कथा : मार्क्सवाद : सिर्जनात्मक कि जड ?

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

क. समुद्र दिनको साढेचारबजे क. रसकमलको घरमा पुगे । मूलगेट बन्द थियो र त्यससँगै रहेको सानो ढोकाबाट क. समुद्र टाउको निहुराएर भित्र छिरे । घरको मूल ढोकामा रहेको डोरबेल थिचेको केहीबेरमै ढोका खुल्यो र देखा प¥यो एक जना भद्र सज्जन व्यक्ति । क. समुद्रले हात जोडेर नमस्कार गरे र भने

‘कमरेड अभिवादन । म कमरेड समुद्र ।’
‘अभिवादन । ए तपाई नै हो ?।’ भद्र देखिएका क. रसकमलले क.समुद्रलाई पर्याप्त चासो दिएर हेर्दै भने ‘जाऊँ । भित्र जाऊँ…हिँड्नोस् ।’
‘तपाईले बोलाउँनु भएको रहेछ…’
‘हो कमरेड, तपाईलाई फेला पार्न मलाई तीन महिना लाग्यो ।’ क. रसकमलले बडो नम्र, शिष्ट र मायालाग्दो भाषामा आदरपूर्वक भने ‘तपाईहरूको पार्टी साँच्चै सुदृढ छ र कार्यशैली पनि कठोर भूमिगत…तपाईलाई भेट गर्न खोजेको तीन महिना भयो …ठ्याक्कै तीन महिना ।’

उनीहरू दुवैजना भ¥याङ चढेर दोस्रो तल्लामा पुगे र क. रसकमलले क. समुद्रलाई एउटा कोठामा छिराए र सोफा देखाउँदै भने ‘बसौँ ।’
क. समुद्र त्यो पाको कमरेड रसकमलले गरेको आफ्नो प्रशंसा तथा बोल्ने धैर्य र माधुर्यले निकै प्रभावित भए । क.समुद्र सोफामा नबसुन्जेल क. रसकमल बस्दै बसेनन् । सोफामा बसिसकेपछि छेवैमा प्रसन्न मुद्रामा उभिएका क. रसकमललाई समुद्रले भने ‘तपाई पनि बस्नुहोस् कमरेड ।’

क.समुद्रले देखे सो कोठा बैठक कम र पुस्तकालय बढी थियो ।

‘जे होस् तपाईसँग भेट त भयो नि…।’ क. समुद्रको सामुन्ने रहेको सोफामा बस्दै क. रसकमलले मन्द मुस्काएर भने ‘खासमा मैले तपाईलाई किन बोलाएँ भनेर पक्का पनि चर्को चासो भएको हुनुपर्छ ।’

यहबिेला एक जना केटोले स्टीलको जगमा सर्वत र दुईवटा गिलास लिएर आयो र टेबुलमा राखिदिएर फर्किइ हाल्यो । क. रसकमलले जगबाट गिलासमा सर्वत सारे र पर्याप्त सम्मानसहित दुवैहातले गिलास समातेर क. समुद्रको अगाडि राखिदिँदै भने ‘चीसो पानी पिऊँ…’ क. समुद्र एक पुरानो नेताको त्यो विनम्रता देखेर द्रवीभूत भइरहे ।

माया र इज्जत बराबरी भरिएको व्यवहारबाट क. समुद्र छक्क परिहेका थिए । कुनै बेला बनारस पढ्दा उनले यी नेता क. रसकमलको नाम पटक पटक सुनेका थिए । तर देखेका भने थिएनन् । यसरी त्यस दिन प्रत्यक्ष भेट हुँदा उनी कताकता भावुक पनि भएका थिए । आखीर विद्वान्हरू उसै पनि कोमल हुन्छन् । क. समुद्र भने रसकमलको कुरा सुन्दै विषय वस्तु आँकलन गर्ने प्रयासमा ‘हजुर हजुर’ भनेर क. रसकमलाई हेर्दै थिए ।

‘हेनुृहोस् कमरेड समुद्र, तपाई एउटा प्रतिभा सम्पन्न युवा नेता हो भन्ने सुनेको थिएँ ः तपाईलाई देख्नेबित्तिकै थाहा भयो कि तपाई भविष्यमा सक्षम, असल र सफल नेता हुनुहुनेछ ।’ क.रसकमलले आफ्ना लागि सर्वत खन्याउँदै भने ‘सर्वत पिउँनुहोस् ।’

उनीहरू बिस्तारै सर्वत पिउँन र वार्ता गर्न थाले ।

‘तपाई पुर्वेली विद्रोहीहरूको पृष्ठभूमिभन्दा फरक तरिकाले त्यहाँ पुग्नु भएको छ । मलाई माफ गर्नुहोला पुर्वेलीहरू मूढेबलमा विश्वास गर्ने खालका छन् । तर माक्र्सवाद भनेको युगानुकूल तर्क, विश्लेषण र गति पनि हो । अध्ययन हो । माक्र्सवाद जड बस्तु होइन । यो त समय र देश सापेक्ष पनि हुनुपर्छ । क्रान्तिको नक्कल आत्मघाती पनि हुनसक्छ भन्ने कुरामा हामी सबैजना सधैँ नै सावधान हुनैपर्छ । उसै पनि हाम्रो देश सानो र कमजोर छ । माक्र्सवादको प्रयोगमा समयानुकूल परिवर्तन पनि आवश्यक छ । चिनिया कम्युनिस्ट पार्टी नै सांस्कृतिक क्रान्तिप्रति आत्म-आलोचना गर्दैछ । तपाईलाई यो कुरा पक्का पनि थाहै छ । अँ अनि मैले तपाईलाई किन बोलाएँ भने ः तपाई आफ्नो पार्टीको प्रभावशाली नेता बन्दै जानु भएको छ । तपाई गतशील र सिर्जनात्मक बन्दै जानु भयो भने महासचिव पनि बन्नु हुनेछ । किनभने पूर्वेली विद्रोहको पृष्ठभूमिबाट उदाएकाहरू सिर्जनात्मक कम र रोमान्टिक बढी छन् । क. प्रकाश जो तपाईहरूका महासचिव हुनुहुन्छ उहाँ एकलकाँटे, हैकमी, सन्काहा स्वभावको वा झडंग रिसाउँने खालको हुनुहुन्छ । उहाँबाट तपाईहरूको पार्र्टी धेरै अगाडि जान सक्दैन । तर्क, अध्ययन र सिर्जनात्मकता भएन भने हुकुम फर्माएरमात्र पार्टीमा धेरै दिन टिक्न सकिन्न ।

….हेर्नुहोस्, बहुदलको चुनाव बहिष्कार गरेर कम्युनिस्टहरूलाई के फाइदा भयो ? आखीर दरबारियाहरूलाई नै फाइदा भयो …मैले चुनावमा जाऊँ भनेर क. प्रकाशलाई दुई हात जोडेर भनेँ तर तिनले एक कानले पनि सुनेनन् । उता क. बाचाललाई पनि भनेँ तिनले पनि क्रान्तिकै कुरा गरे । टेरेनन् । अहिले आएर आत्म-आलोचना गरेर बसेका छन् । के कम्युनिस्टहरू सधैँ अदूरदर्शी भएर गल्ती गर्दै जाने अनि आत्म-आलोचना भन्दै कतिन्जेल क्रान्तिको खिचडी पकाइ रहने ?

…..हेर्नुहोस्, क.विन्ध्याचलले ठीक भन्नुभएको थियोः नेपाली कांगे्रस र बाम दलहरू मिलेर संयुक्त आन्दोलन गर्ने र सके राजतन्त्र फाल्ने नसके संवैधानिक राजतन्त्रसम्ममा सम्झौता गरेर …पछि आवश्यकताअनुसार नेकासँग प्रतिस्पर्धा गर्ने….यो संयुक्त आन्दोलनको लाइन मनन गर्न योग्य छ । कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै दरबारले यसमा अनेक प्रपञ्चले टुटफुट ल्याउँन सफलता पाउँदै आएको छ । अतः सिर्जनात्मक भएर नसोच्ने हो भने नेता भइरहन पनि अब निकै कठिन छ । तपाईजस्ता युवाहरू नेतृत्वमा आउनु भएको छ, मलाई त एकदमै हर्ष लागेको छ । किताबीमात्र होइन समाज र देशको पनि अध्ययन गर्नुपर्छ र अन्तमा आफ्नै ज्ञानमात्र काम लाग्छ । नेपाली राजनैतिक शक्तिहरूको अवस्थाको विश्लेषण गर्नुहोस् । दुई विशाल र फरक राजनीतिक विचारधाराले चल्ने छिमेकीहरूको बारेमा हेर्नुहोस् ।

…..उग्र बामपन्थताको खण्डन, सम्झौता गर्नु हुन्न ? अथवा दुई पाइला अगाडि एक पाइला पछाडि, त्यस्तै लेनिनकै के संसदमा भाग लिनु हुन्न ? भन्ने जस्ता केही पुस्तकहरू पनि अध्ययन गर्नुस् । यस्ता पुस्तकहरूले देहकाल परिस्थितिअनुसार सिर्जनात्मक हुन सिकाउँछन् । हाम्रो जस्तो भू संवेदनशीलताले प्रभावित देशमा जोशमात्रले काम गर्दैन ।

….क. समुद्र, तपाईमा भएको ऊर्जालाई जिम्मेवारीपूर्वक सिर्जनात्मकतामा बदल्नुहोस् । हाट्टहुट्ट गरेर बनेका नेताबाट देश अगाडि बढ्न सक्दैन । देश बनाउँन नयाँ सोच, नयाँ चिन्तन चाहिन्छ । साथै नयाँ ढंगले पार्टी चलाउँने र खुल्ला दिमागले माक्र्सवादलाई बुझ्ने र लागू गर्ने दिशामा जानुहोस् । स्थिति राम्रो र परिपक्व बन्दै गएको छ, यद्यपि कपाहरू टुक्रिएका छन् । तर तिनीहरू कहीँ न कहीँ कुनै न कुनै रूपले जनताकै बीचमा सक्रिय पनि छन् । एकदिन समयले सबैलाई एकिकरण गर्नेछ र सबै राम्रो हुनेछ । यो राजनीतिक विज्ञानकै कुरा हो । केही पार्टीहरू केही क्षुद्र नेताहरूले नाम मात्रका लागि पनि खोलेका छन्, तिनको चिन्ता नगर्नुहोस् । फराकिलो भएर काम गर्नुहोस् । साँघुरो भएर अब चल्न सकिन्न । म तपाईहरूजस्ता दूरदर्शी नयाँ पुस्ताको साथमा छु । सिर्जनात्मकताको पक्षमा छु ।

…..लौ कमरेड समुद्र मैले त यस्तै गनगन गन्थन गर्न तपाईलाई बोलाएको हुँ । बेलाबेला नयाँ पुस्ताका कमरेडहरूसँग गफ गर्न मन लाग्छ, छलफल गर्न मन लाग्छ । के गर्ने ? यो भेटलाई मेरोतर्फबाट गोप्य राखिने छ । मलाई राम्ररी थाहा छ तपाई ठूलै जोखिम मोलेर मलाई भेट गर्न आउँनु भयो । मेरो तर्फबाट म कहिल्यै पनि घात गर्ने छैन । म तपाईको उज्वल राजनैतिक जीवनको लागि शुभकामना व्यक्त गर्दछु ।’

क. समुद्रले पाका कमरेड रसकमलको अर्ति सुनिरहे । क. समुद्रले अन्तिममा भने ‘तपाईका विचारहरू महत्वपूर्ण छन् कमरेड । म विचार गर्छु ।’ क.समुद्रले अरू थप कुनै प्रतिक्रिया जनाएनन् । अनि उनले आफ्नो झोलाबाट आफ्नै पार्टीको मुखपत्र ‘वर्गसंघर्ष’ कमरेड रसकमललाई दिए र भेटघाटको लागि धन्यवादसहित नमस्कार भनेर बिदा भए ।

बाटोमा निस्किँदा अँध्यारो हुन थालिसकेको थियो । उनले बाटोमा मनमनै सोचे :
१. क.प्रकाशको बानी ।
२.पूर्वेलीहरूको मनोदशा ।
३.माक्र्सवाद जडवाद होइन ।
४.माक्र्सवादी सिर्जनात्मकता ।
५.नयाँ सोच । नयाँ ढंग ।
६.खुल्ला दिमागले माक्र्सवाद बुझ्ने सवाल ।
७. संयुक्त आन्दोलन ।

साँच्चै हो …बूढोलाई धेरै कुरा थाहा रहेछ । क. प्रकाशको बानी….अर्थात् राजिनामा तेस्र्याइ हाल्ने….घुक्र्याउने…पार्टीको काममा सक्रियतापूर्वक लागेर, सके सबैकोः नसके धेरैको मन जितेर सङ्गठन चलाउँनु पर्नेमा क. प्रकाश वास्तवमै ‘हाईहुई र हाट्टहुट्ट’ गरेर अरोटखरोटले पार्टी चलाउन खोज्छन् …वास्तवमा खै सिर्जनात्मकता ? पदमात्रको चिन्ता छ …अनि रसकमलले भनेको सिर्जनात्मकता कतै सुधारवाद त होइन ? कि संशोधनवाद हो ? वास्तवमै सिर्जनात्मकता भनेको के हो ? कि ‘बाम बुढ्याइँ’को अर्को नाम ‘माकर्सवादी सिर्जनात्मकता’ हो ?’ क. समुद्र निकै बेरसम्म भ्रमित भइरहे । तर पनि उनको मनमा एउटा कुरा भने गहिरो गरी गढिरह्यो : सिर्जनात्मकता । उनी संस्कृत साहित्य समेतका मेधावी छात्र हुनाको कारणले सिर्जनात्मकता भन्ने शब्दमा बढी केन्द्रित भए र ‘खुल्ला दिमाग’ सम्म आइपुगे । उनले मनमनै दृढ भएर सोचेः सिर्जनात्मकता जरूरी छ । अर्थात् पार्टीमा नयाँ सोच आवश्यक छ । त्यो सिर्जनात्मकता के कुन सक्छ ? म अहिले नै केही बताउँन सक्ने अवस्थामा छैन तर एक दिन पत्ता लगाउँने छु । ताकि पार्टी एकबाट दश जनामा र दशबाट सय जनामा पुग्नेछ ।’ उनले मुठी कसे र हिँडिरहे । क. रसकमलसँग गरेको यो भेटलाई पार्टीमा बताउँने कि नबताउँने भनेर पनि उनलाई दोधार भइरह्यो र अन्ततः नबताउँने निर्णय गरे र मनमनै भने ‘बूढाका राम्रा कुरालाई म अवश्य पनि मनन गर्नेछु ।’

नरेन्द्र पराशर
मोरङ्ग
June 27, 2012

(स्रोत : Narendra Parasar’s Blog )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *