संस्मरण : पाताल अनुभव

~मनोज गजुरेल~Manoj Gajurel

पृथ्वी गोलो छ र यो गोलो पृथ्वीको जुन भागमा हामी बस्छौँ, त्यसको ठ्याक्कैमुनि अमेरिका पर्छ। त्यसैले त यता दिन हुँदा उता रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भनिन्छ। अमेरिका त्यो अर्थमा पाताल हो। भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई आफ्नो पाताल अनुभव सुनाउँदैछन्।

साम्राज्यवाद मोह

अमेरिकालाई साम्राज्यवादी भन्ने कम्युनिष्ट पार्टीका थुपै पूर्व नेता तथा कार्यकर्ताहरु अमेरिकामा भेटिन्छन्। उनीहरु ‘साम्राज्यवादको ढाडमा टेकेर टाउकामा हिर्काउन’ हैन– सम्पन्न, सफल र सहज जीवन बाँच्न अमेरिका पसेको बताउँछन्। के छ त त्यस्तो अमेरिकामा? केन्टकीमा बस्ने मालेका पूर्व कार्यकर्ता प्रीति सागर खत्रीको विचार मननीय छ– ‘अमेरिकाको अनुदान, सहयोग र समर्थनमा चल्ने नेपाली नेताहरुले ‘जसको जौ खाने, उसैको जुंगा मुड्ने’ काम छोड्नुपर्छ, हाम्रा कमरेडहरुलाई चेतना भया।’ केन्टकीभरी वामदेव गौतमले भनेको कुराको चर्चा छ–’हामीले भनेको समाजवाद त यहाँ उहिल्यै आई सकेको रहेछ।’ बाँकी बिश्लेषण गर्ने काम पूँजीवाद र मार्क्सवादका पण्डितहरुको हो ।’

नक्कली नेपाल

फ्लोरिडाका केशव पोख्रेल र हरि अधिकारीसँगको डिज्नी टुर अविस्मरणीय रह्यो। डिज्नील्याण्डको ‘मिनी नेपाल’का थोत्रा घरहरु, पुराना मन्दिरहरु, भत्किएका देवालयहरु– यसरी नेपालको हुबहु नक्कल गरिएको सानो नेपालले संसारभरबाट आउने पर्यटकहरुलाई गज्जबले तानिरहेको छ। काली गण्डकीको र्‍याफ्टिंग, भक्तपुरका पुराना घरहरु अनि सगरमाथाको टुप्पोसम्म रेल चढेर जाँदाको आनन्दानुभूति अहो! पैसा, प्रविधि र विवेकको प्रयोगबाट निर्मित यो ‘नक्कली नेपाल’ले लाखौंलाई लोभ्याएको देख्दा यस्तो लाग्छ– देश शान्त हुँदो हो त सक्कली नेपाल घुम्न छोडेर नक्कली नेपालको पछि को लाग्थ्यो?

अण्डरग्राडहरुको दुखेसो

‘अण्डरग्राडहरु’का लागि सोचेजस्तो छैन अमेरिका। ‘समर’को काम गरेर वर्षभरीका लागि कलेजको शुल्क तिर्न हम्मे हम्मे परेका कुरा धेरै मुखबाट सुन्न पाइन्छ। काठमाण्डौमा ‘कन्सल्टेन्सीको दोकान’ खोलेर बसेका ‘दोकाने’हरुले सुख, सुविधा र वैभवको सपनामात्रै नबाँडेर त्यहाँ आइपर्ने समस्या, संघर्ष र समाधानको बारेमा पनि ‘कन्सल्ट’ गराइदिनु पर्छ भन्ने कुरा कसले बुझाई दिने हो कुन्नि? बोष्टनका उत्तमबाबु श्रेष्ट भन्छन्– ‘नत्र ग्राजुएसन गर्न गएको छोरो कलेजको फिसले थिचेर घाइते भयो’ भन्ने बेला हुन्छ।’

शतप्रतिशत शुद्ध नेपाली

भर्जिनियाको एउटा हिन्दु मन्दिरमा एकजना नेपाली मित्रले भने–’कलाकार महाशय, हाम्री जहान हजुरसँग छायाँ लिन चाहन्छिन्।’ म फोटो खिच्न तयार भएँ। फेरि भने–’महासय, यहाँ प्रकाशको पहुँच रहेन,बाहिर गएर लिनु पर्‍यो छायाँ।’ शुरुमा त कति ठट्टा गर्न सकेको होला भन्ठान्दै थिऐं–तर कुराकानीका क्रममा थाहा भयो, धनकुटाका यी थापाजीको सिद्धान्त रहेछ– ‘शतप्रतिशत अंग्रेजी नै र शतप्रतिशत नेपाली नै बोल्नुपर्छ– मिसमास भाषा मुर्दावाद।’
‘अमेरिकामा यो संभव छ र सर?’ उनी बोले–’सर हैन, महासय भन्नोस्।’ उनले थपे–’दुई घण्टाको नेपाली कुराकानीमा एउटा अंग्रेजी घुसेछ भने प्रति शब्द पचास डलर दण्ड पनि तिर्छु, तपाईं तयार?’ मैले आँट गर्न सकिनँ– ‘भैगो, सरी।’ थापाजी जंगिए–’सरी हैन, माफ पाउँ भन्नोस्।’

‘रोएको रोयै छ–सुखी छैन मन।’

धेरै कलाकारले अमेरिकालाई कर्म क्षेत्र हैन, ‘डलर क्षेत्र’ मात्र बनाएकाछन्। मलाई लाग्छ– देश छोड्नु प्रतिभा पलायन हैन, आफ्नो प्रतिभा अनुसारको काम नपाउनुचाहिँ साँच्चैको ‘प्रतिभा पलायन’ हो। नेपालमा स्थापित नेपाली कलाकारहरुको मनमा के होला? शिकागोमा कार्यरत लोक गायक भगवान भण्डारीको विचार मन छुने खालको छ– ‘हामी सुखी त हौंला, तर खुशी कहिल्यै हुन सकिंदैन। सुख भौतिक हो, खुशी मानसिक। भौतिक सुखले मात्रै मानिसको मन शान्त र समृद्ध हुँदैन।’

नजिकका आफन्त भारतीय

अमेरिकामा एउटा भनाई प्रचलित छ–’जहाँ पटेल, त्यहाँ मोटेल।’ गुजरातका मूलभूमि भएका भारतीय पटेलहरु मोटेल, रेष्टुरेण्ट तथा ग्यांस स्टेशन व्यवसायमा सक्रिय छन्। नेपालका छिमेकी भारतीयहरु भएजस्तै अमेरिकामा पनि नेपालीका सरल र सहज रोजगारदाता भारतीयहरु नै मानिन्छन्। उनीहरु पनि नेपालीलाई विश्वासिलो र असल काम गर्ने ठान्दा हुन्। बोस्टनका शुशील दहाल सोध्छन्– ‘हाम्रा भारतीय र पाकिस्तानीहरु नै अरुभन्दा नजिकका आफन्त रहेको थाहा पाएर पनि हामी किन उनीहरुलाई देखी सहँदैनौं? मैले भनें–’भारतप्रतिको नेपाली आक्रोश भारतीय जनताप्रति नभएर नेपाललाई सधैं आफ्नो इसारामा नचाउन खोज्ने भारतीय राज्यसत्ताप्रति मात्रै हो। कि कसो?’

अमेरिकी राष्ट्रपति पप्पु सिंह

क्यालिफोर्नियाको लस एञ्जलसमा बस्ने समीप पौडेल नेपाल आएको बेला साथीहरुले जिस्काउँछन् रे– ‘तिमी अमेरिका कि पटनाबाट आएको?’ समीपको अनुभव छ– भाषा, संस्कृतिका कारणले भारतीयहरुसँग काम गर्न त सजिलो हुन्छ, तर अंग्रेजीभन्दा हिन्दी धेरै बोलिने हुनाले लस एञ्जलसमा छु कि गोरखपुरमा–कन्फ्यूज हुन्छु।’ लुजियाना राज्यका गर्भनर बाबी जिन्दल छन्, न्यू जर्सीमा को गर्भनर बन्ने भन्ने निर्क्यौल भारतीय मूलका अमेरिकी नागरिकको भोटका आधारमा हुन्छ। न्यूयोर्कको ज्याक्सन हाइटमा वरपर पान थुकेर बनेका अमूर्त चित्रहरुको रमाइलो हेर्न पाइन्छ। इन्डोनेसियन र केन्याली बाबु आमाको अश्वेत सन्तान बाराक ओबामा राष्ट्रपति हुने देशमा कुनै दिन गुजरातका पटेल वा पञ्जाबका पप्पु सिंह राष्ट्रपति हुँदैनन् भन्ने पनि छैन, लगे रहो मुन्ना भाइ।

मैले हैन, हामीले

ओहायोकी लियन ओबामाकी फ्यान हुन्। उनको विचार सुन्नोस्–’हामीले ‘नेटिभ अमेरिकन’माथि गलत गर्‍यौँ। हामीले इराक युद्ध छेड्यौं, यसमा हामीलाई घाटा छ। अन्य देशमाथिको हाम्रो आक्रामक नीति हाम्रै लागि घाटाजनक छ।’ वाक्यमा ‘हामी’ शब्द उच्चारण गर्ने यस्ता अमेरिकी नागरिकबाट हामीले पनि सिक्नुपर्छ– राम्रा कुराको जस आफू लिने अनि नराम्रोको दोष अरुमाथि थोपर्ने नेपाली पारा हामीले सुधार्नैपर्छ। सामूहिक जिम्मेवारीबोधको बानी यसरी बसालौं कि–’हामीले राणा शासनको प्रयोग गर्यौं, जुन १०४ वर्षपछि गलत रहेछ भन्ने पुष्टि भयो। हामी कोसी र महाकाली सम्झौतामा नराम्ररी फँस्यौं, हाम्रो त्यो निर्णयले हामीलाई अहिलेसम्म दुःख दिइरहेको छ। हामीले जनयुद्धको नाममा हिंसात्मक बाटो रोज्नु पनि ठीक थियो वा थिएन, अब मूल्यांकन गर्ने बेला भएको छ। अहिले हामी पार्टी पद्धतीको नाममा निर्माण वा ध्वंस, कस्तो पाटो हिँडिरहेका छौं, हामी आफैंले विश्लेषण गर्नु पर्दछ।’ मलाई लाग्छ–जबसम्म गुण र दोषको सामूहिक जिम्मेवारी लिंदैनौं, तबसम्म जसले सत्ता चलाएपनि, जुन ब्यवस्था आएपनि उन्नत नेपाल असम्भव छ।

सुपरस्टार स्थानीय

बेला बेलामा नेपालबाट कलाकारहरु कार्यक्रमका लागि अमेरिका गई रहन्छौं। कार्यक्रमको विज्ञापन हुन्छ–’नेपालका चर्चित कलाकार फलानाकाको जोडदार प्रस्तुति तथा स्थानीय कलाकारहरु पनि।’ स्थानीय कलाकाहरु हुन्छन्–सरोज खनाल, प्रेमराजा महत, रतन सुवेदी, सपनाश्री, कर्णदासजस्ता अग्रज कलाकारहरु। र प्रमुख कलाकार हुन्छन्–नेपालबाट त्यहाँ पुगेका नयाँ कलाकार। ती अग्रज कलाकारहरु ‘स्थानीय कलाकार’मा रुपान्तरित हुनु मलाई चाहीँ नमज्जा लाग्यो। हिजो उनीहरु अग्रज थिए, आज पनि अग्रज छन् र भोलि पनि सम्मानित रहने, मान्ने र भन्ने गरे कसो होला?

भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई सुनाएको पाताल अनुभवको दोस्रो तथा अन्तिम भाग-

बोली र ब्यवहार
अमेरिकाका एउटा राज्यमा मेरो कार्यक्रम थियो। नेपाल राज्यका एकजना प्रतिनिधि स्टेजबाट नेपाली भाषा, संस्कृति र संस्कारका बारेमा बोलिरहेका थिए। उनले हाम्रो दौरा, सुरुवाल, टोपी र खुकुरीको पक्षमा निकै मार्मिक भाषामा समर्थन गरिरहेका थिए, तर स्वयम् भने टाइसुटमा निकै रिमिक्क भएर उपस्थित भएका थिए। गज्जबको कुरो त के थियो भने, उनको ‘राष्ट्रवादी भाषण’का श्रोताहरु मध्ये करिब एक दर्जन भुटानीहरु नेपाली राष्ट्रिय पोशाकमा सजिएर उपस्थित भएका थिए। आफ्नो पालो आएपछि मैले भनें- ‘कानुनी र नागरिकताका आधारमा हामी नेपाली भए पनि भाषा र संस्कृतिका आधारमा भुटानीहरु बढी नेपाली हुनुहुन्छ, उनीहरुबाट हामीले यो सिक्नै पर्छ।’ जवाफमा तालीले हल गुञ्जायमान भएको थियो।

भुटनिज एक्सप्रेस

‘यी भुटानीहरुले हँसाएर मार्छन् हौ’ पुराना नेपालीहरु भन्ने गर्दछन्। ‘कैले आस्ते गुरुजी भन्दै गाडी रोक्न खोज्छन्, कैले सारी र बुलाकी लगाएरै डिस्कोमा पुगिदिन्छन्, कैले दौरा सुरुवाल लगाएरै सुपर मार्केट घुम्दै भेटिन्छन्।’ भुटानी नेपालीहरु सम्बन्धी यस्ता उट्पट्याङ गफहरु जताततै सुनिन्छन्। एउटा वर्गले भुटनिजहरुलाई ‘हम जायगा’ र ‘सान्ता बान्ता’जस्तो चुट्किलाको पात्रको रुपमा पनि बुझ्ने गरेको पाइन्छ।
स्वयम् भुटानीहरुचाहिँ के भन्छन् त यसको जवाफमा? ‘जन्मभूमि भुटानबाट लखेटिएर नेपाल आइयो। पन्ध्र बीस वर्षसम्म छाप्रामा सूचना र प्रविधिसँग नजिक हुन नपाएका हामी एकैचोटी आधुनिकतासँग साक्षात्कार हुँदा असजिलो त हुन्छ, तर दौरा सुरुवाल, चौबन्दी, चोलोमा सुपरमार्केट घुमेको कुरा छ– ड्रुक्पाले नलगा भन्दा त मानेनौं, अमेरिकामा झन किन छोड्ने?’ एटलाण्टाका महेन्द्र दाहाल भन्छन्– सजिलो हुन्जेल हामी न नेपालीभाषा छोड्छौ, न नेपाली भेष छोड्छौं, भन्नेहरु भन्दै गरुन्।’ ‘

स्ल्यांग नेपाली

सेन्स अफ ह्यूमर भएका नेपालीहरु प्रसस्त भेटिन्छन् त्यहाँ। कोलोराडोका दिनेश कुमार कार्कीले भने–’म आयल निगममा अफिसर छु।’ म छक्क परेपछि उनले कुरा खोले– ‘हाम्रो आयल निगम भनेको ग्याँस स्टेसन हो, त्यहाँ तेल बेच्छु।’ न्यूयोर्कतिर ट्याक्सीमा राम्रो कमाई हुन्छ रे। टेक्सी चलाउने साथीहरु आफ्नो कामलाई ‘जोत्न जाने’, ‘मेलो लाउने’ भन्दा रहेछन्। हप्ताको ६ दिन काम गरेपनि, लोनमा घर र गाडी किनेर लोन र मोर्गेजको तनाव हरेक क्षण भए पनि हप्तामा एक दिन भए पनि नेपाली सांस्कृतिक कार्यक्रमहरुमा, आफन्तको घरका ग्यादरिंगहरुमा र पारिवारिक सप्ताहन्तमा नेपालीहरु हँसिलो अनुहारमा ठट्टा रमाइलो गरिहको देख्दा नेपालीहरुको अमेरिकी जीवन रसिलो भरिलो नै देखिन्छ। तर पनि म गायक भगवान भण्डारीको निचोड सम्झन्छु– ‘सुख र खुशी एकै ठाउँमा पाए झन् कति मज्जा हुन्थ्यो होला।’

चालीस वर्ष अघिको नेपाल

आमीसहरुको गाउँ घुम्ने क्रममा घच्याक्क ब्रेक लगाएर स्टेयरिङमा मुड्की बजार्दै भनेः ‘हत्तेरिका हौ’। यो शब्द अधिकांशले प्रयोग गर्ने ‘ड्याम्म्’को ठाउँमा उनले प्रयोग गरेका थिए। मैले सोधें, ‘के भयो?’ उनले भनेः ‘आयल निगममा जानुपर्ने, बिर्सिएछ।’ थाहा भयो, ग्याँस हाल्न बिर्सिएछन्। ठेट नेपाली शब्दहरु ‘हत्तेरिका हौ’, ‘हो क्यारे’, ‘हैन क्यारे’, ‘कस्सम’जस्ता झर्रा नेपाली शब्दहरु हामीलाई पनि सम्झन गाह्रो पर्ला तर सत्तरी वर्षका अमेरिकी नागरिक स्टेन्लीले २५ वर्ष अघि सिकेको नेपाली भाषा फरर बोल्दा बीचबीचमा अंग्रेजी शब्द घुसाउने मलाई पनि कुरी कुरी लागेर आउँथ्यो।

पहिलो पटक १९६७ मा नेपाल गएका स्टेन र उनकी पत्नीले २ जना अनाथ नेपाली बच्चालाई पनि त्यतिखेरै अमेरिका ल्याएका थिए, जो अहिले हुर्किएर यतै घरजम गरिसकेका छन्। नेपालका टिकट, पैसा र सामाग्री संकलनमा रुची राख्ने स्टेनसँग नेपाल सम्बन्धी थुप्रै सम्झना र अनुभवहरु छन्, जसलाई संकलन गरेर राख्न सके इतिहासको बारेमा थुप्रै जानकारी राख्न सकिन्छ।

राजावादी कि रामदेववादी?
सान फ्रान्सिस्कोस्थित मदरल्याण्ड नेपालले कार्यक्रमका लागि बोलाएपछि केही साथीहरुको आग्रह रह्यो, त्यस संस्थाका अध्यक्ष अनिल पाण्डे राजावादी भएकाले नजानु बेस। केही साथीको सुझाव रह्यो, कलाकार सबैको साझा भएकाले जसले बोलाए पनि जानु बेस। मैले सबैको सुझाव सुनिसकेपछि स्वविवेक प्रयोग गर्नु बेस ठानें– कला र विचार आफ्नो लैजाने हो, मञ्च जसको प्रयोग गरेपनि हुन्छ।

राजावादी, त्यसमा पनि पूर्व युवराज पारसको सहयोगी, कस्तो हुने होला? जांड,रक्सी, जुवा , डिस्को, बन्दुकसँग सँधै नाम जोडिएर आउने पारसका सहयोगी भनेपछि, सायद स्वभाव मिल्ने भएकैले उनीहरुको jlचार मिलेको होला भन्ठान्दै सानफ्रन्सिस्को एयरपोर्टमा झर्दा सज्जन दाइसँग अनिल एयरपोर्टमा भेटिए। सोझै डिस्को वा क्यासिनो लैजालान् भन्ठानेको त आफ्नो घर अक्ल्याण्ड पो पुर्‍याए।

पाण्डे घरको १५ दिने बसाई सोचेभन्दा ठीक उल्टो बन्यो। न चुरोट, न रक्सी, न डिस्को, न बन्दुक, अचम्मका राजावादी भेटिए यिनी त। यहाँसम्म कि चिया, चुरोट, चिकन मटनसमेत नचल्ने अनिललाई मैले सोधेँ ‘तपाईं त रामदेववादी हुनु पर्ने, कसरी राजावादी बन्न पुग्नु भयो?’ उत्तरमा अनिल गलललललल हाँसेमात्र। उनको हाँसोमा राजाको जस्तै षडयन्त्रको गन्ध थियो वा थिएन, त्यो चाहीँ उनै जानुन्, तर मेरो अनुमान चाहीँ नराम्रोसँग गोलखाडी गएको हो।

ओहायोको भुटानी गाउँ

ओहायोका स्टेनसँग एक दिनभरी आमीस गाउँमा लगेर घोडाले खेत जोतेको, ४००० वटा गाई एकै पटक मेसिनले दुहेको, ४०,००० कुखुराले एकपटक अण्डा पारेको, १४० थरीका चिज बनाएकोजस्ता ठाउँको स्थलगत निरिक्षण गराएका थिए। फर्किने बेलामा स्टेनले भने–’भुटानीहरुसँग भएको खेतीपातीको राम्रो अनुभवलाई शहरमा अल्झाउनु भन्दा यस्तै वैज्ञानिक खेतीपातीमा लगाउन सके तिनीहरुपनि आफ्नो काममा सन्तुष्ट हुन्थे, समाजले पनि दक्ष कामदार पाउँथ्यो।’

उनको सपना छ रेः स्थानीयहरुसँग मिलेर भुटानीहरुका लागि धेरै जग्गा जम्मा गर्ने र त्यहाँ उनीहरुको नेपाली गाउँ नै खडा गरेर खेतीपातीमा लगाउने। उनको यो सपनालाई कति नेपाली भुटानीले साथ दिन्छन्, त्यो चाहीं भविष्यले नै बताउला।

नेपाली मन

‘नेपालीपन’ भन्नु भाषा, भेष र संस्कृतिमात्रै हैन– स्वाभाव पनि हो। गत फेब्रुअरीमा अकल्याण्डबाट एरिजोनाको जांदै थिएँ। तीनवटा सिटमध्ये मेरो बीचमा, अनि एक जोडीको मेरो दायाँ र बायाँतिर थियो। आफैंलाई अप्ठेरो लागेपछि मैले सोधें– ‘तपाईँहरु सँगै बस्न चाहानु हुन्छ?’ छक्क पर्दै प्रतिप्रश्न गरे– ‘आर यु स्योर?’ भौतिकताले सम्पन्न समाजमा भावनात्मक कम, प्राविधिक ब्यवहार ज्यादा हुँदोरहेछ ! बुढाले भने– ‘अर्काको सजिलोको लागी आफ्नो सिट छोड्ने तिमी नै पहिलो भेटें ! ‘ जवाफमा मेरो मुखबाट अकस्मात फुत्कियो– ‘आइ एम फ्रम नेपाल !’ २ घण्टा उडानभर नेपाल र नेपालीको बारेमा बारम्बार सोधिरहे,मैले जाने जति बताइ रहें। फिनिक्समा छुट्टिने बेला दरिलो हात मिलाउँदै भने– ‘म एकपटक नेपाली संस्कृति अनुभव गर्न नेपाल आउने छु।’ घटना सामान्य भए पनि जीवनमा आफूले गरेको राम्रो काम मध्ये यो पनि एउटा हो भन्ने लाग्यो।

August 22nd, 2010

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.