एकाङ्की : भगवान् को !

~खेम थपलिया~Khem Thapaliya

अङ्क एक,
दृश्य एक

(भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन यताउति हेर्छन् र सोफामा हात खुट्टा फालेर बस्छन् ।)

चिन्तनराज – (एकछिन गुनगुनाउँदै) ओेहो कत्रो अनर्थ ! सरकारमा गएपछि जनताभन्दा अरू नै शक्तिमा यिनको भरोसा बढ्दो रहेछ । पद, शक्ति र प्रभावमा रहिरहन अदृश्य र अलौकिक शक्तिलाई मुख्य ठान्ने ? कतिसम्म पाखण्ड ! यिनीहरूका प्रगतिशील एजेन्डा कति कमजोर ! उफ् ! (टेबुलमा रहेको एक गिलास पानी स्वाट्टै पार्छन् ।) अँ, आन्दोलन, सङ्घर्ष, क्रान्तिका क्रममा धर्म, भगवान्, ईश्वर वा अलौकिक शक्तिको अस्तित्वलाई ठाडै अस्वीकार गर्ने कुरा हराउँदा रहेछन् । कम्युनिस्टहरूमा त्यसप्रति अगाध आस्था नहुनुपर्ने हो तर तिनले परम्परालाई भत्काउन नसक्दा यस्तो हुँदो रहेछ कि क्या हो ? (करिब ४० वर्षका शर्माजी आइपुग्छन् । अभिवादन गर्छन् र बोल्न थाल्छन् ।)

शर्माजी – (अलि व्यङ्ग्यात्मक पाराले) के हो चिन्तनराजजी । आज अलि बढ्ता तनावमा देखिनुहुन्छ नि ! के भो त्यस्तो ? सुनाउन मिल्छ ?

चिन्तनराज – (फिस्स हाँस्दै) सुनाउन मिल्छ रे ! मान्छेहरूले यहाँ केके त गरिसके, तपाईं सुनाउने कुरा गर्नुहुन्छ ?

शर्माजी – (हाँस्दै) कसले के ग¥यो हँ ? आज तपाईंं अनौठो कुरा गरिरहनुभएको छ । कुरा अलि गम्भीर नै छ जस्तो छ नि ।

चिन्तनराज – (गम्भीर मुद्रामा) हो शर्माजी, कुरा अलि गहिरै छ । माक्र्स, एङ्गेल्स, लेनिन, माओका अनुयायी यहाँका माक्र्सवादीहरूले सरकार प्राप्त गरेपछि जनतालाई चटक्कै भुलेर कथित भगवान्को शरणमा जाने गरेकोले म निकै भावुक भएको छु । त्यसमाथि पनि राज्यकोषबाट धार्मिक अनुष्ठान गर्नु त सैद्धान्तिक विचलन मात्र होइन, अख्तियार दुरुपयोग पनि हो ।

शर्माजी – (सहमतिको भावमा) एकदमै ठिक कुरा गर्नु भो चिन्तनराजजी । साम्राज्यवादी मुलुक अमेरिकाको जर्जिया जस्तो परम्परावादी राज्यको विद्यालयमा समेत बाइबलको उक्ति टाँस्न पाइँदैन । धर्मनिरपेक्ष मुलुकमा एउटा अमुक धर्म प्रवद्र्धन गर्ने अधिकार कसैलाई हुँदैन । जस्तो कि मैले जर्जियाको उदाहरण दिएँ ।

चिन्तनराज – (सहमतिकै भावमा) ठिक हो । बुर्जुवाहरूले समेतले नगर्ने काम यहाँका प्रगतिशील विचार बोकेकाहरूले गरिरहेका छन् । बुर्जुवाहरूले समेतले सरकारी निवासमा धार्मिक अनुष्ठान गर्न हुँदैन ।

शर्माजी – (विषयान्तरण गर्न खोज्दै) चिन्तनराजजी हाम्रो समाज धर्मभीरुहरूको समाज हो । यसले हामीलाई निकै पछाडि पारेको छ । तीज लगायतका चाडपर्वमा नेपाली महिलाहरूले पहिरिने गरगहना कपडाले म त छक्क पर्छु । मलाई त के लाग्छ भने तिनीहरूले वैध–अवैध, नैतिक–अनैतिक, जुनसुकै उपायहरूबाट आपूm वा आफ्ना श्रीमानले आर्जन गरेको धन सम्पत्तिको रक्षा गर्ने नाममा तिनीहरूले त्यसो गरिरहेका छन् ।

चिन्तनराज – (हौसिँदै) ओहो ! शर्माजी, तपाईंंले बडो राम्रो कुरा गर्नु भो । यही चरित्र त हाम्रा कम्युनिस्ट नेताहरूमा देखापरिरहेको छ । दुःखको बेलामा यिनीहरू खाँटी सिद्धान्तवादी देखिन्छन् तर एक चरणको सफलताको समयावधिपश्चात् यिनीहरूको आदर्श खिइन्छ । जुनसुकै राजनीतिक दर्शन अँगालेको भए पनि उनीहरू एकपल्ट सत्ताको शिखरमा पुगेपछि ओर्लन चाहँदैनन् । हुन त यो मानवीय स्वभाव पनि होला ।

शर्माजी – (हाँस्दै) त्यै त । एक पटक माथि पुगेपछि त्यहाँ टिकिरहन खोज्दा उनीहरू विभिन्न उपायहरूको खोजी गर्छन् । एउटाले पूजा गर्दा बलियो भइन्छ भनिदिन्छ । अर्कोले औँठी लगाउँदा भाग्य ठूलो हुन्छ भनिदिन्छ । अन्ततः उनीहरू यस्तै यस्तैको पछि लाग्नाले विचलनको गम्भीर सिकार हुन पुग्छन् ।

चिन्तनराज – (अलिकति सोचे जस्तो गर्दै) हेर्नुस्, २०४७ पछिका नेताहरूले नाजायज रूपमा सम्पत्ति कमाएका छन् । त्यस्ता नेताहरू मानसिक रूपमा सदैव भयभीत भैरहेका हुन्छन् । उनीहरू सदैव त्रासपूर्ण मानसिकतामा हुन्छन् । उनीहरूमा साहस एक रत्ति पनि हुँदैन । त्यही बटुल्नका लागि उनीहरू धर्मको सहारा लिन पुग्छन् ।

शर्माजी – (गम्भीर हुँदै) ठिक भन्नु भो चिन्तनराजजी । वास्तवमा ऐतिहासिक भौतिकवादले मानिसलाई समाजको निर्माता मान्छ । यसको विकास वा विनास मानिसद्वारा नै हुन्छ । त्यसैले यी शाश्वत् कुराहरूलाई व्यवहारमै उपेक्षा गर्दै मानिसको भूमिकालाई नगन्य ठानेर अदृश्य शक्तिलाई सर्वेसर्वा ठान्ने मानिस कहिल्यै माक्र्सवादी हुनै सक्तैन । कुनै पनि वहानामा पुजापाठमा सरिक हुनेहरूलाई आपूm कम्युनिस्ट हँ भन्ने अधिकारै हुँदैन, होइन त चिन्तनराजजी ।

चिन्तनराज – (आक्रोशित मुद्रामा) हो शर्माजी ठिक हो । नेपालका कम्युनिस्टहरूमा धेरै पहिलेदेखि खोट छ । माक्र्सले संसारका सबै विषयहरूलाई आलोचनात्मक रूपमा हेर भनेका छन् । मिथकका भगवानका तस्बिरहरूमा ठाउँमा कम्युनिस्ट नेताहरूका तस्बिर लस्करै राखेर पुजा र धूपबत्ती गर्ने नेपालीहरू उहिल्यैदेखि धर्मभीरु थिए, जसले गर्दा तिनका शब्द र कर्मका बीचमा निकै ठूलो भिन्नता देखा परेको हो । भगवानले भलो भलो गरून् भन्ने तिनका चिन्तन र सोच नै गलत छ ।

शर्माजी – (उठ्दै) पुजा पाठमा सरिक हुनु भूमिगतकालमा कम्युनिस्टहरूका लागि लज्जाको विषय हुन्थ्यो । पार्टी मूल्याङ्कनमा उसको अङ्क काटिन्थ्यो । यस्ता विरासत बोकेका पार्टी र तिनका नेताहरू यस विषयमा अहिले भृकुटी खुम्च्याउन किन जरुरी ठान्दैनन् ।

चिन्तनराज – (उठ्दै) हो शर्माजी । माक्र्सले धर्मलाई अफिम भनेका छन् । नेपालका माक्र्सवादीहरू सैद्धान्तिक रूपमा यसलाई स्वीकार्छन् । उनीहरू पुजापाठलाई रुढिवाद ठान्दछन् तर व्यवहारमा उनीहरू यसैको पछि लागेका देखिन्छन् । वास्तवमा पुजापाठले सामन्तवादवादको पृष्ठपोषण गर्दछ । यसले समाजलाई अझ पछि धकेल्छ र धकेलिरहेको पनि छ ।

शर्माजी – (यताउति घुमेर हेर्दै) हैन चिन्तनराजजी, माक्र्स, लेनिन, माओका ब्रह्मवाक्यको आडमा मात्र बोल्ने नेपालका कम्युनिस्टहरू किन क्रमशः धर्मभीरु हुँदै गएका हुन् ? उनीहरूले ज्योतिषि, गुभाजु, झाँक्री धाएर साइत र जोखना हेराउँछन् । भाकल पूरा गराउन तीर्थस्थल पनि धाइरहेकै छन् तर पनि उनीहरू आपूmलाई नास्तिक नै भन्न रुचाउँछन् । उनीहरू आपूmलाई कुनै पनि हालतमा आस्तिक मान्न तयार हुँदैनन् र भएका पनि छैनन् । कस्तो विडम्बना !

चिन्तनराज – (यताउति गर्दै) यो उनीहरूको दोहोरो चारित्रिक पाखण्ड हो । हातका आँैलाभरि सजिएका विभिन्न धातु, पत्थर, मुगा, रत्न र मोती जडित औँठीहरू कम्युनिस्ट नेताहरूको रुढीग्रस्त मानसिकताको पोल खोलिरहेका छन् । कतिपयले दाम्लो जत्रो सिक्री पनि भिरिरहकै छन् । छ्या कुरा गर्न पनि घीन लाग्छ ।

शर्माजी – (बस्दै) धर्ममा आस्था राख्न सबै स्वतन्त्र छन् तर आपूmलाई द्वन्द्वात्मक भौतिकवादीका रूपमा चिनाउन रुचाउनेहरूको यो हविगत ! कठै ! यो पाखण्डको पराकाष्ठा हो नि चिन्तनराजजी । यसले नेपालका कम्युनिस्ट पार्टीले आफ्नो सैद्धान्तिक धरातल छाड्दै क्रमशः धार्मिक पार्टीमा परिणत गम्भीर खतरा देख्छु म त । कुरा एउटा काम चाहिँ अर्कै वाह !

चिन्तनराज – (बस्दै) यस्ता सैद्धान्तिक विचलन नेपालका धेरै कम्युनिस्ट नेताहरूमा देखा परिरहेको छ । गुप्त रूपमा कैयौँ नेताहरू घन्टौँघन्टा पुजापाठमा लीन हुनेहरू गरेका छन् । जनतामा विश्वास नगरेर सरकारको म्याद बढाउन एक कम्युनिस्ट प्रधानमन्त्रीले सपरिवार हनुमानढोका पुगेर तलेजु भवानीको आराधना गरे । कठै तिनको हविगत ! मलाई त के कुराको डर लागिरहेको छ भने यो महारोग क्रान्तिकारी कम्युनिस्टहरूमा पनि भुसको आगो झैँ सल्किँदै पो छ कि ?

शर्माजी – (गिलासमा रहेको पानी पिउँदै) माक्र्सवादीहरू कुनै दैवी शक्तिमा सैद्धान्तिक रूपमा विश्वास नगर्दा नगर्दै पनि संसदीय प्रणालीलाई आत्मसात् गर्न पुग्दा उनीहरूमा यस किसिमको विचलन आएको हो । भोटको राजनीतिले उनीहरूलाई धर्मप्रति उदार मात्र बनाएन, स्खलनको डरलाग्दो गर्तमा समेत हालिदियो । लेनिनले संसदीय प्रणालीलाई खसीको टाउको झुन्याएर कुकुरको मासु बेच्ने थलोको रूपमा यसै परिभाषित गरेका होइनन् । राजनीतिक प्रणाली तथा धर्मप्रति पार्टी र नेताहरूको विचार एवम् जनताका विचार र विकासमा उचित संयोजन नहुँदासम्म पनि यी समस्याहरू देखिएका छन् । यसको मुख्य समस्या विचारधारात्मक समस्या नै हो । कम्युनिस्ट पार्टीका नेताहरूले जनताका बीचमा कर्मले मात्र भाग्य कोर्न सकिन्छ भन्ने सत्य बोल्ने साहस पनि हत्तपत्त गर्न सक्तैनन् किनभने जनता रिसाए भने भोट घट्छ ।

चिन्तनराज – (पानी पिउँदै) कम्युनिस्ट पार्टीहरूमा राजनीतिक, वैचारिक, दार्शनिक विषयमा निरन्तर प्रशिक्षणको अभावले पनि यस्तो समस्या उत्पन्न भएको हो । उनीहरूले सिद्धान्तलाई जीवन व्यवहारमा लागु गर्ने प्रयास पनि कम गरेका छन् । अहिले नेताहरू अध्ययन गर्दैनन् । लेख्न पनि छोडिसके । कतिपयले त सिद्धान्त पनि बिर्सिसके कि (हाँस्दै) । सायद तिनले माक्र्स, लेनिनका तस्बिर पनि बिर्सिसके कि …।

शर्माजी – (हाँस्दै) पुजापाठले सत्ता, शक्ति र सफलता प्राप्त हुने भएको भए नेपालमा यही लोकतान्त्रिक गणतन्त्र पनि प्राप्त हुँदैनथ्यो । तत्कालीन राजा ज्ञोनेन्द्रले सत्ता टिकाउन के मात्र गरेनन् । उनले नेपाल र भारतमा प्रायः सबैजसो प्रख्यात भनिएका मन्दिरहरूमा पुजापाठ गरे । उनले त्यसबखत चरु मात्र होइन, खुर्सानीको होम समेत गरे तर जनता उर्लेपछि ज्ञानेन्द्रको केही लागेन । दाजुको बंश सिध्याउने काम पनि उनको लागि धेरै महङ्गो सावित भयो । महान् जनयुद्धले संसदीय दलहरू त के ज्ञानेन्द्रको समेत केही जोर चलेन ।

चिन्तनराज – (हाँस्दै) रीतिरिवाजलाई प्रस्थान विन्दु बनाएर कम्युनिस्टहरू पुजापाठी हुनु भनेको जनताको अनादर गर्नु हो । दियो कलस थापेर कुसनमा पलेंटी कसेर सपरिवार बस्नुलाई माक्र्सवादले स्वीकार्दैन । विज्ञान र अध्यात्मवाद फरक कुरा हुन् । बुर्जुवाहरू अध्यात्मवाद मान्छन् । साम्यवादीहरू विज्ञान मान्छन् । कम्युनिस्ट नेताको उमेर र उसको राजनीतिक दर्शनको बीच उचित तालमेल नमिल्दा तिनीहरूमा विचलन आएको हो कि ! एक क्रान्तिकारीले समेत नायिकाको हातबाट तिहारमा परम्परावादी तरिकाले टीका लगाउनुको अर्थ के हो ? द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने ती क्रान्तिकारी कुम्युनिस्टको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै ती नायिकाले तेल, मखमली, सप्तरङ्गी टीका मात्र लगाइनन्, कानमा ओखर समेत बजाइदिइन् । कत्रो अनर्थ ? एक ठुलै नेता त झन् धार्मिक अनुष्ठानमा विराजमान हुन पुगे ।

चिन्तनराज – (गम्भीर हुँदै) ओहो ! चिन्तनराजजी, हाम्रो बहस गम्भीर पो भयो त । तपाईंंले जुन कुरा उठाउनुभयो, यो निकै गम्भीर कुरा हो । क्रान्ति पुरा भएका देशहरूमा त परम्पराका कैयन कुराहरूले निकै पछिसम्म दुःख दिइरहको हामी पाउँछौँ । त्यसको समयमै उचित व्यवस्थापन हुन नसक्दा अन्ततः ती देशहरूमा प्रतिक्रान्ति भए । चीनमा माओले सांस्कृतिक क्रान्ति यसै गरेका थिएनन् । त्यहाँ माओको निधनसँगै त्यहाँ पनि प्रतिक्रान्ति भयो । नेपालमा त जनवादी क्रान्ति पुरा भएकै छैन । हो, एउटा कुरा चाहिँ अवश्य हो, एक दसकको महान् जनयुद्धले परम्परागत नेपाली समाजको जगलाई नराम्ररी हल्लाइदिएकै हो । यो सच्चाइलाई कतिपय स्वार्थी मानिसहरूले भित्रैदेखि आत्मासातीकरण गर्न सकिरहेका छैनन् । यो दुःखको कुरा हो । यो इतिहासप्रतिको ठूलो गद्दारी पनि हो ।

चिन्तनराज – (गम्भीर भावमा) ओहो, यो मुलुकमा जनयुद्धले निकै ठूलो उथलपुथल पो ल्याएको हो त । हिजो क्रान्तिकारीहरूको आफ्नै जनसत्ता थियो । फेरि सत्ता
भनेको यस्तो चीज हो जसले सुकर्म र कुकर्म दुवैको अवसर दिन्छ । कतिपय सत्तामा पुगेपछि हौसिएर विचलित पनि भएका छन् । यसमा सत्ता उन्मादको पनि महत्वपूर्ण स्थान छ । एक कम्युनिस्ट प्रधानमन्त्रीले आफ्नी पत्नीलाई लम्पसार परेर खुट्टा ढोगाएकै हुन् । यसले नारी मुक्तिको भाषण गर्ने कम्युनिस्ट नेताको ढाेंगी र ठालुपनको चरित्रलाई राम्रैसित प्रस्ट गरिदिएको छ, यो उनको दार्शनिक विश्वासको कमजोर जग हुनु हो ।

शर्माजी – (मर्मका साथ) कलिलो उमेरमा क्रान्तिकारी विचार र समतामूलक समाजको सपना देखेर आन्दोलनमा लागेकाहरू तर विचार र सिद्धान्तलाई नबुझ्नेहरू कम्युनिस्ट पार्टीको नेता भएका छन् । जो आफौ भ्रममा छ भने यसले कसरी नेतृत् वगर्न सक्छ ? दार्शनिक आधार नै नबनाइकन कम्युनिस्ट आन्दोलनमा लागेकाहरू अन्ततः परिपक्व कम्युनिस्ट बन्न सक्दैनन् । कुनै मुद्दाले आकर्षित गरेर लहैलहैमा लागेर कम्युनिस्ट बन्नेहरूमा चाहिँ अलि बढी सैद्धान्तिक विचलन आउने गरेको छ । सत्र वर्ष जेलमा बसेका नेपालका नेल्सन मन्डेला भनेर चिनिएका एक नेताले अन्तिममा गेरुवस्त्र धारण गरे । यसले नेताहरूमा विश्वास धर्माएको स्पष्ट देखाएको छ ।

चिन्तनराज – (व्याख्याको भावमा) धर्मबारे विभिन्न विचारकहरूले आ–आफ्ना धारणाहरू व्यक्त गरेका छन् । कतिले यसलाई वस्तुको भाव र लोकमान्यताका आधारमा ग्रहण गर्ने कुरा बताएका छन् भने कतिले यसलाई कर्मको उत्प्रेरणा वा विधिविधानका रूपमा लिने बताएका छन् भने कतिले चाहिँ लोकको उत्पत्ति र कल्याणको रूपमा यसको व्याख्या गरेका छन् ।

शर्माजी – (उस्तैगरी) ठिक हो । महाभारतले धर्मलाई धारणा भनेको छ भने लोकले जे धारण गर्छ, त्यो धर्म हो भन्ने कुरा चाणक्य नीति बताउँछ । राहुल साङ्कृत्यायनले कुनै अलौकिक शक्तिमा विश्वास गर्नु नै धर्मको सार हो भने । धार्मिक रूपमा नेपाललाई तेत्तिस कोटि देवताको थलोको रूपमा चर्चा गरिँदै आएको छ । त्यसैले पनि यो भूखण्डमा धर्मभीरुहरूको जडता एकदमै डरलाग्दो हुने नै भयो । भारतीय उपमहाद्वीपले यसको ठूलो पीडा सहनुपरिहेको यथार्थ कसैको सामु छिपेको छ र ? कार्ल माक्र्सले धर्मलाई उत्पीडित प्राणीको सुस्केराको रूपमा व्याख्या गरेका छन् । इतिहासका कैयौँ बेलामा धार्मिक आन्दोलनले प्रगतिशील भूमिका नखेको पनि होइन । इसा मसिहलाई दिइएको फासीको सामाजिक रूपान्तरणमा ठूलो स्थान रहेको मानिन्छ । राज्यले धर्मलाई व्यक्तिगत मामिलाको रूपमा व्याख्या गरे पनि वास्तवमा धर्म कुनै पनि राज्य तथा पार्टी सापेक्ष हुनै सक्तैन ।

चिन्तनराज – (ठूलै स्वरमा) लेनिनले धर्मको विरोध गर्नुपर्छ भनेका छन् । यो कुरा सम्पूर्ण भौतिकवादी र माक्र्सवादीहरूका कखरा हो । धर्मका सामाजिक जराहरूको उन्मूलन गर्न आवश्यक छ । यस्तो किसिमको सङ्घर्षलाई ठोस वर्ग तथा ठोस आन्दोलनसित जोड्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

शर्माजी – (ठूलै स्वरमा) धर्मका थुप्रै धाराहरू रहेको हामी देख्न सक्छौँ । प्रतिनिधि रूपमा दुइटाको उल्लेख गर्न सकिन्छ । पहिलो, अवसरवादी धारा हो । यसमा दक्षिणपन्थको राम्रो पहुँच हुने नै भयो । दोस्रो, क्रान्तिकारी धारा रहेको छ । यसले धर्मको दृढतापूर्व खण्डन र विरोध गर्ने गरेको छ तर यसको पनि प्रभावकारिता न्युन रहेको देखिन्छ । यस्तो परिस्थितिका बीचमा प्रशासनिक आदेशद्वारा धर्मलाई उन्मूलन गर्न नसकिने कमरेड माओको भनाइ निकै मननीय छ ।

चिन्तनराज – (उठ्दै) माक्र्सवादी आवरणमा धार्मिक रुढीवादमा अल्झिएर समाजको अग्रगामी मार्गलाई अवरुद्ध बनाउने प्रवृत्तिको विरुद्ध सङ्घर्ष गर्न जरुरी छ । माक्र्सवादीहरूको मूल मान्यता धार्मिक उत्पीडन र अन्धविश्वासको विरोध गर्नु हो । यसमा दीर्घकालीन वैचारिक सङ्घर्ष र रूपान्तरणको प्रक्रिया अपनाउनु आवश्यक छ । माक्र्सवादीहरू धर्मविरोधी हुन्छन् । धर्मको विरोधको कामलाई प्रभावकारी बनाउन प्रचार प्रसारको कमलाई व्यवस्थित गर्न आवश्यक छ । धर्मको विरोध गर्ने प्रक्रियामा सबैखाले अवसरवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउँदै जान र धर्मको विरोधको कामलाई वर्ग सङ्घर्षसित जोड्न आवश्यक छ । धर्मको जन्म विशेष सामाजिक, ऐतिहासिक सन्दर्भमा भएको हुँदा यसको सन्दर्भ पनि सोही अनुरूप खोज्नु मनासिब हुन्छ । यो सबैको सबैले आपूmबाट सुरु गर्नुपर्छ । आफ्नो टाउकोमा आफैँले आगो लगाउने संस्कृतिको निर्माण नगरिकन हामीले सोचे जस्तो सैद्धान्तिक, राजनीति, दार्शनिक, सांस्कृतिक मूल्य स्थापित गर्न सक्तैनौँ । हाम्रा कोही अलौकिक, अदृश्य शक्ति छैनन् । हाम्रा सर्वस्व भनेका जनता नै हुन् । जनता नै हाम्रा भगवान हुन् । (शर्माजी पनि उठ्छन् । दुवै भित्तातर्फ रहेका कम्युनिस्ट दार्शनिक गुरुहरूलाई हेर्छन् । दुवै अगाडि फर्कन्छन् र जोसिलो अभिवादन गर्दछन् ।)

पर्दा ।

चैत, २०६७ ।

(स्रोत : साहित्य सङ्गालो डट कम )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *