नेपाली लघु-उपन्यास : सहयात्री

~राम प्रसाद दाहाल~Ram Prasad Dahal

१.यात्राको थालनी

कहींकतै टाढाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट होस् या गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयास गर्दछु तर त्यो प्रयास कहिलेकहीं सफल नभएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ। कहिले म ट्राफिक जामको घेरामा फसेको छु, कहिले ट्याक्सी नामको खटारो बीचबाटोमा पसारो परिदिएर समयलाई उम्काई दिएको छ। कतिपय समयमा ‘ल, ल, पाकिसक्यो, खाएर जान भ्याइन्छ’

भन्दै अन्तिम समयमा मलाई माया गर्नेले भन्ने उसको मायाको मनभोग ‘किन एकआध घण्टा अगाडि पाक्न सक्दैन?’ त्यसैलै सधैं मलाई चिन्ता ल्याइदिन्थ्यो। ‘समय जति भने पनि छ, किन आत्तिएको त्यसरी?’ भनेर सबैले भने पनि म भने मेरो बाहनमा नबसुन्जेल त्यसले मलाई नबोकी उडेको या गुडेको कल्पना मात्र गरिरहन्छु र मेरो मुटुको धडकन मेरो बाहनको सिटमा बसेपछि मात्र सामान्य हुन्छ।Book cover - Sahayatri - 2069 -  Ram Prasad Dahal

काकडभिट्टाको बसको निम्ति समयमै घरबाट प्रस्थान गरे पनि दुर्भाग्यले ट्याक्सी बीचैमा पन्चड भइदिएर समय खाइदिँदा मेरो ब्लडप्रेसर अवश्य नै केही बढ्यो तापनि गाडी छुटने समयभन्दा दश मिनट अगाडि म आफ्नो सुरक्षित सिटमा बस्न पुगेर लामो सास फेरें। वरिपरीका सबै सिट भरिइसकेका थिए, केवल म छेवैको सिट बाहेक। मैले सोचें – ‘शायद यो सिटको यात्रु मजस्तै कही अलमलिएर अडेको होला’ किनकि टिकट नपाउने यो मारामारको समयमा त्यो सिट खाली हुनसक्ने सम्भावना थिएन।

बस छुटने समय पाँच मिनट बाँकी रहेपछि गाडीको इन्जिन चालु भयो र आफ्ना आफन्तलाई बिदाई गर्न बस भित्र पसेकाहरू ‘ल है, राम्रोसँग जानु है’ भन्दै आफन्तसँग बिदा भएर बसबाट ओर्लिएपछि बसको कन्डक्टर भित्र उक्लियो। यात्रामा अभ्यस्त परे झैं पस्ने र निस्कने प्रकृयालाई १।२ मिनट पनि लागेन।

कन्डक्टर सिटहरू निरिक्षण गर्दै मेरो सामु आइपुग्यो र मेरो छेउको खाली सिट देखेर मलाई सोध्यो — “यहाँ तपाईको मानिस हो?”

मेरो नकार जवाफ सुनेपछि फेरि सोध्यो — “कहाँ गयो त यहाँको मानिस?”

मैलै छोटो जवाफ दिएँ — “खै ! म यहाँ आउँदा थिएन।”

मेरो जवाफ सुनेर कन्डक्टर बरबरायो — “यर्स्तै बेलामा नआउने पेसेन्जरले जहिले पनि ढिलो गरिदिन्छन्। आज त छुटे पनि छुटून्, ज्यान गए पर्खने हैन।”

शायद प्रत्येक दिन कसैले न कसैले पक्कै कुराउथ्यो होला र ऊ यही कुरा प्रत्येक दिन दोहोर्‍याउथ्यो होला। त्यो दैनिक कुराइ र कराइमा अभ्यस्त भएको कन्डक्टर अरू सिट निरिक्षण गर्न पछाडिका सिट हेर्न थाल्यो र त्यही बेला स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै एउटी उमेरदार आइमाई बसको ढोका भित्र उक्ली र टाउको बाहिर फर्काएर कराई — “ए, त्यो नराखमाथि। यहीं ले, यही ंले। भरे चाहिन्छ मलाई।”

बाहिरबाट कसैको धोद्रे स्वर सुनियो — “तिमी पसन भित्र। म पठाइदिइहाल्छु नि।”

स्वास्नीमानिस भित्र पसी र सिटको नम्बर हेर्दै मेरो छेउमा आएर भनी — “ए, तपाई त हाम्रो सिटमा बस्नु भएको रहेछ।”

मैले उसलाई नियालेर हेरें। उसको उमेर तीसको १।२माथि कहीं पनि हुन सक्थ्यो। ऊ दुब्ली त होइन तर कहीं पनि बोसो झुन्डिएको नदेखिनाले उसले पर्याप्त शारीरिक परिश्रम गर्थी भन्ने बुझन्थ्यो। उसको अनुहार असम्पन्न नदेखिने हुनाले शारीरिक परिश्रम गरेर कमाउनु पर्ने वाध्यता उसको थियोजस्तो लाग्दैनथ्यो। उसको चालढालले लाग्थ्यो – शायद अनावश्यक ओहोरदोहोर र चपरचपरले नै शारीरिक परिश्रमको काम पूरा गरिदिन्थ्यो होला।

मबाट तुरून्तै कुनै उत्तर नपाएर होला उसले कन्डक्टरतिर हेरेर भनी – “ए, भाइ ! यो हाम्रो सिटमा कसलाई बसाल्नु भएको, हँ?”

एउटी भद्र महिलाको आपत्ती सुल्झाउन कन्डक्टर हतारहतार आयो। त्यही समय भित्रै त्यो स्वास्नीमानिसको साथमा आएको भलादमी पनि आइपुग्यो र कन्डक्टरलाई टिकट दियो। कन्डक्टरले उसको टिकट जाँचिसकेपछि मतिर हात पसार्दै भन्यो — “हजूरको टिकट पाउँ्क न एक पल्ट।”

मैले आफ्नो टिकट उसको हातमा थमाइदिएँ। कन्डक्टरले मेरो टिकट जाँचेपछि त्यसलाई मेरो हातमा फिर्ता दिदै बर्बरायो — “यस्तै गर्छ यो मानुदाइले जहिले पनि।”

उसको बरबराइ सुनेर स्वास्नीमानिसको धैर्य टुङ्गियो र उसले भनिहाली — “को मानुदाइ? के मतलव हामीलाई त्यो मानुदाइको? हामीलाई त हाम्रो सिट खाली गराइदिनुहोस्, त्यति भए पुग्छ।”

कन्डक्टरले आइमाईको भनाइमा ध्यान नदिई लोग्नेमानिसलाई लक्ष गरेर भन्यो – “हजूर ! यहाँ नम्बर जुधेजस्तो छ। म मिलाउछु, एकै छिन है।”

लोग्नेमानिसले केही भन्न सकेन। उसले आइमाईतिर हेर्‍यो। आइमाईले आग्नेय नेत्रले हेरेर भनी — “यति जाबो दुईटा टिकट किन्दा पनि नजुधाई किन्न सक्नुहुन्न होइन तपाई? म चाहिं के अब कसैको काखमा बसेर जाने?”

लोग्नेमानिसले आफू अपमानित भएको अनुभव त गर्‍यो तर त्यो हुलमा विवाद उठाएर कलह सिर्जना गर्दा अपमान अझ अरू बढने सम्भावना देखेर होला आफ्नो आवाज नबढाई भन्यो — “हुन्छ नै कहिले कहीं यस्तो। अहिले मिलाई हाल्छ नि कन्डक्टरले। तिमी अहिले यही सिटमा बस्दै गर न।”

स्वास्नीमानिसले मेरै छेउको सिटमा थ्याच्च बस्दै भनी — “म त बसें अब। जे परे पनि उठदिनँ। जाबो बसमा हिडदा पनि गडवडी पर्ने। रकेटमा उडनुपर्ने भए के हुने थियो होला?”

मैले एक दृष्टि दुवै जनामा दिएँ। यो मध्यम उमेरमा पनि स्वास्नीमानिस राम्री थिई भने कलकलाउदो बैंशमा त २।४ भमरा उसको अघिपछि पक्कै सधैं झुमिन्थे होलान्। त्यति छोटो समयमा कसैबारे केही निर्क्योल गर्न गाहारो भएपनि मानव स्वभाव चिन्तन गर्न सक्ने मानिसले उसको अनुहारमा देखिने दुई बिशेषता प्रस्ट देख्ने थियो – उसका पातला ओठ जोडिएर बस्दा पनि सधैं नै चलिरहेका हुन्थे, र मौनभएर बस्दा उसका आँखा कहीं शून्यमा केन्द्रित भएर झम्किन बन्द गर्दथे। यसले यही प्रस्ट्याउथ्यो कि कहीं भित्र उसको अन्तरमनमा कि विक्षिप्तता थियो कि व्यथा कि विद्रोह।

लोग्ने मानिसको उमेर ५० नाघिसकेको थियो, अझ ५५ पनि पुगेको हुन सक्थ्यो। उसको जिउडालको बनोट, अनुहारको भाव, हात, लवाई आदिले दाल, चामल, तेल, बेसार आदिको किराना पसलबाट सम्पन्न भएको मध्यम वर्गीय साहूजस्तो लाग्दथ्यो। ग्राहक अगाडि पर्दा बत्तिसी देखाएर मिठो बोल्नुपर्ने र ग्राहक नहुदा स्वास्नी, छोराछोरी, नोकर–चाकरलाई हप्काउनु पर्ने या भर्खर गएको ग्राहकले दुःख दिएकोमा त्यसलाई दार्‍हा किटनु पर्ने वाध्यता परेजस्तै कन्डक्टरको सामु उसको अनुहार हँसिलो र नरम थियो भने ऊ गएपछि त्यही अनुहार धमिलो र कडा भएको थियो।

कन्डक्टरले कसैलाई लिएर भित्र पस्यो। त्यो नयाँ आउनेले पनि हामी तीनै जनाको टिकट दोहोर्‍याएर जाँचेपछि हामी कसैलाई पनि लक्ष नगरी भन्यो — “हजूरहरूमध्ये एक जनाले अब भित्र क्याबिनमा बसिदिनु पर्‍यो।”

आफूलाई लक्ष नगरिएको भनाइको मैले उत्तर दिनु आवश्यकता देखिनँ तर मेरी सह्यात्री आइमाईले आफूलाई रोक्न सकिन र भनिहाली — “म किन जाने, हँ, अर्कोतिर आफ्नो सिट छोडेर? अरू जाने भए मलाई थाहा छैन, म त जान्न।”

त्यो ‘अरू’ शायद त्यही लोग्नेमानिस थियो होला। मलाई त्यो बसका कर्मचारीले हटाउन नखोजेको कुरा प्रस्ट बुझन्थ्यो। ती कर्मचारीको म प्रतिको सौहार्द्रता मेरो आधा फुलेको दार्‍ही र कपालले देखाइदिने वुद्धिजीवि अनुहारले उब्जिएको हुन सक्थ्यो।

समयभन्दा दश मिनट जति पछाडि त्यो लोग्नेमानिस त्यो स्वास्नीमानिसको सामु आएर भन्यो — “ल, साने केबिनमा बसेको छ। केही चाहिए त्यसलाई बोलाउनु। तिम्रो सामान यहीं छ। राम्रोसँग जानु। वहाँ पुगेपछि फोन गर्नुँ नि।”

त्यो भनाइमा विशेष प्रेम पनि थिएन र कुनै वेवास्ता पनि थिएन। एउटा घरको मूल पुरुषले घरका सदस्यमाथि राख्नुपर्ने सदाशयता र स्नेह भने त्यसमा प्रशस्त थियो। त्यो आइमाई भने उसको भनाइप्रति उदासिन देखिई र उसले कुनै प्रतिक्रिया जनाइन। लोग्नेमानिस पनि स्वभावको अभ्यस्त भइसकेकोले होला कन्डक्टरले ‘ल, ल, ल, अब गाडी चल्यो’ भनेपछि ‘ल, म गएँ है त’ भन्दै ढोकाबाट बाहिर निस्कियो।

ग्ााडी चलेपछि मैले मेरो वरिपरिको वातावरण नियालें। खलासी ढोकाको छेउमा उभिएको थियो र उसको साथसाथै केही मिनट पर ओर्लने उसका चिनाजान या विद्यार्थीहरू उभिएका थिए। अलि पर गएपछि एउटा स्टुल या एउटा मुढा पाउने आशामा एउटा यात्री केबिनको ढोकामा अडेस लागेर उभिएको थियो। कन्डक्टर पछाडिका सिटका यात्रुलाई मिलाएर बसाउदै थियो। ढोकाको सामु दायाँ पिट्टको सिटमा एउटी अधवैशे आमा र एउटा लक्का जवान छोरो बसेको थिए। त्यो अधवैशे आइमाईले पटक पटक ‘तेरो बुवा, तेरो बुवा’ भनेकीले ‘पक्कै आमाछोरा हुन्’ भनी लख काटेको थिएँ मैले। बाँकी वरपरका सिटमा स्कुलको छुट्टीमा घर फर्कन लागेका केटाकेटीे खचाखच थिए र उनीहरूको चहचहले वातावरण नै रमाइलो बनाइदिएको थियो।

मैले टाउको घुमाएर बाहिर हेरें। हिउँदको चिसो दिनको घाम डुबिसकेको र बिस्तारै अँध्यारो झर्दै आइरहेको थियो। काठमाडौंको सडक पछाडि सर्दै गइरहेको थियो र सडकमा बाहनहरूको संख्या पनि निकै कमी देखिन्थ्यो। काठमाडौंबाट बाहिर निस्कँदा मलाई जहिले पनि मैले भाग्यले एक पल्ट दर्शन गर्न पाएको अजन्ता एलोराको गुफा भ्रमणबाट बाहिर निस्कदाको अनुभूति सम्झना हुन्छ जहाँ भित्र सौन्दर्य र कलाको अविस्मरणीय र अलौकिक रसस्वादन त हुन्छ तर गुफाबाट बाहिर निस्कदा खुला आकाश र स्वच्छन्द वातावरणमा मानिस आफूलाई मुक्त र स्वतन्त्र पाउछ। विशाल अजायव घरजस्तो यो काठमाडौं जहाँ कालान्तरदेखिका संस्कृति र विकृतिहरू यसरी एक अर्कासँग टाँसिएर बसेका छन् कि कसैले पनि आफूलाई निष्पक्ष, स्वतन्त्र र विवेकपूर्ण बनाएर टिक्न पनि गाहारो छ। त्यसैले आकाशको यो साँगुरो गुम्बजलाई प्वाल पारेर मैदानी फाँटतिर गइरहेकोछु’ भन्ने अनुभूतिले पनि मलाई अलि मुक्त बनाउथ्यो।

२. चिनापर्ची

मेरी सह्यात्रीको अस्पष्ट स्वरले मलाई भित्र हेर्न लगायो। उसको अनुहारमा मेरो आँखा परेपछि उसले चिन्तित अनुहारले भनी – “अघि मैले वचन लाएँ भनेर तपाई रिसाउनु भएको त होइन?”

ऊसँग मैले रिसाउनु पर्ने कारण त छँदै थिएन। उसले पहिले जो भनेकी थिई त्यो परिस्थितिमा पर्ने कुनै पनि यात्रुले भन्न सक्थ्यो र त्यो पनि मलाई लक्ष गरेर त भनिएकै थिएन। त्यसैले मैले उसको मानसिकतालाई शान्ति दिन भनेँ — “तपाईले मलाई केही भन्नु नै भएको छैन त म रिसाउने किन?”

“साँच्चै रिसाउनु भएको छैन त तपाई?” – उसले आधा सन्देह नै लिएर आतुर प्रश्न गरी।

मैले मुस्कुराउदै जवाफ दिएँ — “पक्कै छैन। तपाई त्यसमा आश्वस्त हुनुभए हुन्छ। र म त्यति सजिलै रिसाउनेमध्येको पनि होइन।”

उसले तुरून्तै आश्वस्त भएर भन्नथाली — “हेर्नोस् न। म पहिले त्यसै प्वाक्क भनिदिइहाल्छु अनिपछि आफैलाई अफसोच लाग्दछ। त्यसैले होला मलाई ‘प्याच्च मुख भएकी’ भन्छन्् तर मनमा पाप नभएपछि मुखले भन्दैमा के हुने हो र? पापी पेटभन्दा छुच्चो मुख भलो होइन र?”

मैले उसको जवाफ दिनुभन्दा आफ्नै भनाइ राख्नु उपयुक्त ठानेर भनेँ — “तपाई अनायाशै तर्सनु हुँदो रहेछ। आफैले शङ्काको समस्या सिर्जना गरेर आफैंलाई अपराधीको कठघरामा उभ्याउनु हुन्न। तपाई त पानीजस्तो पारदर्शी हृदय भएको पवित्र मानिस देख्छु म। सधैं पवित्र र निस्पाप ठान्नोस न आफूलाई।”

उसले हँसिलो अनुहार पारेर भनी — “पापी त म आफूलाई ठान्दिनँ तर कसैलाई चोट लाग्ने डर सधैं भइरहन्छ। अँ साँच्ची। तपाईलाई मैले के भनेर सम्वोधन गर्ने होला?”

“मेरो नाम मीनराज हो।” – मैले छोटो जवाफ दिएँ।

“म त्यसो भए तपाईलाई ‘मीन दाइ’ भन्छु। यत्रो लामो बाटोमा एउटा साइनो नलगाई कुरै गर्न पनि अप्ठेरो, फेरि कुरै नगरी बस्न पनि त गाहारो।”

एक छिन रोकिएर ऊ फरि भन्न थाली — “मलाई ‘ज्ञानी’ भन्छन््। तपाईले पनि ज्ञानी नै भन्दा हुन्छ। यसै पनि म तपाईभन्दा कान्छी नै छु, त्यसैले तपाईले ‘तिमी’ साइनो लगाए कुरा गर्न सजिलो होला।”

मैले मुस्कुराएर मौन स्वीकृति दिएँ।

ज्ञानीले फेरि मेरो अनुहारमा आँखा गाडेर सोधी — “तपाईका घर जहान कहाँ छन् नि ?”

मैले प्रसङ्गलाई अलि रसमय बनाउन जवाफ दिएँ — “बास त जता बसे पनि भएकै छ। त्यसैले कहिले सीमानाको छेउमा बस्छु, कहिले राजधानीमा। दाजुभाइ, इष्टमित्र, बाबुआमा सबैले पुगेको बेला खान र बस्न दिइहाल्छन्। खास घरजहान जोडने सौभाग्य भने अझ पाएको छैन।”

मेरो जवाफले प्रसन्नभएर उसले भनी — “नजोडनोस् अब अहिलेसम्म नजोडेपछि। यो घर परिवारमा सुख र दुःखको हिसाब लगाउने हो भने दुःखको मात्रा अत्याधिक हुन्छ। लोग्ने, स्वास्नी, विवाह, छोराछोरी भन्ने जन्जाल नै दुःखको महाजालो हो। यो मेरो अनुभव हो र अब मेरो अभिव्यक्ति पनि ठान्नोस।”

मैले उसलाई गहिरो आँखाले हेरेर भनेँ — “यो संसार नै घर जहान जोडेर बसेको छ र यही परम्पराले सृष्टि र सभ्यताको विकास भइरहेकोछ। मैले नजोडदैमा त्यसमा केही फरक पर्ने होइन तर तपाईले किन र कसरी यो नकारात्मक अनुभव सँगाल्नु भयो?”

“अनुभवले, आफ्नै अनुभवले। मैले पहिले यो संसार, यो जीवन सबै नै झलमल्ल ठानेथेँ ल73मीपूजाको रातजस्तै झलमल्ल।” – ऊ आफैमा अल्भि्कएर भन्न थाली।

“तब?” – मैले उसको तन्मयता नछिनाउन प्रसङ्गलाई सजिलै अगाडि बढाउन सक्ने स्थिति बनाउन एउटा संयोजक शब्द थपें।

ज्ञानी भन्न थाली।

३. मेरो भान्दाइ

“म बाबुआमाकी जेठी छोरी। ममुनिका बहिनीहरू ५।७ जना। त्यो छोरीछोरीको लर्को पनि आमाको छोरो पाउने दृढ इच्छाले ल्याएको थियो अन्यथा त्यत्रो विधी बच्चा पाउन न मेरा बाबुसँग ती छोराछोरीको बोझ धान्ने आर्थिक स्थिति थियो, न मेरी आमाको स्वास्थ्य र शरीर। त्यो बजार भनिने ठूलो गाउँमा हामी बस्थ्यौं र बाको आम्दानीको स्रोत अलिकति खेतीपाती र बजारमा एउटा सानो पसल थियो। खेतीपातीको बेला हामी जहानै बेसी झर्ने गर्थ्यौँ खेेती कमाउन र बजारमा केाही एक जना मात्र बस्थ्यो पसल चलाउन।

पसल ठूलो नभए पनि त्यसले नुन तेल मात्र होइन, खेतीबाट नपुग दाल, चामल पनि धान्नु पर्दथ्यो। त्यसैले यसलाई बन्द गर्न पनि सकिदैनथ्यो। सामान्यत त्यो पसलमा बालाई मेरो भान्दाइले सघाउथ्यो र बा खेतीमा गएको बेला वा अरू समय बा नभएको बेला ऊ एक्लै पनि चलाउथ्यो।”

“कुरा भान्दाइको चलिहालेको बेला उसको बारेमा पनि म केही सुनाइ हाल्छु। गाउँमा बस्थिन् हाम्री फुपू, घर नै उनको त्यहीं र उनको खाइन–पाइन पनि राम्रै थियो। त्यसैले आमाले फुपूलाई धागा चुरा जस्ता झलमिले सामान पठाई दिँदा फुपू कहाँबाट घिउ, कुराउनी, तामा, टुसा र कहिले कहीं दाल चामलजस्तो गहकिला चिज पनि आइरहने गर्दथे। यसै पनि सम्पन्न भएपछि चेलीबेटीले पनि माइतीलाई पठाउदा हुँदोरहेछ। त्यसमा पनि भान्दाइ सधैं हामीकहाँ पढ्न बसेपछि उनले पठाउनु पर्ने पनि भयो र पठाउन सजिलो पनि भयो।”

“भान्दाइ मभन्दा दुई वर्ष जति जेठो र हामी कहाँ ९।१० वर्षको उमेर देखि नै बस्न आएको। त्यसैले ऊ हाम्रो घरको सदस्यजस्तै भइसकेको थियो। हाम्रो सुखदुःखमा उसको सहभागिता सधैं हुन्थ्यो र ऊ आफ्नो घरमाभन्दा हाम्रो घरमा नै बस्न रूचाउथ्यो।”

“म हाम्रो बाले पुल्पुल्याएकी छोरी। हुन त सबैको घरमा जेठी छोरीप्रति बाबुको विशेष सहानुभूति या स्नेह त हुन्छ नै तर म भने अलि बढी नै जिराही थिएँ। मैले भनेको कुरा जसरी पनि पुग्नुपर्छ भनी ठान्थेँ म। भाइबहिनी साना भएकोले म उनीहरूलाई त यसै नै दपेट्थेँ तर भान्दाइ ठूलो पनि भएको र बाको जिम्मेवारी बोकेको मानिसलाई पनि मैले दपेट्न खोज्नु त हुन्नथियो होला तापनि स्वभाववस दपेट्न खोजिहाल्थेँ। भान्दाइलाईभन्दा राम्रो मलाई चाहिन्छ, म अघाएपछि मात्रै उसले मिठो पाउनुपर्छ भनिठान्थेँ म। भान्दाइको कोठा अलग्ग थियो र म पनि अलग्गै कोठा चाहन्थँ जो सम्भव थिएन र भान्दाइको कोठामा त्यसो भए मेरो पनि हक छ भनी दावी गर्थें। त्यसो त भान्दाइको हरेक चिजमाथि मेरो दावी रहन्थ्यो र अझ त्यसमा पनि भान्दाइलाई नै भनेर दिएको चिजमा त म अधिकार झन छोडन सक्दिनथेँ। भान्दाइको हरेक वस्तु आफ्नो भन्नु, उसको कोठा, ओछ्यान आफ्नो भनेर प्रयोग गर्नु केटाकेटीमा त सुहाउने कुरा थिए होलान् तर म १४ बर्ष पुगेपछि अवश्य नै अचाक्ली देखिन थाल्यो र आमाले मलाई त्यो व्यवहार निषेध गर्न थालिन्। किन्तु म वयस्क एकै दिनमा भएकी त थिइनँ। अघिल्लो दिनसम्म सही भएको कुरा भोलिपल्ट नै कसरी बेसही मान्थेँ र म? त्यसैले आमाको कुराको विरोध गर्दै म बाबुकोमा पुगेँ। यो कुरामा भने बाबुले पनि मलाई कुनै मद्दत गरेनन्, बरू उल्टै मलाई भने — “आमाले ‘हुन्न’ भन्छे भने किन त्यही गर्नु पर्‍यो त?”

साँच्चै मलाई चोट लाग्यो। जुन बाबुले त्यो दिनसम्म मलाई मेरो अधिकारको प्रयोगमा कुनै रोक लगाएका थिएनन् उनी पनि मेरो विपक्षमा उभिएपछि म भान्दाइको अगाडि गएर रूदै भने — “भान्दाइ ! मलाई यो घरमा किन सबै विरोध मात्र गर्छन्?”

भान्दाइ जहिले पनि मेरो ज्यादतीलाई सहिदिन्थ्यो। सानी हुँदा कुटथेँ म उसलाई, ठूली भएपछि मुखमुखै लाग्दथेँ। त्यसको निम्ति आमाको गाली र पिटाइ पनि पाउथेँ तर भान्दाइ त मलाई त्यसबाट पनि बचाउथ्यो। आफू भान्दाइसँग हुँदा म आफूलाई संंरक्षित ठान्दथेँ। तैपनि भान्दाइप्रति मेरो डाही भने छदै थियो। अझ डाही पनि होइन होला, आफूलाई भान्दाइभन्दा अलग्ग ठान्नै नसक्ने किशोरहठ होला शायद।

कति बर्षको थियो र भान्दाइ? त्यही १६ वर्षको न हो। तर पनि उसमा एउटा आत्मविश्वास थियो। कुनै निर्णय पनि बाभन्दा छिटो गर्न सक्दथ्यो ऊ। त्यसैले पनि बाको भरोसा थियो ऊमाथि र मेरो पनि थियो।

मेरो भनाइ सुनेर भान्दाइले भने — “तिम्रो घरमा तिमीलाई रोक्ने किन?”

कति ठीक्कको थियो भान्दाइको प्रश्न? रोक्ने त बा हुनसक्थे, आमा हुनसक्थिन् या अरू कोही। तर रोक्ने किन? यसको कारण त कसैले पनि दिएको थिएन मलाई। बिना कारण त पक्कै पनि रोक्न मिल्दैनथ्यो। यो सोचाइ मेरो त्यो बेलाको हो, अहिलेको होइन नि।

भान्दाइको भनाइले म अलि आश्वस्त भएँ तर पछि गएर बुझें कि यस कुरामा भान्दाइको राय र भनाइ पनि खास महत्व राख्दो रहेनछ। भान्दाइले बाआमालाई केही भनिदिएनन् भनेर म रिसाएँ पनि तर मेरो मन राखिदिन भनिएका वचन पूरा गराउन भान्दाइ पटक्कै लागेनन्। त्यसैले आमाको भनाइ त्यो कुरामा अन्तिम भयो। त्यसपछि भान्दाइको कोठा, ओछ्यान माथिको मेरो दावी अन्त्य भयो र उनको कोठामा आउन, जान, बस्न सदा झैं खुला भएपनि त्यहीं सुत्न र रात काट्न भने प्रष्ट निषेध गरियो। त्यो निषेधको कारण बुझ्न र मान्न करै लागे पनि त्यो भान्दाइ, मेरो अधिकारको वस्तुले मैले भनेकेा मान्नैपर्छ भन्ने धारणा भने मबाट गएन।

तपाई एक कुरा मान्नोस् कि मानिसको जीवनको फैसला दुर्घटनाहरूले गर्दछन। भाग्यले गरेको भनेर ती दुर्घटनाहरूको नामाकरण मात्र गर्छौ हामीहरू त। म १६ मा टेक्ने बित्तिकै हाम्रा बाको देहान्त नभएको भए मेरो जीवन अर्कै हुने थियो होला। बा मरिदिनाले घर थाम्नुपर्ने भयो आमाले भान्दाइको सह्योगमा। मेरो निम्ति पनि बाको पितृत्वको आड अब भान्दाइले नै दिनुपर्ने भयो। तर अब म बुझ्दै गइरहेकी थिएँ कि म उसको निम्ति एउटा असजिलो उपस्थिति भइरहेकी थिएँ। भन्न त ऊ केही पनि भन्दैनथ्यो किन्तु मेरो भनाइ र गराइले उसलाई असजिलो भएको म अनुभव गर्न थालें र भान्दाइको अनुपस्थिति मलाई पनि खल्लो लाग्न थालेको थियो। उमेरदारको भाषामा यसैलाई प्रेम भन्छन् क्या रे।

बाको मृत्युपछि मैले थाहा पाएँ – आइमाई र लोग्नेमानिसको सम्वन्ध बाबु, काका, दाजुभाइ यस्तैमा मात्र सीमित हुँदोरहेनछ। हिजोको त्यो मेरो डाहीको पात्र भान्दाइ आज अभिभावक बनेको थियो र मेरो मानसिक उत्तेजनाको कारण पनि हुन पुगेको थियो। तर ऊ भने पत्थरको मूर्तिजस्तै थाहै नभए झैं अलग्ग बनेर बसेको थियो। मेरो निम्ति ऊ भान्दाइ थियो, मेरो अभिभावक थियो र अझ एउटा लोग्नेमानिस थियो। मानिस भन्छन्् नि, स्वास्नीमानिस सागरजस्तै विशाल हुन्छे, ऊ शून्यताजस्तै मौन हुन्छे , उसको गहिराइ हुन्छ र पीर व्यथा सबै लुकाएर राख्छे र लोग्नेमासि त्यस्तो हुँदैन। मलाई त लाग्छ – स्वास्नीमानिस पुतलीजस्तै चपल हुन्छे , पानीजस्तै तरल भएर बग्छे र लोग्नेमानिसको संरक्षकत्वमा जिम्मेवारी विहिनभएर हावाजस्तै स्वतन्त्र हुन्छे ,जस्तो आजै देख्नुभयो नि, मसँग कुनै जिम्मेवारी छैन अहिले। मेरो गन्तव्यसम्म पुर्‍याउन पनि त्यो १७ नपुगेको साने मेरो अभिभावक भएर बसेकोछ केबिन भित्र र यहाँ बाहिर मैले तपाईलाई अभिभावक बनाएकी छु। तपाई थाहै नपाई कति सजिलैसँग बन्नुभएको मेरो अभिभावक ! अहिले तपाई सामु ममाथि विपत्ती आउन लाग्यो भने तपाई त्यसको प्रतिकारमा तुरून्तै उठ्नुहुनेछ। के कुनै स्वास्नीमानिसले यसरी संरक्षण गर्न सक्छे लोग्नेमानिसको? ४० नाघिसकेकी स्वास्नीमानिस पनि एउटा २०।२२ को नचिनेको लोग्नेमानिसले संरक्षण माग्न आयो भने पनि यौन आपत्तिको शङ्का उठाउन थाल्छे भने समवयस्कको त कुरै छोडिदिउँ्क। त्यसैले त म भन्छु नि – लोग्नेमानिस मौनभएर सबै बेहोर्छ , सबै सहन्छ। सुखमा ऊ हाँस्छ , दुःख पर्दा ऊ मुस्कुराउछ र रून ऊ जान्दैन। भान्दाइ पनि त्यस्तै थियो।

बाको बर्खान्त के सिद्धिएको थियो मेरो बिहेको कुरा चल्यो र छिनियो। लोग्ने मरेकी उमेरदार स्वास्नीमानिस त्यही पनि एक गोठ छोरीकी आमा लोग्ने मरेपछि आफूलाई एकदम असुरक्षित ठान्दिरहिछ। ती छोरीलाई जसरी भएपनि जति सक्दो चाँडो कसै न कसै लोग्नेमानिसलाई जिम्मादिन खोज्दिरहिछ। मेरो बिहेको लागि केटोको खोजी त बर्खान्तभन्दा अगाडि नै शुरू भइसकेको रहेछ , मैले मात्र थाहा पाइनछु। बजारको सम्पन्न मानिस , स्वास्नी मरेर के भयो र?, चालिस नाघेको थिएन। तीन जना छोराछोरीको बाबु भएर पनि जवान नै देखिन्थ्यो ऊ। मलाई त जहिले पनि बूढो नै लाग्यो ऊ। उहिले पनि, अहिले पनि। उसकी समवयस्का मेरी आमाले उसलाई बूढो देखिनन् त त्यो अचम्म पनि होइन तर त्यो भान्दाइले स्वीकृति दियो कसरी? मलाई यही कुरामा रिस उठेको थियो र मैले उसको सामु गएर रुँदै भनेँ — “तिमीलाई लाज लागेन यसरी कुरो छिन्दा?”

सधैं मुस्कान बोक्ने भान्दाइको अनुहार केही मलिन भयो तैपनि उसले संयम साथ जवाफ दियो — “ज्ञानी ! कतिपय राय र निर्णयहरू व्यक्तिगत स्वार्थभन्दा परिवारको हितका लागि गरिन्छ।”

तपाईले कसैलाई भित्रदेखि माया गर्नु भएकोछ? छैन भने नगर्नोस्। त्यो भान्दाइको अनुहार सम्झेपछि मलाई लाग्छ , ‘माया गर्नु नै दुःख बेसाउनु हो। आफूले अपराध नगरे पनि आफूलाई अपराधी बनाएर आफूले माया गर्नेको सामु खसीले बगरेलाई गर्धन तेर्स्याए झैं टाउको निहुराएर बस्नु के कम दुःखदायी हुन्छ होला र? आखिर त्यो पनि त मानिस हो। आघात उसलाई पनि उति नै पर्छ होला नि।

भान्दाइको जवाफलाई स्वीकारेर फर्कें म तर त्यो बेला पाउनु र हराउनुको आनन्द र दुःख एकै साथ बोकेर आए पनि भान्दाइ प्रतिको मोह मबाट गएन। मेरो बिह्ेको दिन जतिजति नजिक आउथ्यो भान्दाइ उत्तिकै बिहेको काममा व्यस्त हुन्थ्यो र म आफूलाई ऊबाट उपेक्षित भएको ठान्दथेँ। व्यस्त आमाको मन आफूतिर तान्न केटाकेटीले तोडफोड गरे झैं म पनि सधैं भान्दाइप्रति नै रिस पोख्दथेँ। ऊ भने भित्तोजस्तो थियो प्रतिक्रिया नै नदेखाउने। आमा मेरो गराइले झोकिएर गाली गर्थिन् त ऊ भन्थ्यो — “हुन दिनास् न, माइजू। कति दिन गर्न पाउछिन् र बीचरा? घर गएपछि माइतीको सम्झना रहने कतिपय चिज त गर्नु पनि पर्छ।”

अभेद्य कवच थियो मेरो भान्दाइ। बाहिरबाट चोट लगाइनु त के भित्रको व्यथा पनि बाहिर निस्कन सक्दैनथ्यो उसको त्यो कवच च्यातेर। मेरो निम्ति त ऊ भित्रको त्यो व्यथा पो शूल भइदियो सहनै गाहारो हुने गरी।

किन मलाई सधैं सानी ठान्थ्यो त्यो भान्दाइ? किन आफू समान ठान्दैनथ्यो ऊ मलाई? म ऊ खुलेर झगडा गर्न पनि सक्दिनथेँ। भान्दाइको पक्ष लिएर आमाले मलाई गाली गरिहाल्थिन्। फेरि भान्दाइले त्यस्तो गाली गर्ने मौका नै कहाँ दिन्थ्यो र? मैले आक्रमण गर्नसक्ने हरेक प्वाललाई मैले थाहा पाउनुभन्दा अगाडि नै थुनिसकेको हुन्थ्यो उसले। वास्तवमा त मलाई ती माइजू र भानिजले पुतलीजस्तै निर्जीव बनाएका थिए। मेरो राम्रो होस् भनीठान्थे उनीहरू र उनीहरूको सोचाइको राम्रो ममा थोपर्न चाहन्थे। तर म हार्न चाहन्थेँ किन? म त ‘चोर स्यालले कुन दिन खोर धनीले खोर थुन्न बिर्सन्छ या कुन दिन कुखुरा खोर बाहिर बस्छ’ भनेर मौकालाई ढुकेर बसेकी थिएँ – आफूलाई गढ या किल्ला बनाएर जति चोट लागे पनि टसमस नहुने त्यो भान्दाइलाई हराउन।

एक दिन मामाकी छोरीको बिहेमा आमा माइत गइन्। बहिनीहरू उनकैपछि लर्को लागे। निम्ता त भान्दाइलाई पनि आएको तर माइजूकी भदैको बिहेमा रातभरि बस्नु जरूरत थिएन र उनी रात नपर्दै फर्केर आए। म त नयाँ बेहुली बन्न लागकी मानिस, बिहेमा नै गइनँ र शायद सबैले यसलाई असामान्य मानेनन् होला र कसैले सोधिहाले पनि आमाले कुनै एउटा बिङ्गो लगाइदिइन् होला।

भान्दाइ आएपछि मैले खाना बनाएँ र भान्दाइलाई पनि खान बोलाएँ। भान्दाइले ‘मलाई खान मन छैन, पेटै टन्न छ बिहे खाएको’भन्दा मैले पनि ‘त्यसो भए म पनि खान्न’ भनेर भाँडो नै थन्क्याइदिएँ। मेरो चाल देखेर उसले भन्यो — “नखाने भए किन पकाएकी त?”

मैले पनि त्यस्तै जवाफ दिएँ — “घरमा दुई जना छौं , त्यसमा एउटाले हातै जुठो नपार्ने भएपछि अर्कोले किन खाने?”

मेरो घुर्की भनौं या जिद्दी जायज त पक्कै पनि थिएन तर के गरोस् भान्दाइ ? मलाई भोकै राख्न पनि त ऊ सक्दैनथ्यो। उसलाई थाहा थियो – म जिद्दी लिएपछि नखाइदिनसक्छु। त्यसैले उसले हार मानेर खान बस्यो तर भोज खाएर आएको मानिस के खानसक्थ्यो? हात मात्र जुठो पारेर उठ्यो। जे होस साथ दियो, त्यति पनि कम भएन। एउटा पराजय त स्वीकार गर्‍यो। मलाई त्यस्तो लाग्यो।

हामी सुत्न आ–आफ्नो कोठामा पस्यौं।

सधैं मेरो वरिपरि सुत्ने आमा र बहिनीहरू थिएनन। शून्य त यसै पनि लाग्ने नै भयो। त्यसमा पनि निष्ठा–अनिष्ठा, जय–पराजय, खुशी–वेदना यी सबै दोहोरी दोहोरी आएर मेरो घाँटी र छाती कोरिरहेका थिए। यी सबै एक्लै झेल्ने सामर्थ्य म किशोरीमा अवश्यै थिएन र त्यो मैले बाँडन सक्ने साथी पनि थिएन। कसरी लाग्न सक्थ्यो निन्द्रा मलाई? जति मलाई निन्द्रा लाग्दैनथ्यो त्यति नै त्यो घरमा भएको व्यक्ति भान्दाइप्रति रिस बढिरहेको थियो।

“मलाई भने निन्द्रा लाग्दैन, ऊ भने ‘फ्वाँ, फ्वाँ’ निदाइरहेको छ। मैले सहनुको पनि एउटा सीमा हुन्छ नि।” – निराशाको आवेशमा म बरबराएँ।

म झगडा गर्न चाहन्थेँ ऊसँग। मेरो अत्यासलाई कही ओकल्न चाहन्थेँ। त्यसैले म उठेर भान्दाइको कोठाभित्र पसें।

कोठा निस्पट्ट अँध्यारो थियो तैपनि मलाई जिन्दगीमा हजारौं पटक पुगेको उसकेा खाटमा पुग्न कुनै अप्ठ्यारो परेन। ऊ निर्दोष बालकजस्तै निदाइरहेको थियो र त्यो समयमा मैले अनुभव गरें – एउटा सिङ्गो संसार दिए पनि म उसलाई त्यो निन्द्राको सुखबाट निकालेर आफ्नो कोपभाजन बनाउन सक्ने थिइनँ। उसलाई छोडेर जान पनि सकिनँ म।

रात भरी अनगिन्ति सुखका सपनाहरू देखेँ मैले र हरेक सपनाको अतितमा, वर्तमानमा र भविष्यमा त्यही भान्दाइ टाँसिएको थियो। म उसैकी सँगी भएर बसेँ, उसैकी बेहुली भएर सिंगारिएँ, उसैका छोराछोरीकी आमा भएर उसलाई साथ दिएँ। एक रात त्यति लामो हुन सक्ने कुरा त सोच्न पनि नसकिने हो तर हुँदोरहेछ त्यस्तो पनि। बिहान ब्युझँदा म भान्दाइको छातीमा टाँसिएर सुतेकी थिएँ र उसको एउटा हातले बेरेको थियो मलाई। जतिसुकै गाहारो भएपनि मनलाई मार्दै उसको हात पन्साएर म बाहिर निस्के्रँ। मैले जितें कि हारें? आफै निर्णय गर्नोस्।

म बिहे भएर गएँ – एउटा घरकी मालिक्नी भएर, कोही अरूले नै जन्माएका छोराछोरीकी आमा भएर। त्यहाँका सबै चिज त मलाई सह्य थिए तर त्यो पोइ भनिने जीव भनेे मलाई कुहेको सिनोजस्तै गनाउथ्यो। अरू मानिस त त्यसरी गनाउदैनन नि। ऊ मात्र किन त्यसरी गनाउने? जब ऊ ममाथि निहुरन्थ्यो मलाई ऊ ठ्याक्कै मुख बाएर मलाई ठुङ्न आएको मुडुलो टाउके गिद्धजस्तै लाग्दथ्यो। मलाई लोग्नेप्रति कुनै दुराग्रह या पूर्वाग्रह थिएन, छैन तर पनि ऊ मेरो निम्ति सँधै घिनलाग्दो नै देखियो। तैपनि उसका छोराछोरीलाई भने मैले आफ्नैलाईजस्तो माया दिएँ। यो कुरामा भने मलाई कसैले पनि दोष लगाउन सक्दैन।

भन्छन्् नि – समय सबैको औषधी हो र मृत्यु सबै सम्याउने लिडुल्को। पहिलो उक्तिले मेरो जीवनमा सामान्यता ल्याइदिने थियो होला र म आदिम नारीजस्तै एउटा लोग्नेमानिसकोपछि लागेर कमारी झैं डोहोरिएर जीवन यापनगर्ने थिएँ होला तर मेरो बिहे भएको ६ महिना के बितेको थियो एक दिन बिहानै मेरो भान्दाइ मरेको समाचार आयो। त्यो सुन्दा मलाई त समय रोकिएजस्तो लाग्यो।”

एक छिन थामिएर ज्ञानीले ‘हाइ’ गरेर आङ तानी र भनी — “म झ्याल पिट्ट बसूँ है?”

ऊ किन झ्यालतिर सर्न चाही? त्यो नबुझे पनि मैले उसलाई त्यो ठाउँँ दिए। झ्याल छेउ बसिसकेपछि उसले बाहिर हेरेर भनी — “ओहो ! काठमाडौं त अघि नै छोडिसकिएछ।”

मैले मुस्कुराउदै भने — “थाहा छ तिमीलाई? हामीले बस टैण्ड छोडेको २ घण्टाभन्दा बढी भइसक्यो।”

मेरो भनाइ सुनेर उसले मतिर टाउको घुमाएर भनी — “यो यात्रा र समय पनि कति अचम्मको चिज छ, हो कि? सह्यात्री उपयुक्त भए र अझ मनस्थिति पनि शान्त भए बाटो र उमेर काटेको पत्तै हुँदैन। छातीभरि व्यथा बोकेर एक्लै हिड्नु पर्‍यो भने त प्रत्येक पाइला झन् झन् गर्‍हौं भएर निस्कन्छ, प्रत्येक छिन जुग भएर तन्कन्छ। अघि हामी काठमाडौंमा थियौ, भोलि मदेशको पल्लो कुनामा पुग्नेछौं। आजको निम्ति एकै ठाउँँमा समेटिएकोे मानिसको यो गोलो भोलि घनले हिर्काउदा फुटेको गुच्चाजस्तै टुक्रा टुक्रा भएर यत्र तत्र सर्वत्र छरिने छ र फेरि हाम्रो भेट हुने सम्भावना छैनभन्दा पनि ‘कहीं पो भेट हुन्छ कि’ भन्ने एउटा आशाको त्यान्द्रो रहिनैरहन्छ। तर मुत्युले त त्यो त्यान्द्रो समेत उडाएर लादोरहेछ। उसले त जम्मै सोत्तर बनाइदिदोरहेछ। यो अकिञ्चन सत्यलाई पनि मान्न सकिनँ मैले पहिले त।”

म र मेरो लोग्ने पुग्दा भान्दाइलाई आँगनमा सुताइएको थियो। उसको अनुहार रङ उडेको गुनकेसरीजस्तो पहेंलो थियो र शान्त थियो ऊ सधैंजस्तै। मृत्युले पनि परिवर्तन गर्न सकेको थिएन उसको शान्तपनलाई।

कसरी मर्‍यो भान्दाइ? कसैले उसले आत्महत्या गर्‍यो भनी ठाने। किन गर्‍यो आत्महत्या? उनीहरूसँग जवाफ थिएन। कसैले दुर्घटना भयो भनी ठाने तर कसरी? उनीहरूसँग पनि जवाफ थिएन। कौसीबाट खस्यो रे। तर खसेको देखेको कसैले होइन। एकातिर मेरी आमा सँुक्कसुँक्क रोइरहेकी थिइन्, अर्कातिर मेरा बहिनीहरू। काकाबाहरू फुपूलाई पर्खेर बसेका थिए। बजार नै खुप्लुक्क उल्टिएको थियो त्यो अनहोनीलाई हेर्न। रमाइलो मेला लागेको थियो हाम्रो घरमा। देख्नुभएकोहोला नि तपाईले चोक, चौबाटोमा चटकेले ‘यो भाइको मुटु र फोक्सो झक्छु’ भन्दै मुटु फोक्सो झकेर हल्लाउदा ‘अब के हुने हो’ भनेर केटाकेटी र रमितेहरू पर्खेर बसेका। त्यस्तै थियो वातावरण त्यहाँ। सबै पर्खेर बसेका थिए एउटै चासोमा – ‘अब के हुने हो !’ कमी थियो त त्यही चटकेको थियो जो ‘अन्नदाता ! मालिक ! तपाईकै सामु मैले यो भाइको मुटु कलेजो झकेको छु, अब यसलाई बचाउन सकिनँ भने मैले के गरेर जुनी टार्ने? मेर बालबच्चा कसरी पालन पोषण होलान्? मेरा बूढा बाबुआमालाई के भनेर चित्त बुझाउने? ‘ भनेर डाको छोडेर रुदै टोपी या टिनको बट्टामा सहानुभूतिको दाम असुल्ने चटकेको। बजारको पुछार देखि नै कोकोहोलो मच्चाउदै आएकी मेरी फुपूले त्यो चटकेको रिक्तता पनि पूर्ति गरिदिइन। उनको साथमा एउटा लर्को जोडिदै आएको थियो। उनले देवता देखि मानिससम्म सबैलाई सराप्दै भाटले झैं भान्दाइको गुण बखान्न थालेपछि जात्राजस्तै ‘वाइँ, वाइँ’ मानिसको गुनगुनाहट सुनिनथाल्यो त्यो हुलमा।

ती आमालाई चोट अवश्य नै लागेको थियो र कसैले पनि त्यसमा शङ्का गर्न सक्दैनथ्यो तर ‘मैले छोरोलाई माया गरेकी छु’ भनेर डण्का फुक्नुपर्ने आवश्यकता त कुनै पनि थिएन उनलाई। तब किन डाको छोडेर बजार नै उचाल्नु पर्थ्यो त उनीले। के यसलाई सहज मृत्यु नमानेर कसैमाथि आरोप लगाएकी थिइन् उनले? कि ‘सबैभन्दा बढी मै माया गर्छु’ भनेर रोदन प्रतिद्वर्‍न्दिता गरेकी थिइन् उनले?

भान्दाइको लास उठाउदा पनि मेरो छाती चसक्क घोचेन। न मेरो आँखा नै रसायो। सधैंको स्वाभाविक प्रकृयाजस्तो लाग्यो मलाई। खालि आक्कल झुक्कल भान्दाइको आवाज ‘छवास्स, छवास्स’ कानमा भने बजेथ्यो। त्यहाँ कसैले मेरो विशेष चासो पनि लिएन र चासो लिनुपर्ने आवश्यकता पनि थिएन। केवल आमाले एक पल्ट भनेकी थिइन — “यस्तो जिउले नआएकी भए हुने।”

“आमालाई साथी चाहिन्छ भने तिमी यहीं बसन त।” – मेरो लोग्नेले भनेथ्यो तर म बस्न मानिनँ। बा नहुदा भान्दाइले त्यो घर शून्य हुन दिएका थिएन तर अब त भान्दाइ नै थिएन। उसको ठाउँँ कसले पूर्ति गर्ने? भान्दाइ बिनाको त्यो घर तिहुन बिनाको भातजस्तै थियो – निल्नै गाहारो, बेहोर्नै पनि अप्ठ्यारो। त्यो घरमा बाको अस्तित्व आमा थिइन्, हामी दिदीबहिनी थियौं तर भान्दाइ त त्यो घरमा एउटा धर्सो पनि न छोडी गएको थियो। ऊ त म जहाँ थिएँ त्यही थियो। म बिना त उसको अस्तित्व नै थिएन। त्यसैले मैले त्यो घर कुर्नु पर्ने आवश्यकता देखिनँ र घर फर्केँ।”

ज्ञानीको स्वर रोकियो। बत्तीको मधुरो प्रकाशमा उसको अनुहारमा कहीं रित्तोपन देखिन्थ्यो – च्याँखेले टाट पारेको खालेकोजस्तो। शायद उसको मनमा वर्तमानभन्दा अतित प्रवल भएको थियो र उसले ‘म आफू कहाँ छु’ भन्ने बिर्र्सिएकी हुनसक्थी।

एकाएक हर्न बज्यो। ज्ञानी झस्की र असजिलो मानेर मलाई हेर्दै भनी — “यो भोंपु त बाटोको प्रत्येक अप्ठ्यारो मोडमा बज्छ तर जीवनमा त यस्तो भोंपु हुँदैन नि। जीवनको भोंपु त बजेपछि सधैं बजिरहन्छ, र थामिएपछि फेरि टिंसम्म पनि गर्दैन। मेरो कानमा भान्दाइको आवाज के बज्न शुरू गरेथ्यो, सारङ्गीको र्‍याइँ र्‍याइँजस्तो अविरल बज्न थाल्यो। झपक्क निदायो कि भान्दाइको स्वर बोलाउथ्यो मलाई। एक्लै कोठामा बस्दा भित्ता भित्तामा उसको स्वर प्रतिध्वनित हुन्थ्यो। मानिसको हुलमा बस्दा पनि कही भित्र उसको स्वर खुसुखुसु गरिरहन्थ्यो।

पहिले त लाग्यो त्यो स्वर स्वतः सेलाएर जानेछ तर स्वर यथावत बसिरह््यो। फेरि त्यो स्वर एक छिन के बन्द हुन्थ्यो कही भित्र घोचेजस्तो आभाष पाउथे. म। विस्तारै त्यो दुःखाइ ति73णता त कम हुन््थ्यो तर छाती भने भरिदै आउन थाल्थ्यो र कुनै बोझले थिचेजस्तो लाग्थ्यो मलाई।

“यसरी सधैं झोक्राएर काम चल्छ? अलि फुर्तीफार्ती गर्नुँपर्छ अनि पो जिउ पनि चङ्गा हुन्छ। तिमी नै यस्ती भएपछि घर कसरी चल्छ, हँ?” – मेरो लोग्नेले मलाई बराबर भन्ने गर्थ्यो। तर म गर्नसक्थेँ के? मैले चाहेर त्यो स्वर कानमा बजाएको होइन र खोजेर त्यो बोझ छातीमा राखेको पनि हैन। मेरो अस्तित्वमा मैले भान्दाइ बोलाएको पनि होइन। कहीं प्वालबाट छिरेर आएको थियो ऊ र म त्यसलाई पन्साउने बाटो नै पाउदिनथेँ।

म विरामी छु भन्ने सोचेर हो वा यो दोजिया आइमाई काम लाग्दिन भनी ठानेर हो मेरो लोग्नेले आफ्नी दिदीलाई आफू कहाँ मगायो। त्यो ४०।४२ की आइमाई घर भित्र पस्ने बित्तिकै घरको रूप रोगन नै अर्को हुनथाल्यो। केटाकेटीले समयमा खान पाए, सफा लगाए। घरको सरसामान हिफाजत हुनथाल्यो, सबै चिज यथा स्थानमा पाइन थाले। घर नै व्यवस्थित भयो। मेरो लोग्नेलाई मसँग बिहे गरेको अवश्य नै पछुतो भयो होला किनकि उसलाई छोराछोरी पाइदिन या साथ लिएर घुम्न स्वास्नी चाहिएको थिएन। उसलाई त शारीरिक आवश्यकता परेको बेला उपभोग गर्न र उसको घर व्यवस्थित राख्न एउटी आइमाई मात्र चाहिएको थियो र पहिलो खण्ड उसले मबाट पाए पनि दोश्रो भाग पूर्ति हुन सकेन। त्यही पहिलो भाग त कुनै पनि आइमाईले पूरा गरिदिनसक्थी।

हामी स्वास्नीमानिससँग विकल्प हँदैन। त्यसैले जे भयो त्यसलाई नियति मानेर स्वीकार गर्छौं। हाम्रो नाममा अरूले नै फैसला गरिदिने हुनाले ‘मैले यो नगरेको भए’ भन्ने पछुतो हामीसँग हुनसक्दैन। वर्तमानमा जे छ त्यसलाई करैले मान्नुपर्ने भए पनि, उत्तम समाधान मानेर त्यसमा बाँच्न सिक्छौं या बाँच्न वाध्य हुन्छौं तर लोग्नेमानिस, ऊ त आफ्ना प्रत्येक निर्णयपछि पछुतो गर्दछ, निर्णयका एक दुई दोषलाई बढाइ–चढाई ठूलो देख्छ र आफूलाई दोषी ठान्छ। यही दशा मेरो लोग्नेको अवश्य भयो। मसँग प्रत्यक्ष केही नभने पनि दिदीभाइका बीचका खासखुसले यस्तै कुरा देखाउथे। दिदीभाइ बीचको कुरा सुन्न नचाहदा नचाहदै पनि एउटै ओत मुनि बसेपछि त्यो पनि नसुनी नहुदोरहेछ। एक दिन दिदी भन्दै थिइन — “त्यो यसको भान्दाइ अगति परेर मर्‍यो। मलाई त त्यसैको प्रेत लागेको हो किजस्तो पो लाग्छ।”

“खै हो कि, दिदी। मैले त ‘तँ न जा’ भनेको हुँ नि त्यही बेला तर त्यसको जिद्दी कस्तो छ? देखिहालेकी छौ तिमीले।”– मेरो लोग्नेले दिदीको शङ्कामा केही सहमती जनाएर जवाफ दियो।

“माया पनि धेरै गर्थ्यो कि के हो त्यो भान्दाइले यसलाई?”– उनको भनाइ कथन र आरोपको दोसाँधमा थियो तर भाइले आफ्नो भनाइलाई आरोप नै ठानेर कुभावना लिन्छ कि भन्ने ठानेर होला आफैले त्यसलाई सच्याउन थालिन् — “केटाकेटीदेखि नै त्यही घरमा बसेको मानिस। छोरो नभएको घरमा छोरै रहेछ नि त्यो बहिनीहरूले दाजु नै ठानेको। माया पनि सार्‍है गर्थ्यो कि के हो यो बहिनीको त?”

उनको भनाइ फेरि पनि कथन र आरोपको बीचमा नै थियो। आफ्नो जन्मले दिएको स्वभाव छोडन उनीलाई त्यति सजिलो थिएन। उनको साथमा उनीभन्दा २।४ वर्ष मात्रै कान्छो भाइ थियो। त्यसमा पनि उनी त लोग्नेले भोगेकी विधवा। के शङ्का गर्ने ठाउँ छ भन्दैमा मैले पनि उनलेजस्तै पापको पोको खोल्न मिल्थ्यो त? शङ्काकै आधारमा कुरा गर्ने हो भने त चोखो त आजै जन्मेको बच्चा मात्रै हुन्छ। अरू बाँकी त कहीं न कहीं त्यो सन्देहको दायरा भित्र परि नै हाल्छन्। तर संसार त्यस्तै हो। कोही ‘मानिसले पापै गर्न सक्दैन’ भनेर आँखा चिम्लदै सबै पापलाई पखालेर पठाइदिन्छ। कोही शङ्काको सिन्कोलाई सिङ्गो घनो बनाएर आफ्नो पापी मनको कमाइ बार बार्छ।”

भाइबाट आफ्नो कथनको प्रतिक्रिया नपाएर उनले थपिन् – “यो चालाले घर कसरी चल्छ हँ तिम्रो?”

दिदी मूल समस्यामा आएपछि भाइलाई भन्न सजिलो भयो र भन्यो – “त्यही त भन्दैछु म पनि। ‘घर लथालिङ्ग भया’े भनेर बिहे गरेको, अब त झन भताभुङ्ग भयो। तिमीलाई ‘आएर बस न’ भनेको पनि तिमी मानिनौ। ‘जोरीपारीले के भन्ला?’ भनेर भन्न थाल्यौ। अब त भन्न कसैले केही पनि पाउदैन, बुहारी छ घरमा।’

“हो नि त्यो त तर बुहारीले नै भन्न सक्छे नि झन्।”

उनले आफ्नो प्रतिरूप बनाउन खोजिन् मलाई तर किन बन्ने, हँ, म उनको प्रतिरूप? मेरो लोग्नेले उसकी जेठी स्वास्नीलाई माया गरेको थियो र त्यस्ता अरू कतिलाई पनि माया गर्‍यो होला। त्यसको लेखाजोखा मैले किन राख्ने? र ती आइमाईप्रति मैले चासो राख्नुपर्ने पनि किन? मेरो निम्ति त लोग्ने केवल लोग्ने हो एउटा ढिंडोको डल्लो, एक चोइली भात या एक लोहोटा पानीजस्तै भोक या तिर्खामा उपभोग गरिने वस्तु। म अघाएपछि त्यो जुठो जसले सोहोरे पनि मलाई के वास्ता?

“त्यस्तो भन्न सक्ने त जहिले सुकै जही पनि निस्कन सक्छन्। त्यसैले यी शङ्कालाई यहीं छोडिदिऊँ। तिमी पनि केको निम्ति बस्नुपर्‍यो वहाँ? कसको मुख हेर्नु छ र तिमीले? त्यहाँ पनि एक्लै बस्ने न हो।” – भाइले दवाव दियो।

भाइको दवावमा दिदी मसांग्रिइन् – “अरू त केही होइन, त्यो खेतीपाती भने बित्छ नै।”

“त्यो त म हेर्न लगाइदिइहाल्छु नि। तिमी मेरो जिम्मा भएपछि तिमीले त्यसको चिन्ता लिनु पर्छ र?” – भाइले फैसला गरिदियो र दिदी त्यहीं बसिन। त्यो घरमा जुन कामको निम्ति म ल्याइएकी थिएँ त्यो दिदीले पूरा गरिदिन थालिन्। तर यो भनाइको गलत अर्थ भने तपाई नलगाउनोस् नि। त्यो सम्बन्धको चासो म स्वास्नीले त कोट्याइनँ भने अरूले त्यहाँ छिर्न खोज्ने किन? खोतल्दै गएपछि त कहाँ पुगिन्छ के ठेगान? अनावश्यक खोतलाईको के अर्थ? ‘असत् छैन’ भनेर सत्लाई मात्र स्वीकार गरे पुगेन र?

अब त त्यो घर भित्र मेरो काम पनि केही भएन। पहिले त केही काम गर्नै पर्थ्यो आफ्नो निम्ति पनि, छोराछोरीको निम्ति पनि र लोग्नेको निम्ति पनि। नगरे पनि या गर्न नसके पनि लोग्नेको भनाइ त सुन्नु पर्थ्यो। दिदीको उपस्थितिले त्यो सबै मेटिदियो। खम्बा भएर थामिन् उनले त्यो घर। मैले बुझें र मेरो लोग्नेले पनि बुझ्यो – गलत व्यक्ति पुगिछु म त्यो घरमा।

झारफुक, टुनामुना, धामीझाँक्री सबै भयो मेरो निम्ति तर कसैदेखि डराएन त्यो भान्दाइको स्वर र मलाई छोडेर गएन। ‘हो, म भान्दाइ हुँ, यसलाई लिएर जान्छु’ भनेर ठुलै स्वरले हप्कायो उसले झाँक्रीलाई। झाँक्रीले प्रेतलाई बकाएँ भनिठान्यो। ‘यसलाई मन्साउछु, पन्साउछु ‘ भनेर सोच्यो। सालधुपको धुवाँ दियो मैले कायल हुनुपर्ने गरी, खोर्सानीको राग दियो मैले रूनुपर्ने गरि।

“कस्ता, कस्ता जिराहालाई बकाएको छु, यस्तै नाथेलाई।” – फुर्ती लगायो झाँक्रीले।

त्यति सजिलै त किन जान चाहन्थ्यो त्यो प्रेत? ऊ त मलाई समेत लिएर जान चाहन्थ्यो र झाँक्री उसलाई मात्र भगाउन खोज्थ्यो। रातरात भर सास्ती दियो झाँक्रीले त्यो भान्दाइको प्रेतलाई। धुवाँको मुस्लोमा काम्न लगायो, पुषको चिसो रातमा पानी खन्याएर बक्न लगायो। भाक्यो, भाका स्वीकार गर्न लगायो। मन्त्र र टुनाको सुल हान्यो। माटोको कालो हाँडीमा कालो भालेको टाउको कालो कपडामा बेरेर चौबाटोमा गाडन लगायो। अन्त्यमा जान्थ्यो वा जादैनथ्यो त्यो भान्दाइको स्वर, भुत, प्रेत वा जे भनौं तर मेरो गर्भ भने खेर गयो।”

यति भनेर ज्ञानी रोकिई।

ऊ यस्तो विन्दुमा आएर रोकिई कि मैले आफ्नो उत्सुकता थाम्न सकिनँ र सोधिहालें — “त्यसपछि?”

एकाएक ज्ञानीको अनुहार कठोर भयो र उसले ओठमा व्यंग्यात्मक मुस्कुराहट ल्याएर भनी — “मलाई अचम्म लाग्छ, किन यहीं आइपुगेपछि सबै लोग्नेमानिसको चासो एकाएक बढछ? जसको पनि किन त्यही नै प्रश्न हुन्छ – त्यसपछि के? के हुन्छ लोग्नेमानिसमा त्यहाँ? नारीको पराजयको आनन्द कि ऊप्रति सहानुभूति? नत्र कथाको यही विन्दुमा नै उनीहरू सबैको एउटै चासो किन?”

ज्ञानीको भनाइ कटु थियो तर उसले भनेको कुरा साँचो हो भने त्यो चासो किन थियो त लोग्नेमानिसमा?

एउटी सामान्य स्वास्नीमानिसले त्यो प्रश्न उठाएको भए मेरो निम्ति असजिलो हुन सक्थ्यो र एउटा ठोस जवाफ दिन करै लाग्थ्यो तर ज्ञानी त सामान्य देखिन्नथी। त्यसैले स्वाभाविक जवाफ दिनुपर्ने आवश्यकता मैले देखिनँ र एकदम सरल उत्तर दिन खोजें — “कथामा कथाको निरन्तरता खोज्नु स्वाभाविक कुरा हो। त्यसैले प्रश्नमा समानता त हुने नै भयो।”

तर ज्ञानीले मेरो उत्तरप्रति वेवास्ता नै गरेर भनी — “उत्तर पनि सबै लोग्नेमानिसको यस्तै हुन्छ। त्यसैले मलाई त्यसमा विश्वास लाग्दैन। कुनै निश्चित पूर्व धारणा नभई कसरी सबैका प्रश्न र उत्तर समान हुन सक्छन्। प्रश्न त मैले गरेकी मात्रै। कारण थाहा छ मलाई। सबै लोग्नेमानिसको दृष्टिमा नारी हेय पात्र हो सहानुभूतिको लायक मात्र। सम्मान त के घृणा पनि गर्न सक्दैन ऊ नारीलाई। एउटा कुकुरको छाउरो, एक टुक्रा जमिन, एक जोर लुगाजस्तै एउटा वस्तु ठान्छ आइमाईलाई। विषम हुन्छ लोग्नेमानिसको दृष्टि, आफूलाई उत्तम ठान्ने। आइमाईजस्तो सम बन्न सक्दैन ऊ। “

“के भान्दाइको पक्ष पनि यस्तै थियो त?” – मैले उसलाई सामान्यतामा ल्याउन उसको कमजोरीमा हिर्काउने कठोर प्रश्न गरें।

ज्ञानी अलि अलमलिई र भनी — “भान्दाइ? हो, भान्दाइ पनि लोग्नेमानिस हो तर ऊ रह््यो नै कहाँ र? मरणको सीमा पार गर्ने मानिसको त कुनै लिङ्ग, जाति, धर्म र आचरण नै हुँदैन। ऊ त एउटा सम्झनाको अस्तित्वमा मात्र अडिएको छ। ऊ त अति नै छोटो गन्तव्यको साथी मात्र भया,े तपाईभन्दा पनि छोटो बाटोको।”

“त्यसपछि पनि के भान्दाइको स्वर गएन त?” – मैले उसको अलमलिएको मानसिकतामा केही वास्तविकता कोट्याउन सोधें।

ज्ञानीले अतितको तन्मयतामा नै अल्भि्कदै भनी — “जब म होसमा आएँ, मेरो टाउको रित्तो घ्याम्पोजस्तो ह्वाङ्ग थियो। त्यसभित्र भान्दाइको स्वर थिएन। जसले बाहिर जे बोल्यो, त्यही थर्कन्थ्यो त्यहाँ भित्र। मैले त सोधें – ‘कहाँ गयो भान्दाइको स्वर?’ भनेर। मेरो भनाइ सुनेेर दिदी खुसखुसाइन् — “सन्की कि के हो?”

मेरो लोग्ने बढी समझदार छ। त्यसैले उसले भन्यो — “त्यो तिम्रो व्यथा सँगसँगै गयो।”

पहिले त मैले मेरो बच्चा खेर गयो भन्ने थाहा पनि पाइनँ। रित्तो पाएँ आफूलाई त्यति मात्रै। जब थाहा पाएँ, मैले त्यो क्षयको आत्मसात गर्न सकिनँ। त्यो क्षतिको अनुभव नहुनुको मुख्य कारण मलाई मेरो प्राप्तिको महत्व नहुनाले होला अथवा भान्दाइ जानुको क्षतिको सामु गर्भपात ठूलो लागेन होला।

मेरो गर्भपातको पश्चाताप मेरो लोग्नेलाई पनि लागेन। लागोस् पनि किन? उसलाई छोराछोरी चाहिएको थिएन र उसको मप्रति माया पनि थिएन। अझ उसकी दिदीले पटक पटक मेरो गर्भलाई महिना महिनाको गिन्तीमा अस्वभाविक बनाउन खोजेपछि त्यो गर्भ अडनुमाभन्दा जानुमा उसले भलो देख्यो होला। लोग्नेमानिसको स्वास्नीप्रतिको स्वार्थ पनि यस्तै होइन र? रह््यो घरव्यवहार चलाइदिने कुरा। त्यो पनि मबाट पूरा हुनसकेन। निस्वार्थ माया त जीवनको कमाइ खानु नपर्ने र मरिदिदा हुन्छ भन्ने ती कलिला लैलामजनुहरूको पो हुन्छ त।

“भान्दाइले त्यसै गरेन र?” – मैले उसको अस्पष्ट भनाइलाई प्रष्ट गराउने प्रयास गरें।

“भान्दाइ किन मर्‍यो? जवाफ कही पनि व्यक्त हुन सकेन। ऊ आफैले कही पनि भनेर गएन। मृत्यु नै अव्यक्त भएपछि त्यो मृत्युलाई व्यक्त मान्ने कसरी?” – उसले चिन्तासाथ मेरो अनुहार हेरी।

“उसको मृत्युको कुनै अर्थ थियो भन्ने त तिमीले निश्चित त अवश्य गर्‍यौ होला नि , नत्र त्यो घटनालाई यति लामो समयसम्म सँगालेर कसरी राख्यौ?” – मैले तातेको फलाममाथिको चोट कम गरिनँ।

“ऊ मेरै कारणले मरेको हा’े भन्ने मलाई लागेको त हो तर ‘किन मर्‍यो? मरेर उसले के पायो? नमर्दा के नोक्सानी हुन सक्थ्यो?’ त्यो मैले अहिलेसम्म छुट्याउन सकेकी छैन र अरूले पनि भनिदिएनन् मलाई। उनीहरूले त उसलाई एउटा फुटेको फुललाईजस्तै बिर्सिदिए।” – ऊ झन् अल्मलिई।

“तिम्री आमाले त केही भनिन् होला अथवा बहिनीहरूले नै पनि त केही सुत्र त दिए होलान्। उनीहरूले त त्यति सजिलै लिएनन् होला नि त्यो मृत्युलाई?” – मैले फेरि थपें।

ज्ञानीले मुंग्लिनको बिसौनीमा अडन लागेको बसबाट बाहिर हेरेर भनी — “टुङ्ग्याउँ यो अध्यायलाई यहीँ। मानिसका आफ्ना आफ्ना कथा हुन्छन्् र उनीहरूको उनीहरूसँगै छ।”

४. एक छिन फुर्सद

क्षणक्षणमा बदलिने उसका आवेगहरूको कारण ज्ञानी एउटा मञ्चबाट अर्को मञ्चमा पुगिसकेकी थिई र मैलेे उसलाई त्यसमा फर्काउन प्रयास गर्नु उचित ठानिनँ। ऊ आफ्नोे खुशीले भनिरहेकी थिई र ऊ जे भन्थी त्यही सुन्नसक्ने मात्र मेरो अधिकार थियो, ऊबाट म माग गर्न सक्दिनथेँ। त्यसैले उसको अनिच्छालाई स्वीकारेर मैले व्यवहारिक प्रश्न मात्र गरें — “ल, हिँड बाहिर। एक छिन खुट्टा पनि तन्काउनुपर्छ, नत्र रातभरमा पुरै कँुजिइन्छ।”

ज्ञानी मसँगै बाहिर निस्किई र नजिकैको पसलतिर हेरेर भनी — “एक कप चिया मात्रै खाने।226128157

मैले उसको भनाइमा शङ्का उठाएर भनेँ — “चिया मात्र खाएर पुग्छ होला र?”

मेरो कुरा सुनेर उसले मुस्कुराउदै भनी — “अवश्य पनि पुग्दैन तर अरू चिज त मसँग भित्रै छ। म सधैं नै यात्रामा दुई जनाको भाग बोकेर हिडछु। सह्यात्रीको निम्ति पनि चाहि्यो नि, होइन? तर सबैले त कहाँ खान्छन्् र? कति बोल्न पनि गाहारो मान्छन्, कतिले सौहार्द्रतापूर्वक अस्वीकार गर्छन् र कसैकसैले खान्छन्् पनि। तपाई त खान अस्वीकार नगर्नुहोला नि?”

ज्ञानीको अनुहार एकदम प्राकृतिक थियो। ३।४ घण्टाको अवधीमा ज्ञानी अहिले सामान्य देखिएकी थिई। त्यसैले उसमा सामान्यताका क्षणहरू पनि देखापर्दारहेछन् भनिठानें मैले।

“सानेलाई पुग्छ र मैले खाइदिएँ भने?” – मैले शिष्टाचारवस आनाकानी गरें।

ज्ञानीले मेरो शिष्टाचारप्रति कुनै ध्यान नदिएर मेरो प्रश्नको मात्र जवाफ दिई – “सानेले खान्छ मैले ल्याएको कुरा ! ऊ त हिड्नु अघि नै ‘आज बाटोमा मासुभात खाइने भयो’ भनेर हल्लाखल्ला गर्दै थियो। यी केटाहरूलाई के मिठो लाग्ने, हँ, त्यो होटेलमा पाइने बासी भात र मासु? मलाई त सम्झँदा पनि वाक्क आउँछ।”

कहिले पनि बाहिर खान वाध्य हुनु नपर्ने स्वास्नीमानिसले त्यो भन्नु पनि ठीकै थियो र जहिले पनि घरैको खान वाध्य हुनु पर्ने सानेले पनि आफ्नो मनको चाहना प्रस्तुत गर्नु स्वाभाविक थियो तर बराबर बाटोको ओहोरदोहोर गर्नु पर्ने मजस्तो मानिसलाई न सानेकोजस्तो खानको शोख हुन सक्थ्यो न ज्ञानीकोजस्तो खाना विशेषप्रति घृणा। उसले त उपलब्धता र आवश्यकताको सन्तुलनलाई पालन नगरी सुख हुँदैन तर ज्ञानीको कुरालाई स्वीकार या अस्वीकार गरिरहन मलाई आवश्यकता थिएन। त्यसैले मैले कुनै जवाफ दिइनँ र ज्ञानीले पनि जोड गरिन।

५.अर्काकी छोरी, अर्काको लोग्ने र एक रातको प्रेमी

मुंग्लिनबाट बस चल्दा हामीले खाइसकेका थियौं। त्यो समयसम्म ज्ञानीले आफ्नो अतित या वर्तमानसँग सम्बन्धित कुनै कुरा उठाइन। उसले खानाको प्रसङ्ग उठाई, बाटोमा पर्ने होटेलहरूको बदख्वाइँ गरी। आफू भित्र पसेर सित्तैमा मिठो मसिनो खाई बाहिर यात्रुहरूलाई ठग्ने मौका बनाइदिने स्टाफ भनिने ड्राइभर, कन्डक्टरहरूको उछित्तो काडी। बाटो बनाउने इन्जिनियर, ओभरसियर सबैलाई ‘काम नगर्ने, घुस मात्र खाने’ भनेर उपाधी दिई। बसमा यात्रा गर्ने सह्यात्रीहरूलाई पनि मानवता विहिन रमितेको संज्ञा दिई।

बस गुडेपछि भने कोक्रो हल्लाउदा ब्युझएको नानीजस्तै उसको सुषुप्त मस्तिस्क फेरि ब्युझयो र उसले विस्फारित आँखाले मलाई हेरेर भनी — “जीवनजस्तै यो गाडी पनि गुड्यो। यो गाडी त चालकको इच्छामा रोकिन सक्छ तर जीवन त तपाई हामीले चाहे पनि रोकिन सक्दैन। मलाई त लाग्छ – यसमा त हाम्रो हुनु, नहुनुको अर्थ पनि त्यति छैन। त्यो गुडेको जीवनको एक अंशमा हाम्रो बाँच्नुको समयावधि रहन्छ र बाँकी हाम्रो अनस्तित्वको। जीवन त मानौं शांख्यदर्शनमा भने झैं अनन्त अदृश्यमा एउटा अति छोटो दृश्य मात्रै हो। ‘अजो नित्यम्’ भनेर हामी आफूलाई अमर बनाउने मिथ्या प्रयास गर्छौ तर यही यही गाडी चुर्लुम्म त्रिशुलीमा डुब्यो भने हाम्रो नित्यता त्यहीं अन्त्य हुन्छ। देख्नु भो , कति क्षणभङगुर छौं हामी? दर्शनले तान्दैमा हामी अनन्त हुन्छौं र? आँखा चिम्लदैमा हामी अनन्त हुन सक्छौं र? हेर्नोस् न। विधाताले त्यो दीर्घजीवि कछुवालाई आफ्नो प्रतिरक्षाको निम्ति कति बलियो खबटा हालिदिएका छन्। विपत्ति देख्यो कि ऊ त्यो खवटा भित्र लुकिहाल्छ। हात्तीको वजनले पनि उसलाई किच्न सक्दैन। हामी सोच्छौ – ऊ अजेय छ कसैको दार्‍हा नंग्राले पनि नभ्याउने तर ऊ घोप्टो परेर लुक्न पाउन्जेल मात्र त्यो खवटा उसको ढाल हो, उसको जीवन हो। उत्तानो परेपछि त त्यही खवटा उसको मृत्यु हो, कालको डोरी हो। त्यसपछि त लामो र पीडादायी मृत्यु मर्छ ऊ। यो घरवार पनि पनि त्यही कछुवाको खवटा हो। साराले सुखका दिन हेरेर यसलाई तौलेका छन्। जव अशक्त भएर एक्लै शून्य हेरेर मुत्यु कुर्नु पर्छ, बाँच्नुको अर्थ त यातना हुन्छ र ऊ त्यो यातना बिर्सन सपना देख्ने प्रयास गर्दछ। ऊ आफूलाई एउटाबाट अर्कोमा अल्झाउदै सुगम बनाउन प्रयास गर्दछ।”

ज्ञानीको ज्ञानप्रवाह रोक्नुपर्ने आवश्यकता देखेर मैले सोधें — “ज्ञानी ! तिमीले आफ्नो जीवनको एकदम छोटो अंश मात्रै भन्यौ र मैले त्यहाँ तिमीले यत्रो ज्ञान र विद्या पाउने सम्भावना देखिनँ। तिमीले यत्रो ज्ञान पायौ कसरी?”

ज्ञानीले आफ्नो धारा प्रवाहको निरन्तरमा नै जवाफलाई जोडदै भनी –त भनेँ नि कछुवाको खबटा रहेछ घरबार र जीवन। घर र केटाकेटी मैले हेर्नु परेन , लोग्नेको इच्छाअनिच्छा मैले जान्नु परेन र जान्ने सामर्थ्य पनि थिएन मेरो। त्यसमा पनि मेरा अरू सन्तान नहुने भन्ने निर्क्योल भएपछि त उत्तानो परेको कछुवा भइनँ त म? मसँग मेरो अतित मात्र थियो, भविष्य छदै थिएन र वर्तमान अनन्त शून्यजस्तै कहिले नटुङ्गिने पीडादायी निःशब्दता थियो जसलाई बिर्सन मैले अतितको सपना देख्न थाल्नु पर्थ्यो।

मेरो लोग्ने र उनकी दिदीको दृष्टिमा म , बौलाही न सही, सन्केकी अवश्य थिएँ। त्यसैले उनीहरूले मेरो कुराको त्यति वास्ता गर्दैनथे र कामको आशा पनि राख्दैनथे। मैले केही त गर्नै पर्ने थियो तर मसँग गर्ने केही पनि थिएन। म घरको चार दिवार भित्र ंरूमल्लिएर बस्थेँ।

भाग्य भनौं कि दुर्घटना या घटना मात्रै भनौं, म सन्तान नभएर पनि आमा भएकी थिएँ। मेरा लोग्नेका बुझ्ने छोराछोरी त मलाई सानीमा भनेर बोलाउथे तर पाँच वर्ष पनि नपुगेकी त्यो सानी छोरी भने, किन हो कुन्नि, सानीमाको साइनो समाउन नसकेर आमा भनेर बोलाउथी। उसकी फुपूले त्यो साइनो छुटाउने प्रयास गरेकी पनि हुन् तर त्यो केटीले दाजु, दिदीलेजस्तो फुपूको इच्छालाई पूरा गर्न सकिन। फुपू सामु परेपछि ऊ अत्तालिन थाल्थी, बिरालोको पन्जाले छोइसकेको मुसोजस्तै लटपटिन्थी। फुपूले हप्काइन्, तर्साइन् र फकाइन् पनि तर त्यो अवोधले उनको चाहनाको भाषा पढ्न जानिन र मेरैपछि लागिरही। मलाई पनि साथी चाहिएको थियो। साथी त त्यो बच्ची के हुनसक्थी र? साथ भने दिई उसले।

तपाईलाई थाहै होला ,मीन दाइ, ती बजार भनिने ठाउँँहरूमा २।४ पैसा हुने र कमाउनेहरूलाई साहू भन्ने गर्छन् र साहूहरू आफूलाई अरूभन्दा अलग ठान्छन्। उहिले तिनीहरू लगानी पात लगाउने गर्थे र धितो राखेर चर्को ब्याजमा ऋण दिने गर्दथे। आजकल तिनका ठाउँँमा बैंकले लगानी गर्ने भएका र कसैले गरिहाले पनि त्यसको संरक्षण कानुनतः नहुने हुनाले कोही कोही मात्र त्यस्तो जोखिम उठाउछन। खेतीपाती त्यस्ता साहूकोमा गरिदैन, अरूबाट नै गराइन्छ। त्यसैले त्यो मेरो घरमा पनि केटाकेटीको खास काम केही थिएन। उनीहरूलाई झोला बोकेर पढ्न पठाइन्थ्यो। गाउँ घरमा पो केटाकेटीले बाख्रापाठा, गाईवस्तु हेर्दथे, चराउथे। बजारमा त त्यो पनि सम्भव थिएन र बजारका साहूका छोराछोरीले त्यसो गर्दा नाक काटिने डर थियो। केटाकटीलाई पढ्न पठाउनु पनि सामाजिक मर्यादाको कर थियो।

त्यो मेरी सानी छोरी पनि पिठ्युमा झोला बोकेर पढ्न जान्थी र जहिले पनि बिहान खाना खायो कि मेरा अगाडि आएर भन्थी — “आमा, मलाई राम्री बनाइदेन।”

जस्तोसुकै दूच्छर कर्कसाले पनि त्यो तोते बोलीको माग पूरा न गर्न सक्ने थिएन र म पनि उसलाई सिंगारेर पठाउँथे तर बेलुका फर्केर आउँदा ऊ साउनको दिनमा गाउँ घुमेर आएको कुकुरको बच्चाजस्तै भएर आउथी। म झर्किएर भन्थेँ — “के गरेकी यो?”

ऊ दौडदै आएर लाजले मेरो फरियामा अनुहार लुकाउदै भन्थी — “मैले गरेकी होइन, आमा,। आफै भएको। “

त्यो बोलीको प्रतिवाद गर्न यशोदाले त सकेकी थिइनन् भने मैले के गरेर सक्थेँ र?

तपाईलाई सुन्दा कस्ता कस्तो लाग्ला तर हेर्नोस् , बूढाकी तरूनी स्वास्नी त बिहेकै रातमा बूढी हुन्छे। उसले बुहार्तन खप्नु पर्दैन, छोराछोरी पनि हुर्काउनु पर्दैन। त्यो बाहिरको कुरा त छदैछ। त्यो बाहेक उसले सुहागरातमा थाहा पाउछे कि उसको प्रणयवन्धन सुकेको रूखसँग बेरिएको बसेको तरुलको लहराजस्तै बाहिर जतिसुके लहलहाउदो देखिए पनि उसका आकांक्षा, आवेग र सपनाहरू सधैं अतृप्त भएर छाती भित्र धरतीको तरुलजस्तै पुरिएर बस्छन्। लोग्नेले मेरो मानसिकता बुझ्न सक्ने सम्भावना थिएन तैपनि ऊ आफूलाई सबै चिज बुझ्ने बुज्रुगमा नै दर्ता गर्थ्यो र सबैले त्यो मानेका पनि थिए। मेरो मानसिकता त त्यै सानी छोरीले पो बुझेकी थिई कि शायद।

“तिम्रो दाँत राम्रो छ , आमा, तिमी हाँस न।”–मेरी छोरीलाई म हाँसेको मन पर्थ्यो शायद। त्यो गनाउने मुख लगाएर बस्ने आमाभन्दा त अवश्य नै बत्तिसी देखाएर हाँस्ने आमा राम्री लाग्थी होला त्यो बालकलाई तर मसँग हाँस्ने परिस्थिति नै कहाँ थियो र? दिन भरी दिदीको दायित्वमा थिचिनु पर्थ्यो मैले र राति मेरो लोग्ने ओथारो बसेको कुखुरोले फुल छोपेजस्तै मलाई गाँजेर बस्थ्यो। किन हो किन? मलाई ऊ बगलामूखीको छिप्पिएको बोकोजस्तै गनाए पनि मैले उसको अगालोमा त सुत्नै पर्थ्यो।

“सबै लोग्नेमानिस त्यस्तै हुदैनन्् होला नि?”–मैले ज्ञानीको अन्तर्भाव छाम्न प्रश्न गरे.।

“धेर थोर सबै नै उस्तै हुन तर के गर्ने? सबै स्वास्नीमानिस लोग्नेमानिसमा नै मोहित हुन पुग्छन र ठान्छन् – लोग्नेमानिस बिना जीवन अधुरो हुन्छ।”

“सबै स्वास्नीमानिस बूढो लोग्नेका तरूनी स्वास्नी हुदैनन्, त्यसैले होला।” – मैले भावार्थ दिन खोजें।

“अँ, हुनसक्छ त्यो।” – ज्ञानीले कुनै रहस्यात्मक सुत्र फेला पारे झैं गहिरिएर समर्थन जनाई र एक छिन थामिएर फेरि भन्न थाली।

“साहूका छोराछोरी पढाउन सधैं माष्टर आउँथे उमेरका हिसाबले मेरै लोग्नेको समकालिन। साइनो मलाई भाउजूको लाउने गर्थे उनी तर त्यो साइनो वास्तविक होजस्तो मलाई लाग्दैन। एउटा बजारमा बसेपछि प्रत्येकलाई केही न केही साइनो लाउनै पर्ने हुनाले सबैभन्दा सजिलो दाइ साइनो मेरो लोग्नेसँग जोडिएको भन्ने ठान्छु म। पढाउने मास्टर घर भित्र पस्यो कि ठूला केटाकेटी तर्केर बाहिर निस्कन खोज्थे भने सानी त पिलपिल नै गर्न थाल्थी। मलाई लाग्थ्यो – पढ्नु गाहारो कुरा हो नत्र केटाकेटीले मास्टर देखि डर मान्नु पर्ने किन?

एक दिन दिदीले मलाई आदेश दिदै भनिन — “तिम्रो काम केही छैन। ती केटाकेटी पढछन्, पढदैनन् बसेर हेरिदिए त हुन्छ नि।”

उनको आदेश कसले काट्थ्यो र? मास्टरले पढाउने ठाउँँमा म बसेपछि ठूला केटाकटी तर्केर जाने सम्भावना पनि भएन र सानी पनि रून छोडी। मेरो उपस्थितिले उसलाई सामर्थ्य दियो मास्टरको अगाडि।

केटाकेटी त पढ्थे तर म भने के गरेर बस्ने? त्यो समस्या पनि त कम थिएन। २।४ दिन त धुम्धुम्ती बसिरहेँ तर खल्लो देखियो होला यसरी बस्दा। अति नै खल्लो देखिएको हुनुपर्छ सानी छोरीले समेत आभाष पाउने। अरूले केही नभने पनि उसले त मुख फोरिहाली — “आमा ! तिमी पनि पढ न।”

उसको कुरा सुनेर मास्टरले थपे — “पढे हुन्छ नि , भाउजू। यसै बसिरहनुभन्दा त केही कुरा सिक्नु राम्रो हो नि।”

मैले पहिले पढेका कुराको पुनरावृत्ति गर्न थालें। मेरी सानी छोरी मैले पढेको देखेर रमाउदै घरका प्रत्येक सदस्यलाई सुनाउन पुगी र उसका दाजु दिदीले छर छिमेकमा कुरा पुर्‍याए। मैले पढ्न शुरू गरें भन्ने कुरा त्यहाँ नौलो भयो , नौलोे यस अर्थमा कि बिहे गरेकी स्वास्नीमानिसले पढ्नु त्यो समाजमा नौलो थियो। अझ म त बूढाकी स्वास्नी र बूढाकी स्वास्नी त जहिले पनि शङ्काको दायरा भित्र पर्दछे। उसलाई त उड्नलाई पखेटा उचालिसकेको चरो झैं ठानिन्छ। छोराछोरी नहुने बूढाकी स्वास्नी त झन टक्का राँड जत्तिकै न घरकी न घाटकी मानेर अपमान गरिन्छ। अझ पढ्न थाली रे भनेपछि त ‘पोइल हिड्नै लागी’ भन्ने ठाने सबैले।

त्यो समयसम्म मैले सबै कुरा भोग्दै आइरहेकी थिएँ। बाबुको मृत्युको दिन देखि नै दुर्भाग्य ममाथि अन्याय गर्दै आइरहेको थियो र मैले मौनभएर सबै सहदै आएकी थिएँ। मेरी सानी छोरीका हरेक वचन उसको आत्मा देखि नै निस्किएका थिए। उसको स्वार्थ अवश्य थियो त्यसमा तर उसले त्यो स्वार्थ लुकाएकी थिइन। उसको भनाइले मेरो यथार्थ प्रष्ट्याइ दिएको थियो र त्यो यथार्थ मैले आत्मसात गरिसकेपछि मेरो लोग्नको दवाव र दिदीको कचकचले पनि आत्म निर्णयबाट मलाई रोक्नसकेन।

म मान्दछु कि मलाई पढाउनु मेरो मास्टरको पनि स्वार्थ थियो। मौका पाएको बेला उसले मलाई थिच्यो, किच्यो, निचोर्‍यो तर उसले मलाई शून्यताको समयमा एउटा दिशा निर्देश गरेको थियो र त्यति गुरु दक्षिणा दिन मलाई कुनै आपत्ती भएन। उसले माग गरेको भए म एक क्षण स्वास्नीकै भाग पनि पूरा गरिदिने थिएँ होला तर उसले माग नगरेर भद्रता देखायो। त्यसैले उसको शिक्षा दान म निशुल्क ठान्दछु।

तपाईले सोध्नु भयो नि कहाँ पाइस् शिक्षा? भनेर। माइतीमा पाएको मेरो साक्षरताको ज्ञानलाई शिक्षा नभन्ने हो भने मेरो पढाइ मेरी सानी छारी सँगसँगै भएको हो तर मैले उसलाई सजिलैसँग उछिनें। शुरूशुरूमा मेरो लोग्नेले मेरो विरोध पनि गरेको हो तर छोराछोरीको नाता या लोग्नेको मायाले नबाँधिएकी स्वास्नीसँग राति अँगालो मारेर सुत्नु पनि पर्ने र दिउसो विरोध गरिरहने स्थिति बनिरहन सकेन। उसले मेरो हठलाई मान्नै पर्‍यो र दिदीलाई पनि मनाउनु पर्‍यो।

मेरो गुरु कुनै विद्वर्‍ान त होइन तर पनि उसले जति शिक्षा दियो त्यो उसको आन्तरिक चाहनाबाट आएको थियो। म उसकी प्रेमिका थिएँ र बुढेस कालको तरूनी माथिको प्रेम साँचै नै गहिरो र आत्मिय हुदोरहेछ। म उसकी प्रेमिका, ऊ मेरो गुरु। कति विपरित हुन्छ हँ मानिसको सम्बन्ध पनि?

मेरो गुरुको प्रयासले मैले बुझेँ – पढ्नु स्वयम् एउटा आनन्द हो। जति नयाँ चिज जान्यो उति बढी जान्ने सामर्थ्य बढ्छ, उति बढी जान्ने चाहना हुन्छ। उसले आफूले सकेसम्म नयाँ नयाँ किताब ल्याएर दियो – खोजेर ल्यायो, मागेर ल्यायो, किनेर ल्यायो। तर कति नै थिए होलान् र त्यो बजारमा उसले पाउनसक्ने किताब? अखिर त्यो स्रोत निखि्रयो र यदाकदा बाहिरबाट आउने किताब मात्र पाउन थालेँँ म।

मेरो शिक्षाको चाहना देखेर एक दिन मेरो गुरुले भन्यो — “जाँच दिनोस्, भाउजू, तपाई।”

ऊ मेरो गुरु। मैले उसको निर्देशनलाई नमान्ने कुरै भएन र विद्यालयको परीक्षा मैले पढाइ शुरू गरेको तेश्रो वर्षमा नै दिएँ।

तपाईलाई मेरो गुरुको बारेमा पनि भनिहालुँ। मैले पहिले नै भनिसके – मेरा गुरु र मेरो लोग्ने समकालिन भनेर। उनीहरूको जिउडाल, बनौट पनि उस्तै उस्तै। केवल मेरो लोग्ने प्रशस्त खान पाएको मोटो घाटो, मेरो गुरु सधैं मास्टरी गरेर खानुपर्ने हुनाले होला अलि ख्याउटे। तमसुक र रसिद भर्पाईसम्म लेख्न जान्ने मेरो लोग्नेलाई म साक्षर ठान्छु तर मेरो गुरु त पूरानै स्नातक थियो , विद्वर्‍ान थियो। म सँगको उसको नाता एक छिन नेहेर्ने हो भने ऊ नैतिकवान पनि हो भन्ने म ठान्दछु। त्यही नैतिकताले होला उसले मसँग यौन सम्बन्ध राख्न खोजेन।

“उसले खोजेको भए तिमी स्वीकृति दिने थियौ र?” – मैले ज्ञानीको कुरा काटेर सोधे।

ज्ञानीले आफ्नो प्रवाहसँगै मेरो प्रश्नको जवाफ दिई।

“यदि यस्तो भएको भए’ यो पूर्वशर्त नै एक दम काल्पनिक हो। उसलाई नभेटेको भए के हुने थियो? न आएको भए के गर्ने थियौ? न सुनेको भए कस्तो हुने थियो? यस्ता नभएका कुराको सम्भावनामा मेरो विचार जादैन। म नजन्मेकी भए यति लामो कथा नै बन्ने थिएन। त्यसैले तपाईको प्रश्नको जवाफ म सग छैन। त्यो बेला नउब्जिएको उत्तर आज खोजेर पाउन सकिदैन।

मेरी सानी छोरी विरामी परी। यसै पनि मेरी छोरीमा दर्ता भएकी उसको चासो दिदीले लिन्नथिन। त्यसमा पनि गुहुमुत सोहोर्न उनी के तयार हुन्थिन? सानी छारी पनि मलाई छोडन किन मान्थी? पहिलेभन्दा अवश्यै त्यो ७।८ वर्षकी मानिस धेरै बुझ्नसक्ने भइसकेकी थिई तैपनि मैले छोडेर हिड्यो कि पिलपिल गरेर रोइरहने हुनाले मैले उसलाई छोड्न सकिनँ। ऊ सधैं जसो नै मेरो गलामा नै झुन्डिएर बसिरही।

सानी छोरीको औषधी गर्न धामी आयो , जोखाना हेर्‍यो र भन्यो — “ए , लागो रहेछ। मन्साएपछि जान्छ।”

एक माना चामल मिल्कायो , भाले काट्यो , दोबाटोमा बत्ती बाल्यो तर सानी छोरीको व्यथा वीसबाट उन्नाइस भएन। झारफुकेको ओखतीले पनि पार लागेन। ऊ भने दिनानुदिन गल्दै गई। न आफू सुत्थी, न मलाई सुत्न दिन्थी। ऊ खान्नथी, उसको हालत देखेर मलाई पनि खान मन लाग्दैनथ्यो।

हेर्नोस्, त्यो गाउँले बजारमा के ओखतीमूलो हुन सक्थयो र? जो थियो त्यो गरे तर त्यसले निमनसम्म पनि भएन र एक दिन आखिर मेरी सानी छोरी मेरो काखमा नै गई। मैले नजन्माएकी मेरी छोरीलाई मेरो काखबाट उठाएर लिएर गए र मैले विरोध गरिनँ। उसले भनेकी थिई — “आमा ! तिमी नछाड है” तर मैले उसलाई छोड्नै पर्‍यो। उसकेा यही कुरा मैले पूरा गर्न सकिनँ। मैले कैयौं रात नसुतेर उसलाई काखमा लिई बसेकी थिए। मेरो लोग्नेकी अर्की दिदीले भनेकी मेरो कानमा परेको थियो — “सौताकी छोरीलाई पनि माया त गर्दिरहिछ।” घरकी दिदीले भनेकी थिइन् — “गर्छे यसलाई त अरूलाई नगरे पनि।”

टिलपिल टिलपिल घाम अस्ताउन लागेको थियो र लोग्नेमानिसहरूले उसको लाश लिएर गए। म भने त्यही ठाउँँमा नै बसिरहें अँध्यारो खसेको धेरै बेरसम्म पनि। कसैले पनि मलाई उठाउन आएन। केवल दिदी बर्बराइन् — “के अपहत्त गरेर बसेकी? तैँले त्यसो गरेर अब ऊ आउछे र?”

आखिर म उठें। नुवाइ धुवाइ गरें र आफू सहज हुन खोजें तर सानी छोरीको मृत्यु पीडादायी थियो र म भित्र त्यो सानी छोरीले ओगटेर राखेको स्थान अब रिक्त हुन आएको थियो। त्यो ठाउँँ शून्य थियो र म खोक्रो र ह्वाङ्ग थिएँ। सामाजिक जिम्मेवारीबाट मुक्त एउटी स्वास्नीमानिसमा जब व्यथा र रिक्तता भरिन्छ , ऊ मर्यादाको घेरा देख्दिन। अझ ऊ त वातावरणको वास्तविकता नै देख्दिन। ऊ अस्वाभाविक हुन्छे , विकृत हुन्छे। त्यो विकृति ममा भरिदै आएको थियो। त्यो सानी छोरीले पराकाष्ठमा पुग्नबाट रोकेकी थिई र त्यो अन्तिम वाधा मेटिएपछि म मुक्त भए , स्वतन्त्र भए।

म भित्र रिक्तता थियो , अन्तर्नादको हाहाकार थियो तर बाहिर मौनताको अभेद्य गहनतामा घरै चुर्लुम्म डुबेको थियो। केटाकेटीहरू बाघले साथी मारेर लगेपछि बुटाहरूको ओझेलमा उभिएका बाख्राजस्तै त्रसित थिए। घर भित्र पसेको मृत्युले सुन्छ कि भने झैं गरेर दिदीभाइ कुरा गर्दा पनि साउती मारेर गर्थे, आँखाका सानले भाषा बुझाउथे। मलामीहरू बिदा भइसकेको पनि दुई तीन घण्टा बितिसकेको थियो। सबै भोकै थिए, खान कसैलाई मन थिएन, खाने कुरा पनि भएन। म साखै आमा भएकी भए मलाई सबैले सान्त्वना दिने थिए होलान्। म त कृत्रिम आमा , उनीहरूको आखामा मेरो माया पनि कृत्रिम। हेर्नोस् त, पराया सन्तानको माया कस्तो अविवेकी हुदोरहेछ। म नरूदा सबैले निर्दयी भने होलान् , म रोएकी भए उनीहरूले नै स्वाङ पारेको भन्ने थिए। आइमाई नै ममाथि खनिने थिए। एउटी आइमाईप्रति सधैं जसो आइमाई नै खनिन्छन् , घृणा र अत्याचार गर्छन् , लोग्नेमानिस त आइमाईलाई अगाडि पारी भोटे कुकुर रुँगालु राखेर सुतेको गोठालोजस्तै सधै आफूलाई निर्दोष बनाउछ।

मानसिक विकृतिले जहिले पनि विद्रोह जन्माउछ – लक्षहीन, तर्कहीन र मर्यादाहीन विद्रोह। कुण्ठा जन्मिएपछि मानिस सत् असत् , चोखो जुठो , उचो निचो छुट्याएर हेर्दैन। ऊ त्यही गर्न खोज्छ जो समाजले गर्न नहुने भनेर वर्जित गरेको छ। उसको विद्रोह समाजको , व्यक्तिको प्रगति र भलोको निम्ति नभएर समाजबाट आफू अलग्गिन गाँजाको नशा तान्ने गँजडीको मिथ्या स्वप्नजस्तो हुन्छ। म भित्रको विद्रोह खास कसैको विरोधमा थिएन तापनि सबैको विरोधमा थियो तर त्यो मौन थियो बाहिरबाट कसैले देख्न नसक्ने , कसैले पनि अनुभव गर्न नसक्ने। मेरो विद्रोह आफ्नो या अरू कसैको भलो या क्षतिको निम्ति पनि थिएन र आफू आत्मसन्तुष्टि पाउने आशामा पनि थिइनँ। म त म भित्रको नाइटो देखि हुडुलिदै आएको छाद एकै हिक्कामा सबै ह्वात्त छादेजस्तै आफू भित्र समेटिएको पीडात्मक विद्रोह कहीँ गएर फाल्न चाहन्थेँ जुन सुकै रूपले भएपनि। तर त्यो फाल्ने कसरी? थाहा थिएन मलाई।

जति रात छिप्पिदै गयो उति म भित्र अन्योल उम्लिदै आयो र म आफूलाई थाम्न नसकेर बाहिर निस्के। बाहिर निस्पट्ट अँध्यारो थियो , शायद औशी ताकाको रात थियो।

हाम्रो घरभन्दा केही पर अर्को साहूको गाईवस्तु कटेरो थियो र त्यो गाईवस्तु कटेरोमा उनको गोठालेा गोकुले सुत्ने गर्थ्यो। त्यस्ता बजारमा जसका घरमा गोठाला हुन्छन्् उनीहरू त्यस्तै गोठ कटेरोमा सुत्ने गर्छन्। यसो गर्नुको कारण पहिलो त घर भित्र सुत्ने ठाउँ भएपनि तरूनी छोरीबुहारीबाट ती तन्नेरी गोठाला केटाहरूलाई पर राख्नु बढी बुद्धिमानी हुन्थ्यो र दोश्रो, गोठकटेरोमा सुत्नाले गाईवस्तुको सुरक्षा पनि हुन्थ्यो। त्यो परको साहूको गोठालो केटो छिप्पिएकै थियो र मसँग जम्काभेट हुँदा कसैले नसुन्ने गरी ‘सानीदुलही साहूनीलाई सन्चै छ?’ भनेर जिस्क्याउदै मुस्कुराउने गर्थ्यो। जब कि सबैले मलाई साहूनी मात्रभन्दा हुन्थ्यो ऊ भने किन मलाई सानीदुलहीको थप साइनो लगाउथ्यो थाहा छैन तर उसको आँखामा भएको भोक म प्रस्ट बुझ्थेँ। ऊ सधै नै केही न केही कारण लिएर मेरो अगाडि आइनैपुगेको हुन्थ्यो , मुस्कुराउथ्यो र मलाई केही असर नपारे पनि स्वास्नीमानिसलाई प्रिय लाग्ने कुनै न कुनै शब्द मैले मात्र सुन्ने गरी भन्न चुक्दैनथ्यो। मलाई ऊप्रति घृणा थिएन र विशेष चासो पनि भएन। ऊ गोरो थियो, अल्गो थियो परिश्रम र खान्कीले जिउडाल कस्सिएको थियो र उमेरमा मभन्दा २।४ वर्ष जेठो नै थियो।

बाहिर निस्केपछि मैले उसलाई सम्झेँ। ऊ पनि त सानी छोरीको लाससँगै मलामी गएको थियो। त्यो सानी छोरीलाई गाडनु पर्दा उसले पनि खाडल खन्यो होला, त्यसमा माटो हाल्यो होला र ऊ बाहिर निस्कन्छे कि भन्ने डरले ढुंगाले पनि किच्यो होला। सानी छोरीको समाचार त उसलाई पनि थाहा होला।

यस्तै सोच्दै म ऊ सुतेको कटेरोमा पुगें। ढोका ह्वाङ्ग उघारै थियो। शायद ढोका नै थिएन होला त्यो कटेरोमा। भएपनि त्यो गाठालोको चोरिन सक्ने सम्पत्ति केही हुन सक्दैनथ्यो। ऊ त गाईवस्तुको निम्ति राखिएको परालमाथि उत्तानो परेर सुतेको थियो।

मैले उसलाई छुदा ऊ तर्सिएर उठ्यो र भन्यो — “को?”

मैले ढिलो स्वरमा जवाफ दिएँ — “सानी छोरी बाटोमा ब्युझन त ब्युझन?”

मेरो प्रश्न बुझ्न नसकेर उसले भन्यो — “कहीं मरेको मानिस पनि ब्युझन्छ र?”

मैले उसको कुरालाई प्रतिवाद नगरी फेरि भनेँ — “गहिरै गाड्यौ होला नि तिमीहरूले? माटो त तिमीले पनि हाल्यौ होला। मैले पो हाल्न पाइनँ।”

आज भएको भए म त्यस्तो प्रश्न गर्ने नै थिइनँ तर त्यो बेला त त्यो प्रश्न प्राशङ्गिक नै थियो होला जस्ता लाग्छ मलाई। या थिएन कि? अरूको निम्ति त नहुन पनि सक्थ्यो। त्यो गोठालोलाई पनि प्रासङ्गिक लागेन होला र त भन्यो — “यस्तो कुरा सम्झनुहुन्न , दुलही साहूनी।”

तपाईलाई के ढाँटनु ! त्यो रात म त्यहीं सुतें , उसकै अँगालोमा सुतें। मधुमय त भन्दिनँ म तर मेरो लोग्नेको गनाउने अँगालोभन्दा त धेरै सुखदायी थियो त्यो अँगालो।”

“तर भान्दाइको अँगालो जति सुखदायी अवश्य नै थिएन, होइन?” – मैले ज्ञानीलाई वास्तविकतामा ल्याउन सोधें।

ज्ञानी साँच्चै वास्तविकतामा आई र भनी — “तपाईले प्रसङ्ग ल्याइदिनु भयो यहाँ। त्यो मरिसकेको भान्दाइ कुनै पनि हालतमा प्रसङ्गको विषय नै होइन। ऊ त मरिसकेको छ।”

मैले त्यो प्रसङ्गलाई स्वाभाविक बनाउदै गम्भिर भएर भनेँ — “ऊ मर्‍यो भनेर हरेक मोडमा भन्छ्यौ तर ऊ तिमी भित्र सधैं जीवित भएर तिम्रो हृदयलाई कोट्याइरहेको कुरा भने तिमी लुकाउन सक्दिनौ। तिम्रो कुन प्रसङ्गलाई ठीक मान्ने?”

ज्ञानीले या मेरो प्रश्नलाई कुनै महत्व दिइन या भान्दाइको विषयमा केही भन्न नखोजेकी हो, मैले बुझ्न सकिनँ किनकि उसले मेरो प्रश्न नसुने झै्र गरी आफ्नै कथन शुरू गरी — “उज्यालो भुइँमा खस्नुभन्दा अगाडि नै म घर फर्कें। म अवश्य नै केही हलुका भएकी थिएँ। पूर्ण रूपमा हलुका त म भान्दाइ गएको दिन देखि आजसम्म कहिले पनि भएकी छैन।

म फर्के्रर आएको देखेर मेरो लोग्नेले सन्तोषको लामो सास फेर्‍यो तर लोग्नेको दम्भ लुकाउन नसकेर भन्यो — “कहाँ गएकी रात भरी?”

मैले उसलाई नहेरी आफ्नै सुरमा भनेँ — “सानी छोरी एक्लै राति डराउछे। उसको साथी बसिदिएँ। फेरि माटो पनि पुगेनछ। अँजुलीले माटो पनि भरिदिएँ।”

मैले लोग्नेलाई ढाँटें भनी ठान्नु भयो होला तपाईले। सत्ते मैले ढाँटेकी थिइनँ। रातभरि निन्द्रामा म सानी छोरीको चिहानमा अँजुलीले माटा थपिरहेकी थिएँ। केवल गोकुलेको स्पर्शले ब्युझन्थेँ कहिले कही बलियो अँगालोमा बाधिएर नत्र त म र मेरा अङ्ग प्रत्यङ्ग त्यही माटोसँग खेलिरहेका हुन्थे।

मेरो भनाइ सुनेर मेरो लोग्ने जिल्लियो। दिदीले ऊतिर आँखाको सानले केही इशारा गरिन् र मलाई भनिन् –”जाऊ सुत , थकाइ मार। तिमी साह्रै थाकेकी छौ।”

म गएर ओछ्यानमा के पल्टिएकी थिएँ, भुसुक्कै निदाइछु।

६. म आइमाई

“ल है, हेटौडा ओर्लने पेसेन्जर उठनोस्।” – खलासी करायो। कराउनु पर्ने त कन्डक्टरले थियो तर खलासी रहुन्जेल ऊ किन कराओस्? साहूले पत्याएको भए पैसा पनि खलासीले नै उठाएर राख्ने थियो , साहूको पत्यार भएन र पो त।

पेसेन्जर सबै जुर्मुराए। सबैजसो एक पल्ट बाहिर निस्कन चाहन्थे। कोही खुट्टा तन्काउन चाहन्थे , कोही चियापान गर्न र कोह िलघुशङ्काबाट निवृत्त हुन। हरेक अडानमा मानिसहरू आफ्ना आफ्ना समस्या समाधान गरेर त्यस पछिको यात्रामा कसिन चाहन्थे। सबै जुर्मुराएको देखेर खलासी फेरि करायो — “आज ढिलो भएको छ है। बस एक छिन मात्र अडछ। टाडा नजानोस नि।”

बसमा यात्रा गरेपछि ड्राइवर, कन्डक्टरको त कुरै छोडी दिऊँ , खलासीको आदेश पनि आदेश हुन्छ। कसैले त्यसलाई ‘नाइँ’ भन्न सक्दैन। त्यसैले बीचरा यात्रुहरू हतार हतार आफ्नो काम फत्ते गरेर सिटमा बस्न आइपुगे। ज्ञानी र म बाहिर निस्केनौ। १०।१५ मिनट पनि नबित्दै बस गुडन थाल्यो।

बस चलेको निकै बेरसम्म ज्ञानी बाहिर अन्धकार हेरेर टोलाइरही। मैले उसको तन्मयता छिनाउन खोजिनँ। मैल बुझसकेको थिएँ कि ज्ञानीको तन्मयता धेरै लामो हुनसक्दैन। ऊ आफूलाई कुनै पनि चिजमा लामो समयसम्म केन्द्रित गर्न सक्नेमध्येकी थिइन र कुनै पनि बेला वास्तविकतामा ओर्लन सक्थी।

बस भित्र सुनसान थियो। सबै जना निदाइ नसके पनि निदाउने प्रयासमा थिए। बाहिरबाट हावाको एकोहोरो स्याँ स्याँ मात्र थियो। भित्र इन्जिनको घरघराहट मात्र। यी दुई आवाज त गाडी गुडेपछि अविरल भइरहने हुनाले यात्रमा मौनताको एउटा अङ्ग नै थिए। ज्ञानी भने भित्र र बाहिर दुबै ठाउँँको मौनता र आवाज दुबैसँग अनभिज्ञ भएर आफ्नै कल्पनामा सीमित थिई।

एकाएक ज्ञानी मतिर फर्की र मेरो कानैमा खुसखुसाई –”सासै रोकेर थुन्न खोजे पनि समय लुसुलुसु चिप्लिएर जान्छ। थाहा पाए पनि जान्छ , थाहा नपाए पनि जान्छ। प्वाल परेको घ्याम्पोको पानीजस्तै रसाएर छिरिरहन्छ यो। झन मानिस निदाएपछि त यसले कुदने मौका पाउछ। म के निदाएकी थिएँ समय धेरै गइसकेछ। ब्युझँदा त म अस्पतालको बेडमा पो थिएँ। एकातिर मेरो लोग्ने उभिइरहेको थियो, अर्कोतिर डाक्टर मेरो आँखा नियालेर भन्दै थियो।

“अब निको भयो। झगडा गर्न छोडिहाल्नुभयो। भनेको औषधी खाइहाल्नुहुन्छ। तपाईहरूले पिरै मान्नु पर्दैन।”

म निन्द्राबाट ब्युझेको देखेर डाक्टरले सोध्यो –”कस्तो छ तपाईलाई अहिले?”

मैले चकित र विस्मित भएर सोधें –”के भएको थियो र मलाई?”

उसले मुस्कुराउदै जवाफ दियो –”तपाई विरामी हुनुभयो।”

म छक्क परेर सोधें –”कहिले?”

डाक्टरले जवाफ दिनुभन्दा पहिले नै मेरो लोग्नेले जवाफ दियो –”अब निकी भइहाल्यौ, अरू कुरा केलाई चाहि्यो?”

म के विरामी भएकी थिए? प्रत्यक्ष त मलाई कसैले पनि भनेन तर सत्य लुकाएर लुक्ने पनि होइन। अस्पतालबाट बिदा हुनुभन्दा पहिले डाक्टरले मेरो लोग्नेलाई भन्यो –”हेर्नोस, यस्तो रोग बल्झन पनि सक्छ। त्यसमा पनि कुनै मानसिक आघात पर्‍यो भने त पक्कै बल्झन्छ। त्यसैले वहाँलाई आफूखुशी गर्न दिनोस्। रोक्ने कुरै नगर्नु।”

फेरि डाक्टरले मतिर फर्केर भन्यो –”तपाई भर्खर बिरामीबाट उठेको मानिस। पीर गर्ने , मनमा कुरा खेलाउने काम नगर्नु। हुने कुरा तपाईले पीर गरेर टर्ने होइन , भइसकेको फर्कने होइन। फेरि तपाईले नगरेर केही काम रोकिने पनि होइन। सबै आफूखुशी गर्नोस् आफूले मन लागे जति।”

अस्पतालबाट निस्केपछि पो मैले थाहा पाएँ म साँचै विरामी भएकी रहिछु भनेर। घरबाट काठमाडौं आएकै ६ महिना भइसकेको रहेछ , अस्पताल बसेकै मात्र पनि दुई महिना। शुरूमा म बेहोश भइछु, त्यसपछि पागलपनले छोयो रे आफ्नो अर्काको पनि छुट्याउन नसक्ने। यस्तो स्थितिमा मेरो लोग्नेले काठमाडौमा घर किनेर व्यापार शुरू गर्नु पनि नौलो भएन। ऊ कारोबारी मानिस। ऊ त जन्ती जादा पनि कमाउने ठाउँ बनाउछ, मलामी जादा पनि चुक्दैन। यी आजै हेर्नास न। सानेसँग परदेश गइरहेकी छु मेरो खुशीले, मेरो मन बहलाउन तर उसको कामको फिरहस्ती एक हात लामो छ मसँग। ऊ कमाउने बाहेक अरू चिज हेर्दैहेर्दैन। नाफा दिने मानिस हो भने स्वास्नी एक रात ऊसँग सुतिदिदा पनि उसलाई केही फरक पर्दैन। कारोबारी मानिस यस्तै हुन्छन्् , बुझ्नु भो?

बसाइ काठमाडौको भएपनि परिवार सञ्चालन पूरानै थियो। दिदीले घर भित्र जम्मै भ्याएकी थिइन। घर बाहिर मेरो लोग्नेको हैकम थियो। बजार गाउँमा ठेकी कोसेली लिएर लगानी लगाउथ्यो। ठूलो ठाउँँमा हजारको एक रुपिया दैनिक ब्याज ठोक्न थाल्यो। तिर्ने र नतिर्ने मानिस ऊ एकै बोलीमा चिन्थ्यो , ठग र साधु अनुहारले छुट्याउथ्यो। तर मलाई भने यसले केही फरक पार्दैनथ्यो। मेरो इच्छा अनिच्छा उसले वास्ता गरेकै थियो, मेरो चाहनालाई पूरा गरेकै थियो।

मेरो काम केही थिएन घरमा। हप्तामा एक दिन डाक्टरकोमा जान्थेँ , दिएको औषधी खान्थेँ। छोराछोरी समेत मलाई सानी बहिनीलाई झैं माया गर्थे , मलाई खुशी राख्न प्रयास गर्दथे। मेरो बेहोशीका ६ महिना भित्र सब पविर्तन भएको थियो मानौं म त्यो घरको मूल पुरुषकी पत्नी होइन, प्रिय पुत्री हुँ।”

“के तपाई लोग्ने स्वास्नीको सम्बन्ध पनि त्यस्तै रह््यो त?”–मैले उसको भनाइमा शङ्का उठाउदै भनेँ।

“अवश्य नै रहेन। लोग्ने स्वास्नीको बीचमा बाबु छोरीकोजस्तो सम्बन्ध हुनसक्ने कुरै हुँदैन। अरूले ममाथि गरिने व्यवहारको कुरा पो गरेकी त मैले। मेरा सबै चाहना पूरा गरिदिए पनि कहीं बूढोले तरूनी स्वास्नी छोड्न सक्छ?”

ज्ञानीको अनुहार मैले अँध्यारोमा देख्न सकिनँ तर पनि मलाई लाग्यो कि उसको अनुहारमा पागलपनको व्यंग्य अवश्य हुनुपर्थ्यो किनकि उसको भनाइको स्वर सहज थिएन।

म केही बोलिनँ। ज्ञानी पनि एक छिन मौनभएर भन्न थाली –”अहिले तपाईलाई लाग्नसक्छ यो बौलाही पो हो कि भनेर। मानिसमा बौलिठ्ठपन सबैमा हुन्छ, सधैं नै हुन्छ। कोही छँदाखाँदाको घरबार छोडेर टुप्पी काट्छ , कोही निर्वाणप्राप्तिको मार्ग छोडेर घरबार जोड्न पुग्छ। कसैलाई धनको मद चडछ, कोही सत्तामा सन्कन्छ। अरू त अरू, सधैं मागेर गुजारा गनर्ुृ पर्ने मगन्ते पनि कहिले कहीं दाताले दिएको थोरै भयो भनेर त्यहीं घोप्ट्याएर हिडछ। बौलिठ्ठपन होइन त्यो उसको? तपाई हामी कोही पनि त्यो बौलिठ्ठपनबाट उम्कन सक्दैनौ। क्षणिक मानसिक उन्माद त सबैमा भई नै रहन्छ। हो, कसैकसैमा त्यो उन्मादको अवधी लामो हुन्छ। पागलपन र सद्धेपनको सीमा जोडिएर बसेका हुन्छन््। मानिस बराबर त्यसको वारपार गरिरहन्छ। त्यसैले सबै सधैं सद्धे हुदैनन् र सधै.बौलाही पनि रहदैनन।

मेरो मानसिकतामा कसैले हालिदियो – ‘पढे पनि त हुुने नि।’

मैले लोग्ने सामु पं्रस्ताव राखें। उसले जिल्लिएर सोध्यो — “किन पढ्नु पर्ने?”

अर्धसाक्षरहरूलाई जहिले पनि पढ्नुप्रति वितृष्णा हुन्छ। उनीहरूको पढ्नुको अर्थ शब्द वाचनमा नै सीमित हुन्छ र यसलाई अन्तिम लक्ष ठान्दछन। शब्दवाचन त मैले धेरै अगाडि सिकिसकेकी थिएँ। त्यसैले मेरो लोग्नेले मेरो पढ्नुको आशय नबुझ्नु पनि अचम्म थिएन। तर त्यो समयमा मैले आफू तिरष्कृत भएको ठानेर भने — “किन पढ्नु पर्ने? त्यो त पढेपछि मात्र थाहा हुन्छ।”

मेरो लोग्नेले मेरो भनाइलाई के अर्थमा लियो कुन्नि थाहा छैन। शायद अर्धविक्षिप्त तरूनी स्वास्नीस”ग द्वर्‍न्दगर्नु निस्प्रयोजन ठान्यो होला। व्यवहारिक बुद्धि हुने मानिसले सोच्नु पर्ने पनि यस्तै कुरा हो र मेरो लोग्नेको व्यवहारिकतामा कुनै शङ्का छैन। सौभाग्यबाट फाइदा उठाउन त धेरैले सक्छन् तर दुर्भाग्यबाट पनि फाइदा उठाउन त मेरै लोग्नेले मात्रै सक्छ। नत्र हेर्नोस् त , घरमा नाबालक केटाकेटी, आफैमा अल्झने तरूनी स्वास्नी, अझ त्यो पनि बौलाएपछि कसैको घर जोगिन सक्छ? तर मेरो लोग्नेलाई त यसबाट पनि फलिफाप नै भयो। सिङ्गै घर थामिदिने दिदी आइन्। स्वास्नीको औषधोपचारको लागि सहर पस्दा त्यहीं व्यवसाय जमाएर सहरिया साहू हुन पायो। गाउ”ले बजारमा एक हुन्थ्यो भने यहा” तीन हुन थाल्यो। त्यसैले उसले मेरो मनशायलाई मन नपराए पनि मेरो अठोट देखेर स्वीकृति दियो केही बन्देजहरू राखेर। त्यस्ता बन्देजहरू बाबुले त छोरीमाथि राख्छन् भने तरूनीको बूढो लोग्नेले राखेकोमा म अन्याय भयो भनेर भन्दिनँ।

मैले शायद तपाईलाई भने हुला स्कुलको जाँच मैले बजार गाउँबाटै दिएर उत्तिर्ण भएथेँ भनेर। मेरो लोग्नेले कसैलाई मेरा प्रमाणपत्र दिएर क्याम्पसमा मेरो दाखिला गराइदियो। सहशिक्षालयमा त उसलाई विश्वास थिएन, कन्या क्याम्पसमा दाखिला पाएँ मैले।

म काठमाडौ बसेको निकै समय भइसके पनि त्यहाँ मेरा सँगीसाथी कोही पनि थिएनन्। धेरै समय त म विरामी नै भएर बिताइछु र बाँकी समय पनि मेरो संङ्गत गर्न कोही पनि आएन। मेरो बिहेपछि त मैले कमाएको साथी भन्नु त त्यही सानी छोरी मात्रै हो। हुन पनि बूढाकी तरूनी स्वास्नी भनेकी जीव नै अचम्मकी हुदिरहिछ। उसका समान नातागोताका नातेदार उमेरमा ऊभन्दा धेरै बूढा हुन्छन्् र उनीहरूसँग पारा नै मिल्ने होइन अनि उसका उमेरका दौतरीहरू नाताले ऊभन्दा धेरै कान्छा पर्ने हुनाले बीचरा तिनीह्रूले उसलाई सन्मान गर्नु पर्ने हुँदा उनीहरूसँग निकटता बढने कुरै भएन। त्यसैले बजारगाउँमा पनि घरपिट्ट त मेरा दौतरी नै थिएनन्, माइती पिट्ट भान्दाइ मरेपछि मैले भेटनै छोडिदिएकी थिए। काठमाडौ्रंमा त एउटी मगज खुस्किएकीसँग साथी बन्न को पो आउथ्यो र? अनि म बाहिर निस्केर गएकी नै कहाँ थिएँ र?

त्यसैले म पहिलो दिन क्याम्पस जादा एक्लै थिएँ। क्याम्पसको मूल ढोकाबाट भित्र छिर्ने बित्तिकै ‘यत्र तत्र सर्वत्र’ केटीहरूको हुल थियो रंगीचंगी पोसाकमा। कोही मजस्तै एक्लै थिए, कोही साथीसँग। क्याम्पसको कम्पाउन्डलाई नाघेर भवनमा पस्न गएँ म। भवनको मूलढोकालाई छेकेर बसेका केटीका हुलबाट एउटीले भनी –”ए, केटी हो ! कान्छी बुहारी आउने रहिछन् , तिमीहरूले त केही भनेनौ त मलाई।”

अर्कीले नाके स्वर बजाएर जवाफ दिई –”कान्छो लिन गएको थियो हिजा। खै, आज त बुहारी मात्र आइछन्।”

मैले उनीहरूको कुरा केही पनि बुझनँ। यस्तैमा एउटीले थपी –”कान्छो कहाँ अलमलियो, बुहारी?”

म वाल्ल परें। मेरो लोग्नेलाई ‘भाइ’ र ‘कान्छो’ भन्नु पर्ने उमेर त उनीहरूको थिएन तैपनि सासू, आमाजूजस्तो व्यवहार गरिरहेका थिए उनीहरू। म उनीहरूको जवाफ दिन पनि के सक्थेँ र? म चुप लागेर उनीहरूलाई हेरिरहें। उनीहरूले मेरो परिस्थितिलाई बुझेनन् या बुझे पनि त्यसको वास्ता गरेनन्। जसोतसो त्यस दिन म उनीहरूको ताडनाबाट बचेँ। कसैले बचाइदियो। पछि पो मैले थाहा पाएँ – क्याम्पसमा नयाँ दाखिला लिएर आउने केटीहरूलाई उडाउन बसेका बुज्रुग केटीहरूका फेला परेकी थिएँ म। सामान्य त क्याम्पसमा पहिलो दाखिला लिनेहरू कुमारीहरू नै हुन्छन्् र कोही बिहे गरेका भइहाले पनि सिन्दूरको टिको कपालले छोपेर राख्छन् र पोतेको एउटा लुङ आजकल भैसीको मोमो खाने बाहुन केटोले आफ्नो जनै लुकाएजस्तो लुकाउने गर्छन्। म भने कत्रो न तीजको दिनमा पशुपति दर्शन गर्न गएकी बाहुनी नवोढाजस्तै सिउँदोभरि सिन्दूर र दोकाँधे पारेर तिलहरी भिरेर गएपछि हुदैनथ्यो त मेरो गाईजात्रा?

मेरो कक्षामा सबै नै १६।१७ का कुमारीहरू थिए र म मात्रै उनीहरूभन्दा धेरै जेठी बिहे गरेकी स्वास्नीमानिस थिएँ। त्यसैले उनीहरू मसँग कुरा गर्नु पर्दा अलि अदब साथ नै कुरा गर्थे। त्यसमा पनि १।२ महिनापछि कसैबाट म बूढाकी तरूनी स्वास्नी भन्ने सुनेपछि त उनीहरूको म प्रतिको सन्मान अझ बढ्यो। तर यो सन्मानले न मलाई मित्र दियो, न कुनै दौंतरी। म त त्यत्रो जमातमा पनि सधैं एक्लै हुन्थेँ शारीरिक रूपमा होइन, मानसिक रूपमा।

हेर्नोस् त , कति पिडात्मक हुन्छ हुलमा बस्नेहरूको जिन्दगी? अझ त्यसमा पनि कुनै निर्दिष्ट लक्ष नहोस, कुनै आत्मीय साथी नहोस् र अझ उसले गर्नु पर्ने काम पनि नभएपछि त मानिस बगरको ढुंगोजस्तो हुन्छ। समयको छाल आउदा अलिकति भिज्छ, दुर्घटनाको बाढी आउदा अलिकति ठाउँँ सर्छ। अरूले देख्दा कति न जरा गाडेर बसे जस्तो, नियालेर हेर्दा भने भर नभएको बालुवामा अडेस लागेर बसेको।

तपाईले अनुभव नगर्नु भएको कुरा सुनाउछु म तपाईलाई। ती आइमाई मात्र पढिने कन्या क्याम्पस या कलेजहरू अमाजोनको राज्य जस्ता हुन्छन्। त्यहाँ नारी महत्ता, नारी सम्प्रभूता र नारी शक्तिका कुरा हुन्छन््। त्यहाँ भित्र बस्दा लाग्छ नारी सत्ता बाहेक यहाँ अरू केही छदै छैन। यो संसार नै मातृसत्तामा टिकेको छ भनी ठानिन्छ त्यहाँ। भुलले ती कम्पाउन्ड भित्र कुनै लोग्नेमानिस छिर्न पुग्यो भने नारी व्यंग्य र छुद्रताले अर्को पटक त्यहाँ भित्र नपस्ने किरिया खाएर बाहिर निस्कन्छ। ती कम्पाउन्ड भित्र नारी सिंहिनी झैं गर्जन्छन्, बघिनी झैं फुर्तिला, मृगिणी झै. चपल र मैनाजस्तै वाचाल हुन्छन््। उनीहरूको हुलको सामु पल्टन र बख्तरबन्द गाडीले पनि बाटो छोडिदिनु पर्छ झैं गर्छन् उनीहरू तर जब तिनै आइमाई कम्पाउन्ड बाहिर एक्ला हुन्छन्, उनीहरूको चाल हर भाँचिएको बिरालोकोजस्तो हुन्छ , बोल्नु पर्दा जिब्रो च्यापुमा गएर टाँसिन्छ , छेपारोले टाउको उठाएर हेर्दा सातो जान्छ र ‘म्याउ’ गर्ने हुती हुँदैन उनीहरूको। लोग्नेमानिससँग बोल्ने त कुरै छोडिदिऊँ। म परें उनीहरूको लागि बूढी स्वास्नीमानिस, त्यसमा पनि पुरुष सम्प्रभूताले किचिएकी आइमाई। बाटोमा हिडदा तन्नेरीले सुसेले म त्यसको अत्तोपत्तो पाउदिनथेँ भने उनीहरू लाजले बुहारीझार जस्ता भइसकेका हुन्थे। बालकृष्ण समले ठीकै भनेका हुन क्यारे –’आइमाई बूढी पार्छन् पोइले कि त कालले’ र म उमेरमा नै पोइका कारणले बूढी भएकी स्वास्नीमानिस। मेरो सिउँदोको सिन्दूर, गलाको पोते, हुर्किएका छोराछोरी र जमिसकेको घरजम मेरा बूढौतीका प्रमाणहरू थिए। म यी सबै देखाएर बूढौती सिद्ध गरिरहेकी थिएँ। तर कोपिलामा नै क्याम्पसको हाता भित्र पसेर म बूढीको हात समाउन आएका मेरा सहपाठी केटीहरूलाई १।२ वर्षको समयले के हिर्काएको थियो उनीहरू फक्रेर स्वास्नीमानिसमा परिणत भई बूढौतीका बाना झक्न थाले। कोही बिहे भएर गालाभरि चोट लिएर आउन थाले, कोही सुत्केरीको चिल्लो अनुहार टल्काउन लागे, कोही पढ्न छोडिदिए, कोही पोइल गए। म सबैभन्दा बूढी, त्यसैले सबैले मलाई नै कुरा सुनाउनु पर्ने। मानिसले मानिसको पोल लगाउदा छुच्चो र सानो कुरा न लगाउने हो। ठूलो र भलो कुराको त पोल कसले पो सुनाउँछ र?

“बुझ्यौ? रेसमा त फलानो क्याम्पसको दादा सित लागी छ।”–मालतीले छुसुक्क सुनाउँथी।

“मालती त्यो ट्याक्सी ड्राइभरसँग इश्क लडाउदै छ।”– पार्वतीले मालतीको छुस्क्याइँ हाल्थी।

“निको छैन चाला पार्वतीको। छिमेकी केटोसँग लसपस छ भनेर आमाबाबुले बिहेको कुरो छिनिदिएका रे।”– गुनकेशरी भन्थी।

“पटाइछ बा त्यो गुनकेशरीले त्यो नौलो मास्टरलाई।”– त्यो चक्करमा अर्कीले सुनाउथी।

यस्तै चालाले विस्तारै सबैको बैंस हुर्कदै गयो र उनीहरू प्रेमीका बन्दै गए, स्वास्नी बन्दै गए र आमा पनि बन्दै गए। कसैले आफैं लोग्ने रोजे, धेरैलाई आमाबाबुलेे रोजिदिए। कलेज प्रवेशको चौथो वर्ष पुग्दा नपुग्दा थोरै मात्र बिहे गर्न बाँकी भए तर ती बिहे भएका पनि सिन्दूर कपालले नै छोप्थे र पोतेको लुङ ब्लाउज या सारीमा लुकाउथे। लोग्ने घरमा भएपनि एउटा प्रेमीको रहर सबेको मनमा हुने गर्थ्यो र म एउटीको बद्ख्वाइँ अर्कोको मुखबाट सुनिहाल्थेँ।

“त्यो प्रसङ्ग तिम्रो पनि त होला नि?”– मैले ज्ञानीको अतित कोट्याउन प्रयास गरें।

“हुनु त मेरो पनि पर्ने हो तर दुई कुराले वाधा र अडचन हालिदियो। पहिले, लोग्नेमानिस जतिसुकै खराब भएपनि कुनै विशेष कारण नभई सामाजिक मर्यादाको घेरा नाघ्न चाहदैन। ऊः अछुता पोथी सजिलै भेट्टाउछ भने कसैकी स्वास्नी ताक्न किन जान्छ र? मर्यादाको त्यो घेरालाई उसले उल्लंघन गर्ने हो भने उसकी आफ्नी स्वास्नी पनि त सुरक्षित हुन्न। ‘म विवाहित हुँ, म अछुत हुँ’ भन्ने प्रमाण, सिन्दूर र पोत,े मैले कहिले पनि लुकाइनँ र ती सबूतलाई नाघ्ने हिम्मत कमैमा हुनसक्थ्यो। कुनै कारणवस नकच्चरो निस्किहाले पनि एउटी बहुलाही स्वास्नीमानिसको पछाडि लागेर नदुःखेको कपाल उसले डोरी लाएर किन दुःखाउने? म सहज स्वास्नीमानिस होइन भन्ने कुरा पनि त सबैले थाहा पाइसकेकै थिए, मैले त्यसलाई लुकाएकी थिइनँ। लुकाऊ पनि किन? भन्नोस् त। मलाई पोइ चाहिएको होइन, मलाई प्रेमीको रहर पनि थिएन। म त आत्मामा ढु168ो पसेकी मानिस।

मेरो दिनचर्या पनि सीमित थियो। बिहान उठे देखि बेलुका सुतुन्जेलसम्म सधैं एकै नास चल्दथ्यो। घरपरिवार सञ्चालनमा मेरो कुनै प्रयोजन थिएन। न मसँग राय सल्लाह लिइन्थ्यो, न कुनै काम नै अराइन्थ्यो। बिहे नभएकी छोरीका पनि कतिपय जिम्मेवारी हुनसक्थे होलान् तर म त त्यो छोरीभन्दा पनि बढी स्वछन्द थिएँ। मलाई त लाग्छ , कसैसँग यौन सम्बन्ध राखेकै भएपनि मलाई स्वतन्त्रता हुन सक्थ्यो होला। मैले त्यो स्वतन्त्रता भने उपभोग गरिनँ किनकि यौन मेरो आनन्दको वस्तु त रहदै रहेन। लोग्नेसँगको सम्बन्ध पनि मलाई उसको बाबुआमाको श्राद्धमा मैले भोकै बस्नु पर्ने वाध्यताजस्तो लाग्थ्यो र जीवन भर गनाइरहनु पनि यही वाध्यताको अवशेष हो।

म बिहानै उठ्थें, आफ्नो नित्य कर्म पछाडि एक कप चिया खान्थेँ। धर्ममा मलाई विश्वास छैन र भगवानको नाममा एक गेडो अक्षता र एक थुँगो फूल पनि मैले चडाएकी छैन। त्यसपछि पढ्नु या लेख्नु यो मेरो अर्को नित्यकृया हो। म के पड्छु, त्यो न सोध्नोस्। सामु जे पाउछु त्यही पढ्छु। मेरा आदि गुरुले सिकाएको पनि त्यही नै हो। पढ्न मन नलागे या पढ्न केही नपाए म लेख्छु। मेरो लेखाइको पनि खास विषय वस्तु भइरहदैन। त्यो समयमा जे मनमा आयो त्यही विषयमा लेख्छु म र लेख्नुको पनि सीमा छैन। मलाई पाहुनालाईजस्तो खान बोलाउछन सधैं र त्यही पाहुनालाई झैं सन्मान गर्दछन्। साहूकी पढ्न र लेख्न जान्ने तरूनी स्वास्नीको मान त हुने नै भयो तर वास्तवमा यो उनीहरूको वाध्यता थियो। म बहुलाएर बस्नुभन्दा केही नगरी बस्नु सजिलो र सस्तो पर्ने थियो मेरो लोग्नेलाई र म मौन र बौलाही हुँदा उसकी दिदी घरकी मालिक्नी हुन पाउथिन्। स्वार्थ सबैको आफ्नो आफ्नो थियो र यही स्वार्थमा हामी सबै जेलिएका थियौं।

दिनभरि म क्याम्पस जान्थेँ या कही पनि जान्नथेँ। मसँग अरू विकल्प पनि थिएन। मेरा नातागोता सहरमा थिएनन्, चिनाजानी कहाँ गएर म आफूलाई पसारो पार्न चाहन्नथेँ। लोग्नेसँग जोडी भएर घुम्ने कुरै उठेन। दौंतरी भए न चासो र चाहना पनि मिल्थ्यो र लोग्नेसँग घुम्न खान निस्किइन्थ्यो होला। ओखर र पांग्रो भएपछि छेकछन्द नै मिलेन। हामी त सँगै भएर पनि अलग्गै थियौ।

त्यो समयमा म कस्ती थिएँ? त्यो तपाईलाई जान्न सजिलो होस् भनेर म आफ्नो चित्रण गरिदिन्छु। देख्दा म रामै्र थिएँ हुँला , २५ पनि ननाघेकी तरूनी थिएँ म। २५ पनि ननाघेकी राम्री तरूनी जो हमेसा पोते र सिन्दूर भिरेर आफूलाई बूढी बनाउन खोज्छे , जसको आँखा र अनुहारमा सधैं विक्षिप्तताको छायाँ टल्कन्छ, जो रून र मुस्कुराउन जान्दिन र जो एक्लै निस्प्रयोजन र लक्षहिन भएर समय बिताउछे। त्यो आइमाइको नजिक पर्न को चाहन्छ? कोही परिहाले पनि उम्कने प्रयासमा लाग्छ। त्यसैले क्याम्पस आउदा, जादा मलाई बाटोमा छेडखानी गर्ने युवा हुदैनथे त मलाई साथ दिने दौंतरी केटी पनि कोही थिएनन। जहाँ गए पनि, जहिले पनि म एक्लै निराश जीवनको यात्रामा। मेरो पढाइको गति बढदै गयो, प्रगति पनि भयो र शिक्षित नारी पनि भएँ म तर मेरो उपलब्धि के भयो र? म त साहूकी स्नातकोत्तर स्वास्नी। गेटे र गोथे, सेक्स्पियर र दाँते, मोपासाँ र ओ हेनरी, गोगल र मार्क टवेन, कान्ट र हेगल, रुसो र मार्क्स अथवा लेखनाथ, सम,देवकोटा, भिक्षु, रिमाल आदिका विचार र सिर्जना टाउकोमा थुपारेर बसेँ म। मेरा सहपाठीहरू क्रमशः एकपछि अर्को गर्दै कुमारीबाट आमासम्म पुगेर आफ्ना परिवारका जन्जालमा समाहित भए र म भने जहीं कि त्यहीं थिए। केवल समयले मेरा छालामा केही रेखाहरू थपिदियो र विश्वविद्यालयले केही प्रमाणपत्रहरू थमाई दियो। छर छिमेक, टोलमा म त्यही साहूकी स्वास्नी थिएँ , त्यही निर्जीव र विक्षिप्त जीव थिएँ।”

७. फेरि अर्को भान्दाइ

ज्ञानीको एक लयता नरोकिने देखेर मैले उसको कुरा काटदै भनेँ –”ज्ञानी ! तिमीले अहिलेसम्म आफूलाई नकारात्मक प्रतिविम्बको रूपमा मात्र प्रस्तुत गर्‍यौ। मानिसका जीवनमा आउनै पर्ने सुख, मुस्कान, हाँसो र खुशीका क्षणहरू भने तिमीले लुकाइ नै रहेकी छौ। पागलपन र सद्धेपन हारहारीमा बस्छन भनेर तिमी आफैले स्वीकार गरिसकेकीछौ र एउटाबाट अर्कोमा ओहोर दोहोर गरिरहन्छ भनेर पनि तिमी आफै भन्छ्यौं। तब तिम्रो जीवनको सकारात्मक अथवा सद्धेपन चाहिं खै त? तिम्रो खुशी , तिम्रो हाँसो , तिम्रो मुस्कानका क्षणहरू कहाँ लुकायौ त?”

ज्ञानी रोकिई। शायद उसको मानसिकताको एक पक्षलाई मेरो भनाइले छोयो होला।

“यति भनाइले मात्र मानिसको कुरा बुझ्न सकिन्न र?”– ज्ञानीले उल्टो प्रश्न गरी।

“जो भनियो त्यो त बुझन्छ तर कसैका बारेमा जान्नु पर्दा समष्टिगत विवेचना र व्याख्या आवश्यक पर्दछ। तिमी विक्षिप्तता र दुःखको पोको मात्र त हाइनौ र तिमी अर्थहीन जीवनको यात्रा पनि होइनौ। त्यसैले तिम्रो जीवनको एक पाखा मात्र हेरेर त्यसको आकार कल्पना गर्न सकिन्नँ। आयामिक आकार अथवा तिम्रो व्यक्तित्व त सर्व पक्षिय विवरणबाट मात्र अङ्गि41त हुन्छ। यो यात्राको अन्त्यमा तिम्रो चित्रण गर्न पनि त आधार चाहिन्छ मलाई। कि म यात्राको अन्त्यपछि तिमीलाई उही शून्यमा फालिदिउँ त?”– मैले ज्ञानीको अतित कोतर्न बल गरें।

ज्ञानी एक छिन घोरिई र मध्यम स्वरमा भन्न थाली — “आजसम्म मैले जे सुनाएँ त्यही नै सबैले सुने र त्योभन्दा पर खोज्ने प्रयास कसैले पनि गरेन। तपाईलाई किन त्यसले चित्त बुझेन? म बुझ्न सक्दिनँ। तर मैले मेरो छुटेको भाग सुनाउदा तपाईलाई सन्तोष हुन्छ भने भनिराख्छु त्यो बाँकी भाग पनि। तर त्यहाँ पनि तपाईले मेरो क्षणिक आनन्दको अनुभूति मात्र पाउनु हुनेछ। व्यथा त त्यहाँ पनि छ तर त्यो व्यथा पनि , त्यो खुशी पनि मेरो आफ्नो सिर्जना हो र म त्योप्रति पूर्णत जिम्मेवार छु। अहिलेसम्म जो बखानें त्यसमा मेरो उत्तरदायित्व पटक्कै छैन। त्यो अरूबाट सिर्जना गरियो या अपर्झट या दुर्घटनावस भइपर्न आयो। कोही मलाई घाउ पारेर गयो कोही यसै नै रहिरह्यो।

मेरा बाबु हुँदा म जति सुखी थिएँ त्यति त म कहिले पनि भइनँ तर त्यो वाल्यकालको सुख थियो। त्यसैले त्यो सुखलाई जिन्दगीको सुख भन्न अलि मिल्दैन। जिन्दगीको सुख र दुःख त समझदार भएपछि मात्र शुरू हुन्छ। आफूले भोग्नु र बेहोर्नु परेपछि अनुभव हुन्छ। मेरो विक्षिप्ततामा सुख र दुःख पटक्कै थिएन र कसैले पनि मलाई सामान्य नारी त ठान्दै ठानेन। मलाई राम्रो कामको निम्ति पुरष्कार पनि दिइएन किनकि त्यो राम्रो कामलाई काकताली मानिने गर्थ्यो। मबाट नराम्रो कामकुरा भएमा मेरो मानसिकतालाई त्यो पनि क्षम्य थियो। त्यसैले दुःखलाई सुखबाट र सुखलाई दुःखबाट छुट्याउन गाहारो छ मेरो निम्ति।

स्नातकोत्तर तहको अन्तिम वर्ष थियो र म तीस लाग्न लागेकी थिएँ त्यो बेला। त्यो समयमा त कक्षाका सहपाठीहरूको संख्या पनि सीमित थियो र एकको अर्कोसँग व्यक्तिगत रूपमा पनि राम्रै चिनाजानी भइसकेको थियो। त्यहाँ त जेठा र कान्छाको समयान्तर पनि त्यति धेरै लाग्दैनथ्यो। जेठो ३० वर्ष पुगे कान्छो २५ को हुन्थ्यो र त्यो उमेरमा यो अन्तरले सहपाठीहरूका विचारधारामा फरक ल्याउन सक्दैनथ्यो। विश्वविद्यालयका पछिल्ला वर्षमा त स्थायी प्रेमी या स्थायी मित्र पनि स्थापित भइसकेका थिए र प्रत्येकका गतिविधिका दायरा अब निश्चित भइसकेका थिए। म त अब पनि एक्लै थिए तैपनि यदाकदा अजोड ढिपीगर्नेहरूले आफू कहाँ केही छिनको निम्ति त लिएर गइ नै हाल्थे।

मेरी सहपाठी, तपाईलाई उसको नामसँग सरोकार नभएकोले ‘राधिका’ भन्छु, उसले एक दिन मलाई समाई नै हाली। हामी दुवै विश्वविद्यालयबाट फर्कदै थियौं। म सधैं ऊ साथै फर्कन्थेँ भन्ने पनि केही थिएन। त्यो दिन म ऊसँग परें त्यति मात्रै। तर अपर्झट परेकी पनि होइन। मेरा दुई वटा कक्षा छुटेका थिए र मैले ऊसँग लेक्चर नोट्स मागेकी थिएँ। उसको घरमा लिन जानै पर्‍यो। ऊसँग विशेष मित्रता भएर मागेकी पनि होइन। पहिलो मगाइमा उही परी र उसले हुन्छ भनिदिई। फेरि दोश्रो, उसको घर मेरो घर आउने बाटैमा पर्थ्यो र मलाई उसकोमा पस्न त्यति असजिलो पनि थिएन।

राधिका मलाई आफ्नो कोठामा राखेर बाहिर निस्की। शायद चिया चमेनाको वन्दोवस्त गर्न गएकी थिई। मैले शुरूमा नै छेकछन्द पाएर विरोध गरेकी त हुँ तर उसको जिद्दी पनि मेरोजस्तै अजोडी थियो र हार मानेर म उसलाई पर्खेर बसें। एक छिन भएपनि समय कटाउन म राधिकाको र्‍याकबाट किताब झकेर पल्टाउन थालेँ।

समय थोरै मात्र गएको थियो होला कि कुनै लोग्नेमानिस बाहिरबाट भट्भटाउदै भित्र पस्यो –”पख् तँलाई। तैँले मलाई ठगेकी? त्यसको साटो नफेरी त कहाँ छोडुँला र।”

अनायाश सुनिएको आवाजसँग परिचित हुन म पछाडि फर्कें र हुत्तिदै ढोका भित्र पसेको मानिस मेरो अनुहार देखेर यसरी जिल्लियो कि उसको अनुहार देख्दा म नमुस्कुराउन सकिनँ। राधिकालाई भनिएका शब्दहरू मैले सुन्दा त्यति नराम्रो केही पनि थिएनन् तापनि आफू एउटा मानसिकतामा निश्चित भएर कसैलाई सजाय दिन भित्र पसेको बेला दोषी नपरेर कोही अर्कै देखा पर्दा जो पनि अल्मलिन सक्थ्यो। तैपनि त्यो लोग्नेमानिसले मेरो मुस्कुराहट देख्ने बित्तिकै आफूलाई संयमित बनाएर ओठमा मुस्कान ल्याएर भन्यो –”माफ गर्नु होला। म त राधिका भनेर आएको त।”

मैले जवाफ दिनु अगावै राधिका कोठा भित्र पसी र हातको प्लेट र चिया साइड टेबुलमा राख्दै मलाई देखाएर भनी –”ज्ञानी। मेरी साथी।”

लोग्नेमानिसले ओठ र आँखामा मुस्कुराहट ल्याएर भन्यो –”हामी त ज्ञानी होइनौ।”

मैले कुनै जवाफ दिनुभन्दा अगाडि नै राधिकाले विरोध गरी –”छ्या है, दाइ। तपाई त जहिले पनि ठट्टाकै मुडमा। ज्ञानी मानिस सिरियस छ।”

र मतिर फर्केर भनी –”मेरो भान्दाइ। सिरियस्ली नलेऊ है उसको कुरालाई। गम्भिर हुन त उसले जानेकै छैन।”

‘भान्दाइ’ यो शब्द मेरो निम्ति कर्णप्रिय नरहेको कुरा तपाईलाई थाहा छदैछ। त्यसैले राधिकाको भान्दाइले मलाई कुनै सकारात्मक प्रभाव पारेन तर उसले राधिकाको स्वरमा भएको गम्भिरतालाई बुझेर होला एकदम नम्र भएर भन्यो –”मेरो बेअदवीको निम्ति क्षमा याचना गर्दछु। म सधैं नै जीवनको उज्वल पक्ष मात्र प्रस्तुत गर्न खोज्ने हुनाले मात्र मैले ठट्टा गरेको हुँ। यसलाई अन्यथा नसम्झनु होला।”

एउटा लोग्नेमानिसले यसरी नम्र भएर मसँग कुरा नगरेको धेरै समय बितिसकेको रहेछ। मलाई उसको भनाइ अप्रिय लागेन र भनेँ –”तपाईको भनाइ अभद्र या अप्रिय त होइन। तब क्षमा याचना नै किन चाहि्यो र?”

हामी दुई जनाको बीचमा राधिकाले हस्तक्षेप गर्दै भनी –”यसै भेट भइहाल्यो त चिनापर्ची पनि राम्रैसँग गराइदिन्छु , ज्ञानीलाई आपत्ति छैन भने।”

म बोलिनँ र त्यो नबोलाइलाई मेरो स्वीकृति ठानेर उसले भनी –”भान्दाइको नाम जीवराज र वहाँ धेरै जसो झापामा नै बस्नुहुन्छ।”

राधिकाले योभन्दा अरू थपिन, बरू आफ्नो भान्दाइको निम्ति खाने कुरा लिन गई। सो समयमा दुई जना मौनभएर बस्नुभन्दा केही बोल्नु बढी मर्यादित हुने ठानेर होला जीवराजले भन्यो –”तपाईबारे मैले सोध्नुभन्दा तपाईले नै केही भनिदिए परिचय धेरै सजिलो हुने थियो होला।”

जीवराजको सोधाइ शैली मलाई मन पर्‍यो। कसैबारे सोध्नुभन्दा उसैलाई चिन्न लगाउदा के सोध्न हुने र के नहुने भनेर तौलिरहने आवश्यकता पर्दैन र अनावश्यक कुरा सोधिन गएर अपमान हुने या अप्ठ्यारो पर्नै डर हुन्न। उसको भाव बुझेर मैले भनेँ –”मेरो व्यक्तिगत परिचय मेरो नाम ज्ञानी जो तपाईले सुनिसक्नुभयो। अरू सबै परिचय अरूसँगै जोडिएको छ। म तपाईकी बहिनी राधिकाकी सहपाठी। यो पनि तपाईले थाहा पाइसक्नु भयो। मेरा बाबु छैनन्, त्यसैले त्यता पिट्ट छोडिदिऊँ। म बूढो साहूकी तरूनी स्वास्नी। राधिकाले म गएपछि तपाईलाई त्यसै भनेर चिनाउने छ। साहूका छोराछोरी छन्, मेरा छैनन्। त्यसैले म केटाकटीकी सौतेनी आमा। यो समाजमा मेरो सबभन्दा ठूलो परिचय हो – म सहज छैन अर्थात् मेरा पछाडि मलाई बौलाही भन्छन््। राधिकाले म गएपछि तपाईलाई यही कुरा भन्नेछ। साथीसँगी मेरा छैनन् तर एक्लै बस्ने मलाई यति बानी परिसकेकोछ कि यसको पनि मलाई गुनासो छैन।”

मेरो भनाइलाई उसले कसरी बुझ्यो भन्न सक्दिनँ तर जवाफ उसले यसरी दियो –”तर यही कुरालाई तपाईले उल्ट्याएर पनि राख्न सक्नु हुन्थ्यो। ‘म ज्ञानी। राधिका मेरी सहपाठी। मेरो लोग्ने सहरको सम्पन्न र वयस्क भद्रपुरुष। आफ्ना सन्तान नभए पनि केटाकेटीले मलाई आमा नै मान्छन्। मेरो भनाइ र सोचाइ अरूसँग मिल्दैन, त्यसैले मेरा पछाडि मेरा कुरा काटछन्।'”

मैले जे भनेकी थिएँ उसले त्यही नै कुरा भने पनि उसको भनाइ धेरै कर्णप्रिय थियो। भाषाको त्यो प्रयोगलाई आनन्द मान्दै मैले भनेँ –”आफ्नो बारेमा पनि भाषाको त्यही कर्णप्रिय सकारात्मक प्रयोग गर्नोस् न त।”

उसले छिटो मुस्कान अनुहारमा ल्याएर भन्यो –”मेरो नाम जीवराज तर मलाई माया गर्नेहरू ‘सानोबाबु’ भनेर बोलाउछन्। मलाई माया नगर्नेहरूले पनि मलाई गाली गर्दा यो सानोबाबु नामलाई अपभ्रंश गरेर फूलनाम राख्न नमिल्दोरहेछ। विश्वविद्यालयका प्रमाणपत्रहरू मैले फ्रेम हालेर भित्तामा झुण्ड्याएकोछु र एउटा सानो चिया बगानको व्यवसाय गर्छु। घरमा को को छन्? भनेर सोध्नुहुन्छ भने आमाबाबुको म एक्लो सन्तानले उनीहरूलाई पिण्डपानी दिन शुरू गरेकै पनि एक जुग भइसक्यो। छोराछोरी छन् मेरा तर उनीहरू घरमाभन्दा छात्रावासमा नै बस्छन्। दशैं तिहार भेट्न जान्छु म तिनीहरूलाई। कहिले कहीं म यहाँ आउछु, माइजूले दिएको मिठो मसिनो खान्छु , यो राधिकासँग झगडा गर्छु। यस्तै छ मेरो वास्तविकता।”

“तपाईकी पत्नीका बारेमा तपाई किन मौन हुनुभयो त?”– मैले उसले लुकाउन खोजेको पक्ष उदा168 पार्न खोजें।

“मेरी पत्नी? हो, उनी पनि छन् तर उनी मसँग बस्नुभन्दा माइतीमा बस्न बढी रूचाउछिन् र उनको माइती यहीं काठमाडौंमा।”– जीवराजको स्वरमा अलिकति तितोपन देखा पर्‍यो र त्यसले लोग्ने स्वास्नीको सम्बन्धमा त्यति मिठास नभएजस्तो देखाउँथ्यो।

राधिका खानेकुरा बोकेर आई। हामी तीनै जना खान लाग्यौं। खाँदाखाँदै राधिकाले भनी –”सानोबाबु दाइ ! तपाईको यो चाला अब चाहि मलाई मन परेन। आफू एकातिर बस्यो, छोराछोरी एकातिर राख्यो, भाउजूलाई एकातिर छोडिदियो। मानिसको घरवार पनि कहीं यस्तो हुन्छ? भन त , ज्ञानी। लोग्नेस्वास्नी रे। दाइ आएको हप्ता दिन हुनलागिसक्यो , भाउजू कहाँ पुग्नै नभ्याउने पनि हुन्छ कतै?”

“मैले म आएको समाचार त पठाइसकें नि। पठाइन त? तँ नै भन् त। पुग्न त भ्याइनँ। अब के गर्छेस् त? यस्तै छ जिन्दगी।”– जीवराजले स्पष्टिकरण दियो।

“तिमीहरूमध्ये कसको अचाक्ली हो? त्यो त थाहा छैन तर तिमीहरू जिताहा भने हौ। भाउजूलाई भन्यो, ‘खै, वहाँ आउनु नै भएको छैन’ भन्छिन्। तिमीलाई भन्यो भने ‘समाचार पठाएकै छु नि’ भनेर उम्कन्छौ। उनीले यहाँ आउनु हुदैनथ्यो? कि तिमी वहाँ जाँदा केही बिग्रन्थ्यो? छोराछोरी बीचरा कहाँ जाउन्। अब त ठूला बुझ्नसक्ने भइसके, ए।”– राधिकाले आफ्नो भनाइ एकै सासमा पोखी।

जीवराजले आफूले खाइसकेको प्लेट पर सार्दै भन्यो –”हेर, राधिका ! तँ वैवाहिक जीवनको परिभाषा बु226ि128ऒ्ढदनस्। यसमा सफलता, असफलता दुवै पक्ष हुन्छन््। प्रत्येक सम्बन्ध सफल हुन्छन्् नै भन्ने छैन। ५० प्रतिशत सफल छन् भने त्यति नै असफल पनि छन् र हाम्रो सम्वन्ध पछिल्लो ५० मा परेको छ। त्यसैले हामी छरिएर बसेकाछौं।”

“सँगै बस्दैमा सफल हुन्छ भन्ने पनि त के छ र?”– किन किन मेरा मनमा आएको धारणा पनि मैले व्यक्त गरें।

“त्यसो पनि हुन सक्छ तर दुई जानाका बीचमा मनमुटाव भइ सकेर पनि सफल सम्बन्ध छ भने झै्र देखाउनु त फोस्रो आडम्बर हो। छोराछोरीका निम्ति पनि मिल्नु पर्छ भन्ने केही छैन। छोराछोरी त आमाबाबु मरे पनि त हुर्कन्छन्। मेरी स्वास्नीलाई मन परेन , घर छोडी, आई, बसी म के गरूँ अब?”– जीवराजले मेरो कथन पिट्ट ध्यान नदिएर आफ्नै कुरा भन्यो।

“तपाई लिएर जान त सक्नुहुन्छ नि भाउजूलाई? तर तपाई त्यसो गर्नु हुन्न।”– राधिकाले आफ्नो विरोध यथावत राखी।

“सुन्, राधिका ! तँ तेरी भाउजूका कुरा सुन्दासुन्दा उसकै भइसकेकी छस् तर मेरो पनि आफ्नो पक्ष छ र त्यो पनि सुनिराख्। म यहाँ आएको छु भन्ने जानकारी मैले तेरी भाउजूलाई दिइसकेँ। मैले यो नाताको कर्तव्य पूरा गरेको हुँ। माया गरेको भए म आफैं पुगिसक्ने थिएँ र उसलाइै माया भएको भए ऊ पनि यहाँ आइपुगिसकेकी हुने थिई। मायाको बाटोमा कुनै बाधा अडचन हुँदैन , कुनै बन्धन हुँदैन। जीवनमा हामीहरूले एक अर्कोलाई माया गर्दै गरेनौं तैपनि छोराछोरी भए र हामी बाधिएका मात्र हौं।”– जीवराजले प्रष्ट भन्यो।

“दाइ ! छोराछोरीकी आमा भएकी स्वास्नीलाई त्यसो भन्न तपाईलाई हिचकिचाहट पनि लाग्दैन?”– राधिकाले प्रस्ट विरोध गरी।

“काम्लोमा सातु मुछ्नु हुदैनथ्यो, राधिका। अब मुछिसकेपछि केको घिन? लोग्नेस्वास्नी, छोराछोरी छुिट्टनु हुन्नथ्यो, अब छट्टिइसकेपछि केको लोकाचार? माया त ऊ ज्ञानीकोजस्तो हुनु पर्छ। आफ्ना छोराछोरी नभएर पनि त्यही मायाको आडमा बस्नु भएको छ , नत्र वहाँलाई बन्धन त केही पनि छैन। हैन, ज्ञानी?”– जीवराजले गम्भिर भएर मतिर हेर्‍यो।

मैले कुनै जवाफ दिइनँ। दिनु पर्ने आवश्यकता पनि थिएन। म राधिकासँग नोट्स लिएर घर फर्कें।

किन हो कुन्नि? त्यो राधिकाको भान्दाइ मलाई अनौठो लाग्यो। म सधैं सोच्दथेँ – बिहे एउटा सामाजिक बन्धन हो जसलाई छुटाउन सकिदैन। ऊ त बिहेलाई आपसी मायाको बन्धन र त्यो माया नभएपछि बिहेको कुनै अर्थ नै छैन भनी ठान्दथ्यो। म रनभुल्लमा परें। अहिले सम्मको आफ्नो जीवनको अर्थ बुझ्न सकिनँ मैले। यसमा त मेरो आफ्नो भन्ने भाग केही पनि छदै थिएन। माया पनि थिएन , घृणा पनि थिएन। मलाई लोग्नेसँग बाँधेर राख्ने छोराछोरीको मायाको बन्धन पनि थिएन। म त गाईको पुच्छरमा अल्भि्कएको परालको त्यान्द्रोजस्तै अर्काकोे जीवन समाएर आफ्ना दिनहरू कटाइरहेकी थिएँ। त्यो रहस्य त त्यो सानो बाबुले आएर खोलिदियो र म नयाँ जीवनको निम्ति छटपटिन थालें। शायद यो मेरो पागलपनमा अर्को झट्का थियो।

केही दिनपछि मैले राधिकालाई सोधें –”तिम्रो सानोबाबु दाइ गयो?”

राधिकाले जवाफ दिई –”गयो अस्ति नै। कस्तो जिद्दी, हँ, त्यसको? ‘भाउजूलाई लिएर जा’ भनेको कसैको कुरा सुनेको नै होइन। तर भाउजू पनि कम जिराही भने होइनन्। आफै किन जान नहुने, हँ, तिनले आफ्नो घरमा?”

मैले विस्तारै भनेँ –”राधिका ! यो मन असाध्यै कफल्लो चिज हो। चँुडिएपछि र भाँचिएपछि जोड्न गाहारो हुन्छ, अझ जोडिदैन नै भने पनि हुन्छ। तिम्रा दाजु र भाउजूका बीचमा त्यही भाचिएको मन छ। दोष कसको हो? त्यो केलाउनु पनि बेकार हो। जसको दोष भएपनि हुने कुरा भईसक्यो। त्यसैले उनीहरू आ–आफ्नो अडानमा छन्।”

“घरबार भनेको यस्तै हो भने त बिहे पनि के गर्नु?”– राधिकाले दिक्क भएर भनी।

“तिम्रै दाजुले भनेन ५०।५० को जुवा हो भनेर? कहीं न कहीं सबैको माया र मन एक किसिमले वा अर्को किसिमले फुटेकै छ , चोइटिएकै छ , चिरा परेकै छ। यही फुटेको, चोइटिएको वा चिरा परेको माया र मनलाई छताछुल्ल हुन नदिन विवाहितहरू अर्को मायाको डोरो तान्दछन् अथवा प्रेमी या प्रेमिका राख्दछन्। उनीहरूसँग गुप्त या खुला प्रेमी या प्रेमीका नहुने हो भने त बहुलाउने थिए उनीहरू। अथवा तिमी यसरी पनि भन्न सक्छ्यौ – म जस्ता पागलसँग मात्रै प्रेमको मात्रा हुदैन, मर्याको बन्धन मात्र हुन्छ।”– मैले उसलाई सम्झाउने प्रयास गरें।

“खै, म बु226ि128ऒ्ढदनँ तिमीहरू विवाहितका कुरा। अँ, साँच्ची, एउटा कुरा। यस पालीको छुट्टीमा सानोबाबु दाइले मसँगै तिमीलाई पनि निम्ता दिएको छ, है, उसकोमा जान।”– राधिकाले भनी।

“निम्ता त मलाई पो दिनु पर्ने त। तिमी मार्फत किन नि?”– मैले आफ्नो हक माग गरें।

“भन्न त उसले तिमीलाई नै खोजेको थियो तर मैले नै रोक लगाइदिएँ। तिमीलाई चित्त नबुझेर तिमीले उसको अपमान गरिदिनसक्ने सम्भावना पनि त थियो। पुरुष अहम्को निम्ति नारी अपमान विष सरह हुन पनि त सक्छ। तिमी चित्त नदुःखाऊ। केवल मैले आफ्नो दाजुको बचोट गरेकी हुँ। चित्त नबुझे सजाय तिमी मलाई दिन सक्छ्यौ।”– राधिका आफ्नो दाजुको ढाल बनेर उभिई। मैले उसलाई दोष दिन सकिनँ।

मलाई कहिले पनि कसै कहाँबाट पनि निम्तो आएन। जीन्दगीमा पहिलो पटक आयो त अर्कै मार्फत। आएको निम्तोमा पनि कसैले बाधा हालिदियो। निम्तोमा जानु नजानु त मेरो खुशीको कुरा छदै थियो , निम्तो नै पाउनु पनि कम खुशीको कुरा थिएन।

समय जसोतसो बितेर गइरहेको थियो। एक दिन राधिका मेरो घरमा टुप्लुक्क आइपुगी। मेरा सहपाठीहरूलाई यो घरमा स्वागत थिएन अर्थात् म उनीहरूलाई घरको संगार बाहिर बाटै विदा गर्थें। जे दिनु पर्थ्यो त्यहीं दिन्थे र जे लिनु पर्थ्यो त्यहीं लिन्थेँ किनकि मलाई जहिले पनि अप्ठ्यारो पर्थ्यो – घर भित्र ल्याएर राख्ने कहाँ? बैठक स्वास्नीमानिसको निम्ति त्यसमा पनि मेरो निम्ति त छदै थिएन। आफ्नो कोठामा लिएर आऊँ भने त्यो गजधुम्म बस्ने बूढाको उपस्थितिमा को केटी बस्न चाहन्थ्यो र म के भनेर राख्न सक्थेँ? हुन त यो सबै मेरो हिनतावोध हुनसक्थ्यो , मेरो त्रसित व्यक्तित्वको कल्पना हुन सक्थ्यो तापनि त्यो भयको छायाँबाट म कहिले पनि मुक्त भइनँ। सधै झैं म उसलाई घरको सँगार बाहिर नै भेटन पुगेँ र उसले भनी –”सानोबाबु दाइ आएको छ। तिमीलाई भेटन खोजेको छ उसले।”

हेर्नोस्, म वाक्पटु हुँ। जुनसुकै कुराको जवाफ पनि मलाई तुरून्तै आइहाल्छ, भलै त्यो ठीक हुनु नहुनु व्यक्ति व्यक्तिमा भर पर्ला तर राधिकाको भनाइ सुन्दा म अवाक भए। के भन्ने के? मैले शब्द नै पाउन सकिनँ। शायद मौनता पनि मानिसको अभिव्यक्तिको एउटा रूप हो कि?

म नबोलेकी देखेर राधिकाले जोड दिएर भनी –”सत्ते। मैले ढाँटेकी होइन। अस्ति देखि नै बोलाइ दे न, बोलाइ दे भनिरहेको थियो। आज त असाध्यै नै ढिपी गर्‍यो तैपनि तिमीले गाली पो गर्छ्यौ कि भनेर डराई डराई आएँ।”

मैले ‘हुन्छ’ वा ‘हुन्न’ केही नभनी केवल यति मात्र भनेँ –”जाउ तिमी अहिले।”

राधिका मेरो वचन मानेर फर्की।

कमजोर मनस्थिति हुनेहरूको सामु एउटा समस्या आइ पर्‍यो कि त्यसका अनेक कारण खोजेर चिन्ता ग्रस्त हुनु विशेषता हो र सानोबाबुको निम्तोले म भित्र शङ्का उपशङ्काहरूको लहर ल्याइदियो। उसले बोलाउनु पर्ने किन? यो प्रश्नको जवाफ म राधिकासँग सोध्न पनि त सक्थे तर किन सोधिनँ? के मलाई उसको जवाफ थाहा थियो त? थियो भने त्यसको जवाफ के? थिएन त किन तुरून्तै जवाफ मुखमा आएन त? म राधिका कहाँ गइनँ भने के हुने? के सानो बाबुले पर्खेर बस्छ मलाई? तर पर्खनु पर्ने कारण पनि के? उसको स्वार्थ के छ र ममा? गएँ भने मेरो स्वागत कसले गर्छ? राधिकाले कि सानोबाबुले?

यी प्रश्नहरूको लहरले दिन भरी नै मैले कुनै निर्णय गर्न सकिनँ। सल्लाह लिन पनि कोही थिएन। राति पनि त्यही समस्याले निन्द्रा कचमच पारिदियो। तर जे भएपनि भोलि पल्ट म राधिकाको घर पुगें। राधिकाले मलाई बाहिरबाट नै स्वागत गरेर आफ्नो कोठामा पुर्‍याई। उही पुरानो कोठा थियो तर किन हो किन? मलाई असजिलो भने लागिरहेको थियो। शायद आउने सम्भावनालाई आत्मसात गर्न नसक्नाले उब्जिन गएको हुन सक्थ्यो म भित्र त्यो असजिलोपन।

राधिकाले चिया ल्याई। पाहुना सत्कारको चिया समाउदै मैले भने –”खै , किन बोलाएको मलाई?”

राधिकाले मुस्कराएर जवाफ दिई –”सबै प्रश्नको उत्तर हुँदैन , ज्ञानी। कतिपय प्रश्नहरू नै उत्तर हुन्छन्् र कतिपय त उत्तर पनि प्रश्न नै हुन्छन््। जसले बोलाएको हो ऊ यहाँ छैन तर कुनै पनि क्षण आइपुग्नसक्छ। त्यसैले उत्तर पाउन पनि पर्खनै पर्छ।”

राधिकालाई भन्ने कुरा पनि भएन। उसले सानोबाबुले बोलाएको भनेर शुरूमा नै जानकारी दिएकै हो। हामःीलाई पर्खन कर लाग्यो र त्यो समयको सदुपयोग गरेर राधिकाले भनी –”यो मेरो सानोबाबु दाइ पनि अलि सन्केको छ। उसलाई जे मन लाग्यो त्यही गर्न मिल्छ उसले? लोग्नेस्वाास्नीको मन मिलेन, छुिट्टएर बसे , ठीकै भयो भनूँ। भाउजूले पारपाचुके मागिन् त दिए भइहाल्छ नि। दिन्न भनेको छ , अडान लिएको छ । घर छोडिसकेकी स्वास्नीलाई समाएर राख्नु किन पर्‍यो अब? ‘स्वास्नी ल्याएर राख्’ भने सबैले ऊ छोडेर बस्यो। अब स्वास्नीले छोड्ने पक्का गरेपछि ऊ समाएर राख्न खोज्छ।”

“के पर्‍यो तेरी भाउजूलाई त्यस्तो पारपाचुके नै लिनु पर्ने?” – मैले अलिकति चासो लिएर सोधें।

“त्यो भाउजूको समस्या भाउजूसँगै छ। उनीहरूको आपसी द्वर्‍न्दको अडान हो त्यो। कोही पनि हार्न नचाहनुृको परिणाम सधैं यस्तै हुन्छ।”– राधिकाले आफ्नो कटुता पोखी।

राधिकाको भनाइबाट यति प्रस्ट थियो कि ऊ आफ्नो सानोबाबु दाइलाई त माया गर्थी नै तर भाउजूप्रति पनि उसको सहानुभूति थियो।

राधिकाले एक छिन मौन भएपछि भनी –”तिमी सम्झाइदेऊ न एक पल्ट सानोबाबु दाइलाई।”

राधिकाको त्यो अनुरोध मेरो निम्ति एकदम अप्रत्याशित थियो र मैले आश्चर्य मान्दै भनेँ –”मैले सम्झाउने तिम्रो दाजुलाई? तिमी बहुलाएकी त छैनौ?”

“सानोबाबु दाइले जहिले पनि आफै निर्णय गर्ने गरेको छ। उसले कसैले भनेको पनि वास्ता गर्ने गरेको छैन। उसको जीन्दगी नै सधैं स्वतन्त्र। सामाजिक मर्यादा ऊ उल्लङ्घन गर्दैन तर एक्लो बस्न त मर्यादा पालन गरेर पनि सकिदोरहेछ। आमाबाबु सानैमा मरे। मेरो बाले घरकेटी गतिलो भनेर बिहे गरिदिनुभयो तर दाजु भाउजूमा मिल्ती भने बिहे गरेको दिन देखि नै भएन। भाउजूमा आफ्नो स्वार्थ धेरै, दाजूमा परायाको। भाउजूमा माइतीको तुजुक छ, दाजु आफैं घमण्डी छ। मेरो बापछि त उसले सल्लाह लिने मानिस पनि पाएन। त्यसैलेे भौतारिन्छ।”– राधिकाले गुनासो पोखी।

“माइजूले भनेको त मान्दो हो नि?”– मैले प्रश्न राखें।

“आमा के भन्नुहुन्छ र? त्यो छोरो झैं हुर्काएको भानिजको कुरा नै काट्न सक्नुहुन्न। उसले जे भन्यो त्यही सदर। आखिर कसैले त उसलाई भन्नै पर्‍यो र उसले पनि मान्नु पर्‍यो। त्यसैले तिमी भनिदेऊ न।”– राधिकाले अनुरोध गरी।

“त्यसो भए यही भन्न तिमीले मलाई बोलाएकी?”– मैले रोष देखाएँ।

“होइन। बोलाएको त उसैले हो। मैले त यो खाली समयको उपयोग मात्र गरेकी हुँ।”– राधिकाले तुरून्तै प्रतिवाद गरी।

र एक छिन थामिएर भनी –”दाइलाई तिमी मन परेकी छौ। यो कुरा मैले बुझेकी छु र तिमीलाई भेट्न खोजेको पनि केवल भेट्नकै निम्ति मात्र होजस्तो लाग्छ मलाई।”

“तब मैले पर्खिरहनु के आवश्यक त?”– मैले प्रश्न गरें।

राधिकाले लामो सास फरेर भनी –”पर्खेर बस भन्ने मेरा अनुरोध हो , पर्खनु तिम्रो बाध्यता होइन। तिमी आएकी थियौ भन्दा ऊ खुशी हुनेछ र गयौ भन्दा निराश हुनेछ। एउटी बहिनी जहिले पनि आफ्नो दाजुलाई खुशी र सुखी देख्न चाहन्छे। हेरौं , मेरो भाग्यमा के लेखेको छ।”

मैले केही पनि भनिनँ र उठेर जान पनि सकिनँ। एक छिनपछि सानोबाबु आइपुग्यो। उसले मलाई देखेर भन्यो –”हिउँदको छुट्टीमा राधिकासँग तिमी पनि पक्का आउँछ्यौ भन्ने लागेको थियो, आइनौ।”

फेरि सोच्यो होला उसको भनाइ कुबेलाको र प्रसङ्ग विहिन भयो र अर्कै कुरा थप्यो –”सञ्चै छ तिमीलाई?”

मैले प्रश्नको उत्तर दिनु अगाडि नै राधिका उठेर बाहिर निस्की। मैले ऊ गएको हेर्दै भने –”वकिलले के सल्लाह दियो त तपाईलाई?”

मबाट यस्तो प्रश्न आउला भन्ने उसले सोचेकै थिएन होला तर अलिकति अलमलिए पनि आफूलाई संयमित बनाएर भन्यो –”पेटमा कुरा अड्दैन यो राधिकाको। सुनाइसकी हैन तिमीलाई नचाहिने कुरा?”

मैले पनि दाजुबहिनीका बीचको प्रसङ्ग वास्ता नगर्दै फेरि भनेँ –”बस्न नचाहनेलाई तपाईले नछोडदैमा फेरि त्यो पुरानो घर बन्छ र?”

उसले कुनै उत्तर दिएन , बरू एउटा घाइतेलेजस्तै गहिरो आँखाले हेर्‍यो। मैले उसको हेराइ खप्न सकिनँ किनकि ती आँखामा आरोप या विरोध थिएन , केवल गहिरो वेदना मात्र थियो। के हो त्यो वेदना? म भन्न सक्दिनँ। शायद ऊ चाहन्थ्यो – लोग्नेस्वास्नी मिलेर भत्काएको त्यो जिर्ण घर मानसिक रूपमा त रहिरहोस् र त्यसको समर्थन कसैले पनि गरेनन् होला र वकिलले पनि। हुनसक्छ मबाट त उसले त्यो भनाइ आशा गरेको थिएन होला। म त्यो हेरेर बसिरहन सकिनँ र उसको उत्तर नपर्खी बाहिर निस्कें।”

घाम झुल्किसकेको पनि निके बेर भइसकेको थियो। बस लगातार आफ्नो गति गुडिरहेको थियो। यात्रुहरूका गन्तव्य आइपुग्नलागेका थिए र कति ओर्लदै थिए।

मैले आफूलाई अलि सजिलोसँग बसाउदै भनेँ –”घर फर्केर आएपछि तिमीलाई दुःख लागेन?”

ज्ञानीले भनी –”दुःख त लागेन मलाई तर असजिलो भने भयो।पछि राधिकाले भनी –’सानोबाबुले छोडिदियो स्वास्नीलाई र आफ्नै थलोमा फर्कियोे।’ तर बुझ्नु भो, फेरि मेरो मनमा शून्य भरिन लाग्यो र टाउको सधैं ह्वाङ्ग हुन थाल्यो। जहिले पनि मनमा लाग्थ्यो – त्यो सानोबाबुले केही भनिपठाउनेछ मलाई। त्यसैले म राधिकाको घरमा बराबर जाने गर्थें तर राधिकाको मौनता सधैं नै मौनता भइरह््यो। भान्दाइको बारेमा ऊ एक शब्द पनि बोल्दिनथी मानौं ठेडी कोचिएको थियो उसको मुखमा। म प्रतिक्षामा थिएँ तर प्रतिक्षाको कुनै अन्त्य भएन। त्यसैले मलाई एक दिन राधिकालाई सोध्न करै लाग्यो –”तिम्रो सानोबाबु दाइ आउदैन?”

राधिकाले मलाई निर्दयी आँखाले हेरेर भनी –”तिमीले नै लखेटी पठाएकी होइनौ र उसलाई?”

मैले केही भन्न सकिनँ। एक छिनपछि राधिकाले फेरि भनी –”विरामी भएर बसेको छ रे वहाँ। आउन मान्दैन। के गर्छ्यौ? उसको जिद्दी नै अघोरी छ।”

ज्ञानी थामिई। मैले ऊ बोल्ने आशामा निकै बेर कुरें तर ऊ नबोल्ने देखेर मलाई सोध्न करै लाग्यो –”के जीवराजलाई भेट्न गइनौ तिमी?”

ज्ञानी मतिर फर्की। उसको आँखामा पूरा विक्षिप्तता थियो। उसले भनी –”जादैछु, हेर्नोस् न। उसलाई लिएर आउनु छ। ऊ जिद्दी छ असाध्यै। मैले नभनेसम्म मान्दैमान्दैन। त्यसैले आफै आउनु पर्‍यो।”

ओर्लने तरखरमा ज्ञानीले सानेलाई बोलाई। गाडी रोकिएपछि दुवै जाना निस्के। उसले निस्कने बेलामा ‘जाउँ्क है त’सम्म पनि भनिन।

८. म पनि ओर्लिएँ

ज्ञानी ओर्लेपछि कन्डक्टर मेरै छेउमा आएर बस्यो र भन्यो –”आज रात भर सुत्न पाइएन। होइन?

मैले आश्चर्य मान्दै सोधे –”चिन्नुहुन्छ तपाई त्यसलाई?”

कन्डक्टरले हाँस्दै भन्यो –”किन नचिन्नु त्यो सधैं हाम्रो बसमा हिड्नेलाई? ३।४ वर्ष भयो ओहोर दोहोर गरिरहेको यो बाटो। पहिलो पल्ट उनी मरिसकेको सानोबाबु भन्नेलाई खोज्दै आएकी थिईन्। मरिसक्यो भनेर उनले पत्याउनै सकिनन्। आजकल त जसले भेटे पनि ‘ऊ काठमाडौ गएको छ’ भनिदिन्छन् अनि उनी फर्कन्छिन्।”

“यो यात्रु सित सिट मिलाउने काम पनि तपाईहरू गर्नु हुन्छ कि यो काकताली मात्रै हो?”– मैले प्रसङ्गवस सोधे.।

“हेर्नोस्, त्यो हाम्रो वाध्यता हो। कुन मानिस एक्लो छ र कसमा उसको दुर्बोध कहानी सुन्ने क्षमता हुनसक्छ भन्ने सोच्नै पर्‍यो। सामान्य व्यक्तिलाई उनले एकै छिनमा बहुलाहा बनाउनसक्छिन्। अब भोलि कसको दशा लागेको छ।”– कन्डक्टरले आफ्नो वाध्यता देखायो।

“भोलि नै फर्कन्छिन् र उनी?”– मलाई आश्चर्य लाग्यो।

“अवश्य फकर्िन्छन्। उनले खोजेको व्यक्ति नभएपछि उनको अड्ने ठाउँँ कहाँ छ र?”– कन्डक्टरले जवाफ दियो।

“उनको कथा नि? के त्यो साँचै हो?”– मैले फेरि सोधे।

“बूढा साहूकी स्वास्नी चै हुन् उनी , अरू साँचो झुटो चै दैव जानोस्। कथा त उस्तै उस्तै हुन्छ सधै , खालि ठाउँँठाउँमा मात्र सुन्ने पात्र अनुरूप अदली बदली हुन्छ।” – कन्डक्टरले थप्यो।

“जुन यात्रु त्यति चित्त बुझ्दो छैन, त्यसलाई तपाईहरू नै किन बोक्नुहुन्छ त सधैं?”– मैले अन्तिम जिज्ञाशा राखे।

“पेट, हजुर, पेट। गाडीमालिककी श्रीमतीलाई बोक्दिनँ भन्ने हो भने त पेट केले पाल्ने र?”– कन्डक्टर हाँस्दै ढोकातिर लाग्यो।

अर्को स्टपमा म पनि ओर्लिएँ।

समाप्त

काठमाडौ
२०५०।५।३०

(स्रोत : Ram Dahal’s Tripod Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *