हेर्दै भनिन्, “अबेर भयो, उनी मेरो बाटो हेर्दै होलान् । अहिले म जाउँ ? भोलि म मेरो जीवनको एक-एक पीडा र चोट तिमीलाई सुनाउँछु । त्यसैले भोलि त्रि्रो अफिस पश्चात् पाँच बजेतिर यहीँ भेटौं हुन्छ ?”

मैले हुँदैन भन्न सकिनँ । उनको समय छैन भने मैले कर कसरी गर्नु, त्यसैले स्वीकृति जनाएँ । कफीको बिल मैले तिरेँ । हामी निस्किएर आ-आफ्नो गन्तव्यतिर लाग्यौं, मुटुभरि पीर, व्यथा र जिज्ञासा बोकेर ।


भाग

उमेरले म उर्मीभन्दा झन्डै चार-पाँच वर्षे नै जेठो हुँलाजस्तो लाग्छ तर पनि उनी मलाई निर्लज्ज तिमी नै भन्छिन् । सहपाठी भएकाले पनि तिमी नै भनेको हुनसक्छ । खूबै ठालु पल्टिएर मैले ‘तिमी मभन्दा सानी छौ, त्यसैले मलाई तपाईं भन ।’ भन्न पनि सकिनँ । उनले भनेको त्यही ‘तिमी’ शब्दसँगै म रमाउँदै गएँ । त्यस बेला म पढ्न विराटनगर गएको थिएँ । डेराको पिरलोबाट मुक्ति मैले उनैको घरमा गएर, पुगेर नै पाएँ । त्यस बेला उनी किशोरी थिइन् । राता-राता गालाका ती भुसभुसे गर्भे कैला रौंहरू भर्खर र्झन लागेका थिए । त्यस बेला अलि उत्ताउली हुनुपर्ने, चञ्चल हुनुपर्ने तर उनी त्यस्ती थिइनन् । साह्रै गम्भीर, लज्जालु र असाध्यै धार्मिक स्वभावकी थिइन् उनी । हुन त उनको पूरै परिवार नै धर्मप्रति बढी लगाव राख्ने खालको थियो । बाबु पण्डित माधवप्रसाद नाम कहलिएका र चिनिएका थिए । हिन्दू धर्मशास्त्र र पुराणका ज्ञाता भएकाले नै उनको नाम चर्चित थियो । आमा पनि असाध्यै धार्मिक र दयालु स्वभावकी थिइन् । एउटा भाइ थियो त्यो अलि सानै भएकाले उसको चालचलन त्यति ख्याल गरिएन ।

उर्मिलामा बाबुआमाको बानी व्यवहारको प्रत्यक्ष प्रभाव परेको थियो । प्रत्येक हप्ता ब्रत बस्ने र धर्मग्रन्थहरू पढ्ने उनको बानी थियो । त्यसो त फुर्सद भएका बेला पण्डित बाबु पनि धर्म-कर्म र व्यवहारका राम्रा-राम्रा अर्ती उपदेश दिन्थे । त्यस्ता धर्म-कर्मका कथा, उपदेश सुन्ने अवसर यदाकदा म पनि पाउँथेँ । यिनका घरमा बसेका बेलाको अतीत, यिनको परिवारको न्यानो मायामा, आमाबाट पाएको अति मीठो स्पन्दनका मधुरिमामा मैले पाएको परमानन्द तृप्तिको अनुभव अहिले पनि भइरहेको छ मलाई । एउटा धार्मिक र परम्परावादी परिवारकी तर साह्रै ममतामयी आमाको न्यानो काखमा पुल्पुलिएर हुर्केकी उर्मीको सहनशीलतादेखि म पनि त्यसबेला साह्रै प्रभावित भएको थिएँ ।

हामी दुबै कक्षा दशमा पढ्थ्यौं । मैले बाल्यकालमा पढ्ने अवसर पाइनँ । त्यसैले अलि ढिलै पढ्न थालेको थिएँ । घरको आर्थिक अवस्था पनि त्यति बलियो नभएकाले पढ्न ढिलो भयो । उमेर बढी भए पनि मैले पढ्न गाह्रो मानिनँ । मेहनत र परिश्रमको कारण म प्रत्येक वर्ष कक्षामा प्रथम हुँदै आएको थिएँ । उर्मी पढ्न साह्रै जान्नेचाहिँ थिइनन् । त्यसैले उनी प्रायः मसँग पढ्न सिक्न रुचाउँथिन् । पढाउने बहानामा मेले धेरैपल्ट उनलाई पिटेँ पनि तर उनले कहिल्यै त्यो कुरामा आपत्ति जनाइनन् । उनलाई मेरो साथ मीठो लाग्थ्यो क्यार, मेरो अनुमानमात्र हो । उनी मसँग बसेर घण्टौं कुरा गर्थिन्, म त झन् समय बितेको पत्तोसमेत पाउँदिन थिएँ । त्यस बेला उनले मलाई धेरै सुनाउने विषयहरू भगवान् रामको आदर्श, सीताको पतिपरायणता, लक्ष्मण र भरतको भातृत्व आदि नै हुन्थे भने कहिलेकाहीँ हामी हाम्रा साथीहरूले गर्ने प्रेम प्रसङ्गको पनि चर्चा गथ्र्यौं । एक प्रकारले भन्दा म त्यस बेला धर्म र धर्मशास्त्रको ज्ञान नभएको लठ्ठू नै रहेछु । त्यसैले खूब चाख लिएर सुन्थेँ उनका कुरा ।

मेरो मनमा उर्लिएर आउने भावनामा उर्मीको प्रशंसा मिसिएको हुन्थ्यो । “नेपाली समाजमा उर्मीजस्तै आदर्श र धार्मिक हिन्दू नारीहरू जन्मिइरहे भने हाम्रो यो धर्म, शिक्षा र समाज हिन्दूत्वको आकाशमा अविनाशी ताराहरू जाज्वल्यमान भएर दीप्ति छरिरहने छन् । हरेकका मन मस्तिष्कमा धर्मर्-कर्मको, त्याग र तपस्याको अनि माया, ममता र सेवा र्समर्पणको भाव लहराइरहनेछ । एक दिन हाम्रो सम्पूर्ण हिन्दू धर्म र यो समाजको एकल नेतृत्व लिन उर्मी सफल हुनेछिन् ।” यस्तो लाग्थ्यो मलाई । किशोरावस्था पार गर्दा उनले हिन्दू धर्मका धेरै ग्रन्थहरूको अध्ययन गरिसकेकी थिइन् । सौम्य मुखमण्डल, शान्त र गम्भीर स्वभाव, तीक्ष्ण बुद्धि, निर्मल र पवित्र आत्माबाट प्रस्फुटित मीठो अभिव्यक्ति आदि विशेषता बोकेकी ती सुकुमारी सङ्गीतप्रति आकर्षित थिइन् । हर साँझ उनको घरमा भजन हुन्थ्यो । खासगरी त्यसैबाट उनी सङ्गीतप्रति आकर्षित भएकी थिइन् क्यारे । उनी फुर्सदको समयमा सङ्गीत पनि सिक्न थालिन् । सङ्गीत सिक्न सङ्गीत कक्षा जाने उनको इच्छा पूरा गर्न बाबुआमाले रोक्न खोजेका थिए । परम्परावादी स्वभावका पण्डित माधवप्रसादलाई सङ्गीत भनेको नराम्रो विधा होइन, यो त एउटा साधना हो, कला हो, सङ्गीतबिनाको भजन पनि अधुरो हुन्छ भनेर बुझाउन मैले ठूलै प्रयास गरेकाले उनले अनुमति पाएकी थिइन् सङ्गीत कक्षा जान । त्यसैले पनि होला त्यसपछि उनी मप्रति झन् बढी कृतज्ञ भएजस्तो लाग्यो मलाई ।

उनले सङ्गीत सिक्न थालेपछि प्रायः उनी सङ्गीतकै चर्चा बढी गर्न थालिन् । कहिलेकाहीँ उनका सङ्गीत सिक्न जाने साथीहरूको पनि चर्चा गर्थिन् । ती सहपाठीहरूमध्ये पनि सनतसिंहको चर्चाचाहिँ अलि बढी नै गर्थिन् । मलाई चाहिँ खूबै इर्ष्या लाग्थ्यो । मनमनमा शङ्का उपशङ्काको ज्वारभाटा पनि चल्थ्यो । फेरि उर्मीजस्ती नारीको चरित्रमा शङ्का गर्नु पाप हो भनेर आफ्नो मनलाई म सम्झाउँथेँ । हामी दुबैले एस.एल.सी. परीक्षा पास गर्‍यौं । हामीले क्याम्पस पनि सँगै पढ्ने निधो गर्‍यौं र त्यहीअनुसार नाम पनि दर्ता गर्‍यौं मेरो घरको आर्थिकस्तर त्यति राम्रो थिएन । बुबाले ठूलो मिहिनेत र कष्टले मलाई पढाइरहनुभएको थियो । त्यसैले म एउटा सानो आम्दानीको स्रोत खाज्दै थिएँ । काम गरेर रुपैयाँ जुटाई पढ्न पाए बाबुआमाको आर्थिक बोझ कम हुन्थ्यो भन्ने सोचेर काम खोजिरहेको थिएँ । त्यसै बेला एक जना दाइले लोकसेवा आयोगमा खरिदारको जागिर खुलेको सूचना दिए । उनको निर्देशनअनुसार मैले फर्म भरेँ अनि परीक्षा पनि दिएँ ।

म जीवनको सबैभन्दा धेरै खुसी भएँ त्यो दिन, जुन दिन मैले गोरखापत्रमा आफ्नो नाम देखेँ । मैले लोकसेवा आयोगको लिखित परीक्षा पास गरेँ । मौखिकमा समेत म पास भएँ । संयोग भनौं कि भगवानको कृपा नियुक्ति पनि विराटनगरमा नै पाएँ । मेरो पढाइले त्यसपछि चाहिँ गति पायो । मेरो आर्थिक समस्या समाधान भएपछि मेरो मन अलि चुलबुलिन थाल्यो । उर्मीसँग प्रेम गर्ने, दाम्पत्य जीवनमा रमाउने सपना सजाउँदै उठ्न थाल्यो, मनले सिँगारिएको रन-वन भरि-भरि । म उर्मीलाई आफ्नो मनको भावनाहरू राख्ने उपयुक्त अवसरको खोजी गर्दै थिएँ । दिन प्रतिदिन म उनीबाट प्रभावित हुँदै गएँ अनि आकर्षित हुँदै गएँ । वाल सूर्यका स्वर्णिम रश्मिहरूले सजिएको वसन्ती प्रभात जस्ती मनमोहक रूप र लावण्यकी धनी ती उर्मीको सौन्दर्य साह्रै मोहक थियो, लोभलाग्दो थियो । यही उनको रूप र स्वभावको आकर्षणले नै मेरो अर्न्तरमनभित्र सुषुप्तावस्थामा रहेको प्रेम अङ्कुराउन थालेको थियोजस्तो लाग्छ । उनको सद्भावना, सौजन्य र शीलस्वभावले द्रवीभूत हुँदै गएँ म । उनको कला र कलाप्रतिको समर्पण अनुकरणीय र भविष्यका लागि समेत आशाप्रद देख्न पाउँदा मेरो मन हर्षित हुन्थ्यो । उनको त्यो व्यवहारले मलाई झन्-झन् उनीतिर आकर्षित गर्दै लग्थ्यो । उनले क्याम्पस बरु कतिपल्ट छुटाइन् तर सङ्गीत कक्षा एकपल्ट पनि छुटाएकी थिइनन् ।

पढाइमा भन्दा बढी ध्याउन्न उनको सङ्गीतप्रति नै बढ्दै गएको देखेर मैले सोधेँ, “उर्मी ! सङ्गीतप्रति बढेको तिम्रो लगाव नराम्रो होइन राम्रै हो तर …… यसरी पढाइलाई चाहिँ चटक्कै माया मार्नु चाहिँ राम्रो होइन । पढाइलाई निरन्तरता दिने गर नत्र तिमी फेल हुन्छौ । पहिलो वर्षको पनि दुईवटा विषय बाँकी नै छन्, फेरि दोस्रो वर्षको पनि बिग्रियो भने ……… ?” उनले चञ्चलतामा नै भनिन्, “अब पढाइप्रति मेरो मन नै जाँदैन । सङ्गीत र सङ्गीतको ताल, सुरसँगै आउने उसको प्रतिविम्ब अनि मीठो प्रेम यिनै कुरामा म खुसी छु र सधैं यही खुसीले बाँच्न पाउँ बस ! म यति चाहन्छु ।” “कसको प्रतिविम्ब ….. ?” म झस्किएछु । मेरो मुखबाट एक्कासि यिनै शब्द निस्किए । “सनतसिंह, मेरो मनको राजा, मेरो मनको सिंहासनमा विराजमान भई ममाथि राज गर्ने ….. मेरो तन, मनको राजा ।” उर्मीको कुराले म रनभुल्लमा परेँ । पृथ्वी घुम्यो फनफनी । सयौं-सयौं बारुलाले चिले मलाई । आँखा रसाउन खोजे । आफ्नो मनले रोजेकी नारीको मुखबाट त्यस्तो शब्द निस्कँदा कसलाई बज्र पर्दैन र ! मैले आँखा चिम्म गरेँ रिँगटाबाट बच्न । “तिमीले कस्तो प्रेमको कुरा गरेकी -” “सनतसिंह भन्ने मान्छेसँग म प्रेम गर्छु, ऊ पनि मलाई प्रेम गर्छ । ऊ मेरो आदर्श हो, इच्छा, आकाङ्क्षा र चाहना हो ।” “तिमीले उसलाई कति गहिरिएर चिनेकी छौ ? उसको घर, थर, व्यवहार सबै बुझेकी छौ ?” “छैन मैले केही बुझेकी छैन । केही नबुझेर पनि म ऊसँग प्रेम गर्छु ।” “उर्मी ! अल्लारे बैँसको वशमा परेर गरिएको माया-प्रीतिले मानिसलाई बहकाउँछ मात्र । अप्रत्याशित रूपले त्यसरी बाँधिएको प्रेमसूत्र त्यति दरिलो हुन्छजस्तो पनि लाग्दैन । त्यसैले भविष्य विचार ……….. ।” मैले बोलेका कुरा सुन्ने धैर्य उनले गरिनन् । उनी उठेर हिँडेपछि बोलिन म ।

मैले सनतसिंहको बारेमा खोजीनिधी गरेँ । त्यो मान्छेसँग मलाई असाध्यै इर्ष्या लागेकाले मैले उसलाई खूब पछ्याएँ, उर्मीबाट अलग्याउन । उसको सङ्गतबाट थाहा पाएँ, ऊ उर्मीको पछि लागेको होइन रहेछ; उर्मी नै उसको पछि लागेकी रहिछिन् । उसले आफू अछूत जातको भएको र उर्मी ब्राम्हण जातकी भएकीले यो समाजमा हाम्रो प्रेम फस्टाउन सक्दैन भन्ने कुरा राम्ररी बुझेको रहेछ र त्यही कुरा मलाई बतायो । एकप्रकारले ऊप्रति मलाई रिस उठ्न छाड्यो; बरु उल्टो सहानुभूति पलायो । “उर्मी सनतसिंहसँगको तिम्रो प्रेम सफल हुन सक्तैन । हुन त कतिपय जोडीहरू स्वदेशप्रेम त्यागेर मुग्लान भासिएको सत्य कथा पनि नसुनेको होइन तर ……. यो अहिलेको अधकल्चो समाजमा त्यही प्रेमसूत्रबाट दाम्पत्य जीवनको जग बसालेर जिउन कठिन नै पर्लाजस्तो लाग्छ । यो समाजलाई अधकल्चो मैले यस अर्थमा भनेको हो कि यहाँ आधुनिकताको नाममा जातपात र छुवाछूतसम्बन्धी धारणा पूर्ण रूपले हटाउन पनि सकिएको छैन र कतिपयले यो भेदभव उचित छैन भनेर सामाजिक क्रान्ति नै ल्याउन खोजेका पनि छन् । कानुनतः त्यो भेदभाव बन्देज नै छ; त्यसैले अधकल्चो नै भन्दा अत्युक्ति नहोला ।” मैले आफ्नो स्वार्थबाट प्रेरित भएर यसो भनेको थिएँ । उनमा एउटा आत्मविश्वास रहेछ । त्यो प्रेमले उब्जाएको आँट पनि होला । उनले भनिन्, “मेरो पवित्र आत्मामा लघुताभास सिर्जना गरिदिन नखोज न । म स्वदेशको मायालाई चटक्क भुलेर मुग्लान भासिने पक्षमा पनि छुइनँ । स्वदेशकै कुनाकन्दरामा पुगेर जीवन र जगत्को यथार्थता बुझेर र हरेकपल हाम्रो माया-प्रीति मौलाएर झाँगिएको हेर्ने र जिउने रहर छ मलाई ।” “उर्मिला ! ज्यादै सोचविचार गरेर पाइला चाल्नु निको होला । हीनताबोधले ग्रसित भएर बाँच्नुपर्दा असाध्यै कष्ट हुन्छ । निर्धक्कसँग समय र परिस्थितिसँग जुध्नु, परिस्थितिको दास भएर टाउको निहुराएर जिउनुभन्दा त साह्रै उत्तम हो । एकै क्षणको उमङ्गमा बहकिँदा जिन्दगीभर पछुताउनु पर्ने पनि हुनसक्छ । सोचविचार गरेर पाइला चाल्नु पर्छ । विवशता र बाध्यता त तिमीलाई केही छैन, तिमी स्वतन्त्र छौ एकदम स्वतन्त्र । त्यसैले अनिश्चितताको सँघार नाघेर आफ्नो जीवनको निर्णय गर ।” आशातीत नयनले उनीमाथि दृष्टि दिएर मैले यति भनेँ ।

मेरो मनमा उनीप्रतिको प्रेम मौलाएर गएको थियो जस्तो पनि लाग्छ । मैले जतिसुकै सम्झाए पनि उनी मान्न तयार भइनन् । हुन त मैले उनको सामु परेर ‘म तिमीसँग प्रेम गर्छु’ भनेर कहिल्यै भनिनँ । सनतसिंहभन्दा म उत्तम छु तिम्रो लागि भनेर मैले भन्नु हुने पनि थिएन । अप्रत्यक्ष रूपमा मैले प्रयास गरेँ, आफ्नो माया जालमा उनलाई पार्न तर म सफल भइनँ । त्यसै बेला घरबाट बुबाले बोलाउनुभयो । म घर गएँ । मेरो विवाहको कुरा चल्यो, केटी हेरेँ, मन पर्यो र विवाह पनि गरेँ । गङ्गा मेरो जीवनकी अर्धाङ्गिनी भएर आइसकेपछि मैले आफ्नो सम्पूर्ण प्रेम उसैमा सुम्पिएँ । मेरो मन मस्तिष्कमा बसेको उर्मीको छाप क्रमशः मेटिँदै गयो । विवाह गरेको झन्डै सात-आठ महिना पश्चात् मेरो पाँचथर सरुवा भयो अनि त उर्मीको घरबाट बिदा भएर गङ्गालाई साथै लिएर म पाँचथर गएँ । पाँचथरमा चार वर्षबसेपछि मेरो फेरि काठमाडौं सरुवा भयो । काठमाडौं पुगेको तीन महिना पश्चात् उर्मीसँग भेट भयो । झन्डै पाँच वर्षपश्चात् उनीसँग भेट हुँदा मैले सनतसिंहको बारेमा सोध्न सकिनँ । उनले ‘मेरो इच्छा विपरीत विवाह भयो’ भनेर भनिसकेपछि मैले बुझिहालेँ सनतसिंहसँग उनको विवाह भएन छ भनेर । “उनीहरूबीच विछोड कसरी भयो ?” यो प्रश्नले मलाई घोचिरह्यो । ‘कस्तो बाध्यताले उनको विवाह सौतामाथि भयो र?’ यो अर्को प्रश्न झन् जटिल भएर मेरो सामु उभियो । गङ्गालाई माइत पठाउन रात्रि बस चढाएर कोठामा फर्किएपछि एक्लोपन र शून्यतामा रुमल्लिएको मेरो मन ती प्रश्नको जवाफ खोज्न प्रयासरत रह्यो रातभर ।

 भाग

निर्धारित समयमा म उर्मीलाई भेट्न गएँ । उनी मेरै प्रतीक्षा गरिरहेकी रहिछन् । हामीले रेस्टुरेन्टको सट्टा मेरो आफ्नै डेरा जाने निधो गर्यौं र एउटा ट्याक्सी चढेर त्यतै लाग्यौं ।

“उर्मी ! समयको फन्कासँगै घुम्दै जाँदा फेरि भेट भयो । मैले त सपनामा पनि सोचेको थिइनँ, यसरी तिमीसँग अकस्मात् भेट होला भनेर ।” कोठाको चाबी खोलेर हामी भित्र पसिसकेपछि ढोका लगाउँदै मैले भनेँ ।

“हाम्रो भेट भयो र यो हुनुपर्ने पनि थियो । मैले मेरो जीवनमा विश्वास र श्रद्धा गरेका दुई जना पुरुषमध्ये तिमी एक हौ । सनतसिंह अर्को व्यक्ति हो जसलाई विश्वास गरेर मैले आफ्नो पवित्र प्रेमको साथै तन, मन समर्पण गरेकी थिएँ । अतीत मेरो जे-जस्तो भयो-भयो तर वर्तमान र भविष्य म बिगार्न चाहन्न । मेरो मन ……… खै कसरी भनूँ तिमीलाई – मेरो मन यस समाजसँग विद्रोह गर्न तम्सिइरहन्छ ।” उनले भन्न खोजेको कुरा स्पष्ट भनिनन् र मैले पनि केही बुझिनँ पनि । “तिम्रो विवाह सनतसिंहसँग भएन भन्ने अनुमानसम्म लगाएँ ।”

मैले उनको जीवनचक्रको पृष्ठभूमि बुझने तिम्रोले कुरा कोट्याउँदै भनेँ, “आखिर किन तिमीले ऊसँग छुट्टिनु पर्यो ? फेरि कुन बाध्यताले तिम्रो विवाह सौतामथि त्यसमा पनि आफूलाई मन नपरेको व्यक्तिसँग भयो भन न उर्मी ।”

“मैले अघि भनेँ, सनतसिंहलाई विश्वास गरेर मैले आफ्नो तन र मन सुम्पिएकी थिएँ भनेर । त्यसैको प्रतिफल म …………. म दुई जीउकी भएँछु । जब यो कुरा थाहा पाएँ त्यसपछि म हत्तारिएँ विवाह गर्न । विचरो त्यो मान्छे मेरो आग्रह टार्न किन सक्थ्यो र । उसले पनि स्वीकार्यो । हामी भाग्ने तरखर गर्दै थियौं मेरी आमाले खै कसरी-कसरी मेरो तिम्रो बुझ्नुभएछ । उहाँले मलाई सतर्क गराउनुभयो । म रोएँ, कराएँ वहाँसँग । आफ्नो प्रेमको भिक्षा मागेँ । आमासँग अलाप-विलाप गर्दै थिएँ खै कताबाट आएर बुबाले मेरो बाटो छेक्नुभयो । वहाँले अघिदेखि हाम्रो कुरा सुनिरहनुभएको रहेछ । बुबाबाट उम्कने प्रयास गर्दा म लडेँ र मेरो टाउकोमा चोट लाग्यो । म आफ्नै घरमा बन्दी भएँ । टाउकोको घाउबाट बगेको रगतले कपडा भिजेका थिए तैपनि मेरा बुबाको मनमा दया पलाएन । साँझमा आमाले मेरो घाउमा मलमपट्टी गरिदिनुभयो । केही खाने औषधि पनि ल्याउनुभएको थियो । मलाई केही थाहा भएन ती औषधि कहाँबाट कसरी ल्याइएको थियो । घाउ निको पार्ने औषधिसँगै मिसाएर गर्भ तुहाउने औषधि पनि मलाई खुवाएछन् । मेरो इच्छा विरुद्ध मेरो गर्भ फालियो । आँसुको सागरमा डुबेर मैले कति दिन र रातहरू बिताएँ । लामो प्रयासपछि बल्ल एक दिन मैले घरबाट निस्कने मौका पाएँ । घरबाट निस्किएर म सीधै सनतकहाँ पुगेँ । अपसोच उसले त घर छोडेको पनि हप्तौं बितिसकेको रहेछ । उसकी एउटी सानी बहिनीले एउटा बन्द खाम ल्याएर मलाई दिई । त्यहाँ उसले लेखेको थियो – ‘मलाई विश्वास छ कुनै न कुनै दिन तिमी यहाँ जरुर आउनेछ्यौ तर तिमी यहाँ आउन्जेलमा म धेरै टाढा पुगिसकेको हुनेछु ।

यो समाजमा विद्यमान जातपात र धर्मको कुरीति रहुन्जेल हाम्रो मिलन असम्भव रहनेछ । म तिमीलाई पाउने आशामा आफ्नो र आफ्नो परिवारको जीवन गुमाउन चाहन्न । त्यसैले तिमीले यो सम्झ कि म अब तिमीलाई साथ दिन सक्दिन । तिमी आफ्नो भलो सोच । तिमीले साँचेको मेरो प्रेमको नासो मलाई चाहिँदैन । त्यो कतै फालिदिए हुन्छ ।’ अरू विभिन्न व्यथाहरू लेखेको थियो । म रुँदै घर फर्कें । एक मनले त म आत्महत्या गर्न तम्सिएकी पनि थिएँ । फेरि अर्को मनले मलाई रोक्यो । त्यसपछि म शून्यतामा रुमल्लिएर बाँच्न थालेँ । केही समय पश्चात् मेरो विवाहको कुरा चल्यो । मेरो सनतसिंहको प्रेमको बारेमा थाहा पाउनेहरूमा म, सनत, मेरी आमा, मेरा बुबा र तिमी गरी जम्मा पाँच जना मात्र हो । तिमीले कसैलाई सुनाएनौ, आमा-बुबाले त आफ्नो इज्जतको डरले त्यो कुरा कसैलाई सुनाउनु त के आफैं सम्झनसमेत डराए । सनतले गाउँ नै छाडेपछि त्यो सत्य ऊसँगै गयो । म आफ्नो कुरा अरूलाई सुनाउन कहाँ जाऊँ – मेरो चरित्रको खोट नदेखिएपछि विवाहको कुरो चल्न कुनै गाह्रो पनि भएन । “म मेरा बाबु-आमाको बोझ भएकी थिएँ । त्यसैले राम्रो, धनी र जात मिल्दो केटो माग्न आएपछि त्यस केटाको घर व्यवहार र अतीत केही नबुझी त्यही केटाको हातमा दान गरिदिए मलाई । मेरो दान गरेर बुबा-आमाले कस्तो पुण्य कमाउनुभयो त्यो मैले देखेकी छुइनँ तर मेरो चाहिँ बेहाल भयो ।” यति भनेर लामो सुस्केरा हालिन् उर्मीले । उनी मेरो बिछ्यौनामा बसेकी थिइन् । म उनको सामुन्ने एउटा सोफामा बसेको थिएँ । उनका आँखाबाट रसाएर झरेका आँसु गालामा अडिएर टल्किइरहेका थिए ।

“उर्मी ! तिमीले विवाह अघिको घटनाक्रम सुनायौ । त्यो त्यति अप्ठ्यारो र असहज जस्तो लागेन मलाई । मैले पहिले नै पनि भनेको थिएँ, यो अधकल्चो समाजले तिमीलाई अजातसँगको प्रेममा रमाउने स्वतन्त्रता दिँदैन भनेर । प्रेमले जात-पात, धर्म, धन-सम्पति, उमेर आदि केही हेर्दैन भन्ने सुनेको थिएँ, त्यही भएको हुनसक्छ । तिमीले केही विचार नगरी सनतसँग प्रेम गर्यौ । यहाँ हजारौं, लाखौं छन् पहिलो प्रेममा असफल भएर पुनः अर्को व्यक्तिसँग घरजम गरेकाहरू । त्यसैले अतीतलाई बिर्सेर वर्तमानसँग सम्झौता गर । आफ्ना पतिलाई परमेश्वर ठानेर उनैमा समर्पित होऊ । त्यही समर्पणमा तिमीले आफ्नो जीवनको सारा खुसी प्राप्त गर्नेछौ ।”

“तिमीले अहिले जुन कुरा भन्यौ नि त्यो तिम्रो दिलको उद्गार होइन । तिमीले यो पुरुषप्रधान समाजले बनाएको एउटा नारा मात्र बोल्यौ । पति परमेश्वर हुन्, उनैमा आफ्नो तन, मन, प्राण समर्पण गर्नुपर्छ अनि त्यही समर्पणमा जीवनको सारा खुसी प्राप्त हुन्छ भनेर भन्नु पुरुषको अभिमान हो, घमण्ड हो, अहम् हो । पति एउटा मान्छे हो, मानिसमा हुने हर गुणहरू उसमा विद्यमान रहेका हुन्छन् भने एउटा मानिस कसरी परमेश्वर बन्न सक्छ – पतिलाई परमेश्वर मान्न म तयार छुइनँ । असल चरित्र भएका, सर्वगुण सम्पन्न पति, जुन पति आफ्नी पत्नीप्रति वफादार रहन्छ र आफ्नी पत्नीलाई जीवनको सम्पूर्ण प्राप्ति सम्झेर रमाउन सक्छ त्यस्ता पुरुषमा आफ्नो तन, मन समर्पण गर्न पाउने नारीहरूले खुसी पाएका होलान्, त्यो म स्वीकार्छु र जसको लोग्ने स्वास्नीलाई केवल एउटा उपभोग्य वस्तु सम्झन्छ, हाड-छालाबाट बनेको एउटा मूर्ति सम्झन्छ त्यस्तो लोग्नेलाई आफ्नो तन र मन दुबै सुम्पनुपर्दा त्यो नारीलाई कस्तो कष्ट पर्दो हो, कल्पना गरेर हेर त ।” यस बेला उर्मीका आँखाबाट आँसु र्झन छाडिसकेका थिए । उनको अनुहार रातो भएको थियो, आँखामा रिसको पारो चढ्न थालेको जस्तो देखेर म केही बोलिनँ, चुपचाप बसिरहेँ । मेरो मौनताको उनले खै कस्तो अर्थ लगाइन् कुन्नि, उनले अलिक मधुरो स्वरमा भनिन्, “तिमीले मलाई अन्यथा नसोच । हुन त तिम्रो हृदय त्यति सङ्कीर्ण छैन, तिमीसँग सङ्गत गरेको पाँच वर्षको समयले त्यो कुरा मलाई बताएको छ । यी पछिका चार-पाँच वर्षमा तिमी कति बदलियौ त्यो मलाई थाहा छैन । मेरो मनमा असाध्यै ठूलो पीर, व्यथा र पीडा छ जसले बारम्बार मलाई तड्पाइरहन्छ । असहृय भएको बेला मनमा विद्रोह सिर्जन्छ, नसोचिकन बोलिदिन्छु । कुनै कुराले अर्काको मन दुःखाउँला कि भन्ने नसोची बोल्नु मेरो कमजोरी हो ।”

उर्मी ! तिमीले बोलेको कुनै कुराले मेरो मन दुख्दैन । तिम्रो मनको पीडा मलाई सुनाऊ, अरूलाई बाँड्दा दुःख कम हुन्छ भन्छन् । म तिम्रो साथी पनि त हुँ ।” “त्यही विश्वासले त यहाँसम्म आएँ नि । तिमीले मलाई बुझेका छौ, तिम्रो सहयोग पाएँ भने यो दुःखको भवसागरबाट बाहिर निस्कन सक्छु होला जस्तो पनि लाग्छ । दुई वर्षदेखि मेरो मनमा कस्ता-कस्ता कुराहरू खेल्छन् । विद्रोहका भावहरू सिर्जन्छन् । त्यसबाट मुक्ति पाउन तिम्रो सहयोग खोज्छ मेरो मन ।” “उर्मी ! तिम्रो जीवनमा सुख आउँछ भने जस्तोसुकै सहयोग गर्न पनि म तयार छु । तिमी भन यसो गर्दे भनेर, नाइँ भन्दिनँ ।” मैले उनलाई स्वभाविक अवस्थामा ल्याउन यसो भनेको हुँ । “धन्यवाद ! तिमीले मलाई सहयोग गर्ने वचन दियौ, त्यसमा तिमीलाई धेरै-धेरै धन्यवाद ।” यति भनेर उनी चुप लागिन् । अनुहारमा क्रमशः छायाँ पर्दै गयो । ती सजल नेत्रले एकोहोरो भित्तातिर हेर्दै टोलाउन थालिन् । मैले पनि केही बोल्ने हिम्मत गर्न सकिनँ ।

चुपचाप उनैलाई नियालिरहेँ । “म आमा बन्न सक्छु । म बच्चा जन्माउन सक्छु । आमामा हुनुपर्ने सम्पूर्ण गुण र क्षमता मसँग छ भने म कसरी बाँझी भएँ र? म कसरी बैला भएँ ? म कसरी थारी भएँ ? यसरी कसैलाई हुँदै नभएको आरोप किन लाग्छ ?” आँखाबाट झरेका आँसु हत्केलाले पुछ्दै उनी बोलिन् । उनका अहिलेका कुराले मेरो मन चस्कियो । समग्र कुरा नसुनी के भन्नु मैले । त्यसैले उनको जीवनको वर्तमान यथार्थता बुझ्ने अभिप्रायले मैले सुस्तरी भनेँ, “उर्मी यी सबै कुरा कहाँबाट आए, सुरुबाटै सुनाऊ न त तिम्रो जीवनको विवाह पश्चातका घटनाहरू ।” मेरो आग्रहलाई टार्न नसकी उनी बोल्न थालिन् सुस्तरी, “मेरो विवाह मेरो इच्छा विपरीत भयो । विवाह पश्चात् मैले आफूलाई सम्हालेँ । मन थामेर त्यही पतिसँग रमाएर जीवन व्यतीत गर्नेनिर्णयगरेर जिउन थालेँ । विवाहपछिका दुई-चार हप्ता मैले घर-परिवारका सबै सदस्यबाट प्रशस्त माया पाएँ । सासू, ससुरा, नन्द र पतिबाट पाएको न्यानो, मीठो प्रेमबाट आल्हादित भएको बेला मैले आफूलाई नै भुलेँ । अब यसरी नै रम्दै र जम्दै म आफ्नो जीवन व्यतीत गर्न सक्छुजस्तो लाग्यो । म अतीत भुलेर वर्तमानसँगै रमाउन थालेँ । मलाई लाग्यो, ‘म यस घरको मुख्य पात्र हुँ, मेरो खुसीमा नै सबैको खुसी छ ।’ यस्तै सोचेर रमाउन थालेँ । परिवारमा हाँसो खुसी र उमङ्ग बाँडेर जिउँदै गएँ ।

विवाह भएको झन्डै डेढ महिनामात्र भएको थियो । एक दिन दराजका कागजपत्र मिलाउँदै गर्दा एउटा कागज मैले भेटेँ जुन कागजले पहिलोपल्ट मेरो मनमा भूकम्प ल्याइदियो । मेरो पतिकी जेठी पत्नीले मनमा उब्जिएको पीडा खप्न नसकी बेहाल भएर लेखेकी रहिछन् । त्यस कागजमा लेखिएका कुरा म तिमीलाई जस्ताको त्यस्तै सुनाउँछु – ‘मेरो मनमा किन यसरी औडाहा परेको होला – मेरो टाउकोमाथि विपत्तिको पहाड बज्रिन आउँदै छ तर पनि मैले बेस्सरी रुन पाइनँ । मनका पीर र व्यथा आँसुले पखाल्नसमेत नपाउनु यो कतिसम्मको दुर्दशा हो त मेरो । मेरी सासू पनि एउटी नारी हुन् तर नारीको मर्म खै उनले बुझेकी ? कि बुझेर पनि बुझ पचाउँछिन् ? उनी मलाई थारी, बैला र बाँझी भनेर रातदिन टोकसिरहन्छिन् । मेरो मनको व्यथा पोख्ने ठाउँ छैन । जसका निम्ति माइती, मावली त्यागेर आइयो, जसलाई आफ्नो तन, मन, प्राण र्समर्पण गरियो त्यही पतिको साथ नै नपाएपछि अरूले त भन्ने नै भइहाले नि । ओह्रालो लागेको मृगलाई बाछाले पनि खेद्छ भनेको यही त हो । पतिको हेला भएपछि सबैको हेला भइँदो रहेछ ।

मेरो पति, सासू र ससुरा अनि नन्दको मनमा मप्रति अति घृणा सिर्जिएको छ । उनीहरूले मलाई एउटी अपराधिनी सम्झेका छन् । अब मेरा पति मेरो वशमा छैनन् । यो पूरै परिवारमा मनुष्यत्व छैन । मनुष्यत्वहीन मनुष्य हिंस्रक पशुभन्दा पनि भयानक हुन्छ भनेर बुझिसकेपछि अब मैले यहाँ बस्नु हुँदैन । पतिबाट माया र साथ पाउन मैले ठूलै प्रयत्न नगरेको पनि होइन तर उनी मसँग झन्-झन् टाढा बन्दै गएँ । बालुवालाई जति मुठ्यायो उति नै मुठीबाट खुस्कन्छ । उनी पनि त्यस्तै भए, झन्-झन् टाढिँदै गए मबाट ।

मन भरि-भरि पीर र व्यथा साँचेर रात भरि-भरि रोएरै बिताएकी छु मैले । पीर र सुर्ता अनि चिन्ताले आँखामा निद्रा ढल्किन नदिएपछि अनिदो बसेर र्छलङ्ग रात बिताउनु कति कष्टदायक हुन्छ त्यो पनि मलाई थाहा भयो । उमेर अहिले कति नै पो ढल्केको छ र ? यो तरुनी मनमा उठ्ने चाहना र कामना मेरो अब पूरा हुँदैन । मैले जति सजिलै र हलुङ्गो ढङ्गबाट आफूमाथि सौता हाल्ने स्वीकृति दिएँ, त्यति सजिलै र सहज ढङ्गबाट सौताको खटनपटन र शासन खप्न सकूँला र म । सौतेनी डाहाले यो शरीर सुकाएर पनि अब के फाइदा ? यो मनको यथार्थता देखिदिने र बुझिदिने को छ र मेरो ? वन डढेको पो सबैले देख्छन्, मन डढेको कसले देख्छ र !’

ती कुरा पढेपछि मैले पतिसँग सोधेँ । सुरुमा उनले इन्कार गरे । पछि-पछि सबै कुरा स्वीकार्न उनी बाध्य भए । मैले मेरी सौतालाई लिन पठाएँ ।

“अब कहिल्यै फर्केर आउँदिन भनेर गएकी छ म लिन गए पनि ऊ आउँदिन ।” यति भन्दै उनले मेरो कुरा टार्ने प्रयास गर्न थाले । मैले आफ्नो ढिपी नछाडेपछि उनी गए आफ्नी जेठी स्वास्नी लिन ।

तिम्रो मनमा आर्श्चर्य उब्जियो होला मेरो व्यवहार देखेर हैन ? मैले आफ्नै सौतालाई लिन किन पठाएँ भनेर ? मेरो मनमा बिस्तारै स्वार्थ भरिँदै आएको थियो । पहिलो कुरा उनीसँग भएको मेरो विवाह नै मलाई मन परेको थिएन । दोस्रो मलाई सौतामाथि झुक्याएर ल्याउने पति मलाई झन् मन पर्न छाड्यो । मेरी सौताको यसमा केही दोष थिएन । उसको कारणले मेरो जीवन बर्बाद भएको होइन, मेरो कारणले चाहिँ उनको जीवन बर्बाद भइरहेको थियो । त्यसैले मैले आफ्नो कारणले उनको जीवन बर्बाद हुन नदिने निर्णय गरेर नै लिन पठाएकी थिएँ ।

सौता आइनन्, साँझ पति एक्लै आए । उनले आफ्ना बाबु-आमासँग म जेठी स्वास्नी लिन गएको भनेर पनि भनेका रहेनछन् । बेलुका मलाई भने, “ऊ आउन मानिन । एक-दुई महिनापछि आउँछे रे ।” मलाई उनको कुरामा विश्वास लागेन । उनी ससुराल गए या अन्त कतै अलमलिएर आए, त्यो मैले बुझिनँ ।

मेरो विवाहको पाँच महिना बित्न लागेको थियो । एक दिन सासूले मलाई बोलाएर बच्चा जन्माउनेबारेमा सोधखोज गरिन् । मैले केही जवाफ दिइनँ । उनले नातिको मुख हेर्ने आफ्नो तीव्र इच्छा व्यक्त गरिन् । म बिछ्यौनामा ढल्किएर सासूका कुरा मनमा खेलाइरहेको थिएँ । त्यसै बेला मेरी सौताले लेखेको कागजको सम्झना भयो । त्यो कागज निकालेँ र अर्को पाना पल्टाएर पढेँ । त्यहाँ उनले लेखेकी थिइन् – ‘विवाहपछिका झन्डै चार-पाँच महिनासम्म मलाई यस्तो लाग्थ्यो यो घर र्स्वर्ग हो । मेरा पति मेरार् इश्वर हुन्, राम हुन्, म उनकी सीता हुँ । कामदेवको जस्तो रूप र गुण भएको, रामको जस्तो आदर्श र चरित्र भएको प्यारो पतिको बाहुपासमा मैले आफूलाई र्समर्पण गर्न पाउनु मेरो अहोभाग्य हो । मेरो पूर्वजन्मको पुण्यको फल हो । उनले त्यस बेला भनेका कुराहरू, “सँगी ! तिमी मेरो जीवन-मरणकी सहयात्री हौ । तिम्रो र्स्पर्शले मलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ । मैले आफ्नो तन, मनको सम्पूर्ण सन्तुष्टि तिमीभित्र पाएको छु । तिमी मेरो जीवनको सम्पूर्ण प्राप्ति हौ, लक्ष्य हौ ।” आज पनि मेरा कानमा गुञ्जिरहेका छन् । मैले आफ्नो जीवनको आधार, मन-मन्दिरको देवता, मेरो तन-मनको र्सवस्व पति, उनलाई सम्झेर आमा-बाबु, माइती, मावली सब बिर्सेको थिएँ ।

भाग

त्यस बेलाको टड्कारो अतीतको मीठो सुखद आत्मानुभूति प्रदान गर्ने स्मृतिलाई कसरी भुलूँ म – त्यही अतीतलाई सम्झेर भुटभुटिँदै जिउनु पनि कसरी ? उनी मेरो आस्थाको केन्द्र हुन् तर पनि किन यसरी मेरो मन रूखिँदै छ ? रिस र घृणाले मन चिढिइँदै छ र इर्ष्याले पोल्दै छ । उनले साँच्चैको उपेक्षा नै गरिसकेपछि म बाँच्नु कसरी । फेरि नबाँचेर पनि के गरौं ? आत्महत्या ……… ?? त्यो त झन् निन्दनीय कार्य नै भयो । सन्तानको मुख नहेरी मरियो भने त र्स्वर्ग जाने बाटो पनि पाइँदैन रे । सन्तानको मुख नहेरी आत्महत्या गरेर जुनी-जुनी नर्कमा पर्नुभन्दा त सन्तानको मुख हेरेर मर्न पाए र्स्वर्गको बास हुन्थ्यो होला । सौताकै कोखबाट जन्मेको भए पनि आफ्नै पतिको वीर्यबीजबाट बनेको सन्तानलाई आफ्नो सन्तान भनेर मैले स्वीकार्न सक्नुपर्छ । त्यसैबाट मैले मातृत्वको सुख प्राप्ति गर्न सक्छु । आफू कमजोर भएपछि अर्काको अधीन स्वीकार्नुपर्छ । मैले सन्तानको सुख दिन र भोग्न नपाएपछि सौताको शासन सहनुपर्छ । जेसुकै र जस्तोसुकै परिस्थिति आए पनि सहन सकुन्जेल बाँच्छु नसके मरिदिन्छु । म मरी नै गए पनि मेरो रुने को छ र – फेरि म मरेँ भने कसैले दुःख पाउला कि भन्ने पनि छैन भने दुनियाको बोझ भएर के बाँच्नु त ?”

मेरी सौताका यस्ता विचार पढ्दा मलाई उनीप्रति झन्-झन् सहिष्णुता पलाउँदै गयो । सौताप्रतिको सहिष्णुता जति बढ्दै जान्थ्यो उति नै पतिप्रति घृणा र तिरस्कारको भाव फैलँदै गयो । अप्ठ्यारो र असहज वातावरणमा म रुमल्लिन थालेँ । हाँसेर बाँच्न गाह्रो बन्दै गयो तैपनि म बाँच्न विवश थिएँ । कष्टपूर्वक बाँचिरहेँ । विवाह भएको सात महिना जति बितिसकेको थियो ।

यसबीचमा मेरी सौता एकपल्ट घर आइन् । त्यो पनि दशैंको बेला सासू-ससुराको हातबाट टीका थाप्न आएकी थिइन् । त्यही बेला उनीसँग मेरो पहिलो भेट भयो । उनी रूप र व्यवहार दुबैमा उत्तम रहिछिन् । केहीबेरको गफगाफपछि उनी हिँड्न लागिन् । मैले उनलाई रोक्ने प्रयास गरेँ । अब यहीँ सँगै मिलेर बसौं भनेर आग्रह गरेँ । त्यस बेला मेरो मुखबाट पतिको विरोधमा एक-दुई शब्दहरू पनि निस्किएका थिए । त्यो सुनेपछि उनले भनिन्, “बहिनी उर्मिला ! यो शरद ऋतुको रात टहटह जून टल्किएको क्षण, मन्द-मन्द चिसो बतास चलेको बेला आफ्नो पतिको साथमा आल्हादित भएर भरपूर मनोरञ्जन लिन पाउने भाग्य मेरो रहेनछ । यसमा भनेजति दोष मेरै छ । पूर्वजन्मको पापले गर्दा यस जन्ममा सन्तानको मुख देख्न पाइनँ । सन्तानको सुख भोग्न नपाएपछि मेरो पतिले तिमीलाई मेरी सौताको रूपमा भित्र्याए अनि मलाई बाहिर पारे भन्ने पीर मलाई पटक्कै लागेको छैन । आफूले कुल, वंशको रक्षा गर्ने सन्तान दिन नसकेपछि यो कुल, वंश जोगाउने काममा बाधा उत्पन्न गरिदिनु पनि भएन । कुल, वंश समाप्त हुन दिनुभन्दा त्यसको निरन्तरताको लागि आफूले सानो त्याग गर्नु नै धर्म ठान्यो मेरो मनले । स-परिवारलाई सन्तानको मुख हेर्नबाट वञ्चित गरेँ भने म घोर महापापले सात जुनी नर्क पर्छ भन्ने लागेर मैले उहाँलाई दोस्रो विवाह गर्ने सल्लाह र अनुमति दुबै दिएकी हुँ । बहुविवाहको सजाय होला कि भनेर उहाँ डराउनु पनि भएको थियो । त्यसैले मैले पनि राजीखुसी, अझ मेरै आग्रहले उहाँलाई दास्रो विवाह गर्न लगाएकी हुँ, म यस विरुद्धमा कुनै उजुर-बाजुर गर्ने छुइनँ र यस उप्रान्त म उहाँसँग पत्नीको हक पनि खोज्ने छुइनँ भनेर कागज लेखाई सही छापसमेत गरिदिएकी छु । वंश वा पतिको स्वार्थमा आफ्नो स्वार्थ त्याग्न सक्नु नै त हामी नारी जातिको महान् धर्म हो । म यहाँ बसेर तिमीलाई दुःख, कष्ट पुर्याउन चाहन्नँ ।

तिमीले सँगै बसौं भन्यौ त्यो तिम्रो महानता हो । म तिम्रो कोखबाट जन्मेको मेरो पतिको सन्तानलाई आफ्नै सन्तान सम्झेर अँगाल्न लालायित छु । बस ! यति इच्छा पूरा गरिदेऊ मलाई पुग्छ ।” यस्तै कुरा गरेर उनी गइन् । उनलाई नजा अब यहीँ बस् भनेर मेरा पतिले र सासू-ससुराले एक शब्द भनेनन् । न त नन्दले उनीसँग बोलेको नै देखेँ । एउटी आदर्श पतिव्रता नारी, आफ्नोभन्दा आफ्नो घर, पति र वंशको स्वार्थ ठूलो ठान्ने महान् नारी त्यसरी घर परिवारबाटै तिरस्कृत भएको देखेपछि त्यस घर र परिवारप्रति मेरो मनमा उब्जिएको वितृष्णा अझ बढेर गयो । दशैं बितेर गयो, तिहार सुरु हुन लागेकाले केही सामान किन्न म बजार गएकी थिएँ । फर्केर घरमा आउँदा मेरा पति कार्यालयबाट फर्किसकेका रहेछन् । सासू, ससुरा र पति बसेर मेरो बारेमा कुरा गरिरहेका थिए ।

म उनीहरू बसेको कोठासामु पुग्दा सासूले भनेका कुरा सुनेँ, “यो पनि थारी नै रहिछे । एउटा बाँझी पन्छाएर अर्की बाँझी हुलिएछ । नातिको मुख हेर्ने इच्छा पूरा नभई मर्ने भयौं हामी । सात जन्म नर्कमा कुहिनुपर्ने भयो अब । बरु अब यसलाई पनि पन्छएर अर्को विवाह गर्ने बारेमा सोच ।” सासूका कुराले मेरो मन, मस्तिष्कमा बज्र पर्यो । मैले अझ बढी सुन्ने हिम्मत गर्न सकिनँ । मेरो मनस्थिति र आत्मसन्तुष्टिमा आघात परेपछि अभिशप्त एवं व्याकुल मनलाई सम्हाल्न म त्यहाँबाट हिँड्न खोजेँ । परन्तु पतिदेवका शब्दहरू आएर कानमा ठोकिए, “निकाल्ने कसरी यसलाई – सङ्गीतेभन्दा यो बाठी छे, त्यसलाई जतिकै सजिलो गरी यसलाई निकाल्न सकिँदैन जस्तो छ । त्यसैले बरु केही दिन विचार गरौं ।”

“यसलाई कसरी निकाल्नुपर्छ त्यो सोच्ने काम तेरो होइन । त्यो काम मेरो जिम्मामा छोड्दे । लठ्ठी नभाँची र्सप मार्न मैले जानेकी छु ।” सासूले यसै भनिन् ।

“ठिकै छ अब केही दिन विचारौं अनि पनि भएन भने त अर्को विकल्प सोच्नै पर्ला ।” यसो भनेर पति भनाउँदा एउटा कुर्सीमा बसे । मेरो मनमा भक्कानो परेकाले दगुर्दै आफ्नो कोठामा गएँ र केहीबेर रोएँ अनि आफ्नो दैनिक कार्यमा जुटेँ । बेलुका बिछ्यौनामा आएपछि पतिलाई सुनाएँ यो कुरा । उनले कुनै वास्ता नै गरेनन् । उल्टै मेरो दोष देखाउँदै उनले भने, “सन्तान नै मासिन लाग्दा कसलाई पीर पर्दैन त ? मेरा बुबाआमालाई नातिको मुख हेर्न पाइनँ भन्ने जति पीर छ त्यति नै चिन्ता छ मलाई पनि आफ्नो वंश मासिन लागेकोमा ।”

“के सन्तान नहुनुमा मेरो दोष छ त ?” मैले रिसाउँदै सोधेँ ।

“तिम्रो दोष नभएर के मेरो दोष छ त ? सन्तान जन्माउने तिमी कि म र ? कहीँ पुरुषले सन्तान जन्माएको देखेकी छ्यौ तिमीले ? मैले नै सन्तान जन्माउने भए तिमीलाई किन ल्याउनु पथ्र्यो मैले ?”

“के मेरो मात्र प्रयासले सन्तान हुन्छ त ? त्यसमा तपाईंको पनि त दोष हुनसक्छ नि ।” मैले यतिमात्र के भनेको थिएँ उनी रिसले आगो भए, खूब च्याँठिए । आफूमा कुनै खोट नभएको तर्क दिए । आफू मर्द भएको वकालतमा उनले जे-जति कुरा भने त्यो सब तिमीलाई सुनाउन पनि सक्दिनँ । आफू फेरि सम्झन पनि चाहन्नँ । ममा कुनै खोट छैन, म आमा बन्न सक्छु । पहिले पनि मेरो गर्भ थियो भन्ने कुराले पनि यसलाई प्रमाणित गर्दछ । उनी आफ्नो खोट स्वीकार्न चाहँदैनन् । त्यो रातभरि म निदाउन सकिनँ । मनमा अनेक तर्क-वितर्कहरू आइरहे । मैले अनेक जुक्ति, बुद्धि दगुराएँ, जीवनको सही निकासको खोजीमा । मनमा तीव्र रूपमा उब्जिएको विद्रोहले मलाई अर्कै कुरा सोच्न बाध्य गरायो । म आँटिली भएँ र तरवारको धारमा हिँड्न तयार भएँ अनि एकपल्ट डाक्टरकहाँ गएर जाँच गराउने निश्चय गरेँ मनैमनमा । उनी अफिस जान तयार हुँदै थिए । म पनि कपडा बदल्न थालेँ ।

‘कहाँ जान लागेकी ?’ उनले सोधे ।

मैले एउटा काल्पनिक कथा सुनाएँ, ‘पर एक जना सन्त साधु आएका छन् रे । त्यसैले उनैलाई भेटेर आफ्नो बारेमा सोधौं भनेर जान लागेकी ।’

दुबै घरबाट निस्किएर आ-आफ्नो लक्ष्यतिर लाग्यौं । साँझ घर पर्किएपछि उनले मलाई सोधे, ‘सन्तले के भने त ?’ भनेर ।

प्रत्युत्तरमा मैले भनेँ, ‘अझै दुइ वर्ष हाम्रो सन्तान हुँदैन रे । हाम्रो परिवारमा कसैको श्राप परेको छ रे । यी यो बुटी लगाइदिएको छ । दुइ वर्षपछि हाम्रो सन्तान हुन्छ रे ।’ मेरो कुरा सुनेर उनको अनुहार उज्यालो भयो, सायद सन्तान प्राप्तिको खुसी पनि हुन सक्छ । मैले त्यो नक्कली कुरो र योजना यसकारण बनाएको थिएँ कि दुइ वर्ष भित्रमा म कुनै उपाय लगाउनेछु सन्तान प्राप्तिको लागि । डाक्टरले दुइ दिनपछि रिपोर्ट लिन बोलाएको थियो । त्यसैले दुइ दिनपछि गएर रिपोर्ट लिएँ । त्यहाँ ममा आमा हुन आवश्यक सम्पूर्ण क्षमता भएको पुष्टि गरिदिएको थियो डाक्टरले । त्यो कागज हेरेपछि अब म मेरो गृहस्थ सम्हाल्न सक्छुजस्तो लागेको थियो । उनलाई दिएको दुइ वर्षमध्ये झन्डै-झन्डै एक वर्ष त बित्न पनि लागिसक्यो ।

उर्मीले यसरी आफ्नो कथा-व्यथा सुनाइन् । मलाई उनको दुःखप्रति सहानुभूति पलाएर आयो । मैले उनलाई सहयोग गर्ने वचन दिइसकेको थिएँ । त्यसैले फेरि त्यही कुरालाई दोहोर्याउँदै भनेँ, “उर्मी ! तिम्रो दुःख, कष्ट समाप्त गर्न र तिम्रो घर परिवारमा सुख, शान्ति ल्याउन म तिमीलाई जस्तो सुकै सहयोग गर्न तयार छु । मेरो त्यस्तो कुनै सहयोगको जरुरत परे माग्न अप्ठ्यारो नमान्नू ।” मैले यो कुरा वास्तवमा भन्दा एउटा औपचारिकता पूरा गर्नमात्र भनेको थिएँ । उनले त्यस्तो अप्ठ्यारो चीज मागिहाल्लिन् भन्ने शङ्का नै थिएन तर मलाई अप्ठ्यारो त्यस बेला पर्यो जुन बेला उनले मसँग केही मागिन् ।

उनले असजिलो मान्दै-मान्दै भनिन्, ‘मेरो सबै कुरा तिमीले सुनिहाल्यौ । मलाई यो दुःख, कष्टबाट मुक्ति दिन तिमीले मलाई एउटा सन्तान देऊ । म तिमीसँग यही दान माग्छु ।”

“तर …… यो कुरा कसरी सम्भव छ उर्मी – हामीले नैतिकताको सीमा नाघ्नु हुँदैन । सनतसिंहसँग संर्सग गरेर एकपल्ट गल्ती गरिसकेकी छौ, फेरि अर्को गल्ती गर्यौ भने यो समाजले तिमीलाई क्षमा गर्दैन ।”

मेरो कुरा सुनेपछि उनले भनिन्, “तिमीले भनेको यो अधकल्चो समाज, खोक्रो इज्जत र आडम्बर तथा आफ्नो धार्मिक मूल्य मान्यताको तानाबानामा जेलिएर र बेरिएर म आफ्नो आत्मालाई कुण्ठित पार्न चाहन्नँ । सन्तानको इच्छा म जसरी भए पनि पूरा गर्न चाहन्छु ।”

“उर्मी ! धैर्य गर । आफ्नो पतिप्रतिको आस्थामा खिया लाग्न नदेऊ । प्रयास गर, पतिलाई तिमीले यथार्थताको जानकारी दिएर उनलाई वास्तविकताको धरातलतामा ल्याएर औषधि विज्ञानको सहारा लिनुपर्छ, पक्कै सफलता पाउने छौ ।”

“अपार तृष्णाको लालसा बोकेर मैले कतिन्जेल धैर्य गरेर पतिको मुख ताक्नू – चेतना र विवेकले स्वतः स्फुरित मेरा पाइलाहरू अब म अझ बढी रोक्न सक्दिनँ । जानेर पनि अञ्जान र बुझेर पनि अबुझ बन्दै आफ्ना पाइलालाई निरन्तरता नदिनु म आफैंमाथिको अन्याय हुन्छ । त्यो म गर्दिनँ । जस्तालाई त्यस्तै व्यवहार गर्न म पछि पर्दिनँ । म यो समाजलाई एउटा दह्रो र स्पष्ट नमुना देखाइदिन्छु नारीले कतिसम्म विद्रोह गर्न सक्छे भनेर । अब म मेरो नामर्द पतिको शीतल छहारी खोज्ने प्रयास गर्दिनँ । मेरो जीवन-यात्रा म आफैं तय गर्छ एक्लै वा कसैको साथमा ।”

“उर्मी ! विद्रोह गर्दा त्यसको जगमगाउँदो भुङ्ग्रोभित्र पसेर आफू भष्म हुन पनि बेर लाग्दैन । यो समाजको जग यति बलियो गरी गाडिएको छ कि तिमी हामी एक-दुइ जनाले त्यसको संरचना बदल्छौं भनेर लाग्नु मूखतासिवाय केही हुँदैन । तिमी हताश नबन धैर्य गर, सोच-विचार नगरी चालिएको पाइलाले मानिसलाई भड्खालामा पनि हाल्न सक्छ । त्यसैले मेरो बिन्ती छ तिमीलाई, हतारिएर कुनै निर्णय नगर ।”

मेरो बोलीमा अचम्म र सहानुभूति मिसिएको थियो क्यार र त उर्मीले त्यसरी प्रतिवाद गरिन् त । उनी अलि झर्केको जस्तो आवाजमा बोलिन्, “मलाई तिम्रो सहानुभूति चाहिएको छैन सक्छौ भने साथमात्र देऊ । म तिमीसँग गाँस, बास र अधिकार माग्न कहिल्यै आउने छुइनँ । मैले यो समाजलाई राम्ररी चिनेकी छु, एकदम नजिकबाट नियालेकी छु । यहाँ सयमा एक वा बढीमा दुइ जना मान्छे मात्र होलान् तिमीजस्ता नत्र यहाँ हरेक पुरुषहरू आफन्तलाई धोका दिनुको त के कुरा आफूलाई छल्नसमेत पछि पर्दैनन् । परस्त्रीको सौर्न्दर्यता चुस्न अघि नर्सर्ने कोही छैनन् । जुनसुकै पुरुषलाई पनि मैले एक इशारा मात्र गरेँ भने वासना पूर्तिकै लागि मात्र पनि मेरो पछि लाग्छन् । तर म वेश्या बन्न चाहन्नँ । संसारको कुनै पनि व्यक्तिले मेरो चरित्रमाथि औंला ठड्याएको म हेर्न र सुन्न चाहन्नँ । मेरो अवैधानिक वा असामाजिक अनुरागको कथा कसैले नसुनोस् । त्यो त म र तिमीसँग यही संसारको गर्भमा बिलाओस् ता कि मेरो भावी सन्तानलाई यस समाजमा बाँच्न र शिर ठाडो लगाएर हिँड्न सजिलो होस् । त्यतिकै लागि मैले तिम्रो शरण रोजेर मागेकी हुँ, बस् त्योभन्दा बढी इच्छा मेरो केही छैन । ”

उर्मीले बोल्दा-बोल्दै मरो कोठाको भित्तामा झुन्ड्याएको घडीले आवाज दियो । हामी दुबैले भित्तातिर एकै साथ हेरेछौं, साँझको सात बजेछ ।

“ला ……. तिमीसँग गफ गर्न थालेको त समय बितेको पत्तै भएन । उनी मलाई खोज्न थाले होलान् । म फेरि आउँछु तिमीलाई भेट्न । अहिले म गएँ ल ।” यति भनेर उर्मी हिँड्न तयार भइन् ।

“उर्मी ! गफको सुरमा तिमीलाई केही खुवाउन पनि पाइनँ, चिया बनाउँछु नि ल ।”

“पर्दैन, अर्कै दिन खाउँला ।” यति भनेर बिदाइका हात हल्लाएर उनी हिँडिन् । म बाहिर निस्किएर उनैलाई हेरिरहेँ, पर पुगुन्जेलसम्म पनि । उर्मिला ! ती नारी नमुनाको कुरा सुनेपछि विस्मयले म एकदमै मूर्तिजस्तो भएँ । कसैको भाग्यसँग नियतिले यति ठूलो परिहास किन गर्छ – यही कुराले मलाई आर्श्चर्यमा पारिरहृयो । मेरो सामुन्ने आइपरेको यो अप्रत्यासित घेरामा म परेँ । अब यसको निकासा कस्तो हुन्छ – उर्मीको मनमा भएको सन्तानको चाहनालाई अनि मातृत्वको भावनालाई कलुषित हो भनेर भन्न म सक्दिनँ तर त्यसको लागि उनले जुन मार्ग अपनाउन खोज्दै छिन् त्यो सही भने पटक्कै छैन । उनको मनमा दुःख, पीर, वेदना भनेजति परेको छ । उनको त्यो दारुण वेदनाले मेरो मन पनि पग्लिएको छ । उनले जुन आत्मीयता र तृप्तिको आशाले मसँगै त्यो अनुनय गरिन् त्यो अस्वभाविक पनि होइन होला तर …… यो समाजको मर्यादालाई कुल्चिएर पाइला चाल्नु, …. यो त मूर्खतासिवाय के हुन सक्छ र ?

 भाग – ५

उर्मी मसँग छुट्टिएर गइसकेपछि मेरो मनमा नानातरहका चित्र-विचित्रका कुराहरू खेलिरहे । आफ्नो मनलाई जति नियन्त्रण गर्न खोज्छु त्यति भावनाका तरङ्गहरू ओइरिइरहे । मेरो मन सोच्दै थियो, मैले आफ्नो आदर्शलाई भुल्दा अनि मजस्तै हरेक पुरुषले आफ्नो आदर्शलाई भुल्दै गए भने यो समाजमा रहेको धर्म र नैतिकताको पर्खाल भत्कन के बेर ? मैले त्यस बेला उनलाई प्रेम गरेको थिएँ । मेरो त्यस बेलाको प्रेम भक्तिको अर्थ अहिले पनि म उनीप्रति निर्लिप्त छु भन्ने होइन । त्यस बेलाको जस्तो अवस्था अहिले छैन । अहिले म एक कुमार केटो नभएर एउटा विवाहित पुरुष हुँ । गङ्गाजस्ती सती स्त्रीको पति हुँ म । मैले त्यस्तो व्यभिचार गर्नु हुन्छ ? यो त म आफूले आफूमाथि कुठाराघात गर्नु हो, गङ्गाप्रति विश्वासघात गर्नु हो ।

मैले हजार प्रयत्न पश्चात् आफ्नो मनलाई सम्हालेँ । खाना बनाउने झन्झट नगरी होटलको खानाले पेट भरेर बिछ्यौनाको शरणमा पुगेँ तर चैनले निदाउन त किन दिन्थ्यो र यो चञ्चल मनले ? उर्मीले भनेका एक-एक शब्दहरू घन बनेर मेरो मस्तिष्कमा ठोक्न आइरहे । मैले छटपटाएरै आधा रात बिताएँ ।

त्यस दिनदेखि फेरि उर्मीसँग भेट भएन । म अफिस जाने आउने गरिरहेकै थिएँ । मेरो कोठा उर्मीले देखेकै थिइन्, फोन नम्बर पनि दिएकै थिएँ । उनले न त फोन नै गरिन् न त उनी आइन् नै । उनी सायद मसँग रिसाइन् क्यार जस्तो लाग्यो मनमा । गङ्गा माइतबाट फर्किएपछि क्रमशः उर्मी मेरो मानसपटलबाट ओझेल पर्दै गइन् । मैले फिदिममा बस्दा नै पूर्वाञ्चल विकास क्षेत्र अर्न्तर्गतको लोक सेवा आयोगबाट ना.सु. पदको परीक्षा दिएको थिएँ । त्यसमा म पास भएँ । खरिदारबाट बढेर ना.सु.को पद पाउँदा खुसी लाग्यो । त्यसपछि काठमाडौंबाट पुनः पूर्वाञ्चल नै जानुपर्ने भयो ।

मैले मेरो दरबन्दी विराटनगर छोडेर तर्राईका अन्य कुनै ठाउँमा भइदिए हुन्थ्यो भन्ने सोचेको थिएँ । मानिसले सोचेजस्तो र चाहेजस्तो भइदिए संसार किन यस्तो हुन्थ्यो र ? मेरो नियुक्ति विराटनगरमै भयो । गङ्गाले यो कुरा थाहा पाउनासाथ भनिन्, “विराटनगरमा त त्यही पहिलेकै घरमा बस्नुपर्छ ल । त्यो घर, ती मान्छे, त्यहाँको परिवेश एकदमै मनपरेको छ मलाई ।”

गङ्गाले पहिलेकै घर अर्थात् उही उर्मीको माइतीघरको प्रसङ्ग निकाल्नासाथ मेरो अन्तस्करणमा घन बनेर ठोक्न आयो उर्मीको बोलीवचन र अनुनय । म हैरान नै भएँ । मेरो मानसपटलमा छरपस्ट भएर छरिएका भावना र मनस्थितिलाई समेटेर एउटा ठोस निर्णय गर्न मैले सकिरहेको थिइनँ । मेरी पत्नी बिचरी गङ्गा, उसलाई मैले कसरी धोका दिनु ? उसको मप्रतिको समर्पण र प्रेमको बदलामा मैले उसलाई छल्नु कतिसम्म उपयुक्त हो त ? हुन त ऊ प्रायः मलाई दोस्रो विवाह गर्ने सल्लाह दिइरहन्छे । आमा बन्न सकिनँ भन्ने हीनताबोधले उसलाई ग्रसित पारेको छ ।

साँच्चै आमा बन्न नसक्नु नारीका लागि ठूलै अभिषाप हुँदो रहेछ । आमा बन्नकै लागि त उर्मी पनि त्यति आतुर छे । ममा सन्तान जन्माउने क्षमता छ तर मेरी पत्नी……. ऊ आमा बन्न सक्दिन । उसले भनेजस्तो पूर्वजन्मको पाप वा धर्मले नै यस जन्मको लागि मानिसका जीवनका संरचना तयार हुन्छन् भने ठूलै अपराध गरेका थियौं क्यार, र त हामी यही सन्तानको विषयलाई लिएर दिनरात यसरी तड्पिइरहनु परेको छ नि । आफूलाई आमा बनाउन उर्मीले जति साहसी कदम चाल्न लाग्दै छे, गङ्गाले स्वेच्छाले सौता ल्याउन स्वीकृति दिनु, त्यतिमात्र नभएर अनुनय नै गर्नु त्यो भन्दा कम साहसको कुरो हो र ?

यी नारीहरू बडो साहसले त्यस्तो निर्णय गर्न सक्छन् तर मचाहिँ एउटा अनिश्चितताको सँघारमा उभिएकाले कुनै निर्णय गर्न सकिरहेको छुइनँ । सायद यो मेरो कमजोरी हो भनौं कि समाज र जीवनप्रतिको भय वा आदर्शप्रतिको सचेतता ? जे होस् म एउटा काँतर पुरुष ठहरिन लागेको छु उर्मी र गङ्गा दुबैको नजरमा ।

“हैन के सोचिरहनु भएको त्यसरी ? विराटनगर हामी कहिले जाने ?” गङ्गाले पुनः प्रश्न गरिन् ।

“के सोच्नु र ? त्यही कहिले हिँड्ने भन्नेबारेमा नै सोच्दै थिएँ । अब पर्सि यहाँबाट हिँड्नुपर्छ । जहाँसम्म घरको कुरा छ, तिमी जुन घरमा बसौं भन्छ्यौ म त्यही घरमा बस्न तयार छु ।”

हामी काठमाडौं छोड्ने तरखरमा लाग्यौं । जागिरमा पद बढेकोमा मलाई खुसी नै लागेको थियो । गङ्गालाई दोहोरो खुसी प्राप्त भएको थियो । पहिलो त मेरो पदोन्नति नै हो, दोस्रो खुसी ल्याउने कारण थियो काठमाडौंबाट निस्कन र विराटनगर जान पाउनु । उसको माइतीघर नजिक हुने तथा बेलाबेला आफ्नो कर्मघर गएर सासू-ससुराको सेवा गर्न पाउने खुसीमा उनी रमिरहेकी थिइन् । रमाना पत्र बुझेर अफिसबाट निस्किदै थिएँ, पियनले एउटा पत्र दियो । ओल्टाइपल्र्टाई गरेर हेरेँ, पाउनेमा मेरो नाम थियो, पठाउनेको कुनै नाम लेखिएको थिएन केवल विराटनगर मात्र लेखिएको थियो । अफिसबाट निस्किएर चिया दोकानमा गएँ अनि चियाको अर्डर गरेर त्यो पत्र खोलेँ । पत्र त उर्मीले पो लेखेकी रहिछिन् । मैले पत्र पढेँ । उनले लेखेको पत्र यस्तो थियो-

“दिनाङ्क ………….

…………….. – सम्झनाको अनमोल सौगात ।

तिमीले मलाई खै के सोच्यौ – काठमाडौंमा भएको अकस्मात् भेटमा मैले मेरो आफ्नो दुःख र व्यथाको पोको खोलेर तिमीलाई देखाउने प्रयास गरेँ । सानै उमेरदेखिको सङ्गतले होला मेरो मनले तिमीलाई पर्राई ठानेन । त्यसैले आफ्नो हृदय खोलेर देखाउन सकेँ नि मैले । तिमीसँग पुनः भेट्ने तीव्र इच्छा हुँदाहुँदै पनि भेट्न सकिनँ । म कसैको पराधीनता स्वीकारेर त्यहाँ पुगेकी थिएँ, पराधीन मानिसको सबै इच्छा पूरा हुँदैन, त्यही सोचेर चित्त बुझाएँ ।

तिमीसँग मैले गरेको अनुनयको विषयमा तिमीले नराम्रो सोच्यौ कि भन्ने भय पनि उब्जिइरहेको छ मनमा । मेरो मनमा रातदिन दन्किरहने व्रि्रोहको ज्वाला झन्-झन् बढ्दै छ । कहिलेकाहीँ मलाई कता-कता डर पनि लाग्छ । त्यो विद्रोहको ज्वालाले मलाई नै भष्म पो गर्ने हो कि भनेर । फेरि हिम्मत बटुल्छु मनमा वास्तविकता सम्झिएर । साँच्चै भन्दा आजकाल डर प्रायः लाग्न छाड्यो । रिसमात्रै बढी उठ्छ । सानै उमेरदेखि यो समाजप्रति उठ्ने विद्रोह आजकाल झन् बढिरहेको छ ।

मानव भएर यस धर्तीमा अवतरित भएपछि हामीलाई अन्तरचेतना एवम् बौद्धिक सभ्यतातर्फउन्मुख हुनु सृष्टिको संरचना र मानवीय कर्तव्यको बारेमा ज्ञान हासिल गर्न प्रथमतः शिक्षाको आवश्यकता पर्दछ भन्ने कुरालाई मध्यनजर राखेर नै मेरा पिताले मलाई धर्म र साहित्यको अध्ययन गर्ने प्रेरणा दिनुभएको थियो । ज्ञान-विज्ञानको अध्ययनसँगै धर्म र साहित्यको अध्ययनलाई अगाडि बढाउँदै लगेँ । यही अध्ययनले जीवन र जगत्प्रतिको मोह र मनमा उब्जिएका अनगिन्ती आकाङ्क्षा पूर्ति गर्नतिर म अग्रसर बन्दै गएँ ।

किशोर अवस्थामा भनौं या सनतसिंहसँगको सर्म्पर्कभन्दा अगाडि मेरो मनमा धर्म र कर्मप्रति जति आकर्षा थियो, जति आस्था र श्रद्धा थियो, त्यसमा अलिकति पनि विचलन आएको थिएन । मैले त केवल समाजको कुरीति र कुसंस्कारको विरोधमात्र गरेकी थिएँ । त्यही सामाजिक कुरीति विरुद्धको मेरो पहिलो व्रि्रोह जातिभेद र रङ्गभेदप्रतिको विरोध थियो सनतसिंहसँगको सहयात्रा । ऊसँगको मेरो प्रेम सफल पार्न म जति ठूलो व्रि्रोह वा त्याग र र्समर्पण गर्नुपरे पनि गर्थें तर ऊ नै कायर बनेर भागेपछि मेरो केही लागेन, म खुम्चिन विवश भएँ ।

जन्म, भाषा, संस्कार र संस्कृति अनि जीवन पद्धतिले म एउटी नेपाली हिन्दू नारी हुँ, यसमा कुनै शङ्का छैन तर ……… मलाई अहिले आफ्नो परम्परा, धर्म र संस्कार त्यति मन पर्दैन । यो समाजमा मेरा लोग्ने, सासू-ससुरा, नन्द र बुबाजस्ता मान्छेमात्र छैनन् अरू पनि छन् जस्तै तिमी, मेरी आमा, मेरी सौता आदि । समाजका यी दुइ अलग पाटाजस्तो लाग्छ मलाई । मैले यो सम्पूर्ण समाजलाई चुनौती दिएकी हैन र त्यसो गर्ने इच्छा र सामर्थ्य दुबै मसँग छैन । म त केवल स्त्रीको अर्थ नबुझने, सन्तानको जन्म प्रक्रिया नजान्ने र बुहारीलाई नानी जन्माउने मेसिन सम्झने यस परिवारको सेखी झार्न चाहन्छु बस ! त्यति हो ।

काठमाडौंको भेटमा मैले गरेको कुराको आधारले तिमीले मलाई गलत नसोच भनेर अनुनय गर्न नै म यो पत्र लेखिरहेकी छु । साँच्चै म अझै पनि भन्छु तिम्रो शारीरिक उत्तेजनाको रसपान गर्ने उद्देश्य राखेर आफ्नो भरिलो, रसिलो र आकर्षक शरीरको लोभ देखाउँदै तिमीबाट शारीरिक सन्तुष्टि खोज्न म आएकी होइन । म चेतनाशून्य जड नारी पनि होइन । म पूरै सचेत छु आफ्नो अभियानमा । मेरो जीवनको गतिशीलता मैले बुझेकी छु । भविष्यमा मेरो जीवनमा आउन सक्ने सम्भावित आँधी, तुफानप्रति पनि म सचेत छु । मैले जीवनलाई रूढिवाद र कुसंस्कारबाट अलग्याएर मुक्ति खोज्ने नाममा आडम्बर देखाउन र समाजको खिल्ली उडाउन खोजेकी पनि हैन । मेरो यो दुष्कर्म बारम्बार दोहोर्याएर वा साथी फेर्दै हिँडेर आफूलाई पतन र विकृतितिर दोहोर्याउन पनि म चाहन्न ।”

पत्रमा उर्मीले यस्तै धेरै-धेरै कुरा लेखेकी थिइन् । म अचम्ममा परेँ । साँच्चै उर्मीको कथा, व्यथा र उनका आकाङ्क्षाबीचमा कतिको समानता छ होला – उर्मीको पति मूर्ख भएको कारणले यस्तो भएको हो । नारीलाई जिन्दगीको वास्तविक सुख दिन सक्ने सामर्थ्य नभएका पुरुषले नारीबाट सम्मान खोज्नु व्यर्थ छ । पत्नी पनि मान्छे हो, ऊभित्र पनि मन हुन्छ, उसका पनि इच्छा, आकाङ्क्षा, चाहना र कामना हुन्छन् । त्यो पूरा गर्नु मेरो कर्तव्य हो भनेर बुझन नसक्ने पुरुषको अधीनमा बस्नु स्त्रीको लागि सबैभन्दा ठूलो कष्टदायक सजाय हो । त्यस बेला पिँजडामा थुनिएको पक्षीजस्तै हुन्छे नारी भनेर बुझ्नुपर्ने उर्मीका पतिले । उनको यही कमजोरी र गल्तीले गर्दा उनको घरमा विद्रोहको आगो दन्किन लाग्दै छ । एकपल्ट भेटेर सम्झाउन पाए हुन्थ्यो…….भनेजस्तो पनि लाग्यो मनमा । अर्काको घरको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु उपयुक्त पनि नहुँदो होला । फेरि गङ्गा विराटनगरमा पहिलेकै घरमा बसौं भनेर जिद्दी गर्दै छिन् । त्यहाँ बसियो भने त झन् उर्मीसँग सधैं भेट हुँदो हो । त्यस बेलाको असहज परिस्थितिको सामना गर्न म कसरी सकूँला ? मनमा यस्तै-यस्ता कल्पनाको भुमरी मच्चाउँदै कोठा पुगेँ । कपडा खोलेर पलङ्गमा पल्टिएँ । मेरो जीउ थकित थियो, मन पोलेको थियो तर त्यो भाव अनुहारमा आउन नदिन म भरसक र्सतक थिएँ । गङ्गा आएर छेउमा बस्दै बोलिन् ।

“तपाईलाई सन्चो भएन हो – अनुहार साह्रै निन्याउरो देखिएको छ, मनमा असाध्यै चिन्ता परेको जस्तो, के भयो -”

मेरी पत्नी गङ्गाको निश्छल र निश्चल, सीधासाधा अनुहार पतिभक्तिले प्लावित भएको देखेँ मैले । उसका नयनमा मप्रतिको आत्मीयता झल्किएको देखेँ । त्यसैले होला मेरो मनमा उनीप्रतिको सहानुभूति झन् बढेर आयो । उसको हात समाउदै भनेँ –

“आज अफिसबाट रमाना पत्र बुझेँ । अब पर्सि यहाँबाट हामी हिँडेर विराटनगर जाने ।” मेरो यो कुराले उनको अनुहारमा अलिकति चमक ल्याएको देखेँ मैले ।

“अब एक कप तातो चिया पिउन सँगै बसेर अनि म साथी भेट्न निस्कन्छु ल ।” यति भनेर म धारातिर गएँ हात-मुख धुन । आउँदा चिया तयार थियो दुबै जोई-पोइ बसेरसँगै चिया पियौं । त्यसपछि म आफ्ना साथीभाइ, इष्टमित्र आदिसँग बिदा माग्न भनी निस्किएँ ।

 भाग

गङ्गाकै इच्छाअनुसार हामी उर्मीकै माइतमा बस्न थाल्यौं डेरा । उर्मीका बुबा-आमा पनि खुसी नै हुनुभयो । उहाँहरू दुई जनामात्र हुनुहुँदो रहेछ । भाइचाहिँ पढ्न गएको रहेछ काठमाडौंतिरै । गङ्गाले पनि आफ्ना बा-आमा समानका सहृदयी आफन्त पाइन् । मैले पनि कुनै अप्ठ्यारो महसुस गर्नु परेन ।

समयले आफ्नो निरन्तर पाइला चालिरहृयो । तीज आउन लागेको थियो । गङ्गालाई लिन आए उनका बा । नपर्ठाई मैले धरै पाइनँ । त्यसैले पठाइदिएँ । उनी माइत गएपछि चाहिँ मलाई प्रायः शून्य लाग्छ । हुन त ससुरा मलाई पनि जाउँ भन्दै थिए तर म गइनँ । श्राद्धेको सम्धी तीजको ज्वाइँ यस्तो अप्ठ्यारो नपरोस् कहीँ भन्ने उखानले नै मलाई बाटो छेक्यो ।

तीजमा उर्मी पनि माइत आइन् । साँझमा म अफिसबाट आउँदा-आउँदै बाटैमा उनले भनिन्, “तिमी ! यता आएका छौ भनेको सुनेर म यति खुसी भएँ कि के भन्नु ? गङ्गा भाउजूसँग चाहिँ भेट हुन सकेन, वहाँ त गइसक्नुभएछ । अनि भनन तिम्रो हालखबर के छ ? मैले पठाएको चिठी पायौ ?” उर्मीका यस्ता अप्रत्यासित व्यवहारले म झस्केँ । उसको उत्ताउलोपन झन् बढेको महसुस भयो मलाई । माइतमा बढी स्वतन्त्रता भएर पनि त्यस्ती भएकी होलाजस्तो पनि लाग्यो ।

“खबर ठिकै छ । त्रि्रो चिठी यता हिँड्ने दिनै पाएँ, खुसी लाग्यो तिम्रो पत्र पाउँदा ।” यस्तै शब्दहरू भन्दै म कोठा खोलेर भित्र पसेँ । एकै क्षणमा हातमा चियाको कप बोकेर उर्मीकी आमा आउनुभयो । मेरो टेबलमा चिया राख्दै उहाँले भन्नुभयो, “बाबु ! आज खाना खान होटल नजानु होला । उर्मिला पनि आएकी छे । त्यसैले सबै जना सँगै यहीँ खानुपर्छ । कति वर्ष भयो हामी सँगै बसेर खाना नखाएको, त्यसैले आजचाहिँ नाइँ नभन्नुहोस् है । हुन त त्यो घर मेरो आफ्नैजस्तो थियो । झन्डै पाँच वर्षसमय मैले त्यही घर र त्यही परिवारसँग बसेर बिताइसकेको थिएँ । त्यहाँ मेरो लागि अपरिचित कोही, केही थिएन । पहिले-पहिले विद्यार्थी हुँदा प्रायःजसो म वहाँहरू कै तिर खान्थेँ । अहिले म सक्षम भइसकेपछि पनि बारम्बार वहाँहरूलाई नै दुःख दिइरहनु उचित नलागेर म गङ्गा नभएको बेला होटलतिरै खाने गर्थें । आज आमै आफैं आएर त्यसरी अनुनय गरेपछि मैले नाइँ भन्न सकिनँ । त्यसैले ‘हुन्छ’ भनेँ ।

“चिया पिउनुहोस् न ।” यति भनेर उहाँ बाहिर जानुभयो । म त्यो तातो, मीठो चिया पिउन थालेँ । राति आधारातमा उठेर दर खाने योजनाअनुरूप बेलुकाको खानाचाहिँ अलिक चाँडै तयार भएछ । उर्मीले मलाई खाना खान बोलाइन् । म भान्साकोठामा गएँ । उर्मीले पकाएको भात भान्सा उनका बुबा-आमाले खाँदैन रहेछन् क्यार, भान्छे आमा नै लाग्नु भएको थियो । उनी र म सँगै खाना खान थाल्यौं । खाँदा-खाँदै उर्मीले भनिन् …….”तिम्रो खबर त बताएनौ पनि । भन न खास हाल खबर कस्तो छ ? के छ ?” उनले कुन कुरालाई आधार बनाएर त्यस्तो प्रश्न गरेकी हुन्, मैले बुझिनँ । फेरि स्वयम् आफ्नै आमाका अगाडि अन्यथा अर्थ लाग्ने कुरो त गर्नु नपर्ने ।

केही बुझदै नबुझी नै भनेँ, “ईश्वरको कृपाले अहिलेसम्म सुखपूर्वक नै बाँचेको छु । अब उनैको अनुकम्पा पाए हाँस्न पाइएला, अरू के हुनु र ।” “आजकल मेरो सोचाइ अलिक फेरिएको छ । मूर्ख र अल्छे अनि समयअनुसार चल्न नसक्ने लाछी मात्र इश्वरको भर पर्छ । आफ्नो जीवन निमार्ण गर्न, खुसी, हाँसो र सुख प्राप्त गर्न आफैं जुट्नु पर्छ । भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहुँदा अडिन्छ र – आफ्नो भाग्य खोज्न आफैंले सक्नु पर्दछ । परिस्थितिसँग जुधेर विजय प्राप्त गर्न सक्नेले नै सुख र ऐर्श्वर्यको भोग गर्न पाउँदछ भन्ने निष्कर्ष मेरो मनले निकालेको छ । त्यसैले हिजो आज म इश्वर सम्झन्नँ ।” आमाकै अघि उर्मीले भनेका यस्ता कुरा सुन्दा मलाई आर्श्चर्य लाग्यो । केही बोल्न सकिनँ । निहुरिएर खाना मुछिरहेँ । म नबोलेको देखेर होला उनकी आमाले भनिन्, “त्यो तेरो घमण्ड र मुर्ख्याइँ हो । इश्वरको इच्छा नभई मानिस मात्रले केही गर्न सक्दैन । मानिसको हर क्रियाकलापर् इश्वरलाई स्वीकार्य भए मात्र त्यो सफल हुन्छ, नत्र सफल हुँदैन । कि कसो बाबु ? उनले मतिर हेरेर प्रश्न गरेपछि केही न केही जवाफ त दिनै पर्यो, त्यसैले भनेँ, ” …….हजुर । भाग्यमा लेखिएका कुरा कसैले मेट्न सक्दैन ।”

यस्तै गफगाफ गर्दै खाना खाइसके पश्चात् म आफ्नो कोठामा गएँ । मेरा मानसपटलमा उर्मिलाको तस्बिर आएर घुम्न थाल्यो । अनेक प्रकारका तर्क-वितर्क उब्जिए मन मस्तिष्कमा । तर्क-वितर्ककै क्रममा एक मनले निर्णय गर्यो, “यहाँ कतिपय कुराहरू गर्दिन भन्दाभन्दै पनि गर्न बाध्य हुनुपर्छ । कतिपय कुराहरू देखेर पनि नदेखे झैं गर्नुपर्छ । मानिसहरू असल कर्म नगरी फलको आशा राख्दछन् । वास्तवमा असल फल प्राप्त गर्न चाहनेले कर्म पनि असल गर्नुपर्छ । दुष्कर्म गरेर असल फल प्राप्तीको आशा गर्नु कागतीको बोटमा आँप खोज्नु जत्तिकै हो ।”

म किन राम बन्ने कोसिस गरिहेको छु ? रामले आफ्नो त्यही आदर्शभावकै कारण कति दुःख पाए । दुःखै-दुःखमात्र भोगिरहे उनले जीवनभरि । सीताजस्ती आदर्श र सतीस्त्रीलाई त्याग्नु पर्यो । यो उनको रहरभन्दा पनि बाध्यता बढी होला । म रामको चरित्र अनुसरण गरूँ वा कृष्णको चरित्रको अनुकरण गरूँ, त्यसले खास के फरक पार्छ र ? राम जुन भगवान्का अवतार हुन् आखिर कृष्ण पनि उनै भगवानका अवतार हुन् । एकै भगवानले दुई रूप र दुई खाले चरित्र देखाउँदा हुने भने मैले मात्र किन नहुने ?

यहाँ एकले अर्कामाथि विश्वास गरेको हुन्छ त्यो त केवल मनको एउटा आधार मात्र हो । ‘मुठीभित्रको धन र आँखा अगाडिको स्वास्नीको मात्र भर हुन्छ,’ भनेर भन्ने हाम्रो समाजमा आदर्श एउटा हुन्छ गरिने कुरो अर्कै हुन्छ । यहीँ पनि समाजैपिच्छे अलग-अलग नियम छन्, परम्पराहरू छन् । कहीँ भाइबीचकी सगोल स्वास्नी राख्ने अर्थात् बहुपति प्रथा छ भने कहीँ बहुपत्नी प्रथा पनि छ । आखिर उनीहरू पनि त आफ्नो परम्परासँग रमाइरहेका छन् नि । मन नपरेका वा मनले नखाएको व्यक्तिसँग जीवन बिताउन कष्टप्रद हुन्छ भनेर जान्दा-जान्दै पनि यो सामाजिक मर्यादालाई हामीले किन संशोधन गर्न सकेनौं ? उर्मी र विनोदबीचमा केवल प्रतीकात्मक पति-पत्नी सम्बन्धमात्र कायम छ भन्दा पनि हुन्छ । त्यो पुरुषले शारीरिक सन्तुष्टि पाउँदो हो तर बिचरी उर्मी हररात आफूलाई लुटाउँछिन् मात्र ।

स्वास्नी मान्छे वेगले बगेकी नदी झैं हो भन्ने मान्यता पनि हाम्रो समाजमा कहीँ-कतै भेटिन्छ । वेगले बगको नदी कहिल्यै फोहोर र दूषित हुँदैन, सधैं स्वच्छ, सफा हुन्छ, फोहोर भए पनि बगेर गइहाल्छ । त्यही नारीलाई फेरि तलाउ वा पोखरी सम्झनेहरू पनि यहीँ छन् । नत्र ‘ढोल गवार पशु शुद्र नारी यी हुन् ताडनका अधिकारी’ भनेर भन्न अलिकति हिचकिचाहट त हुनुपर्ने नि ।’

‘काम वासनालाई दुर्दमन मान्नेहरू पनि प्रशस्तै भेटिन्छन् । र्स्वर्ग साम्राट, देवताहरूका राजा इन्द्रले आफ्नै गुरुकी पत्नीलाई समेत नछोडेको कुरा शास्त्रमा उल्लेख छ । ती दुईमा प्रेम भयो रे, के त्यो प्रेम पवित्र थियो त ? त्यहाँ वासना नै बढी थिएन त ? तिनै इन्द्रले ब्रह्मा पुत्री गौतम ऋषिकी पत्नी अहिल्याको इज्जत लुटे, रूप बदलेर, त्यो र्स्वर्ग सम्राट अझ देवताहरूका पनि राजाले गर्न सुहाउने काम हो त ? बिचरी गौतमीले आफ्नै पतिको रूप धारण गरेर आएको इन्द्रलाई आफ्नो शरीर सुम्पिन्, उनको के दोष ? दोष त रूप बदलेर आउने इन्द्रको हो तर सजाय गौतमीले पाइन् । त्यसैले उनीले शिला बन्नुपर्र्यो । आखिर नारीमाथि नै त अन्याय भयो नि । काम क्रीडाको लागि पुरुष नै पहिले अघि सर्छ र काम प्रस्ताव पनि पहिले पुरुषले नै राख्छ भन्ने तर्क पनि असत्य हैन किन कि ऊ छिट्टै उत्तेजित हुन्छ ।’ मेरा मनमा यस्तै भावनाहरू दगुर्दै थिए । जगमा पानी लिएर उर्मी आइन् ।

“के गर्दै छौ ?” पानी टेबलमा रखेपछि उनले सोधिन् ।

“के गर्नु र ? त्यसै ढल्किरहेको छु ।” मैले भने ।

उनी मेरो बिछ्यौनामा आएर बस्दै बोलिन्, “मेरो बारेमा नै त सोच्दै थियौ होला नि हैन ?”

म केही बोलिनँ केवल हाँसेंमात्र । त्यसको उनले खै कस्तो अर्थ लगाइन् कुन्नि जुरुक्क उठेर गएन् र कुर्सीमा बसिन् । टेबलको एउटा पत्रिका टिपेर हेर्न थालिन् । म उनैलाई नियालिरहेको थिएँ । उनले धेरै बेर त्यो पत्रिका हेरिनन् । पुनः उठेर म नजिक बिछ्यौनामा आएर बसिन् र मेरो बायाँ हातलाई आफ्ना दुबै हातका माझमा राखेर सुमसुम्याउनै थालिन् । मेरा ओठ, मुख, तालु, सुक्यो । डरले हो वा शारीरिक उत्तेजनाले हो कण्ठबाट कुनै शब्द नै निस्कन सकेन । न त मैले आफ्नो हात नै उनको हातबाट फुस्काउने प्रयास गरेँ । मेरो मौनतालाई उनले स्वीकृति ठानिन् क्यार मेरो हातलाई आफ्नो अनुहारसम्म पुर्याएर मुहार हुँदै छातीमा टाँसिन् । मेरो अन्तर्दाहमा आगो सल्क्यो । त्यही आगोको रापले पोलेकाले होला म हतबुद्धि भएर टोलाइरहेँ । नारीमा आमा बन्ने आकाङ्क्षा उर्लनुलाई अस्वाभाविक ठान्न सकिनँ र ठान्नु हुँदैन पनि तर आमा बन्नलाई उनले अपनाउन लागेको बाटोलाई स्वाभाविक ठान्नु कसरी ?

गुलियो महमा झिँगा लुटपुटिएर मर्छ, बत्तीको उज्यालोमा झुम्मिएरको पुतली त्यही बत्तीमा ढडेर मर्छ । त्यसरी नै नारी सौर्न्दर्यमा लुटपुटिन पुरुष लालायित हुन्छ र त्यही प्रयत्नमा कतिले आत्म-आहुतिसमेत गर्दछन् । इतिहास तथा शास्त्र साक्षी छ नारी सौर्न्दर्यको नशाले संसारमा ठूल्ठूला विनाशसमेत निम्त्याएको छ । यो सब जान्दा-जान्दै पनि म उर्मीको सुन्दर नारी देह भोग्न, उसको कोमल सौर्न्दर्यमा लुटपुटिन वा उसँगको शारीरिक संर्सगबाट प्राप्त तृप्ति खोज्न अघि र्सर्नु मेरो मूर्खता हो । यो सब बुझेर पनि म किन ऊतिर यसरी आकषिर्त भइरहेको छु ? मानवीय प्रवृत्ति सम्झूँ कि मेरो आफ्नो कमजोरी, खै म के भनूँ – उनको दुर्दमनीय इच्छाका सामु मेरो धैर्यताले घुँडा टेक्यो । नारी भावना सन्तान कामनाका लागि कतिसम्म साहसी बन्दो रहेछ भन्ने कुरा मैले बुझें । त्यही ‘आमा’ शब्दको मोहमा परेर कुनै नारी सती उपाधि त्याग्न अघि सर्छे नै मैले के भनूँ ? म आफ्नो नैतिकता, धर्म र संस्कारप्रति दृढ पुरुष खै कसरी-कसरी एउटी नारीको सामु चुकेँ …….मनमा पश्चाताप लागे पनि केही बोलिनँ चुपचाप घोरिइरहेँ ।

मेरो हातमा पानीको गिलास राखिदिँदै उनले भनिन्, “चैतको खेतजस्तो उजाड र सुख्खा मेरो जीवनलाई सिँच्ने साहस तिमीले गर्र्यौ । त्यसमा म तिमीप्रति कृतज्ञ छु । जीवनयात्रालाई सहज बनाउन तिमीले गरेको सहयोग मैले जीवनभर आफ्नो हृदयमा राखेर पुजे पनि हुन्छ । मेरो जीवनको भयावह स्थितिबाट पार पाउन सकेँ भने मनले एउटा आत्मिक सन्तोष पाउने थियो ।” यसो भन्दा उनका आँखामा कृतज्ञताका आँसु छचल्किएर पोखिए पनि तर मैले कुनै प्रतिक्रिया जनाइनँ । चुपचाप पल्टिइरहेँ ।

भाग

धेरै बेरको मौनता पश्चात् उनैले भनिन्, “तिम्रो मनमा अहिले ठूलो चिन्ता र पीर मडारिइरहेको छ । त्रि्रो अन्तर्आत्माले तिमीलाई गाली गरिरहेको छ अनि मैले गल्ती गरेँ भनेर तिमी आफैं पिरोलिइरहेका छौ । तिम्रो मलिन अनुहार र भावशून्य नयनले यिनै कुरा बताइरहेका छन् । चिन्ता नगर तिमीले न कुनै गल्ती गरेका छौ, न कुनै पाप नै । भत्काउनु, बिगार्नु, ध्वंस गर्नु पो पाप हो त । बनाउनु, संसार सिँगार्न खोज्नु, हराभरा पार्नु के को पाप – मेरो मनको व्रि्रोहको आगो तिमीले निभाइदिएका छौ । अहिले म एकदमै सामाजिक प्राणी भएर बाँच्ने प्रयास गरिरहेको छु ।र इश्वरप्रतिको निष्ठा पनि मेरो मनमा छँदै छ, समाप्त भएको छैन बरु अहिले त झन् बढ्न थालेको अनुभूति भइरहेको छ ।”

यति भनिसकेर उनी उठिन् । त्यस बेला अर्थपूर्ण विजयको मुस्कान उनका अधरमा दौडिरहेको देखेँ मैले तर पनि केही भनिनँ । उनी मेरो कोठाबाट बाहिरिए पश्चात् बल्ल लामो श्वास फेरेर मुक्तिको अनुभव गरेँ । मेरो मन साह्रै अस्थिर भयो । मुटुको धड्कन पनि बढ्यो । नानाथरीका चिन्ताहरू आइरहे । एकपछि अर्को गर्दै मनभरि-भरि । भरसक आफूलाई सम्हाल्न आफ्नै मनलाई सान्त्वना दिन थालेँ, ‘सचेत अवस्थामै आफ्नो सम्पूर्ण विवेकले अह्राएरै उर्मीले आफ्नो सम्पूर्ण स्वः ममा समर्पण गर्न अघि सरेकी थिइन् । आफ्नो इच्छा, मनोकाङ्क्षा बुझिदेओस् भन्ने आकाङ्क्षा सधैं उर्मीको मनमा हुन्थ्यो पनि । उनलाई बुझन नखोज्नु र बुझन नसक्नु अनि उनले सभक्ति अर्पण गरेको उनको आफ्नो सम्पूर्ण स्वःलाई ग्रहण नगर्नु मेरो अकर्मण्यता वा अर्समर्थता नै पनि हुन सक्छ । नारीसँग सङ्गत नभएर मैले नारी भावना बुझन नसकेको पनि होइन, भने जति सङ्गत मैले नारीसँग गरेको छु । त्यसमा पनि मेरी पत्नी गङ्गासँगको सहवास र सङ्गत पनि पर्याप्त छ ।

नारी भावना बुझन भने मैले उर्मी र उनको भावनालाई बुझन नसकेको कारणचाहिँ के होला – उनको मनमा मप्रतिको मुग्धता, आकर्षा केवल शारीरिक तृप्तिको लागि मात्रै हो भनेर ठान्नु हुँदैन । उनको मनमा मप्रति भक्ति भाव पनि पर्याप्त रहेछ । यो सबै जानेर पनि अब आफूलाई दोषी कसरी ठान्नू – र किन ठान्नू -‘ मेरो मनको कुरा ठ्याक्कै सुनेजस्तै गरेर उर्मीले मेरो कोठामा पस्दा-पस्दै भनिन्, “….. तिमीलाई मैले अघि नै भनिसकेँ आफूलाई दोषी नठान भनेर । तिमीले किन आफूलाई दोषी ठान्नू – दोष त्रि्रो पटक्कै छैन । मैले त आफूलाई पनि दोषी ठानेकी छुइनँ । झन्डै एक हप्ता अगाडि मेरी सासू मेरो लोग्ने भनाउँदोलाई भन्दै थिइन्, “……. हेर बाबु ! यस्ता थारा आइमाईको मुख हेरिरहिस् भने तेरो केश फुल्छ, हामी मरेर मकाउँछौं तर यो घरमा कुलको दीप बल्दैन । त्यसैले मैले भनेको मान्छस् भने खुरुक्क अर्को विवाह गरिहाल् । मैले त दुइ-चार ठाउँ कुरा चलाई पनि सकेकी छु । एक-दुइ ठाउँबाट त बोलावट पनि आएको छ । के गर्ने हो छिट्टै निर्ण्र्ाागरिहाल् । पछि समय बितेपछि पछुताएर मात्रै केही हुँदैन ।”

मेरी सासूका त्यस्ता कुरा सुन्दा मलाई कति रिस उठ्यो होला, मेरा मनमा कस्ता-कस्ता व्रि्रोहका ज्वाला दन्किए होला आफैं कल्पना गर । आफ्नी आमाको त्यति कुरो सुनेपछि मेरो पति विनोदले भने, “एउटा साह्रै जान्ने ज्योतिषिले तेरो सन्तान हुन्छ भनेको छ रे, बुटी पनि बाँधेकी छ । दुइ वर्षपुग्न पनि लाग्यो, त्यसैले अब चार-पाँच महिना हेरौं अनि त्यसपछि पनि भएन भनेचाहिँ केही सोच्नै पर्ला ।” उनले सोच्नै पर्ला भनेपछि मैले चाहिँ नसोची भयो त – हेर त्रि्रो मनले भन्दै छ, ‘यो उर्मी बहुलाउन लागी भनेर होइन -‘ वास्तवमा मलाई त्यस्तै भएको छ तर पनि मैले म आफू एउटी नारी हुँ, त्यसमा पनि हिन्दू नारी हुँ भन्ने बिर्सिएकी छुइनँ र बिर्सन्नँ पनि ।

नारी भएकैले नारीजन्य चाहना मेरा मनमा पनि छन् तर पनि मैले सोह्र शृङ्गार गरेर विभिन्न महङ्गा गहनापातले बत्तुदार पहिरनमा सिँगारिएर आफ्नो सौर्न्दर्यको अभिमान गर्दै, गाजलु मृगनयनले कटाक्षपात गर्दै चोक-बजार मैले डुल्न चाहिनँ । जीवनको आनन्द र सौर्न्दर्य सम्भोगकै माध्यमबाट मात्र प्राप्त हुन्छ भन्ने मैले ठानेकी पनि छैन । नारी मनले खोज्ने बालस्नेह प्राप्त गर्न र आफ्नो मातृत्व पोख्ने ठाउँ खोजेकी मात्र हुँ । सायद खोज्ने पनि थिइनँ होला तर त्यो परिवारले खोज्न बाध्य गरायो । त्यसरी आमा बन्ने बाटो खोज्नु अपराध हो भने त्यो अपराधको सजाय बेहोर्न म तयार छु । एक पतिको निष्ठामा बसे मरेपछि र्स्वर्ग पाइन्छ, त्यही र्स्वर्गमा बास गरौंला भन्ने लालचा मलाई छैन । म यही धर्तीमा सुख-शान्तिले हाँसेर बाँच्न चाहन्छु, त्यहाँ हो मेरो लागि र्स्वर्ग । “तिमीले चिन्ता लिँदा अर्थात् पश्चाताप गर्दाचाहिँ मलाई पीर पर्छ । त्यसैले म अझै पनि भन्छु त्रि्रो शारीरिक उत्तेजनाको रसपान गर्ने उद्देश्य राखेर आफ्नो भरिलो, रसिलो र आकर्ष शरीरको लोभ देखाउँदै तिमीबाट शारीरिक सन्तुष्टि खोज्न म आएकी होइन । म आफ्नो अलौकिक सौर्न्दर्यताको जादुले पुरुष लठ्याउँदै हिँड्ने नारी पनि होइन । अतीतको मीठो स्मृति र भविष्यको सुन्दर आस्था सजाएर सन्तानको सुख भोग्ने नारीजन्य चाहना र खुसी खोज्नमात्र आएकी हुँ । तिमीमा नारी दृष्टिकोणको सत्यता र गहिराइ बुझन सक्ने क्षमता छ भनेर नै आफ्ना सुनौला सपनाहरूले भरिएको पीडाको भारी बिसाउन तिम्रो समीपमा आएकी हुँ । वात्सल्यको कल्पना र त्रि्रो र्स्पर्शको मादकताले मेरो मन उडेर सुनौलो संसारमा पुगेको छ, सायद खुसीको सागरमा गोता मारिरहेको पनि होला मेरो जीवन ……. ।” उनले धैरै कुराहरू भन्दै गइन् ।

उनको कुरा सुनेर, उनका आँसु देखेर र उनको मनोभाव बुझेर म पग्लिएँ । उनको सरल र निष्कपट अनि आत्मीय व्यवहारले म उनीतिर आकषिर्त हुँदै गएँ । हामीबीच र्समर्पणको भाव, अभाव र खाँचोको नाता अनि अभावले सिर्जना गरेको साइनो थियो । त्यसभित्र धोका, जालझेल र छलकपट केही थिएन । उनले ममाथि अगम्य विश्वास गरिरहेकी छिन्, निर्मल, निश्चल अनि निश्छल प्रेम र्समर्पण गरिरहेकी छिन् भन्ने बुझेपछि मेरो अर्न्तर्मनमा आत्मीयताको भाव स्फुरण भएर आयो । मैले आफ्नो सम्पूर्ण स्वःलाई बिर्सेर। उनको त्यो र्समर्पण, त्यो सद्भावना, त्यो विश्वास, त्यो निर्भरता र आस्था पाएर मभित्र रहेको सम्पूर्ण क्लेश र मैला अनि शङ्का र अहङ्कार सबै पग्लियो र बग्यो आँखाबाट आँसु बनेर । अनि मैले आफूलाई सम्पूर्ण रूपले समर्पित गरेँ उनको काखमा । आफ्नो खुट्टामा आफैंले बन्चरो हानेपछि पछुताएर पनि के गर्नु र – यो मान्छेको जीवन पनि कति अनिश्चित हुँदो रहेछ भने, सोच्दै नसोचेको कुरो पनि भइदिन्छ, गर्दिन भनेको कुरो पनि गर्नु पर्छ । मैले स्वेच्छापूर्वक नै त्यस्तो कर्म गरे पनि कसैप्रतिको षड्यन्त्र सफल पार्न वा उर्मीसँग कुनै समयको बदला लिन वा उनका पति विनोदलाई धोका दिन्छु भन्ने उद्देश्यले पनि गरेको होइन । मैले जानी-जानी विनोदलाई धोका दिएको नभए पनि उसलाई धोका त भएकै छ । …….तर धोका पनि कसरी भन्नू – कुनै लुटेरा वा आवाराले झैं मैले उनको नारीत्व लुटेको त हैन नि । सुरुमा म उर्मीको प्रेमको लागि सारा सुख, संसार त्याग्न तयार थिएँ ।

आमा-बुबा, धन-सम्पत्ति, इष्ट-मित्र, धर्म-समाज, नाता-गोता सबै त्याग्नसमेत तयार भएको थिएँ । तर अहिले समय र परिस्थितिले यस्तो गरायो कि केही नत्यागी मैले उनलाई पाएँ । तर …….. त्यस बेलाको मेरो चाहना र अहिलेको प्राप्ति एउटै कुरो हो र – के त्यस बेला पनि मैले केवल उनको तन र मनमात्रै चाहेको थिएँ त – अहिले उनले तन र मन मलाई सुम्पिइन् तर साथ – यो त म उनीबाट पाउन सक्दिनँ र मैले त्यसको आशा पनि गर्नुहुदैन । मैले उस बेला उर्मीको तन र मन नखोजेर प्रेम र साथ खोजेको थिएँ । अहिले त मैले गङ्गाको साथ र प्रेम पाइरहेको छु नि, फेरि किन चाहियो मलाई उर्मीको साथ – यो घर अब मेरो लागि सुरक्षित र उचित छैन । यहाँ नचिताएको कुरो हुन थाल्यो । कुनै कारणबाट यो कुरो हामी दुइबाट अन्य कुनै तेस्रोमा चुहियो भने……….-” मेरो मनमा आइरहेका, सोचिएका तरङ्गले मलाई तर्सयो । उर्मीको माइतीघरको भयावह स्थितिले मेरो मन, मुटु फुलेको थियो डर र त्रासले । त्यसै बेला उर्मी मेरो कोठामा पस्दै बोलिन्, “तिमी अझै स्वाभाविक हुन सकेका छैनौ – के सोचेर लडिरहेका त्यसरी – उठेर हात-मुख धोऊ, मैले चिया बनाइसकेँ ।”

“के सोच्नु र – मैले केही पनि सोचेको छैन ।” “झूट किन बोल्छौ – तिम्रो अनुहारभरि कोरिएका वेदनाका धर्सर्ाा नै साक्षी छन्, तिमी आफ्नो मनसँग आफैं डराइरहेका छौ भनने कुराको ।”

“ती कुरा छोडिदेऊ उर्मी ! अँ आज त्रि्रो ब्रत होइन – नारीहरूको लागि यो तीजको ब्रत त साह्रै महत्त्वपूर्ण हुन्छ भन्छन् । अन्न-पानी नखाई ब्रत बस्ने दिन तिमीचाहिँ बिहानै चिया पिउने कुरा गर्र्छौ नि -” मैले आफ्नो बिछ्यौनाबाट उठ्दै यो प्रश्न गरेँ तर यसको जवाफ नदिई उनी बाहिर निस्किइन् । म पनि बिहानको नित्य कर्मका लागि धारातिर लागें । बेलुकाको घटनाले मलाई घोच्न छाडेन । जति नसम्झूँ र भुलूँ भन्छु झन्-झन् आलो भएर आउँछ । रातभरि एउटा परपुरुषको कोठामा बसेर समय बिताउँदा उनका बुबा-आमाले के सोचे होलान् – हामी सानैदेखिका साथी हौं, उनीहरूको विश्वास मैले जितेको पनि छु, उर्मी र मेरो बीचको सङ्गतलाई उनीहरूले कहिल्यै शङ्का गरेर हेरेनन् भन्दैमा हामीले त्यति ठूलो हेलचेक््रयाइँ त केही गरे पनि गर्नु हुने थिएन । मेरै बुद्धिमा बिर्को लागेकोले त्यस्तो अप्रत्यासित घटना भयो ।

अब यसको कारणले मैले कति बेइज्जत र अपमान सहनु पर्ने हो कुन्नि – ‘हाम्रो हिन्दू समाजको वास्तविक यथार्थता, आफ्नो सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य र मान्यतालाई भुलेर नैतिकताको पर्खाल नाघेर गरिएको कुनै पनि कामले इज्जत र नामको सट्टा बेइज्जत र बदनामी नै प्राप्त हुन्छ भन्ने कुरालाई मैले किन मनन गर्न सकिनँ ? हुन त यौवनको उन्मातमा सडकमा आफ्नो रूप, यौवन र उत्ताउलो बैंसको जादु देखाउँदै हिँड्ने युवतीसँग लहसिएको होइन । एउटी नारी महत्त्वाकाङ्क्षा पूरा गर्न उनको उत्कट जिजीविषालाई जोगाउनमात्र मैले त्यो कर्म गरेँ । त्यसमा मेरो प्रयास पनि उति छैन, छँदै छैन भने पनि हुन्छ । धुर्त्याइँ र स्वार्थले प्रेरित भएर मैले त्यसो गरेको पनि होइन भने म किन डराउँ यथार्थतासँग ? म किन भयभित हूँ पापसँग ? यस्तै सोचेर मनलाई सम्झाउँदै मैले हात-मुख धोइसकेँ र कोठामा गएँ । लगत्तै एउटा ठूलो गिलासमा चिया बोकेर उर्मीले प्रवेश गरिन् । कुर्सीमा बसेर ठूलो गिलासमा ल्याएको भरी चिया आधा अर्को गिलासमा खन्याइन् र दुइ कप बनाइन् अनि एक कप मलाई दिइन् र अर्को कपको चिया आफूले लिइन् ।

“लौ लेऊ चिया । उता बसेर चिया पिउँदा आमाले कराउनुहुन्छ । त्यसैले यति बुद्धि लगाएकी ।” उनले भनिन् ।

उनको सामुन्नेको कुर्सीमा बसेर चियाको घुट्की निल्दै मैले भनेँ, “उर्मी ! हरेक विवाहित हिन्दू नारी आज तीजको दिन आफ्नो पतिको असल स्वास्थ्य, सफलता र दर्ीघायुको कामना गर्दै दिनभर निराहार बसेर ब्रत लिन्छन्, मन्दिर जान्छन्, पूजा गर्छन् तर तिमीचाहिँ ती सबै कुरालाई बेवास्ता गर्दै चिया पिइरहेकी छ्यौ । त्यसो गर्नु त्रि्रो आस्था र नैतिकताले दिने कुरो हो र -” मेरो प्रश्न सुनेर उनी एउटा व्यङ्ग्यात्मक हाँसो हाँसिन् र बोलिन्, “यही त हो नारीमाथिको शोषण र दमन अनि पुरुषहरूको मपाईंत्व र अहम्ता । पत्नीले दिनभर भोकै र तिर्खै बसेर, दुःख पीडा खपेर ब्रत बस्ता उसको लोग्नेको स्वास्थ्य सप्रन्छ, सफलता हात लाग्छ र दर्ीघायु हुन्छ भनेर परम्परा बसाल्ने को हो ? राम्रो स्वास्थ्य र दीर्घायु हुन त आफूले सर्त्कर्म गर्नुपर्छ, सरसफाइ र खानपिनमा ध्यान दिनुपर्छ । स्वास्थ्यमा हानी आउने गरी जाँड र रक्सी घिचेर हिँड्छ, चुरोट त्यतिमात्र नभएर अन्य लागूपदार्थसमेत सेवन गरेर हिँड्छ अनि पत्नीले उसैको स्वास्थ्य र दीर्घायुको लागि ब्रत बस्नु र? अल्छे लोग्ने सत्प्रयास कहिल्यै गर्दैन, अनि स्वास्नीले ब्रत बसिदिँदा उसको कार्य सफल हुन्छ – आफ्नो लागि आफैंले गर्नुपर्छ । धर्मको नाममा परम्पराको अन्धभक्त हुनु पनि राम्रो होइन । मेरो पतिको त झन् के कुरा गर्नू – विवाह मण्डपमा बसेको बेला थरथरी हात कमाउँदै सिउँदोमा एकमुठी सिन्दूर हालिदिएर र बाबु-आमाले कन्यादान गरेको बेला दान थाप्दैमा उसको सम्पूर्ण कर्तव्य पूरा भएको ठान्ने अनि सधैं आफ्नो आधिपत्य जमाउन खोज्ने र पत्नीलाई दास ठान्ने मान्छे, मैले उसको अधीनमा बस्दा स्वतन्त्रताको अनुभूति कहिल्यै पाइनँ । पराधीनताको पनि त एउटा सीमा हुन्छ नि, अतिचारै त कसैले गर्नुहँदैन नि । त्यति अतिचार खपेर पनि फेरि म उसैको दीर्घायुको कामना किन गरौं ?

 भाग

यो समयसँग हाम्रा सोचाइ र मनका भावनाहरू किन परिवर्तन हुन सकिरहेका छैनन्, मलाई आर्श्चर्य लाग्छ । हाम्रो बाहिरी अवरणमात्र परिवर्तन भएको छ, भित्री सोचाइ र भाव बदलिन सकेको छैन । केही वर्ष अघिसम्म नारीहरू उचाल्नै नसक्ने गरीको फरियाँ र चोली लगाएर हिँड्नुमा आफ्नो प्रतिष्ठा ठान्थे । अलिपछि गएर नौ हाते सारीमा रमाएका नारीहरू आफ्ना शरीरका अङ्गहरू छोप्नुलाई सौर्न्दर्य मान्थे, तर अहिले जति सकेको अङ्ग प्रदर्शन गर्नुलाई सौर्न्दर्य ठान्छन् । यसरी दिनप्रतिदिन आधुनिकताको नाममा विकृति भित्रिँदैछ तर सोचाइमा परिवर्तन खै त ?

अङ्ग प्रदर्शनबाट, नग्नताको होडबाजी गरेर आधुकिकताको तडकभडक देखाएर हिँड्ने नारीलाई त्यस अर्धनग्न पहिरनले जति मात्रामा फाइदा गर्दछ त्योभन्दा बढी त बेफाइदा नै गरिरहेको छ तर पनि उनीहरूले त्यसलाई त्याग्न सकेका छैनन् । हँदाहँदा अब त देख्नेले नै आँखा छोप्नु पर्ने अवस्था पनि आइसक्यो ।

यसरी आधुनिकताको नाममा जतिसुकै नाङ्गिदै गए पनि आखिर उनीहरू नेपाली नारीहरू नै हुन् । हिन्दू नारी हुन् । उनीहरूको अभ्यन्तरमा उही भाव हुन्छ, उही दासत्वको बाध्यता हुन्छ । त्यही मान्यताले थिचिएर होला अर्काको गल्तीचाहिँ च्याई-च्याई हेर्छन् र आफ्नो कसैले हेर्न खोज्यो भने रिसाउँछन् । यही हो हामी नारीहरूको स्वभाव – हामी अर्काको आङको जुम्रो देख्छौं तर आफ्नै आङको भैंसी देख्दैनौं । यही कारणले हामी दिन-प्रतिदिन पछाडिदै छौं ।” उर्मीको कुरोले मलाई कस्तो-कस्तो लाग्यो । उसलाई गाली गर्ने वा हकार्ने क्षमता मसँग छँदै छैन ।

त्यसैले अनुनयनकै भावमा भनेँ, “समाजलाई विशृङ्खलित हुनबाट जोगाउन एउटा रीतिस्थिति, परम्परा, धर्म र नैतिकताको सीमारेखा बनाउनु र त्यही परिधिभित्र जिउन मानिसहरूलाई प्रेरणा दिनु नराम्रो कुरो हो र उर्मी ? “नराम्रो कुरो होइन होला तर त्यो परिधि खालि नारीकै लागि मात्र किन बनाइन्छ ? धर्मको नाममा नारीहरूको अधिकारको शोषण गर्नु कहाँसम्मको न्याय सङ्गत कुरो हो त ? मैले नारी अधिकारको नाममा यौन स्वतन्त्रता पनि खोजेको होइन । मैले सम्भोग सुख प्राप्ति गर्नका लागि तिम्रो साथ र त्यसलाई निरन्तरता दिनकै लागि हाम्रो धर्म, संस्कार र परम्पराको विरोध गर्न खोजेकी हैन । फेरि सबै नारीहरू सम्भोग सुख प्राप्त गर्नका लागि लालायित हुन्छन् भन्ने तर्क पनि मेरो होइन । मेरो पीडा वा दुःख त यति हो नारी हुनुको गर्व मैले गर्न पाइनँ । नारी, त्यसमा पनि विनोदकी पत्नी भएको पीडा मैले भोग्नु परिरहेछ ।

म यहाँ जसरी घृणा र तिरस्कारको आगोको ज्वालामा पिल्सिँदै जिउन बाध्य भएकी छु, त्यसरी नै लाखौं नारीहरू बाध्य भएका होलान् । जबसम्म नारीले नारीमाथि शोषण गर्ने पद्धति समाप्त हुँदैन, समाजमा विद्यमान केही परम्परालाई सुधार गरिँदैन तबसम्म हामीजस्तै नारीहरूले मुक्तिको सास फर्ेन पाउने छैनौं । नारी स्वतन्त्रताको लागि नारीले नै एक भएर विद्रोहमा उत्रिन सक्नुपर्छ । यही भावनालाई मैले आफ्नो हृदयमा राखेकी छु ।” उर्मीका यस्ता विद्रोही कुरा सुनिसकेपछि मैले पुनः भनेँ, “हामी हिन्दूमात्रले अँगाल्दै आएको, परम्परा वा संस्कृति भनौं वा हिन्दूत्वमा सबै प्रथा राम्रा छन्, कुसंस्कार र रूढिवादिता पटक्कै छैन भनेर भन्नु त मेरै मूर्खता हुनजान्छ । गुण नै गुणले मात्र भरिएको र अवगुण भन्ने चीज पटक्कै नभएको कुनै वस्तु यस संसारमा पाइँदैन होला । त्यसैले म हाम्रो संस्कार र संस्कृति पनि अवगुण नभएको खालि गुण नै गुणले भरिएको छ भनेर भन्दिनँ । अनेकौं कुरीतिहरू छन्, तर छन् भन्दैमा सम्पूर्ण संस्कार र परम्परालाई नै दोषी ठान्नु त कसै गरे पनि हुँदैन नि ।कुनै औंलामा चोट लाग्यो भन्दैमा हातै काटेर फाल्नु त मर्ूखता सिवाय अरू के होला र – त्यो घाउको उपचार गर्न सक्नुचाहिँ पो बुद्धिमानता हुन्छ त हैन र उर्मी -”

“तिम्रो कुरालाई पनि गलत हो भनेर भन्न म सक्दिनँ । तिमी आफ्नो ठाउँमा ठिकै छौ किन कि तिमी पुरुष हौ र यो पुरुषप्रधान समाज हो तर मेरो धारणाअनुसार परम्पराको अन्धभक्त हुन पनि राम्रो त हैन होला । परम्पराले समाजलाई अहित गर्छ भने त्यस्तो परम्परा त्याग्नैपट्ट िलाग्नु पर्छ । समाजको अहित हुँदैन, अरू कसैको कुभलो पनि हुँदैन र आफ्नोचाहिँ भलो र श्रीबृद्धि हुन्छ भने त्यस्तो कार्य परम्परामा नभएको भनी त्याग्नपट्टि किन जाउँ ? त्यसो गर्न म सक्दा पनि सक्दिन । मानिसले आफ्नो स्वविवेकको प्रयोग गरेर आफ्नो जीवन सुखी र समृद्धि बनाउन सकोस् भनेर त प्रकृतिले हरेकलाई अलग-अलग प्रकारको स्वतन्त्र बुद्धि, क्षमता र विवेचना शक्ति दिएको छ नि । जोसँग बढी क्षमता र बुद्धि छ उसैले बढी सुख भोग्न पाउँछ । त्यसमा अरूले रिस गर्नु पनि हुँदैन ।”

“उर्मी ! हाम्रा पुर्खाहरूले आत्मसात् गर्दै आएका अनेकौं सामाजिक परम्परा र संस्कृति अनि संस्कारलाई एकैपटक त्याग्न त गाह्रै पर्छ । यो बदल्छु भनेर लाग्नु स्वाभाविक भए पनि अभियान पूर्ण सफलै हुन्छ भनेर भन्न सकिन्न । यी त बिस्तारै-बिस्तारै बदलिँदै जाने कुरा हुन् । यसमा कसैको एकल प्रयासको कुनै अर्थ नै रहँदैन । तिमी एउटी नारी भएर पनि आफ्ना अग्रज नारीहरूले अपनाएका परम्परालाई गलत हो भनेर कसरी भन्न सक्छौ ? के ती सबै नारीहरू केवल मूर्खमात्रै थिए त ? तिम्री आमा पनि एउटी नारी हुन्, उहाँले तिमीलाई जुन बाटो देखाउनु भयो, जुन आदर्श सिकाउनु भयो के ती सबै गल्ती नै थिए त -”

“मेरी आमाको कुरा गर्यौ तिमीले, उहाँ एउटी कट्टर हिन्दू नारी हुनुहुन्छ । त्यसैले उहाँले मलाई सधैं सती, सावित्री र सीताको चरित्र नै रटाउनुभयो । सीताको आदर्श र पतिपरायणताको बारेमा पढाउनुभयो । उहाँले मलाई गान्धारीको चरित्र र उनको त्याग र र्समर्पणको कथा सुनाउनुभयो । त्यसैलाई अनुसरण गर्न सिकाउनु भयो । गान्धारीकै समकक्षी पञ्चकन्यामध्येकी अर्की नारी द्रौपदीको चरित्रको बारेमा किन कम बताउनुभयो र केवल त्याग मात्रै भन्नुभयो – वास्तवमा मेरी आमाले द्रौपदीकोे त्यागमात्र देख्नुभयो । आफ्नी सासूको वचन नाघ्न नसक्दा आफ्नो प्यारो पति अर्थात् आफूले स्वयम्वर गरेका पति अर्जुनलाई सुम्पिएको विशुद्ध प्रेम अरू भाइहरूलाई समेत बाड्नुपर्दा उनलाई कति कष्ट भयो होला – मेरी आमाको तन मनमा मेरा बुबाप्रतिको माया, ममता, आदर्श र सम्मान बढी थियो । त्यसैले उहाँले द्रौपदीको त्याग र र्समर्पणमात्र देख्नुभयो । वास्तवमा द्रौपदीले आमाले भने जति त्याग नगरेको पनि हुनसक्छ । एउटा पतिसँग जिउनुभन्दा धेरै पतिको साथमा जिउँदा जीवन बढी सुरक्षित हँुदो हो नि । आज मेरो पति विनोदमात्र नभएर अर्को एउटा पनि भइदिएको भए अथवा समाजले र कानुनले मान्यता दिएको अर्को पति पनि हँुदो हो त मलाई आमा बन्न यति कठिन नपर्दो हो नि । मैले बाँझी आइमाई, अलच्छिनी र कुलङ्गारको उपमा पाएर रुँदै-रुँदै बस्नु पर्ने थिएन होला ।”

“उर्मी ! स्त्रीको त्यागले र स्त्रीकै सक्रियतामा यो संसारले गति पाउँदछ । त्यसैले त जुन कुलमा स्त्रीलाई पूजा गरिन्छ, त्यस कुलबाट देवता प्रशन्न हुन्छन् । जहाँ स्त्रीको अपमान गरिन्छ, त्यहाँ गरिने सबै कर्म निष्फल हुन्छन् भनेर नारीको पक्षमा वकालत पनि गरेको छ शास्त्रले । मलाई त लाग्छ हाम्रो धर्म र धर्मशास्त्रले सधैं नारीलाई महानताको श्रेणीमा राखेको छ ।”

“धर्म र धर्मशाास्त्रले के भन्छ र के गर्छ त्यो मैले राम्ररी बुझिसकेकी छु । नारी स्वतन्त्रता र समानताका साथै नारीको हक अधिकारको बारेमा धर्मशास्त्र कुन ठाउँमा बोलेकोे छ – हाम्रो आदर्श नारी सीतालाई हेर त । उनले आफ्नो र्सवस्व रामलाई ठानिन् । आफ्नो पतिलाई परमेश्वर ठानेर उनी्बाहेक अन्य परपुरुषको मुखमात्रै पनि हेरिनन् । आफ्नो सम्पूर्ण सामर्थ्यले भ्याएसम्म पति र सासू-ससुराको सेवा टहल गरिन् । राम वनबास लाग्दा पतिको साथ छोड्नु अपराध ठानेर पछि लागिन् । लाखौं कष्ट सहेर वन, जङ्गल, डाडा-काडाँ, पाखा-पहरा, जाडो-गर्मी केही नभनी पतिको पछि लागि रहिन्, सेवा गरिरहिन् तर परिणाम के भयो – महिनौंसम्म रावणजस्तो व्यक्तिको कब्जामा बन्दी भएर बस्दा पनि उनले आफ्नो नारीत्व र सतीत्वमा आँच आउँन दिइनन् । हरदिन रात आफ्नै पतिको नाम जपेर बिताइन् तर ……… हजारौं दुःख विपत्ति किन आयो – आफू पवित्र छु भन्ने कुराको प्रमाणित गर्न उनले अग्निमा प्रवेश गरिन्, त्यतिले पनि त उनको पवित्रता प्रमाणित हुन सकेन । एउटा जाबो धोबीको कुरा सुनेर रामले उनलाई त्यागे । जङ्गलको बास बस्नुपर्र्यो । प्रसूति व्यथाले च्यापेको बेला जङ्गलमा साधु-सन्तको सहारामा बिताउनुपर्दा उनलाई कति कष्ट भयो होला – एउटी नारीलाई जङ्गलको माझमा बसेर छोराहरू हर्ुकाउन कति कठिन भयो होला – अग्निमा प्रवेश गरेर आफ्नो सतीत्वको परीक्षा दिइन्, त्यतिले मात्र नपुगेर देश निकाला भइन् र पनि यो समाजले उनको चरित्रमाथि औंला उठाउन छाडेन, नारीमाथि धर्मले गरेको न्याय यही हो त – नारी शरीर प्राकृतिक रूपले नै कमजोर हुन्छ पुरुषको भन्दा । त्यसैले पत्नीको सुरक्षा गर्नु पतिको कर्तव्य हो । आफ्नो साथ लागेर आफूसँग जङ्गल पसेकी पत्नीको सुरक्षा गर्न नसक्नु रामको कमजोरी होइन – उनले चाहिँ आफ्नो कर्तव्य पूरा नगरेको सजाय किन पाएनन् – सीताले त्यस बेलाको समाजले उनीमाथि गरेको अन्याय चुपचाप सहिन् । अन्त्यमा पनि रुँदैरुँदै पृथ्वीको गर्भमा विलीन भइन्, उनले विद्रोह कहीँ गरिनन् । त्यसै बेला उनले विद्रोह गरेकी भए आज नारीले यसरी हेपिइरहनु पर्ने थिएन होला । वास्तवमा भन्ने हो भने आजसम्म पनि हाम्रो समाजले नारीलाई पर्ूण्ा मानिस ठानेको छैन । नारीलाई पर्ूण्ा मानिस नभनेर पुरुषको अधा अङ्ग मान्ने परम्परा कहाँसम्मको न्यायसङ्गत हो त – पुरुषले बडो गर्भका साथ ऊ मेरी अर्धाङ्गनिी भन्छ तर स्वास्नीले ऊ मेरो अर्धाङ्ग भनेर भन्न किन सकिन – किनकि नारी पर्ूण्ा मानिस होइन । केवल एउटा वस्तु हो जुन दान गर्न योग्य हुन्छ । त्यसैले त कन्यादान गरे धर्म हुन्छ भनेर आमाबुबा मरिहत्ते गर्छन् नि दान गरेर पुण्य कमाउन । अरूलाई पापको खाडलबाट निकाल्ने, पाप कटाउने र धर्म प्रदान गर्ने साधनमात्रै हो त एउटी नारी – हामी दान गरिने वस्तु होइनौं, बेचिने वस्तु होइनौं भनेर आफ्नो आवाज बुलन्द गर्न नसक्नु नारीको पनि केही कमजोरी होला ।”

उर्मी आगोको फिलुङ्गोजस्ता आफ्ना विद्रोहका भावहरू ओकल्दै थिइन् लगातार । म उनको अगाडि निरीह र खुम्चिएको अनुहार र मन लिएर झोक्राइरहेँ एउटा अस्तित्वहीन मानवझैं भएर । मेरो अनुहारको मलिनतालाई हटाएर अलि हँसिलो, फुर्तिलो हुने प्रयत्न गरेँ । मेरो मनको औडाहा र दौडाहालाई नियन्त्रण गर्न प्रयत्न गरेँ । त्यस बेला मेरो अनुहार उज्यालो नदेखिए पनि अधरमा मुस्कान आएछ क्यार, उर्मीका आँखा पनि तेजिला र उज्याला देखिए ।

“आज तिम्रो अफिस जानर्ुपर्छ कि पर्दैन -” अकस्मात् उनको मुखबाट यस्तो अस्वाभाविक प्रश्न निस्किँदा म चकित पनि भएँ । अनि थोरै हाँसेर भनेँ, “नारी भएर जन्मिएको भए त आज छुट्टी पाइन्थ्यो नि तर हेर न पुरुषलाई त छुट्टी नै नहुने । योचाहिँ पुरुषमाथिको अन्याय होइन त -”

“तिमीलाई पनि व्यङ्ग्य गर्न आउँछ हगि – छट्टू कहीँको ।” यति भनेर उनी बाहिर निस्किइन् । घडी हेरेँ बिहानको आठ बज्न लागिसकेछ । अनि हतारहतार गरेर आफ्ना एक-दर्ुइवटा कागजपत्र मिलाएर निस्किएँ अफिस जान । बाहिर गेट नेर उर्मी फूल टिप्दै रहिछन्, मलाई देख्नासाथ कराइन्, “होइन तिमी खाना नखाई हिँडेका – खाना तयार भइसकेको छ ।” बेलुकाको खाना पनि मैले उनैकोमा खाएको थिएँ । बिहान-बेलुकै उनीहरूलाई मात्र दुःख दिइरहनु उचित नलागेर अहिलेको खानाचाहिँ होटलमै खान्छु र उतैबाट अफिस जान्छु भन्ने सोचेर निस्किएको थिएँ । उर्मीको कुराले म झस्किएँ । उर्मी, “अहिले मलाई नरोक ल, मलाई अलि हतार छ । म खाना बाहिरै खान्छु ।” यति भनेर उनको जवाफको प्रतीक्षा नै नगरी गेट बाहिर निस्किएँ र फटाफट बाटो लागेँ । साँझ पर्नु अगावै कोठा पर्किंदा घरमा निकै चहलपहल थियो पूजा रेहेछ । पुग्नासाथ उर्मीले मलाई पनि प्रसाद पुर्याइदिइन् । भोक लागिरहेकै थियो, त्यसैले आफ्नो भोक मेटाएँ ।

चियाको गिलास हातमा बोकेर उर्मीकी आमा आउनुभयो र टेबलमा चिया राख्दै भन्नुभयो, “बाबु ! बिहान खाना नखाई हिँड्नुभएछ किन त्यसो गर्नुभएको – यो घरमा तपाईं बस्नुभएको छ वर्षत भयो होला तर पनि तपाईंले हामीलाई आफन्त सम्झन सक्नुभएन । हाम्रो मनमा तपाईंप्रति पर्राई भावना छैन । उर्मीले बिहान हतार-हतार गरेर खाना बनाई, तपाईं नखाई हिँडिदिनुभयो । यसो गर्दा हाम्रो मन कुँडिदैन त बाबु – अहिले पनि फेरि जानुहोला भनेर म आफैं भन्न आएकी, यी चिया पिउनुहोस् पहिले ।” चिया पिउन थालेँ केही नबोली ।

एकक्षण उभिएर उहाँ पनि जानुभयो । मेरो मनमा कस्तो-कस्तो भयो, कसैले क्षमताभन्दा बढी भारी बोकाएको जस्तो । त्यस घरको सहयोगको बोझ बोकेको धेरै भयो, बिसाउने ठाउँ पाएको छैन, अझ बोझ कति थप्नु, यस्तै सोचेको हुँदो हो मेरो मनले । चिया पिएर केही लेख्ने कुरा सोचेँ । धेरै भइसकेको थियो लेख्न नभ्याएको । त्यसैले कलम र कापी लिएर लेख्न बसेँ । मान्छेको मन त हो, त्यसै-त्यसै पग्लिइदिने आगोको अगाडि परेको नौनीजस्तो । उर्मीको सरल, विश्वासपर्ूण्ा र निश्चल व्यवहारले मेरो हृदयको कुना-कुनामा उनीप्रतिको आकर्षा, करुणा भरिएर आएकाले म डराइनँ उनीसँग । अझ स्पष्ट भन्दा समय, संस्कृति र धर्म अनि समाज र परिवारसँग पनि म डराइनँ । खै कसरी भनूँ शारीरिक उत्तेजना, प्रेम र र्समर्पणको प्रभाव परेपछि डर त्यसै-त्यसै भाग्दो रहेछ उज्यालोको उपस्थितिमा अँध्यारो भागेझैं । उर्मीप्रति मेरो पुरानो भावना, पुरानो प्रेम र उही पुरानो चाहना पुनः सल्बलाएर आयो मेरो छातीभित्र । त्यसैको प्रत्यक्ष प्रभावले नै होला मैले गङ्गाको त के कुरा म आफू स्वयम्लाई भुलेर उर्मीमा नै समाहित भएँ पर्ूण्ारूपले, सम्पूर्णरूपले, आत्मीय रूपले ।

 भाग

 मेरी पत्नी गङ्गा माइतबाट फर्केपछि उर्मी पनि आफ्नो कर्मघर गइन् । उर्मीसँगको मेरो सर्म्पर्कको सुइँको गङ्गाले नपाओस् भनेर म सतर्क रहेँ । गङ्गा मेरी अति प्यारी पत्नी, साँच्चै भन्दा उनी एउटी असल गृहिणी थिइन् । उनको बोलीचालीको माधुर्यताले मोहित नहुने मान्छे छैन । घरमा शान्ति छाएको छ । अभाव र कष्ट छँदैछैन भन्दा पनि हुन्छ । उनको जीवन शैली एकदम सरल छ । मनमा के थियो र छ मलाई थाहा भएन तर व्यवहारले देखाएको शुद्धता, निश्चलता अनि आफ्नो पतिप्रतिको भक्ति, माया र समर्पणले म साह्रै आल्हादित हुन्छु । त्यसैले उनको मनमा मप्रति कुनै शङ्का नउब्जियोस् र मप्रतिको समर्पण सधैं कायम रहोस् भन्ने कामना मेरो मनमा थियो । त्यसैले म सम्हालिन्थेँ, सतर्क रहन्थेँ उनको सामु । यसरी नै दिनहरू बितिनै रहेको थिए ।

कहिलेकाहीँ उर्मीको झझल्को नआउने त होइन आउँथ्यो । उनीसँगको सामीप्यता र आत्मीयताको स्मरणले मन प्रफुल्लित भएजस्तो, चञ्चल मनमा कता-कता अज्ञात चाहना जागेको जस्तो केही जुर्मुराएजस्तो पनि हुन्थ्यो तर …….. तर जब मेरी पत्नी गङ्गाको निश्छल र पतिभक्तिले प्लावित भएको सीधासाधा अनुहार देख्छु, उर्मीको सम्झना हराइदिन्थ्यो, मेरो मानसपटलबाट पूर्णरूपले । अनि म उर्मीको मन्द मादक मुस्कान र गरिमापूर्ण मुखमुद्राको आकर्षणको रमरमाउँदो नशाबाट मुक्तिको अनुभव गर्न सक्दथेँ ।

मानिस परिस्थितिको दास हो, गुलाम हो । समयले ल्याएको प्रताडना भोग्न तयार हुनुपर्ने, यो मानिसको विवशता हो । घरमा मेरी आमा बिरामी हुनुहुन्छ भन्ने खबर आएपछि गङ्गा र म दुबै जना हिँड्यौं । बुढ्यौलीले गलेको शरीरमा रोगको प्रकोपसमेत थपिएपछि त साह्रै नै पर्दो रहेछ । मैले आमालाई अस्पतालमा पनि पुर्याएँ । डाक्टरले पनि ठूलै प्रयत्न गरे । रोग बीसबाट उन्नाईससम्म भयो तर निको नै त हुनसकेन । हामीले आफ्नो तर्फबाट सम्पूर्ण प्रयास जारी नै राख्यौं । गङ्गा सम्पूर्ण रूपले सासूको स्याहारसुसारमा जुटेकी थिइन् ।

केही दिन अस्पताल राखेपछि चाहिँ बिराम केही कम भयो । डाक्टरकै सल्लाहअनुसार हामीले आमालाई घरै लग्यौं र उचित स्याहार र औषधोपचार गरिरहह्यौं । कार्यालयमा हाजिर नभएको धेरै दिन भइसकेकाले म विराटनगर जाने तयारी गर्न थालेँ । गङ्गालाई त मनाइरहनु पर्दैन, उनी आफैं समझदार छिन् यस्ता कुरामा । बुबालाई पनि भनेँ, आमालाई भन्न उहाँको कोठामा पसेँ ।

“आमा ! अब म जान लागेको अफिस छुटेको धेरै दिन भइसक्यो । अर्काको नून खाएपछि नूनको सोझो गर्नु नै पर्यो । गङ्गालाई यहीं छोडेर ममात्र जान्छु, शुक्रबार बेलुका आउँछु ।” मैले यति भनिसकेपछि आमाले आशालु नजरले मतिर हेर्नुभयो । मेरो हात समाएर सुस्तरी भन्नुभयो, “बाबु ! खै अब धेरै बाँच्छुजस्तो पनि लाग्न छाड्यो । नातिको मुख हेरेर मात्र मर्ने धोको पनि पुग्दैन कि क्या हो ।” मेरो मुटुमा कीलोजस्तो भएर गाडियो आमाको त्यो कुरा । मनभित्र कता-कता दुख्यो तर पनि त्यो पीडालाई अनुहारसम्म आउन नदिई भित्रै रोकेँ । यस बेला पो मलाई झट्ट उर्मीको सम्झना आयो त । उर्मीकी सासू र मेरी आमामा भिन्नता नै के छ र । दुबै हिन्दू नारी हुन्, हिन्दूत्वले देखाएको मार्ग अवलम्बन गर्न प्रयासरत नारीहरू ।

नाति-नातिनाको मुख नहेरी मरियो भने स्वर्ग जाने बाटै टालिन्छ भनेर भ्रममा पार्ने काम शास्त्रले नै गरेपछि उनीहरूमा त्यस्तो भावना सिर्जना हुनु कुन आर्श्चर्यको कुरा भयो र । मैले यहाँ आमालाई सम्झाएर बस्ने अवस्था पनि थिएन र मसँग त्यति धेरै समय पनि थिएन । त्यसैले उहाँको चित्त बुझाउनकै लागि भनेँ, “आमा ! नाति-नातिनीको मुख हेर्नु भन्ने कुरा त आफ्नो-आफ्नो भाग्यको कुरा हो । यसमा मानिसको इच्छा शक्तिको कुनै महत्त्व हुँदैन । भगवानमाथि भरोसा राख्नुहोस्, तपाईंको इच्छा पनि पूरा होला । मनमा धेरै चिन्ता नलिनु, औषधि खान अल्छी नगर्नु र नबिर्सनु पनि है । म शुक्रबार आउँछु । तपाईंलाई केही साह्रो-गाह्रो अप्ठ्यारो भए गङ्गालाई भन्नू, उनले मलाई फोन गरिदिन्छिन् । अहिले जान्छु है ।” यति भनेर आमाको जवाफको प्रतीक्षा नै नगरी उहाँको पाउमा शिर राखेँ र ढोगे पश्चात् तुरुन्तै निस्किएँ बाहिर । गङ्गालाई आवश्यक कुराहरू बताएर म हिडेँ घरबाट । कार्यालयमा मेरो नाममा पत्र आएको रहेछ । मलाई पत्र लेख्ने धेरै इष्ट छैनन् । त्यसैले पत्र हेर्नासाथ थाहा हुन्छ पत्र कसले पठाएको हो भनेर । पत्र उर्मीले लेखेकी थिइन् । मलाई हाँस उठ्यो पत्र देख्दा । उनी मभन्दा झन्डै पन्ध्र कि.मि.को दुरीमा बस्छिन्, प्रायः फोनमा कुरा पनि हुन्छ, फेरि पत्र पनि लेख्छिन् । एउटै सहरमा बसेर पनि सञ्चारमा पत्र माधयम अपनाएको देख्दा हाँस उठेको मलाई ।

मैले पत्र खोलेर हेरेँ । त्यहाँ उनले लेखेकी थिइन्,

“…… मेरो हृदयको ढुकढुकीको प्रत्येक धड्कनमा तिमी छौ । मेरो सन्तानको अभिलाषा पूरा हुने सङ्केत देखिएको छ । मेरो कुरा सुनेर मेरा सासू-ससुरा पनि खुसी भएका छन् । मेरो पतिको त कुरै छोड उनको त भुइँमा खुट्टै छैनन् । मेरो कुरा सुनेर उनी बालकझैं रमाएको देख्दा मलाई उनीप्रति दया लाग्छ । फेरि आफ्नो पुरुषार्थको चर्चा गर्न अघि सरेको देख्दाचाहिँ मलाई चौपट्टै घृणा लाग्छ । नारी हृदयको वेदनाको अनुभूति गर्न सक्ने क्षमता उनीसँग एक रत्ती पनि छैन । उनी त भावना र चेतनाशून्य जड मानव हुन् जस्तो लाग्छ मलाई । तिमी विश्वास गर मलाई त्यो मेरो अतीत, तिम्रो साथ र मैले चालेको कदम र रोजेको बाटोप्रति मलाई एक रत्ती पनि पछुतो छैन । विस्मात पटक्कै छैन । मलाई पूर्ण सन्तोष छ, अझ भन्दा तिम्रो साथ रोजेकोमा गर्व छ । तिमीले हारेको र मैले जितेको त्यो दिन अहिले पनि मैले सम्झिरहेकी छु ।

त्यो दिन म असाध्यै खुसी थिएँ, साँच्चै त्यस बेला म जति खुसी सगरमाथालाई जितेको दिन तेन्जिङ्ग पनि हुन सकेका थिएनन् होला । तिम्रो मनमा शान्ति छैन, पीडा छ । त्यसलाई तिमीले स्वाभाविक एउटा हलुङ्गा अभ्यान्तरको अगम्य पीडाको आभास उनलाई पनि त हुँदो हो । उनको पवित्र पतिभक्तिको फल त्यही हो त – तिमी त सोच्छौ होला यो आइमाई बारम्बार फोस्रा सहानुभूतिका शब्दहरू लेखेर मलाई फुल्याउन चाहन्छे भनेर तर हेर ! मेरो मनमा भएको तिमीप्रतिको विश्वास र र्समर्पणले गर्दा त अहिले म यसरी निर्धक्क हुन सकेकी छु नि । अहिले पनि मेरो मनमा मेरो यो कदमले घरमा कुनै अनिष्ट हुन सक्छ भन्ने शङ्का नै पलाएको छैन किनकि मेरो मनले तिमीमाथि पूर्ण विश्वास गरेको छ, तिम्रो मुखबाट यो कुरा चुहिँदैन भनेर । त्यसैले म तिम्रो आजीवन ऋणी रहनेछु । पत्रमा उर्मीले यस्तै-यस्तै धेरै कुराहरू लेखेकी थिइन् । उनको हरेक पत्र पढ्दा मलाई आर्श्चर्य लाग्छ । दिन-प्रतिदिन बढ्दै गएको साहस र विद्रोह देख्दा कता-कता डर पनि लाग्छ ।

उनको विद्रोहसँग म आफू पनि पिल्सिने पो हुँ कि भन्ने भयले मुटुको धड्कन बढाउँछ । ‘यस कुराको निकास कस्तो होला -‘ भन्ने प्रश्नले मलाई साह्रै सताइरहन्छ । जुन कुलमा छोरी, बुहारी दुःख भोग्छन् त्यो कुल छिट्टै नष्ट हुन्छ तर जहाँ उनीहरूलाई कुनै दुःख दिइँदैन त्यो कुल सधैं बढ्दै जान्छ भनेर नारीको इज्जत र उनीहरूको मर्यादालाई सम्मान गर्न शास्त्रले प्रेरणा पनि दिएको छ । यो कुरालाई राम्ररी मनन गर्न नसक्नु उर्मीका सासू-ससुरा र पति विनोद तीनै जनाको गल्ती हो । उनीहरूले उर्मीप्रति सद्व्यवहार गरेका भए, सन्तान नहुनुमा खास दोष कसको हो भन्ने बुझेर औषधि विज्ञानको सहयोग लिएको भए आज उनीहरूको कुलमा अर्को वंशको अनि अर्काको सन्तानको प्रवेश हुन्थ्यो त – अब उनीहरूले अर्काको वंशलाई आफ्नो सन्तान ठानेर स्वीकार्नु सिवाय अर्को कुनै बाटो छ त ? मानिस र पशुपक्षीबीचमा यही विवेक र आत्मासम्मान अनि नियन्त्रणको फरक छ ।

पत्नीको नियन्त्रणमा पति र पतिको नियन्त्रणमा पत्नी हुनुपर्दछ भन्ने एउटा मान्यता छ मानिस जातिमा । तर पशुपक्षीमा त्यस्तो नियन्त्रण देखिँदैन । प्रकृतिले दिएको यौन स्वतन्त्रता यहीँनेर आएर फरक छ । मानिस यौनलाई सन्तानोत्पादन र मनोरञ्जन दुबै दृष्टिकोणबाट लिने गर्छ तर पशुपक्षी केवल सन्तानोत्पादनका लागि मात्र यौनको चाह गर्छन् । त्यसैले होला उनीहरूमा स्वतन्त्रता छ, मानिसलाई केही नियन्त्रण । प्रकृतिको नियमलाई विकृत गराउँदा त्यसको महत्त्व बढ्न सक्दैन उल्टो अहित नै बढी हुन्छ । यो कुरो उर्मीले बुझनु पर्छ र साथै विनोदले पनि बुझनु पर्छ । यसमा दोष मेरो चाहिँ छैन भन्ने होइन, मेरो पनि उतिकै दोष छ । मैले आत्मसंयम गर्न सक्नुपथ्र्यो ।

मर्त्यलोकबाट अस्त्रशास्त्र अध्ययन गर्न र्स्वर्ग पुगेका अर्जुनलाई देख्दा उर्वशीको मनमा प्रेम भाव सिर्जियो । आफ्नो अर्न्तमनको आवेगलाई रोक्न नसक्दा र्स्वर्गका राजा इन्द्रको समेत डर नमानी उनी अर्जुनको सम्मुख पुगिन् आफ्नो प्रेम दर्शाउन । उनको प्रणय प्रीतिको अनुनय-विनयलाई अर्जुनले इन्कार गरे । बाबु (इन्द्र)ले भोगेकी स्त्रीलाई आँफूले कसरी प्रेम गरूँ भन्ने भय उनलाई थियो । उर्वशी श्राप दिन अघि सर्दा पनि उनले उर्वशीलाई प्रणयको भिक्षा दिने साहस गर्न सकेनन् । बरु श्राप नै स्वीकारे । मैले पनि त्यस्तो साहस देखाउन सक्नुपथ्र्यो । उनीलाई सम्झाएर मनाउन सक्नुपथ्र्यो । म त उल्टै कामुक पुरुषजस्तो भएर उनको सौर्न्दर्यता र मोहकतामा लुटपुटिइरहेँ । यसको सजाय त मैले पाउनै पर्छ । त्यो सजाय कति भयङ्कर हुने हो अब मलाई यही त्रास छ ।

समयले आफ्नै गतिमा फन्का मारिरहृयो । मेरो मनमा नानाप्रकारका तरङ्गहरू उठ्न छाडेनन् । गङ्गा साथमा हुँदा त उनीसँगको बातचित र हाँसखेलले मेरो मन केही भुलिन्थ्यो तर उनी नहुँदा त झन् साह्रो चिन्तित भइरहन्छ । चिता र चिन्तामा चिन्ता अझ भयानक हुन्छ किनकि चिताले मानिसको पार्थिव शरीरलाई एकैपल्ट डढाएर खरानी बनाउँछ, चिन्ताले क्षण-क्षणमा डढाएर, जलाएर अर्धजीवित बनाउँछ । यति कुरा बुझेएर पनि मैले चिन्तालाई त्याग्न सकिनँ, हुत्याएर फ्याँक्न सकिनँ । सायद यो मेरो कमजोरी पनि हुन सक्छ ।

 भाग – १०

अफिसबाट फर्कंदा कोठामा गङ्गा निन्याउरो अनुहार लगाएर बसिरहेकी थिइन् । कोठामा प्रवेश गर्दागर्दै मैले सोधें, “कति बेला आएकी गङ्गा ? आमालाई अहिले कस्तो छ ? तिमीले छोडेर आउनु हुनेथिएन ।”

“अहिले आराम भएको छ । वहाँले नै ‘जा’ भन्नुभएकाले आएकी ।” गङ्गाले मलिन अनुहार लगाएरै यति भनिन् ।

झन्डै तीन महिना अगाडि आमा अकस्मात् बिरामी हुनुभयो । त्यो खबर पाउनासाथ गङ्गा र म दुबै जना घर गयौं र आमालाई अस्पताल पनि लग्यौं । त्यहाँ केही दिन राखेपछि चिकित्सकको सल्लाहले नै वहाँलाई घर पुर्याइयो । त्यसपछि गङ्गालाई घरैमा छोडेर म विराटनगर आएँ । हप्ता-हप्ता दिनमा म घर गइरहेकै थिएँ । अघिल्लो हप्तामा घर जाँदा नै आमा बिसेक भइसक्नुभएको थियो तर पनि मैले गङ्गालाई हिँड भन्न सकिनँ । अहिले उनी आमाले नै पठाएर आएकी भन्दा मेरो मनमा सन्तोष लागे पनि उनको मलिन अनुहार देख्दा मनमा केही आशङ्का सिर्जियो । अनि कपडा खोल्दै मैले भनेँ, “के तिमीलाई सञ्च छैन हो ?”

“सञ्चै छु है, किन बिरामीजस्तो देखिन्छु र ?” यति भनेर उनले थोरै मुस्कुराउने प्रयास गरिन् ।

“चिया बनाउँछु ल । मैले पनि पिएकै छुइनँ । तपाईं आएपछि सँगै पिउँछु भनेर पर्खिरहेकी थिएँ ।” यति भनेर उनी स्टोभमा दम दिन थालिन् । मचाहिँ उनलाई हेरिरहेको थिएँ ।

‘बिचरी गङ्गा ! एउटी सहनशील नारी नमुना हुन् । उनको मनमा असाध्यै पीडा छ, वेदना छ तर पनि ती सबलाई अनुहारसम्म पटक्कै आउन दिन्नन् । उनको अनुहारको आवरण सधैं हँसिलो हुन्छ, उज्यालो हुन्छ । उनको कार्य, व्यवहार कस्तो अचम्मको – आफ्नो मनको अन्तर्पीडालाई माथि अनुहारको सतहसम्म आउनै नदिने कस्तो अनौठो शक्ति – मैले उनको अन्तरको पीडा, व्यथा र हीनतालाई बुझेको छु । त्यसैले अहिले उनीप्रति मेरो सहानुभूति यसरी बढेर गएको होला । उनको मनभित्र उकुसमुकुस भएर बोझ बन्दै रहेको भावनालाई बाँड्ने, मलाई सुनाएर मन हलुङ्गो पार्ने प्रयास उनले गरे पनि त हुन्थ्यो । त्यसबाट उनको मनले केही राहत त महसुस गर्न सक्थ्यो होला नि । तर किन उनी आफ्नो मनको व्यथालाई आफैंभित्र लुकाउन, गुम्स्याउन र दबाउन चाहन्छिन् र? उनको मनमा कहीँ मप्रति ……….. ।’

“के सोचिरहनु भएको यसरी ? लिनुस् चिया पिउनुस् ।” उनको यो वाक्यले मेरो मनको तरङ्गलाई बिथोलिदियो । मैले आफूलाई सम्हालेर स्वभाविक अवस्थामा ल्याएँ र चियाको कप उठाएँ । दुबै जोई-पोइ मिलेर चिया पिउन थाल्यौं ।

एक दिन रातिको खानापिना पश्चात म केही लेखिरहेको थिएँ । गङ्गा मेरो सामु आएर उभिइन् । उनी मेरो सामुन्ने उभिएर कौतूहलतापूर्ण आँखाले मेरो अनुहारमा एकोहोरो भएर हेरिरहिन् । मेरो मुहारमा त्यस्तो कुन आकर्षा थियो र उनी त्यसरी हेरिरहेकी छिन् मैले सोच्नै सकिनँ । मलाई कस्तो-कस्तो असजिलो, अप्ठ्यारो काउकुती लागेर आयो । मनमा एउटा झस्का पनि पस्यो, कतै उर्मीसँगको मेरो सम्बन्धको बारेमा पो यिनलाई केही थाहा भएछ कि क्या हो भनेर । प्रश्नसूचक दृष्टिले उनीतिर हेर्न थालेँ म । बिस्तारै-बिस्तारै उनको अनुहारमा खुसी र हाँसो भरिँदै आयो । अनुहार उज्यालो भयो अनि त्यो हँसिलो मुहारको निर्मल सौर्न्दर्यताले मेरो मनमा झन् कौतूहलता बढाउँदै गयो । उनी मेरो समीपमा आएर मलाई घ्वाम्लाङ्ग अँगालेर सुस्तरी बोलिन्, “एउटा कुरा भनूँ -”
“के कुरो हो भनन । नाथे एउटा कुरा भन्न पनि तिमीले मसँग स्वीकृति मागिरहनुपर्छ त -” मैले यति भनेर गङ्गाको अनुहारमा हेरेँ । त्यो अनुहार फेरि मलिन देखिन थालेको थियो । आँखा पनि सजल भएर आएझैं देखिए । एकदम रुद्ध कण्ठले उनी बोलिन्, “मेरो कारणले तपाईंको वंश मासिन लाग्दै छ । बुबाआमाको पनि ठूलो सपना छ नाति-नातिनी खेलाउने । त्यसैले मेरो बिन्ती छ तपाईंले अर्को विवाह गर्नुस् । मेरो कारणले कुनै वंश समाप्त नहोस् भन्ने चाहना छ मेरो मनमा । त्यसो गरेँ भने त म झन् घोर नर्क पर्नेछु । आमाले हिँड्ने बेलामा मलाई भन्नुभयो, ‘जाऊ बुहारी जाऊ । अब फेरि आउँदाचाहिँ सन्तान वा सन्तान जन्मने सङ्केतचाहिँ लिएर आऊ है । नाति-नातिना खेलाउने रहरले नै अहिलेसम्म काललाई पनि पर्खाइरहेकी छु । त्यति मेरो इच्छाचाहिँ पूरा गर्देऊ है बुहारी ।’ मैले आमाको अनुनयमा हुँदैन कसरी भन्न सक्नू र – केही नबोली हिँडें । त्यसैले अब म तपाईंलाई बिन्ती गर्छु तपाईं अर्को विवाह गर्नुस् नत्र म तपाईलाई छोडेर गइदिन्छु माईततिर …….।” यति भन्दाभन्दै गङ्गाको बोली अवरुद्ध भयो आँसुले । अनुहार हत्केलाले छोपेर हिक्का छोडेर रुन थालिन् ।

मेरो ब्रह्मण्डमा नै कम्पन भयो । मेरो टाउको घुमेकाले होला, रिङ्गटा लागेर संसार नै फनफनी घुम्न थाल्यो । अरिङ्गालको विषालु खील मुटुमाझमा नै बिझेझैं भएपछि सहनै सकिनँ र बिछ्यौनामा डङ्ग लडेँ । आँफूलाई समाल्ने प्रयास क्रमशः क्षीण बन्दै गएको आभास आउन थालेकाले एउटा अज्ञात भयले र्सवाङ्ग काँप्न थाल्यो । गङ्गाको आँसुका एक थोपाले, रुद्ध कण्ठबाट निस्किएका एक-एक शब्दले मनलाई अन्तरात्मालाई मर्मान्तक पीडा दिइरहेका थिए । मेरा अभागी बाबु-आमालाई पनि मैले झट्टै दोषी ठान्न सकिनँ । ती बूढा-बूढीको धोको अब कसरी पूरा हुन्छ – अब कसरी कुन अनुहार लिएर बाबु-आमाको अगाडि उभिन जाऊँ – बिचरी गङ्गाको मनमा उब्जिएको हीनताभावलाई हटाउने प्रयास मैले गर्नुपर्छ । उनको रहर वा इच्छाले सन्तान नजन्माएको त हैन नि । त्यसैले उनलाई पनि कसरी दोषी ठान्नु – त्यसैले सुस्तरी भनेँ, ‘गङ्गा ! तिमीप्रति मेरो प्रेम त्यति साँगुरो छैन फराकिलो छ, एकदम फराकिलो । मेरो मन मन्दिरमा तिमी मात्र छौं । तिमीलाई मैले आफ्नो र्सवस्व ठानेको छु जसरी तिमीले मलाई आफ्नोर् इश्वर, परमेश्वर ठानेकी छौ । त्रि्रो र्समर्पण र प्रेममा मैले आफ्नो जीवनको वास्तविक सुख पाएको छु । सन्तान नहुनुमा दोष त्रि्रो मात्र छैन, मेरो भाग्यको पनि छ । हामी दुबै अभागी भएर पनि भाग्यमानी छौं । दर्ुभाग्यले सन्तान पाएनौं तर सौभाग्यले माया, ममता, स्नेह र धन सब पाएका छौं । भाग्य सबैलाई बराबर कहिले पुग्दैन । जे र जति पाइएको छ त्यसैमा चित्त बुझाउन सक्नुपर्छ । अब हामीले सन्तानको इच्छा र लोभ त्याग्न सक्नर्ुपर्छ गङ्गा । त्यही त्यागमा नै मुक्ति पाइन्छ । ‘

मेरो कुराको उनले कुनै प्रतिक्रिया जनाइनन् । उनी त निहुरिएर केवल रोइरहेकी थिइन् । नारीको अर्न्तर्मनभित्रको अपूरणीय र अतुलनीय मातृत्वको छाल मैले देख्न र अनुभूति गर्न पाएको थिइनँ किनकि मेरी पत्नी नै आमा भएकी थिइनन् न म आँफू स्वयं नै बावु बन्न सकेको थिएँ । मेरो मनमा त्यसप्रति असन्तोष पटक्कै छैन तर गङ्गा………उनी सन्तुष्ट हुन सकिनन् । उनका मनभित्र सिर्जिएका असन्तुष्टिका ज्वालाहरूले उनलाई जलाउँदै थियो, विछुब्ध बनाउँदै थियो । चिन्ताको ज्वालामा जलेर सख्त घाइते भएकी मेरी पत्नीलाई मैले सम्झाउन सकिनँ । आफ्नो प्रणयको पवित्र पर्यावरणमा उनलाई सिँगार्न सकिनँ । त्यो पीरले अर्कातिर मेरो मन प्रताडित भइरहेको थियो ।

गङ्गा केही नबोलेकीले मैले नै भनेँ, “परम्परा र धर्मको आडम्बरलाई अब विश्वास गर्नुहुन्न । तिमी र म भएर बुबा-आमालाई सम्झाउनर्ुपर्छ । सन्तानको मुख नहेरी मरियो भने घोर नर्क परिन्छ भन्ने कुरा त सत्य होइन, यो त एउटा काल्पनिक कुरामात्र हो । सन्तान नजन्माई मरियो भनेे बरु झन् धर्म हुन्छ होला । किन भनन, जनसङ्ख्याको बृद्धिले अनेक समस्या सिर्जना भइरहेको बेला जनसङ्ख्याको आकार नियन्त्रण गर्ने कार्यमा सघाउ पुर्याउँदा त झन् देशको नै सेवा हुनजान्छ । देश र समाजको सेवा गर्नु धर्म हैन त -”

मेरो यति कुरा सुनेपछि गङ्गा बोलिन्, “कसैले पनि कसैको निःस्वार्थ सेवा वा गुण गर्छ भनेर पत्याउन अहिलेको युगमा गाह्रै पर्छ । तर पनि कसैको थोरै पनि भलाई गर्न सकियो भने आफ्नो मनले केही तृप्तिको अनुभव गर्न त अवश्य पाउँदो हो । तर आफूले त अहिलेसम्म त्यस्तो सर्त्कर्मसमेत गर्न पाइएन । आमा-बुबाले सन्तानको कुरो नकोट्याइदिऊन् भनेर उहाँहरूको आफ्नो र्समर्पणले भ्याएसम्म सेवा टहल गरेँ तर उहाँहरू बारम्बार त्यही कुराहरू नै कोट्याइरहनु हुन्छ । उहाँहरूको अब एउटै चाहना छ सन्तान । त्यो चाहनालाई गलत हो भनेर पनि म भन्न सक्दिनँ । सन्तान उत्पादन गर्ने क्षमता नभएपछि अहिले आएर सन्तानको चाहना गर्नु वा सन्तानको मुख नहेरी मरियो भने अगति परिन्छ भन्नेहरूलाई मूर्ख ठान्नु त मैले कसै गरे पनि हुँदैन । अहिले आधुनिकताको नाममा मानिसले सर्त्कर्म र धर्म भुल्न थालेका छन् तर अल्पबुद्धिको आधारमा आफ्ना अग्रज पुर्खाहरूले युगौंयुगदेखि मान्दै आएका कुराहरू, परम्परा नै गलत हुन्; पाखण्डी हुन् भन्नु र ती सम्पूर्ण पुर्खाहरूलाई मूखहरूको श्रेणी ठान्नु पक्कै पनि राम्रो चाहिँ हैन, मेरो मनले चाहिँ यही भन्छ । म परम्पराको कट्टर अनुयायी हुन नसके पनि विरोधी पनि भएको छुइनँ ।”

यसरी गङ्गा र मेरो बीचमा अधिकांश यस्तै सन्तानसम्बन्धी कुराहरूमात्र हुन थाले । उनको मनको पीर, व्यथा र कष्टले मलाई भित्रभित्रै गलाउँदै लग्यो । गङ्गाले आफ्नो अनुहारमा छायाँ पार्न कहिल्यै चाहिनन् । उनी हरपल आफ्नो सम्पूर्ण व्यथालाई छातीभित्र लुकाएर हाँस्ने असफल प्रयास गरिरहन्थिन् । मेरो मनमा पीर वा मलाई कुनै कष्ट नहोस् भन्ने सोचेर उनी आफू सारा कष्ट सहेर पनि हाँस्थिन् र मलाई पनि हँसाउने प्रयास गर्थिन् । उनको यो कृत्रिम क्रियाकलापले मलाई फुल्याउन खोज्दथिन् । म पनि भरसक आफूलाई सम्हाल्ने प्रयास गर्थें । पत्नीको सामु आफ्ना आँखाका आँसु नचुहियोस् बस् यही ध्याउन्न हुनथाल्यो मलाई ।

दिनहरू क्रमशः बितिरहे । दिन जसरी चिप्लेर जाँदै थिए, कहिल्यै फर्केर नआउने गरी बित्दै थिए त्यसरी नै मेरो मनको पीडा, गङ्गाको पीडा र मेरा बृद्ध बुबा-आमाको मनको पीडाचाहिँ झन् बढ्दै जाँदै थियो । ती दिन जसरी बित्दै थिए, जसरी मेरो आयु घट्दै थियो, ठीक त्यसरी नै मेरो मनको चिन्ता र पीडा घट्न सकेको भए मेरो मनले कति राहात पाउँथ्यो होला तर ……. तर के गर्नु – त्यसो हुन सकिरहेको थिएन । मेरो पीडा बढ्ने क्रम अझ तीव्र थियो ।

भाग११

समयले एउटा लामै फड्का मार्यो । आधा वर्ष भनेको छोटो समय हैन हाम्रो लागि । उर्मीसँग मेरो सर्म्पर्क भएको नौ महिना हुन लाग्यो । यसको मतलब अब केही दिनमै उनी आमा बन्नेछिन् । त्यसपछि उनको जीवनको ठूलो महत्त्वाकाङ्क्षा पूरा हुनेछ तर …….मचाहिँ अब यसरी नै अधुरै रहनेछु । मेरो र गङ्गाको जीवनले पूर्णता पाउन सक्दैन । यस्तै सोचेर अफिसमा नै टोलाइरहेको थिएँ । पियनले पत्र ल्याएर दियो । पत्र खोलेर हेरेँ, उर्मीकै थियो त्यो पत्र पनि । जेहोस् उनैलाई सम्झिरहेको बेला उनकै पत्र पाएँ । खुसी पनि लाग्यो अनि पढ्न थालेँ ।

‘…… सन्तान प्राप्तिको आन्तरिक उमङ्गमा चुर्लुम्म डुबेर म रमाइरहेकी छु । आजकाल मलाई अलि गलेको जस्तो पनि हुन्छ । गोडा पनि काँप्छन् । डर त्रासले मुटु पनि त्यत्तिकै हल्लिइरहन्छ । डाक्टरलाई जँचाइरहेकी छु । यही २२ गतेको समय निर्धारण गरेको छ डाक्टरले सन्तान जन्मने दिन भनेर ।

त्यही दिनको चाहना, कामना र सपना सजाएर मन कल्पनाको अनन्त गगनमा सम्झनाका पखेटा हालेर गोता मारिरहन्छ । एउटा लामो साह्रै लामो चिरकालदेखि नै मेरो मुटुभित्र उकुसमुकुस भइरहेको अतृप्त चाहना, नारीत्व र मातृत्वको अदम्य कामना पूरा हुन लाग्दैछ । एउटा कोमल बालकको मुखबाट निस्कने ‘आमा’ शब्दको कल्पनामात्र गर्दा पनि कस्तो नौलो अनुभूति हुन्छ । छाती ढक्क फुल्छ, स्नेह र मातृत्वको बाढी नै उर्लेर आउँछ आँखामा । मैले यी सबै खुसी प्राप्त गर्न जुन कदम उठाएँ त्यस कदमप्रति पश्चाताप मलाई पटक्कै छैन । त्यस कदमप्रति त बरु गर्व छ मलाई । अहिले क्रमशः क्रमशः आत्मग्लानि र दुःखदायी अनुभूतिको भुमरीबाट मुक्ति पाएँ ।

तिमीलाई जितेको दिनदेखि यता सायद अब म आफूलाई सम्पूर्ण रूपले कुनै पुरुषको आकर्षणमा लिप्त गराउन सक्दिन होला । हुन त मैले पहिले पनि पुरुष शरीरको गन्धबाटै आकर्षित भएर समर्पणभाव लिएर सामीप्यता खोज्दै पुरुषको छायाँमुनि जाने चरित्रलाई आत्मसात् गरेकी थिइनँ । म किशोरी हुँदा मेरो मनले कल्पना गथ्र्यो एउटा सुन्दर, आकर्षक र सुगठित जीउडालको पुरुष मेरो साथी भइदियोस् । त्यही लोभले त होला मैले सनतसिंहको साथ खोजेकी र रोजेकी । त्यस बेला तिमी पनि त मेरै समीपमा थियौ तर खै किन मैले तिम्रो साथ रोजिनँ । मलाई आर्श्चर्य लाग्छ ……. मानिसले आफ्नो भाग्य वा भविष्यको अड्कल अलिकति पनि अनुमान गर्न नसकेको देख्दा, सायदै यसैलाई नियति भनिन्छ कि क्या हो – नारी र पुरुषबीचको आकर्षा र त्यसबाट प्राप्त हुने अलौकिक आनन्दको अनुभूति बढ्न थाल्दादेखि नै मैले तिमीलाई साथीकै रूपमा पाइरहेकी छु । त्यसक्षण मैले सानो गल्ती गरेंछु नत्र अहिले यो तड्पन कम हुन्थ्यो होला । होला मात्र, सत्य यस्तै हुन्थ्यो भनेर त कसरी भन्न सक्नु र – तर जे भए पनि मैले एउटा मीठो र सुन्दर सपना बोकेकी थिएँ । त्यो सपना साकार पार्न एउटा अपराधजन्य वा अनैतिक कार्य गर्न प्रेरित भएँ । मैले त त्यस कार्यलाई त्यस्तो सोचेको छुइन, तिमीले त्यस्तो सोचेकोले मात्र त्यसो भनेको । आज मेरो त्यो सपना पनि साकार हुन लाग्दै छ, भयो नै भन्दा पनि हुन्छ । सपना साकार हुने लक्षण देखिन थाल्दादेखि नै म हर्ष र उन्मादको तलाउमा गोता मारिरहेकी छु । तर …… म जति खुसी भएँ त्यति खुसी तिमी हुन सकेनौ । त्यति होइन त्यसको एक चौथाइ खुसी पनि मान्न सकेनौ । त्यसमा मात्र मलाई पीर लाग्छ । नारीजन्य चाहना उन्मादपूर्ण सपना पूरा हुँदाको क्षण ओ हो त्यो कति पीडा र कष्टदायक हुँदो हो अनि फेरि कति मीठो हुँदो हो अनि फेरि कति मीठो हुँदो हो – यस्तै द्विविधामा आदिले म रुमल्लिइरहेकी छु ।

उर्मीले पत्रमा यस्तै-यस्तै धेरै कुराहरू लेखेकी थिइन् । साँच्चै गङ्गाबाट जन्मियोस् वा उर्मीबाट जन्मियोस् त्यो मेरो सन्तान हो । आखिर म बाबु हुन लाग्दै छु भनेँ मैले त खुसी पो हुनुपर्ने त । तर म किन यसरी चिन्तित भएको होला – …….. चिन्तित नभएर कसरी रमाउनु त – त्यो सन्तानले न मलाई बाबु भन्छ न त मैले नै उसलाई मेरो सन्तान भनेर अँगाल्नसक्छु । त्यस्तो सन्तान हुनु र नहुनुमा के फरक रहृयो र – कुन आधारमा र केका लागि म खुसी हुनु ?

मेरी पत्नी गङ्गा पनि मभन्दा कम दुःखी थिइनन् । उनलाई दुःख नमान भनेर पनि अब भन्न सक्दिनँ । जुन काम आँफू गर्न सकिदैन त्यही काम अरूलाई गर भनेर कसरी भनूँ म ? मेरी पत्नी गङ्गामा नारीमा हुनुपर्ने सम्पूर्ण शीलस्वभाव, मयार्दा र आचरण छ, हाम्रो हिन्दू धर्म र संस्कृतिलाई आत्मसात् गरेकी छन् । त्यसैले उनी सुखी र खुसी हुन सकिनन् । उत्तिकैमा उर्मी पनि त एउटी हिन्दू नारी हुन् नि । उनले आफ्नो चातुर्यताले आज सुख भोग गरिरहेकी छन् । मान्छेहरू भन्थे हिम्मतमै श्री हुन्छ । उनी पनि त्यसै भन्थिन् र आज आफ्नो भनाइ पुर्याइन् पनि । तर …… गङ्गा उनले त आफ्नो चातुर्यताले प्राप्त गर्न सक्ने ठाउँ पनि छैन । त्यसरी उनी चातुर्यता र हिम्मतको सट्टा त्याग गर्न अघि सरेकी छन् । उनको त्याग र बलिदानीबाट म फेरि कसरी रमाउन सकुँला र ?

दसैँ बिदा हुनासाथ गङ्गा र म घर गयौं । सधैंको दसैँमा झैं यसपल्टको दसैंमा न त गङ्गा नै रमाउन सकिन् न म नै रमाउन सकेँ । बुबा-आमाको मनमा समेत त्यस्तो उल्लासमय वातावरणको सृजना गर्न सकेन यसपल्टको दसैँले । त्यसैले टीकाकै दिन हामी गङ्गाका माइत गयौं । त्यहाँ पनि खै किन हो त्यति रमाइलो लागेन । आफ्नै मन खल्लो र निरस भएपछि सबैतिर त्यस्तै नरमाइलो हुँदो रहेछ ।

दसैँको बिदा सकिएपछि हामी हिँड्न तयार भयौँ र बिदा माग्न मेरा बुबा-आमाको सामु पुग्यौँ मेरा बुबा-आमाले गङ्गाप्रति गरेको बेवास्ता र नजानिँदो तिरस्कारले मेरो मन नमीठो भयो । साँच्चै भन्दा आमाले एक-दुइ त्यस्ता नराम्रा शब्दहरूसमेत भन्नुभयो जुन शब्दहरूले मेरो अर्न्तर्मनलाई नराम्ररी घोच्यो । धन्य ती शब्दहरू गङ्गाले सुनिनन् नत्र ती तीखा वचनवाणले उनलाई नराम्रोसँग रुवाउँथ्यो । मैले आमालाई त्यसो नभन्नुहोस् भनेर सम्झाउन पनि सकिनँ । बरु चुपचाप निस्कनु नै उचित ठानेँ र हिडेँ त्यहाँबाट । गङ्गा अर्को कोठामा के गर्दै थिइन् कुन्नि म निस्किएपछि उनी पनि पछि लागिन् ।

हाम्रा नेपाली हिन्दू नारीहरूले एउटा चरम अपमान र अत्याचारको पीडा शताब्दीयौंदेखि खप्दै आएका छन् । पुरुष प्रधान समाजमा पुरुषबाट दिइने तड्पनको त कुरै छोडौं नारीहरूबाटै पनि शोषित र पिडित छन् बिचरा ती निरीह नारीहरू । सासू, नन्द, आमाजू, जेठानी, देउरानी, सौता सबै त नारी हुन् र तिनीहरूबाटै समेत नारीहरूले नै पिसिनु पर्ने कस्तो विवशता त ? त्यस्तो अत्यचारको पीडा खप्न नसकेर आजसम्म कति नारीहरूले यहाँ आत्महत्या गरिसके त्यसको लेखा कसले राखेको छ ? कतिले विषपान गरेर त कतिले आँफूलाई फाँसी लगाएर अनि कतिले शरीरमा मट्टीतेल र पेट्रोल खन्याएर अप्राकृतिक मृत्युवरण गरे । कति नारीहरूले वेश्याको आरोपमा समाजबाट लखेटिनु पर्र्यो त कतिले बोक्सीको आरेपमा दिसा कोच्याइमाग्नु पर्यो अनि कतिले कस्ता-कस्ता सजाय भोग्नु पर्र्यो यसको कुनै साँधी छैन । आखिर नारीहरूले यो विडम्बना र तड्पन कहिलेसम्म सहने ?

नारीहरू कमजोर भएर “नारीको जन्म हारेको कर्म” भन्ने सोचेर जस्तोसुकै बाध्यता र अन्याय चुपचाप सहिदिनाले, असहाय भएर रगतका आँसु पिएर चुपचाप अत्याचार सहिदिनाले यस्तो परिस्थिति बारम्बार दोहोरिन्छ । यस्तो नैराश्यमय स्थितिबाट मुक्ति पाउन नारीहरूले एकजुट हुनैपर्छ । अन्याय र अत्याचारको प्रतिकार गर्नुपर्छ । आफ्नो आवाजलाई बुलन्द पार्नुपर्छ । हक अधिकार मागेर नपाइए लडेर भए पनि लिन सक्नुपर्छ । सृष्टि चलाउन सक्ने नारीले सृष्टि बिथोल्न पनि सक्छे भन्ने कुरा प्रमाणित गरेर देखाउन सक्नुपर्छ ।’ मेरो मनमा यस्तै भावनाका तरङ्गहरू लहराइरहेका थिए । के-के सोच्दै नबोली हिँडेको देखेर गङ्गालाई आर्श्चर्यभन्दा पनि नराम्रो लागेछ कि क्या हो । त्यसैले त उनले भनिन्, “तपाईंको मनमा कस्ता भावनाहरू आइरहेछन् भन्ने कुराहरू सम्पूर्ण नबुझे पनि केही त अड्कल गर्न सक्छु म । ती पीडाबाट मुक्ति पाउनकै लागि त मैले भनेकी नि अर्को विवाह गर्नुस् भनेर । मेरो जीवनको अन्तिम इच्छा नै यही छ, अब तपाईंको सन्तानलाई खेलाउने । तपाईं त पढेलेखेको मान्छे, धर्मर्-कर्म र शास्त्र बुझेको मान्छे तपाईंलाई मैले के सम्झाइरहनु पर्छ र । यो पुरुष प्रधान समाजमा पुरुषले व्यभिचार गर्दा पनि त समाजले ऊमाथि औंला ठड्याउन सकेको छैन भने तपाईंले बाध्यतापूर्वक त्यसमा पनि मेरो आग्रहअनुसार दोस्रो विवाह गर्दा किन नराम्रो दृष्टि राख्न सक्छ । नेपालको कानुनले पनि अब त तपाईंलाई बहुविवाहको आरोप लगाउन सक्दैन । वंश जोगाउनु तपाईंको कर्तव्य पनि हो । कर्तव्यबाट भाग्नु पुरुषार्थ पटक्कै हैन ।

पुराण पल्टाएर हेर्नुस् त द्रौपदीले त्यस्तो अथाह प्रेम गर्दागर्दै पनि अर्जुनले दोस्रो विवाह गरेका थिए । कृष्ण त झन् सोह्र सय एक पत्नीका पति थिए । हामीले परमपुज्य परमेश्वर ठानेर रातदिन पुज्ने शिव पनि कहाँ एउटै नारीसँग मात्र सीमित थिए र ! इतिहासलाई हेर्ने हो भने त झन् एउटीमात्र पत्नी भएका राजामहाराज पाउनै गाह्रो हुन्छ । आफ्ना अग्रजले हिँडेको बाटोको अनुसरण गर्नु अपराध हो त ?”

मलाई आर्श्चर्य पटक्कै लागेन गङ्गाका कुरा सुन्दा किनकि यी कुराहरू प्रायः उनी मलाई भनिरहन्छिन् । आमा बन्ने चाहना उर्मीमा जति तीव्र थियो त्यतिकै तीव्र छ गङ्गामा पनि । यदि गङ्गामा आमा बन्ने क्षमता थियो र ममा त्यस्तो क्षमता थिएन भने उर्मीले रोजेको बाटो रोज्ने साहस गङ्गाले गर्न सक्थिन् या सक्दिनथिइन् त्यो म भन्न सक्दिनँ तर उनले बारम्बार मलाई दोस्रो विवाह गर्ने सल्लाह दिनुलाई उनको मेरो परिवार र वंशको निरन्तरताप्रतिको त्यागकै रूपमा मैले हेरेको छु । उनले त्याग गरिन् भन्दैमा मैले उनको विचार र अनुनयलाई मान्नै पर्छ भन्ने सोचाइ मेरो मनमा छैन । दोस्रो विवाहको बारेमा मैले सोचेको थिइनँ ।

हामी विराटनगर पुगेर कोठामा गयौं । त्यहाँ गेटनेरै उर्मीसँग भेट भयो । उनी आफ्ना चिसा लुगा सुकाउँदै रहिछन् ।

“कहिले आयौ उर्मी -” मैले उनलाई देख्नासाथ सोधेँ ।

“तीन दिन भयो । तिमीलाई सञ्च छैन कि क्या हो -” उनले जवाफसँगै प्रश्न सोधिन् ।

“सञ्चै छु ।” यति भनेर म कोठाभित्र छिरेँ । गङ्गाले अघि नै कोठाको ढोका खोलिसकेकी थिइन् ।

केहीक्षण आराम गरेपछि गङ्गाले मसँग एउटा दश रुपैयाँको नोट मागिन् । मैले ‘किन चाहियो -‘ भन्दै दशको एउटा नोट झिकेर उनको हातमा दिएँ ।

“उर्मिलाको छोरो हेरेर आउनुपर्यो । नयाँ मान्छेको अनुहार त्यसै हेर्नु हुँदैन भन्छन् त्यसैले ।” यति भनेर उनी उठेर गइन् ।

भाग – १२

मेरो मनमा पनि एउटा उत्सुकता जागेको थियो उर्मीको त्यो छोरो हेर्न । खै किन-किन साहसै भएन उठेर गङ्गाको पछि लागेर उर्मीको समीप जाने । त्यसैले चुपचाप लागेर कोठामै बसिरहेँ । मनको एउटा कुनामा पापको डर पनि लाग्दै थियो कि क्या हो मुटु एक तमासले ढुकढुक गरिरहेको थियो ।

“उर्मीले आफ्नो पति, सासू, त्यो उनको कर्मघर अनि यो हाम्रो परम्परावादी समाजको जर्जर कुप्रथासँग विद्रोह गर्ने हिम्मत गरिन् र त उनले आज नारीत्वको चरम अभिलाषा, मातृत्वको अतुलनीय सन्तुष्टि र नारीत्वको सार्थकता प्राप्त गरेकी छिन् । उनको चाहना र कामना पूरा भएको छ । उनी मौन भएर पारिवारिक पीडा खपेर बसेकी भए पतिभक्ति नै धर्म हो भन्ने ठानेर बसेकी भए त्यो सुख प्राप्त गर्न सक्थिन् र ? उनकी सौता र मेरी पत्नी गङ्गा नै यस कुराको साक्षी छन् नि । गङ्गा आमा बन्न नसकेको पीडामा खुम्चिएर बसेकी छन् । उनले मातृत्वको सुख भोग्न पाइनन् । त्यसैले उनी उर्मीको अनुहारमा प्रदीप्त भएको मातृत्वको अलौकिक आभालाईर् इर्ष्यापूर्ण दृष्टिले हेरिरहेकी होलिन् । आमा बन्न सक्दिन भन्ने अति तीतो सत्यलाई उनले स्वीकारेकी छन् । त्यसले उनलाई कति धेरै आत्मपीडा दिएको छ त्यो रहस्य मैले बुझेको छु तर पनि म उनलाई कुनै सहयोग गर्न सक्दिन । उनी आफ्नै कमजोरीले गर्दा खुम्चिइन् तर उर्मी अर्काको कमजोरीमा खुम्चिइन विवश भएकी थिइन् । त्यसैले त मैले उनलाई सहयोग गरेँ । यसरी सहयोग गर्दा, खुसी दिँदा त धर्म पो हुनुपर्ने त । मनमा यस्तै कुराहरू सोचिरहेको थिएँ ।

अर्को दिन अपरान्हतिर गङ्गा सब्जी किन्न बजार गएकी थिइन् । म एक्लै कोठामा बसेर एउटा पुस्तक पढिरहेको थिएँ । मेरो सामुन्ने उभिइन आइन् उर्मी । उनी एकदमै खुसी थिइन्, उनको अधरमा एउटा मोहक तर अनौठो मुस्कान नाचिरहेको थियो । उनको सम्पूर्ण मुहार खुसीले यसरी चम्किइरहेको थियो कि जसरी हिमालचुचुरामा थुप्रिएको सेतो हिउँको थुप्रोमा झुल्के घामको किरण ठोक्किँदा हिमाल मुस्काउँदछ ।

“तिमी त साह्रै निष्ठुरी मान्छे पो रहेछौ । छोरो कस्तो छ ? नाम के राख्यौ ? जन्मिएको कति दिन भयो भनेर पनि सोधेनौ । साँच्चै सोध्ने इच्छा नै नलागेर नसोधेका कि डरले नबोलेका भन त ?” उर्मीले मेरो समीपमा बस्दै भनिन् ।

“मलाई तिमीसँग बोल्न डर लाग्छ उर्मी । साँच्चै भन्दा आफूले गल्ती गरेको छ भने सानो-सानो कुरामा पनि डराउँछ, सशङ्कति हुन्छ मन । मलाई त्यस्तै भइरहन्छ र त म सतर्क रहन्छु । तिमीलाई त्यस्तो हुँदैन ?”

“हुँदैन भन्ने त हैन हुन्छ तर तिमीलाई जति हुन्छ त्यतिचाहिँ हुँदैन ।”

“तिम्रो पतिले आफ्नो यथार्थता बुझेर तिमीमाथि शङ्का गरेर ……… -” मेले पूरा बोल्नै नपाई उनले भनिन्, “मेरो पतिको ह्याउ मैले नापी सकेकी छु । उनी मेरो अग्निपरीक्षा लिन सक्दैनन् । म पनि कुनै सीता हैन नि पतिले भन्नेसाथ आफ्नो पवित्रताको प्रमाण पेस गर्न अग्निकुण्डमा फाल हान्ने । म अब मेरो छोराको साथ रम्दै यो संसारको नीरवतालाई सहजै पार लगाउनेछु । यसको मतलब म पतिबाट वाक्क भएँ भन्नेचाहिँ नसोच है । मेरो हृदयमा उनको माया पनि घटेको छैन । उनको नामको सिन्दूर अहिले पनि मेरो सिउँदोमा छँदै छ । उनले दिएको पोते मेरो घाँटीमा झुण्डिइरहेकै छ । यी दुबै थोकको मर्यादालाई मैले कायम राख्न नसके पनि यी फाल्न पनि त सक्दिनँ । मैले उनी र उनले दिएको सिन्दूर पोतेलाई छलेँ । यो त सिन्दूर र पोते लगाइदिएर पत्नीमाथि सम्पूर्ण अधिकार खोज्ने पुरुषलाई चुनौती दिएकी हुँ तर यसबाट उनलाई पनि फाइदै भएको छ । समाजले उनलाई अपूतो भनेर औंला ठड्याउन पाएको छैन ।

म त्यति बेलाको दुःख, वेदना र मनभित्रको पीडा सम्झन्छु, कस्तो-कस्तो लाग्छ । ती दुःख र कष्टहरू पीडा र वेदनाले नै अहिले स्वणिर्म संसारको सृजना गरिदिएका छन् । त्यसैले त आजकाल म अतीतको चिन्तनमा त्यति डुब्दिन नि । वर्तमानकै धरातलमा म हराइरहन्छु । कहिलेकाहीँ मेरो मस्तिष्कमा तिम्रो सुधोपन पनि आउँछ । मैले तिम्री पत्नी गङ्गाप्रति पो कुनै अन्याय गरेँ कि जस्तो लाग्छ । मेरो स्वविवेकले मलाई नैतिक दृष्टिमा अपराधी ठान्न खोज्छ । मैले गङ्गालाई कुनै कष्ट नदिई तिमीबाट आफ्नो स्वार्थ सिद्ध गरेँ । निसन्तान नारीबाट आमा भएँ । पतिको सामाजिक प्रतिष्ठालाई लिलाम नगरी आफ्नो घरलाई हरित बनाएँ । घर परिवारको इज्जतमा कुनै आँच आउन नदिई आफ्नो मनोकाङ्क्षा पूरा गरेँ ।

तिम्रो सहयोग नपाएको भए, तिमीले मेरो आग्रह नमानिदिएको भए सायद मेरो नारीत्वले सार्थकता पाउने थिएन होला । तिम्रो त्यो गुण मभित्रकी नारीले कहिल्यै भुल्न सक्दिनँ । मेरो मातृत्वको सपना साकार भएको छ । आज हाम्रो घर संसार, मेरो तन र मनको प्रफुल्लतामा प्रफुल्लित भएर झुलिरहेछ, झुमिरहेछ । मेरो मन साह्रै आल्हादित छ, हलुङ्गो छ, साँच्चै भन्दा शरद ऋतुमा प्रकृतिबाट शीतल सुवास बोकेर बहने मन्द-मन्द बतासजस्तै । मेरो सानो छोरोको कोमल स्पर्श पाउँदा, उसको मुखबाट निस्कने अबोध आवाज सुन्दा हर्षे भरिएको मेरो मन तिम्रो सम्झनामा रम्दै तिम्रै समीपमा पुगेझैं लाग्छ । अहिले यथार्थमै म तिम्रो समीपमा आएकी छु । मेरो मन असाध्यै प्रफुल्ल छ तर तिमीचाहिँ दुःखित भएर सोचमग्न भइरहेछौ, बोल्न पनि चाहेका छैनौ; म जान्छु ।” भनेर उनी उठिन् ।

“म नबोली मेरो मनको कुरा कसरी थाहा पायौ त तिमीले उर्मी ? त्यसै अर्कालाई त्यस्तो आरोप लगाउन पाइन्छ र ?”

उनी मुसुक्क हाँसेर पुनः बसिन् र मेरो सम्मुख आफ्नो मुख ल्याएर भनिन् ‘बोल न त ।’

‘हिजो छोरोको मुख हेर्न जान सकिन, इच्छा त भने जति नै लागेको थियो । ल्याएर देखाउँछ्यौ होला भन्ने सोचेको थिएँ तर तिमीले पनि त त्यति ख्याल गरिनौ नि ।’

उनी त्यसपछि उठेर गइन्, मलाई अनुमान लगाउन कुनै कठिन परेन उनी नानी लिन गएकी हुन् भनेर । म आतुरताका साथ प्रतीक्षा गरिरहेँ । निदाइरहेको नानी लिएर एकैक्षणमा आइपुगिन् उनी मेरो सामुमा र भनिन्

‘बोक्छौ ?’

‘बोक्नै आउँदैन, भइहाल्यो पछि बोकौंला, अहिलेचाहिँ अनुहार मात्र हेर्छु ।’

‘त्यसो भए पैसा निकाल न त, नयाँ मान्छेको अनुहार त्यसै हेर्नु हुँदैन ।’

उर्मीले त्यसो भन्दा मलाई हिजो गङ्गाले भनेको कुराको याद आयो, सायद म लजाएँछु पनि कि क्या हो अनि एउटा पाँच रूपैयाँको नोट निकालेर नानीको हातमा राखेर उसको अनुहार हेरेँ ।

‘हेर न यसको नाक, आँखा र निधार त काटीकुटी तिम्रो जस्तो छ नि हैन -‘

‘मैले आफ्नो नाक आँखा देखेकै छुइनँ ।’

उनी केही नबोली केवल मुस्कुराइन् मात्र ।

‘आज कति दिनको भयो ?’

‘एक महिनाको भयो हिजो ।’

‘अनि नामचाहिँ के राख्यौ नि ? ‘

‘यसको नाम मैले के राखेँ होला तिमी आफैं कल्पना गर त एकपल्ट ।’

‘मैले कसरी कल्पना गर्नु ? कल्पना गरेको भरमा थाहा हुने कुरो पनि त हैन ।’

‘यसको नाम मैले वसन्त राखेँ ।’

मलाई आर्श्चर्य त यस अर्थमा लाग्यो कि यी नारीहरू किन यति आँटिला भएका होलान् ?

“म अब एउटी आमा भएकी छु । यस अबोध शिशुको स्याहारचाकर, शिक्षा, स्वास्थ्य आदिको उचित ख्याल राख्दै यसको असल पथप्रदर्शक र असल सुसारे भएपछि म पक्कै व्यस्त हुन्छु । त्यस व्यस्ततामा पनि तिम्रो सम्झना मेरो मानसपटलबाट ओझेल नपरोस् भनेर मैले यसको नाम तिम्रोसँग मिल्दोजुल्दो राखेकी हुँ ।”

“तिमी अब मलाई कहिल्यै भुल्दिनौ त उर्मी ? साँच्चै भन्दा मेरो मनमा मैले विनोदप्रति अपराध गरेँ भन्ने भाव अहिलेसम्म पनि गएको छैन । तिमीले पनि अपराध त गरेकी नै छ्यौ किनकि मलाई पापकर्म गर्न उक्साएकी तिमीले नै हौ । यो सन्तान असल र राम्रो भयो भने तिमीले मलाई भुल्छौ, खराब भयो भने मेरो रगतलाई नै दोषी ठान्दी हौ ….. ।” म अझै केही कुरा भन्न खोज्दै थिएँ, उनले मेरो कुरालाई बीचैमा काटेर प्रतिकार गर्दै भनिन्, “असल स्त्रीसँग असल विवाह गरे असल सन्तान उत्पन्न हुन्छन्, निन्दित विवाहबाट निन्दित सन्तान नै जन्म हुन्छ भनेर शास्त्रले नै किटान गरेको छ । उनले मलाई झुक्याएर विवाह गरे । त्यसलाई निन्दित विवाह नभनेर श्रेष्ठ विवाह त पक्कै भन्न नसकिएला । उनले सुरु गरेको झूटको खेतीमा मैले मलजल गर्नु र बढाउनु पाप भए पाप नै सही । त्यो मलाई मात्रै लाग्दैन । त्यसको भागी त उनी पनि हुनुपर्छ ।

अब पाप र धर्मको कुरा छोडिदेऊ । जे हुनुथ्यो त्यो भयो यसमा अब टाउको दुःखाएर कुनै फाइदा पनि छैन । समग्रमा भन्दा हेर ! तिमी मेरो लागि महान् छौ । आज मसँग सबथोक छ, म खुसी छु । नाङ्गो, उजाड र मर्न लागेको विरुवाजस्तो मेरो जीवनलाई वसन्त बनी सिँच्न आयौ तिमी । अहिले त मेरो जीवनमा पालुवा पलाएर हरियालीले छोपेको छ । एकदम मनोहर वसन्त प्रदान गर्यौ तिमीले मेरो जीवनमा । मेरो जीवनको कालरात्रिलाई पूणिर्माको जून बनेर चिरिदियौ तिमीले । मेरो जीवनको उद्धारमा सघाएर मलाई ठूलो गुण लगाएका छौ त्यो म तिर्न सक्दिन । हुन त यसले त्यो गुण तिर्छे यसबाट म केही लिन्छु भनेर तिमीले त्यसो गरेका पनि हैनौ तर पनि म तिमीलाई एउटा कुरा बिन्ती गर्छु यो सन्तानमा हाम्रो जति अधिकार छ त्यति अधिकार तिम्रो पनि छ । म जहाँ जसरी बसे पनि सन्तानको मायाले डोर्याएको बेला तिमी जहिले र जुन बेला पनि मेरो घरमा आउन सक्छौ । मेरो घरको ढोका तिमी र तिम्री श्रीमती गङ्गाका लागि सधैं खुल्ला रहने छ ।”

नारीत्वको चरम अभिलाषा रहेछ यो मातृत्व । म भर्खर बुझन थाल्दै छु । नारीत्वको चरम र्सार्थकता र चरम कामना नै मातृत्व हो र मातृत्व प्राप्त गर्न नसक्ने नारी अधुरो र अपूर्ण हुन्छे भने कुनै नारीलाई पूर्णता प्रदान गर्नु पक्कै पनि अपराध होइन होला, चरित्रहीनता होइन होला । यो मातृत्व कस्तो अचम्मको ……. प्रसवको असहृय पीडाले पहेंलो र फुस्रो अनुहार लगाएर छट्पटाइरहेको बेला पनि नारीको नयनमा मातृत्वको अलौकिक आभा प्रदीप्त भइरहेको हुन्छ । नारीमा हुने सरल, स्वभाविक र रसिलो वात्सल्यलाई रोक्नु राम्रो कुरो हैन रहेछ । त्यसैले त अब मलाई पश्चाताप लाग्न छाड्यो । उर्मीको जीवनमा आएको बहार र खुसीको उमङ्गमा म पनि रम्न थालेँ । उनको अधरको रहरलाग्दो मुस्कानले मेरो दिल पनि हाँसेकोले होला मैले म आफू गङ्गाको पति हुँ भन्ने र गङ्गा सन्तानविहीन नारी हो भन्ने कुरा पनि भुल्न थालेँ कि क्या हो ?

भाग – १३

शरद ऋतुका दिनहरू भएर पनि स्वच्छ थिए, सफा थिए । मेघाच्छन्न आकाशमा जाज्वल्यमान सूर्य पनि क्रमशः ओह्रालो लाग्दै थिए । त्यो दिन र वातावरण स्वच्छ भएसरि मेरो मन मस्तिष्क स्वच्छ सफा हुन सकिरहेको थिएन । मनमा कालो बादल मडारिइरहेकोले गर्दा मैले अनुभव गरेँ जीवनमा बहार ल्याउन सन्तान चाहिँदो नै रहेछ । सन्तानबिना जसरी मनको सँघार शून्य हुन्छ त्यसरी नै शून्य हुँदो रहेछ घरको आँगन पनि । हाम्रो जीवननौका अब सायद यसै डुब्छ होला । गङ्गाभित्रको मातृत्व फस्टाउन पनि पाएन । पहिले-पहिले सन्तान नभए पनि त्यो मिष्टभाषी, मृगनयनी प्यारी पत्नीको सुन्दर रूप हेरेर पनि यो जीवनरथलाई पार लगाउँछु जस्तो लाग्थ्यो । गङ्गाको साथ पाइरहेँ भने जस्तै कठिन जँघार पनि तर्न सक्छु जस्तो लाग्थ्यो । कठिनभन्दा कठिन समस्याहरूसँग पनि निर्धक्क जुध्न सक्छु जस्तो लाग्थ्यो तर ….. आजकाल मलाई के हुँदै छ यस्तो ? म किन यसरी कमजोर हुँदै जाँदै छु ? कतै उर्मीसँगको सङ्गतले त मलाई यसरी कमजोर बनाइरहेको छैन ?

“हन, तिमी कहाँ हराएको यसरी ? बडो अचम्मको मान्छे छौ तिमी । मनका कल्पनामा डुब्न थालेपछि आफ्नै सामु अरू कोही मानिस बसिरहेको छ भन्ने कुरा पनि बिर्सिदिन्छौ हगि र?” उर्मीका यस्ता कुराले मेरो मनका तर्कनालाई बिथोलिदियो । अनि खिस्स हाँसेछु कि क्या हो । त्यस बेला भनेँ, “उर्मी ! यो मेरो कमजोरी नै हो जस्तो लाग्छ, कल्पनाको सागरमा पौडिएर आनन्द लिने बानी । यसबाट छुटकारा पाउने बाटो पनि भेटिरहेकी छुइनँ । अँ तिमीलाई मेरो बिन्ती छ हामी बीचका यी कुरा गङ्गासम्म नपुगून् । तिम्रो मनको विद्रोह उर्लेको बेला रिसको झोकमा यस्ता कुरा ओइरिन पनि सक्छन् । त्यसैले रिसाउने बानी छोडिदेऊ र अब धैर्य र सशनशील बन्न सिक र मनमा विद्रोहको भाव कहिल्यै नल्याऊ । यही बिन्ती गर्न चाहन्छु म तिमीसँग । यही कुरा मनमा पनि सोचिरहेको थिएँ ।”

मेरो कुरा सुनेर उनले भनिन्, “ठिकै भन्यौ तिमीले । म आफूभित्र एउटा नराम्रो उत्तेजना जन्मिएको पाउँछु कहिलेकाहीँ त । लोग्नेले आफ्नो पुरुषार्थ र अन्य परिवारले आफ्नो वंशको प्रसंशा गर्दै नाक ठड्याएको देख्दा र सुन्दा उनी र उनको परिवारलाई हाँक दिन चाहन्छु । एकप्रकारले भन्दा त्यो मेरो घमण्ड पनि हो कि जस्तो लाग्छ । मनमा जस्तो लागे पनि बाहिर कुनै कुरा अभिव्यक्त गर्दिनँ । मलाई थाहा छ मैले मेरो अस्तित्वको मात्र ख्याल गरेर पुग्दैन । तिम्रो इज्जतको पनि याद राख्नु पर्दछ । तिमीले मेरो प्रतिष्ठा जोगाइदियौ भने तिम्रो प्रतिष्ठामा आँच आउन नदिनु मेरो पनि कर्तव्य हुन्छ । यो तिम्रो आफ्नो सन्तान हो । तिम्रो आफ्नो सन्तान हुँदाहुँदै पनि दुनियाँ समाजले तिमीलाई अपूतो भन्छन् भनेको सुन्दा मलाई चिच्याई-चिच्याई भन्न मन लाग्छ तिमी अपूतो हैनौ भनेर तर ……… म एउटी निरीह प्राणीजस्ती भएकी छु । छातीभरि पीडा र दुःख-व्यथाहरूको भारी बोकेर पनि केही बोल्न सक्दिनँ ।”

“तिमी मेरो फिक्री नगर । म त अब दुःख, पीडा र पश्चातापको आगोमा जल्दै जिउने अभ्यासमा लागिसकेँ । अब यसरी नै आफ्नो जीवनयात्रालाई निरन्तरता दिने प्रयास गरिरहनेछु ।”

“तिमी सधैं चिन्ताग्रस्त रहँदा तिमीले आफ्नो अति प्रिय व्यक्ति, आफूलाई साह्रै आदर-सत्कार र प्रेम गर्ने मान्छेको अनुहारमा चिन्ता, पीडा, अस्वस्थता, वेदना र नैराश्यताको गहन बादल मडारिएको देख्दा एउटी पतिव्रता नारीको मनमा कस्तो पीडा र व्यथा बढ्दछ होला कल्पना गरेका छौ – तिम्री पत्नी गङ्गा जसलाई तिमी असाध्यै प्रेम गर्छौ र म पनि उहाँलाई आदर-सत्कार गर्छु उहाँको खुसीको लागि पनि तिमीले हाँस्न सिक्नुपर्छ ।”

“तिमीले एकप्रकारले ठिकै पनि भन्यौ उर्मी । बिचरी गङ्गा दिनभरि घरमा एक्लै बस्छिन् । त्यस बेला समयको नीरव शून्यतालाई पार गर्न उनलाई कति कठिन पर्दो हो । वाक्कलाग्दो, पट्यारलाग्दो समयसँग जुध्न सन्तानसँगको पारस्परिक हेलमेलले सजिलो पार्थ्यो तर …. भाग्यमै नभएको कुराको आस राखेरमात्र पनि भएन । कहिलेकाहीँ मनको कुनै कुनातिर थोरैतिनो विद्रोह पनि उब्जिन्छ । त्यो विद्रोहले मेरो चारित्रिक परिवर्तन अझ भनौं ह्रास ल्याउला भन्ने भयले यो विद्रोहलाई त्यसै कुण्ठित पार्छु र सन्तानको मोह नै त्यागिदिन्छु ।”

मेरो कुराले उर्मीमा खै कस्तो असर पार्यो, एकाएक उनको अनुहारमा परिवर्तन आयो । राता आगोका फिलुङ्गाजस्ता आँखाले परपर हेर्दै अलि कठोर पारामा भनिन्, “तिमी अझै मलाई व्यङ्ग्य गरिरहेका छौ हैन ? मेरो भावनात्मक र मानवीय विद्रोहले मेरो चरित्रमा ह्रास ल्याएको छ, यही भन्न खोजेका होलाऊ तिमीले । त्यति कुरा त म पनि बुझ्छु । म एउटी नारी, मेरो मनभित्रको पृष्ठ भागमा भनौं कि क्यानभासमा दुइटा पुरुषको आकृति कुँदिएको छ । यसैलाई तिमी मेरो चरित्र ह्रास भनिरहेका छौ हैन ? तिम्रो टेवलमा सजिएर बसेको यो पुस्तकलाई हेर …… ।” यति भनेर उनले मेरो टेबलमा सजाएर राखिएको महाभारत पुराण जुन उनकै बुबासँग केही दिन पहिले पढ्न भनी मागेर ल्याएको थिएँ ।

त्यसैलाई उचालेर मलाई देखाउँदै भनिन्, “यसलाई मैले राजनीति, धर्मशास्त्र, नीतिशास्त्र र इतिहासको एक उत्कृष्ट दस्तावेजको रूपमा हेरेको छु जुन कुरालाई तिमी पनि नकार्न सक्दैनौ होला । यहाँ उल्लेख गरिएका कतिपय कुराहरूलाई तिमीले पढेका छौ । के हामीले यो दस्तावेज कुनै काल्पनिक घटनामा आधारित छ भनेर भन्न सकौंला र ? जसरी हामी यसलाई काल्पनिक वा कपोलकल्पित भनेर हेला गर्न सक्दैनौं त्यसरी नै कुन्तीको चरित्रलाई छिः भनेर घृणा पनि गर्न सक्दैनौं । कुन्तीलाई श्रद्धा गर्ने, सम्मान र आदर गर्ने यो समाजले मलाई मात्र किन घृणा गर्छ ? उनका मनमा र तनमा राज गर्ने पुरुषहरू त तिमीले पनि गन्यौ होला नि – विवाहपूर्व नै जसरी मैले सनतसँग सर्म्पर्क गरेँ त्यसरी नै उनले पनि सूर्यसँग सर्म्पर्क गरेर कर्णलाई जन्माएकी थिइनन् त ? कुमारी अवस्थामा नै आमा बन्नु के सत्चरित्रको नमुना हो ? लाजगालबाट बच्न उनले जन्मिएको शिशुलाई खोलामा बगाइन्, मेरो जन्मन पाएन । त्यसपछि उनी विवाहित भएझैं म पनि विवाहित भएँ । उनको पतिबाट सन्तान नभएझैं मेरो पतिबाट पनि सन्तान भएन । उनले धर्मराज, वायु र इन्द्रलाई गुहारेझैं मैले तिमीलाई गुहारेँ । उनको हृदयमा पाँच जना पुरुषको तस्बिर कुँदिएको थियो र पनि उनलाई स-सम्मान श्रद्धा गर्ने यो समाजले मलाई मात्र घृणा गर्नुपर्ने कारण के होला – उनले गरेको जस्तो व्यवहार मैले गर्दा मचाहिँ वेश्या हुने – उनीचाहिँ पञ्चकन्यामध्येकी एउटी हुने र पूजनीय हुने – कि त कुन्तीलाई पनि वेश्या सम्झेर घृणा र तिरस्कार गर्न सकोस् यो समाजले र उनलाई पञ्चकन्याबाट हटाएर सम्पूर्ण शास्त्र संशोधन गर्न सकोस् नत्र अन्य कुनै नारीलाई घृणा गर्न पनि छोडोस् । यो मेरो चुनौती नै हो यस समाजलाई ।”

उनलाई सम्झाउने उद्देश्य लिएर मैले भनेँ, “उर्मी ! प्राचीन घटनाको सत्यतालाई आधुनिक परिवेशसँग तुलना गर्न मिल्दैन । त्यस समयको घटनाक्रमलाई उपर्युक्त समयकै आधारमा विश्लेषण गर्नुपर्छ । तबमात्र त्यो सत्यको मर्म बुझन सकिन्छ । अहिलेका जस्ता भ्रामात्मक तर्कचाहिँ गर्दै नगर । ती तर्कहरू तिमीभित्र उब्जिएको विद्रोहको ज्वालाले उब्जाएको उपज हो । त्यस्ता भ्रमपूर्ण तर्कले मानिसको विद्वताको समृद्धि गर्दैन बरु उल्टो पतनको खाडलमा जकड्न बेर लगाउँदैन । हाम्रो हिन्दू धर्मले सधैं नारी जातिको इज्जत र सम्मान गर्छ । त्यसैले होला कुन्तीलाई पनि अपहेलना नगरेर सम्मान नै गरेको । त्यसैले पनि भन्छु उर्मी ! नैतिकताको सीमा अतिक्रमण गर्नु अनैतिकमात्र हैन पाप कार्य पनि हो । त्यसैले त्यस्ता तर्क र विद्रोह त्यागिदेऊ ।”

मेरो कुराले उनको रिस अलि शान्त गर्ला कि भनेको त झन् बढाएछ पो । उनी आफ्नो नानीलाई सम्हालेर बोक्दै उठ्न खोजिन् तर फेरि उठिनन्, बसेर नाकका पोरा फुलाउँदै बोल्न थालिन्, “मैले तिम्रो हिन्दूत्वलाई राम्ररी चिनेकी छु । अब मलाई धर्म र पापको डर देखाएर कसैले मेरो मनमा त्रास सृजना गर्न सक्दैन । यो समाजमा जहिले पनि जित्नेको इतिहास लेखिन्छ, चाहे त्यसले जतिसुकै दुष्ट्याइँ गरेर जितेको किन नहोस् । हार्नेको इतिहास कहिल्यै लेखिँदैन । इतिहास बाठाले लेखे, धर्मशास्त्र बाठाले लेखे, समाजमा नियम, कानुन र मर्यादा बाठाले बनाए । देशको संविधान बनाउँदा त बनाउनेले भरसक त्यो संविधानले आफूलाई छुन नसक्ने गरी बनाउँछन् भने एउटा सम्पूर्ण धर्म वा सम्प्रदायकै परिधिमा त्यस्तो किन नहोस् ।

पुरुषहरूले आफ्नो कमजोरी ढाक्न र आफ्नो अस्तित्व जोगाउनकै लागि नारीलाई विभिन्न उपमा दिए, फुर्क्याएर थिच्न । सौभाग्यवती नारी सिन्दूर पुछ्नु र चुरा फोर्नुभन्दा चितामा जल्न बरु राजी हुन्छे । वैधव्य व्यथाभन्दा अग्निदाह शीतल हुन्छ भनेर पढाए र त्यही छाप नारीमा पर्ने गरी शास्त्र पनि बनाए । पुरुषबिना नारी बाँच्न सक्दिन भनेर सोच्नु पुरुषको बडप्पन नभएर के हो – धर्मशास्त्रमा सतीसँग जलेको पुरुषले -पतिले) नर्क पर्नु पर्दैन भनेर लेख्ने नारी अवश्य पनि होइन, त्यो पुरुष नै हो । एउटा पुरुषले हजारौं दुष्कर्म गर्छ बाँचुन्जेल अनि मरेपछि नर्क नपरोस् भनेर उसैसँग चितामा सँगै जल्न नारी तयार हुनुपर्ने यो कस्तो बाध्यता सृजना गर्न सकेको त धर्मशास्त्रले ? नारीले आफ्नो लोग्ने मर्दा सती जानुपर्ने नियम पुरुषले बनायो तर पत्नी मर्दा पतिले पनि सँगै जल्नुपर्ने नियम किन बनाएन उसले ? उसलाई चितामा जिउँदै जल्न डर लाग्छ, सक्दैन । त्यसैले अनेक बहाना बनाएर ऊ पन्छिएको छ । अनि सती जानु नपर्ने नियम पनि त्यही पुरुषले बनाउँदछ । आखिर बारम्बार नारीमाथि लगाइने नियममा संशोधन गर्ने अधिकार पनि पुरुषसँगै रहने कसरी हुन्छ ?

पुनर्जन्मको लोभ देखाएर नारीलाई नैतिकताको डोरीले बाँधेर सधैं आफ्नो अधीनमा राख्न खोज्नु पुरुषको दुष्ट्याइँ हो । राम्रो काम त्यसमा पनि केवल एउटै पतिसँग सीमित रहेर बस्ने नारीले अनन्तकालसम्म स्वर्गमा बस्न पाउँछे । पति फेर्ने पत्नीले पुनर्जन्म लिँदा विभिन्न समस्या भोग्नुपर्ने कुरा उल्लेख गरेर नारीको कामना, चाहना र वासनामाथि जबर्जस्ती कुठाराघात गरिएको छ । स्वर्ग कसले देखेको छ र स्वर्गको लोभ नारीलाई देखाउनु ? स्वर्ग त यही धर्ती हो । यहाँ सम्पूर्ण सुख-ऐर्श्वर्य प्राप्ति गरेर जीवन बिताउन पाउनु त्यही स्वर्ग हो । मरेपछि पाइने स्वर्गको के अर्थ ?

स्पष्ट भन्दा त्यस बेला शासकहरू आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो राज्य बिस्तार गरी सुखभोग, विलास बढाउन बारम्बार लडाइँ गरिरहन्थे छिमेकी देशहरूसँग । त्यसरी लडाइँ गर्न प्रशस्त सिपाईंहरू आवश्यक पथ्र्यो र लडाइँका क्रममा कतिपय सिपाईंहरू मर्दथे पनि । त्यसरी मरेका सिपाईंका पत्नी बैँसमै विधवा बन्थे । तिनीहरूको पतिलाई लडाइँको कुण्डमा होमेपछि तिनीहरूको पत्नीहरूको पालनपोषण गर्ने दायित्व शासकको हुने नै भयो । फेरि बैँसमा नै लोग्ने मरेपछि बाँकी जीवन एक्लै बिताउनुभन्दा अर्को विकल्प खोज्छन् नारीले भन्ने भयले नै शासकहरूले सती प्रथा चलाए । जन्मेपछि एकदिन मर्नै पर्छ त्यसैले जीवनभर वैधव्य व्यथा खपेर मर्नुभन्दा क्षणभरको अग्निदाह खप्नु नै उत्तम हो, राम्रो हो र महान् धर्म हो । यसरी जल्दा अनन्तकालसम्म स्वर्गमा स्थान पाइन्छ, आफ्नै पतिदेवकै साथमा, भनेर जालझेलको पासो फिँजाएर आफ्नो स्वार्थ पूर्ति गरे । नारीहरू कमजोर भएकाले नै पुरुषहरूले डोर्याएको बाटोमा लुरुलुरु डोहोरिइरहे बाँधेको गाईजस्तो भएर ।

जुन कुलमा छोरी बुहारीलाई कुनै दुःख दिइँदैन त्यो कुल सधैं बढ्दै जान्छ भनेर नारीको इज्जत र उनीहरूको मर्यादालाई सम्मान गर्न खोजेजस्तो पनि गरेको होला कहींकहीं तर त्यसको अर्थ यदि स्त्री प्रसन्न भइन भने उसले आफ्नो स्वामी, लाग्नेलाई परमआनन्द प्रदान गर्न सक्दिन भनेर नै हो, त्यो त स्पष्टै छ । शास्त्रले पनि यही अर्थ लगाएकै पनि छ । दशैंमा मार हान्न पालिएको बोकालाई चाकर पुगेन र दुब्लायो भने मासु खाँदा सन्तुष्टि प्राप्त हुँदैन भनेर त्यसलाई पोसेजस्तै हैन त यहाँ स्त्रीलाई खुसी राख्नु भन्ने कुरो – धर्म र शास्त्रको भर परेर भगवान्को नाम जप्दै …………।” उनी अझै के-के भन्थिन् होला, उनकी आमाले बोलाएपछि उठेर गइन् । उनी निस्कनासाथ गङ्गा पनि आइपुगिन् सब्जी लिएर । त्यसपछि दुबै जोई-पोइ मिलेर खाना तयार गर्न थाल्यौं ।

भाग – १४

समयले आफ्नै गतिमा फन्का मारिरह्यो । मिनेटबाट घण्टा र दिन हुँदै हप्ता र महिना बितेर गए । मैले मेरी पत्नी गङ्गालाई धेरै सम्झाएँ, जीवनका भोगाइहरू, यी दुःख-सुखहरूको बारेमा चिन्तित नहोऊ भनेर । “आफ्नो मनमा म अपराधिनी हुँ भन्ने भाव कहिल्यै नल्याऊ गङ्गा । उर्मीको जीवन हेरेर तिमीले आफूलाई अभागी ठानेकी पनि हुनसक्छ । उर्मी र तिमीमा केही भिन्नता जरुर छ र त उनको जस्तो सुख भोग्न तिमीले पाएनौ नि । तिम्रो त्यही भिन्नता र कमजोरी मलाई प्यारो छ, एकदम प्यारो छ । मेरो मनमा तिमीप्रति जुन आस्था छ, श्रद्धा र इज्जत छ त्यो अलिकति पनि घटेको छैन बरु झन्-झन् बढ्दै छ ।”

मेरा यस्ता कुरा सुनेर नतमस्तक भएर विनीत स्वरमा उनले भनिन्, “यो कुरा तपाईंले मलाई खुसी पार्न मात्र भन्नुभएको त होइन ?”

“तिमीसँग झूटो बोल्न सक्छु र म गङ्गा ? तिमी चिन्ता नलेऊ । अहिले जेजस्तो छ त्यस्तै खुसीमा हामी यो जिन्दगी बिताइदिऊँ । मैले त धेरै पहिले नै सन्तानको मोह त्यागिसकेको छु, तिमीले पत्याउनमात्र सकिरहेकी छैनौ । म अझ तिमीलाई भन्छु तिमी पनि त्यो मोह त्यागिदेऊ ।”

मेरो मधुर स्वरमा सद्भावना र दया मिसिएको थियो क्या हो । बालकका झैं निर्मल उनका नयनमा मोतीझैं आँसु टल्कन थालेका थिए । स्नेह र हर्षको वर्षा हुन थालेको झैं …… एउटा मधुरो मुस्कानको लहर दौडियो अधरमा । मेरा हात समाउँदै बिस्तारै बोलिन्, “जीवनको अधुरो रूप, अभाव र त्यसको पीडाले मुटु र शरीर घोचिरहन्छ । त्यसको न कुनै उपचार छ न कुनै परिणाम नै छ । प्रथम प्रेमको मधुर, मीठो स्वाद जुन तपाईंले दिनुभएको थियो त्यसमा ह्रास आएको अनुभव भएको छैन तर मेरो मनको तिक्तता र जीवनका निरसताले गर्दा मैले नै आफ्नो

मायामा खोट देख्न थालेकी छु । आफूले पतिप्रतिको कर्तव्य पूरा गर्न सकिरहेकी छुइन कि जस्तो लाग्छ ।”
यसरी पति-पत्नी धेरै बेर गफगाफ गर्न पनि सक्दिन । उनीसँग गफ गरौं भन्ने सोच्छु, उनका आँसुले भरिएका आँखा देखेर मन भक्कानिएर आउँछ । त्यसैले होला हामी साह्रै हेलमेल गर्न पनि छाड्दै गयौं कि क्या हो । मैले त्यस्तो होस् भनेर चाहेको पटक्कै हैन तर उनी नै मेरो समीपबाट अलग रहन खोजेको जस्तो लाग्न थाल्यो ।

एक दिन म अफिसबाट अलि चाँडै फर्किएर घर पुग्दा कोठामा गङ्गा थिइनन् । म कोठाभित्र पसेर कपडा बदलेर चिया बनाउने तरखर गर्दै थिएँ, त्यहाँ एउटा च्यातेर फालिएको कागजको टुक्रामा मेरो आँखा पर्यो । त्यहाँ गङ्गाका अक्षर थिए । त्यो कागज टिपेर मैले पढेँ । त्यहाँ उनले लेखेकी थिइन्, ‘म उहाँको जीवनमा बोझमात्र भएँ । मलाई साह्रै डर लाग्न थालेको छ । जीवनको हरपल हरक्षण आँसुले नै पछ्याइरहन्छ । म निथ्रुक्क भिजिसकेँ त्यही आँसुले । गहभरि आँसु, मुटुभरि भक्कानो बोकेर वेदनाले छिया-छिया भएको मुटुको पृष्ठभरि जमेको पीडा पोखिन के बेर । अब त म बहुलाउँछु कि जस्तो पनि लाग्छ । मनलाई कतिन्जेल ……….।’ च्यातिएको टुक्रामा यति कुरा थिए । यसभन्दा अगाडिका कुरा च्यातेर अर्को टुक्रामा परेकाले मैले पढ्न सकिनँ ।

मलाई असाध्यै पीर पर्यो गङ्गाको पीडा बुझेर । उनले त्यहाँभन्दा अगाडि के-के लेखेकी थिइन् होला भनेर जान्ने उत्सुकता पनि बढ्यो । मनमा एउटा अज्ञात भयले बास पनि गर्यो । “हे भगवान् ! गङ्गाले भावावेशमा कुनै गलत कदम नउठाऊन् ।” भन्ने सोच्दै म यताउता आँखा घुमाउँदै थिएँ, झ्यालबाहिर एक मुठी कागज कच्याक्कुचुक्क पारेर फालिएको थियो । म बाहिर निस्किएर त्यो टिपेँ र खोलेर हेरेँ । मसिना-मसिना टुक्रा पारेर फलिएका ती कागज जतनसाथ खोलेँ र टुक्रा-टुक्रा जोडेर पढेँ । त्यहाँ उनले लेखेकी थिइन्, ‘म उहाँको मायाले बाँधिएकी छु । उहाँलाई ढाँट्न र धोका दिन म सक्दिन, किमार्थ सक्दिन । म बाँधिइरहेँ उहाँको मायाले, उहाँका बुबाआमाका इच्छाले उहाँको वंशले निरन्तरता नपाउला भन्ने भयले कतै म उहाँको बोझ त भएकी छुइन भन्ने आशङ्काले अनि मैले यो घर छाडेँ भने उहाँले अर्की स्वास्नी ल्याउनु होला कि नहोला भन्ने दोधारले । उहाँको सोझोपन, उहाँको उदारता र स्वच्छ व्यवहारलाई सम्झँदा मेरो मुटु कुटुकुटु खान्छ । मैले उठाउन लागेको कदम, सधैंका लागि छोडेर कुनै अज्ञात स्थानतिर जान ……. ।’

अर्को टुक्रा हातमा लिएँ र पढ्न थालेँ, “….. यो कुरा थाहा भयो भने उहाँको हृदयमा कत्रो ठूलो बज्रपात होला । म यति बिघ्न वितघ्न बनेर हिँड्नु हुन्छ होला कि हुँदैन होला । फेरि म सन्तानको अभाव, वंश मासिने भय, बृद्ध आमाबुबाको चाहना आदिलाई त्यसै टुक्रिन दिन पनि सक्दिनँ । कुल नासिन त मैले कसै गरे पनि दिनुहुँदैन नि । म किन यति कमजोर बनेकी होला ? माया र करुणा अनि सहृदयी पतिको स्नेहले म पानी पानी हुन्छु । किन नारीलाई यसरी करुणाको मुहान बनाएका होलान् यी इश्वरले । बरु पुरुषजस्तै कठोर बनाइदिनु नि ….।”

“…… मेरो मनमा उहाँप्रति अगाध स्नेह रहेको छ, मेरो हृदयको अभिव्यक्ति बुझिदिने कोही छैन, उहाँप्रति निष्कपट आदर र भक्ति छ, असीम प्रेम रहेको छ तर पनि म उहाँबाट टाढिन लाग्दै छु । मैले उहाँको …………………. ।”

मेरो मनमा चिन्ता मडारिएर आयो । मनमा अनेकथरीका विचारहरू दौडिन थाले । नचाहाँदा-नचाहाँदै पनि मनमा अनेक प्रकारका शङ्का उपशङ्काहरू उब्जिए । चिया खाने इच्छा पनि त्यसै मरेर गयो । ती कागजका टुक्राहरू सम्हालेर राखेँ र तीव्रतापूर्वक गङ्गाको प्रतीक्षामा टोलाइरहेँ । दुईटा हातमा झोला झुन्ड्याएर गङ्गा र उर्मीकी आमा रिक्साबाट ओर्लंदै गरेको देखेँ । म स्वभाविक अवस्थामा सम्हालिएर बसेँ ।
केठाभित्र पस्नासाथ गङ्गा मुसुक्क मुसकाउँदै बोलिन्, “कतिखेर आइपुग्नुभएको -”

“भर्खरै आएको ।”

झोला झिकेर मेरो सामु आएर भनिन्, “चिया बनाउँछु ल ।” उनले चियाको कुरा गर्दा पो झस्केँ । चिया बनाउने सुरमा त अघि नै लागेको थिएँ । गङ्गाका अक्षरहरूले चियाको तलतल नै मेटाइदिएकाले पकाउने झन्झट छाडेर बिछ्यौनामा टोल्हाएको थिएँ ।

“हुन्छ बनाऊ न, सँगै पिउने भनेर नै पर्खिरहेको थिएँ ।”

एकै क्षणमा दुई कप चिया बोकेर गङ्गा मेरो सामुन्ने आइन् र मलाई चिया दिएर एक कप आफूले लिएर मेरो समीपमा बसिन् ।

“तरकारी धेरै ल्यायौ कि क्या हो , पर्सि शनिबार त घर जाने विचार गरेको छु मैले ।”

उनी केही बोलिनन् । अनुहार मलिन भएको देखेँ मैले । त्यसैले सोधेँ, “कि नजाऊँ ? तिमी नजाऊँ भन्छ्यौ भने नजाऊँ । मलाई त जाने साह्रै इच्छा छैन ।” मलाई घर जाने इच्छा तीव्ररूपले उठेको थियो । बृद्ध बुबाआमाको सम्झनाले मन पोलिरहन्थ्यो । तर गङ्गाको मलिन अनुहार देख्दा मन अमिलिएर मात्र नजाऊँ भनेको थिएँ ।

“बुबाआमालाई हेर्न मन लागेको छ । अब त बूढाबूढी पनि भइसक्नुभयो । यस्तो बेला सँगै बसेर उहाँहरूको स्याहारचाकर गर्नुपर्ने म बुहारीको कर्तव्य पनि हो । त्यति त गर्न सकिनँ-सकिनँ, हेर्नसम्म नजानु त …….. त्यसैले शुक्रबार बेलुका नै जाऊँ भन्छु म त ।”

गङ्गाले भनेझैं शुक्रबार दिउँसै हिँड्यौं विराटनगरबाट । पृथ्वीमा साँझ ओर्लिइसकेकोले आफ्नो-बिरानो नचिनिने भइसक्दामात्र घर पुग्यौं हामी । घर पुग्दा थाहा भयो आमा बिरामी हुनुहुँदो रहेछ । भोक असाध्यै लागिरहेको थियो, गङ्गाले हतारहतार खाना बनाइन् अनि खायौं ।

घरमा बुबाआमा मात्र हुनुहुन्छ । एउटी आफन्त दिदीलाई खान, लाउन र मासिक तलबसमेत दिने सर्तमा मैले बुबाआमाको स्याहार-चाकर गर्न र खाना बनाउन राखेको थिएँ । उहाँलाई पनि अलि सञ्च रहेनछ । त्यसैले उहाँहरू तीनै जनाले बेलैमा खाएर धन्दा सकिसक्नुभएको रहेछ ।

शनिबार बुबाआमासँग सुख-दुःख र घर-व्यवहारका कुराकानी भए । केही खर्चबर्चहरू छोडिदिएर उहाँहरूले लिनुभएको ऋण पनि तिरिदिएँ । बेलुकासम्ममा आफ्नो सम्पूर्ण काम सकेर कोठामा बसेर टी.भी. हेरिरहेको थिएँ, आमा त्यहीँ पुग्नुभयो । केही कुरा गरे पश्चात् उहाँले भन्नुभयो ।

‘बाबु ! अलिकदिन गङ्गा यही बसोस् है । त्यो माइली पनि बिरामी छे, मलाई पनि सन्च छैन, फेरि गङ्गाको साह्रै न्यास्रो पनि लागिरहेको थियो । हुन त उहाँ तँलाई खाना बनाइदिने मानिस कोही हुदैनन् तैपनि एक हप्तालाई चाहिँ गङ्गालाई छाडेर जा है बाबु ।’ आमाको अनुनयलाई मैले कसरी टार्नु र । त्यसैले गङ्गासँग कुरा गरेर उनलाई घरमै छोडेर म आइतबारको दिन बिहानै विराटनगरतिर लागेँ ।

 भाग – १५

दुई हप्ता पछाडि म शुक्रबार राति आठ बजे घर पुगेँ । आमाबुबा खाना खाएर सुतिसक्नु भएको रहेछ । माइली दिदी बेलुकाका जुठा भाँडा माझ्दै हुनुहुन्थ्यो ।

“दिदी ! साह्रै पो भोक लाग्यो त हौ ।”

उनी हतार-हतार खाना बनाउन जुटिन् । म बुबाआमाको कोठामा पुगेर उहाँहरूलाई ढोगेँ र उहाँहरूकै बिछ्यौनामा बस्दै भनेँ, “गङ्गाचाहिँ देखिन्नन् नि ?”

मेरो यस प्रश्नले उहाँहरू झस्किनुभयो । आर्श्चर्यका आँखाले मतिर हेर्दै बुबा बोल्नुभयो, “के भन्छ यो ? गङ्गा तँसँग आइन र ?”

अब बुबाको प्रश्नले म झस्किएँ । मनमा एउटा अज्ञात भयले थिच्यो, छाती ढक्क फुल्यो ।

“गङ्गा घरमा छैन र ?”

“ऊ त गएको शनिबार नै विराटनगर जान्छु भनेर हिँडेकी हो त यहाँबाट त ।”

“उहाँ त गएकी छैन त । यत्रो दिन भइसक्यो त्यसो भए कहाँ गई त ? के झगडा परेको थियो ?”

“के को झगडा गर्नु ? ऊ त यहीँ बस्छु अर्को हप्तामात्र जान्छु भन्दै थिई । तँलाई एक्लै अप्ठ्यारो पर्ला भनेर मैले नै कर लगाएर पठाएकी ।”

अज्ञात भयले टाउको घुम्न थाल्यो । मनमा अनेक शङ्का उपशङ्का उब्जिए । धेरै पहिलेदेखि मलाई यही कुराको डर थियो । ‘कहाँ गई होला त ?’ भन्ने सोच्दै म हाम्रो कोठामा गएँ । गङ्गाको केही लेखिरहने बानी छ । उनले केही लेखेर कहीँ छोडिन् कि भनेर खोजखाज गरेँ । नभन्दै एउटा सानो कागजको टुक्रामा उनका अक्षरहरू देखेँ र टिपेर पढ्न थालेँ, ‘जन्म दिने बाबुआमाभन्दा पनि पूज्य सासू-ससुरा छन् भनेर मरिहत्ते गरेर उहाँहरूको सेवा चाकर गर्न भनी घर आउँछु तर पनि खै किन-किन यहाँ पनि पटक्कै शान्तिको महसुस गर्न सक्दिन । सूर्य, चन्द्र, सन्ध्या, अन्धकार सबै केवल आतङ्क, त्रास र भय अनि कोलाहल छट्पटी र चीत्कार बोकेर आउँछन् मेरा सामु । म घरको आश्रय खोज्छु । घर त सुरक्षाको कवच हो । तन मन बिसाउने शीतल चौतारी हो नि तर पनि खै किन मेरो मनले त्यो अनुभूति गर्न सकेन ।

मृत्युसँग संघर्ष गर्न थालेका, घरले जा र वनले आइज भन्न थालेको अवस्थाका बृद्ध सासू-ससुरा स्वर्गको बाटो खुल्ने आशामा नातिको प्रतीक्षा गरिरहेछन् । उनीहरूको आशालु नजर सधैं मेरो पेटमै हुन्छजस्तो लाग्छ मलाई पहिले तिनै देवतातुल्य सासू-ससुराको सामु बस्दा अथाह शान्ति प्राप्त गर्ने मन अहिले उहाँहरूको सामु पुग्दा औडाहले भुट्भुटिन्छ । जलन भरिएर आउँछ खपी नसक्नु भएपछि चिच्याउन मन लाग्छ एकदम जोडले ।

यो सानो कागजको टुक्राले मलाई उनी कहाँ गइन् भन्ने कुनै सूचना दिएन । छट्पटाउँदै अरू कागज खोज्न थालेँ, त्यसै बेला माइली दिदी खाना खान बोलाउन आइन् । गङ्गाको विरहले मेरो पेटको भोग मेटिइसकेको थियो । खाना खाने जाँगर नै हरायो । दिदीले साह्रै कर लगाइन्, त्यसैले भान्सामा गएर मुस्किलले दुई गाँस निलेँ त्यहाँभन्दा पछि निल्न सकिनँ अनि एक गिलास चिसो पानी पिएर पुनः कोठामा आएँ ।

धेरै प्रयत्न पश्चात् मैले बिछ्यौनामुनि अर्को एउटा कागजको टुक्रा भेट्टाएँ । त्यहाँ गङ्गाले लेखेकी थिइन्, ‘मेरो पतिको महानता मैले बुझेकी छु । नारीहरू स्वभावैले कोमल हृदयका हुन्छन् । त्यसैले उनीहरूको हृदयमा चोट पुर्याउनु हुन्न भन्ने मान्यता रहेको छ उहाँमा । उहाँबाट मैले कहिल्यै हेलित हुनु परेन । नारी पुरुषको अर्धाङ्गीनीमात्र होइन सहधर्मिणी पनि हो भन्ने उहाँको धारणाले मलाई आनन्दित तुल्याएको थियो । उहाँले मलाई ममता र प्रेमको स्रोतले सहकर्मिणी, सहधर्मिणी, प्रेरणाको स्रोत, चेतना र ज्ञानको स्रोत ठान्नुहुन्छ । त्यो मैले बुझेकी छु । उहाँको मप्रतिको यत्रो ठूलो प्रेम, विश्वास र समर्पण हुँदाहुँदै पनि मेरो मनले मलाई यहाँ रोक्न चाहेन । हाम्रो धर्म र संस्कृतिले नारीलाई मातृशक्तिको रूपमा ग्रहण गरेको छ ।

नारी त ममतामयी आमा हुन् र सृजनाको मूर्त रूप हुन् । नारी स्नेहमा मातृरूपको मूल हुन्छ । नारीले संसारलाई जीवित राखेकी हुन्छे । त्यसैले ऊ सृष्टिको मूल हो भन्ने तथ्यलाई मैले भुल्न सकिनँ । नारीको प्रमुख काम हो सृष्टिलाई निरन्तरता दिनु । त्यही काम मबाट हुन सकेन भने यस घरमा र संसारमा मेरो उपस्थितिको के अर्थ रहृयो त ?’

मैले रातभरि गङ्गाले लेखेका कागज खोजेँ तर केही भेटिनँ जसले मलाई उनी कहाँ गइन् भन्ने विषयमा जानकारी दिन सकून् । मेरो आँखाबाट आँसुको झरी लाग्यो । गङ्गासँग बिताएका झन्डै दश वर्षअवधिमा भए गरेका रमाइला, दुःखलाग्दा हरेक क्षणहरू आँखा अगाडि छरिए विदीर्ण भएर ।

ननिदाई र्छलङ्ग कट्यो त्यो रात । भोलिपल्ट बिहानै उठेर म ससुराल गएँ गङ्गालाई खोज्दै । उनी त्यहाँ गएकी थिइनन् । मेरो कुराले उनीहरूको परिवारमा पनि हलचल र रुवाबासी मच्चियो । मैले आँफूसँग भएका गङ्गाका अक्षरहरू उहाँहरूलाई पनि देखाएँ । त्यसपछि उहाँहरूले पनि मलाई सघाउनुभयो गङ्गाको खोजी गर्न । उनी जानसक्ने सम्भावना भएका सम्पूर्ण ठाउँहरूमा खोजी गर्यौं । कहीँ गएर झुन्डिएर पो मरिन् कि भनेर खोल्सा-खोल्सी, झाडी, जङ्गल पनि खोज्यौं । तर उनको कहीँ पत्तो चलेन ।

मैले फोटोसहित प्रहरीमा हुलिया दिएँ र उनको खोजीमा प्रहरीको सहयोग पनि लिएँ । मैले आफ्नो सामर्थ्यले भ्याएसम्म उनको खोजी गरेँ तर कहीँ केही पत्तो नलागी म त्यसै गलेँ ।

गङ्गालाई मैले असाध्यै प्रेम गरेको थिएँ । उनले खै के सोचेर घर छोडिन् । मैले अनुमान लगाउन सकिनँ । सारा गाउँलेहरू ऊ पोइल गई भन्छन् तर म पत्याउन्न । मेरी गङ्गा मलाई असाध्यै प्रेम गर्थिन् । मलाई छोडेर परपुरुष अँगाल्न सक्ने क्षमता उनमा छैन । उनी त्यस्ती नारी पनि होइनन् । त्यसैले उनी मलाई छोडेर पोइल गइन् भनेर त म कुनै हालतमा विश्वास गर्न सक्दिनँ ।

उनी मलाई वियोगको र विरहको खाडलमा डुबाएर गइन् । कस्ती निष्ठुरी त एक शब्द केही नभन्ने, केही नलेख्ने । उनीले छोडेर गएपछि मेरा मनभित्रका जीवन्त इच्छाहरू, आकाङ्क्षाहरू अनि चाहना र कामना सबै टुक्रिए एकैसाथ । मेरो मनमा आफूले असाध्यै श्रद्धा गरिएकी पत्नीप्रति नै वितृष्णा पनि सिर्जियो । मनमन्दिर ढल्यो गर्ल्याम्म । अब ……. अब सायद जीर्णोद्धार पनि हुने हो कि होइन त्यो भग्नावशेषको ।

दिन बित्दै गएपछि गङ्गाको वियोगको पीडा क्रमशः कम हुँदै गयो वा मेरो मानसिक सन्तुलन नै खलबलिएर हो गङ्गालाई म भुल्न थालिसकेको थिएँ । विराटनगर फर्केर जानासाथ सरुवा पत्र आयो र त्यहाँबाट सरुवा भएर म झापा पुगेँ । त्यहाँ मैले छुट्टै डेरा लिनु आवश्यक भएन । अफ्नै घरमा बुबाआमासँग बस्न थालेँ ।

गङ्गाले घर छोडेपछि मलाई कहिल्यै भोक-तिर्खा लागेको अनुभव भएन । ओठबाट हाँसो फुत्किएन । भोक नलागे पनि बाँच्नका लागि दुईचार गाँस खाइदिन्थेँ । आक्कल-झुक्कल रक्सी पनि पिउन थालेको थिएँ । मेरो व्यवहारमा आएको पूर्ण परिवर्तन देखेर छिमेकीहरूले खूब कुरा काट्न थालेका थिए । माइली दिदी भन्थिन्, “कस्तो लाछी मान्छे रहेछ पोइल गएकी स्वास्नी सम्झेर आफ्नो ज्यान सुकाइरहन्छ । ल्याउनु नि अर्की स्वास्नी ।” भनेर थुक्छन् रे गाउँलेहरू मलाई । त्यसो त बुबाआमा पनि अर्को विवाहका निम्ति कर गरिरहनुहुन्थ्यो ।

गाउँ, समाज र आफ्नै बुबाआमाले ममाथि गरेको व्यवहार र गङ्गाको बद्नाम सुन्दा र देख्दा म चकित परेँ । त्यस बेला मलाई ज्ञात भयो उर्मीले यो समाज र उनको परिवारसँग गरेको विद्रोह गलत रहेनछ । वास्तवमा उनले जुन कदम उठाइन् त्यो ठिकै रहेछ । कमसेकम उनले आफूलाई आँसुको सागरबाट बाहिर त निकालिन् ।

भित्रभित्रै अत्यन्त पीर र कुण्ठाले भरिएको मन बोकेर बाहिर कतिन्जेल मुस्काउन सकिन्छ र । अतीतका अनुभूतिहरूको ढक्कनले वर्तमानलाई ढाक्न सकुन्जेल ढाकेँ, छोप्न सकुन्जेल छोपेँ तर अब …….. त्यो गर्न पनि असम्भव भइसक्यो । यस जीवनमा भोगेका अनगन्ती तीता-मीठा अनुभूतिहरूले मलाई धेरै अनुभवका पाठहरू पढाइसक्यो अब अगाडिका पाइलाहरू अत्यन्तै होसियारीपूर्वक नचलाए म बिचल्लीमा पर्नसक्छु । यस्तै हो र यसरी नै म लापर्वाही हुँदै जाने हो भने म बहुलाउन बेर लाउँदिनँजस्तो लागिरहेछ मलाई । ‘हे भगवान् ! मेरो मनलाई शान्ति देऊ !’ यही प्रार्थना गरिरहन्छु प्रायः हरपल । तर खै किन-किन भगवानले पनि मेरो प्रार्थना सुन्ने चेष्टा पनि गरेनन् ।

भाग – १६

मलाई लाग्दैन म बौलाएको छु भनेर तर पनि खै किन-किन गाउँलेहरू सबैले मलाई बौलाहा नै ठान्न थालेका छन् । कार्यालयमा पनि दुईपल्ट लिखित स्पष्टीकरण बुझाइसकेँ सम्भवतः अबको पालामा त हातमा अवकाश पत्र नै आइपुग्न बेर लाग्दैन । मन चुँडिएपछि उदास बन्दोरहेछ । त्यही उदासीपनले मलाई रुवाइरहन्छ अनि सबै मलाई पागल सम्झन्छन् । भाग्यमानीले देखेर चेत्छ, अभागीले भोगेर चेत्छ भन्छन्, म साँच्चै अभागी रहेछु र त यसरी वियोगको पीडा भोगेर पागलजस्तो भएर भौंतारिनु परेको छ । यो कस्तो विडम्बना ? हामी हिन्दू आर्य समाजका सदस्य र आर्य संस्कृतिका अनुयायी, आर्य संस्कृति प्राचीनकालदेखि नै त्यागजन्य कर्तव्यवादको भावना लिएर हुर्किएकाले त्यही भाव एकप्रकारको संस्कृति नै बनिसकेको छ । कर्तव्य पालनाका लागि आफ्नो सम्पूर्ण धनसम्पति, स्वार्थ र जीवन नै त्याग्न सक्ने महान् दानवीर र त्यागी व्यक्तिको जीवन कथा र इतिहासले भरिएको हाम्रो शास्त्रको अध्ययन र परिवारको प्रेरणाले पनि त्यही कुरा नै सिकायो । पुरुषभन्दा नारीको त्याग र बलिदान बढी भएको शास्त्र अध्ययन वा श्रवणबाट त्यही परम्परालाई निरन्तरता दिँदै हालसम्म हाम्रा हिन्दू नारीहरू अधिकारका लागि लड्न सक्ने अधिकारवादी धारणाको विकासमा जुट्नुको सट्टा कायरतापूर्वक त्याग गर्न नै अघि सर्छन् । मेरी पत्नी गङ्गाले पनि त्यसै गरिन् । ‘आफ्नो कारणले गर्दा आफ्नो पतिको वंश समाप्त नहोस् । म यहीँ बसिरहेँ भने पतिले अर्की स्वास्नी ल्याउन सक्दैनन्, मैले छोडेपछि त बाध्य भएर ल्याउँछन् अर्की पत्नी’ भन्ने सोचेर गङ्गाले एउटा त्याग गरिन् तर खै त उनले सोचेजस्तो गर्न सकेको मैले ?

उनले कमसेकम मेरो व्यवहारलाई, बानी व्यहोरालाई राम्ररी बुझेर नै कदम चाल्नु पर्ने नि । उनले गरेको त्यागले न उनलाई कुनै फाइदा भयो न त मैले नै केही फइदा लिन सकेँ । एकातिर उनी अनेकौं दुःख झेलेर बाँचिरहेकी होलिन् कि मरिसकिन् पत्तो पनि छैन । अर्कोतिर म गाउँ समाजका अगाडि पागल, नामर्द, लाछी आदि उपमाले विभूषित भएर बाँचिरहेको छु । अब यस्तो अवस्थामा गङ्गाले गरेको त्यागको के औचित्य रहृयो त ?

हाम्रो हिन्दू धर्म परम्परामा भएको निर्रथक त्याग र बलिदानलाई प्रोत्साहित गर्ने अनावश्यक कथनको संशोधन हुनुपर्ने । हुन त लाखौं वर्षको समयावधि लागेर निर्माण भएको संस्कृति र परम्परालाई एकैपल्ट त्याग्न गाह्रै पर्छ तर गाह्रो पर्छ र त्यसलाई त्याग्न वा सुधार्न सकिँदैन भनेर अन्धाधुन्ध त्यसको पछि लाग्नु पनि ठीक होइन । यसमा दोष मेरो पनि छ । गङ्गालाई धर्मशास्त्र सुनाएर नारीका त्यागका कथा सुनाउने त मै हुँ । मैले आफूले गरेको काम र त्यसबाट प्राप्त परिणाम आफैं भोगिरहेछु ।

मलाई साँच्चै सबैले पागल नै ठान्न थाले । अफिसबाट पनि मलाई अवकाश दिने तयारी भइरहेको छ भन्ने कुरा सुन्न थालेँ । मलाई यस्तो पनि लाग्न थाल्यो कि यो संसारबाट नैतिकता तुहिसकेछ कि क्या हो ? जो छलकपट जान्दछ, भित्र नराम्रो भएर पनि बाहिर आडम्बर देखाउन सक्छ, ठगी गर्न, निर्धालाई सताउन सक्छ त्यस्ता व्यक्तिहरूको बाहुल्यता रहेको समाजमा सत्मार्ग र ज्ञानको के काम ? जहिले पनि शक्तिको पूजा गर्छन् मान्छेहरू । प्राचीनकालमा यही आर्य समाजमा जनकले अखण्ड ज्ञानद्वीप जलाएर समाजलाई शिक्षाको उज्यालो दिए । शान्तिपथको अनुसरण गरेर सबैलाई शान्तिको सन्देश दिई ‘अहिंसा परमोधर्म’को महामन्त्रको प्रचार गरेर बुद्धले आफ्नो जीवन उत्सर्ग गरे । रावणको शक्ति, धाक र रवाफ अनि उसको सामर्थ्य र बहकाउमा नलागी आफ्नो सतीत्व जोगाएकी आदर्श नारी सीता आदिको कुरा काट्न र उनीहरूको चरित्रमाथि औंला ठड्याउन सक्ने यो समाजले मलाई पागल ठान्यो, मेरी गङ्गालाई चरित्रहीन नारी ठान्यो भनेर मैले के चित्त दुखाउनु । कुण्ड-कुण्ड पानी हुन्छ मुण्ड-मुण्ड बुद्धि हुन्छ । जोसँग जति छ त्योसँग त्यतिकै आस गर्नुपर्छ त्योभन्दा बढी गर्नु हुन्न । यो समाजमा बस्नेहरूको बुद्धिले त्यति भ्यायो त्यति गरे । यस्तै सोचेर आफ्नो दुखेको चित्तलाई सम्हालेँ ।

गङ्गाले घर छोडेको दुई वर्ष नाघिसकेको थियो । सायद तीन नै लगभग पुगेको थियो होला । त्यसैबीच मेरो बुबा परमधाम हुनुभयो । उहाँले मर्ने बेलामा गङ्गालाई सोध्नुभयो । एक हप्ता अगाडिदेखि उहाँको वाक्य बसेको थियो, आँखा खुल्न सकेका थिएनन् । बृद्ध आमाबुबाको सिरानमै बस्थिन्, त्यहीँ सुत्थिन् । एउटी माइली दिदी थिइन् सबैतिरको सबै काम भ्याउने । साँझमा म माइली दिदीलाई बाहिरको काम सघाउँदै थिएँ । त्यसै बेला आमा रोएको आवाज सुनेर दगुर्दै भित्र पसेँ । बुबा जीवनकै अन्तिम श्वास फेर्दै हुनुहुँदो रहेछ ।

“नानी ! गङ्गा आइन् ?” मलाई हेरेर बुबाले सुस्तरी सोध्नुभयो यति बोल्दा पनि उहाँको बोली अड्किइरहेको थियो ।

‘आएकी छैन ।’ मैले यति भनेँ ।

‘उसलाई गलत नसोच्नु, ऊ त …….तेरो भलाई चाहेरै हिँडेकी रहिछ ।’ बुबाले अड्की-अड्की यति भन्नुभयो । त्यहाँ भन्दा अगाडि कति बोल्न खोज्दा पनि उहाँ बोल्न सक्नुभएन । बोल्न खोज्दाखोज्दै उहाँको प्राणपखेरु उड्यो ।

यो शरीर, यो तन त केवल भौतिक संरचनामात्र त हो । यसको अस्तित्व त केवल आत्मा जीवित छउन्जेल सम्भव हुन्छ । आत्मा सञ्चालनमार् इश्वरीय शक्ति रहेको हुन्छ । त्यही शक्तिले त एक हप्तादेखि वाक्य बसिसकेका मेरा बालाई मर्ने बेलामा बोल्न लगायो । गङ्गाको निर्दोषताको बयान दिन लगायो । यस कार्यमा गङ्गाको हृदयको शुद्धता र इश्वरीय शक्तिको हात छैन होला त ?

बाबुको काजक्रिया सकेको दुई-तीन दिन जति कार्यालय गइनँ । एक दिन त्यसै भौंतारिँदै हिँडिरहेको थिएँ । कार्यालयको साथी मोहन मेरो समीपमा उभिएर मलाई नै हेरिरहेको रहेछ । म ऊबाट तर्किन खोजेँ तर उसले मलाई समातेर तान्दै एउटा चौतारामा लगेर बसायो अनि भन्न थाल्यो, “सबैले तपाईंलाई पागल सम्झन्छन् । अरूले पागल सम्झेर तपाईंलाई त्यही अनुरूपको व्यवहार गरिरहेका पनि छन् तर खै किन-किन मेरो मन तपाईंलाई पागल ठान्दैन । म तपाईंको हृदयको पीर बुझन सक्छु । हेर्नुहोस् कार्यालयमा तपाईंलाई सबैले पागल सम्झेका छन् तसर्थ प्रमुखले तपाईंको मानसिक सन्तुलन बिग्रिएको जनाउँदै अवकाश दिन काठमाडौं लेखिपठाउने तयारी गरेका छन् । त्यसैले अब हप्ता-पन्ध्र दिनमा तपाईंको हातमा अवकाश पत्र पर्यो भने आर्श्चर्य मान्नु पर्दैन । त्यसपछि तपाईं झन् अव्यवस्थित बन्नुहुनेछ । अनि चाहिँ साँच्चै तपाईंलाई बहुलाउन बाध्य पार्नेछ यो समाजले ।
यही कुरालाई ध्यानमा राखेर म भन्दै छु तपाईंले अवकाश पत्र पाउनु अगावै केही समयको लागि बेतलबी बिदा लिनुहोस् र घरैमा बस्नुहोस् पढेर । आराम गर्नुहोस् बरु सक्नुहुन्छ भने तीर्थब्रत गर्न जानुहोस् र्।र् इश्वर भक्तिमा मन समर्पण गर्नुभयो भने पीर व्यथा कम हुनेछ ।”

त्यो साथीले मेरै भलो सोचेर मलाई सुझाव दिएको थियो । त्यसैले नै मैले उसले भनेजस्तै गरेँ र एक वर्षको लागि बेतलबी बिदा लिएँ । म बिस्तारै धर्मकर्ममा लाग्दै गएँ । घरमा बृद्ध आमा काल पर्खिरहनु भएको छ भन्ने कुरा मैले भुल्नु हुँदैन भनेर म आमाको हेरविचारमा पनि लागेकै थिएँ । माइली दिदी पनि वाक्क भइछिन् कि क्या हो मेरो घर र मेरो व्यवहारसँग । उहाँ हाम्रो घर छोडेर जाने अनुमति मागिरहनुभएको थियो । मैले उहाँसँग अनुनय गरेँ एक-दुई वर्षअरू बसिदिनुहोस् भनेर । मेरो ठूलो बिन्ती पश्चात् मात्र उहाँ राजी हुनुभयो बस्न ।

म धर्ममा लिप्त हुन थालेँ । साँच्चै आज संसारमा कति विकास भइसक्यो । विस्मयकारी र चामत्कारिक सफलता हासिल गरिसक्यो विज्ञानले । हामी हिन्दूहरू ब्रहृममा निर्लिप्त हुन, लीन हुन आध्यात्मिक चिन्तनको नाममा आफूलाई सीमित गरिरहेका छौं । वैज्ञानिक प्रयास र सफलताले मानवीय जीवन यति सुगम, सुखमय र विलासी बनाइदिइसक्यो । हामीचाहिँ सानो-सानो विषयमा पाप र धर्मको कुरामा मानसिक वा शारीरिक पीडा खपिरहन्छौं । साम्प्रदायिकता, धर्म, लिङ्ग आदि विविधताको भेदले मानव समुदायमा असन्तुलन पैदा गरिरहेछ । त्यही कुराको भ्रममा परिरहेको त छुइनँ भन्ने प्रश्न बारम्बार मेरो मनमा उब्जिरहन्थ्यो । त्यही कुराले मलाई नास्तिक बनाउन लाग्दै थियो भने अर्कोतर्फईश्वरको अस्तित्वलाई सम्पूर्णरूपले नकारेर पूर्ण नास्तिक पनि म बन्न सकिरहेको थिइनँ । यी दुई धारको बीचमा परेर म झन् रनभुल्लमा परेको आभास पनि मैले नपाएको हैन तर पनि म आफूलाई सम्हाल्ने एउटा दह्रिलो प्रयासमा जुट्न सकिनँ ।

एकप्रकारले भन्दा यो समाजले मलाई बौलाहा बनाएको देख्दा मेरो मनमा कहिलेकाहीँ विद्रोह पनि उब्जिन्थ्यो । अर्की बिहे गरौं र म नामर्द र बौलाहा होइन भनेर प्रमाणित गरिदिऊँजस्तो पनि लाग्थ्यो । फेरि मेरो अर्न्तर्मन मलाई सम्झाउँथ्यो, ‘नैतिकताको ह्रास जीवनको सबैभन्दा ठूलो नोक्सानी र अचेतन हो । भोक, यौन, प्रतिशोध आदिमा मानिसमा पनि पशु प्रवृति नै रहेको हुन्छ । त्यसलाई मानिसले नैतिक र बौद्धिक प्रगतिले प्रतिरोध गरिरहेको हुन्छ । अब मानिसको नैतिक र बौद्धिक प्रवृति नै त्यस पशु प्रवृतिसँग पराजित भएर नैतिकतामा ह्रास हुन थाल्यो भने मान्छे पशु बन्न कति बेर लाग्छ ?’

पूर्वीय हिन्दू दृष्टिकोणमा मानिसको अस्तित्व उसको मृत्युसँगै समाप्त भएर जाँदैन, मानिसको त आफ्ना अतृप्त कामना र चाहनाहरू लिएर पुनर्जन्म हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेका छौं हामीले । यो जन्म र मरणको चक्रमा निर्वाण वा मोक्ष प्राप्त गर्न शिक्षादीक्षाको माध्यमबाट सत्मार्गमा लाग्नुपर्दछ । जीवनलाई मरणशीलताबाट अमरत्वतर्फलैजान र अन्धकारबाट उज्यालोतर्फअनि दुःखबाट सुख र आनन्दको मार्गतिर लैजान पशु प्रवृतिलाई त्याग्न सक्नर्ुपर्छ । आत्म चिन्तन र सद्ज्ञानको माध्यमबाट मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ ।

मेरो मनले यस्तै अह्रायो र मैले पुनर्विवाहको विचारलाई त्यागेँ र जीवन र जगत्को यथार्थताबारे र संसारिक मायामोहको सञ्जालबाट मुक्ति पाउन आत्मचिन्तनतर्फलागेँ, अध्यात्मिकताको बाटो अँगालेर ।

भाग – १७

बुबा खसेको वर्ष दिनको काम सकेको एक महिना पनि राम्ररी बितेको थिएन आमा परमधाम हुनुभयो । त्यसपछि त झन् ठूला आपतविपतहरू आए मेरो जीवनमा ।

जतिसुकै ठूलो आपत आए पनि त्यसलाई आत्मसात गर्नै पर्दोरहेछ । आमाको काजक्रिया सकेपछि माइली दिदीले पनि बिदा लिइन् । त्यसपछिचाहिँ म पूर्णरूपले एक्लिएँ अनि त झन् मेरो दिमागको सन्तुलन बिग्रँदै गएको आभास हुन थाल्यो, म आफैंलाई ।

जब हीनता, कुष्ठा, निरसालगायतका मानसिक विकृतिले मानिसको मनभित्र रहेका इच्छा, आत्मसम्मान र प्रतिष्ठाबीचको सामञ्जस्यता भत्काइदिन्छ तब मानिस अपराधी बन्न वा बौलाउन बाध्य बन्दोरहेछ । मलाई त्यस्तै पर्यो ।

कता-कता बिहे गर्ने रहर सिर्जन खोज्थ्यो । त्यो रहरमात्रै नभएर एउटा विद्रोह नै पनि हुनसक्छ । फेरि गङ्गाको सम्झना आइदिन्छ । आँखाभरिको झझल्को पन्छाएर आफू विवाहित पुरुष हुँ भन्ने कुरा बिर्सेर वा त्यस कुरालाई छल गरेर कसरी अर्को बिहे गरूँ ?

हाम्रो संस्कारमा विवाह विकासको इतिहास हेर्ने हो भने यसको सुरुवात बिनाभेदभाव सामूहिक यौन सम्बन्ध राख्नलाई भएको पाउन सकिन्छ । प्राचीन समाजशास्त्रीहरूले पनि यही तथ्यलाई स्वीकारेका छन् । पहिले सामूहिक वा झुण्ड विवाहको विकास भयो र सामूहिक विवाहमा पछिमात्र दाम्पत्य सम्बन्धको विकास भएको इतिहास पाइन्छ । आज समाज जतिसुकै विकसित भए पनि दाम्पत्य सम्बन्धको सुरुवात मात्र नभएर पूर्ण विकसित अवस्थामै पुगेको भए तापनि बहुपति प्रथा, बहुपत्नी प्रथा, अनियमित विवाह, अनमेल विवाह, बृद्ध विवाह, अप्राकृतिक विवाह पनि विद्यमान छन् यो समाजमा ।

हाम्रो हिन्दू धर्म र धारणाले विवाहलाई धार्मिक र पवित्र संस्कार मानेको छ । पति र पत्नीबीचको सम्बन्ध जन्मजन्मान्तरको हुन्छ । विवाहको आध्यात्मिक तथा भौतिक महत्त्वलाई छुट्याएर हेर्न पनि सकिँदैन । यो एउटा अटुट नाताको सृजना गर्ने र यस लोक तथा परलोक दुबै सुधार्ने एउटा अति पवित्र बन्धन हो जसले पति-पत्नीलाई धर्म, काम, सुख, सम्मान तथा मोक्षको लागि अघि बढाउँदछ । अब यस्तो सर्त्कर्ममा पनि छलकपटले स्थान पाएपछि ….. धर्म कहाँ रहन्छ र? त्यसैले अब छल गरेर र ढाँटेर म अर्को विवाह गर्ने पक्षमा जानु हुँदैन । उर्मीका पतिले उर्मीसँग छल गरेको कारणले उनीहरूको जीवनमा चिसोपन आयो । त्यसले खराब बाटो अनुसरण गर्न बाध्य भइन् उर्मी । त्यस बेला मैले पनि गल्ती गरेँ । अब फेरि अर्को गल्ती मैले गर्नु हुँदैन भनेर निर्णय गर्यो मेरो मनले । अनि त पुनर्विवाहको लालच मनबाट निकालेर फालिदिएँ र एक्लै बाँच्ने अठोटका साथ जीवनको यात्रामा जुटेँ ।

आमाबाबु दुबै परलोकको यात्रामा गए । माइली दिदी पनि आफ्नो भविष्यको सुनिश्चितताको खोजीमा हिँडिन् । म एक्लै बाँच्न थालेँ । अफिसको बिदा सकिएको दुई महिनापछि नै अवकाश पाएकाले त्यता धाउने झन्झट पनि सिद्धियो । म प्रायः समय घरभित्रै बसेर बिताउँन थालेँ । समय कटाउन सजिलो होस् भनेर आफ्नै आत्मकथाले भरिएको उपन्यास लेख्न थालेँ । त्यही ‘हिन्दू नारी’ नामको उपन्यास अहिले पनि लेखिरहेको छु ।

कहिलेकाहीँ कस्तो सोच्दै नसोचेको घटना घट्छ हगि । साँच्चै मैले सोचेकै थिइनँ उर्मीसँग फेरि भेट होला भनेर । नसोचेर पनि के भो’ त ! उनी स्वयम् मेरो घरको ढोकामा उभिएको देखेपछि मैले उनलाई स्वागत गरेँ र घरभित्र लगेँ । उनी कुर्सीमा बस्नासाथ उनका आँखा टेबलमा आधा लेखेर छाडिएको उपन्यासमाथि परे जसको उनी स्वयम् एउटी पात्र थिइन् । सायद यही देखेर होला आर्श्चर्यका आँखाले उनले मतिर हेरिन् ।

“यो मेरो आत्मकथा मात्र हो । बौलाउन लागेको मनलाई सम्हाल्न सक्छु कि भनी लेख्न थालेको । यो उपन्यास छापेर बेच्छु र त्यसबाट तिम्रो बद्नाम गर्छु भन्ने नसोच ।” मैले उनलाई आश्वस्त पार्नलाई भनेँ ।

“छापेर बेच वा नछापी बेच वा बाँचुन्जेल बाकसमा थन्क्याएर राख यसले अब मलाई केही फरक पार्दैन । मेरो छोरो अहिले आठ वर्ष पुग्न लाग्यो । दुईचार वर्ष अब उसलाई मायाको छहारी दिन सकेँ भने ऊ एक्लै यो संसारमा संघर्ष गरेर बाँच्न सक्छ । मेरो पतिले पनि थाहा पाइसकेका छन् यो छोरो मेरो होइन भनेर तर मुख खोलेर भन्नमात्र सकेका छैनन् । यति कुरा त उनको व्यवहार हेरेर नै बुझ्न सक्छु म ।”

उर्मीका अहिलेका कुराले मलाई आर्श्चर्यचकित बनायो । कुनै पुरुषले आफ्नी स्वस्नीले अर्कै परपुरुषको सन्तान जन्माएर हुर्काउँदै छे भन्ने जानेर पनि त्यस्ता स्त्रीलाई सहर्षस्वीकारेर राख्न सक्ला र ?

“मलाई तिम्रो कुरा विश्वास लागेन उर्मी । तिम्रा पति कहिलेदेखि त्यति उदार भए अर्काको छोरो जन्माउने स्त्रीलाई पनि आफ्नी अर्धाङ्गिनी भनेर स्वीकार्न सक्ने ? छोरो आफ्नो होइन भनेर थाहा पाएको भए तिमीलाई घरबाट उहिल्यै निकालिसक्थे ।”

“तिमी पत्याउँदैनौ भने नपत्याऊ तर यथार्थ त्यही हो । उनले आफूमा भएको कमजोरी पत्ता लगाए । उनी अफिसको काममा दिल्ली गएका थिए, त्यहीँ जँचाएछन् । उनको ब्यागमा रहेको कागज-पत्र हेरेर मैले थाहा पाएँ । पछि मलाई होइन कि वा अर्कै कुरा जँचाएको हो कि भनेर मलाई जाँच्ने डाक्टरलाई पनि त्यो कागज देखाएँ ।डाक्टरले नै भनेपछि त मैले पत्याउनु परेन त ?”

“यो त आर्श्चर्य भयो नि । उनी आखिर यति उदार दिलका रहेछन् नै फेरि पहिले त्यस्तो व्यवहार किन गरे होला ?”

“उनको चुरीफुरी अहिले हराएर गयो । मैले उनकै सामु पतिव्रता धर्मको अर्थ र सुरुवातको कथा सुनाइदिएको छु । मैले एकदिन उनीसँग भनेँ, ‘नारीको चिन्ताको आधारस्तम्भ पुरुष नै हो । एउटा पुरुषको दया, माया, सहानुभूति र सहाराका लागि नारी मरिमेट्छे । नारी र पुरुषको सहअस्तित्व एक प्राकृतिक नियम हो जुन यो संसारलाई सुचारुरूपले सञ्चालन गर्न अति नै आवश्यक छ भन्ने कुरा बुझेर पनि पुरुष बुझ पचाउन सक्छ । आडम्बरी बनेर आफू पति परमेश्वर भएको ढोङ रच्छ । नारीलाई पतिव्रता धर्मको छाता ओडाइदिन्छ र त्यसको छायाँभन्दा बाहिर गए घोर पाप लाग्छ, नर्क बास हुन्छ भनेर त्रस्त बनाइरहन्छ, तर्साइरहन्छ । स्वास्नी पतिव्रता भएझैं लोग्नेचाहिँ पत्नीब्रता हुनु पर्दैन ? एउटा रथका दुई पाङ्ग्रा हुन् – पुरुष र महिला । एउटा रथका समान पाङ्ग्राजस्तो समान महत्त्वका, समान अस्तित्वका समान प्राणी भएपछि एउटै काम जुन पुरुषले गर्दा पाप नलाग्ने, अपराध नठहर्ने र नारीले गर्दा पाप लाग्ने, अपराध ठहर्ने कहीँ हुन्छ ? कसले बनायो यस्तो नियम ?’ मेरा यस्ता कुराले उनको मुख थुनिदिन्छ । उनी चुपचाप रहन्छन् र नबोली टारिदिन्छन् ।

उर्मीका कुराले मलाई त हाँस पो उठ्यो । मनभित्रभित्रै गुम्सिएको विद्रोहले क्रमशः निकास पाउँदै गएको छ जस्तो अनुभव भयो मलाई । मैले केही भनिनँ, चुपचाप रहेँ ।

“बाटामा तिम्रो घर सोध्दा थाहा पाएँ तिमी घरमै छौ भन्ने कुरा । गाउँलेले त तिमी बहुलाएका छौ भन्थे तर तिमी त ठिकै छौ । गङ्गासँगको विछोडले तिमीलाई कति कष्ट भएको रहेछ त्यो त बाटैमा सबै बुझेँ । अब गङ्गाको कुरा गरेर उनको सम्झनालाई आलो गराएर तिम्रो दिलको घाउ दुःखाउन चाहन्नँ । गङ्गाको बारेमा मैले कति बुझेकी थिए भने उनी एउटी आदर्श नारी हुन् । मेरी सौता र तिम्री पत्नी गङ्गालाई म साह्रै सम्मान गर्छु, आदर्श नारी नमुनाको रूपमा आदर गर्ने गरेकी छु । उनीहरू दुबै नारी हुन् र यिनीहरूको आदर्शलाई म पुज्छु । तर यी दुबै नारीले जीवनमा लामो सुख भोग्न नपाई बाध्यतावश ओइलाए, घामका निष्ठुर किरणवाणले हिर्काएको श्वेत कमलझैं ।”

मैले उनको कुरोमा कुनै प्रतिक्रिया जनाउन सकिनँ । त्यसैले चुपचाप घोरिइरहेँ । म नबोलेको देखेर उनी आफैं बोल्न थालिन्, “यो समाजले गङ्गा दिदीको चरित्रमा खोट लगाएर कुरो काटेको सुन्दा मलाई असाध्यै नराम्रो लाग्यो । हुन त यो दुनियाँ नारीको चरित्रमाथि नै सधैं टीकाटिप्पणी गर्छ । टीकाटिप्पणीमा त नारी नै अगाडि देखिएका पनि छन् । अलि अनौठो र नयाँ कुरामा दुनियाँको चासो जानुलाई अस्वाभाविक भन्न सकिँदैन तर पनि दुनियाँको शङ्कालु नजर पुरुषभन्दा नारीमाथि नै बढी हुन्छ । नभए पुराणलाई नै हेरौं न, रामको कुरा काट्ने समाजभन्दा सीताको कुरा काट्ने समाज बलियो छ जसले गर्दा नै सीता त्यागिइन् ।

हुन त सीताको सतीत्वमा रामलाई कुनै सन्देह थिएन नै भन्छ शास्त्र पनि । तर थिएन भने उनले समाजलाई किन दर्शाएनन् ? उनी त्यस्ता विद्वान् मान्छे, र्सवमान्य अस्तित्व भएका मान्छेले चाहेको भए त्यो समाजलाई बुझाउन सक्दैन थिए होला र ? तर उनले गाउँ समाजका बासिन्दाको चित्त बुझाउन र कुरा नकाट्ने अनुरोध गर्नुको सट्टा सीतालाई त्याग्नु नै उचित ठाने किन ? उनले सोच्नु पर्दैन थियो दुई जीउकी सीताले जङ्गलमा कति दुःख पाउलिन् भनेर ? सीताले चौध वर्षसम्म वनमा भोकै-तिर्खै बसेर गरेको पतिभक्तिको पुरस्कार हैन त त्यो तिरस्कार ? सीताजस्ती महान् आदर्श नारीको समेत कुरा काट्न पछि नपर्ने यो समाजले गङ्गा दिदीको कुरा काट्यो भन्दा आर्श्चर्य पनि के मान्नु हैन ?”

उर्मीसँग कुरा गरेर उनलाई जित्ने सामर्थ्य मसँगै छैन । त्यसैले पनि म उनको कुरा सुन्छुमात्र । त्यसको खण्डन गरेर तर्क गर्नपट्टि लाग्दिनँ । उनी के-के बोलिरहेकी थिइन्, म चिया पकाउन उठेँ । उनी कोठामै पत्रिका पढेर बसिरहिन् ।

दिउँसोको खाना पश्चात् उनी फर्किन तयार भइन् र भनिन्, “…… तिम्रो केही काम छैन भने मलाई बजारसम्म पुर्याएर बस चढाइदेऊ न ।”

मैले उनको कुरा काट्न सकिनँ । न त उनलाई आज बस न भनेर भन्न नै सकेँ । चुपचाप उनको पछि लागेर हिँडेँ बजारतिर । घरबाट बजार पुग्न एक घन्टा हिँड्नुपर्ने, बाटामा ठूलै गाउँ छिचोल्नु पर्छ । त्यही गाउँको बीचमा एउटा घरमा धेरै मानिस भेला भएर हल्लाखल्ला गरिरहेको थिए । कौतूहलतापूर्वक मैले त्यहाँ ओहोरदोहोर गर्ने मानिसहरूसँग बुझेँ त्यहाँ मानिसहरू किन भीड लागेका छन् भनेर ।

म भीडमा जान लाग्दै थिएँ । उर्मी मलाई नै हेरिरहेकी थिइन् । त्यसै बेला हाम्रो नजिकैबाट एउटी महिला गइन् । उनी एक्लै बोल्दै थिइन्, “आइमाईको चरित्र छिः छिः छिः छिः …….. बरु पटक्क मर्नु नि ।”

त्यस आइमाईको कुरा सुनेर उर्मी उत्सुक भइन् त्यो भीडमा जान । हामी दुबै गयौं । त्यहाँ एउटी लगभग पैंतीस वर्षजतिकी महिला झोक्राएर बसेकी थिइन् । गाउँका भद्रभलादमी पनि बसेका थिए । बसाइ अलि फरक थियो । भद्र भलादमी कुर्सीमा बसेका थिए, ती महिला घुँडा मारेर भुइँमा बसेकी थिइन् ।

‘यस्ती अलच्छिना त जन्मनासाथ मर्नु नि । कसरी अनुहार देखाएर बाँच्न सकेकी होला । निर्लज्ज आइमाई ……… ।’ एउटी अर्की भद्र महिलाले धारे हात पारेर भनिन् ।

“यस्ता पातर्नीको अनुहार पनि के हेर्नु – छिः छिः ।” अर्की एउटी महिला बसेको ठाउँबाट उठ्दै बोलिन् ।

“ए कमली ! तेरो भन्नु केही छ -” एक भद्र पुरुष जो कुर्सीमा बसेका थिए उनैले भने ।

घुँडा टेकेर झोक्राएर बस्ने ती महिला रोइरहेकी थिइन् । सायद उनैको नाम रहेछ कमला । ती भद्र मान्छेको कुरा सुनेर झन् रुन लागिन् ।

त्यस नारीप्रति सहानुभूति राख्ने, माया देखाउने र उनको विवशतालाई बुझ्न खोज्ने मान्छे मैले कोही देखिनँ त्यहाँ । उनको अस्मितासँग खेलेर रमाउने त्यो पुरुष अहिले पनि गर्वले छाती फुलाएर हिँडिरहेको छ । उसलाई कसैले केही लछारपाटो लगाउँन सक्दैन । खालि यिनै आइमाईलाई मात्र किन गाली गर्छन् – मैले केही बुझनै सकिनँ ।

त्यो लोग्ने भनाउँदो दीर्घरोगी, स्वास्नीको सुषुप्त कामवासनालाई घचघच्याएर ब्यूँझाइदिन्छ अनि लाचारी देखाउँछ । त्यस्ता पोइको धर्ममा कतिन्जेल बस्न सकोस् त त्यो बिचरी – माइतीको इज्जत, घरको इज्जत, लोग्नेको पौरख सम्झेर स्वास्नीको शारीरिक भोक मेटिन्छ र – दश दिन स्वास्नी बिरामी भई भने लोग्ने वेश्यालय धाउँछ । वर्षौंवर्षदेखिको दीर्घरोगी लोग्नेको सत्य थामेर बस्नुपर्ने स्वास्नीलाई कस्तो बाध्यता ?

मानिस भएर जन्मिएपछि मानिसको इज्जत र मर्यादामा रहनुपर्छ । इच्छा लाग्यो भन्दैमा जेसुकै गर्न पछि नपर्नु पक्कै राम्रो कुरा होइन । रतिरागको क्षणिक आनन्द प्राप्तिका लागि समाजको मान्यता, धर्मको बन्धन र नैतिकताको सीमारेखा तोड्नु जाती होइन । यो कुरा सबैले स्वीकार्नु पर्छ तर यहाँ ती कमलाले त्यत्रो ठूलो गल्ती गरेकी छन् जस्तो मलाई लागेन । वर्षौंदेखि कुँजिएको पतिको धर्म थामेर उनैलाई परमेश्वर ठानेर आफ्नो बैंस फाल्न उनले सकिनन् । सायद त्यसैको लागि उनले कुनै पुरुषको साथ पाउन कसैसँग ख्यालठट्टा गर्दैमा उनीमाथि समाज नै त्यसरी खनिनु नपर्नेजस्तो लाग्यो मनमा तर केही बोलिनँ । मैले बोलेर पनि त्यहाँ केही हुनेवाला थिएन, गहिरो चिनाजाना नभएको ठाउँमा बोल्नु पनि उचित लागेन त्यसैले उर्मीलाई ‘जाऊँ’, हिँडौं भनेँ, अनि हिँडी पनि हाल्यौं ।

बाटोमा उर्मीले भनिन्, ‘त्यस महिलाका पनि त केही विवशताहरू होलान्, बाध्यता र लाचारीहरू होलान्, कथा-व्यथा र वेदनाहरू होलान्, त्यसलाई बुझिदिने प्रयास किन गर्दैन यो समाज ? पाप नै भएको भए प्रायश्चित त ऊ स्वयम्ले गर्लिन् नि ।’

म केही बोलिनँ, लुरुलुरु हिँडिमात्र रहेँ । उर्मी मेरै समीपमा नै हिँडिरहेकी थिइन् । केही क्षणको मौनता पश्चात् उनी पुनः बोल्न थालिन् । ‘हिन्दू धर्म, पुरुषको अन्याय अत्याचार सहनु, पतिको विरुद्ध कुनै शब्द नबोल्नु, उसैको चिरदासी भएर बस्नुलाई सती धर्म ठान्दछ । र त्यसै गरी बस्ने स्त्रीलाई पतिव्रता भनेर ब्याख्या पनि गर्दछ । सती जाने प्रथाको मान्यता अर्थात् मर्यादा समाप्त भयो, कानुनले नै सती प्रथालाई वर्जित गरेको छ तर अहिले पनि अप्रत्यक्ष रूपले सती प्रथा समाप्त भएको छैन । चितामा बसेर एकैपल्ट जल्नु र वर्षौं-वर्ष भावनामा जल्नु, क्रूरतापूर्वक स्वार्थ र हिंसाको सिकार भएर तड्पिँदै बाच्नु कुन गाह्रो हो ? राज्यले नारी सम्मानको दृष्टि राख्नु पर्ने, नारी माथि अन्याय र हिंसात्मक व्यवहार गर्न नपाइने नारी पनि पुरुष समान हुन् भन्ने कानुन बनाएरमात्र राज्यको कर्तव्य पूरा भयो त – आज पनि हजारौं गरिब, दलित र निरक्षर नारीहरू बोक्सीको आरोपमा दिसा ख्वाइमाग्न बाध्य छन् । कति नारीहरू छाउपडी प्रथाको सिकार भएर गाईगोठमा बसेर बच्चा जन्माउन बाध्य छन् । दाइजोको कारणले होस् वा अन्य कुनै कारणबाट नारी भएकैले जल्न वा झुन्डिन वा विष पिउन विवश छन् हाम्रा हिन्दू नारीहरू । यसप्रकारका विकृतिबाट पूर्णरूपले उन्मुक्ति नारीले कहिले पाउने ? नारी सधैं धार्मिक मर्यादामा बाँधिएर बसेकाले राज्य र समाजले यसरी हेपेको हो । अब त जस्तोसुकै विद्रोह गरेर भए पनि आफ्नो सम्पूर्ण अधिकार खोज्न र लिन सक्नुपर्छ । मागेर पाइएन भने छलछाम गरेर होस् वा साम, दाम, दण्ड, भेद जुनसुकै विधिबाट पनि खोज्न सक्नुपर्छ । जित्न सक्नुपर्छ, जित्नेको नै इतिहास लेखिन्छ । जित्नेको हातमा नै पर्छ कलम । त्यसैले पनि जित्नेको इतिहास सधैं राम्रो लेखिन्छ । नारीहरू हारुन्जेल यी पुरुषहरू र यो पुरुष प्रधान समाजले परतन्त्रताबाट स्वतन्त्र हुन दिँदैन सधैं बन्धनमै राख्न चाहन्छ ।

त्यही अघिकी आइमाईलाई नै हेरौं न, त्यो पति भनाउँदो कुष्ट रोगी, कुँजो न उभिन सक्छ न बोल्न, त्यस्तो दीघरोगी पतिबाट उसले के पाउने आशाले उसलाई रुँघ्नु ? नारी पनि त मान्छे हो, प्रकृतिप्रदत्त भोक उसलाई पनि लाग्छ, आफ्नो खुसी र इच्छाले होस् वा बाध्यताले होस् परपुरुषसँग इत्रिई भन्दैमा त्यसैसँग सल्किई भनेर उसलाई समाजबाट अलग्याउन खोज्नु ऊमाथि गरिएको अन्याय हैन त ? फेरि नारीको हुर्मत काढ्न नारीहरू नै लागेका छन् । नारीमा एकमत नभएकै कारणले आज यसरी हेपिएर बस्नु परेको छ, घर सजाउने, कोठा सजाउने कृत्रिम फूल भएर ।”

उनले आफ्नो मनको तीतो ओकलिन् । उनको मनमा समाजप्रति उब्जिएको विद्रोहको ज्वाला हो त्यो भनाइ भन्ने सोचेँ र उनलाई शान्त पार्न भनेँ, ‘नारीलाई त शक्तिको रूपमा पुजेको छ हाम्रो हिन्दू धर्म शास्त्रले । तिमीले बुझेकै छौ ब्रहृमा, विष्णु महेश्वरसँग ब्राह्मी, वैष्णवी र महेश्वरीको नाम आएकै छ । अझ गौरीशङ्कर, राधाकृष्ण, सीताराम भनेर नारीको नाम अगाडि जोडेर पुकार्ने प्रथा अझै कायम नै छ भने शास्त्रले नारीलाई हेला गर्र्यो भनेर कसरी भन्न सकेकी तिमीले ? त्यस्तो भन्नु गलत हुँदैन र ?’

आफ्नो नामको अगाडि स्त्रीको नाम जोडे भन्दैमा कसरी भन्न सक्छौ तिमी स्त्रीको इज्जत गरेको भनेर ? मनुस्मृतिमा मनुले यस संसारमा जो काम-क्रोधले वशीभूत छ चाहे त्यो मूर्ख होस् वा विद्वान्, उसलाई स्त्रीले कुमार्गमा डोहोर्याउँछे भनेका छन् । यो नारीको अपमान गरेको होइन र ? यथार्थमा काम-क्रोधले वशीभूत नहुने मानिस को छ ? पुरुषलाई सत्मार्गमा लाग्न र जीवनमा सफलता प्राप्त गर्न प्रेरणा नारीले दिन्छे । हरेक सफल पुरुषको पछाडि उसको सफलताको कारण बनेर नारी नै रहेकी हुन्छे भन्ने तथ्यलाई हाम्रो धर्मशास्त्र किन स्वीकार्दैन ?

काम-क्रोधलाई हाउगुजी सम्झन्छ हाम्रो धर्मशास्त्र । कामको लोभले कत्रा-कत्रा त्यागी ऋषिमुनिलाई त छोडेन भने सामान्य मानिसलाई कसरी छोड्छ ? महर्षि परासर नाउद्वारा नदी पार गर्दागर्दै नाविकपुत्री मत्स्यगन्धाको रूप र यौवनबाट आकषिर्त भए र मन थाम्न नसकी महर्षिले कुहिरोको सिर्जना गरी त्यहीँ त्यही कुहिरोको खोल ओढी उनले मत्स्यगन्धासँग सहवास गरेको कुराको हाम्रो धर्मशास्त्र नै साक्षी छ । पुरुषले नारीमाथि गरेको इज्जत र सम्मान यही हो ? नारीलाई नङ्ग्याउने र नाङ्गिन बाध्य पार्ने पुरुष नै हो । पुरुष नै नारीको अपमान गर्छ र उसलाई दोस्रो दर्जाको मानिसको व्यवहार गर्छ यो कहाँसम्म उत्तम हो भन त ?”

म त उर्मीसँग हारेको मान्छे, नौ वर्षअगाडि उनले मलाई हराएकी थिइन् । म उनीसँग कुनै कुरामा तर्क गरेर जित्न सक्दिनँ । त्यसैले लाचारी भएर स्वीकार्छु उनको कुरालाई । उनले जे भने पनि हो भनेर समर्थन गर्छु । अहिले उनले भनेका कुरालाई पनि हो भनेर स्वीकारेँ, समर्थन जनाएँ ।

“तर अहिलेको यो परिस्थिति, यो सामाजिक मूल्य र मान्यता सदा स्थिर रहँदैन । यो सत्य हो र यस सत्यलाई कसैले नकार्न पनि सक्दैन । लामो समयको अन्तराल पश्चात् बदलिँदो परिस्थिति र विकासको प्रभावमा सामाजिक दृष्टिकोण बदलिन्छ र पुरानो मान्यता, सामाजिक धारणा र राज्यको कानुनसमेत बदलिन्छ । यसका असङ्ख्य उदाहरण हाम्रै आँखा अगाडि छन् । प्राचीन हिन्दू समाजमा जातिभेद नराख्नु, जातीय धर्म पालना नगर्नु अपराध मानिन्थ्यो । आज त्यही कार्य कानुनद्वारा वर्जित छ । आज त्यसो नगर्नु अपराध मानिँदैन बरु त्यसो गर्यो भनेचाहिँ अपराध गनिन्छ ।

हिन्दू समाजले कुनै बखत सतीप्रथा, बालविवाह, बहुविवाह, दासप्रथा आदिलाई सहजरूपले स्वीकारेको थियो तर ती कार्य आजकाल अपराध मानिएका छन् । त्यसैले जसरी पुरुषले नारीलाई परतन्त्रको जालोमा बेरेर नैतिकताको कृत्रिम लक्ष्मणरेखा कोरेर राखेका छन् र जसरी नारी आफ्नो सम्पूर्ण इच्छा, चाहना र कामना दबाएर बाँच्न विवश छन् त्यस्तो स्थिति पुरुषतर्फफर्किन सक्छ र यो फर्किनु पनि पर्छ । यस्तो भनेर मैले यहाँ यौन स्वतन्त्रताको पक्षमा जोड दिन खोजेको चहिँ हैन । मैले पढेकी छु, बुझेकी छु पाश्चात्य मुलुकहरूमा समाजले यौन गतिविधि र रसरङ्गलाई जीवनको स्वाभाविक अभिव्यक्ति मान्ने चलनले गर्दा अहिले तिनीहरूले अनेकौं समस्या, विकृति र अपराधहरू बेहोर्नु परिरहेको छ भने त्यही यौनजन्य क्रियाकलापलाई सभ्यताको रूपमा स्वीकार्नुपर्छ भन्ने मान्यतामा म छुइनँ ।

मेरो मान्यता त केवल यति हो कि समाज र शास्त्र दुबैले नारीलाई दोस्रो दर्जाको मानिसजस्तो व्यवहार र घृणा नगरोस् । पुरुषसरहको सम्मान र अधिकार पाउनर्ुपर्छ नारीले पनि । त्यसको लागि राज्यको नियम, कानुन र धर्मशास्त्र नै बदल्नुपर्छ भने पनि नारी पछि हट्दिन । शास्त्रले सामान्यतः विवाहकै कुरामा पनि नारीमाथि अन्याय गरेको छ । बाबुआमाले छोरीलाई विवाह गरी कन्यादान दिनु उनीहरूको आवश्यक कर्तव्य हो र जुन एउटा महान् धर्म पनि हो भनेर व्याख्या गर्ने हाम्रो हिन्दू धर्मले र शास्त्रले किन भन्न सकेन कि त्यसरी गरिने कन्यादान कार्यमा दान लिने र दान दिने दुबैको मन, हृदयचाहिँ सफा, स्वच्छ, कपटरहित, निश्छल हुनुपर्छ भनेर ? विवाह नहुँदा एक स्त्रीको सामाजिक व्यक्तित्वको निर्माण हुन सक्दैन । पति वा पुत्रबिहीन विवाहित वा विधवाको सामाजिक स्तर निम्न हुन्छ भनी ठान्नु हिन्दू धर्मको गल्ती हो । प्रकृति र पुरुष भनी स्त्री र पुरुषलाई अर्ध नारीश्वर’को परिकल्पना गर्न सक्ने हिन्दू धर्मले किन हरेक क्षेत्रमा नारीलाई नै धोकामा पार्ने काम गर्छ ? हाम्रो हिन्दू धर्म मान्नेमध्येकै कतिपय जातिहरू (पश्चिम कैलाली, कञ्चनपुरका ‘रानाथारू’हरूमा) त झन् शिशु गर्भमै हुँदा नै मगनी गरी झोंगा खाने गर्दछन् ।

“सधवा स्वास्नी मान्छेलाई कन्या हो भनी ढाँटी विवाह गरेमा सो विवाह बदर हुन्छ र जानीजानी त्यस्तो विवाह गर्ने स्त्रीलाई कैद र जरिवानाको व्यवस्था गर्ने हाम्रो कानुनले यही परिस्थितिमा अर्थात् विवाहित पुरुषले वा विधुर पुरुषले कुमार हुँ भनी झुक्याई विवाह गरेमा पनि सो विवाह बदर हुन्छ भनी किटानी गरी कानुन बनाउन सकेका छैनन् । फेरि त्यस्तो कसुर गर्ने पुरुषलाई कुनै सजायको व्यवस्था पनि छैन आखिर किन ? किनकि यो कानुन पनि पुरुषले नै बनाएको हो । हामी नारीले पुरुष र उनीहरूले बनाएको सीमाघेरामा साँघुरिएर कतिन्जेल बस्नु पर्ने हो कुन्नि …….. ।”

उर्मी यस्तै-यस्तै मनका विरागहरू ओकल्दै थिइन् । म सुन्दै पाइला चाल्दै थिएँ । गफैगफमा हामी बस स्टेन्ड पुग्यौं । बस लागिरहेको रहेछ । उनलाई त्यही बसमा चढाएर म घर फर्किएँ ।

 भाग – १८

मलाई सधैं डर लाग्छ उर्मीसँग । उर्मीसँग भन्दा पनि उनको मनमा उर्लिने विद्रोहको बाढीसँग साह्रै डराउँछु । उनको मनमा यस्तो विद्रोहको आगो सल्काउन यो सामाजिक परिवेशले पनि केही भूमिका त खेलेको छ । नारीहरू चञ्चल, खोलामा बगिरहेको पानीजस्तै हुन्छन् । नारीको चञ्चलतामा बाँध हालिएन भने त्यसले क्षति गर्छ (स्त्रीको चरित्र र पुरुषको भाग्य स्वयम् भगवानलाई पनि थाहा हुँदैन भन्ने उखानले यही कुरालाई स्पष्ट गर्छ) भन्ने धारणा राखेर पुरुषले शक्तिको बाँध हालेको छ तर त्यो बाँध कति दिन टिक्न सक्ला) केही गरी त्यो बाँध फुट्यो भने त्यसले कत्रो बाढीको रूप लेला भनेर यहाँ कसले अनुमान गर्न सकेको छ र । त्यसैले माया प्रेम बग्न एउटा निकास त हुनुपर्छ ।

प्रसव वेदना भोगिसकेकी नारी त्यो वेदना, त्यस बेलाको पीडा भुलेर पति रिझाउन पुनः प्रणयको अपिल गर्छे पुरुष आफ्नो वासना तृप्ति गर्छ । आफू थाकेपछि अनि नारीको चरित्रमाथि शङ्का गरेर पल्टिन्छ । यो कहाँसम्मको अन्याय हो त नारीमाथिको ? नारीलाई काम वासनाको ज्वालामा होमिदिनु अनि त्यो ज्वाला निभाउन नसक्दा चरित्रमा खोट लगाउनु यो कुनै मानवीय कार्य हो त ?

नारीको शरीरलाई पुरुषले तृष्णा मेट्ने साधन ठान्ने, एउटा भोग्य वस्तु ठान्ने दुष्प्रवृत्तिका कारणले त समाजमा स्त्री देहको व्यापार हुन थालेको हो । यसमा नारीको दोष पटक्कै छैन भनेर ठान्नु पनि गल्ती हुन्छ । नारीहरू पनि शारीरिक सुख, भौतिक साधनको आकर्षण र धनको मोहमा डुबेर पुरुषको खेलौना बन्दै गए । हरेक क्रियाकलापहरू स्वीकार्दै गए । आखिर त्यही परम्परा नै बन्यो । ‘बैंसमा राँडका दशवटा पोइ मर्ने बेलामा कोही न कोही’ भन्ने उखान किन चल्यो यो समाजमा ? त्यस्तो हुनुमा नारीको चाहिँ पटक्कै दोष छैन भनेर कोही भन्न सक्छ ?

समाज दिनदिनै विनाशको भड्खालामा भासिन लागेको देख्छु म त । यहाँ मानिस आफ्नो कार्यलाई राम्रो मान्ने र आफैं नै जान्ने-सुन्ने छु भन्ने प्रवृत्तिका छन् । यहाँ आफ्नो कार्यलाई गलत वा असामान्य ठान्न कोही तयार छैनन् । कति मान्छे रक्सी, जाँड, गाँजा, चरेस, हिरोइन खान्छन् । उनीहरू आफ्नो त्यस कार्यलाई आधुनिकता र प्रगतिशील आचरणको खोल ओडाएर छोप्न चाहन्छन् । त्यस्तै यौन दुराचारीहरू, समलिङ्गी यौनाचारहरू आफ्नो आदतलाई असामान्य ठान्दैनन् । यस तथ्यले के देखाउँछ ? हाम्रो समाजमा आधुनिकता र विकासका नाममा सामाजिक आचरण बिग्रँदै र भत्कँदै गएको देखाउँदैन त ?

हाम्रो हिन्दू धर्म र सांस्कृतिक मूल्य मान्यताको अनादर र उपेक्षा गर्नु, स्वच्छन्द यौनाचारमा लागेर समय, शरीर र साधन सिध्याउनु, विवाहपूर्व वा पछि व्यभिचार गर्नु, अप्राकृतिक यौन प्रवृत्ति बढ्नु, आवारापन, गुन्डागर्दी, चोरी डकैती, हत्या-हिंसा बलात्कार लुटपाट बढ्नु, नशा सेवन बढ्नु, बेइमानीपन बढ्नु, जुवा-तास बढ्नु आदिजस्ता लक्षणहरू हाम्रो नेपाली समाजमा दिन-प्रतिदिन बढिरहेको छ । यसलाई समाजको भविष्यको शुभ सङ्केतको सूचक मान्न त सकिँदैन नि । यस्ता गलत प्रवृत्तिले हाम्रो समाज र हाम्रा भावी सन्ततिलाई कता डोर्याउँदै लैजाँदै छ ? यही क्रम बढ्दै जाने हो भने भोलि यो राष्ट्रको नेतृत्व गर्ने मान्छे नै तपाईं नै पो हो कि भनेजस्तो भइसक्यो ।

इष्र्या, भ्रम, त्रास, लोभ, माया-प्रेम र आकर्षण मानवीय गुण नै हुन् । यी मानवीय प्रवृत्तिबाट मुक्ति पाउन सके मोक्ष प्राप्ति हुन्छ । मुक्ति पाउन नसके पनि यिनीहरूलाई सन्तुलनमा राख्न सक्नुपर्छ अनि मात्र मानिसले आत्मिक शान्ति पाउन सक्छ । मानिसलाई अब डर र त्रासको दाम्लोले बाँधेर राख्न सकिँदैन । पुरुषले अब त बुझ्नु पर्ने, नारीलाई धर्मको डोरीले, पापको त्रासले पतिव्रताको सीमाभित्र बाँधेर राख्न सकिँदैन । त्यसरी त्यही सीमाभित्र राख्न त माया, प्रेम, पारस्परिक सहयोग, आपसी समर्पणको आवश्यकता पर्छ । रोटी पनि त एकोहोरो रूपमा त पाक्दैन नि । पुरुष आफूचाहिँ नैतिक चरित्रमा नरहने, अनैतिक काम गरेर हिँड्ने, आफ्नो कर्तव्यबाट विमुख हुने अनि नारीलाई चाहिँ जबर्जस्ती गरेर एउटा साँघुरो परिमितिभित्र सीमित गर्न खोज्ने, यो कसरी हुनसक्छ त ? नारी र पुरुष हरेक दृष्टिकोणबाट समान हुन् भन्ने कुराको विकास हुनुपर्छ । जबसम्म यो विवेक सबैको मस्तिष्कमा भर्न सकिँदैन तबसम्म समानता आँउन सक्दैन ।

सिगमण्ड फ्रायडले आफ्नो मनोविश्लेषणात्मक सिद्धान्त (The Psyconanalytic Theory) को पुष्टि गर्दै भनेका थिए, ‘मानिसका दबाइएका आकाङ्क्षाहरू स्वतः बिलाएर जाँदैनन् । ती सुषुप्त मनमा खाँदिएर बसेका हुन्छन्, ती दमित इच्छा बिलाउने होइन, कहिले न कहिले कतै न कतैबाट अनजानमै विभिन्न क्रियाकलापका माध्यमबाट प्रकट हुन्छन् । त्यसले भावावेशमा अपराधको रूप धारण गर्न सक्दछ ।

उनको यो भनाइलाई बुज्रुकहरूले तत्काल खूब विरोध गरेका थिए । उनलाई गलत सावित गर्न ठूलै प्रयास नभएको पनि होइन । तर यथार्थ त यथार्थ नै हुन्छ नि जति विरोध गरे पनि त्यस सिद्धान्तको महत्त्व र आवश्यकतालाई कानुनले बुझ्यो । अपराध शास्त्रले यसलाई अपराध विश्लेषण गर्न, अपराधको जरिया पत्ता लगाउनु र अपराध उन्मूलनको लागि आधारभूत सिद्धान्त ठान्यो । यस तथ्यले स्पष्ट गर्छ नि, नारीलाई, नारीजन्य चाहनालाई डर, त्रास, धाक, धम्की, धर्म र पापको त्रासले दबाएर राख्नु उचित हैन भनेर ।

मानिसले आफ्ना इच्छा, आकाङ्क्षा र चाहनालाई जबर्जस्ती कठोरतापूर्वक दबाउँछ भने त्यो सजिलै बिलाएर जाँदैन, यो सत्य हो । त्यो अचेतन मनमा सञ्चित भएर रहेको हुन्छ । ती दबाइएका आकाङ्क्षा, कामना र चाहनाहरू सपनाको रूपमा वा समाज विरोधी गतिविधिको रूपमा पछि अन्जानमै प्रकट हुन्छन् । मानिसले समाजको प्रचलित मूल्य र मान्यता अनुकूल आफ्ना इच्छा आकाङ्क्षालाई नियन्त्रण गर्न ऊ अर्समर्थ हुन्छ । त्यही असमर्थताले व्यक्तिलाई अपराधी बनाउँछ । यसबाट समाजलाई बचाउन चेतना अभिवृद्धि गर्नुपर्छ । स्वतन्त्ररूपले सम्पूर्ण शिक्षा दिनुपर्छ । मानवता र व्यक्तित्व विकाससम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ । नैतिक शिक्षा प्रदान गर्नुपर्छ र स्वतन्त्रपूर्वक बाँच्न सक्ने बनाउनुपर्छ । जर्बजस्ती दबाएर राख्ने, सँघारको सीमाभित्र साँघुर्याउने प्रयास गर्नु हुँदैन ।

समस्या सानो हुँदैमा फैलिएर खुलेआम बाहिर निस्कन नपाई उचित प्रयास गरेमा त्यसलाई सानो प्रयास र परिश्रमले नियन्त्रण गर्न सकिन्छ । जब त्यो समस्या भित्रभित्रै फैलिएर व्यापक हुन्छ त्यस बेला यो सिङ्गो राष्ट्रको समस्या बन्दछ र त्यस बेला त्यसको समाधान पनि असहज र कठिन हुनपुग्छ । त्यसपछि बढ्ने निराशा, आत्महत्या, यौन विकृति, झगडा र अस्तव्यस्त समाजको बारेमा जवाफदेही को हुनसक्छ ?

आधुनिकताको नाममा आज दिनप्रतिदिन बढेको यो नशाको खुल्ला सेवन र बेचबिखनले मानिसलाई काम, क्रोध, लोभ, मोहको दास बनाउँदै लाँदैछ । जुन प्रवृत्तिलाई पहिले मानिसले नियन्त्रण गरेर आफ्नो मानवता प्रदर्शन गरेको थियो अब त्यही प्रवृत्ति छाडा भएको छ । ‘सूर्य अस्त नेपाली मस्त’ भन्ने उखानसम्म अहिले चलिसकेको छ । अझै अघिसम्म यो प्रवृत्तिलाई बढ्दै जान दिने हो भने के-के हुन्छ, कसले अनुमान गर्नसक्छ ?

मेरा मनमा उब्जिएका यस्तै भावना र तर्कनालाई मनमा खेलाउँदै म घर जाँदै थिएँ । संयोगवश बालककालको विद्यालयमा सँगै पढेको मित्र प्रकाशसँग जम्काभेट भयो । अभिवादनको औपचारिक आदान-प्रदानपछि हामी सँगै गफ गर्दै अघि बढ्यौं । कुरैकुरामा उसले आफू समाज सेवामा लागेको कुरा बतायो र मलाई पनि त्यसैमा लाग्न प्रेरित गर्यो । समाजसेवा अर्न्तर्गत के-के काम गर्न सकिन्छ, कस्तो काम गर्दा प्रभावकारी हुन्छ आदि विषयमा छलफल गर्दै हामी अघि बढिरहृयौं । मेरो घरमा पुगेपछि उसलाई एकै क्षण बसेर जान अनुरोध गरेँ ।

घरमा मलाई एक्लो देखेपछि उसले परिवारको बारेमा सोधखोज गर्यो । मैले केही नढाँटी सबै बताइदिएँ । त्यसपछि त झन् उसले मलाई उसको आफ्नो अभियानमा लाग्न आग्रह नै गर्यो । उनीहरूको समूह विशेष गरेर मानव अधिकार र जातीयता, छुवाछूतजस्ता भेदभावको उन्मूलनमा सक्रिय रहेछ । मैले पनि उनीहरूको समूहमा समावेश भएर तन, मन र धनले सहयोग गर्ने वचन दिएँ । त्यसपछि ऊ फेरि आउने बाचाकासाथ बिदा भयो । म आफ्नो घरधन्दामा लागेँ ।

* * * * * *

प्रकाशको अग्रहले गर्दा उनीहरूको मानव अधिकार, जातीयता र छुवाछूतजस्ता भेदभावको उन्मूलन गर्न गठित गैह्र सरकारी संस्था ‘दलित मुक्ति मोर्चा’को सदस्य भएर स्थानीय स्तरमा काम गर्न थालेँ । गरिब, तिरस्कृत, जातीयताको भेदभावले पीडित दलितहरूको समूह बनाएर उनीहरूलाई सीपमूलक तालिम प्रदान गर्ने एउटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेँ । प्रकाशले पनि सहायता गर्यो, आर्थिक स्रोत मैले नै जुटाएँ । समाजका उपल्ला र ठूला जातका भनिनेहरू मलाई दलितसँग लाग्यो, उनीहरूले छोएको खायो, उनीहरूलाई घरभित्र पस्न दियो भनेर विरोध गर्थे । म नटेरी जुटिरहेँ आफ्नो कर्ममा ।

तालिम लिइसकेपछि समूहलाई सहकारिताको रूपमा विकास गरेर आर्थिक उपार्जनमा उनीहरू जुटे । म अनेक तरहले उनीहरूको सहयोगमा जुटिरहेँ । समाजसेवामा साँच्चै गजबको आत्मिक सुख लुकेको हुँदो रहेछ । मानिसको लागि मात्र नभएर हरेक प्राणीका लागि मृत्यु एक शाश्वत सत्य हो । हरेक जीवनको अस्तित्व एकदिन त्यही मृत्युमा विलीन हुन्छ । यस अकाट्य सत्यलाई बिर्सेर हामी किन यस सांसारिक रङ्गमञ्चमा रमेर अलमलिन्छौं ? नियतिको खेल बुझन सक्ने ज्ञान किन नपाएको हामीले ? वैयक्तिक पीडाबाट मुक्ति पाउन, निजी स्वार्थ सिद्ध गर्न, आफ्नै लागि आफू बाँच्न र आफूमात्र हाँस्न हामी मरिहत्ते गरिरहन्छौं । आफ्नो लागि जति सोच्छौं, जे गर्र्छौं त्यति अरूका लागि, देश र समाजका लागि गर्न सकेको भए हामी अमर हुने रहेछौं । मृत्युको यथार्थतालाई जित्न सक्ने रहेछौं । पार्थिव शरीर मरेर गए पनि नाम अमर र अमीट रहने रहेछ । यस तथ्यलाई त्यसै बेला किन बुझ्न सकिएन ? बुझेर पनि मैले आत्मसात् गर्न सकेको थिइन कि क्या हो ? जे होस् प्रकाशले मेरो भलो गरिदियो । म समर्पित भएर समाजसेवामा जुटिरहेँ ।

खालि बसेर बरालिएर समय बिताउनु कष्टकर थियो । त्यसैले समय साह्रै ढिलो गरेर बितेजस्तो लाग्थ्यो तर समाजसेवामा जुटेपछि सबै मानिसको माझमा दिन बिताउँदा यति लामो समय बितेको पनि पत्तै भएन मलाई । यसबीचमा न मैले आफ्ना जीवनका घटनाचक्रलाई नै लेखेँ न मनमा नानाथरीका तर्कनाहरू नै आए । दिनभरि मिहिनेत गरेर फत्रक्क गलेको शरीर साँझ परेपछि खाना खाएर बिछ्यौनामा ढल्कनासाथ भुसुक्कै निदाउँछु । खाली समय र खाली दिमाग नभएपछि नानाप्रकारका बेअर्थका कुरा नआउँदा रहेछन् । हुन त खाली दिमाग सैतानको घर भन्ने त भनाइ नै छ । मैले आफ्नो दिमागलाई खाली राखिनँ । त्यसैले त्यहाँ सैतानले बास गर्न पाएन । पहिले बसेको सैतानले पनि कुलेलम ठोक्यो । यसरी सामूहिक सुखमा रमाउँदै जिउँदा पाँच वर्ष बितेको पत्तै भएन । सम्भवतः उर्मीले पठाएको पत्र नआएको भए मेरो यसरी नै अझै कति समय बित्थ्यो थाहै छैन । उर्मीको पत्रले मलाई पुनः एउटा पीडा र कष्टदायक भुमरीमा होमिदियो । गङ्गाको यादले मलाई सतायो, बुबाआमाले मर्ने बेलामा गरेको अनुनयले सतायो । उर्मीको र उनको छोराको याद आयो । उर्मीका पतिको मुढी स्वभाव, घमण्डले गर्दा उनले पाएको धोका सम्झेँ । सम्झँदा-सम्झँदै आडम्बर नै आडम्बरले भरिएको, छलछाम, धोका र कपटले दिनदिनै ढाकिँदै गएको यस संसारको विदीर्ण रूप आएर मेरो आँखा नै ढाकिदियो । संसार अँध्यारो देखेँ अनि मन मिचेर उर्मीको पत्रमा आँखा लगाएँ र पढ्न थालेँ –

 भाग – १९

 ‘पाँच वर्ष नाघेछ तिमीसँग भेटघाट नभएको । यसबीचमा पत्राचारसम्म पनि भएन । मलाई पत्र लेख्ने हिम्मत तिमीसँग छैन । त्यो बुझेर नै म तिमीले पत्र लेखेनौ भनेर गुनासो गर्दिनँ । मैले पनि लेखिनँ । याद नआएर र फुर्सद नभएर नलेखेको चाहिँ हैन नि ।

हिजोआज म पनि नोकरी गर्न थालेकी छु । एक वर्ष त बिति पनि सकेछ नोकरी थालेको पनि । नन्दको विवाह भएकाले घरमा सासू-ससुरामात्र छन् । मैले उनीहरूको स्याहारचाकर गर्न नभ्याएपछि मैले आफैं गएर मेरी सौता दिदीलाई अनुरोध गरेर बोलाएर ल्याएँ । उनीसँगको सङ्गतपछि थाहा पाएँ उनी बाटो बिराएर यस धर्तीमा जन्मिएकी देवी रहिछिन् । अहिले आफ्नै दिदी-बहिनीभन्दा बढी मेल छ हामीमा । मेले एउटै आँतकी दिदी पाएकी छु । उनको बानीव्यहोरा, चालचलन, धर्मकर्मप्रतिको लगाव, पतिप्रतिको समर्पण र निष्ठालाई देख्दा यस्तो लाग्छ उनी यस संसारकै नमुना हिन्दू नारी हुन् । धर्मशास्त्रले कल्पना गरेको पतिव्रता सतीको नमुना हुन् उनी । त्यस्ती नारीले दुःख पाएको देखेपछि धर्मप्रतिको वितृष्णा झन् बढ्छ ममा । पतिले उनलाई गरेको बेवास्ता, सासू-ससुराले गरेको घृणा देख्दा मलाई यति बिघ्न रिस उठ्छ कि …… खै के भनौं ।

छोरो अहिले नौ कक्षामा पढ्दै छ । घरमा उसले पढ्नलाई उचित वातावरण नपाएजस्तो लाग्यो मलाई । बाबु भनाउँदो हरसाँझ रक्सीले मातिएर आउँछन् । बाबुआमासँग उनको रातदिनको झगडा, दिदीमाथि गर्ने दुर्व्यवहार, मेरो र उनीबीचको बेमेल आदिले उसलाई पढाइमा बाधा पुर्याएको जस्तो लाग्यो । त्यसैले यही हप्ता उसलाई दार्जिलिङ्ग लगेर कुनै राम्रो स्कूलमा राखिदिनु पर्यो भन्ने निर्णय गरेकी छु । यो कुरा थाहा पाएर दिदीले मलाई अनुरोध गरिन्, “हेर बहिनी ! तिमीले जागिर खानुलाई नराम्रो मैले मानेकी छुइनँ तर त्रि्रो कार्यव्यस्तता, बुबाको त्यो व्यवहार आदिले छोरालाई असर पुर्याउला कि भन्ने भय लागिरहन्छ मलाई । यस्तो बेला सन्तानलाई आफ्ना आमाबाबुको साथ र माया चाहिन्छ । आफ्ना अभिभावकको माया, ममता र न्यानो साथ नपाउँदा उनीहरूमा नैराश्यता बढ्छ । लापरवाही र गलत सङ्गतबाट कुबाटोमा लाग्न सक्छन् । त्यसैले सधैं सचेत रहनुपर्छ ।

तिमीले आफ्नो पतिप्रति जुन व्यवहार देखाउँछ्यौ त्यो राम्रो होइन जस्तो लाग्छ मलाई । बाबुआमाबीचको बेमेल र फाटो सन्तानलाई देखाउनु उचित हुँदैन । जबसम्म उसमा परिपक्वता आउँदैन, हामीले सतर्क नै रहनुपर्छ जस्तो लाग्छ । मेरो त ज्ञान, विवेक र शिक्षाको कमीले गर्दा होला बाबु, आमा, पति, सासू, ससुरा सबै देवता समान लाग्छन् । यिनीहरूलाई सम्मान गर्ने परम्परा हटाउँदै जानुलाई समाज निर्माणका निमित्त राम्रो र शुभ सङ्केत मान्न सकिँदैन ।

हाम्रो छोरालाई अहिले तिम्रो वात्सल्य, सहयोग, माया र साथको खाँचो छ । पारिवारिक बेमेल, आमाबाबु आ-आफ्नो काममा अत्यधिक व्यस्त रहनु, छोराछोरीलाई उनीहरूले चाहेको बेला समय र साथ दिन नसक्नु, बहुविवाह, अनमेल विवाह आदिले बाल दुराचार बढ्ने सम्भावना रहन्छ । त्यसैले उर्मिला यो छोरो लक्ष्यबिहीन भएर समाजको कसिङ्गर नबनोस्, एउटा कर्मठ नागरिक बनोस् भनेर पनि हामीले अहिले सतर्क रहनुपर्छ । मेरो मनमा सधैं एउटै चिन्ता र ध्याउन्न उठिरहन्छ । केही गरी भए पनि यो छोरोको मस्तिष्कमा ज्ञानको सागर भर्न सके बुढेसकालमा मैले पनि हेलित हुनुपर्ने थिएन । मरेपछि छोराका हातको दागबत्ती र पिण्ड पाउँथेँ र स्वर्ग जाने बाटो सरल बन्थ्यो कि भनेर । परिवारबाट स्नेह, माया, शिक्षादीक्षा र सहयोग पउन नसकेका बालकहरू आवारा भएका, दुर्व्यसनी भएका धेरै देखेकी छु र परिवार नै पहिलो पाठशाला हो भन्ने कुरालाई हामीले कहिल्यै भुल्नु हुँदैन । त्यसैले उसलाई भारतमा लगेर उतै राख्ने विचार त्यागिदेऊ र यहीँ आफ्नै माया ममताको शीतल छहारीमा पढ्न, बढ्न देऊ । मेरो त यही बिन्ती छ तिमीलाई ।’ दिदीले यसो भनेर बारम्बार अनुनय गरिरहेकी छन् । यो छोरोप्रति उनको हृदयमा यति बिघ्न अनुराग छ नि जुन कुरा उनीले छोराप्रति दर्शाएको प्रेमभावबाट नै प्रष्ट हुन्छ । तर पनि मैले उनको अनुनयलाई बेवास्ता नै गरेँ । सम्भवतः पर्सि नै हामी उता जान्छौं होला । यो छोरोले पढेर ठूलै मान्छे भएको देख्न चाहन्छु म । यो छोरोले ठूलो धन, नाम र मान पायो भने त्यसको आडमा मेरो चरित्रमाथिको दाग छोपिन्छ भन्ने आशा पनि छ कि क्या हो मेरो अभ्यान्तरमा त । तर त्यसलाई म देखाउन र स्वीकार्न सक्दिन र चाहन्न पनि । त्यसो गरेँ भने त मेरो हार मैले नै स्वीकारेको जस्तो भइहाल्यो नि । अहिले पनि मैले गल्ती गरेँजस्तो लागेको छैन मलाई ।

प्राचीनकालमा हाम्रो यस आर्य समाजमा एक पतिको निष्ठाभित्र बस्ने परम्परा बाध्यात्मक थिएन । बहुपति प्रथालाई पूर्णतः बहिस्कार गरिएको थिएन । बहुपति, बहुपत्नी दुबै प्रथा थिए । धर्मशास्त्र पल्टाएर हेर्दा त्यस्ता प्रशस्तै उदाहरणहरू हामी पाउन सक्छौं । वंश वृद्धि गर्नकै लागि त्यस्तो प्रथा अपनाएका थिए । त्यसबेलाको त्यही प्रथालाई मैले अहिले अनुसरण गरेँ, आफ्ना पूज्य अग्रजले हिँडेको र स्वीकारेको बाटो हिँडेँ त हिँडेँ । त्यसमा मैले किन गल्ती महसुस गर्नु ? मैले गल्ती महसुस गरेकै छुइनँ । त्यस बेला म कस्तो सङ्कटमा परेकी थिएँ, मैले आफूप्रतिको उत्तरदायित्व बहन गर्न र आफ्नो अस्तित्व बचाउन कि त मातृत्वको भावना त्याग्नु पर्थ्यो र त्यस घरको सँघार नागेर बाहिरिनु पर्थ्यो । घरबाट निकालिएर दुनियाँ गाउँ समाजका अगाडि बाँझी भएर रुँदै कष्टसाथ बस्नु र मृत्यु कुर्नुभन्दा सतीत्व त्याग्न नै म अघि सरेँ । मातृत्वको भावनासँगै मानव चोला त्याग्नुपर्ने कि त सतीत्व त्याग्नुपर्ने । यी दुईमध्ये एक चीज त्याग्नुपर्ने बाध्यतामा परिसकेपछि मैले एउटा निर्णय नगरी धर पाइनँ । सतीत्व त मैले पहिलेदेखि नै जोगाएर राख्न पो कहाँ सकेकी थिएँ र ? एकपल्ट अदृश्य खोट लागिसकेको त्यही सतीत्व त्याग्न म तयार भएँ ।

धर्म र नीतिको दृष्टिमा मैले अपराध गरिसकेको थिएँ विवाहपूर्व नै । पहिलोपल्ट गल्ती गर्न गाह्रो भएजस्तो दोहोर्याउन त्यति गाह्रो नपर्दो रहेछ । धर्म, नीति र सत्यलाई खोकिलामा हालेर मैले भौतिक सुख खोजेँ । अध्यात्मिक सुखको रसास्वादन गर्न मैले जानेकै थिइनँ ।

मनमा जब दुर्दमनीय इच्छा सिर्जन्छ तब मानिस त्यसै इच्छाको दास हुँदो रहेछ । म कसैको शारीरिक आकर्षण र यौनजन्य चाहनाको प्रवल आकर्षणमा परेकी थिइनँ । म त आफ्नै मनभित्रको आन्तरिक चाहना र आफ्नै घरभित्रको शक्ति युद्ध, शीत गृहयुद्धको चपेटामा परेर नै मैले सन्तानको चाह गरेँ । मलाई कुनै पुरुषको अगाडि गएर निरावरण हुन विवश पार्ने, लाचार बनाउने त्यो अदृश्य र घातक इच्छाशक्तिको बन्धन चुँडाल्न मैले सकिनँ । विद्रोहको लागि हुङ्कार गरेर लागेँ र विजयी पनि भएँ । सासूससुरा, नन्द, पति आदिको कुदृष्टिले विच्छिन्न भएकी थिए भने त्यसपछाडि मैले एउटा अर्को महानन्दको अनुभूति गरेकी थिएँ । वास्तवमा स्वर्ग यस्तै हुन्छ भन्ने भाव पनि पलाएको थियो त्यस बेला । बच्चा नजन्मिउन्जेल प्रायः समय म तिमीलाई नै सम्झिहन्थेँ तर बच्चा जन्मेपछि तिम्रो सम्झनालाई नानीको मायाले ओझेल पार्दै गएजस्तो लाग्यो । आकलझुकलमात्र सम्झन्थेँ, भनौं न सम्झना वा झझल्को पातलिँदै गयो ।

मेरा पतिको मप्रतिको आकर्षण म गर्भवती भएपछि झन् बढ्यो । उनी मेरो खूब ख्याल राख्थे । सुरुमा त म बाँझी रे, थारी रे । परिवारले नै मेरो नारीत्वमाथि शङ्का गरे । शङ्काले र्सवत्र आक्रान्त भएपछि मैले पनि त होसियार हुनुपर्यो नि । म चनाखी नभएकी भए जसरी मेरी सौतालाई घरबाट निकाले मलाई पनि त्यसरी नै गलहत्याउँथे । मेरो पनि त्यही हाल हुने थिएन भनेर म कसरी विश्वास गरौं र ? दूधमा परेको माखो मिल्काएझैं मिल्काइदिन्थे मलाई । त्यस बेला मेरो हालत कस्तो हुन्थ्यो होला ?

त्यसैले मैले उनलाई र उनको परिवारलाई धोका दिएँ । आफ्नो स्वार्थ सिद्ध गर्नकै लागि मैले उनलाई धोको दिएकी हुँ । मेरो ठाउँमा अरू नै कोही भएको भए पनि त्यसै गर्ने थिए होला । जीवनभर झूटो नबोलेका महाराज युधिष्ठिरले समेत आफ्नो स्वार्थका लागि आफ्नै पूज्य गुरु द्रोणाचार्यसँग झूटो बोले के साँच्चै उनलाई आफ्ना गुरुपुत्र अश्वत्थामा चिरञ्जीवी छन् भन्ने थाहा थिएन होला र अश्वत्थामा मरे गुरुपुत्र हुन् या हात्ती भनेर भन्नु ? हात्ती मरेको भनेर स्पष्ट भनिदिएको भए हुँदैन थियो ?

मैले पनि आफ्नो आत्मरक्षाका लागि उनलाई छलेँ । मबाट सन्तान नभएपछि सन्तान पाउने अर्की स्वस्नी भित्र्याउन मलाई पन्छाउनै पर्यो उनीहरूले । त्यसको लागि उनीहरूले मलाई मार्न पनि पछि पर्दैन थिए होला नि । त्यसैले मैले आफ्नो रक्षार्थ सन्तान खोजेँ । आफ्नो आत्मरक्षा त एउटा ठूलो धर्म हो भन्छ शास्त्रले भने मैले त धर्म नै गरेकी छु । नेपालको मुलुकी ऐनले पनि आत्मरक्षाको सिलसिलामा भए गरेको अपराधमा प्रतिरक्षाको सुविधा दिएको छ भने मलाई अपराधी कसले भन्न सक्छ ?

एकपल्ट मनुष्यत्व गुमाएर मनुष्यत्वहीन भएका मानिसहरू हिंस्रक पशुभन्दा खतरनाक हुन्छन् भनेर जानिसकेपछि त भाग्यकै भर परेर बस्नु कसरी ? क्रोधको आवेगमा अन्धो भएको बेला कसले कसको ज्यान लिन्छ के थाहा । मेरा पति साह्रै मूर्ख र घमण्डी रहेछन् भन्ने कुरा त मैले डाक्टरकहाँ गएर जाँच गराऊँ भन्दा पनि उनी झर्केको देखेर र सुनेर नै अनुमान लगाइसकेको थिएँ । ती मूर्खसँग अलापविलाप गरेर मैले केही पाउँछु जस्तो पनि लागेन । तसर्थ मैले …… ।

उर्मीले आफ्नो पत्रमा यस्तै नानाथरीका कुराहरू लेखेकी थिइन् । सन्चोबिसन्चोभन्दा पनि मुख्यतः छोरोलाई भारतको राम्रो विद्यालयमा राखेर पढाउँदै छु र मैले पनि नोकरी गर्न थालेँ भन्ने यी नै दुई कुराको जानकारी दिनलाई उनले पत्र लेखेकी होलिन् । छोरोको पढाइलेखाइ राम्रो नराम्रोसँग मैले कसरी चासो राख्नु । न त्यस छोराले मेरो नाम पाएको छ न मेरो थर गोत्र नै पाएको छ, न उसलाई म उसको बाबु हुँ भन्ने कुरा नै थाहा छ भने मैले उसको बारेमा चासो लिएर के फाइदा ? तर पनि भित्र अभ्यन्तरमा कता-कता माया त हुँदो रहेछ क्या र । राम्रो पढ्दै छ, कुशल-मङ्गल छ भन्दा कता-कता हर्ष पनि लाग्यो ।

ऊ कस्तो होला ? उसको रूप कस्तो होला ? गङ्गा र मेरो विवाह भएको वर्षदिनमै हाम्रो सन्तान भइदिएको भए आज उनीहरू कत्रा भइसक्थे होलान् ? बिचरी गङ्गा अहिले कहाँ के गर्दै होली ? मैले अर्को विवाह गर्छु र मेरो अंश खाने र वंश धान्ने सन्तान जन्मिन्छ भनेर नै उनले मलाई छोडेकी छन् । आज पनि उनले मलाई बिर्सिएकी छैनन् । प्रत्यक्ष-अप्रत्यक्ष रूपमा उनले ममाथि दृष्टि दिइरहेकी होलिन् ।

मनमा नानाप्रकारका कल्पना र सम्झनाका बाढी ओइरिन थालेपछि म त्यसबाट बच्न लागेँ आफ्नो कामतिर । समाजसेवा र मानवसेवा जीवनको सबैभन्दा ठूलो धर्म र आत्मिक सुख हो यही मूल मन्त्र जपेर म आफ्नो कार्यमा जुटेँ ।

 भाग – २०

समयचक्र निरन्तर फन्का मारिरहेको थियो । त्यसैक्रममा एक दिन दलित मुक्ति मोर्चाको कार्यक्रम थियो । मलाई पनि अतिथिको रूपमा निम्त्याइएको थियो । त्यसैले त्यस कार्यक्रममा भाग लिन म बजार गएँ । कार्यक्रम स्थलमा पुग्नासाथ म झस्किएँ । त्यहाँ उर्मीको पहिलो प्रेमी सनतसिंह पनि आएका रहेछन् । मलाई देख्नासाथ चिने उनले पनि अनि नमस्कार गरे । हालखबर सोधासोध गरेपछि मैले उनलाई अतीत सम्झाउन र हाम्रो बीचमा भएको औपचारिकतालाई अलि कम गर्न उर्मीको कुरा झिकेँ । ‘सनत भाइ ! तपाईंलाई उर्मीले असाध्यै विश्वास गर्थिन् र पनि एउटा सानो मुटु छेड्ने गरीको पत्र लेखेर छोडी हिँड्नुभएछ । त्यस बेला त्यसरी हिँड्नु पर्यो भन्ने सोचेरै यो आन्दोलनमा लाग्नु भएको हो क्या हो र?’

उनी अलि लजाए । अनि सुस्तरी भने, “त्यस बेलाको परिस्थिति नै प्रतिकूल थियो । कुनै उपाय नभेटेपछि म भागेँ तर त्यस बेला वियोगको कष्टकर पीडा भोग्नुपर्यो । धेरै समय लाग्यो उनलाई भुल्न । विवाह गरेपछि सन्तान भए अनि यता सामाजिक कार्यमा लागियो र बिस्तारै भुलेँ उनलाई ।”

उनको कुरा सुनेर खिस्स हाँसेँ म । उनी मलाई हाँसेको देखेर आर्श्चर्यचकित भए र टोलाउँदै मलाई नै हेर्न थाले ।

अनि मैले भनेँ, “उनले तपाईंलाई अझै भुल्न सकेकी छैनन् ।”

“त्यो कुरा मैले थाहा पाएँ । एक वर्षअगाडि उनीसँग मेरो भेट भएको थियो ।”

“के भन्थिन् ?”

“मैले म जातीय भेदभावको उन्मूलन गर्न आन्दोलनमा लागेको छु भनेर सुनाएँ । उनी खूब हाँसिन् र भनिन्, ‘तिमी अहिले जुन जातिवाद र जातीय भेदभावको अन्त्यका लागि भनेर जुन आन्दोलन गर्दैछौ र जसरी गर्दैछौ त्यस्तो आन्दोलन आदिकालदेखि चल्दै आएको छ । जातीय भेदभावका सबै स्वरूपहरूको उन्मूलन विषयक संयुक्त राष्ट्रसङ्घीय सन्धि सन् १९६५ मै पारित भएको र नेपालले पनि त्यस सन्धिलाई अनुमोदन गरेर त्यस सन्धिमा ३० जुन १९७१ देखि नै सम्मिलित भइसकेको छ । त्यतिखेर नै नेपालले जातीय सर्वोच्चताको सिद्धान्तमा आधारित जातीय भेदभाव वैज्ञानिक दृष्टिले गलत छ, नैतिक दृष्टिले भर्त्सनीय र सामाजिक दृष्टिले खतरनाक र अन्यायपूर्ण छ र जाति, रङ्ग वा जनजातिगत उत्पतिको आधारमा गरिने भेदभावले राष्ट्रको शान्ति र सुरक्षा भङ्ग गर्न सक्छ भन्ने कुरालाई स्वीकारेर त्यस सन्धिको अनुमोदन गरेको यतिका वर्षहरु बितिसकेका छन् भने खै त त्यसको कार्यान्वयन ? तिमीले आफ्नो आन्दोलन बाहुनवादको विरोधमा केन्द्रित गर्नुको सट्टा यो देशको सञ्चालन पद्धति र प्रक्रियाको विरुद्ध पो केन्द्रित गर्नुपर्ने देख्छु म त । देशमा जातपातको उन्मूलन मुलुकी ऐन २०२० ले नै गरिसकेको छैन र ? त्यसको सही र सफल कार्यान्वयन भएको भए आजसम्म यो छुवाछूत प्रथा यहाँसम्म आइपुग्ने नै थिएन नि ।

तिमी यो आन्दोलनको नेतृत्व गरिरहेका रहेछौ तर तिमी आफू स्वयंले आफूलाई एउटा सफल, पूर्ण र स्वतन्त्र मानिसको रूपमा प्रतिस्थापित गर्न सकेका रहेनछौ र त बातैपिच्छे हामी दलित भन्छौ र तिम्रो समितिको नाम नै दलित मुक्ति मोर्चा भन्छौ । अब तिमी आफैं आफूलाई दलित भन्छौ भने अरूलाई मात्र त्यस्तो नठान, नभन भनेर कसरी मनाही गर्न सक्छौ ? दलित शब्दलाई तिमीहरूले मागी खाने भाँडो बनाएका रहेछौ । पहिले आफू-आफूमा छुवाछूतको भावना त्याग ज-जसलाई तिमीले दलितको समूहमा रोखेर परिभाषित गरेका छौ उनीहरूकै बीचमा छुवाछूत र जातीयताको भावना त्यागेर एकजुट हुन आह्वान गर । त्यसमा तिमीले सफलता पायौ भने अनि मात्र लड्न सक्छौ यो बाहुनवादको विरोधमा ।

मानव अधिकारको विश्वव्यापी घोषणा-पत्रमा पूर्ण उमेरका पुरुष तथा महिलाहरूलाई जाति, राष्ट्रियता वा धर्मको कुनै प्रतिबन्धबिना विवाह गर्न पाउने र परिवार बसाउन पाउने अधिकार छ भन्ने उल्लेख गरिएको छ । तर खै त हामीले विवाह गरेर घर बसाउन सकेको ? हाम्रो घर नबस्नुमा दोष कसको छ ? हेर यो नियम, कानुन, सन्धि, सम्झौता सब कागजी घोडामात्र हुन् । शक्ति, सामर्थ्य हुनेले यहाँ जे गरे पनि हुन्छ । तसर्थ म त भन्छु यस्तो आन्दोलन छोडेर शक्तिसञ्चयमा लाग । तिमी शक्तिशाली भयौ भने सबैले बिर्सन्छन् तिमी दलित हौ भन्ने कुरा । सबै जुट्छन् शक्तिको पूजा गर्न । तिमी आफ्नो निजी स्वार्थ र यो दलित ….. ।” आदि धेरै कुराहरू भनिन् उनले । उनी पहिलेकी जस्ती सीधासादा सोझी उर्मी रहिनछन् । उनको बोल्ने, तर्क गर्ने शैली पनि अचम्मलाग्दो गरी वृद्धि भएछ । एउटा सफल राजनैतिक नेतृजस्ती देखिन्थिन् उनी बोल्दाखेरि ।

सनतसिंहले उर्मीको तारिफ गरेको सुन्दा मलाई हाँस पनि उठ्यो । अलिकति त हाँसेँ पनि क्यार । ‘अरू पारिवारिक अवस्थाको बारेमा केही भनिनन् ?’ भनेर सोधेँ मैले ।

‘अहँ, परिवारको वा आफ्नो बारेमा केही भनिनन् । एकदमै राम्रो र खुसीसाथ जीवन बिताइरहेकी छु, एउटा छोरो छ भन्थिन् ।’ यतिमात्र भन्दै थिए सनत, कार्यक्रम सुरु भयो । हामी दुबै कार्यक्रम स्थलतिर गयौं ।

कार्यक्रमको समाप्तीपश्चात् सनतलाई मैले आफ्नो घरतिर लाने प्रयास गरेँ तर ऊ मानेनन् । अति आवश्यक दुईचारवटा कामहरू देखाएर उनी फुत्किए मबाट । प्रकाश र म बाटो लाग्यौं अपरान्ह पाँच बजेतिर ।

“तपाईंले सनतसिंहलाई चिन्नु भएको रहेछ हैन ? कहाँ, कसरी चिन्नुभएको ?” बाटामा प्रकाशले सोध्यो ।

“हो ।” मैले छोटो जवाफ दिएँ ।

“कहाँ चिन्नुभएको ?” उसले पुनः सोध्यो ।

“पहिले म विराटनगर बसेँ, त्यहीँ बस्दा चिनेको ।”

“ऊ जुन आन्दोलनको नेतृत्व गरिरहेको छ, त्यही आन्दोदनका सहभागीहरू नै उसलाई मन पराउँदैनन् । मान्छे धोकेबाज रहेछ । आन्दोलनको नाममा उठेको रकम हिनामिना गरेर काठमाडौंमा घर बनायो । दुईवटी स्वास्नी जोड्यो । अब नेतृत्व परिवर्तन गर्ने सुरमा छन् साथीहरू ।” प्रकाशले भन्यो ।

मलाई आश्चर्य लाग्यो सनतको व्यवहार सुन्दा । एकप्रकारले त रिस पनि उठ्यो । रिसकै झोकमा भनेँ, “ठिकै त हो त्यस्तो मान्छेलाई नेतृत्वमा राख्नु हुँदैन । अर्कालाई सिकाउने, सघाउनेले आफ्नो चरित्र, जीवनचर्या र बानी-व्यहोरा, आचरण अनुशासित, उदार र आदर्शमूलक बनाउनु अत्यन्तै जरुरी हुन्छ नत्र सिक्नेले सिकाउनेको अर्थात् आफ्नो अगुवाको भनाइ र गराइमा भिन्नता पाउँदछ । अनि त्यस्ता व्यक्तिको निर्देशन मान्न वा उनीहरूको नेतृत्व र मार्गनिर्देशन स्वीकार्न मानिसहरू डराउँछन् । आजसम्म त्यस्ता आन्दोलनको नेतृत्व गर्ने मान्छे बिक्नाले, लोभ, लालच र मोहमा फस्नाले कति आन्दोलनहरू असफल भएका छन् । त्यसैले त्यस्तो अवस्था आउनु अगावै प्रभावकारी कदम चालिहाल्नु उचित हुन्छ ।”

“सनतले पहिली पत्नी हुँदाहुँदै दोस्रो ल्यायो । एउटा सम्मेलनमा भाग लिन दिल्ली गएका थिए फर्केर आउनासाथ बिहे गरे । उनीहरूको त्यो कार्यले गर्दा हाम्रो आन्दोलनलाई ठूलो धोका पर्यो । पछि उनीहरूलाई मोर्चाले स्पष्टीकरण लियो । उनीहरूले लिखितरूपमा स्पष्टीकरण दिँदै माफ मागे ।” प्रकाशले स्पष्ट गर्यो ।

“प्रकाशजी ! पेटमा भोकले उब्जाएको ज्वाला शान्त पार्न त पुरुषार्थ चाहिन्छ भने आत्माभित्र उब्जिएको राग अनुरागको ज्वाला, वासनाको ज्वाला शान्त पार्न त बढी पुरुषार्थ र होसियारी आवश्यक पर्छ नै । वासना त आगो हो र त्यो आगो हो भनेर जान्दाजान्दै पनि त्यसलाई शान्त पार्ने निहुँमा अँगाल्न पुगियो भने त पोल्छ नि । त्यसलाई त निभाइयो भने पनि अँगार हुन्छ, जसको कालोले कलङ्कति दाग लगाइदिनसक्छ । त्यसैले बडो चातुर्यतापूर्वक, होसियारीपूर्वक परै, टाढै रहन र त्यसबाट बच्न जान्नुपर्छ । त्यसको लागि आत्मसंयम् आवश्यक हुन्छ । हिलोमा फुल्ने कमल हिलोको स्पर्श नलिई हिलोसँग लसपस नभई फक्रिएको हुन्छ । त्यसरी हामी रति रागबाट अलग्गिन किन नसक्ने ? आन्दोलनको नेतृत्व गर्ने शक्ति नै रति रागको वशमा परेर नारीको इज्जतसँग खेल्दै जाने हो भने अरू नारीहरूले त्यहाँ आफूलाई कसरी सुरक्षित महसुस गर्न सक्छन् र त्यस आन्दोलनको समर्थनमा जुटून् । त्यसैले समयमै त्यसतर्फ होस पुर्याउनु आवश्यक हुन्छ है ।”

यसरी त्यही आन्दोलन र सनत तथा उसको व्यवहार अनि आन्दोलनको नेतृत्व गर्ने व्यक्तिमा हुनुपर्ने गुणको बारेमा चर्चा गर्दै हामी मेरो घर पुग्यौं र छुट्यौं ।

भाग – २१

एक्लो जिन्दगी साह्रै निरस र कष्टकर भए पनि बिस्तारै बानी बस्दै गएछ क्या हो मलाई त्यति असहज लाग्न छोड्यो । त्यसैले बिहान म चिया पिउन, दश बजे बिहानको खाना, दिउँसो नास्ता र बेलुकाको खाना ठीक-ठीक समयमा गर्न थालेँ । यसले मेरो स्वस्थ्यमा पनि निक्कै सुधार आउँदै गयो ।

बिहान सबेरै तातो चिया पिउँदै पत्रिका पढ्दै थिएँ । मेरो आँखा परे एउटा समाचार शीर्षकमा, ‘बोक्सीको आरोपमा दिसा कोच्याइयो ।’ त्यो समाचारले मालाई घोच्नुसम्म घोच्यो । मानव अधिकारको विश्वव्यापी घोषणा-पत्र संयुक्त राष्ट्रसङ्घले सन् १९४८ डिसेम्बर १० का दिन पारित गरिसकेको छ र नेपालले पनि त्यस घोषणा-पत्रमा सही गरेर जाति, रङ्ग, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार धारा, राष्ट्रिय वा सामाजिक उत्पति, सम्पति, जन्म वा अन्य कुनै हैसियतजस्ता कुनै पनि कुराको आधारमा भेदभावबिना प्रत्येक व्यक्ति घोषणा-पत्रमा उल्लिखित अधिकार तथा स्वतन्त्रताको उपभोग गर्न हकदार हुनेछ भन्ने कुरामा सहमति जनाएको हाम्रो देशमा कतिपय नारीहरूले दलित वा विधवा भएकै आधारमा वा गरिब भएकै आधारमा बोक्सीको आरोपमा सात जातको गु –(दिसा) कोच्याइमाग्नु परेको छ । कपाल खौरिमाग्नु परेको छ । अरूको पैतालाको धूलो चाट्नु परेको छ । यस्ता विकृतिपूर्ण, निन्दनीय घटनाको विवरणले भरिएका अखबारहरू बजारभरि छ्यापछ्यापती हुँदा पनि सरकार कानमा तेल हालेर बस्छ हाम्रो नेपालमा । त्यसैले त भन्छन्, ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा ।’

के बोक्सी मन्त्र नारीसँग नै हुन्छ भन्ने केही छ ? त्यो मन्त्र पुरुषसँग पनि त हुनसक्छ । पुरुषलाई बोक्सोको आरोपमा दिसा कोच्याएको घटना त सुनिँदैन त । फेरि गरिब, विधवा वा दलित नै हुन्छन् बोक्सी ? उच्च घरानाका धनी र समृद्ध महिलालाई बोक्सी किन भन्दैनन् काहीँ ? यसैले यो बोक्सी भन्ने आरोप केवल हेपाहा प्रवृत्ति हो, एउटा मत्स्यन्यायको नमुना हो ।

यो देशमा शासनसत्तामा बस्नेहरू, शक्तिधारीहरू नै गरिब निरीह जनतालाई अत्याचार र दमन गर्छन् । त्यस्ता अत्याचार र दमन विरुद्ध आवाज उठाउँदा झन् दमन गर्छन् । अन्तिम उपायको रूपमा विद्रोही बन्न बाध्य तुल्याउँछन् सोझा जनतालाई सत्ताधारीहरू नै ।

संविधानमा उल्लेख भएबाट जनतालाई धर्म, वर्ण, लिङ्ग, जात-जाति वा वैचारिक आस्थाको आधारमा भेदभाव विरुद्ध अधिकार प्राप्त छ, छुवाछूतको आधारमा भेदभाव विरुद्धको अधिकार प्राप्त छ र त्यसको हनन् भएमा हारगुहार माग्न प्रशासनसम्म पुग्दा पनि उल्टै हप्काइ खाइन्छ, हाँसोको पात्र बनिन्छ भने मनमा यो समाज र परिपाटीप्रति विद्रोहको भाव सृजना हुनु कुन आर्श्चर्यको कुरा भयो त ?

हामी सारा नेपालीहरूमध्ये झन्डै ५० प्रतिशत नागरिकहरू गरिबी, अशिक्षा, आर्थिक तथा सामाजिक शोषणजस्ता विकृतिहरूबाट ग्रसित छौं, पीडित छौं तर पनि आफ्नो मुक्ति र आफ्नो आर्थिक र सामाजिक समृद्धिका लागि खै त हाम्रो एकता ? पाश्चात्य समृद्धशाली राष्ट्रहरूको समाज र धनाढ्यहरूको जीवन पद्धतिबाट प्रभावित भएर उनीहरूको अनुसरणमात्र गरिरहनु बुद्धिमत्ता कार्य हो त ? बरु हामी उनीहरूले गरेको प्रगतिको, मेहनतको अनुसरण गरौं न । अमेरिकामा सन् १८६३ सम्म वैधानिक वा वैध मानिएको दासत्व र दास व्यापारमा प्रतिबन्ध लगाएपछि त्यसको कार्यान्वयन भए नभएको निरीक्षणमा त्यहाँको सरकारले कस्तो सक्रियता देखाएको थियो । त्यस्तो सक्रियता यहाँ जातिवादमाथिको प्रतिबन्धको कार्यान्वयन भए-नभएको जाँच्नलाई देखाओस् त – एक दशकभित्रमा यहाँबाट जाति प्रथा र छुवाछूतको समस्या पूर्णरूपले समाधान भएर जान्छ ।

समाजलाई बिथोलिन नदिन, समाजमा सदाचार र अनुशासन कायम राख्न यस समाजमा नारी र पुरुषबीचमा हुने अन्तर्विरोधलाई त्याग्न सक्नुपर्छ । आपसी शत्रुताको रूपमा विकास भएको अन्तर्विरोधले सङ्गठित शक्तिलाई क्षीण गर्छ । त्यसैले नारी र पुरुषमा मतैक्यता हुनुपर्छ तर त्यो मतैक्यता केमा हुने – यो कुराचाहिँ स्पष्ट हुनुपर्दछ । नारीलाई सम्पूर्ण मानवको रूपमा पुरुषले हेर्न र स्वीकार्न सक्नुपर्छ र त्यहीअनुरूपको सद्व्यवहार पनि गर्न सक्नुपर्छ ।

माया-प्रेम, सद्व्यवहार र दरिलो छहारी जुन पुरुषबाट प्राप्त हुन सक्दैन, त्यही पुरुषलाई पति परमेश्वर मानेर पतिभक्ति अर्पण गर्न बाध्य पार्नु नारीमाथि मानसिक पीडा थोपर्नुमात्र हो । नारी लोग्ने मानिसका लागि उपभोग्य वस्तु, एउटा दान योग्य वस्तु हो भनेर सोच्ने र विवाह मण्डपमा ‘मारे पाप पाले पुण्य’ भनेर कन्यादान गर्ने परम्परागत प्रवृत्ति, धर्म र नीतिशास्त्रका व्यख्याताहरूले नारी चरित्र र नारीको कर्तव्यको रूपमा गरेको व्यख्या बदल्नु पर्छ । नारी त प्राणी नै होइन, उसलाई दुःख-सुखको अनुभूति नै हुँदैन, उसले जिन्दगीभर अर्काको खुसीको लागि, अर्काको शोभा बनेर बिनाभोक, बिनातिर्खा, बिनाशोक, बिनातृष्णा बाँच्नुपर्छ भन्ने भावनालाई त्यागेर नारीलाई सम्मानित दृष्टिले हेर्ने बानी बसाल्नुपर्छ । नारीलाई विकल्पको वरण गर्ने, स्वतन्त्र अधिकार दिइनुपर्छ । आफ्नो जिन्दगीको सम्पूर्ण निर्णय गर्ने सम्पूर्ण अधिकार नारीमाथि नै हुनुपर्छ । अर्काले आफूमाथि गरेको निर्णयाई सहर्ष स्वीकार्नु पर्ने बाध्यताबाट नारीले मुक्ति पाउनुपर्छ ।

भारतवर्षका महान् साम्राट चन्द्र गुप्त, जो पौरखी थिए, बहादुर थिए र साहसी पनि थिए अनि जसका चाणक्यजस्ता महान् कुटनीतिज्ञ गुरु थिए, सल्लाहकार थिए । यस्ता व्यक्तिहरूले समेत आफ्ना दुश्मनसँग बदला लिन र शत्रुलाई तह लगाउन नारीकै प्रयोग गरे । आफ्नो क्षणिक स्वार्थ सिद्ध गर्न नारीको देहमा विष भरेर विषकन्या बनाई प्रयोग गरे । आफ्नो स्वार्थका लागि एउटी नारीको जीवन समाप्त गर्ने अधिकार कसले दियो उनीहरूलाई ? त्यस्ता व्यक्तिलाई आज हामी ऐतिहासिक व्यक्ति भन्दछौं । पौराणिककालदेखि नै नारीलाई एउटा औजार, हतियार वा भोग्य वस्तु सम्झने बानी परेका पुरुषमा नारीप्रति आदर र सत्कारको भाव नआउन्ज्याल नारीले विद्रोह गरिरहनुपर्छ । विद्रोह नगरी व्यवहारमा नै समान अधिकार पाउँछन् जस्तो लग्दैन, मुखले भट्याउने अधिकार त पाउलान् नै तर पूर्ण रूपले व्यवहारमा चाहिँ ……..।

नारीका अङ्ग-प्रत्यङ्ग अनन्त आनन्दका श्रोत हुन् । रति रमणमै आनन्दको द्वार खुल्छ । नारी माया र ममताकी प्रतिमूर्ति हो भनेर फुर्क्याएर उसको सौर्न्दर्यको उपासना गरेझैं गरेर नारीको आस्था र विश्वास टुक्र्याउने पुरुष नै हुन्छ ।

नारीको महान् र अमूल्य गहना लज्जा हो । लज्जावती फूलजस्तै हो नारी । पुरुषको क्रियाकलापले नै ओइलाउन बाध्य हुन्छे । पुरुषको स्पर्श र प्रेम नपाए, अनुराग र सहयोग नपाए नारी अपूर्ण हुन्छे भनेर नारीमाथि अन्याय थोपर्छन् पुरुषहरू । भय, आशङ्का र सन्देहको दोसाँधमा उभ्याएर रमिता हेर्छन् लोग्ने मान्छेहरू । त्यसको विरोध गर्न खोजे भने नारीलाई अनेक दोष र आरोप लगाएर उसलाई कुण्ठित पार्छन् । अनि यस्तो अत्याचार कहिलेसम्म खपून् नारीहरूले ?

मानिसमा चेतना भरिएपछि, विवेक बढेपछि यथार्थतालाई बिर्सेर त्यो नदेखेको काल्पनिक परलोक र स्वर्गको आशामा कति दिन सम्हालिएर बाँच्न सक्छ ? हजारौं दुःख, कष्ट, अभाव र पीडा खपेर परलोक प्राप्तिकै लागि नैतिकतालाई सम्हालिरहन कसरी सम्भव हुन्छ ?’ आवश्यक्ताले अर्थात् अभावले कानुन जान्दैन ।’ त भन्ने उखान नै छ नि । आपत-विपत, अभाव, कष्ट परेपछि मानिस जस्तै निन्दनीय काम गर्न पनि तयार हुन्छ । आध्यात्मिक चिन्तनमा डुबेर भौतिक सुख सुविधाको बेवास्ता गर्ने मानिस संसारमा कमै भेटिएलान् । संसारका बहुसङ्ख्यक मानिसहरू भौतिक साधन र सुखको उपभोग गर्नपट्टि नै लागेका छन् भने हाम्रा हिन्दू नारीहरूमात्र किन अपवाद बनिरहन सक्छन् त ?

मेरो मनमा यस्ता असङ्ख्य तर्कनाहरू आइरहे । मन न हो यो बेलगाम घोडाजस्तो । सानो निहुँ भेट्टयो भने पनि अनायसै दौडिइदिन्छ सम्हाल्नै नसकिने गरी । त्यसैले यो मनलाई सम्हाल्न, भावना र तर्कनाको बाढीबाट बच्न उठेर लागेँ गाउँतिर ।

लामो समयको अन्तराल पश्चात् नै भन्नुपर्छ, झन्डै तीन वर्ष बिति सकेपश्चात् एकाएक मलाई झकझक्यायो उर्मीको पत्रले । मलाई खै कुन मोह र कुन आकर्षाले मोहित गर्छ उर्मीको पत्र पाउँदा । भित्र अभ्यन्तरको कुनातिर खुसी उर्लिएर आउँछ, हर्ष लाग्छ । अहिले पनि यस्तै भयो । पत्र खोलेर हेरेँ, लामो र धेरै लेखेकी रहिछन् । जतिसुकै धेरै भए पनि उनको पत्र पढ्दा मलाई एकजात अल्छी लाग्दैन । अल्छी नमानी पत्र पढ्न थालेँ । त्यहाँ उनले लेखेकी थिइन् –

दिनाङ्कः- …………

“तिमीलाई मेरो हार्दिक अभिवादन छ । धेरै दिनपछि आज म पत्र लेख्न लागेकी छु । यो पत्र पाएपश्चात् तिमीलाई अचम्म पनि लाग्नेछ, हर्ष पनि लाग्ला । तिमीले मलाई कहिल्यै पत्र लेखेनौ भनेर मैले गुनासो गर्न पनि पाइनँ । मैले नै तिमीलाई पत्र नलेख्नु भनेपछि त तिमीले नलेखेका हौ । अब आफ्नो सन्च-बिसन्चको एकदमै औपचारिक पत्र लेख ल भनेर अनुरोध गर्दछु तिमीसँग । अब त छोरो पनि कलेज पढ्ने भयो । अहिले ऊ काठमाडौंमै बस्न थालेको छ । एउटा कुरा तिमीलाई सुनाउन साह्रै डर लागिरहेको छ, नसुनाई पनि भएको छैन । …… खै के गर्ने …… वसन्तले लागूऔषध सेवन गर्ने कुलत सिकेछ । मेरो दुर्भाग्य हो कि ऊ स्वयम्को दुर्भाग्य हो । सङ्गीता दिदीको त्यत्रो ठूलो आग्रहलाई बेवास्ता गरेर भारतको विद्यालयमा राखेको प्रतिफल नै भनौं ऊ कुलतमा फस्यो । ऊ यहाँ आएपछि धेरै सम्झाई-बुझाई पढ्न पठाएका छौं । अब लागूऔषध सेवन गर्दिन त भनेको छ उसले तर ……. खै कसरी विश्वास गरूँ, दुनियाँमा त्यस्ता अम्मलीको हालत देख्दा र सम्झिँदा नै मुटु चिरिएर आउँछ ।

अहिले मेरो आँट, हिम्मत घटेकोजस्तो लाग्छ । म अब यो समाजसँग लड्न सक्दिनँजस्तो लाग्न थाल्यो । त्यस बेला मैले अदम्य साहस लिएर समाजसँग, परम्पररासँग जुधेर जिउन चाहँदा-चाहँदै पनि म हारेँ । खै किन हारेँ – थाहा पनि छैन । यो कस्तो मायाजाल ! जबसम्म मानिसले मायाजालबाट मुक्ति पाउन सक्दैन तबसम्म धर्म, नीति तथा परम्परामा परिवर्तन ल्याउन नसक्दो रहेछ । यो परम्परा, यो रीति, यो संस्कृति आदिको जतिसुकै भर्त्सना गरे पनि खै किन हो त्यसमा होमिन मन लाग्न थालिरहेछ । छ्या यो मन कति कमजोर हुन लागेको ! यो कस्तो विडम्बना हो ? किन यो विडम्बनालाई स्वीकार्नु परिरहेछ मलाई ?

त्यस बेला मभित्र कस्तो आत्मविश्वास थियो, घमण्ड थियो । त्यही आत्मविश्वासबाट प्रेरित भएर नै त माया र वात्सल्यको प्यासले आकुल भएको हृदयले तृप्ति खोज्यो, पाउन सक्ने बाटो खोज्यो र म तिम्रो सामीप्यता खोज्दै तिमी सामु पुगेँ । त्यति कुरा त तिमीले मेरा तृषित नयन हेरेर पनि अनुमान गर्न सक्नु पर्ने त्यस बेला तर तिमी त मैले सोचेको भन्दा भिन्न रहेछौ बिलकुलै भिन्न ।

पुरुषहरू स्वभावतः नयाँ खोज्ने प्रवृत्तिका हुन्छन् भन्ने मलाई लाग्थ्यो । तिमी कसरी त्यसको अपवाद बन्न सकौला जस्तो लागेको थियो । दुश्यन्त शकुन्तलालाई देखेपछि आफ्नो घरबार व्यवहार भुलेर शकुन्तलाकै पछि लागेको पौराणिक कथा पढेकी मैले तिमीलाई पनि दुश्यन्त नै ठानेकी रहिछु । तिमीले रातदिन पढ्ने गरेको महाभारत पनि त बताउँछ कृष्णले आफ्नी बालककालदेखिकी सहृदयी सहयात्री बालसखी राधालाई बिर्सेर गोपिनीसँग रतिरागमा भुलेका कुरा । तिनै कृष्णले जाम्बवतीलाई देख्दा रुक्मिणीलाई समेत बिर्सका थिए । तर तिम्रो मर्यादा, तिम्रो गङ्गाप्रतिको प्रेम र समर्पण अनि आफ्नो नैतिकताप्रतिको अटल विश्वास, आत्मसंयम् देख्दा मेरो मनले तिमीलाई महान् ठान्यो अनि झन् तिमीप्रति समर्पित हुन मन लाग्यो मलाई । मेरो सन्तानको बाबु हुन एकदमै उपयुक्त व्यक्ति तिमी नै हौ भन्ने निर्णय गर्यो मनले । त्यस बेला आफूसँग भएको हीरा चिन्न नसकेर ढुङ्गा ठानी बेवास्ता गरेकोमा मलाई पश्चाताप पनि लाग्यो । जुन बेला तिमी र म दुबै अविवाहित थियौं र एउटै घरको छानामुनि बस्थ्यौं त्यस बेला मैले तिम्रो प्रेम प्राप्तिको कुनै आशा नै नराखी सनतसिंहको पछि लागेँ । त्यो मेरो भूल थियो ।

मैले मेरो छोरोको शरीरमा दौडिएको रगत एकदम निर्दोष शुद्ध छ र पनि उसमा तिम्रो आदर्श, तिम्रो जस्तो सत्यता र आस्था विश्वास किन र्सन सकेन । मलाई त्यसै पीरले अहिले सताइरहेको छ ।

वास्तवमा मैले त्यस बेला जेजति जोखिम उठाएँ त्यो कुनै अन्य कामका लागि नभएर एउटा अखण्ड भौतिक र आत्मिक सुख प्राप्तिका लागि नै हो । तर त्यो सुखको सम्बन्ध त मानिसको अर्न्तर्मन अन्तरआत्मासँग पो हुँदोरहेछ त्यसैले यो दीर्घकालीन नभएर क्षणिकमात्र बन्दो रहेछ र त्यस्तै बन्यो पनि । चिताएको कुरा पुग्दा चित्त शान्त हुन्छ अनि मानिसले सुखको अनुभव गर्छ तर चित्त कतिन्जेल शान्त बन्न सक्छ र ? जीवन त नमरुन्जेल गतिशिल छ, जीवनको गतिसँग चित्तले पनि गति लिएपछि त फेरि दुःख कष्ट र चिन्ता मानिसको पछि लागिहाल्छ भन्थे हो रहेछ, अहिले त्यस्तै दुःख र चिन्ताले मलाई पछ्याउन थालेको छ ।

म लोभ र इर्ष्याको जालोमा परेकी रहिछु त्यस बेला । परिवारमा सासू, ससुरा, नन्द र श्रीमान्ले मप्रति गरेको व्यवहार, उनीहरूको मप्रतिको नराम्रो र हेय दृष्टि, उनीहरूको सोचाइ र व्यवहारको रिस अनिर् इर्ष्या एक ठाउँमा थियो भने अर्को ठाउँमा वात्सल्य प्रेमबाट प्राप्त हुने सुखका साथै भौतिक सुखको लोभले म बाँधिएकी थिएँ । त्यस बेला परम्परामुखी र पुरातनवादी हाम्रो धर्म र संस्कृति पटक्कै मन पर्दैन थियो क्यार र त पाश्चात्य संस्कृति र सभ्यताको आकर्षामा मोहित भएकी थिएँ । तर आज मैले ठेस खाएकी छु, अहिले बारम्बार मनले इश्वर पुकारिरहन्छ । ‘हे इश्वर ! मेरो छोरो सत्मार्गमा आओस् ।’ भनेर कल्पिइरहन्छ बारम्बार-बारम्बार । म अब ……….।

यस्तै-यस्तै धेरै कुराहरू लेखेकी थिइन् पत्रमा उर्मीले । मैले दोहोर्याएर पनि पढेँ । समग्रमा उनको पत्रको सार के थियो भने उनको बेवास्ताको कारणले छोरो लागूऔषध दुर्व्यसनको कुलतमा फस्यो । जसले गर्दा उनको दृढ, कठोर र विद्रोही हृदय पनि आज कमजोर हुन लागिरहेछ र इश्वरको शरणमा पर्न बाध्य भइरहेछ ।

भाग – २२

उनले पत्रको अन्ततिर एक ठाउँमा यस्तो लेखेकी छन्, ‘मेरो कमजोर बन्न थालेको मनलाई सम्झाउँछु । इश्वरको शरणमा छोरोको सफलता र सद्बुद्धिको भीख माग्न लालायित हृदयलाई रोक्न, सम्झाउन आफैं नै भन्छु आफ्नो मनलाई, ‘समस्यासँग जुध्ने हिम्मत बटुल्नुपर्छ । सङ्घर्ष गर्न, समाजका रूढिग्रस्त भावना र पुरुषको आधिपत्यसँग लड्न कम्मर कसेर मैदानमा उत्रिइसकेपछि अब रोएर, चिच्याएर के लाभ ? रामको शरणमा वा शिवको शरणमा गएर ‘हे राम ! रक्षा गर !! प्रभु ! मेरो मनको पीर व्यथा हरण गर प्रभु !’ भन्नु पनि उही पुरुषको पराधीनता स्वीकार्नु नै हैन र ? समाजमा नारी जातिमाथि लगाएको शारीरिक बन्धन काटेझैं मानसिक बन्धन पनि काट्न सक्नुपर्छ । कतिन्जेल यो पुरुष समाजको दासत्व स्वीकार्ने ? नारीले यसबाट मुक्ति खोज्नै पर्छ । नारी बेसहारा भएर बाँच्न सक्दिन भन्ने भयले नै त हैन छोराको व्यवहारले यति चिन्तित गराएको ? बुढेसकालमा नारीलाई छोराको सहारा चाहिन्छ, बुढेसकालको लौरो लुलियो भने मैले दुःख पाउँला कि भन्ने भयले नै मन यसरी सताइएको होला तर मैले नारीलाई निरीह र पराधीन प्राणी ठानेकी छैन । म डराउन्न त्यो छोरो बिग्रिए पनि म बाँच्न सक्छु । त्यसैले अब म आफ्नो महिला मुक्तिको आन्दोलनलाई सेलाउन दिन्नँ । मनको विद्रोह दबाएर आत्मर्समर्पण गर्न म अघि सर्दिनँ ।’

‘मैले मेरो मनलाई यसरी दरिलो पार्दै लाँदैछु, हेरौं अब कतिन्जेल सफलता प्राप्त गर्नसक्छु । छोरो बिग्रियो भन्दा पक्कै तिमीलाई पनि नराम्रो त लाग्यो होला हैन ? नराम्रो नमान म आफूले सकेसम्मको प्रयास गर्छु उसलाई सुधार्ने । बरु यो पत्र पाएपछि आफ्नो हालखबर लेख ल, म प्रतीक्षा गरिरहनेछु ।’

साँच्चै उर्मीले भनेझैं उसको पत्र पढिसक्दा मलाई कता-कता नराम्रो लाग्यो । छोरो दुर्व्यसनको कुलतामा फस्यो भन्दा मलाई चौपट्टै नराम्रो लाग्यो । किन नराम्रो लागेको होला मलाई ? त्यो छोरो र अन्य दुर्व्यसनीमा मेरो लागि खास के भिन्नता छ ? त्यो मेरो छोरो भन्ने के प्रमाण छ मसँग ? न उसले मलाई बाबु भन्छ, न मैले उसलाई छोरो भनेर अँगाल्न नै सक्छु । न कानुनले ऊ मेरो छोरो भनेर स्वीकार्छ, न त यो समाजले । न त उसले मलाई दागबत्ती दिन सक्छ न त पिण्ड नै । त्यस्तो मान्छेलाई मेरो छोरो भनेर गौरव गर्नुको के अर्थ रहन्छ र ऊ बिग्रिँदा म दुःखित हुनु ? यी सब केही नभए पनि किन हो खै कस्तो साइनोले सिर्जिएको हो, एक खालको व्यक्त गर्न नै नसकिने नमीठो दुःखचाहिँ लाग्दो रहेछ र दुःखको नरमाइलो अनुभूति गरेँ ।

मैले आजसम्म उनलाई पत्र लेखेको छुइनँ । लेख्न सक्ने हिम्मत पनि मसँग छैन । के नाताले पत्र लेख्नु – के भनेर सम्बोधन गरौं ? केही गरी मैले लेखेको पत्र उनको पतिको हातमा पर्यो भने ! ल पतिले भेटेनन् अरे, छोरोले नै भेट्यो भने ! या अरू कसैले भेटे भने ! त्यस बेला उनीमाथि आइपर्ने विपत्तिलाई सम्झेर नै म पत्र लेख्न अघि सरिनँ । अहिले उनले पत्र लेख्न अनुनय गरेको थाहा पाउँदा मन केही मात्रामा फुरुङ्ग त भयो तर लेख्नचाहिँ सकिनँ ।

यो समाजमा रहेका सम्पूर्ण मानिसको सोचाइ र विवेक एकनासको हुँदैन । हरेक कार्यलाई मानिसले विभिन्न आँखाले हेरिरहन्छन् । मानिसको जाति नै त्यस्तो हरेक चीजको अनेक अर्थ लगाएर विश्लेषण गरिदिने । सिर्द्धार्थ गौतमले गरेको त्याग, तपस्या र शान्तिको प्राप्तिप्रतिको र्समर्पणकै पनि त दुई अर्थ लाग्यो नि । गौतम बुद्धले आफ्ना अनुयायीहरू नै यसरी दुई मत होलान् भन्ने सोचेर आफ्नो बुद्धत्वको प्रचार गरेका थिए होलान् र ? हीनयानहरू बुद्धलाई एउटा राजाको छोरो राजकुमार, साधारण मान्छे ठान्छन् । उनले आफ्नो त्याग र तपस्याले बुद्धत्व प्राप्त गरे भन्छन्, आखिर यथार्थ र सत्य पनि त त्यही नै हो । तर अर्काथरीका पनि छन्- महायानहरू जो बुद्धलाई इश्वर नै ठानेर पूजा गर्दछन्, आखिर उनीहरू गलत छन् भनेर कसरी भन्नु – बुद्धको त्याग र शान्तिप्रतिको र्समर्पणलाई हेर्दा उनी इश्वर होइनन् भनेर भन्न पनि त सकिँदैन । यसरी अलग दृष्टिकोण राख्नु मान्छेको विषेशता नै हो । मुस्लिम धर्म अनुयायीहरू पनि यही दृष्टिकोणको कारणले सिया समूह र सुन्नी समूहमा विभाजन भएका छन् । इश्वर र धर्ममा नै त मानिसको हेराइ र दृष्टिकोण फरक हुन्छ भने जाबो मान्छेको कार्यलाई लिएर मानिसहरूको हेराइ फरक हुनुलाई के आर्श्चर्य ठान्नु । यस्तै सोचेर मैले उर्मीलाई प्रत्युत्तर पत्र लेख्न हिम्मत गर्न सकिनँ ।

अहिले मानिसहरूमा आधुनिक, पाश्चात्य संस्कृति र सभ्यताको अनुयायी, शिक्षित नागरिक ठान्ने बुज्रुकहरू हाम्रो धर्म, संस्कृति र परम्परालाई परिमार्जन गर्न खोज्दै छन् । भौतिक साधन, सामर्थ्य र शक्तिको बलमा मात्र यो सम्भव छ या छैन भन्ने कुरा त आफ्नै ठाउँमा छ । परिवर्तन आफैं आउँछ या त बिस्तारै आउँछ । जबर्जस्ती परिवर्तन खोज्नु राम्रो पनि होइन । मलाई त संसारका सबै धर्म, परम्परा र धर्मभाव एउटै भएजस्तो लाग्छ । राम्रो र असल काम, नैतिक जिम्मेवारी नै धर्म हो । संसारको कुन धर्मले नराम्रो काम गर, अनैतिक काम गर भनेर भन्छ ? सबै धर्मले अहिंसा, प्रेम, सद्भावलाई अँगालेर बाँच, आपसमा भेदभाव, हीनताभाव नराख भनेर भन्छ भने फेरि धर्म विषयलाई लिएर विवाद किन हुन्छ ? मानिस-मानिसमा भेदभाव किन ?

म त यस संसारका मनिसहरूमा कुनै भिन्नता देख्दिनँ । नातागोता, धर्म-कर्म, पाप, अपराध, जात-जाति आदि बन्धन सृजना गरेर समाजमा विभिन्न परिधि सिर्जना गरिदिएको मात्र छ । नत्र यसो हेरूँ न भोक सबैलाई लाग्छ, खानु सबैले पर्छ, निद्रा सबैलाई लाग्छ, सुत्नु सबैले पर्छ, रिस सबैलाई उठ्छ, प्रतिशोध सबैले लिन्छ, माया सबैलाई लाग्छ, मोह सबैले साँचेकै हुन्छ । यौन तृप्ति एउटा अमीट शारीरिक आवश्यकता बनेर सबैमा बसेकै हुन्छ । कामेच्छा सबैलाई हुन्छ । डर, त्रासले सबैलाई बाँधेकै हुन्छ । मृत्युको आलिङ्गनमा सबैले बाँधिनै पर्छ भने यस्तो भेद र परिधि किन ? अझ मलाई त रोग, भोक, हिंसा, प्रतिहिंसा, डर त्रास, माया, मोह, यौन, आत्मरक्षा आदिको दास हामी मानिस त पशुजस्तो नै हौं जस्तो लाग्छ । यी सब तथ्यमा हामी मानिस र पशुमा अन्तर नै के छ ? पशुमा त ठूलो, सानो, जात, जाति, धर्म, न्याय आदिको भेद हुँदैन त । साँच्चै हामीले मानव भएर बाँच्न त माथिका ती सब कुराहरूलाई पो जित्न सक्नुपर्छ त । यी सबै कुरालाई जित्न सकिँदैन भने समाजमा विभाजन केका लागि ? समाज सबैको साझा हो, मान्छे सबै एक हौं । यो धारणाको विकास किन हुन नसकेको होला हाम्रो समाजमा ?

जात-जाति र महिला, पुरुषबीचको विभेद कम भए अरू त क्रमशः घट्दै जाला । हाम्रो हिन्दू समाजले पुरुषकै महिमा बढी गायो, नारीलाई अबला नै ठान्यो । तर्सथ नै होला पुरुषबिना नारी पूर्ण हुन्न भन्ने सोच्दछन् पुरुषहरू । तर यसरी पुरुषबिना कुनै नारी पूर्ण हुन्न भनेर गर्वले छाती फुलाउने पुरुषले बुझनु पर्ने, नारीबिना पुरुषको अस्तिव रहँदैन अझ भन्दा पुरुष नै रहँदैन भने पनि हुन्छ । यो सृष्टि चलाउने नै नारी हो । शारीरिक शक्ति र सामर्थ्यमा पुरुष बलवान् होला तर शक्ति, समृद्धि, उदारता, हार्दिकता, सहानुभूति, माया, ममता, र प्रेरणाको मूल स्रोत नै नारी हो । नारी र पुरुषको मिलन नभई परम आनन्दको द्वार खुल्दैन र त्यो द्वार नखुली संसार चल्दैन भन्ने भावनालाई पुरुषले बुझ्नु पर्ने हो । वैज्ञानिकहरूको प्रयासबाट एउटी नारी पुरुषबिना पनि आमा बन्न सक्छे, आफ्नो गर्भमा भ्रूण हुर्काउन सक्ने भई । अब पुरुषले आफ्नो गर्भमा भ्रूण हुर्काएर देखाओस् त ।

नारीलाई साह्रै परावलम्बी बनाइदियो हाम्रो शास्त्र र संस्कारले । नारी अशक्त, निरीह हुन्छन् त्यसैले उनीहरूको जीवीकोपार्जनको जिम्मा पुरुषले नै लिनुपर्छ, पिता, पति, पुत्र वा अन्य कुनै रूपमा होस् । कुनै नारी पुरुषको छहारीबिना बाँच्नै सक्दिन भन्ने धारणा कसरी विकास भयो यो समाजमा ? कुनै नारीले सुख पाई भने पुरुष गर्व गर्छ र छाती फुलाउँछ । मैले मेरी फलानी (पत्नी, आमा, बहिनी, दिदी ……) लाई सुख दिएँ भनेर तर त्यही पुरुषको करणले उसले दुःख पाई भने, कष्ट भोग्नु पर्यो भने ऊ पन्छिइदिन्छ, नारीको भाग्यलाई अघि सारेर ‘भाग्यै खोटो रहेछ दुःख पाई’ भन्दै । यही हो त नारी माथिको न्याय ?

नारीमाथि शासन गर्न, नारीलाई परतन्त्रताको साङ्लोले बाँधिराख्न, नारीमाथि एकाधिकार जमाउन, कुनै पुरुषलाई पति मान्नै पर्ने, आमा नभई नारी पूर्ण हुन्न, आमा नभई वा सन्तान नजन्माएकी बाँझी आइमाई मरी भने घोर नर्कवास हुन्छ, नारीले सधैं पतिको सत्मा (सत्यमा) बस्नै पर्छ, पति भनेका परमेश्वर हुन्, साक्षात् इश्वर हुन्, उनको पूजा गर्नु धर्म हो, पति भक्तिभन्दा महान् अर्को धर्म छैन, पत्नी पतिको चीरदासी हो, पैतालाको धूलो हो । पति भक्ति र पतिसेवाभन्दा ठूलो र महान् अर्को कुनै धर्म नभएकाले त्यस्ता नारी मरे वैकण्ठवास हुन्छ, र्स्वर्गमा युग-युगसम्म बास पाइन्छ भनेर पतिव्रता धर्म र पतिभक्तिको पाखण्ड रचेर पुरुषले त्यसको महानता मन्त्रजस्तै रटाएको छ नारीलाई । अब त्यस्तो अन्धविश्वासको साङ्लो तोडेर नारीमुक्ति, हक, अधिकार, स्वतन्त्रता र आफ्नो चौतर्फी विकासका लागि नारी कहिले उठ्लान् – खै कहिले उनीहरू एउटा सिङ्गो मानिस भएर यस समाजमा स्वतन्त्रपूर्वक बाँच्न सक्ने हुन्छन् ? यसका लागि उनीहरू नै उठ्नु पर्छ, जुध्नु पर्छ, एक हुनुपर्छ र सङ्घर्ष गर्नुपर्छ । बिना सङ्घर्ष अधिकार पाइँदैन । पाइँदा लियो भने पनि त्यो दिगो र राम्रो हुँदैन ।

मेरा मनमा अनायस दौडिरहने यस्ता चिन्ता र सोचाइका तरङ्गले मलाई बेला-बेला व्याकुल बनाउँछ । यस्तै सोचाइको लहरले मनलाई बहकाउन थालेपछि म आफूलाई व्यस्त राख्न थाल्छु । त्यसैले अहिले पनि आफ्नो काममा जुटेँ ।

भाग – २३

मैले रित्तो सपना बोकेर उराठ र निरस जिन्दगी बिताउन थालेको दुई दशक भयो । हेर्दाहेर्दै आकास माझबाट हराएको ताराजस्तै बिलाएर गइन् गङ्गा मेरो जीवनबाट । उनको अनुपस्थितिमा एकदम गुह्रुङ्गो अस्तित्व लिएर म बाँचिरहेँ । उनीले छोडेपछि मेरो यो घर र यो कोठाको मादकता र वसन्त नै हरायो । गङ्गाको स्थान ओगट्न सक्ने अर्की महिलालाई पत्नी बनाउने र पुनः अर्को दाम्पत्य जीवन बिताउने हिम्मत पनि ममा आएन । त्यसैले आफ्ना विगतका सारा सुरम्य घटनाहरू, सोचाइहरू, उज्याला रातहरू र हँसिला र सुखद क्षण तथा साथहरू सबैलाई धमिल्याएर छोपेँ, बिर्सन खोजेँ । पीडा र बेवास्ता तथा लापरवाहीको थुप्रोभित्र ओझल पारिदिन खोजेँ र केही हदसम्म आफू सफल भएजस्तो पनि लागिरहेछ । अहिले मलाई गङ्गाको त्यति सम्झना आउँदैन । उर्मीलाई सम्झनुको त झन् कुनै औचित्य नै देख्दिनँ । उनलाई त मैले सम्झदै नसम्झिए पनि हुन्छ तर……… खै किन हो उनैलाई चाहिँ भुल्न सकिरहेको छुइनँ । उनी मेरो अज्ञात छोराकी आमा हुन् भनेर उनलाई भुल्न नसकेको पनि होइन । उनीले बेलाबेलामा पठाउने पत्रकै कारणले हो उनीलाई मैले पूर्ण रूपले भुल्न नसकेको ।

गङ्गा मेरी पत्नी कहाँ गएर कसरी दिन बिताउँदै छिन् मलाई थाहा छैन । मैले केही प्रयास त गरेँ उनलाई खोज्न तर उनी भेटिइनन् । मेरो हित र मेरो वंशले निरन्तरता पाओस् भन्ने सोचेर नै उनले मलाई छोडेकी छन् । उनले जस्तो सोचेकी थिइन् आखिर त्यस्तो हुन सकेन । उर्मीले गरेको विद्रोहभन्दा ठूलो विद्रोह र त्याग गरेर गइन् उनी । उनले स्वर्ग प्राप्तिकै लागि त्यो त्याग गरेकी हुन् त ?

उर्मीले एक दिन मसँग भनेकी थिइन्, “……… त्यसैले मैले स्वर्गको आस गरिनँ । जिन्दगीभर एउटा पशुजस्तो भएर दाम्लोमा पतिको गोडा धोएको पानी पिएर उसैको सेवा शुश्रूषा गर्दै दासी भएर बसे प्राप्त हुने स्वर्ग मलाई चाहिँदैन । पत्नी एउटी दासी हो, चरणको धूलो हो र सन्तान उत्पादन गरेर वंश परम्परा धान्ने साधन हो भनेर सोच्ने त्यस्तो पति पनि चाहिँदैन मलाई । मलाई त्यस्तो वैभव पनि चाहिँदैन जसले गर्दा मैले कसैको दासत्व स्वीकार्नु परोस् ।”

उनले लोग्नेबाट उचित व्यवहार पाइनन् । त्यसैले उनलाई विद्रोही बनायो र त्यसो भनिन् र त्यही अनुरूपको व्यवहार पनि गरिन् तर मैले त गङ्गालाई अनुचित व्यवहार गरेको थिइनँ । उसलाई मैले स-सम्मान व्यवहार गरेको थिएँ । असाध्यै प्रेम गरेको थिएँ । त्यही प्रेम र सम्मानले उनलाई मबाट टाढा पुर्यायो । मैले उनलाई हेला नै गरेर उनीमाथि सौता हालेको भए उनले छोड्ने थिइनन् कि ?

हुन त म पनि पुरुष नै हुँ । पुरुष भएर पुरुषको खोट देखाउन अलिकति लाजसरम पनि हुनुपर्ने तर लाज पचाएरै पनि भन्नुपर्छ साँचो कुरा । पत्नीको काम वासना ब्यूँझाएर तृप्त गर्न नसकेर पुरुषले नारीको रतिराग नछल्कियोस् भनेर नै पतिव्रता धर्म बनाएको हो । पुरुष आफ्नो पौरुषत्वको अपमान सुन्नुपर्दा ऊ रिसाउँछ । पुरुषकै इतिहासमा कलङ्क रहेछ भने पनि आफ्नो पुरुषत्वको कुरा गर्दा घमण्डले छाती फुलाउँछ लोग्ने मान्छे । यही यथार्थता बुझेर पनि उर्मीले विद्रोह गरेको हुनसक्छ । गङ्गा उर्मी जति चलाख थिइनन् । त्यसो त गङ्गामाभन्दा उर्मीमा धर्मशास्त्रसम्बन्धी धेरै ज्ञान पनि थियो । परिन् नै उनी पण्डितकी छोरी । जो धेरै जान्दछ त्यसैले बाटो बिराउँछ । कानुन जान्नेले नै कानुन उलङ्घन गर्छ, नजान्ने त डराउँछ नि कानुनको उलङ्घन गर्न ।

मनमा एकतमासले ओइरिने यस्ता तर्कनालाई आफ्नो आत्मकथाभित्र धेरै ठाउँ नदिन नै मैले आफ्नो जीवनचर्यालाई सहज बनाउने प्रयास गरेको । आफूलाई कति प्रयास गरेर बल्ल-बल्ल सम्हाल्यो, फेरि उर्मीको पत्र आउँछ र बिथोलिदिन्छ । शान्त तलाउमा फालिएको ढुङ्गाजस्तो भएर आइदिन्छ उर्मीको पत्र र तरङ्गहरू सृजना गरिदिन जिन्दगीमा । पुनः आयो उनको पत्र । त्यसमा उनले लेखेकी थिइन्, ‘मनमा अनुभूतिहरूको अर्न्तर्द्वन्द्व चलिरहन्छ । यो घातक हो, चिन्ताभन्दा पनि भयावह परिस्थिति जन्माउँछ यसले भनेर जान्दाजान्दै पनि म त्यसबाट पन्छिन सकिनँ । मलाई थाहा छ यसले र्सवनाश निम्त्याइरहेछ । यो मनमा भावनाको युद्ध, तर्क, तर्कनाको युद्ध रोकिनुपर्छ । अझ भनौं न मैले रोक्नुपर्छ । यसको अन्त नहुन्जेल मैले जीवनमा सुख उपभोग गर्न पाउँदिन भनेर जान्दाजान्दै पनि म किन यसरी खुकुलिन थालेकी ? कहीं महाराज युधिष्ठिरको श्राप मलाई पनि लाग्न थालेको त हैन ? उनले कर्णका आफ्नै दाजु भएको यथार्थ थाहा भएपछि आफ्नी आमाको व्यवहार, उनले सत्य र यथार्थलाई त्यसरी लुकाएको देखेर क्रोधित भएकाले युधिष्ठिरले अबदेखि आइमाईको मनमा कुनै पनि कुरा नअडियोस् भनेर श्राप दिएका थिए रे । कतै त्यही श्रापको प्रभाव मलाई पर्न थालेको त होइन ? कुन्तीले गल्ती गरेकी थिइन् तर आज श्राप हरेक हिन्दू नारीले भोग्नुपर्छ र ? यस्तै भावना मनमा आइरहेकै थिए । उनीले आफ्नो पुरुषार्थको हाँक दिएर भने, “उर्मी, पत्नी पतिको दासी हो, पतिको मनोरथ पूर्ण गर्नु पत्नीको परमकर्तव्य हो भन्ने कुरा नबिर्स तिमी ।”

उनको कुराले मलाई चौपट्टै रिस उठ्यो । मैले त्यही रिसको झोकमा के-के भनेँ के-के । उनी पनि असाध्यै रिसाएका थिए । उनी साह्रै रिसाएको देख्दा मलाई चौपट्टै हाँस उठ्यो र फिस्स हाँसेँ पनि । उनले त्यसलाई आफ्नो पुरुषार्थप्रतिको हाँक ठानेछन् कि क्या हो, बिस्तारै तर तीखो स्वरमा भने, “आइमाईहरू कतिसम्म दुष्ट हुँदा रहेछन् भनेर म अहिले बुझ्दै छु । मीठो बोली, कोमल र्स्पर्श र मधुर स्वरमा विष घोलेका हुन्छन् । मायाको नाटक गर्दै सुमसुम्याउँदै छुरा रोप्छन् । तैंले त्यसै गरी छुरा रोपिस् मेरो माझ हृदयमा । तेरो मीठो मुस्कान र कोमल हृदय त पूरै विषले भरिएको रहेछ । छिः छिः छिः …….. !”

“मलाई के विष ठान्छौ ? मैले तिमीलाई मार्न खोजेकी छु र ? इश्वर र धर्मको दुहाई दिएर आफू पवित्र छु, चोखी छु भन्ने ठान्दिन म । इश्वरको दरबारमा हाजिर भएर आफ्नो सतीत्वको परीक्षामा उत्तीर्ण हुने प्रयास पनि गर्दिनँ म र त्यसो गर्नुको कुनै अर्थ पनि रहँदैन । यति कुरामा तिमी ढुक्क होऊ कि मैले तिम्रो इज्जतलाई धूलोमा मिलाउन खोजिनँ बरु जोगाउने, बचाउने नै प्रयास गरेँ ।” मैले यति भनेँ ।

त्यसपछि हामीबीच धेरै भनाभन भयो । उनले मलाई पिट्ने प्रयास पनि गरे तर मैले त्यसको सशक्त प्रतिकार गरेँ । हामीबीच बोलचाल हरायो । एउटै घरको छतमुनि बसेर पनि हामी बिराना परचक्रीजस्ता भयौं । म झुक्न चाहिनँ उनीसामु । मैले प्रेम, माया र सहयोग मागिनँ उनीसँग । किन पो माग्नु मैले सहयोग र माया उनीसँग ?

सौभाग्यवती नारी आफ्नो सिउँदोको सिन्दूर पुछ्नुभन्दा, गलाको पोते चुडाल्नुभन्दा बरु पतिसँग एउटै चितामा जलेर सती जान्छे । जीवनभरको वैधव्य वेदना खपेर जिउनुभन्दा आफ्नो पतिको साथ जलेर युगयुगान्तरसम्म स्वर्गमा बास गर्छे भनेर उक्साई-उक्साई चितामा चढाएर मखमली बस्त्रसमेत बिझाउने नारीको कोमल देहमा आगो लगाएर पिल्स्याउने अनि बाँसले कुटी-कुटी पोल्ने नारी अग्निदाहको पीडामा छटपटाउँदै मरेको दृश्य हेर्न सक्ने पुरुषको मन त्यति सजिलै पग्लन्छ भनेर म कसरी विश्वास गरूँ र उसको सामु प्रेम र सहयोगको भिक्षा मागूँ म ?

उनीसँग बिहे गरेर गएपछि मनको पीडामा मल्हमपट्टी लगाएर पतिको न्यानोसाथ र मीठो मायामा भुल्ने प्रयास त्यस बेला मैले गरिनँ र ? यथार्थतालाई बिर्सिएर काल्पनिकतामा रम्ने प्रयास गरेर कतिपल्ट हाँसेँ पनि हुँला तर सत्य साह्रै कठोर हुँदो रहेछ । त्यो कठोरताबाट डराएर कर्तव्यबाट विमुख हुनु अब मैले कसै गरे पनि हुँदैन भन्ने सोचेर नै मैले आफ्नो अस्तित्वको लागि लडेँ, जुधेँ तर हार्ने परिस्थिति सृजना भएपछि एउटा हीनताबोध सृजना भयो मनमा …..। तर त्यही हीनताबोधले अर्को झन् ठूलो आक्रोश उत्पन्न गराइदियो । त्यस बेला मलाई चाणक्यको, ‘पुरुषभन्दा स्त्रीको आहार दोब्बर, लज्जा चार गुणा, साहस छ गुणा, काम आठ गुणा बढी हुन्छ ।’ भन्ने नीति वा भनाइको संस्मरण भयो । त्यसैको प्रेरणा पाएपछि त म उनको आँखा छलेर विद्रोह गर्न तम्सिएँ । कतिपय कठोर विद्रोह कहिलेकाहीँ घातक पनि सिद्ध हुन्छ भन्ने कुरा मलाई तिमीले नै सम्झएका थियौ तर म त्यसलाई मान्न कहाँ तयार थिएँ र ? आफ्नो अस्तित्वका लागि एउटा मानवीय भावनालाई मर्न नदिई जीवन्तता प्रदान गर्न मेरै सौताको विध्वंसको कारण आफू बन्नु परेको पीरबाट मुक्ति पाउन नै म द्वन्द्वमा होमिएँ । जसरी आवश्यकता आविष्कारको जननी हो, त्यसैगरी द्वन्द्व नै जीवनको अस्तित्वको रक्षाशक्ति हो । जसले संघर्ष गर्न सक्दैन परिस्थिति र परिवेशको द्वन्द्वमा पराजित हुन्छ । उसको अस्तित्व समाप्तै हुन के बेर – भन्ने सोचेर नै म तिम्रो सामु निरावरण हुन अघि सरेँ । एउटी स्वास्नी मान्छेको सबैभन्दा ठूलो गहना वा धन आवरण नै हो । ऊ अत्यन्तै विकट परिस्थिति नआई निरावरण हुन्न । परमनिर्लज्ज भएर बैंसको खहरेमा निर्बस्त्र रुझ्नेलाई त के भनूँ र ? नत्र एउटी नारीको उत्तम धन र असल जीवन आफ्नो आवरणको रक्षा, सतीत्व र नारीत्वको रक्षा नै हो । यी सबै बुझेर पनि मैले आफ्नो तन, मन तिमीलाई सुम्पिएँ ।

मैले आफ्नो शारीरिक भोगबाट पूर्णतः तृप्ति पाउनकै लागि तिम्रोपछि लागेकी होइन भनेर धेरैपल्ट भनिसकेकै छु र त्यस बेला पनि भनेकी थिएँ । सम्भोगको सुख भोगमा मेरो मन आनन्दित नभएको त होइन । म प्रसन्न भएकै थिएँ । साँच्चै जीवनमै पहिलोपल्ट त्यति धेरै प्रसन्नता मिलेको थियो होला मलाई तर त्यो प्रसन्नता सम्भोग सुखले हैन सन्तान प्राप्तिको आशाले प्रदान गरेको थियो मलाई ।

मैले त्यस कार्यलाई पाप ठानिनँ र अझै ठानेको छुइनँ । लोकाचारबाट बच्नु धर्म हो । दुनियाँ लोकले नदेखी गरिएको कुनै काम कुकृत्य हुन सक्दैन । पाप त लोकले देखेबुझेमात्र लाग्छ किनकि पाप र धर्म दुनियाँको आँखामा हुन्छ । दण्ड सजाय गर्ने कि त समाज नै हो कि त देशको प्रचलित कानुनले । यी दुबैको आँखा छलियो भने त्यो कर्म कसरी पाप हुनसक्छ – जुन काम गरेबापत कुनै दण्ड सजाय प्राप्त हुँदैन त्यस कामलाई म पाप कसरी ठानूँ – बरु मैले त पुरस्कार पो पाएँ । तिमीसँग त्यो सम्बन्ध र सर्म्पर्क भएकै कारणले त छोरो जन्माएँ । त्यसलाई पुरस्कार नै भन्नुपर्छ ।

त्यसो गर्नु मेरो भूल थियो त – समाजले नै मलाई त्यस्तो कार्य गर्न बाध्य पारेको थियो भने दोषी त्यही समाज हैन र – म मेरो पतिप्रति प्रतिबद्ध भएर उनकै सत्लाई अँगालेर बसेकी भए पनि यो समाजले मलाई थारी आइमाई, अपुत्री, बाँझी भनेर पानीबाट काढ्न बेर लगाउने थिएन । कुन बाटो रोजेको भए मेरो मनले शान्ति पाउँथ्यो – पारिवारिक र सामाजिक उत्पीडनबाट विच्छिन्न र दुर्बल भएको मेरो मनले तिमीबाट सहानुभूति खोज्यो । म हिम्मती भएँ र लड्न जुध्न तयार भएँ । अनि म पारिवारसँग लडेँ, समाजसँग लडेँ, आफू स्वयम्भित्र रहेको ‘स्वः’सँग पनि लडेँ । मेरा सम्पूर्ण आन्तरिक ‘स्वः’हरू अनि समाज, परिवार मलाई दोषी प्रमाणित गर्न चाहन्थे कि क्या हो – नारी स्वतन्त्रता, हक, अधिकार र पति वरणको स्वतन्त्रताजस्ता सत्य तथ्यलाई सती धर्म वा पतिव्रताको पाखण्डी खोल ओडाइएको छ । हिन्दू संस्कार लेख्ने ऋषिमुनिहरूले नारीलाई पुरुषप्रति उत्तरदायी बनाए किनकि उनीहरू स्वयम् पुरुष थिए र नारीमाथि निरङ्कुश शासन चलाउन र नारीलाई उपभोग गर्न चाहन्थे ।
म राग विरागको चक्रव्यूहभित्र रुमलिइरहेका बेला मलाई थाहा थिएन म त्यहाँबाट निस्किएर एउटा उन्मुक्ति प्राप्त गर्न सकूँला कि नसकूँला भनेर । तर त्यस बेला नै मैले बुझिसकेकी थिएँ कि हिन्दू नारीले मन्त्रजस्तै गरेर जप्ने गरेको पतिव्रता धर्म केवल एउटा कोरा आदर्शमात्र हो भन्ने बुझिसकेकी थिएँ तर पनि खै किन हो मेरो मनले स्वतन्त्रता वरण गर्न सकेन । त्यसैले तिनै पतिको छत्रछायाँमा बसेरै मैले आफ्नो इच्छा पर्ूर्ति गरेँ ।

स्वर्ग र नर्क दुबै यही धर्तीमै छन् भन्ने कुरा मैले विश्वास गरेँ । मैले यहीँ स्वर्ग भोगेकी छु र नर्क पनि भोगेकी छु । मैले मेरो परिवारसँग विद्रोह गर्ने निर्णय गर्नुभन्दा अगाडि एकपल्ट आत्महत्या गर्ने विचार नगरेको पनि होइन । विद्रोहमा नउत्रिएकी भए सायद त्यसै बेला आत्महत्या गरिसक्थेँ होला । मलाई आफ्नो कर्मप्रति कति पनि पछुताउ छैन तर आजकाल समाजका असङ्ख्य आँखाहरू मलाई सधैं चिहाइरहेका हुन्छन् । मेरै कुरा काटिरहेका हुन्छन् साउतीको स्वरमा । ती आँखाहरूलाई पनि म दोष दिन चाहन्न । यिनीहरू त युगौंयुगदेखि हामीले अवलम्बन गरिरहेका सामाजिक मूल्य र मान्यताको प्रभावबाट मुक्ति पाएकै छैनन् भने उनीहरूले त्यसो गर्नु कुनै आर्श्चर्य पनि हैन ।

आफ्नै सामाजिक मूल्य मान्यता र रूढिवादी परम्परामा जकडिएकी मेरी सासू लाग्नेको जुठोपुरो अमृत हो, खानुपर्छ भनेर मलाई बाध्य पार्थिन् लोग्नेको जुठो थालमा भात खान । मलाई त वाक्क आउँथ्यो । साह्रै मन परेको र अन्तर्आत्माले नै रोजेको पुजेको व्यक्तिको जुठो खान फेरि घिन नलाग्ने, मान्छे मन नपरेपछि त्यो हिँडेको बाटो पनि गन्हाउँछ भनेको ठिकै रहेछ । लोग्नेले हानेको लात र उसको खुट्टालाई इन्द्रासन ठान्नु पर्ने नारीको विवशता ।
सती नारीले मृत्युलाई जित्न सक्छे । सती नारीले इश्वरको समेत तेजोबध गरिदिनसक्छे भनेर व्यख्या गरेर नारीलाई पुरुषप्रति निष्ठावान् रहन प्रेरित गर्ने छली पुरुषहरू आफ्नो स्वार्थ पूर्तिमै निमग्न रहेका हुन्छन् ।

सतीको मान्यता राख्ने हिन्दू धर्म र आचार संहिता लेख्ने पुरुषले आफ्नो हातमा कलम पर्र्यो भन्दैमा नारीमाथि यति विघ्न अन्याय र अत्याचार गर्नुहुन्छ – नारीको हातमा कलम परेको भए सायद पुरुषमाथि यति अन्याय गर्न सक्ने थिएनन् किनकि उनीहरू त्यति कठोर बन्नै सक्दैनन् । सतीको सतीत्वको इतिहासमा केही इज्जत अवश्य छ । मेरो अन्तरआत्माले यसलाई स्वीकारेको छ किनकि उनका पति राम पनि एक ब्रहृमचारी थिए अर्थात् सीतासँग मात्र सीमित थिए । शशीको सतीत्वको के अर्थ छ, उनको पति इन्द्रचाहिँ वासनाले प्रेरित भएर अनेक छलछामको प्रपञ्च रचेर स्त्रीको सतीत्व हरण गर्न पुग्छ भने – आफ्नै गुरुकी पत्नीलाई समेत नछोड्ने देवराज इन्द्रकी पत्नीको सतीत्वको केही अर्थ रहन्छ त – गुरुपत्नी, मित्रकी पत्नी, राजपत्नी आमा बाराबर हुन्छन् भनेर व्याख्या गर्ने हाम्रो शास्त्रले गुरुपत्नीसँग सम्भोग गर्ने इन्द्रलाई खै त सत्ताच्युत गर्न सकेको – अनेक कुरा दोहोरो रूपमा हुनुपर्छ नि । खालि नारीमाथि नै अन्याय थोपरेर हुन्छ ?

सीतालाई सतीस्त्रीको रूपमा मेरो मनले केही सम्मान गरे पनि उनलाई बेकामे नारी ठानेर उत्तिकै धिकार्छ मेरो मनले । ती सीता आफू अविवाहित हुँदा आफ्नो बाबुको अगाडि नारीको पक्षमा बहस गर्थिन्, आफ्नो दरबारमा आएर आफ्ना पिताका सामुन्ने बसेका गौतम ऋषिलाई तपाईंले गौतमी -अहिल्या) माथि अन्याय गर्नुभयो । इन्द्रले आफ्नो रूप बदलेर तपाईंको रूप धारण गरेर उनको सामु गयो र सम्भोगको प्रस्ताव राख्यो । बिचरी गौतमीले चिनून कसरी यो मेरो पति होइन छली इन्द्र हो भनेर – आफ्नै पति आफ्नो सामु उभिएर रतिरागको अनुनय गर्छ भने एउटी स्त्रीले अस्वीकार कसरी गरोस् – उनले स्वीकारिन् त्यसमा उनको के दोष – दोष त सबै इन्द्रको थियो तर फेरि तपाईंले श्राप दिएर अहिल्यालाई पत्थर किन बनाउनु भयो – तपाईं साँच्चैको पुरुष हुनुहुन्थ्यो भने अहिल्यालाई माफ गरेर इन्द्रलाई सजाय दिनसक्नुपथ्र्यो । अहिल्यालाई सजाय दिएर तपाईंले ठूलो भूल गर्नुभयो । त्यो श्राप फिर्ता लिन कर गरेकी थिइन् । त्यस्ती सीता पछि आफूमाथि त्यत्रो अन्याय हुँदा पनि त्यसको विरोधमा एक शब्द बोलिनन् । उनले चूपचाप सहिरहिन् सम्पूर्ण आरोप र सजाय । यसरी उनी आफू निर्दोष हुँदाहुँदै पनि सबै आरोप र सजाय सहेकीले त यो समाज उत्प्रेरित भयो नारीमाथि थिचोमिचो र अन्याय गर्न । त्यसै बेला उनले सशक्त प्रतिकार गरेकी भए कमसेकम अहिलेका नारीहरूले यसरी हेपिनु र पिसिनु त पर्ने थिएन होला नि ।

भाग – २४

ती दिनहरू सम्झन्छु, जुन बेला म जीवनप्रति उत्सुक थिएँ । दाम्पत्य जीवनप्रति अनुभवहीन थिएँ र पनि जीवनको भोगाइ र पतिको अधीनस्थ भएर उनैको परतन्त्रताको अस्तित्व स्वीकारे बाँच्न रमाइलो होलाजस्तै सोचेँ । आशा, अभिलाषाहरू धेरै थिए तर तिनको भोगाइ र जीवन सङ्घर्षप्रति अज्ञान, अनभिज्ञ र अनुभवहीन हुँदाहुँदै पनि त्यतातिरै बढी आकर्षित पनि भएकी थिएँ । सम्भवतः त्यो उमेरले ल्याउने आकाङ्क्षा होला । म त्यसैको वशमा परेकी थिएँ तर विवाहपश्चात् मैले त्यस्तो केही पाइनँ, अन्तर्द्वन्द्वले मात्र मलाई पछ्याइरहृयो । सन्तुष्टिले आत्मसात् गर्नै सकेन, छुँदा पनि छोएन ।

मेरी सासू, उनको बारेमा धेरै कुरा पनि भनिसकेँ, अझै कति भनौं ? कति लेखौं ? लोग्ने मान्छेले नौवटी स्वास्नी ल्याए पनि ऊ चोखै हुन्छ, उसको मर्यादा घट्दैन भन्थिन् । छोरो (मेरा पति) त्यसैमा घमण्डले छाती फुलाउँथे । मेरी सासू यही समाजका सम्पूर्ण सासूहरूकी प्रतिनिधि भने जरुर हुन् । नाथे बुहारीहरू भनेका छोराका जुत्ताहरू हुन्, ती कहाँ मान्छे मान्नका लायकका आइमाई हुन् र ? तिनीहरूलाई माया गर्नु भनेको पुल्पुल्याएर टाउकामा टेकाउनु हो । त्यसो गर्नु हुँदैन जुत्ताले खुट्टामै शोभा दिन्छ टाउकामा दिँदैन भन्ने एकदमै विषालु परम्परागत सोचाइ र मान्यता बोकेकी थिइन् उनले । पति, नन्द, ससुरा सबै उस्तै थिए । एउटी सौता सङ्घर्ष गर्न नसकेर, जुधेर आफ्नो अधिकार खोज्न नसकेर आत्मसमर्पण गरेर हिँडिसकेकी थिइन् । त्यस्तो ठाउँमा, त्यस्तो घरमा सङ्घर्ष गर्न, विद्रोह गर्न म अघि सरेँ । एउटा सिङ्गो युगकै प्रतिनिधित्व गरेर उभिएका पति र सासूसँग जुधेर अर्को युगको निर्माण गर्न, निर्माणको चर बसाल्न, त्यसमा इंटा थप्न म तम्सिएकी । सच्चरित्रता ममा छँदै थिएन र म कर्तव्यनिष्ठ र अनुशासित थिइनँ भन्ने आरोप पनि लाग्न सक्ला तर मैले आफूलाई नैतिकहीन कसरी ठानूँ ? अज्ञानतावश भनौं कि बैँसको उर्लंदो खहरेमा बहकिएर मैले सनतसँग प्रेम गरेँ । त्यसैको भरमा मलाई एकदमै अपवित्र, तुच्छ र चरित्रहीन सम्झनुहन्छ त ? त्यस्तो सोच्ने हो भने त आजसम्मकी त्यस खालको चरित्र भएकी पहिली नारी मलाई नै ठान्न सक्नुपर्छ यस समाजले । अन्जानमा गरेको गल्ती वा पहिलो गल्तीलाई त मानिसले क्षमा गर्न सक्छन् नि । जानी-जानी बारम्बार गल्ती दोहोर्याइरहनु पो अपराध हो त । मैले आफ्नो अस्तित्व जोगाउन, पतिको इज्जत, मान, मर्यादामा कुनै दाग नलगाई गरेको कर्मलाई साँच्चै अपराध नै मानिन्छ त ?

महाभारत साक्षी छ, सन्तान प्राप्ति कै लागि भीष्म र उनकी कान्छी आमा सत्यवतीले अम्वालिका र अम्बिकालाई जबर्जस्ती व्याससँग शारीरिक सम्पर्क गर्न पठाएका थिए । उनीहरू राज्यसत्ता सम्हालेर बसेका शक्तिशाली मानिसहरू थिए । त्यसैले उनीहरूले अम्वालिका र अम्बिकामाथि गरेको त्यो घोर अन्याय अन्याय ठहरिएन, पाप ठहरिएन तर यदि स्वेच्छाले कसैको रूप रङ्ग वा स्वभावसँग आकर्षित भएर अम्बिका र अम्वालिकाले कुनै परपुरुषसँग संसर्ग वा सम्पर्क (सम्भोग) गरेका थिए भने त्यो समाजले उनीहरूलाई माफ गर्न सक्थ्यो ? ती दरबारिया मालिकहरूले उनीहरूलाई वेश्या भनेर लगार्ने थिएनन् त ? उनीहरूले आफ्नो-आफ्नो सतीत्वको बलिदान गरे केका लागि ? आफ्नो पतिको वंश धान्न ? कि राज्यको उत्तराधिकारी खोज्न ? के उनीहरूले त्यस बेला व्याससँगको संसर्गबाट जन्मेको सन्तान महाराजा बन्छ र आफू राजमाता भएर सुख ऐर्श्वर्य भोग गरूँला भनेर सोचेका थिए ? त्यस्तो महत्त्वाकाङ्क्षा साँचेर उनीहरूले आफ्नो अस्मिता व्यासलाई सुम्पेका थिए ? उनीहरू कसैको करमा आफू निरावरण भएका थिए । म आफ्नै इच्छाको वशमा परेर तिम्रो सामु निरावरण भएकी थिएँ, फरक त्यतिमात्र थियो । यतिकै आधारमा मलाई दुत्कार्छ त यो समाजले ? ती अम्वालिका र अम्बिकालाई दुत्कार्न नसक्ने समाजले मलाई किन दुत्कार्छ ?

व्यासको वीर्यवाट जन्मिएका तीन पुत्रहरू धृतराष्ट्र, पाण्डु र विदुरमध्ये योग्य त विदुर थिए नि राजा हुन । धृतराष्ट्र अन्धा थिए, पाण्डु महारोगी तर पनि यी दुबैले राजगद्धीमा आसीन हुने मौका पाए । शारीरिक अयोग्यता हुँदाहुँदै पनि दुई भाइ राजा भए तर विदुरले त्यो सुख भोग्न पाएनन् किनकि उनी दासी पुत्र थिए । एउटै बाबुको वीर्यबाट जन्मेका पुत्रहरूमा यत्रो भिन्नता आउनुको कारण नारीलाई माने । यसरी उनीमाथि यत्रो अन्याय गर्नुहुन्थ्यो त ?

छलको खेती फस्टाउन थालेपछि सत्य ओझेल पर्छ । धृतराष्ट्र राजा सन्तनुका वंश भएर उनको अधिकारको उपयोग गर्थे तर वास्तवमा त उनी कहाँ थिए त सन्तनुका सन्तान ? त्यही जालझेलमा हुर्केका अन्धा महाराजा धृतराष्ट्र र उनका त्यागी हजुरबुबा भीष्म, युधिष्ठिर, भीम, अर्जुनजस्ता व्यक्तिहरू तथा अन्य निष्ठावान् ज्ञानी र बहादुर भाइभारदारहरूले भरिएको राजसभाको बीचमा बिचरी द्रौपदीलाई नङ्ग्याउन कौरव लागिपरे । आफ्ना सारा मान्यजनको सामु उनको आङको बस्त्र झिकेर उनलाई निरावरण गराउँदा उनलाई कति पीडा भयो होला ? उनले इज्जतको भीख मागेर अनुनयविनय गर्दा पनि पग्लिएन ती भीष्मको मन । ती पति भनाउँदा के हेरेर बसे त्यस बेला ? आफ्नी पत्नीको इज्जतभन्दा ठूलो तिनीहरूको बाचा हो ? नारीमाथि कहिल्यै न्याय गर्न सकेको छैन हाम्रो धर्म र शास्त्रले ।

अम्बिका र अम्वालिकाबाट जन्मेका पुत्रहरू धृतराष्ट्र र पाण्डु विचित्रवीर्यको प्रतिनिधि वा उत्तराधिकारी भएर हस्तिनापुरको राजा भए तर कुन नाताले – विचित्रवीर्यको सन्तान त उनीहरू होइनन् त । केवल विचित्रवीर्यका पत्नीबाट जन्मेका थिए उनीहरू त । बाबु त अर्कै थिए नि । यहाँ ठीक यस्तै त भएको छ नि । म विनोदकी पत्नी, मेरो गर्भबाट जन्मेको छोरो वसन्त विनोदको उत्तराधिकारी बनेको छ । ऊ विनोदको सन्तान नभए पनि म विनोदकी पत्नी भएकी नाताले ऊ उत्तराधिकारी भयो धृतराष्ट्रजस्तै । त्यो घटनालाई शास्त्रले स्वीकार्žयो, धर्मले मान्यो भने म र मेरो छोरालाई नमान्ने किन ? बाध्य भएर स्वीकार्नुपर्छ यो समाज, धर्म र कानुनले ।

पुराण लेख्ने धर्मशास्त्रका रचनाकार वेदव्यास न बाहुनीका छोरा थिए न विवाहिता स्त्रीका नै छोरा थिए । उनी एउटी अविवाहित कन्या कुमारी केटीको गर्भबाट जन्मिएका छोरा थिए तर पनि शास्त्रले उनलाई कत्रो इज्जत दिएको छ । अहिले यहाँ एउटी अविवाहित कन्याले छोरा जन्माओस् त त्यसलाई वेश्या भनेर कसरी जगल्ट्याउँदो रहेछ यो समाजले । त्यस नारी र उसको बिनाबाबुको बतासे छोरो दुबैलाई दुत्कार्छ, समाजबाट निकाल्छ यो सामाजिक कानुनले । तर त्यस बेला यो समाज र हिन्दू धर्म अनि शास्त्रले किन सकेन त व्यासलाई वेश्यापुत्र भनेर दुत्कार्न ? कि शक्तिशाली र टाठाबाठाले चाहिँ जे गरे पनि हुन्छ ?

आफ्नो पोइ अन्धो छ, आफ्नो स्वामीले संसार हेर्न सक्दैन त्यसैले आफूले मात्र यो संसार कसरी हेरूँ भनेर पतिझैं अन्धी हुन आफ्ना आँखामा पट्टी बाँध्ने गान्धारी र विवाहपूर्व नै छोरो जन्माएर फ्याँकिदिने, लोकलाजबाट बच्न त्यति निर्दयी बन्ने र पुनः कुमारी बनेको ढोङ रचेर पाण्डुलाई वरमाला पहिर्žयाउन अघि र्सर्ने कुन्तीलाई समान दर्जा र समान इज्जत दिएको छ शास्त्रले । यसो गर्नु गान्धारीमाथिको अपमान होइन त ? गान्धारीको त्यागको मूल्याङ्कन कसरी भयो खै ? तिम्री गङ्गा एक निष्ठावान् पतिव्रता नारी हुन् र उनले आफ्नो त्यो निष्ठा जोगाएरै राखेकी छन् तर पनि खै त उनको जीवनमा बहार आउन सक्यो ? उनले हजारौं दुःख सिवाय सुख कहिल्यै पाइन् जीवनमा ? त्यर्सथ पनि म त्यो पुरानो मान्यता त्याग्नपट्टि लागेँ । मैले आफ्नो अस्तित्व जोगाउन, सुख र समृद्धि खोज्न जेजति गरेँ त्यसमा पछुतो एकजात छैन र ……….. ।ँ यस्तै-यस्तै धेरै कुराहरू लेखेकी थिइन् उर्मीले । उनको पत्रले मेरो मनलाई आकुलव्याकुल त बनाउने नै भयो । मनका तर्कनाहरू झन् ओइरिने नै भए । मैले आफ्नो जीवनको बारेमा एउटा ठोस निर्णय गर्न सकिनँ । कुनै तीर्थमा गएर काल पर्खूंजस्तो लाग्न थालेको पनि थियो । तीर्थ भ्रमण गरूँ एक-दुई वर्ष भ्रमण क्रममा कहीँ गङ्गासँग पनि भेट भइहाल्छ कि जस्तो लागेर नै केही आर्थिक जुटाउँदै पनि थिएँ । यस्तै के गरूँ, कहाँ जाउँ, जाऊँ कि नजाऊँ – आदिको अल्झनमा अल्झिएर रनभुल्ल परिरहेकै बेला आएको उर्मीको उक्त पत्रले मेरो मनको व्यकुलता र रनभुल्लतालाई घटाउनुको सट्टा झन् पो बढाइदियो ।

मलाई चाहिँ यस्तो लाग्छ कि शिक्षा लिनेले शिक्षकको मुहार र व्यवहार हेर्नु हुँदैन । शिक्षा कानले सुन्ने र मस्तिष्कमा राखेर मनन गर्ने कुरा हो । त्यसैले आफ्ना मान्यजन, गुरु वा आफूभन्दा ठूलाले जसो गर्दछन् त्यसो गर्नु हुँदैन, जसो भन्छन् त्यसो गर्नु नै बुद्धिमत्ता हो । सकिन्छ भने उपदेश वा शिक्षा दिनेको तथा शास्त्रले अह्राएको काम वा देखाएको बाटो राम्रो नराम्रो के-कस्तो छ केलाएर हेरेर त्यसको सारतत्वको मात्र ग्रहण गर्नु वा त्यसको अवलम्बन र अनुकरण गर्नु नै राम्रो हो, उत्तम हो । धर्म, संस्कृति र संस्कारको विरोध गर्दै वैभव र सम्पन्नताको सुखभोगपट्टि आकर्षित हुनु र सोहीअनुरूप आफ्नो व्यवहार बदल्नु उचित कर्म होइन । यिनै कुरा कतिपल्ट उर्मीलाई भनेँ पनि । तर उनीचाहिँ शास्त्रले भनेका र गरेका कुरा गलत छन्, ती शास्त्रको आड लिएर नारीमाथि अन्याय गरिनु हुँदैन भन्ने तर्क नै गरिरहन्छिन् ।

उनले सनतसिंहलाई भेटेका बेला आफू महिलामुक्तिको आन्दोलनमा जुटेकी छु भनी सुनाइन् भनेर त सनत भन्दै थियो । मसँग नै पनि उनले भनेकी थिइन्, – म महिलामुक्तिको आन्दोलनमा लागेकी छु र अझै सशक्त भएर लाग्न चाहन्छु । महिला विरुद्धका भेदभावका सबै स्वरूपहरूको उन्मूलन विषयक संयुक्त राष्ट्रसङ्घीय सन्धि सन् १९७९ मा पारित भएको थियो र २२ अप्रिल १९९१ मा नेपालले त्यसलाई अनुमोदन गरेर पनि खै त यहाँका महिलाहरूले स्वतन्त्रताको अनुभूति गर्न पाएका – पुरुष तथा महिलाबीचमा पूर्ण समानता प्राप्तिका लागि समाज तथा परिवारमा पुरुषको भूमिका तथा महिलाको भूमिकासम्बन्धी परम्परागत सोचाइमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतालाई महसुस गरेर नै नेपालले त्यस सन्धिको अनुमोदन गरेको थियो होला तर त्यसको कार्यान्वयन भने यहाँ हुन सकेन किनकि त्यो कार्यान्वयन गर्ने निकायमा पुरुषकै बाहुल्यता छ । जबसम्म यस्ता सन्धि र सम्झौता गर्ने र त्यसको कार्यान्वयन गर्ने तहमा महिलाहरू पर्याप्त मात्रामा पुग्दैनन् तबसम्म यस्ता सन्धि सम्झौता यसरी नै थन्किरहन्छन् औचित्यहीन भएर । उनका त्यस्ता तर्कपूर्ण र यथार्थ कुरालाई होइन कसरी भनूँ – यथार्थता स्वीकार्ने हिम्मत त पुरुषले पनि गर्न सक्नु पर्ने नि ।

उर्मी शास्त्रले नै नारीमाथि अन्याय र अत्याचार गर्न पुरुषलाई उक्साएको छ भन्छिन् । एक दृष्टिले हेर्दा त त्यो सत्य हो । धर्मशास्त्रले नारीलाई पुरुषको चिरदासीको रूपमा हेरेको छ, त्यस्तै वर्णन गरेको छ र मृत्युपर्यन्त प्राप्त हुने स्वर्गको लोभ देखाएरै भए पनि नारीलाई स्वतन्त्रताबाट वञ्चित गरेको छ । यो यथार्थतालाई स्वीकार्न सक्ने हिम्मत हामीले गर्नैपर्छ ।

सन्तनु महाराजले सत्यवतीलाई मन पराए र विवाह गर्ने अभिप्राय राख्दा सत्यवतीका पिता तयार भएनन् । सन्तनुका गङ्गापट्टिका पुत्र भीष्म थिए, उनी नै राजा हुन्छन्, मेरी छोरीका सन्तान राजा हुन पाउँदैनन् भनेर विवाह अस्वीकार गरे उनले । यो कुरा भीष्मले थाहा पाएपछि आफू जीवनभर विवाह नगर्ने र राजा पनि नहुने बाचा बाँधेर सत्यवतीका पितालाई रिजाएर खुसी पारेर सत्यवतीलाई ल्याएर आफ्ना पितालाई सुम्पिए । पिता पनि पुत्रसँग खुसी भए र उनलाई इच्छामरणको वर दिए । तिनै राजा सन्तनु र सत्यवतीबाट दुई भाइ छोरा जन्मिए चित्राङ्गद र विचित्रवीर्य । जेठा चित्राङ्गद युद्धमा गन्धर्व राजाबाट मारिएपछि भाइ विचित्रवीर्य राजा भएका थिए ।
ती विचित्रवीर्यसँग विवाह गर्न भीष्मले अम्बा, अम्बिका र अम्वालिकालाई हरण गरेर ल्याए । यसरी जबरजस्ती हरण गरेर ल्याएर विवाह गर्ने प्रथाले नारीको स्वतन्त्रताको कतिसम्म खिल्ली उडायो त ? यसो भनेर पुरुषको पुरुषार्थको बयानसँगै नारीलाई असाध्यै निरीह र दयाको पात्र बनाउनु नारीमाथि शास्त्रले गरेको घोर अन्याय हो कि होइन त ?

अम्बाले आफूले राजा शल्वसँग विवाह गर्ने प्रण गरेको र आफ्नो तन र मन दुबैको मालिक शल्व भएको र उनले त्यसको भोग पनि गरिसकेको कुरा बताएपछि उनलाई छाडेर अम्बिका र अम्वालिकासँग विचित्रवीर्यको विवाह गरिदिएका थिए । विवाह भएको सात वर्षम्ममा पनि उनीहरूको कुनै सन्तान भएन । विवाहको सात वर्षमा विचित्रवीर्य मरे ।

रानी सत्यवती केही स्वार्थी जरुर थिइन् किनकि उनले आफ्ना दुबै भाइ छोराहरूको मृत्यु भए पश्चात्मात्र भीष्मलाई राजा हुन आग्रह गरेकी थिइन् भने उनकै सौतेला भाइ विचित्रवीर्यका पत्नीहरूलाई अपनाउन अनुरोधसम्म पनि गरेकी थिइन् । त्यस बेला बुहारी भोग्नु हुने रहेछ तर अहिले बुहारीलाई छुनु पनि हुँदैन जेठाजुले । शिर ढाक्नुपर्छ बुहारीले जेठाजुलाई देख्दा । त्यस बेलाको थितिभन्दा अहिलेको चलन बढी मर्यादित छ परिवारको मान मर्यादा र नैतिकताको दृष्टिले हेर्दा ।

भीष्मले आमाको कुरा अस्वीकार गरे । हाम्रो पौराणिककालका महान् हस्ती आफ्नो वचन पूरा गर्न दृढ सङ्कल्पित व्यक्ति गङ्गापुत्र, देवब्रत ती भीष्मसँग उनकी कान्छी आमा सत्यवतीले आफ्नो यथार्थ अतीत सुनाइन्, ‘तिम्रा बाबुसँग विवाह गरेर आउनुभन्दा अगाडि नै मैले ऋषि परासरसँग शारीरिक सम्पर्क राखेकी थिएँ । त्यसैको परिणाम स्वरूप मैले व्यासलाई जन्माएकी थिएँ र उनलाई जङ्गलमै छाडी आएकी थिएँ । व्यास मेरा छोरा हुन् ।’ भनेर । त्यस बेला खै त पतीता नारी भनेर सत्यवतीलाई दुत्कार्न सके त भीष्मले ? शास्त्रले नै पनि त न सत्यवतीलाई दुत्कारेको छ न कुमारी आमाबाट जन्मेका र आफ्नै भाइबुहारीलाई वीर्यदान गर्ने व्यासलाई दुत्कारेको छ । त्यस्तो शास्त्रले समेटेको धर्मले मलाई चाहिँ कसरी दुत्कार्न सक्छ र म धर्मसँग डराऊँ ? त्यसैले म पाप र धर्मसँग डराउँदिन भनेर निर्धक्क नै भन्छिन् उर्मी । उनले यथार्थता बुझाएर शास्त्रको क्रमिक सुधार गर्दै लानुपर्छ, नारीको दिमागमा भरिएको धर्म र समर्पणको दासत्व हटाउँदै जानुपर्छ भन्ने कुरालाई गलत पनि कसरी भन्नु ?

पौराणिककालमा पर्शुराम ऋषि क्रोधित भएर संसारका सारा क्षेत्री नाश गर्छु भनेर लागे र उनले साराका सारा क्षेत्री सखाप पारे । त्यसपछि त्यस बेलाका क्षत्रीय नारीहरूले सन्तान उत्पादन र वंश वृद्धिका लागि कुनै पुरुष डाकेर नियोग गरी सन्तान पैदा गरी वंश वृद्धि गरेको हो र त्यसो गर्नु अपराध नभएर एक अति सामान्य क्रियामात्र भएको बखान शास्त्रले गरेको छ । त्यही आधारमा त सत्यवती र भीष्मले आफ्नो वंश जोगाउन व्यासलाई बोलाएर विधवा अम्बिका र अम्वालिकासँग सम्भोग गर्न लगाएका थिए ।

बिचरी अम्बिकाले सासू र जेठाजुको आदेश र आग्रह टार्न नसक्दा आफ्नो शरीर सुम्पन व्यासलाई पर्खन विवश थिइन् । जब भीष्म र सत्यवतीले व्यासलाई तिमी गएर अम्बिकासँग सम्भोग गर भने तब व्यास अम्बिकाका अघिल्तिर पुगे । आफ्नो सामु राता-राता आँखा भएका, लामा-लामा लट्टा परेका जगटा भएका डरलाग्दा व्यासलाई देख्दा बिचरी ती अम्बिका डरले आँखा चिम्लिएर पलङ्गमा पल्टिइन् । त्यसै बेला मैथुन गरी वीर्यदान गरेर व्यास गए । आँखा चिम्लिएकीले उनीबाट अन्धा धृतराष्ट्र जन्मिए । त्यसैगरी अम्वालिकालाई नियोग गर्न व्यासलाई पठाए । व्यासलाई देख्नासाथ डरले अत्तालिएर मुखाकृति एकदमै सेतो पारिन् अम्वालिकाले । डर र त्रासले रक्तहीन भएकै अवस्थामा मैथुन गरेर वीर्यदान गरी व्यास हिँडे । त्यसैकारण सेतो कुष्ठ रोगले भरिएको जस्तो महारोगी शरीर लिएर जन्मिए पाण्डु । यसरी ती भीष्मले आफ्नो बाचा पूरा गर्न दुईवटी नारीलाई बलीवेदीमा चढाए । के यो उनले सही काम गरे भनेर कसैले भन्न सक्छ त ?

ती निरीह विधवा नारीलाई त्यसरी जिउँदै मार्नुको सट्टा आफ्नो वचन बाचा फिर्ता लिएर आफूले विवाह गरेर राजपाठ सम्हालेका भए उनको मर्यादा घट्थ्यो ? अरूलाई मारेर, अरूको अस्मिता लुटाएर आफ्नो प्रतिष्ठा जोगाउन र आफ्नो मर्यादा बढाउनु अलिकति सरम भएन भीष्मलाई ? यो अर्को उदाहरण होइन त शास्त्रले नारीमाथि गरेको अन्यायको ?

अम्बिकाबाट जन्मिएका पुत्र अन्धा भए र अम्वालिकाबाट जन्मेका पाण्डु रोगी भए भनेर होला सत्यवतीले पुनः व्यासलाई डाकेर अम्बिकासँग गएर सम्भोग गरी बीजारोपण गर भन्ने आदेश दिइन् । माताको आज्ञा पाएर आफ्नै झड्केली बुहारी अम्बिका रानीको खोपीमा व्यास पुग्दा अम्बिका डरले भागिन् । त्यसपछि व्यासले रूपवती भन्ने दासीसँग सम्भोग गरेर हिँडे । जसबाट पछि विदुर जन्मिए । यसरी शास्त्रमा उल्लेख भएका पौराणिक घटनाले नै पुरुषलाई उत्साहित गर्छ नारीमथि अत्याचार गर्न । अनि नारीहरू निरीह बनेर सहन बाध्य हुन्छन्, ती चरम अत्याचारका पीडाहरू ।

भाग – २५

समयको परिवर्तनसँगै धेरै कुराहरू परिवर्तन हुँदै गएका छन्, धेरै परम्पराहरू तोडिएका छन्, सुधारिएका छन् । अब नारीमाथि हुने यस्ता अत्याचार, बन्धन र परतन्त्रका भावहरू पनि सुधारिँदै जालान् भन्ने आशा मनमा सोचेर म खाद्यान्न जुटाउने उद्योगमा लागेँ ।

समयको निरन्तर व्यतीत हुनेक्रम चलिरहन्छ । यो त प्राकृतिक नियम नै हो । त्यही क्रमले हाम्रो बुढ्यौलीलाई डाक्दो रहेछ । कपाल फुल्न थाले, छाला चाउरिन थालेपछि मानिसको मन धर्म-कर्मतिर आकर्षित हुँदो रहेछ । अतीतका पापहरूले दिमागमा घोच्न थालेपछि तीर्थस्थल गएर प्रायश्चित गर्न मन लाग्दो रहेछ । मलाई पनि त्यस्तै हुन थाल्यो । शाखासन्तान कोही पनि नभएको मान्छे, मरेपछि कसैले दागबत्ती र पिण्ड देला कि भन्ने आशा पनि नभएपछि जिउँदो हुँदै, शरीरमा थोरै तागत हुँदै दान, धर्म, तीर्थ, ब्रत गर्न पाए परलोक सुध्रन्थ्यो कि भन्ने आशाले त होला नि मन त्यतातिर आकर्षित भएको ।

त्यसपछि म नेपालका विभिन्न तीर्थयात्रीहरूको समूहमा मिसिएर भारतमा अवस्थित चारधाम तीर्थ गर्न निस्किएँ । करिबन चार महिनाभन्दा पनि लामो यात्राको तय भएको थियो । दक्षिण भारतलगायत त्यहाँका आसपासका सम्पूर्ण तीर्थस्थलको भ्रमण गर्ने, पूजाआजा गर्ने र भगवानको दर्शन गर्ने हाम्रो लक्ष्य थियो । मनको चाहना पूरा गर्न पाएकोमा मन साह्रै हषिर्त भयो । हामी दर्शन गर्दै गयौं । मलाई एउटा कुरामा चाहिँ आश्चर्य लाग्यो । म जहाँ-जहाँ पुग्थेँ अर्थात् जुन-जुन भगवान्को मन्दिरअगाडि पुगेर हात जोड्थेँ त्यहाँ-त्यहाँ सबैभन्दा पहिला मेरो मनले भन्थ्यो, – प्रभु रक्षा गर । अनि मनमा आउँथिन् गङ्गा । ‘गङ्गा जहाँ बसेकी भए पनि उनलाई दुःख नहोस्, उनले आँसु झार्नु नपरोस् ।’ अनि उर्मी र उनको छोरोको लागि पनि मेरो मनले प्रार्थना गर्थ्यो । मलाई धेरै दिन बाँच्ने इच्छा थिएन तैपनि जति दिन बाँचे पनि मर्ने बेलामा रोगिएर, थलिएर मर्नु नपरोस् । अपर्झट मृत्युवरण गर्न पाऊँ भन्ने चाहन्थेँ म ।

मसँग अब अतीतको मीठो स्मृतिमात्र छ । भविष्यको कुनै रङ्गीन आशाहरू छैनन् । म त अब त्यो आफ्नो पुरानो अतीत पनि बिर्सन चाहन्थेँ तर के गर्नु आफूले चाहेको जस्तो नहुँदो रहेछ । जति बिर्सन खोज्छु उति-उति त्यो अतीत अझ स्पष्ट बन्दै आँखा सामुन्ने आउँछ पूर्णिमाको उज्यालो जूनजस्तै बनेर । गङ्गा मेरो सामुन्ने मृदुल मुस्कान, प्रेमपूर्ण हाउभाउ र मीठो प्रेरणा लिएर आउँछिन् । उनको त्यो निर्दोष सौन्दर्य र नारी सुलभ लज्जाले मलाई प्रेरित गर्छ बाँच्न अनि मनमा एउटा अज्ञात आशा जगाउँछ । कतै गङ्गालाई भेट्न पाए अझै यो जीवन रमाइलोसँग बित्थ्यो होलाजस्तो लाग्छ । उनको गोरो बाटुलो अनुहारमा निर्दोष, सरल, कोमल हृदयको पवित्रता, समर्पण र पतिभक्तिको भाव प्रतिविम्बित भएको झझल्को आँखा सामुन्ने आइदिँदा त झन् अतीतलाई अँगालेर क्वाँ-क्वाँ रुन मन लाग्छ ।

यात्राको क्रममा प्रकृतिले भरिएको अपार सौन्दर्यताले पूर्ण मनोरम र अनुपम शृङ्गारले रङ्गिएको श्वेत चाँदीजस्तै टल्किरहने हिमालको मनमोहक हृदयस्पर्शी र अलौकिक आकर्षणमा म लठ्ठ पर्थें । त्यहाँको शीतल र उल्लासमय वातावरणमा आनन्द विभोर भएको मन अलिक चञ्चल भएको बेला मलाई गङ्गाको अभाव असाध्यै खड्किन्थ्यो । प्रकृतिको सुन्दरतामा रोमाञ्चित भएको मन र फुरुङ्ग भएको तनलाई सम्हाल्न कस्तो कठिन पर्थ्यो मलाई । त्यस बेला म धेरै रोएँ गङ्गाको यादले । तीर्थस्थलहरू अधिकांश हिमाल र पहाडका काखमा रहेछन् । जहाँ-जहाँ म पुगेँ हरेक ठाउँमा मैले गङ्गाको खोजी गरेँ । कुनै मन्दिरमा गएर साधुनी भएर पो बसेकी छन् कि भन्ने शङ्का मेरो मनमा उब्जिएको थियो । त्यसैले उनको पूर्ण खोजी गर्थें । नभेट्टाएपछि भित्र-भित्र रुन्थेँ वियोगको पीडा काखी च्यापेर ।

मेरो मानसपटलमा बेलाबेला उर्मीको झझल्को पनि आइरहन्छ । उर्मीको यादको तरङ्गले ती घटनाचक्रहरूलाई घिस्याउँदै ल्याउँछ मेरा आँखा सामुन्ने । मैले आफ्नो आदर्शलाई कसरी भुलेँ, किन भुलेँ – ती केही दिनका यौवनमय क्षणहरूको उपभोगबाट मैले के पाएँ, के गुमाएँ – त्यसको परिणामले अहिले मलाई के गर्यो – आदि अनेक प्रश्नहरू आउँछन् मथिङ्गलमा । त्यस्ता प्रश्नको जवाफ खोजेर पनि के साध्ये ।

वासना त एउटा बन्धन रहेछ, दुःखको खानी रहेछ भनेर बुझिसकेपछि मान्छेले त्यसबाट छुटकारा पाउने प्रयास गर्नुपर्ने नि । अनुराग र रतिराग साह्रै ठूलो रोग रहेछ, यो त साह्रै विषालु र्सप रहेछ मानिसलाई घरीघरी डसिरहने । त्यही बन्धन, त्यही डसाइ, त्यही धारिलो तरबार अहिले आएर मेरो मुटु रेटिरहन्छ, काटिरहन्छ । उर्मीसँगको त्यो क्षणिक राग करौंती बनेर मेरो मन, मस्तिष्क रेटिरहन्छ । यो राग आगो हो, धारिलो हतियार हो, छोयो भने पोल्छ, काट्छ भनेर जान्दाजान्दै पनि त्यसैलाई अँगाल्न जानु मेरो कमजोरी थियो । त्यही कमजोरीको सजाय अहिले भोग्दै छु यो तड्पन र पीडा खपेर ।

एक दिन उर्मीले मलाई सोधेकी थिइन्, ँम के हुँ, सधवा कि विधवा …… – एउटा प्रेमी जसको गर्भधारण गरेर पनि सन्तान जन्माउन सकिनँ, अर्को पति जसको सिन्दूर र पोते धारण गरेर पनि सन्तान जन्माउन सकिनँ । फेरि अर्को पुरुष जसको सन्तान जन्माएर पनि सिन्दूर पोते र साथ प्राप्त गर्न सकिनँ । तीनतिर बाँडिएको मेरो तन र मन म कसरी सम्हालूँ -ँ मैले उनको प्रश्नको केही जवाफ दिन नसकी चुपचाप घोरिएको थिएँ, अहिले आफैंलाई आफूसँग लाज लाग्छ ।

‘म त सधवा वा विधवा केही नभई केवल एउटी नारी हुन चाहन्छु । म एउटा पूर्ण मानिस हुन चाहन्छु, व्यक्ति हुन चाहन्छु । पुरुषले पत्नी मर्दा विधुर भएर त्यसको सङ्केत बस्त्र पहिरिएर र त्यसको पीडा खपेर कहिले बसेका छन् र नारीलाई त्यस्तो कुरामा बाध्य गरेका होलान् – के नारीले मात्र सेतो बस्त्र पहिरिएर शोक गर्नुपर्ने केही बाध्यता छ र -‘ भनेर कहिलेकाहीँ उनी हाँस उठ्दा प्रश्न पनि गर्थिन् । प्रश्न हाँस उठ्दा र उट्पट्याङ्ग खालका भए पनि गहन हुन्थे । उनका प्रश्नको जवाफ दिन म सक्दिन थिएँ । कस्तै विद्वान् भन्नेलाई त गाह्रो पथ्र्यो भने म त सधैं हार्ने नै भइगएँ नि ।

ती उर्मी र गङ्गाको अलिक लामो सङ्गत भएको भए गङ्गाको मन अलि बदलिन्थ्यो कि । गङ्गाले दुःख पाएकी त धेरै निष्ठावान् र आदर्श तथा धार्मिक भएर नै हो नि । यो कलियुगमा जो सत्य छाड्दैन, नैतिकता, आदर्श र मानवता आफ्नो जीवनको मूल मन्त्र ठान्छ सम्भवतः त्यो सुखी हुँदैन । उर्मीका यस्ता विचार क्रमशः मलाई पनि विश्वास लाग्न थाल्दै थिए ।

तीर्थयात्राको क्रममा जहाँ-जहाँ पुगेँ, जे-जे देखेँ ती सबै देखेर मलाई नैराश्यता झन् बढेर आयो । घर गएर पुनः घरको मोहमा फस्नुभन्दा सन्यास लिएर सन्यासी भई तीर्थमै बस्ने इच्छा भयो । त्यही इच्छाको वशमा परेर होला मेरो मनले निर्णयगर्यो घर गएर आफ्नो सम्पूर्ण सम्पति कुनै संस्थालाई दान गरेर आफू साधु हुन्छु भनेर ।
पूरै पाँच महिनाको तीर्थयात्रा सकेर म घर पुगेँ । मेरो घरमा पाँच महिनादेखि ताला मारिएको थियो । त्यो मुसा, छुचुन्द्राको खेल मैदान र चरा, चमेराको गुँड र फोहोरको थुप्रो सफा गर्न मलाई दुई दिन लाग्यो । सबै काम सकेर म आफ्नो मनको निर्णयनुरूप केही जग्गा बिक्री गर्ने र केही दान गर्ने सुरले ग्राहक र दान लिने संस्थाको खोजीमा जुटेँ ।

एक दिन साँझ घर र्फकंदा बाटामा मलाई एउटाले बन्द खाम दियो । हेरेँ त्यहाँ उर्मीका अक्षरहरू थिए । बाटोमा नै म त्यो पत्र पढ्न सक्थेँ तर पनि खै किन-किन पत्र पढ्ने जाँगर नै आएन र पट्याएर गोजीमा हालेँ र हिँडिरहेँ ।
घरमा पुगेर खानाको मेलोमेसोमा जुटेँ । उर्मीको पत्र आएको छ भन्ने कुरा मनमा आइरहेको भए पनि मैले त्यो पत्र पढ्न हतार गरिनँ । पहिले-पहिले उर्मीको पत्र पढ्न म साह्रै हतारिन्थेँ तर आजकाल त्यस्तो हुँदैन ।

मैले पहिले नै पनि सुनेको थिएँ, पाप साह्रै मोहक हुन्छ, आकर्ष हुन्छ । त्यसैले मानिसलाई सधैं त्यसले आफूतिर तानिरहेको हुन्छ । त्यसैको मोहकता र आकर्षामा परेर त मानिस पाप भनेर जान्दाजान्दै पनि त्यसमा फस्छन् । हुन त उर्मीको सामीप्यतामा मैले सुख र यौवनमय परिवेश पाएको थिएँ । संसार नै सुन्दर, आकर्ष र प्रेममय देखेको थिएँ तर त्यो सबै सतर््कर्म त छँदै थिएन । त्यो मैले नबुझेको पनि होइन, बुझेर पनि म सम्हालिन सकिनँ । त्यही पापको मोहकताले तान्यो मलाई, खिच्यो मलाई अनि म गिरेँ पशुतुल्य भएर र संसारको मर्यादा र गङ्गाप्रतिको प्रेम अनि समर्पण चटक्कै बिर्सिएँ मैले ।

बिचरी उर्मी † इन्द्रियसित वशीभूत भएर हो वा आफ्नो मनको आर्तनादलाई सुनेर हो, उनी प्रतिशोधको ज्वालामा फाल हालिन् । जसरी पेटको भोकले आक्रान्त पारेपछि, अभावको पीडाले पोलेपछि मान्छे आन्दोलित हुन्छ र सङ्घर्षमा होमिन्छ मर्न मार्न अघि र्सछ निडर भएर ठीक त्यसैगरी हेला, तिरस्कार, घृणा र षड्यन्त्रले व्याकुल भएपछि उर्मी निडर भइन् र प्रतिशोधकै लागि पनि आफू निरावरण भइन् । आफ्नो अस्मितालाई नै बन्धक राखिन् । मैले कुनै जोरजुलुम गरिनँ र पनि मेरो अर्न्तर्मनले मलाई नै दोषी ठहर गर्छ अनि पछुताउँछु, पश्चातापको भुङ्ग्रोले मन, मुटु सबै पोल्छ, तन झमझमाउँछ । त्यही भएर पनि होला उर्मीको पत्रले मलाई यसरी आकर्षा गर्न छोडेको ।

पाण्डुले आफूबाट सन्तान हुँदैन भन्ने कुरा बुझेपछि वा सम्भोग गरे मृत्यु होस् भनेर ऋषिले दिएको श्राप सुनेपछि उनले आफू व्यासको वीर्यबाट जन्मेको यथार्थता आफ्नी पत्नीसामु ओकलेर उनीहरूलाई पनि त्यसै गर्न अनुमति दिएका थिए । उनलाई त शास्त्र र हामीले धन्यवाद दिनर्ुपर्छ नि कमसेकम आफू र आफ्नो अर्समर्थता बुझेपछि त्यही अर्समर्थताभित्र आफ्ना पत्नीलाई छेकेर, थुनेर नैतिकताको परिधि सृजना गरेर बाँधेर राख्न चाहेनन् । कुन्ती र माद्री दुबैले आफ्नो पतिको स्वीकृति लिएर नियोग गरी सन्तान जन्माए । त्यसरी नै विनोदले आफ्नो अर्समर्थता लुकाएर स्वास्नीलाई मात्र एकोहोरो दोषी नदेखेको भए उर्मीले त्यसरी विद्रोह केही गरी पनि गर्ने थिइनन् होला । आफूले राम्रो व्यवहार पाउने आशा गर्नेले अरूलाई पनि सम्मान गर्न जान्नर्ुपर्छ नि । विनोदको मुर्ख्याइँले गर्दा नै त हो उर्मीले त्यो गलत बाटो वा नियोगको मार्ग अपनाउनु परेको भने उर्मीलाई मात्र के दोष दिनु ?

 भाग – २६

यस्तै सोचेर उनले पठाएको पत्र निकालेर खोलेँ । अनि पढ्न थालेँ । त्यहाँ उनले यस्तो लेखेकी थिइन्, ‘मनमा सधैं एकनासले सिर्जिइरहने अर्थहीन भावुकताहरूले मलाई चिथोरिइरहन्छन् । मेरो अतीतको चित्रलाई स्मृतिबाट पूर्णरूपले हटाउन पनि सकिरहेकी छुइनँ । त्यो विद्रोह कसका लागि गरेकी थिएँ मैले ? मेरो यस्तो संवेदनशील कोमल मनमा कसरी त्यस बेला त्यस्तो विद्रोह सृजन सकेको होला ? त्यो विद्रोह, त्यो हाँक के अब अस्तित्वहीन भइसक्यो त ? मेरो मनको चाहना, कामना, सपना सबै पूरा भए त अहिले ? यसको यसको जवाफ खोजिरहेकी छु म ।

अहिले खै किन हो धर्म-कर्म वा एकान्तमा लीन हुन उत्सुक हुन्छ यो मन । तर म पूर्ण यौवनका मादक क्षण, तृप्तिका अनेकौं क्षणहरू, विजयको हर्ष आदिको सम्झनालाई समेटेर आफूलाई भुलाउने प्रयास गरिरहेकी छु । अहिले मभित्रको मेरो मन दुई मतमा विभाजन भएको छ । एउटा धर्म-कर्म र एकान्त खोज्छ, अर्को भौतिक सुख र विजयको हर्षोल्लाससँगैको विद्रोह ।

नारी र पुरुषको आत्मिक मिलन प्रकृतिप्रदत्त चाहना हो । त्यस बेलाको मेरो मनको निर्भीकता, तृप्ति र सन्तुष्टिका भावहरू, जीवनको चरम उपलब्धि, त्यस बेला स्वतन्त्रतापूर्वक उपभोग गरेको पूर्णता आत्मिक सुख अहिले म भुल्न खोज्दै छु । म चाहन्छु मेरो लागि अब त्यस्तो सम्झन योग्य कुनै क्षण र वस्तु नै नरहोस् । मेरो मन अब केवलर् इश्वरभक्ति चाहन्छ । एकान्तमा बसेर इश्वरभक्तिमा लीन हुन चाहन्छु म ।’

‘उर्मीको पत्र पढ्दा मलाई अति आश्चर्य लाग्यो । त्यस्ती नास्तिक मान्छे पौराणिककालका धर्म ग्रन्थमा उल्लिखित प्रत्येक घटना र पात्रको खोट देखाउने मान्छेमा कसरी यस्तो एकाएक परिवर्तन आयो होला ? मानिसको शरीरबाट बल, तागत सकिँदै गएपछि ऊ कमजोर बन्दै जान्छ । कमजोर मनले आश्रय खोज्छ, सहारा खोज्छ । त्यही सहारा खोज्दै उनी इश्वरभक्तिसम्म पुगेकी त होइनन् ? कसरी उनमा इश्वरभक्तिको कुरा आयो ? यो प्रश्नको जवाफ भेट्न मैले उर्मीको पत्रको बाँकी अंश पढ्नै पर्ने भयो । त्यसपछि क्रमशः उनले लेखेकी थिइन्, ‘सन्तान र घरगृहस्थीको लोभमा म अलमलिएकी रहिछु । जुन सन्तानको लागि मैले त्यत्रो विद्रोह र सङ्घर्ष गरेँ, आफ्नो मान, मर्यादा, लाज, शरम, घीन, अस्मिता, नारीत्व केही नभनी सबै गुमाएँ त्यही सन्तानले मलाई लत्यायो । ऊ लागूपदार्थको दुर्व्यसनी भएको थियो । औषधि विज्ञानले उसको माया मारिसकेको थियो ऊ अब बाँच्न सक्दैन भनेर । ऊ किन त्यसरी बिग्रियो त्यसको खोजी गर्नतिर म लागिनँ । मैले पनि माया मारेँ । जुन दिन डाक्टरले ऊ बाँच्दैन भन्ने कुराको घोषणा गर्यो त्यही दिन विनोदले मलाई भने – “छल, कपटले पाप निम्त्याउँछ, पापले विनाश । राम्रो फल प्राप्त गर्न राम्रै बीउ रोप्नुपर्छ ।”

उनले भन्न खोजेको मैले बुझिसकेकी थिएँ तर पनि बुझ पचाएर भनेँ, “के भन्न खोजेको स्पष्ट भनन के जिव्रो चपाउँछौ ?”

“किन अबुझ बन्छौ ? मैले सबै यथार्थता बुझेकै छु । संसारले यस छोरालाई मेरै ठान्छ । तर्सथ म लाचार भएर अस्पताल कुर्दैछु । यो छोरो यस्तो भएकै दिनदेखि सबैभन्दा बेहाल सङ्गीताको भइरहेको छ । ऊ किन यसरी बेहाल भएकी ……….. ? ऊ ठान्छे यो मेरो छोरो हो, आफ्नो पतिको वीर्यबाट जन्मिएको सन्तानले आफ्नो काजक्रिया गर्ला, बुढेसकालमा सहारा देला भन्ने ठानेकी थिई उसले । बिचरी सोझी आइमाई । संसार नै यस्तो रहेछ सोझो, धर्ममा आस्था राख्ने, मनमा जालझेल, कपट नभएका मान्छेले नै दुःख पाउँदा रहेछन् ।इश्वर पनि सायद आफ्नै भक्तलाई बढी दुःख र पीडा दिई-दिई परीक्षा गरिरहन्छन् । उस बेला सङ्गीतामाथि गरेको अभद्र व्यवहार सम्झेर मलाई लाज भइरहेको छ । धन्यवाद त मैले तिमीलाई दिनैपर्छ । जे होस् ढिलै भए पनि तिमीले मेरो आँखा खोलिदियौ ।”

छोरोलाई धेरै दिन अस्पताल कुर्न परेन ऊ स्वर्गको बाटो लाग्यो । ऊ जन्मदा म जति हषिर्त भएकी थिएँ, उन्मुक्त खुसीले जति रमाएकी थिएँ, ऊ मर्दा म त्यति दुःखी भइनँ, त्यति रोइन पनि । किनकि संसार मैले बुझिसकेकी थिएँ ।

मैले आफू सधवा हुँदाहुँदै पनि परपुरुषको गर्भ बोकेर सन्तान जन्माउने चाहना गरेँ । त्यो सहज, सुविधायुक्त र स्वाभाविक जीवनको परिणाम नभएर असहज र समस्याग्रस्त जीवन र भोगाइका अनुभूतिहरूको परिणाम थियो । मैले जीवनप्रति आस्था, विश्वास त्यस बेलासम्म पनि त्यागेकी थिइनँ जबसम्म छोरो सही थियो र काठमाडौंमा कलेज पढ्दै थियो ।

मैले अगाडि पनि तिमीलाई लेखेकी थिएँ, उनले भारतमा आफ्नो वीर्य जाँच गराए र आफूसँग बाबु बन्न सक्ने क्षमता नभएको कुरा बुझे भनेर । त्यही बेलादेखि उनले छोरोलाई माया गर्न छाडेका थिए । केवल उनी घृणा र तिरस्कारमात्र गर्थे । म पतिसँगको विद्रोह र समाजसँगको सङ्घर्षमै अल्झिएँ । उसलाई यथेष्ट माया र प्रेरणा दिन सकिनँ । घरबाट बाहिर राखिदिएँ । त्यसरी बाबुआमाको मायाबाट वञ्चित भएर नै ऊ कुलतमा फस्यो । ऊ मर्नुमा दोष मेरो पनि प्रशस्तै छ । सङ्गीता दिदीले त उस बेला पनि मलाई सम्झाएकी थिइन् तर मैले सुनिनँ र त यस्तो परिणाम भोग्नु पर्यो नि ।

छोरोको काजक्रिया सकेपछि मलाई घरमा बस्न मन लागेन । त्यसैले घर छोडेर अहिले यहाँ त्रिवेणी घाटमा आई बसेकी छु । यहाँ धेरै हुँदा रहेछन् मृत्यु कुर्नेहरू । म पनि अब यही पवित्र तीर्थस्थलमा बसेर मृत्यु कुर्ने निर्णयमा पुगेकी छु ।

यहाँ नआउन्जेल तीर्थ, ब्रत र धर्मकर्म त केवल कोरा आडम्बर हुन् । काल्पनिक स्वर्ग प्राप्त गर्ने काल्पनिक सिँढीहरू हुन् । यथार्थ त म आफू स्वयम् छु । यथार्थ यो धर्ती हो । वर्तमान नै सत्य हो । यहाँ प्राप्त हुने भौतिक सुख नै स्वर्ग हो । परलोक एउटा असत्य र कोरा कल्पनामात्र हो जस्तो लाग्थ्यो ।

यहाँ आएपछि मात्र मैले बुझेँ मीठो खानु, राम्रो लगाउनु र भौतिक सुख उपभोग गर्ने विलासमय जीवनले त आलस्यता जगाउँदो रहेछ । धर्मले मानिसको मनको कलुषित भावनामा परिवर्तन ल्याइदिँदो रहेछ । भौतिक साधनको रमझमको सुख त केवल दुई दिने पाहुनामात्र रहेछ । आध्यात्मिक चिन्तन र ज्ञानबाट प्राप्त हुने शान्ति, प्रेम र सत्यको ज्योतिले मनको संसारलाई उजिल्याउँदो रहेछ । मैले यहीँ आएर बुझेँ राजकुमार सिद्धार्थले केका लागि त्यस्तो दरवारीय सुख, समृद्ध जीवन र राजपाठसमेत त्याग गरेका थिए भनेर ।

यहाँ आएपछि मैले आफ्नो अतीतलाई मन मस्तिष्कबाट पूरै हटाउन चाहेकी छु । अतीतको जीवनको संस्मरण नहोस् भन्ने चाहन्छु । आध्यात्मिक ज्ञानको लागि ब्रह्ममा लीन भएर ध्यानमग्न रहँदा कस्तो अथाह शान्ति मिल्छ मनमा । मानिस भएर जन्मिएपछि मृत्यु सुनिश्चित छ भनेर जान्दाजान्दै पनि मलाई मृत्युसँग डर लाग्थ्यो तर ……… अब त म मृत्युसँग डराउन पनि छाडेँ । हाँसी-हाँसी मृत्युवरण गर्न तयार भइरहेकी छु ।

मेरो स्मृतिवृतमा सञ्चित भएर रहेका अतीतका ती सुरम्य घटनाहरूसमेत म भुल्न खोज्दै छु । वास्तवमा ती घटनाक्रमहरू र त्यो समय जसले मभित्र अहङ्कारको र विद्रोहको ज्वालामुखी फुटाइदिएको थियो । मेरो मन मस्तिष्कमा सधैं बजिरहने अहङ्कार र बडप्पनको खोक्रो मादलको विध्वंसात्मक ध्वनि अब म सुन्न चाहन्नँ । त्यस बेला मेरो चेतना हराएको थियो । म अचेतन थिएँ । त्यसैले त्यस बेलाको घटनाक्रम र सबै मान्छेहरू बिर्सिएर म धर्ममा लिप्त हुन चाहन्छु ।

म तिमीलाई यो पत्र यसकारण लेखिरहेकी छु कि यदि छोराको मृत्युको खबर तिमीलाई दिइनँ भने मैले मर्ने बेलामा शान्ति पाउँदिनँ । एक मनले त तिमीलाई त्यो दुःखद समाचार सुनाएर दुःखी नबनाऊँजस्तो पनि लागेको थियो । फेरि मेरो अर्को मन त्यति कृतघ्न बन्न चाहेन । अब म तिमीसँग माफ माग्छु । मैले कति जबर्जस्ती गरेर तिम्रो नासो लिएँ तर सुरक्षितसाथ जोगाएर राख्न सकिनँ । दुष्ट आइमाई सम्झेर माफ गरिदिन्छौ भन्ने आशा राख्दै यो अन्तिम पत्रबाट म बिदा माग्छु । त्यो छोरोले सृजना गरेको हाम्रो मायाको साइनो पनि अब छिन्यो हगि । म स्वतन्त्र भएर मर्न चाहन्छु । त्यसैले अल बिदा ।

उर्मिला

 भाग – २७

उर्मीको पत्र पढ्दापढ्दै मेरा आँखा रसाएछन् । आँखामा नअटाएका आँसु त्यहाँबाट त्यही पत्रमा खसेछन् । पत्र भिजेको थियो आँसुले ल्याफ्फै । छोराको भन्दा बढी मलाई उर्मीकै माया लाग्यो । त्यस्ती जब्बर मान्छे अहिले त्यसरी बद्लिइछिन् । बिचरी उनले गरेको त्यत्रो विद्रोहको परिणाम हेर त अन्तत उनी पनि साधुनी नै बन्ने भइन् । आखिरमा उनी पनि एक्लिइन् र साधुनी नै भइन् भने उनले गरेको त्यत्रो विद्रोहको के अर्थ रह्यो त ?

मलाई उर्मीको विद्रोह र विचारप्रति नै हाँस उठ्छ । उनको मन सनतको प्रेममा दग्ध भएको थियो । पहिलो प्रेमको छाप अमीट हुनु अस्वाभाविक पनि होइन । उनको सनतसँगको प्रेम सफल भएन । दोस्रो पुरुषको रूपमा उनको जीवनमा विनोद आए । विनोदबाट उनले पूर्ण प्रेम र एउटा आदर्श पतिको भूमिका पाएकी भए उनको मनमा त्यस्तो विद्रोह आउने नै थिएन तर परिस्थितिले नै त्यस्तै पारिदियो । जसले उनलाई आफ्नो अस्तित्व जोगाउनकै लागि पनि विद्रोह गर्न बाध्य पार्यो । उनको विद्रोहलाई समाजले ‘अक्षम्य अपराध’ भन्ला तर म त ‘अपराध’ हो भन्न सक्दिनँ । उनको जीवनमा सन्तोष र सुख छाएको थियो भने उनी विद्रोह होइन त्याग गर्न अघि सर्ने थिइन् जसरी गङ्गाले गरिन् । असन्तोष र घृणाको प्रचण्ड आगोले हृदयलाई दग्ध पारेपछि, उनको हृदय तातो तीरले रोपेर छिया-छिया पार्ने पुरुषलाई आफ्नो निरावरण शरीर समर्पण गरेर कसरी आनन्द प्राप्त गर्न सक्छे एउटी नारीले ? नारीहरू पुरुषहरूजस्तो पिपासु हुँदैनन् । उनीहरूमा शारीरिक तृप्तिभन्दा मानसिक तृप्तिको आकाङ्क्षा बढी हुन्छ भन्ने कुरा जुन लोग्नेले बुझ्दैन त्यो लोग्ने एउटा अदर्श पति बन्न पनि सक्दैन र त्यसले स्वास्नीबाट शुद्ध र पवित्र प्रेम पाउन पनि सक्दैन । विनोद परे त्यही श्रेणीमा ।

जीवन र जगतप्रति नै वितृष्णा पैदा भएपछि उर्मी तीर्थ गइन्, इश्वरको शरणमा गइन् । उनले भनेका कुरा र गरेका कुराहरू, उनले मेरो जीवनमा पारेको प्रभाव र मेरै आफ्नो आत्मकथालाई मिसाएर लेख्न थालेको यस पुस्तकमा केही पाता उनका तर्फबाट पनि थपिए । बुढ्यौलीले च्याप्दै गएपछि मन कल्पनाका वायुपङ्खी घोडामा चढेर उड्दै संसार घुमिरहन्छ तर हात चल्दैन, जाँगर मर्दो रहेछ । मेरो जीवनको एउटा पाटो नै बनिन् उर्मी । उर्मी र उनको ममाथिको प्रभावलाई हटाउने हो भने मेरो जीवनकथा नै अधुरो बन्छ । म हरेक दिन उर्मीको व्यवहारलाई नै सम्झिरहन्छु । उर्मी मात्र एउटी उर्मिला होइनन्, उनी त झन्डै करोडौं हिन्दू नारीको प्रतिनिधित्व गर्ने नारी हुन् । हाम्रा समस्त हिन्दू नारीलाई अहिले हामी दुई वर्गमा विभाजन गरेर एक वर्गको नेतृत्व गङ्गाबाट गराउन सक्छौं भने अर्को वर्ग वा समूहको नेतृत्व उर्मीले गर्छिन् । कुन समूहको विचार र व्यवहार असल हो वा समय सापेक्ष हो भनेर कसैले मलाई सोधे भने म के जवाफ दिनसक्छु ? दुबै नारीहरू मेरो जीवनमा गाँसिएका छन् । दुबै नारीहरूको सम्पूर्ण व्यवहारको मैले राम्रो अध्ययन पनि गरेको छु तर पनि म भन्न सक्दिन कुन नारी सही थिई ।

हाम्रो पुरुषप्रधान समाजले उर्मीको दोष देखाउला तर एउटा पुरुषले आफूलाई उर्मीको स्थानमा राखेर सूक्ष्मतम विश्लेषण गरेर हेर्ने प्रयास गर्छ भने उसले बाध्यतापूर्वक पनि स्वीकार्नु पर्छ उर्मीको कदम गलत थिएन भनेर । पुरुषप्रधान समाजले गङ्गाको त्यागलाई गलत भन्दैभन्दैन किनकि पुरुषहरू स्वभावतः नै नारीले सधैं त्याग गरिरहून् भन्ने चाहन्छन् । अफ्नो पतिको हितको लागि आफ्नो सम्पूर्ण स्वार्थसहित जीवन नै त्याग्न सक्ने महान् नारी मन पराउँछ हाम्रो पुरुषप्रधान समाज । गङ्गाले त्यसै गरिन् भने उनलाई उत्कृष्ट त ठान्ने नै भयो यो समाजले । नारी पुरुषकी चिरदासी हो त्यसैले आफ्नो पतिको दासत्व स्वीकार्नु पत्नीको धर्म हो भन्ने परम्पराबाट नारीले माथि आउनुपर्छ । हाम्रो समाजले छोरा र छोरीलाई जन्मेदेखि नै पाल्ने र पालिने कुरा सिकाउँछ । छोरीलाई केही भयो वा उसले कुनै सानै गल्ती गरी भने पनि ‘पछि तेरो लोग्नेले तँलाई पाल्दैन नि’ अथवा ‘लोग्नेले पालेन भने माइतीमा बसेर माइतीको बोझ बन्नु पर्ला ।’ भन्ने कुराको स्मरण गराइरहन्छन् । जसले गर्दा उनीहरूको मानसिकता त्यसरी नै विकास हुन्छ, हामी पुरुषद्वारा पालिनुपर्ने जाति हौं अर्थात् पुरुषको छत्रछायाबिना हाम्रो सफल अस्तित्व सम्भव छैन ।

छोरालाई सानैदेखि सिकाइन्छ तैंले पत्नी, बालबच्चा पाल्नुपर्छ भनेर । त्यही छोरो पुरुष बन्छ र पत्नीलाई आफूले पालेको एउटा उपभोग्य वस्तु ठान्छ । छोरा र छोरीबीचको फरकको धराणा बदलिँदै गएको छ । प्रायः मानिस भन्छन्, ‘छोरा र छोरीमा केही फरक छैन । छोरी पनि छोरा हुन्छे भन्दै एउटा विकल्प पछाडि राख्छन् ‘उचित अवसर पाई भने’ भनेर । यसको मतलब के हो ? उचित अवसर पाई भने छोरी पनि छोरासरह बन्न सक्छे नत्र बन्न सक्दिन । छोरो अवसर पाए पनि नपाए पनि छोरै हुन्छ । उसले सम्पूर्ण काम गर्न सक्छ भन्ने होइन ?

धेरै जसो नारीहरू नै आफू छोरीकी आमा बन्नभन्दा छोराकी आमा बन्न रुचाउँछन् । मैले धेरैवटा सर्वेक्षणमा यो भेटेको छु कि पन्चानब्बे प्रतिशतभन्दा पनि बढी पहिलोपल्ट गर्भधारण गरेका नारीहरू आफू छोराको आमा हुन पाए वा आफ्नो छोरा जन्मिए हुन्थ्यो भन्ने चाहन्छन् । अरूको त के कुरा गर्नु उर्मी पनि छोरा जन्मिएकोमा असाध्यै खुसी भएकी थिइन् । उनले नचाहँदानचाहँदै पनि उनको मनको सत्य धारणा बाहिर आएको थियो । उनले भनेकी थिइन्, ‘हेर न छोरा नै जन्मियो अब त म यो समाजसँग सजिलै लड्नसक्छु ।’ यसको तात्पर्य छोरी जन्मेको भए म समाजसँग लड्न सक्दिन थिएँ तर छोरा जन्मिएको छ अब त म कसैसँग डराउँदिन भन्ने होइन त ? तर उर्मीले सोचेजस्तो भयो त ? त्यस बेला उर्मीको छोरा नजन्मिएर छोरी जन्मिएकी भए आज उनी त्यसरी एक्लिने थिइनन् होला । लागूऔषधको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्यामा छोराकै आधिक्यता रहेको छ । जुन नियति आज उर्मीले भोगिरहेकी छन्, उनको छोरी जन्मिएकी भए त्यो भोग्नु पर्ने थिएन होला ।

जे हुनु थियो त्यही भयो । अब यस्तो भएको भए वा नभएको भए भनेर सोच्नु बेकाम हो भन्ने सोचेर म आफ्नो स्वाभाविक काममा नै लागेँ । मैले सोचेको यही हो कि आफ्नो सम्पूर्ण जायजेथामा आधा बेचेर नगद जम्मा गरी आफू कुनै देवस्थल गएर मृत्यृ पर्खने र आधा कुनै राम्रो गुठी संस्थालाई दान दिएर पुण्य आर्जन गर्ने, आफ्नो नाम अमर गर्ने । त्यही ध्याउन्नमा म जुटेँ ।

‘तिमीलाई यो मेरो अन्तिम पत्र हो ।’ भनेर उर्मीले त्रिवेणी घाटबाट लेखेको पत्र पाएको छ-सात महिना बितेको थियो । फेरि अर्को पत्र आयो । उनले अब पत्र पठाउँदिन, म अतीत सम्झन्नँ केवल इश्वरभक्तिमा लीन भएर ब्रह्ममा विलीन हुन्छु भन्ने मान्छेले यो पत्र फेरि किन पठाइन् भन्ने कौतूहलता मनमा तीव्र रूपले नै सिर्जिएकाले पत्र हेर्न हतारिएँ म । खोलेर पढ्न थालेँ, ‘तिम्री गङ्गालाई मैले भेट्टाएँ । काँशी पुग्दा एउटी दुब्ली, गेरु बस्त्र धारण गरेकी, गाला सुकेर नाकमात्र चुच्चो देखिएको थियो । आँखा खाल्डाभित्र हराउन लागेका वेदनाजन्य निरसिलो र निन्याउरो अनुहारको आकृतिलाई नसम्हालिएको रूखो कपालले छोपिएकी ती महान् नारी रत्नलाई हेरिरहेँ तलदेखि माथिसम्म । वेदना मिसिएको थियो क्यार मेरो स्वरमा पनि म बोल्नै सकिनँ, एकोहोरो हेरिमात्र रहेँ । उनले मलाई देखेकै थिइनन् कि देखेर पनि चिनिनन् मैले थाहा पाइनँ । उनी मेरो समीपबाट गइन् र आँखाबाट ओझेल भइन् ।

मेरो आँखाबाट उनी हराएपछि पो म झस्केछु । फेरि दगुर्दै गएँ उनी गएको दिशातिर । धन्न भेटेँ उनलाई । त्यति गर्दा पनि मेरो मुखबाट बोली निस्केकै थिएन । नबोली एकैपल्ट च्याप्प समाएर घ्वाम्लाङ्ग अँगालेँ उनलाई । त्यस बेलामात्र मेरो मुखबाट बोली निस्कियो, ‘गङ्गा दिदी !’

“को ……… उर्मी ?” उनी मलाई देखेर झन् आश्चर्यचकित भइन् । कहाँबाट ? कसरी ? को सँग आएकी ? भनेर अनेक प्रश्न गरिन् । त्यसपछि हामी दिदी-बहिनी गङ्गा नदीको तटमा गयौं र बस्यौं । अनि मैले आफ्ना सबै वेदना उनीलाई सुनाइसकेपछि पुनः भनेँ, ‘यसरी एउटा आतङ्क साँचेर, एउटा शाश्वत मृत्युसँग जुध्दै पूर्वस्मृतिमा रुमल्लिइरहेकी छु । मृत्युलाई कुराएर अतीतका अनुभूतिका प्रवाहमा हराउन चाहन्नँ अब । हुन त दिदी ! अतीतका पाप कटाएर स्वर्ग जानेद्वार खुलोस् भन्ने कामनाले म यहाँ आएकी चाहिँ पटक्कै हैन । मैले उमेरमा स्वर्ग भोगेँ । स्वर्गीय आनन्दको उपभोग गरेँ तर त्यो दीर्घकालीनचाहिँ हुन सकेन । अहिले त्यस बेला गरेका केही गल्ती वा अपराधवापत नारकीय यातना भोगिरहेकी छु । स्वर्ग र नर्क यहीँ रहेछ दिदी, यही धर्तीमा । यो अभिशप्त जिउँदो लासजस्तो बनेको मेरो शरीरले अझै बढी कष्ट भोग्नुपर्छ जस्तो लागिरहेको छ मलाई ।

त्यसपछि हामी उनको आश्रममा गयौं । तिमीप्रति उनको मनमा अगाध श्रद्धा र भक्तिभाव रहेछ । मलाई भेट्दा उनी कति हर्षित भइन् । फेरि तिम्रो कुरा गर्दा उनका आँखामा टलपल आँसु टल्किएका थिए । डबडबाएर पोखिन थालेका आँसु आँखाका डिलबाट झरेर गालाको बाटो हुँदै भुइँमा खसे ।

उनले करुणार्द्ध भएर गरेको विलाप मैले सुन्न सकिनँ । मेरो मन साह्रै विषाक्त भयो । भाग्यलाई धिक्कार्नुबाहेक अर्को विकल्प पनि थिएन मसँग । उनले “उहाँको साह्रै याद आयो । त्यसैले उहाँले थाहा नपाउने गरी उहाँको नजिक गएँ र परैबाट दर्शनसम्म गरेर आएँ दुईपल्ट ।” भन्दा मेरो मन कति छिया-छिया भयो होला ? दैव पनि कति निर्दयी बन्न सकेका होलान्जस्तो लाग्यो । जतिसुकै नास्तिक भए पनि साह्रै अप्ठ्यारो परेको बेला, आत्तिएको बेला मनमा दैवकै सम्झना र भरोसा हुन्छ भन्थे, हो रहेछ । त्यसको खास अनुभव मलाई नै भयो । मैले भगवान् पुकारेँ तर रक्षाको लागि चाहिँ होइन, दिदी-बहिनीको सहज मरणका लागि । गङ्गा दिदीका आँखाबाट खसेका आँसुलाई किंकर्तव्यविमूढ भएर हेरिरहेँ । म पनि धेरै बोल्न सकिनँ ।

 भाग – २८

त्यसपछि हामी दुबै दिदी-बहिनी एउटै आश्रममा बस्न थाल्यौं । यहाँ हामीजस्ता जीवनसँग अघाएर मृत्यु कुर्नेहरूको सङ्ख्या ठूलै छ । ती बृद्धहरूलाई हेरेर चित्त बुझाउन सजिलो हुँदो रहेछ ।

कहिलेकाहीँ साह्रै दिक्क भएको बेला मलाई यस्तो लाग्थ्यो यो विवाह, विवाहमा पण्डितहरूले गर्ने मन्त्रोच्चारण अनि धार्मिक विधिविधानहरू सब एउटी नारीलाई दासीको रूपमा बन्धनयुक्त गर्ने एउटा धार्मिक जाल हो । मन्त्रोच्चारण गरी-गरी नारीलाई पुरुषको चीर दासत्व स्वीकार्न लगाउने एउटा महाजाल हो विवाह अनि त्यो होमादि र पाठपूजा सबै आडम्बर हुन्, केवल आडम्बर । नारीलाई झुक्याउने, डर देखाउने र वशमा राख्ने एउटा माध्यममात्र हुन जस्तो लाग्यो । तर गङ्गा दिदीको सङ्गतबाट थाहा पाएँ प्रेम कस्तो हुन्छ, एउटा पति र पत्नीबीचको घनिष्ट सम्बन्ध कस्तो हुन्छ ? किन एउटी नारी अनन्तकालसम्म आफ्नो पतिको प्रेम प्राप्तिको आशा गर्छे ? मैले पतिबाट प्राप्त हुने वास्तविक प्रेम, सुख र सद्भाव नपाएर नै पो त्यस्तरी विद्रोही भएकी रहेछु कि जस्तो पनि लाग्यो । तर ………. फेरि एउटा मन पटक्कै मान्दैन यो सम्झन । यो सम्पूर्ण समाज नारीलाई उपभोग्य वस्तु ठान्छ । एउटा अपवाद तिमी थियौ । तिमीलाई गङ्गा दिदीले पतिको रूपमा पाइन् । त्यसैले उनी आफूलाई आफ्नो पतिको नाममा समर्पण गर्न चाहन्छिन् त्यो पवित्र प्रेम सम्झेर । पतिको नाममा आफ्नो जीवन त्याग्न चाहन्छिन् तर ……. सबै नारी गङ्गा हुँदैनन् र न त सबै पुरुष नै तिमीजस्ता हुन्छन् । त्यसर्थ अहिले आएर पनि आफ्नो त्यो विद्रोह एकदम अनुपयुक्त थियो भन्ने कुरा मान्न मेरो मन तयार हुँदैन । तर पनि मेरो एउटा मन मलाई र गङ्गा दिदीलाई तुलना गरिरहन्छ ।

गङ्गा दिदीलाई घाटको पाटीमा सुताएकी थिएँ । उनी जीवनको उत्तरार्द्धतिर पुगेकी थिइन् । दिदीले एकदमै अश्रुमिश्रति नयनले मलाई हेरेर भनिन्, ‘मृत्यु मलाई कुरिरहेको छ कि म मृत्यु कुरिरहेकी छु । घाटे वैद्यले अझै दुईचार दिन मर्दिनस् भन्थ्यो । यही इश्वरको भूमिमा मर्न चाहेकीले दुई महिना अगाडिमात्र यहाँ आइपुगेकी । तिमीलाई फेरि यहीँ भेटेँ असाध्यै खुसी लाग्यो । यहाँ यो पुण्यभूमिमा बसेर तिम्रो काखमा मर्न पाए म स्वर्ग जान्थेँ उर्मी । म भाग्यमानी रहेछु । मर्ने बेलामा तिमीबाट पतिको सम्पूर्ण हालखबर पनि सुन्न पाएँ । हुन त मैले उहाँलाई एक्लै छोडेर हिँडें । यसरी मैले हिँड्नु हुने थिएन । तर ….. मेरो मनले मलाई त्यसै गर्न अह्रायो । म उहाँसँगै बसिरहेँ भने मेरै मायाले पनि उहाँले अर्को विवाह गर्न सक्नुहुन्न । मैले छाडेँ भने त उहाँले अर्की ल्याउनुहुन्छ, सन्तान हुन्छन्, वंश मासिन पाउँदैन । उहाँको जीवन सुखी बन्छ भन्ने सोचेर नै त्यो घर र उहाँको हृदयको सँघार नाघेर निस्किएकी थिएँ । तर …… मानिसले सोचेजस्तो कहाँ हुँदो रहेछ र । सन्तानको हातबाट पिण्ड पाउन हामीलाई लेखेको रहेनछ । त्यसैले त सन्तान सुखको अनुभव गर्न हामीले पाएनौं । मेरो अधुरो भाग्यले उहाँलाई ठग्यो । मेरो कमजोरीको सजाय उहाँले पाउनुभयो । अब मर्ने बेलामा मेरो एउटै कामना र चाहना छ मेरो पतिव्रता धर्ममा कुनै खोट रहेनछ भने मैले मोक्ष प्राप्त गरूँ । मैले पुनः जन्मनु परे अर्को जन्ममा पनि उहाँकै पत्नी हुन पाऊँ र त्यस बेला हामीबाट सन्तान पनि होऊन् । यही आशिष् म भगवानसँग माग्छु ।’

घाट पुर्याएपछि त धेरै दिन कुर्नु परेन । दुई-तीन दिनमा नै उनले मृत्युवरण गरिन् । कस्तो बोल्दा-बोल्दै, हाँस्दा-हाँस्दै उनको प्राण गयो । उनको मरणसँग मलाईर् इर्ष्या लागिरहेछ । उनले आफ्नो नारीजन्य र प्रकृतिप्रदत्त गुण र गरिमा कसैको सामु समर्पण गरिनन् । धर्म र शास्त्रले निर्दिष्ट गरेको पतिव्रता धर्ममा कुनै आँच आउन दिइनन् । आफ्नो सतीत्व र नारीत्व दुबै जोगाएर उनी गइन् । उनले आफ्नो शारीरिक खोट बुझिन् र घर त्यागिन् आफ्नो पतिको सुखद भविष्यको लागि, वंश वृद्धिका लागि । उनको र मेरो आस्था नै पृथक थियो । उनी मेरो ठाउँमा र म उनको ठाउँमा भइदिएको भए यो घटनाक्रमले कस्तो रूप लिन्थ्यो होला ? सायद म पनि उनले अहिले गरेजस्तै गर्थें हुँला कि ?

मृत्युको त्यो वीभत्स, भयावह रूप जीवनको अन्तिम श्वास लिइरहेको अवस्थामा उनको मुखबाट निस्किएका सुस्केराहरू, त्यस बेलाको विकराल ध्वनि अहिले पनि मेरो कानमा नै गुञ्जिरहेको छ । उनीसँगको विछोड अनि वियोगको वेदनाले म निथ्रुक्क भएँ । उनले मृत्युवरण गर्नुभन्दा केही दिन अगाडि नै सन्यास लिएकी थिइन् ।
सन्यास ग्रहण गर्नु उनको बाध्यता थियो कि रहर त्यो म भन्न सक्दिनँ । कपाल खौरिएकी थिइन्, चुरा, सिन्दूर, पोते केही थिएनन् । नारी सौन्दर्यका प्रतीक सिन्दूर, चुरा, पोते, टीका, धागो, कपाल केही नहुँदा पनि उनी कस्ती तेजिली थिइन् । इश्वरभक्तिमा सम्पूर्ण तन र मन समर्पण गरेकी थिइन् । एकाकी जीवनको नीरव शून्यतालाई जित्न उनी हरपल हरक्षण इश्वरभक्ति र भजनमा नै तल्लीन रहन्थिन् ।

एउटी नारी त्यसमा पनि वयस्कलाई समयको निस्कृय शून्यताले कति सताउँछ, त्यो तिमी बुझ्छौ, बुझ्दैनौ थाहा छैन तर म बुझ्छु । म एउटी नारी हुँ र नारी हुनुको पीडा र गर्व दुबै बुझेकी छु मैले । अनैच्छिक विचार प्रवाहको मनमा ओइरो लागेको बेला शून्यताको प्रताडनाले सताउनु सताउँछ । त्यस्ता प्रताडना उनले कति खपिन् कति । तर पनि उनले आफ्नो मनलाई अलिकति पनि विचलन हुन दिइनन् । त्यो उनको त्यागको अर्को नमुना हो ।

विगतका संस्मरण र भविष्यको कल्पनामा तरङ्गति भएर उनले एकदिन भनेकी थिइन्, ‘उर्मी ! भाग्यको खेल हो वा कर्मको फल …… विगतको सम्झना र उहाँसँगको पारस्परिक सम्बन्ध अनि सुखी दाम्पत्य जीवनका मधुर क्षणहरूको झझल्कोहरुले इश्वरभक्तिमा लीन हुन थालेको मन मस्तिष्कमा भूकम्प ल्याइदिन्छ । उहाँलाई भुलूँ भन्छु, प्रयास गर्छु तर पनि किन-किन सक्दिनँ । अब त गृहस्थ जीवन त्यागेर सन्यास ग्रहण गरी उहाँको नामको सिन्दूर, पोते, चुरा, धागो फालेर कपाल खौरेर नाम थर नै छाडी पूर्णरूपले सन्यासी भइसकेपछि गृहस्थ, पति र पतिको प्रेम सम्झनु त पाप हो भन्छन् तर पनि खै किन-किन उहाँलाई चटक्क भुल्नचाहिँ मैले सकेकी छुइनँ । साँच्चै उर्मी ! स्मृतिवृत्तमा सञ्चित अतीतका सुरम्य र सुखद घटना विम्वहरू भुल्न साह्रै गाह्रो हुँदो रहेछ हगि ?’ मैले त्यस बेला गङ्गा दिदीको कुराको न समर्थन गर्न सकेँ न विरोध । त्यसै मेरा आँखा रसाए र रुन पो थालेछु ।

गङ्गा दिदीमा सन्तान जन्माउने क्षमता थिएन तर पनि उनले पतिको चोखो र पवित्र प्रेम पाइन् । त्यही प्रेमको मीठो संस्मरण सम्हालेर मृत्युवरण गरिन् । मसँग त्यो क्षमता थियो र पनि मेरो मनले पतिको पवित्र र मीठो प्रेमको रसास्वादन गर्न पाएन । तीनतिर बाँडिएको मनको पीडा खप्न कति कठिन भइरहेछ त्यो व्यक्त गर्ने कुनै शब्द छैन मसँग । म एकदम वैरागिएर तीर्थस्थलमै मर्ने अभिप्रायले घर छोडेर निस्किएकी मान्छे तिमीलाई अब पत्र लेख्दिनँ भनेर पहिले नै भनेकी थिएँ र पनि गङ्गा दिदीको मृत्युको खबर गरूँ भनेर यो पत्र लेखेकी हुँ । ल त अबचाहिँ जीवनभरिको लागि बिदा । अल बिदा ।

उर्मिला

पत्र पढ्दापढ्दै म कति रोएँ कति । मेरी प्राणप्यारी पत्नी गङ्गाको मृत्युको खबरले मलाई कति भाउन्न भयो । हजारौं-हजार बारुलाले एकैसाथ चिलेजस्तो भयो । आँखा वरिपरि संसार घुम्यो फनफनी । आफूले टेकेको धर्ती भासिएर म त्यहीँ डुब्दै गएँ क्रमशः क्रमशः । शरीर थाम्न सकिनँ । त्यसैले ढलेँ भुइँमा । ढल्दाढल्दै चिच्याएछु म, “गङ्गा ! मेरी प्राणप्यारी गङ्गा !!”

 भाग – २९

उपसंहार

मैले पढ्ने गरेका ठूला ठूला साहित्यिक र धार्मिक ग्रन्थहरु बनारसमा छापिएको कुरा थाहा पाएदेखि नै मलाई बनारस जाने तिव्र इच्छा भएको थियो । नेपालका पुराना र वृद्ध विद्वानहरुको जीवनीसँग गाँसिएर आउने शिक्षा र संस्कृतिको मुहान त्यो शहरप्रतिको मेरो आकर्षण झन् झन् बढ्दै गइरहेको थियो । मेरा झण्डै एक दर्जनजति उपन्यासहरु बनारसबाटै छापिएर आएपनि आफूले चाहिँ त्यो शहर हेर्न र देख्न नपाउँदा नराम्रो र नमिठो लाग्ने नै भयो नि ।

संयोगवस एकदिन सन्तोषजीले बनारस जाने प्रस्ताव राख्नु भयो, मैले नस्वीकार्ने त कुरै भएन । हामी दुवै साथी बनारसतिर लाग्यौं । त्यसवेला मेरो काम थिएन, विद्यार्थी जीवन भर्खरै समाप्त गरेर फूर्सदिलो भएर बसेको थिएँ । त्यसैले झण्डै दुई महिना उतै बस्यौं हामी । धेरैजसो त मैले त्यहाँ प्रेस नै हेरें । धर्मस्थल, मन्दिर र ऐतिहासिक स्थलहरु पनि प्रायः सवै नै हेरियो ।

बनारसबाट फर्किएपछि नै मेरो एम.ए.को रिजल्ट पनि आयो र म प्राध्यापन कार्यमा लागें र व्यस्त पनि हुन थालें । झण्डै दुई दर्जन उपन्यास प्रकाशित भइसकेपछि मैले आफ्नो लेखनलाई एकप्रकारले स्थगित नै गरें । जागीरे जीवन शुरु भएपछि लेख्न पनि समय नै पाइएन । त्यसमा पनि प्राध्यापन पेशा झन् अप्ठ्यारो, विहानदेखि वेलुकासम्म पढाउन जानै पर्ने । साँझ खाना खाएपछि भोलिपल्टको लागि केही तयारी पनि गर्नै पर्ने, अनि आराम पनि । साहित्य सृजना त ठप्प नै भयो ।

विस्तारै जीवनमा परिपक्वता आउँदै गएछ क्यारे, आफूले लेखेका आफैंलाई मन पर्न छाडे । मैले हतारमा सृजना गरेका मलाई नै सन्तुष्टी दिन सक्न छाडेपछि आख्यान लेखनलाई छाडेर कविता लेख्न थालें । आत्मसन्तुष्टी साहित्य सृजनाबाट प्राप्त हुने अनुपम उपहार हो, त्यसैका लागि पनि लेख्ने गर्छु कहिलेकाँही ।

सन्तोषजीको व्यापारको सिलसिलामा बनारस गइरहनु पर्छ । मैले उहाँको साथ लागेर पूनः दोश्रोपल्ट बनारस जाने मौका पाएँ । दोश्रोपटकको यात्रा पहिलेको भन्दा केही सहज भयो । यो यात्राचाहिँ एकदम विशुद्ध व्यापारिक यात्रा नै थियो ।

सन्तोषजीको एक पुरानो मित्र विटुको घरमा मैले जनैको एउटा ठूलो थाक देखें । मलाई एकप्रकार अचम्मै लाग्यो, त्यो जनैको रास देख्दा । व्राम्हण भएर जनै लगाउन समेत झण्झट मान्ने मान्छे म, त्यत्रो जनै देख्दा आर्श्चर्य त लाग्ने नै भयो । मैले सन्तोषजीलाई सोधें – यत्रो जनै के गर्छ यसले ? मेरो कुरा सुनेर उहाँले हाँसेर भन्नुभयो – यो त खास धेरै होइन । प्रत्येक हप्ता उसले योभन्दा बढि जनै बेच्छ । उजस्ता जनै व्यापारी यो शहरमा एक दर्जनभन्दा बढि छन् ।

जनैको कारोवारको कथा पनि मलाई रोचक नै लाग्यो । भारत र नेपालमा बसोबास गर्ने आर्य हिन्दुहरुका लागि जनै आवश्यक बस्तु हो । हरेक तिर्थव्रत, धर्मकर्म, पुराण, पूजापाठमा जनै नभइ हुँदैन भने धर्मप्रति आस्था राख्नेले सधैं काँधमा जनै झुण्ड्याएकै हुन्छ भने जनै यति धेरै विक्री हुनु स्वभाविक नै हो जस्तो पनि लाग्यो ।

मैले फेरि सन्तोषजीसँग सोधें – यत्रो जनै कहाँ बनाउँछ त ?

हामी विचको कुराकानी विटुले बुझेछ, उसैले भन्यो – मैले वृद्धाश्रममा बस्नेहरुलाई एक-एकवटा चर्खा दिएको छु । विहानै सादा धागो मेरा मान्छेले आश्रममा पुर्याइदिन्छन्, फेरि बेलुका गएर जनै संकलन गरेर ल्याउँछन् । त्यसरी धागो पुर्याउने, जनै संकलन गर्ने, गन्ने, मिलाउने आदि कामका लागि मैले पाँच जना मान्छे राखेको छु ।

खै किन किन मलाई वृद्धाश्रम जाने विचार जाग्यो । मैले जनै बाटेको हेर्न जाने विचार जाग्यो । मैले जनै बाटेको हेर्न जाने इच्छा व्यक्त गरें । विटुले साँझ मलाई त्यता लैजाने वचन दियो । त्यसपछि हामी उसैको साथ लागेर कचौडीगली गयौं । त्यहाँ पाइने दहीको लसी, मिठाइ, कचौडी साँच्चै नै मिठो लाग्यो मलाई । पान पनि निक्कै मिठो र राम्रो पाइन्छ भन्थे, तर मैले चाखिन (पान खाने बानी नभएर नै होला, त्यति आकषिर्त गर्न सकेन मलाई) ।

वेलुकातिर फेरि चेतगञ्जबाट रिक्सा चढेर हामी विटुको घर लाग्यौं । साँझ पर्न लागेकोले बजारमा क्रमशः भिड बढ्न लागेको थियो । दिनको प्रचण्ड घाम र तातो हावामा बाहिर निस्कन गाह्रो भएर होला, साँझ पर्दै गएपछि बजारमा भिड बढ्दै जाँदो रहेछ । हामी विटुको घर भएर दुध विनायक गयौं । जगदम्वा धर्मशाला हेरेर गंगातट पुग्यौं । हरिश्चन्द्रघाट, प्रल्हादघाट, दशार्सुमखघाट, जस्ता त्यहाँका प्रशिद्ध घाटहरु हेरेर हामी वृद्धाश्रम पुग्यौं, त्यहीँ नजिकै रहेछ । आश्रमभित्र नभन्दै थुप्रै बुढाबुढीहरु चर्खामा जनै बाटिरहेका थिए ।

विटुको कामदारले भन्यो – “गाउँ गाउँबाट रोग र भोकले बुढिएर यहाँ आएका यी बुढाबुढीहरु अघाउँञ्जेल खान पाएर, दुध, औषधि र पौष्टिक आहार खाएर बलिया हुन्छन् । खान सरकारले नै दिइहाल्छ, जनै बाटेका पैसाले अरु खर्च गर्छन् ।”

जनै बाटेको हेरिसकेर हामी र्फकने तरखर गर्दैथियौं, एकजना परिचित जस्तो लाग्ने मानिसको अनुहारमा मेरा आँखा ठोक्किए । मसँग आँखा जुध्दा उनको अनुहारमा पनि एक प्रकारको परिवर्तन आयो । उत्सुकता होकि कौतुहलता हो या लाजले अनुहारको परिवर्तित झलक राम्रो पढ्न सकिनँ । ती मान्छे मेरो समीम आए विस्तारै ।

“बाबुलाई चिने जस्तै लाग्यो ।” उनले विस्तारै भने ।

“मलाई पनि त्यस्तै लाग्यो । तपाईं बसन्त काका होइन ?”

“हो त ।”

“अनि कहिले आउनु भएको र ?”

“धेरै नै भइसक्यो ।”

“अनि ………..।”मैले धेरै कुरा सोध्न खोजेको थिएँ तर सकिनँ ।

“तपाईंलाई आर्श्चर्य लागेजस्तो छ मलाई यहाँ देख्दा ।” उनले भने ।

“हो, तपाईंले ठिकै भन्नु भयो । हुन त उता तपाईंसँग भेट नभएको धेरै बर्षनै भइसकेको थियो । त्यसबेला त तपाईं त्यहाँ जागिर खाँदै हुनुहुन्थ्यो होइन र ?”

“हो, जागिर छोडेको त धेरै भइसक्यो नि ।”

………… म केही बोल्न सकिनँ ।

“बाबु केही कामले आउनु भएको होला हैन ? कि पुस्तक छाप्न आउनु भएको ? बाबुले सानैदेखि कथा कविता लेखिरहनु हुन्थ्यो । केही त त्यसबेला सुन्ने मौका पनि पाएको थिएँ । अहिले पनि लेख्दै हुनुहुन्छ होला नि ?”

“हजुर, आफूलाई अभिव्यक्त गर्ने माध्यम रहेछ साहित्य लेखन । केही उपन्यास लेखेर छापें पनि । त्यसबेलाका चञ्चल युवा मनमा आउने माया, प्रेम र आकर्षण नै व्यक्त भएछन् मेरा लेखाईमा । अहिले मनमा आउने भावना बदलिएका छन् जस्तो लाग्छ मलाई । त्यसैले अहिले मैले लेख्न छाडेर जागिर खानमै व्यस्त भइरहेको छु ।”

“केमा काम गर्नु हुन्छ ?”

“अहिले पढाउन थालेको छु ।” मैले भनें ।

“अनि तपाईं …………. ?” मैले फेरि सोध्न खोजेँ तर वाक्य पूरा भएन । मेरो मनको कौतुहलता र असजिलो उनले बुझेछन् क्यार, विस्तारै भने – “बाँच्नुको कठिनता हो या जिन्दगीप्रतिको वितृष्णा कि धर्मप्रतिको आकर्षण हो, काशीमा मर्न पाए सिधै र्स्वर्गवास हुन्छ भन्ने एउटा विश्वासले नै म यहाँ आएको हुँ । अव यहिँ बसेर मृत्यु कुर्ने इच्छा छ ।”

काशीमा मर्न पाए स्वर्ग पुगिन्छ भन्ने धार्मिक अन्धविश्वासमा परेर मृत्यु कुर्न काशी पुगेका थुप्रै नेपालीहरु देखें मैले त्यहाँ । गंगा नदीको तटमा त्यस्ता अरु पनि थुप्रै वृद्धाश्रमहरु छन् भन्ने कुरा उनले बताए ।

केही क्षणको गफगाफपश्चात हामी हिँड्न तयार भयौं । उनले मलिन अनुहार र आशालु नयनले मेरो मुहारमा हेरे । उनका आँखा रसिला रसिला जस्ता देखिए । खै के सम्भिmए उनले आफ्नो मनमा अनि मलिन स्वरमा भने –

“बाबु कहिले फर्किनु हुन्छ ?”

“दुईचार दिनमै फर्किन्छु होला ।”

“बाबु एउटा स्नेही, विश्वासिलो मान्छे, एउटा आत्मिय साथी जस्तै विवेकी मान्छे भेट्न पाए हुन्थ्यो जोसँग आफ्ना मनका व्यथा विसाएर मनमा भरिएको वियोगको, विछोडको पिर पोखेर हलुको हुन सकियोस् जस्तो लागिरहेको थियो । तपाईलाई त बालकदेखि नै चिन्छु । बेलामै सन्तान भइदिएका भए मेरा छोरा पनि तपाईभन्दा ठूला उमेरका हुन्थे होलान् । अहिले सायद यो घाटमा बसेर मृत्यु कुर्नु पर्ने पनि थिएन कि । स्वदेशको माटोमा बसेर मृत्युवरण गर्नु पनि एउटा ठूलै धर्म हो भने झैं ठान्छ मनले तर पनि फेरि फर्केर स्वदेश जाने आँट आइरहेको छैन । शरीर पनि शिथिल भएको आभास हुन्छ, जीउ गलेरै त होला नि यहाँबाट हिँड्न पनि मन नलागेको ।

युद्ध र घृणा यी कस्ता चीज हगी बाबु ? स्वदेशको माटो रगतले भिजेको बेला, लाशको दुर्गन्धले नाक पोल्ने अवस्था त्यहाँ आउन लाग्यो भन्ने सुनेको छु । त्यही सुनेर पनि होला मलाई नेपाल र्फकने हिम्मत नभएको । उदासीनता, नैराश्यता, एकाङ्कीपन र रोगले गलेको बेला तपाईंलाई भेट्दा आफ्नै छोरा भेटाएझैं भइरहेछ । मन बाबुसँग बसेर धेरैबेर गफ गर्न, बोल्न चाहन्छ । अहिले त रात पनि परिसक्यो, फूर्सद भए भोलि चार बजेतिर एकछिन आईदिनुस्, म यहि विन्ती गर्छु आज ।”

बुढाले हत्केलाले आँशु पुछे । मेरा पनि आँखा रसाए क्याहो, चिसो चिसो भए जस्तो लाग्यो ।

“हुन्छ, भोलि आउँछु ।” यति भनेर म हिँडे । साथीहरु परै मलाई पर्खिरहेका थिए ।

भोलिपल्ट अपरान्ह चारबजेतिर म एक्लै चेतगञ्जबाट दुधविनायक गएँ । बुढा मेरै बाटो हेरिरहेका रहेछन् । मलाई देख्नासाथ उनको अनुहार उज्यालो भयो ।

“म बाबुको बाटो हेर्दै थिएँ । एक मनले त आउनु हुन्न जस्तो पनि सोच्दै थिएँ, धन्न आउनु भयो ।” भन्दै उनी हातमा रातो कपडाले बेह्रेको एउटा पोको लिएर म नजिक आए ।

हामी दुवै आश्रम बाहिरको धर्मशालामा बस्यौं । बसिसकेपछि बुढाले बोकेको त्यो पोको मलाई दिँदै भने –“विल्कुलै एक्लो, निःसहाय र अभागी ठानेर मैले धेरैपल्ट आफूलाई धिक्कारें बाबु । यो खातामा मैले आफ्नो कथा लेखेको छु । यो कथा पढ्ने मवाहेक अर्की एउटी नारी पनि छन् र तपाईं तेश्रो व्यक्ति हुनु हुनेछ । हुन त ती नारीले पनि सबै पढेकी छैनन् । केवल दुई चार पाना पढिन् होला । तपाईंपछि कतिले पढ्छन् त्यो त अहिले के अनुमान गर्न सकिन्छ र । यो म मरेपछि वेवारिससे हुने भो भनेर धेरै पिरोलिएको थिएँ, अव बल्ल मलाई ढुक्क भो, म अभागी रहेनछु ।” यति भनेर उनले आफ्ना बाहुलाले आँशु पुछे र भने – “बुढ्यौलीले हो या केले हो, मन एकदमै कमजोर भएर गयो । साह्रै निर्वल पनि भएँछु ।”

साँच्चै उनले यति भनेपछि त मैले पनि उनलाई निक्कै गलेको, असहाय र दुःखको भवसागरमा तैरिरहेको जीर्ण बृद्ध जस्तै पो देख्न थालें । तर पनि उनका नयनमा अनौठो सपना र अनुहारमा खुशीको चमक छाए जस्तै देखें मैले । उनको व्यवहारले यस्तो देखाउँथ्यो कि ममाथि उनको आत्मियता र विश्वास झन् झन् बढ्दै गइरहेको छ ।

“यो लेख्दा प्राप्त भएको आत्मसन्तोष र सुखानुभूतिले मेरो छातीभित्र भरिएको पिर, व्यथा घटेको थियो बाबु ।” उनले भने ।

मलाई त्यो कपडाले बेह्रिएको खाता बुझाइसकेपछि उनले भित्रभित्रै नजानिँदो तृप्तिको अनुभव गरे, त्यो उनको पाको र नीरस अनुहारमा छाएको चमक हेरेर नै अनुमान गरें । कुनै चीरकालदेखि विछोडिएको आफ्नो आत्मीयजनसँग पूनर्मिलन हुँदाको जस्तो खुशी उनका आँखामा छचल्किए, तिनमा हर्षाश्रु पनि मिसिएका थिए ।

कौतुहलता र आर्श्चर्य त भनेजति नै लागिरहेको थियो मलाई । मनमा प्रश्नहरु उठिरहेका थिए, त्यो खाताको विषयलाई लिएर । मेरो भावनासँग निकटताको साइनो गाँसेर, भावनात्मक सम्वन्ध गाँस्न पाएर बुढामान्छेको अनुहारमा खुशीयालीपूर्ण सन्तुष्टिको उज्यालो प्रकाश पोतिएको थियो । सायद त्यो देखेर होला मेरो मनमा पनि अथाह तृप्ति सृजित भइरहेको थियो । त्यही तृप्तिको छालसँगै कौतुहलता ओझ पर्दै थियो ।

त्यो खाता उनले मलाई किन दिएका हुन् मैले केही बुझ्न सकिन न त उनलाई मैले यो के गर्नु भनेर सोध्न सकें । उनले ममाथि गरेको विश्वास र आत्मियताको सट्टा आफूले उनलाई केही सहयोग गर्न नसकेकाले नै मलाई भित्रभित्रै पिडाको अनुभव भयो । त्यसैले मैले भनें – “अव म जान्छु ।”

“नेपाल कहिले फर्किने -” उनले सोधे ।

“सायद पर्सी र्फकन्छौं होला ।” मैले उठ्दै जवाफ दिएँ ।

“फर्किने बेलामा फूर्सद भयो भने एकपल्ट आउनुस् न ल बाबु ।” उनले अनुनय गरे ।

“हुन्छ, प्रयास गर्छु ।” यति भनेर हात जोडी विदा भएँ । त्यो रातो कपडामा बेह्रिएको उनको नासो बोकेर । चेतगञ्ज हिँडेरै गएँ । त्यहाँ पुगुञ्जेल पनि मैले “बुढाले यो खाता किन दिए ?” भन्ने प्रश्नको जवाफ भेट्टाउन सकिन ।

निर्दिष्ट भन्दा दुई दिन बढि बसेर हामी बनारसबाट फर्कियौं । दुःखकको कुरा चाहिँ के भयो भने म बुढामान्छेलाई फेरि भेट्न जान सकिन, त्यही पिरले मन गह्रौं भइरहेको थियो । बाटामा पनि सन्तोषजीसँग उनको बारेमा नै धेरैजसो गफहरु भए तर पनि उनको खाता हामीले खोलेर चाहिँ हेरेनौं ।

घरमा आएपछि पनि निक्कै दिन मैले त्यो उनको खाता पढ्ने फूर्सद पाइन । बल्ल एउटा शनिबार मैले दिनभर घरमा बस्ने फूर्सद पाएँ । त्यही फूर्सद को सदुपयोग गर्न मैले त्यो पोको मैले खोलें र पढ्न थालें । त्यहाँ उनको जीवनकथा उनैको हस्ताक्षरमा लेखिएको थियो, जुन यहाँहरुले २८ हप्ता लगाएर भर्खरै पढिसक्नु भएको छ ।

समाप्त

 

यहाँहरुलाई यो उपन्यास कस्तो लाग्यो, कृपया कमेन्ट लेखिदिनु भएमा आभारी हुनेथिएँ साथै मलाई व्यक्तिगत रुपमा सर्म्पर्क पनि गर्न सक्नु हुनेछ, मेरो इमेल ठेगाना yrbaral@yahoo.com मा पठाउनु भए मैले पाउनेछु

धन्यवाद !

करीव २५ बटा जति नेपाली उपन्यास प्रकाशित गरिसकेका युवा साहित्यकार युवराज बरालको यो अप्रकाशित उपन्यासहिन्दू नारीबजारमा नल्याइ मलाइ मेरो ब्लगमा धारावाहिक रुपमा प्रकाशित गर्न दिएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु साथै अवदेखि प्रत्येक शुक्रबार यो उपन्यास धारावाहिक रुपमा प्रकाशित गर्दै जानेछु नेपालको विजुली, इन्टरनेट कुनै पनि कुराको भर नभएकोले यि कुराको कारणले कुनै दिन प्रकाशित हुन नसकेमा त्यसका लागि अग्रिम क्षमा याचना गर्दै भोलिपल्ट प्रकाशित गर्नेछु भनि वाचा गर्दछु

धन्यवाद !

(https://damaknews.wordpress.com)

 

————————————————- इति ——————————————————-

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *